Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा

रामराज रेग्मी*

नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाबारे नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूले आ–आफ्ना कार्यक्रमहरू मार्फत अवधारणाहरू बाहिर ल्याएका छन् तापनि सबैको दृष्टिकोण र विश्लेषणमा एकरूपता देखिन्न । नेपाली समाजमा कुन खाले उत्पादन सम्बन्ध विद्यमान छ ? समाज अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक अवस्थामै छ कि पुँजीवादमा रूपान्तरित भइसक्यो ? नेपाली क्रान्तिले कस्तो खाले कार्यनीति र रणनीति अवलम्वन गर्नुपर्ला ? क्रान्तिको रूप संसदीय, गैह्र–संसदीय, शान्तिपूर्ण, सशस्त्र कस्तो हुनुपर्दछ ? यी सवालहरू आज नेपाली कम्युनिष्ट आन्दोलनमा छलफल, बहस र वादविवादका विषय बनेका छन् । कम्युनिष्ट पार्टीका लागि कार्यदिशाको सवाल निकै महत्वपूर्ण विषय बनेको छ । कुनै पनि राजनीतिक पार्टीको लक्ष्य उद्देश्य, कार्यक्रम, रणनीति, कार्यनीति र आचरण त्यसको विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाले निर्धारण गर्दछ । जनजाति आन्दोलनका अग्रणी योद्धा, माक्र्सवादी विद्वान् तथा लेखक परशुराम तामाङले ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक अमूल्य कृति २०७८ भाद्रमा प्रकाशित गरेर निकै महत्वपूर्ण बहसको प्रारम्भ गरेका छन् ।

‘कम्युनिष्ट आन्दोलनमा कार्यदिशाको समस्या’ शीर्षक लेखबाट थालनी गरिएको यस कृतिमा लेखक तामाङले ‘राज्य सम्बन्धी माक्र्सवादी दृष्टिकोण’, ‘जनवादी एवम् समाजवादी क्रान्तिका अनुभवहरू’, ‘नेपालका कम्युनिष्ट पार्टीका कार्यक्रमहरू’, ‘अल्पविकास र समाजवाद’, ‘जनताको जनवादका आधारभूत समस्याहरू’ र ‘कम्युनिष्ट वृत्तान्तबाट विलुप्त तीन वर्ष’ गरी सात शीर्षकहरूमा छलफललाई अघि बढाएका छन् र प्रत्येक शीर्षकहरूलाई प्रत्येक अध्यायका उपशीर्षकहरूमा विभक्त गरेका छन् । अग्रभागमा प्रकाशकीय र पृष्ट भागमा ‘हार्दिक आभार तथा धन्यवाद’ शीर्षकमा आफ्ना भनाइ राखेर लेखकले एउटा नयाँ र नौलो प्रचलनको थालनी गरेका पनि छन् ।
अध्याय १० मा लेखकले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएपछि विभिन्न कालखण्डमा सिङ्गो पार्टी र विभिन्न घटकहरूले नेपाली समाजको स्वरूप सम्बन्धमा गरेको विश्लेषण, पार्टी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्नुका साथै वर्तमानमा विभिन्न कम्युनिष्ट पार्टीहरूले प्रस्तुत गरेका कार्यक्रम र कार्यदिशाबारे चर्चा गरेका छन् । लेखक भन्दछन् कि २००८ को असोजमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनले नेपाली समाजलाई अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक ठहर गर्दै ‘नयाँ जनवादी कार्यक्रम’ लाई क्रान्तिको कार्यक्रमका रूपमा प्रस्तुत गरेको थियो र हिंसात्मक तथा अहिंसात्मक दुवै सङ्घर्षका तरिका अपनाउने कार्यदिशा अँगालेको थियो । वि.सं. २०७२ को संविधान भन्दा वि.सं. २००८ को नेपाल कम्युनिष्ट पार्टीको दृष्टिकोण र अवधारणा तुलनात्मक रूपमा प्रगतिशील थियो । तर मनमोहन अधिकारीको नेतृत्वमा प्रथम महाधिवेशनदेखि दोस्रो राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा पार्टी दक्षिणपन्थी अवसरवादी भासमा फस्न पुग्यो । नेपाली काङ्ग्रेसको सरकारले पार्टीमाथि लगाएको प्रतिवन्ध फुकुवा गराउनका लागि २०१३ सालमा राजाको वैधानिक नायकत्वमा समाजवाद प्राप्तिका लागि शान्तिपूर्ण बाटो अवलम्बन गर्ने प्रतिवद्धता जाहेर गरेपछि उक्त दक्षिणपन्थी धारा बाहिर सतहमा प्रकट भयो (पृ.८६) ।
त्यसपछि तामाङले पार्टीले २०१९ सालमा भारतको वनारसमा आयोजना गरेको तेस्रो महाधिवेशनको कार्यदिशाबारे प्रकाश पार्दछन् । उनी भन्दछन् कि त्यस महाधिवेशनले तुलसीलाल अमात्यद्वारा प्रस्तुत ख्रुश्चेभी संशोधनवादी धारलाई पक्डिने ‘राष्ट्रिय प्रजातन्त्र’ लाई कार्यक्रमको रूपमा र संसदवादलाई कार्यदिशाका रूपमा स्वीकार ग¥यो । त्यसप्रति विद्रोह गरी पुष्पलालले २०२५ सालमा गोरखपुरमा तेस्रो सम्मेलनको आयोजना गरी नयाँ जनवादी कार्यक्रमलाई पथप्रदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै संयुक्त जनसङ्घर्षको कार्यक्रम अघि सारे । तर संसदको पुनस्र्थापनालाई अँगालेकाले उनको कार्यदिशा विवादको घेरामा तानिन गयो र कम्युनिष्ट आन्दोलन विभाजनको दिशातिर उन्मुख भयो ।

परशुराम तामाङ अगाडि भन्दछन् कि टूटफूटको लामो सृङ्खलाको परिणाम स्वरूप २०३० को दशकमा भूमिगत रूपमा धेरै कम्युनिष्ट पार्टीहरू अस्तित्वमा आए । मोहनविक्रम र निर्मल लामाको पहलमा कम्युनिष्टहरूलाई एकीकृत गर्ने उद्देश्यले २०२८ सालमा निर्माण गरिएको केन्द्रीय न्यूक्लसले २०३१ सालमा भारतको वनारसमा चौँथो महाधिवेशनको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टी (चौम) लाई जन्म दियो । उक्त पार्टीले माक्र्सवाद लेनिनवाद र माओ विचार धारालाई सिद्धान्तका रूपमा अँगाल्दै सर्वहाराको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गरी जनवादी गणतन्त्रको स्थापनाबाट समाजवाद र साम्यवाद तर्फ अघि बढ्ने कार्यक्रम प्रस्तुत गर्‍यो । आवश्यकता अनुसार वैधानिक र अवैधानिक दुवै सङ्घर्षका कार्यदिशा अवलम्बन गर्ने त्यस पार्टीको नीति थियो । तर २०३५ सालमा राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरेपछि कार्यदिशाको सवालमा पार्टीमा चर्को अन्तर्विरोध पैदा भयोे । वैधानिक सङघर्षलाई अवलम्बन गर्ने पार्टीको नीतिलाई अघि सार्दै निर्मल लामा जनमत सङ्ग्रहमा भाग लिएर बहुदलीय व्यवस्थालाई जिताएर निर्दलीय पञ्चायती व्यवस्थालाई हराउनु पर्दछ भन्ने पक्षमा उभिए भने मोहनविक्रम र मोहन वैद्यहरू जनमत सङ्ग्रहलाई बहिस्कार गर्ने पक्षमा उभिए । पार्टीले सुरुमा बहिस्कार गर्ने नीति अपनाए पनि पछि बहुदलको पक्षमा भाग लिने निर्णय गर्‍यो । २०४६ को जनसङ्घर्षमा भाग लिएर पञ्चायती व्यवस्था फाल्ने सवालमा पनि निर्मल लामा ‘व्यापक संयुक्त मोर्चा नै आजको आवश्यकता हो’ भन्दै नेपाली काङ्ग्रेस लगायतका पार्टीहरूसँग मोर्चा बनाएर सङ्घर्षलाई अघि बढाउनु पर्दछ भन्ने पक्षमा उभिए भने मोहनविक्रम र मोहन वैद्यहरू नेपाली काङ्ग्रेससँग संयुक्त मोर्चा निर्माण गरेर अघि बढ्न सकिँदैन भन्ने विचारमा अडिग भए । पार्टीमा अन्तर्विरोध चुलिँदै गएपछि यो चौँथो महाधिवेशन समुह र नेकपा (मशाल) मा विभाजित भयो ।

मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) भित्रको अन्तर्विरोधबारे प्रकाश पार्दै तामाङ भन्दछन् कि उक्त पार्टीले २०४१ सालमा भारतको अयोध्यामा गरेको पाचौँ महाधिवेशनमा क्रान्तिको कार्यक्रमको विषयलाई लिएर चर्को विवाद उत्पन्न भयो । महाधिवेशनले अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक देशमा अधिकतम कार्यक्रम समाजवाद÷साम्यवाद र न्यूनतम कार्यक्रम नयाँ जनवाद हुन्छ भनी निश्कर्ष निकालेको थियो । तर पछि नेतृत्वले प्रकाशित गरेको दस्तावेजमा नयाँ जनवादलाई अधिकतम कार्यक्रम भनी उल्लेख गर्दा पार्टीमा चर्को विवाद सृजना भयो । नेतृत्वले भूल स्वीकारेपछि तत्कालका लागि उक्त विवाद समाधान त भयो तर विभिन्न समयमा कार्यक्रम र कार्यदिशाको सवालमा सृजना भएका मतभेदका कारण वर्तमानसम्म आइपुग्दा चौँथो महाधिवेशनको धारअन्तर्गतका पार्टीहरू नेकपा (चौँथो महाधिवेशन) बाट नेकपा (चौम), नेकपा (मशाल), नेकपा (मसाल), विद्रोही मसाल, नेकपा–मसाल, नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी) आदि विभिन्न साना ठूला पार्टीहरूमा विभाजित भए ।

अर्को धारका बारेमा लेखक तामाङ बताउँछन् कि झापा आन्दोलनको बीउका रूपमा प्रस्फूटित कोओर्डिनेशन केन्द्र (कोके) विकसित भई २०३५ मा गठन भएको नेकपा (माले) ले माओको बाटो पछ्याउँदैे नौलो जनवादलाई सिद्धान्तका रूपमा र सशस्त्र सङ्घर्षलाई कार्यदिशाका रूपमा अँगाल्योे र देशव्यापी रूपमा बलियो जनआधार निर्माण गर्‍यो। पछि त्यस पार्टीको क्रान्तिकारी धार भुत्ते भएपछि २०४२ मा मार्गदर्शक सिद्धान्तका रूपमा माओविचारधारालाई परित्याग गर्‍यो र सोभियत सङ्घलगायत पूर्वी युरोपका देशलाई समाजवादी मान्ने र पञ्चायती व्यवस्थालाई उपयोग गर्ने कार्यदिशा अवलम्बन गर्न पुग्यो । २०४६ को जनआन्दोलनमा उक्त पार्टी वाममोर्चामा आवद्ध भई नेपाली काङ्ग्रेसको नेतृत्वमा संयुक्त आन्दोलन गर्ने मार्गमा अघि बढ्यो । मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) सँग एकता कायम गरेपछि त्यो नेकपा (एमाले) मा पुनर्गठित भयो । २०४९ को पाचौँ महाधिवेशनमा त्यसले ‘जनताको बहुदलीय जनवाद’ लाई कार्यक्रमको रूपमा स्वीकार गरी परिस्थितिअनुसार बैधानिक अवैधानिक, संसदीय गैह्रसंसदीय, शान्तिपूर्ण सशस्त्र मार्ग अपनाउने कार्यदिशा अँगालेकोमा मदन भण्डारीको देहावसानपछि आयोजित छैटौँ महाधिवेशनपछि संसदवाद र शान्तिपूर्ण सङ्क्रमणको कार्यदिशा अँगाल्न पुग्यो ।

यसरी वर्तमान अवस्थासम्म आइपुगेका विभिन्न कम्युनिष्ट पार्टीका कार्यक्रम र कार्यदिशा सम्बन्धमा प्रकाश पार्ने सिलसिलामा परशुराम तामाङ भन्दछन् कि २०६२÷६३ को दोस्रो जनआन्दोलन भन्दा पहिले नेपाली समाजको आर्थिक–सामाजिक स्वरूपको बुझाइमा वामपन्थी एवम् कम्युनिष्टहरूका बीचमा समानता थियो । सबैले नेपाली समाजको सामाजिक तथा राजनीतिक स्थिति अद्र्ध–सामन्ती एवम् अद्र्ध–औपनिवेशिक रहेको ठहर गरेका थिए । त्यस हिसाबले कम्युनिष्ट पार्टीहरू आधारभूत रूपमा विदेशी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र देशीय सामन्तवाद एवम् दलाल तथा नोकरशाही पुँजीवादलाई समाजवाद निर्माणको बाटोमा तगारो ठान्दथे । नेकपा (एमाले) वाहेक अधिकांश कम्युनिष्ट पार्टीहरूका लागि नेपाली क्रान्तिको कार्यक्रम चिनिया मोडेलको जनवादी क्रान्ति नै थियो जसलाई सम्पन्न गर्दै ती पार्टीहरू समाजवाद र साम्यवादतर्फ अघि बढ्ने अभियानमा थिए । तर पछिल्लो समयमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सातौँ राष्ट्रिय महाधिवेशनले “नेपाल पुँजीवादी चरणमा प्रवेश गरेको छ र जनवादी क्रान्तिका अधिकांश कार्यभार पुरा भइसकेका छन्” भनी निस्कर्ष निकालेपछि त्यसलाई पछ्याउँदै नेकपा (एमाले) ले पनि २०७१ को नवौँ महाधिवेशनबाट नेपाली समाजको अवस्था पुँजीवादी हो भन्ने ठहर गर्‍यो । त्यही समानताका आधारमा ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो र तत्कालीन कार्यक्रम समाजवादोन्मुख जनताको जनवाद हो भनी घोषणा गर्‍यो। कार्यदिशाको सवालमा त्यसले शान्तिपूर्ण समाजवादी सङ्क्रमणलाई अवलम्बन गर्‍यो। अन्य कम्युनिष्ट पार्टीहरूले भने त्यस बाटोलाई गलत ठानेका छन् । उनीहरू नेपाल अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक अवस्थामा छ र जनवादी क्रान्ति हुन बाँकी छ भन्ने पक्षमा उभिएका छन् । यसरी नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो कि भएन भन्ने विषयमा कम्युनिष्ट पार्टीहरूबीच मूल विवाद कायमै रहेको छ ।

लेखक तामाङले भाग ४ का विभिन्न अध्यायहरूमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेकका वर्तमानमा कार्यरत विभिन्न कम्युनिष्ट पार्टीका नेपाली समाज सम्बन्धी अवधारणा, कार्यक्रम र कार्यदिशाबारे संक्षेपमा प्रकाश पारेका छन् । उनले विभिन्न अध्यायहरूमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीे, सिपि मैनालीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (मा–ले) र नारायणमान विजुक्छेले नेतृत्व गरेको नेपाल मजदुर किसान पार्टीका कार्यक्रमहरूबारे चर्चा गरेका छन् । लेखक तामाङका अनुसार नेपालका विभिन्न कम्युनिष्ट पार्टीका क्रान्ति सम्बन्धी कार्यक्रमहरू र कार्यदिशाहरूको अध्ययन गर्दा तिनमा न्यूनतम कार्यक्रम नयाँ जनवाद, जनताको जनवाद र बहुदलीय जनवाद, अनि अधिकतम कार्यक्रम समाजवाद भनिएको पाइन्छ ।

२१ औँ अध्यायमा लेखक तामाङले नयाँ जनवाद, बहुदलीय जनवाद र जनताको जनवादबीच के भिन्नता छ भनी बताएका छन् । उनी भन्दछन् कि नयाँ जनवाद अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक चरित्र भएको समाजमा माओले प्रतिपादन गरेको समाजवादको पहिलो चरणको कार्यक्रम हो । नेपाली समाजलाई पनि अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक ठहर गर्दै विगतमा धेरै कम्युनिष्ट दलहरूले त्यसलाई अनुसरण गरेका थिए । वर्तमानमा नयाँ जनवादी कार्यक्रमलाई निरन्तरता दिनेमा एनेकपा (माओवादी) बाट विभाजित नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषिकटेल), नेकपा (माले) र नेपाल मजदुर किसान पार्टी रहेकाछन् । जनताको बहुदलीय जनवाद सम्बन्धमा लेखक तामाङ भन्दछन् कि त्यो नेकपा (एमाले) का नेता मदन भण्डारीले प्रतिपादन गरेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी क्रान्तिको कार्यक्रम हो । त्यसले मजदुर र सर्वहारा श्रमजीवी जनताको नेतृत्वमा आम जनताको संयुक्त जनवादी राजसत्ता स्थापना गर्ने लक्ष्य राख्दछ र बैधानिक सीमाभित्रको शान्तिपूर्ण सङ्क्रमणको कार्यदिशा अँगाल्दछ । संसदीय निर्वाचनमा अन्य बुर्जवा पार्टीहरूसँग प्रतिस्पर्धा गरी श्रेष्ठता हासिल गरेर सत्तामा पुगी समाजवाद लागु गर्न सकिन्छ भन्ने त्यस कार्यक्रमको मूल विचार रहेको छ । जनताको जनवादबारे प्रकाश पार्दै लेखक भन्दछन् कि यो भनेको दोस्रो विश्वयुद्धको दौरानमा र त्यसपछि फासिष्ट जर्मनी, जापान, इटली र फ्रान्सको कब्जामा रहेका युरोपेली देशका श्रमिक तथा अन्य क्रान्तिकारी वर्गहरूले लागु गरेको कार्यक्रम हो । तिनीहरूले सोभियत सङघको सहयोगमा क्रान्तिकारी राज्यसत्ता स्थापना गरी शान्तिपूर्ण रूपमा समाजवादमा सङ्क्रमण गरेका थिए । तिनीहरूले निर्माण गरेको राज्यसत्ता पुँजीवादी विकास नगरी सोझै समाजवादमा जाने सामन्तवाद र साम्राज्यवाद विरोधी जनताकै राज्यसत्ता थियो (पृ.१३५) ।

लेखक तामाङ्ले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान कार्यक्रमका सवालमा चर्चा गर्दा जनताको जनवादलाई बढी प्राथमिकता दिएको देखिन्छ । उनले पुस्तकका प्रमुख विषयहरू मध्येमा यसलाई एउटा विषय वस्तु बनाएर ‘जनताका आधारभूत समस्याहरू’ शीर्षकमा त्यसबारे विशेष प्रकाश पारेका छन् । जे जति कारणले यसो गरिएको भए पनि लेखक तामाङले यो काम गरेर राम्रै गरेका छन् । नेकपा भन्दा बाहिरका कम्युनिष्ट क्रान्तिकारीहरू र वाम बुद्धिजीवीहरूले पनि नेपाली वर्तमान कम्युनिष्ट आन्दोलनमा जनताको जनवाद एउटा उपयुक्त कार्यक्रम हुन सक्ने ठहर गरेका छन् । जनताको जनवादलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले किन अवलम्बन गर्न चाह्यो भन्ने बारेमा लेखक परशुराम तामाङ भन्दछन् कि त्यस पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रगतिशील शक्ति र राष्ट्रिय पुँजीपतिको विकास कमजोर अवस्थामा रहेको र दलाल तथा नोकरशाही पुँजीवाद मूल प्रवृत्ति बनेको वर्तमान स्थितिमा समाजवाद होइन, समाजवादका आधार तयार गनका लागि जनताको जनवाद उपयुक्त हुने ठहर गरेको छ र यसलाई सामन्तवादका अवशेष अन्त्य गर्दै पुँजीवादलाई पुर्णता दिने व्यवस्थाका रूपमा लिएको छ । त्यसकारण यो पुँजीवादको विकास गरेपछि मात्र समाजवादी क्रान्ति गर्ने बाटो नभै समाजवादी सत्ता स्थापना गर्ने र सङ्क्रमण कालमा पुँजीको विकास गर्ने गैह्रपुँजीवादी बाटो हो (पृ.१३९) ।

तर लेखक तामाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक प्रतिवेदनमा जनताको जनवाद भनेर जुन प्रकारको स्वरूप प्रस्तुत गरेको छ, त्यो जनताको जनवादको वास्तविक स्वरूप भन्दा एकदमै भिन्न छ भनी पुष्टि गर्दछन् । उनी भन्दछन् कि नेकपाले २०६२÷६३ को आन्दोलनपछि पुँजीवादी जनवादी क्रान्ति पुरा भएको अर्थमा लिएको छ र त्यसपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै जनताको जनवादी व्यवस्था भनेको छ । त्यसले आफ्नो कार्यक्रममा जनताको जनवादी व्यवस्थाको स्वरूप निर्धारण गर्दै त्यसलाई वालिग मताधिकार, आवधिक निर्वाचन, निर्वाचित प्रतिनिधि संस्था, सरकार, प्रतिपक्ष, शक्तिपृथकीकरण, विधिको शासन जस्ता विशेषताले युक्त व्यवस्था भनेको छ । राजनीतिक क्षेत्रमा त्यसले पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि संयन्त्र एवम् उपायको विकासमा ध्यान दिने सवाल अघि सारेको छ । लेखक भन्दछन् कि यो अवधारणा नेकपा (एमाले) ले लामो समयदेखि अङ्गिकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई नै आधार मानेर तयार गरेको बुझिन्छ जसमा ‘बहुदलीय’ शब्द बाहेक अरू केही हटाइएको छैन । लेखकका अनुसार नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले जनताको जनवादको नाममा बहुदलीय प्रतिस्पर्धा अँगाल्ने सवाल अघि सारेको छ । कृषि क्रान्तिको कार्यक्रम त्यागेको छ र चुनावी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर समाजवादमा पुग्ने कल्पना गरेको छ (पृ.२८६) ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्तुत गरेको जनताको जनवादका सवालमा लेखक परशुराम तामाङ प्रश्न गर्दछन् – यस्तो कार्यक्रमले समाजवादको निर्माण गर्छ कि गर्दैन ? यसको उत्तरमा उनी आफैँ भन्दछन् कि पुँजीवादको पर्याप्त विकास नभएका कृषिमा आधारित गरीब जनसङ्ख्या भएका मुलुकमा गैह्रपुँजीवादलाई तत्काल एजेण्डा बनाउन नहुने, त्यहाँ पुँजीवादलाई नै अँगाल्नुपर्ने र केही समयका लागि समाजवादको कार्यक्रम स्थगित गर्नुपर्ने अवधारणामा लेनिनको प्रयासमा गठन भएको तेस्रो अन्तर्राष्ट्रियमा सामेल भएका कम्युनिष्ट पार्टीहरूसमक्ष प्रस्तुत भएको थियो र त्यसमा उनीहरू सहमत भएका थिए । तर नेपाली समाजमा जनताको जनवादलाई सामन्तवाद पतन (ह्रास) हुँदै गएको र पुँजीवाद उदाउँदै गरेको सङक्रमणकालीन अवस्थामा लागु गरिएको छ । यो स्थिति अद्र्ध–औपनिवेशिक÷नव–औपनिवेशिक अवस्थाको अन्त्य भएको स्थिति पनि होइन (पृ.१५३) । लेखक तामाङका अनुसार यस्तो समाजमा सामन्तवादका अवशेषहरू बाँकी रहेकाले सोझै समाजवादी क्रान्तिको मार्ग अवलम्बन गर्न सकिँदैन । समाजवादमा पुग्नका लागि एउटा सङ्क्रमणकालीन अवधि भएर गुज्रनै पर्ने हुन्छ । यदि जनताको जनवादले वैज्ञानिक समाजवादतर्फ सङ्क्रमण गर्ने हो भने कम्युनिष्ट पार्टीको नेतृत्वमा आम जनताको अधिनायकत्व हुने राज्यसत्ताको निर्माण गर्नुुपर्दछ (पृ.२८८) । त्यो भनेको कम्युनिष्ट पार्टीको नेतृत्वमा श्रमजीवी वर्ग, र उत्पीडित समुदायको पहिचानसहितको आर्थिक–सामाजिक विकास गर्ने समाजवाद उन्मुख राज्यसत्ता हो । लेखक भन्दछन् कि नेपालमा अहिले एकैचोटि वैज्ञानिक समाजवादको घोषणा गरेर लागु गर्ने परिस्थिति विकास भइसकेको छैन । न त पुँजीवाद एउटा स्तरमा पुग्छ, अनि त्यसपछि समाजवादमा जाउँला भनी धैर्यता गर्नुमा कुनै अर्थ हुन्छ ।

गहिरो अध्ययन र अनुसन्धानमा आधारित भएर परशुराम तामाङले नेपालको कम्युनिष्ट आन्दोलनको सटीक व्याख्या विश्लेषण प्रस्तुत गरेका छन् र कम्युनिष्ट पार्टीले अपनाउनु पर्ने कार्यक्रम र कार्यदिशाको सही रुपरेखा कोरेका छन् । तामाङले ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामको यो अमूल्य कृति तयार गरी बेलैमा उपयुक्त बहसको थालनी गरेकाछन् र कर्तव्यपथबाट विचलित भएका पार्टी नेतृत्वहरूलाई सचेत बनाउने प्रयास गरेका छन् । यति हुँदाहुँदै पनि पुस्तकमा केही कमीकमजोरीहरू देखिएका छन् । पुस्तक केवल कम्युनिष्ट आन्दोलनको कार्यदिशामा मात्र सीमित छैन । मूल विषयवस्तुसँग प्रत्यक्ष नजोडिएका थुप्रै विषयवस्तुहरू पनि यसमा समावेश गरिएका छन् । यस कृतिमा राज्यको उत्पत्ति र त्यसको विलोप सम्बन्धी अवधारणा, समाजवाद, सर्वहारा अधिनायकत्व, समाज विकासका ऐतिहासिक चरणहरू, पेरिस कम्युन, रुसी समाजवादी क्रान्ति, चिनिया जनवादी क्रान्ति, पूर्वी युरोपीय देशहरूको जनवादी क्रान्ति, नेपाली समाजको स्वरूप, नेपालमा जातीय राष्ट्रिय वा सामुदायिक समस्याहरू, नेपालको भूमि समस्या, भूमण्डलीकरण, नेपालको अर्थराजनीति, नेपालमा समाजवादको निर्माण सम्बन्धी समस्याहरू, एमाले–माओवादी केन्द्रबीचको एकता र त्यसको अन्त्यको अन्तरकथा, ओली अर्थ–राजनीति : कति समाजवादी ? जस्ता थुप्रै विषयहरू रहेका छन् । लेखकले विभिन्न समयमा तयार गरेका लेख रचनाहरूलाई यस कृतिमा स्थान दिएको जस्तो देखिन्छ । तिनलाई छुट्टै कृतिमा समावेस गरी केवल नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा सम्बन्धमा छलफललाई अघि बढाएका भए कृति सामान्य नभएर अझ विशेष बन्न सक्थ्यो ।
यसका अतिरिक्त नेकपाले अवलम्बन गरेको जनताको जनवादको कार्यक्रम र कार्यदिशाप्रति लेखकको विमती रहे पनि त्यसका प्रमुख कमजोरीप्रति स्पष्ट आलोचनामा उत्रन सकेका छैनन् । नेकपाले वास्तवमा जनताको बहुदलीय जनवादकै सारतत्वलाई बोकेर जनताको जनवादको कार्यदिशालाई दक्षिणपन्थी दिशातर्फ अग्रसर गराएको छ । त्यसले अन्तर्विरोधको सवाल, सङ्घर्षको कार्यदिशा र राज्य संयन्त्र सम्बन्धमा गलत दिशा अपनाएको छ । त्यसले जनताको जनवादको सारतत्वलाई बङ्ग्याएर त्यसबारे भ्रम सृजना गरेको छ । त्यस भ्रमबाट मुक्त गदै वास्तविक जनताको जनवाद नेपालको जस्तो सामाजिक परिवेशमा लागु गर्न सकिने क्रान्तिकारी कार्यक्रम हो भन्ने बुझाएर त्यसको स्वरूपबारे जानकारी गराउन आवश्यक छ ।

प्रथम त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली क्रान्ति पुँजीवाद विरोधी समाजवादी क्रान्तिको नयाँ चरणमा प्रवेश गरेको ठहर गरी पुँजीवाद र समाजवाद बिचको अन्तर्विरोधलाई प्रधान अन्तर्विरोध मानेको छ (राजनीतिक प्रतिवेदन, पृ.१८–२०) । तर देशमा साम्राज्यवादी उत्पीडन अझै बाँकी छ र भूमण्डलीकृत साम्राज्यवादको घानमा अन्य देशहरू झैँ नेपाल पनि पिँधिएको अवस्था छ । भारतले बेलायती साम्राज्यवादको पदचिन्ह पछ्याउँदै नेपालमा विभिन्न क्षेत्रमा प्रभुत्व जमाएको मात्र छैन ठुलो क्षेत्रफलको नेपाली भूमि नै हडपेको छ । अद्र्ध–औपनिवेशिक अवस्था नव–औपनिवेशिक अवस्थामा परिणत भएको छ । नेपाली समाजको प्रधान अन्तर्विरोध साम्राज्यवाद र त्यसका नेपाली एजेन्टहरू दलाल तथा नोकरशाही पुँजीपतिहरूसँग रहेको छ । नेपालले स्वाधिनताको लडाइँ लडी राष्ट्रिय मुक्ति हासिल गर्न बाँकी नै छ । स्वाधीनताको सङ्घर्ष जनवाद प्राप्तिको सङ्घर्षसँग जोडिएको हुन्छ । यस सवाललाई लेखक तामाङले उठाएका छैनन् ।
दोस्रो, नेकपाले जनताको जनवादमा शान्तिपूर्ण सङ्क्रमणको अवधारणा प्रत्यारोपण गरेको छ । कम्युनिष्टहरू शान्तिपूर्ण बाटोबाट हिँड्नै हुँदैन भनेर भन्न सकिन्न । तर शान्तिपूर्ण मार्ग नै कम्युनिष्ट आन्दोलनको मूल कार्यदिशा हुन सक्दैन । पार्टीहरूले परिस्थिति अनुसार बैधानिक, अवैधानिक, शान्तिपूर्ण हिंसात्मक कुनै पनि सङ्घर्ष अपनाउनु पर्ने हुन्छ । लेखक तामाङ शान्तिपूर्ण सङ्क्रमणको पक्षमा त देखिन्नन् । उनी के भन्दछन् भने शान्तिपूर्ण, सशस्त्र जे भने पनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा जनताको जनवादका सवालमा जनविद्रोह नै उपयुक्त देखिन्छ र आखिरमा गएर बल प्रयोग नै गर्नु पर्दछ (पृ.३२०) । तर यसरी सही धारणा अङ्गिकार गरे पनि उनले नेकपाको कार्यदिशालाई जति अनावृत गर्नु पर्ने थियो, त्यति गरेको पाइएन ।
तेस्रो लेखक परशुरामजीले गम्भीर रूपमा उठाउनु पर्ने सवाल बहुदलीय प्रतिस्पर्धासहितको संसदवादको सवाल थियो । उनले आफ्नो विचार व्यक्त गर्ने क्रममा जनवादी अधिनायकत्वको पक्षपोषण त गरेका छन्, तर नेकपाले जनताको जनवादको कार्यक्रममा थोपरेको संसदवादको भण्डारफोर गरेका छैनन् । बहुदलीयता सहितको संसदवादले अग्रगामी होइन, यथास्थितिको कार्यदिशा नै जनाउँछ । त्यसले सदैव उत्पीडक वर्गको प्रभुत्व कायम राखिरहनमा मलजल प्रदान गर्दछ । बुर्जुवा पार्टीहरूसँगको प्रतिस्पर्धामा कहिले पनि सर्वहारा वर्गको पार्टीले जित हासिल गर्न सक्दैन । निर्वाचन धनको बलमा सदैव थैली शाहहरूको पोल्टामा जान्छ । त्यसकारण जनताको जनवादमा संसदवादलाई स्थान दिनु हुँदैन ।

यद्यपि केही कमी कमजोरीहरूका वावजुद ‘नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक कृतिमा लेखक परशुराम तामाङले जुन विचार प्रकट गरेका छन्, त्यो प्रगतिशील नै देखिन्छ । उनको भनाइलाई समर्थन जनाउँदै निस्कर्षमा भन्न सकिन्छ कि सामन्तवादका आर्थिक आधारहरू अति नै कमजोर अवस्थामा रहेको नेपाली समाज निश्चय नै अद्र्ध–सामन्ती अवस्थामा छैन, पुँजीवादी अवस्थामा पदार्पण गरिसकेको छ । तर देशको प्रमुख मेरुदण्डका रूपमा रहेको कृषि अर्थतन्त्र अझै जीविकोन्मुखी अवस्थामा छ र समाजमा सामन्तवादका थुप्रै अवशेषहरू विद्यमान छन् । सामन्ती भूस्वामित्वको अन्त्य गर्दै जमिनमा वास्तविक किसानको पहूँच स्थापित गरी कृषिमा आश्रित उत्पादक शक्तिलाई विकास गर्न बाँकी छ । दलाल पुँजीवादलाई नियन्त्रण गर्दै उद्यमशील राष्ट्रिय पुँजीको विकास गर्न बाँकी नै छ । राजतन्त्र ढले पनि त्यसका जरा निमिट्यान्न भएका छैनन् । त्यसकारण जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने दायित्व अझै समाप्त भएकोे छैन । सामाजिक आर्थिक रूपान्तरण नगरीकन जनवादी क्रान्ति पुरा भइसक्यो र अबको लडाइँ भनेको पुँजीवाद विरुद्धको समाजवाद प्राप्तिको लडाइँ हो भनी निस्कर्ष निकाल्नु गलत हो । नेपाल पुँजीवादमा प्रवेश गरिसक्यो, अब समाजवादी क्रान्तितर्फ लाग्नुपर्दछ भन्नु गलत सोच हो । भारत जस्ता हामी भन्दा धेरै पहिले पुँजीवादमा प्रवेश गरेका देशहरू जनतन्त्रको लडाइँमा लागिरहेको देखिएकै छ । नेपाल जस्तो पुँजीवाद कमजोर भएको, जातीय भेदभाव र महिलामाथिको पितृसत्तात्मक शोषण कायमै रहेको देशमा प्रायजसो जनताका सम्बन्धहरू प्राक्पुँजीवादी चरित्रका छन् र तिनलाई भत्काउन जनवादी क्रान्ति अनिवार्य छ । किसानलाई सामन्तवादका अवशेषबाट मुक्त गरी जग्गाको मालिक बनाउन र उत्पीडत जनतामा जनवादी अधिकारहरूको सुनिश्चितता गर्नका लागि जनवादी अधिनायकत्वको मार्ग भएर नै समाजवाद तर्फ अघि बढ्नु पर्दछ । सर्वहारा वर्गले यस कार्यभारलाई पुरा नगरेसम्म उसले सञ्चालन गर्ने समाजवादी क्रान्तिमा व्यापक जनसहभागिता जुटाउन सक्दैन ।
यसका साथै कम्युनिष्ट पार्टीलाई किसान र उत्पीडित जनसमुदायमा एकाकार हुने जुधारु क्रान्तिकारी पार्टीमा रूपान्तरण गर्नुपर्दछ । पार्टी सञ्चालन र संसदीय निर्वाचनमा विजय प्राप्त गर्नका लागि दलाल तथा नोकर शाहहरूका चन्दामा भरपर्ने र सत्तामा रहनका लागि साम्राज्यवादी प्रभुहरूको आशिर्वादको अपेक्षा गर्ने पार्टीका नेताहरूले जतिसुकै चर्का कुरा गरे पनि देशलाई समाजवादको दिशातिर लैजान सक्दैनन् । दोस्रो कुरा, पार्टीले संसदलाई उपयोग गरे पनि संसदीय गतिविधिलाई नै प्रमुख थलो बनाउने धारणाबाट मुक्त हुनुपर्दछ । पार्टीको प्रमुख नेतृत्वले सरकार सञ्चालनलाई नै महत्वपूर्ण ठान्ने विचारलाई परित्याग गर्नुपर्दछ । के कुरा बुझ्न आवश्यक छ भने अब वर्तमान संविधानको घेराबाट एक तह माथि उठ्नुपर्दछ र समाजवादी क्रान्ति पूर्व दलाल तथा नोकरशाहको हातबाट सत्ता खोस्न एक धक्का दिनु पर्दछ ।

अन्त्यमा, परशुराम तामाङजीको कृति ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ ले नेपालको क्रान्तिकारी जगत्लाई महत्वपूर्ण खुराक प्रदान गरेको छ । देशको स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा वर्गीय र जातीय÷सामुदायिक उत्पीडनका विरुद्ध मुक्ति सङ्घर्षमा जीवन वलिदान गर्ने महान् सहिद, वेपत्ता तथा घाइते योद्धाहरू र नेपाली आमाका क्रान्तिकारी सन्तानहरूप्रति समर्पित गरिएको उनको कृतिको प्रकाशन जागरण बुक हाउस, वागबजार, काठमाडौँले गरिदिएको छ । पुस्तक पठनीय छ । परशुराम तामाङ आफ्नो ध्येयमा सफल देखिन्छन् । प्रकाशकीय र लेखकीय समेत गरी ३४७ पृष्टको यस कृतिलाई ७ भाग र ३१ अध्यायमा विभक्त गरिएको छ । जातीय विभेद र उत्पीडनलाई पनि सर्वहारा क्रान्तिमा विशेष ध्यान दिनुपर्दछ भन्ने लेखकको अभिप्राय सकारात्मक छ। पुस्तकको भाषा सरल भएकाले सामान्य पाठकले समेत सजिलै गरी विषय वस्तुबारे जानकारी लिन सक्छन् । कलेजी रङ्गको पृष्ठभूमिमा रहेको कृतिको आवरण निकै आकर्षक देखिन्छ । लेखकबाट अझै गहन सामग्रीहरू समाजले पाओस् भनी कामना गरौँ ।

* रामराज रेग्मीः एम.ए. अङ्ग्रेजी, (रेडिङ विश्वद्यिालय, बेलायत) कालिका बहुमुखी क्याम्पस,पोखराका सिनेटर,प्रगतिशील लेखक संघ  गण्डकी, मार्क्सवादी ज्ञान केन्द्र, नेपाल, गण्डकी साहित्य सङ्गम, साहित्य शृङ्खला, पोखराका सल्लाहकार हुनुहुन्छ। वहा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुनुुहुन्छ।रेग्मीका प्रकाशित कृतिहरु : मानिसको समाजका विभिन्न जुगहरु, चीनका दुई कथा (अनुवाद), मानव समाजको रुपान्तरण, राष्ट्रिय पहिचानका मूल मुद्दाहरु, नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, पूर्वीय दर्शनमा भौतिकवाद, माक्र्सवाद : एक व्यवहारिक दर्शन (प्रकाशोन्मुख)