Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका विसंगतिहरु: कारण र निराकरण

नेपाल निम्नमध्यम वर्गीय वाहुल्यता भएको देश हो–त्यो निम्नमध्यम वर्ग जो स्वभावैले अधैर्य र अवसरवादी हुने सम्भावना ज्यादा हुन्छ । त्यसमाथि थप, पार्टी प्रवेश गर्नेद्वार निकै फराकिलो भएपछि शोषक/उत्पीडक वर्ग र प्रतिक्रियावादी पृष्ठभूमिबाट खराब मानिसहरू समेत बेरोकटोक पार्टीको नेतृत्व र संयन्त्रभित्र प्रवेश गर्न आउने भए । मिहिनसित तिनीहरूको छनौट गर्न, प्रवेश द्वारमै तिनलाई कडाइपूर्वक रोक्न र पार्टीभित्र प्रवेश गरेकालाई वर्गीय तथा वैचारिक/सांस्कृतिक रुपान्तरण गर्ने प्रभावकारी प्रक्रिया र संयन्त्र भने आजको नेपाली कम्युनिष्ट आन्दोलनमा रहेन । यही छनौट र रुपान्तरण प्रक्रिया र संयन्त्रको अभाव नै नेपाली कम्युनिष्ट आन्दोलन यति कुरुप र प्रदूषित हुनुको पहिलो मूल कारणका रुपमा देखिन्छ ।

गौरवमय विरासत

नेपालमा कम्युनिष्टहरूको ऐतिहासिक विरासत गौरवमय रहेको छ ।
नेपालमा जोतिखाने किसानको पक्षमा “जसको जोत उसको पोत” तथा क्रान्तिकारी भूमिसुधारको नारा आम जनताको मन–मस्तिष्कमा स्थापित गर्ने श्रेय नेपालका कम्युनिष्टहरूलाई नै जान्छ । २००७ सालको असफल क्रान्ति पछि नेपालका कम्युनिष्ट पार्टि को नेतृत्वमा सामन्तवाद विरोधी किसान आन्दोलन यति बिशाल फैलावटमा चल्यो कि त्यसलाई दबाउन शासकहरूले भारतीय सेना नै डाक्नु परेको थियो । आज जसरी नेपालका मोहीहरूले कमाइआएको जमिनमा आधा मोहियानी हक पाएका छन् त्यसको जस त्यही किसान आन्दोलनलाई जान्छ ।

नेपालको मजदुर आन्दोलनमा पनि कम्युनिष्ट पार्टीको सुरुदेखि नै निर्णायक योगदान रहेको छ । नेपालको पहिलो मजदुर हडताल बिराटनगरमा ४ मार्च १९४७ मा भएको थियो । त्यसका नेता वीपी कोईराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला थिए । गिरिजाप्रसाद कोइराला स्वयम्को भनाइअनुसार तीमध्ये मनमोहन र गिरिजाप्रसाद त्यतिबेला कम्युनिष्ट विचारबाट उत्प्रेरित थिए । त्यसपछिका साना ठूला सबै मजदुर आन्दोलनमा नेपालका कम्युनिष्ट पार्टीहरूको क्रियाशीलता र योगदान अतुलनीय रहेको छ , चाहे त्यो बालाजु औद्योगिक क्षेत्रको आन्दोलन होस् वा हेटौँडा औद्योगिक क्षेत्रको वा अन्य बिषयगत क्षेत्रको । आज नेपालमा सबैभन्दा ठूला र शक्तिशाली बिषयगत र साझा मजदुर छाता संघहरू मूलतः कम्युनिष्ट पार्टीहरूसँगै सम्वद्ध छन् । ती त्यही मजदुर आन्दोलनको क्रममा विकसित हुन सकेका हुन् । आठ घण्टाको कार्यदिन, आधारभूत ट्रेड युनीयन तथा मजदुर हकहरू अहिले जसरी नेपालका मजदुरहरूले उपभोग गर्न सकेका छन् त्यो त्यही मजदुर आन्दोलनको उपज हो ।

राष्ट्रियताको मुद्दामा र कुनै पनि खाले साम्राज्यवाद/विस्तारवाद र नवउपनिवेशवादको विरोधको सवालमा पनि नेपालका कम्युनिष्टहरूको भूमिका अनुपमेय रहेको छ । सन् १९५०को शान्ति तथा मैत्री सन्धि, कोशी तथा गण्डक सम्झौता लगायत सम्पूर्ण असमान सन्धि/सम्झौताको खारेजीको मुद्दामा होस् वा भारतद्वारा भएको नेपाली सीमाना अतिक्रमणकोे सवालमा, संघर्षको मैदानमा स्थापना कालदेखि नै नेपाली कम्युनिष्टहरूले हमेशा अग्रणी भूमिका खेलिआएका छन् । आज पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसि)का बिरुद्धमा सबैभन्दा ज्यादा मुखर नेपालका कम्युनिष्ट पार्टीहरू नै देखिएका छन् ।

नेपालमा पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा पनि नेपालका कम्युनिष्टहरूले खेलेको भूमिका कुनै पनि उदार पुँजीवादी लोकतन्त्रवादीको भन्दा कम्ता छैन । २०१४ सालको भद्र अवज्ञा आन्दोलन होस् वा २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, नेपाली कम्युनिष्टहरू लोकतान्त्रिक आन्दोलनमा अग्रगामी भूमिकामा देखिन्छन् । माओवादीको सशस्त्र शक्ति र उसको सशस्त्र संघर्ष पृष्ठभूमिमा नहुँदो हो त शान्तिपूर्ण जनआन्दोलनले मात्र नेपालमा यति छिटै यति सजिलै राजतन्त्रको अन्त र लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव हुने थिएन भन्ने यथार्थलाई स्वयम् उदार लोकतन्त्रवादीहरू समेत नकार्दैनन् ।

नेपालमा अहिले जुन लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुखता, समावेशीता, धर्मनिरपेक्षता र लोककल्याणकारी राज्य नेपालको नयाँ संविधानको महत्वपूर्ण बिशेषता र दलहरूबीच साझा सहमतिको बिषय बनेको छ र संविधानमा समेत अंकित छ त्यसका लागि मुख्य जोडबल र सुरु पहल नेपालका कम्युनिष्टहरूले नै गरेको भनेमा कुनै अत्युक्ति हुँदैन । नेपालमा लोककल्याणकारी राज्यको थालनीको रुपमा वृद्धभत्ताको प्रारम्भ र स्थानीय वित्तीय स्वशासनको जगको रुपमा ‘आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम’को सुरुआत पचासको दशकको प्रारम्भमा नेपालको पहिलो कम्युनिष्ट सरकारले गरेको जगजाहेर छ ।

प्रजातान्त्रिक समाजवाद प्रति प्रतिबद्ध रहेको दावि गर्ने नेपालको उदार प्रजातन्त्रवादी शक्ति २०५० को दशकसम्म आइपुग्दा आफ्नो आचरण र ब्यवहारमा यथास्थितिवादी/प्रतिक्रियावादी भइसकेको थियो । बिपी कोइरालाले उठाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा विस्मृतिको गर्भमा गइसकेको थियो । संविधानसभाको एजेण्डा नेपालमा सर्वप्रथम उसैले उठाएको एजेण्डा थियो तर त्यो उसले पूर्णतः बिर्सिसकेको थियो । अहिले त्यही शक्ति पहिलेको सापेक्षतामा अग्रगामी भएर प्रकट भएको छ । ऊ संविधानसभाको सहयात्री र समाजवाद र लोकतान्त्रिक गणतन्त्रको समेत पक्षधर भएर प्रस्तुत भएको छ । यस्तो परिघटना सम्भव हुनुमा नेपालको कम्युनिष्ट पार्टीहरूसितको उसको निरन्तर अन्तरसम्वन्ध र जनदवाव मुख्य कारणका रुपमा रहेको छ भन्नु ऐतिहासिक रुपमा अनुचित हुँदैन ।

अतः यो दाबीका साथ भन्न सकिन्छ– नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक विरासत गौरबमय र सुन्दर रहेको छ । परन्तु विगतका सुन्दर इतिहासका पुँजीले मात्र बर्तमानको कुरुप यथार्थ छोपिन सक्दैन । बर्तमान सुन्दर हुनका निम्ति बर्तमानका कर्महरू आफै सही र सुन्दर हुन आवश्यक हुन्छ । तर कठोरताका साथ भत्र कर लाग्छ –नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान भने पहिले जस्तो गौरवमय रहन छोडेको छ । उसले निकै ज्यादा र निकै तीब्र गतिमा आफ्नो गौरवमय बिगतलाई आफैले मेट्न थालेको छ । आजको नेपालको कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न कुनै पुँजीवादी/साम्राज्यवादी प्रचारयन्त्र चाहिएको छैन, उसका आफ्नै क्रियाकलाप, विचार र चरित्र नै काफी भएका छन् ।

बर्तमानका बिसंगतिहरू

नेपाली कम्युनिष्टहरूले सरकारमा गएर मुलुकको अनुहार बदल्ने अवसर थुप्रै पटक हासिल नगरेको होइनन् । २०६२/६३ को जनआन्दोलनयता अधिकांश सरकार पुँजीवादी संसदमा प्रवेश गरेका ‘कम्युनिष्ट’कै बनेको छ । २०६५ सालमा भर्खरै दश बर्षे सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादीसित संसदको तीन चौथाइ बहुमत साथमा थियो । भर्खरै सकिएको ‘जनयुद्ध’को रापताप पनि थियो, अधिकांश नेपालीमा मनमस्तिष्कमा कसैले केही गरेन, अब यसले पो केही गर्छ कि भत्रे आशावादिता र भय दुबै थियो । त्यस्तै, २०७४ सालमा भर्खरै संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सत्तामा आएको केपी ओली नेतृत्वको नेकपासित पनि संसदको करिब दुईतिहाइ बहुमतको समर्थन रहेको थियो ; सातमध्ये छवटा प्रदेशमा आफ्नै सरकार थियो ; अधिकांश स्थानीय तहमा आफ्नै बहुमतको सरकार पनि थियो । तथापि तीमध्ये कुनै एउटा कम्युनिष्ट नेतृत्वले पनि मुलुकको आर्थिक–सामाजिक वर्ग संरचना र स्वरुप बदल्ने तात्विक महत्वको काम गर्न नसक्नु नेपाली कम्युनिष्ट नेतृत्वको अक्षम्य विफलता र विसंगति हो ।

नेपाली राज्यको स्वरुप र राज्य–संयन्त्रको आमूल रुपान्तरण गर्न गएको कम्युनिष्ट नेतृत्व त्यसलाई ज्युँकात्युँ राखेर आफै रातारात नवधनाढ्य वर्गमा वर्गान्तर हुनु नेपाली कम्युनिष्ट आन्दोलनको टीठलाग्दो बिरोधाभास हो । तात्विक महत्वको आर्थिक सामाजिक परिवर्तनका निम्ति गुमाइएको यी दुईवटा अपूर्व अवसर जस्तो ऐतिहासिक अवसर नेपालका कम्युनिष्टहरूले पुनः प्राप्त गर्न युगौँ पर्खनुपर्ने हुनसक्छ । अमूल्य मौका यी दुई दल तथा तिनका शीर्ष अगुवाले गुमाएका छन् तर भारी दण्ड भने सिंगो कम्युनिष्ट आन्दोलनले ब्यहोर्नु पर्दैछ ।

नेपाली कम्युनिष्ट आन्दोलनको अर्को विसंगति यो भइरहेछ कि नेपालको संसदीय वामपन्थले झण्डा त माक्र्सवादकै उठाएको छ, तर दृष्टिकोण, आचरण र ब्यवहार चाहिँ सुधारवादी पुँजीवादीको समेत अपनाइरहेको छैन । पुँजीपति बर्गको दल कमसेकम आफ्नो वर्गप्रति आधारभूत स्तरमा इमान्दार देखिन्छ । परन्तु दोहोरो चरित्र, दोहोरो जीवनशैली र आफूले प्रतिनिधित्व गर्ने श्रमिक वर्गप्रतिको गैरजवाफदेहिता र इमान्दारिहीनता नै नेपाली संसदीय कम्युनिष्टहरूको मुख्य रोग र समस्या भइरहेछ । यो नेपाली कम्युनिष्ट आन्दोलनको अर्को ठूलो विसंगति हो । आम मतदातालाई भ्रमित बनाउन बाहिर–बाहिर साइनबोर्ड कम्युनिष्ट पार्टीकै टाँग्ने परन्तु भित्रभित्र काम विश्व पुँजीवाद, दलाल पुँजीपति, डन–ठेकेदार र महाधनाढ्यहरूको हितमा गर्ने प्रवृत्तिले नेपाली कम्युनिष्ट नेतृत्वलाई ढपक्कै ढाकी रहेकोछ ।

दक्षिण एसियाभरिमा नेपाल कम्युनिष्टहरूको सर्वाधिक लोकप्रियता रहेको मुलुक रहेकोे छ । दक्षिण एसियाको, र अझ भनौँ एसियाकै कुनै पनि मुलुकमा कम्युनिष्टहरू संसदीय चुनावबाट केन्दी्रय सत्ताको शिखरमा गएको रेकर्ड छैन तर नेपालमा यो एक पटक होइन, धेरै पटक सरकारको नेतृत्व गर्न पुगेको छ । सरकारमा पुगेर पनि तात्विक महत्वको रुपान्तरणकारी काम गर्न नसक्नाले कम्युनिष्टको क्रेज घट्दो छ । तथापि वामपन्थी दल सबैले एकतावद्ध रुपमा गठबन्धन बनाएर चुनाव लड्ने हो भने यसलाई अझै पनि संसदीय र प्रादेशिक तथा स्थानीय चुनावमा चुनौति दिनसक्ने राजनीतिक शक्ति तत्काल कुनै अर्को हुनसक्ने देखिँदैन । विगतमा नेपाली कम्युनिष्टले मजदुर–किसानको हितमा तथा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा गरेको ऐतिहासिक संघर्षको अमीट छाप, देशको वर्गीय संरचनामा निम्नमध्यम र श्रमिक बर्गको अत्यधिक वर्चस्व, अनि सोभियत संघ र चीनमा भएको समाजवादी क्रान्तिको प्रभाव आदिको कुल योगका कारण नेपालमा कम्युनिष्ट यति लोकप्रिय हुन गएका हुन सक्छन् । परन्तु नेपालको विसंगति यो छ कि आम मतदाता अझै कम्युनिष्टप्रिय रहेका छन् तर कम्युनिष्ट नेतृत्व खुद आफै चाहिँ गैरकम्युनिष्ट सिद्धान्त, सोच, जीवनशैली र आचरणप्रिय हुन गएका छन् । यो अचम्मको विसंगति हो ।

२००८ सालदेखि २०४० को दशकसम्म पनि नेपालमा कम्युनिष्टहरू श्रमिक बर्गसित घनिष्ठ रुपले जोडिएका थिए । २००६ साल मा कम्युनिष्ट पार्टीको स्थापना हुनासाथ त्यसको घोषणापत्रले र २०११ सालमा सम्पन्न भएको पार्टीको पहिलो महाधिवेशनले एउटा प्रस्ताव पारित गरेको थियो जसमा जमिन्दारको भूमि र अन्य उत्पादनका साधनहरू जफत गरेर सर्वसाधारण किसान र भूमिहीनलाई बाँड्ने कुरा गरिएको थियो । ९प्जबमपबस्द्दण्द्दण्० कम्युनिष्ट नेता तुलसीलाल अमात्यको अध्यक्षतामा २००८ सालमा गठन भएको अखिल नेपाल किसान संघको अगुवाइमा ठूला ठूला किसान आन्दोलनहरू सञ्चालित भएका थिए । कम्युनिष्ट पार्टीको राजनीतिक पहलमा २००८ सालदेखि काठमाण्डौँ उपत्यकामा मोहियानी हक दिलाउने र बेठबेगारी समाप्त पार्ने आन्दोलन चल्यो भने २००९ सालदेखि रौतहटमा तमसुक फट्टा आन्दोलन, २०१० सालमा भीमदत्त पन्तको अगुवाइमा सुदूर पश्चिम नेपालमा जोताहा किसान र भूमिहीन किसानलाई जमिन दिलाउनका लागि ‘कि त जोत हलो कि त छोड थलो’ नारा बोकेको सामन्तवाद विरोधी किसान आन्दोलन चल्यो भने २०११ सालदेखि जयगोविन्द साह र सूर्यनाथ यादवको नेतृत्वमा पूर्वी तराइमा कृषि मजदुरको ज्याला बृद्धि, मोहियानी हक, जाली तमसुक फट्टा, पर्ती जमिन भूमिहीन र किसानमा वितरणका लागि प्रभावकारी किसान आन्दोलन चले । यी र यस्ता धेरै किसान आन्दोलन नेपालका कम्युनिष्टहरूले अगुवाइ गरेका ऐतिहासिक किसान आन्दोलन थिए । (पुष्पलाल (२०५३ बि.सं.): पृ. ७६–७७ ) ; लालमधेश मासिक (पुस २०६७) : पृ ३२) लालमधेश मासिक ( असोज २०७७) : पृ २३–२४ ।

यिनै आन्दोलनको दबाब र रापतापमा नै नेपालमा बेठबेगारी उन्मुलन, विर्ता उन्मुलन र भूमिसुधार गर्न त्यतिबेलाका पुँजीवादी तथा सामन्ती शासकसमेत उत्प्रेरित वा बाध्य भएका थिए । मजदुर वर्गका उल्लेख्य आन्दोलन पनि यसैबीच भएका थिए । २०३० को दशकमा दुई ठूला कम्युनिष्ट धारहरू–नेकपा (चौम) र नेकपा (माले) किसान र मजदुर वर्गको संघर्षकै पृष्ठभूमिमा विकसित भएका थिए । सशक्त पार्टीका रुपमा नेपाल मजदुर किसान पार्टीको उदय यसले चलाएको किसान आन्दोलनकै परिणाम थियो । २०५०को दशकमा पन्छाउनै नमिल्ने बिशाल शक्तिका रुपमा माओवादी पार्टीको उदय पनि यस्तै पृष्ठभूमिमा भएको थियो ।

मजदुर–किसान–उत्पीडित समुदाय लगायत हरेक थरिका श्रमिक वर्गमाथि हुने सबै खालको शोषण/उत्पीडनबाट मुक्ति र त्यसका लागि निरन्तर संघर्ष प्रत्येक कम्युनिष्ट पार्टीको आधारभूत परिचायक हो । त्यो संघर्ष आवश्यक छैन भने कम्युनिष्ट पार्टीको पनि आवश्यकता बाँकी रहँदैन । परन्तु अहिले भुइँ तहमा नेपाली कम्युनिष्टहरूको अगुवाइमा किसान आन्दोलन र मजदुर आन्दोलन नै उठ्न छोडेको छ । झापा विद्रोहको पृष्ठभूमिबाट आएको नेकपा एमालेको मात्र होइन, ‘जनयुद्ध’को पृष्ठभूमिबाट आएको भनिएको नेकपा माओवादीको प्राथमिकताको कार्यसुचीमा हिजोआज प्रगतिशील भूमिसुधार र कृषि क्रान्ति पर्दै पर्र्दैन, न त श्रमिक वर्गीय आन्दोलन नै पर्दछ । कतिपय परियोजना, प्रतिष्ठान, वा कारखानाहरूमा त कम्युनिष्ट पार्टी पक्षधर ट्रेड युनीयनका अगुवाहरू मजदुर वर्गको हित रक्षक हुनुको सट्टा ब्यवस्थापन पक्ष, साहु वा ठेकेदारको विचौलियाका रुपमा परिणत भएको समाचार पनि बेलाबेलामा सञ्चारमाध्यमहरूमा नदेखिएको होइन ।

अहिले अधिकांश भूमिमा किसानको आफ्नै ब्यक्तिगत जोत कायम हुन गए पनि नेपालमा भूस्वामित्वको असमान वितरण र अन्यायपूर्ण संरचना अझै बाँकी छ । आजको नेपालको भूस्वामित्वको अन्तरविरोध यो छ कि जोसित जमिन ज्यादा छ तीमध्ये धेरैले जमिनमा पाइला नै टेक्दैनन् ; जो जमिनमै जीवन फाल्छन् उनीहरूमध्ये धेरैसित या त खेतीयोग्य जमिन नै छैन, या यति थोरै छ कि त्यसले जीविका नै धान्दैन । तर भूस्वामित्वको यो अन्यायपूर्ण र असमान संरचनाको अन्त्य अब संसदीय कम्युनिष्टहरूमध्ये कसैको पनि चासोको बिषय रहेन । यसप्रकार, देशमा कम्युनिष्ट पार्टी सबैभन्दा ठूला र बलिया तर उनीहरूको नेतृत्वमा श्रमिक वर्गीय वर्ग संघर्ष एबम् मजदूर र किसान आन्दोलन चाहिँ शून्य ; नाम कम्युनिष्ट पार्टी ती पार्टी आफै मजदुर र किसान समुदायबाट, उनीहरूको वर्ग संघर्षबाट नराम्ररी अलग्गिएका ; देशको संविधान समाजवादउन्मुख तर त्यसभित्रको ब्यवस्था पुँजीवादी निजी सम्पत्तिको घनघोर रक्षक–यो यतिखेरको अर्कोे ठूलो बिसंगति हो ।

नेपालमा गैरसंसदीय कम्युनिष्ट दलहरू आधा दर्जनजति संख्यामा अस्तित्वमा नरहेका होइनन् । एकतावद्ध हुन सक्दा उनीहरूको शक्ति सानो रहँदैन र संसदवादी शक्तिलाई त्यसले गतिलो चुनौती दिन समर्थ पनि हुन्छ भत्रे कुरामा कुनै शंका छैन । यी दलहरूको गन्तब्य र निर्देशक सिद्धान्त आपसमा मिल्दामिल्दै पनि, एकताका लागि लामो समयदेखि सम्वादको प्रक्रियामा रहे पनि उनीहरू एकतावद्ध भने हुन सकेका छैनन् । वर्तमानका अर्थराजनीति र आन्दोलनका कार्यक्रम सम्वन्धी विषयवस्तुले भन्दा विगत इतिहासका कुराले, सामुदायिक स्वार्थप्रधानताले भन्दा नीजि नेतृत्वगत अहंकारले, देशभित्रका विषयले भन्दा अन्तरराष्ट्रिय बिषयले, सबैभन्दा ज्यादा जडसुत्रवादी र यान्त्रिक चिन्तन पद्धतिले उनीहरूलाई एकतावद्ध हुनबाट छेकिरहेको देखिन्छ । गन्तब्य र आधारभूत सिद्धान्त एउटै तर पार्टी भित्राभित्रै ; गैरसंसदीयताको चरित्र एउटै तर क्रान्तिको सोच अलग–अलग ; सबै कट्टर माक्र्सवादी तर व्यक्तिवाद, अहंकार र शब्दको लडाइँमा सबै मग्न ; संसदवादी सोच र अहिलेसम्मको यात्रासम्वन्धमा सबैको आलोचना र विरोध समान तर तत्काल त्यसका विरोधमा मिल्तीको विन्दुभन्दा नमिल्ने विषयलाई ज्यादा प्राथमिकता – यी नै नेपालको गैरसंसदीय कम्युनिष्ट आन्दोलनको विसंगतिको रुपमा देखा परेको छ ।

कुनै पनि दललाई जीवन्त, शक्तिशाली र विशाल बनाउने आम जनताको र उत्पीडित वर्गको प्रत्यक्ष सरोकारका विषयमा निरन्तर वैचारिक तथा सडक संघर्षका कार्यक्रमले हो । राष्ट्रियताको मुद्दामा त गैरसंसदीय दलहरू यदाकदा सडक आन्दोलनमा उत्रेका देखिन्छन् । तर आम जनताको मन जित्ने जनजीविका र वर्गीय उत्पीडनका विषयमा उनीहरू पनि संघर्षशील देखिएका छैनन् । बिगत केही वर्षयता उनीहरूको नेतृत्वमा पनि उल्लेख्य श्रमिक आन्दोलन वा किसान वर्ग संघर्ष उठेको देखिएको छैन । श्रमिक र किसान वर्गबाट अलगाव गैरसंसदीय कम्युनिष्ट दलहरूको पनि साझा चरित्र र विसंगतिका रुपमा देखिएको छ । । कसैकसैमा त वैज्ञानिक समाजवाद समेत जनमतसंग्रहबाट आउनसक्ने चिन्तन समेत देखिएको छ ।
यतिबेला नेपाली संसदीय कम्युनिष्टको मुख्य सरोकारको बिषय ‘जसरी पनि’ चुनाव जित्नु, ‘जोसित मिलेर भए पनि’ संसदमा बहुमत जुटाउनु र येनकेनप्रकारेण सरकारमा जानु सिबाय अर्को देखिँदैन । एउटा संसदबाट अर्को संसदसम्म र एउटा चुनावबाट अर्को चुनावसम्म मात्र सम्पूर्ण ध्यान–ध्याउन्ना र शक्तिलाई केन्द्रित गर्नु उनीहरूको मुख्य चरित्र भएको छ । व्यक्तिगत सत्ता र सम्पत्ति स्वार्थको अजिंगरले छोटो अवधिमै नेपालको संसदीय साम्यवादलाई शिरदेखि निल्दै लगेर पुरै शरीर दमपच पारिसकेको छ भनेमा कुनै अत्युक्ति हुँदैन । राजनीति उनीहरूको लागि देश र जनसेवाको साधन होइन, तस्करी भन्दा पनि नाफादायक ब्यापार भएको छ । संसदीय बाटोबाट सरकारमा गएका नेपाली संसदीय ‘कम्युनिष्टहरू’ वास्तविक अर्थमा कम्युनिष्ट त टाढैको कुरा रह्यो, इमान्दार सुधारवादी समेत देखिन छोडेका छन् । उनीहरू माक्र्सवादी त के कुरा, सुसंगत लोकतान्त्रिक समाजवादी समेत हुन सकेका देखिँदैनन् । केही ‘कम्युनिष्ट दल’ त प्रतिगामी सोच ब्यवहारमा उतार्न पनि उद्यत भएका छन् ।

यतिबेला आम रुपमा नेपाली कम्युनिष्ट आन्दोलनमा वामपन्थलाई यथास्थितिवादले, माक्र्सवादलाई व्यवहारवादले निल्दै लगेको देखिन्छ । समग्रतामा नेपाली संसदीय कम्युनिष्टहरू हालको नेपाली संविधानभन्दा पनि होचो साबित हुन थालेका छन् । उसले वर्तमान नेपाली संविधानको मात्र इमान्दार कार्यान्वयन गरिदिए मात्र पनि पुग्थ्यो र यसले देशमा सुधारवादी परिवर्तनको दिन देख्न पाइन्थ्यो भन्ने जनमत सानो छैन । नेपाली कम्युनिष्ट आन्दोलनको यो लाजमर्दो विसंगति हो ।

ती दलभित्र राम्रा र इमान्दार नेता र कार्यकर्ता पंक्ति नरहेका होइनन् । यदाकदा उनीहरू आफ्नो असंतुष्टि सार्वजनिक रुपमा ब्यक्त गरिरहेछन् पनि । परन्तु अवसरवादीहरूको विशाल महासागरमा उनीहरू सानो टापु जस्तो भएका छन् । सयौँ नेतामाथि एकजना शीर्ष नेता हाबी भइरहेको देखिन्छ ; हज्जारौँ कार्यकर्ताभन्दा केही दर्जन नेता भारी परेको देखिन्छ । यो यसकारणले कि उनीहरूका टाउकोमाथि नेतृत्वको कार्वाहीको भयरुपी तरवार यसरी झुण्डेको छ कि ज्यादा बोल्यो कि खत्तम होइन्छ, पाउनसक्ने अवसर पनि पाइत्र र कहिँको रहित्र भत्रे भयको मानसिकताले धेरैको मनमस्तिष्कमा घर जमाउँदै लगेको देखिन्छ । फलस्वरुप, नेतृत्वले भूलमाथि भूल, अपराधमाथि अपराध गर्दै लगेको उनीहरूलाई थाहा हुँदाहुँदै उनीहरू जबर्दस्ती लतारिँदै त्यही नेतृत्वको पछि लागेका छन् जसको नैतिक–सांस्कृतिक तथा वैचारिक उँचाइप्रति न उनीहरूमा कुनै आस्था बाँकी रहेको छ, न त विश्वास । उनीहरूको भौतिक शरीर त्यही दलमा छ, तर मन अन्तै देखिन्छ । उनीहरूको औपचारिक उपस्थिति त्यही दलमा छ, तर ध्यान ध्याउत्रा र नैतिक समर्थन अन्त कतै देखिन्छ । यो अचम्मको विसंगति हरेकजसो संसदीय कम्युनिष्ट दलमा यतिखेर विद्यमान देखिन्छ ।

यो अन्तरविरोधले सबै दलभित्रका वास्तविक र इमान्दार कम्युनिष्टलाई निकासका लागि छटपटिने र छटपटिएकाहरू एकजुट हुने प्रक्रियातिर पनि धकेलेको छ । भविष्यमा झन्झन् ज्यादा धकेल्दै लानेछ । संसारमा कुनै पनि कुरा स्थिर छैन । अतः यस्ता इमान्दार र वास्तवमै आमूल परिवर्तन पक्षधार कार्यकर्ताको पंक्ति मात्र स्थिर रहने सम्भावना हुँदैन । एउटा विन्दु निश्चित रुपमा आउने छ कि यो पंक्तिले गुणात्मक फड्को मार्ने साहस गर्नेछ । त्यो फड्को कुन स्वरुपमा, कसरी, कुन समयमा हुनेछ अहिले नै भत्रु समयभन्दा चाँडो हुनेछ । बहिरहेको गतिशील नदीलाई कुनै पहिरोले केही बेर कहिँनेर थुन्नु सम्भव हुन्छ । तर जतिसुकै ठूलो पहिरो भए पनि सधैँको लागि सबै स्थानमा थुनेको थुन्यै गर्नु सर्वथा सम्भव हुँदैन ।

कारण र निराकरण

संसारमा अकारण कुनै पनि कुरा हुने गर्दैन । हरेक परिघटनाभित्र त्यो हुनुको कारण पनि लुकेर रहेको हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा यति धेरै विसंगतिहरू हुनुका पछाडि निश्चित कारणहरू रहेका छन् । ती कारण के होलान् ? किन त्यति सुन्दर विगत भएको नेपाली कम्युनिष्ट आन्दोलन आज यति कुरुप र प्रदूषित हुनपुग्यो ? अब हामी त्यस बारे केही चर्चा गरौँ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा विसंगतिको पहिलो मूल कारण के रह्यो भने संसदीय सत्ता र चुनावी स्वार्थका लागि कम्युनिष्ट पार्टीको प्रवेशद्वार यति फराकिलो बनाउँदै लगियो कि कम्युनिष्टको न्युनतम चरित्र र बिशेषता नै नभएका तथा आम जनसमुदायका दृष्टिमा खराब र हानिकारक ठहरिएका तत्वसमेत निर्वाध रुपमा यसभित्र छिर्न सम्भव हुन थाल्यो । यो नै त्यो मूल कारण हो जसले नेपाली कम्युनिष्ट आन्दोलनमा विसंगतिको बाढी नै उराल्यो ।

कम्युनिष्ट पार्टी भनेको शोषण/उत्पीडन र अन्यायबाट श्रमिक बर्गको मुक्तिको ध्येय बोकेको श्रमिक वर्गको राजनीतिक दल हो । वर्गीयतामा जागरुक श्रमिक वर्गीयता, चिन्तनमा परिपूर्ण प्रगतिशीलता र वैज्ञानिकता, दृष्टिकोण एवम् सिद्धान्तमा ऐतिहासिक एवम् भौतिकवादी द्वन्द्ववाद र वैज्ञानिक समाजवाद, संंस्कृति तथा आचरणमा सामुदायिक सर्बोच्चता, आलोचनात्मकता र मानवीय विवेकशीलता र ध्येय/उद्देश्यमा मानवमाथि मानवबाट हुने सम्पूर्ण भेदभाव, शोषण–उत्पीडनको अन्त्य–यो संसारभरिकै कम्युनिष्ट र कम्युनिष्ट पार्टीको साझा चरित्र एवम् विशेषता हो । यही चरित्र र बिशेषताका कारणले कम्युनिष्ट पार्टीमा मानव समुदायबाट आएका हरेक मानिस प्रवेश गर्न र अटाउन सक्दैनन् । पुँजीवादी–सामन्तवादी शोषण/उत्पीडन तथा भेदभावमा संलग्न मानिसहरू, समाजका जालीझेली, बेइमान र खराब मानिसको लागि त कम्युनिष्ट पार्टीको सुरु प्रवेशद्वार नै खुला हुनसक्दैन । यसको नेतृत्वमा पुग्ने त टाढाको कुरा रह्यो ।

परन्तु आजको नेपाली कम्युनिष्ट आन्दोलनको विडम्वना नै यो रह्यो कि नेपालमा ठूला भनिएका कम्युनिष्ट पार्टी संसदवादी मात्र रहे । गैरसंसदवादी दलको साइज, वैचारिक बहस, गतिविधि र क्रियाशीलता मुलुकको राजनीतिलाई यथेष्ट प्रभाव पार्नसक्ने हदको रहेन । संसदवादी कम्युनिष्ट पार्टीहरूमा भने न त बेठिक तत्व पार्टीको प्रवेश द्वारमै छँटनी गर्ने संयन्त्र बाँकी रहेको छ, न पार्टी प्रवेश गरेका मानिसहरूको वर्गीय तथा बैचारिक–सांस्कृतिक रुपान्तरणको संयन्त्र । एकजना प्रहरी वा सैनिक हुन समेत उनीहरू परीक्षण, तालिम, शिक्षा र व्यक्ति रुपान्तरणको कठिन प्रक्रिया भएर गुज्रनु पर्ने हुन्छ । तर एकजना कम्युनिष्ट पार्टी सदस्य वा त्यसको नेता हुन चाहिँ त्यस्तो योग्यता र सक्षमता केही नचाहिने विसंगतिपूर्ण स्थिति छ । एकजना ब्यक्ति कुख्यात डन होस् वा भ्रष्ट ठेकेदार, अपराधिक पृष्ठभूमिको मानिस होस् वा प्रतिक्रियावादी पृष्ठभूमिको, पार्टी नेतालाई खुसी बनाएपछि वा पार्टीलाई निश्चित रकम बुझाएपछि ऊ सजिलै कम्युनिष्ट पार्टीमा नेतृत्वदायी स्थानमा वा पार्टीको जनप्रतिनिधिका रुपमा समेत भित्रन सक्ने बनाइएको छ । कम्युनिष्ट आन्दोलनमा योभन्दा ठूलो विसंगति अरु के हुनसक्छ ?

नेपाल उसै पनि निम्नमध्यम वर्गीय बाहुल्यता भएको देश हो–त्यो निम्नमध्यम वर्ग जो स्वभावैले अधैर्य र अवसरवादी हुने सम्भावना ज्यादा हुन्छ । त्यसमाथि थप, पार्टी प्रवेश गर्ने द्वार निकै फराकिलो भएपछि शोषक/उत्पीडक वर्ग र प्रतिक्रियावादी पृष्ठभूमिबाट खराब मानिसहरू समेत बेरोकटोक पार्टीको नेतृत्व र संयन्त्रभित्र प्रवेश गर्न आउने भए । अपरिवर्तित गैरश्रमिक वर्गको निकै ठूलो हिस्सा यसको अगुवाइ गर्नमा र यसको सदस्य हुनमा अग्रसर हुने भए । परन्तु मिहिनसित तिनीहरूको छनौट गर्ने, प्रवेश द्वारमै तिनलाई कडाइपूर्वक रोक्न र पार्टीभित्र प्रवेश गरेकालाई वर्गिय तथा वैचारिक/सांस्कृतिक रुपान्तरण गर्ने प्रभावकारी प्रक्रिया र संयन्त्र भने आजको नेपाली कम्युनिष्ट आन्दोलनमा रहेन । यही छनौट र रुपान्तरण प्रक्रिया र संयन्त्रको अभाव नै नेपाली कम्युनिष्ट आन्दोलन यति कुरुप र प्रदूषित हुनुको पहिलो मूल कारणका रुपमा देखिन्छ । स्वच्छ सफा बागमतीमा सबै खालका दुर्गन्धित फोहोर मिसिएका ढल खुल्लमखुल्ला छोडीदिएपछि बागमती नदीको जे हालत हुने हो नेपालको कम्युनिष्ट आन्दोलनको त्यही हबिगत हुन गएको छ ।

यो समस्याको निराकरण तब मात्र हुन सम्भव हुन्छ जब हरेक कम्युनिष्ट भनिएको दलमा तीनवटा संयन्त्र र प्रक्रिया अवश्यम्भावी रुपमा हुने गर्दछ : एक, समुदायको फोहोर र हानिकारक तत्व सितिमिति कम्युनिष्ट पार्टीमा प्रवेश नै गर्न नपाओस् भन्नाका लागि पार्टी सदस्यताको प्रवेश द्वारमै हरेक ब्यक्तिको मिहिन छानवीन र छनौट गर्ने प्रभावकारी संयन्त्र र प्रक्रिया । दोस्रो, पार्टीभित्र पस्न लागेका हरेक ब्यक्तिको अनिवार्य रुपमा वर्गीय, वैचारिक र सांस्कृतिक परिवर्तनको लागि प्रभावकारी शिक्षण, परीक्षण र रुपान्तरण संयन्त्र । तेस्रो, रुपान्तरणको व्यावहारिक परीक्षणपछि मात्र विचार, कार्य र चरित्रको स्तरका आधारमा नेतृत्वदायी पदहरूमा जिम्मेवारी दिने प्रक्रिया ।
निराकरणको अर्को बिकल्प पनि छ । त्यो हो– कम्युनिष्ट हुने न्युनतम योग्यता र चरित्र नै नभएका सबैको माानिसको लागि कम्युनिष्ट पार्टीको प्रवेशद्वार यसरी निर्बाध खुल्ला गरी नै राख्ने हो भने खासखास पार्टीले कम्युनिष्ट पार्टीको नाम प्रयोग गर्न नै बन्द गर्ने । पार्टी जुन चरित्रको बनेको छ वा बनाउन चाहेको हो, त्यही चरित्रको नाम दिने । कम्युनिष्ट पार्टीको निर्माणमा इमान्दार हुन सकिँदैन भने कमसेकम पार्टीको नामाकरणमा त इमान्दार हुने । कम्युनिज्मको नाममा त्यसको हिङ् बोकेको टालो समेत नभएको पार्टीले आफूलाई कम्युनिष्ट पार्टीको नाम दिइरहनुको कारणले समेत नेपालमा कम्युनिष्ट शब्दको मूल्यमै भारी स्खलन आएको हो । कम्युनिष्ट पनि उही ड्याङ्को मुला हो भत्रे आम जनमत बत्र थालेको हो ।

दूध नौनीमा रुपान्तरित हुने प्रक्रिया र समुदायका असल जनसेवाभाव भएका मानिस कम्युनिष्ट बन्ने प्रक्रिया उस्तैउस्तै हुने गर्छ । कराइभरिको धेरै दूधलाई अलिअलि गर्दै ठेकीमा खन्याउँदै त्यसलाई दहीमा रुपान्तरित गरेर मदानीले त्यो दहीलाई पनि धेरै बेर ठेकीमा बेस्सरी मथेपछि मात्र बल्ल त्यसको खास हिस्सा नौनीमा परिणत हुने हो । कम्युनिष्ट भनेको पनि मानव समुदायको नौनी जस्तै हो । जसरी कराइभरिको सारा दूध र ठेकीभरिको सारा दही नौनी हुन सम्भव हुँदैन ठिक त्यसरी नै समुदायबाट कम्युनिष्ट हुने आकांक्षा राखेका सारा मानिस कम्युनिष्ट हुने सम्भावना हुँदैन । छानिएका श्रमिक वा गैरश्रमिक समुदायका असल मानिसलाई वर्ग, चिन्तन प्रणाली, विश्व दृष्टिकोण, संस्कृति/आचरण र ध्येय/उद्देश्यका हिसाबले पहिले कम्युनिष्ट चरित्रको प्रभावकारी शिक्षण/परीक्षण र रुपान्तरणको प्रक्रियामार्फत ठेकीको दहीमा रुपान्तरित गरेर त्यो दहीलाई संघर्षमा सामेली, जिम्मेवारी र ब्यवहारको मदानीले ठेकीमा आवश्यक समयसम्म बेस्सरी मथेपछि बल्ल त्यसको खास सानो हिस्सा नौनी अर्थात कम्युनिष्टमा रुपान्तरित हुने हो । नेपाली कम्युनिष्ट आन्दोलनमा समुदायका साराका सारा दूधलाई त्यति नै मात्रामा नौनी बनाउन सकिन्छ भत्रे भ्रमपूर्ण रोग हाबी भयो । यो व्यावहारिक हिसाबले पनि त्यत्तिकै असम्भव कुरा हो जति सैद्धान्तिक हिसाबले गलत ।

अहिले पनि कम्युनिष्ट पार्टीहरूमा स्कूल विभाग नरहेको होइन तर ती असली अर्थमा वैचारिक–सांस्कृतिक र व्यवहारिक परीक्षण, प्रशिक्षण र रुपान्तरण गर्ने संयन्त्र कम, नेताहरूले एक थान राजनीतिक भाषण भट्याउने संयन्त्र ज्यादा रहेका छन् । यता जनयुद्धको कठोर भट्टी पार भएर आएका अधिकांश योद्धाहरूलाई अहिले हेर्दा यस्तो प्रतीत हुन्छ : त्यहाँ हातमा बन्दुक थमाउने काम त धेरैलाई गरिएछ, तर बन्दुक समातेका हातलाई कम्युनिष्ट विचार, आचरण र चरित्र थमाउने काम चाहिँ खासै भएनछ । यही विसंगतिका कारण नेपालका आजका ज्यादाजसो कम्युनिष्टहरू संसार बदल्न हिँडेका त छन् तर सबैभन्दा ज्यादा बदलाहटको आवश्यकता भने उनीहरू आफैमा देखिएको छ । कुनै अमुक व्यक्ति अमुक कम्युनिष्ट पार्टीको शीर्ष अगुवा भइसकेको हुन्छ तर न त उसको विचार र दृष्टिकोण कुनै बुर्जवा नेता फरक हुन्छ, न दिनानुदिनको आचरण र जीवन संस्कृति नै ।
कम्युनिष्ट पार्टी कम्युनिष्ट बन्न योग्य तथा सक्षमहरूकै पार्टी हुनु पर्दछ, कम्युनिष्ट नामाकरण गर्न इच्छुक सबैको होइन । आम जनसमुदायको दृष्टिमा कम्युनिष्ट भनेका लोभलालच र छलकपट नभएका, समाजसेवी भाव भएका समुदायका असल मानिस भत्रे छवि बन्नसक्दा मात्र कम्युनिष्ट पार्टीले आम जनसमर्थन पाइराख्ने स्थिति बत्र सक्दछ ।

माक्र्सवाद वा बैज्ञानिक समाजवादलाई केवल सूचना ज्ञान राखे पुग्ने, मान्छु भने पुग्ने, यसको माला जपे पुग्ने बिषय बनाइनु आज देखिएका धेरै विसंगतिको अर्को मूल कारण हो ।
कुनै पनि सिद्धान्त, दर्शन, र राम्रा विचार ग्रहण गर्नुको सामान्यता तीन स्तर हुने गर्छ : एक, सुन्नु–बताउनुको स्तर । अर्थात, सूचना ज्ञानको स्तर । यो कुनै कुरा सुन्यो वा पढ्यो, राम्रो लाग्यो, त्यसबारे थाहा पायो, ग्रहण गरिहाल्यो र अरुलाई भन्न थाल्योवाला स्तर हो । दुई, थाहा पायो, राम्रो लाग्यो, त्यसबारे चिन्तन मनन र बहस समेत गर्न थाल्यो र काममा समेत रुपान्तरण ग¥योवाला स्तर । अर्थात चिन्तन र कर्ममा रुपान्तरणको स्तर । तीन, थाहा पायो, राम्रो लाग्यो, त्यसअनुकूल काम पनि गर्न लाग्यो र जीवन पनि त्यहीअनुसार बाँच्न लाग्योवाला स्तर । अर्थात जीवन मूल्य र जीवन दर्शनको रुपमा कुनै पनि सिद्धान्तको ग्रहणको स्तर । यसैलाई गौतम बुद्धले श्रुतिमयी प्रज्ञा, चिन्तनमयी प्रज्ञा र भावनामयी प्रज्ञा भनेका छन् । ग्रीक दर्शनमा यसलाई त्जभ क्तबतभ या प्लयधष्लन, मयष्लन बलम दभष्लन भन्ने गरिएको छ ।

माक्र्सवाद बारे सूचना ज्ञानको स्तर त जोसुकैले पनि राख्न सक्छन् । त्यसको लागि कम्युनिष्ट नेता वा सदस्य नै हुनु पर्दैन । एकजना प्रतिक्रियावादी लेखक, प्रोफेसर, दुश्मनका गुप्तचरले पनि यो स्तर हासिल गर्न सक्छन् । किनकि यसका लागि माक्र्सवादी सिद्धान्तका हरफका हरफ कण्ठस्थ पारे पुग्छ, त्यो भट्ट्याउन र व्याख्या गर्न जाने पुग्छ । माक्र्सवादको माला जपे पुग्छ । त्यति स्तरको ज्ञान हासिल गरेर कोही पनि व्यक्ति कम्युनिष्ट हुँदैन । कम्युनिष्ट हुनेतर्फको यात्राको प्रारम्भ माक्र्सवाद बारे जान्ने, त्यसबारे चिन्तन–मनन गर्ने र त्यसलाई व्यवहारिक यथार्थमा उतार्न थाल्ने तथा श्रमिक वर्ग र तमाम उत्पीडित समुदायको हितका खातिर वर्ग संघर्षमा स्वयम् हेलिने कामबाट हुन्छ । यो काम भने कुनै प्रतिक्रियावादी ब्यक्तिबाट हुन हम्मेसी सम्भव हुँदैन ; जब उसबाट यो कार्य हुन थाल्छ ऊ प्रतिक्रियावादी नै बाँकी रहँदैन ।

कम्युनिष्ट त तब होइन्छ जब माक्र्सवादी सिद्धान्तको ज्ञान, यस अनुसारका चिन्तन–मनन र कर्मका साथसाथै त्योअनुकूल बाँच्न पनि थालिन्छ ; वैज्ञानिक समाजवादलाई जीवनमूल्यका रुपमा आफ्नो जीवनमै उतार्न थालिन्छ । त्यतिबेला द्वन्द्वात्मक प्रयोगका तहमा माक्र्सवादको अभ्यास हुन्छ । यसबाट व्यक्तिको पनि आमुल रुपान्तरण हुन्छ । माक्र्सवादको विकासका लागि त्यसका सीमाहरू सहितको आलोचनात्मक ज्ञान पनि भावनात्मक तहमा आफ्नै अनुभवबाट हासिल हुन्छ । जब यो हुन्छ आजको कम्युनिष्ट आन्दोलनमा जस्तो पुँजीवादी विचलन हुन सम्भव हुँदैन । तथापि ब्यक्ति पूर्ण कहिल्यै पनि हुँदैन । कम्युनिष्ट हुँदा पनि हुँदैन । गल्ती/कमजोरी त्यतिखेर पनि हुन्छ । तर त्यसलाई समालोचक ढंगले स्विकार्ने र सच्याउने क्षमता आफैसित हुन्छ । किनभने कम्युनिष्ट हुनु भनेको सारमा अरु केही हुनु होइन, जागृत, समालोचक तथा समुदायवादी हुनु हो ; झन् ज्यादा परिपूर्ण रुपमा मानवीय तथा विवेकशील हुनु हो ; शोषण–उत्पीडन भेदभाव आफू नगर्ने र अरुले गरेको पनि नसहने हुनु हो ।

नेपाली कम्युनिष्ट आन्दोलनको दुखान्त यो हो कि यतिबेला नेपालका कम्युनिष्ट पार्टीहरूको आम स्तर र शीर्ष नेतृत्वको स्तर समेत सूचना ज्ञानभन्दा माथि उठ्न सकेको देखिँदैन । सारा काम गर्ने, संगठन बनाउने–विस्तार गर्ने अनि जीवन जिउने–पुँजीवादी जीवन दर्शनअनुसार, तर भाषण दिने, कक्षा दिने माक्र्सवादी दर्शनअनुसार ! यस्तो विसंगति भएपछि नै नेपालमा कतिपय कम्युनिष्ट दलहरू पुँजीपति बर्गको दलभन्दा तात्विक रुपमा भित्र देखिन छोडेका हुन् । यही कारणले नै आजकल कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर र किसान आन्दोलन उठ्नै छोडेको हो र श्रमिक बर्गसित कम्युनिष्ट पार्टीको सम्वन्धबिच्छेद हुन गएको हो । कम्युनिष्ट पाटीका अगुवाहरु पनि पुँजीवादी नेता सरह भ्रष्ट र ब्यक्तिवादी हुने स्थिति यही कारणले पैदा भएको हो ।

नेपालका कम्युनिष्टहरूले कम्युनिष्ट विचारधारालाई केवल राजनीतिक आन्दोलनका रुपमा बुझ्नु र ग्रहण गर्नु र कम्युनिज्मलाई सुदूर भविष्यको विषय बनाउनु अनि अहिले र यहीँ चाहिँ पूजीवादी विचार, संस्कृति र अर्थ–राजनीतिको यथावत अभ्यास गर्नु अहिले देखिएका कतिपय विसंगतिको अर्को मूल कारण हो ।
कम्युनिज्म भनेको एउटा समग्र विचारधारा हो जसभित्र, सिद्धान्त, विचार, संंस्कृति, नीति/नैतिकता, राजनीति र अर्थनीति सबै पर्दछन् । परन्तु नेपालका कम्युनिष्टहरूले कम्युनिष्ट विचारधारालाई केवल राजनीतिक आन्दोलनका रुपमा मात्र ग्रहण गरेको देखिन्छ । बृहद कम्युनिष्ट विचारधाराको यही टुक्रे बुझाइका कारणले नेपालमा संसदीय र गैर संसदीय कम्युनिष्ट पार्टीहरू सबैले कम्युनिष्ट आन्दोलनको रुपमा केवल राजनीतिक आन्दोलनमा मात्र एकोहोरो प्राथमिकता दिएका छन् । राजनीतिमा पनि सबै परिवर्तन आफ्नो नेतृत्वमा क्रान्ति भएपछि र आफू सत्तामा आएपछि भत्रे उनीहरूको त्रुटिपूर्ण प्रचार र विचार देखिएको छ ।

नेपालमा कम्युनिष्टहरूको प्रभाव र पकड निकै बलियो भएका क्षेत्रहरू थुप्रै छन् । तर कम्युनिज्मको यही टुक्रे बुझाइका कारण त्यहाँ उनीहरूले आम जनसमुदायको दृष्टिकोण, विचार र संस्कृतिलाई तथा त्यहाँको वर्गिय–अर्थराजनीतिलाई तात्विक रुपमा रुपान्तरण गर्ने र त्यसका निम्ति सशक्त आन्दोलन चलाउने काम गरेको देखिँदैन । थोरबहुत कामै गर्नेहरूले पनि बढीमा सुधारको काममा सीमित गरेको देखिएको छ । माओवादीले जनयुद्ध कालमा गाउँको अर्थराजनीति केही मात्रामा बदल्ने प्रयास गरेकोमा शान्ति प्रक्रियामा आएपछि उनीहरूले पनि सामन्तका खोसिएका सम्पत्ति समेत फिर्ता दिएर, बनाएका कम्युन र सहकारी समेत लथालिङ्ग बनाएर आफ्ना सारा राम्रा प्रयासलाई आफै उल्ट्याएको छ ।

माओवादी पार्टीभित्र अहिले पनि केही अगुवाहरूले व्यक्तिगत सम्पत्ति एकै ठाउँमा समाहित गरेर महोत्तरीको बर्दिवासमा सानो आवासीय क्याप्सुल कम्युन बनाएको स्थिति अहिले पनि रहेको छ । यो उदाहरणीय प्रयास भए पनि यो अपवादको स्तरभन्दा माथि उठ्न सकेको छैन । कारण, यस्तो आवासीय क्याप्सुल कम्युन एक ठाउँभन्दा अन्यत्र विस्तारित गर्ने कुनै आन्दोलन र प्रयास देखिँदैन । यो जहाँ छ त्यहीँमात्र सीमित छ । यसप्रकार नेपालका कम्युनिष्टहरूले आफ्ना बलिया पकड क्षेत्रमा पनि अहिले र यहीँ चाहिँ पुँजीवादको अभ्यास गर्ने गरेका छन् तर बैज्ञानिक समाजवादलाई चाहिँ सुदूर भबिष्यको बिषय मात्र बनाएका छन् । उरालीरहेका छन् समाजवादको भाषण तर बाँचिरहेका छन् पुँजीवादी जीवन । यो नेपाली कम्युनिष्ट आन्दोलनको अर्को ठूलो विसंगति हो ।

परिणामतः कम्युनिष्ट दलहरूले पार्टीभित्र र बाहिर आम जनसमुदायबीच सैद्धान्तिक तथा बैचारिक–सांस्कृतिक आन्दोलन नै चलाएनन् । कम्युनिष्ट पार्टी नेपालका अरु सबै दलभन्दा बिशाल हुँदा पनि, उनीहरू सत्ताको केन्द्रमा हुँदा समेत कम्युनिष्ट चरित्रको वैचारिक–सांस्कृतिक आन्दोलन लगभग शून्य रह्यो । उनीहरूले यसका निम्ति कुनै प्रभावकारी र सशक्त संयन्त्र बनाउन आवश्यक नै ठानेनन् । यही कारण नेपालमा दलहरूमा कम्युनिष्ट दलहरू नै सर्वाधिक ठूला त भए तर वैचारिक सांस्कृतिक आन्दोलनमा पुँजीवादी वैचारिक–सांस्कृतिक आन्दोलन नै सबैभन्दा ठूला र समाजब्यापी रुपमा हाबी रहे ।

यसको सापेक्षता सानो साइजमा मात्र पुँजीवादी पार्टी अस्तित्वमा रहे पनि नेपालको पुँजीवादी खेमामा नेपालको सारा समाजलाई पुँजीवादी विचार र संस्कृतिमा ढाल्ने र रुपान्तरण गर्ने सशक्त संयन्त्र सक्रिय देखिन्छ । पुँजीवादी वैचारिक सांस्कृतिक आन्दोलन कम्युनिष्ट वैचारिक सांस्कृतिक आन्दोलन भन्दा निकै बृहद र ब्यापक देखिन्छ । साहित्य, टिभी च्यानल, रेडियो फिल्म, मेडिया, इन्टर्नेट र विद्यालय शिक्षा–यी सबैमार्फत उसले पुँजीवादी वैचारिक सांस्कृतिक आन्दोलनलाई निन्तर र प्रभावकारी रुपमा चलाइरहेको देखिन्छ । आधुनिक वैज्ञानिक प्रविधिको सबैभन्दा ज्यादा उपयोग पनि उसैले गरिरहेको देखिन्छ । परन्तु नेपालमा यति धेरैवटा कम्युनिष्ट पार्टी अस्तित्वमा हुँदाहुँदै पनि र ती पुँजीवादी पार्टी भन्दा धेरै ठूला, बलिया र स्रोतसाधनसम्पत्र हुँदा हुँदै पनि श्रमिक बर्गको कम्युनिष्ट पार्टीभित्र पनि र उसको अगुवाइमा आम समाजमा पनि सशक्त समाजवादी वैचारिक/सांस्कृतिक आन्दोलनको निरन्तर प्रक्रिया चलाउने संयन्त्र नै विद्यमान देखिँदैन । विचार र संस्कृति भनेको यस्तो साधन हो ; जोसित यस सम्वन्धी आन्दोलन र प्रचार–संयन्त्र ज्यादा बलियो हुन्छ उही समाजमा वैचारिक–सांस्कृतिक तवरले हाबी हुन्छ । नेपालमा राजनीतिक दलमा कम्युनिष्ट पार्टीहरू ज्यादा बलिया र ठूला हुनु तर बिचार र संस्कृतिमा पुँजीवादी विचार र संस्कृति ज्यादा हावी हुनुको मुख्य कारण नै यही हो ।

यसको निराकरणका निम्ति कम्युनिष्ट आन्दोलनलाई केवल राजनीतिक आन्दोलनका रुपमा बुझ्ने एकांगी र टुक्रे सोचको बिदाइ गर्नु आवश्यक छ । कम्युनिज्म भनेको एउटा सर्बाङ्गीण विचारधारा हो भन्ने कुरालाई गहिरोसित पक्रँदै हरेक कम्युनिष्ट पार्टीले आफ्नो कार्यक्षेत्र र प्रभावक्षेत्र दुवैमा राजनीतिक आन्दोलन मात्र होइन, सैद्धान्तिक, वैचारिक, सांस्कृतिक र अर्थनीतिक आन्दोलनको सुरुवात गर्न आवश्यक छ । क्रान्ति र रुपान्तरणको प्रक्रिया केवल आफ्नो हातमा सत्ता आएपछि होइन, यहीँ र अहिल्यैबाट थालनी गर्नु जरुरी छ । कम्युनिष्ट नेता/कार्यकर्ता आफैं इमान्दार र स्वच्छ भए मात्र उनीहरू समुदायलाई स्वच्छता र इमान्दारिताको संस्कृति सिकाउन सक्छन् । समस्याको गाँठो फुकाउने र संसारलाई हेर्ने कम्युनिष्टहरूको आफ्नै दृष्टिकोण द्वन्द्वात्मक र बैज्ञानिक भए मात्र उनीहरू आम जनसमुदायको दृष्टिकोणमा रहेको अन्धविश्वास, अवैज्ञानिकता, आदर्शवादीता र अधिभूतवादीपन हटाउन मद्दत गर्न सक्छन् ।

तर यसो गर्नका लागि आधुनिक संचारमाध्यम र अन्य साधनको ब्यापक प्रयोग गर्न पुँजीपति वर्ग जस्तै कम्युनिष्टहरू पनि अत्यन्त सिपालु हुनु आवश्यक छ । नेपालका पुँजीवादीहरू सार्वजनिक रुपमा धर्मको समेत अस्त्र प्रयोग गरेर मानिसहरूको सोचलाई अझै अन्धविश्वासी र यथास्थितिवादी बनाइरहेछन् । नेपालका कम्युनिष्टले चाहिँ उपयोगी ज्ञान विज्ञानको सार्वजनिक कार्यक्रम गरेर मानिसहरूको सोचलाई किन वैज्ञानिक बनाउन सक्दैनन् ? विज्ञानको विकास चिन्तनको द्वन्द्वात्मकता र वैज्ञानिकताको लागि धेरै अनुकुल रहेको छ । हिजो इन्द्र भगवानले पानी पार्छन् भन्ने धारणालाई पछिल्लो विज्ञानले मनसुनले पानी पार्छ भन्ने धारणाबाट विस्थापित गर्दै लगेको पनि छ । कोशिस गरेमा त्यो वैज्ञाानिक विकासको अनुकुलताबाट कम्युनिष्टहरूले यथेष्ट लाभ लिन सक्छन् । हेक्का राख्नु जरुरी छ कि आफ्नो र आम जनताको चिन्तन र संस्कृतिलाई वैज्ञानिक नबनाई कम्युनिज्मको यात्रा प्रारम्भ नै हुन सक्दैन ।

संसारका हरेक वस्तु जस्तै नेपालको कम्युनिष्ट आन्दोलन पनि एक्लै र अलगथलग रुपमा अस्तित्वमा रहने र विकसित हुने कुरो होइन । यो विश्व पुँजीवादसित मल्ल युद्ध गर्दै ऊसितकै अन्तरसम्वन्धमा अघि बढ्ने कुरो हो । विश्व पुँजीवादको सञ्जाल र प्रभाव क्षेत्र निकै बिशाल छ । त्यो सितकै अन्तरसम्वन्धमा विश्वभरका पुँजीवादीहरूसित मिलेर नेपालको पुँजीपति वर्ग पनि यहीँ र अहिँल्यै टिभी, रेडियो, फिल्म, डकुमेण्ट्री, युट्युव, इन्टरनेट, विद्यालय शिक्षा, साहित्यमार्फत मानिसहरूको सोचलाई चरम व्यक्तिवादी/अन्धचिन्तनयुक्त/उपभोक्तावादी बनाइरहेछन् । नेपालका कम्युनिष्टहरू पनि विश्व भरिकोे श्रमिक वर्ग र समाजवादसित अन्तरसम्वन्ध विस्तार गर्दै तिनै अत्याधुनिक वैज्ञानिक विधि र माध्यम प्रयोग गरेर मानिसहरूको चिन्तनलाई वैज्ञानिक/अन्धविश्वासमुक्त/ समुदायवादी/रुपान्तरणमुखी किन पार्न सक्दैनन् ?

नेपालका कम्युनिष्टहरूले के थाहा पाउनु जरुरी छ भने पुँजीपति वर्गलाई श्रमिक वर्गले पहिले पछिल्लो विज्ञान र प्रविधिको प्रयोगद्वारा विचार र संस्कृतिमा आम जनस्तरमा परास्त गर्न सक्नुपर्छ अनि मात्र राजनीतिमा र अर्थनीतिमा परास्त गर्न सकिन्छ । विचार र संस्कृतिमा तोप, मेसिनगन र मिसाइलसहित आएको विश्व पुँजीवादलाई नेपाली कम्युनिष्टहरूले वा विश्वका कुनै पनि मुलुकका कम्युनिष्टहरूले गुलेली र सामान्य बन्दुकको भरमा बसिराखेर कदापि परास्त गर्न सक्दैनन् । जोसँग जुन स्तरको साधन छ त्योसित लड्न त्योभन्दा उत्रत स्तरको साधन उपयोग गर्नु पर्दछ । आखिर विश्वमा पुँजीपति वर्गको अनुपातको तुलनामा श्रमिक बर्गको अनुपात कता हो कता विशाल रहेको छ । ऊसित विधि र साधन पनि त्यत्तिकै र त्योभन्दा प्रभावकारी हुने हो भने श्रमिक बर्गको सामुत्रे पुँजीपति वर्ग टिक्नु कदापि सम्भव हुने छैन ।

नेपालमा कम्युनिष्ट पार्टी गठन भएको सात दशक नाघे तापनि गतिशील र सर्वाङ्गीण ढंगले आजको देशको वर्गीय तथा अर्थराजनीतिक संरचनालाई खोज अनुसन्धानमा आधारित भएर यथार्थसम्मत विश्लेषण गर्ने र ठम्याउने काम नेपाली कम्युनिष्ट आन्दोलनमा हुन नसक्नु आज देखा परेका विसंगतिको अर्को मूल कारण हो । कम्युनिष्ट आन्दोलनले नेपाललाई लागेको रोगको सही निदान समयमै गर्न सकेको हुँदो हो त देश अहिलेसम्म पनि वैचारिक मामिलामा अन्योलग्रस्त भइरहने थिएन ; यो दिशाविहीन ढंगले यताउता भट्कीरहने थिएन ।
नेपाली कम्युनिष्ट आन्दोलनसित आज पनि देशको आर्थिक, सांस्कृतिक र राजनीतिक विकासको सर्वाङ्गीण चित्र विद्यमान देखिँदैन । २००६ सालमा स्थापित भएको कम्युनिष्ट पार्टीले आजको विन्दुसम्म पनि आफ्नो पहलमा मुलुकको बर्ग विश्लेषणसम्म गरिनसक्नु नेपाली कम्युनिष्ट आन्दोलनकोे तीतो यथार्थ हो ।

एकथरि भनिरहेछन्–नेपाल अब पुँजीवादी मुलुक भइसक्यो । अर्को थरि भनिरहेछन्–नेपाल अझै अद्र्धसामन्ती अवस्थामैं छ । यसलाई पुँजीवादी भइसक्यो भत्रेहरूसित पनि यस्तो के कारणले भनियो भत्रे बिषयमा गहन अनुसन्धानमा आधारित कारण र आधारहरू मौजुद देखिँदैनन् । यसलाई अद्र्धसामन्ती भत्रेहरूको हालत पनि त्यो भन्दा भित्र देखिँदैन । पुप्पलाललाई अपवादका रुपमा छाडेर नेपाली कम्युनिष्ट आन्दोलनमा जुन नेतृत्व रह्यो त्यो सैद्धान्तिक/वैचारिक भन्दा ज्यादा ब्यवस्थापकीय र सांगठनिक रह्यो । यही कारण यो परिघटना घटिरहेछ । नयाँ पुस्ताका अगुवाहरूले थोरै खोजमूलक विश्लेषण त थालेका छन् तर आवश्यकताको तुलनामा त्यो ज्यादै कम देखिन्छ ।

कुनै पनि रोगको तब मात्रै सही उपचार हुनसक्छ जब बिरामीको रोगको बेलैमा सही निक्र्योल हुन सक्दछ । एउटा चिनीयाँ भनाइ नै छ–रोगको सही निक्र्योल बेमारीको आधा उपचार बरोबर हो । अतः ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट नेपालको आर्थिक/सांस्कृतिक विकासक्रम र वर्ग संरचनाको गहन खोज/अनुसन्धान कम्युनिष्ट आन्दोलनभित्रैबाट हुन धेरै ढिला भइसकेको छ । कम्युनिष्ट आन्दोलनका जेजति निक्र्यौल र निष्कर्षहरू छन् ती सबै वैज्ञानिक खोजमूलक विश्लेषणमा आधारित हुन आवश्यक छ । कामचलाउ अवैचारिक नेतृत्व र निष्कर्षमा हचुवापनबाट नेपाली कम्युनिष्ट आन्दोलन मुक्त हुन काफी अबेर भइसकेको छ । माक्र्सवादका सबैजसो निचोडहरू त्यो समयको गतिशील यथार्थको गहन वैज्ञानिक खोज अनुसन्धानमा आधारित भएकाले नै आज पनि त्यसको विश्वव्यापी स्विकार्यता बाँकी रहेको हो । के विश्व कम्युनिष्ट आन्दोलनकै एउटा हिस्सामा रहेको नेपाली कम्युनिष्ट आन्दोलनले त्यसबाट गम्भीर पाठ सिक्न आवश्यक छैन ?

पुँजीपति वर्ग केवल संसदमा मात्र सीमित र केन्द्रित देखिँदैन । उसको संघर्ष संसदमा पनि त्यत्तिकै देखिन्छ र संसदबाहिर आम जनसमुदाय स्तरमा रुपान्तरण पक्षधरको जनसाधारणको सोच परिवर्तन गर्न, त्यहाँ शोषण उत्पीडन नयाँ नयाँ स्वरुपमा बिस्तार गर्न र आमजनसाधारणलाई पुँजीवाद अनुकूल आफ्नै साँचोमा ढाल्न पनि ऊ उत्तिकै केन्द्रित देखिन्छ । परन्तु त्यसको सापेक्षतामा नेपालका कम्युनिष्टहरू संसदमा मात्र केन्द्रित हुनु, सारा शक्ति केवल संसदमा मात्र विन्यास गर्नु नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको विसंगतिको अर्को मुख्य कारण हो ।

परन्तु नेपालमा संसदमा गएका सबै ठूला कम्युनिष्ट पार्टीहरूले संसदलाई नै संघर्षको मुख्य र एक मात्र थलो बनाएका छन् । आफ्नो सबै शक्ति संसदमा केन्द्रित गरेका छन् । बृहत समाज जहाँ पुँजीवादी शोषण उत्पीडन ब्यापक रुपमा बाँकी रहेको छ, त्यहाँ आफ्नो जागरणमुलक गतिबिधि र वर्गसंघर्ष नै बन्द गरेका छन् । पुँजीवादी संसद र सरकार सम्वन्धी यही गलत धारणा र अस्पष्टता पनि अहिले देखा परेका विसंगतिहरूको मुख्य कारणका रुपमा रहेको छ ।

फलस्वरुप नेपालका संसदीय कम्युनिष्टहरूको सम्पूर्ण चिन्तन, ध्याउन्ना र क्रियाकलाप एउटा चुनावदेखि अर्को चुनावसम्म, एउटा सरकारदेखि अर्को सरकारसम्म मात्र सीमित हुन गएको छ । चुनावको लागत खर्च निकै महँगो रहेको छ । तर जसरी पनि चुनाव जित्न करोडौँ वा अरबौँ पैसाको जोरजाम नगरी धरै छैन । यो वित्तीय आवश्यकताले उनीहरूलाई एकातिर पुँजीपतिको चन्दाको अघोषित दास बनाएको छ भने अर्कोतिर अपारदर्शी वित्तको चलखेलले चरम भ्रष्ट पनि त्यत्तिकै बनाएको छ ।

माक्र्सवादीहरूको लागि पनि पुँजीवादी संसद र सरकार आफ्नो सक्षम शक्ति निवेश गर्ने संघर्षको एउटा निकै महत्वपूर्ण थलो हुनसक्छ, तर त्यो एक मात्र मुख्य संघर्षको थलो हुनसक्दैन । उसको संघर्षको मुख्य थलो त त्यो बृहद मानव समाज हुनुपर्छ जहाँ पुँजीवादी शोषण/उत्पीडन/भेदभाव अहिले पनि व्याप्त छ ; जहाँ सर्वसाधारण मानिसको दिमाग भुट्ने वैचारिक–सांस्कृतिक अभियान अहिले पनि चालू छ । पुँजीवादी संसद त त्यो बृहत् समाजको सापेक्षतामा त्यसैको एउटा जनप्रतिनिधिमूलक विधि र नीति निर्माण गर्ने र त्यो विधि र नीति कार्यान्वयन गर्र्ने ब्यवस्थापकको रुपमा सरकार चुन्ने सानो थलो मात्रै हो । त्यसैले कुनै पनि कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको जुझारु शक्तिको सम्पूर्ण हिस्सा पुँजीवादी संसदमा र सबै जुझारु शक्ति संसदमा र त्यसले बनाउने सरकारमा केन्द्रित गर्नु हुँदैन । उसको नीति त संसददेखि संसदसम्म होइन, बृहत् नेपाली समाजदेखि समाजसम्म त्यहाँ विद्यमान शोषण र उत्पीडन समाप्त पार्ने दिशामा केन्द्रित हुनु पर्दछ ।

नेपालको संसदीय चुनाव प्रणाली यति महँगो छ कि त्यो स्वयम् कम्युनिष्टहरूलाई भ्रष्ट बनाउने साधनका रुपमा रहेको छ । त्यसलाई बदल्नु आवश्यक भएको छ । यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली र राज्यको खर्चमा चुनाव दुइटा सम्भावित बिकल्प हुनसक्छ । सबैजसो स्केण्डिनेभियन मुलुकमा यस्तै चुनाव प्रणाली रहेको छ । तर यति मात्र काफी हुँदैन । अहिलेसम्म पुँजीवादी संसदमा र सत्तामा गएका अधिकांश नेपाली कम्युनिष्टहरू अवसर पाउनासाथ त्यसैको पद र पैसाको दलदलमा डुबेको ज्यादाजसो देखिएको छ । अब कम्युनिष्ट पार्टीले त्यस्तो सक्षम शक्ति निर्माण गर्न सक्नु पर्दछ जो पटक पटक मौका पाएर पनि बेइमान नहोस् । त्यस्ता सक्षम व्यक्ति नेपालको संसदीय इतिहासमा नभएका भने होइनन् । तर उदाहरणका लागि ती थोरै छन् । थोरै हुन यदि सम्भव भएको छ भने त्यही अनुभवको जगमा उभिएर त्यसैलाई धेरै बनाउन असम्भव भने पक्कै छैन । कम्युनिष्ट पार्टी आखिर मौका पाउने वित्तिकै बिग्रिहाल्ने मानिसको भीड सिवाय केही भएको छैन भने त्यस्तो कम्युनिष्ट पार्टीको कुनै उपादेयता पनि छैन ।

वैज्ञानिक समाजवादसित विज्ञान पनि छ र समाजवाद पनि जुन श्रमिक वर्गीय दर्शन हो । तर मुख्य कमजोरी कहाँ भयो भने विज्ञानको विकासले ठूलो ठूलो फड्को मार्दै गएको गयै छ, त्यसबाट संश्लेषण गर्दै हामीले समाजवादलाई पहिलेभन्दा झन् उत्रत र वैज्ञानिक बनाउन सकेनौं । जतिखेरसम्म माक्र्सवादले त्यो बेलाको सम्पूर्ण ज्ञान र विज्ञानको उँचाइ र सारलाई आफूभित्र समाहित गर्दै लान सकेको थियो त्यो बेलासम्म विश्वमा माक्र्सवादको उँचाइको सिद्धान्त अर्को कुनै हुन सकेको थिएन । लेनिनपछि, अझ लेनिनकै जीवनकालमा पनि, माक्र्सवादमा त्यो प्रक्रिया लगभग बन्द भयो । सापेक्षतावादको सिद्धान्त त्यही समयमा आयो । क्वाण्टम सिद्धान्त त्यही बेलामा आयो । अरु पनि थुप्रै युग हल्लाउने विज्ञान प्रविधिका आविष्कार आए । तर त्यसबाट माक्र्सवादी दर्शनलाई विकसित गर्ने कार्य भने अपेक्षित रुपमा हुन सकेन । त्योसँगै बैज्ञानिक समाजवादको विश्वब्यापी स्विकार्यता र तागत पनि कमजोर भएर गयो । नेपाली कम्युनिष्ट आन्दोलनले पनि यो कमजोरी हटाउने कार्य गर्न सक्दथ्यो । त्यो हामीले गर्दै गरेनौ । अहिले भएका विसंगतिका मूल कारणमा यो कारण पनि महत्वपूर्ण कारण रहेको छ । यो भूलबाट हामीले पाठ सिक्न जरुरी छ । पहिले जे हुन सकेन अब त्यो गर्न जरुरी छ । यो अनुभूति गर्न जरुरी छ कि नेपाली कम्युनिष्ट आन्दोलन पनि विश्व कम्युनिष्ट आन्दोलनको अभिन्न हिस्सा हो ।

अन्तमा,

सबै हिसाबले अब विश्व कम्युनिष्ट आन्दोलनसँगै नेपालको कम्युनिष्ट आन्दोलनको रुपान्तरणकारी पुनर्गठन आवश्यक भएको छ । विश्वमा जहाँ जहाँ समाजवादी शासन ब्यवस्था ढल्यो त्यसबाट नेपाली कम्युनिष्ट आन्दोलनले गम्भीर शिक्षा लिनु आवश्यक छ । जहाँ जहाँ पुँजीवादी महाशक्तिको नाकैमुनि यो संघर्ष गर्दै टिकीरहेको छ त्यसबाट पनि यसले शिक्षा लिनु आवश्यक छ । अब हिजोको जस्तो शून्यबाट समाजवादको अभ्यास सुरु गर्नु पर्ने स्थिति विश्वमा कतै पनि छैन ; नेपालमा पनि छैन । विसंगति बग्रेल्ती छन् तर शिक्षा लिन सकिने ठाउँ पनि विश्वस्तरमै थुप्रै छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनमा विसंगति धेरै भए भनेर हताश हुनु आवश्यक छैन । विसंगतिका कारण छन् र कारणको निराकरणमै पुनर्गठनका उपाय र बाटा पनि लुकेका छन् । त्यसो त निराश र अन्योल हुनु भनेको खराब कुरा पनि होइन । नयाँ र अझ उत्रत बाटोको खोजी निराशा र अन्योलबाटै त सुरु हुन्छ । अन्योल नभईकन नयाँ बाटोको खोजी पनि त हुँदैन ।

सन्दर्भ सामाग्री

जिफन्ट । नेपालको ट्रेड युनीयन आन्दोलनको संक्षिप्त इतिहास। www.gefont.org/history-of-nepali-trade-union

नेकपा। २०७० (२००६) नेपाल कम्युनिस्ट पार्टी दस्तावेज संग्रह भाग -१ , पुष्पलाल स्मृति प्रतिष्ठान। काठमाडौँ , नेपाल 

श्रेष्ठ, पुष्पलाल। (२०५३) बि.सं । नपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास। पृ। ७६-७७। पुष्पलाल स्मृति प्रतिष्ठान। काठमाडौँ , नेपाल 

पोखरेल, गिरिराजमणि। (२०६७)। क. जयगोबिन्द साह : बर्ग संघर्षका धरोहरा लालमाधेश मासिक (पुस २०६७) पृ ३२)।

चापागाईं, निनु। (२०७७) । हो जायेगा कमरेड : सुर्यनाथ रान यादव) लालमाधेश मासिक (असोज २०७७) पृ २३-२४

UCA 2021, Nepal (1923 to Present) https://uca.edu/politicalscience/dadm-project/asiapacific-region/nepal-1946-present/, University of Central Arcansas
Archive, 2021

Khadka, RK. (2020); ‘History of Land Rights Movement in
Nepal’
,
https://english.onlinekhabar.com/history-of-land-rights-movement-in-nepal.html, Online Khabar, Kathmandu,
published 26 December 2020. 

 

About The Author

Shyam Shrestha 
सुपरिचित लेखक, पत्रकार, राजनैतिक विश्लेषक श्याम श्रेष्ठका पूर्वीय तथा माक्र्सवादी दर्शन, अर्थ–राजनीतिक रचनाहरू, विश्व र नेपालको कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति, महिला र दलित समस्या सम्वन्धमा रचनाहरू प्रकाशित छन् । उहाँ मूल्याङ्कन मासिक पत्रिकाको प्रधान सम्पादक हुनुहुन्थ्यो । बिगत तीन दशकदेखि नेपालको नागरिक आन्दोलनमा क्रियाशील हुनुहुन्छ । २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनमा उहाँ ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ मा अग्रणि भूमिका मा क्रियाशील हुनुहुन्थ्यो। २०४८ साल अघि उहाँ नेकपा (चौथो महाधिवेशन) नामक कम्युनिष्ट दलको केन्द्रिय समिति तथा पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । नेपाल–भारत सम्वन्ध, नेपालको शान्ति प्रक्रिया र भारत, नेपालमा सामाजिक समावेशिताको अभ्यास, नेपालमा पहिलो संविधानसभाको अवसान र अबको दिशा, हलिया मुक्तिपछिको बन्धनको अवस्था सम्वन्धमा उहाँका पुस्तक प्रकाशित छन् ।