डेमोक्रेट र युक्रेनलाई सँगै डुबाउदै बाइडेनको विदेश नीति
-जेफ्री डी. साख्स
विश्वका देशहरू अहिले जुन विकासलक्ष्य पूरा गर्न कटिबद्ध छन्, त्यो दिगो विकास लक्ष्य (Sustainable Development Goals) का जनक जेफ्री डी. साख्सको यो महत्वपूर्ण अभिमतलाई हामीले www.commondreams.org मा सन् २०२२ अक्टोवर ३० मा प्रकाशित Biden’s Foreign Policy is Sinking the Congressional Dems- and Ukraine बाट साभार गरि प्रकाशन गरिएको हो । जसमा रुस–युक्रेन युद्धका पछाडि रहेका मूलकारणहरू र शान्तिवार्ताका आधारहरूबारे असाधारण स्पष्टता र बौद्धिक इमानदारीका साथ विश्लेषण गरेका छन् । अमेरिकाको मध्यावधि चुनाव हुनुअघि लेखिएको यस लेखमा लेखकले त्यतिबेला नै उत्तरी शाखा (Nord Stream) पाइपलाइन क्षतिग्रस्त बनाउने अमेरिका हो भनिएको छ, जतिबेला रुसले समेत त्यस घटनाबारे बेलायतलाई मात्र शङ्का गरेको थियो र युद्ध लम्बिएमा विनाशको प्रक्रिया पनि लम्बिने र आणविक युद्धको खतरा बढ्ने विचार व्यक्त गरेका थिए जुन अहिले Depleted Uranium बाट बनेका हतियारका प्रयोगको चर्चाले गर्दा भयावह स्थितिको सम्भावना बनेको छ.– सम्पादक ।
राष्ट्रपति जो बाइडेनको अतिगम्भीर रूपले त्रुटिग्रस्त विदेशनीतिले गर्दा उनको दलको विधायकी सम्भावनालाई कमजोर बनाउँदैछ । युक्रेन युद्धमा अमेरिकाको विश्वव्यापी प्रतिष्ठा दाउमा परेको बाइडेन विश्वास गर्छन् र उनले कूटनीतिक निकास–मार्गलाई लगातार अस्वीकार गरेका छन् । युक्रेन युद्धसँगै सरकारको चीनसँगको आर्थिक सम्बन्धमा धाँजा परेको कारणले मुद्रास्फीतिजन्य मन्दी अझ बढी गहिरिएको छ जसले गर्दा कङ्ग्रेसको एउटा या दुवै सदन रिपब्लिकहरूको पोल्टामा हालिदिने सम्भावना छ । अझ खराब स्थिति के हो भने बाइडेनले कूटनीतिप्रति गरेको उपेक्षाले युक्रेनको विनाशको प्रक्रियालाई लम्ब्याउने र आणविक युद्धको खतरा बढाउने छ ।
महामारी र ट्रम्पका गलत व्यापारिक नीतिहरूका कारणले गर्दा बाइडेनले विरासतमा त्यस्तो अर्थतन्त्र प्राप्त गरेका थिए जुन गहिरा धाँजाहरू
परेका विश्वव्यापी आपूर्ति व्यवस्थाले घेरिएको थियो । तापनि बाइडेनले स्थितिलाई शान्त गर्ने र त्यस्ता धाँजाहरू टाल्नेभन्दा पनि रुस र चीनसँगको अमेरिकी द्धन्द्वलाई अझ चर्काए । रिपब्लिकन विधायक तथा अल्पसङ्ख्यकका नेता केभिन म्याकार्थीलाई एउटा अर्को बृहत आर्थिक प्याकेज युक्रेनलाई दिने सवाललाई लिएर शङ्का व्यक्त गरेकोमा बाइडेनले कडा शब्दमा निन्दा गरे, यो घोषणा गर्दै कि, “उनीहरू (रिपब्लिकन विधायक) ले भनेका छन् यदि उनीहरूले जिते भने युक्रेनलाई, रुसीविरुद्ध चलेको युक्रेन युद्धलाई, आर्थिक सहयोग दिनेवाला छैनन् । ती मित्रहरूले यो कुरा बुझेनन् कि यो युक्रेनभन्दा धेरै ठुलो कुरो हो – यो पूर्वी युरोप हो । यो त नेटो हो । यसका वास्तविक, गम्भीर नतिजाहरू बुझेनन् । उनीहरूलाई
अमेरिकी विदेशनीतिबारे कुनै ज्ञान छैन ।” यस्तै गरी जब प्रगतिशील डेमोक्र्याट विधायकहरूले युक्रेन युद्धको अन्त्यको लागि वार्ताको आग्रह
गर्छन्, तिनीहरूलाई ह्वाइटहाउसको पक्षमा वकालत गर्ने डेमोक्र्याटहरूले नाङ्गेझार पार्ने काम गर्छन् । उनीहरूको कूटनीतिक पहलको आह्वानलाई फिर्ता लिन बाध्य पार्छन् । बाइडेन विश्वास गर्छन् कि अमेरिकी विश्वसनीयता युक्रेनसम्म नेटोको विस्तार हुनुमा आधारित छ र आवश्यक परे त्यसको लागि युक्रेन युद्धमा रुसलाई हराउनुमा छ । नेटोको विस्तारको मुद्दालाई लिएर बाइडेनले रुससँगको कूटनीतिक संलग्नतालाईं पटक–पटक अस्वीकार गरेका छन् । यसरी एउटा गम्भीर गल्ती भएको छ । यस अडानले अमेरिका र रुसबिच परोक्ष युद्धलाई भड्कायो जसमा युक्रेन ध्वस्त भइराखेको छ र विडम्बना के छ भने यो सबै युक्रेनलाई बचाउने नाममा भइरहेको छ ।
नेटो विस्तारको यो सम्पूर्ण मुद्दा सन् १९९० को दशकदेखि अमेरिकाले गरेको झुटको खेतीमा आधारित छ । अमेरिका र जर्मनीले गोर्भाचोभसँग के प्रतिबद्धता गरेका थिए भने यदि गोर्भाचोभले सोभियत वार्सा सैन्य गठबन्धन सम्झौता भङ्ग गर्छन् र जर्मन एकीकरणलाई स्वीकार गर्छन् भने नेटो “पूर्वतिर एक इन्च” पनि अगाडि बढ्ने छैन । तथापि कति सहज रूपले र आफ्नो खास शङ्कालु चरित्रअनुसार अमेरिकाले सम्झौताप्रति विश्वासघात गर्यो । सन् २०२१ मा बाइडेनले कुनै पनि महत्वपूर्ण अमेरिकी हितलाई त्याग नगरी युक्रेन युद्ध हुनबाट रोक्न सक्थे । अमेरिकी सुरक्षा कदापि नेटोको युक्रेन र जर्जिया विस्तारमा आधारित छैन । वास्तवमा, नेटोको कृष्णसागर क्षेत्रभित्रसम्म भएको व्यापक विस्तारले अमेरिकालाई रुससँग सिधा भिडन्तमा उतार्ने भएकोले अमेरिकी सुरक्षालाई कमजोर बनाउँछ (र यसले तीन दशकअगाडि गरेका प्रतिबद्धताहरूको अझ बढी उल्लङ्घन गर्दछ), न त युक्रेनको सुरक्षा नेटोको विस्तारमा आधारित छ, जुन कुरा युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्सकीले धेरै अवसरहरूमा स्वीकार गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादमिर पुटिनले सन् २००८ देखि पटकपटक नेटोलाई युक्रेनबाट बाहिर राख्न अमेरिकालाई चेतावनी दिएका छन् – यो क्षेत्र
रुसको लागि एउटा महत्वपूर्ण सुरक्षा चासो भएकोले । तर बाइडेन उतिकै दृढतापूर्वक नेटोको विस्तारमा अडिग रहे । पुटिनले नेटोको
विस्तारलाई रोक्नको लागि सन् २०२१ को अन्त्यतिर अन्तिमपटक एउटा कूटनीतिक प्रयास गरे । बाइडेनले पूर्णरूपमा उनको प्रयासलाई अस्वीकार गरे । यो वास्तवमा एक खतरनाक विदेशनीति थियो । धेरै अमेरिकी राजनीतिज्ञहरूले यस कुरालाई सुन्न चाहँदैनन्, तर नेटोको विस्तारको सम्बन्धमा पुटिनको चेतावनी वास्तविक र सटीक दुवै थियो । जसरी चीन समर्थित शस्त्र – सज्जित मेक्सिकन सेना अमेरिकाले आफ्नो सीमामा चाहँदैन, त्यसैगरी रुस पनि शस्त्रअस्त्रले भरिएको नेटोको सैनिक उसको सीमामा चाहँदैन । चुरो कुरो भनेको अमेरिका र युरोपलाई रुससँग दीर्घकालीन युद्धको कहीँकतै आवश्यकता छैन । तथापि नेटोलाई युक्रेनमा विस्तार गर्ने बाइडेनको नीतिले त्यही स्थितिमा पुर्याएको छ । युक्रेन र अमेरिकाले युद्धको अन्त्य गर्न तीनवटा एकदमै उचित सर्तलाई स्वीकार गर्नुपर्छ । त्यो हो युक्रेनको सैनिक तटस्थता, रुसको क्रिमियामाथि वास्तविक आधिपत्य जो सन् १७८३ देखि रुसको कृष्णसागर नौसेनाको घर हो र वार्ताद्धारा निर्क्याैल गरिने रुसी–जातीय क्षेत्रहरूको स्वायत्तता हो, जुन मिन्स्क सम्झौतामा आह्वान गरिएको थियो तर युक्रेनले लागु गर्न असफल भएको थियो । यस्तो विवेकपूर्ण परिणाम निम्त्याउनुको सट्टा, वाइडेन प्रशासनले निरन्तर युक्रेनलाई युद्ध
गर्न भन्यो । यसले मार्चमा भएका वार्ताहरूमाथि चिसो पानी खनायो । युक्रेनियनहरू वार्ताद्धारा युद्धको अन्त्यको लागि उपायहरू खोज्दै थिए तर उनीहरू वार्ताको टेबल छोडेर हिँड्नु पर्यो, जसको परिणामस्वरूप युक्रेनीहरू गम्भीर रूपमा युद्धको सिकार भएका छन् । यसका सहर र संरचनाहरू ध्वस्त भएका छन् । दशौँ हजार युक्रेनियन सैनिकहरू आगामी युद्धमा मर्दैछन् ।
रुसले नेटोको अतिप्रचारित हतियारको घमण्डलाई तोड्न भरखरै युक्रेनको आधाभन्दा बढी ऊर्जा संरचनालाई नष्ट गरिदिएको छ । यसैबिचमा अमेरिकाले नेतृत्व गरेको रुसविरुद्धको व्यापार तथा आर्थिक नाकाबन्दीको उल्टो असर परेको छ । रुसबाट प्राप्त ऊर्जालाई कटौती गर्दा युरोप गम्भीर रूपमा आर्थिक समस्यामा परेको छ र अमेरिकाको अर्थतन्त्रमा समेत त्यसको प्रतिकूल असर परेको छ । उत्तरी शाखाको (Nord Stream) पाइपलाइन ध्वस्त भएको कारणले गर्दा सङ्कट अझै गम्भीर बनेको छ । रुसका अनुसार यो कार्य बेलायतका गुप्तचरहरूले गरेका हुन् तर यो झन्डै निश्चित रूपमा अमेरिकाको सहभागितामा भएको हो । स्मरणीय छ, फेब्रुअरीमा बाइडेनले भनेका थिए कि यदि रुसले युक्रेनमा आक्रमण गर्छ भने, “हामीले उत्तरी शाखालाई अन्त्य गर्ने छौँ । म तपाईंहरूसँग प्रतिबद्धता व्यक्त गर्छु” बाइडेनले भनेका थिए, “हामीहरू यो गर्न सक्षम छौँ ।” बाइडेनको त्रुटिपूर्ण विदेशनीतिले त्यो नतिजा ल्यायो जुन हेनरी किसिन्जरदेखि स्बिग्निएफ ब्रेजिन्स्कीसमेतका विभिन्न पिँढीका विदेशनीतिका रणनीतिकारहरूले चेतावनी दिएका थिए : त्यो हो रुस र चीनलाई एक अर्काको दृढ आलिङ्गनमा घँचेट्नु । उनले त्यो काम रुससँग भीषण युद्ध अगाडि बढाइरहेकै समयमा चीनसँगको शीतयुद्धलाई नाटकीय रूपमा चर्काएर पूरा गरे । बाइडेनले राष्ट्रपति बनेदेखि नै चीनसँगका कूटनीतिक सम्पर्कहरूलाई खुलेआम कटौती गरे, अमेरिकाको दीर्घकालिक एक चीननीतिको सम्बन्धमा समेत नयाँ विवाद सिर्जना गरे, ताइवानलाई व्यापक रूपमा हतियार बिक्रीको लागि पटकपटक आह्वान गरे र चीनलाई उच्चस्तरको प्रविधि बिक्री गर्न विश्वव्यापी प्रतिबन्ध लागु गरे । दुवै (अमेरिकी – अनु.) दल चीनविरोधी नीतिलाई अस्थिर बनाउन एकजुट भए तर यसले तिर्ने मूल्य भनेको विश्व अझ बढी अस्थिर हुनु हो, साथै अमेरिकी अर्थतन्त्र पनि ।
सङ्क्षेपमा, बाइडेनले महामारीले सिर्जना गरेको जटिल अर्थतन्त्र, २०२० को अत्यधिक निराशाजनक तरलता र २०२० कै बृहत बजेट घाटा, पहिलेदेखि नै अस्तित्वमा रहेको विश्वव्यापी तनाव विरासतमा प्राप्त गरे । तर पनि उनले यी समस्याहरू समाधान गर्नुको साटो आर्थिक र भूराजनीतिक सङ्कटलाई अझ चर्काए । हामीलाई विदेशनीतिमा परिवर्तन चाहिएको छ । निर्वाचनपछिको समय पुनर्मूल्याङ्कनको लागि एउटा महत्वपूर्ण समय हुनेछ । आर्थिक सुधार, कूटनीति र शान्ति अमेरिकी जनता र सारा विश्वका लागि आवश्यक छ ।
(जेफ्री डेभिड साख्स एक अमेरिकी अर्थशास्त्री, शैक्षिक र सार्वजनिक नीति विश्लेषक हुनुहुन्छ । कोलम्बिया विश्वविद्यालयको अर्थ इन्स्टिच्युटका पूर्व निर्देशक उहाँ सोहि विश्वविद्यालयका प्रोफेसर पनि हुनुहुन्छ । कोलम्बियामासँग जोडिनु अघि, साक्सले हार्वर्ड विश्वविद्यालयमा प्रोफेसरको रूपमा बीस वर्ष भन्दा बढी समय बिताउनु भएको थियो । उहाँ दिगो विकास, आर्थिक विकास, र गरिबी अन्त्यको लडाइँमा आफ्नो कामका लागि परिचित हुनुहुन्छ । हाल उहाँ कोलम्बिया विश्वविद्यालयको दिगो विकास केन्द्रका निर्देशकको भूमिकामा हुनुहुन्छ । स्याक्सले न्यूयोर्क टाइम्सका तीन बेस्टसेलरः द एन्ड अफ पोभर्टी (२००५), कमन वेल्थः इकोनोमिक्स फर अ क्राउड प्लानेट (२००८) र द प्राइस अफ सिभिलाइजेसन (२०११) सहित थुप्रै पुस्तकहरू लेखन तथा सम्पादन गर्नुभएको छ ।)
अनुवादक :अस्मिता दुधराज र महेश मास्के
जवाफ लेख्नुहोस्