प्रिय कामरेडसँग

मेरो प्रिय कामरेड !
सदियौँदेखिको
हाम्रो सम्बन्धको
परिभाषा
कहिल्यै खोजिनँ मैले
न त युगौँअघि
सँगसँगै तय गरेको
अनन्त यात्राको
अविच्छिन्न दूरी नै नापेँ,
आफ्नो पोल्टामा परेका
दीनताका चाङहरुलाई
पटुकीमा
कसक्कै कसेर
सभ्यताको सागर
तारिदिएको
मोल पनि त चुकाउनु परेन
तिमीले
हाम्रो त्यो सम्बन्धको
यो नयाँ शताब्दीमा,
म
तिमीलाई
मेरो स्वाधीनताको
जन्जिरमा
चाहन्नँ अल्झाइराख्न
न त ट्युबमा नानी हुर्काइरहेकी
मायालुको मातृत्वलाई
अँगाल नै भनुँला
म माइती गाउँको
गाइने दाइको
सारङ्गीजस्तै खोक्रिएको
पेटसँग
तिम्रो अभिमान
साट पनि भन्दिनँ
आफ्नै आरनअघि
भुत्तिएको खलाँतीलाई
नियालिरहेका
कामी दाइका
आँखाको भोक
बुझ पनि भन्दिनँ
उदाङ्गिएको तिम्रो उत्ताउलोपनलाई
तुनिदिने
दमाई दाइको
कपाल निस्किएको टोपीमा
तिम्रो स्वाभिमान
खोज पनि भन्दिनँ
सक्छौ भने आऊ
झट्केलो छोराले
सुसाइतमा पनि झस्काइरहने
मुटुमा गाडिदिएको किलोजस्तो विपनीमै ऐँठन पारेर अँठ्याइरहने
अस्तितवको तराजुको असन्तुलनलाई
आइमाईको आँसुले धोएका
तिम्रा नुनिला हातहरुले सन्तुलित
बनाऊ,
मेरो प्रिय कामरेड !
(बिन्दु शर्मा सीमान्तीकृत समुदायका मुद्दाहरूका केन्द्रीयतामा कविता सिर्जना गरिरहेकी व्यक्तित्व हुनुहुन्छ । समकालीन सामाजिक र राजनीतिक बेथितिविरुद्धका अभियानहरूमा सक्रिय रूपले सहभागी हुँदै आउनुभएकी उहाँका सिर्जना र समालोचना विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् । साहित्यको अनुसन्धान र अध्यापन पेसामा संलग्न रहनुभएकी शर्माले हाल वेदना साहित्यिक पत्रिकाको सम्पादन पनि गरिरहनुभएको छ ।)
जवाफ लेख्नुहोस्