सन्दर्भ एमाले चितवन महाधिवेशनः एमाले लोकतन्त्रको रुप र सार
- कृष्णप्रसाद पौडेल
“अहिले औपचारिक रुपमै चार चिरामा बिभाजित नेकपाको एउटा धार एमाले सबैभन्दा कुण्ठित बनेको छ । आफ्नै मतिले धरै र अरुका गतिले थपथाप भएर सत्तााबाट लडखडाउँदै बाहिरिएका यसका नेता र उनका आसेपार्सेले भने उनीहरुले देश विकासमा गरेको कामले औडाहा भएर यो विकास रोक्न नेकपाबाट चोइटिएर काँगे्रसको शरण पुगेका केही मान्छेले गठबन्धन गरि घेराबन्दी गरेर यस्तो अवस्था आएको हो भन्ने मान्दछन् । तर यो कुरा हावादारी हो भन्न राजा नाङ्गै छ भन्ने बालक नै ल्याउन पर्ने हो भने बेग्लै कुरा अन्यथा धेरै प्रमाण खोजी हिड्न पर्दैन ।”
पृष्ठभूमी
अहिलेको राजनैतिक नेतृत्वले गर भन्छ तर आफू गर्दैन । यो नै आजको नेपाली राजनीतिको मूल समस्या हो । यसको पृष्ठभूमीमा नेतृत्वको कपट नै मुख्य जिम्मेबार हुन्छ । यसरी भनाई र गराइमा फरक पर्नु कपट हो । जानीजानी यस्तो गर्नेलाइ कपटी भनिन्छ । खासगरि कपटको सुरुवात अरुलाइ अर्ति दिने तर आफू नगर्नेबाट हुने गर्छ । केही नगरी बस्न सक्दैन त्यसैले उसले अरु नै गर्छ । यस्तो कपट आधुनिक समाजमा सबैतिर व्याप्त छ । समाजका अरु तहमा हुने कपट भन्दा राजनीतिक बृतमा हुने कपटले हामी सबैको जिवनमा धेरै नै प्रभाव पार्छ ।
नेपालका साना ठूला मूल प्रवाहका सबै पार्टी यस्तै कपटी छन् त्यसैले त हामी अहिले समाज विकासको यो दुर्गति बेहोर्न बाध्य छौ । यसमा कुनै दुविधा छैन । यस्तो कपटमा जालझेल, तिक्ड्म र कुण्ठा मिसाएपछि यो छलकपट हुन्छ । यहि छलकपटले बढाएको आन्तरिक द्वन्द्वले यसपटक नेकपा टुक्राटुक्रा भयो । ३ दशक अघि नै नेपाली समाजको एमालेकरण गर्न सफल भएको नेकपाको मुलधारको एमाले ४ वर्ष अघि माओवादी र अन्य साना समूहसँग मिलेर यसले आज्र्याको झण्डै दुई तिहाईको सरकार ढालेर सत्ताको चिल्लो मझेरीबाट प्रतिपक्षको उबडखावड आँगनमा आईपुग्यो । यस्तो किन र कसरी भयो ? यसमा पार्टी जीवनको मेरुदण्ड आन्तरिक लोकतन्त्रको के कस्तो भूमिका रह्यो । यो सबैको चाखको विषय हो ।
अहिले औपचारिक रुपमै चार चिरामा विभाजित नेकपाको एउटा धार एमाले सबैभन्दा कुण्ठित बनेको छ । आफ्नै मतिले धरै र अरुका गतिले थपथाप भएर सत्ताबाट लडखडाउँदै बाहिरिएका यसका नेता र उनका आसेपार्सेले भने उनीहरुले देश विकासमा गरेको कामले औडाहा भएर यो विकास रोक्न नेकपाबाट चोइटिएर काँगे्रसको शरण पुगेका केही मान्छेले गठबन्धन गरि घेराबन्दी गरेर यस्तो अवस्था आएको हो भन्ने मान्दछन् । तर यो कुरा हावादारी हो भन्न राजा नागंै छ भन्ने बालक नै ल्याउन पर्ने हो भने बेग्लै कुरा अन्यथा धेरै प्रमाण खोजी हिड्न पर्दैन ।हुनत अहिलेको जस्तो सत्ताका लागि मरिहत्ते गर्ने र घाट नजादासम्म पदबाट बाहिरिन नचाहाने राजनीतीका निकम्मा र लाज पचाएका नेता र तिनैलाइ साथ दिने रैतिभावका कार्यकर्ता भएसम्म, सत्ताका लागि गरिने जालझेलमा यस्तो घेराउ हुँदै हुँदैन भन्न सकिने ठाँउ छैन तर यो घेराउ त परिणाम मात्र हो । मुख्यतः तत्कालिन नेकपाको आन्तरिक लोकतन्त्रको खडेरी, पदलोलुपता र सत्तााको दुरुपयोग गरि कमाउने र कमाएका स्रोतमा भागबण्डा नमिल्दा यस्तो अवस्था भएको हो । यस अर्थमा नेकपा नेतृत्व पंतिले आफ्नै कुकर्मले यो दिन निम्त्याएको र अहिले यो ठाँउमा पुगेको हो । अहिलेको प्रतिपक्षिय धर्म निभाउने आन्दोलनको ढोँग, गालीगलौज र अलाप विलाप बालुवाटारबाट बालकोट पुग्दाको पिडा बिर्सन नसकेर बल्झेको ग्लानीको उकुच मात्र हो । घेराउको अतिरन्जना यो तीतो सत्य स्विकार्न नसकेकोले पारेको स्वाङ मात्र हो । हैन भने आफैले अहिले गरिरहेको वेल घेराउ तात्पर्य के हो र केका लागि गरिरहेको छ ?
बरु, यो बिग्रहको अन्तरगं भेद थाहा पाउन यि सबै फुटेका पार्टी, नेता र तिनैका पछि भजनकिर्तन गदै हिड्ने रैति कार्यकर्ताको पृष्ठभूमी केलाउनु पर्ने हुन्छ । बितेका ७३ वर्षमा सयौं पटक फुट्ने नेपालका कम्यूनिष्टको मुल चरित्र समाज तथा मानव शास्त्रिय अध्ययनको महत्वपूर्ण विषय हो । अहिले भने हेरौं आफैंलाई मुलधार ठान्ने एमालेको आन्तरिक लोकतन्त्रका केही दृष्टान्त र यसले बनाएको अहिलेको एमाले हैसियत ।
चाहे जुनसुकै खालको आन्तरिक विग्रहले होस आम समुदायका लागि, २०७६ पौष ५मा प्रधानमन्त्री केपी ओलीबाट भएको जननिर्वाचित प्रतिनिधिसभाको विघटन, संविधानको मर्म र भावना बी.पी.रत गरिएको लहडी निणर्य अनपेक्षित थियो । त्यसमाथि यो लहडमा राष्टपतिको अविभावकीय जिम्मेवारी समेत बेवास्ता गरेर साथ दिईयो त्यतिमात्र होइन, दास्रो पटक उनैको रवरस्टाम्प बनेर राष्ट्रपतिबाट मध्यरातमा गरिएको संसद बिघटनको सदर संवैधानिक कु थियो । यो सार्वभौम नागरिक प्रतिको जवाफदेही विहीनताको पराकाष्ठाको ऐतिहासिक कलंक थियो र यसलाई यसै अर्थमा सर्वोच्च अदालतले सच्याएको थियो । यो अस्वभाविक र नाटयिक खलनायकी दम्भ र कुण्ठा पार्टीको आन्तरिक र नेपाली समाजको लोकतन्त्र उन्नत बनाउने भन्दा संविधानको दुहाई दिंदै यसको धज्जि उडाउने वा संस्कृति भित्राउने कपटको विजारोपण थियो ।
यदि यस्तो कपटी चाल हैन भने नेकपाको मूलधार दाबी गर्ने एमालेलाई एकपछि अर्को गर्दै सडकको बाटो देखाउन किन लागि रहेका छन् ? किन आफ्नै पार्टीका नेता कार्यकर्ताले महाधिवेशनमा उमेद्वार हुन पाउँ भनेर याचना गर्नु पर्यो ? हुन त अझै पनि यो पार्टीलाइ आगामी निर्वाचनसम्म सङ्काको लाभ लिन छुट दिन कन्जुस्याई गर्न आवश्यक छैन । सचेत मतदाताले आवधिक निर्वाचनमा सबै पार्टी र नेताको हैसियत देखाउँछन् ।
अहिलेको एमाले ४३ वर्षअघि नक्सलबाडी बिद्रोहबाट प्रभावित झापामा सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनको दोस्रो संस्करणको मूलधार कोअर्डिनेशन कमिटी, माले, एमाले, डबल नेकपा र एमाले बिद्रोही समूहको उत्पति हुँदै यहाँसम्म आइपुगेको छ । यो पार्टी अहिले आफ्नो पार्टी सबैभन्दा ठूलो भएको जिकीर गरिरहेको छ । अब आउने निर्वाचनमा यि तिनवटा मध्ये जुन ठूलो पार्टी बन्छ त्यो नै ठूलो पार्टी भनेर मान्नु पर्ने हो, यो भन्दा अरु भिन्न कारणले यसलाई ठूलो मान्नु पर्ने देखिदैन । यसमा लाग्ने जो कोहीको पनि यसैलाई ठूलो देख्नु र आत्मरतिमा रमाउने रहर हुन सक्छ यसमा अन्यथा लिनु पर्ने केही छैन ।
“सरकारमा गएकै भरमा यि करोडौ सम्पतिका मालिक भएका छन् । अझ, गएका ४३ महिनामा भए गरिएका कामकुराले यसका केही भक्तालु बाहेक यसमा समर्पित लाखौं कार्यकर्ता र समर्थकले लज्जाबोध अनुभूत गरेका यत्रतत्र देखिन्छन् । र अहिले पनि यस्तो मौकाको ताकमा छैनन् र यसका नेता तथा अगुवाले यस्तो हर्कत गर्न पछि पर्दैनन् भन्ने कुरा नयाँ सरकार बन्नुभन्दा पहिले र बनेपछि यसले यसका करतुतको पर्दाफास मात्र हैन । प्रदेश र केन्द्रमा गरेका राजनीतिक भष्ट्राचारका कृयाकलापहरु यिनको औकात देखाउन प्रयाप्त छन् । यसअर्थमा यिनले नेपालको अहिलेको बेथिति र कुसासन भित्राएको अपजसको भारी बोक्नुपर्छ ।”
लुटको खेतीमा व्यस्त नेतागण
मनमोहन अधिकारीले नेतृत्व गरेर बनेको नौ महिने सरकार बनेदेखि कुनै न कुनै हिसाबले यो पार्टी सरकारमा छ । तर यो पार्टीका थुप्रै सिक्न लायक असल कुरा थिए र अझै पनि केही बाँकी होलान् । तर, ती सबै ०६२-०६३ पछी र यस अगाडिका १५ वर्षमा गरिएका राज्यदोहन र लुटपाटको पुनरुत्पादनको मतियार भएसँगै ओझेलमा पर्दै गएका छन् । यो पार्टी र यसका अगुवा सीमा नदी बेच्ने मात्र हैन, सरकारी सम्पति, सांसद र बीचौलिया दलाललाई टिकट किनबेच र सुरासुन्दरीका रासलीलामा बरालिएको संसदवादको उच्चतम् अभिव्यक्तिको समेत मतियार बनेको थियो । एकाध सकरात्मक प्रयत्नमा बाहेक यो पार्टीको कार्यकारी परिदृश्यमा जे-जे देखियो, हिजोको यो आन्दोलनप्रतिको गौरव र यसका धेरै अगुवा, कार्यकर्ता, समर्थकलाई आफ्नै निष्ठासमेत सम्झन लायक रहेन । सरकारमा पुगेका एकदुई बाहेक भष्टाचार र अनिमियताका काण्डमा नमुछिएको कोही छैन । आशा र भरोसाका धरोहर भनिएका युवा एमाले समेत यसैमा लट्पटिएको कुरा समेत उजागर हुँदै गएको छ ।
सरकारमा गएकै भरमा यी करोडौ सम्पतिका मालिक भएका छन् । अझ, गएका ४३ महिनामा भए गरिएका कामकुराले यसका केही भक्तालु बाहेक यसमा समर्पित लाखौं कार्यकर्ता र समर्थकले लज्जाबोध अनूभुत गरेका यत्रतत्र देखिन्छन् । र अहिले पनि यस्तो मौकाको ताकमा छैनन् र यसका नेता तथा अगुवाले यस्तो हर्कत गर्न पछि पर्दैनन् भन्ने कुरा नयाँ सरकार बन्नुभन्दा पहिले र बनेपछि यसले यसका करतुतको पर्दाफास मात्र हैन । प्रदेश र केन्द्रमा गरेका राजनीतिक भष्ट्राचारका कृयाकलापहरु यिनको औकात देखाउन प्रयाप्त छन् । यसअर्थमा यिनले नेपालको अहिलेको बेथिति र कुसासन भित्राएको अपजसको भारी बोक्नुपर्छ । अरु यस्का मतियारले कत्रो भारी बोक्नु पर्ला, त्यसको लेखा जोखा हुने नै छ ।
साथै, यसका सारथी बनेका बीचौलिया दलाल र रजौटाको अकुत सम्पत्ति र यो दलालीलई भरथेग गरेबापत भाडा उठाउने प्रवृति केही यसका प्रतिनिधि उदाहरण मात्र हुन् । सुकुम्बासीका नाममा राजनीति गर्नेले लाज घिन पचाएर बालुवाटारको जग्गामा आँखा लगाउने होस् या सांसद किनबेच, अपहरण र साइबर सेनाको गुण्डागर्दी त सामान्य नै भयो । अधिकांश सबैले रैती नेता कार्यकर्ता उत्पादन कारखाना चलाएका छन् । कुनै पेसा व्यवसाय र रोजगारी नभएका नेता तथा कार्यकर्ता नै सबैभन्दा सम्पन्न र विलासी छन् । केबल फरक केही छ भने यसमा अहिलेको एमाले अब्बल दरिएको मात्र हो ।
यिनका आसेपासे, भान्से, छोराछोरी र ठेक्कापट्टाका दलाल, सत्ताको अलंकारिक गहना हुन् । यी सुदखोर राजनैतिक गुट बनाउन सधैं सकृय भैरहन्छन् । यिनैका संगतले स्थायी सरकार भनिने कर्मचारीतन्त्र, चन्दा दिएर लाभ लिन पल्केको निजी क्षेत्र र विकासे भनिने गैर सरकारी संस्था समेत निकम्मा भएको छ । यो सबै कुरा यो पार्टीलाई भारदारी कम्युनिष्टको पुरातनी विरासतमा विसर्जन गर्ने ओरालो बाटो हो र यसले यहि बाटो रोजेको देखिन्छ ।
त्यसो त ३० वर्षदेखी सत्तामा रहदै आएको अहिलेको राजनितिक मूलधारको राजकाजको नालायकी र असक्षमता इतिहासमा दर्ज गर्न समेत लायक छैन । मिलीभगतमा लुटपाट मच्चाउने यि पार्टीहरु नालायक र अक्ष्मका पर्यावाची हुन् । कस्को पालामा के भयो भनेर अहिले जति रोइलो गरेपनि काले-काले मिलेर खाउँ भाले भन्ने कुरामा सबै एक मत थिए र अहिले पनि छन् ।
आन्तरिक लोकतन्त्रको हिसावकिताव
नेपालका सबै कम्युनिष्ट आन्दोलनभित्रको कोतपर्व राणाहरुको पारिवारिक शासनको विग्रह भन्दा धेरै भिन्न छैन । एमाले पनि यसबाट अछुतो कसरी हुन सक्थ्यो र ? यो पार्टीको जन्म देखि नै सङ्का, अविस्वास र जाल झेलसँगै भएको देखिन्छ । यसका संस्थापक महासचिव सिपी मैनालीका अनुसार बाँस काट्ने हो भने पहले हाँगा छिमल्नु पर्छ भन्ने हत्याको मनोविज्ञानबाट ग्रसित एक पात्रका कारण सुरु भएको व्यक्ति हत्या यसको पोलापोल, भागाभाग र पक्राउ भएर तत्कालिन झापा जिल्ला समितिको नेतृत्व समेत केही समय फेर्नु परेको थियो ।
उनी लगायत झलनाथ खनाल, मदन भण्डारी, माधव नेपाल र स्वयं खड्ग प्रसाद ओली र बामदेव यो पार्टी स्थापनाका मुख्य खेलाडी हुन् । मदन भण्डारी वाहेक सबै जिउँदै छन् र एक आपसका पोल खोलाखोल गरेका प्रयाप्त उदाहरण छरपष्टै छन् । यिनका आपसी विग्रह, जालझेल र कुण्ठाका कारण गरेका गुटबन्दी र पानी वारावारका बारेमा यिनका लेख भाषण र कतिपय अर्थमा राजनैतिक प्रस्ताव र अपानी आफै बोल्छन् । यो पङ्तिकारले केही थप्नुपर्छ जस्तो लाग्दैन । यसको अर्थ यि सबैका दुर्गुण मात्र थिए र छन् भन्ने कदापी होइन ।
हुन त, नेपाली कम्युनिस्ट आन्दोलन, यसका पात्रहरूको प्रवृत्ति, यिनका सङ्गठनमा देखिएको वैचारिक विचलन र चरम गुटबन्दी कुनै नौलो कुरा हैन । २०२८ सालसम्म टुटफुटमै रमाएको नेपाल कम्युनिष्ट आन्दोलनका सिपी मैनालीले नेतृत्व गरेको झापा जिल्ला कमिटी र मोहनविक्रम सिंहले नेतृत्व गरेको केन्द्रीय न्यूक्लियस् दुई वटा प्रष्ट लाइन देखा परे । यसरी तितरवितर भएको पार्टीका रहलपहल नेता कार्यकर्ता लिएर मदन भण्डारी, बामदेव नेताले मुक्तिमोर्चा बनाए । यस बाहेक गन्तीमा नआएका दर्जनौ समूह बनेका थिए ।
यसको केही समय पछि झापाको विद्रोही समूहले आफ्नो पार्टीको नाम परिमार्जन गर्दै अखिल नेपाल कोअडिनेसन कमिटी बनायो । यससगै दुवै समूह मिलेर २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए । सिपि मैनालीले २०३९ सम्म शासन चलाए तर पार्टी स्वतन्त्रता कि राजनैतिक स्वतन्त्रता भन्ने विवादसँगै उनलाई कारबाही गरेर झलनाथ महासचिव बने । यस्तो हुनुको पछाडी मुख्य दुई कारण देखिए । पहिलो नेपालका कम्युनिष्टमा पार्टी स्वतन्त्रता कि राजनैतिक भन्नेमा धेरै लामो बहस थियो । यो बहसले यिनको टुटफुट मात्र भएन यी दुई पक्ष बीच पानी बाराबारको स्थिति बन्यो । तत्कालिन मालेभित्र यसले सबैभन्दा उग्र रुप लियो ।
तर यिनको बीचमा आपसी ईख, दम्भ र अहकारले पोषित मपाईवाद बाहेक वैचारिक तहमा तात्विक अन्तर भने थिएन । त्यसैले यि समूहबीचको ध्रुवीकरण ४८ वर्षसम्म चलिरह्यो । २८ सालदेखि आजसम्म यी समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटे र बेला-बेला जुटे । त्यसबेलादेखि सगैरहदा सबैभन्दा असल क्रान्तिकारी र फुटेपछि लाल गद्दारको तक्मा थमाउने चलन आज पर्यन्त कायमै छ । गुटमा घुलित हुन, पदको सिरकमा घुस्रिनु, बात लागे चोखिन वा चोख्याउन परे सजिलै आत्मआलोचना गर्ने र निकाल्नु परे अनुसासनको डण्डा चलाउनु यो क्रान्तिकारी कम्युनिष्टको आदर्श थियो जुन अहिलेसम्म जारी छ ।
दाउपेचकै बीच, २०४६ भदौमा भएको महाधिवेशनले मदन भण्डारीदाई नेता बनायो । उनले २०३७मा मालेले गरेको गल्ति सच्च्याउन पहल गरे । वाम समूह प्रजातन्त्र पुर्नबहालीको मोर्चामा उभिएसँगै कम्मुनिष्ट र काँग्रेस फुटाएर चलाएको राजाको सक्रिय शासन ढल्यो । तर लगत्तै २०४७ मा सोभियत सङ्घ विघटनले एकदलिय कम्युनिष्टको राजनैतिक हैसियतबारे गम्भिर वहस शुरु भयो । यस्तो बेला प्रस्तावित जबजले क्रान्तिबाट भागेका थकित अन्य कम्युनिष्टका लागि रामबुटी साबित भयो ।
सँगै, मदन भण्डारीको प्रस्तावमा नेका-वाम एकताले पार्टी स्वतन्त्रताको वकालत गर्ने पक्षको जित भयो । यसले फेरी सत्ता गुमाएका पार्टी स्वतन्त्रता पक्षधरलाई फेरी आफ्नो गुमेको वर्चश्व फर्काउन उक्सायो । दोश्रो, एकातिर सजिलो संसदीय बाटो लिएर सत्तामा जान चाहने मध्यम वर्गिय कम्युनिष्टलाइ छिट्टै सत्तामा जाने बाटो खुल्यो भने अर्कोतिर निम्म मध्यम वर्गिय मालेका पुराना नेता कार्यकर्तालाई मध्यम वर्गमा उक्लिए मात्र संसदीय सत्तामा खेल्न सकिने चेतना भयो । विगत् तिन दशकमा भए गरिएको यसैको परिणाम थियो । यस पार्टीको २०४९ माघमा भएको पाचौं महाधिवेशनमा यसलाई नेपाली क्रान्तिको कार्यक्रम र सिद्धान्त भन्दै जबजलाई मुल कार्यदिशा बनाईयो । तर २०५० जेठमा भएको मदन भण्डारीको मृत्युपछि माधवकुमार नेपाल महासचिव बने । यसपछि भने मदन भण्डारी अगाडि सारेको जवज विचार र सिद्धान्तका नाममा गुटका गोटी चाल्न सुरु भयो । किनकी उनी वाहेकका ठूला भनिने कुनै नेतासग विचारको बुटी समेत बाँकी थिएन । यो नै टुटेफुटेका वा सग्लो भनिएको एमाले संस्थापनको वैचारिक धरातल हो ।
हुनत एमालेलाई लोकतान्त्रिक हुने दवाव धेरै पहिले देखिकै थियो । भारत र पश्चिमी शासकको आशिर्वाद विना सत्तारोहण सम्भव छैन भन्ने कुरा यसका नेताले बुझेका थिए । त्यसैले २०५१ मै नेपालका लागि अमेरिकी राजदुत जुलिया चाङलाई वल्खु पार्टी कार्यालय लैजान खाँटी लोकतन्त्रवादी हुनु परेको थियो । त्यसैले त्यति नै बेलादेखि एमाले जबजको खास्टो ओढेर लोकतन्त्रवादी हुने अविरल यात्राम छ । यो यात्राले यस पार्टीले अपनाउँदै आएको जनवादी केन्द्रियताको सांगठानिक प्रकृया स्खलित भयो । यसरी भएका चलखेलले अहिलेको एमाले विग्रहको यो अवस्थामा आई पुगेको हो ।
२०५३ मा भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेत चल्यो । माधवकुमार नेपाल र केपी ओली यो सम्झौताको पक्षमा थिए भने वामदेव गौतम विपक्षमा उभिए । अन्ततः २०५४ सालमा उनले पार्टी फुटाए र नेकपा मालेको पसल खोले । उनीसँग सिपी मैनाली पनि थिए । पाँच वर्षपछि पसल नचल्ने देखे पछि फेरि गौतम एमालेमै फर्किए भने मैनालीको सानो समूह छुट्टै बस्यो र अहिले सम्म माले नामको नाङले पसल चलाइरहेको छ । त्यतिबेला बामदेवसँगै लागेका घनश्याम र योगेश भट्टराइले एमालेको राष्ट्रघात बारे पर्चा नै छपाएका थिए । १० भाई मध्येका यि दुबै अहिले एउटा ओलीमय र अर्को बिद्रोही भएर एमालेमै छन् ।
यो फुट र एकताको घटनापछि धेरै स्वाभिमानी एमाले एमालेमा फर्केनन् । केही निस्क्रिय बसे भने धेरै माओवादीमा रमाए । परिणाम माओवादी हावा भरेको बेलुन झै फुल्यो तर आपसी मनमुटावले बलेनीमा परेको पानीको फोका झै बिलायो । यो घटनाले नेताकापछि लाग्ने कार्यकर्ताको औकात देखायो किनकी उनीहरु नेता जता गयो उतै बासबस्ने रैती भैसकेका थिए । यो नै साइवर सेना र छोरा- छोरी बन्ने बनाउने उत्प्रेरणाको जग हो ।
नेताबिहिन र गुटबिना माओवादी भएका पूर्व एमाले र अरु कुनै उपाय नदेखेर डिलमा बसेर अर्ति दिन बनेका वाम बुद्धिजीविको दवावले नै दुई ठूला घटक एमाले र माओवादी मिल्नैपर्ने महसुस गरी २०७४ असोजमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ७ बुँदे सम्झौता सहित चुनावमा गठबन्धन र त्यसपछि पार्टी एकताको सम्झौता भयो । सोही सम्झौताको जगमा टेकेर चुनावमा गएको वाम गठबन्धनले करिब दुई तिहाई बहुमतसमेत प्राप्त गर्यो ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भएका थियो । ७० वर्षपछि नेपालमा ९० प्रतिशत कम्युनिस्ट कार्यकर्ताहरु पुनः नेपाल कम्युनिस्ट पार्टीको ब्यानरमुनि एकीकृत भए । अझै पनि नेपाल मजदुर किसान पार्टी, नेकपा मसाल, नेकपा माले, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा लगायतका सानातिना कम्युनिस्ट घटकहरु एकीकृत कम्युनिस्ट आन्दोलनबाट बाहिरै छन् ।
यो एकता, ए कता ! हुन धैरै समय लागेन । यसको सुरुवात नै शत्तिका लागि जे पनि गर्न तयार भएका दुई तान्त्रिकको मन्त्रणाबाट सुरु भएको थियो जो गोबरले भरेको घ्यूको ठेकी र दाप भित्रको काठको खुकुरी बेच्ने दाउमा थिए । यो आलो पालोको दुइबुदेँ सम्झौताले स्पष्ट हुन्छ । यसले निम्त्याएको गुटस्वार्थ र छताछुल्ल भएको कुण्ठा, दम्भ, दाउपेचका कारण सौर्य मण्डल टुक्रिए जसरी नेकपा टुक्रियो । यहि मध्येको एउटा टुक्रा एमाले हो ।
“समाजवादको जग हाल्न स्थिर सरकारको अनुमोदन भएको ऐतिहासिक अवसरलाई लत्याउँदै दुई-दुई पटक भएको जननिर्वाचित प्रतिनिधिसभाको संविधानको मर्म र भावना विपरीत गरिएको असंवैधानिक विघटन कमजोरी थियो भन्नेसम्म स्वीकार नगर्ने एमाले नेतृत्वले न त आफैले बनाएको संविधान र भविष्यको मार्गचित्र अनुरुप स्वाभिमानी नेपालीको लोक सम्मतिको नेतृत्व गर्न सक्छ न त नयाँ आन्दोलनको नेतृत्व गर्न सक्छ । अब यसले गर्न सक्ने भनेको पहाडमा घ्यू खाको मेरो हात सुँघ मात्र हो । यसले जहिले सम्म विगतको क्रान्तिकारि विरासत भजाउने ठाँउ रहन्छ त्यतिबेला सम्म यो सत्ताका वरिपरि रहने छ अन्यथा जितनी भरि चाँभी रामने उतनी चले खिलौना भने झै यसको आयू सकिने हो । ग्रिक मिथकको फोनिक्स चरा जस्तै रातारात फेरी पुर्नजन्म पाएछ भने त्यहीबेला कुरा गरौँला ।”
सहमतिय दुर्गन्ध
यसरी बनेको एमालले कार्तिक महिना गोदावरीमा विधि-विधान मेला गरेको थियो र मंसिर १० देखि १२ सम्म नारायणघाटमा नेता छान्ने मेला को उत्सव मञ्चन भयो भने यसको लगत्तै सौराहाका होटलमा बसेर लोकतन्त्रको सर्वसम्मत अभ्यास भएको थियो । गोदावरी हुदै सौराहा पुग्दा यसको आन्तरिक लोकतन्त्र भने कोठा चोटा र बाटामा फैलिएको सहमतिय दुर्गन्धले झनै छताछुल्ल भएको छ । यि मध्ये केही परिदृष्यको छोटो चर्चा गरौ ।
विधान महाधिवेशनमा जे परिदृक्ष्य देखियो यो पार्टीको नेतृत्वलाई दर्शन, विचार र दृष्टिकोणको कुनै अर्थ छैन । मुर्कटा संस्कृतिमा रमाउने यो जमात आफ्नो गुटको स्वार्थमा चुर्लुम्म डुबेको छ । बुद्धले कति कक्षा पढेका थिए भनेर ज्ञानको उपहास गर्नेहरु अहिले यस पार्टीको शिर्ष स्थानमा छन् । यिनैको ताबेदारीमा रमाउने रैतीगण र बीचौलियाको सबैतिर हाली मुहाली छ ।
आफ्ना कार्यकर्तालाई सँधै झण्डा बोकाउने एमाले नेतृत्वले यस पटक त्यसो गर्ने साहस गरेन । यो झण्डा बोकाउन भने लोपोन्मुख गैँडा रोज्यो । सधैँ मजदुरले उचालेको झण्डा गैँडाको जिम्मा लगाउने कुरा सोच विचार गरेर गरेको निणर्य होला । किनकी यस्तो झण्डा आफै बोक्न जाँगर चलाउने स्वाभिमानी कार्यकर्ता बिरलै छन् । तर, धेरैलाई चासो भएको त छैन जे होस्, मानिस जाति मात्रको सुख र देशको मात्र समृद्धि हुने कुरा सम्भव नदेखेर प्रकृति संरक्षणको संकेत स्वरुप यो झण्डा थमाएको हो भने अलि फरक कुरा, नत्र ‘आइ लभ यू केपी बा’ भन्ने बा (नर) सेनाको हातमा यो झण्डा थमाइदिएको भए धेरै हिसाबले उपयुक्त हुने थियो होला । कम्तीमा कपट त अलि कम देखिन्थ्यो ।
यो कुराले यो कम्युनिष्ट विरासत बोकेको पार्टीको नेतृत्वकै हठका कारण गैँडाजस्तै लोप हुने तयारी त हैन ? कि यो साङ्केतिक रूपमा जंगली पार्टी बनाउने कसरत हो ? सबैलाई सोच्न बाध्य पारेको छ । यो गैँडालाई झण्डा बोकाएर यसको नेतृत्व यही झण्डा बोक्ने गैंडाजस्तै जब्बर र असहिष्णु हुनेछ भन्ने देखाउन खोजिएको हो ? सबै त अझै प्रष्ट भैसकेको छैन तर यिनको संविधान र लोकतन्त्र मास्ने उदण्डता र लुटपाटको चरित्रले यसैतर्फ संकेत गर्छ । सँगै, यो मेला त्रिवेणीमा लाग्नुपर्ने थियो, किन नारायणघाटमा राखियो होला ? यो पंतिकारलाई जिज्ञासा छ । किनकि त्रिवेणी नामले नै तीनवटा खोलाको संगम हो । अहिले पुनर्गठित भनिएको एमालेमा मुख्य तीनवटा खहरे मिसिएका छन् । फरक-फरक तीन रगंका यी खहरे मिलेर बन्ने रंग कस्तो होला, हेर्न त बाँकी नै छ ।
भनिन्छ ‘छिटो जान छ भने एक्लै जाने, टाढा जान छ भने सँगै जाने ।’ अहिले एमालेमा देखिएको नियतिले यसको नेतृत्वले पहिलो बाटो रोजेको प्रष्ट छ यस्तो बाटो रोज्नेले लोकतन्त्रको दुहाई दिँदै यसैको हुर्मत लिने कुरा कुनै नौलो भएन । छिटो जान खोज्दा भित्राएका दुःख धेरै छन् । सबैभन्दा ठूलो त फेल नभएको स्वाङ पार्दै कक्षा दोहोर्याउन हतार-हतार यो मेला भर्ने सामन्ति हठ गर्नु परेको छ । यसले सौराहामा आएका सर्वसहमतीय पर्यटक प्रतिनिधि समेत रनभुल्ल परेका थिए ।
सर्वसहमतीय लोकतन्त्रको अभ्यासमा जुटेका नेता र आसेपासेले विवेकले टिके नेतृत्व छान्न समेत दुई दिन लगाए । ८ करोडमा सम्पन्न गर्ने भनिएको समाजवादी पार्टीको मितव्ययि सम्मेलन यसको नेतृत्वले उद्घाटन मन्तव्यमा एक पटक समाजवादको उच्चारण नगरि १२ करोडमा सकिएको थियो । यसका मुख्य चन्दादाताको हैसियत सौराहा र वरपर हेर्न लायक थियो भने केहीलाइ मनोनितले सुसोभित गरिएको छ । यसैबीच १० भाई मध्येका केहील निर्वाचनमा भाग लिन पाउ भनेर याचना गरेर एमाले लोकतन्त्रको हैसियत देखाएका थिए भने फलानालाई भोट नदिनु भनेर उमेद्वार नै नभएका कार्यकर्ताको हुर्मत लिएका थिए ।
आफ्नै कुण्ठाले बनाएको घाउ पुरिएको देखाउने वाध्यताले होस् वा सर्वसम्मत देखाएर आन्तरिक लोकतन्त्रको हुर्मत लिन होस् १० भाईको तितर- वितरसँगै अहिले एमाले सर्वसम्मत भएको छ । हुन त लोकतन्त्र आफैमा सहकार्यको सम्मान गर्ने संस्कृति हो । यसमा असहमत हुनुपर्ने केही छैन । तर, सर्वसम्मतको दुहाई टिके प्रथाको उन्नत रूप मात्र हो । किनकि साम, दाम दण्ड भेदले सर्वसम्मति खरिद गर्ने हैसियत राख्नेको बोलबालाले यसको मात्र पुष्टि हुन्छ तर, के भुल्नुहुँदैन भने यो हैसियतले यस्ता खरिद बिक्री भएका नेता तथा कार्यकर्ताको औकात भने सधैँ देखाउँछ । यो हैसियत देखिन थालेको छ ।
पलायनको ओरालो यात्रा
जे भए पनि यो पार्टीको नेतृत्व भने वर्गीय पक्षधरताबाट विमुख भएको र नेपाली समाज उन्नत बनाउने मूल जिम्मेवारीबाट पलायन भएको हो भन्न अब प्रमाणापत्र थमाउनै पर्दैन । ग्रिगोरी पोतेम्किनले क्याथेरिन द्वीतीयलाई खुसी पार्न बाहिरबाट हेर्दा योजनाबद्ध विकासे सहरजस्तो पोतेम्किन गाउँ बनाएजस्तै यसले सुझाएको समृद्धि संस्कृति यसका अकाट्य प्रमाण हुन् । यी सबै संयोग जस्ता देखिने, तर नियोजित प्रवृत्तिले एमाले झुण्ड बितरिएको प्रष्ट हुन्छ ।
तर पनि, के बिर्सनु हुदैन भने अहिलेको एमाले खुराफात, जालझेल र तिक्डम गर्न मात्र हैन यसको नेतृत्व बातको रफ्फू भर्न त खप्पिसै छ । मनको लड्डु जस्ता सपना देखाएकोमा धेरै दुविधा नगरौँ । यस्तो रफ्फु चक्करबाट पार्टी र सरकार नचलेको मात्र हो र अब पनि चल्दैन । निलो रग आफ्ने शरिरमा घोप्टिंदा मजा मानेर अरु स्याललाई फुर्ति लाउने स्यालले हूईयाँसँगै आफ्नो हैसियत यसले देखाएकै छ र रहलपहल पनि देखाउनै नै छ ।
शुन्य भष्ट्राचार, बलियो उदाहरण हो । चुनावी गठबन्धन, एमसीसी र अरु क्रान्तिकारी लेनदेन समयसगै बाहिर आउनै नै छन् । समाजवादको जग हाल्न स्थिर सरकारको अनुमोदन भएको ऐतिहासिक अवसरलाई लत्याउँदै दुई-दुई पटक भएको जननिर्वाचित प्रतिनिधिसभाको संविधानको मर्म र भावना विपरीत गरिएको असंवैधानिक विघटन कमजोरी थियो भन्नेसम्म स्वीकार नगर्ने एमाले नेतृत्वले न त आफंैले बनाएको संविधान र भविष्यको मार्गचित्र अनुरुप स्वाभिमानी नेपालीको लोकसम्मतीको नेतृत्व गर्न सक्छ न त नयाँ आन्दोलनको नेर्तत्व गर्न सक्छ । अब यसले गर्न सक्ने भनेको पहाडमा घीउ खाको मेरो हात सुँघ मात्र हो । यसले जहिले सम्म विगतको क्रान्तिकारी विरासत भजाउने ठाँउ रहन्छ त्यतिबेला सम्म यो सत्ताका वरिपरि रहने छ अन्यथा जितनी भरि चाँभी रामने उतनी चले खिलौना भने झै यसको आयु सकिने हो । ग्रिक मिथकको फोनिक्स चरा जस्तै रातारात फेरी पुर्नजन्म पाएछ भने त्यहीबेला कुरा गरौँला ।
समग्रमा, यस पार्टीका अगुवाले गरेका वा यिनबाट भएका क्रियाकलापले कम्युनिष्ट पार्टी र राजनीतिलाई नै विकृत बनाएको छ । अहिले एमाले नेतृत्व र आसेपासेलाई सबै आँखा जुधाएर कुरा गर्ने सबै विरोधि पाखा लागेकोले हाइसन्चो भएको भान परेको होला तर ४३ वर्षे यात्राका धेरै बिकृति र बिसंगतिको बिरासत यसको जगमा नै थिग्राएर बसेको छ । यसमा अब नेताको निगाहमा पदभार पाउने, भष्ट्राचार गरेको कुरा उठाउँदा हेप्नी भन्दै निउ खोज्ने भान्से, फट्टिचर र साइवर सेनाका केही थान गुण्डामात्र बाँकी रहेमा कुनै आश्चर्य हुने छैन ।
किनकी दम्भ, अहंकार, लहड र उक्साहटको भरमा गरिएका उदण्ड कृयाकलापसँगैे यसको ओरालो यात्रा थाम्न सक्ने कुनै आधार देखिदैन । किनकी बादशाहको नयाँ लुगा भन्ने कथामा भनिए जस्तै असक्षम र उल्लुले मात्र नदेख्ने हावाको लुगा लगाईदिने ठगहरु, असक्षम र उल्लु भएर जागिर गुमाउन नचहाने आसेपासहरु, तीनैका कुरा पत्याएर हावाको लुगा लगाएर नांगै बजार घुम्ने बादशाह र उसलाई नाङ्गै देखेर पनि भन्ने आँट नगर्ने रैति नै यो पार्टीको यो हविगत बनाउन जिम्मेबार छन् । भक्तजनले परलोक (भविष्य) सर्पान भक्तिभाव देखाउछन् र छोराछोरी अंशका लागि तँछाड-मछाड मात्र गर्छन सत्कर्म गर्दैनन् । यि बाहेक अरु कोही नअट्ने पार्टीबाट थप के अपेक्षा गर्ने हो र ?
(डा. पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुनुहुन्छ । प्राकृतिक स्रोतको समाजशास्त्रिय अध्ययन गर्न मन पराउने उहाँ विशेषगरी खाना तथा जैविक खेतिपातीबारे गहिरो रुचि राख्नुहुन्छ । वेलायतको रेडिङ विश्वविद्यालयबाट प्राकृतिक स्रोत नियन्त्रणको राजनितिक संस्कृतिमा विद्यावारिधि गर्नुभएका उहाँ तिन दशक भन्दा बढी समयदेखि दिगो खाद्य तथा कृषि प्रणाली र यसको राजनीतिक अर्थव्यवस्था, कृषि प्रविधि, शिक्षा, र पर्यावरणीय कृषि प्रवद्र्धनको लागि अध्ययन, अनुसन्धान र अभियानमा सक्रिय रुपमा संलग्न रहनु भएको छ । पौडेलका नियमित रुपमा खाना र कृषिका विभिन्न आयामहरुमा लेख तथा रचनाहरु प्रकाशीत हुँदै आएका छन् ।)
जवाफ लेख्नुहोस्