Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन

निनु चापागाईं *

सौन्दर्यपरक सङ्घटनालाई सुसङ्गत रूपबाट व्यवस्थित पार्ने, सौन्दर्यात्मक शाखा, प्रवर्ग र धारणा आदि निर्माण गर्ने जस्ता काम गरेर सौन्दर्यचिन्तनलाई विज्ञानको रूप दिने काम मूलतः माक्र्सवादी सौन्दर्यशास्त्रले गरेको हो । सौन्दर्यचिन्तनलाई रहस्यपूणर् तथा आध्यात्मिक कोणबाट हेर्ने प्रत्ययवादी चिन्तनबाट पूणर्तया मुक्त बनाउनु र विज्ञानसम्मत विचारहरूको पूणर् प्रणालीको स्थितिमा पुर्‍याउनु माक्र्सवादी सौन्दर्यचिन्तनको विशेषता हो । कलासृजन, यसका विशेषताहरू र अन्य सामाजिक सङ्घटनासँगको यसको सम्बन्धका बारेमा उपयुक्त र वैज्ञानिक दृष्टिकोण यो बाहेक अरू चिन्तनले दिन सकेका छैनन् । यसको एउटा विशेषता मानवमन र भावावेगहरूमाथि कलाको असीमित प्रभावलाई व्यक्त गर्ने सौन्दर्यपरक सङ्घटनाहरू बोध गर्न र सौन्दर्यपरक सङ्घटनालाई मानव सङ्ज्ञान र क्रान्तिकारी गतिविधिको प्रभावकारी ज्ञानको उपलब्धिका रूपमा ग्रहण गर्न सक्षम बनाउनु हो । यसको अर्को विशेषता सामाजिक जीवनका हरेक क्षेत्रमा सक्रिय रूपले संलग्न भएर कलासृजनका विशेष लक्षण, सौन्दर्यपरक आवश्यकता, प्रत्येक ऐतिहासिक युगका विशिष्ट कलात्मक रुचि र प्रवृत्तिहरू औंल्याउन सक्षम बनाउनुका साथै कुनै खास सामाजिक आधारको कलात्मक संस्कृति अर्कोमा कसरी सङ्क्रमण हुन्छ त्यसको द्वन्द्वात्मकता बोध गर्न सहयोग गर्नु पनि हो । यस अतिरिक्त माक्र्सवादी सौन्दर्यचिन्तनले भविष्यदृष्टि अवलम्बन गर्न, साम्यवादको सम्पूणर् सामाजिक तथा सौन्दर्यपरक आदर्श एवं सौन्दर्य बोध गर्न र प्रतिबिम्बन गर्न मद्दत गर्दछ ।

थालनी
छिमेकी मुलुक भारतको प्रत्यक्ष प्रभावस्वरूप नेपाललगायत यस वरिपरिका केही मुलुकमा विश्वका अन्य भागका विपरीत माक्र्सवादी विचारधारामा आधारित भएर लेखिएको साहित्यलाई माक्र्सवादी साहित्य भन्नुको सट्टा प्रगतिवाद भन्ने गरिएको पाइन्छ । अझ अर्को रमाइलो कुरो के पनि छ भने प्रगतिवादी भन्ने गरिएको साहित्य-कलालाई निर्देशित गर्ने सौन्दर्यशास्त्रलाई भने भारत, नेपाललगायतका यी मुलुकमा मात्र होइन विश्वस्तरमा नै प्रगतिवादी सौन्दर्यशास्त्र नभनेर माक्र्सवादी सौन्दर्यशास्त्र भन्ने गरिन्छ ।
नेपाल र भारतमा नै पनि प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यलाई कतिपयले समानार्थी शब्दावलीका रूपमा लिने गरेका छन् । ख्याल राख्नुपर्ने कुरा के छ भने यी दुवै साहित्य परस्पर सम्बन्धित भएर पनि एकअर्काभन्दा फरक छन् । ऐतिहासिक रूपले हेर्दा प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो । खासमा भौतिकवादी द्वन्द्ववादी दर्शन र माक्र्सवादी विश्वदृष्टिकोणलाई अवलम्बन गरेर लेखिएको साहित्य प्रगतिवादी साहित्य हो भने सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक जस्ता यथास्थितिका विविध शोषण-उत्पीडनबाट मुक्त हुन चाहने वा सुधार चाहने तर माक्र्सवादप्रति प्रतिबद्ध भइनसकेको साहित्य प्रगतिशील साहित्य हो । यसको अर्थ समाजवादी यथार्थवादी कलात्मक विधिका आधारमा लेखिएको साहित्य प्रगतिवादी साहित्य हो भने यथार्थवादी, त्यसमा पनि आलोचनात्मक यथार्थवादी साहित्य प्रगतिशील साहित्य हो ।
तर हामीकहाँ प्रगतिशील र प्रगतिवादी साहित्य दुवैलाई समान मान्ने दृष्टिकोण हिजोदेखि अहिलेसम्म विद्यमान छ । यस सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, नेपालका संस्थापक तथा प्रगतिवादी साहित्यका एक स्तम्भ श्यामप्रसादलगायत अन्य केहीका भनाइ र लेखलाई उदाहरणका रूपमा अघि सार्न सकिन्छ । श्यामप्रसादले सम्पादन गरेको प्रगतिशील नेपाली मासिक पत्रिका ‘सेवा’को २००९, जेठ (वर्ष १, अङ्क ३) को (पृष्ठ १-३) भागीरथ मिश्र, लखनऊको ‘प्रगतिशील साहित्य’ शीर्षकको लेखमा प्रगतिवादी साहित्य र प्रगतिशील साहित्यलाई समान अर्थमा प्रस्तुत गरिएको छ । यो छोपुवा नाम श्यामप्रसादकै हुने सम्भावना प्रबल छ । २०१० साल जेठ महिनामा प्रकाशनमा आएको श्यामप्रसादको ‘लेखक कसरी बन्ने’ कृतिमा यही लेखको एउटा उद्धरण दिइएको छ । ‘सुन्नुहोस् जनसाहित्य या प्रगतिशील साहित्य कस्तो हुन्छ’ भनिसकेपछि उक्त लेखको उद्धरण पेस गरिएको छ । त्यस उद्धरणको पहिलो वाक्य नै प्रगतिवादको व्याख्याबाट प्रारम्भ हुन्छ र यही एक अनुच्छेदमा प्रगतिवादको सन्दर्भमा प्रगतिशील साहित्य भनेर पनि पटक पटक उल्लेख गरिएको छ । श्यामप्रसादको अर्को पुस्तक ‘साहित्य सम्बन्धी दुईचार कुरा’मा पनि प्रगतिवाद र प्रगतिशील साहित्यलाई एउटै अर्थमा लिएको पाइन्छ । श्यामप्रसादले अर्को एक ठाउँमा ‘प्रगतिवादी साथीहरूसित’ शीर्षकको लेखमा प्रगतिवादी लेखकका विशेषताको चर्चा गर्नुभएको छ, जुन विशेषताहरू वास्तवमा प्रगतिशील लेखकका पनि विशेषता हुन्
यस्ता केही असङ्गति र माक्र्सवादको साहित्यिक संस्करण वा विचारधारात्मक रूपमा माक्र्सवादद्वारा आलोकित वा माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादमा आधारित भनेर प्रगतिवादको व्याख्या-विश्लेषण गर्नुपर्ने वा परिभाषा दिनुपर्ने अवस्थालाई दृष्टिगत गरेर नेपालमा प्रगतिवादी साहित्य पदावलीको सट्टा माक्र्सवादी साहित्य भन्नु नै उपयुक्त हुन्छ भन्ने चर्चा हिजोआज चलिरहेको छ । यो लेखक पनि त्यसमा केही सीमासम्म सहमत नै छ । यही कारण प्रगतिवादी साहित्यलाई दिशानिर्देश गर्ने नेपाली माक्र्सवादी सौन्दर्यशास्त्रका बारेमा लेखिएका कृतिका बारेमा, मूलतः वि.सं.को पचास यताको दशकमा केन्द्रित भएर यो लेख तयार पारिएको छ । ‘वामपन्थ[The Left]’का सम्पादक महोदयले मलाई लेख्न भनी अनुरोध गरेको ‘प्रगतिवादी साहित्य र संस्कृति’को विषयलाई तत्काल थाती राख्नुको कारण उल्लेखित कुराका साथै यो विषय आम पाठकका लागि अझ बढी चाखको नयाँ विषय होला भन्ने लागेर नै हो ।

नेपालमा मार्क्सवादी सौन्दर्य चिन्तन 

नेपाली साहित्यमा मार्क्सवादी समालोचनाको थालनी साहित्यकार कृष्णचन्द्र सिंह प्रधानको कवितासङ्ग्रह भञ्ज्याङ्निरै (वैशाख, २००८) को कवि स्वयम्ले लेखेको भूमिका (२५ कार्तिक २००७) बाट भएको हो । त्यस यता मार्क्सवादी समालोचनाको क्षेत्रमा कलम चलाउने समालोचकहरूले मार्क्सवादी सौन्दर्यचिन्तनलाई नै आधार बनाएर समालोचना लेखनमा क्रियाशील भएको हुँदा मार्क्सवादी सौन्दर्यचिन्तनको उपयोग धेरथोर ती सबैले गर्दै आएका छन् । तर मार्क्सवादी सौन्दर्यचिन्तनमा नै केन्द्रित भएर लेखनमा प्रवृत्त हुने प्रयास भने एकदमै कम भएको पाइन्छ । मार्क्सवादी सौन्दर्यचिन्तनमा कलम चलाउने लेखक पनि प्रायः समालोचक नै छन् । सौन्दर्यशास्त्रमा केन्द्रित भएर लेख्ने सौन्दर्यशास्त्रीहरूको अभाव नेपाली साहित्यमा अहिले पनि खड्किएकै विषय हो । मार्क्सवादी सौन्दर्यचिन्तनका विषयमा नेपालमा भएको अन्वेषण, अनुसन्धान र लेखनका बारेमा सर्वप्रथम गम्भीरताका साथ कलम चलाउने समालोचक चैतन्य हुन् । मार्क्सवादी सौन्दर्यशास्त्री चैतन्यले ‘नेपालमा मार्क्सवादी सौन्दर्यचिन्तन’ शीर्षकको एक लेखमा यस विषयमा आफ्नो मन्तव्य राख्तै भनेका छन् : ‘नेपालमा सौन्दर्यचिन्तनको क्षेत्रमा केन्द्रित रही अध्ययन गर्ने कुनै विशिष्ट ऐतिहासिक परम्परा देखिँदैन । परन्तु साहित्य तथा कलाको अध्ययन, चिन्तन र समीक्षाको प्रक्रियामा भने सौन्दर्यचिन्तनको परम्परालाई पनि फेला पार्न सकिन्छ । नेपालमा सौन्दर्यचिन्तन सम्बन्धी अध्ययन हुन थालेको भरखरै मात्र हो’ । समालोचक हेमनाथ पौडेलले यसबारेमा भनेका छन् ‘..माक्र्सवादी सौन्दर्यशास्त्रलाई आधार बनाएर समीक्षा गर्नेहरूको सङ्ख्या नेपाली साहित्यमा उल्लेखनीय भए पनि सौन्दर्यशास्त्रकै बारेमा चिन्तन-मनन र अध्ययन-अनुसन्धान गर्नेहरूको सङ्ख्या भने औंलामा गनिने स्थितिमै छ ..’। समालोचक मुरारी अर्यालको धारणा पनि समान किसिमको छ । उनको भनाइ छ : ‘नेपाली जनवादी साहित्यिक आन्दोलनमा सौन्दर्यशास्त्रीय दृष्टिकोण सम्बन्धी स्पष्टताको कुरै छोडौं, यस विषयमा गम्भीरतापूर्वक सोच्ने परिपाटीको विकास भएकै छैन’ । यही नै हाम्रो वास्तविकता हो ।मार्क्सवादी सौन्दर्यचिन्तनमा मात्र केन्द्रित भएर लेखिएका कृतिहरू हामीकहाँ अत्यन्त न्यून छन् । मार्क्सवादी सौन्दर्यचिन्तनका थुप्रै विषयहरूमा प्रगतिवादी स्रष्टाहरू अनभिज्ञ रहेको र यस किसिमको सैद्धान्तिक चर्चा-परिचर्चाप्रति उनीहरूको उपेक्षा र अरुचिका कारणले पनि मार्क्सवादी सौन्दर्यशास्त्रको विकासमा अवरोध पुगेको धारणा निनु चापागाईंको रहेको छ । आफ्नै कृति मार्क्सवादी चिन्तनमा सौन्दर्यको भूमिकामा उनले भनेका छन् : ‘सौन्दर्यशास्त्रका अनगिन्ती सवालहरूका बारेमा मार्क्सवादी सौन्दर्यशास्त्रले केकस्तो अवधारणा राख्ने गरेको छ यस विषयमा प्रगतिवादी स्रष्टाहरूसमेत अनभिज्ञ रहेको अत्यन्त कटु स्थिति विद्यमान छ । तर विडम्बना भन्नुपर्छ यस्ता सवालहरूमा चर्चा गर्ने प्रयत्न गरियो भने त्यसलाई सैद्धान्तिक चर्चा भनेर उपेक्षा गर्ने प्रयत्न पनि व्यापक मात्रामा हामीकहाँ पाइन्छ । एक त मार्क्सवादी सौन्दर्यशास्त्रसम्बन्धी वेत्ताहरूको अभाव दोस्रो सैद्धान्तिक छलफलप्रतिको अरुचि र त्यसलाई दुरुत्साहित गर्ने जानरअनजानका यत्नहरूले हाम्रो ज्ञानलाई व्यापक र समृद्ध बनाउनमा बाधा नै पुर्‍याइरहेका छन् ।..सौन्दर्यशास्त्र र समालोचनालाई एउटै ठान्ने र तिनमा अलिकति पनि फरक नदेख्ने चिन्तनले पनि यदाकदा हामी ग्रस्त रहने गरेका छौं । हाम्रो यो गलत चिन्तनको परिणामस्वरूप पनि हुन सक्छ हामीकहाँ अन्य देशहरूमा झै छुट्टै सौन्दर्यशास्त्री र आलोचकहरू विकसित हुन सकेका छैनन् ..’ । उनले यस सम्बन्धी अर्को एउटा पक्षको पनि चर्चा गरेका छन् । सौन्दर्यशास्त्र दर्शनशास्त्रसँग आबद्ध तर मनुष्यद्वारा विश्वको सौन्दर्यात्मक आत्मसात्करणका नियमहरूको र सौन्दर्यका नियमअनुसार सृजनात्मक कार्यको सार र रूपहरूको विज्ञान हो ।..तर हामीकहाँ यसलाई दर्शनशास्त्रको एउटा विशिष्ट विज्ञानका रूपमा बोध गर्ने र विकसित गर्ने प्रयत्न गर्नुको सट्टा यान्त्रिक रूपबाट दर्शनशास्त्रकै मात्र आधारमा कलात्मक-साहित्यिक समस्याहरूको छिनोफानो गर्ने परिपाटी लामो समयसम्म माक्र्सवादी सौन्दर्यचिन्तनको क्षेत्रमा रहिआएको छ । फलस्वरूप यसले विशिष्ट विज्ञानको रूपमा जुन मात्रामा सुस्पष्ट आकार ग्रहण गर्नुपर्दथ्यो, त्यति गर्न नसकेको जगजाहेर छ

तथापि नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी सामग्रीहरूको अभाव भने छैन । २०५० को दशक, त्यसमा पनि पूर्वाद्र्ध मार्क्सवादी सौन्दर्यचिन्तनसँग सम्बन्धित रचनाको प्रकाशनका दृष्टिले निकै महत्त्वपूणर् देखिन्छ । यस अवधिमा यस सम्बन्धी केही उत्कृष्ट कृति प्रकाशित भएका छन् । २०५० यता मार्क्सवादी सौन्दर्यचिन्तनलाई एक सीमासम्म आफ्नो क्षेत्र मानेर कलम चलाउने स्रष्टाहरूमध्ये चैतन्य, कृष्णदास श्रेष्ठ, घनश्याम ढकाल, ऋषिराज बराल र निनु चापागाईंको भूमिका उल्लेखनीय र सर्वोपरि रहेको पाइन्छ । यस सन्दर्भमा चैतन्यको माक्र्सवादी कलादृष्टि र समीक्षा (२०५४), मार्क्सवादी सौन्दर्यचिन्तन (२०६९), घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना (२०५४) र सौन्दर्यको आँखिझ्याल (२०६६), ऋषिराज बरालको माक्र्सवाद र उत्तरआधुनिकतावाद (२०५२), सङ्गीत र सौन्दर्य (२०६३), कृष्णदास श्रेष्ठको भौतिकवादी सौन्दर्यशास्त्र र केही समीक्षा (२०७२), निनु चापागाईंको यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१) र मार्क्सवादी चिन्तनमा सौन्दर्य (२०५४) शीर्षकका कृतिहरू उल्लेख्य छन् । यीमध्ये मार्क्सवादी सौन्दर्यचिन्तनमा केन्द्रित भएर लेखिएका कृति मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र मार्क्सवादी सौन्दर्यचिन्तन हुन् । मार्क्सवादी सौन्दर्यशास्त्रका बारेमा व्यवस्थित र क्रमबद्ध तरिकाले लेखिएको पहिलो कृति भने घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना हो । उनको अर्को कृति सौन्दर्यशास्त्रको आँखिझ्याल सूत्रात्मक रूपमा लेखिएको सौन्दर्यचिन्तनमै केन्द्रित पुस्तिका हो । दिल साहनीको अ सर्भे अफ माक्र्सिस्ट एस्थेटिक्स (२०६१) नामक पुस्तिका पनि मार्क्सवादी सौन्दर्यचिन्तनमा नै केन्द्रित रहेको छ ।
निश्चय नै, यो अवधि सौन्दर्यचिन्तनको मार्क्सवादी परम्पराभन्दा पृथक् वा भिन्न अवधि होइन । श्यामप्रसाद, कृष्णचन्द्र सिंह प्रधान, आनन्ददेव भट्ट, डी.पी. अधिकारी, गोविन्द भट्ट, शक्ति लम्साल, मोदनाथ प्रश्रित आदिले समृद्ध बनाएको चिन्तनको सकारात्मक परम्परासँगै यो अवधि गाँसिएको छ । पूर्व अवधिदेखि नै क्रियाशील गोविन्द भट्ट, शक्ति लम्साल, मोदनाथ प्रश्रितका लेखहरूको सङ्कलन यही अवधिमा प्रकाशित छन् । गोविन्द भट्टका गोविन्द भट्टका समालोचना (२०५५) र गोविन्द भट्टका दार्शनिक रचनाहरू (२०७०), मोदनाथ प्रश्रितकोसङ्कलित रचनाहरू खण्ड ७ (२०५८) र शक्ति लम्सालको मार्क्सवाद, समाज र साहित्य (२०६१) यस खालका कृतिहरू हुन् । सुरुदेखि नै मार्क्सवादी साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने साहित्यकार श्यामप्रसादका साहित्यमा सापेक्षता (२०५०) र साहित्यिक फाँटका मेरा केही धारणा (२०५२) र समालोचक आनन्ददेव भट्टको समालोचना सङ्ग्रह समय साहित्य (२०६७)को प्रकाशन पनि यही अवधिमा भएको छ ।
श्यामप्रसादको कृति साहित्यमा सापेक्षताले समय, वर्ग, चेतना, विचार, भावना, कार्य र मान्यताजस्ता सापेक्षतालाई आदर्श मानेर साहित्यको सृजना हुनुपर्ने कुरामा जोड दिन्छ । उनको अर्को कृति साहित्यिक फाँटका मेरा केही धारणामा ससाना तेह्रवटा लेखहरू रहेका छन् । ‘समालोचना सम्बन्धी मेरा धारणा’ शीर्षकका तीनवटा लेख, ‘हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?’ र ‘सही र गलत प्रवृत्तिहरू’ शीर्षकका लेखले सौन्दर्यचिन्तन त्यसमा पनि मूलतः समालोचनाका आधारका बारेमा चर्चा गरेका छन् । यी लेखले सरल रूपमा समालोचना र हास्यव्यङ्ग्यको सौन्दर्यचिन्तन विकसित गर्न सहयोग पुर्‍याउँछन् । ‘साहित्यिक फाँटमा ध्यान दिनुपर्ने केही काम कुरा’मा साहित्यको प्रयोजनपरकताका बारेमा चर्चा गर्दै श्यामप्रसाद भन्छन् : ‘..कल्पना र सिप पक्षको ठुलो महत्त्व हुँदाहुँदै पनि मुख्य बुझ्नुपर्ने कुरा साहित्यको प्रयोजन पक्ष हो । प्रगतिशील साहित्यको उद्देश्य समाजलाई फेर्दै अहिलेको अवस्थाबाट उन्नत अवस्थातर्फ डोर्‍याउनु भएकोले हाम्रा साहित्यकार साथीहरूले देशभक्ति र जनसेवाका अरू विभिन्न कामहरूमा पनि आफुलाई निरन्तर लगाइरहनु पर्छ’ 
समालोचक आनन्ददेव भट्टको समय साहित्य मूलतः व्यावहारिक समालोचना सङ्ग्रह हो र यसमा तेत्तिसवटा लेखहरू सामेल छन् । यसमा भएका ‘प्रगतिवादी साहित्य : हाम्रो आवश्यकता’ र ‘कला, साहित्य र संस्कृति : एक चर्चा’ शीर्षकका लेखमा मार्क्सवादी सौन्दर्यचिन्तनसित सम्बधित केही विषयमा चर्चा गरिएको छ ।
समालोचक गोविन्द भट्टको कृति गोविन्द भट्टका समालोचना (२०५५) मा समावेश भएका पच्चिसवटा लेखमध्ये अधिकांश लेख २०१७-२०४१ सालका बिचमा लेखिएका छन् । गोविन्द भट्टका दार्शनिक रचनाहरूमा समाविष्ट सौन्दर्यचिन्तनसँग सम्बद्ध सातवटा लेखमध्ये चारवटा लेख गोविन्द भट्टका समालोचनामा भएकै लेख हुन् । यसको ‘माओचतुङ्को सौन्दर्यशास्त्र र नेपाली साहित्य’ शीर्षकको लेख र ‘माक्र्सवाद सङ्क्षिप्त चिन्हारी’ शीर्षकको लेखको एउटा अंश माक्र्सवादी सौन्दर्यचिन्तनसँग सम्बन्धित छ । ‘हास्यव्यङ्ग्य र विचारधाराको समस्या’ शीर्षकको लेखले साहित्य र कलामा सही विचारधाराको आवश्यकता किन छ भन्ने देखाउनुका साथै हास्यव्यङ्ग्यको सौन्दर्यशास्त्र निर्माणमा महत्त्वपूणर् भूमिका खेल्ने काम गरेको छ । अघिल्लो पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा सैद्धान्तिक समालोचनाहरू, दोस्रो खण्डमा प्रतिभासम्बन्धी समालोचनाहरू र तेस्रो खण्डमा कृतिसम्बन्धी समालोचनाहरू रहेका छन् । पुस्तकको सैद्धान्तिक खण्डका सौन्दर्यचिन्तनसँग सम्बन्धित एघारवटा लेखमध्ये माक्र्सवादी सौन्दर्यचिन्तनका दृष्टिले ‘आजको नेपाली साहित्य र त्यसका समस्याहरू’, ‘हामी किन बाँचेका छौं ?’, ‘कविता, कल्पना र यथार्थ’, ‘वीर एन्टियसको सम्झना र आधुनिक नेपाली कला’, ‘पाश्चात्य विचारधारा र हाम्रो राष्ट्रिय चिन्तन’ र ‘साहित्यमा विश्वदृष्टिकोणबारे’ शीर्षकका लेख उल्लेखनीय छन् । दोस्रो खण्डमा भएका समालोचनाहरूले भानुभक्त आचार्य, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान जस्ता स्थापित प्रगतिशील तथा गैरप्रगतिशील साहित्यकारहरूको मूल्याङ्कनका लागि एक हदसम्म सही माक्र्सवादी आधार निर्माण गर्ने कार्यमा महत्वपूर्ण देन दिएका छन् ।
‘मार्क्सवाद सङ्क्षिप्त चिन्हारी’मा समालोचक भट्टको भनाइ छ : ‘यथार्थतः सौन्दर्यका अनुभूति, आस्वादन, अभिरुचि वा आवश्यकताहरू, मनुष्यमा नैसर्गिक वा जन्मजात नभएर सामाजिक अस्तित्वकै प्रतिबिम्ब हुन्, अनि ती उत्पादन, श्रम र दीर्घकालीन ऐतिहासिक विकासका परिणाम पनि हुन् । श्रमले गर्दा नै मनुष्यका ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरू विकसित भए । ..साहित्य र कलालाई ऐतिहासिक विकास र सामाजिक विकासको धरातलबाट अलग्ग्याएर तिनका आन्तरिक विकासका नियमबाट मात्र बुभ्mन सकिन्न । त्यसरी निरपेक्ष रूपबाट हेर्ने दृष्टिकोणले गर्दा नै अझसम्म भावनावादी चिन्तकहरूले कला, साहित्य र सौन्दर्यशास्त्रलाई अलौकिक, रहस्यमय, दैवी प्रेरणा वा परम सत्ताको अभिव्यक्ति ठान्दै आएका हुन् । त्यसैले अमूर्तवाद, रूपवाद, अन्तर्मुखतावाद जस्ता आत्मकेन्द्रित असामाजिक दृष्टिकोणहरूबाट कलाको व्याख्या हुनु असम्भव छ । मानव समाज विभिन्न वर्गहरूमा विभाजित भएपछि कला र साहित्यले पनि वर्गीय स्वरूप ग्रहण गरे र तिनमाथि विशेष वर्गको राजनीति तथा विचारधाराहरूको प्रभाव पर्न थाल्यो । त्यस्तो समाजको वर्ग सङ्घर्षमा तिनको पनि महत्त्वपूणर् भूमिका रहँदै आएको छ । ती शोषकवर्गका सहायक हुन सक्दछन् वा घातक पनि’ १०
अर्को ठाउँमा भट्टले उदारतावादी र जडसूत्रवादी चिन्तनको परिणामस्वरूप साहित्यकलामा आएको विकृतिको उल्लेख गर्दै भनेका छन् : ‘माक्र्सवादी सौन्दर्यशास्त्रमा विशेषतः सामाजिक चेतना तथा भौतिक धरातलमाझको सम्बन्ध र त्यसमा आर्थिक आधारको निणर्ायक भूमिका, साहित्य र कलाको वर्गीय स्वभाव, विषयवस्तु र शैली (विचारधारा र कला) बिचको सम्बन्ध, यथार्थवाद र समाजवादी यथार्थवादको स्वरूप आदि विषयहरू नै प्रमुख वादविवादका केन्द्र रहिआएका छन् । माक्र्सवादका आलोचकहरूले मात्र हैन, स्वयं मार्क्सवादीहरूले पनि त्यसबारे विभिन्न प्रश्नहरू उठाएको र मतभेद प्रकट गरेको देखिन्छ तर समग्रतामा हेर्दा त्यस्तो स्थिति मुख्यतः माक्र्सवादको जडसूत्रवादी व्याख्या र उदारवादी व्याख्यामाझका अन्तर्विरोधहरूबाट उत्पन्न हुने गरेको छ र त्यो द्वन्द्वात्मक भौतिकवादलाई अति सरलीकरण गरेर हेर्ने प्रवृत्तिको परिणाम पनि हो । विचारधारालाई राजनीतिक आर्थिक विचारमा मात्र सीमित नगरिदिएर त्यसमा सम्पूर्ण मानवीय मनोजगत्का सूक्ष्म पक्षहरूलाई पनि समाविष्ट गर्ने र विचारलाई ठाडै साहित्य तथा कलामाथि नथोपरिदिने, आर्थिक भौतिक आधार अन्तिम विश्लेषणमा निर्णायक भए पनि त्यसमाथि अधिरचनाको समेत प्रभाव पर्ने, विशेषतः कला र साहित्यका आफ्नै विशिष्टता र खास नियमहरूलाई दृष्टिपात गरी तिनको सापेक्ष स्वायत्ततालाई स्वीकार गर्ने, अन्तर्वस्तु पनि रूपबाट प्रभावित हुने आदि आधारभूत द्वन्द्वात्मक भौतिकवादका मान्यताहरूको अस्पष्ट समझदारी वा अवहेलनाले गर्दा पनि त्यस्ता अधिकांश विवादहरू उठेका छन्’११
समाजलाई बदल्ने साहित्य र कलाको मूल दायित्वका बारेमा भट्टले आफ्नो मत यसरी व्यक्त गरेका छन् :मार्क्सवादमा आचारशास्त्रको मूल अवधारणा सर्वहारा मानवतावाद हो । सौन्दर्यशास्त्रमा त्यसको अभिव्यक्ति समाजवादी यथार्थवादको रूपमा भएको छ र साहित्य र कलाको क्षेत्रमा त्यसलाई प्रगतिवाद पनि भनिन्छ । व्यक्तिगत सम्पत्तिमा आधारित पुँजीवादी समाजमा अधिकांश मनुष्यहरू आफैबाट खण्डित भएर विराग, आत्महीनता तथा अमानवीयकरणको सिकार हुन पुग्दछन् । आफ्नो स्वाधीनता र सृजनशीलतालाई गुमाएर ती जड वस्तुका रूपमा बाँच्दछन् । मार्क्सका अनुसार सर्वहाराको जीवन यापनको अवस्था समकालीन समाजमा विद्यमान सम्पूर्ण अमानवीय अवस्थाहरूको केन्द्रविन्दु हो । त्यस्तो समाज व्यवस्थाको चरित्र स्वतः अनैतिक र मानवताविरोधी हुन्छ । त्यस्तो पुँजीवादी समाजलाई बदल्ने र निर्मूल पार्ने ऐतिहासिक उत्तरदायित्व सर्वहारा वर्गको काँधमा परेको छ । अतः इतिहासको यस वस्तुगत आग्रहलाई बुझेर सबै साहित्यकार र कलाकर्मीहरूले सर्वहारा क्रान्तिमा लाग्नु नै सर्वोच्च नैतिकता र मानवतावादी कर्तव्य हो । प्रगतिशील कला वा साहित्यले पनि सौन्दर्य र नैतिकताको एकताद्वारा समाजमा परिवर्तन ल्याउने उद्देश्य राख्नुपर्दछ’१२
नेपालको तत्कालीन साहित्यमा आधुनिकतावाद र रूपवाद विरोधी सङ्घर्षमा गोविन्द भट्टको महत्त्वपूणर् र ऐतिहासिक योगदान रहेको छ ।
गोविन्द भट्टका समालोचनामा ‘सौन्दर्यशास्त्रीय महत्त्वका कैयौं लेखहरू समावेश’ भएको तथ्यमाथि प्रकाश पार्दै सौन्दर्यचिन्तक चैतन्यले के पनि भनेका छन् भने ‘‘शिरीषको फूल कि कागतको फूल ?’, ‘तीन घुम्ती कि छाडावाद ?’ लगायतका समालोचनात्मक लेखमा भट्टले निराशावाद, शून्यवाद, अस्तित्ववाद तथा फ्रायडवादको विरोध गरेको र साथै भट्टले ‘कविता, कल्पना र यथार्थ’ शीर्षक लेखमा आदर्शवादी, कलावादी तथा मनोवैज्ञानिक सौन्दर्यचिन्तनको विरोध गर्दै द्वन्द्वात्मक भौतिकवादी सौन्दर्यचिन्तनको पक्षपोषण गरेको, ‘साहित्यमा विश्वदृष्टिकोणको प्रश्नबारे’ शीर्षक लेखमा अधिभूतवादी तथा वैज्ञानिक विश्वदृष्टिकोणका बिचको सङ्घर्षबारे प्रस्ट पार्दै सौन्दर्यचिन्तनसम्बन्धी माक्र्सवादी दृष्टिकोण अभिव्यक्त’ गरेको १३ उल्लेख गरेका छन् । उनले ‘प्रगतिवाद र माक्र्सवादको पक्षपोषण गर्दै आए पनि अन्तिम अवधिमा बहुलवादी जनवादको पक्षमा लामबद्ध भई सौन्दर्यशास्त्रीय संशोधनवादलाई अवलम्बन गरेको’१४ भनेर समालोचक गोविन्द भट्टको आलोचना समेत गरेका छन् ।
साहित्यकार मोदनाथ प्रश्रितको सङ्कलित रचनाहरू खण्ड ७ (२०५८) स्रष्टामा आधारित समीक्षा, सृजनमा आधारित समीक्षा, विचार र प्रवृत्तिगत समीक्षा, चिठीपत्रमा अभिव्यक्त समीक्षा, अन्तर्वार्तामा व्यक्त समीक्षात्मक विचार र केही टिप्पणी, लेख र पत्रहरू गरी छ खण्डमा विभाजित छ । ‘समीक्षा सङ्कलन’ उपशीर्षकमा कला र सौन्दर्य विषयमा यस कृतिमा थोरै रचना छन् भन्ने लेखकको आत्मस्वीकृतिले कृतिमा यस प्रकृतिका लेखहरूको कमी रहेको तथ्यलाई व्यक्त गर्दछ । तथापि ‘मेरो एब्स्ट्रेट आर्ट र ‘बगम्फुसाचार्य’, ‘के सबै साहित्य प्रगतिशील नै हुन्छ ?’ शीर्षकका लेख, ‘साहित्य र संस्कृति : दार्जीलिङको सन्दर्भमा’, ‘‘मालती’ उपन्यास केही आलोचना, केही सुझाउ’ र ‘साहित्यसन्ध्याका मित्रहरूलाई पत्र’ शीर्षकका चिठी र ‘साहित्य र राजनीतिको सम्बन्धबारे’, ‘साहित्यमा कला र विचारको सम्बन्ध’, ‘साहित्य समाजको दर्पण पनि हो र युग-बरियाँतको साइपाटे-भत्खरु’ पनि हो’ र ‘कला, सौन्दर्य, लेखकीय स्वतन्त्रता र दायित्व’ शीर्षकका अन्तर्वार्तामा माक्र्सवादी सौन्दर्यचिन्तनसित सम्बन्धित कतिपय विषयमा चर्चा भएको पाइन्छ । यस कृतिको विशेषता नेपाली साहित्यका मोतीराम भट्ट, लेखनाथ पौड्याल, युद्धप्रसाद मिश्र, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा र नेत्र पौडेल ‘अभागी’ जस्ता साहित्यकारको मूल्याङ्कन गर्नका निम्ति तुलनात्मक रूपले सही वैचारिक आधार प्रदान गर्नु हो । तर भानुभक्त सम्बन्धी लेख भने विपरीत प्रकृतिको छ । ‘भानुभक्त जनताका लागि अभिशाप कि बरदान ?’ शीर्षकको भानुभक्त आचार्यसम्बन्धी लेखले विगतका साहित्यकारलाई हेर्ने माक्र्सवादका प्रवर्तकहरूले स्थापित गरेको ऐतिहासिक तथा सौन्दर्यात्मक मापदण्डका साथै अन्तर्वस्तु र रूपका आधारमा कृति र रचनाकारको मूल्याङ्कन गर्ने माक्र्सवादी दृष्टिकोणलाई उपेक्षा गर्ने, ऐतिहासिक तथ्य र यथार्थलाई अपव्याख्या गर्ने काम गर्दछ । भानुभक्तका तुलनामा बढी प्रगतिशील जोसमनी सन्त साहित्य र त्यसले प्रस्तुत गरेको अन्तर्वस्तुलाई अलिकति पनि ध्यान नदिई ‘त्यस बेला भानुभक्तले सामन्तवादी आध्यात्मिक दर्शनको उत्कर्ष रूप वेदान्ती चिन्तन र सामन्ती ढाँचामा आधारित समाज र परिवारको बनोटभन्दा फरक साहित्य लेख्ने वस्तुगत आधार नेपालमा थिएन’१५ भन्ने आशय र ‘सामन्ती समाजमा अध्यात्मवादी नै भए पनि विश्वलाई समेट्ने उन्नत वेदान्त आदि दर्शन र देवत्वको विकसित रूप स्वर्ग, वैकुण्ठ र मोक्षसम्मको चिन्तन वा परिकल्पनामा पुर्‍याउनु प्रगतिको द्योतक’१६ हो भनेर मनोगतवादी चिन्तन थोपर्ने प्रयास यस लेखले गरेको छ । पछिल्लो चरणमा लेखिएका मार्क्सवादी सौन्दर्यचिन्तनसम्बन्धी प्रश्रितका थुप्रै लेखहरू छरिएको अवस्थामा छन् र तीमध्ये केही लेखले साहित्यको निवर्गीय प्रकृतिमाथि विशेष जोड दिएको पाइन्छ । समालोचक चैतन्यले प्रश्रितका पछिल्लो समयका रचनामा व्यक्त विचारको आलोचना गरेका छन्१७ भने ‘साहित्य र वर्गसङ्घर्ष’१८ शीर्षकको निनु चापागाईंको लेख प्रश्रितको यस्तै किसिमको चिन्तन तथा लेखनका विरुद्ध लक्ष्यित छ ।
समालोचक शक्ति लम्सालको कृति माक्र्सवाद, समाज र साहित्य (२०६१) का अधिकांश रचनाहरू चालिसको दशक र त्यसभन्दा अघि लेखिएका हुन् । पाँच खण्डमा विभाजित कृतिको तेस्रो खण्डका रचनाहरू माक्र्सवादी सौन्दर्यचिन्तनसित सम्बन्धित छन् । कृतिमा समावेश भएका रचनाहरूले साहित्यको समाजरूपान्तरणकारी भूमिकाको पक्षपोषण गर्नुका साथै यथार्थवादका आधारमा यथार्थका सकारात्मक र नकारात्मक दुवै पक्ष र कार्यकारण सम्बन्धको चित्रण, कलात्मक रूपबाट यथार्थको प्रस्तुति, विचारधारात्मक रूपमा सबल, वर्गसङ्घर्षलाई सहयोग पुर्‍याउने रचनाको सृजना गर्न, साहित्यको वर्गीय स्वरूप, श्रमिक जीवन तथा उत्पीडित वर्गप्रति र चीनका माक्र्सवादी नेता माओद्वारा येनानमा दिएको साहित्यकलासम्बन्धी प्रवचनप्रति प्रतिबद्ध हुन, सङ्गठनात्मक रूपले सक्रिय हुन, युगप्रति जवाफदेही हुन, भविष्यदृष्टि राख्न, नयाँ जनवाद र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पक्ष लिन विशेष जोड दिएका छन् । लेखकको दायित्वका सन्दर्भमा समालोचक लम्सालले भनेका छन् : ‘प्रत्येक लेखकले आफ्नो युगप्रति मात्र जवाफदेही भएर पुग्दैन । आउने युगप्रति पनि उसले ठुलो जवाफदेही हुनुपर्ने हुनाले जीवनको उपयोगिता दर्साउन सक्ने उच्च लक्ष्य राखेर अगाडि बढेको साहित्यको आज आवश्यकता छ । जीवनतिर्खालाई मेटाउन सक्ने क्रान्तिकारी र सङ्घर्षशील साहित्य जसले दिन सक्छ त्यही नै भोलिको नेपाली साहित्यको गोर्की र लु सुन हुने छ । मनुष्यको दुर्गुणहरूसँग लोहा लिन सक्ने क्रोध र साहसको सृष्टि गर्न सक्ने शोषक र शोषणको विरुद्ध निर्भीकतासँग सबैलाई जुरुक्क उठाउन सक्ने साहित्यको नै आज सबभन्दा ठुलो आवश्यकता छ १९ । यथार्थको कलात्मक प्रस्तुतिका सन्दर्भमा उनले भनेका छन् : ..मार्क्सवादी दृष्टिकोण राख्ने लेखकले कलापक्षप्रति विशेष चनाखो हुनु आवश्यक छ । कलापक्षलाई बिल्कुलै उपेक्षा गरी रचिएको रचनाले एउटा नाराबाजी पोस्टरभन्दा बढी महत्त्व राख्तैन । माक्र्सवादी लेखकहरूले विचारपक्षमा वकालत गर्नुको अर्थ आफ्नो सिद्धान्त र वर्गीय अडानमा अडिग रहनु हो । साहित्यमा वर्गीय अडानले प्रमुख भूमिका खेलेको हुन्छ र यसको उपेक्षा गर्नै सकिन्न । हामीले विचारपक्षको धुँवाधार वकालत गर्दागर्दै पनि कलापक्षप्रति बढी ध्यान दिनुको तात्पर्य आफ्नो विचारलाई खारिएको कलात्मक शैली एवम् सिपले सिँगार्नु हो २० । ..आफ्नो कृतिलाई वास्तविकतामा भ्रम हुने किसिमको रूपमा प्रस्तुत नगर्नु, विचारलाई वास्तविक परिस्थिति, यथार्थ घटना, सही चरित्र र जीवित व्यक्तित्वको रूपमा सामन्जस्यता मिलाएर देखाउनु, पात्रहरूलाई स्वाभाविक रूपमा प्रस्तुत गर्नु, कुनै पनि सफल रचनामा हुनुपर्ने आवश्यक गुण हुन् । यस्ता रचनाहरूमा विचार कमै बोलिन्छन् र बोले पनि परिस्थिति मिलाएर मात्र बोलिन्छन् । कलामा विचार, चरित्र र घटना भएर व्यक्त हुनुपर्दछ । सूक्ष्म भावहरूलाई चरित्रको रूप दिनु नै साहित्यको मूल उद्देश्य हो २१

पचासको दशक र पछिका केही महत्वपूर्ण रचना

२०५० को दशकको पूर्वाद्र्ध मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी सामग्रीहरूको प्रकाशनका दृष्टिले एकदमै उल्लेखनीय र महत्वपूर्ण समयावधि हो । सौन्दर्यशास्त्र, यसको विषय, इतिहास र मूल्यलगायत सौन्दर्यकै बारेमा केन्द्रित भएर लेखिएका केही महत्वपूर्ण लेख यही अवधिमा प्रकाशनमा आएका छन् । मार्क्सवादी सौन्दर्यशास्त्र र यसको विषयवस्तुलाई विशेष महत्त्व दिएर लेखिएका लेखहरू र त्यसैमा केन्द्रित भएर लेखिएका कृति पनि यसै समयमा प्रकाशित भएका छन् । यस खालका कृतिहरूमा निनु चापागाईंको यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१) र मार्क्सवादी चिन्तनमा सौन्दर्य (२०५४),.ऋषिराज बरालको मार्क्सवाद र उत्तरआधुनिकतावाद (२०५२), घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना (२०५४) र चैतन्यको मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४) पर्दछन् ।

यीमध्ये मार्क्सवादी सौन्दर्यशास्त्रको विषयमा नै केन्द्रित भएर व्यवस्थित रूपले लेखिएको कृति भने घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना हो । नेपालमा मार्क्सवादी सौन्दर्यशास्त्रका आधारहरूको बारेमा सिलसिलाबद्ध रूपमा लेखिएको यो प्रथम पुस्तक हो भन्ने लेखकको दाबी एकदमै सही छ । कृतिमा समावेश भएका तेह्रवटा लेखहरूमध्ये ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विषय’, ‘सौन्दर्य र यसको प्रकृति’, ‘सौन्दर्यपरक प्रवर्ग’ शीर्षकका लेख सौन्दर्यसित सम्बन्धित छन् भने ‘कला र यसको प्रकृति’, ‘कलात्मक सङ्ज्ञान र प्रतिबिम्बन सिद्धान्त’, ‘कलाबिम्ब’, ‘अन्तर्वस्तु र रूप’, ‘समाजवादी यथार्थवाद’ शीर्षकका लेखहरू कलाकेन्द्रित रचनाहरू हुन् । ‘माओ र सौन्दर्यशास्त्र’ र ‘सौन्दर्यशास्त्रमा संशोधनवाद’ शीर्षकका लेख सिद्धान्तमाथि प्रकाश पार्ने लेख हुन् । पहिलो लेखले मूलतः येनान गोष्ठीको प्रवचनमा माक्र्सवादका चिनियाँ गुरु माओद्वारा प्रस्तुत सौन्दर्यशास्त्रसम्बन्धी धारणालाई आधार बनाएर विचार प्रस्तुत गरेको छ भने दोस्रो लेखले सौन्दर्यशास्त्रका क्षेत्रमा संशोधनवादद्वारा भएको विकृतीकरण र तोडमरोडका बारेमा प्रकाश पारेको छ । भारतीय सौन्दर्यचिन्तनको ऐतिहासिक विश्लेषण ‘पूर्वीयचिन्तनमा सौन्दर्य’ शीर्षकको लेखमा भएको छ भने ‘नेपाली साहित्यमा सौन्दर्यचिन्तनको विकास’ शीर्षकको लेखले नेपाली साहित्यमा सौन्दर्यचिन्तनको विकास के कसरी भएको छ त्यसलाई देखाउने काम गरेको छ ।
मार्क्सवादी सौन्दर्यशास्त्रमै केन्द्रित हुनु र मार्क्सवादी सौन्दर्यशास्त्रको व्यवस्थित रूपले शास्त्रीय अध्ययनको सुरुआत गर्नु यस कृतिको विशेषता हो । नेपाली सौन्दर्यशास्त्रको इतिहासमा आफ्नो विशिष्ट स्थान र पहिचान सुरक्षित राख्न समर्थ, एक सार्थक र महत्वपूर्ण, सौन्दर्यशास्त्र र खासगरी मार्क्सवादी सौन्दर्यशास्त्रबारे अध्ययन गर्न चाहनेहरूका लागि उपयोगी र ज्ञानवर्धक कृति भनेर चैतन्यले यस कृतिको प्रशंसा गरेका छन् २२ । चैतन्यको थप भनाइ के पनि छ भने ‘वस्तुतः ढकालले सौन्दर्यचिन्तनको क्षेत्रमा विषयवस्तुलाई व्यवस्थित तथा क्रमबद्ध रूपमा समेटी मार्क्सवादी सौन्दर्यशास्त्रसम्बन्धी महत्वपूर्ण कृतिको रचना गरेर र त्यसमा समाजवादी यथार्थवादलाई व्यवस्थित ढङ्गले प्रस्तुत गर्दै पूर्वीय तथा नेपाली साहित्यमा सौन्दर्यचिन्तनको ऐतिहासिक रूपमा अध्ययन गर्ने र सौन्दर्यशास्त्रीय संशोधनवादका विरुद्ध आवाज उठाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ’ २३ । यस कृतिका बारेमा अध्ययन गर्न चाहनेहरूका लागि सौन्दर्यशास्त्री चैतन्यको ‘ढकालरचित ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना : एक सङ्क्षिप्त अध्ययन’ (२०६९ :१९८-२१२), समालोचक अमर गिरीको ‘मार्क्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा ढकालको योगदान’ (घनश्याम ढकाल स्मृतिग्रन्थ : ३४६-३५३) र साहित्यकार हरिहर खनालको लेख ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना एक सङ्क्षिप्त परिभ्रमण’ (उही : ३६५-३६९) विशेष लाभदायी हुन सक्तछन् ।
सौन्दर्यको आँखिझ्याल (२०६६) समालोचक घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी अर्को पुस्तक हो । सूत्रात्मक रूपमा प्रस्तुत यस पुस्तिकाले सौन्दर्यचिन्तन सम्बन्धी विभिन्न विषयहरूलाई सूत्रबद्ध रूपमा प्रस्तुत गरेको छ । यसभित्र जम्मा तेइसवटा विषयहरू समावेश छन् र ती हुन् : सौन्दर्यशास्त्रको इतिहास, सौन्दर्यशास्त्र र यसको क्षेत्र, सुन्दर, उदात्त, त्रासदी, प्रहसनात्मक, कला, कलाबिम्ब, कला र विचारधारा, अन्तर्वस्तु र रूप, समाजवादी यथार्थवाद, कलात्मक सङ्ज्ञान र प्रतिबिम्बन, सौन्दर्यशास्त्रको विकासमा माओ, सौन्दर्यशास्त्रीय संशोधनवाद, जनयुद्धको सौन्दर्यशास्त्र, प्रगतिशील र प्रगतिवादी, रूपवाद, आधुनिकतावाद, उत्तरआधुनिकतावाद, अस्तित्ववाद, विसङ्गतिवाद, फ्रायडवाद र पूर्वीय चिन्तनमा सौन्दर्य । सौन्दर्यशास्त्रमा प्रारम्भिक ज्ञान हासिल गर्न चाहनेहरूका लागि यो पुस्तिकाले विशेष लाभ पुर्‍याउन सक्तछ ।
निनु चापागाईंको कृति यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१) को भूमिकामा समालोचक गोविन्द भट्टले कृतिको परिचय दिने क्रममा ‘हाम्रो राष्ट्रभाषामा पहिलो पटक माक्र्सवादी सौन्दर्यशास्त्रको गहन र सर्वाङ्गीण निरूपण गर्ने यो सङ्ग्रह आफ्नो विषयमा अझसम्मको सर्वोत्तम प्रस्तुतीकरण हो भन्नुमा कुनै विवाद उठ्ला जस्तो लाग्दैन, किनभने यति व्यापकता र सूक्ष्मता साथ यसबारे चिन्तन गर्ने अरू कुनै प्रकाशन अझसम्म देखा परेको छैन’२४ भनेका छन् । कृतिको विषयमा थप प्रकाश पार्दै उनले भनेका छन् :‘यस पुस्तकमा तीन थरिका विषयहरू परेका छन् :(१) मार्क्सवादी सौन्दर्यशास्त्रको सैद्धान्तिक व्याख्या र प्रतिष्ठान, (२) नेपालमा प्रगतिवादी र जनवादी साहित्यका समस्याहरू र तिनको विश्लेषण अनि (३) केही पुराना नयाँ लेखकहरूको समीक्षात्मक मूल्याङ्कन । तीमध्येमा पहिलो श्रेणीभित्र पर्ने रचनाहरू नै यसका सपैभन्दा महत्वपूर्ण र उल्लेखनीय अंश हुन् । ..यसमा श्री चापागाईंले कलामा बिम्बको केन्द्रीय धारणा र महत्त्व, यथार्थको कलात्मक प्रतिबिम्बनको विशिष्ट प्रकृति र धारणात्मक चिन्तनभन्दा त्यसको फरक रूप, लेनिनको प्रतिबिम्बन सिद्धान्त, कलाको आफ्नै विशिष्ट गुणधर्मिता, जीवन र जगत्को कलात्मक बोध मात्र हैन सामाजिक रूपान्तरणका लागि क्रियाशील बनाउनतर्पm विचारधारात्मक र शैक्षिक क्षेत्रमा पनि सङ्ज्ञानात्मक कार्यद्वारा कलाले खेल्न सक्ने भूमिका, साहित्य र विचारधारा माझको द्वन्द्वात्मक सम्बन्ध अनि तिनलाई परस्पर विरोधी बनाउने वा समकक्षमा राखिदिने-यी दुवै प्रवृत्तिहरूका विरुद्ध तिनको द्वन्द्वात्मक अन्तरनिर्भरतामा जोड, कला साहित्यको विशिष्ट स्वरूप र सापेक्षित स्वायत्तता, यथार्थवाद, आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवाद, सपै भावनावादी प्रतिक्रियावादी दृष्टिकोणहरूको यथार्थवाद विरोधी स्वरूप र उद्देश्य, माक्र्सवादी समीक्षाका मापदण्डहरू, जनपक्षीय साहित्यका प्रमुख विशेषताहरू, नेपाली साहित्यमा समाजवादी यथार्थवादका पृष्ठभूमि र वर्तमान समस्याहरू, जनपक्षीय साहित्यको अर्थ र उद्देश्य, दुरुहता र सरलताको प्रश्न, आधुनिकताको प्रसङ्ग, त्यसको प्रतिक्रियावादी र जनपक्षीय रूपहरूका माझ रहेको अन्तर जस्ता विभिन्न सम्बन्धित विषयहरूबारे कतै विस्तारपूर्वक र कतै सङ्क्षेपमा चर्चा गर्दै, संशोधनवादी तथा बुर्जुवा सौन्दर्यशास्त्रीहरूद्वारा तेस्र्याइएका सपै कुतर्क र निराधार आरोपहरूको एक एक खण्डन गरी दिएर माक्र्सवादी समीक्षा सिद्धान्तको प्रखरतासाथ सुरक्षा गर्नु भएको छ । वहाँका यी रचनाहरूले सामाजिक चेतनाको विविधतापूणर् र अत्यन्त जटिल प्रकृतिबारे निरन्तर स्मरण गराउँदै, रूप र अन्तर्वस्तु, कला, साहित्य र विचारधारा जस्ता विषयहरूमा हाल हामीकहाँ पाइने एकपक्षीय, सरलीकृत तथा यान्त्रिक सोचाइका विचलनहरूबाट जोगिनतर्फ हामीलाई सचेत तुल्याएका छन् । वहाँको यस सँगालोले यथार्थको कलात्मक प्रतिबिम्बन सिद्धान्त र त्यसप्रतिको मार्क्सवादी दृष्टिकोण नै प्रगतिवादको मूल सैद्धान्तिक आधार हो भन्ने कुरालाई सशक्ततासाथ पुष्टि गरेको छ २५
कृतिमा समाविष्ट पन्ध्र लेखहरूमध्ये ‘सौन्दर्यशास्त्र र यसको विषयवस्तु’, ‘कलाको सारतत्त्व र प्रकृति’, ‘विचारधारा र साहित्य’, ‘कला र सङ्ज्ञान’, ‘कलाबिम्ब र यसको महत्त्व’, ‘नेपाली साहित्यको सन्दर्भमा समाजवादी यथार्थवाद’ लगायतका लेखहरू मार्क्सवादी सौन्दर्यचिन्तनसँग सम्बन्धित छन् । यी विषयमा केन्द्रित रहेर विस्तारका साथ पहिलो पटक नेपाली साहित्यमा यही कृतिबाट बहसको प्रारम्भ भएको हो । त्यसमा पनि मार्क्सवादी सौन्दर्यशास्त्रका बारेमा पहिलो पटक लेखिएको ‘सौन्दर्यशास्त्र र यसको विषयवस्तु’ यस कृतिको विशेष लेख हो (यो लेख पहिलो पटक साहित्यकार हरिहर खनालद्वारा सम्पादित साहित्यिक पत्रिका जनसाहित्य-पूणर्ङ्क ६, श्रावण-असोज २०४९ मा भिन्न शीर्षकमा छापिएको थियो) । यसले मार्क्सवादी सौन्दर्यशास्त्रका विशेषताका बारेमा चर्चा गर्नुका साथै सामान्य कलासिद्धान्त र सौन्दर्यशास्त्रमा के भिन्नता छ ?, सौन्दर्यशास्त्र दर्शनशास्त्रभन्दा भिन्न विज्ञान हो कि होइन ?, सौन्दर्यशास्त्र र समालोचनामा के कति फरक छ ?, मार्क्सवादी सौन्दर्यशास्त्र भनेको के हो ? जस्ता विषयको जवाफ दिने प्रयास गरेको छ । ‘सौन्दर्यशास्त्रीय अध्ययनका दृष्टिले महत्वपूर्ण रहेको’२६ टिप्पणी गर्दै सौन्दर्यशास्त्री एवम् समालोचक चैतन्यले कृतिका बारेमा निम्न विचार व्यक्त गरेका छन् : यथार्थवादी रचनादृष्टि र विवेचनामा कलाका सामान्य सिद्धान्तहरूको प्रतिपादन गर्ने सन्दर्भमा ‘विचारधारा र साहित्य’, ‘कलाबिम्ब र यसको महत्त्व’, कला र सङ्ज्ञान’, ‘कलाको सारतत्त्व र प्रकृति’ लगायत गहन लेखहरू समावेश गरिएको छ । यी लेखहरूको केन्द्रमा ‘नेपाली साहित्यको सन्दर्भमा समाजवादी यथार्थवाद’ रहेको छ । यस लेखमा समाजवादी यथार्थवादको उद्भव तथा नामाङ्कनसहित त्यसको सृजनविधिलाई विशिष्ट कलात्मक एवम् ऐतिहासिक प्रवर्गको रूपमा ग्रहण तथा व्याख्या गरिएको छ । त्यस प्रकारको कलात्मक विधिको अवधारणाअन्तर्गत विचारधारा, समाजशास्त्र, भौतिक ज्ञानमीमांसा, अर्थमीमांसालाई राखिएको छ । यो अत्यन्तै महत्वपूर्ण विषय हो र यसबारे गम्भीर बहसको आवश्यकता छ । साथै, नेपालमा समाजवादी यथार्थवादको थालनी र विकासबारे पनि विषयलाई गम्भीर रूपमा प्रस्तुत गर्ने प्रयास भएको छ’२७ । चापागाईंको लेखनको विशिष्टतामाथि प्रकाश पार्ने क्रममा चैतन्यले थप के भनेका छन् भने ‘निनुका सौन्दर्यचिन्तन र कलासिद्धान्तसम्बन्धी यी लेखहरूमा विषयवस्तुबारे निकै गहन तथा सूक्ष्म रूपमा अध्ययन, विश्लेषण एवम् संश्लेषण गरिएको छ । निनुको लेखनशैली शास्त्रीय, विश्लेषणात्मक, विधिवैज्ञानिक तथा प्रणालीबद्ध ऐतिहासिक तथा तार्किक पक्षको संयोजनमा आधारित छ’ २८
चापागाईंको मार्क्सवादी चिन्तनमा सौन्दर्य शीर्षकको कृतिमा मार्क्सवादी सौन्दर्यचिन्तनका कतिपय महत्वपूर्ण विषय समावेश भएका छन् । ‘कला र राजनीति’, ‘मार्क्सवादी चिन्तनमा सौन्दर्य’, ‘साहित्यमा अन्तर्वस्तु र रूपको प्रश्न’, ‘साहित्य र वर्गसङ्घर्ष’, ‘साहित्यको समाजरूपान्तरणकारी भूमिका’, ‘प्रगतिवाद र यसमा देखिएको विचलन’ शीर्षकका लेखहरू यस श्रेणीमा पर्दछन् । कृतिमा भएका लेखले सौन्दर्य, कलासाहित्यमा विचारधारात्मक तत्त्वको महत्त्व, कलासाहित्यमा राजनीतिको स्थान, कलासाहित्यको समाजरूपान्तरणकारी भूमिका, कलासाहित्य र वर्गसङ्घर्ष, रचनाविधिअन्तर्गतका समाजवादी यथार्थवाद र क्रान्तिकारी स्वच्छन्दतावाद र तिनका बिचको भिन्नता, माक्र्सवादी मूल्याङ्कनपद्धति जस्ता मार्क्सवादी सौन्दर्यशास्त्रका कतिपय आधारभूत प्रस्थापनाहरूका विषयमा जानकारी गराउने कार्यमा धेरथोर सहयोग पुर्‍याउने छन् भन्ने विश्वास लेखकले राखेको देखिन्छ २९ । कृतिमा नेपालको मार्क्सवादी सौन्दर्यचिन्तनको क्षेत्रमा देखापरेको दक्षिणपन्थी संशोधनवादविरुद्ध सशक्त प्रतिवाद भएको छ । यस क्रममा लेखकले भनेका छन्सौ:…मार्क्सवादी सौन्दर्यशास्त्रको क्षेत्रमा योभन्दा अरू खतराजनक प्रवृत्तिका रूपमा कलात्मक सृजनको प्रकृति र सामाजिक जीवनमा कलाले खेल्ने भूमिका र स्थानजस्ता विषयमा मार्क्सवाद विरोधी दृष्टिकोण स्थापित गर्ने र जान रअनजान पुँजीवादी सौन्दर्यशास्त्रका सामु आत्मसमर्पण गर्ने सौन्दर्यशास्त्रीय संशोधनवाद नेपालमा पनि क्रमशः मौलाउन थालेको देखिँदै छ । यो दर्शनशास्त्र र राजनीति विज्ञानमा आएको दक्षिणपन्थी संशोधनवादकै सहज परिणाम हो र यसले कलासाहित्यमा सौन्दर्य-तत्त्वलाई निरपेक्ष बनाउने र विचारधारामुक्त गैरसर्वहारावर्गीय र सामाजिक दायित्वहीन कलासाहित्यको पक्षमा लैजाने प्रयत्न गरिरहेको छ । सङ्ज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक तत्त्वको एकताको विशिष्ट रूप भएको कारणले मनुष्यलाई विचारधारात्मक, नैतिक तथा सौन्दर्यात्मक शिक्षा दिने शक्तिशाली र प्रभावकारी साधन मात्र नभएर कलासाहित्य वर्गसङ्घर्षको महत्त्वपूणर् अस्त्र पनि हो । सौन्दर्यशास्त्रीय संशोधनवादले मूलतः कलासाहित्यलाई उक्त प्रकार्यबाट पृथक् बनाउने प्रयत्न गरेर पुँजीवादी सौन्दर्यशास्त्रका सामु आत्मसमर्पण गरिरहेको स्वतः प्रस्ट छ । मार्क्सवादी सौन्दर्यशास्त्रप्रति रुचि र चिन्ता लिने सबैले यस प्रवृत्तिका विरुद्ध सैद्धान्तिक सङ्घर्ष विकसित गर्न सकेको खण्डमा मात्र यसले सही मार्ग अवलम्बन गर्न सक्ने छ भन्ने कुरामा सजग रहनु अति आवश्यक छ’ ३०
कृतिमा निहित वैचारिक पक्षलाई सङ्केत गर्दै सौन्दर्यचिन्तक चैतन्यले भनेका छन् : ‘साहित्य र कलाका सामान्य सिद्धान्त र विधिसँग सम्बन्धित यी सबै लेखहरूमा एकातिर समाजवादी यथार्थवाद वा प्रगतिवादका विविध पक्षमा विस्तृत रूपमा प्रकाश पारिएको छ भने अर्कोतिर उत्तरआधुनिकतावादसहित (उत्तरआधुनिकतावाद : भ्रम र वास्तविकता शीर्षकको लेखलाई सङ्केत गएिको-ले.) प्रतिध्रुवीय तथा संशोधनवादी धाराको सैद्धान्तिक रूपमा कडा विरोध गरिएको छ । साथै, यहाँ कतिपय लेखमा प्रगतिवादी कित्ताभित्रका विवादित विषयबारे पनि चर्चा गरिएको छ’ ३१ । कृतिकै शीर्षक रहेको ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’ शीर्षकको विशिष्ट लेखलाई ‘सौन्दर्यशास्त्रीय अध्ययनका दृष्टिले विशेष महत्वपूर्ण ’ मान्दै उनले यस लेखको विशेष चर्चा गरेका छन् । उनको दृष्टिमा ‘यस लेखमा सौन्दर्यचिन्तनको ऐतिहासिक विकासप्रक्रिया, सौन्दर्यचिन्तनका वस्तुगत प्रत्ययवादी तथा आत्मगत प्रत्ययवादी दृष्टि, भौतिकवादी दृष्टि र ती सबैभन्दा भिन्न द्वन्द्वात्मक भौतिकवादी दृष्टि, सौन्दर्यको वस्तुगत स्वरूप, सौन्दर्यानुभूतिको सामाजिक चरित्र, श्रमप्रक्रियाका बिचबाट सौन्दर्यचेतनाको विकास, सौन्दर्यको सापेक्षता, उपयोगिता तथा मूल्यका रूपमा सुन्दर प्रवर्गको ऐतिहासिक विकासप्रक्रियाको विवेचना, कलामा सुन्दरको अभिव्यक्ति आदि प्रवर्गका रूपमा सौन्दर्यात्मक प्रवर्गको विश्लेषण र मार्क्सवादी सौन्दर्यशास्त्रबारे विस्तृत रूपमा प्रकाश पारिएको छ’ ३२
वास्तवमा यो लेख सुन्दर, सौन्दर्य, सौन्दर्यात्मक, कलामा सौन्दर्यको अभिव्यक्ति आदिका बारेको यति विस्तृत रूपमा लेखिएको सम्भवतः नेपाली साहित्यकै पहिलो लेख हो (पहिलो पटक २०५२, वैशाखको गरिमा साहित्यिक पत्रिकामा प्रकाशित) । यही साल प्रकाशित ऋषिराज बरालको पुस्तक मार्क्सवाद र उत्तरआधुनिकतावादमा ‘मार्क्सवादी चिन्तनमा सौन्दर्य’ शीर्षककै लेख संलग्न छ । यिनै लेख सौन्दर्यका विषयमा पहिले देखा परेका विशेष महत्त्वका लेख हुन्, यद्यपि यसबारे केही लेख पहिले प्रकाशित नभएका भने होइनन् । साहित्यकार विष्णु प्रभातद्वारा लिखित चिन्तन र सौन्दर्य (२०४६) शीर्षकको कृतिमा ‘कला साहित्यमा सौन्दर्य’ शीर्षकको लेख संलग्न भए तापनि विषयमा केन्द्रित भएर विस्तारपूर्वक सौन्दर्य सम्बन्धी छलफल भएको पाइँदैन । समालोचक देवीप्रसाद गौतमको कृति प्रगतिवाद :परम्परा र मान्यता (२०४९) मा ‘सौन्दर्य तथा यसको आधार सम्बन्धी प्रगतिवादी मान्यता’ उपशीर्षक अन्तर्गत सौन्दर्यका बारेमा अति सङ्क्षिप्त विवरण दिइएको पाइन्छ । सौन्दर्य सुन्दर वस्तुको भौतिक गुण हो, सौन्दर्यचेतना सामाजिक-ऐतिहासिक रूपबाट विकसित भएको हो र परिस्थितिमा परिवर्तन आउँदा सौन्दर्यचेतनामा पनि परिवर्तन आउँछ भन्ने एकदमै आधारभूत कुरा बाहेक यस लेखमा अरू विशेष चर्चा पाइँदैन । यसैगरी २०४७ र २०४८ मा प्रकाशित समालोचक चैतन्यका ‘सौन्दर्य दर्शनको स्वरूप र पद्धति’ तथा ‘मार्क्सवादी सौन्दर्यचिन्तन र संशोधनवाद’ शीर्षकका दुई लेख (समीक्षा र सौन्दर्यमा संलग्न) ले पनि सौन्दर्यचिन्तनका सन्दर्भमा द्वन्द्ववादका पद्धतिहरूको परिचय दिने, सौन्दर्य चिन्तनमा संशोधनवादका विशेषताहरूका बारेमा जानकारी गराउने, दर्शनको फाँटमा द्वन्द्वात्मक भौतिकवादी र अधिभूतवादी-पुँजीवादी विश्वदृष्टिकोणका बिचमा सङ्घर्ष रहेजस्तै सौन्दर्यचिन्तनको फाँटमा पनि सङ्घर्ष छ भनेर बोध गराउने काम गरेका छन् । पछिल्लो लेखले यथार्थ र कला, यान्त्रिकता र सृजनशीलता, श्रम र कला, प्रतिबद्धता र स्वतन्त्रता, वस्तु र रूप आदिका बारेमा चर्चा गर्दै संशोधनवादबाट सजग रहन प्रगतिवादी स्रष्टाहरूलाई आह्वान गरेको छ । सौन्दर्यका आधारभूत र प्रारम्भिक विषयमा जानकारी गराउनुमा भन्दा सौन्दर्यचिन्तनसँग सम्बन्धित दर्शनशास्त्रका नियमहरूजस्ता विशिष्ट विषयका बारेमा ध्यानाकर्षण गराउनु लेखकको बढी चासो रहेको देखिन्छ ।
समालोचक चापागाईंका उल्लिखित कृतिमा भएका रचनाहरूका अतिरिक्त ‘सौन्दर्यशास्त्र र यसमा रहेका केही विवाद’ (उत्तरआधुनिकतावाद :भ्रम र वास्तविकता, २०६१), ‘प्रतिबद्ध कला र आवश्यकता’, ‘मार्क्सवादी समालोचना, विधि र मानदण्ड’, ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ (दलित सौन्दर्यशास्त्र र साहित्य, २०६८), ‘अन्तर्वस्तु र रूपको अन्तःसम्बन्ध र द्वन्द्वात्मकता’, ‘चलचित्रको राष्ट्रिय चरित्र’ (पूर्ववाद र सइदेली विचार, २०७३) चापागाईंका मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी अन्य लेखहरू हुन् । चापागाईंद्वारा अनूदित कृतिहरू गोर्कीका छानिएका वैचारिक रचनाहरू (२०६५), मार्क्सवादी साहित्यचिन्तन (२०६७),मार्क्सवादी समालोचना-पद्धति (२०६७), मार्क्सवाद र सङ्गीत (२०६७) र ब्रेख्त र ब्रेख्त (२०७४) ले पनि मार्क्सवादी सौन्दर्यचिन्तनको ज्ञानमा अभिवृद्धि गर्न योगदान पुर्‍याएका छन् ।
मार्क्सवादी सौन्दर्यशास्त्रका दृष्टिकोणले यस कालखण्डको अर्को महत्वपूर्ण कृति ऋषिराज बरालको मार्क्सवाद र उत्तरआधुनिकतावाद (२०५२) हो । कृतिमा समावेश भएका चौधवटा लेखहरूमध्ये सौन्दर्यशास्त्रका दृष्टिले विशेष महत्त्वका लेख ‘यथार्थ, यथार्थवाद र समाजवादी यथार्थवाद’, ‘मार्क्सवादी सौन्दर्यशास्त्र ः इतिहास तथा मूल्य’, ‘मार्क्सवादी चिन्तनमा सौन्दर्य’, ‘क्रान्तिकारी स्वच्छन्दतावाद’, ‘मार्क्सवादी र दुःखान्तसम्बन्धी अवधारणा’, ‘मार्क्सवादी साहित्य र उत्तरआधुनिकतावाद’, ‘सौन्दर्यशास्त्रमा माओ’, ‘साहित्यको समाजशास्त्र र मार्क्सवादी सौन्दर्यशास्त्र’, ‘मार्क्सवादी र नारीवादी लेखन’ रहेका छन् । त्यसमा पनि ‘मार्क्सवादी सौन्दर्यशास्त्र :इतिहास तथा मूल्य’ र ‘मार्क्सवादी चिन्तनमा सौन्दर्य’ शीर्षकका लेख सौन्दर्यचिन्तनका दृष्टिले विशेष अर्थपूणर् छन् । समालोचक बरालको यस कृतिले यथार्थ, यथार्थवादको व्याख्या, यथार्थवादको थालनी र विकास, समाजवादी यथार्थवादको इतिहास र मूल्य, सौन्दर्यशास्त्रको इतिहास, मार्क्सवादी सौन्दर्यशास्त्रको परिचय, यसको सुरुआत र इतिहास, यसको आधार र स्रोत, सुन्दर, सौन्दर्य, सौन्दर्यबोधको संरचनात्मक स्थिति र सौन्दर्यात्मक प्रवर्ग आदिका बारेमा विशेष व्याख्या-विश्लेषण गरेको छ । सौन्दर्य, सौन्दर्यशास्त्र र मार्क्सवादी सौन्दर्यशास्त्रका बारेमा परिचय दिन बरालको अर्को कृति सङ्गीत र सौन्दर्य (२०६३) मा समाविष्ट ‘सौन्दर्यशास्त्र :प्रवर्गहरू र यसको पूर्वीय तथा पाश्चात्य परम्परा’ शीर्षकको लेख अझ सशक्त र प्रभावकारी रहेको छ ।
बरालले साहित्य तथा कलाको स्रोत, कलाको सार तथा सामाजिक चेतनाका अन्य रूपसित यसको सम्बन्ध, कलाको पक्षधरता तथा जनसेवा, यसको ऐतिहासिक क्रमबद्धता, कलात्मक बिम्बहरूको विशिष्टता, अन्तर्वस्तु तथा रूपको सम्बन्ध, कलात्मक विधि तथा शैली, लेखकको वर्गचरित्र तथा कृति, समाजवादी यथार्थवादका मूलभूत सिद्धान्तहरूको पालना र कलाको समाजरूपान्तरणकारी भूमिका जस्ता दसवटा मूल बुँदालाई माक्र्सवादी सौन्दर्यचिन्तनले अध्ययन गर्ने र गर्नुपर्ने विषयका रूपमा प्रस्तुत गरेका छन् । यी मार्क्सवादी सौन्दर्यचिन्तनमा चासो राख्ने सबैले ध्यान दिनुपर्ने विषय हुन् । बरालको मार्क्सवादी र उत्तरआधुनिकतावाद शीर्षक कृतिको नेपाली माक्र्सवादी सौन्दर्यचिन्तनको इतिहासमा विशिष्ट स्थान छ भन्ने चैतन्यको मूल्याङ्कन एकदमै सही छ । उनको भनाइमा यस कृतिमा सङ्कलित ‘मार्क्सवादी सौन्दर्यशास्त्र : इतिहास तथा मूल्य’ उपशीर्षक लेख सौन्दर्यशास्त्रीय दृष्टिले निकै महत्त्वपूणर् रहेको छ ३३ । बरालको उपन्यासको सौन्दर्यशास्त्र (२०५६) मार्क्सवादी सौन्दर्यचिन्तनका दृष्टिले अर्को उल्लेखनीय कृति हो । समालोचक बरालका यसपछि प्रकाशनमा आएका अन्य कृतिमा पनि माक्र्सवादी सौन्दर्यशास्त्रका विषयमा लेखिएका केही लेख समावेश छन् ।
बरालले सौन्दर्यचिन्तनको क्षेत्रमा पुर्‍याएको योगदानको आकलन समालोचक चैतन्यले यसरी गरेका छन् : ‘सौन्दर्यचिन्तनको क्षेत्रमा बरालले विषयवस्तुलाई ऐतिहासिक तथा सैद्धान्तिक आधारमा प्रस्तुत गर्दै मार्क्सवादी सौन्दर्यशास्त्रको व्यवस्थित तथा क्रमबद्ध विवेचना गर्नुभएको छ । उहाँले मार्क्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादको रक्षाका लागि सबै खाले आदर्शवाद, अधिभूतवाद, यान्त्रिक भौतिकवाद, आभिजात्यवाद, आधुनिकतावाद, उत्तरआधुनिकतावाद, नववामपन्थ, उत्तरमार्क्सवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध दृढतापूर्वक सङ्घर्षको झन्डा उठाउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभएको छ’३४
‘क्रान्तिकारी स्वच्छन्दतावादको सारतत्त्व’ शीर्षकको समालोचक बरालको लेख क्रान्तिकारी स्वच्छन्दतावादका विषयमा लेखिएको नेपाली साहित्यको पहिलो लेख हो । क्रान्तिकारी स्वच्छन्दतावाद सम्बन्धी उनको विचार र विश्लेषण विचारणीय छ तापनि यो नेपालका अन्य माक्र्सवादी समालोचकहरूको विश्लेषण र विचारसित भने मेल खाँदैन । बरालले आफ्नो विश्लेषणमा निष्क्रिय, सक्रिय र क्रान्तिकारी स्वच्छन्दतावादका तीन रूप प्रस्तुत गर्दै केही सकारात्मक गुणहरू भए पनि सक्रिय स्वच्छन्दतावाद वैज्ञानिक विचारमा नभएर काल्पनिक समाजवादमा आधारित हुन्छ र क्रान्तिकारी स्वच्छन्दतावाद क्रान्तिकारी विश्वदृष्टिकोणमा आधारित हुन्छ भन्ने चिनियाँ साहित्यकार माओ तुनको विचारलाई मूल आधार बनाएका छन् र क्रान्तिकारी स्वच्छन्दतावादी हुनका लागि रचनाकारको विचार माक्र्सवादी हुनुपर्ने तर्क गरेका छन् । तर समालोचकहरू चैतन्य, घनश्याम ढकाल, ताराकान्त पाण्डेय र निनु चापागाईंको मत योभन्दा भिन्न रहेको पाइन्छ । चैतन्यले ‘स्वच्छन्दतावादलाई गोर्कीले निष्क्रिय र सक्रिय गरी दुई भागमा विभाजित’ गरेको सन्दर्भलाई अघि बढाउँदै भनेका छन् :‘..परन्तु अर्कातिर सक्रिय स्वच्छन्दतावाद क्रान्तिकारी हुन्छ र यसले यथार्थवादसँग सम्बन्ध गाँस्ने जीवनका वास्तविक समस्याहरूसँग भिड्ने कुरामा जोड दिन्छ’ ३५ । उनले अन्यत्र पनि यसअनुरूप नै आफ्ना विचार व्यक्त गरेका छन् ३६ । ढकालको मतअनुसार ‘गोर्कीले स्वच्छन्दतावादलाई सक्रिय र निष्क्रिय गरी दुई भागमा बाँडेका छन् । उनले सक्रिय अर्थात् क्रान्तिकारी स्वच्छन्दतावादको पक्षमा आफुलाई उभ्याएका छन् ३७ । अन्यत्र पनि उनको विश्लेषण यही विचारमा आधारित रहेको भेटिन्छ ३८ । निनु चापागाईंले स्वच्छन्दतावादका निष्क्रिय र सक्रिय दुई रूप प्रस्तुत गर्दै सक्रिय स्वच्छन्दतावादलाई पनि पुँजीवादी मानवतावादमा आधारित क्रान्तिकारी स्वच्छन्दतावाद र सर्वहारा मानवतावादी क्रान्तिकारी स्वच्छन्दतावादमा विभाजित गरेका छन् ३९ । समालोचक चैतन्य, ढकाल ४० र ताराकान्त पाण्डेय ४१ को पनि यस्तै खालको दृष्टिकोण रहेको पाइन्छ ।
विश्वविख्यात रुसी साहित्यकार गोर्कीले ‘मैले कसरी लेख्न सिकेँ’ भन्ने शीर्षकको लेखमा मार्क्सवादी सौन्दर्यशास्त्रको इतिहासमा पहिलो पटक स्वच्छन्दतावादलाई निष्क्रिय र सक्रिय स्वच्छन्दतावादमा विभाजित गरेर चर्चा गरेका छन् । त्यही लेखमा उनले सक्रिय स्वच्छन्दतावादलाई क्रान्तिकारी स्वच्छन्दतावादका रूपमा समेत उल्लेख गरेका छन् । एक ठाउँमा उनले यसलाई सक्रिय सामाजिक क्रान्तिकारी स्वच्छन्दतावाद भनेका छन् भने अर्को ठाउँमा सक्रिय क्रान्तिकारी स्वच्छन्दतावाद भनेका छन् र सक्रिय स्वच्छन्दतावादमा क्रान्तिकारी श्रमजीवी वर्गका क्रान्तिकारी गुणहरू प्रादुर्भाव हुन आवश्यक छ भनेका छन् ४२ । बरालले आफ्नो मतलाई पुष्टि गर्नका लागि जर्ज थम्सनको कृति माक्र्सिज्म एन्ड पोएट्रीको जुन थप सन्दर्भ दिएका हुन् त्यस कृतिमा क्रान्तिकारी स्वच्छन्दतावादको मात्र होइन स्वच्छन्दतावादकै सन्दर्भ पनि कतै पाइँदैन । मार्क्सवादी वैज्ञानिक दृष्टि अवलम्बन नगरेका सेली लगायतका थुप्रै साहित्यकारहरूलाई मार्क्सवादका गुरुहरू र मार्क्सवादी समालोचकहरूले क्रान्तिकारी मान्दै आएको दृष्टिकोणभन्दा फरक दृष्टिकोण यस सन्दर्भमा समालोचक बरालको रहेको देखिन्छ ।
मार्क्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा सशक्त रूपले कलम चलाउने यस अवधिका अर्का व्यक्तित्व चैतन्य हुन् । उनका मार्क्सवादी कलादृष्टि र समीक्षा (२०५४ दोस्रो सं. २०६४), क्रान्ति र सौन्दर्य (२०६४), समीक्षा र सौन्दर्य (२०६५) र मार्क्सवादी सौन्दर्यचिन्तन (२०६९) शीर्षकका कृतिहरू प्रकाशित छन् । पहिलो कृतिका तेह्रमध्ये पाँचवटा लेख कलात्मक पक्ष र दुईवटा लेख सौन्दर्यात्मक पक्षसित सम्बद्ध छन् । ती लेखमध्ये ‘माओवादी सौन्दर्यदर्शन’, ‘नयाँ जनवादी क्रान्तिमा साहित्य कलाको भूमिका’, ‘लेखकीय स्वत्रन्त्रता र प्रतिबद्धताबारे’, ‘प्रगतिवादी समालोचनाको मापदण्ड’, र ‘कलामीमांसा’ कलात्मक पक्षका लेख हुन् भने ‘सौन्दर्यपरक आदर्श’ र ‘सौन्दर्यचिन्तनका मूल तत्त्वहरू’ सौन्दर्यात्मक पक्षमा लेखिएका लेख हुन् । क्रान्ति र सौन्दर्यका २०४९ देखि २०६४ को समयावधिमा लेखिएका चौधवटा लेखमध्ये सौन्दर्यचिन्तनसँग सम्बद्ध अधिकांश लेख जनयुद्धको सौन्दर्यशास्त्र र प्रचण्डपथको सौन्दर्यशास्त्रको केन्द्रीयतामा लेखिएका छन् । ‘जनयुद्धको सौन्दर्यशास्त्र’, ‘नेपाली सौन्दर्य चिन्तन मार्क्सवादी मार्क्सवाद र बहुलवाद’, ‘सौन्दर्यशास्त्रीय दृष्टिमा क. प्रचण्डको साहित्यिक अन्तर्वार्ता, ‘जनयुद्ध, कलात्मक सिर्जना र प्रचण्डपथको सौन्दर्यशास्त्र’, ‘नेपालमा ओपेरा :प्रयोग र प्रभाव’ शीर्षकका लेख सौन्दर्यचिन्तन अन्तर्गत पर्दछन् । २०३६ देखि २०६५ सालको अवधिमा लेखिएका सत्रवटा लेख सँगालिएको समीक्षा र सौन्दर्यमा सौन्दर्यचिन्तनसम्बन्धी चार लेख सामेल छन् : ‘साहित्यमा भावपक्ष तथा कलापक्ष बिचको सम्बन्ध’, ‘प्रगतिवादी साहित्यभित्रका विचलन र कमजोरीहरू’, ‘सौन्दर्य दर्शनको स्वरूप र पद्धति’ र ‘मार्क्सवादी सौन्दर्यचिन्तन र संशोधनवाद’ ।
चैतन्यको मार्क्सवादी सौन्दर्यचिन्तन सौन्दर्यचिन्तनका दृष्टिले खारिएको र उनका कृतिहरूमध्येको सर्वाधिक महत्वपूर्ण कृति हो । सौन्दर्यचिन्तक घनश्याम ढकालको मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचनापछिको मार्क्सवादी सौन्दर्यचिन्तनमा केन्द्रित रहेर लेखिएको यो अर्को उल्लेखनीय कृति हो । यस कृतिमा रहेका नौवटा लेखमध्ये ‘मार्क्सवादी सौन्दर्यशास्त्र : विषयवस्तु र प्रणाली’, ‘सौन्दर्यका नियमहरू : एक छलफल’, ‘सौन्दर्यचिन्तनबारे’, ‘रससिद्धान्त, साधारणीकरण र माक्र्सवाद’, ‘नेपालमा मार्क्सवादी सौन्दर्यचिन्तन’ र ‘कलाकार, कलाकृति र कलाग्राहीका बिचको त्रिकोणात्मक सम्बन्ध’ सात लेख बाहेक अन्य दुई लेख समालोचनात्मक प्रकृतिका छन् । ‘देवकोटाका कृतिमा सौन्दर्यचिन्तन’ शीर्षकको लेख महाकवि लक्ष्मीप्रसाद देवकोटाका सौन्दर्यचिन्तनसँग सम्बद्ध र मार्क्सवादी सौन्दर्यचिन्तनकै आधारमा लेखिएको लेख हो भने ‘ढकालरचित ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना : एक सङ्क्षिप्त अध्ययन’ पनि सौन्दर्यचिन्तक घनश्याम ढकालको कृतिको विवेचना हो । दुवै लेख सौन्दर्यचिन्तनमा आधारित भएकाले यसलाई मार्क्सवादी सौन्दर्यचिन्तनमा केन्द्रित कृति भनिएको हो । कृतिमा मार्क्सवादी सौन्दर्यचिन्तनका बारेमा सैद्धान्तिक ख्याख्या र विश्लेषण मात्र छैन नेपालमा मार्क्सवादी सौन्दर्यचिन्तनका बारेमा भएको अध्ययनको अध्ययन पनि सामेल छ । यो लेख कृतिकै विशेष महत्त्व राख्ने लेख हो । यस लेखमा माक्र्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा क्रियारत गोविन्द भट्ट, शक्ति लम्साल, निनु चापागाईं, ऋषिराज बराल, घनश्याम ढकाल, जगदीशचन्द्र भण्डारी, ताराकान्त पाण्डेय, गोपीन्द्र पौडेल, विष्णु प्रभात, दिल साहनी, ईश्वरचन्द्र ज्ञवाली, गङ्गा श्रेष्ठ र चैतन्य स्वयम्को लेखनका बारेमा क्रमशः अध्ययन गरिएको छ । मार्क्सवादी सौन्दर्यचिन्तनका विषयमा गहन एवम् प्रामाणिक रूपले विश्लेषण गर्नु यस कृतिको विशेषता हो । कृतिको अर्को सबल पक्ष नेपालको मार्क्सवादी सौन्दर्यचिन्तनमा देखापरेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध सशक्त रूपले वैचारिक प्रतिवाद गर्नु रहेको छ । पाश्चात्य सौन्दर्यसिद्धान्तका साथै भारतीय काव्यशास्त्रको गहन विश्लेषण समेत यस कृतिमा पाइन्छ । एउटै शीर्षकभित्र मार्क्सवादी सौन्दर्यचिन्तनका विभिन्न विषयहरूलाई समावेश गर्ने अभिरुचि लेखकमा रहेको देखिन्छ । एउटा सिङ्गो पुस्तक लेख्ने योजनाअनुरूप सिलसिलाबद्ध रूपमा यी लेखहरू नलेखिएकाले कृतिमा कतिपय सन्दर्भ केही दोहोरिएको जस्तो र केही अपुगजस्तो पनि लाग्न सक्छ, यसलाई स्वाभाविकै ग्रहण गर्नु उपयुक्त होला भन्ने लेखकको स्पष्टीकरण रहेको छ । सौन्दर्यशास्त्र र मार्क्सवादी सौन्दर्यशास्त्रका विविध र व्यापक विषयलाई कृतिमा समेटिएको पाइन्छ । तीमध्ये मुख्यतः माक्र्सपूर्वको सौन्दर्यशास्त्रको अवस्था, सौन्दर्यशास्त्रको परिभाषा, विषयवस्तु, प्रणाली, सिद्धान्त र पद्धति, सौन्दर्यशास्त्र र साहित्यको वर्गीय स्वरूप, सौन्दर्यचिन्तन र विचारधाराका बिचको सम्बन्ध, मार्क्सवादी सौन्दर्यशास्त्रको नियम र मूल विशेषता, नेपालमा कला र सौन्दर्यचिन्तनको रूपरेखा, नेपालमा प्रगतिवाद र प्रतिध्रुवीय धाराका साथै संशोधनवादको स्थिति, सुन्दरसम्बन्धी अवधारणा, सौन्दर्यानुभूति, सौन्दर्य मूल्य, सौन्दर्यका प्रवर्गहरू, सौन्दर्यको आस्वादन, सर्वोच्च सांस्कृतिक मूल्यका रूपमा सत्य, शिव, सुन्दर आदिको परिचय, कलामा सङ्ज्ञानात्मक, सङ्कल्पनात्मक र सौन्दर्यात्मक पक्षको एकरूपता र भूमिका, सौन्दर्य विकासको इतिहासमा मानवीकरण, विमानवीकरण र पुनः मानवीकरणको प्रक्रिया, कलाका विभिन्न रूपहरू, प्रकृति, मानव जीवन र ललित कलामा सौन्दर्यको परिचय, समाजवादी यथार्थवाद सहित यथार्थको कलात्मक प्रतिबिम्बन, प्रवृत्तिमूलकता र प्रतिबद्धता, प्रतिनिधिमूलकता, अन्तर्वस्तु र रूपको एकताजस्ता समाजवादी यथार्थवादका विशेषता, रससिद्धान्त र साधारणीकरणका बारेमा मार्क्सवादी दृष्टिकोण, समालोचक, समालोचनाको मापदण्ड, मूल्य र मूल्यनिर्धारण, कलाकार, कलाकृति र कलाग्राहीका बिचको त्रिकोणात्मक सम्बन्धजस्ता विषयहरू रहेका छन् ।मार्क्सवादी दृष्टिकोणका आधारमा सौन्दर्यशास्त्रसित सम्बधित विषयलाई प्रामाणिक एवम् गम्भीर रूपले विश्लेषण गर्नु यस कृतिको उल्लेख्य पक्ष हो ।
जनयुद्धको सौन्दर्यशास्त्रको प्रतिपादनका साथै एउटा समयावधिमा प्रचण्डपथ र प्रचण्डपथीय सौन्दर्यशास्त्रको प्रतिपादन, व्याख्या-विश्लेषण र पक्षपोषण गर्नु समालोचक चैतन्यको विशिष्ट पक्ष रहेको छ । चैतन्यको यस कार्यमा सहयोग पुर्‍याउने काम समालोचकहरू घनश्याम ढकाल, ऋषिराज बराल, ताराकान्त पाण्डेय आदिले गरेका छन् ।
समालोचक चैतन्यले मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी आफ्नै लेखनको मूल्याङ्कन गर्ने क्रममा भनेका छन्: ‘चैतन्यद्वारा मार्क्सवादी विश्वदृष्टिकोणका आधारमा सौन्दर्यचिन्तन र कलाको अध्ययन गर्दै तमाम प्रकारका आदर्शवादी, अधिभूतवादी तथा यान्त्रिक भौतिकवादी र संशोधनवादी चिन्तनको खण्डन गर्दै आउने काम भएको छ’ ४३ । उनको यो आत्ममूल्याङ्कन एकदमै सही छ ।
माक्र्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा कलम चलाउने अर्का साहित्यकार दिल साहनी हुन् । उनको अ सर्भे अफ माक्र्सिस्ट एस्थेटिक्स (२०६१) नामक पुस्तिकामा अ सर्भे अफ माक्र्सिस्ट एस्थेटिक्स र वर्किङ्ग क्लास क्यारेक्टर्स इन हार्ड टाइम्स दुई उपशीर्षक रहेका छन् । कृतिमा मूलतः माक्र्स-एङ्गेल्स, लेनिन, माओत्सेतुङ्गका सौन्दर्यचिन्तन सम्बन्धी धारणालाई प्रस्तुत गरिएको छ । यस अतिरिक्त प्लेखानोभ, राल्फ फक्स, रेमन्ड विलियम्स, टेरी इगल्टन आदिका विचार पनि पुस्तिकामा आएका छन् । विगतका सबै बन्धनबाट मुक्तिका साथै शान्ति, प्रसन्नता, परिवर्तन, समृद्धि, सामाजिक न्याय र समानता मार्क्सवादी साहित्य र कलाको उद्देश्य भएको समालोचक साहनीको अभिमत रहेको छ ।
मार्क्सवादी विद्वान् कृष्णदास श्रेष्ठद्वारा लिखित भौतिकवादी सौन्दर्यशास्त्र र केही समीक्षा (२०७२) यस अवधिमा सबभन्दा पछि प्रकाशनमा आएको उल्लेखनीय कृति हो । माक्र्सवादी सौन्दर्यचिन्तन र समालोचनाका जम्मा तेह्रवटा लेखहरूमध्ये ‘भौतिकवादी सौन्दर्यशास्त्र’, ‘सौन्दर्यसम्बन्धी भौतिकवादी धारणा’, ‘कलाको स्रोत, स्वरूप र सार’, ‘यथार्थवाद-आलोचनात्मक र समाजवादी’, ‘सामाजिक रूपान्तरणमा कलाको भूमिका’, ‘कला-समालोचनाको मार्क्सवादी तरिका’ र ‘केही सौन्दर्यात्मक प्रवर्गहरू’ शीर्षकका लेख मार्क्सवादी सौन्दर्यचिन्तनसित सम्बन्धित छन् । शास्त्रीय शैलीमा सरल तरिकाले विषयमाथि प्रकाश पार्नु समालोचक श्रेष्ठको विशेषता हो ।
श्रेष्ठको मतमा भौतिकवादी सौन्दर्यशास्त्र मार्क्सवादी -लेनिनवादी सिद्धान्तको आधारमा उभिएको सौन्दर्यसम्बन्धी विज्ञान हो । त्यसैले सौन्दर्यात्मक सङ्घटनाहरूको ज्ञान हासिल गर्ने र बोध गर्ने यसको तरिका द्वन्द्वात्मक भौतिकवादी हुन्छ । सौन्दर्यशास्त्र विचारधारात्मक विज्ञान भएकोले मानिसका लागि महत्त्व र मूल्यको दृष्टिकोणबाट संसारका सब कुरा यसको अध्ययनको विषयवस्तु हुन्छ ४४ । मानिसका लागि मूल्य र महत्त्वका दृष्टिबाट सामाजिक जीवनको अध्ययन गर्नु नै सौन्दर्यचिन्तनको मूल उद्देश्य हो । सौन्दर्यको सारसम्बन्धी विश्लेषण गर्ने क्रममा श्रेष्ठले वस्तु र सङ्घटनामा भएका प्राकृतिक गुणहरूलाई मानिसले आफ्नो प्रयत्नले आफ्नो हितमा उपयोग गर्छ र त्यसबाट मानिसका लागि मूल्य-गुण उत्पन्न गर्छ र यो नै उसका लागि सौन्दर्य हो भन्ने धारणा व्यक्त गरेका छन् । यसलाई उनले रुसी सौन्दर्यशास्त्री युरी बोरेभको उद्धरणबाट सरल रूपले बोध गराउने प्रयास गरेका छन्, जुन यस प्रकार छ : ‘कुनै वस्तुका त्यस्ता प्राकृतिक गुणहरूले मात्र सौन्दर्य उत्पन्न गर्छन्, जुन गुणहरू सामाजिक उत्पादनको सिलसिलामा मानिसका खाँचाहरूसित पारस्परिक रूपले सम्बन्धित रहन्छन् र जसको निर्धारण सामाजिक विकासको स्तरद्वारा हुन्छ । सौन्दर्य वस्तुगत हुन्छ, किनभने सौन्दर्य व्यक्तिको सौन्दर्यबोधमाथि निर्भर रहेको हुँदैन, बरु मानिसको लागि वस्तुको वास्तविक मूल्यमाथि निर्भर रहेको हुन्छ । यो सौन्दर्यात्मक गुण सामाजिक हुन्छ, किनभने त्यसको निर्धारण उत्पादनद्वारा हुन्छ, जसले सम्पूणर् संसारलाई मानवीय क्रियाकलापको क्षेत्रभित्र राखिदिन्छ । तसर्थ, सौन्दर्य भनेको कुनै परिघटनाको व्यापकतम सकारात्मक सामाजिक महत्त्व हो, मानवजातिको लागि त्यसको सकारात्मक मूल्य हो ४५ । श्रेष्ठले सौन्दर्यसम्बन्धी चर्चाका क्रममा कर्ता र वस्तु, मनोगत र वस्तुगतका बिचको सम्बन्धमाथि निकै जोड दिएका छन् । उनको भनाइमा : मानवद्वारा सिर्जिएका खास सौन्दर्यका वस्तुहरू प्राकृतिक शक्तिमाथि मानवजातिद्वारा प्राप्त सारा विजयहरू आदि सब मनोगत र वस्तुगत तत्त्वहरूबिच अन्र्तकृयाका प्रतिफल हुन् । तसर्थ सौन्दर्य भनेको कर्ता र वस्तुमाझको, भौतिक जगत् र मानवीय श्रममाझको द्वन्द्वात्मक सम्बन्धको उपज हो । वास्तवमा हामी जसलाई सौन्दर्य भन्छौं, त्यो मानवीय श्रमद्वारा प्राकृतिक चीजहरूका वस्तुगत जगत्का गुणहरूको सत्यतापूणर् उद्घाटन मात्र हो ४६ । यही आधारमा श्रेष्ठ सौन्दर्यको सत्यसित, वस्तुगत सत्यसित एकदमै घनिष्ठ सम्बन्ध रहेको छ भन्ने मान्दछन् । मानिसको धारणा सामाजिक आर्थिक स्थितिमाथि निर्भर हुने हुनाले स्थिति फेरिएपछि धारणा पनि स्वाभाविक र अनिवार्य रूपले फेरिन्छ४७ र यसै अनुसार सौन्दर्य सम्बन्धी मानिसको धारणा परिवर्तनशील हुनुका साथै फरक फरक जीवनपद्धतिमा भएका मानिसहरूको सौन्दर्य सम्बन्धी धारणा पनि स्वाभाविक रूपले फरक हुने गर्छ भन्ने दृष्टिकोण श्रेष्ठको छ । समालोचक कृष्णदास श्रेष्ठको यस कृतिले आफ्नो विषयप्रतिपादनका क्रममा कलाको सारतत्त्व, कलाकृतिको गुणको निर्धारण, कलाकृतिको मूल्याङ्कनको आधार, कलाकारमा हुनुपर्ने गुणहरू, सिर्जनात्मक शक्ति प्रयोगमा बाधा पुर्‍याउने तत्त्व, कलाकारले ध्यान दिन आवश्यक आन्तरिक पक्षहरू, समालोचनाको दायित्व, कलाको रूपान्तरणकारी भूमिका आदि माथि राम्रो प्रकाश पारेको छ । समालोचक कृष्णदास श्रेष्ठले यस कृतिका अतिरिक्तमार्क्सवादी समालोचनाका प्रतिपादकका रूपमा प्रख्यात रुसी मार्क्सवादी सौन्दर्यचिन्तक जर्जी प्लेखानोभको सौन्दर्यशास्त्र सम्बन्धी कृति बेनामी पत्रहरू (२०६३) को अनुवाद गरेर मार्क्सवादी सौन्दर्यचिन्तनको ज्ञानलाई नेपालमा विस्तार गर्नेमहत्वपूर्ण कार्य गरेका छन् ।

अन्य सौन्दर्यचिन्तकहरू

यस अतिरिक्त डा.जगदीशचन्द्र भण्डारी, डा.ताराकान्त पाण्डेय, डा.गोपीन्द्र पौडेल, डा.अमर गिरी, डा.रविलाल अधिकारी, डा.पशुपतिनाथ तिमल्सेना, डा.भवानी प्रसाद पाण्डे, डा.हेमनाथ पौडेल, डा.रामप्रसाद ज्ञवाली, डा.बद्रीविशाल पोखरेल जस्ता समालोचकहरूले पनि मार्क्सवादी सौन्दर्यचिन्तनका क्षेत्रमा आ-आफ्नोतरिकाले योगदान पुर्‍याउँदै आएका छन् ।

समालोचक जगदीशचन्द्र भण्डारीको सौन्दर्यको भूमिकामा रहेका तेह्रवटा लेखमध्ये ‘सन्दर्भ नवीन सौन्दर्यको’, ‘जनसमुदायको साहित्यकलाका पक्षमा’, ‘समकालीन सिर्जनशीलता र नयाँ सौन्दर्यबोध’, ‘किन लेख्ने ? के लेख्ने ?’, ‘महत्तम अनुभव र समकालीन सिर्जनशीलता’ र ‘प्रगतिवाद वर्तमान सन्दर्भमा’ शीर्षकका लेख सौन्दर्यचिन्तनसित सम्बन्धित छन् । प्रचण्डपथ, जनयुद्ध र जनयुद्धको सौन्दर्यमाथि विशेष आग्रह यी रचनाको विशेषता हो । उनको अर्को कृति सौन्दर्यको अन्वीक्षणमा रहेका बाइसवटा लेखमध्ये ‘इतिहासचेतना र मार्क्सवादी समालोचना’, ‘प्रगतिशीलता र प्रगतिवाद’, ‘जनयुद्ध : कलासाहित्यको प्रतिमान’, ‘साहित्यका प्रतिमान र तिनको पहिचान’ शीर्षकका लेख माक्र्सवादी सौन्दर्यचिन्तनसित सम्बन्धित छन् । सञ्जीवदास श्रेष्ठसित मिलेर भण्डारीले मार्क्सवादी सौन्दर्यचिन्तक हावर्ड फास्टको प्रसिद्ध कृति साहित्य र यथार्थ (२०५८) को अनुवाद समेत गरेका छन् । समालोचक ताराकान्त पाण्डेयको प्रगतिवाद र कविता शीर्षकको कृति, कलासाहित्य : भूमिका र मूल्याङ्कनमा भएको ‘कलासाहित्यको भूमिकाबारे उठेका प्रश्नहरू’, समय, सिर्जना र संवादमा भएका लेखमध्ये ‘असल सिर्जन कसरी गर्ने ?’ र ‘किन लेख्ने र के लेख्ने ?’ शीर्षकका लेख, अर्थको आनन्दमा भएका लेखमध्ये ‘अर्थको आनन्द र आनन्दको सौन्दर्यशास्त्र’, ‘कविता : सत्य, शक्ति र सौन्दर्य’ र ‘कविताको सरल सौन्दर्यशास्त्र’, समकालीन कविताको संरचनाअन्तर्गत ‘कविताको संरचना: सैद्धान्तिक ढाँचाको निरूपण’ र मार्क्सवाद सांस्कृतिक अध्यययन र साहित्यको समाजशास्त्रमा रहेको ‘कविताको समाजशास्त्र’ शीर्षकका लेख मार्क्सवादी सौन्दर्यचिन्तनसित सम्बद्ध रचनाहरू हुन् । समालोचक गोपीन्द्र पौडेलको सौन्दर्यबोध र समीक्षा विविध (२०५९) मा संलग्न ‘सुन्दर, सौन्दर्यबोध र सौन्दर्यात्मक कार्य’ शीर्षकको लेख, कथाको सौन्दर्यशास्त्र (२०६५) शीर्षकको कृति र कथाको सिंहावलोकन (२०७०) मा भएका केही लेख यही प्रकृतिका रचना हुन् । समालोचक अमर गिरीका भूमण्डलीकरण र साहित्य (२०७४) र कवितामा वर्गद्वन्द्व (२०७५) मा समावेश भएका लेखहरूका साथै समय, समाज र संस्कृति (२०६७), समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य (२०७३) र साहित्यविमर्श (२०७५) मा भएका केही लेखहरू माक्र्सवादी सौन्दर्यचिन्तनका दृष्टिले उल्लेखनीय छन् । समालोचक रविलाल अधिकारीको प्रगतिवादी नेपाली समालोचना (२०५६), पशुपतिनाथ तिमल्सेनाको प्रगतिवादी कविता मान्यता र प्रवृत्ति (२०६४), हेमनाथ पौडेलको प्रगतिवाद र कवितासम्बन्धी मान्यता (२०७५), भवानीप्रसाद पाण्डेको पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद (२०६५), बद्रीविशाल पोखरेलको प्रगतिवादी कविता सिद्धान्त र प्रवृत्ति (२०६५) र रामप्रसाद ज्ञवालीको नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्व (२०७०) जस्ता कृति यही कोटिमा पर्दछन् ।
यसका साथै समालोचक डि.आर. पोखरेल, मोहनविक्रम सिंह, अनिरुद्ध तिमसिना, डा.कपिल लामिछाने, ईश्वरचन्द्र ज्ञवाली, डा.रमेश भट्टराई, डा.कृष्णराज अधिकारीका कतिपय रचनाहरू मार्क्सवादी सौन्दर्यचिन्तनसित सम्बन्धित रहेका छन् ।
यस सन्दर्भमा ख्याल राख्नुपर्ने विषय के छ भने विद्यावारिधि उपाधि प्राप्त गर्ने वा अन्य शोधार्थीहरूले आफ्ना विभिन्न शोध प्रबन्धमा मार्क्सवादी रचना, रचनाकार वा मार्क्सवादी सौन्दर्यचिन्तनका आधारमा प्रवृत्ति, विधा आदिको अध्ययन गर्ने क्रममा मार्क्सवादी सौन्दर्यचिन्तनका कतिपय विषयको व्याख्या-विश्लेषण कुनै न कुनै किसिमले गर्ने गरेको पाइन्छ ।

सौन्दर्यचिन्तनका विशिष्ट क्षेत्रमा केन्द्रित हुने प्रवृत्ति

यही समयावधिमा विधा, उत्पीडित समुदाय जस्ता सौन्दर्यचिन्तनका विशिष्ट क्षेत्रमा केन्द्रित हुने प्रवृत्ति पनि बढेको छ । ऋषिराज बरालको उपन्यासको सौन्दर्यशास्त्र (२०५६), डा.गोपीन्द्र पौडेलको कथाको सौन्दर्यशास्त्र (२०६५), निनु चापागाईंको दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८) गोपाल खम्बुको किरात सौन्दर्यशास्त्र (२०६० उद्बोधन) यसका केही उदाहरण हुन् । दलित साहित्यका विषयमा कलम चलाउने लेखकहरूमा रणेन्द्र बराली, पदम सुन्दास, मोदनाथ प्रश्रित, घनश्याम ढकाल, ताराकान्त पाण्डेय, अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, प्रदीप ज्ञवाली, आहुति, गोपाल किराँती, रमेशप्रसाद भट्टराई, राजेन्द्र महर्जन (दलित सौन्दर्य-बोध २०७०) आदि रहेका छन् । कविताविधाको विधागत चिन्तनमा केन्द्रित रहेर सौन्दर्यचिन्तनको अध्ययनलाई अघिबढाउने कार्यमा.ताराकान्त पाण्डेयको विशेष भूमिका रहेको छ भने हेमनाथ पौडेल,.अमर गिरी,.पशुपतिनाथ तिमल्सेना र.बद्रीविशाल पोखरेल आदिले पनि कविता विधालाई नै आफ्नो क्षेत्र बनाएको देखिन्छ । कथा विधालाई केन्द्रमा राखेर अध्ययन गर्ने काममा गोपीन्द्र पौडेलको विशेष उत्साह पाइन्छ । उनको कथाको सौन्दर्यशास्त्रका अतिरिक्त कथाको सिंहावलोकन, नेपाली कथामा २००७ सालको प्रभाव प्रकाशित छन् । नारीवादी लेखनलाई मार्क्सवादी कोणबाट अध्ययन गर्ने कार्यमा सुधा त्रिपाठीको भूमिका उल्लेखनीय रहेको छ । उनका महिला समालोचक र नेपाली समालोचना र नारीवादको कठघरामा नेपाली साहित्य शीर्षकका कृति यही प्रकृतिका कृति हुन् । पर्यावरणका कोणबाट साहित्यको अध्ययनमा रमेशप्रसाद भट्टराईको अभिरुचि रहेको पाइन्छ (पर्यावरण र कवितामा समाविष्ट केही लेख) । यही अवधिमा प्रचण्डपथीय सौन्दर्यशास्त्र र जनयुद्धको सौन्दर्यशास्त्रको चर्चा जोडतोडका साथ भएको पाइन्छ । अर्को चाखलाग्दो कुरो के छ भने यस अवधिमा कृतिभित्र विषयको गम्भीर विवेचना नभए तापनि कृतिको नामाकरण गर्दा कुनै न कुनै किसिमले सौन्दर्य शब्द समावेश गर्ने प्रवृत्ति बढेको देखिन्छ । सौन्दर्यचिन्तनप्रतिको अभिरुचिमा वृद्धि, सौन्दर्यचिन्तनलाई गम्भीर विषयका रूपमा लिने चाहना र चासोको अभिव्यक्तिका रूपमा नै यसलाई लिन सकिन्छ ।

सौन्दर्यचिन्तनका विशिष्ट क्षेत्रमा केन्द्रित हुने प्रवृत्ति

यही समयावधिमा विधा, उत्पीडित समुदाय जस्ता सौन्दर्यचिन्तनका विशिष्ट क्षेत्रमा केन्द्रित हुने प्रवृत्ति पनि बढेको छ । ऋषिराज बरालको उपन्यासको सौन्दर्यशास्त्र (२०५६), डा.गोपीन्द्र पौडेलको कथाको सौन्दर्यशास्त्र (२०६५), निनु चापागाईंको दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८) गोपाल खम्बुको किरात सौन्दर्यशास्त्र (२०६० उद्बोधन) यसका केही उदाहरण हुन् । दलित साहित्यका विषयमा कलम चलाउने लेखकहरूमा रणेन्द्र बराली, पदम सुन्दास, मोदनाथ प्रश्रित, घनश्याम ढकाल, ताराकान्त पाण्डेय, अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, प्रदीप ज्ञवाली, आहुति, गोपाल किराँती, रमेशप्रसाद भट्टराई, राजेन्द्र महर्जन (दलित सौन्दर्य-बोध २०७०) आदि रहेका छन् । कविताविधाको विधागत चिन्तनमा केन्द्रित रहेर सौन्दर्यचिन्तनको अध्ययनलाई अघिबढाउने कार्यमा ताराकान्त पाण्डेयको विशेष भूमिका रहेको छ भने हेमनाथ पौडेल,.अमर गिरी,.पशुपतिनाथ तिमल्सेना र.बद्रीविशाल पोखरेल आदिले पनि कविता विधालाई नै आफ्नो क्षेत्र बनाएको देखिन्छ । कथा विधालाई केन्द्रमा राखेर अध्ययन गर्ने काममा गोपीन्द्र पौडेलको विशेष उत्साह पाइन्छ । उनको कथाको सौन्दर्यशास्त्रका अतिरिक्त कथाको सिंहावलोकन, नेपाली कथामा २००७ सालको प्रभाव प्रकाशित छन् । नारीवादी लेखनलाई मार्क्सवादी कोणबाट अध्ययन गर्ने कार्यमा सुधा त्रिपाठीको भूमिका उल्लेखनीय रहेको छ । उनका महिला समालोचक र नेपाली समालोचना र नारीवादको कठघरामा नेपाली साहित्य शीर्षकका कृति यही प्रकृतिका कृति हुन् । पर्यावरणका कोणबाट साहित्यको अध्ययनमा रमेशप्रसाद भट्टराईको अभिरुचि रहेको पाइन्छ (पर्यावरण र कवितामा समाविष्ट केही लेख) । यही अवधिमा प्रचण्डपथीय सौन्दर्यशास्त्र र जनयुद्धको सौन्दर्यशास्त्रको चर्चा जोडतोडका साथ भएको पाइन्छ । अर्को चाखलाग्दो कुरो के छ भने यस अवधिमा कृतिभित्र विषयको गम्भीर विवेचना नभए तापनि कृतिको नामाकरण गर्दा कुनै न कुनै किसिमले सौन्दर्य शब्द समावेश गर्ने प्रवृत्ति बढेको देखिन्छ । सौन्दर्यचिन्तनप्रतिको अभिरुचिमा वृद्धि, सौन्दर्यचिन्तनलाई गम्भीर विषयका रूपमा लिने चाहना र चासोको अभिव्यक्तिका रूपमा नै यसलाई लिन सकिन्छ ।

केही विचारणीय पक्ष

ने.क.पा.(माओवादी) ले २०५२ देखि २०६२ सम्म सञ्चालन गरेको जनयुद्ध र त्यससित सम्बद्ध यथार्थ र सङ्घटनाको प्रतिबिम्बिन नेपाली साहित्यमा पर्याप्त मात्रामा यही अवधिमा भएको छ र त्यो अझै हुने क्रममा छ । जनयुद्धकै जगमा भएको २०६२-०६३ को जनआन्दोलनको कारण नेपालमा राजतन्त्र विस्थापित भएर सङ्घीय, समानुपातिक र धर्मनिरपेक्ष गणतन्त्र स्थापना भएको छ । सुविदित तथ्य के हो भने जनयुद्धले पिछडिएका क्षेत्र, जाति, समुदाय, महिला, दलित आदिका बिचमा राजनीतिक-सामाजिक जागरण ल्याउन र जुधारु भवना विकसित गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । युद्धका क्रममा त्याग, बलिदान र सौर्यका उल्लेखनीय उदाहरण समेत प्रस्तुत भएका छन् । यस क्रममा जनयुद्धको सौन्दर्यशास्त्रको विकास हुनु पनि स्वाभाविक छ । यसको प्रतिपादन, व्याख्या-विश्लेषण तथा पक्षपोषण समालोचक चैतन्य, ऋषिराज बराल, घनश्याम ढकाल लगायतका समालोचकहरूले गर्दै आएका छन् । नेपालको मार्क्सवादी सौन्दर्यचिन्तनको विकासमा यसलाई एउटा महत्वपूर्ण पाटो मान्न सकिन्छ ।

समालोचक घनश्याम ढकालले जनयुद्धको सौन्दर्यशास्त्रलाई ‘मार्क्सवादी सौन्दर्यशास्त्रकै निरन्तरता’४८ वा ‘मार्क्सवादी लेनिनवादी माओवादी (मालेमावादी) सौन्दर्यशास्त्रकै निरन्तरता’४९ मानेका छन् भने सौन्दर्यशास्त्री चैतन्यले यसलाई ‘मार्क्सवादी -लेनिनवादी-माओवादी सौन्दर्यचिन्तनको जगमा खडा भएको’, ‘त्यसलाई समृद्ध तुल्याएको’ र यसलाई प्रचण्डपथको सौन्दर्यशास्त्रका रूपमा पनि ग्रहण गर्न सकिन्छ’ भनेका छन् ५० । यस अतिरिक्त जनयुद्धको सौन्दर्यशास्त्र र प्रचण्डपथको सौन्दर्यशास्त्र एउटै भएको ५१ तर्क पाइन्छ भने अर्कातिर यसलाई ‘प्रचण्डपथको सौन्दर्यचिन्तनद्वारा आलोकित’ ५२ वा ‘मालेमा तथा प्रचण्डपथीय चिन्तनद्वारा निर्देशित सौन्दर्यचिन्तन’५३ पनि भनिएको छ । जनयुद्धको सौन्दर्यशास्त्र र प्रचण्डपथको सौन्दर्यशास्त्र एउटै हुनु र जनयुद्धको सौन्दर्यशास्त्र प्रचण्डपथको सौन्दर्यशास्त्रद्वारा आलोकित वा निर्देशित हुनु भिन्न कुरा हुन् । पहिलो तर्कले दुवैलाई एउटै मान्छ भने दोस्रो तर्कअनुसार प्रचण्डपथको सौन्दर्यशास्त्रले जनयुद्धको सौन्दर्यशास्त्रलाई बाटो देखाउने काम गर्छ । यस किसिमको विश्लेषणमा असङ्गति मात्र होइन अतिरञ्जना समेत भेटिन्छ । ‘प्रचण्डपथलाई स्थगित गरिएको र त्यसमाथि प्रश्नचिह्न खडा भएको अहिलेको अवस्थामा यस अवधिमा भएको प्रगतिलाई जनयुद्धको सौन्दर्यशास्त्रकै रूपमा हृदयङ्गम गर्नु उपयुक्त हुन्छ’५४ भन्ने सौन्दर्यशास्त्री चैतन्यको भनाइ छ । सुविदित तथ्य के हो भने जनयुद्धको सौन्दर्यशास्त्रको सैद्धान्तिक व्याख्या-विश्लेषण प्रचण्डपथ र प्रचण्डपथको सौन्दर्यशास्त्रलाई प्रतिपादन गर्ने नेता र त्यसलाई स्वीकार गर्ने कार्यकर्ता र समालोचकहरूबाट नै मूलतः भएको छ । यो स्वाभाविक पनि हो । यस अवस्थामा ‘प्रचण्डपथ’ र ‘प्रचण्डपथको सौन्दर्यशास्त्र’को छाप जनयुद्धको सौन्दर्यशास्त्रको प्रतिपादन सहित व्याख्या-विश्लेषणमा नपरेको होला भन्न सकिन्न । जनयुद्धको सौन्दर्यशास्त्रलाई सही किसिमले बझ्न र स्थापित गर्नका लागि पनि त्यस किसिमको छापका बारेमा स्पष्ट हुन आवश्यक हुन्छ । प्रचण्डपथ र त्यसको सौन्दर्यशास्त्रमाथि किन प्रश्नचिह्न खडा भएको हो भन्ने कुरामा सम्बन्धित पक्षले राम्ररी प्रकाश पारेको भेटिँदैन । प्रचण्डपथको प्रतिपादन र प्रचण्डपथलाई मार्गनिर्देशक सिद्धान्त मान्ने ने.क.पा. माओवादी पार्टीको तत्कालीन निणर्यलाई कतिपय मार्क्सवादीहरूले त्यतिखेरदेखि नै वैचारिक अन्यौल, जनयुद्धको अतिरञ्जित मूल्याङ्कन, व्यक्तिपूजक प्रवृत्ति, अनुकरण र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विशेष प्रभाव स्थापित गर्ने चाहना लगायतका निम्न पुँजीवादी महत्त्वाकाङ्क्षाहरूको परिणाम भनेर आलोचना गर्दै आएका हुन् । प्रचण्डपथ स्थगित गरिनु र त्यसमाथि प्रश्न खडा हुनुमा यी कुराले के कति प्रभाव पारेका छन् वा छैनन् लेखाजोखा हुन जरुरी हुन्छ । जनयुद्धको सौन्दर्यशास्त्रले मार्क्सवादी-लेनिनवादी-माओवादी सौन्दर्यशास्त्रलाई समृद्ध समेत तुल्याएको चैतन्यको र ढकालको ५५ तर्कलाई अस्वीकार गर्न नसकिए तापनि मार्क्सवादी सौन्दर्यशास्त्रकै कतिपय विशेषताहरू जनयुद्धको सौन्दर्यशास्त्रको विशेषताका रूपमा अतिरञ्जित रूपमा दोहोरिने गरेका सन्दर्भमा जनयुद्धको सौन्दर्यशास्त्रले माक्र्सवादी सौन्दर्यशास्त्रमा थप नयाँ योगदान के कति पुर्‍याएको छ वा छैन भन्ने विषयमा पनि मूर्त रूपमा छलफल हुन आवश्यक देखिन्छ ।
नेपालको मार्क्सवादी सौन्दर्यचिन्तनको क्षेत्रमा मार्क्सवादी सौन्दर्यशास्त्रलाई साहित्यकलाका विविध विधा र विविध उत्पीडित समुदाय आदिका आधारमा खण्ड खण्ड रूपमा विभाजित गरेर सैद्धान्तीकरण गर्ने प्रक्रिया केही समय यता विकसित भएको पाइन्छ । उदाहरणका लागि उपन्यासको सौन्दर्यशास्त्र, कविताको सौन्दर्यशास्त्र, कथाको सौन्दर्यशास्त्र, दलित सौन्दर्यशास्त्र, किरात सौन्दर्यशास्त्र आदि । सौन्दर्यात्मक पक्षलाई सार्वभौम विषयका रूपमा ग्रहण गर्ने सौन्दर्यशास्त्र आफैमा जटिल र गम्भीर विषय हो । मार्क्सवादी सौन्दर्यशास्त्रलाई यसरी खण्ड, खण्ड रूपमा वा विशिष्ट रूपमा विश्लेषण गर्ने प्रक्रियाले मार्क्सवादी सौन्दर्यशास्त्रको विकासमा सहयोग पुर्‍याउला कि हानि ? यस विषयमा गम्भीर रूपले बहसको आवश्यकता देखिएको छ । दलित सौन्दर्यशास्त्रको सन्दर्भमा भएको एउटा बहसमा सौन्दर्यशास्त्री तथा समालोचक चैतन्यले ‘उत्पीडित वर्गका हक-हितको प्रतिनिधित्व गर्ने हिसाबले आज पनि मार्क्सवादी सौन्दर्यशास्त्र नै सबैभन्दा उच्च किसिमको छ । ..अनेक खालका सौन्दर्यशास्त्र भन्नु भन्दा पनि मार्क्सवादी सौन्दर्यशास्त्र भन्नु नै ज्यादा ठिक होला’५६ भनेको प्रसङ्ग समुदायका सन्दर्भमा मात्र होइन विधाका सन्दर्भमा पनि मननीय छ भन्ने मलाई लागेको छ ।

मार्क्सवादी सौन्दर्यचिन्तनको खास देन

सौन्दर्यपरक सङ्घटनालाई सुसङ्गत रूपबाट व्यवस्थित पार्ने, सौन्दर्यात्मक शाखा, प्रवर्ग र धारणा आदि निर्माण गर्ने जस्ता काम गरेर सौन्दर्यचिन्तनलाई विज्ञानको रूप दिने काम मूलतः माक्र्सवादी सौन्दर्यशास्त्रले गरेको हो । सौन्दर्यचिन्तनलाई रहस्यपूर्ण तथा आध्यात्मिक कोणबाट हेर्ने प्रत्ययवादी चिन्तनबाट पूणर्तया मुक्त बनाउनु र विज्ञानसम्मत विचारहरूको पूर्ण प्रणालीको स्थितिमा पुर्‍याउनु मार्क्सवादी सौन्दर्यचिन्तनको विशेषता हो । कलासृजन, यसका विशेषताहरू र अन्य सामाजिक सङ्घटनासँगको यसको सम्बन्धका बारेमा उपयुक्त र वैज्ञानिक दृष्टिकोण यो बाहेक अरू चिन्तनले दिन सकेका छैनन् । यसको एउटा विशेषता मानवमन र भावावेगहरूमाथि कलाको असीमित प्रभावलाई व्यक्त गर्ने सौन्दर्यपरक सङ्घटनाहरू बोध गर्न र सौन्दर्यपरक सङ्घटनालाई मानव सङ्ज्ञान र क्रान्तिकारी गतिविधिको प्रभावकारी ज्ञानको उपलब्धिका रूपमा ग्रहण गर्न सक्षम बनाउनु हो । यसको अर्को विशेषता सामाजिक जीवनका हरेक क्षेत्रमा सक्रिय रूपले संलग्न भएर कलासृजनका विशेष लक्षण, सौन्दर्यपरक आवश्यकता, प्रत्येक ऐतिहासिक युगका विशिष्ट कलात्मक रुचि र प्रवृत्तिहरू औंल्याउन सक्षम बनाउनुका साथै कुनै खास सामाजिक आधारको कलात्मक संस्कृति अर्कोमा कसरी सङ्क्रमण हुन्छ त्यसको द्वन्द्वात्मकता बोध गर्न सहयोग गर्नु पनि हो । यस अतिरिक्त मार्क्सवादी सौन्दर्यचिन्तनले भविष्यदृष्टि अवलम्बन गर्न, साम्यवादको सम्पूणर् सामाजिक तथा सौन्दर्यपरक आदर्श एवं सौन्दर्य बोध गर्न र प्रतिबिम्बन गर्न मद्दत गर्दछ । कलाका क्षेत्रमा यसले कलाको समाजिक भूमिकालाई प्रबद्र्धन गर्ने प्रयत्न गर्दछ र यसका निम्ति कलाको प्रकृतिको बारेमा सजग र सचेत रहन विशेष जोड दिन्छ । प्रत्ययवादी तथा विकृत भौतिकवादी सिद्धान्तहरूका विपरीत मार्क्सवादी सौन्दर्यचिन्तनले विश्वको सौन्दर्यपरक सङ्ज्ञानको वस्तुगत आधार मानिसहरूको सृजनात्मक, व्यावहारिक सोद्देश्य गतिविधि हो र यही गतिविधिमा नै मानिसहरूको सामाजिक सार तथा प्रकृति एवं समाजलाई रूपान्तरण गर्ने लक्ष्य लिएका उनीहरूका रचनात्मक शक्तिहरू उद्घाटित हुन्छन् भन्ने दृष्टिकोण राख्तछ ।
सौन्दर्यचिन्तनको इतिहासमा मार्क्सवादी सौन्दर्यचिन्तनको उद्भवभन्दा पहिले सौन्दर्यचिन्तनलाई कलाको सारतत्त्वको विज्ञानका रूपमा लिने कि ? विश्वको सौन्दर्यात्मक आत्मसात्करणको विज्ञानका रूपमा ग्रहण गर्ने ? भन्ने दुई खालका एकाङ्गी दृष्टिकोण अस्तित्वमा थिए ५७ । सौन्दर्यचिन्तनको क्षेत्र र व्यापकतालाई सङ्कुचित बनाउने यी गलत चिन्तनका ठाउँमा मार्क्सवादी सौन्दर्यचिन्तनले कलात्मक र सौन्दर्यात्मक दुवै पक्षलाई समन्वित रूपले सौन्दर्यचिन्तनमा स्थान दियो र यसरी सौन्दर्यचिन्तनलाई सही रूपले स्थापित गर्ने र दिशा दिने प्रयास गर्‍यो । सौन्दर्यपरक आवश्यकताबाट सौन्दर्यमूलक क्रियाकलाप र कलात्मक आवश्यकताबाट कलामूलक क्रियाकलापको जन्म भए तापनि यी दुईका बिचमा कतिपय विषयमा समानता पनि छन् । सौन्दर्यात्मक र कलात्मक परस्परविरोधी कुरा होइनन् । कलात्मक क्रियाकलाप सधैं नै सौन्दर्यपरक हुन्छ भने सौन्दर्यपरक चाहिँ सधैं कलात्मक नहुने सम्भावना रहन्छ । मार्क्सवादी सौन्दर्यचिन्तनले सौन्दर्यपरकलाई सार्वभौम मान्दछ । कलात्मक कार्यकलाप वास्तवमा सौन्दर्यपरक क्रियाकलापको सर्वोच्च र सङ्घनित रूप हो । मानिसले निर्माण गरेका सम्पूर्ण रचनालाई व्यापक अर्थमा कला भन्ने गरिन्छ । मानवजातिले आफ्नो दैनिक आवश्यकताहरू परिपूर्ति गर्न आफ्नो श्रम लगाएर निर्माण गरेका औजारदेखि आत्मिक आवश्यकता परिपूर्ति गर्नका लागि सिर्जना गरेका सबै कुराहरू यसभित्र पर्दछन् । कलामा सौन्दर्य निहित हुन्छ । ललितकला सौन्दर्यको सङ्घनित र सर्वोच्च रूप हो । कलात्मक क्रियाकलाप सौन्दर्यात्मक क्रियाकलापको सर्वोच्च र विशिष्ट रूपका रूपमा सौन्दर्यात्मक क्रियाकलापबाट विकसित भएको अर्को विशिष्ट आवश्यकता र क्रियाकलाप मात्र हो र यो सौन्दर्यात्मक क्रियाकलापको अत्युत्तम आदर्श अभिव्यक्ति पनि हो । त्यसैले सौन्दर्यात्मक क्रियाकलाप कलात्मक क्रियाकलापभन्दा विस्तृत हुनुका साथै कलात्मक क्रियाकलापको पूर्ववर्ती पनि हो । यसरी मार्क्सवादी सौन्दर्यचिन्तनमा सौन्दर्यपरक र कलात्मक क्रियाकलाप दुवैको अध्ययन-विश्लेषण हुने गर्दछ । मार्क्सवादी सौन्दर्यचिन्तनको यस विशिष्टतालाई ध्यान दिँदै मार्क्सवादी सौन्दर्यशास्त्री चैतन्यले भनेका छन् : सौन्दर्यशास्त्र प्रकृति, समाज र कलामा विद्यमान सौन्दर्यका आधारभूत नियमहरूको अध्ययन गर्ने एक संश्लेषित परन्तु विशिष्ट शास्त्र हो ५८ । मानवजातिका निम्ति मूल्य राख्ने अर्थात् सौन्दर्यपरक महत्त्व भएका सम्पूर्ण यथार्थ एवम् सङ्घटनामा भैरहेका प्रक्रियाहरू, मानिस र उसका सबै किसिमका गतिविधिहरू, संस्कृति र यसका सबै उत्पादहरू सबै नै सौन्दर्यचिन्तनका विषय हुन् । कलाबाहिरको सौन्दर्यचिन्तको सम्पूर्ण भागलाई व्यावहारिक सौन्दर्यचिन्तन र प्रौद्योगिक सौन्दर्यचिन्तनका रूपमा विभाजित गर्ने गरिन्छ । व्यावहारिक सौन्दर्यचिन्तन अन्तर्गत दैनिक जीवन, मानवव्यवहार र विज्ञान, खेलकुद आदि क्षेत्रका सृजनात्मक कामहरू पर्दछन् भने प्रौद्योगिक सौन्दर्यचिन्तनभित्र मूलतः डिजाइनको सिद्धान्त पर्दछ ५९ ।त्यसैले मार्क्सवादी सौन्दर्यचिन्तनका बारेमा छलफल गर्दा स्वाभाविक रूपमा कलात्मक पक्षका साथै सौन्दर्यात्मक पक्षको सारतत्त्व तथा प्रकृतिको चर्चा अपरिहार्य हुन्छ ।

कलाको सारतत्त्व र प्रकृति

कलाको सार र प्रकृतिको निर्धारण गर्नु मार्क्सवादी सौन्दर्यचिन्तनको प्रमुख कार्यभित्र पर्दछ । कलाको सारतत्त्वको व्याख्या इतिहासका विभिन्न चरणहरूमा विभिन्न तरिकाले हुँदै आएको छ । यथार्थका सम्बन्धमा आफ्नो दृष्टिकोण, कलाको विकासका क्रममा देखा परेका विविध चरणहरूको चरित्र, समाज र सामाजिक जीवनमा कलाको स्थान, भूमिका र महत्त्वको आधारमा यस प्रश्नको जवाफ विभिन्न कलाकार र सौन्दर्यशास्त्रीहरूले भिन्न भिन्न रूपमा दिने गरेका छन् । तथापि भौतिकवादी दृष्टिकोणबाट हेर्दा कला यथार्थको पुनरुत्पादनको एउटा विशिष्ट रूप मानिन्छ । आफुभन्दा अघि प्रकट भएको कलात्मक सृजनको प्रकृति र कला एवम् यथार्थका बिचको सौन्दर्यात्मक सम्बन्धमा देखा परेका भौतिकवादी सामान्यीकरण र निष्कर्षलाई आधार बनाएर मार्क्सवादीसौन्दर्यशास्त्रको जग खडा भएको छ र मार्क्सवादले नै कलाको प्रकृतिका बारेमा राम्ररी व्याख्या गरेको छ । मार्क्सवादभन्दा पहिले देखा परेका सिद्धान्तहरूले कलाको सारतत्त्वलाई सामाजिक सङ्घटनाको एउटा तत्त्वका रूपमा समुचित रूपले उद्घाटन गर्न सकेका थिएनन् । किनभने त्यतिखेर इतिहास दृष्टि राम्ररी विकसित हुन पाएको थिएन र ऐतिहासिक भौतिकवादको प्रतिपादन भएको थिएन ।
प्रत्ययवादी सौन्दर्यशास्त्रले कलाको प्रकृतिको सैद्धान्तिक व्याख्या र प्रतिपादन मूलतः असम्भव मान्दछ । प्रत्ययवादी सौन्दर्यशास्त्रीहरू कलात्मक सृजनको सैद्धान्तिक व्याख्याले सृजनलाई विखण्डन गर्ने हुनाले कला अध्ययन एवम् विश्लेषणको विषय बन्न सक्तैन भन्ने ठान्दछन् । जर्मन दार्शनिक मार्टिन हेडेगर (१८८९-१९७६) हुन् वा सौन्दर्यशास्त्रीय सिद्धान्तहरूको उत्पत्ति तथा अस्तित्व कलात्मक व्यवहारलाई मनुष्यद्वारा यथार्थलाई बुझ्ने प्रक्रियासित जोड्ने प्रयास कृत्रिम तथा हानिकारक छ भन्ने फ्रेन्च लेखक आन्द्रे मालरो (१९०१-१९७६) हुन् सबै अतर्कबुद्धिवादी र अस्तित्ववादी चिन्तकहरू कलात्मक सृजनको सैद्धान्तिक अवबोधन हुन सक्तैन भन्ने ठान्दछन् । त्यति मात्र होइन अतर्कबुद्धिवादी दर्शनसित प्रत्यक्ष सम्बन्ध नभएका कतिपय लेखकहरू पनि यस्तै किसिमको धारणा राख्तछन् । नव प्रत्यक्षवादी तर्कबुद्धिपरक प्रत्ययवादले कलालाई मूलतः भाषाका रूपमा व्याख्या-विश्लेषण गर्दछ । सामाजिक ऐतिहासिक अनुभवहरूलाई बहिष्कार गर्दछ, सङ्केत पद्धति जस्ता अर्थमूलक उपागमको महत्त्वलाई अतिरञ्जित रूपमा महत्त्व दिन्छ र कलालाई भाषामा मात्र सीमित पार्दछ । यस अतिरिक्त विज्ञानको बढ्दो प्रभाव स्वरूप कलामा प्रयोग हुन थालेको अर्थवैज्ञानिक, तन्त्रसंरचनात्मक तथा मनोवैज्ञानिक विश्लेषण आदिले पनि कलाको प्रकृति विषयक प्रश्नको जवाफ दिँदैनन् । कृतिको संरचनाको अध्ययनमा आफुलाई सीमित राख्ने र यथार्थबाट पृथक् अन्तरमनको अवैज्ञानिक व्याख्या गर्ने यी पद्धतिहरूले कलाको सामाजिक एवम् विचारधारात्मक अन्तर्वस्तु तथा विचारको विश्लेषण र मूल्याङ्कन गर्ने कार्यलाई सर्वथा तिरस्कार गर्दछन् । हिजोआज प्रचलनमा रहेका उत्तरवादका विभिन्न धाराले पनि कलाको प्रकृति र सारको व्याख्या-विश्लेषण गर्ने कार्यमा चासो राख्तैनन् । मार्क्सवादी सौन्दर्यचिन्तन मात्र कलासाहित्यको वस्तुवादी, वैज्ञानिक र सही विश्लेषण र व्याख्या गर्न समर्थ छ ।
कलाको सामाजिक प्रकृति, यसको विचारधारात्मक रूप, यसले अन्य विचारधाराका रूपहरूमाथि पार्ने प्रभाव र यसको सापेक्ष स्वतन्त्रताको सन्दर्भमा कुरा गर्दा मार्क्सवादका प्रवर्तक, महान् चिन्तक कार्ल माक्र्स (१८१८-१८८३) को एउटा अति महत्त्वपूणर् उक्तिलाई बारम्बार उल्लेख गर्ने गरिन्छ । त्यसमा उनले भनेका छन् : ‘मानिसहरू आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरूमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरूको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादनसम्बन्धहरू भौतिक शक्तिहरूको विकासको एक निश्चित चरणको अनुरूप हुन्छन् । यी उत्पादनसम्बन्धहरूको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक जग हो, जसमा न्यायिक एवम् राजनीतिक आधेय खडा हुन्छ र सामाजिक चेतनाका निश्चित रूपहरू जसको अनुरूप हुन्छन् । आम रूपमा नै जीवनका सामान्य सामाजिक, राजनीतिक तथा बौद्धिक प्रक्रियाहरू भौतिक जीवनको उत्पादनप्रणालीमा निर्भर हुन्छन् । मानिसहरूको चेतनामा उनीहरूको अस्तित्व निर्भर हुने होइन, अपितु यसको उल्टो उनीहरूको सामाजिक अस्तित्वमा उनीहरूको चेतना निर्भर हुन्छ । विकासको निश्चित चरणमा पुगेपछि समाजका भौतिक उत्पादनशक्तिहरू विद्यमान उत्पादनसम्बन्धसँग अर्थात् यही कुरा कानुनी भाषामा व्यक्त गर्ने हो भने ती स्वामित्वका रूपहरूसँग बाझिन्छन्, जसभित्र अहिलेसम्म तिनको विकास हुँदै थियो । अब यी सम्बन्धहरू उत्पादनशक्तिहरूको विकासको रूपबाट तिनको बन्धन बन्न पुग्दछन् र त्यस बेला सामाजिक क्रान्तिको युग सुरु हुन्छ । आर्थिक आधारमा परिवर्तनका साथै सम्पूणर् बृहदाकार आधेय धेरथोर तीव्र गतिले बदलिन थाल्दछ । यस्ता परिवर्तनहरूको विश्लेषण गर्दा उत्पादनको आर्थिक परिस्थितिको भौतिक रूपान्तरणबाट, जुन कुरा प्रकृति विज्ञानको प्रमाण्यतासाथ ठम्याउन सकिन्छ, न्यायिक, राजीतिक, धार्मिक, कलात्मक अथवा दार्शनिक, सङ्क्षेपमा वैचारिक रूपहरूलाई छुट्ट्याउनुपर्दछ, जसको सीमाभित्र मानिसहरू यस टक्करप्रति सचेत हुन्छन् र त्यसको समाधानको लागि सङ्घर्ष गर्दछन्..६०
यस सन्दर्भमा माक्र्सवादका अर्का प्रवर्तक एवम् महान् चिन्तक फ्रेडरिक एङ्गेल्सले डब्लु. बोर्गिउसलाई लेखेको चिठी पनि कम महत्त्वपूणर् छैन । त्यस चिठीमा एङ्गेल्सले लेखेका छन् : ‘राजनीति, न्याय, दर्शन, धर्म, साहित्य, कला आदिको विकास आर्थिक विकासमा आश्रित हुन्छ । तर यी सबैले एक अर्कालाई र आर्थिक आधारमाथि पनि प्रभाव पारिरहेका हुन्छन् । आर्थिक अवस्था नै कारण हो, एक मात्र सक्रिय तत्त्व हो र बाँकी सबै कुरा निष्क्रिय परिणाम मात्रै हुन् भन्न सकिँदैन । बरु आर्थिक आवश्यकताको आधारमा नै, जुन अन्ततोगत्वा प्रभावशाली हुन्छ, अन्योन्यक्रिया चलिरहेको हुन्छ..’६१
साहित्य र कला विचारधाराका रूप हुन्, मूलतः समाजको आर्थिक जीवनमा आधारित भएर पनि यिनले त्यसलाई समेत प्रभाव पार्दछन् र सामाजिक चेतनाका सबै रूपहरू एक अर्काबाट प्रभावित हुन्छन्, आधारमा परिवर्तन हुनासाथ अधिरचनामा वा विचारधारात्मक निर्मितिमा पनि घटीबढी परिवर्तन हुने गर्दछ, तर यस्तो परिवर्तनका बारेमा विचार गर्दा आर्थिक स्थिति र विचारधारात्मक रूपका बिच अन्तर गर्नुपर्दछ, विचारधाराका रूपहरू सापेक्ष रूपबाट स्वतन्त्र रहन्छन्, यही निचोड माथिका उद्धरणबाट प्राप्त गर्न सकिन्छ । युनानी कला र सेक्सपियरको उदाहरण दिएर कला र समाजको आम विकास तथा भौतिक आधारका बिच यान्त्रिक मेल हँदैन भनी मार्क्सले गरेको सङ्केतलाई पनि यही सन्दर्भमा स्मरण गर्नु उचित हुन्छ । मार्क्स र एङ्गेल्सले विचारधाराका क्षेत्रमा देखिने असमान विकासका बारेमा अन्यत्र पनि चर्चा गरेका छन् । एङ्गेल्सले दर्शनको क्षेत्रमा इङ्ग्ल्यान्डको तुलनामा पछौटे भएर पनि, इङ्ग्ल्यान्डको दर्शनमाथि आफ्नो दर्शनलाई आधारित गरे तापनि दर्शनको क्षेत्रमा फ्रान्स अगाडि बढेको र यी दुवै देशभन्दा पछि भएर पनि पछि जर्मनी यी देशभन्दा दर्शनमा अघि बढेको सन्दर्भलाई यसको प्रमाणका रूपमा अघिसारेका छन् ।
कलाको प्रकृति अत्यन्त जटिल, बहुमुखी र विविधतापूर्ण हुन्छ । कला कुनै खास सामाजिक जीवनले मानव मस्तिष्कमा पारेको प्रभावको उपज हो । तर मार्क्सवादी सौन्दर्यशास्त्रले कलालाई साधारणतया यथार्थको प्रतिबिम्बन मात्र होइन कलात्मक सक्रिय सृजन, सौन्दर्यात्मक, व्यावहारिक एवम् सांस्कृतिक क्रियाकलापको विशिष्ट नमुना, मानवद्वारा गरिने यथार्थको सौन्दर्यात्मक हृदयङ्गमको एक रूप, चिन्तनको विशिष्ट प्ररूप र श्रमको विशिष्ट रूप समेत मान्दछ ।
इतिहासको भौतिकवादी व्याख्या र लेनिनको प्रतिबिम्बन सिद्धान्तको आधारमा मार्क्सवादी लेनिनवादी सौन्दर्यशास्त्रले कलालाई सामाजिक चेतनाको अभिव्यक्ति तथा मानवद्वारा गरिने यथार्थको व्यावहारिक-आत्मिक हृदयङ्गमको एउटा रूप मान्दछ । यो प्रस्थापना विशेषतः कलाको सामाजिक सारतत्त्वको विश्लेषणबाट निकालिएको निष्कर्ष हो । सामाजिक चेतना मानव, समाज र प्रकृति आदि वस्तुगत यथार्थलाई प्रतिबिम्बित गर्ने मानिसहरूका विचार, दृष्टिकोण, सामाजिक भावना, बानीबेहोरा, सिद्धान्त र रीतिरिवाजहरूको समुच्चय हो । मानिसको सामाजिक अस्तित्व नै सामाजिक चेतनाद्वारा प्रतिबिम्बन गरिने मुख्य विषय हो । सामाजिक चेतनाको स्थान गौण र द्वितीयक किन हुन्छ भने मानिसको सामाजिक अस्तित्व नरहेको भए सामाजिक चेतना पनि अस्तित्वमा आउने थिएन । सामाजिक चेतनाभित्र राजनीतिक विचार, कानुनी विचार, नैतिकता, विज्ञान, कला, दर्शन र धर्म जस्ता बौद्धिक र आत्मिक जीवनका विविध रूपहरू पर्दछन् । यी रूपहरू घनिष्ट तथा एक आपसमा सम्बन्धित र एक अर्काबाट प्रभावित हुन्छन् । किनभने आ-आफ्ना फरक रूप र सम्बन्धहरूमा यी सबले उही यथार्थ जगत्को वा यथार्थका विविध सङ्घटना र पाटाहरूलाई नै अनुसन्धान गर्ने र त्यसमाथि प्रभाव पार्ने प्रयास गर्दछन् । सामाजिक चेतनाका यी रूपहरूका माझ ठुलो पार्थक्य छ र केही लक्षण र पक्षहरू यी सबैमा समान रूपमा भेटिन्छन् पनि ।
विचारधारात्मक र सङ्ज्ञानात्मक तत्त्व सौन्दर्यात्मक तत्त्वसित अन्तर्घुलन भएर व्यक्त हुनु कलाको विशेषता हो । कलामा सौन्दर्यात्मक तत्त्व विशिष्ट हुन्छ । कारण विचारधाराका अन्य रूप वा सामाजिक चेतनाका हरेक रूपमा विचारधारात्मक र सङ्ज्ञानात्मक तत्त्व अनिवार्यतः पाइन्छन् । प्रकृति तथा समाजसित सम्बन्धित वस्तुगत ज्ञान वा सत्यको सञ्चिति अर्थात् समाजमा वास्तविक जीवनानुभवको व्यावहारिक हितद्वारा निर्मित सङ्ज्ञानात्मक प्रक्रिया र शत्रुतापूर्ण समाजको उत्पत्ति अन्तर्गत ऐतिहासिक सामाजिक सन्दर्भमा कार्यरत विभिन्न वर्गहरूको स्वार्थद्वारा निर्मित विचारधारात्मक प्रक्रिया अर्थात् विभिन्न वर्गहरूका आ-आफ्ना विचारधाराहरूको उत्पत्ति, विकास र उत्तराधिकारको प्रक्रिया यी दुई तत्त्व सामाजिक चेतनाका हरेक रूपहरूमा हुन्छ । सैद्धान्तिक विश्लेषणका निम्ति तिनलाई पृथक् गरिए तापनि वास्तविक जीवनमा यी दुई प्रक्रियाहरू घनिष्टतम रूपमा गाँसिएका हुन्छन् । यी दुई तत्त्व कलासाहित्यमा अनिवार्यतः हुन्छन्, तर अरू सामाजिक चेतनाका रूपमा नपाइने सौन्दर्यात्मक पक्ष कलासाहित्यमा थप पाइन्छ र कलासाहित्यको यो विशेष पक्ष हो, विशेषता हो । कलाको विशेषता भनेकै सङ्ज्ञानात्मक तथा विचारधारात्मक तत्त्व सौन्दर्यात्मक तत्त्वका माध्यमबाट प्रकट हुनु हो । कलाले वास्तविक सङ्घटनाको पुनरुत्पादन र मूल्याड्ढन सङ्घटनाको सौन्दर्यात्मक गुणअनुसार, सौन्दर्यको नियमअनुसार सौन्दर्यात्मक प्रवर्गहरूको माध्यमबाट सौन्दर्यात्मक आदर्शलाई ख्याल राखेर मात्र गर्दछ । कलात्मक सृजनको यो सौन्दर्यात्मक सारलाई बुझ्न नसक्ता जडसूत्रवादले जन्म लिन पुग्छ र सौन्दर्यशास्त्र र सृजन कार्यलाई आघात पुर्‍याउँछ ।

कलाको सङ्ज्ञानात्मक पक्ष

मार्क्सवादी सौन्दर्यशास्त्रको आधारभूत काममध्ये एउटा काम कलाको सङ्ज्ञानात्मक अन्तर्वस्तु र सङ्ज्ञानात्मक महत्त्वलाई स्वीकृति प्रदान गर्नु हो । कलाको प्रकृतिको विश्लेषणमा प्रतिबिम्बन सिद्धान्तको उपयोग कलाको सङ्ज्ञानात्मक अन्तर्वस्तु र महत्त्वलाई स्वीकृति दिनुकै प्रत्यक्ष र तार्किक परिणाम मात्र हो । सङ्ज्ञानका विधिको मूलमा प्रकृति तथा समाजका वस्तुगत नियम अन्तर्निहित हुन्छन् र यथार्थको वस्तुगत नियमहरूलाई प्रतिबिम्बित गर्ने सङ्ज्ञान विधि मात्र विज्ञानसम्मत हुन्छ भन्ने मार्क्सवादी दृष्टिकोण छ । सङ्ज्ञान वस्तुतः मानव ज्ञानलाई मूर्त रूप दिने मानिसहरूको सृजनात्मक क्रियाकलापको सामाजिक ऐतिहासिक प्रक्रिया हो । द्वन्द्वात्मक भौतिकवादी सङ्ज्ञान सिद्धान्तले सङ्ज्ञानको आधार एवम् सही ज्ञानको कसौटीका रूपमा व्यावहारिक क्रियाकलापलाई मान्दछ ।

कला जीवन र जगत्लाई सौन्दर्यपरक रूपबाट बोध गराउने प्रभावशाली साधन हो । ज्ञानको सञ्चारण कलाको अति महत्त्वपूणर् र वस्तुगत कार्य हो । ज्ञानप्रसारणको साधनका रूपमा कलाले अनुभव र सूचनाहरू सञ्चार गराउनुका साथै चिन्तन एवम् सामान्यीकरणका प्रवृत्तिहरू, मानसिक अभिवृत्तिहरू बोध गराएर शैक्षिक प्रकार्य समेत पुरा गर्दछ । कलाद्वारा सम्प्रेषित अनुभवहरूले विशिष्ट किसिमले मान्छेको व्यक्तिगत जीवनानुभवलाई समृद्ध पार्दछन् । ऐतिहासिक रूपबाट सीमित मानव अनुभवलाई कलाले फराकिलो बनाउँछ र मानिसलाई सौन्दर्यात्मक रूपबाट सङ्गठित, सङ्कलित र सामान्यीकृत चिन्तनबाट निःसृत अनुभवहरूबाट सुसम्पन्न बनाउँछ । आफुमा समाहित असीम सूचना सामग्री एवम् वैयक्तिक र सामूहिक अनुभवहरूको प्रकाशद्वारा कलाले मनुष्यलाई ऊ र विश्वका बारेमा ज्ञान हासिल गर्न सहयोग पुर्‍याउँछ । यथार्थसित मानवको सौन्दर्यात्मक सम्बन्ध कलाको विशिष्ट विषय हो भने कार्यभार चाहिँ जीवन र जगत्लाई कलात्मक रूपबाट बोध गराउनु नै हो । यही कारण कलाको केन्द्रबिन्दु मनुष्य, मानव नियति, मानिसको सामाजिक सम्पर्क सूत्र, जीवनमा मानिसको स्थान र प्रयोजन, मानिसका बिचको पारस्परिक सम्बन्ध, प्रदत्त ऐतिहासिक स्थितिमा मानिसहरूको जीवनप्रक्रिया एवम् क्रियाकलाप र मानव अस्तित्वको सार्थकता आदि रहँदै आएको छ । मानव, प्रकृति, परिवेश र मानव सम्बन्धसित सम्बद्ध विविध किसिमका समस्याहरूको उद्घाटनमा कलाको जस्तै दर्शनको पनि रुचि पाइन्छ तापनि कलात्मक अनुसन्धान एवम् अन्वेषणको विषय सामान्यतः सम्पूणर् विश्व नै हो । कलाको परिभाषा कलाका विविध पाटाहरूको आधारमा विभिन्न किसिमले दिन सकिन्छ । तथापि मानवीय आत्मिक संस्कृतिमा कलाको स्थानको निर्धारण भने सर्वप्रथम विश्वको कलात्मक अवबोधनका रूपमा मात्र गर्न सकिन्छ । कलाको विशिष्ट कार्यको निर्धारण, कलामा यथार्थको प्रतिबिम्बनको विषय र रूपले गर्दछ । समुन्नत जीवन यापनको उद्देश्यले मानिसलाई सामाजिक रूपान्तरणका लागि क्रियाशील बनाउनु, आत्मिक रूपहरूबाट समृद्ध बनाउनु, मनुष्यमा रहेको कलाकारलाई सौन्दर्यको नियमअनुसार सृजना गर्न उत्प्रेरित गर्ने कृतिहरू आपूर्ति गरेर ग्रहणकर्ताको सौन्दर्यात्मक आवश्यकता पूर्ति गर्नु कलाको विशिष्ट कार्यभित्र पर्दछ । यही सौन्दर्यात्मक कार्यको माध्यमबाट नै कलाको निजी सङ्ज्ञानात्मक महत्त्व उद्घाटन हुन्छ । यसैद्वारा कलाले आप्mनो विचारधारात्मक तथा शैक्षिक प्रभाव पार्दछ ।
कलात्मक सङ्ज्ञानको महत्त्वलाई स्वीकार गर्नुको अर्थ कलाले विश्वसम्बन्धी हाम्रो सङ्ज्ञानमा वृद्धि ल्याउँछ भनेर मान्नु हो । यसको तात्पर्य विज्ञानसित कलाको कलात्मक एवम् वैज्ञानिक ज्ञानका निम्ति निश्चित समानभूमि हुन्छ र कलाको विज्ञानसित कतिपय विषयमा समानता छ भनेर स्वीकार गर्नु पनि हो । निश्चय नै सामाजिक चेतनाका यी दुई रूपहरूमा पर्याप्त असमानता छन् । तर पनि जीवनका विषम अनुभवहरूमाथि प्रकाश छर्ने काममा विज्ञान र कला समान पनि छन् । विज्ञानले झै कलाले पनि विभिन्न ऐतिहासिक अवधि र देशका जन जीवनका बारेमा ज्ञान दिने, वास्तविक जीवनका सङ्घटनाहरूको सारतत्त्वका बारेमा परिचय गराउने, साधारण परिवेशमा अन्तर्निहित जीवनानुभवमा विद्यमान सजिलै पक्रन नसकिने गूढ पक्षहरूलाई बोध गराउने काम गरेर ज्ञानको क्षितिजलाई फराकिलो पार्दछ । आफ्नो ठोस संवेदनात्मक चरित्रका कारणले कलामा परिचित वस्तुमा नयाँ पक्षको खोजी गर्न सक्ने क्षमता रहेको हुन्छ । कतिसम्म भने साधारण र स्वाभाविक जस्ता लाग्ने कुराहरूमा समेत कलाले असाधारण कुराको उद्घाटन गर्दछ र दैनिक जीवनका परिचित पक्षहरूको प्रतिबिम्बन गर्दा समेत अनुभूतमा अननुभूत र अननुभूतमा अनुभूत जीवनका पाटाहरूलाई समावेश गर्दछ । यही तर्कका आधारमा कतिपय विचारकहरू कलाको सङ्ज्ञानात्मक सामथ्र्य असीमित छ, मनुष्यका आत्मिक क्रियाकलापका अन्य कुनै रूपहरूले यसको स्थान ग्रहण गर्न सक्तैनन् र यसले प्रभाव नपार्ने मानव समाजको कुनै क्षेत्र नै छैन भन्ने दाबी समेत गर्दछन् । उनीहरूका दृष्टिमा सामाजिक चेतनाका अन्य रूपहरूका आ-आफ्नै क्षेत्र छन् । नीतिशास्त्रले नैतिक चेतना, राजनीतिशास्त्रले राजनीतिक दृष्टिकोण, दर्शनशास्त्रले विश्वका बारेमा सामान्य ज्ञान र विज्ञानले कुनै खास क्षेत्रको विशेष ज्ञान निर्माण गर्दछ भने कलाले चाहिँ एकै पटक मन र मस्तिष्क दुवैलाई र मानव जीवनका सबै क्षेत्रलाई प्रभाव पार्दछ ।
मार्क्सवादी सौन्दर्यशास्त्रका अनुसार कलामा उद्घाटित जीवनानुभवको अन्तर्वस्तु र रूप विज्ञानद्वारा प्रकाशित ज्ञानको अन्तर्वस्तु र रूप भन्दा फरक हुन्छ । तर वैज्ञानिक वस्तुपरकता र कलात्मक वस्तुपरकता विपरीत दिशामा गतिशील हुन्छन् भन्ने विचारलाई भने मार्क्सवादी सौन्दर्यशास्त्रले मान्दैन । कलाबाट प्राप्त ज्ञान र विज्ञानबाट प्राप्त ज्ञान परस्पर विरोधी हुन्छन् भन्ने होइन । विज्ञानले वस्तुहरूलाई प्रमाणित गर्ने काम गर्दछ भने वस्तुहरूलाई चित्रण वा प्रदर्शन गर्ने काम कलाले गर्दछ । विश्वको सार्वभौम चित्र प्रतिबिम्बन गर्नका लागि विज्ञान र कला एक अर्काका पूरक र पारस्परिक रूपले अपरिहार्य समेत छन् । यस सन्दर्भमा विचारणीय पक्ष के छ भने कलाले उद्घाटन गर्न नसकेका कतिपय जीवनका सङ्घटनालाई विज्ञानले अनुसन्धान गरेको छ भने कलाकारहरूले पनि वैज्ञानिकहरूको क्षमताले प्रमाणित र विश्लेषण गर्न नसकेका कतिपय सङ्घटनाहरूको गहन विश्लेषण गरेर सबैलाई चकित पारेका छन् ।
सौन्दर्यचिन्तनको क्षेत्रमा सङ्ज्ञान सिद्धान्त (ज्ञानमीमांसा) को समस्या तीव्र वैचारिक सङ्घर्ष र उग्र विवादको विषय बन्दै आएको छ । कलाको सङ्ज्ञानात्मक महत्त्वलाई उपेक्षा गर्ने काम प्रायः कलामा अन्तर्निहित वैचारिक एवम् शैक्षिक प्रकार्यलाई निषेध गर्ने प्रत्ययवादी चिन्तकहरूले गर्दै आएका छन् । विचारधाराबाट कलालाई अलग गर्नु कलाको अज्ञानमीमांसीयकरणको मुख्य अभिप्राय हो । कलालाई विचारधारा निरपेक्ष बनाउने अभिप्राय र प्रयत्न कतिपय बुर्जुवा एवम् संशोधनवादी धारणाको खास विशेषता मानिन्छ । कलालाई विचारधारा निरपेक्ष बनाउने प्रयत्नले कलात्मक सङ्ज्ञानको पूणर्तः विरोध मात्र गर्दैन कलात्मक सङ्ज्ञानको महत्त्वलाई न्यून समेत पार्दछ । कलाको सङ्ज्ञानात्मक महत्त्वलाई नमान्नु, त्यसलाई न्यून पार्नु र कलालाई विचारधारा निरपेक्ष बनाउनु एउटै सिक्काका दुई पाटा हुन् । कलामा विचारधारा र कलात्मक सङ्ज्ञानको विरोधको मुख्य उद्देश्य कलाको सामाजिक प्रकृति विचारधारात्मक प्रकार्यसित छुट्ट्याउनै नसकिने गरी गाँसिएको हुन्छ भन्ने माक्र्सवादी सौन्दर्यशास्त्रको आधारभूत प्रस्थापनाको प्रत्याख्यान गर्नु रहेको छ ।
कलात्मक सङ्ज्ञानको विरोध गर्नेहरूले कलामा विद्यमान सङ्ज्ञानात्मक तत्त्वलाई न्यूनीकरण गर्नु वा अस्वीकार गर्नुको अर्को कारण प्रतिबिम्बन सिद्धान्तको मूल आधार यथार्थ र प्रतिबिम्बनको कलात्मक विधि यथार्थवादको विरोध गर्नु रहेको छ । यथार्थवादी कलामा जगत्सित मानिसको सम्बन्ध र त्यसको प्रकृतिको कलात्मक अन्वेषणलाई स्वयम् विश्वको सङ्ज्ञानबाट पृथक् गर्न सकिन्न ।
प्रत्ययवादले दर्शनशास्त्रको प्रारम्भदेखि नै कलाको सङ्ज्ञानात्मक तत्त्व र अन्तर्वस्तुका बारेमा प्रश्न उठाउँदै आएको छ । प्लेटोले कलालाई परम ब्रह्म वा पूर्ण प्रत्ययको सङ्ज्ञानको सबैभन्दा तल्लो स्तरका रूपमा प्रस्तुत गरेका छन् । कलालाई विश्वको कलात्मक सङ्ज्ञानका रूपमा चिनाउने र कलात्मक सङ्ज्ञानका बारेमा क्रमबद्ध तथा पूणर्तः दरिलो तर्क प्रस्तुत गर्ने हेगेलले समेत कलालाई सङ्ज्ञानको निम्न तहका रूपमा पेस गरेका छन् ।
आधुनिक बुर्जुवा सौन्दर्यशास्त्रको विधिवैज्ञानिक कमजोरी ज्ञानमीमांसीय समस्यालाई समाधान गर्ने सन्दर्भमा दुई किसिमका प्रवृत्तिमा फेला पर्दछन् । कलाको सङ्ज्ञानात्मक महत्त्वलाई मान्यता नदिनु वा ज्ञानमीमांसीय पक्षलाई प्रत्यक्ष रूपले नै अस्वीकार गर्नु पहिलो प्रवृत्तिको विशेषता हो । दोस्रो प्रवृत्तिले चाहिँ प्रतिध्रुवमा पुगेर कलालाई सङ्ज्ञानको झन्डै एक मात्र रूप ठान्दछ । प्रत्यक्षवाद, नवप्रत्यक्षवाद पहिलो कोटिमा पर्दछन् भने अन्तःप्रज्ञावाद र अतर्कबुद्धिवादी दर्शनका विविध धाराहरू दोस्रो कोटिमा पर्दछन् । यी दुवै प्रवृत्तिको उद्देश्य र अभिप्राय वैज्ञानिक, माक्र्सवादी विधिविज्ञानको विरोध गर्नु हो ।
आधुनिक प्रत्ययवादी सौन्दर्यशास्त्रका माथि उल्लेख गरिएका दुवै प्रवृत्तिहरू अधिभूतवादी छन् । तिनले विज्ञान र कलालाई सङ्ज्ञानात्मक क्रियाकलापका गुणात्मक रूपले फरक फरक रूप नमानेर मूलतः असङ्गत घटना मान्दछन् । परिणाम स्वरूप कि विज्ञानको कि त कलाको मात्र सङ्ज्ञानात्मक महत्त्व हुन्छ भन्दै तिनका बिचको सह सम्बन्धलाई अस्वीकार गर्ने गर्दछन् ।
प्रत्ययवादको सैद्धान्तिक एवम् ज्ञानमीमांसीय आधार वर्गगत आधारसित घनिष्ट रूपले जोडिएको हुन्छ । यसले शारीरिक तथा मानसिक श्रमका बिच प्रतिपक्षता रहने वर्गीय समाजको सम्पूणर् इतिहासमा सृजनात्मक आत्मिक कार्यलाई शारीरिक कार्यबाट अलग्ग्याउँछ र सङ्ज्ञान पेसागत रूपले आत्मिक सृजनमा लागेका व्यक्तिहरूको प्रकार्य ठान्दछ । यसरी आत्मिक क्रियाकलापको रूपमा व्यवहारबाट पृथक्कृत सङ्ज्ञान सिद्धान्तको विशिष्ट रूप खडा हुन्छ । यही कारण यसले अभौतिक, आत्मिक पक्ष एवम् धारणाहरूलाई प्राथमिक र भूतद्रव्य, प्रकृति र स्वत्वलाई द्वितीयक मान्दछ ।
कलाका हरेक रूपका जीवन तथा यथार्थलाई ज्ञान गराउने आ-आफ्नै विशिष्ट लक्षण र सीमाहरू छन् । कलाका सम्पूणर् रूपहरूले जीवन-जगत्को चित्र समान तहले उतार्न सक्तैनन् । कलाका केही रूप वा विधाहरूमा सङ्ज्ञानात्मक तत्त्व एकदमै सुस्पष्ट र प्रबल रूपमा व्यक्त हुन्छ भने केही विधामा सङ्ज्ञानात्मक तत्त्व त्यति प्रस्टसित मुखरित हुँदैन

कलाको विचारधारात्मक पक्ष

वर्गसमाजमा कलासाहित्य विचारधाराको संवाहक हुन्छ भन्ने विचार माक्र्सवादी सौन्दर्यशास्त्रको कोसेढुङ्गो हो । यस उपागमले सामाजिक चेतनाको विश्लेषणको ज्ञानमीमांसीय र समाज वैज्ञानिक आयामलाई एकीकृत रूपमा विश्लेषण गर्न सम्भव बनाउँछ । कलाको सामाजिक प्रकृतिको अध्ययनका क्रममा माक्र्सवादी सौन्दर्यशास्त्र के मान्दछ भने कलासाहित्यले खास, ठोस ऐतिहासिक अवधिमा कलात्मक कार्यकलापका रूपमा सौन्दर्यात्मक कृतिहरूको उत्पादन गर्नुका साथै ज्ञानको रूपमा र विचारधाराको रूपमा समेत एकै पटक काम गरिरहेको हुन्छ । यी दुवै पक्षको सम्मिश्रणबाट नै साहित्यकलाको आङ्गिक सम्पूणर्ता निर्माण हुन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रले कलासाहित्यलाई सांस्कृतिक मूल्यका रूपमा ग्रहण गर्दछ र कृतिको विश्लेषण गर्दा त्यसमा चित्रित सङ्घटनाको विचारधारात्मक एवम् सौन्दर्यात्मक मूल्याङ्कनलाई महत्त्व दिन्छ ।

कलाले सम्पादन गर्ने सामाजिक कार्यहरू विभिन्न किसिमका र तहका हुन्छन् । जीवन र यथार्थलाई बोध गराउन, विश्वका सम्बन्धमा कलाकारको अभिवृत्तिका साथै रचनाकारको वर्ग सहानुभूति वा घृणालाई र मानिस तथा समाजप्रतिको रचनाकारको अभिवृत्तिलाई अभिव्यक्ति दिन, व्यक्तित्व, विश्वदृष्टिकोण र नैतिक आचरण निर्माण गर्न, पाठकहरूमा विद्यमान सृजनात्मक क्षमतालाई जागरुक बनाउन, सौन्दर्यात्मक रुचिलाई विकसित गर्न एवम् पूणर्ता दिन कलासाहित्यले सहयोग पुर्‍याउँछ । कलासाहित्य विश्वका बारेमा ज्ञान दिने, आत्मज्ञान गराउने सशक्त साधनका साथै सौन्दर्यात्मक सङ्गमको साधन पनि हो । यो आनन्द र खुसीको स्रोतका साथै यथार्थलाई परिवर्तन गर्ने र पूणर्ता दिने महत्त्वपूणर् कारक तत्त्व समेत हो । स्मरणीय के छ भने कलासाहित्यले मानव विचारका सम्पूणर् क्षेत्रलाई आफुमा समाहित गर्ने क्षमता राख्तछ र त्यस्तो क्षमताको कारणले गर्दा नै यसले सामाजिक जीवनमाथि गहनतम र जबर्जस्त विचारधारात्मक छाप पार्दछ । यथार्थको अनेकतालाई बोध गराउने साधनका रूपमा विज्ञानको, मानव समाजमा केन्द्रित रहेर रचनाकारको विस्तृत दृष्टिकोणलाई व्यक्त गरेर दर्शनशास्त्रको र नैतिक समस्यामा सहयोग गरेर नीतिशास्त्रको समेत काम कलासाहित्यले गर्दै आएको छ । यहाँनिर कला र राजनीतिका बीच रहने सम्बन्धको चरित्रका बारेमा पनि चर्चा गर्नु उचित हुनेछ । सामाजिक चेतनाका अन्य रूपहरूबाट विशेषतः राजनीतिक विचारधाराबाट कलालाई पर राख्ने प्रयत्न प्रत्ययवादी सौन्दर्यशास्त्रले जस्तो मार्क्सवादी सौन्दर्यशास्त्रले कहिल्यै गर्दैन । कलाको विशिष्ट प्रकृति र लक्षणलाई सजगताका साथ ग्रहण गर्दागर्दै पनि माक्र्सवादी सौन्दर्यशास्त्रले कला र राजनीति, कला र दर्शन, कला र नैतिकता आदिलाई एकैसाथ राख्तछ । विचारधाराका अन्य रूपहरूको विच्छेदमा कलाले आफ्नो सामाजिक दायित्व पुरा गर्नै सक्तैन । मानव समाजको विकास वर्ग द्वन्द्वबाट भएको र वर्ग द्वन्द्वलाई परिचालित गर्ने कार्यमा राजनीतिले मुख्य भूमिका खेल्ने हुनाले यस वास्तविकताबाट कला पृथक् हुनै सक्तैन । तथापि माक्र्सवादी सौन्दर्यशास्त्र कला र राजनीतिको सम्बन्धलाई अति सरलीकरण गर्ने र विकृत पार्ने जुनसुकै प्रयत्नका विरुद्ध रहेको छ । कला, कलात्मक संयोजनमा राजनीतिक विचारधारा होइन । कलामा राजनीतिक सन्देश पूर्ववर्ती हुन सक्तैन, त्यो कलाकर्मको आफ्नो कारिगरीमा अनिवार्यतः घुलमिल हुनु अनिवार्य हुन्छ । कलाको सामाजिक राजनीतिक महत्ता कलाको सत्यनिष्ठता, सामाजिक जीवनका मुख्य प्रवृत्तिहरूको विश्वसनीय प्रतिबिम्बन र गहन उद्घाटनमा नै हुन्छ । कृतिमा अन्तर्निहित जुनसुकै अन्तर्वस्तुको पनि विचारधारात्मक पक्ष हुने र विचारधारात्मक पक्षमा नै वर्गीय तत्त्व रहने हुनाले यसैलाई राजनीति मानेर निरपेक्ष रूपबाट जुनसुकै अवस्थामा पनि राजनीतिक अन्तर्वस्तुको माग गर्ने परिपाटी साहित्यलाई सङ्कीणर् बनाउने गलत र अति सरलीकृत चिन्तन पद्धति हो । यथार्थ सङ्घटनालाई सङ्ज्ञान गराउने र कलात्मक साधनहरूबाट यथार्थको पुनरुत्पादन गर्ने तरिकामा साहित्यकलाको विशिष्ट प्रकृति मूर्त भए तापनि सर्वप्रथम यसको सामाजिक महत्त्वलाई प्राथमिक रूपबाट विचारधारात्मक दिशाले नै निर्धारण गर्दछ । कलासाहित्य विचारधाराको निर्माण गर्ने दृष्टिकोण र चिन्तनहरूको विधिसित सम्बन्धित छ । कलाको विचारधारात्मक कार्य वर्ग स्वार्थहरूको कोणबाट यथार्थलाई प्रतिबिम्बित गरी निश्चित वर्गको हितलाई सम्प्रेषित गर्नुमा अन्तर्निहित हुन्छ ।
विचारधारा निश्चित वर्गका स्वार्थहरूको प्रतिनिधित्व गर्ने सामाजिक चेतनाको रूपका साथै आर्थिक, राजनीतिक, कानुनी, नैतिक जस्ता मूल्यहरूको निश्चित प्रणाली हो । यसले सम्बन्धित वर्ग र राजनीतिक पार्टीको विद्यमान सामाजिक सम्बन्धलाई बलियो बनाउने, त्यस्तो सम्बन्धलाई विकास गर्ने वा यसको ठीक उल्टो तिनलाई ध्वस्त गर्ने व्यावहारिक कार्यकलापलाई पथ प्रदर्शन गर्दछ । अर्को शब्दमा कुनै वर्ग विशेषको हित, आकाङ्क्षा र लक्ष्यहरूको परिपूर्तिका लागि निर्धारण गरिने कार्यनीति र रणनीतिको सैद्धान्तिक पक्ष वा वर्ग विशेषको स्वार्थ अनुकूल सामाजिक जीवनलाई व्यवस्थित वा पुनव्र्यवस्थित गर्ने अभिप्रेरणाबाट प्रतिपादित सिद्धान्त नै विचारधारा हो । विचारधारा मूलतः समाजमा विद्यमान उत्पादन व्यवसाय र उत्पादनका साधनमाथि आधिपत्य स्थापित गर्ने खास वर्गको स्वार्थको विस्तार, रक्षा र सञ्चयनलाई प्राथमिकता दिएर निर्माण गरिएको हुन्छ । विचारधाराका आप्mनै सङ्ज्ञानात्मक मूल्यहरू हुन्छन् र विचारधाराले जीवनका सम्बन्धमा सही र गलत, शुभ र अशुभ, सत्य र असत्य जस्ता विचारका साथै तदनुरूप सामाजिक आदर्श निर्माण गर्दछ ।
विचारधारा र कलासाहित्यको कार्य क्षेत्र समाज नै हो । सामाजिक चेतनाका सम्पूर्ण रूपहरूको सामाजिक जीवनलाई प्रभाव पार्ने प्रक्रियामा पारस्परिक सम्बन्धको स्वरूप निर्मित भएजस्तै कलासाहित्य र विचारधाराको पनि सम्बन्ध कायम हुन्छ । जीवन र समाजलाई प्रभावित गर्ने प्रमुख तत्त्वका रूपमा विचारधाराको सम्बन्ध कलासाहित्यसित किन गाँसिन पुग्दछ भने विचारधाराले सामाजिक जीवनलाई गति र विकास प्रदान गर्ने नियम र रूपहरूलाई सञ्चालन र नियन्त्रण गर्दछ । कलासाहित्यले चाहिँ विकासमान जीवन र समाजलाई नै समग्रतामा र सम्पूणर्तामा परिष्कृत रूपमा पुनरुत्पादन गर्दछ । जीवनका सुख-दुःख, द्वन्द र सङ्घर्ष नै कलासाहित्यको विषय भएको हुँदा तिनलाई समग्रतामा प्रतिबिम्बन गर्न रचनाकारले तिनका पछि विद्यमान मूल कारण सामाजिक व्यवस्था र त्यसलाई सञ्चालन गर्ने विचारधारा र राजनीतिबाट आफुलाई पृथक् राख्नु सम्भव नै हुँदैन । तटस्थ वा निरपेक्ष भावले जीवन जे जस्तो छ त्यसलाई चित्रण गर्नमा सीमित नरही किन त्यस्तो भएको हो, त्यसको गति र दिशा के हो ? भन्ने कुराको चित्रण गर्न सकेको खण्डमा मात्र रचनाकारले स्वस्थ जीवन र उन्नत मानव समाजको नयाँ निर्माणको प्रेरणा दिन सक्तछ । फलतः कलासाहित्यमा अभिव्यक्त वस्तुगत स्थिति, कार्यकलाप आदिको संयोजन उभय पक्षीय यथार्थको द्वन्द्वमा आधारित हुनुपर्ने हुन्छ । बौद्धिक गहनता र सचेत ऐतिहासिक तत्त्वको एकता महान् रचनामा पाइने अनिवार्य तत्त्व हुन् । त्यसैले सामाजिक गति एवम् विकासको सत्यताबाट विमुख भएर कलासाहित्य र विचारधाराका बीचमा विरोध खडा गर्ने कार्य वा षड्यन्त्र अनिवार्यतः यथास्थितिवादी शक्तिको हितमा समर्पित सौन्दर्यशास्त्री र रचनाकारले मात्र गर्न सक्तछन् ।
स्थूल र सङ्कीणर् अर्थमा विचारधारालाई लिनु हुँदैन । माक्र्सले कलालाई विचारधारात्मक बाह्य संरचनाको अङ्गका रूपमा ग्रहण गर्दा यसलाई कुनै वर्गको पार्टीको कार्यक्रम र दैनन्दिनको व्यावहारिक राजनीतिको रूपमा मात्र नलिएर चेतनाको वर्गीय स्वरूपको रूपमा र मानिसको इन्द्रियबोध, भावबोध र मूल्यबोध आदि समेत त्यसैमा समाहित हुने अर्थमा प्रयोग गरेका छन् । यस तथ्यलाई समग्रतामा ग्रहण गर्न नसक्ता वा सचेत रूपबाट यसबाट पलायन गर्न खोज्दा कतिपय व्यक्तिहरू कलालाई सौन्दर्यात्मक, सङ्ज्ञानात्मक, शिक्षात्मक, मूल्यपरक एवम् कतिपय समाज वैज्ञानिक उपागमबाट पृथक् राखेर समाज वैज्ञानिक पक्षको एउटा पाटो राजनीतिमा मात्र कलालाई न्यूनीकरण गर्न पुग्दछन्, मात्र राजनीतिक हतियारको साधनको रूपमा कलालाई प्रयोग गर्न खोज्दछन् । यस विषयमा गलत चिन्तन लिने अर्काथरीहरू चाहिँ कलालाई विचारधारात्मक वाह्य संरचनाका रूपमा ग्रहण गरिनु हुन्न, जे जस्तो भए पनि कला यथार्थकै प्रतिबिम्बन हो, कलामा अनुभूति प्रबल रहनुपर्छ भन्ने चिन्तन अघिसारेर सौन्दर्य तत्त्वमाथि मात्र जोड दिने र विचारधारामुक्त कलाको आग्रह गर्ने प्रवृत्तिद्वारा मार्क्सवादी सौन्दर्यचिन्तनभित्र दक्षिणपन्थी संशोधनवाद भित्र्याउँछन् । विचारधारा र त्यसको एक पक्ष राजनीतिलाई उपेक्षा गर्ने र अनुभव तथा सौन्दर्यमाथि मात्र जोड दिने संशोधनवादी प्रवृत्ति हामीकहाँ हिजोआज निकै प्रचलनमा छ । यस्तो प्रवृत्तिले माक्र्सवादका आधारभूत प्रस्तावनामा नै संशोधन गर्ने कार्य सक्रियतापूर्वक गर्दै आएको छ । यो प्रवृत्ति अहिले जडसूत्रवादी प्रवृत्ति भन्दा प्रबल रूपमा प्रकट हुने गरेको छ । यी दुइटै प्रवृत्ति कलामा अन्तर्निहित विचारधारात्मक तत्त्वलाई सही अर्थमा ग्रहण गर्ने असक्षमताबाट उत्पन्न भएका हुन् ।
कलासाहित्यको विचारधारात्मक दिशा समाजमा प्रभुत्वमा रहेको शासक वर्गको विचारधाराको चरित्रको अनुकूल हुने गर्दछ । वर्गीय समाजमा शासक वर्गको विरुद्धमा शोषित वर्गहरूको समेत अस्तित्व रहने हुनाले सामाजिक बनोटभित्रबाटै विरोधी वर्गहरूको विचारधारा विकसित हुन्छ र कलाले पनि यथार्थको प्रतिबिम्बनको माध्यमबाट त्यस प्रभुत्वशाली विचारधाराको विरोध गर्न थाल्दछ । त्यसैले कलाले विविध वर्गको विचारधारा, राजनीतिक, आर्थिक, नैतिक आदि दृष्टिहरूका साथै विविध वर्गहरूको सामाजिक मनोविज्ञानलाई अभिव्यक्त गर्छ र आफ्नो सम्पूर्ण सजीवता, वैविध्य र प्रामाणिकताका साथ यथार्थलाई प्रस्तुत गरी जन समुदायको सामाजिक अनुभवमा आफुलाई केन्द्रित गर्दछ । समाजको राजनीतिक, सामाजिक र नैतिक दृष्टिप्रणालीलाई प्रभावित पार्ने र कुनै निश्चित जीवनशैली एवम् नैतिक विचारहरूको समर्थन वा विरोध गर्ने कार्य गरे तापनि कलासाहित्यमा सामाजिक उपागम र यथार्थको कलात्मक प्रतिनिधित्व कुन हदसम्म एकाकार हुन सकेको छ भन्ने कुरालाई नै प्राथमिक महत्त्व दिइन्छ ।

कला र श्रम

यस सन्दर्भमा कतिपय लेखकहरू कलाबाट विचारधारात्मक पक्षलाई लुप्त पार्ने र ज्ञानको स्रोतका रूपमा कलाको भूमिकालाई निन्दा गर्ने प्रयास स्वरूप कलालाई मात्र श्रमको एउटा रूप मान्ने गर्दछन् । निःसन्देह, कला सबै आत्मिक संस्कृति जस्तै श्रमको आधारमा जन्मिएको र विकसित भएको हो । अति प्राचीन कालमा सौन्दर्यबोधी चेतना मान्छेको श्रमसम्बन्धी कार्यकलापको आवश्यकताबाटै उत्पन्न भएको थियो । श्रमको आधारमा सौन्दर्यबोधी भावनाको माध्यमबाट यथार्थ जगत्को मूल्याङ्कन गर्ने क्षमता मानिसमा निर्मित भएको हो र यसरी नै कलात्मक कल्पना र कलात्मक चिन्तनको विकास भएको हो । त्यसैले कला श्रमको परिणाम स्वरूप उत्पन्न भएको मात्र नभएर स्वयम् श्रमको विशिष्ट रूप समेत हो । तर ‘वस्तु निर्माण’मा कलालाई अवमूल्यन गर्ने, सौन्दर्यका केही नियमहरू मिल्दछन् भन्ने आधारमा कलात्मक कार्यकलापलाई र भौतिक उत्पादनलाई एक समान मान्ने सोच भने ठिक होइन । किनभने यस्ता विचारहरूले कलाको सङ्ज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यपरक सारलाई उपेक्षा गर्दछन् । यहाँ ख्याल राख्नुपर्ने कुरा के छ भने कलाका विविध पाटाहरू एक अर्कासित जटिल द्वन्द्वात्मक सम्बन्धमा रहेका हुन्छन् । ती सबलाई एकीकृत सङ्घटनाका रूपमा ग्रहण नगरी कुनै एक विशिष्ट पाटोलाई सम्पूणर्को ठाउँमा प्रस्तुत गर्ने गम्भीर त्रुटिबाट बच्नुपर्ने हुन्छ । त्यसो नगर्ने हो भने कलात्मक सृजनको एकीकृत सिद्धान्तलाई केन्द्रीय प्रस्थापना मान्ने मार्क्सवादी सौन्दर्यचिन्तनकै अवहेलना हुन पुग्दछ ।

कला र सौन्दर्यात्मक पक्ष

कला-साहित्यको सङ्ज्ञानात्मक, विचारधारात्मक र शिक्षात्मक कार्य यसको सौन्दर्यात्मक कार्यसित घुलमिल भएर मात्र सम्पन्न हुन्छ । सौन्दर्यात्मक कार्य कला साहित्यको विशिष्टता हो । जनसमुदायमा कलासाहित्यले जति विलक्षण र व्यापक मात्रामा सौन्दर्यात्मक प्रभाव पार्न सक्तछ त्यति सामाजिक चेतनाको अन्य कुनै पनि रूपले पार्न सक्तैन । सौन्दर्य भावनाहरूको निर्माणमा निणर्यात्मक प्रभाव पार्नुका अतिरिक्त कला-साहित्यले जनतालाई तिनले जीवनमा सामना गरेका सङ्घटनाहरूमा निहित सौन्दर्यलाई चिन्न, सौन्दर्यबाट आनन्द लिन, सौन्दर्यलाई जीवनसित परिचय गराउन र सौन्दर्यको नियमअनुसार सौन्दर्य सृष्टि गर्न सिकाउँछ । निश्चित सामाजिक र सौन्दर्यात्मक आदर्श उत्पादन गर्नु र जनसमुदायलाई कलात्मक क्षमताहरू विकसित गर्न सहयोग पुर्‍याउनु कलाको सौन्दर्यात्मक कार्यभित्र पर्दछ । जीवनसितको सृजनात्मक सम्बन्धको विकासमा जीवनलाई रूपान्तरण गर्ने र सृजनात्मक सामथ्र्यमा यथार्थ सङ्घटनाको सारलाई समग्रतामा र ठोस रूपबाट मूल्याङ्कन गर्ने कार्यमा अन्य कुनै पनि सामाजिक चेतनाका रूपहरूको भूमिका रहँदैन । यही कारण कला-साहित्य यस पक्षमा तीभन्दा विशिष्ट र विलक्षण छ ।
पूणर्, मुक्त र सर्वतोमुखी विकास सहितको मानव भएको समाज निर्माण गर्नु मार्क्सवादी सौन्दर्यचिन्तनको सौन्दर्यपरक आदर्श हो । यस आदर्शले मानिसलाई सामाजिक रूपान्तरणका लागि क्रियाशील बनाउनु, आत्मिक रूपहरूबाट समृद्ध बनाउनु, मनुष्यमा रहेको कलाकारलाई सौन्दर्यको नियमअनुसार सृजन गर्न उत्प्रेरित गर्ने कृतिहरू आपूर्ति गरेर कलाग्राहीको सौन्दर्यात्मक आवश्यकता पूर्ति गर्नु कलाको विशिष्ट कार्य मान्दछ ।
कलासाहित्यमा विचारधारा व्यञ्जित हुन्छ, व्यक्त होइन । अनुभूति र वस्तु साक्षात्कारको अङ्ग भएर विचारधारा व्यञ्जित भएको खण्डमा नै रचना सशक्त र प्रभावोत्पादक हुन सक्तछ । कलासाहित्यमा विचारधाराको अधकल्चो अभिव्यक्ति वा सायास आरोपणले रचनालाई क्षीण, शिथिल, यान्त्रिक, कृत्रिम र अर्थहीन बनाउँछ । त्यसैले कुनै पनि रचनाकार उत्कृष्ट विचारधाराको बलले मात्र रचना प्रक्रियामा सफल बन्न सक्तैन । यहाँनिर के ख्याल राख्न आवश्यक छ भने कलासाहित्यले उत्पादन गर्ने कलात्मक मूल्यहरू एकसाथ विचारधारात्मक मूल्यहरू पनि हुन् । किनभने तिनले निश्चित राजनीतिक, दार्शनिक र सामाजिक विचारहरूलाई आफुमा समावेश गरेका हुन्छन् ।
कलासाहित्यको सङ्ज्ञानात्मक, विचारधारात्मक र शिक्षात्मक क्षेत्रका कार्यहरू छुट्टाछुट्टै होइन सौन्दर्यात्मक प्रभावको माध्यमबाटै सम्पन्न हुने हुन् । यसको अर्थ के हो भने कलासाहित्यले पुरा गर्ने कार्यलाई यान्त्रिक रूपबाट विभाजित गरेर छुट्ट्याउन सकिन्न । जीवनलाई सत्यनिष्ठ रूपबाट प्रतिबिम्बित गर्न नसकेको खण्डमा जसरी कलासाहित्यले विचारधारात्मक र सौन्दर्यात्मक कार्यलाई सम्पन्न गर्न सक्तैन त्यसरी नै कलाको आफ्नै नियम अनुरूप जीवनको पुनरुत्पादन नभएमा कलासाहित्यमा जीवन सत्य पनि प्राप्त हुन सक्तैन र कलासाहित्यले सौन्दर्य मूल्यको मर्यादा हासिल गर्न सक्तैन ।

कलाको सार

ऐतिहासिक निर्मिति र सामाजिक चेतनाको विशिष्ट रूपमा कलाको प्रकृति कस्तो हुन्छ भनेर उत्तर दिनु भनेको कलाको सामाजिक प्रकृतिलाई उद्घाटन गर्नु र सामाजिक जीवनमा कलाले के कस्तो स्थान राख्तछ भनेर मूल्याङ्कन गर्नु पनि हो । कलाको सृजन र अवधारणा नितान्त व्यक्तिगत क्रियाकलाप भए तापनि कलात्मक क्रियाकलापको चरित्र भने सामाजिक हुन्छ । सामाजिक चेतनाको एक रूप र मानव कार्यकलापको विशिष्ट नमुना भएको कारणले गर्दा कलाको उद्देश्य यथार्थका साथै मानवका सौन्दर्यात्मक सम्बन्धहरूलाई प्रतिबिम्बित गर्नु, समाजको सौन्दर्यात्मक व्यवहारलाई प्रस्तुत गर्नु र विकसित गर्नु हो । पहिले उल्लेख भए जस्तै सामाजिक चेतनाको यस रूपको आफ्नो विशेषता के कुरामा रहेको हुन्छ भने यसले यथार्थलाई कलात्मक बिम्बहरूमा प्रतिबिम्बन गर्दछ । यथार्थ भन्नाले आफ्नो जीवन र कार्यकलापका क्रममा मानिसले सम्पर्क गर्नुपर्ने आफु वरिपरि रहेका प्रकृति, समाज, सामाजिक सम्बन्ध जस्ता बाह्य जगत् एवम् मानिसका विचार, भावना र अनुभूतिको आन्तरिक जगत् दुवैलाई बुझ्नुपर्दछ । सौन्दर्यात्मक, सङ्ज्ञानात्मक तथा विचारधारात्मक तत्त्वको विशिष्ट रूप भएकाले कला मानिसलाई विचारधारात्मक, नैतिक तथा सौन्दर्यात्मक शिक्षा दिने र साम्यवादी निर्माणका लागि अभिप्रेरणा दिने शक्तिशाली र प्रभावकारी साधन हो । यसमा विचारधारात्मक तत्त्व निरन्तर रहने हुनाले यो वर्गसङ्घर्षको महत्वपूर्ण अस्त्र पनि हो ।
सारमा कलाले समुन्नत मानव र मानवसमाजको निर्माण गर्ने कार्यमा सौन्दर्यात्मक आवश्यकता पूर्ति गरेर सहयोग पुर्‍याउँछ । सामाजिक रूपान्तरणमा कलाको अर्थपूणर् सहभागिता पनि कलाको विचारधारात्मक तत्त्वमाथि नै निर्भर रहन्छ र क्रान्ति र सर्वहारा वर्गको हितलाई कलाले यही विचारधारात्मक तत्त्वको माध्यमबाट आफुमा समावेश गर्दछ भन्ने माक्र्सवादी सौन्दर्यचिन्तनको आधारभूत प्रस्थापना स्मरणीय छ ।

रचनाविधि : समाजवादी यथार्थवाद

कलालाई यथार्थको कलात्मक वा सक्रिय प्रतिबिम्बन मान्नासाथ यसरी प्रतिबिम्बन गर्दा अपनाउनुपर्ने तरिका के हो ? कलाको सृजना गर्दा के कस्तो यथार्थ चयन गर्ने ? केलाई अन्तर्वस्तु वा विषय बनाउने ? केलाई प्राथमिकता दिने र कसरी प्रस्तुत गर्ने ? आदि विषयका लागि रचनाविधि अनिवार्य हुन्छ । विभिन्न धारा, प्रवृत्ति वा विचारधाराका यथार्थलाई प्रतिबिम्बन गर्ने आ-आफ्नै विधि हुने गर्छन् । माक्र्सवादी सौन्दर्यचिन्तन अनुसार माक्र्सवादी कलामा यथार्थलाई प्रतिबिम्बन गर्ने रचनाविधि समाजवादी यथार्थवाद हो । यसलाई सृजनविधि वा कलात्मक विधि पनि भन्ने गरिएको छ । रचनाविधिलाई कलात्मक सङ्कल्पनाको निकाय मान्ने कि जीवनसितको कलाको सौन्दर्यात्मक सम्बन्धको सिद्धान्त मान्ने वा सामान्य वैचारिक सिद्धान्तको रूपमा लिने भन्ने खालका विवाद माक्र्सवादी सौन्दर्यचिन्तनमा देखिए तापनि अधिकांशले यसलाई जीवनका सङ्घटना, विवरण तथा तथ्यहरूबाट चित्रण गरिने विषयको चयन, तिनको सामान्यीकरण र कलात्मक बिम्बीकरणको सृजनात्मक प्रक्रियाको समष्टिका रूपमा लिएको पाइन्छ । यसले कलाका मुख्य विषय तथा चित्रण गर्न खोजिएका जीवनका सङ्घटनाको चयन, कलात्मक सामान्यीकरणको स्वरूप, अभिव्यञ्जनात्मक साधनहरूको खोजी, कलाको कार्यभार र सृजनात्मक उद्देश्यसित गाँसिएका सवालहरूलाई हल गर्ने काम गर्छ । त्यसैले रचनाविधिलाई वैचारिक सिद्धान्त, ऐतिहासिक रूपद्वारा निर्धारित एवम् सृजन व्यवहारबाट समुन्नत बनेका सिद्धान्तहरू, जीवनको सौन्दर्यात्मक अवबोधन र बिम्बमा तिनको अभिव्यक्तिको समष्टिका रूपमा लिनु उचित हुन्छ । सृजनविधिको अवधारणामा विचारधारा (जीवनसम्बन्धी लेखकको दृष्टिकोण), समाजशास्त्र (सामाजिक यथार्थमा नयाँ र पुरानाका बिचको सङ्घर्षको वस्तुपरक प्रक्रिया), भौतिक ज्ञानमीमांसा (कलाद्वारा यथार्थको सङ्ज्ञान) र अर्थमीमांसा (मानवजीवनमा मूल्यवान् वस्तुसित सम्बन्धित अवधारणा) यी सम्पूण कुराहरू एक ठाउँमा समन्वित भएका हुन्छन् ६२ । समाजवादी यथार्थवाद रचनाविधि र विधिसिद्धान्त हो । यो माक्र्सवादी सौन्दर्यचिन्तनको एउटा प्रमुख अङ्ग हो, समग्र सौन्दर्यचिन्तन होइन । समाजवादी यथार्थवादी कलासिर्जनामा सङ्ज्ञानात्मक, मूल्यपरक पक्षहरू (वैचारिक, सङ्कल्पनात्मक, सामाजिक पक्ष) र सौन्दर्यात्मक पक्षको अभिन्न एकता हुन्छ । समाजवादी यथार्थवादको समाजवादी अभिमुखता मूल्यपरक तत्त्व हो भने यथार्थवादी अभिमुखता सङ्ज्ञानात्मक तत्त्व हो । सुन्दरका नियमअनुसार यिनको संयोजन सौन्दर्यात्मक पक्ष हो । यी एकअर्कामा निर्भर हुन्छन् । सङ्ज्ञानात्मक पक्ष यथार्थको प्रतिबिम्बन, सत्य र दर्शनसित सम्बन्धित हुन्छ । मूल्यपरक पक्ष विचार, उपयोगिता, उद्देश्य, इच्छा, भावना, अनुभूति आदिसित सम्बन्धित हुन्छ । सौन्दर्यात्मक पक्ष यी दुवैको संश्लेषणसित सम्बन्धित हुन्छ । रचनाविधि मार्क्सवादी सौन्दर्यचिन्तनको देन हो । यसभन्दा अघि यसलाई विधिसिद्धान्तका रूपमा हेरिँदैनथ्यो । सन् १९३० को प्रारम्भपछि मात्र यसलाई रचनाविधि र विधिसिद्धान्त मान्न थालिएको हो । रचनाविधि विश्व दृष्टिकोणका आधारमा निर्मित हुने तर विश्व दृष्टिकोणभन्दा विस्तृत प्रवर्ग हो । यो द्वन्द्वात्मक भौतिकवादी दर्शनसित र माक्र्सवादी, लेनिनवादी विश्व दृष्टिकोणसित सम्बन्धित छ । यसले कलाकारलाई सामाजिक विकासका नियमहरूको वस्तुगत समझदारीबाट समृद्ध हुन सहयोग गर्दछ । ऐतिहासिक घटनाक्रमहरूको भित्री अर्थ बुझ्न र भविष्यमा हुने विकासको पूर्वज्ञान हासिल गर्नका लागि यो दरिलो साधन हो ।
नेपालमा समाजवादी यथार्थवादी रचनाविधिलाई रचनाविधि र विधिसिद्धान्तका रूपमा होइन माक्र्सवादी सौन्दर्यशास्त्रकै रूपमा बोध गर्ने समस्या अहिले पनि विद्यमान छ । जस्तो: समाजवादी यथार्थवाद र प्रगतिवाद ‘दुवै पदावलीले माक्र्सवादी सौन्दर्यशास्त्र जनाउँछन् ६३, समाजवादी यथार्थवाद सौन्दर्यशास्त्रको अर्को नाम हो ६४ भन्ने खालका सोच यसैका उदाहरण हुन् । मार्क्सवादी लेनिनवादी, माओवादी सौन्दर्यचिन्तनपद्धतिलाई समाजवादी यथार्थवादको कलासिद्धान्तमा उभिएको मान्ने र मार्क्सवादी समालोचनालाई सौन्दर्यचिन्तनपद्धति मान्ने ६५ दृष्टिकोण पनि सही होइन । समाजवादी यथार्थवादलाई प्रगतिवादकै समानार्थी पदावलीका रूपमा लिने सोच गोविन्द भट्ट र यो पङ्क्तिकार लगायत अधिकांश मार्क्सवादी समालोचकहरूले राखेको देखिन्छ । वास्तवमा समाजवादी यथार्थवाद रचनाविधि र त्यस विधिको सिद्धान्त हो, माक्र्सवादी सौन्दर्यचिन्तन, मार्क्सवादी सौन्दर्यशास्त्र वा प्रगतिवाद होइन ।

समाजवादी यथार्थवादको विशेषता

जीवनको सत्यनिष्ठ प्रतिबिम्बन, यथार्थको गतिशील वा क्रान्तिकारी विकासको क्रममा प्रतिबिम्बन, साम्यवाद तथा समाजवादका भावना अनुरूप कलाग्राहीलाई वैचारिक तथा सौन्दर्यात्मक शिक्षा दिने कार्यभार तथा कलासितको तिनको सम्बन्ध समाजवादी यथार्थवादका आधारभूत प्रस्थापना हुन् । समग्र यथार्थको साँचो र समुचित प्रस्तुतीकरण कलाको काम हो । समाजवादी यथार्थवादमा यथार्थको प्रतिबिम्बन यान्त्रिक रूपमा जस्ताको तस्तै हुँदैन । यसमा एकातिर सौन्दर्यबोध र प्रस्तुतीकरणमा चरम वस्तुपरकताको माग हुन्छ भने अर्कातिर कलाकारको अनिवार्य भूमिकामाथि र सक्रिय संलग्नतामाथि पनि बल दिइन्छ । वस्तुपरकतालाई आत्मपरकताको माध्यमबाट कलाकारको विचारधारा, मूल्याङ्कन, आवेग, भावना, अनुभूति सहित व्यक्त गरिन्छ । यहाँ वस्तु आत्ममा र आत्म वस्तुमा रूपान्तरित हुन्छ । तर स्वेच्छाचारी रूपले यथार्थको प्रतिबिम्बन गर्ने छुट यसमा हुँँदैन । समाजवादी यथार्थवादमा यथार्थको सारतत्त्वलाई प्रत्यक्ष र कलात्मक रूपमा व्यक्त गर्नु अनिवार्य मानिन्छ । जीवनलाई त्यसको सर्वव्यापी समग्रतामा समाउनका निम्ति साँचो कलाले बढीभन्दा बढी गहनता र व्यापकताको माग गर्दछ । यथार्थको सतहीपनलाई छिचोलेर यथार्थको भित्री गुदी प्रस्तुत गर्न समाजवादी यथार्थवादले माग गर्दछ । यसले यथार्थको प्रतिबिम्बन गर्दा प्रतिनिधिमूलकता वा प्ररूपीकरणमाथि जोड दिन्छ । सामान्यलाई विशिष्टमा एकैसाथ संयोजन गर्नु प्ररूपीकरण हो । यसको अर्थ थुप्रै विशिष्टतालाई कुनै एउटामा सामान्यीकरण गरेर प्रतिबिम्बित गर्नु हो । परिस्थिति, घटना र पात्रहरूलाई विशिष्ट रूपमा चित्रण गरेर सामान्यका रूपमा प्रस्तुत गर्नु यसको खुबी हो । कलाको सर्वोत्कृष्ट विषयका रूपमा समाजको रूपान्तरणको कार्यमा क्रान्ति सम्पन्न गर्न जनसङ्घर्षमा अग्र भागमा रहेका जनताका विश्वसनीय बिम्बहरू सृजन गर्ने कार्य यही अन्तर्गत पर्दछ । समाजवादी यथार्थवादले यथार्थको प्रतिबिम्बन गर्दा यथार्थको विस्तृतीकरणमाथि पनि जोड दिन्छ । समाजले सामना गर्नु परिरहेका मुख्य समस्याहरूको उत्तर दिनुपर्ने हुँदा प्रत्यक्ष यथार्थ र सङ्घटनाको वणर्नमा वा विचारको स्थापनामा मात्र सीमित नरहेर यथार्थको विस्तृतीकरण गर्नुपर्ने हुन्छ । बाहिरी रूपमा देखिने प्रत्यक्ष यथार्थलाई अन्तर्भेदन गरेर त्यसभित्रका प्रवृत्तिले सङ्केत गरेका सम्भाव्य यथार्थ र सामाजिक शक्तिको लक्ष्य अनुरूप यथार्थको चित्रण गर्नु यथार्थको विस्तृतीकरण हो । यसका लागि कलाकारले यथार्थमा अतीत, वर्तमान र भविष्यका तिनवटै पक्षलाई समायोजित गर्न र भविष्यको दृष्टि बिन्दुबाट वर्तमानलाई निर्देशित गर्न सक्नु पर्दछ । भविष्य दृष्टि र इतिहास दृष्टि समाजवादी यथार्थवादमा व्यक्त हुने ऐतिहासिक आशावाद र कल्पनाशील क्रान्तिकारी सपनाका स्रोत हुन् । क्रान्तिकारी स्वप्न ऐतिहासिक पूर्व ज्ञानको काल्पनिक रूप मात्र हो । समाजवादी यथार्थवादको यस पक्षलाई उपेक्षा गर्ने समालोचकहरू स्वच्छन्दतावादमा मात्र मानिसका सपना मूर्तिकृत हुन्छन् भन्ने आशयका व्याख्या गर्ने गर्दछन्, जुन गलत छ ।

समाजवादी यथार्थवादी रचनाविधिले कलाकारलाई अन्तर्वस्तु र रूपको एकरूपमा जोड दिँदै गहन र उत्कृष्ट अन्तर्वस्तुलाई कलात्मक पूणर्ताका साथ प्रतिबिम्बन गर्न उत्प्रेरित गर्दछ । माक्र्सवादी सौन्दर्यशास्त्रले प्रत्ययवादी सौन्दर्यशास्त्रका विपरीत अन्तर्वस्तु र रूपको एकरूपतामा अन्तर्वस्तुको निणर्ायक महत्त्वका साथै रूपको सक्रिय भूमिकालाई स्वीकार गर्दछ । अन्तर्वस्तुको केन्द्रीय विषय मानव जीवन नै हो । कलामा विद्यमान अन्तर्वस्तुलाई यसका सङ्घटक तत्त्वहरूमा सजिलाका लागि विभाजित गरेर हेर्ने हो भने कलाकारलाई कलाकृतिको सृजना गर्न प्रेरित गर्ने विचार, उक्त विचारका आधारमा चयन गरिएको र कलाकृतिमा समावेश भएको वस्तुगत यथार्थ र चित्रित सङ्घटनाको भावनात्मक र सौन्दर्यात्मक मूल्याङ्कन र सन्देश फेला पर्दछन् । रूप उक्त अन्तर्वस्तुको निश्चित आकृतिमा प्रकटीकरण हो । यी सब आङ्गिक एकतामा रहेका हुन्छन् । तिनलाई विभाजन गर्न सकिन्न । समाजवादी यथार्थवादी रचनाविधिले समाजका निम्ति लाभदायी कलाकृतिको सृजनका लागि कलाकारलाई नयाँ तथा मौलिक अन्तर्वस्तु र रूपका कलाकृतिको सृजना गर्न प्रेरित गर्दछ ।
प्रतिबद्धता समाजवादी यथार्थवादको विशेषतामध्ये एक हो । कला समाज र सामाजिक सम्बन्धमाथि निर्भर रहेको हुन्छ भन्ने पूर्व माक्र्सवादी भौतिकवादी सौन्दर्यशास्त्रले प्रतिपादित गरेको विचारलाई माक्र्सवादी सौन्दर्यशास्त्रले कलामा हुने जीवनको प्रतिबिम्बनको प्रकृति खास वर्ग, राज्य, वर्गसङ्घर्षको स्तर र समाजमा प्रभुत्वमा रहेको विचारधाराद्वारा निर्धारित हुन्छ भन्ने विचारमा विस्तारित गरेको छ । यसैलाई कलामा पक्षधरता र कलाको वर्गीय सारको सिद्धान्त मानिन्छ । फलस्वरूप समाजवादी यथार्थवादी रचनाविधिले मार्क्सवादी विचारधारा, मार्क्सवादी सौन्दर्यचिन्तन, क्रान्तिको संवाहक सर्वहारा वर्ग, त्यसको प्रतिनिधि पार्टीप्रति प्रतिबद्ध हुन कलाकारसित माग गर्दछ । वर्गीय समाजमा कला स्वाभाविक रूपले वर्गोन्मुखी हुन्छ भन्ने तथ्यको आधारमा प्रतिबद्धताको विचार पल्लवित हुन्छ । सर्वहारा क्रान्तिको सिद्धान्तसित पार्टी प्रतिबद्धताको सिद्धान्त आबद्ध छ । सर्वहारा वर्गको आदर्श वर्गहीन, राज्यहीन, शोषण-शासनहीन, स्वतन्त्र समतामूलक समाज भएको हुँदा सर्वहारा वर्गको प्रतिबद्धता र आफ्ना कलाग्राही र तिनको हितसित लेखकको प्रतिबद्धता अभिन्न हुन पुग्दछन् । प्रतिबद्धता बन्धन होइन, स्वतन्त्रताका लागि पूर्वसर्त हो । आवश्यकताबाट स्वतन्त्रताको समाजमा छलाङ् लगाउनका लागि आवश्यक पूर्व रूप हो ।
सामाजिक जीवन एवम् वस्तुगत परिस्थितिको उपस्थापन, सामाजिक व्यवस्थाका कारणले उत्पन्न भएको भ्रम र क्रमशः तिनमाथि पात्रले पाएको विजय, निजी सम्पत्तिजन्य मानसिकता र आत्मकेन्द्रवादबाट आन्तरिक मुक्ति र प्रतिक्रियावादको दासताबाट आफ्ना मुक्तिका लागि सङ्घर्षरत श्रमजीवी जनताको सामान्य स्वार्थसित निजी स्वार्थको एकीकरणको प्रक्रिया आदिलाई जोडेर कलामा प्रतिबिम्बन गर्नका लागि कलाकारले यथार्थको विस्तृत ज्ञान, अनुभव, जनभावना, आकाङ्क्षा र मनोविज्ञानबाट समृद्ध हुन एकदमै जरुरी हुन्छ । यस किसिमको समृद्धि मिहिनेत नगरी हासिल हुन सक्तैन । यसका लागि कलाकार सक्रिय क्रियाकलापहरूमा संलग्न हुनुपर्ने हुन्छ । यसैले पनि समाजवादी यथार्थवादले रचनाकारसित सक्रिय संलग्नता, सक्रिय समर्पण र पक्षधरता, आशावाद र नयाँ समाजको निर्माणका लागि आन्तरिक लगाउको माग गर्दछ ।

अन्तिममा

यो लेख नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘प्रज्ञा समकालीन नेपाली समालोचना’मा सामेल गरिएको यस पङ्क्तिकारद्वारा लिखित ‘आफ्ना सौन्दर्यचिन्तन र मूल्य निरुपणका सन्दर्भमा समकालीन नेपाली समालोचना’ शीर्षकको लेखको थोरै रूपान्तरित गरिएको सुरुको एक अंश हो । त्यसैले यसका सीमाहरू छन् र उक्त लेखमा सामेल गरिएका सौन्दर्यचिन्तनसँग सम्बन्धित कतिपय सवालहरू यहाँ समावेश गर्न सकिएको छैन । तथापि मार्क्सवादी सौन्दर्यचिन्तन र त्यस बारेमा नेपाली साहित्यमा विक्रम सम्वत् २०५० यता यस क्षेत्रमा भएको प्रगति र विकासका बारेमा पाठकहरूलाई थोरै भए पनि जानकारी गराउने छ भन्ने विश्वासका साथ यो लेख साभार यहाँ प्रस्तुत गरिएको छ ।

सन्दर्भसामग्रीहरू :
१. श्यामप्रसाद । (२०१०) । लेखक कसरी बन्ने । पृष्ठ १२ । नेपाल : प्रगतिशील लेखक सङ्घ, वीरगञ्ज ।
२. श्यामप्रसाद । २०२२) । साहित्यसम्बन्धी दुईचार कुरा । पृष्ठ ८२ । काठमाडौं, नेपाल : सुदीप कपिल ।
३. उही । पृष्ठ ६० । उही ।
४. चैतन्य । (२०६९) । मार्क्सवादी सौन्दर्यचिन्तन । पृ. १२९ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
५. पौडेल, हेमनाथ । २०७५ । प्रगतिवाद र कवितासम्बन्धी मान्यता । पृ. ३१ । काठमाडौं, नेपाल । पैरवी प्रकाशन ।
६. अर्याल, मुरारी (२०४९) । मार्क्सवादी सौन्दर्य विधान र आलोचना । पृ. १ । काठमाडौं, नेपाल : सृष्टि प्रकाशन ।
७. चापागाईं, निनु, (२०६४) । दोस्रो सं.। माक्र्सवादी चिन्तनमा सौन्दर्य । पृ.घ–ङ । ललितपुर, नेपाल । साझा प्रकाशन ।
८. उही । पृ.घ ।
९. श्यामप्रसाद (२०५२) । साहित्यिक फाँटका मेरा केही धारणा (लेखसङ्ग्रह) । पृ.३१ । बनेपा, नेपाल : जनमत प्रकाशन ।
१०. भट्ट, गोविन्द (२०७०) । गोविन्द भट्टका दार्शनिक रचनाहरू । पृ.८८ । काठमाडौं, नेपाल : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
११. उही । पृष्ठ. ९० ।
१२. उही । पृष्ठ ९१–९२ ।
१३. चैतन्य । (२०६९) । मार्क्सवादी सौन्दर्यचिन्तन । पृ. १३५ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
१४.उही । पृष्ठ १३६ ।
१५. प्रश्रित, मोदनाथ (२०५८) । सङ्कलित रचनाहरू खण्ड ७ । पृ.५ । काठमाडौं : पैरवी बुक्स एन्ड स्टेशनरी सेन्टर ।
१६. उही । पृष्ठ ९ ।
१७. उही । पृष्ठ १५८ ।
१८. चापागाईं, निनु, (२०६४) । दोस्रो सं.। मार्क्सवादी चिन्तनमा सौन्दर्य । पृ.१४१–१५२ । ललितपुर, नेपाल । साझा
प्रकाशन ।
१९. लम्साल, शक्ति (२०६१) । मार्क्सवाद, समाज र साहित्य । पृ. ८१ । नेपाल : जनदिशा प्रकाशन ।
२०. उही । पृष्ठ ७७–७८ ।
२१. उही । पृष्ठ ६९–७० ।
२२. चैतन्य । (२०६९) । मार्क्सवादी सौन्दर्यचिन्तन । पृ. २१२ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
२३. उही । पृष्ठ १४३–४ ।
२४.भट्ट, गोविन्द । २०५१ । निनु चापागाईं लिखित यथार्थवादी रचनादृष्टि र विवेचनाको भूमिका । पृ.ज । काठमाडौं,
नेपाल : दिल वरदान, महिम चापागाईं ।
२५. पूर्ववत् ।
२६. चैतन्य । पूर्ववत् । पृ. १३६ ।
२७. उही । पृष्ठ १३८ ।
२८. पूर्ववत् ।
२९. चापागाईं, निनु, (२०६४) । दोस्रो सं.। मार्क्सवादी चिन्तनमा सौन्दर्य । भूमिका पृ.ख । ललितपुर, नेपाल । साझा
प्रकाशन ।
३०. उही । पृष्ठ भूमिका, ग–घ ।
३१. चैतन्य । पूर्ववत् । पृष्ठ उही ।
३२. पूर्ववत् । पृष्ठ १३७ ।
३३. चैतन्य । पूर्ववत् । पृष्ठ १३९ ।
३४. पूर्ववत् । पृष्ठ १४१ ।
३५. चैतन्य (२०६४) । क्रान्ति र सौन्दर्य । पृ. १०५ । काठमाडौं, नेपाल ः प्रगतिशील अध्ययन केन्द्र ।
३६. उही । पृष्ठ १०७ र १०८ । मार्क्सवादी सौन्दर्यचिन्तन । पृष्ठ १९६ ।
३७. ढकाल, घनश्याम (२०६६) । सौन्दर्यशास्त्रको आँखीभ्mयाल । पृ. ३ । काठमाडौं, नेपाल : अखिल नेपाल लेखक सङ्घ
केन्द्रीय समिति ।
३८. ढकाल, घनश्याम (२०६९) । लक्ष्मीप्रसाद देवकोटा : कला चिन्तन र सौन्दर्यचेतना । अवस्थी, महादेव (संयो.) ।
महाकवि देवकोटा व्याख्यानमाला (२०६९) मा (पृ.२१६–२३५) । पृ. २३२ र २३४ । काठमाडौं, नेपाल : नेपाल प्रज्ञा–
प्रतिष्ठान ।
३९. चापागाईं, निनु, (२०६४) । दोस्रो सं.। मार्क्सवादी चिन्तनमा सौन्दर्य । पृ.१६६ । ललितपुर, नेपाल । साझा प्रकाशन
। चापागाईं, निनु (२०६८) । दलित सौन्दर्यशास्त्र र साहित्य । पृ. १०३ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
४०. ढकाल, घनश्याम (२०६९) । लक्ष्मीप्रसाद देवकोटा :कला चिन्तन र सौन्दर्यचेतना । अवस्थी, महादेव (संयो.) ।
महाकवि देवकोटा व्याख्यानमाला (२०६९) मा (पृ.२१६–२३५) । पृ. २३४ । काठमाडौं, नेपाल : नेपाल प्रज्ञा–प्रतिष्ठान

४१. पाण्डेय, ताराकान्त (२०७३) । मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र । पृ.२७९ । ललितपुर,
नेपाल : साझा प्रकाशन ।
४२. गोर्की, माक्सिम (२०७५) । माक्सिम गोर्की केही सङ्कलित रचना । निनु चापागाईं (अनु.,सम्पा.) । पृ. ३२ र ३५ ।
काठमाडौं, नेपाल : खोजी प्रकाशन गृह प्रा.लि.।
४३. चैतन्य । (२०६९) । मार्क्सवादी सौन्दर्यचिन्तन । पृ. १४८ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
४४. श्रेष्ठ, कृष्णदास (२०७२) । भौतिकवादी सौन्दर्यचिन्तन र केही समीक्षा । पृ. १ । काठमाडौं, नेपाल ः कृष्णदास
फाउण्डेसन ।
४५. उही । पृष्ठ ७ ।
४६. उही । पृष्ठ १० ।
४७. उही । पृष्ठ १५ ।
४८. ढकाल घनश्याम र अन्य (सम्पा.) (२०६७) । मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य । पृ.सम्पादकीय २ । काठमाडौं,
नेपाल ः अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति ।
४९. ढकाल, घनश्याम (२०६६) । सौन्दर्यशास्त्रको आँखीझ्याल । पृ. २३ । काठमाडौं, नेपाल : अखिल नेपाल लेखक
सङ्घ केन्द्रीय समिति ।
५०. चैतन्य (२०६४) । क्रान्ति र सौन्दर्य । पृ. १ । काठमाडौं, नेपाल : प्रगतिशील अध्ययन केन्द्र ।
५१. क.ढकाल घनश्याम र अन्य (सम्पा.) (२०६७) । मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य । सम्पादकीय । काठमाडौं,
नेपाल : अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समिति । ख. सौन्दर्यशास्त्रको आँखीझ्याल ।। पृ. २३ । ग. भण्डारी,
जगदीशचन्द्र (२०६५) । सौन्दर्यको भूमिका । पृ. २७ । काठमाडौं, नेपाल : अखिल नेपाल लेखक सङ्घ ।
५२. चैतन्य (२०६४) । क्रान्ति र सौन्दर्य । पृ. १६ । काठमाडौं, नेपाल : प्रगतिशील अध्ययन केन्द्र ।
५३. बराल, ऋषिराज (२०६३) । सङ्गीत र सौन्दर्य । पृ. २३ ।…, नेपाल : प्रगतिशील साहित्य अध्ययन मञ्च ।
५४. चैतन्य । (२०६९) । मार्क्सवादी सौन्दर्यचिन्तन । पृ. १६४ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
५५. ढकाल, घनश्याम (२०६६) । सौन्दर्यशास्त्रको आँखीभ्mयाल । पृ. २३ । काठमाडौं, नेपाल : अखिल नेपाल लेखक सङ्घ
केन्द्रीय समिति ।
५६. चैतन्य (२०७०) । मार्क्सवादी सौन्दर्यशास्त्र भन्नु नै ठीक । राजेन्द्र महर्जन (सम्पा.) । दलित सौन्दर्य बोध (२०७०)
मा (पृ.११९–१२१) । पृ. १२१ । ललितपुर, नेपाल :समता फाउन्डेशन ।
५७. क. चैतन्य । (२०६९) । माक्र्सवादी सौन्दर्यचिन्तन । पृ. १५ । ललितपुर, नेपाल : साझा प्रकाशन । ख. चापागाईं,
निनु (२०५१) । यथार्थवादी रचनादृष्टि र विवेचना । पृ. १२९ । काठमाडौं, नेपाल । दिल वरदान, महिम चापागाईं ।
५८. चैतन्य । (२०६९) । मार्क्सवादी सौन्दर्यचिन्तन । पृ. १४ । ललितपुर, नेपाल : साझा प्रकाशन ।
५९. चापागाईं, निनु (२०६४) । दो.सं.। उत्तरआधुनिकतावाद : भ्रम र वास्तविकता । पृ. १०५ । काठमाडौं, नेपाल : विवेक
सिर्जनशील प्रकाशन प्रा.लि.।
६०. माक्र्स, कार्ल र एङ्गेल्स, फ्रेडरिक (१९८९) । । साहित्य र कला । पृ. ३९ । राजेन्द्र मास्के र सूर्यप्रकाश पौड्याल –
अनु.) । मास्को, रुस । प्रगति प्रकाशन ।
६१. उही । पृष्ठ ५९ ।
६२. चापागाईं, निनु (२०५१) । यथार्थवादी रचनादृष्टि र विवेचना । पृ. ७३–७४ । काठमाडौं, नेपाल । दिल वरदान, महिम
चापागाईं ।
६३. पौडेल, हेमनाथ (२०६५) । प्रगतिवादी दृष्टिमा कवि र कविता । पृ. २ । काठमाडौं, नेपाल : पैरवी प्रकाशन ।
६४. उप्रेती, गङ्गाप्रसाद (२०६८) । व्यक्ति, कृति र प्रवृत्ति । पृ. १२० । काठमाडौं, नेपाल : प्रतिभा प्रकाशनका निम्ति
डिल्ल्लीमाया उप्रेती ।
६५. भण्डारी, जगदीशचन्द्र (२०७५) । सौन्दर्यको अन्वीक्षण । पृ. १ । काठमाडौं, नेपाल : मुन्नी भण्डारी ।

(यो लेख ‘प्रज्ञा समकालीन नेपाली समालोचना ’ मा सामेल गरिएको ‘मार्क्सवादी सौन्दर्यचिन्तन र मूल्य निरुपणका सन्दर्भमा समकालीन नेपाली समालोचना’ शीर्षकको लेखको रूपान्तरित अंश हो)

*नेपाली वाङ्मयको क्षेत्रमा निनु चापागाईं मार्क्सवादी  सौन्दर्य चिन्तक, समालोचक र संस्कृतिविद्का रूपमा सुपरिचित छन् । उनका ‘यथार्थवादी रचना दृष्टि र विवेचना’, ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’, ‘सन्दर्भ संस्कृति र सांस्कृतिक रूपान्तरण’, ‘उत्तरआधुनिकतावाद :भ्रम र वास्तविकता’, ‘सांस्कृतिक रूपान्तरण’, ‘दलित सौन्दर्यशास्त्र र साहित्य’, ‘पूर्ववाद र सइदेली विचार’, ‘प्रगतिशील कवि योगमाया र सर्वार्थ योगवाणी’ जस्ता कृतिहरू प्रकाशित छन् । उनले ख्यातिप्राप्त अनेकौं कृतिहरूको अनुवाद गरेका छन् भने एक दर्जनभन्दा बढी ग्रन्थहरूको सम्पादन पनि गरेका छन् । चापागाईं विगत पाँच दशकदेखि नेपालको कम्युनिस्ट राजनीति र प्रगतिवादी साहित्यको फाँटमा समानान्तर रूपमा सक्रिय छन् । उनी प्रगतिवादी शिविरका सम्मानित थुप्रै पुरस्कारबाट सम्मानित छन् । उनी नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्य छन्  

Leave a Comment

Your email address will not be published.