विश्वभर मार्क्सवादका विभिन्न स्कुलहरू प्रचलित छन् । तीमध्ये सोभियत, युरोपियन (जर्मन, फ्रेन्च र इटालियन) र चिनियाँ मार्क्सवादी स्कुलहरू अग्रणी मानिन्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा खासै चर्चा नभएको तर एकदमै बौद्धिक एवम् सशक्त मार्क्सवादी परम्परा भएको देश हो जापान । जापानको मार्क्सवादी परम्पराको सुरुआत युरोपेली र सोभियत सङ्घको भन्दा पृथक ढङ्गबाट भएको थियो । यसैले जापानी मार्क्सवादको बौद्धिक विकासमा ठुलो भूमिका खेलेको देख्न सकिन्छ ।
जापानी मार्क्सवादका अध्येता ग्याबिन वाल्करका अनुसार युरोपमा मार्क्सवादी परम्पराको सुरुआत राजनीतिक आन्दोलनबाट भयो । तर जापानमा त्यसको ठिक विपरीत विश्वविद्यालयबाट भएको थियो । त्यही कारणले गर्दा जापानमा सैद्धान्तिक मार्क्सवादको विकासको लागि आधारभूमि तयार पारियो । जापानमा मार्क्सवादलाई युरोप र अरू ठाउँमा जस्तो राजनीतिक आन्दोलनको मेरुदण्डको रूपमा नभई समाज विज्ञानको अनुसन्धान गर्ने औजारको रूपमा लिइयो । फलतः जापानमा मार्क्सवादले विशिष्ट प्रकारको सैद्धान्तिक रूप लिनसक्यो । विश्वमा सबैभन्दा पहिला मार्क्स–एङ्गेल्सको सङ्कलित रचनासङ्ग्रह जर्मन, अङ्ग्रेजी, फ्रेन्च वा रुसी भाषामा नभएर जापानी भाषामा प्रकाशित भएको कुरा यहाँ उल्लेखनीय छ । सन् १९३२ मा साइकिसाका इत्सुरोले ‘मार्क्स–एङ्गेल्स रचनासङ्ग्रह’ ३५ खण्डमा प्रकाशन गरेका थिए । यसले पनि जापानमा मार्क्सवादको विकासको इतिहास प्रस्ट पार्छ ।
जापानका विश्वविद्यालयहरूमा समाज अध्ययनको क्षेत्रमा मार्क्सवादी अनुसन्धान पद्धति मुख्य धार बनेको थियो । जापानका विश्वविद्यालयहरूमा आफूलाई मार्क्सवादविरोधी र उदारवादी भनेर दाबी गर्नेहरू समेतको अध्ययनको जग भने मार्क्सवाद नै हुन्थ्यो । सन् १९८० र सन् १९९० सम्म पनि जापानी विश्वविद्यालयहरूका मुख्य अनुसन्धान पद्धतिको रूपमा मार्क्सवादकै बाहुल्यता रह्यो । यस्तो परिदृश्य विश्वमा अन्यत्र देख्न दुर्लभ नै थियो । तर जापानमा मार्क्सवादको सैद्धान्तिक विकास उच्चस्तरमा भए पनि यो आफ्नो भाषाको सिमानाभित्र खुम्चिएर मात्रै रहेको थियो ।
कोहोए साइतोले आफ्नो अनुसन्धानको क्रममा माक्र्सका पुराना बिर्सिएका नोटबुक र खेस्राहरूको अध्ययन गरे । साइतोले भनेका छन् – हामीले मार्क्सका नोटबुकहरूलाई हेर्ने हो भने कसैले पनि महसुस गर्नसक्छ कि उनले दुईवटा विचित्रका क्षेत्रहरूका बारेमा अध्ययन गर्दै थिए भनेर – एउटा प्राकृतिक विज्ञान र अर्को पुँजीवादी समाज । जब मार्क्सले आफ्नो प्रख्यात पुस्तक पुँजीको दोस्रो र तेस्रो खण्ड लेखिसक्नु पर्ने थियो, उनी वास्तवमा त्यसबेला प्राकृतिक विज्ञान, रसायनशास्त्र र भूगर्भशास्त्रको अध्ययन गरिरहेका थिए । यसले मार्क्सकाे चिन्तनमा आएको महत्वपूर्ण परिवर्तनलाई प्रस्ट पार्दछ । पर्यावरणप्रतिको बढ्दो चासोको कारणले मार्क्सले देख्न थालेका थिए कि प्रकृतिको चरम दोहन नै पुँजीवादको मुख्य अन्तर्विरोध हो ।
जापानी मार्क्सवादको यो समृद्ध परम्पराका एउटा नयाँ कडी हुन् कोहोए साइतो । ३६ वर्षीय कोहोए साइतो जापानको टोक्यो विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनको मुख्य अध्ययन र अनुसन्धानको क्षेत्र पर्यावरण र राजनीतिक अर्थशास्त्र हो । उनले जर्मनीको हम्बोल्ट युनिभर्सिटीबाट विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए । कोहोए साइतो आफ्नो अध्ययनको क्रममा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सका सम्पूर्ण सङ्कलित रचनासङ्ग्रहको १८ औं खण्डको सम्पादनको काममा समेत सहभागी भएका थिए । यो अनुसन्धान उनको विद्यावारिधिको शोधग्रन्थको मुख्य आधार बन्यो । पछि उनले यही शोधग्रन्थमा आधारित भएर २०१७ माकार्ल मार्क्सकाे पर्यावरणीय समाजवाद : पुँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचना (Karl Marx’s Eco-socialism; Capital, nature, and the unfinished critique of political economy) भन्ने पुस्तक लेखे । यस पुस्तकलाई २०१८ को मार्क्सवादी अध्ययन अनुसन्धान क्षेत्रको प्रतिष्ठित पुरस्कार डोइचर स्मृति पुरस्कार (Deutscher Memorial Prize) ले सम्मानित गरिएको थियो ।
कोहोए साइतोले आफ्नो अनुसन्धानको क्रममा मार्क्सका पुराना बिर्सिएका नोटबुक र खेस्राहरूको अध्ययन गरे । साइतोले भनेका छन् – हामीले मार्क्सका नोटबुकहरूलाई हेर्ने हो भने कसैले पनि महसुस गर्नसक्छ कि उनले दुईवटा विचित्रका क्षेत्रहरूका बारेमा अध्ययन गर्दै थिए भनेर – एउटा प्राकृतिक विज्ञान र अर्को पुँजीवादी समाज । जब मार्क्सले आफ्नो प्रख्यात पुस्तक पुँजीको दोस्रो र तेस्रो खण्ड लेखिसक्नु पर्ने थियो, उनी वास्तवमा त्यसबेला प्राकृतिक विज्ञान, रसायनशास्त्र र भूगर्भशास्त्रको अध्ययन गरिरहेका थिए । यसले मार्क्सकाे चिन्तनमा आएको महत्वपूर्ण परिवर्तनलाई प्रस्ट पार्दछ । पर्यावरणप्रतिको बढ्दो चासोको कारणले मार्क्सले देख्न थालेका थिए कि प्रकृतिको चरम दोहन नै पुँजीवादको मुख्य अन्तर्विरोध हो ।
कोहोए साइतोले सुरु गरेको अध्ययन पूर्णतया नौलौ भने होइन । मार्क्सवादी पर्यावरणशास्त्रभित्र मेटाबोलिक रिफ्ट (metabolic rift) विचारको स्कुल छ । ‘मेटाबोलिक रिफ्ट’ वातावरण क्षयीकरणबारे मार्क्सले विकास गरेकाे सिद्धान्त हो । मानव समाज पर्यावरणको एक अङ्ग हो । मानव समाजको अस्तित्व प्राकृतिक स्रोत–साधनको दिगो प्रयोगमा निर्भर हुन्छ । तर निरन्तर विकास र नाफाको मुख्य उद्देश्य राख्ने पुँजीवादले प्रकृतिको सन्तुलन बिगारिदिन्छ । मार्क्सका अनुसार पुँजीवादले मानिस र प्रकृतिबिचको पोषण र उर्जाको प्राकृतिक चक्रलाई खल्बलाइदिन्छ । त्यही कारणले गर्दा माटोको उर्वराशक्ति क्षय हुने, वन विनाशजस्ता वातावरणीय समस्या आउने गर्दछन् । मार्कसका अनुसार पुँजीवादले कसरी ’मेटाबोलिक रिफ्ट’ ल्याउँछ भने – प्राकपुँजीवादी समाजमा मानिसहरू आफ्नो जमिनको नजिकै बस्थे । उनीहरूका क्रियाकलापहरू प्राकृतिक वातारणसँग अभिन्न रूपमा जोडिएका थिए । तर पुँजीवादले ग्रामीण र सहरी क्षेत्रबिचमा विभाजन बढाएको छ । पुँजीवादमा सहर उत्पादन र खपतको मुख्य केन्द्र बनेको छ भने ग्रामीण क्षेत्र कच्चा पदार्थको स्रोत बनेको छ । यो विभाजनले पोषणको काम गर्नसक्ने, खेर जाने उत्पादनलाई फेरि त्यही जमिनमा फर्काउन मुस्किलजस्तै बनेको छ ।
फलतः त्यो खेर जाने उत्पादन फोहोरमैलाको रूपमा सहरमा नै थुपारिन्छ । त्यसले त्यस ठाउँको जमिन र पानीलाई प्रदूषित गरिदिन्छ । एकातर्फ ग्रामीण क्षेत्रको जमिन आफूले उत्पादन गरेको वस्तुको अवशिष्ट पदार्थबाट वञ्चित बनेर बन्जर बन्दै जान्छ भने अर्कोतर्फ सहरी क्षेत्रमा त्यो पदार्थ अनुपयोगी चिजको रूपमा थुप्रिएर प्रदूषणको स्रोत बनिरहेको हुन्छ । केही दशकयता ’मेटाबोलिक रिफ्ट’ स्कुलअन्तर्गत अमेरिकी समाजशास्त्री एवम् प्रख्यात मार्क्सवादी पत्रिका मन्थ्ली रिभ्यूका सम्पादक जोन बेलामी फोस्टर र अमेरिकी अर्थशास्त्री पल बर्केटले अध्ययन गरिरहेका छन् । दशकौँंदेखि पर्यावरणवादीहरूले कार्ल मार्क्सलाई प्रोमिथियन भनेर आलोचना गर्ने गरेका थिए । प्रोमेथियस ग्रिक मिथकका पात्र हुन्, जसले स्वर्गबाट आगो चोरेर धर्तीमा ल्याएका थिए । यहाँ मार्क्सलाई पर्यावरणवादीहरूले साम्यवादी राज्य स्थापना गर्न प्रकृतिमाथि मानिसको असीमित नियन्त्रण र आधिपत्यको चाहना राख्ने प्रोमिथियन चिन्तक भनेर आरोप लगाएका थिए । कोहोए साइतोले आफ्नो पुस्तक कार्ल मार्क्सकाे पर्यावरणीय समाजवाद : पुँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचनाको भूमिकामा लेखेका छन् – मार्क्सकाे राजनीतिक अर्थशास्त्रको आलोचनालाई बुझ्न सम्भव नै हुँदैन यदि कसैले त्यसको पर्यावरणीय आयामलाई बेवास्ता गर्छ भने ।
कोहोए साइतोको पुस्तक कार्ल मार्क्सकाे पर्यावरणीय समाजवाद : पुँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचना दुई भागमा विभाजन गरिएको छ । पहिलो खण्डमा पर्यावरण र अर्थव्यवस्था रहेको छ भने दोस्रोमा मार्क्सकाे पर्यावरण र मार्क्स–एङ्गेल्सको सम्पूर्ण रचना सङ्ग्रह रहेको छ ।
. दशकौँंदेखि पर्यावरणवादीहरूले कार्ल मार्क्सलाई प्रोमिथियन भनेर आलोचना गर्ने गरेका थिए । प्रोमेथियस ग्रिक मिथकका पात्र हुन्, जसले स्वर्गबाट आगो चोरेर धर्तीमा ल्याएका थिए । यहाँ मार्क्सलाई पर्यावरणवादीहरूले साम्यवादी राज्य स्थापना गर्न प्रकृतिमाथि मानिसको असीमित नियन्त्रण र आधिपत्यको चाहना राख्ने प्रोमिथियन चिन्तक भनेर आरोप लगाएका थिए । कोहोए साइतोले आफ्नो पुस्तक कार्ल मार्क्सकाे पर्यावरणीय समाजवाद : पुँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचनाको भूमिकामा लेखेका छन् – मार्क्सकाे राजनीतिक अर्थशास्त्रको आलोचनालाई बुझ्न सम्भव नै हुँदैन यदि कसैले त्यसको पर्यावरणीय आयामलाई बेवास्ता गर्छ भने ।
पहिलो खण्डमा मार्क्सकाे चिन्तनमा पर्यावरणको व्यवस्थितस्वरूप निहित छ र यो उनको राजनीतिक अर्थशास्त्रको आलोचनासँग निरन्तरतामा रहेको छ भनेर देखाउन खोजिएको छ । त्यस्तै दोस्रो खण्डमा मार्क्सकाे पर्यावरणको गहिरोसँग अध्ययन गरिएको छ । उनका अप्रकाशित नोटबुकहरूको पहिलो पटक अध्ययन गरेर त्यसमा रहेका प्राकृतिक विज्ञानसम्बन्धी टिप्पणीहरूलाई हेरेर मार्क्सले गरेको पुँजीवादको पर्यावरणीय आलोचनाको उद्भव र विकासको खोजी गरिएको छ । पहिलो अध्यायमा साइतोले आधुनिकको उदयको रूपमा प्रकृतिको अलगावमा मार्क्सकाे पर्यावरणीय आलोचनाको व्यवस्थित रूपमा खोज गरेका छन् । यसमा उनले मार्क्सकाे १८४४ को पेरिस नोटबुकदेखि पुँजीसम्मको व्यवस्थित अध्ययन गरेका छन् । यस अध्यायमा अलगावसम्बन्धी मार्क्सकाे प्रख्यात सिद्धान्तबारे चर्चा गरिएको छ । मार्क्सका अनुसार आधुनिक अलगवादी जीवनको उदयको मुख्य कारण प्रकृति र मानवबिचको सम्बन्धको विघटन नै हो ।
मार्क्सले अलगावको परिस्थितिलाई चिर्न निजी सम्पतिलाई उन्मूलन गरिनुपर्छ, जसले गर्दा मानिसले प्रकृतिसँग स्वतन्त्र रूपमा, सहयोगी तवरमा सम्बन्ध राख्नसक्छ भन्ने कुरामा जोड दिएका छन् । मार्क्सकाे अर्को महत्वपूर्ण पुस्तक जर्मन विचारधारामा उनी मानव र प्रकृतिबिचको सम्बन्धको परीक्षण गर्न थालेका थिए । त्यसैमा उनले मेटाबोलिजमको अवधारणा पनि प्रस्तुत गरेका थिए ।
साइतोले आफ्नो पुस्तकको दोस्रो अध्याय ‘राजनीतिक अर्थशास्त्रको मेटाबोलिजम’ मा मार्क्सकाे सिद्धान्तमा मेटाबोलिजमको अवधारणाको विकास कसरी भयो भनेर खोजी गरेका छन् । मार्क्सले पहिलो पटक यस अवधारणाको प्रयोग लन्डन नोटबुकमा गरेका थिए । पुँजीले आफ्नो निरन्तर विस्तारको लागि प्रकृतिको दोहन गर्दा पुँजीवादकै अन्तर्विरोधहरू (वनविनाश, कार्वन उत्सर्जन, जैविक विविधताको नाश आदि) गहिरिँदै जान्छ । मार्क्सका अनुसार पुँजीवादको मेटाबोलिक सम्बन्ध दिगो मानव विकाससँग कुनै तालमेल खाँदैन । यो पूरै असङ्गत हुन्छ । यस पुस्तकको तेस्रो अध्याय ‘पुँजी मेटाबोलिजमको सिद्धान्त’ को रूपमा रहेको छ । यो अध्यायमा साइतोले मार्क्सकाे सिद्धान्त रिफिकेसनको आलोकमा उनको पर्यावरणशास्त्रको खोजी गर्ने कोसिस गरेका छन् । मार्क्सले रिफिकेसनको सिद्धान्त आफ्नो प्रख्यात पुस्तक पुँजीमा विकास गरेका थिए । उनले आफ्नो पर्यावरणीय आलोचनाको क्रममा यसलाई क्रमशः विकास गरेका थिए । साइतोका अनुसार मार्क्सले सामान्य रूपमा मानवताले वातावरण विनाश गर्छ भनेर दाबी गरेका छैनन् । बरु उनको भौतिकवादी पद्धतिले कसरी पुँजीको ठोस गतिशीलताले मानव र प्रकृतिबिच इतिहासको समयभन्दा पर हुने मेटाबोलिजमलाई पुनसङ्गठन गर्छ भनेर अनुसन्धान गर्छ । साथै यसले दिगो मानव विकासको आधारभूत सर्तलाई कसरी नकार्छ भनेर पनि अनुसन्धान गर्छ । त्यसैगरी मार्क्सकाे समाजवादी परियोजनाले मानव– प्रकृतिको सम्बन्धलाई रिफिकेसनको पराई शक्तिमाथि बन्देज तथा अतिक्रमण गरेर पुनर्स्थापना गर्ने माग गर्दछ ।
पुस्तकको दोस्रो खण्डमा साइतोले मार्क्सका प्राकृतिक विज्ञानसम्बन्धी अप्रकाशित नोटबुकहरूको अध्ययन गरेका छन् । उनले यस खण्डमा मार्क्सले कसरी अनेकौँ विद्वान्हरूका पुस्तकहरू वर्षौसम्म अध्ययन गरेर पुँजीविरुद्धको आफ्नो पर्यावरणीय आलोचनामा परिष्कार गरेका थिए भन्नेबारे प्रकाश पारेका छन् । आफ्नो पुस्तकको पाँचौँ अध्याय ’लाइबिग र पुँजी’ मा कोहेये साइतोले आफ्नो पुस्तक पुँजीमा जमिनको लगानको सिद्धान्त तयार पार्नको लागि मार्क्सले कसरी प्रकृति विज्ञानका पुस्तकहरू रुचिपूर्वक पढेका थिए भनेर लेखेका छन् । यी पुस्तकहरूमध्ये जस्टस भोन लाइबिग (Justus von Liebig) को कृषि रसायनशास्त्र (Agricultural Chemistry) भन्ने पुस्तक पनि एक थियो । मार्क्सलाई लाइबिगको पुस्तकले रिकार्डोको घट्दो प्रतिफलको नियमको आलोचना गर्न प्रमुख आधार प्रदान गरेको थियो । यस पुस्तकको पाँचौं अध्याय ’कृषिको डकैतीविरुद्ध मलखाद ?’ रहेको छ । यस अध्यायमा साइतोले मार्क्सले लाइबिगको कृषिसम्बन्धी विज्ञानको प्रभावले गर्दा उनमा रहेको प्रोमिथियन वा उत्पादकत्ववादी मोडेललाई परित्याग गरेका थिए भनेर स्पष्ट पारेका छन् ।
मार्क्स सुरुमा वैज्ञानिक र प्राविधिक विकासले प्रकृतिको सीमालाई उल्लङ्घन गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरामा विश्वास गर्थे । तर पछि गएर जस्टस भोन लाइबिग, एफडब्लु जोस्टन आदि वैज्ञानिक र अर्थशास्त्रीहरूका विचारले उनमा आधुनिक कृषिप्रतिको दृष्टिकोणमा बदलाव ल्याइदियो, जसका कारणले मार्क्सले पुँजीवादी उत्पादनका अन्तर्विरोधहरूलाई प्राकृतिक र सामाजिक मेटाबोलिजममा आएको गडबडीको रूपमा विश्लेषण गर्न थाले । मार्क्सले रिकार्डोको आयरल्यान्डको प्रश्नमा गरेको आलोचनाले उनले प्राकृतिक विज्ञानको प्रयोग जमिनको लगानको सिद्धान्तमा मात्र सीमित राखेका छैनन् कि बरु पर्यावरणीय साम्राज्यवादको विश्लेषणको आधार तयार गर्न प्रयोग गरेका छन् ।
आफ्नो पुस्तकको छैटौँ अध्याय ’१८६८ पछि पर्यावरणसम्बन्धी मार्क्सेली अध्ययन’ मा साइतोले कसरी मार्क्सले आफ्नो पुस्तक पुँजीको प्रकाशनपछि पनि अझ गहनताका साथ प्राकृतिक विज्ञानका पुस्तकहरू अध्ययन गरेका थिए भनेर व्याख्या गरेका छन् । मार्क्सले जस्टस भोन लाइबिग मात्र होइन, त्यसबेला अर्का जर्मन कृषि अर्थशास्त्री कार्ल फ्रासलाई समेत अध्ययन गर्न थालेका थिए ।
कोहोए साइतोले आफ्नो पुस्तकको निष्कर्षमा लेखेका छन् – मार्क्सले सबै प्रश्नहरूका उत्तरहरू दिएका छैनन् र आजको विश्वको बारेमा भविष्यवाणी पनि गरेका छैनन् । तर यसले उनको काम आज कुनै काम नलाग्ने र अनुपयोगी भयो भनेर निष्कर्ष निकाल्न मिल्दैन । यो कुरा निर्विवाद छ कि उनको पुँजीवादको आलोचनाले आजको पर्यावरणीय सङ्कटको अनुसन्धान गर्ने एकदमै उपयोगी सैद्धान्तिक आधार प्रदान गरेको छ । मार्क्सका नोटबुकहरू यस सन्दर्भमा एकदमै महत्वपूर्ण छन् भन्ने कुरा राम्ररी स्थापित गरिदिएका छन् ।
कार्ल फ्रास लाइबिगका आलोचक थिए । फ्रासले कृषि भौतिकशास्त्रको पैरवी गर्थे । त्यो कुरा लाइबिगको कृषि रसायनशास्त्रको एकदमै विपरीत थियो । फ्रासले लाइबिगको कामलाई पूरै खारेज नगरे पनि उनी माटोको उत्पादकत्वमा रासायनिक तत्वभन्दा जलवायुका तत्वहरू बढी महत्वपूर्ण हुन्छन् भन्ने ठान्थे । मार्क्सले फ्रासको खोजसम्बन्धी आफ्नो नयाँ मूल्याङ्कनलाई आफ्नो पुस्तक पुँजीमा पूर्णतः समाहित गर्न त सकेनन् तर फ्रासका दस्तावेजहरूबाट लिइएका अवधारणाहरूले प्रकृति विज्ञानसम्बन्धी मार्क्सको आर्थिक अवधारणामा अर्थ राख्दछ । कोहोए साइतोले आफ्नो पुस्तकको निष्कर्षमा लेखेका छन् – मार्क्सले सबै प्रश्नहरूका उत्तरहरू दिएका छैनन् र आजको विश्वका बारेमा भविष्यवाणी पनि गरेका छैनन् । तर यसले उनको काम आज कुनै काम नलाग्ने र अनुपयोगी भयो भनेर निष्कर्ष निकाल्न मिल्दैन । यो कुरा निर्विवाद छ कि उनको पुँजीवादको आलोचनाले आजको पर्यावरणीय सङ्कटको अनुसन्धान गर्ने एकदमै उपयोगी सैद्धान्तिक आधार प्रदान गरेको छ । मार्क्सका नोटबुकहरू यस सन्दर्भमा एकदमै महत्वपूर्ण छन् भन्ने कुरा राम्ररी स्थापित गरिदिएका छन् ।
कोहोए साइतोले आफ्नो पहिलो पुस्तक कार्ल मार्क्सको पर्यावरणीय समाजवाद : पुँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचना कै धारलाई पहिल्याउँदै अरू पुस्तकहरू लेखेका छन् । उनको दोस्रो पुस्तक क्यापिटल इन एन्थ्रोपोसिन (Capital in the Anthropocene) एकदमै लोकप्रिय बन्यो । जापानमा यो पुस्तक ५ लाखभन्दा बढीप्रति बिक्री भयो । पर्यावरणीय समाजवादलाई मार्क्सकाे आवश्यकता छ भनेर दाबी गर्ने कोहोए साइतो अहिले जापानमा सेलिब्रिटी बनेका छन् ।
सन्दर्भ–सामग्री
Walker, G. (2021). The theory and practice of Marxism in Japan. Retrieved from https://jacobin.com/2021/07/thetheory-
and-practice-of-marxism-in-japan
Walker, G. (n.d.). Marxist theory in Japan: a critical overview. Retrieved from https://www.historicalmaterialism.
org/reading-guides/marxist-theory-japan-critical-overview
Saito, K. (2017). Karl Marx’s Eco socialism: Capital, nature, and the unfinished critique of political economy. Monthly
Review Press.
Burkett, P. (2014). Marx and nature: Red and green perspective. Haymarket Books.
त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तार गर्नुभएका केदार सिटौलाले कानुनमा स्नातक गर्नुभएको छ । कानुन र न्यायको क्षेत्रमा अभ्यास गरिरहनुभएका सिटौला माक्र्सवाद र पर्यावरणबारे अध्ययन गर्न रुचि राख्नुहुन्छ। उहाँका इतिहास, राजनीति, समाजशास्त्र, मानवशास्त्र लगायतका विविध विषयमा लेखिएका लेखहरू विभिन्न सञ्चार माध्यामहरूमा प्रकाशित छन्। हाल उहाँ वैचारिक अनलाइन पत्रिका दायित्वबोधको प्रकाशन संस्था मन्थन प्रकाशन प्रा.लि.को अध्यक्ष हुनुहुन्छ ।