डा.ओम गुरुङ : एक अनुकरणीय पात्र
-रामराज रेग्मी
डा.ओम गुरुङले शिक्षाको क्षेत्रमा निकै ठुलो फड्को मारेको देखिन्छ । दूरदराजको अशिक्षित जनसमुदायको माझबाट उठेर न्युयोर्कको ख्यातिप्राप्त विश्वविद्यालयमा पुगी विद्यावारिधि गर्नु चानचुने उपलब्धि होइन । उनी सदैव माक्र्सवादी विचारबाट निर्देशित थिए । उनका वैचारिक तथा राजनीतिक लेखहरूबाट उनीमा माक्र्सवाद, लेनिनवाद र माओवादको गहिरो ज्ञान थियो भन्ने थाहा लाग्छ । अध्यापन गर्दा वा जनजाति आन्दोलनमा सहभागी हुँदा उनी वर्गीय पक्षधरता अँगालेर चल्दथे । उनी सघन क्षेत्रमा बसोबास गर्ने एउटै भूगोल र भाषा भएका जनजातिहरूलाई आत्मनिर्णयको अधिकार दिनुपर्छ भन्ने पक्षमा थिए । तर उनले भनेको आत्मनिर्णयको अधिकार बोल्सेभिक पार्टीले रुसमा दिएको जस्तो पृथक हुन पाउने अधिकारसहितको आत्मनिर्णयको अधिकार थिएन, त्यो जातीय स्वायत्तताको अधिकार थियो । लामो समयदेखि मूलधारमा नसमेटिएका जातिको भाषिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक उत्थानका निम्ति विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्दछ भन्ने उनको भनाइ थियो । २०६४ सालमा काठमाडौँ पोस्टका पुरन विष्टलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, “हामीले खोजेको आत्मनिर्णयको अधिकार तामिलहरूको जस्तो पृथकतावाद होइन, अखण्ड नेपालभित्रको जातीय स्वायत्तता हो र आफ्नो भौगोलिक क्षेत्रको स्वशासन हो । दुई भीमकाय राष्ट्रहरूको चेपुवामा परेकाले मुलुकको सार्वभौमिकताप्रति हामी सचेत छौँ ।’
ओम गुरुङ त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तीपुरका एक ख्यातिप्राप्त प्राध्यापक तथा आदिवासी जनजाति आन्दोलनका अगुवा भएकाले
उनका गतिविधिबारे एक राजनीतिक कार्यकर्ताका हैसियतले मैले समय–समयमा जानकारी पाइरहन्थेँ । पत्रपत्रिका तथा समाचार पत्रहरूमा प्रकाशित लेखरचनाहरूबाट उनका विचार तथा अवधारणाहरूसँग राम्रैसँग परिचित थिएँ । यद्यपि उनीसँग सहकार्य गर्ने मौका भने मलाई मिलेको थिएन । आजभन्दा झन्डै एकदशक पहिले हाम्रो पहिलो भेट नयाँ दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट यात्रीका रूपमा भएको थियो ।
म र शान्ता मानवी दक्षिण अमेरिकाको बोलिभियामा भएको ‘लाभिया क्याम्पेसिना’ नामको अन्तर्राष्ट्रिय स्तरको किसान सङ्घको दुईहप्ते गोष्ठीमा भाग लिएर नेपाल फर्किँदै थियौँ । विमानस्थलभित्र दिल्लीबाट नेपाल आउनका लागि उडानको प्रतीक्षा गर्ने यात्रीका रूपमा ओमसँग हाम्रो भेट भयो । त्यतिखेर उनी जनजाति आन्दोलनका अभियन्ता कृष्णबहादुर भट्टचनका साथमा थिए । उनीहरू अमेरिकाबाट नेपाल आउने क्रममा दिल्ली विमानस्थल आइपुगेका थिए । भट्टचन पोखराको राष्ट्रिय बहुद्देश्यीय माध्यमिक विद्यालयमा अध्ययन गर्दाका बखत मेरा छात्र भएकाले उनीमार्फत्ओ मसँग सामान्य परिचय भयो । हाम्रो आधाघण्टा जतिको प्रतीक्षारत घडी विविध विषयका कुराकानीमा बित्यो । काठमाडौँका लागि जहाज चढ्ने तरखर भएपछि हामी छुट्टियौँ ।
डा.ओमसँग मेरो दोस्रो भेट २०७८ सालको चैत ५ गते पोखरामा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा भयो । त्यहाँ ‘नेपालको वर्तमान संविधान, राज्यको स्वरूप र परिवर्तनको आवश्यकता’ विषयमा उनले एक कार्यपत्र प्रस्तुत गरेका थिए र म त्यसको एकजना टिप्पणीकारका रूपमा आमन्त्रित थिएँ । मैले उनले राखेको आदिवासीको सवालमा ‘कसलाई आदिवासी भन्ने ?’ भनी प्रश्न उठाएको पनि थिएँ । त्यस कार्यक्रममा नै हामी एक अर्काका नजिक भयौँ ।
त्यसपछि २०७९ को असोजको तेस्रो हप्तामा मैले डा.ओमलाई काठमाडौँमा भेट्ने अपेक्षा गरेको थिएँ । २०७९ वैशाखबाट प्रकाशनमा आएको वैचारिक प्राज्ञिक पत्रिका वामपन्थ (द लेफ्ट) का प्रमुख सम्पादक महेश मास्केले उपहारमार्ग, महाराजगञ्जमा वामपन्थ पत्रिकासँग संलग्न लेखकहरूको खानासहितको एक सन्ध्याकालीन भेटघाटको आयोजना गरेका थिए । त्यहाँ ओम पनि सहभागी हुन्छन् भन्ने सूचना पाएको थिएँ ।
वामपन्थको पहिलो र दोस्रो दुवै अङ्कमा उनका ज्ञानवद्र्धक रचनाहरू छापिएका थिए । तर त्यहाँ उनी आएनन् र त्यसको कारणबारे हामी उपस्थितमध्ये कसैलाई केही जानकारी भएन । त्यसको केही दिनपछि २०७९ असोज ३१ गते एक्कासि मृगौलाले काम गर्न छोडेर उनको निधन भएको खबर आयो । दुखद् खबर सुनेपछि हामी वामपन्थ परिवारका सबै सदस्यहरू अत्यन्त दुःखी भयौँ । हामीले एक क्रान्तिकारी सहकर्मी बुद्धिजीवी मित्र गुमायौँ । आफ्नाे पहिचान र मुक्तिको लागि सङ्घर्षरत नेपालका उत्पीडित जनताले उनीहरूको सङ्घर्षमा सधैँ साथदिने एक भरपर्दो साथी गुमायौँ ।
डा.ओम गुरुङको जीवन निकै सङ्घर्षपूर्ण देखिन्छ । सन् १९५३ मा बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको एक अविकसित गुरुङबस्ती भुसकोटमा जन्मेका उनले आफ्नो बाल्यकाल गाउँका सामान्य केटाकेटीसरह भाइबैनी हेर्ने र गाईवस्तु चराउने काममा बिताए । गाउँका मुखियाका रूपमा रहेका उनका बुवाले आफू नपढेपनि शिक्षाको ठुलो महत्व रहेछ भन्ने बुझेपछि केटाकेटीलाई पढाउने विचार गरेका थिए । तर त्यतिखेर गाउँमा कुनै विद्यालय थिएन ।
ओमका बुवाले ब्रिटिस भारतीय गोर्खा पल्टनका सेवानिवृत्त सिपाही जमदार लालसिंह गुरुङलाई गाउँका केटाकेटीहरूलाई आँखा देखाइदिन अनुरोध गरे । जमदारले खाली रहेको एउटा गाईगोठमा पढाउन थालेपछि ओमले सामान्य साक्षर हुने मौका पाए । पछि गाउँमा प्राथमिक विद्यालय खोलिएपछि उनले त्यहाँबाट प्रारम्भिक तहको शिक्षा प्राप्त गरे । त्यसपछि उनको पठनपाठन भरत नि.मा.वि. हाटचौर, गलकोट मा.वि.गलकोट बजार र बागलुङ सदरमुकामको विद्यामन्दिर उच्च मा.वि.हुँदै अघि बढ्यो ।
२०२८ सालमा विद्यामन्दिर मा.वि.बाट एस.एल.सी. पास गरेपछि उनले वागलुङ कलेजबाट २०३० मा आई.ए. र २०३२ मा मेजर विषय इतिहास लिएर पोखराको पृथ्वीनारायण क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट २०३५ सालमा इतिहास विषयमा एम.ए.को अध्ययन पूरा गरेपछि समाजशास्त्र र मानवशास्त्र (sociology and anthropology) को विषय सञ्चालन गर्नका लागि विश्वविद्यालयले आह्वान गरेको छात्रवृत्तिमा उनी छानिए र मानवशास्त्र विषयको अध्ययनका लागि भारत गए । उनले सन् १९७८ मा पुना विश्वविद्यालयबाट मानवशास्त्र विषयमा एम.ए. उत्तीर्ण गरे । पढाइ सकेर नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र/मानवशास्त्र विषयको पठनपाठनको अभिभारा उनलाई सुम्पियो । अध्यापनकै क्रममा उनले अमेरिकाको न्युयोर्कस्थित कार्नेल विश्वविद्यालयबाट मानवशास्त्रमै विद्यावारिधि गर्ने अवसर प्राप्त गरे ।
यसरी डा.ओम गुरुङले शिक्षाको क्षेत्रमा निकै ठुलो फड्को मारेको देखिन्छ । दूरदराजको अशिक्षित जनसमुदायको माझबाट उठेर न्युयोर्कको ख्यातिप्राप्त विश्वविद्यालयमा पुगी विद्यावारिधि गर्नु चानचुने उपलब्धि होइन । यसमा उनका आमाबाबु र दाजुभाइको सहयोगका साथै आफ्नै साहस र परिश्रमको भूमिका देखिन्छ । सरकारका तर्फबाट खानीको कर उठाउने जिम्मा पाएका उनका पिता अपठित भै हिसाब हिनामिना गरेको आरोपमा जेल सजाय भोग्नुपरेको पीडाले बरु ऋण गरेर भए पनि छोराछोरी पढाउनुपर्छ भन्ने पक्षमा पुगेका थिए ।
समाजशास्त्र/मानवशास्त्र विषयको धौलागिरी जर्नलमा २०७८ सालमा मनबहादुर खत्री र मधुसूदन सुवेदीलाई दिएको अन्तर्वातामा ओमले बताएअनुसार उनका आमाबाबुले छोराछोरी पढाउनका लागि केही जग्गाजमिन र घरमा भएका गहनागुरिया सबै बेचेका थिए । तर ओमका निम्ति त्यतिले पुग्ने कुरा थिएन । बुवा राणाकालका मुखिया भए पनि परिवार निम्नमध्यमवर्गको थियो र कृषिको आयस्ताबाट ६/७ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । यस्तो अवस्थामा पढ्ने पैसा जुटाउनका लागि बिदामा घर गएका बखत अर्काको खेतबारीमा ज्यालामा काम गर्न जानुपर्दथ्यो ।
लगाउनका लागि ओमसँग आवश्यक कपडा थिएनन् । दुईदुई वर्षमा घरका प्रत्येक सदस्यहरूलाई नयाँ कपडा फेरिदिने चलन थियो । पढ्दाका बखत कहिलेकहीँे रासन पानीको अभाव हुन्थ्यो । कतिपय रातहरू भोकभोकै काट्नु परेको कुरा ओम बताउँछन् । तर जतिसुकै आपतविपद आइलागे पनि कतिपनि विचलित नभै जसरी हुन्छ अध्ययनलाई अघि बढाउने काममा उनी लागे । बागलुङ सदरमुकाम र पोखरामा अध्ययनरत हुँदा बिहान बेलुकी घरबेटीका केटाकेटी पढाएर, होटलमा हिसाबकिताब राख्न सहयोग गरेर र व्यावसायिक सङ्गीत केन्द्रमा गई सांस्कृतिक कार्यक्रममा भाग लिएर खर्चको जोहो गर्नेगर्थे ।
अध्ययन समाप्त भएपछि डा.ओम गुरुङ पहिला बागलुङ क्याम्पसमा र पछि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्याम्पसमा प्राध्यापन गर्न थाले । शिक्षाक्षेत्रमा उनको अमूल्य योगदान रहेको छ । उनले चार पटकसम्म समाजशास्त्र ÷मानवशास्त्र विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाले । २०७२ सालबाट यी दुई विषयलाई भिन्नभिन्न विभागअन्तर्गत सञ्चालन गर्न थालेपछि मानवशास्त्र विभागको संस्थापक विभागीय प्रमुख बन्ने अवसर उनलाई प्राप्त भयो । पठनपाठनको स्तरलाई उन्नत बनाउनका लागि डा.ओमले विभिन्न जिल्लाबाट समाजशास्त्र/मानवशास्त्रमा उच्चशिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पथप्रदर्शन गर्ने काम गरे, पुराना पाठ्यक्रमलाई बदलिँदो परिस्थितिअनुसार परिमार्जन गरे,अध्ययन अध्यापन कार्यलाई वातावरण अनुकूल बनाए र नयाँ अनुसन्धान र समसामयिक परिवेशमा अन्वेषण गरिएका नवीन ज्ञान, दृष्टिकोण र चिन्तनलाई आयात गरे । उनले पाठ्यसामग्रीमा दक्षिण एसिया, हिमाली क्षेत्र, देशको जातीय एवम् सांस्कृतिक विविधता, विभेद, वञ्चितीकरण र पछौटे विकासको अध्ययनलाई समावेश गरे । उनले समाजशास्त्र/मानवशास्त्र विषयमा एमफिलको पढाइ हुने व्यवस्था पनि मिलाए र विद्यावारिधिका निम्ति त्यस तहलाई साँघुका रूपमा विकास गरे ।
त्रि.वि. केन्द्रीय पुस्तकालय र नेपालका बजारमा आवश्यक पाठ्यपुस्तकको अभाव हुँदा उनले प्राध्यापक एवम् विद्यार्थीहरूका लागि बाहिरबाट सन्दर्भसामग्रीहरू मगाएर समस्याको समाधान गरे । उनले विद्यार्थीहरूलाई बाहिरी मुलुकमा अध्ययन अनुसन्धानको अवसर दिलाउन नर्वेको बर्गन विश्वविद्यालय, अमेरिकाको कोर्नेल विश्वविद्यालयलगायतका थुप्रै शैक्षिक संस्थाहरूसँग सम्बन्ध स्थापित गरे । डा.ओम ३६ वर्षको प्राज्ञिक सेवापछि सेवानिवृत्त भए । त्रिभुवन विश्वविद्यालयमा रहँदा उनले एक कुशल प्राध्यापकको भूमिका निभाए । उनी तलबका लागि मात्र काम गर्ने व्यक्ति थिएनन् । आफू कार्यरत रहेको संस्थालाई कसरी उन्नत र स्तरीय बनाउन सकिन्छ भनी उनी रातोदिन लागिपरे । आज त्रिविलगायत नेपालका धेरैजसो पब्लिक क्याम्पसहरूको पठनपाठनको स्तर निकै गिरेको छ । शिक्षण संस्थाहरू राजनीतिक दलका अखडा बनेका छन् । यस परिस्थितिमा डा. ओमजस्ता आदर्श प्राध्यापकको खाँचो टड्कारो रूपमा महसुस हुन्छ ।
डा.ओम विश्वविद्यालयमा सेवारत रहँदा केवल प्राध्यापनमा सीमित रहेनन्, राज्यको मूलधारमा नसमेटिका उत्पीडित जनजाति समुदायको हकअधिकार र पहिचानका लागि सङ्घर्षरत भइरहे । उनले प्राज्ञिक कार्यलाई सामाजिक तथा राजनीतिक आन्दोलनसँग जोड्ने काम गरे । उनले जनजाति समुदायका संस्कृति, समस्या, उनीहरूमाथिको उत्पीडन र मुक्तिका विषयमा कलम चलाए । समावेशीकरणलाई लागु गर्ने सवालमा उनी खटेर लागे । उनी सन् २००१ देखि २००४ सम्म आदिवासी जनजाति महासङ्घका महासचिवका रूपमा र २००४ देखि २००७ सम्म त्यसको सल्लाहकारका रूपमा कार्यरत रहे । नेपालको आदिवासी जनजाति आन्दोलनमा उनको गहिरो सहभागिता रह्यो । नेपालमा रहेका भूतपूर्व ब्रिटिस सैनिकहरूको सङ्गठन गेसोका सल्लाहकारका रूपमा पनि उनले ब्रिटिस सेनाका भूतपूर्व नेपाली सैनिकहरूले अङ्ग्रेज मूलका निवृत्त सिपाहीहरूसरह पेन्सनलगायतका सुविधाहरू पाउनुपर्छ भनी आवाज उठाउन सहयोग गरे । निरङ्कुश राजतन्त्रविरुद्ध छेडिएका २०६२–६३ को जनआन्दोलनमा जनजाति समुदायको आत्मनिर्णयको अधिकार, स्वायत्तता, समावेशिता, भाषिक तथा सांस्कृतिक अधिकार, धार्मिक स्वतन्त्रता, विभेदको अन्त्यजस्ता मुद्दाहरूमा बुद्धिजीवी मोर्चामा र जनतालाई सडकमा उतार्न डा.ओमलगायत जनजाति आन्दोलनका अगुवाहरूको महत्वपूर्ण अगुवाइ रह्यो । नेपाल सरकारले सन् २००७ मा आई.एल.ओ. महासन्धि १६९ मा हस्ताक्षर गर्नुका साथै संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रको अनुमोदन गर्ने कार्यमा डा.ओमको महत्वपूर्ण भूमिका देखिन्छ । त्यही वर्ष सरकार र आदिवासी जनजाति आन्दोलनका अगुवाहरूबिच भएको सम्झौतामा आदिवासीको प्रतिनिधिमा उनी सामेल थिए । उनले संविधानसभामा जनजातिका तर्फबाट प्रतिनिधित्व गर्ने विधायिकाहरूलाई संविधानमा जनजातिका हकअधिकारसम्बन्धी मुद्दाहरू समावेश गर्नका लागि उचित रायसुझाव दिए ।
डा.ओम गुरुङ सघन क्षेत्रमा बसोबास गर्ने एउटै भूगोल र भाषा भएका जनजातिहरूलाई आत्मनिर्णयको अधिकार दिनुपर्छ भन्ने पक्षमा
थिए । तर उनले भनेको आत्मनिर्णयको अधिकार बोल्सेभिक पार्टीले रुसमा दिएको जस्तो पृथक हुन पाउने अधिकारसहितको आत्मनिर्णयको अधिकार थिएन, त्यो जातीय स्वायत्तताको अधिकार थियो । लामो समयदेखि मूलधारमा नसमेटिएका जातिको भाषिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक उत्थानका निम्ति विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्दछ भन्ने उनको भनाइ थियो । २०६४ सालमा काठमाडौँ पोस्टका पुरन विष्टलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, “हामीले खोजेको आत्मनिर्णयको अधिकार तामिलहरूको जस्तो पृथकतावाद होइन, अखण्ड नेपालभित्रको जातीय स्वायत्तता हो र आफ्नो भौगोलिक क्षेत्रको स्वशासन हो । दुई भीमकाय राष्ट्रहरूको चेपुवामा परेकाले मुलुकको सार्वभौमिकताप्रति हामी सचेत छौँ ।’ डा.ओम गुरुङ देशमा गणतन्त्र आउँदा जति उत्साहित थिए, २०७२ मा संविधानसभाबाट नेपाल राज्यको संविधान जारी हुँदा त्यति नै निरुत्साहित भए । संविधान निर्माणका अवधिमा जनयुद्ध सञ्चालन गरेको नेकपा (माओवादी केन्द्र ले जातीय पहिचान र आत्मनिर्णयको अधिकारका सवाललाई लिएर जे जति मुद्दाहरू उठाएको थियो, तिनमा दह्रो अडान लिन नसकेको र दक्षिणपन्थी अनुदारवादीहरूसँग घुँडा टेकेको आरोप उनी लगाउँछन् । हुन पनि २०७२ को संविधान अन्तरिम संविधानजतिको पनि उदार हुन सकेन । डा.ओमले नेतृत्व गरेको आदिवासी जनजाति महासङ्घले संविधानलाई विभेदकारी र नश्लवादी ठान्दछ ।
जीवनको अन्तिम समयतिर डा.ओम गुरुङ नेकपा (क्रान्तिकारी माओवादी) को सल्लाहकार समितिको अध्यक्षका रूपमा कार्यरत रही बुद्धिजीवी र जनजातिहरूका बिचमा पार्टीका नीति तथा कार्यक्रमबारे प्रशिक्षण दिने र तिनीहरूलाई सङ्गठित गर्ने कार्यमा लागे । उनले पार्टीका दस्तावेजहरू अङ्ग्रेजीमा अनुवाद गरी पार्टीका नीति तथा कार्यक्रम अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरूलाई अवगत गराउने कार्यमा सहयोग गरे । तर
डा.ओमको त्यस प्रकारको राजनीतिक संलग्नता जीवनको अन्तिम अवधितिरको मात्र होइन । उनी सदैव माक्र्सवादी विचारबाट निर्देशित थिए । उनका वैचारिक तथा राजनीतिक लेखहरूबाट उनीमा माक्र्सवाद, लेनिनवाद र माओवादको गहिरो ज्ञान थियो भन्ने थाहा लाग्छ । अध्यापन गर्दा वा जनजाति आन्दोलनमा सहभागी हुँदा उनी वर्गीय पक्षधरता अँगालेर चल्दथे । डा.ओम गुरुङमा वामपन्थी राजनीतिको प्रभाव विद्यार्थीकालदेखि नै परेको हो । आफ्नो गाउँबाट गलकोटमा नि.मा.वि. र मा.वि. तहको अध्ययनका लागि आउँदा २०२५/२६ सालदेखि नै त्यहाँ अध्यापन गर्ने शिक्षकहरू झलनाथ खनाल, चित्रबहादुर केसी र बालमुकुन्द खरेलमा रहेको माक्र्सवादी विचारको छाप उनमा परेको थियो । त्यही विचारको आलोकमा उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०२५ सालमा उनी गलकोट मा.वि.को विद्यार्थी युनियनको सचिव पदमा निर्वाचित भएका थिए ।
पञ्चायती दमनको त्यस अवधिमा गलकोटमा भएको वाम राजनीतिक चहलपहल बागलुङ जिल्ला प्रशासनलाई पचेको थिएन । प्रहरीहरू दमनका निमित उपायहरू खोजी रहेका थिए । होली पूर्णिमाका दिन जब विद्यार्थीले विद्यालय हाताभित्र एक क्रान्तिकारी गीतिनाटक प्रस्तुत गरिरहेका थिए, एक्कासि सशस्त्र प्रहरीको जत्थाले कार्यक्रम स्थलमा आक्रमण गर्यो । चित्रबहादुर केसी भागेर जोगिए, तर झलनाथ खनाल र ओम गुरुङलगायतका केही शिक्षक विद्यार्थी प्रहरी हिरासतमा परे । पछि अभिभावको अनुरोधमा ओम गुरुङलाई गलकोट बाहिरको विद्यालयमा गई पढ्ने सर्तमा छोडियो । त्यसपछिका दिनहरूमा भित्री रूपमा ओम वाम आन्दोलनको समर्थनमा रहेको र बाहिरी रूपमा अध्ययन अध्यापनमा संलग्न रहेको देखिन्छ । शैक्षिक गतिविधिमा संलग्न भएको अवस्थामा पनि उनले विचारधारालाई मियोका रूपमा ग्रहण गरेको देखिन्छ । उनीसँगै काम गरेका विश्वविद्यालयका एकजना सहकर्मीले उनलाई ‘सदैव प्रतिपक्षको राजनीति गर्ने व्यक्ति’ भनेका छन् । निष्कर्षमा भन्नु पर्दा डा.ओम गुरुङ एक अनुकरणीय पात्र थिए । कामको दौरानमा पुरस्कार र पदवीहरू पाउनु स्वाभाविक हो ।
उनले अनगिन्ती सम्मान पदकहरू र पुरस्कार पाएका छन् । तर उनले कहिल्यै पनि मान पुरस्कार पाउनका निम्ति काम गरेनन् । जुनसुकै क्षेत्रमा कार्यरत रहँदा पनि उनी सदैव निम्छरा र असहाय व्यक्तिको सेवा र भलाइमा लागिरहे । उनमा सादा र सरलपन थियो । जीवनको अन्तिम अवधिसम्म उनी क्रियाशील भई कर्तव्य पथमा डटिरहे । उनको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति भएको छ ।
(रेडिङ विश्व विद्यालय, बेलायतबाट अङ्ग्रेजी विषयमा एम.ए. गर्नु भएका रामराज रेग्मीले माक्र्सवादी विचार सँग सम्बन्धित रचनाहरुमा आफनो प्रतिभा प्रदर्शित गर्नु भएको छ । नेपालको इतिहासः एक माक्र्सवादी दृष्टिकोण, माक्र्सवादी दर्शनः सिद्धान्त र प्रयोग, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, पूर्वीय दर्शनमा भौतिकवाद, मानिसको समाजका विभिन्न जुगहरु, चीनका दुई कथा (अनुवाद), मानव समाजको रुपान्तरण, राष्ट्रिय पहिचानका मूल मुद्दाहरु जस्ता कृति प्रकाशित छन् । कालिका बहुमुखी क्याम्पस, पोखराका सिनेटर रहेका रेग्मीको राजनीतिक संलग्नता नेकपा (माओवादी केन्द्र)सँग रहेको र प्रगतिशील लेखक सङ्घ गण्डकी, माक्र्सवादी ज्ञान केन्द्र, नेपाल, गण्डकी साहित्य सङ्गम, साहित्य शृङ्खला, पोखरा, आदी संस्थाहरुमा सल्लाकार रहनु भएको छ ।)
जवाफ लेख्नुहोस्