गोविन्द भट्ट रचित ‘नेपाललाई बुझ्ने समस्या : एक लामो र कठिन प्रक्रिया’

“भट्टको गुनासो के छ भने नेपालमा प्रशस्त सङ्ख्यामा बुद्धिजीवीहरू अरू देशका राजनीति, अर्थतन्त्र, संस्कृति र समाजबारे घण्टौँ प्रवचन दिन वा २० सौँ पृष्ठहरूको निबन्ध लेख्न सक्छन् तर आफ्नै देशको इतिहास, विभिन्न जाति र तिनका रीतिथिति, आचार व्यवहार, देशको शासनप्रणाली, आर्थिक अवस्था र सामाजिक परिपाटीका आधारभूत पक्षहरूबारे बोल्नुपर्यो भने ठुलो असमन्जसको अवस्थामा पर्दछन् । अर्कोतिर देशभित्र त्यस्ता व्यक्तिहरू पनि भेटिन्छन् जसका सामु केही दूरदर्शी देशभक्तहरूले नेपालले भोगेका समस्याहरू प्रस्तुत गर्दा “यो नेपाल हो, यहाँ यस्तै हुन्छ” भनी पन्छिन खोज्छन् ।”
आजसम्म दर्शनका क्षेत्रमा नेपालमा अग्रणी स्थान ओगट्न सफल गोविन्द भट्ट (वि.सं.१९९४-२०६८) को रचना ‘नेपाललाई बुझ्ने समस्या ः एक लामो र कठिन प्रक्रिया’ सर्वप्रथम प्रसिद्ध साहित्यिक पत्रिका रूपरेखाको पच्चिसौँ वार्षिकोत्सवको अवसरमा प्रकाशित विशेषाङ्कमा छापिएको थियो । ‘नव आलोक’ प्रकाशनले लेखककै अनुमतिमा त्यस कृतिलाई २०४३ सालमा पुस्तिकाको रूपमा प्रकाशन गर्ने काम गर्यो । पछि फेरि नेपाल प्रज्ञा प्रतिष्ठानले भने २०७० सालमा ‘गोविन्द भट्टका दार्शनिक रचनाहरू’ नामक पुस्तकमा त्यसलाई अग्रस्थानको लेखका रूपमा स्थान दियो । यहाँ वामपन्थको पुस्तक समीक्षा शीर्षकको स्तम्भमा ‘नव आलोक’ ले प्रकाशित गरेको पुस्तिकालाई नै समीक्षाको विषयवस्तु बनाइएको छ । प्रकाशनको समयमा यस गहन शोधमूलक कृतिले नेपालको बौद्धिक समाजमा निकै ठुलो हलचल मच्चाएको थियो । आफ्नो समाज र देशलाई बुझ्ने सवाललाई हलुका एवम् सतही विश्लेषणमा आधारित नभएर व्यावहारिक गहिराइमा जानु पर्ने रहेछ भन्ने चेतनाको सञ्चार यसले गरेको थियो । विषयवस्तु दीर्घकालीन महत्वको हुनाले यस कृतिलाई नेपाली इतिहासको प्रत्येक अवधिमा उपयोगी र पथप्रदर्शक मानिएको छ र यस अर्थमा नै हामीले यसलाई समीक्षाको विषयवस्तु बनाएका छौँ ।
भट्टको प्रस्तुत कृतिले ज्ञानसम्बन्धी माक्र्सवादी अवधारणाका आधारमा नेपाललाई बुझ्नुपर्छ भन्ने विचार प्रस्तुत गरेको छ । यसले एकातिर नेपाललाई राम्ररी बुभ्mने काम अहिलेसम्म हुनसकेको छैन भनी देशको समस्या औँल्याएको छ, अर्कोतिर देशसम्बन्धी बुझाइमा आएका समस्या देखाउँदै कुनै पनि वस्तुलाई कसरी बुझ्न सकिन्छ, बुझ्न किन आवश्यक छ र बुझ्ने विधि के हो भन्ने सम्बन्धमा गहन दार्शनिक दृष्टिकोण पेस गरेको छ ।
नेपालभित्रका आन्तरिक समस्याहरू उधिन्दै गोविन्द भट्ट यस कृतिमा भन्दछन्, “नेपाल अविकसीत राष्ट्रहरू मध्ये पनि सबभन्दा तल्लो श्रेणीमा पर्दछ, अधिकांश नेपालीहरू गरिबीको रेखामुनि अत्यन्त कष्टकर जीवन बिताइरहेका छन्, शिक्षाको क्षेत्रमा प्रशस्त अनियमितता र निरूद्देश्यता छ, अस्पतालमा राम्रो उपचारका निम्नतम सुविधाहरू नपाउँदा स्वास्थ्य क्षेत्र प्रदूषित बनेको छ । देशमा दिनहुँ सयौँ रोगीहरूको असामयिक मृत्यु हुने गरेको छ, उद्योग क्षेत्रमा राष्ट्रिय पुँजीपतिहरूले भन्दा विदेशी तस्करहरूले बढी प्रोत्साहन पाएका छन्, कृषि क्षेत्रमा अनेकन् ऐनहरू पारित भइसक्दा पनि कृषकहरूका पिरमर्का झन्झन् बढ्दै छन्, जनताका सुखसुविधा वा शक्ति सुरक्षाका लागि खटिएका हाकिम- कर्मचारीहरूले उल्टै दुराचार-भ्रष्टाचारलाई प्रोत्साहित गरेकाछन्, मन्त्रीहरूको भाषणमा समस्याको समाधान गर्ने बाटोभन्दा पनि समस्याहरू लुकाउने काम नै बढी हुने गरेको छ । नेपालमा बहुसङ्ख्यक नागरिकहरूलाई अझ देशकै हितमा आघात पुर्याएर मुठीभर व्यक्तिहरू मोटाउँदै छन्, विदेशी सहायतामा अडेको र विदेशी संस्कृतिको रमझममा बढेको हाम्रो राष्ट्रियता तथा राष्ट्रिय चरित्र भित्रभित्रै खोक्रो हुँदैछ । महिलाहरूका सुरक्षामा झन्झन् बढी खतराहरू देखापरेका छन् । दिनहुँ बेरोजगारी, भू-क्षय, वनविनाश र वातावरणीय विकृतिमा वृद्धि हुँदैछ । सामाजिक तनाव, अपराध, चोरी, डाँकाजनी र हत्या पहिलेभन्दा निकै तीव्र भएका छन् …।”
यसरी देशभित्र विद्यमान गरिबी, पछौटेपन, भ्रष्टाचार, अराजकता आदिलाई खोतलेपछि गोविन्द भट्ट देशमाथि थोपरिएको बाह्य हस्तक्षेपको चर्चा गर्न पुग्छन् । उनी के भन्दछन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको स्वाधीनता तथा सार्वभौमिकता पनि प्रत्यक्ष अप्रत्यक्ष रूपबाट प्रभुत्ववादी महाशक्तिहरूद्वारा नियन्त्रित हुनपुगेको छ । सिङ्गो देश आफ्ना जायज हकअधिकारका लागि समेत न त राजनीतिक रूपबाट कुनै स्वतन्त्र निणर्य लिन सक्षम छ, न त आर्थिक दृष्टिबाट आफ्नै उत्पादनमा भर परेर केही महिनासम्म पनि टिक्न सक्ने अवस्थामा छ ।
भट्टको गुनासो के छ भने नेपालमा प्रशस्त सङ्ख्यामा बुद्धिजीवीहरू अरू देशका राजनीति, अर्थतन्त्र, संस्कृति र समाजबारे घण्टौँ प्रवचन दिन वा २० सौँ पृष्ठहरूको निबन्ध लेख्न सक्छन् तर आफ्नै देशको इतिहास, विभिन्न जाति र तिनका रीतिथिति, आचार व्यवहार, देशको शासन प्रणाली, आर्थिक अवस्था र सामाजिक परिपाटीका आधारभूत पक्षहरूबारे बोल्नुपर्यो भने ठुलो असमन्जसको अवस्थामा पर्दछन् । अर्कोतिर देशभित्र त्यस्ता व्यक्तिहरू पनि भेटिन्छन् जसका सामु केही दूरदर्शी देशभक्तहरूले नेपालले भोगेका समस्याहरू प्रस्तुत गर्दा “यो नेपाल हो, यहाँ यस्तै हुन्छ” भनी पन्छिन खोज्छन् । मेचीदेखि महाकालीसम्म, प्रधानमन्त्रीको कार्यालयदेखि मामुली अड्डा अफिससम्म जनप्रतिनिधि, मन्त्री, कर्मचारी, पेसा व्यवसायी, समाजसेवी, पत्रकार, अनुसन्धानकर्ता, कलाकार आदि धेरै जसोको मुखबाट सहज उद्गारका रूपमा व्यक्त हुने यी छ वटा शब्दहरूको थेगो (यो नेपाल हो, यहाँ यस्तै हुन्छ) नेपाली जीवन दर्शनको मूलमन्त्र जस्तो बनेको छ । यसका वास्तविक अनुगामी यथास्थितिवादी बुझक्कड हुन् जो अध्ययन- अनुसन्धान वा व्याख्या-विश्लेषणको टन्टामा नलागी, कुनै वादविवाद वा तर्क-वितर्कमा नअलमलिई सजिलै मेचमा बसी आँखा चिम्लेर नेपालको इतिहास, वर्तमान र भविष्य सबैको रहस्योद्घाटन गरेको अभिनय गर्दछन् ।
यस्ता यथास्थितिवादीहरू गोविन्द भट्टको दृष्टिमा पूर्वाग्रहयुक्त, आत्मकेन्द्रित र घोर सङ्कीणर् चरित्रले गर्दा कतिसम्म आत्मसम्मोहित भइसकेका छन् भने तिनीहरू त्यहीमात्र देख्छन् जुन तिनीहरूलाई मन पर्दछ । उनी भन्दछन् कि नेपाल तिनीहरूले सोचेबुझे जस्तो अवस्थामा छैन । अपेक्षा गरेअनुसारको परिवर्तन नभए पनि देश हिजोभन्दा फरक अवस्थामा पुगिसकेको छ । अठारौँ शताब्दीका नेपालीहरूको सोचाइ, व्यवहार र विश्वदृष्टिकोण भन्दा आजका नेपालीहरूको चिन्तन, चालचलन र विश्वज्ञान एकदमै भिन्न भइसकेको छ । यदि भानुभक्त र जङ्गबहादुर अहिले काठमाडौँमा फेरि देखापरेछन् भने तिनीहरू हाम्रा कुरा बुझ्न एकदमै असमर्थ हुनेछन् र हामी तिनीहरूका लागि बिलकुलै अनेपाली जस्ता देखिनेछौँ । त्यति टाढाको कुरो छोडौँ, २००७ सालताकाका हाम्रा नेताहरू आजका पुस्ताका नेपालीहरूका लागि पुराना र प्रयोजनहीन जस्ता हुनेछन् ।
हेर्दा राष्ट्रवादीजस्ता देखिने व्यक्तिहरूका बारेमा भट्टको विश्लेषण के छ भने तिनीहरू देश र जनतालाई वर्तमानको आँखाले होइन, विगतको आँखाले हेर्दछन्, तिनीहरू वर्तमानमा भन्दा भूतकालमा अभिरुचि राख्दछन्, तिनीहरू यो देश महान् हो, यहाँ जनक र सीताजस्ता राष्ट्रिय विभूति जन्मिएका थिए, अरनिकोले नेपालको ज्ञान र सिपलाई चीनमा प्रचारप्रसार गरेर नेपालको गौरव राखेका थिए, यहाँ कपिल र बुद्धले नयाँ दर्शन पहिल्याएका थिए, यस्तै यस्तै कुराहरूको बखान गर्दछन् । तिनीहरू हामी नेपाली बहादुर हौँ, हाम्रा पुर्खाले पूर्वमा तिष्टा र पश्चिममा काँगडासम्म देशलाई विस्तार गरेका थिए, हाम्रा पुर्खाले विश्वयुद्धमा वीरताको प्रदर्शन गरेर सारा संसारलाई चकित तुल्याएका थिए आदि भन्दै आफ्नो देशको विगतको सानप्रति मख्ख पर्दछन् तर यस्ता ‘प्राचीन गौरव गाथावादीहरू’ का भनाइ झट्ट सुन्दा राम्रैजस्ता लागे पनि ती यथास्थितिवादीहरूका विचारभन्दा पनि प्रतिगामी चरित्रका हुन् किनकि तिनले वर्तमानलाई भन्दा विगतलाई प्राथमिकता दिएर इतिहासको गतिलाई पछाडि धकेल्छन् ।
यस्ता विचार राख्ने व्यक्तिहरू नेपालका सम्पूणर् राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको समाधान विगतका नीतिनियम, संस्कार र गतिविधिमा देख्छन् र विज्ञान, लोकतन्त्र र जनपक्षीय क्रियाकलापका विरुद्ध उभिन्छन् । भट्टको दृष्टिमा नेपालमा प्रतिगमन र यथास्थितिका विरुद्ध उभिएको अर्को तेस्रो धार पनि छ जुन वर्तमान व्यवस्थामा असन्तोष प्रकट गर्दै परिवर्तनको वकालत गर्दछ । यो धार तीन रूपमा प्रकट भएको पाइन्छ । एकथरी परिवर्तनवादीहरू पुरानै व्यवस्थामा दुई चार सुधार गरे पुग्छ भन्दछन् । तिनीहरू पुरानो थोत्रो भवनलाई बाहिरबाट लिपपोत गरेर र रङ्रोगन गरेर नयाँ बनेको देखाउन चाहन्छन् । यस्ता परिवर्तनवादीहरू भट्टका दृष्टिमा वास्तविक रोग पत्ता नलगाई क्षणिक पीडानाशक ओखती दिने अपरिपक्क डाक्टर जस्ता हुन् । यस्ता अधकल्चा मानिसहरूबाट समस्याको समाधान हुनुको साटो उल्टो जटिलता थपिन्छ । परिवर्तनको मकुण्डो लगाएका दोस्रा थरी व्यक्तिहरू अन्य देशका पुस्तक वा पत्रपत्रिकामा पढेको भरमा धारणा बनाउँछन्, एकैचोटि देशलाई स्वर्ग बनाउने सपना बाँढ्छन् । तिनीहरू जोशिला नाराहरू दिन्छन् र तेजिला भाषणहरू गर्दै नेपाललाई कुनै जादुगरले झैँ मत्र्यलोकबाट स्वर्गलोकमा परिणत गर्ने गुड्डी हाँक्छन् ।
परिवर्तनका पक्षमा उभिने तेस्राथरी मानिसहरू देशलाई समाजवाद र साम्यवादको शिखरमा पुर्याउने उद्देश्य राख्दछन् र माक्र्स, लेनिन, स्टालिन, माओ आदिका रचनाहरू अध्ययन गरेका भरमा र थुप्रै माक्र्सवादी पुस्तक-पत्रपत्रिका पढेका भरमा देशमा सञ्चालन गरिने सङ्घर्षको योजना बनाउँछन् । अन्तर्राष्ट्रिय नेताहरूले क्रान्तिको दौडानमा आफ्ना देशका बारेमा गरेका व्याख्या-विश्लेषणलाई हुबहु नक्कल गर्दै तिनीहरूले नेपाली समाजको व्याख्या गर्दछन् । भट्टका दृष्टिमा यस्ता व्यक्तिहरू दिल्ली वा वासिङ्टनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने, मस्को वा पेकिङमा हिउँ पर्दा न्यानो कोट लगाउने यान्त्रिक परिवर्तनवादी हुन् । भट्ट के भन्दछन् भने एउटै सत्य विभिन्न ठाउँ र कालमा विभिन्न रूपहरूबाट प्रकट हुने गर्दछ, त्यो सधैँ र सबै ठाउँमा उस्तै हुँदैन । ठाउँ हेरी खासखास जलवायु अनुसार उही एउटै जातको पशुपन्छीले विभिन्न रूप र स्वभाव ग्रहण गर्दै प्राकृतिक वातावरणमा भिन्न बस्न र विकसीत हुन खोजे झैँ उही लोकतन्त्र, साम्यवाद वा अरू कुनै सिद्धान्त पनि हाम्रो देशमा यहाँको वस्तुस्थिति र मनस्थिति अनुसार अर्कै हुनसक्छ ।
गोविन्द भट्टको मूल्याङ्कन के छ भने यी माथि बताइएका विभिन्न खेमाका व्यक्तिहरू यथास्थितिवादी, प्राचीन गौरव गाथावादी र परिवर्तनवादी जेसुकै हुन्, ती कसैले पनि वास्तविक रूपमा नेपाललाई बुझेका छैनन् । तिनीहरू कसैले पनि देशको वस्तुस्थितिबारे यथार्थ अध्ययन र अनुसन्धान गरेका छैनन् किनकि ज्ञान भनेको देखेको र सुनेको भरमा प्राप्त हुने कुरो होइन । उडन्ते कुराको बोक्रे जानकारी पाउनेले त केही पनि बुझेको हुँदैन । भट्ट भन्दछन्, “ज्ञान भनेको सूर्य झैँ उज्यालो र न्यानो कुरो हो र अज्ञान भनेको अन्धकार युक्त चिसो छिँडीजस्तो कुरो हो । …ज्ञानमा जीवन र अमृत हुन्छ भने अज्ञानमा मृत्यु र विख लुकेको हुन्छ ।” उनी के कुरोमा जोड दिन्छन् भने आगोका नियमहरू नबुझेसम्म त्यसले मानिसलाई पोल्थ्यो वा डढाउँथ्यो तर पछि तिनलाई बुझेपछि आगो मानिसको सहयोगी बन्यो । आगोको सहायताबाट मानिसले पशुजगत्मा स्वामित्व प्राप्त गर्नसक्यो । साँच्चै भन्ने हो भने मानिसले आगोबाट जीवन पायो । यस अर्थमा मानिसको प्रगति नै आगोको देन हो भन्दा कुनै फरक नपर्ला ।
गोविन्द भट्टको विचारमा कुनै पनि विषयको ज्ञान प्राप्तिको प्रक्रिया सहज र सरल हुँदैन । सबैभन्दा महत्वपूणर् कुरो दृष्टिकोण हो । यदि अध्ययन अनुसन्धानको विधि द्वन्द्वात्मक छैन भने ज्ञान प्राप्त गर्न सकिन्न । कुनै कुरो बुझ्नका लागि पुस्तकहरू पढ्नु आवश्यक छ । संसारमा सबै कुराहरू आफैँले जाँचेर र बुझेर साध्य चल्दैन । पुस्तक लेख्ने विद्वान्का भनाइहरू तिनका अनुभव र अनुसन्धान रिपोर्टमा आधारित हुनसक्छन् तर यो कुरो सबै लेखकमा लागु नहुनसक्छ । भट्ट के कुरोमा शङ्का व्यक्त गर्दछन् भने जतिसुकै वैज्ञानिक पद्धतिको दाबी गरेपनि तथ्याङ्कहरूको चयन र विश्लेषण गर्दा र आफ्ना अनुसन्धानहरूको निष्कर्ष झिक्दा विकासशील वा अविकसीत राष्ट्रहरूको अध्ययन गर्ने सबै पाश्चात्य अन्वेषकहरू वस्तुपरक, तटस्थ र निष्पक्ष नै रहेका हुन्छन् भन्न सकिन्न किनकि त्यस्ता देशलाई नियन्त्रण वा प्रभावमा पार्ने उद्देश्यले कलम चलाउने पनि गरिन्छ ।
नेपालको इतिहास वा संस्कृतिबारे विदेशी लेखकहरूद्वारा प्रकाशित गरिएका अनेकौँ पुस्तकहरूले कतिपय ठाउँमा जानीबुझी सत्य कुरा लुकाउने, पाठकहरूलाई अलमल्याउने र नयाँ भ्रमहरूको जाल ओछ्याउने काम गरेका छन् । हाम्रै देशका कुनैकुनै अनुसन्धानकर्ताहरूको सवालमा पनि तिनले आफ्नो अनुसन्धान र अन्वेषण कार्यका लागि भनेर विदेशी संस्थाहरूबाट अनुदान वा सहयोग प्राप्त गरेका हुन्छन् र यस अर्थमा दातृ संस्थाहरूका पूर्वाग्रहबाट ती निर्देशित भएर चलेका हुन्छन् । त्यस कारण सत्यतथ्य कुरो पत्ता लगाउनका लागि पढिएका विषयलाई हामीले व्यवहारको कसीमा जाँच्नु पर्दछ ।
गोविन्द भट्टको उपरोक्त विश्लेषण ज्ञान प्राप्तिसम्बन्धी माओको विश्लेषणसँग मेल खान्छ । माओको भनाई अनुसार ज्ञान भनेको जन्मजात पाइहाल्ने विषय होइन । पशुपन्छीले आफ्नो चरन र वासस्थान चिन्दछन्, तिनले आफ्नो खानेकुरा खोज्न जानेका हुन्छन् र तिनले सन्तान उत्पत्ति गर्न र शत्रुबाट आफ्नो रक्षा गर्न पनि जानेका हुन्छन् तर त्यस्ता प्राकृतिक जानकारीलाई ज्ञान भनिन्न । मानिससँग उन्नत मस्तिष्क भएकाले मात्र ज्ञान प्राप्त गर्ने सामथ्र्य राख्दछ । यस भौतिक जगत्का विभिन्न वस्तुको जानकारी श्रव्य, दृश्य आदि इन्द्रियहरूको माध्यमबाट मानिसको मगजमा पुग्दछ । उक्त प्राथमिक जानकारी चेतनाबाट फेरि पदार्थमा प्रक्षेपण हुन्छ र यस्तो क्रम बारम्बार दोहोरिएपछि दिमागमा एक्कासि फट्को हुन्छ जसले वस्तुबारे धारणा पैदा गर्छ । धारणा भनेको बाह्यसम्बन्ध होइन, यो वस्तुको बारेमा निकालिने सार अथवा सम्पूणर्ता हो । धारणालाई निरूपण र अनुमानले अझ मूर्तरूप दिन्छ जुन ज्ञानमा परिणत हुन्छ । माओ भन्दछन्, “पदार्थबाट चेतनामा लाने र फेरि पदार्थमा फर्काउने अर्थात् व्यवहारबाट ज्ञानमा लैजाने र फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौँ क्रमपछि मात्र यथार्थ ज्ञान प्राप्त गर्न सकिन्छ (माओ, २०२८,पृ.१८३) । यही नै ज्ञानसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।
भट्टको जोड के कुरामा छ भने यदि हामीले नेपालको बारेमा यथार्थ ज्ञान चाहने हो भने हामी आफैँ व्यवहारमा उत्रिनु पर्दछ । यदि हामीले नेपाली समाजको सच्चा जानकारी लिने हो भने जनतामाझ पुग्नुपर्छ र तिनका क्रियाकलापको अध्ययन गर्नुपर्दछ । भट्टको ज्ञान प्राप्ति सम्बन्धी यो विश्लेषण माक्र्सवादी ज्ञान-सिद्धान्तमा आधारित देखिन्छ । माओ भन्दछन्, “कसैले कुनै कुरा बुझ्न चाहन्छ भने त्यस कुराको सम्पर्कमा पुग्नु अथवा त्यस कुराको वातावरणमा रहनुबाहेक अर्को बाटो छैन ।” (माओ, २०२८, पृ.८) यस कुरालाई आफ्नो देशको प्रसङ्ग जोड्दै गोविन्द भट्ट भन्दछन् कि नेपाली समाजलाई गतिशीलता प्रदान गरिरहेका सानाठुला घटना, अन्तर्विरोध र सङ्घर्ष, जनताका इच्छा, अभिलाषा र रोष- असन्तोषहरू नै आजको नेपालका जीवन्त स्पन्दन र भोलिको नेपालमा हुने सामाजिक रूपान्तरणका सार्थक सङ्केतहरू हुन् । कुनै पनि देशका सारतत्व त्यहाँका देशवासीहरू हुन् । तिनको वास्तविक जीवनचर्या तथा मनस्थितिलाई उपेक्षा गरेर त्यस देशलाई बुझ्न खोज्नु भनेको सम्पूणर् विद्यार्थी तथा शिक्षकहरूलाई एकातिर पन्छाएर कुनै विद्यालयको अवस्था जान्न चाहनु वा सारा रूखपात वनस्पतिहरूलाई हटाएर कुनवनजङ्गलको निरीक्षण गर्न खोज्नुजस्तै निर र्थक तथा हास्यास्पद प्रयासमात्र हो ।
निश्चय नै, ज्ञानप्राप्तिको सवालमा अनुसन्धान र जाँचबुझको ठुलो भूमिका हुन्छ । यसलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा माओ भन्दछन्, “जाँचबुझ गर्ने तरिका दुईवटा हुन्छन् – एउटा तरिका हो घोडामा चढेर फूलहरू हेर्नु र अर्को तरिका हो घोडाबाट ओर्लिएर हेर्नु । यदि घोडामाथि बसीबसी फूलहरू हेर्ने हो भने केवल मोटामोटी ज्ञान पाउन सकिन्छ किनकि पूmलहरू धेरै थरिका हुन्छन् । हाम्रा समाजमा यति धेरै फूलहरू (समस्याहरू) छन् कि तिनलाई एक वा दुईपल्ट सर्सर्ती हेरेरमात्र पुग्दैन । अतः वास्तविक ज्ञान पाउन दोस्रो तरिका अपनाउनु पर्छ, त्यो हो घोडाबाट ओर्लिएर पूmलहरू हेर्ने, नजिकबाट तिनको निरीक्षण गर्ने र एउटा पूmललाई लिएर विश्लेषण गर्ने (माओ, २०५३,पृ. ३) ।”
यही विचारलाई आफ्नो लेखमा गोविन्द भट्ट यसरी व्यक्त गर्दछन्, “नेपाललाई माथि बार्दलीमा बसेर टाढाबाट हेर्ने कि तल गएर नजिकबाट हेर्ने ? थोरैको हितलाई मनमा राखेर हेर्ने कि धेरैको हितलाई ध्यानमा राखेर हेर्ने ? सत्यको खोजी गर्ने र नेपाललाई चिन्ने बुझ्ने दिशामा यो एउटा आधारभूत प्रश्न हो ।” यस कुरालाई अझ थप व्याख्यासहित प्रस्ट पार्नका लागि उनी अगाडि भन्दछन्, “आज नेपाललाई के चाहिएको छ र त्यसले के मागिरहेको छ ? अझसम्म नेपालमा किन विकास हुन सकेन ? नेपाल कता गइरहेछ ? नेपालको आर्थिक-सामाजिक प्रगतिका बाधक तत्वहरू के के हुन् ? बहुसङ्ख्यक नेपाली जनता के सोचिरहेका छन् र देशको वर्तमान अवस्थाबारे उनीहरूको भनाइ के छ ? आदि आदि ठोस प्रश्नहरूको ठोस उत्तर पाउनका लागि हामीले नेपालभरि डुलेर बहुसङ्ख्यक नेपाली जनताको बिचमा जानु पर्नेछ । नेपाललाई चिन्ने-बुझ्ने समस्याको समाधानका लागि एक मूलबाटो यही हो ।” गोविन्द भट्टको विश्लेषण के छ भने व्यवहारमा गई ज्ञान प्राप्त गर्ने कुरो त्यति सहज छैन ।
ज्ञान प्राप्त गर्ने प्रक्रिया दीर्घकालीन, क्रमागत र बाङ्गोटिङ्गो हुन्छ । यो आंशिकबाट पूणर्तातिर, थोरैबाट धेरैतिर, छिपछिपे र हचुवाबाट गहनता एवम् प्रमाणिकतातिर अनि अस्पष्टताबाट स्पष्टतातिर क्रमशः गरेरमात्र विकसीत हुने गर्दछ । हुन पनि ज्ञान प्राप्त गर्ने विधि समस्यामा गहिरिनु नै हो । जान्ने भनी प्रयत्न गरे पनि जो व्यक्तिहरू व्यवहारमा जाँदैनन् तिनले वास्तविक ज्ञान हासिल गर्न सक्दैनन् । तीन वा पाँचतारे होटलमा बसी वा दुईचार ठाउँमा डुली १५-२० जना उच्चकुलीन भलाद्मीहरूसित चियाकफीको टेबुलमा कुराकानी गर्नेहरूले वास्तविक नेपालबारे जानकारी पाउन सक्दैनन् । परिणामस्वरूप ती विभिन्न कमी कमजोरीका सिकार हुनपुग्छन् । स्थलगत भ्रमण र जाँचबुझ नगरी ज्ञान हासिल गर्न खोज्नेहरू कि चिप्ले किराझैँ समयको प्रवाहसँगै जान नसकेर पछि धकेलिन्छन्, कि कुहिरोको काग झैँ अलमलिएर एकै ठाउँमा चक्कर काटिरहन्छन्, कि वायुपङ्खी घोडाको काल्पनिक उडानमा सयर गर्दै अव्यावहारिक र रोमान्टिक कामकुरा गर्नपुग्छन् । यस्ता व्यक्तिहरूले समाजलाई नेतृत्व दिने कुरो आउन्न । जो आफैँ पछि परेका छन्, जो आफैँ अलमलिएका छन् र जो कुरै नबुझी दौडिन खोज्छन्, त्यस्ताले जनचेतना र जनसङ्घर्षलाई निश्चित दिशातर्फ डोर्याउन सक्दैनन् ।
समग्रमा समीक्षा गर्दा भट्टको कृति ‘नेपाललाई बुझ्ने समस्या ः एक लामो र कठिन प्रक्रिया’ सानो पुस्तिकाकारको भए पनि यसले नेपालसम्बन्धी अध्ययन गर्नेका लागि स्पष्ट मार्गनिर्देशन गर्दछ । यो कृति निकै समय पहिले लेखिएको भए पनि समय सान्दर्भिक नै देखिन्छ र भविष्यसम्म मार्गनिर्देशन गर्ने क्षमता राख्दछ तर विषयवस्तु गहन भएकाले भट्टले अझ त्यसलाई विस्तृत तवरले पेस गर्नुपर्दथ्यो । उहाँमा गहिरो व्याख्या विश्लेषण गर्ने क्षमता भएकाले त्यसो गर्न सक्नुहुन्थ्यो तर अब उहाँको भौतिक शरीर नै नरहेका स्थितिमा जे जति उहाँले दिएर जानुभयो, त्यसैमा चित्त बुझाउनुबाहेक हामीसँग अर्को विकल्प छैन । अन्त्यमा, देशलाई सही मार्गमा डोर्याउने हो भने हामी सबैले यो कृतिलाई अध्ययन गरौँ र यसबाट प्राप्त शिक्षालाई व्यवहारमा लागु गरौँ ।
सन्दर्भ सामाग्री
माओत्सेतुङ । २०५३ । ‘हाम्रो पार्टी इतिहासका केही अनुभवहरू’, संचेतना त्रैमासिक, । पोखरा
भट्ट, गोविन्द । २०७०। नेपाललाई वुझ्ने समस्या : एक लामो र कठिन प्रक्रिया, नव आलोक प्रकाशन । काठमाडौँ ।
माओत्सेतुङ । २०२८ । ‘सही विचार कहाँबाट आउँछन्’ दर्शनबारे पाँच कृतिहरू, नेपाल चीन मैत्री सङ्घ । काठमाडौँ ।
माओत्सेतुङ । २०२८ । ‘व्यवहारका विषयमा’, दर्शनबारे पाँच कृतिहरू, नेपाल चीन मैत्री सङ्घ । काठमाडौँ ।
रेडिङ विश्वविद्यालय, बेलायतबाट अङ्ग्रेजी विषयमा एमए गर्नुभएका रामराज रेग्मीले माक्र्सवादी विचारसँग सम्बन्धित रचनाहरूमा आफनो प्रतिभा प्रदर्शित गर्नुभएको छ । उहाँका नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण, माक्र्सवादी दर्शन : सिद्धान्त र प्रयोग, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, पूर्वीय दर्शनमा भौतिकवाद, मानिसको समाजका विभिन्न जुगहरू, चीनका दुई कथा (अनुवाद), मानवसमाजको रूपान्तरण, राष्ट्रिय पहिचानका मूल मुद्दाहरू जस्ता कृति प्रकाशित छन् । कालिका बहुमुखी क्याम्पस, पोखराका सिनेटर रहेका रेग्मीको राजनीतिक संलग्नता नेकपा (माओवादी केन्द्र) सँग रहेको छ । उहाँ प्रगतिशील लेखक सङ्घ गण्डकी, माक्र्सवादी ज्ञान केन्द्र नेपाल, गण्डकी साहित्य सङ्गम, साहित्य शृङ्खला पोखरा, आदि संस्थाहरूमा सल्लाहकार रहनुभएको छ ।
जवाफ लेख्नुहोस्