प्रेम

तिम्रो शासनको
एउटा कम्युनिस्ट हुँ म
यही हो मेरो सम्पूर्ण परिचय
म प्रेम गर्छु
तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई
उनको उर्लंदो जवानीमा
मुग्ध छु
म सुगन्ध छरेर
जब निस्किन्छिन् उनी
अर्थात् सुन्दरी प्रजातन्त्र
म हतियार त्याग गरेर
उतैतिर टोलाइरहन्छ ।
मैले बिर्सेको छु आफ्नो घाउ
के रगत बगिरहेछ अहिलेसम्म
आत्माबाट
रातोरातो रक्त
तर कुनै गुनासो छैन मसँग
तिम्रो संसद्को विश्रामस्थलमा
पल्टिएको छु म बेहोस
प्रजातन्त्रको यौवनको नशाले लठ्ठ भएर
मलाई थाहा छ
तिमी मेरो उपस्थितिप्रति क्रुद्ध छौ
र भयभीत पनि
मलाई सहन गर्न तिमी तयार छैनौ
तर म विवश छु
कहाँ जाऊँ म
छाडेर तिम्री गजबकी कन्या प्रजातन्त्रलाई
उनको मोहपाशमा बाँधिएको
एउटा प्रेमी हुँ म
कृपया मलाई अस्वीकार नगर
बग्न देऊ मलाई
उनको शीतल एवम् तप्त मुस्कानमा
सुन्दरी प्रजातन्त्रको तीक्ष्ण कटाक्षले
घाइते छ एउटा योद्धा ।
के युद्ध चलिरहेछ निरन्तर
आजसम्म
तर यसको कुनै अर्थ छैन मेरा लागि
खाएको छैन मैले
मुक्तिको सपथ
तिम्रो शासनको
एउटा कम्युनिस्ट हुँ म
यही हो मेरो सम्पूणर् परिचय ।
साभार : एउटा बाहुला नभएको बुसर्ट
कवि विमल निभा नेपाली प्रगतिशील सहित्यका सशक्त हस्ताक्षर हुनुहुन्छ । उहाँका कविताहरू मार्क्सवादी दृष्टिकोणप्रति प्रतिबद्ध छन् । उहाँका कवितामा वैचारिक व्यङ्ग्यचेत प्रखर छ । कविताबाहेक व्यङ्ग्य निबन्धमा पनि उहाँको कलम उत्तिकै सशक्त देखिन्छ । ‘आगोनेर उभिएको मानिस’ कवितासङ्ग्रह, ‘चौथो कालम’ व्यङ्ग्यसङ्ग्रह, ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासङ्ग्रह, ‘छेउको वधशाला’ व्यङ्ग्यसङ्ग्रह, ‘डाइनासोर जिउँदो छ’ व्यङ्ग्यसङ्ग्रह, ‘जोकरको बन्दुक’ कवितासङ्ग्रह, ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ कवितासङ्ग्रह उहाँका हालसम्म प्रकाशित कृतिहरू हुन् । २०१० सालमा वीरगञ्जमा जन्मिनुभएका कवि निभा पाँचदशकभन्दा अघिदेखि साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ ।
जवाफ लेख्नुहोस्