info@bampanththeleft.com

Bampanth The Left

डा. मथुराप्रसाद श्रेष्ठ : बिर्सनै नसकिने केही क्षणहरू

– गाैरी प्रधान

मथुराप्रसाद श्रेष्ठ एक चिकित्सक, जनस्वास्थ्यकर्मी, मानवअधिकारकर्मी, वामपन्थी बुद्धिजीवी र सबैभन्दा ठुलो कुरा महान् शिक्षक हुनुहुन्थ्यो  लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनको मास्टर्स अफ कम्युनिटी हेल्थमा स्वर्णपदक विजेता उहाँले नेपालमा सार्वजनिक स्वास्थ्यशिक्षा र अनुसन्धानको जग बसाल्नुभएको थियो । उहाँलाई नेपालमा जनस्वास्थ्य क्षेत्रका पिताका रूपमा लिइन्छ । श्रेष्ठले आफ्नो जीवनलाई मूलतः वर्गीय विभाजनले प्रताडित अन्यायपूर्ण पुरानो समाजलाई किन परिवर्तन गर्न आवश्यक छ र समानता एवम् मानवतासहितको समाज किन र कसरी विकास हुन्छ भनेर व्याख्या गर्दै उत्पीडित जनताको उत्थानमा र युवा विद्रोही हृदयहरूलाई शिक्षित गर्नमा समर्पित गर्नुभयो । हरेक क्षेत्रमा उहाँ आमूल परिवर्तनकाे पक्षमा उभिनुभयो, चाहे त्यो निरङ्कुश पञ्चायतको विरुद्धमा होस् या त राजतन्त्रको विरुद्धमा नै किन नहोस् ।

श्रेष्ठकै अगुवाइमा वि.सं. २०४६ सालको पहिलो ऐतिहासिक जनआन्दोलनमा नेपालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूले घाइतेहरूको रक्षाका साथै जनताको स्वास्थ्यको अधिकार र सम्मानको सुनिश्चितताका लागि दमनकारी राज्यविरुद्ध अभूतपूर्व विरोध र सङ्घर्ष गरेका थिए । प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक भिन्सेन्ट एडम्सको पुस्तक डक्टर्स फर डेमोक्रेसीमा पनि यस आन्दोलनका ऐतिहासिक क्षणहरूलाई समेटिएको छ । उहाँ त्यस समयको नागरिक समाज आन्दोलनको एक अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो र आन्दोलनको सफलतापछि नागरिक समाजको प्रतिनिधित्व गर्दै स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।

उहाँ २०६२ सालको दोस्रो ऐतिहासिक जनआन्दोलनमा पनि उत्तिकै सक्रिय हुनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको सामुदायिक चिकित्सा तथा परिवार स्वास्थ्य विभागका उहाँ प्रमुख हुनुहुन्थ्यो । श्रेष्ठ फोरम फर ह्युमन राइट्स, नेपालका अध्यक्ष, फिजिसियन फर सोसियल रेस्पोन्सिबिलिटी नेपालका अध्यक्ष, रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरका अध्यक्ष, नेपाल पब्लिक हेल्थ फाउन्डेसनका सल्लाहकार र मूल्याङ्कन मासिकका अध्यक्षसमेत हुनुहुथ्यो । उहाँले दक्षिण पूर्वी एसिया क्षेत्रको स्वास्थ्य अनुसन्धानका लागि विश्वस्वास्थ्य सङ्गठनको सल्लाहकार परिषद्को सदस्यका रूपमा काम गर्नुभएको थियो । यसरी नेपालको चिकित्सा शिक्षा, जनस्वास्थ्य, मानवअधिकार, वामपन्थी आन्दोलनलगायत बहुआयामिक क्षेत्रमा योगदान पु¥याउनु भएका श्रेष्ठ २०७८ फागुन ८ गते दिवङ्गत हुनुभयो । उहाँका जीवनमूल्य र योगदानहरूले भावीपुस्तालाई मार्गदर्शन गर्न र उहाँप्रति श्रदाञ्जली अर्पण गर्न हामीले उहाँसँग लामो सङ्गतमा रहनुभएका गौरी प्रधानको स्मृति आलेख यहाँ प्रस्तुत गरेका छौँ – प्रधान सम्पादक ।

बिहान सबेरै फोनको घन्टी बज्यो । सुम्निमाले फोन उठाउनुभयो । रुँदै फोन मलाई दिनुभयो । उताबाट डा. प्रणयले गम्भीर भएर भन्नुभयो, “बुवा बित्नु भयो । हि इज नो मोर नाउ ।” अनायासै मेरो बोली निस्क्यो, “ओह नो, धैर्य गर्नोस् । जे नहुनु पर्ने हो, भैसक्यो । हामी तुरुन्त हस्पिटल आउँदैछौ । न आत्तिनोस् ।” हामी तत्कालै तैयार भएर माइतीघर मण्डलास्थित अन्नपूर्ण हस्पिटल पुग्यौँ । आइसियुमा गएर उहाँको पार्थिव शरीरमा न्यानो अभिवादन ग¥यौँ । उहाँ चिरनिद्रामा हुनुहुन्थ्यो । सायद जीवनमा पहिलोपटक उहाँले मेरो अभिवादन फर्काउनु भएन । गहभरी आँसु बोकेर हामी आइसियुबाट
बाहिर आयौँ । बिहान चिसै थियो । मैले शोकसन्तप्त परिवारको तर्फबाट डा. मथुराप्रसाद श्रेष्ठको निधनको खबर ब्रेक गर्दै थिएँ । हात कामिरहेका थिए । के लेख्ने, के नलेख्ने गाह्रो भैराखेको थियो । छलफलअनुसार डा. प्रणयका भाइबहिनीहरू जो विदेशबाट आउँदै थिए, उनीहरूको अनुरोधमा एकदिन प्रतीक्षा गर्ने निधो भयो । सोहीअनुसार डा. श्रेष्ठको पार्थिव शरीरलाई शिक्षण अस्पतालको शवचिस्यान गृहमा राख्ने निर्णयमा पुग्यौँ । सोहीअनुसार डा. शङ्कर राईसँग मेरो कुरा भयो । सो कार्यको उहाँले जिम्मा लिनु भो । डा. भरत प्रधान बिहानै शव गृहको अगाडि हामीलाई कुरिरहनु भएको थियो ।

कार्यक्रमअनुसार भोलिपल्ट बिहान शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरू, विशिष्ट राजनीतिककर्मीहरू, नागरिक अभियन्ता र मानवअधिकार रक्षकहरूले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । त्यसको लगत्तै उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा पु¥याएर राष्ट्रिय झण्डा ओढाई नेपाल सरकारको तर्फबाट सम्मान व्यक्त गरियो । त्यसपछि परम्पराअनुसार उहाँको दागबत्ती दिने काम सम्पन्न भयो । वि.सं. १९९१ मा जन्मिनु भएका डा. मथुराप्रसाद श्रेष्ठ जीवनको ८८ वसन्त पारगरी वि.सं. २०७९ फागुन ८ गते दिवङ्गत हुनुभयो । निधन हुनु दुईदिन अगाडिसम्म पनि उहाँको मस्तिष्क दुरुस्त रहेको कुरो उहाँले फेसबुकमा लेखिरहेका सन्देशहरूका आधारमा पनि भन्न सकिन्छ । कलेज जीवनदेखि नै सम्पर्कमा रहनुभएका डा. श्रेष्ठ म र मजस्ता धेरै युवाहरूका निम्ति प्रेरणाको स्रोत हुनुहुन्थ्यो । मैले उहाँबाट जीवनमा धेरै कुराहरू सिकेको र बुझेको छु । उहाँ अन्तरिम सरकारका मन्त्री, जनस्वास्थ्य क्षेत्रका पिता तथा वरिष्ठ जनस्वास्थ्यविद्, वरिष्ठ मानवअधिकार तथा नागरिक अभियन्ता हुनुहुन्थ्यो । उहाँसँगको सङ्गत
सहकार्यमा मैले कदापि बिर्सिन नसक्ने केही घटनाहरू सम्झिँदै, तिनैको साथमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

१. चौतरा, सिन्धुपाल्चोक
कुरा २०४७ सालको हो । देशमा शक्तिशाली अन्तरिम सरकार थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र उहाँ स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सार्कस्तरको एक स्वास्थ्य प्रशिक्षण केन्द्रको समुद्घाटनको कार्यक्रम थियो । उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम समापनपछि उहाँसहित हामीहरू डा. भरत प्रधान, डा. अर्जुन कार्की, डा. महेश मास्के, डा. शरद वन्तलगायतका साथीहरू खाना खान र बास बस्न पुरानोबजारस्थित मेरो घरमा आयौँ । तर तत्कालीन प्रजिअले उहाँको निम्ति सरकारी अतिथि गृहमा सम्पूर्ण ब्यवस्था गर्नुभएको रहेछ ।

उहाँले “धन्यवाद छ, दुःख गर्न पर्दैन, हामी सबै गौरी प्रधानजीको घरमा बस्छौँ” भन्नुभयो । मन्त्री बसेको घरमा झण्डा, सुरक्षाकर्मी, खाना र बसोबासको राम्रो ब्यवस्था हुनुपर्ने कुराले प्रजिअ चिन्तित हुनुहुन्थ्यो । उहाँले प्रजिअलाई म्झाउँदै भन्नु भो, “सिडिओ साब, हामी जनताका मान्छे हौँ । केही धन्दा लिनुपर्दैन । हामी सबै सुरक्षित नै हुन्छौँ । तपाईँ आनन्दसाथ फर्किनोस् ।” उहाँको त्यस कुराले उहाँमाथिको मेरो श्रद्धा झन उच्च भयो ।

२. बाँसबारी, काठमाडौ
वि. सं. २०४८, वैशाख । वैशाख २९ को निर्वाचन नजिकिँदै थियो । त्यतिञ्जेल अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र स्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । बानेश्वरक्षेत्र नम्बर एकमा प्रधानमन्त्री भट्टराईका प्रत्यासीमा नेकपा (एमाले) का उदीयमान नेता मदनकुमार भण्डारी उठ्ने चर्चा भैरहेको थियो । आमजनमानसमा उहाँहरू दुवै अब आउने प्रतिनिधिसभामा निर्वाचित हुनुपर्ने व्यक्तित्वको रूपमा अपेक्षा गरिएको थियो । सोही आशयलाई बुझेर डा. श्रेष्ठले प्रधानमन्त्री भट्टराई र नेकपा (एमाले का महासचिव भण्डारीलाई डिनरको निम्ति आफ्नो निवासमा निम्तो गरेर छलफल गर्नुभएको थियो ।

भोलिपल्ट बिहानको एकभेटमा अलि निराश हुँदै डा. श्रेष्ठले मलाई भन्नुभयो, “मदन भण्डारीले कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलाई नेपाली काङ्ग्रेस र नेकपा (एमाले को तर्फबाट सर्वसम्मत गरौँ भनेर राख्नुभएको प्रस्ताव भट्टराईले मान्नुभएन । तर अब उहाँ हार्न सक्नुहुन्छ । उहाँले राजनीतिको कुरै बुझ्नसक्नु भएन ।” अपसोच, उहाँ निर्वाचनमा मदन भण्डारीसँग पराजित हुनु भो र देशको राजनीतिक कोर्स पनि तलमाथि हुनगयो । डा. मथुराको सल्लाह त्यसबेला नेता भट्टराईले मान्नुभएको भए, सायद देशको राजनीतिको कोर्स नै अर्कै हुनसक्थ्यो जस्तो लाग्दछ ।

३. होलेरी, रोल्पा
कुरा वि.सं. २०५८ असार ३१ गतेको हो । माओवादी जनयुद्धको क्रममा असार २८ गते रोल्पाको होलेरीमा एकाबिहानै आक्रमण गरी ७२ जना प्रहरी र अन्य सरकारी कर्मचारीको अपहरण गरेको विषय थियो । स्व. पद्मरत्न तुलाधरको काठमाडौँ, लाजिम्पाटस्थित घरमा सो घटनाको सन्दर्भमा सरोकार व्यक्त गर्दै अपहरित प्रहरी तथा सरकारी कर्मचारीको विनासर्त तत्कालै रिहाइको माग मानवअधिकार समुदायले गरेको थियो । साथै घटनास्थलको
अध्ययन गरी अपहरित प्रहरी एवम् सरकारी कर्मचारीहरूलाई फिर्ता ल्याउने उद्देश्यले हामी दाङ, रोल्पाको होलेरी र त्यसपछि नुवागाउँ, जहाँ अपहरित प्रहरीहरू बन्दी बनाएर राखेको भनिन्थ्यो, त्यहीँ पुग्यौँ । त्यहाँ पुग्नुअगाडि शाही सेना र माओवादी जनसेनाहरूसँग सम्पर्क समन्वय मिलाएका थियाँै । सत्यतथ्य छानबिन र अपहरित प्रहरीहरूलाई फिर्ता ल्याउने उद्देश्यले गएको सो टोलीको अगुवा डा. श्रेष्ठ हुनुहुन्थ्यो । सो टोलीमा मलगायत सुदीप पाठक, मुक्ति प्रधान, कपिल श्रेष्ठ, डा. भोगेन्द्र शर्मा आदि थियौँ । भोलिपल्ट सत्यतथ्य सङ्कलनपश्चात् नुवागाउँबाट फर्किने क्रममा होलेरी पुग्न ठाडो उकालो चढ्नुपथ्र्यो । हामीलाई भने बुढेसकालका डा. श्रेष्ठको चिन्ता भैरहन्थ्यो । तर दमको बिमारी भएता पनि ठाडो उकालोमा पनि अक्सिजन इन्हेलर लिएर मज्जाले उकालो पार लाउनु भो । बरु हामीलाई “के कस्तो छ, झोला गरुङ्गो भए म पनि आलोपालो गर्न सक्छु” भन्नुहुन्थ्यो । गाउँको गोठजस्तो घरमा सुत्यौँ । गाउँमा जे उपलब्ध छ त्यही खायौँ । लामो र कठिन बाटो हिँड्यौँ । तर, हाँसीखुसी मज्जाले हामी युवाहरूलाई हौसला दिइरहनु हुन्थ्यो । यो घटनापछि उहाँमाथिको मेरो आस्था झन बढ्यो ।

४. प्यारिस, फ्रान्स
वि. सं. २०५८ । बेल्जियमको राजधानी ब्रसेल्समा अतिकमविकसित मुकुकहरूको तेस्रो विश्वसम्मेलनको नागरिक मञ्चको आयोजनामा हामी पनि सहभागी थियौँ । साथमा डा. मथुराप्रसाद श्रेष्ठ पनि हुनुहुन्थ्यो । कार्यक्रमको समापनपछि हामीले फ्रान्सको राजधानी प्यारिस घुम्न जाने निधो ग¥यौँं । प्यारिसमा मेरो साथी क्रिस्टिनले हामीलाई गाइडको काम गरेर ठुलो गुण लगाए । स्वादिष्ट फ्रेन्च खानाको पनि तिनैले आयोजना गरे । हामीले सो दौरान विभिन्न ऐतिहासिक म्युजियमहरूको अध्ययन भ्रमण ग¥यौँ । उहाँले इतिहासका महत्वपूर्ण कालखण्डहरू कोट्याउँदै फ्रान्सेली राज्यक्रान्ति, नेपोलियन बोनापार्टको उदय र पतनका साथै संसारकै पहिलो कम्युनिस्ट पार्टीद्वारा सञ्चालित कम्युनको उदय र पतनबारे जुन व्याख्या र विश्लेषण गर्नुभयो त्यसबाट ममात्रै होइन मेरो साथी क्रिस्टिन पनि छक्क परे । आपूmले हासिल गरेको विद्या सामुदायिक स्वास्थ्य वा जनस्वास्थ्यको विषयमा त उहाँ अब्बल नै हुनुहुन्थ्यो भन्ने कुरा थाहा थियो । तर इतिहास, दर्शनशास्त्र, राजनीतिशास्त्र, मानवशास्त्र र समाजशास्त्रको क्षेत्रमा उहाँको गहन अध्ययन र विश्लेषण सुन्दा छ्क्क नपर्ने मानिस बिरलै होलान् । सायद त्यो अर्को घटना थियो, जसले उहाँमाथिको मेरो आस्था र सम्मानलाई अझै माथि उठायो ।

५. पोखरा, कास्की
कुरा वि. सं. २०६१ को हो । पोखरामा गैसस महासङ्घको राष्ट्रिय सम्मेलन तथा बृहत्तर नागरिक मञ्चको आयोजना हुँदैथियो । म त्यतिञ्जेल महासङ्घको अध्यक्ष थिएँ । कार्यक्रममा देशभरका सयौँ प्रतिनिधिहरूको बाक्लो जमघट थियो । उहाँको साथमा पूर्वसभामुख तथा अगुवा नागरिक अभियन्ता दमननाथ ढुङ्गाना पनि हुनुहुन्थ्यो । विशिष्ट वक्ताको रूपमा उहाँहरू दुवैले नागरिक अभियानको नयाँ यात्रा र त्यसको चुनौतीबारे बोल्नुभएको थियो । जब सम्मेलन सकियो, म पत्रकार सम्मेलनमा सम्बोधन गर्दै थिएँ । दिनको चार बजिसकेको थियो । काठमाडौँ जाने हवाईजहाज उड्ने बेला भैसकेको जानकारी आयो । म लगत्तै ब्यागस्याग मिलाउन हस्याङफस्स्याङ गर्दै होटेलमा पुगेँ । तर मेरो कोठामा पुगेर सारा लुगाफाटो, बाथरुमका सामानहरू सबै बन्दोबस्तका साथ ब्यागमा मिलाएर डा. श्रेष्ठले तैयार राख्नुभएको रहेछ । “डा. साब, किन यस्तो दुःख गर्नुभएको ? म आइहाल्थेँ नि त” मैले भनेँ । “केही छैन, बरु छिटो एअरपोर्ट हिडौँ” भन्नुभयो । ओहो, त्यत्रो ठुलो मान्छे ! कस्तो सामान्य व्यबहार । म त छक्कै परेँ । अनि उहाँप्रति मेरो आस्था
र सम्मान झन्झन् थपिँदै गयो ।

६. त्रि–चन्द्र क्याम्पस, काठमाडौ
कुरा डिसेम्बर १०, १९८८ अर्थात २०४६ साल फागुन ७ गतेको हो । फागुन ७ गते संयुक्त जनआन्दोलनको तैयारी सुरु भैसकेको थियो । सोही सन्दर्भमा त्रिचन्द्र क्याम्पसको प्राङ्गणमा बृहत् मानवअधिकार भेलाको आयोजना गरिएको थियो । वक्ताहरूमा श्रद्धेय व्यक्तित्वहरू डा. मथुराप्रसाद श्रेष्ठ, पद्मरत्न तुलाधर, लक्ष्मण अर्याल, रामानन्दप्रसाद सिंह र प्रेमबहादुर शाक्य हुनुहुन्थ्यो । मित्र सुशील प्याकु¥याल कार्यक्रम सञ्चालक र म युवाआन्दोलनको तर्फबाट प्रतिनिधि वक्ता थिएँ । सहभागीहरू भन्थे, त्यसदिनको मेरो भाषण “मान्छेलाई जुरुकजुरुक उचाल्ने खाले थियो” रे । कार्यक्रमको लगत्तै डा. श्रेष्ठले पद्मरत्न र अन्यलाई भन्नुभयो, “अब गौरीलाई कसरी जोगाउने हो, सबैले सोचौँ । ऊ तुरुन्तै गिरफ्तारीमा पर्नसक्छ ।” त्यसको लगत्तै म भूमिगत भएँ । पछि सबै मिलेर मलाई भारत र अन्तर्राष्ट्रिय क्षेत्रमा “प्रो–डेमोक्रेसी मुभमेन्ट” अभियानको पक्षमा जनमत निर्माण गर्न पठाइयो । डा. श्रेष्ठ “के थाहा, गौरीलाई आजै पनि गिरफ्तार गर्नसक्छ । त्यसैले, सबै मिलेर जोगाऔँ” भन्नुहुन्थ्यो फेरिफेरि पनि ।

७. खलङ्गा, रुकुम
समय पुस २०६१ । हाम्रो विवाह भएको एक महिना पनि पुगेको थिएन । रुकुम, खलङ्गामा एक बृहत् नागरिकसभाको आयोजना गर्ने कुरो आयो । चारैतिर माओवादी जनयुद्ध र सरकारी दमनको जगजगी थियो । हामीहरू देशमा छिटोभन्दा छिटो शान्तिवार्तामार्फत शान्तिनिर्माण होस् भन्ने लक्ष्य लिएर अगाडि बढ्दै थियौंँ । नागरिक अगुवाहरू पद्मरत्न तुलाधर र दमननाथ ढुङ्गाना रातोदिन त्यसैमा लागिरहनुभएको थियो । हामीहरू उहाँहरूका काममा सघाइराख्थ्यौँ । गैसस महासङ्घ नेपाल, मानवअधिकार एलाइन्सलगायत विभिन्न नागरिक सङ्गठनहरूको संयुक्त आह्वानमा आयोजित उक्त बृहत् नागरि कसभामा श्रद्धेय डा. मथुराप्रसाद श्रेष्ठ तथा पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अगाडि लगाएर सुम्निमा र म पनि रुकुम खलङ्गा पुगेका थियौँ । सभामा हामी सबैले सम्बोधन ग¥यौँ । सभामा हजारौँ स्थानीय जनता गाउँगाउँबाट उर्लेर आएका थिए । कैयन् विस्थापित र मानवअधिकार उल्लङ्घनमा परेका नागरिकहरू गुनासो पोख्न हामीलाई भेट्न आएका थिए । रातिको मौसम असाध्यै चिसो थियो । डा. मथुरा र दमन दाइ एउटा कोठामा अनि सुम्निमा र म अर्को कोठामा थियौँ । रातिको खाना खाएपश्चात् हामीले केही क्षण दिउँसो सम्पन्न उक्त नागरिकसभाको समीक्षा ग¥यौँ । राति सुत्ने तरखरमा हुँदा डा. साहेब एउटा पुरानो चाइनिज रग लिएर हाम्रो कोठामा आउनु भो र भन्नु भो “राति धेरै चिसो छ, सुम्निमालाई जाडो होला, यो थप रग ओड ।” हामीले लिन मानेनौ, “तपार्इँहरूलाई नै चाहिन्छ” भन्यौँ । तर “हामीलाई पुग्छ” भन्दै कोठामा छोडेर जानु भो । सुम्निमाले भन्नु भो, “हि इज फादर्ली लाइक पर्सन फर अस् ।” त्यसपछि त उहाँ हाम्रो लागि अभिभावक झैँ लाग्नुभयो ।

८. प्रगतिमार्ग–२, अनामनगर
माघ २०६१ । राजा ज्ञानेन्द्रको निरङ्ककुश शासनको चरमोत्कर्ष बढ्दै थियो । सुम्निमा र म जेनेभाबाट फर्केका थियौँ । मलाई त्रिभुवन विमानस्थलको आगमन कक्षबाटै हिरासतमा लिइएको थियो । हामीलाई नेपाल फर्किनासाथ गिरफ्तार गर्नेछ भन्ने कुरा थाहा भैसकेको थियो । हामी सो को निम्ति मानसिक रूपमा तैयार नै भएर आएका थियौँ । त्यसवेला मेरो रिहाइको पक्षमा एम्नेस्टी इन्टरनेसनलले आस्थाको बन्दीको रूपमा अन्तर्रास्ट्रिय अभियान नै चलाएको थियो । १७ दिनको हिरासतपछि सर्वोच्च अदालतका तत्कालीन माननीय न्यायाधीश अनुपराज शर्मा, जो पछाडि प्रधानन्यायधीश र राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षसमेत हुनुभयो, उहाँको इजलासबाट मलाई तत्कालै अदालत परिसरबाटै रिहाइ गर्न आदेश भयो । यसअघिको बहस पैरवीमा दमननाथ ढुङ्गाना, सुवास नेम्वाङ, विश्वकान्त मैनाली, शेरबहादुर, अग्नि खरेल, दिनेश त्रिपाठीलगायत विभिन्न वरिष्ठ अधिवक्ताहरूले मेरो गिरफ्तारी गैरकानुनी भएको र तत्कालै रिहाइ हुनुपर्ने पैरवी गर्नुभएको थियो । अन्तिममा, सर्वोच्चको
निर्णयलाई शिरोधार्य गर्दै हामी साथीहरूसँगै बाहिर निस्क्यौँ । तर अपसोच, सर्वोच्च अदालतको प्राङ्गणबाट माइतीघर मण्डला नपुग्दै मलाई पुनः गिरफ्तार गरियो । मैले प्रहरी निरीक्षकलाई प्रश्न गरेँ , “के तपार्इँहरू सर्वोच्च अदालतको निर्णय मान्नुहुन्न ? उनी “को हो त्यो न्यायाधीश ?” भन्दै कड्के । तर पछि नाटकीय हिसाबबाट गाडीमा वाकीटकी बज्यो, “उहाँलाई घर पु¥याइदिनू !” त्यतिञ्जेल डा. मथुरा स्वयम् पनि प्रहरी हिरासतमा हुनुहुन्थ्यो । भोलिपल्ट बिहान सबेरै, उहाँले एकजना भरपर्दो प्रहरीमार्फत वास्तविकता के हो बुझ्न मेरो घरमा पठाउनुभएको थियो । साथमा हिम्मत नहार्न एक सानो पत्र पनि थियो ।

९. नगरकोट, २०६३ साल
देशमा दिगो शान्तिबहाली गर्न नागरिक समाजको तर्फबाट “शान्तिको निम्ति सहकार्य” नामक संस्था क्रियाशील थियो । सोका तत्कालीन अध्यक्ष लक्ष्मणप्रसाद अर्याल हुनुहुन्थ्यो भने महासचिव म थिएँ । सहाना प्रधान, दमननाथ ढुङ्गाना , पद्मरत्न तुलाधर, डा. मथुराप्रसाद श्रेष्ठ र डा. वीरेन्द्रकुमार मिश्रालगायतका व्यक्तित्वहरू वरिष्ठ सल्लाहकार हुनुहुन्थ्यो । नगरकोटमा सम्पन्न एक ऐतिहासिक अन्तत्र्रिmया कार्यक्रममा उहाँहरू सबैको उपस्थिति थियो । कार्यक्रममा रातिको खानापश्चात् उहाँले हामीहरूलाई पद्मरत्न बस्नुभएको कोठामा बोलाउनु भो र भन्नुभयो, “देशमा आएको गणतन्त्र दिगो हुन गाह्रो छ ।

देशीविदेशी चलखेल बढिरहेको छ । राष्ट्रपतिमा कि तपाइँर्, कि त दमननाथ ढुङ्गानाजस्तो दरो व्यक्ति हुनुपर्छ ।” मैले पनि सो कुरामा सही थापेँ । तर पद्मरत्न तुलाधरले भन्नुभो, “दमनजी र म त विस्तृत शान्तिवार्तालाई टुङ्गो लगाउने दिशामा लाग्नुपर्दछ । राष्ट्रपति त तपाईँजस्तो उच्चछवि भएको व्यक्तित्व पो हुनुपर्छ ।” तर उहाँले सो कुरा ठाडै अस्वीकार गर्नुभयो र भन्नुभयो, “त्यसो भए साहना प्रधानलाई बनाउनु उपयुक्त हुन्छ ।” राष्ट्राध्यक्षजस्तो देशको सर्वोच्च पद अस्वीकार गर्ने श्रद्धेय पद्मरत्न तुलाधर र डा. मथुराप्रसाद श्रेष्ठजस्ता नेताहरूलाई देशले गुमाउनुप¥यो । अपसोच, कुनै पनि सरकारले उहाँहरूको योगदानको सही र उचित मूल्याङ्कन गर्न नसकेकोमा साह्रै दुःख पनि लाग्छ ।

१०.काठमाडौँ मोडेल अस्पताल, वागबजार
असार २, २०६३ । बालुवाटारमा पद्मरत्न तुलाधर र दमननाथ ढुङ्गानाको पहलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सात दलका नेता र माओवादी जनयुद्धका नायक प्रचण्ड र डा. बाबुरामभट्टराईलगायतका नेताहरूको औपचारिक शान्तिवार्ता चलिरहेको थियो । यता सुम्निमालाई सुत्केरी ब्यथाले च्याप्न थालेपछि काठमाडौँ मोडेल अस्पतालमा भर्ना गरिएको थियो । राति १० बजेतिर छोरानानीको जन्म भयो । उक्त टोलीको नेतृत्व डा. स्वराज श्रेष्ठ तथा डा. अरुणा कार्कीले गर्नुभएको थियो । डा. भरत प्रधान, डा. सरोज धिताललगायत अन्य डाक्टरहरू पनि हुनुहुन्थ्यो । डा. मथुरा पटकपटक फोन गरेर सुम्निमाको अवस्थाबारे सोधिरहनुहुन्थ्यो । उता बालुवाटारको सफल वार्तापछि पद्मरत्न तुलाधर पनि भर्खरै जन्मेको आफ्नो नाति र सुम्निमालाई हेर्न अस्पताल आउनुभएको थियो । सबैले उहाँलाई वार्ताको सफलता र नवजात नातिको निम्ति बधाई व्यक्त गरे । वार्ताबाट फर्केकोले होला सबैले नातिको नाम वार्ता राख्नुपर्छ भने । मैले भने आज शिखर–संवाद सफल भएको दिन हो, त्यसैले उनको नाम पनि शिखर–संवाद राख्ने कुरो गरेँ । खुसीले सबैले ताली बजाए । डा. मथुरा र उहाँकी पत्नी डा. इन्दिरा श्रेष्ठले सो कुरा थाहा पाएपछि राति नै फोन गरेर बधाई दिनुभयो । भोलिपल्ट घरमै आएर हामीलाई पुनःबधाई र संवादलाई आशीर्वाद दिनुभयो । हामी असाध्यै खुसी भयौँ । त्यसदिनदेखि डा. मथुरा र डा. इन्दिराले छोरा शिखर संवादसहित हामीलाई सधैँ सँगै बोलाउनुहुन्थ्यो । छोराको पहिलो नाम शिखर भएपनि उहाँंले सधैँ संवाद भनेर बोलाउनुहुन्थ्यो ।

हामी पनि उनलाई घरमा शिखर नभनी संवाद नै भन्छौँ । डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको आज तेह्रौं दिन हो । उहाँले छोराछोरीहरूलाई परम्परागत किरिया नगर्ने इच्छा व्यक्त गर्नु भएकोले सायद त्यसो नगरेको पनि हुनसक्दछ । उहाँले आफ्नो दिवङ्गत पत्नीको श्रद्धाञ्जली पनि वृक्षारोपण गरेर मनाउनुभएको थियो । सायद उहाँको परिवारले पनि श्रद्धाञ्जलीको निम्ति उहाँको इच्छाअनुसार सम्मान गर्ने नै छ । हामी नागरिक समाज, मानवअधिकार रक्षकहरू तथा जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूबाट पनि उहाँको सम्मान तथा श्रद्धाञ्जलीको निम्ति विशेष पहल गर्न अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । यसबारे थप छलफल तथा अन्तत्र्रिmया गर्ने नै छौँ । उहाँसँगको सङ्गत र सहकार्यका अनेकन् अविस्मरणीय सम्झनाहरू छन् । यसबारे अवसर मिलेमा पस्किँदै जाने छु । आजलाई यति नै । भावपूर्ण श्रद्धाञ्जली डा. साहेब !

(फागुन २०, २०७९, काठमाडौ)

(गौरी प्रधान नेपालका एक प्रख्यात मानवअधिकार रक्षक तथा अभियन्ता हुनुहुन्छ । प्रधान राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य हुनुहुन्छ । उहाँले सन् १९८७ मा स्थापना भएको बालअधिकार सङ्गठन – चाइल्ड वर्कर्स इन नेपाल (सिविन–नेपाल) लगायत विभिन्न राष्ट्रिय संस्थाहरूको नेतृत्व गरिसक्नुभएको छ । नेपालमा बालअधिकार र मानवअधिकारको क्षेत्रमा काम गरेवापत उहाँलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट विभूषित गरिएको छ । हाल उहाँ पब्लिक हेल्थ कन्सर्न ट्रस्ट (फेक्ट–नेपाल) को अध्यक्ष हुनुहुन्छ ।)

Author

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari