ओथारो

मैले उठाएँ ज्याबल
गोढमेल गरेँ भुइँका झारपात
मानिसहरूका टिठलाग्दा अनुहारमा
पोतिदिएँ आस्थाको नाममा
आशाको रक्तिम सिन्दुर
सफा आकाश र कुहिरो लागेको बस्तीभरि
ओछ्याएँ अनेक रङ्गका चकटी
अनेक सपनाका अगुल्टाहरू जोडेर अगेनोमा बसालेँ
स्वायत्त खड्कुँलोमा
मनचिन्ते भोज
म चढ्दै गएँ पहाड
जब पुगेँ टाकुरोमा
वैभव र ऐश्वर्यको लम्पट
आँखीझ्यालबाट हेरेँ
कुहिरो लागेको बस्तीभित्र
देखिन मैले कुनै रङ्ग
निस्पृह हुँदै गयो
मेरो चेतनाको मुहान
कालान्तरमा मैले
आफ्नै शिर वरिपरि छामेँ
जड चिन्तनका कोषिकाहरू हेरेँ
बाँध फुटेको कुलोमा पानी बगेझैँ
चेतनाको रक्तश्राव
र क्षत-विक्षत देखेँ
मस्तिष्कभित्र विचार कोरल्ने ओथारो ।
चितवनमा रहेर साहित्य साधना गर्नुहुने प्रगतिशील साहित्यकार रेशम विरही साहित्य सँगसँगै पत्रकारितामा पनि सक्रिय हुनुहुन्छ । उहाँ ५० वर्षभन्दा लामो समयदेखि कविता, निबन्ध र उपन्यास लेखनमा सक्रिय हुनुहुन्छ । २०२६ सालदेखिनै वामपन्थी राजनीतिमा संलग्न रही जेल र निर्वासन भोग्नुभएका विरहीका हालसम्म सातवटा कविता सङ्ग्रह, दुईवटा निबन्ध सङ्ग्रह, एउटा उपन्यास गरी दशवटा कृति प्रकाशित छन् । उहाँले आरन, गोधूली र दौँतरीजस्ता साहित्यिक पत्रिकाको सम्पादन पनि गर्नुभएको छ ।


जवाफ लेख्नुहोस्