Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

कोभिड्-१९ महाव्याधि र श्रमिक जनता

–शरद वन्त*

कोभिड् –१९: एक्काइसौँ शताब्दिको महाव्याधि

सन् २०१९ को अन्तिम हप्तातिर पहिलो पल्ट चीनमा देखिएर सन् २०२० को सुरुको केही महिनामै विश्वका धेरै देशहरुमा फैलिदै आजसम्म विश्वभरी २५ करोड भन्दा बढीलाई सङ्क्रमण गरी ५० लाख मानिसहरुको ज्यान लिइसकेको कोभिड् १९ को महामारी अझै पनि सक्रिय नै छ (Worldometer, 2021) । कोभिड् -१९ को सुरुवात कहाँबाट कसरी भयो ? यसबारे अनुसन्धान र अन्तिम निश्कर्षको खोजी त प्रकृया मै छ तापनि यसको उत्पत्तिको बारेमा अनेकौँ षड्यन्त्र आशङ्काका सिद्धान्तहरु (कन्स्पीरेसी थ्योरी) पनि चर्चामा छन् । यस्ता केही सिद्धान्तहरुमा राजनीतिक रँग पोतिएको आभासहरु पनि सतहमा नआएको होइन । यो सँगसँगै कोभिड् -१९ र यसको कारक कोरोना भाइरसको प्राविधिक पाटाहरुबारे पनि एक अर्कासँग विरोधात्मक विचारहरु अभिब्यक्त भै रहेका छन् । यो रोगको उपचार बिधिहरुबारे विभिन्न दाबीहरु गरिए तापनि ती सबै दाबीहरुले आधिकारिकता पाउन सकेका छैनन् । यी सबै अन्तरविरोधहरुको बाबजुद कोभिड् -१९ महाव्याधिले गरेको मानवीय क्षति र विश्वभरीका जनताले भोग्नु परेको पीडा यथार्थ हो । कतिपय यी क्षति र पीडाहरु देखिएका छन्, कति छायाँमा परेका छन् र कति लुकेका पनि छन् । २१ सौँ शताब्दिको कोभिड् -१९ महाव्याधिलाई मूलतः विज्ञान र प्रविधिको कोणबाट नै ब्याख्या गरिएका छन् । पहिलो पल्ट देखिएको यो रोगको सङ्क्रमणको रोकथाम र उपचारको लागि प्राविधिक खोज, ब्याख्या र व्यवस्थापन निसन्देह महत्वपूर्ण त हुन्छ नै, तर यसले पारेको प्रभावहरुको गहिरो सामाजिक पक्षलाई छायाँमा पारिनु हुँदैन । प्राविधिक पाटोसँगै कोभिड् -१९ महाव्याधिको अन्तर्राष्ट्रिय राजनीति र विश्व बजारका चासो र स्वार्थहरुबारे गहकिलो बहस भइरहँदा यसैको कारण जनताले भोग्नु परेको पीडा र यसका दुःखद परिणाम जस्ता महाव्याधिको अर्को पाटो भने ओझेलमा परेको छ ।

प्रस्तुत लेख ओझेलमा भएको यही पाटोलाई विकास, समृद्धि र अवसरको मूलधार भन्दा पर किनारामा परेका आम नागरिक र श्रमिक जनताले भोग्नु परेको पीडा र उनीहरुको आँखाबाट देखिने महाव्याधिको चित्रण गर्ने प्रयासको अभिब्यक्ति हो ।   

कोभिड् –१९ महाव्याधि एउटै तर परिणाम फरक

सङ्क्रमण र मृत्युको गहिरो पीडा बाहेक कोभिड्-१९ को माहामारीले पु-याएको आर्थिक तथा सामाजिक क्षतिको अझै मूल्याङ्कन भइसकेको छैन । त्यस्तै आउँदा दिनहरुमा यसले गर्न सक्ने क्षतिको सम्भावनाबारे विभिन्न अनुमानहरु भए पनि ठोस अड्कल भने अझै हुन बाँकी नै छ । बिगतको तुलनामा २१ सौँ शताब्दीमा स्वास्थ्य विज्ञान र प्रविधिको विकास तथा उपलब्धि, जनस्वास्थ्य प्रणाली र अन्तर्राष्ट्रिय सँरचना, नियम र अनुगमनको पद्धति हुँदाहुँदै पनि यो तहको मानवीय क्षति हुनुलाई सामान्य मान्न सकिन्न ।  कोभिड् -१९ महाव्याधि बिगतका शताब्दीहरुमा भएको भए यसले गर्न सक्ने क्षतिको बारेमा अनुमान लगाउन गाह्रो छैन । बढ्दो विश्व जनसङ्ख्याको कारणले महाव्याधिको प्रभावको सङ्ख्यात्मक भार बढ्नु पनि स्वाभाबिक नै हो ।

महाव्याधिले मानव समाजलाई पु-याएको गहिरो क्षतिको मूल्याङ्कन त सबैजसो देशहरुले आ–आफ्नै ढङ्गले गरिरहेका छन् र प्राविधिकरुपमा विश्वब्यापी तह मै पनि मूल्याङ्कन भैरहेको छ । कोभिड्-१९ बाट सङ्क्रमित हुने र मृत्यु हुनेको तथ्याङ्क हरेक क्षण जस्तो राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा अध्याबधि भै रहन्छ र यो तथ्याङ्क सबैको पहुँचमा पनि छ । तर सङ्क्रमण र मृत्युको सङ्ख्याले मात्रै महाव्याधिले जन्माएको मानव पीडालाई नाप्न सक्दैन । त्यस्तै, सरदर गणित र सोलो—डोलो हिसाबले क्षतिको वास्तविक तस्बीर देखाउन पनि सक्दैन । किनकि, कोभिड्-१९ कारण एउटै भए पनि यसबाट हुने क्षतिको परिणाम हरेक ब्यक्तिमा र हरेक समुहमा फरक फरक हुन सक्छ र त्यो भिन्नता यथार्थ मै देखिएको पनि छ । कोभिड्-१९ सँग मानव शरिर इतिहास मै पहिलो पल्ट साक्षात्कार भएको हुनाले यसको कारक कोरोना भाइरसको बिरुद्ध प्रतिकारात्मक प्राकृतिक क्षमता कसैसँग पनि छैन । धनी होस या गरिब, शहरबासी होस या गाउँ बासी, पढे लेखेका हुन् या अशिक्षित जीब विज्ञान र स्वास्थ्य विज्ञानको दृष्टिकोणले सबै जना बराबर सङ्क्रमणको जोखिममा हुन्छन् । तर कोभिड्-१९ सङ्क्रमण पछिका अन्तिम परिणाम भने सङ्क्रमित ब्यक्तिहरुमा एकै प्रकारको नहुन सक्छ । महङ्गो उपचारको आर्थिक भारलाई धान्न नसकेर न्यून आयको भरमा जीवन धान्नु परेका गरिब परिवारको लागि यो महाव्याधि अभिशाप बनेको छ यद्यपि विभिन्न देशहरुमा भएको राजनीति र आर्थिक वाताबरण र परिबेश तथा राज्यको नागरिकप्रतिको दायित्वको नीति अनुसार यो भोगाइ पनि बेग्ला बेग्लै छन् । संक्रमण नै नभए पनि महाव्याधिको आर्थिक, सामाजिक तथा मानसिक प्रभावहरु विभिन्न समुह र वर्गका नागरिकलाई नितान्त बेग्ला बेग्लै हुन्छन् । महाव्याधिकै कारण कैयौँ श्रमजीबीहरुले भोग्नु परेको दुखको सूक्ष्मरुपमा बहुआयामिक तवरले मूल्याङ्कन गरिए मात्रै क्षतिको यथार्थता देखिने गरी सतहमा आउन सक्छ ।

कुनै देश, कुनै भाग अपबाद नभै विश्वव्यापी रुपमा बिस्तार भएको कोभिड्-१९ महाव्याधिको प्रभावबाट कोही पनि निर्धक्क र पूर्णसुरक्षित त रहन सक्तैन । यो स्वीकार्य हो । तर प्रणालीको विभेद र व्यवस्थापनको असक्षमताको कारणले गर्दा श्रमजीवी नागरिकको तप्काले बढी पीडा र क्षति भोग्नु पर्ने असमानताको परिस्थिति मान्य हुँदैन । सभ्य समाजको लागि विपदको वेला हुने र नहुने सम्पन्न र विपन्न नागरिकहरुको बीच भएको यो विभेद लज्जास्पद छ । यो विभेद चाहे अन्तर्राष्ट्रिय तहमा विभिन्न धनी र गरिब देशहरुबीच होस् या राष्ट्रिय तहमा एउटै देशभित्र सम्पन्न र विपन्न नागरिकहरुबीच होस — गरिबीकै कारणले विज्ञानको उपलब्धिमा पहुँच नभएर महाव्याधिबाट जीवन बचाउने अवसर नै नपाउनु ती नागरिकहरुमाथि गरिएको अन्याय नै हो । यो असमानताको अनुभूति फाट्ट फुट्ट रुपमा अभिब्यक्त भए ता पनि सँस्थागत स्तरमा भने अझै स्थापित भइसकेको छैन ।

कोभिड्-१९ महाव्याधि नेपालको सन्दर्भमा

विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएको कोभिड्-१९ महाव्याधिबाट नेपाल अछुतो छैन र हुन सक्ने सम्भावना पनि थिएन । यो महाव्याधिलाई सम्बोधन गर्न नेपालले विभिन्न क्षेत्रहरुलाई सँलग्न गरी राज्यको विभिन्न तहमा सङ्गठन सँरचनाको निर्माण गर्‍यो  कानुनी प्राबधान सहित नीति निर्देशिकाहरु जारी गर्‍यो  र स्वास्थ्य सँस्थाहरुको सशक्त परिचालन  गर्‍यो (Ministry of Health and Population, 2020) (कोभिड्-१९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८) । देशको प्रयासले महाव्याधिको नकरात्मक प्रभावलाई निसन्देह कम त गरायो नै, तर यी प्रयासहरु कति प्रभावकारी र न्यायपूर्ण हुन सके त्यसको मूल्याङ्कन हुने नै छ । यी प्रयासहरु हुँदा हुँदै पनि महाव्याधिबाट नेपालीले बेहोर्नु परेको क्षति सानो छैन र त्यो क्षति सबै नागरिकहरुमा समान पनि छैन । हिमाली भेग, तराई, शहर, गाउँ देशका सबै प्रदेशहरुका सबैजसो पालिकाहरुको तहसम्म बिस्तार भएको कोभिड्-१९ महाव्याधिबाट नेपालमा आठ लाख भन्दा बढी मानिसहरु सङ्क्रमित भै एघार हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । महाव्याधिको दोश्रो लहरमा ठूलो क्षति बेहोरेको नेपालमा यतिवेला सँक्रमणको गति तुलनात्मक रुपमा धेरै कम भए तापनि देश सङ्क्रमणको जोखिमबाट मुक्त भने भइसकेको छैन र नेपालमा ओमीक्रोन भेरिएन्ट ले प्रवेश गरिसकेको छ। स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, प्राज्ञिक, ब्यापारी ब्यबशायी, राजनीति नेता लगायत देशका सबै तप्काका नागरिकहरु महाव्याधिबाट प्रभाबित भएका छन् र सबैले आ–आफ्नै ढङ्गबाट पीडा भोगेका छन् । तर दिनभर पसिना बगाएर परिवार पाल्नु पर्ने श्रमिक जनताले  कोभिड्-१९ महाव्याधिबाट भोग्नु परेको पीडा भने फरक छ र अतुलनीय छ ।

नेपालमा श्रमिक जनतामा परेका कोभिड्-१९ महाव्याधिको प्रभावहरु बहुआयामिक छन्, तर यहाँ चर्चा गर्नकालागि तिनीहरुलाई मोटामोटी तीनवटा खेमामा बाँडिएको छ । यिनीहरु एक अर्कासँग अन्योन्याश्रित ढङ्गबाट जोडिएका त छन् तापनि नीतिगत तथा व्यवस्थापकीय कोणले भिन्न पनि छन् । भविष्य मा हुन सक्ने यस्ता महाव्याधिहरुलाई यसका नकरात्मक प्रभावहरुलाई न्यून गर्न सही तरिकाले सम्बोधन गर्नको लागि यो महाव्याधिको सिकाइको रुपमा लिन पनि यी प्रभावहरुलाई यसरी बर्गीकरण गर्नु उपयोगी हुनेछ ।

क) कोभिड्-१९ को सङ्क्रमणसँग जोडिएका प्रभावहरु

कोभिड्-१९ को सम्भावित सङ्क्रमणको त्रासले उत्पन्न गरेको मानसिक पीडा त सबैलाई हुन्छ नै, तर गरिब श्रमजीवीले गर्ने अनुभूत विशेष पीडादायी भएको छ । सङ्क्रमण भयो भने एकातिर रोजगारी गुम्ने डर, अर्को तर्फ उपचारको लागि हुने आर्थिक बोझको कल्पनाले गर्दा पनि श्रमिक जनतालाई दोहोरो मानसिक चिन्ता परेको छ । उनीहरुको यो चिन्ता केवल काल्पनिक नभएर यथार्थ साबित भएकै छ । कोभिड्-१९ को बिरामीलाई राज्यले न्यायपूर्ण प्रणालीबाट व्यवस्थापन गर्न नसक्दा देशका आम जनताको उपचार सेवामा सहज पहुँच हुन सकेन । फलस्वरुप धेरै विपन्न श्रमजीवी नेपालीले उपचार नै नपाएर वा महङ्गो उपचारको भार खेप्न नसकेर कोभिड्-१९ बाट जीबन गुमाउनु परेको तथ्यहरु सञ्चारमा आएको भए पनि यो क्षतिको वास्तविकता अझै छायाँ मै परेको छ । राज्यले नियन्त्रण गर्न नसकेको उपचारको उच्च बोझ धान्न सम्पन्न परिवारको लागि त गाह्रो परेन होला, तर कतिपय मध्यम स्तरको परिवारलाई समेत सजिलो थिएन भने निम्न तहको विपन्न श्रमिक नागरिक समुहको लागि यो बोझ अभिशाप नै भएको छ र धेरै यस्ता विपन्न परिवारहरुलाई यसको दीर्घकालीन असर पर्नेछ । राज्यले देशमा उपलब्ध हुन सकेको कोभिड्-१९ को उपचार सेवालाई आम नागरिकको लागि सहज पहुँच हुने गरी व्यवस्थापन गर्न सकेको भए र मूल्यलाई नियन्त्रण गर्दै श्रोतलाई प्राथमिकताका साथ परिचालन गरेर निम्न आय भएको श्रमजीवीहरुलाई विशेष सहुलियत दिन सकेको भए गरिबहरुको लागि यो बोझ कम हुन सक्थ्यो । सरकारले निःशुल्क उपचारको घोषणा गरे तापनि गरिब विपन्न नागरिकहरुले ब्यबहारमा यो अनुभूत गर्न पाएनन् र उपचारमा आर्थिक बोझको भार बोकी रहन प¥यो (Poudel, 2020) (Ojha, 2021) (Shah ‘Nepali’, 2021) ।

ख) महाव्याधिको व्यवस्थापनसँग जोडिएका प्रभावहरु

अन्य देशहरुले जस्तै नेपालले पनि कोभिड्-१९ को सङ्क्रमणको बिस्तारलाई रोक्न जनस्वास्थ्यका अन्य बिधिहरुसँगै पटक पटक लामै अबधिसम्म लक्डाउन (बन्दाबन्दी) लाई अवलम्बन  गर्‍यो । विभिन्न समयमा सङ्क्रमण बिस्तारको स्थितिलाई मूल्याङ्कन गरेर यो जरुरी पनि थियो । तर लक्डाउनले जीवनका विभिन्न पक्षहरुमा पार्न सक्ने असरहरुबारे जानकारी हुँदाहुँदै पनि यसले उब्जाएको नकारात्मक प्रभावबारे भने राज्य आवश्यकता अनुसार सम्बेदनशील र जिम्मेवार बन्न सकेन । स्थायीरुपमा काम गर्ने वा घरबाटै काम गर्न सकिने प्राबधान भएका कर्मचारीहरु, आर्थिक बोझ धान्न सक्ने वा बैकल्पिक उपायहरु खोज्न सक्ने व्यवसायीहरुको लागि लक्डाउनले आर्थिक प्रभाव पारेको भए पनि यो सङ्कटपूर्ण नै भने भएन । तर आफ्नो र परिवारको जीवन यापन गर्ने आयको श्रोत नै बन्द भएको साना व्यवसायी, आवधिक तलबमा आश्रित कामदारहरु, दैनिक ज्यालादारीबाट आर्जन गर्ने श्रमिक मजदुरहरुको लागि भने कोभिड्-१९ को महाव्याधिलाई सम्बोधन गर्ने लक्डाउनको बिधि अर्को अभिशाप हुन गयो । सङ्क्रमण रोक्ने लक्डाउनले जन्माएको भोकमरीको यो सङ्कट र सङ्क्रमणबाट हुने पीडामा यो तप्काको नागरिकहरुले केही फरक पाउन सकेनन् । दुखपूर्ण विडम्बना त के भने स्वयंसेवी ब्यक्ति, सँघ सँस्थाहरुले भोका पीडितहरुलाई सहयोग स्वरुप सार्बजनिक स्थानहरुमा गरेको निशुल्क भोजन वितरणलाई पनि बन्देज गराइयो (OnlineKhabar, 2020) (Ojha, 2021) । 

लक्डाउनले पु-याएको आर्थिक क्षतिबाट मुक्त हुन उद्योगी व्यवसायीहरुबाट विभिन्न पहल र प्रयासहरु भए । तर ती प्रयासहरुमा पनि श्रमिक मजदुरहरुको आवश्यकता यथेष्ठ रुपमा सम्बोधन भएन । सरकारले सुरक्षाका मापदण्डहरु त बनायो (नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, २०७७), तर आमरुपमा त्यसको प्रभावकारी पालना हुन सकेन र श्रमिक मजदुरहरुको आर्थिक पीडालाई पनि कम गर्न सकेन ।   

लक्डाउनको वेला कृषकहरुले भोग्नु परेको पीडाको अर्कै पक्ष छ । लक्डाउनले कृषि उत्पादनलाई त असर पारेन, अझ उत्पादनमा बृद्धि नै भयो होला । तर बजारसम्म पहुँच नभएर कृषि उत्पादनहरु कृषकको खेतबारीमै नष्ट भएको वास्तबिकता धेरै चर्चामा आयो ता पनि सम्भावना हुँदाहुँदै पनि यसको कुनै सम्बोधन भएन । विडम्बना त के भने यो  अवधिमा न कृषिजन्य उत्पादनको आयातमा कमी भयो, न बजारमा यसको माग नै घट्यो । लक्डाउनको कारण दैलोको खेतबारीबाट बजारसम्म उत्पादन ढुवानी गर्न साधन नपाइनु तर कृषि उत्पादनको आयातको लागि कुनै अड्चन् नहुनु एउटा सँयोग मात्र हुन सक्दैन । सरकारले कृषकहरुलाई उत्पादनको प्रोत्साहन दिँदै ढुवानीको लागि सहजीकरण गरिदिएर बजारलाई ब्यबस्थित गरिदिएको भए कृषकलाई ठुलो राहत त हुने नै थियो त्यसले दीर्घकालीन रुपमा कृषिजन्य उत्पादनको आयातलाई दुरुत्साह गर्ने यो राम्रो अवसर पनि हुने थियो ।      

देश बाहिर रोजगारी गर्ने नेपाली ठुलो श्रमिकहरुको पीडाको अर्को बेग्लै आयाम छ । महाव्याधिको कारणले बिदेशमा काम गर्ने धेरै नेपाली श्रमिकहरुको रोजगारी गुम्यो । Nepal Association of Foreign Employment Agencies को अनुसार मलेशिया र सँयुक्त अरब इमिरेटमा मात्रै कार्यरत करिब ९ लाख नेपाली श्रमिकहरु मध्ये ३० प्रतिशत बेरोजगार भएका थिए । त्यस्तै कतार र साउदी अरबमा भएका ८ लाख नेपाली श्रमिकहरु मध्ये २० प्रतिशतले रोजगारी गुमाएका थिए (मण्डल, २०२०) । सुदूर पश्चिममा देश फर्किएका श्रमिकहरुमा गरिएको सर्भेक्षण अनुसार करिब ९९ प्रतिशतले रोजगारी गुमाएर घर फर्किएका थिए (DanChurch Aid,2020)। सिमानामा बिस्तृत बिवरण नहुँदा यकिनसाथ भन्न नसकिए पनि गएको बर्ष मार्च महिनामा मात्रै भारतबाट करिब ५ लाख नेपाली कामदारहरु घर फर्किएको अनुमान गरिएको छ (ACAPS,2020)। भारत बाहेक अरु देशहरुबाट १ लाख २७ हजार नेपालीहरु हवाई मार्गबाट तत्काल आउने तैयारी भएको र अरु ४ लाख ७ हजार देश फर्किन इच्छुक भएको अन्तर्राष्ट्रिय श्रम सँगठन (ILO) को प्रतिबेदनमा उल्लेख गरिएको छ (ILO, 2020) । रोजगारी त गुम्यो नै तर त्यो बेरोजगारीको पीडा बोकेर आफ्नो देश फर्कदाको दुख त्यो भन्दा अझ गहिरो भयो । अनेकौँ कष्ट सहेर सीमानासम्म आइपुगेर पनि आफ्नो माटो टेक्न नपाउँदा भोग्नु परेको पीडा (The Indian Express, 2020) र आफ्नै माटोमा सामना गर्नु परेको असह्य दुखका क्षणहरु वर्णन गर्ने सीमा भन्दा पनि परका छन् (Sen, 2020) (Katuwal, 2020) (Khabarhub, 2020) । सीमा व्यवस्थापन तथा क्वारानटीन व्यवस्थापनमा हाम्रा नीतिगत एवम् ब्थबस्थापकीय कमजोरीका कारणले गर्दा ती श्रमिकहरुले यी दुखहरु भोग्नु परेको हो । सीमा तथा क्वारानटीन व्यवस्थापनलाई चुस्त बनाएर आर्थिक सङ्कटमा परेका महाव्याधि पीडितहरुलाई राज्यले राहत दिन सकेको भए केही भए पनि पीडा कम हुन्थ्यो ।

ग) कोभिड्-१९ बाहेक अन्य स्वास्थ्य समस्याहरु

कोभिड-१९ महाव्याधिसँग जोडिएका प्रत्यक्ष प्रभावहरु त छँदैछन् । ती बाहेक यसैको कारणले स्वास्थ्यका अन्य समस्याहरु पनि जटिल बनेका थिए । यातायातका साधनहरु बन्द भएको वेला एम्बुलेन्स सेवाको कुनै प्राबधान नै नभएको हुँदा कुनै पहुँच नभएका आकस्मिक अबस्थाका कैयौँ बिरामीहरु पनि अस्पतालसम्म पुग्न पाएनन् । अस्पतालहरुको व्यवस्थापन सही ढङ्गबाट हुन नसक्दा अन्योलमा परेर पनि कतिपय बिरामीहरु र दीर्घ रोगीहरुले समयमा उपचार सेवा पाउन सकेनन् । सरकारी अस्पतालहरुमा कोभिड्-१९ को बिरामीहरुको अत्यधिक चापले गर्दा नीजि अस्पताल जान बाध्य भएका आम गरिब नागरिकहरुले अन्य रोगहरुको उपचारको लागि बोक्नु परेको असह्य आर्थिक बोझको कुनै सिमा नै भएन । अस्पताल जान नपाएर धेरै गर्भवती महिलाहरुले मृत्यु बरण गर्नु परेको दुखपूर्ण समाचार सञ्चार माध्यममा आए पनि (Poudel,2020) कोभिड्-१९ ले पारेको अन्य स्वास्थ्यसँग सम्बन्धित नकरात्मक प्रभावहरुबारे अझै बिस्तृत् खोजी भइसकेको छैन ।  

यो महाव्याधि अन्तिम होइन : भविष्यको चुनौती सामना गर्ने दृष्टिबोध

मानव समाजले आप्mनो अस्तित्वलाई बचाँउदै विकासको आजको चरणसम्म आइपुग्न वातावरणीय प्रलय, भोकमरी, हिँश्रक युद्ध जस्तै विभिन्न रोगहरुका सँहारकारी महाव्याधिको अनेकौँ सङ्कट र चुनौतीहरुलाई सामना गरेको छ । यतिवेला विश्वले भोगिरहेको कोभिड्-१९ जस्तो महाव्याधि मानव समाजले पहिलो पल्ट अनुभब गरेको होइन । इतिहासमा यस्तो महाव्याधिको प्रलयले गरेको सँहार र मानव जातिको अस्तित्वमाथि नै आएको सङ्कटबाट समेत मानव समाजले पटक पटक आफूलाई बचाउनु परेको छ । युरोप, उत्तरी अफ्रिका र एसियाका केही देशहरुमा चौधौँ शताब्दीको मध्यतिर सात बर्षसम्म फैलिएको कालो मृत्यु (Black Death) भनिने बुबोनिक प्लेगको महाव्याधिमा ७ करोड देखि २० करोड् मानिसहरुले ज्यान गुमाएको अनुमान गरिएको छ  (ब्ल्याक डेथ, विकिपिडिया) । त्यतिखेर सूचना प्रविधि र प्रणालिको विकास नभइसकेको हुँदा मृतकको सङ्ख्या यकिनका साथ निक्र्यौल गर्न नसकिने भएकोले यो अनुमानमा प्रश्न उठाउन सकिन्छ तर अनुमानित तथ्याङ्कमा जति नै फरक आए तापनि त्यो वेलाको विश्व जनसङ्ख्याको अनुपातमा भएको मृत्यु मानव अस्तित्व माथिकै सङ्कट हो । यो महाव्याधिले कैयौँ शहरहरु सुनसान बनायो, कैयौँ बस्तीहरु मानिस विहिन उजाड् बनायो । आज उन्मूलन नै भइसकेको बिफरले कैयौँ बर्ष सम्म अनगिन्ति ज्यान लिएको थियो । प्रलय कै रुपमा सबै भन्दा पछिल्लो पटक देखिएको आजभन्दा एक सय बर्ष अघि सन् १९१८ देखि १९२१ सम्म फैलिएको स्पेनिस फ्लु को महाव्याधिमा २ करोड देखि ५ करोड मानिसहरुको मृत्यु भएको थियो । सन् १९१८ मा विश्वको जनसङ्ख्या २ अरब हुँदा यो सङ्ख्याको मृत्यु निश्चय नै सामान्य होइन (Palese, 2004) । यी त केही उदाहरण मात्रै हुन् । यस्ता अनेकौँ प्रलयहरु इतिहासमा स्थापित भएका छन् तापनि त्यो युगमा स्वास्थ्य विज्ञानको र जनस्वास्थ्य प्रणाली तथा बिधि कमजोर भएको हुँदा कतिपय साना तिना महामारीहरु र तिनले पु¥याएका मानव क्षतिहरु पर्याप्त रुपमा कतै उल्लेख नै हुन सकेका छैनन् ।

इतिहासको बृहत् फाँटलाई यसरी छोँटो पुनरावलोकन गर्दा पनि यो स्पष्ट हुन्छ कि कोभिड्-१९ महाव्याधि मानव समाजले सामना गर्नु पर्ने अन्तिम चुनौती होइन । आउँदो भविष्यमा नयाँ सुक्ष्म जीवाणुले नयाँ स्वरुपको नयाँ प्रकृतिको महाव्याधिहरु जन्माइरहने छन् र विभिन्न रुपमा विभिन्न प्रकारका रोगका यस्ता महाव्याधिहरुको हामीले सामना गर्नै पर्छ । विज्ञान र प्राविधिक दृष्टिकोणले महाव्याधिको प्रकृति फरक होला, त्यसैले समस्यालाई समाधान गर्ने तरिका र बिधि पनि अहिलेको भन्दा बेग्लै होला । तर नीति र प्रणालीसँग जोडिएको यस्को जन जीवनमाथिको प्रभाव र परिणाम भने उस्तै हो । गरिब जनतामाथि पर्ने दुखको असन्तुलित भार उस्तै हो । ती चुनौतीहरुलाई सामना गर्न सूक्ष्म जीवाणुहरुलाई पराजित गर्ने वैज्ञानिक खोजहरु मात्रै मानव समाजको सफलता होइन । विश्वका सबै मानिसहरुले बाँच्न पाउने हक सुनिश्चित भएको समानता र न्यायपूर्ण प्रणाली र समाजको स्थापना नै हाम्रो विजय हो । यस्तो समाजको निर्माण देश साधन र श्रोतले सम्पन्न भएर मात्र होइन प्रणालीको निर्माता राज्य शक्तिको नेतृत्वमा समाज विकासको सही दिशाबोध र दिग्दर्शन हुनु जरुरी छ ।  त्यसैले अहिलेको यो महाव्याधिमा विपन्न तप्काका नागरिकहरुले भोग्नु परेको पीडाको सही मूल्याङ्कन नगर्ने अनि त्यसप्रति सम्वेदनशील नहुने हो भने र त्यस्तो स्थितिप्रति राज्यले जिम्मेवारी बोध नगर्ने हो भने भविष्यमा हुने यस्तो बिपदको वेला त्यो पीडा अझै असैह्य हुनेछ र नागरिकहरुको बीचको विभेदको खाल्डो अझै गहिरो हुनेछ ।

कोभिड्-१९ महाव्याधिको सम्बोधनमा भएको असमानताबारे अन्तर्राष्ट्रिय समुदाय सम्बेदनशील भएका छन् र समानता र सामाजिक न्यायको आवाज उठाउन थालेका छन् । विशेषतः स्वास्थ्य विज्ञानकै इतिहासमा ठुलो र महत्वपूर्ण उपलब्धि मानिएको कोभिड्-१९ विरुद्धको खोपको विकास र उत्पादन भएर प्रयोगमा आउन थालेपछि विश्वका गरिब श्रमिक जनता किनारामा धकेलिँदै यस अवसरबाट क्रमशः बन्चित हुँदै गएका तथ्यहरु स्पष्ट भएपछि श्रमिक जनताको पक्षमा सँस्थागत रुपमै पैरवी सुरु भएको मात्र होइन (ANI News, 2021) यो असमानताको बिरुद्ध  आक्रोशहरु पनि अभिब्यक्त हुन थालेका छन् (Legge, 2021) (Al Jazeera, 2021) (Guerrero, 2021) । यो सकारात्मक त छ तर पर्याप्त छैन । न्याय र समानताको मुद्दा खोपको सन्दर्भमा मात्र होइन महाव्याधिको समुच्च व्यवस्थापनमा नै कार्यान्वयन् हुनु पर्दछ ।

अन्तर्राष्ट्रिय तहमा समानताको मुद्दा त उठ्नै पर्छ, तर देशभित्र पनि महाव्याधिको न्यायपूर्ण व्यवस्थापन हुनुपर्दछ ।  हाम्रो देशको सन्दर्भमा किनारामा बाँचेका गरिब श्रमजीवीहरुको दुःख कोभिड्-१९ रोगको प्रकृति, देशमा भएको श्रोत र साधनको अपर्याप्तता, यो रोगबारे बिद्यमान प्राविधिक ज्ञानको सिमितता तथा जनमानसमा फैलिएका केही आशङ्का र भ्रमहरुसँग पनि आँशिक रुपमा जोडिएको त छ, तर हाम्रो प्रणाली, नागरिकप्रति राज्यले गरेको जिम्मेवारी र जवाफदेहिताको बोध तथा नेतृत्व र व्यवस्थापकीय कुशलता जस्ता मुद्दाहरु यी पीडाहरुका लागि मूलरुपमा जिम्मेवार छन् । यी कमजोरीहरु यति नै वेला निर्माण भएका होइनन्, विगतदेखि छोपिएर बसेका यी हाम्रा अक्षमताहरु कोभिड्-१९ महाव्याधिको सङ्कटले सतहमा ल्याइदिएको मात्रै हो । जनताले भोग्नुपरेको पीडालाई अनुभूत गरेर उनीहरुप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै समानता र न्यायको बोध सहित कोभिड्-१९ महाव्याधिको कुशलतापूर्वक व्यवस्थापन गर्न देशले सकेको भए नागरिकको पीडालाई न्यूनगर्न सकिने मात्र होइन यो सङ्कटलाई अवसरमा रुपान्तरण गर्न पनि सकिन्थ्यो । तर, श्रमजीवीको प्रतिनीधित्व गर्दै उनीहरुको हक, समानता र न्यायको आवाज बोल्ने अपेक्षा र आशा गरेको सत्तामा भएका र सत्ता बाहिर भएका वामपन्थी नेतृत्वबाट त्यो तहको गुण र क्षमताको प्रदर्शन यस पटक हुन सकेन । यो साँच्चै नै दुखको कुरा हो तापनि भविष्यमा नेतृत्वमा महाव्याधिका चुनौतीहरुलाई सम्बोधन गर्न सही दिशाबोध हुनेमा आशावादी भने हुनै पर्छ् ।

सन्दर्भ सामग्रीहरु:

  • नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय ९२०७७० कोभिड् १९ महामारीको समयमा उद्योग, बाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड (Protocol) सिँहदरबार, काठमाण्डौ
  • कोभिड् १९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश(२०७८)खण्ड -७१ अतिरिक्ताङ्क १६, राजपत्र भाग-२
  • COVID Live Update: 265,338,600 Cases and 5,261,621 Deaths from the Coronavirus – Worldometer. https://www.worldometers.info/coronavirus
  • Ministry of Health and Population (2020). Health Sector Emergency Response Plan COVID 19 Pandemic. Government of Nepal. https://www.who.int/docs/default-source/nepal-documents/novel-coronavirus/health-sector-emergency-response-plan-covid-19-endorsed-may-2020.pdf?sfvrsn=ef831f44_2
  • Worldmeter (2020) https://www.worldometers.info/coronavirus/country/nepal/
  • Poudel, A. (2020). Private hospitals fleecing Covid-19 patients and forcing ordinary patients to pay virus safety charges. The Kathmandu Post. https://kathmandupost.com/health/2020/10/09/private-hospitals-fleecing-covid-patients-also-forcing-ordinary-patients-to-pay-virus-safety-charges
  • Ojha, A. (2021). Covid-19 patients from low and middle income can’t afford beds in private hospitals. The Kathmandu Post. https://kathmandupost.com/health/2021/05/06/covid-19-patients-from-low-and-middle-income-can-t-afford-beds-in-private-hospitals
  • Shah ‘Nepali’, M. (2021). Covid treatment in private hospitals not accessible to all.The Himalayan Times. https://thehimalayantimes.com/nepal/covid-treatment-in-private-hospitals-not-accessible-to-all
  • Kathmandu city govt bars volunteers from feeding the needy at Khulamanch (2020) OnlineKhabar English News. https://english.onlinekhabar.com/kathmandu-city-govt-bars-volunteers-from-feeding-the-needy-at-khulamanch.html
  • Ojha, A. (2021). Kathmandu city officials forcefully shift free meal distribution venue. The Kathmandu Post. https://kathmandupost.com/valley/2020/11/20/kathmandu-city-officials-forcefully-shift-free-meal-distribution-venue
  • Ojha, A. (2021). Kathmandu Metropolitan City to remove free food distribution from Khula Manch. The Kathmandu Post. https://kathmandupost.com/valley/2020/11/02/kathmandu-metropolitan-city-to-remove-free-food-distribution-from-khula-manch
  • Mandal, C.K. (2020). At least 500,000 migrant workers want to return home at the earliest, says report. The Kathmandu Post. https://kathmandupost.com/national/2020/05/21/at-least-500-000-migrant-workers-want-to-return-home-at-the-earliest-says-report
  • A Survey Report “COVID-19 Impact on Migrants Workers” in Sudurpashchim Pradesh – Nepal. DanChurchAid. https://reliefweb.int/report/nepal/survey-report-covid-19-impact-migrants-workers-sudurpashchim-pradesh
  • NEPAL COVID-19 & the return of migrants (2020). ACAPS. https://www.acaps.org/sites/acaps/files/products/files/20200612_acaps_start_briefing_note_nepal_migrant_returnees_covid-19.pdf
  • Impact of COVID-19 on Nepali Migrant Workers: Protecting Nepali Migrant Workers during the Health and Economic Crisis Challenges and the Way Forward (2020). International Labour Organization. https://www.ilo.org/wcmsp5/groups/public/—asia/—ro-bangkok/—ilo-kathmandu/documents/briefingnote/wcms_748917.pdf
  • COVID-19 lockdown: Around 2,000 Nepalese stranded near Indo-Nepal border return home. The New Indian Express. https://www.newindianexpress.com/world/2020/apr/30/covid-19-lockdown-around-2000-nepalese-stranded-near-indo-nepal-border-return-home-2137552.html
  • Sen, S. (2020). Three arrested in connection with Kailali quarantine gang-rape, Lamkichuha suspends quarantine services. The Himalayan Times. https://thehimalayantimes.com/nepal/three-arrested-in-connection-with-kailali-quarantine-gang-rape-lamkichuha-suspends-quarantine-services
  • Katuwal, J. (2020) 37-year-old man dies of Covid-19 at a quarantine facility in Dullu, Dailekh. The Kathmandu Post. https://kathmandupost.com/karnali-province/2020/05/31/37-year-old-man-dies-of-covid-19-at-a-quarantine-facility-in-dullu-dailekh
  • Youth commits suicide in quarantine, COVID-19 test to be performed (2020). Khabarhub. https://english.khabarhub.com/2020/22/106456/
  • Poudel, A. (2020). More Nepalis are delivering babies at home due to fear of Covid-19. The Kathmandu Post.
  • https://kathmandupost.com/health/2020/06/25/more-nepalis-are-delivering-babies-at-home-due-to-fear-of-covid-19
  • Black Death. Wikipedia. https://en.wikipedia.org/w/index.php?title=Black_Death&oldid=1057242068
  • Palese, P. (2004) The great influenza The epic story of the deadliest plague in history. J Clin Invest.
  • UN chief calls for vaccine equity as global COVID-19 deaths exceed 5 million (2021). ANI News. https://www.aninews.in/news/world/europe/un-chief-calls-for-vaccine-equity-as-global-covid-19-deaths-exceed-5-million20211101161916/
  • Legge, D. (2021). Genocide by big pharma. Millions will die https://johnmenadue.com/genocide-by-big-pharma-millions-will-die/
  • ‘Stop being selfish’: Africans decry ‘vaccine apartheid’ (2021). | Al Jazeera. https://www.aljazeera.com/news/2021/8/31/prominent-kenya-health-expert-warns-against-vaccine-apartheid
  • Guerrero, D.G (2021). Vaccine apartheid, a strategy of social murder. Global Justice Now. https://www.globaljustice.org.uk/blog/2021/10/vaccine-apartheid-a-strategy-of-social murder/
*डा. शरद वन्त एमडी (लेनिनग्राद, युएसएसआर) एमपिएच (एडिनबरा स्कटल्याण्ड) पीएचडी (डेनमार्क) हाल फिजिशियन्स फर सोशल रिस्पोन्सिबिलिटी नेपाल (PSRN) का अध्यक्ष र पीपुल्स हेल्थ मुभमेन्ट नेपाल का राष्ट्रिय संयोजक पनि  हुन् ।  उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा धेरै वैज्ञानिक प्रकाशनहरू प्रकाशित गरेका छन् र रिसोर्स सेन्टर फोर प्राइमेरी हेल्थका अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC)  का कार्यकारी सदस्य सचिव र इन्स्टिट्यूट ओफ मेडिसिन (IOM)  को पूर्व सहायक डीनको रूपमा पनि काम गरिसकेका छन्। यसबाहेक उनी नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक महासचिव पनि हुन्  । 

Leave a Comment

Your email address will not be published.