Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

विचार र विवेकको हस्तक्षेप

विश्वका अन्य देशहरुका इतिहास झैँ नेपालको लिखित इतिहास पनि मूलतः वर्ग संघर्षको इतिहास हो । मानव समाजको विकास क्रममा सामाजिक आर्थिक उत्पादनको साधन र प्रक्रिया माथिको स्वामित्वको होडले विभिन्न वर्गहरुको उदय हुदै गयो– मालिक र दासहरु, सामन्त र भूदासहरु, जमिन्दार र किसानहरु, पुँजीपति र मजदूरहरु, र अरु थुप्रै विचका प्रवर्गहरु । ति वर्गहरु शासक र शासित, उत्पीडक र उत्पीडित बर्गहरुमा पनि विभाजित हुदै गए ।


घुमन्ते पशुपालकहरु सामुदायिक कृषिमा आधारित जीवनयापन गर्न थालेको नेपालको प्राचिन इतिहास देखि बुद्धकालीन र लिच्छविकालिन कबिला–सामन्ती सभ्यताहरु, मध्य युगिन राजा रजौटाहरु, राणशाही र शाह बंशीय पंचायती व्यवस्थाहरु देखि बर्तमान नेपालको गणतान्त्रिक व्यवस्था सबै वर्ग संघर्षका इतिहास हुन् तर त्यसको गम्भीर अध्ययन र बिमर्श नेपालमा भर्खरै मात्र सुरु हुन थालेको छ । नेपालको इतिहास शासकवर्गले नै लेख्दै आए तर आम नेपाली जनताको दृष्टिकोणबाट इतिहास लेखिनु पर्ने बाकिनै छ । हिन्दु वर्णवादी पितृसत्तात्मक नेपाली समाजको सांस्कृतिक, सामाजिक र मनोबैज्ञानिक बनोट र मूल्य मान्यताहरुका ऐतिहासिक भौतिकबादी विश्लेषणको आवश्यकता अझ बढी खट्किएको छ ।

समाजमा शोषणको जगमा उभिएका वर्गहरु रहून्ज्याल वर्ग संघर्षको अस्तित्व रही रहने भएको हुनाले नेपालका अग्रगामी शक्तिहरुको दायित्व त्यस्ता वर्गहरुको अस्तित्व नै रहन नदिने संरचनागत परिवर्तन गर्दै वर्ग विहिन समाजमा पुग्ने भविष्य सुनिश्चित गर्नु हो । दमनकारी राज्यको चरित्रलाइ बदल्दै र त्यसलाई बढी भन्दा बढी जनउत्तरदायी बनाउदै अन्ततः राज्य ओईलाएर अस्तित्व विहिन हुने स्थितिमा पुग्ने संक्रमणकालिन अवधि पार गर्नु हो । त्यस्तो उन्नत समाजमा पनि विभिन्न प्रकारका अन्तरविरोधहरु त रही रहने छ तर शोषण र उत्पीडनका आधारहरु नरहने भएकाले तिनको चरित्र शत्रुतापूर्ण होइन मित्रतापूर्ण हुनेछ भन्ने विश्लेषण र परिकल्पनासंग हामि सहमत छौ ।
त्यस्तो संक्रमण मुलतः श्रमजीवी जनताले सिधै प्रयोगमा ल्याउन सक्ने सहकारी लोकतन्त्र र जननीति तथा उत्पादनका साधनहरुमा सामाजिक स्वामित्वको योगले अभिप्रेरित गर्ने लोककल्याणकारी राज्य मार्फत अघि बढ्दछ. आर्थिक उत्पादनको प्रक्रियामा र सृजनाका रचनात्मक कार्यहरुमा सामुहिक र व्यक्तिगत सहभागिता त्यसका प्राथमिक शर्त हुन् । .
उक्त सहभागिताको प्रक्रियामा व्यक्ति भित्रका क्षमताहरु र उसको निजि स्वतन्त्रताले पूर्ण अभिव्यक्ति पाउदै एउटा नयां मानवमा ढालिने प्रक्रिया शुरु हुनेछ. त्यस्तो संक्रमणकालिन अवस्थालाइ समाजवाद भनिएको हो र त्यहि मार्गबाट हिडेर वर्ग विहिन साम्यवादको लक्ष्य सम्म पुगिने माक्र्सवादको प्रस्थापना हो । समाजवाद निर्माणको यथार्थ जतिसुकै कष्टकर वा विकृत बने या पारिए पनि त्यो काल्पनिकीको ओज धुमिल भएको छैन. वर्तमानमा नवउदारवादी व्यवस्थाको संकटले त्यसप्रति पुन गम्भीर वैश्विक बहस सुरु भएको छ ।

नेपालको सन्दर्भमा वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाले माक्र्सवादको त्यो काल्पनिकीलाइ नेपालमा मूर्त रुप दिने प्रयत्नको थालनी गर्यो । त्यसै गरि वि.स.२००९ मा प्रगतिशील लेखक संघ (प्रलेस ) स्थापना भएपछि वामपन्थी साहित्य संगठित रुपमा अघि बढेको देखिन्छ । तथापि यस्ता बैचारिक साहित्यिक धारका मूल प्रवाहका उद्गमहरु “मकैको खेति” (१९७७ ),“आमाको सपना” लगायतका रचनाहरु (२००३ ) र “युगवाणी” पत्रिका (२००४)आदिमा प्रतिविम्वित भएको देख्न सकिन्छ ।

त्यसपछिका कालखण्डहरुमा साहित्यिक संस्कृतिक पत्रिका “वेदना“ र “सकल्प“ ,“जनमत ,उत्साह“ तथा विभिन्न पार्टी प्रकाशनहरुले विचार निर्माणको भूमिका निर्वाह गरेतापनि २०४६ सालको जनआन्दोलन पश्चात निस्केको मूल्यांकन , झिल्को र वामपंथ पत्रिका बिशेष रुपमा विचारधारात्मक चेतमा योगदान दिन अघि सरेको देखिन्छ । बिभिन्न कारणवश यी तिनवटै पत्रिका विगत १० वर्षदेखि त्यति नियमित छैनन् । झन्डै दुइ तिहाईको वामपन्थी शक्तिले नेपालमा चुनाव जित्दा पनि एउटा पनि स्तरीय वैचारिक प्राज्ञिक पत्रिकाले निरन्तरता नपाउनु एक विडम्वना नै हो ।
वर्तमानमा वामपन्थी आन्दोलन भित्र विकराल चुनौतीहरु खडा भएका छन ्। विकृतिहरु प्रशस्त मौलाएका छन् । लामो समय पछि एकतावद्ध भएको मूलधारका कम्युनिष्ट पार्टीहरु पुनः विभाजित भएका छन् र नेपालको कम्युनिष्ट आन्दोलन भित्र देखापरेका विसंगतिहरुको चांग एक तितो यथार्थ भै सकेको छ ।

अन्तर्राष्ट्रिय चुनौतिपूर्ण सम्बन्धहरु र जटिल भूराजनैतिक परिवेशको बीचमा रहेको नेपालको अगाडी शान्ति , स्थायित्व र अस्तित्व रक्षाको प्रश्न पनि त्यतिकै ज्वलन्त बनेको छ । नवउदारवादको विफलताले पुँजीवाद एकातिर फासिवाद तर्फ लम्कने र अर्को तिर पृथ्वी तथा प्रकृतिको श्रोतको विनाशकारी दोहन गर्दै जलवायु संकटलाइ अझ गहिर्याउन उद्धत हुने सम्भावना बढिरहेको छ । मानवजातिको विवेकपूर्ण हस्तक्षेपले मात्र त्यसलाइ रोक्ने क्षमता राख्दछ ।
विकास, लोकतन्त्र र नागरिक स्वतन्त्रताको आवरणमा पुँजीवाद जसरी फैलिएको छ यसको पछाडि ज्ञान निर्माणका स्रोत केन्द्रहरुको एकांगी व्याख्या कारक रहेको छ । यी र यस्तै तहबाट बन्ने व्याख्यालाई प्रमाण बनाइ राज्य संयन्त्र सन्चालनमा ’विकासे’ ढांचाका नीति तथा कार्यक्रमहरुको बाहुल्यता बढदै गएको छ. । नेपालको नीति निर्माणको पहुंचमा जात र वर्गले कुलिनहरुनै हावि भएको देखिन्छ जसले गर्दा समस्यालाइ सस्थागत गरिदिने तर ठोस् समाधानमा केन्द्रित नहुने पारीपाटिको विकास भएको छ । त्यो व्याख्या र प्रयोगको एकांगीपनलाई चिर्न ढिलो गर्नुहुंदैन भन्ने हाम्रो मान्यता हो ।
जनसंख्या र भूगोलको हिसाबले जनजीविकाको समुचित व्यवस्थापन गर्न त्यति गाह्रो नपर्ने हाम्रो जस्तो प्राकृतिक र साँस्कृतिक रुपले विविधता भएको देशमा जीवनकै बाजी लगाएर सस्तो श्रम बेच्न खाडी मुलुक जानुपर्ने अवस्था छ । देश भित्र महिला र दलित समुदायको अधिकारको लागि अन्तराष्ट्रिय स्तरका कानुनको व्यवस्था गर्ने तर उनीहरु प्रतिको विभेद यथावत रहेको छ । यि र यस्तै वाध्यताका अर्थराजनीति निर्धारकहरु, सांस्कृतिक पहिचान मेटाउदै बढेको शहरीकरण, पर्यावरण दोहन आदि विषयहरुमा केन्द्रित बहसमा फरक धारको अभिमतबाट संवाद हुन जरुरी छ , जुन ज्ञान उत्पादनका स्रोत केन्द्रहरु विश्वविद्यालय, थिन्क ट्यांकहरुसँगको सहकार्यबाट सम्भव छ ।
समाजवादको वैचारिकीले अनुप्राणित वामपन्थी बौद्धिकहरुको विशाल अग्रपंक्तिहरुको सामुहिक बुद्धि र प्रयत्नले नेपालको वर्तमानमा देखापरेको यो जटिल मोडमा राजनैतिक दलहरु विचको अन्तरक्रियालाई सहयोग गर्दै एउटा उन्नत समतामुलक समाजको निर्माण तर्फ अग्रसर हुने नेपाली जनताको चाहनामा योगदान दिन सक्छ । त्यसैले यतिबेला विचार र विवेक दुवैको हस्तक्षेप आवश्यक भएको छ ।
“वामपंथ [The Left] पत्रिका त्यस्तो वैचारिक हस्तक्षेपको एक सशक्त माध्यम तथा संवाद र सहकार्यको मन्च बनोस भन्ने हाम्रो उद्धेश्य हो । यसमा प्रकाशित लेखको लागि लेखक स्वयम् जिम्मेवार हुनेछन । पत्रिकाको आधिकारिक धारणा सम्पादकीय मार्फत सम्प्रेषित हुनेछ । यस्को पहिलो अंक ‘माक्र्सवाद र नेपाली कम्युष्टि आन्दोलन बिशेषांक‘ रहेको छ । यो पत्रिकामा नेपाली र अग्रेजी दुवै भाषाको प्रयोग हुनेछ । ‘वामपंथ [The Left] पत्रिकाको निरन्तरताको लागी हामीले पाठक र लेखक दुवैको न्यानो माया र सहयोगको अपेक्षा राखेका छौ ।