Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक

पुरुषोत्तम सुवेदी*

कुनै पनि काम पूर्णरुपमा सर्वस्वीकार्य हुन सक्दैन र काम सम्पन्न भएपछि मात्र त्यसको शक्ति र कमजोरी थाहा हुन्छ । यस संकलनले आगामी दिनमा नेपाली साहित्यको अनुवाद , प्रतिनिधित्व र ऐतिहासिक यथातथ्यबारे अझ सजग र यथार्थ आधारित हुन थप सहयोग पुर्‍याउने छ भन्ने आशा गर्नै पर्छ । यति ठूलो फलकमा प्रगतिवादी नेपाली साहित्यका यति धेरै रचना र रचनाकारबाट एउटा सीमित संख्या छनौट गर्नु , अनुवादलगायतका व्यावसायिक काम गर्नु , आर्थिक, प्राविधिक श्रोत र साधन जुटाउनु र प्रकाशन गर्नु चानचुने काम होइन । यसको आलोचना गर्दा यसले सृजना गरेको दूरगामी असर र ऐतिहासिकताको पक्षमा ध्यान दिइएको नै हो । संकलन आफैँमा शक्तिशाली रचना र रचानाकारहरूका स्वनामधन्य रचनाहरूले सिंगारिएका कारण विदेशबाट विदेशी भाषामा प्रकाशित संकलनमा विशिष्ट महत्व राख्छ । वामपन्थी र प्रगतिवादी शिविरका समर्थक र पक्षधर शक्तिहरू अहिले पनि नेपाल , भारत , पाकिस्तान , बंगलादेश , श्रीलंका आदि देशमा धेरै चुनौतीबाट घेरिएका छन् । यस्तो समयमा पनि भारतको हिन्दीभाषी ’समकालीन तीसरी दुनिया’ ले प्रगतिवादी नेपाली साहित्य विशेषांकको प्रकाशन गरेर स्तुत्य काम गरेको छ ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलन २००९ साल असोज ५ गते, तदनुसार इ. सं. १९५२ सेप्टेम्बेर २० मा स्थापित प्रगतिशील लेखक संघले संस्थागत रुप दिई अघि बढाएको वैचारिक जागरण र सृजनपरम्पराको अग्रगामी र प्रतिबद्ध राजनीतिक-दार्शनिक चिन्तन र सृजनात्मक लेखनको निरन्तरता हो । प्रगतिशील लेखक संघको नीति र विचारसम्बद्ध कवि-लेखकहरूले सामन्ती तथा अर्धसामन्ती संस्कृति, अर्धउपनिवेशवादी चिन्तन, जातिवाद तथा एकात्मक राज्य व्यवस्थाका विकृतिहरू विरुद्ध लड्न, सांस्कृतिक बहुलताको पृष्ठपोषण गर्न र सामान्यजनका सरोकारप्रति प्रतिबद्ध रहन विचार, चिन्तन र रचनामार्फत हस्तक्षेप गरेको देखिन्छ ।

हिन्दी, बंगाली तथा भारतमा विद्यमान अन्य भाषाहरूमा फाट्टफुट्ट प्रकाशन भएको इतिहास भएपनि २४० पृष्ठको बृहत् आकारको विशेषाङ्कमा नेपाली साहित्यको हिन्दी अनुवादको प्रकाशन गरेर ‘समकालीन तीसरी दुनिया’ ले नेपाली भाषा, साहित्य र हिन्दी भाषा साहित्यलाई ठूलो गुण लगाएको छ । ऐतिहासिक काम गरेको छ । ‘समकालीन तीसरी दुनिया’ को प्रकाशन प्रारम्भ भएदेखिनै यसले नेपाली राजनीति र साहित्यको माक्र्सवादी – प्रगतिवादी पक्षको विश्लेषण, पक्षपोषण र परिचय गराउँदै आएको छ । यस विशेषाङ्कले प्रस्तुत गरेको बृहत् संकलनबाट हिन्दी भाषाभाषी समुदायमा प्रगतिशील नेपाली साहित्यको व्यापक परिचय दिने र नेपाली भाषा-साहित्यको जानकारी प्रदान गर्ने देखिन्छ । ‘विशेषाङ्कको यो अंकले हिन्दी र नेपाली साहित्यका बीच पुलको काम गर्ने मात्र होइन, दुई देशका भाषा र सहित्यमाझ सम्वाद र विमर्शको नयाँ सम्भावनाको ढोका पनि खोल्ने छ’ भन्ने सम्पादकीयको भनाइ सान्दर्भिक रहेको छ । विशेषाङ्कको ’दुई शब्द’ भने प्रगतिशील लेखक संघ , यसका प्रकाशनहरू , यसले प्रारम्भ गरेको आन्दोलनको निरन्तरता, साझा मंचको रुपमा यसको औचित्य र नेपाली प्रगतिशील लेखनले व्यक्त गरेको विषयवस्तुको जनपक्षधरताप्रति मौन रहेको छ । नेपाली साहित्यमा लेखेकै कारण जेल परेका लेखक कृष्णलाल अधिकारी र साहित्यकार लक्ष्मीनन्दन चालिसेको उपस्थिति सम्मानयोग्य रहेको छ । तर कृष्णलाल अधिकारीमाथि पूरै समर्पित ‘दुई शब्द’ले उनैसँग सम्बन्धित घटनालाई नै प्रगतिवादी लेखनको भ्रूणका रुपमा चित्रण गरेको विषयमा भने फरक मत राख्न सकिन्छ ।

‘समकालीन तीसरी दुनिया’ का प्रधानसम्पादक आनन्दस्वरुप वर्मा स्वयम् पनि हिन्दी भाषामा लेख्ने भारतीय प्रगतिवादी साहित्यका स्रष्टा र आन्दोलनकारी व्यक्तित्व भएका कारण उनको प्रगतिवादी साहित्यप्रतिको मोह स्वाभाविकै हो । नेपाली वामपन्थी राजनीति र प्रगतिशील साहित्यिक-सांस्कृतिक आन्दोलनमा उनको रुचि र समर्थन लामो समयदेखि मननीय रहँदै आएको छ । ‘समकालीन तीसरी दुनिया’ को २००९ अक्टोवरको ‘नेपालपर केन्द्रित विशेष अंक’ मा पनि नेपालको तत्कालीन राजनीति र साहित्यबारे बृहत् चर्चा भएको थियो । त्यस अंकमा यस पंक्तिकारको ‘मूल्यांकन मासिक’ मा प्रकाशित लेखको हिन्दी अनुवाद ‘नेपाली कविता राजतन्त्र से गणतन्त्रतक’ प्रकाशित भएको थियो । ‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक बारे चर्चा गर्नु अघि त्यस्के सन्दर्भलाई सहयोग पुर्याउन नेपाली प्रगतिवादी साहित्य आन्दोलन को पृष्ठभूमिबारे केहि शब्द राख्न आवश्यक ठानेको छु।

नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न दल, विचार र सोचमा बाँडिए जसरी लेखक कविहरूको चिन्तनप्रक्रिया , सृजनात्मक र संगठनात्मक संलग्नतामा पनि स्पष्ट भिन्नता दृष्टिगोचर हुन्छ । यद्यपि प्रारम्भदेखिनै प्रगतिशील लेखक संघ (प्रलेस) ले वामपन्थी सांस्कृतिक – साहित्यिक आन्दोलमा भने साझा मंचको रुपमा एकताबद्ध गर्दै आएको देखिन्छ । प्रलेसको संगठनात्मक स्वरुपमा यस्को उद्धेश्य संग सरोकार नराख्ने व्यक्ति हरु पनि पटक पटक प्रवेश गरेको र आफैँ प्रलेस त्यागेर हिँडेको इतिहास छर्लंग छ । धर्मराज थापा, कमल दीक्षित, ताना शर्मा, बालकृष्ण पोखरेल,लीलाध्वज थापा , कञ्चन पुडासैनी, लोकराज बराललगायतका प्रगतिशील साहित्यिक आन्दोलनसँग कुनै सम्बन्ध नभएका व्यक्तिहरू एक समय प्रलेसमा सामेल भई यसका अध्यक्ष, सचिव लगायतका पदाधिकारी समेत बन्न सफल भए । तर समयक्रममा आन्दोलनको उपादेयता आफूअनुकूल नभएपछि पार्टीको निर्देशनमा चल्नुपर्नेलगायतका आरोप लगाउँदै त्यस्ता व्यक्तिहरू संगठनबाट अलग्गिएको इतिहास छ । कृष्णचन्द्रसिंह प्रधान, मदनमणि दीक्षित, धनुषचन्द्र गौतम, भूपी शेरचन आदि पछिल्लो समय आन्दोलनविरोधी शिविरमा रहेका भएतापनि आन्दोलनको इतिहासमा उनीहरूको नाम सम्मानपूर्वक लिइन्छ ।
नेपाली प्रगतिवादी साहित्यिक आन्दोलन विश्वभर भएका राजनीतिक आन्दोलन , साहित्यिक परिवर्तन र प्रयोग , वैचारिक अवधारणा र आन्दोलनको परम्परामै अघि बढेर आएको छ । यस सम्बन्धमा सन् १९२९ मा रूसमा स्थापित सर्वहारा लेखकहरूको रसियाली संघ ( जुन ३ वर्षमै सदस्यहरूमा मतभेद भई विघटनको शिकार भयो ) पहिलो खुड्किलो हो । त्यसपछि रूसी कम्युनिष्ट पार्टीकै पहलमा सन् १९३४ मै म्याक्सिम गोर्कीको नेतृत्वमा ’ रसियाली लेखकहरूको साहित्यिक संगठन’ को स्थापना भयो । यसको हाराहारीमै विश्वभरका फासीवाद, नाजीवाद तथा दक्षिणपन्थी पूँजीवादका विरोधी लेखकहरूको भेला पेरिसमा भयो । यस भेलाले सन् १९३४ मै ई. एम. फोस्टरको नेतृत्वमा प्रगतिशील लेखक संघको गठन गर्‍यो । यस भेलामा विख्यात लेखकहरू म्याक्सिम गोर्की , रोमा रोला , आन्द्रे मालरो, थमस मुनलगायतको उपस्थिति र सहभागिताका कारण विश्वभरकै वामपन्थी र प्रगतिशील स्रष्टाहरुलाई यस्तै संघमार्फत आन्दोलनको अगुवाइ गर्न दबाब र प्रेरणा प्राप्त भयो । फासीवाद र नाजीवादबाट आक्रान्त यस समयमा वामपन्थ र प्रगतिशीलताको उभार आएको थियो । यसको प्रभाव स्वरुप युरोप र एसियाका धेरै देशहरूमा प्रगतिशील लेखक संघको गठन र वामपन्थी आन्दोलनमा व्यापकता आएको देखिन्छ । यस प्रभावकै फलस्वरूप बेलायतमा पढ्ने ब्रिटिश उपनिवेश इण्डियाका नवयुवक साहित्यिक व्यक्तिहरूले पनि सन् १९३५ मा लण्डनमै भारतीय प्रगतिशील लेखक संघको गठन गर्न पुगे । यस भेलाबाट सन् १९३६ मा पहिलो पटक प्रलेसको अधिवेशन र कार्यसमिति बन्दा त्यसले बेलायतबाट स्वतन्त्र हुने आन्दोलनमा पनि प्रत्यक्ष र शक्तिशाली दबाब दिन सफलता प्राप्त गरेको थियो । ।

नेपालमा वि. सं. १९९० को दशकलाई नेपाली साहित्यमा विश्वमा चलेका अग्रगामी विचार, सरोकार र प्रयोग तथा आधुनिकता भिœयाउने दशकको रुपमा लिइन्छ । यस अघि वि.सं. १९७४ मा प्रकाशित लेखनाथको कविता ‘पिंजडाको सुगा’, वि.सं. १९७५ मा प्रकाशित धरणीधर कोइरालाको जागरण गीत ’जाग न जाग’ तथा वि.सं. १९८० मा प्रकाशित महानन्द सापकोटाको लोककाव्य ‘मनलहरी’ र वि.सं. १९८४ मा प्रकाशित रुपनारायण सिंहको कथा ‘अन्नपूणर्’ आदिको प्रेरणा र दबाबले पनि होला बालकृष्ण समले यसअघि नेपाली साहित्यमा नदेखिएको नयाँ विधा निबन्ध र नाटकबाट, लक्ष्मीप्रसाद देवकोटाले कविता र निबन्धबाट र सिद्धिचरण श्रेष्ठले कविताबाट आधुनिकताको प्रयोगका प्रयास शुरु गरेका थिए । तर कवितामा उनीहरू शास्त्रीय छन्दमार्फत नै सृजनारत थिए । गोपालप्रसाद रिमालको गद्यकविता ‘कविको गान’ वि. सं १९९२ फागुन १६ मा गोरखापत्रमा प्रकाशित भयो । रिमालले त्यसपछि पनि निरन्तर कविता सृजना र प्रकाशन गरिरहे । रिमालको गद्यकविता प्रकाशन भएको १२ वर्षपछि देवकोटा २००३ सालमा ‘साँढे’ कवितामार्फत र सम १३ वर्षपछि २००४ सालमा ’ईश्वर’ कवितामार्फत गद्य कवितामा प्रवेश गरेका थिए । माथि उल्लेखित कविता, नाटक, कथा, निबन्धको रचना आफैँमा सचेत प्रगतिशील कार्य होइन । तर आधुनिकताको प्रवेशपछि नै नेपाली साहित्य पनि विश्व परिवेशमा सामेल भयो । प्रगतिशील साहित्य र संस्कृतिको प्रवेश र हस्तक्षेपको निकट अतीत भएकोले पृष्ठभूमिका रुपमा यी रचना र रचनाकार उल्लेखयोग्य रहेका छन् । रिमाल, सम , देवकोटा , सिद्धिचरण , वीपी कोइराला , रुपनारायण सिंह , गुरुप्रसाद मैनाली ,रुद्रराज पाण्डेका कविता , कथा, निबन्ध आदिको प्रकाशनका साथसाथै नेपाली साहित्यका खासगरी कविता , कथा , निबन्ध र नाटकमा रुप , संरचना , विषयवस्तु र सरोकारका नयाँ क्षेत्रमा पनि १९९१ लाई रुपान्तरणंको कोसेढुंगो मान्नुपर्ने हुन्छ । प्रगतिशील विचार , चिन्तन र लेखनको आधारशिलाको रुपमा पनि १९९१ त्यति नै महत्वपूणर् छ । घोषित रुपमा नभए पनि लेखनको सांकेतिक प्रारम्भको रुपमा भने यही समय, वि. सं १९९१ ( सन् १९३४/३५) तिरनै नेपाली साहित्यमा प्रगतिशीलताको प्रवेश भएको मान्न सकिन्छ । यस समयमा गद्य कविता , कथा , निबन्ध , उपन्यास , समालोचना , प्रबन्ध र अनेक दार्शनिक विषयलगायतका विधाहरूमा ’स्वान्तः सुखाय ’ परम्परा छोडेर आमसरोकारका विषयहरू उपस्थित हुन थाले । वि.सं. १९९६ मा देवकोटाको लोकछन्दको काव्य ‘मुनामदन’, हृदयचन्द्रको नाटक ‘छेउ लागेर’ र रिमालको २००३ सालको युगान्तकारी नाटक ‘मसान’ ले पनि वर्गीय सरोकारको विषयवस्तु टिपेको स्पस्ट देखिन्छ । कृष्णचन्द्र सिंह प्रधान गद्य कविताको पदार्पणपछि नेपाली साहित्यमा सबभन्दा लामो र पुरानो छन्दपरम्पराको समाप्ति र त्यो छन्दपरम्परा गद्यधारामा समाहित हुन पुगेको दावी गर्छन् :
‘आधुनिक विकास क्षेत्रमा गद्यकाव्य साहित्यिक प्रगति हो । यसको देनमै नेपाली कविताको पूर्वपरम्परा समाप्तिएको पाइन्छ । नियममा, भावमा , शैली , विषय र अभिव्यक्ति सबैमा । छाप्रो , महल , पौवा , मगन्ते अनि गल्ली , खेत , कारखाना , किसान र युद्ध, बजार, घुसखोरी, साम्राज्य चारैतिरका वर्तमान समस्या र विशालता यसको उडानको सिमावर्ती भए (भूमिका ,भञ्ज्याङनिरै, २५ कार्तिक २००७) ।’
प्रधानले आफ्नो लामो भूमिकामा गद्यकवितालाई नेपाली साहित्यको आधुनिकता र प्रगतिशीलताको आधारशिलाको रुपमा दावी गरेका छन् । राणाशाहीको स्वतन्त्रताविरोधी जहानिया शासन, आधुनिक शिक्षण संस्था र शिक्षा प्राप्त व्यक्तिको न्यून संख्या, विश्व समुदायसँग एक्लिएको र आफ्नै पुरातन रुढिको शरणमा रहेको भूतप्रेत , धामी , झाँक्री , छुवाछुतकारी जातिपाति मान्ने चेतना, धर्ममा आधारित नियमकानुनका कारण विश्वमा चलेका प्रजातान्त्रिक विचार र स्वतन्त्रता आन्दोलनसँग अपरिचित समाजले नयाँ समय चिन्ने र त्यसको पक्षमा आवाज उठाउने सम्भावना नै थिएन । यस्तो बेलामा युरोपका विभिन्न देशहरू र बृटिश भारतका शिक्षण संस्थाहरूमा पढ्न पुगेका व्यापारी समुदाय तथा शासकवर्गका नवयुवकहरूमा भने बिस्तारै स्वतन्त्रता, प्रजातन्त्र र आधुनिक समयको मागअनुरुप आन्दोलनको प्रभाव पर्नु स्वाभाविकै हो । जसको फलस्वरूप ब्रिटिश इण्डिया र युरोपतिर लुकिछिपी राणाशाहीको विरोध र प्रजातान्त्रिक स्वतन्त्रताको माग उठ्न थाल्यो । नेपाली समाज , राजनीति र खासगरी साहित्यमा परिवर्तनको यो नयाँ रुपको निर्माणमा भित्रभित्र रुसी क्रान्ति, बेलायती उपनिवेशको पतनोन्मुख अवस्था र उपनिवेशवादविरोधी विश्वव्यापी चेतनासँगै राणाशाहीको विरोधको नाममा प्रजातान्त्रिक स्वतन्त्रता र अग्रगामी विचारले फड्को मारिरहेको थियो । कृष्णचन्द्र सिंह प्रधानका विचारमा ‘संक्रमणकालीन युगको आर्थिक प्रतिक्रियाजस्तो राजनीतिक क्षेत्रमा वर्गसंघर्षको रुपमा ध्वनित भइरहेको छ । साहित्य क्षेत्रमा पनि यसरी नै प्रतिफलित भई वर्गचेतनाको रुपमा गुञ्जिरहेको छ ।’ (भूमिका,भञ्ज्याङनिरै, २६ कार्तिक २००७ ) उनका विचारमा ‘राजनीतिमा समाजवाद र साहित्यमा प्रगतिवाद एउटै अर्थ र उद्देश्य प्राप्तिका दुई भिन्न वस्तु हुन् ।’ (भूमिका, भञ्ज्याङनिरै , २५ कार्तिक २००७)
नेपाली प्रगतिवादी आन्दोलनको स्थापना वा प्रारम्भअघि गरिएका आधुनिक, सरोकारवादी र नयाँ भावभूमिका रचनाहरू पृष्ठभूमिमा रहेका कारण नै प्रगतिशील साहित्यिक आन्दोलनको जग रहन गयो । यसै पृष्ठभूमिको निर्माणपछि, लामो समयको तयारीपश्चात प्रगतिशील लेखक संघको स्थापना भएको थियो । प्रलेसको निर्माणअघि अनेक व्यक्ति, विधा र रचनाले प्रगतिशील लेखनको आधारशिलाको काम गरेका छन् । वि सं २००६ सालमा पुष्पलालले अंग्रेजीबाट अनुवाद गरी प्रकाशन गरेको कम्युनिष्ट पार्टीको घोषणापत्र , श्यामप्रसाद शर्माको ‘डायरी’ र ‘तँ तिमी तपार्इँ हजुर’लगायतका निबन्धहरू , श्यामप्रसादले प्रगतिशील चेतना फैलाउन खोलेको सेवा सदन र ‘सेवा’ पत्रिका तथा उनको प्रगतिशील लेखनप्रतिको आजीवन समर्पण नेपाली प्रगतिशील लेखन आन्दोलनको पृष्ठभूमि र भविष्यको गोरेटो पनि हो । यस्तै हृदयचन्द्रले २००४ सालमा प्रकाशन गरेको पत्रिका ’साहित्यश्रोत’ तथा उनका नाटक , कविता , समालोचना र निबन्धहरू , २००८ सालमा प्रकाशित कृष्णचन्द्रसिं प्रधानको कवितासंग्रह ‘भञ्ज्याङनिरै’ र यसमा भएको लामो भूमिका तथा उनका यस अघिनै प्रकाशित कविताहरूमा रहेको प्रगतिशील चेतना, केवलपुरे किसानका छन्द र झ्याउरेका शक्तिशाली कविता, भवानी घिमिरेका कथा र कविताहरू, प्रलेस स्थापनाअघिको प्रगतिवादी लेखनको प्रारम्भिक प्रयोग र सरोकारवादी लेखनको पूर्वाधारका रुपमा रहेका छन् । श्यामप्रसाद , केवलपुरे किसान र भवानी घिमिरे प्रलेसका संस्थापक पदाधिकारी र आजीवन प्रगतिशील लेखनप्रति मन, वचन र कर्मले समर्पित इतिहास निर्माता व्यक्तित्वहरू हुन् ।
‘समकालीन तीसरी दुनिया’ को प्रस्तुत संकलनमा नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका केन्द्रीय व्यक्तित्व श्यामप्रसाद, केवलपुरे किसान, भवानी घिमिरे, हृदयचन्द्रसिं प्रधान , कृष्णचन्द्रसिं प्रधान , गोकुल जोशी , जनकप्रसाद हुमागाई , शक्ति लम्साल र टी.आर. विश्वकर्माजस्ता पहिलो महत्वपूणर् चरणका प्रगतिवादी साहित्यकारहरू अट्न सकेका छैनन् । अथवा नेपाली प्रगतिवादी साहित्यको आरम्भिक इतिहास नै नामेट हुने गरी उनीहरूलाई छुटाइएको छ । त्यस्तै गोविन्द भट्ट , आनन्ददेव भट्ट , गोविन्दप्रसाद लोहनी , डी. पी. अधिकारी , सरिता ढकाल , जयप्रसाद ढकाल , मदनमणि दीक्षित , कृष्णप्रसाद श्रेष्ठ बिए , कृष्ण पाख्रिन , द्रोणाचार्य क्षेत्री, नेत्रलाल अभागी ,मनु ब्राजाकी, गोविन्द विकल, वेणु आचार्य , अग्निशिखा , शैलेन्द्रकुमार सिं, रुद्र खरेल , राजेन्द्र सुवेदी , हीरा आकाश, हीरामणि शर्मा पौडेल, लोकेन्द्र शाह, विमल गुरुङ लगायतका महत्वपूर्ण तर दिवंगत प्रगतिशील कवि-लेखकहरू पनि संकलनमा समावेश छैनन् । त्यस्तै शान्तदास मानन्धर, यज्ञराज प्रसाई, नरेश श्रेष्ठ, राम विनय, तीर्थ न्यौपाने, ताराकान्त पाण्डे , जगदीशचन्द्र भण्डारी , ऋषिराज बराल , गंगाप्रसाद उप्रेती, सुधा त्रिपाठी, बम देवान, लीला उदासी, कृष्ण पोख्रेल, राजव, शार्दूल भट्टराई , रमेशरंजन झा, रामहरि पौडेल , भागीरथी श्रेष्ठ, अमर शाह, शरद देवकोटा, सुलोचना मानन्धर, प्रमोद धिताल, के.एल. पीडित , रेशम विरही , ललिजन रावल , मिश्र बैजन्ती , निमेष निखिल, सरस्वती प्रतीक्षा, शारदारमण नेपाल , रविमान लमजेल, अनिल पौडेल, कणाद महर्षि, उमेश उपाध्याय , सुदीप पाख्रिन, पूर्ण इन्फादा, शान्तिप्रिय बन्दना, साम्व ढकाल , आर.आर. चौलागाई, श्याम रिमाललगायतका प्रगतिशील लेखकहरू पनि छुटेका छन् । पछिल्लो गणतान्त्रिक साहित्यिक पुस्ताका शक्तिशाली हस्ताक्षर पञ्चकुमारी परियार, हरिहर तिमिल्सिना, सुमनराज श्रेष्ठ, मुक्तान थेवा, कल्पना चिलवाल, रेखा सुवेदी , प्रकाश गुरागाईं , केवल विनावी, विना थिङ,लक्ष्मी रुम्बा, बिन्दु शर्मा, फूलमान बल, सुवास खनाल, पुरुषोत्तम आचार्य, छम गुरुङ, श्याम साह , चन्द्र गुरुङ , चन्द्र रानोहछा, माधव घिमिरे अटल , निर्भीकजङ्ग रायमाझी, बादलदेवी चामलिङलगायतका कवि/लेखक पनि छुटेका छन् । यो छुटाइले एउटा समयको कवि/लेखक अर्को पुस्तासँग कसरी सम्वाद गर्छ, कसरी समयलाई बुझ्छ, शोषणको प्रवृत्ति र प्रकृतिसँग कसरी प्रस्तुत हुन्छ भन्ने जस्ता विषयको तुलनाका सम्भावनाबाट पाठकवर्ग वञ्चित रहन्छ । साथै, रचना र रचनाकार छनोटका आधारहरू नबनाइएको, छनोट गरिएका केही रचनाकारको औचित्य स्पष्ट नभएका कारण यो अन्योल र आलोचनाको स्थिति उत्पन्न भएकोमा एकमत हुन सकिन्छ । ।

यतिधेरै कविता , कथा ,साक्षात्कार , संस्मरण , निबन्ध र एकांकी तथा घटनाक्रम समेटिएको प्रस्तुत संकलनमा केही अपरिहार्य विधा, परम्परा र स्रष्टा छुटेका कारण संकलनलाई न त प्रगतिवादी नेपाली साहित्यको प्रतिनिधि संकलन भन्न सकिन्छ , नत संलग्न लेखकका रचनाहरू नै निजहरू सबैका प्रतिनिधि रचना हुन् भनेर दावी गर्न सकिन्छ । यसमा पनि श्यामप्रसाद , केवलपुरे किसान , भवानी घिमिरे , हृदयचन्द्रसिं प्रधान , कृष्णचन्द्रसिं प्रधान , टी.आर. विश्वकर्मा ,गोकुल जोशी, गोविन्दप्रसाद लोहनी , गोविन्द भट्ट , आनन्ददेव भट्ट , मदनमणि दीक्षित , शक्ति लम्साल , कृष्णप्रसाद श्रेष्ठ, डी. पी. अधिकारी , सरिता ढकाल , जयप्रसाद ढकाल , हीरामणि शर्मा पौडेल , जनकप्रसाद हुमागाईं , गोविन्द विकल , राजेन्द्र सुवेदी , रुद्र खरेल , हीरा आकाश, मनु ब्रजाकीजस्ता प्रगतिवादी साहित्यिक आन्दोलनका प्रतिनिधि रचनाकारहरू छुट्दा संकलनको आधिकारिकतामै संशय उत्पन्न हुन्छ । त्यस्तै नेपाली कविता , कथा , निबन्ध र समालोचनाका हस्ती यज्ञराज प्रसाई , ऋषिराज बराल , राजव , रेशम विरही , शार्दूल भट्टराई , ताराकान्त पाण्डे , जगदीशचन्द्र भण्डारी , सुधा त्रिपाठी , भागीरथी श्रेष्ठ, कविताराम, वम देवान, रामहरि पौडेललगायत छुटेको विषयलाई स्वाभाविक मान्न सकिँदैन । बरु यसबाट नेपाली प्रगतिवादी साहित्यको अङ्गभङग दृश्य प्रस्तुत हुनजान्छ । सल्लाहकार मण्डलमा रहेका जानकार प्रगतिशील साहित्यिक व्यक्तित्वहरूले आफ्नो सोचको सीमाले या नियतवश नै उल्लेखित अपरिहार्य व्यक्तिहरूलाई छुटाएको या असावधानीवश नछुटनुपर्ने छुटेको र छुट्नुपर्ने समावेश भएको विडम्बनापूणर् स्थितिको सिकार यो संकलन हुन पुगेको छ । वर्गसंघर्षको सारवस्तुको औचित्यप्रतिनै उपेक्षा र असहमति प्रकट गर्दै आएका , सक्रियरुपमा वर्गशत्रुको पक्षपोषण गर्दै आएका , ढुलमुल चरित्रका र प्रगतिवादी लेखन, आन्दोलन र प्रगतिवादी स्रष्टाहरूको खिल्ली उडाउँदै आएका केही व्यक्ति पनि यस संकलनमा समावेश छन् । यसको विपरीत समग्र जीवन प्रगतिवादी साहित्यको सेवा गरेका र विपक्षी शिविरले पनि पहिचान गरेका प्रतिबद्ध प्रगतिवादी हस्तीहरू यस संकलनमा अटाएका देखिँदैनन् । नेपाली साहित्यमा निकै फस्टाएको र महत्वपूणर् बन्न पुगेको विधा नाटक, निबन्ध र समालोचना छुटेको कारण पनि यो संकलनको प्रतिनिधिमूलक हैसियतमा प्रश्न उठ्न सक्छ ।
नेपाली मार्क्सवादी दलहरूका बीच विभिन्न स्तरमा मतमतान्तर रहेका छन् । त्यस मतमतान्तरको कारणले विभिन्न दलसम्बद्ध स्रष्टाहरूबीच पनि मतमतान्तर छन् । तर ती मतमतान्तर आफ्नै ठाउँमा राखेर जुनसुकै दलप्रति आवद्ध वा स्वतन्त्र भएपनि प्रलेसले सबै विचार, मत वा सृजन परम्परालाई साझा मंचको रुपमा एक ठाउँमा उभ्याउने प्रयास गर्दै आएको छ । दल विशेषका अधिकांश प्रकाशनमा आफ्नै मतपक्षधरका रचना र विचारमात्र अधिकांश प्रकाशनले प्रकाशन गर्ने गरेको देखिन्छ । तर प्रगतिशील लेखक संघले अंगीकार गर्दै आएको त्यस्तो उदार र समावेशीकरणको सट्टा गुटपरस्तता र व्यक्तिगत आग्रहले प्रस्तुत संकलनमा बढावा पाएको शंका गर्नु पर्ने ठाउँ देखिएको छ । संकलनमा रहेको एकांकी साहित्यिक रचना भन्दा पनि अमुक राजनीतिक आग्रहको पक्षधरतायुक्त विवरण वा रिपोर्ताजजस्तो देखिएको छ । हृदयचन्द्रसिंह प्रधान, राजव,शार्दूल भट्टराई, राजकुमार केसीजस्ता नाटक ,एकांकीकारका रचनाहरूको उपेक्षाले नाटक – एकांकी विधालाई न्याय नपुगेको र असहमतिको पक्ष बनाएको छ । युग पाठकको उत्तरआधुनिक प्रकृतिको वार्ताको आशय, संकेत र सार आफैँमा अन्योलग्रस्त छ । त्यो प्रगतिवादी अवधारणासँग कति मेल खान्छ ? निबन्धको नाममा समालोचकीय टिप्पणी र माक्र्सवादी सौन्दर्य चिन्तनका दुई रचना राखिएका छन् । प्रचण्डको समेत सौन्दर्यशास्त्रीय योगदानको चर्चा गर्दा पुष्पलाल र रोहितको योगदानको कुरो छुट्नु युक्तिसंगत मान्न सकिन्न । डा. ऋषिराज बराल , डा. ताराकान्त पाण्डे , डा. जगदीशचन्द्र भण्डारी, डा. सुधा त्रिपाठी जस्ता विधागत विशिष्टता भएका प्रगतिवादी समालोचक र सौन्दर्यशास्त्रीहरू छुट्दा नेपाली प्रगतिवादी समालोचनाबाट समग्र नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको समयबद्ध, विधागत र सौन्दर्यगत विवेचना छुट्न पुगेको छ । अहिलेको शक्तिशाली महिला लेखनको मूल्यांकन र चर्चाको पक्ष पनि छुटेको छ । नेपाली प्रगतिवादी साहित्यमा रहेका ललित निबन्ध, संस्मरण र प्रबन्धात्मक विधाका उत्कृष्ट रचनाहरूलाई पूरै पन्छाएर संस्मरण भनेर साहित्यिकभन्दा पनि राजनीतिक पक्षविशेषको आग्रहसम्बद्ध रिपोर्ट भन्न मिल्ने रचना राखिएको छ, जसलाई नेपाली प्रगतिशील साहित्यको निबन्ध, संस्मरणको उचाइ र गहिराइसँग जोड्न सम्भव देखिँदैन ।
कविता खण्डमा सबैभन्दा बढी असहमतिको पक्ष देखिएको छ । केवलपुरे किसान, भवानी घिमिरे , कृष्णचन्द्रसिं प्रधान , आनन्ददेव भट्ट , गोविन्द भट्ट , गोकुल जोशी , नेत्रलाल अभागी , रुद्र खरेल , गोविन्द विकललगायतका प्रगतिवादी शिविरका नायक कविहरू , त्यस्तै यज्ञराज प्रसाई , नरेश शाक्य ,वम देवान, रेशम विरही , राजव , शार्दूल भट्टराई ,अग्निशिखालगायत र पछिल्लो पुस्ताका शक्तिशाली प्रगतिवादी कविहरूलाई छोड्दा नेपाली प्रगतिवादी साहित्यको सग्लो तस्विर बन्दैन । नेपाली प्रगतिशील साहित्यिक आन्दोलनका सर्वस्वीकार्य हस्तीहरू छुट्नुमा भने नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको अर्थपूणर् र विपक्षी शिविरमा पनि स्वीकार्य स्रष्टा व्यक्तित्वहरूलाई उपेक्षा गरी प्रगतिवादी साहित्यिक आन्दोलनको यथार्थ अनुहारलाई स्वीकार गर्न नसकिने पक्षपात गरी बराल्न खोजिएको भन्न सकिने अनेक आधारहरू रहेका छन् ।
नेपाली साहित्य र राजनीति दुबैमा देखिए पनि साहित्यभन्दा राजनीतिमा बढी योगदान तथा निरन्तरता रहेका तथा राजनीतिक व्यक्तित्व साहित्यिक भन्दा ठूलो रहेका मोहनविक्रम सिंह, मणि थापा आदिका कवितालाई नेपाली प्रगतिवादी साहित्यमा प्रतिनिधि हस्ताक्षरका रुपमा मान्नुपर्ने स्थिति नरहेको यथार्थमा दुईमत हुनसक्दैन । खगेन्द्र राणा, अजयशक्ति आदि नाम नेपाली प्रगतिशील साहित्यमा देखिएका र सुनिएका नाम होइनन् । राम कार्की पार्थ, मणि काफ्ले आदिको साहित्यिक हैसियत भने साहित्यकारको रुपमा यस्तो प्रतिनिधि संकलनमा राखिनुपर्ने तहको नरहेको विषय साहित्यका प्रकाशन , वाचन , आन्दोलनलगायतका अनेक गतिविधिबाट समेत प्रमाणित हुन्छ । कविता र अन्य रचनाक्रमको कुनै वैज्ञानिक आधार (उमेर , प्रकाशन समय , अकारादि क्रम ) रहेको देखिँदैन । कतिपय कविका २/२ कविता रहेका छन् भने अधिकांशका १/१ मात्र रहेका छन् । भूपी शेरचन , पारिजात , विमल निभा , विक्रम सुब्बा , कृष्णसेन इच्छुक , आहुति , विनोदविक्रम के.सी. आदिका २/२ कविता छन् भने अरू कविहरूका १/१ मात्र छन् । यसको कुनै आधार दिइएको छैन । पारिजातको कविताबाहेक कथा पनि प्रकाशित छ । यस्तै आहुतिको अन्तर्वार्तासमेत राखिएको छ भने १ कविता रहेका अमर गिरीको समालोचना पनि रहेको छ । यसरी एउटा नीति नबनाई घटीबढी व्यवहार गर्नाले प्रगतिवादी शिविरका समर्पित र समर्थ लेखक कविहरूलाई सम्पादक र सल्लाहकार मण्डलको गुटको हो कि भन्ने विवादमा पार्ने र छनोटकर्तालाई आधारहीन, अराजक र मनचिन्ते काम गरेको आरोप लाग्नु स्वाभाविकै हो । कसैका एक , कसैका दुई कविता र कसैका समालोचना र अन्तर्वार्ता र कसैका कविता र कथालगायत एकभन्दा बढी छाप्नुको सट्टा माथि उल्लेख गरिएका,अन्य महत्वपूणर् स्रष्टाहरूलाई पनि समावेश गरिएको भए यो संकलनले नेपाली प्रगतिवादी साहित्यको प्रतिनिधिमूलक र आधिकारिक संकलनको श्रेय पाउने थियो । कतिपय बहुविधाका स्रष्टाहरूलाई उनीहरूको प्रमुख विधा ठहर्‍याएर एउटामा राख्नु पर्ने र आधारसहित महत्व दिएर समायोजन गर्नु पर्नेमा अन्यथा हुन गएकोले आलोचना हुनु स्वाभाविकै हो ।
केवलपुरे किसान, भवानी घिमिरे, गोकुल जोशीको सट्टा महाकवि देवकोटालाई प्रतिनिधि प्रगतिवादी कवि मान्ने आधारहरू छन् कि छैनन् ? छन् भने ठोकेर भन्न सक्नु पर्‍यो । संकलकनका अर्का कवि श्रवण मुकारुङको ०६२/०६३ को जनआन्दोलन र गणतान्त्रिक आन्दोलनको चरमउत्कर्षको समयमा कञ्चन पुडासैनीसमेतका केही व्यक्तिको सामूहिक हस्ताक्षरमा राजतन्त्रको समर्थन गरिएको वक्तव्यमा सहभागिता रहेको थियो । सो वक्तव्य त्यस समयका अखवारहरूमा पनि व्यापक रुपमा प्रकाशित भएको थियो । अहिले श्रवण मुकारुङ नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाली लेखक संघ’ को अध्यक्षका रुपमा कार्यरत छन् । उनको संकलित कविताको प्रगतिवादिता र औचित्यबारे आसकुमार राई लेख्छन् :
‘आदिवासी जनजाति तथा आफ्नै किरात समुदायको ठाउँमा उभिएर हेँरे, अहँ , कतै मिलेको देखिएन । अनि फेरि प्रगतिशीलताको उचाइबाट हेँरे। झन् दिग्भ्रमित भएँ । दलित तथा उत्पीडित समुदायको सहानुभूति र सद्भावको दृष्टिकोणबाट मिलाएँ, मेल खाएन ।’
‘इतिहास र कर्मको बिम्बले बिसे नगर्चीको बिम्बलाई पछिल्ला परिवर्तनकामी आन्दोलनमा सहयोगी हुने छुट दिँदैन । उनी परिवर्तनका बाहक त थिएनन् नै , राजाप्रति बफादार र यथास्थितिका पक्षधर थिए । त्यसैले हिन्दु राष्ट्र र राजतन्त्रको माग राख्ने प्रतिगमनकारी कित्ता पो उनको होइन र ?’ ( चेतलुङ, १८/६/०७८, chetlung.com)

यसरी हेर्दा संकलनमा प्रगतिशील साहित्यका उत्कृष्ट कवि र कथाकारको ठूलो संख्यासँगै विवादित रचना र रचनाकार पनि छन् । अर्कोतिर प्रगतिवादी साहित्यिक – सांस्कृतिक आन्दोलनमा जिन्दगी बिताएका दुख , पीडा भोगेका र अर्थपूर्ण प्रगतिवादी साहित्यमा विख्यात हैसियतका कवि लेखकहरूको ठूलो संख्या छुटेको छ ।
प्रगतिवादी साहित्यिक आन्दोलनको सैद्धान्तिक आधार कार्लमाक्र्सको समाजदर्शनमा आधारित वैज्ञानिक भौतिकवाद हो, जसले समाजको व्याख्या विश्लेषणका साथसाथै यसलाई परिवर्तन गर्ने लक्ष्य राखेको हुन्छ । नेपालमा सुसंगठित साहित्यिक आन्दोलनको रूपमा वि.सं. २००९ मा प्रगतिशील लेखक संघको गठनपछि नै प्रगतिवादी चिन्तन, सिर्जन र आन्दोलनको आरम्भ भएको यथार्थ हो । प्रारम्भदेखि नै प्रलेसले आफ्नो वैचारिक आधारको रूपमा माक्र्सवादलाई ग्रहण गरेको र यसका संस्थापकहरू सबै नै कम्युनिष्ट पार्टीप्रति प्रतिबद्ध थिए । प्रस्तुत संकलनलाई प्रगतिवादी साहित्य विशेषांक भनिएको छ । प्रगतिवादी र प्रगतिशील शक्तिको भेदमा समेत संकलनमा प्रशस्त अन्योलहरू रहेका छन् । प्रगतिवाद र प्रगतिशीलका बीचको फरकको प्रश्न मूलतः प्रगतिवादविरोधीहरूबाट उठेको देखिन्छ । उनीहरू प्रगतिवादी साहित्यलाई कम्युनिष्ट पार्टीको निर्देशनमा रचना हुने साहित्य र प्रगतिशील साहित्यलाई व्यापक सामाजिक-राजनीतिक चेतनाको आधारमा रचना हुने साहित्यको रूपमा स्थापित गर्न चाहन्थे । तर भारत, पाकिस्तान र बंगलादेशमा जसरी नेपालमा यस किसिमको विभाजनको त्यति ठूलो असर परेन । केही प्राध्यापकहरूले बल दिएर उठाउन खोजे पनि नेपालमा प्रगतिशील र प्रगतिवादीको त्यस्तो विभाजनरेखा खिच्न सकिदैन । नेपालमा प्रगतिवादी भन्नाले (प्रगतिशीलसमेत ) माक्र्सवाद वा कम्युनिष्ट विचारप्रति आस्था राख्ने प्रवृत्ति र रचनाशिल्प भएको रचनाकार भन्ने बुझिन्छ । माक्र्सवादमा विश्वास नभएको तर ‘साहित्य र साहित्यकार सबै प्रगतिशील हुन्छन्’ भन्ने चिन्तन र सोच भएको दिग्भ्रमित तर आफूलाई प्रगतिशील भनाउन चाहने व्यक्तिलाई प्रगतिवादी त के प्रगतिशील पनि भन्न सकिँदैन । कुनै कम्युनिष्ट दल विशेषको सदस्य हुनुलाई प्रगतिवादी वा प्रगतिशील मान्ने चालु अवाधारणाले पनि धेरै चरित्रलाई सहयोग पुर्‍याएको छ । तर प्रगतिशीलमात्रै भनिन पनि मन , वचन र कर्मले माक्र्सवादी विचारप्रतिको प्रतिबद्धता न्यूनतम शर्त रहेको छ । व्यक्ति स्रष्टाको प्रतिबद्धता रचानादृष्टि र योगदानभन्दा गुटपरस्तता वा यो वा त्यो व्यक्ति र समूहप्रतिको निकटतालाई आधार मानेर संकलनमा समावेश गर्ने वा उपेक्षा गर्ने परिपाटीले अन्ततोगत्वा विचार निरपेक्ष, यथार्थविरोधी र गलत मनोवृत्तिको गुटपरस्ततामा पुर्‍याउँछ । अन्ततः आन्दोलनको उभार, रचनाशीलता र स्वीकार्यतामा गम्भीर अन्योल र विचलनग्रस्त व्यक्तिको पनि प्रवेश हुन्छ, जसले दीर्घकालमा नकारात्मक असर पार्छ । वैचारिक क्षय, नैतिक पतन र निरपेक्ष संसदवादी रुझान रहेका, अन्योलग्रस्त र लक्ष्य किटान गर्न असमर्थ अहिलेका कम्युनिष्ट पार्टीका सदस्य, समर्थक र गुटले जन्माउने अधिकांश यस्तै आत्ममुग्ध, ढुलमुले र फाइदाका पछि लाग्ने व्यक्तिहरूको झुण्ड नै हो । यो नीति प्रगतिशील विचारमा प्रतिबद्ध, स्वायत्त रुपमा दलमा रहेका वा स्वतन्त्र प्रगतिशील स्रष्टाहरूमा लागु हुँदैन । यस्तो अराजक, विचारहीन र दरिद्र चिन्तन भएका व्यक्तिहरू दीर्घकालमा कहाँ हुन्छन् भन्न सकिन्न । कम्युनिष्ट आन्दोलनका अनेक व्यक्तिहरू, साहित्य-संस्कृति क्षेत्रका निकै धेरै व्यक्तिहरू यस्तै चिन्तनले ग्रस्त रहेका कारण ८/१० वर्षको इतिहासमात्र हेर्ने हो भनी पनि २/४ ठाउँमा पुगेका, छोडेका वा निष्कृय रहेका देखिनु स्वाभाविकै हो ।

नेपालको प्रगतिवादी (प्रगतिशीलसमेत) लेखन आन्दोलनलाई अहिलेको नेतृत्वदायी स्थितिमा पुर्‍याउन विभिन्न दर्तावाल र सामयिक प्रकाशनहरूको महत्वपूणर् योगदान रहेको छ । मनोरञ्जनका साधनहरू नभएको, भएका पनि राज्यको कब्जामा रहेको तथा सत्ताको विपक्षमा रहेका, त्यसमा पनि वामपन्थी पृष्ठभूमिका स्रष्टाहरूप्रति कांग्रेस , पञ्चायत वा अन्य दल र स्वतन्त्र दक्षिणपन्थीहरूसमेतको अनुदार दृष्टिकोण भएका कारण औपचारिक मंच र प्रकाशनमा प्रगतिशील स्रष्टाहरूको सहभागिता अत्यन्त न्यून थियो । राणाशाहीको समयदेखि २०४६ सम्मको अवस्था घटी वा बढी यस्तै थियो । यस्तो दुरुह समयमा २०४६ सम्म निजी क्षेत्रका प्रकाशनले र २०४६ पछि संगठित क्षेत्रका समेत शारदा , सेवा , सहित्यश्रोत , प्रगति , स्वास्नी मान्छे , पञ्चामृत, आरन, झम्पल, हिमाली आवाज , साहित्य संगम, रुपरेखा , रचना , उत्साह , प्रलेस , संस्कृति , बेदना ,संकल्प, झिसमिसे , सुस्केरा , अनुभूति , शृंखला , झिल्को , अक्षलोक, लहर , कलम , बगर , शब्द संयोजन , मधुपर्क गरिमा , कविता , समकालीन साहित्यलगायतका संस्थागत वा व्यक्तिगत प्रकाशनको अत्यन्त ठूलो योगदान रहेको छ । पञ्चायतको चरम दमनको समयमा पनि देशभर विभिन्न स्थानबाट निजीश्रोत र उत्साहले प्रकाशन भएका सामयिक संकलन भनिने प्रकाशनलाई त झन् बिर्सनै मिल्दैन । प्रलेसको चालिसको दशकका केही प्रगतिशील कविताहरू प्रलेसका कथा , समालोचना र निबन्धकेन्द्रित अंकहरूलगायतका प्रकाशनको महत्व पनि निर्विवाद छ । विभिन्न कम्युनिष्ट पार्टीसम्बद्ध प्रकाशन तथा संकलनमा भने अधिकांशमा अत्यन्त संकीणर् दृष्टि राखिएको इतिहाससमेत रहेको छ ।
यद्यपि यस संकलनमा संकलित गोपालप्रसाद रिमाल , युद्धप्रसाद मिश्र , भूपी शेरचन , पारिजात , विमल निभा , कुन्ता शर्मा , आहुति , पूणर् वैद्य, यज्ञबहादुर डाँगी , विनोदविक्रम के.सी., स्वप्निल स्मृति, केशव सिलवाल, सरिता तिवारी, राजु स्याङतानलगायतका दर्जनौ प्रतिनिधि कविका कविता र रमेश विकल , खगेन्द्र संग्रौला , नारायण ढकाल , हरिहर खनाल , घनश्याम ढकाल , इस्मालीलगायतका महत्वपूर्ण प्रतिनिधि कथाकारहरूका कथा संकलित रहेका कारण संकलन महत्वपूर्ण प्रगतिवादी संकलनको रुपमा रहेको कुरामा कुनै शंका रहँदैन ।
यतिधेरै आलोचना र टिप्पणी गरिए पनि संकलनको औचित्य निर्विवाद र ऐतिहासिक रहेको छ । सम्भवतः यो संकलन नेपालबाहिरबाट विदेशी भाषामा अनुवाद गरिएको प्रगतिवादी शिविरको मात्र होइन , पूरै नेपाली साहित्यको पहिलो प्रकाशन हुनुपर्छ । अनुवादको स्तर पनि केही रचनाको अनुवादलाई छोडेर समग्रमा स्तरीय रहेको छ । यसका लागि सम्पादक नरेश ज्ञवाली, गोपाल अश्क, इस्माली र प्रकाश उपाध्यायलाई धन्यवाद दिनैपर्छ । कुनै पनि काम पूर्णरुपमा सर्वस्वीकार्य हुन सक्दैन र काम सम्पन्न भएपछि मात्र त्यसको शक्ति र कमजोरी थाहा हुन्छ । यस संकलनले आगामी दिनमा नेपाली साहित्यको अनुवाद , प्रतिनिधित्व र ऐतिहासिक यथातथ्यबारे अझ सजग र यथार्थ आधारित हुन थप सहयोग पुर्‍याउने छ भन्ने आशा गर्नै पर्छ । यति ठूलो फलकमा प्रगतिवादी नेपाली साहित्यका यति धेरै रचना र रचनाकारबाट एउटा सीमित संख्या छनौट गर्नु , अनुवादलगायतका व्यावसायिक काम गर्नु , आर्थिक, प्राविधिक श्रोत र साधन जुटाउनु र प्रकाशन गर्नु चानचुने काम होइन । यसको आलोचना गर्दा यसले सृजना गरेको दूरगामी असर र ऐतिहासिकताको पक्षमा ध्यान दिइएको नै हो । संकलन आफैँमा शक्तिशाली रचना र रचानाकारहरूका स्वनामधन्य रचनाहरूले सिंगारिएका कारण विदेशबाट विदेशी भाषामा प्रकाशित संकलनमा विशिष्ट महत्व राख्छ । वामपन्थी र प्रगतिवादी शिविरका समर्थक र पक्षधर शक्तिहरू अहिले पनि नेपाल , भारत , पाकिस्तान , बंगलादेश , श्रीलंका आदि देशमा धेरै चुनौतीबाट घेरिएका छन् । यस्तो समयमा पनि भारतको हिन्दीभाषी ’समकालीन तीसरी दुनिया’ ले प्रगतिवादी नेपाली साहित्य विशेषांकको प्रकाशन गरेर स्तुत्य काम गरेको छ ।

* प्रगतिशील साहित्यकारका रूपमा सुपरिचित पुरुषोत्तम सुवेदी मूलतः कवि तथा समालोचक हुनुहुन्छ । त्यस बाहेक निबन्ध लेखनमा पनि उहाँको कृयाशिलता रहँदै आएको छ । सुवेदीको जन्म वि.सं. २०११ सालमा तेह्रथुम जिल्लाको सावलामा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ । उहाँका ‘आतङ्कगन्ध’, ‘एक्लो विजेता’ र ‘सपनाको सट्टाबजार’ जस्ता कविता सङग्रह र ‘संक्रमणकोे साहित्य र समकालीनता’ शीर्षकको समालोचनात्मक कृति प्रकाशित छ । पारिजात स्मृति केन्द्रले सुवेदीको सिर्जनात्मक योगदानको कदर गर्दै २०७१ सालको पारिजात सृजन सम्मान प्रदान गरेको छ । त्यसका साथ साथै सुवेदीले साझा पुरस्कार र रमेश विकल सृजन पुरस्कार पनि प्राप्त गर्नु भएको छ ।निष्कृय