भूराजनीतिबारेका सन्दर्भसूची : एक अध्ययन

“अन्तर्राष्ट्रिय राजनीतिका अनुसन्धानकर्तामध्ये धेरैको छनोटमा पर्ने विषय हो – भूराजनीति । भूराजनीतिक विषयलाई प्रथम र दोस्रो विश्वयुद्धको बिचको कालखण्ड सन् १९१८ देखि १९३८ मा युरोपभरि प्रचारप्रसार भएको र त्यसपछि विश्वभरि नै चर्चित र विदेश मामिलामा सान्दर्भिक हुने गरेको छ । यति प्राथमिकताको विषय भईकन पनि यसको सन्दर्भसूची अध्ययन भने बिरलै गरेको पाइन्छ । यसको सन्दर्भसूचीको अध्ययनबाट विभिन्न समयमा यस विषयमा प्रस्तुत गरिएका झुकावबारे विस्तृत विश्लेषण गर्न सकिन्छ । सोही महत्वलाई ध्यानमा राख्दै गरिएको यस अध्ययनमा सन् २०१६ देखि २०२२ सम्म भूराजनीतिबारे प्रकाशन गरिएका अनुसन्धानमूलक कार्यहरूको झुकाव कता छ र यी अध्ययन कुन दिशातर्फ निर्देशित छन् भन्ने निचोड निकालिएको छ । समयसीमा र स्रोतको हेक्का राख्दै यस अध्ययनमा केवल अङ्ग्रेजी भाषामा प्रकाशित सामग्रीमात्र समावेश गरिएको छ ।”
मुख्य शब्दावली : सन्दर्भसूची अध्ययन, भूराजनीति, डाइमेन्सन्स्
१. परिचय
अन्तर्राष्ट्रिय राजनीतिमा भौगोलिक अवस्थिति र स्वार्थलाई केन्द्रमा राखेर अध्ययन गरिने शास्त्र नै भूराजनीति हो । त्यसैले भूराजनीतिले समेट्ने भूगोल स्थूल नभई मानवीय हो । स्थान, क्षेत्र र सञ्जाल यसका आयामहरू हुन् । मानवीय संरचनाहरू र एजेन्सीहरूबिचको अन्तर्क्रिया नै भूराजनीति हो । भूगोल, ऊर्जा, अर्थतन्त्र र सुरक्षालाई भूराजनीतिका तत्वका रूपका ग्रे (१९७७) ले व्याख्या गरेका छन् । भूराजनीतिलाई मूलतः चार प्रकारमा बाँढ्ने गरिन्छ : भौगोलिक (राजनीतिक सिमानासँग सम्बन्धित), सञ्जाल (भूमण्डलीकरण, धार्मिक आतङ्कवाद, साइबरयुद्ध र साइबर गतिविधि आदिसँग सम्बन्धित), वातावरणीय (जलवायु परिवर्तनसँग सम्बन्धित), र टकरावको भूराजनीति (शान्ति र अमन नभएको अवस्थासँग सम्बन्धित) । कतिपय लेखकले भने भूराजनीतिलाई शास्त्रीय, आलोचनात्मक र नारीवादी गरी तीन भागमा वर्गीकरण गरेका छन् जसमा माथि उल्लिखित प्रकारहरू अवयवका रूपमा आउँछन् (फ्लिन्ट, २०२१) । शास्त्रीय भूराजनीतिमा भूगोललाई निश्चित देशको नियतिका रूपमा लिइन्छ र सम्बन्धित देशले भूराजनीतिक खेल बदल्नसक्ने क्षमताबारे वास्ता गरिँदैन (फेटवेइस, २०१५) ।
आलोचनात्मक भूराजनीतिमा विश्वराजनीतिमा भूगोलको भूमिका र यसका प्रभावबारे अध्ययन गरिन्छ (कुस, २०१७)। नारीवादी भूराजनीतिलाई आलोचनात्मक भूराजनीतिको शाखाको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यसले दुईवटा पद्धतिको विकास गरेको छ । पहिलो, भूराजनीतिक शक्तिहरूलाई केलाई त्यसले आमजनताको घरायसी जीवनमा पार्ने प्रभावबारे अध्ययन गरिन्छ । दोस्रो, भूराजनीतिक सम्बन्धलाई चुनौती दिने व्यक्ति वा समुदायलाई केन्द्रमा राखिन्छ (मसारो र विलियमस, २०१३) ।यसरी भूराजनीतिक खोज अध्ययनमा विविध आयामहरूको विश्लेषण गरिँदै आएको पाइन्छ । सन्दर्भसूची विश्लेषणबाट विषयवस्तुको विकासको प्रवृत्ति हेर्न, उक्त विषयवस्तुको हालको अनुसन्धान उपलब्धि देखाउन, साथै भविष्यमा अनुसन्धानका विषयहरू थाहा पाउन मद्दत मिल्दछ (डोनथु र अरू, २०१३) । भूराजनीतिबारे प्रशस्त अध्ययन सामग्रीहरू प्रकाशन भएका भए पनि यसको सन्दर्भसामग्री अध्ययन भने हालसम्म गरेको पाइँदैन । रुसको भूराजनीतिक अध्ययनबारे स्कुपस डाटाबेस र इ–लाइब्रेरी डाटाबेसबाट एक विषयवस्तु विश्लेषण अध्ययन भएको पाइए तापनि त्यो मूलतः सन्दर्भसामग्री अध्ययन थिएन (पोटोसकाया र स्लिनिचाया, २०१९) ।
प्रस्तुत लेखको उद्देश्य सन् २०१६ देखि २०२२ सम्म प्रकाशित भूराजनीतिबारेका शोधलेखहरू सङ्कलन गरी तिनका बिब्लियोग्राफिक तथ्यहरूलाई चित्रात्मक रूपमा विश्लेषण गर्नु हो । समय र स्रोतको सीमा ध्यानमा राख्दै यस अध्ययनमा अङ्ग्रेजी भाषामा प्रकाशित लेखहरूको मात्रै विश्लेषण गरिएको छ । भूराजनीतिको अध्ययन अनुसन्धानमा रुचि राख्नेका लागि यो लेख उपयोगी हुनेछ ।
२. स्रोत साधन तथा विधिहरू
३. डाटा स्रोत र खोज विधि
प्रस्तुत अध्ययनका लागि डाइमेन्सनस् डाटाबेसबाट तथ्याङ्क सङ्कलन गरिएको थियो । बिब्लियोग्राफिक डाटाबेसका लागि स्कुपस र वेभ अफ साइन्स डाटाबेसको प्रयोग प्रचलित भएको अवस्थामा डाइमेसन्स् एक नयाँ डाटाबेस हो । यो डाटाबेस स्कुपस र वेभ अफ साइन्सभन्दा बढी विस्तृत भएको अध्ययनले देखाएको छ (सिंह र अरू, २०२१) । यस अध्ययनमा सम्मिलित डाटाको खोज डिसेम्बर २५, २०२२ मा गरिएको थियो । प्रकाशित लेखका शीर्षक र सारांशमा (भूराजनीति र राजनीति शास्त्र) र प्रकाशन वर्ष २०१६ देखि २०२२ सम्मका लेखहरू खोज्दा जम्मा २ हजार ३ सय ८३ वटा लेख
प्रकाशन भएको पाइयो ।
३.१ डाटा सङ्कलन
डाटालाई विब्लियोटेक्स फाइल फरम्याटमा डाउनलोड गरी आर स्टुडियोको विब्लियोमेर्टिक्स् प्याकेजबाट विश्लेषण र चित्राङ्कण गरियो । विब्लियोमेट्रिक्समा विविध वैज्ञानिक नक्साङ्कन विधिबाट पूरै सन्दर्भ सामग्री विश्लेषण र चित्राङ्कण गरिने सुविधा उपलब्ध छ ।
३.२ सन्दर्भसूचीका सूचनाको विश्लेषण
३.२.३ एच सूची अर्थात लेखकहरूको सूची
एच सूचीमा लेखहरूका लेखकहरू र सहलेखकहरूको विश्लेषण गरिन्छ । यसमा लेखकहरूको संलग्नताको विश्लेषण गरिन्छ । लेखकहरूको लेखलाई कतिपटक अरू लेखहरूमा सन्दर्भका रूपमा लिइयो भन्ने पनि विश्लेषण गरिन्छ
३.२.४ जी सूची
जी सूचीमा कुन लेखलाई अधिकतम कतिपटक सन्दर्भस्रोतका रूपमा लिइयो भनेर सङ्ख्या किटान गरिन्छ । यसलाई एच सूचीकै अर्को प्रकारका रूपमा लिइन्छ ।
३.२.५ एम सूची
कुनै लेखकको एम सूची भनेको एच सूचीलाई एनले भाग गरी निकाल्दा आउँने तथ्याङ्क हो, जहाँ एन भनेको लेख प्रकाशन गरिएका वर्षहरूको सङ्ख्या हो ।
४. नतिजा तथा छलफल
चित्र सङ्ख्या–१ मा देखाइएजस्तै भूराजनीति विषयमा वार्षिक रूपमा शोधलेखहरू सन् २०१६ मा २ सय २७ वटा, २०१७ मा २ सय ७६ वटा हुँदै बढ्दो क्रममा प्रकाशन हुँदै सन् २०२१ मा पुग्दा ४ सय ७६ वटामा पुगेको छ । गत सातवर्षमा यो सबैभन्दा उच्चसङ्ख्या हो । हरेक वर्ष भूराजनीतिको अध्ययनमा आधारित प्रकाशनहरू बढिरहेका पाइन्छन्ं । यसको अर्थ हो, पछिल्ला सातवर्षमा भूराजनीतिबारे शोधलेखहरू प्रकाशन हुने दरमा उल्लेख्य वृद्धि आएको छ । सन्दर्भसूची अध्ययनले यस्तो अध्ययन किन बढ्यो वा घट्यो भन्ने विश्लेषण नगरे पनि विश्वपरिवेशलाई नियाल्दा केही आकलन गर्न सकिन्छ । सन्दर्भका रूपमा सन् २०१६ लाई लिऔं । २०१६ ताका विश्वको शक्तिसन्तुलनमा फेरबदल आइरहँदा भूराजनीतिबारे अध्ययन बढ्न थालेको देखिन्छ ।
युरोपका आवश्यकताहरूमा अमेरिकाको उदासीनता, युक्रेनमा रुसको बढ्दो चासो, इस्लामी अतिवादी सैन्यजत्था आईएसआईएसको सक्रियता र चीनको भूराजनीतिक रणनीतिसहितको विश्व आर्थिकसामथ्र्यलाई टाइम्स पत्रिकामा लेखक बे्रमर (२०१६) ले सन् २०१६ का भूराजनीतिक परिवर्तनहरूको रूपमा प्रस्तुत गरेका थिए । त्यस्तै स्पेनी रणनीतिक अध्ययन रिपोर्टमा सन् २०१६ तिर जर्जिया र युक्रेनले नाटोको सदस्यता लिने तयारी गर्दै गरेको तर रुसले आफ्नो प्रभाव जमाउन चाहेको उल्लेख गर्दै रुसले सन् २००८ बाट नै विश्वराजनीतिको खेलमैदानमा दह्रो यात्राको थालनी गरेको उल्लेख गरिएको छ । उक्त रिपोर्टमा चीनलाई उदाउँदो विश्वशक्तिको रूपमा प्रस्तुत गर्दै उसको सैन्य नीतिबारे चर्चा गरिएको छ (स्पेनी रणनीतिक अध्ययन संस्थान, २०१७)। सन् २०१७ देखि अमेरिका र चीनबिच व्यापार युद्ध सुरु हुनु; २०१९ को अन्त्यबाट कोभिड महामारी सुरु भई २०२० मा विश्वनै आक्रान्त बन्नु; रुस र युक्रेन युद्धजस्ता उल्लेखनीय घटनाले विश्व भूराजनीतिलाई उथलपुथल पारिरहेको छ । भूराजनीतिक स्वार्थ र द्वन्द्व बढ्दो छ । यी नै भूराजनीतिबारे शोधलेखहरूको प्रकाशन बढ्नुका कारण हुन् । भूराजनीतिबारे प्रकाशित लेखको सङ्ख्याबाट नै भूराजनीति विश्वराजनीतिक रङ्गमञ्चमा कति पेचिलो विषय बनिरहेछ भन्ने अनुमान गर्न सकिन्छ ।
४.१ सबैभन्दा बढी प्रयोग गरिएका शब्दावलीहरू
तलिका–१ : लेखको शीर्षक र सारांशमा सबैभन्दा बढी प्रयोग गरिएका २० शब्दावलीहरू ः
चित्र–२ : लेखको शीर्षक र सारांशमा सबैभन्दा बढी प्रयोग गरिएका शब्दावलीहरूको नक्साङ्कन भूराजनीति भन्ने शब्दावली नै सबैभन्दा बढी १८ प्रतिशत र बाँकी अरू शब्दावलीहरू १ देखि ४ प्रतिशतको दायरामा छन् । एकल शब्दहरूको मात्र सूची भएको हुँदा केही अस्पष्टता देखिन्छ तर यी शब्दहरूबाट ऊर्जासँग सम्बन्धित, मध्यएसिया, रुस, चीन, युरोप, रणनीतिजस्ता मुद्दाहरूमा अध्ययन प्रकाशनहरू भएका देखिन्छन् । यी शोधलेखहरूमा विश्वव्यापी महामारी, बन्दाबन्दी अवस्था आदिलाई मुख्य शब्दावलीका रूपमा लेखहरूका शीर्षक र सारांशमा निकै कम प्रयोग गरिएको पाइयो ।
४.२ बढी प्रकाशन गर्ने संस्थाहरू
चित्रमा दिइएका संस्थाहरू भूराजनीति विषयमा लेख प्रकाशन गर्ने लेखकहरूसँग सम्बन्धित संस्थाहरू हुन् । लेखकको संस्थागत सम्बन्धताको मापनमा रुसको राष्ट्रिय अनुसन्धान विश्वविद्यालयको अर्थशास्त्र महाविद्यालय सबैभन्दा अगाडि छ भने त्यसलाई क्रमशः सिङ्गापुर राष्ट्रिय विश्वविद्यालय, लन्डनको किंग्स कलेज, क्याम्ब्रिज विश्वविद्यालयजस्ता शैक्षिक संस्थाले पछ्याएका छन् । सबैजसो लेखकहरू विश्वविद्यालयमा आबद्ध रहेको पाइयो ।
४.४ अधिकतम प्रकाशन गर्ने लेखकहरूको देश
संयुक्तराज्य अमेरिकाका लेखकहरूले सबैभन्दा बढी आफ्नै देशका अन्य लेखकसँगको सहकार्यमा र अरू देशका लेखकहरूसँगको सहकार्यमा प्रकाशन गर्ने गरेको पाइयो । त्यसपछि क्रमशः बेलायत, चीन र रुसका लेखकहरू पर्दछन् भने भारतका लेखकहरू पनि शीर्ष दशभित्रका लेखकहरूमा नै परेका छन् ।
४.५ बढी लेख प्रकाशन गर्ने लेखकहरू
जी सूची र एम सूचीको विश्लेषणमा रुसी लेखक माकारयचेभ आन्द्रेका चारवटा लेखहरूलाई अन्य लेखकहरूले सन्दर्भसामग्रीका रूपमा सबैभन्दा बढी लिएको पाइयो । यी माकारयचेभ आन्द्रेका लेखलाई सन्दर्भ सामग्रीका रूपमा सातवटा लेखमा लिइएको पाइयो । माकारयचेभ आन्द्रेले सन् २०१७ मा प्रथमपटक भूराजनीतिबारे प्रकाशन गरेको पाइएको छ । त्यस्तै तालिका–३ मा अन्य सबैभन्दा बढी उद्धृत हुने शीर्ष १० लेखकहरू प्रस्तुत गरिएको छ । यी सूचाङ्कबाट भूराजनीतिबारेका अनुसन्धानमा ती लेखकहरूको प्रभाव देखिन्छ । त्यसैगरी विभिन्न लेखकहरूको सहलेखनको सूचनाबाट लेखकहरू बिचको सञ्जालको जानकारी मिल्दछ । सहकार्यको सूचनाले देशभित्रैको सञ्जाल तथा अन्य देशका लेखकहरू एवम् संस्थाहरूसँगको सम्बन्धबारे थाहा हुन्छ । भूराजनीतिमा यस किसिमको सञ्जालको महत्व अत्यन्तै धेरै हुन्छ । यी लेखकहरूबिचको सम्बन्ध र सञ्जाल सार्वजनिक कूटनीतिको प्रभावकारी माध्यम पनि हो (जाहारना र अरू, २०१३)र्। तल प्रस्तुत चित्र नं–३ मा भूराजनीतिबारे लेख्ने ७३ जना लेखकहरूका सञ्जालहरू र त्यसबाट भएका प्रकाशन सङ्ख्याहरूको जानकारी प्रस्तुत गरिएको छ ।
चित्र–३ ः लेखकहरूको सहलेखनको
आधारमा बनेका समूहहरूको नक्सा
लेखकहरूको सहकार्यको आधारमा जम्मा ७३ वटा समूहहरू बनेका छन् । त्यस्तो सहकार्यबाट एक सञ्जाल निर्माण भएको तथ्यलाई यस नक्साले देखाएको छ । जम्मा ७३ मध्ये १० वटा लेखकीय समूह, उनीहरूको सञ्जाल सङ्ख्या र लेख सङ्ख्या तलको तालिकामा प्रस्तुत गरिएको छ । समूह १ मा सबैभन्दा बढी लेखकहरू छन् जहाँ ६ जनाबिच सहकार्य भएको छ । त्यस्तै समूह २ मा ५ जनाबिच, समूह ३ मा ४ जनाबिच, समूह ५ मा ३ जनाबिच, समूह ६ मा ३ जनाबिच, समूह ७ मा पनि ३ जनाबिच, समूह ८, ९, र १० मा २ , २ जनाबिच सहकार्य भई शोधलेख प्रकाशन भएको छ ।
५. निष्कर्ष
धेरै देश, संस्था र अनुसन्धानकर्ताहरूबाट भूराजनीतिबारेको अनुसन्धानमा योगदान दिएको तथ्य यस लेखमा प्रस्तुत गरिएको छ । भूराजनीतिको सन्दर्भसूचीको अध्ययनबाट यस विषयका मुख्य–मुख्य अनुसन्धानका मुद्दाहरूको पहिचान भएको छ । यसले कम अनुसन्धान भएका मुद्दाहरूमा ध्यान दिन मद्दत गरेको छ । तालिका–१ र चित्र–२ मा देखाएजस्तै हालको भूराजनीति अध्ययनका प्राथमिकताका क्षेत्रहरूमा रुस, चीन, चीनको बीआरआई, ऊर्जा, रणनीति, मध्यएसिया, युरोप छन् ।
सन् २०१६ देखि हरेक साल भूराजनीतिबारे लेखहरू उल्लेख्यरूपमा प्रकाशित भएका देखिए पनि वातावरणीय भूराजनीतिबारेका लेख कम पाइयो । यसमा आगामी दिनमा अनुसन्धान गर्न सकिन्छ । त्यस्तै लेख प्रकाशन गर्ने लेखकहरूको आबद्धता धेरैजसो विश्वविद्यालय नै भएको पाइयो । यसबाट शैक्षिक अध्ययनका थलोहरू विश्वराजनीतिको रङ्गमञ्चमा विचार तथा सम्भाव्यताका आयामहरू खोतल्ने संस्थाका रूपमा बुझ्न सकिन्छ । अर्कोतिर लेखकहरूले सबैभन्दा बढी उल्लेख गरेको देशमा संयुक्तराज्य अमेरिका पाइयो ।
प्रथम विश्वयुद्धपश्चात विश्वका शक्तिशालीमध्ये एक, दोस्रो विश्वयुद्धपश्चात विश्वका दुई ध्रुवमध्ये एक र शीतयुद्धपश्चात विश्वको एकल महाशक्ति भएकाले अमेरिकाका अनुसन्धानकर्ताहरूले आफ्नै देशका वा अन्य अनुसन्धानकर्ताहरूसँग मिलेर अनुसन्धान गरेको पाइयो । त्यस्तै नयाँ उदीयमान देशहरू चीन, भारतका लेखकहरूको योगदान पनि उल्लेख्य पाइयो । यसरी शोधलेखहरूको प्रकाशन दरबाट पनि देशको शक्ति पुष्टि हुन्छ । भूराजनीतिजस्तो पेचिलो विषयमा अन्य देशहरूसँगका अनुसन्धाकर्ताहरूसित मिलेर काम गर्नु एक किसिमको दक्षता र सफलता हो । प्रभावशाली लेखकहरूमा रुसका लेखक अग्रपङ्क्तिमा देखिएका छन् । यसरी सन्दर्भसूचीको अध्ययनबाट भूराजनीतिक विषयको महत्व हरेक साल बढिरहेको, विविध आयामका मुद्दाहरूको उठान गरेको र धेरै संस्थाहरू यस विषयबारे अनुसन्धाान र प्रकाशनमा सामेल रहेको पाइयो ।
सन्दर्भ–सामग्री
Bremmer, I. (2016). The top 5 geopolitical risks for 2016. Time. https://time.com/4170785/the-top-5-geopoliticalrisks-
for-2016/
Donthu, N., Kumar, S., Mukherjee, D., Pandey, N., & Lim, W. M. (2021). How to conduct a bibliometric analysis: an
overview and guidelines. Journal of Business Research, 133, 285-296.
Fettweis, C. J. (2015). On heartlands and chessboards: classical geopolitics, then and now. Orbis, 59(2), 233-248.
https://doi.org/https://doi.org/10.1016/j.orbis.2015.02.005
Flint, C. (2021). Introduction to geopolitics. Routledge.
Gray, C. S. (1977). Geopolitics of the nuclear era: heartland, rimlands, and the technological revolution.
Kuus, M. (2017). Critical Geopolitics. Oxford University Press.
Massaro, V. A., & Williams, J. (2013). Feminist geopolitics. Geography Compass, 7(8), 567-577. https://doi.org/https://doi.org/10.1111/gec3.12054
Pototskaya, T. I., & Silnichaya, A. V. (2019). Modern geopolitical research in Russia. Baltic Region, 11, 112-135.
Singh, V. K., Singh, P., Karmakar, M., Leta, J., & Mayr, P. (2021). The journal coverage of Web of Science, Scopus and
Dimensions: A comparative analysis. Scientometrics, 126(6), 5113-5142. https://doi.org/10.1007/s11192-021-
03948-5
Spanish Institute of Strategic Studies. (2017). Geopolitical overview of confilics 2016 (Ministry of Defense, Ed.).
Ministry of Defense.
Zaharna, R. S., Arsenault, A., & Fisher, A. (2013). Relational, networked and collaborative approaches to public
diplomacy. Nueva York: Routledge.
(लीला न्याइच्याई त्रिभुवन विश्वविद्यालयको पुस्तकालय तथा सूचना विज्ञान विभागमा उपप्राध्यापक हुनुहुन्छ । चीनको युनान् विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्नुभएकी न्याइच्याईका विदेश मामिलासँग सम्बन्धित विभिन्न लेखहरू प्रकाशित छन् । उहाँ नीति अनुसन्धान प्रतिष्ठानबाट प्रकाशित अनुसन्धानमूलक पुस्तिका Effective User of Public Diplomacy in the context of Nepal सहलेखक पनि हुनुहुन्छ ।)
(मयंक युवराज भारतको बिहार केन्द्रीय विश्वविद्यालयमा सहायक लाइब्रेरियनको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले पुस्तकालय तथा सूचना विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । उहाँका धेरै अनुसन्धानात्मक लेखहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।)
जवाफ लेख्नुहोस्