विश्व र भारतीय साहित्यमा अनुवादको महत्व

“आफ्नो घरको मूलढोकाबाट बाहिरिएको समयदेखि हाम्रो अनुवादचेत स्वतः सक्रिय बनिहाल्छ । धेरै स्थान र स्थितिहरूमा हाम्रो बोधमात्र होइन, हामी स्वयम्समेत अनुवाद भइरहेका हुन्छौँ । हामी अनुवाद बाच्न थाल्दछौँ । हामीले अरूलाई अनुवादबोध गराइरहेका हुन्छौँ ।…. अनुवादले विभिन्न भाषाका बिच समानता स्थापित गर्दै विभिन्न भाषाहरूलाई एकसूत्रमा ल्याएर लोकतन्त्रलाई बलियो बनाउँदछ । अनुवादले यो प्रमाणित गर्दछ कि सबै विचारहरू र अनुभवहरूलाई सबै भाषाहरूमा व्यक्त गर्न सकिन्छ अनि ती सबै विशिष्टताका विपरीत विनिमययोग्य हुन्छन् । यसले समाजका कमजोर वर्गहरूका आवाज पनि सुन्न सकिने बनाउँछ, किनभने उनीहरू आफ्ना भाषिका वा भाषामा बोल्न सक्छन्, कि त व्यापक रूपमा बोलिने वा बुझिने अरू भाषामा अनुवाद हुनसक्छन् । साथै मूलमुद्दालाई आफ्नै भाषा वा बोलीमा समेत सहजै बुन्नसक्छन् । यस प्रकार अनुवादले आर्थिक सामाजिक रूपले पिछडिएका वर्गहरू, अल्पशिक्षितहरू, आदिवासीहरू, गरिबहरू, महिलाहरू, दलितहरू, अल्पसङ्ख्यकहरू, विकलाङ्गहरू तथा कतिपय किनारीकृत वा वञ्चित वर्गहरूको सशक्तीकरणमा योगदान दिन्छ ।”
विश्वसाहित्य र पत्रकारिताको आधार अनुवाद हो । अनुवादको बैसाखीको सहाराविना विश्वसाहित्य र पत्रकारिता साँचो अर्थमा विश्वसाहित्य र पत्रकारिता बन्नसक्दैन । विश्वका सबै राष्ट्रका सबै मानिसले विश्वका सबै राष्ट्रका सबै भाषाहरू पढ्ने–लेख्ने दक्षता प्राप्त गरेका सायदै हुन्छन् । विश्वसाहित्य सञ्चार हुनैपर्छ, पत्रकारिताका कुराहरू सञ्चार हुनैपर्छ । जुनसुकै माध्यम प्रयोग गरिए तापनि, जबसम्म ती अन्तिम प्रयोगकर्ताकहाँ पुग्दैनन्, सारा सद्प्रयासहरू व्यर्थ हुन्छन् । ती अन्तिम प्रयोगकर्ताकहाँ पुगेरमात्र पनि तिनले लक्षित उद्देश्य प्राप्त गर्न सक्दैनन् जबसम्म ती सहज बोधगम्य हुँदैनन् । सहज बोधगम्यताका लागि बुझ्नु आवश्यक हुन्छ । यो बुझाइचाहिँ अनुवादले सम्भव तुल्याउँदछ । अनुवादको पुलले भाषाबोधको नदी पार नगराएसम्म साहित्य होस् वा पत्रकारिता, कुनैले वैश्विक मान्यता पाउन सम्भव देखिँदैन ।
‘अनुवाद’ वा ‘ट्रान्सलेसन’ (translation) को कुरा केही अगाडि बढाउनुअघि, यो शब्दको ब्युत्पत्तिबारे सङ्क्षिप्त चर्चा गर्नु सान्दर्भिक हुने देखिन्छ । ‘अनुवाद’ शब्द अङ्ग्रेजी translation शब्दको समानार्थी हो । translation शब्द ल्याटिन translatio बाट व्युत्पन्न भएको हो । trans ले ‘वारपार’ अथवा ‘वारिदेखि पारिसम्म’ बुझाउँछ भने ferre ले ‘पुर्याउनु’ वा ‘ल्याउनु’ भन्ने बुझाउँछ । बितष्य शब्दांश बितगक बाट उत्पन्न भएको हो जुन ferre को भूतकालिक कृदन्त (past participle) हो । यी अर्थहरूलाई एकसाथ लिँदा translation शब्दको अर्थ ‘वारिदेखि पारि पुर्याउनु’ वा ‘वारिदेखि पारि ल्याउनु’, एउटा भाषा (स्रोत भाषा) देखि अर्थलाई अर्को भाषा (लक्षित भाषा) मा पुर्याउनु वा ल्याउनु । अनुवादका सूक्ष्मता, कला तथा विज्ञानका सन्दर्भमा कुरा गर्दै जाँदा अनुवादको यस अर्थले अनुवादका सारा अर्थसूक्ष्मता, मिहिनताहरू समेट्न नसक्ला । तथापि, यस शब्दार्थले अनुवादको मूलार्थ स्पष्ट गरेको पाइन्छ । साधारण अर्थमा अनुवाद भनेको पठन वा श्रवण सामग्रीलाई स्रोत भाषादेखि लक्षित भाषामा बोधगम्य रूपमा भाषा रूपान्तरण गर्नु हो । यसैले विश्वसाहित्य र पत्रकारिताको लक्षित अर्थमा ती सार्थक हुनका लागि पाठकले पढ्न र बुझ्न सक्नुपर्यो जसको निम्ति अधिकांश मानिसहरूले मातृभाषालाई नै वरीयता दिन्छन् । विनाअनुवाद विदेशी भाषामा रचित विश्वसाहित्य सो भाषाका जानकार केही विशेषाधिकारसम्पन्न विशेष व्यक्तिहरूका जानकारीमा मात्रै आउने हुनाले, उनीहरूले मात्र विश्वसाहित्यको रसास्वादन गर्नसक्ने र मूल्याङ्कन गर्नसक्ने हुनाले ती साँचो अर्थमा विश्वसाहित्य वा पत्रकारिता बन्न सक्दैनन् । साहित्य साहित्य बन्नका लागि बुझिनैपर्छ, चाहे सुनेर होस् या पढेर ।
विशेष, भारतजस्तो बहुभाषिक राष्ट्रको प्रसङ्गमा कुरा गर्नुपर्दा, यहाँ यो भन्नैपर्छ कि अनुवादको भूमिकामाथि जति नै जोड दिइए पनि त्यो सायद थोरै नै हुनेछ । भारत एउटा यस्तो राष्ट्र हो जसको संविधानको आठौँ अनुसूचीमा २२ भाषाहरू, १५ विभिन्न लिपिहरू, सयकडौँ मातृभाषाहरू र हजारौँ बोली/भाषिकाहरूलाई मान्यता दिइएको छ । यतिका धेरै भाषाहरू/भाषिकाहरूमाथि दखल राख्ने कोही हुनसक्लान् भनी अपेक्षा गर्नु वा दाबी गर्नु व्यावहारिक र सम्भाव्य प्रसङ्ग हुनसक्दैन । जो–कसैले पनि सहजै भन्न सक्छन् कि भारत एउटा अनुवाद– सातत्य चेतनाप्रदत्त राष्ट्र हो । भारत एउटा अनुवादआश्रित राष्ट्र हो । अनुवाद अवरुद्ध भए, भारत राष्ट्र अवरुद्ध हुन्छ, भारत अवरुद्ध राष्ट्र हुन्छ । अनेकताबिच एकता फुल्ने भारत राष्ट्र अनुवादविना एकताको सूत्रमा बाँधिनै सक्दैन । आफ्नो घरको मूलढोकाबाट बाहिरिएको समयदेखि हाम्रो अनुवादचेत स्वतः सक्रिय बनिहाल्छ । धेरै स्थान र स्थितिहरूमा हाम्रो बोधमात्र होइन, हामी स्वयम्समेत अनुवाद भइरहेका हुन्छौँ । हामी अनुवाद बाच्न थाल्दछौँ । हामीले अरूलाई अनुवादबोध गराइरहेका हुन्छौँ । भारतीय नागरिकहरूलाई उनीहरूका वास्तविक अस्तित्वका परिस्थितिहरूले तथा उनीहरूका दैनिक व्यावहारिक सञ्चारका स्थितिहरूले बहुभाषी, नभए पनि द्विभाषी त अवश्यै बनाइदिएको हुन्छ । यो भन्नुमा कुनै अतिशयोक्ति हुँदैन कि अनुवादविना भारत एउटा राष्ट्र हुने थिएन नै । हामीभन्दा भिन्न भाषा समुदायका भएकाले हामीभन्दा बेग्लै भाषा प्रयोग गर्नेहरूसँग कुराकानी गर्नुपर्दा हामी मातृभाषादेखि प्रायः अनजानैमा स्वतः दोस्रो भाषामा अनुवाद गरिरहेका हुन्छौँ ।विनाअनुवाद बहुभाषिक भारत सायद मौन र सङ्केतद्वारा चल्ने राष्ट्र हुने थियो । मोटामोटी रूपमा यही कुरा विश्वसाहित्य र पत्रकारितामा पनि लागु हुन्छ । हाम्रा प्रथमलेखक पनि अनुवादक थिए । भारतीय साहित्यमा रामायण अनि महाभारतजस्ता महाकाव्यहरू मुक्त अनुवाद र रूपान्तरमा आधारित छन् ।
उन्नाइसौँ शताब्दीसम्म हाम्रो साहित्यमा केवल अनुवाद, रूपान्तरण, व्याख्या तथा पुनर्कथन सामेल थिए । साहित्यिक कार्यहरूका साथै ज्ञानग्रन्थहरूका अनुवाद संस्कृत, पालि, प्राकृत, फारसी र अरबीबाटै चिकित्सा, खगोलविज्ञान, धातुविज्ञान, यात्रा, जहाजनिर्माण, वास्तुकला, दर्शन, धर्म, धर्मशास्त्र, भाष्य तथा कवितासम्बन्धी प्रवचनहरूले हाम्रो सांस्कृतिक दृश्यलाई जीवन्त समृद्ध बनाइराखेका थिए । दीर्घकालसम्म विश्वबारे हाम्रो जागरुकता यस्तै प्रवचनहरूद्वारा सम्पुष्टित थियो, जुन अनूदित भएर हामीबिचमा हाम्रो आफ्नै सम्पदा र धरोहरको रूपमा स्थापित हुँदैहुँदै गयो । हाम्रा अधिकांश लेखकहरू बहुभाषिक थिए कालिदासको शाकुन्तलमा संस्कृत र प्राकृत भाषाहरू छन् । विद्यापति, कबीर, मीराबाई, गुरु नानक, नामदेव तथा अन्य कविहरूले एकभन्दा अधिक भाषामा आफ्ना गीत र कविताहरू रचे । भारतीय समाज प्राचीनकालदेखि नै स्थानीय/क्षेत्रीय भाषाहरूका प्रसङ्गमा बहुभाषिक समाज रहिआएको देखिन्छ । अनुवादले भारतलाई यसको इतिहासमा अव्यक्त रूपमा एकताको एउटा धारामा बाँध्दै ल्याएको थाहा हुन्छ । अङ्ग्रेज शासनबाट स्वतन्त्र भइसकेपछिको भारत राष्ट्रको रूपमा विकसित हुनुमा, एकसूत्रमा जोड्नमा अनुवादले सकारात्मक भूमिका निभाएको छ । अनुवादले विभिन्न भाषीहरूलाई आपसमा नजिक ल्याउँछ तथा एकआपसलाई कल्पना तथा धारणाका विविध तरिकाहरू र विभिन्न क्षेत्रीय संस्कृतिहरूकाे परिचय दिन्छ र त्यसरी भूमि र समुदायहरूलाई एकसूत्रमा जोड्दछ । भारतीय साहित्य, भारतीय संस्कृति, भारतीय दर्शन र भारतीय ज्ञानप्रणालीका विचार तथा अवधारणाहरू आफ्ना एकीकरणवादी मिसनमा अनुवादविना असम्भव थिए ।
अनुवादले भाषाका घेरा बढाउन तथा भन्न सकिनेका कुराका सीमाहरू बढाउनका लागि फेरि तयारी गर्नमा पनि भूमिका निभाउँदछ । अनुवादका लागि आवश्यक नयाँ शब्दहरूले नयाँ शब्दावली निर्माण गर्दछन् अनि अधिक अभिव्यक्तिमा योगदान दिन्छन् । यसरी कसैले मातृभाषाका माध्यमबाट विदेशी साहित्य र दर्शन बुझ्नेमात्र होइन, क्षेत्रीय भाषामा क्वान्टम भौतिकीदेखि लिएर, न्यानो– प्रौद्योगिकी र कम्प्युटर विज्ञानदेखि लिएर आणविक, जीव विज्ञानसम्मका आधुनिकतम ज्ञानविज्ञानबारे सिक्न र सिकाउन सक्छन् । अनुवादले शिक्षण र सिकाइको क्षेत्रमा भाषिक क्षमता अभावमा निर्मित अन्तर्राष्ट्रिय पर्खाल ढल्दै वैश्विक बौद्धिक समानता र सममेधाको वातावरण सिर्जना गर्दछ ।
अनुवादले विभिन्न भाषाका बिच समानता स्थापित गर्दै विभिन्न भाषाहरूलाई एकसूत्रमा ल्याएर लोकतन्त्रलाई बलियो बनाउँदछ । अनुवादले यो प्रमाणित गर्दछ कि सबै विचारहरू र अनुभवहरूलाई सबै भाषाहरूमा व्यक्त गर्न सकिन्छ अनि ती सबै विशिष्टताका विपरीत विनिमययोग्य हुन्छन् । यसले समाजका कमजोर वर्गहरूका आवाज पनि सुन्न सकिने बनाउँछ, किनभने उनीहरू आफ्ना भाषिका वा भाषामा बोल्न सक्छन्, कि त व्यापक रूपमा बोलिने वा बुझिने अरू भाषामा अनुवाद हुनसक्छन् । साथै मूलमुद्दालाई आफ्नै भाषा वा बोलीमा समेत सहजै बुन्नसक्छन् । यस प्रकार अनुवादले आर्थिक–सामाजिक रूपले पिछडिएका वर्गहरू, अल्पशिक्षितहरू, आदिवासीहरू, गरिबहरू, महिलाहरू, दलितहरू, अल्प सङ्ख्यकहरू, विकलाङ्गहरू तथा कतिपय किनारीवृmत वा वञ्चित वर्गहरूको सशक्तीकरणमा योगदान दिन्छ । अनुवादले औपनिवेशिक पूर्वाग्रहहरू मेटाउन सहायता गर्छ । उदाहरणको लागि साहित्य र ज्ञानका आफ्ना कार्यहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर हामी संसारलाई यो प्रमाणित गर्न सक्छौँ कि उपनिवेशवादी हामीभन्दा श्रेष्ठ हुँदैन किनभने हामीसँग पनि महान् लेखन र शोधको लामो इतिहास छ । अङ्ग्रेजहरूले भारतमा ती कुराहरू नै अनुवाद गरे जे उनीहरूका स्वादका अनुकूल थिए । तर अब उनीहरूले नै लेखिरहेका छन्, बताइरहेका छन् कि हाम्रा मानिसहरू तथा हाम्रो संस्कृति बुझ्नका लागि उनीहरूले पढ्नुपर्छ, कुरा जान्नुपर्छ, कुरा सिक्नुपर्छ । यसप्रकार भारतबारे उनीहरूका पुराना प्राच्यवादी अवधारणाहरू अब बदलिइरहेका छन् । हाम्रा प्राचीन महाकाव्यहरू, दार्शनिक ग्रन्थहरू, ज्ञान– विज्ञानका ग्रन्थहरू जसरी पाश्चत्य संसारलाई अनुवादमार्फत प्राप्त हुँदै गए, ती उनीहरूले अध्ययन गर्दै गए, फरक पर्दैगयो । अर्कोतिर निस्सन्देह, अनुवादले हाम्रा भाषाहरूमा, हाम्रा वैचारिक आयामहरूमा अनि संस्कृतिहरूमा अपार सम्पदा ल्याएर देशी साहित्य र ज्ञानको विकासमा अभूतपूर्व ऊर्जा थप्दछ । अन्य भारतीय राष्ट्रिय भाषाहरूका साथसाथै विदेशी भाषाहरूका उत्कृष्ट कृतिहरू पनि अनुवाद गरेर हामी आफ्नो र राष्ट्रिय साहित्यको भण्डारलाई वृद्धि गर्दछौँ, समृद्ध पार्दछौँ । यसरी हामी आफ्नो लेखनस्तरलाई पनि बढाउँछौँ ।
यो विशेष रूपले तब हुन्छ, जब हामी सेक्सपियर, होमर, दांते, व्यास, वाल्मीकि, कालिदास अनि भासजस्ता विश्वसाहित्यका महान् आचार्यहरू, वा टल्स्टाय, दोस्तोवस्की, काफ्का, बेकेट, लोर्का, इलियट, अनि अधिक समकालीन लेखकहरूलाई अनुवाद गर्दछौँ । त्यस्तै थमस मान, गेब्रियल गार्सिया मार्खेज, मारियो वर्गास लोसा, ओरहान पामुक, जेएम कोएत्जी, पाब्लो नेरुदा, अक्टेभियो पाज तथा अन्यको पनि । यो विनिमयले नयाँ आन्दोलन र रुझान पनि उत्पन्न गर्दछ । हामी अनुवादको युगमा बाँचिरहेका छाैँ र सक्षम अनुवादकहरूका लागि अवसर लगातार बढिरहेको छ । एउटा सूक्ष्म कला र विज्ञानको रूपमा अनुवादको क्षेत्रमा व्यापक सम्भावनाहरू बढिरहेका छन् । यिनमा केही क्षेत्रहरू अनि व्यवसायको उल्लेख तल गरिएको छ ।
साहित्यिक अनुवाद
यहाँ अनि विदेशमा साहित्यिक अनुवादका लागि कतिपय समर्पित संस्थानहरू छन् । त्यस्ता संस्थानहरूले विदेशी साहित्यलाई भारतीय भाषाहरूमा अनुवाद गर्ने तथा भारतीय साहित्यलाई विदेशी भाषामा अनुवाद गर्ने परियोजनाहरू तयार पारेका हुन्छन् । त्यसरी नै एउटा भारतीय भाषाको साहित्यलाई अन्य भारतीय भाषाहरूमा अनुवाद गर्ने परियोजनाहरू पनि रहेका हुन्छन् । साहित्यिक अनुवाद आजको विश्वको टड्कारो आवश्यकता हो । वैश्विक ग्राम बन्दै गइरहेको आजको साँघुरिएको संसारमा पल्लो छिमेकी गाउँको साहित्यबारे यदि वल्लो गाउँको छिमेकीलाई आजसम्म थाहा हुँदैन भने वैश्विक ग्रामको अवधारणा सच्याउनुपर्ने गम्भीर आवश्यकता रहन्छ । त्यसैले साहित्य एकेडेमी, नेसनल बुक ट्रस्ट, क्षेत्रीय साहित्यिक सङ्घहरू र विभिन्न प्रकाशकहरूले अङ्ग्रेजी तथा विभिन्न भाषाहरूका सक्षम अनुवादकहरूको खोजी गरिरहेका हुन्छन् ।
भारतीय साहित्यबारे विदेशतिर एउटा नयाँ रुचि उत्पन्न भएको पाइन्छ किनभने आफ्ना मातृभाषा नजान्ने आदिवासी भारतीय युवाहरू उनीहरूले जान्ने भाषामा, भारतीय भाषामा पढ्न चाहन्छन् अनि विदेशीहरू भारतीय साहित्यमा के कुरा भइरहेको छ सो जान्न चाहन्छन् । भारत सरकारले पनि हालमा एउटा नयाँ मिसन, भारतीय साहित्य विदेश (आईएलए) सुरु गरेर यो नयाँ स्थितिको जवाफ दिएको छ । म्याकमिलन, पेंगुइन, ओरिएन्ट, लङम्यान, अक्सफोर्ड युनिभर्सिटी प्रेस, हार्पर–कलिन्स्, ह्याचट् आदिजस्ता ठुला भारतीय प्रकाशन संस्थाहरू साथै कतिपय साना संस्थाहरू ठुलो मात्रामा साहित्यिक विवेचनात्मक वृmतिहरूका अनुवाद कार्यलाई प्रोत्साहित गरिरहेका छन् । हाम्रो स्वतन्त्रता सङ्ग्राम अनि पछि परिवर्तनका लागि लोकतान्त्रिक सङ्घर्षलाई भिक्टर ह्युगो, टल्सटाय, रूसो, गान्धी, टेगोर, एमिल जोला, मोपासाँ, गोर्की, प्रेमचन्द, सुब्रमण्यम भारतीका कार्यहरूका अनुवादद्वारा धेरै प्रोत्साहन मिलेको थियो ।
ज्ञान अनुवाद
राष्ट्रिय अनुवाद मिसनले, जुन राष्ट्रिय ज्ञान आयोगको सोचको उपज हो, समाजशास्त्र, इतिहास, भूगोल, भूविज्ञान, चिकित्सा, रसायन विज्ञान, भौतिकी, गणित, भाषाविज्ञान तथा राजनीति विज्ञानका क्षेत्रका पाठ्यपुस्तकहरू एवम् शास्त्रीय कार्यहरूलाई भारतीय भाषाहरूमा अनुवाद गर्न चाहन्छ । यस्ता दूरदर्शी योजनाहरूको कार्यान्वयनद्वारा ज्ञान, मातृभाषामा शिक्षाको स्तरलाई माथि उठाउन सकिन्छ । साथै, ग्रामीण गरिब समाजका पिछाडिएका वर्गहरूलाई मातृभाषामा त्यो अत्याधुनिक ज्ञान उपलब्ध गराउन सकिन्छ जो यसभन्दा अगाडि अङ्ग्रेजी भाषा जान्ने उच्चवर्गका विद्यार्थीहरूका निम्तिमात्र प्राप्य थियो । अङ्ग्रेजीबाट सबै भारतीय भाषाहरूमा अनुवाद गर्ने पोख्त अनुवादकहरूको खोजीमा अनुवाद मिसन छ ।
मिडियामा अनुवाद
प्रिन्ट, इलेक्ट्रोनिक, श्रव्य–दृश्य मिडिया, समाचारपत्र, पत्रिकाहरू, रेडियो, टेलिभिजन, सिनेमा आदिमा एउटा भाषादेखि अर्को भाषामा अनुवाद गर्न पोख्त अनुवादकहरूको गम्भीर आवश्यकता परिरहेको हुन्छ । कतिपय मिडिया हाउसहरूले एकपटकमा अनेकौँ भाषाहरूमा समाचारपत्रहरू वा सामयिक पत्रिकाहरू प्रकाशित गर्छन् वा बहुभाषिक टेलिभिजन च्यानलहरू एकसाथ सञ्चालन गर्छन् । यस्ता मिडिया हाउसहरूलाई समाचार, धारावाहिक, फिल्म स्कृप्ट लगायत विभिन्न कार्यक्रम पोख्त अनुवादहरूको तीव्र आवश्यकता परेको हुन्छ । अनुवाद क्षेत्रमा राम्रो दखल राख्नेहरूका लागि अवसरको सीमा आकाश नै हुन्छ । यतिमात्र नभएर, मिडिया हाउसहरूमा अन्तर्राष्ट्रिय समाचारलाई स्थानीय भाषामा रूपान्तरण गर्नका लागि वा अन्तर्राष्ट्रिय रुचि वा महत्वका विषय वा समाचारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चार गर्नका लागि कुशल अनुवादकहरू जहिल्यै पनि आवश्यक भइरहेका हुन्छन् ।
वर्तमान भारतमा मात्र होइन, वर्तमान विश्वमा नै अनुवाद सूचना, सञ्चार र ज्ञानविज्ञानको एउटा महत्वपूर्ण स्रोतमात्र होइन, आवश्यक अङ्ग नै बन्दै गइरहेको हामी देख्दछौँ । यस्तो बदलिँदो अवस्थामा, भारतीय परिप्रेक्ष्यमा भन्नुपर्दा, भातीय विद्यालयहरूका पाठ्यक्रमइतर विषयहरूमा जुन लक्ष्यले सङ्गीत, गायन, वादन, चित्रकला, फोटोग्राफी, खेलकुदमा क्रिकेट, फुटबल, भलिबल, हकी, आत्मरक्षाका लागि योगा, कराटे, जुडो आदि खेलहरू समाविष्ट गरिएका छन्, उसरी नै जीवनकलाको रूपमा अनुवाद पनि समाविष्ट हुनुपर्ने उचित समय आइसकेको स्पष्ट देखिँदैछ ।
देशका प्रमुख शिक्षा बोर्डहरूले अनि राज्यका मानवसंसाधन मन्त्रालयका शिक्षा विभागहरूले यस दिशातर्फ गम्भीरताका साथ सोच्नुपर्ने तथा अग्रसक्रियताका साथ कदम बढाउनुपर्ने देखिन्छ, यदि बढाइएको छैन भने, यदि बढाइसकिएको छ अनि यस पङ्क्तिकारलाई जानकारी भएको छैन/ थिएन भने, अब हुने भयो, त्यो खुसीको विषय हो/हुनेछ । यसतर्फ यदि अग्रसक्रियताकाे कदम बढाइएको छ भने, निकट भविष्यमा बहुभाषिक हाम्रो देशमा सूचना, ज्ञानविज्ञान र प्रौद्योगिकीको क्षेत्रमा आमूल प्रगतिको अभूतपूर्व व्रmान्ति आउन अब धेरै बाँकी रहेन । आउने समय–सालहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य, पत्रकारिता, संस्कृति, सूचना र सूचनाप्रौद्योगिकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार–वाणिज्यका क्षेत्रहरूमा अनुवादको अनिवार्यता सयौँ गुना वृद्धि हुनेछ । आज अनूदित र उपशीर्षकमय (subtitled) फिल्महरूले भारतीय र अन्तर्राष्ट्रिय फिल्म उद्योगको क्षेत्रमा अघि कहिल्यैको भन्दा बढी आय आर्जन गरिर हेछन् । साहित्य, सङ्गीत, फिल्म र अरू धेरै कलाहरूका अनुवादले स्रष्टाहरूलाई व्यापक श्रोता उपलब्ध गराउँछ÷गराइरहेछ । ती थोकहरू अनुवादको जादुविना सम्भव नै नहुने थोकहरू हुन् । द्रुतगतिमा साँघुरिँदै गएको विश्वलाई सही अर्थमा वैश्विक ग्राम बनाउनलाई अनुवाद अत्यन्त आवश्यक बन्दै गएको पाइन्छ । सूचना प्रौद्योगिकी, उत्पादन, औषधि, विज्ञापन आदि विभिन्न उद्योगहरूको आजको डिजिटल प्रतापले निमिट्यान्न पारेको संसारमा देशहरू र राजनीतिका पर्खालहरू तोडेको अवस्थामा पनि भाषिक, जातीय, सांस्वृmतिक छेकबार वा तागारो भने भाषिक अनुवाद नहुनु नै हो । वैश्विकरूपमा बहुराष्ट्रिय उद्योगधन्दा र कम्पनीहरूले आफ्ना उत्पादन, सेवासम्बन्धी विज्ञापन धावाहरूमा आफ्ना सन्देश विभिन्न भाषाभाषीसम्म पुर्याउन लागि एउटै उपाय अनुवाद हो । यान्त्रिक अनुवादले अनुवादको क्षेत्रमा स्थान बनाउँदै गइरहेको भए तापनि, त्यसले मानवीय अनुवादको सम्पूर्ण स्थान लिइहाल्ला भन्न नसकिएला । यसैकारण अनुवाद अब सोखको वा कसैले गरिमागेर गरिदिने काम नरहेर, एउटा विशाल व्यापारमात्र होइन, उद्योगको रूपमा स्थापित भइसकेको छ भन्दा यसबारे जानकारी नराख्ने महानुभवहरूलाई पत्याउन अलि गाह्राे परेको जस्तो हुनसक्ला । तर तथ्याङ्कले स्पष्ट बताएको पाउँछौँ कि २०१३ मा नै भारतीय अनुवाद उद्योग ६,५०० करोडको रहेको बताइन्छ । कमन सेन्स एडभाइजरी रिसर्चको अनुसन्धानअनुसार, वैश्विक अनुवाद उद्योग २३ विलियन पाउन्डको छ ।
भेरिफाइड मार्केट रिसर्चको तथ्याङ्कअनुसार, २०२० मा वैश्विक अनुवाद सेवा बजार ३९.३७ विलियन अमेरिकी डलरको थियो जुन २०२८ सम्ममा ४६.२२ विलियन अमेरिकी डलर पुग्ने पूर्वानुमान छ । आज विश्व एउटा ग्राम बनेर गएको छ । एउटा गाउँजस्तो, नजिकमा सबैलाई भेटिने, सबैलाई सबै कुराको सूचना भएको छ, सबै थोकका जानकारी भएका छरछिमेकजस्तो विश्व बनेको देखिँदोछ । वैश्विक ग्रामको अवधारणा नै सञ्चार, सूचना र जानकारीको द्रुततर आवतजावत हो ।
भौतिक दुरत्व हुँदाहुँदै पनि मानिसहरू सूचना प्रौद्योगिकीहरूद्वारा एकअर्कासँग सम्बद्ध हुनसक्ने, अनुभवहरू बाँढ्न सक्ने, उही सूचनामा एकैसाथ पहुँच पाउनसक्ने अवस्था छ । पुरानो समयमा डाकघरबाट पत्रद्वारा सञ्चार हुन धेरै समय लाग्थ्यो भने अहिले आएर इमेल, सेलफोन, अनेकौँ म्यासेजिङ एपहरूद्वारा, सामाजिक सञ्जालद्वारा क्षणभरमा नै विश्वका सबै ठाउँहरूमा एकसाथ सूचना आदानप्रदान हुने गर्छ । विद्युतीय माध्यमहरू, इन्टरनेट, द्रुतसञ्चार प्रसारणले विशाल विश्वलाई क्षणिक दूरीको साँघुरो छिमेक बनाइदिएको छ ।
यसरी चर्चा गर्नुको उद्देश्य यो स्पष्ट गर्नु हो कि जुन द्रुतगतिमा सञ्चार भइरहेका सूचना र जानकारीहरू छन्, ती ज्ञान बोधगम्य हुनुपर्छ । यदि ती बोधगम्य नै नभए के लाभ ? भाषिक माध्यमान्तरका कारण यदि द्रुतसूचना ग्रहण र बोधगम्य हुन नसकेको अवस्थामा के लाभ रह्यो ? यहीँनिर आउँछ सर्वव्यापी वैश्विक ग्राममा अनुवादको वैश्विक महत्व । वैश्विक ग्राममा, दुर्भाग्यवश, वैश्विक भाषा हालसम्म विकसित नभइसकको कारण सूचना सञ्चारलाई अर्थपूर्ण तुल्याउनलाई अनिवार्य रूपमा आवश्यक पर्ने एउटै उपाय अनुवाद देखिन्छ ।
अनुवादले बोधगम्यता नल्याएसम्म वैश्विक ग्रामको अवधारणाले खुट्टै टेक्न पाउँदैन । हिँड्ने र दौडिने सफ्टवेयरहरू विकसित नगर्दा पनि हुन्छ । वैश्विक ग्राम बनिसकेको विश्वमा साहित्य, पत्रकारिता, सामान्य उद्योगधन्दा तथा सूचना प्रौद्योगिकी सम्बन्धित उद्योगहरूमा, अनुवादको महत्वलाई अदेख गर्न सकिँदैन, नकि त्यसरी अदेख गर्न मिल्छ । यसैले अनुवादलाई अनुवाद्यसरह महत्वपूर्ण मान्नुपर्छ ।
(पश्चिम सिक्किमको सिकताममा जन्मिनुभएका वीरभद्र कार्कीढोलीका कवि, कथाकार, समालोचक, सम्पादकलगायतका परिचय छन् । मूलतः नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा लेख्ने कार्कीढोलीका कृतिहरू बोडो, असमिया, बङ्गलालगायतका अन्य भाषाहरूमा अनुवाद
भएका छन् । भारतगौरव, साहित्यरत्न, सार्कसम्मान, साहित्य शिरोमणिलगायतका पुरस्कारहरू प्राप्त गर्नुका साथै उहाँ ६० भन्दा बढी देशहरूमा सम्मानित हुनुभएको छ । नेपालीभाषी भारतीयमाझ विशिष्ट साहित्यकारको पहिचान बनाउनुभएका उहाँका नेपालीमा १८ वटा, हिन्दीमा ६ वटा र अङ्ग्रेजीमा ३ वटा कृतिहरू प्रकाशित छन् । प्रक्रिया नामक साहित्यिक जर्नलको सम्पादन गरिरहनु भएका उहाँले शिवेल, अम्बेडकर स्मृति सदनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिरहनुभएको छ ।)
जवाफ लेख्नुहोस्