एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन्
रामराज रेग्मी
“जहाँसम्म विद्युत निर्यातको सवाल छ, नेपालमै हामीलाई विद्युत पुग्दैन । यदि हामी समाजवादको दिशातिर जाने र देशलाई आत्मनिर्भर बनाउने हो भने पूर्वाधार बनेकै छैन, कलकारखानाहरु खोलिएकै छैनन्, औद्योगीकरण भएकै छैन । हामीलाई उत्पादन गरिएको विद्युतले पुग्दैन । त्यसैले यस परिप्रेक्षमा विद्युत निर्यातको कुरा सरासर गलत छ । वास्तवमा भन्ने हो भने एमसीसी नेपालको हितमा भन्दा पनि भारतको हितमा आएको योजना हो।”
अमेरिकी आधिकारिक स्रोतबाट प्रकाशित धेरै दस्तावेजहरुले एमसीसी अमेरिकाकै हिन्द–प्रशान्त रणनीतिको एक अङ्ग हो भन्ने कुरा पुष्टि गरिसकेका छन् । उदाहरणको रुपमा २०७६ पुष १२ गतेको कान्तिपुर दैनिकमा अमेरिकी दुतावासको एउटा सामग्री प्रकाशित भएको थियो । त्यसमा एमसीसी अमेरिकी हिन्दप्रशान्त रणनीतिकै अङ्ग हो भनिएको छ ।
हाम्रो देशमा एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले त देशका बारेमा सोचेकै छैनन् । उनीहरुलाई राष्ट्रिय हितको चासै छैन । जसले केही सुधार गरेर पारित गर्नुपर्छ भनी राखेका छन्, तिनीहरुको भनाइ पनि राष्ट्रको पक्षमा भए जस्तो मलाई लाग्दैन । किनभने जब मूल कुरा एमसीसी हिन्द–प्रशान्त रणनीतिकै अङग हो भन्ने प्रमाणित भइसकेपछि त्यसमा सामान्य सुधार गरेर कुनै अर्थ रहँदैन ।
नेपालमा एक खाले वर्ग के गलत मानसिकताले ग्रस्त भएको देख्छु भने कुनै अमेरिकी अधिकारीले एमसीसी हिन्द–प्रशान्त रणनीतिको अङ्ग होइन भनेर बोलिदिए हुन्थ्यो भन्ने छ । त्यति बोली दिएपछि त पारित गर्न सजिलो हुन्छ भन्ने रुपबाट राजनीतिक वृत्तमा कामहरु भइराखेका छन् । तर जब यो परियोजना अमेरिकी हिन्द–प्रशान्त रणनीतिकै अङ्ग हो भने पछि एउटा व्यक्ति (अमेरिकी अधिकारी) ले त लेखेरै देला रे । तर पछि गएर यो भनाइ व्यक्तिगत कुरा हो भनेर टार्ने काम पक्कै हुन्छ । तर पनि नेपालीहरुलाई आँखामा छारो हाल्नका लागि त त्यही नै काफि देख्छु । त्यही भएर राजनीतिक पार्टीले रटी राखेको संसोधन गरेर मात्रै एमसीसी पारित गर्ने भन्ने कुरोमा कुनै दम छैैन । अमेरिकी हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएकाले एमसीसीलाई पुरै अस्वीकार गर्नुपर्छ ।
जहाँसम्म विद्युत निर्यातको सवाल छ, नेपालमै हामीलाई विद्युत पुग्दैन । यदि हामी समाजवादको दिशातिर जाने र देशलाई आत्मनिर्भर बनाउने हो भने पूर्वाधार बनेकै छैन, कलकारखानाहरु खोलिएकै छैनन्, औद्योगीकरण भएकै छैन । जब हामी त्यो दिशातर्फ जदैछौ भने हामीलाई उत्पादन गरिएको विद्युतले पुग्दैन । त्यसैले यस परिप्रेक्षमा विद्युत निर्यातको कुरा सरासर गलत छ । केवल बत्ति मात्रै बाल्ने कुरा महत्वपूर्ण होइन । अहिले त झुक्याउनलाई जनतालाई अँध्यारोमा राख्या छैन क्यारे भनेर पनि भन्न सक्छन् । तर हामी समाजवादको दिशामा र उद्योग धन्दा खोल्नेतर्फ जाने हो भने हामीलाई नै विद्युत पुग्दैन । त्यसैले यस्तो परिस्थितिमा भारतलाई विद्युत बेच्ने भन्ने कुरा उपयुक्त छैन । हामीलाई विद्युत पुग्दैन भन्ने यथार्थताको उठान धेरैले गरिरहेकै छन् । वास्तवमा भन्ने हो भने एमसीसी नेपालको हितमा भन्दा पनि भारतको हितमा आएको योजना हो ।
जवाफ लेख्नुहोस्