info@bampanththeleft.com

Bampanth The Left

विचार र विवेकको हस्तक्षेप

 

विश्वका अन्य देशहरुका इतिहास झैँ नेपालको लिखित इतिहास पनि मूलतः वर्ग सङ्घर्षको इतिहास हो । मानव समाजको विकास क्रममा सामाजिक आर्थिक उत्पादनको साधन र प्रक्रिया माथिको स्वामित्वको होडले विभिन्न वर्गहरुको उदय हुँदै गयो-मालिक र दासहरु, सामन्त र भूदासहरु, जमिन्दार र किसानहरु, पुँजीपति र मजदूरहरु, र अरु थुप्रै विचका प्रवर्गहरु । ति वर्गहरु शासक र शासित, उत्पीडक र उत्पीडित बर्गहरुमा पनि विभाजित हुँदै गए ।

घुमन्ते पशुपालकहरु सामुदायिक कृषिमा आधारित जीवनयापन गर्न थालेको नेपालको प्राचिन इतिहासदेखि बुद्धकालीन र लिच्छवीकालीन कविला-सामन्ती सभ्यताहरु, मध्य युगीन राजा रजौटाहरु, राणशाही र शाह वंशीय पंचायती व्यवस्थाहरुदेखि वर्तमान नेपालको गणतान्त्रिक व्यवस्था सवै वर्ग सङ्घर्षका इतिहास हुन् तर त्यसको गम्भीर अध्ययन र विमर्श नेपालमा भर्खरै मात्र सुरु हुन थालेको छ । नेपालको इतिहास शासकवर्गले नै लेख्दै आए तर आम नेपाली जनताको दृष्टिकोणबाट इतिहास लेखिनु पर्ने बाँकि नै छ । हिन्दू वणर्वादी पितृसत्तात्मक नेपाली समाजको सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक बनोट र मूल्य मान्यताहरुका ऐतिहासिक भौतिकवादी विश्लेषणको आवश्यकता अझ बढी खट्किएको छ ।

समाजमा शोषणको जगमा उभिएका वर्गहरु रहुन्ज्याल वर्ग सङ्घर्षको अस्तित्व रही रहने भएको हुनाले नेपालका अग्रगामी शक्तिहरुको दायित्व त्यस्ता वर्गहरुको अस्तित्व नै रहन नदिने संरचनागत परिवर्तन गर्दै वर्गविहिन समाजमा पुग्ने भविष्य सुनिश्चित गर्नु हो । दमनकारी राज्यको चरित्रलाइ बदल्दै र त्यसलाई बढी भन्दा बढी जनउत्तरदायी बनाउदै अन्ततः राज्य ओइलाएर अस्तित्व विहिन हुने स्थितिमा पुग्ने सङ्क्रमणकालीन अवधि पार गर्नु हो । त्यस्तो उन्नत समाजमा पनि विभिन्न प्रकारका अन्तरविरोधहरु त रही रहने छ तर शोषण र उत्पीडनका आधारहरु नरहने भएकाले तिनको चरित्र शत्रुतापूर्ण होइन मित्रतापूर्ण हुनेछ भन्ने विश्लेषण र परिकल्पनासंग हामि सहमत छौ । त्यस्तो सङ्क्रमण मुलतः श्रमजीवी जनताले सिधै प्रयोगमा ल्याउन सक्ने सहकारी लोकतन्त्र र जननीति तथा उत्पादनका साधनहरुमा सामाजिक स्वामित्वको योगले अभिप्रेरित गर्ने लोककल्याणकारी राज्य मार्फत अघि बढ्दछ । आर्थिक उत्पादनको प्रक्रियामा र सृजनाका रचनात्मक कार्यहरुमा सामुहिक र व्यक्तिगत सहभागिता त्यसका प्राथमिक शर्त हुन् ।

उक्त सहभागिताको प्रक्रियामा व्यक्ति भित्रका क्षमताहरु र उसको निजि स्वतन्त्रताले पूर्ण अभिव्यक्ति पाउँदै एउटा नयाँ मानवमा ढालिने प्रक्रिया शुरु हुनेछ । त्यस्तो सङ्क्रमणकालीन अवस्थालाई समाजवाद भनिएको हो र त्यही मार्गबाट हिंडेर वर्ग विहिन साम्यवादको लक्ष्यसम्म पुगिने मार्क्सवादको प्रस्थापना हो । समाजवाद निर्माणको यथार्थ जतिसुकै कष्टकर वा विकृत बने या पारिए पनि त्यो काल्पनिकीको ओज धुमिल भएको छैन । वर्तमानमा नवउदारवादी व्यवस्थाको सङ्कटले त्यसप्रति पुन गम्भीर वैश्विक बहस सुरु भएको छ ।

नेपालको सन्दर्भमा वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाले मार्क्सवादको त्यो काल्पनिकीलाई नेपालमा मूर्त रुप दिने प्रयत्नको थालनी गर्‍यो । त्यसै गरी वि.स.२००९ मा प्रगतिशील लेखक सङ्घ (प्रलेस) स्थापना भएपछि वामपन्थी साहित्य सङ्गठित रुपमा अघि बढेको देखिन्छ । तथापि यस्ता बैचारिक साहित्यिक धारका मूल प्रवाहका उद्गमहरु मकैको खेति (१९७७), आमाको सपना लगायतका रचनाहरु (२००३) र युगवाणी पत्रिका (२००४)आदिमा प्रतिविम्वित भएको देख्न सकिन्छ ।

त्यसपछिका कालखण्डहरुमा साहित्यिक सांस्कृतिक पत्रिका वेदना र सकल्प, जनमत, उत्साह तथा विभिन्न पार्टी प्रकाशनहरुले विचार निर्माणको भूमिका निर्वाह गरेता पनि २०४६ सालको जनआन्दोलन पश्चात निस्केको मूल्याङ्कन, झिल्को र वामपंथ पत्रिका विशेष रुपमा विचारधारात्मक चेतमा योगदान दिन अघि सरेको देखिन्छ । विभिन्न कारणवश यी तिनवटै पत्रिका विगत १० वर्षदेखि त्यति नियमित छैनन् । झन्डै दुई तिहाईको वामपन्थी शक्तिले नेपालमा चुनाव जित्दा पनि एउटा पनि स्तरीय वैचारिक प्राज्ञिक पत्रिकाले निरन्तरता नपाउनु एक विडम्वना नै हो ।

वर्तमानमा वामपन्थी आन्दोलन भित्र विकराल चुनौतीहरु खडा भएका छन् । विकृतिहरु प्रशस्त मौलाएका छन् । लामो समयपछि एकताबद्ध भएको मूलधारका कम्युनिष्ट पार्टीहरु पुनः विभाजित भएका छन् र नेपालको कम्युनिष्ट आन्दोलन भित्र देखापरेका विसंङ्गतिहरुको चाङ्ग एक तितो यथार्थ भै सकेको छ ।

अन्तर्राष्ट्रिय चुनौतीपूर्ण  सम्बन्धहरु र जटिल भूराजनैतिक परिवेशको बीचमा रहेको नेपालको अगाडि शान्ति, स्थायित्व र अस्तित्व रक्षाको प्रश्न पनि त्यतिकै ज्वलन्त बनेको छ । नवउदारवादको विफलताले पुँजीवाद एकातिर फासिवाद तर्फ लम्कने र अर्को तिर पृथ्वी तथा प्रकृतिको स्रोतको विनाशकारी दोहन गर्दै जलवायु सङ्कटलाई अझ गहिर्‍याउन उद्धत हुने सम्भावना बढिरहेको छ । मानवजातिको विवेकपूणर् हस्तक्षेपले मात्र त्यसलाई रोक्ने क्षमता राख्दछ ।
विकास, लोकतन्त्र र नागरिक स्वतन्त्रताको आवरणमा पुँजीवाद जसरी फैलिएको छ यसको पछाडि ज्ञान निर्माणका स्रोत केन्द्रहरुको एकाङ्गी व्याख्या कारक रहेको छ । यी र यस्तै तहबाट बन्ने व्याख्यालाई प्रमाण बनाई राज्य संयन्त्र सन्चालनमा ’विकासे’ ढाँचाका नीति तथा कार्यक्रमहरुको बाहुल्यता बढदै गएको छ । नेपालको नीति निर्माणको पहुँचमा जात र वर्गले कुलिनहरुनै हावि भएको देखिन्छ जसले गर्दा समस्यालाई संस्थागत गरिदिने तर ठोस् समाधानमा केन्द्रित नहुने पारीपाटिको विकास भएको छ । त्यो व्याख्या र प्रयोगको एकाङ्गीपनलाई चिर्न ढिलो गर्नुहुंदैन भन्ने हाम्रो मान्यता हो ।

जनसङ्ख्या र भूगोलको हिसाबले जनजीविकाको समुचित व्यवस्थापन गर्न त्यति गाह्रो नपर्ने हाम्रो जस्तो प्राकृतिक र साँस्कृतिक रुपले विविधता भएको देशमा जीवनकै बाजी लगाएर सस्तो श्रम बेच्न खाडी मुलुक जानुपर्ने अवस्था छ । देश भित्र महिला र दलित समुदायको अधिकारको लागि अन्तराष्ट्रिय स्तरका कानुनको व्यवस्था गर्ने तर उनीहरु प्रतिको विभेद यथावत् रहेको छ । यी र यस्तै वाध्यताका अर्थराजनीति निर्धारकहरु, साँस्कृतिक पहिचान मेटाउँदै बढेको शहरीकरण, पर्यावरण दोहन आदि विषयहरुमा केन्द्रित वहसमा फरक धारको अभिमतबाट संवाद हुन जरुरी छ । जुन ज्ञान उत्पादनका स्रोत केन्द्रहरु विश्वविद्यालय, थिङ्क ट्याङ्कहरुसँगको सहकार्यबाट सम्भव छ ।

समाजवादको वैचारिकीले अनुप्राणित वामपन्थी वौद्धिकहरुको विशाल अग्रपङ्त्तिहरुको सामूहिक बुद्धि र प्रयत्नले नेपालको वर्तमानमा देखापरेको यो जटिल मोडमा राजनैतिक दलहरु विचको अन्तरक्रियालाई सहयोग गर्दै एउटा उन्नत समतामुलक समाजको निर्माण तर्फ अग्रसर हुने नेपाली जनताको चाहनामा योगदान दिन सक्छ । त्यसैले यतिबेला विचार र विवेक दुवैको हस्तक्षेप आवश्यक भएको छ ।

वामपन्थ _TheLeft  पत्रिका त्यस्तो वैचारिक हस्तक्षेपको एक सशक्त माध्यम तथा संवाद र सहकार्यको मन्च बनोस् भन्ने हाम्रो उद्देश्य हो । यसमा प्रकाशित लेखको लागि लेखक स्वयम् जिम्मेवार हुनेछन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीय मार्फत सम्प्रेषित हुनेछ । यो पत्रिकामा नेपाली र अंग्रेजी दुवै भाषाको प्रयोग हुनेछ । यसको पहिलो अङ्क ‘मार्क्सवाद र नेपाली कम्युष्टि आन्दोलन विशेषाङ्क‘ रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको समयमा वामपन्थ_TheLeft को प्रथम अंकलाई पाठक समक्ष पुर्‍याउने प्रयत्न गरेका छौं । स्थानीय चुनावको तयारीले गर्दा अहिले समग्र राष्ट्र नै राजनैतिक-आर्थिक मुद्दा प्रति सजग बनिरहेको छ । र यस विशेषाङ्कले नेपाली जनताको वर्ग चेतना बढाउन सहयोग गर्नेछ भन्ने आशा राखेका छौ। साथै हाम्रा सम्पूर्ण पाठक, लेखक र शुभचिन्तकहरु प्रति नयाँ बर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना पनि व्यत्त गर्न चाहन्छौं ।

Author

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari