info@bampanththeleft.com

Bampanth The Left

एक बागी, एक ‘धोकेबाज’

 

-महेश मास्के

२०७९ असोज महिनाको कुरा हो । खगेन्द्र सङ्ग्रौलाजीको फोन आयो– पुस्तक निस्किने भयो, मैले बोलिदिनु पर्यो भनेर । उहाँको जीवनकथा उज्ज्वल प्रसाईले लेख्दै हुनुहुन्छ भन्ने मैले सुनेको थिएँ । त्यसबारे बोल्ने निम्तो पाउँदा प्रसन्नता र सम्मान दुवै एकैसाथ अनुभूत गरेँ र भनेँ, ‘ तपाईँबारे बोल्न पाउनु त रमाइलै हुनेथ्यो । समयचाहिँ कति पाइने हो ?’

‘तोकिएको २० मिनेट, तन्किदा २५ पनि हुनसक्ला,’ सङ्ग्रौलाको उत्तर थियो । ‘काफी छ,’ भन्दै मैले सहर्ष स्वीकार गरेँ । पछि उज्ज्वलले पठाउनु भएको पाण्डुलिपि हात परेपछि त्यसको आकार देखेर म झस्किएँ । एकपटक भारतका प्रसिद्ध साहित्यकार कमलेश्वरले अर्की प्रसिद्ध साहित्यकार अमृता प्रितमलाई जिस्क्याउँदै भनेका थिए रे – ‘तिम्रो जीवनमा उल्लेखनीय कति नै पो छ र ? आत्मकथा लेख्यौ भने एउटा हुलाकको टिकटमा अटाउने छ ।’ कमलेश्वरको त्यही भनाइलाई उद्धृत गर्दै अमृता प्रितमले आफ्नो छोटोमिठो आत्मकथा लेखेकी छन् र शीर्षक दिएकी छन् – रसिदी टिकट अर्थात्, रिभेन्यु स्ट्याम्प ।

मैले यहाँ सङ्ग्रौलाको जीवनगाथा एउटा सानो पुस्तकमा अटाउनुपर्थ्याे भन्न खोजेको होइन, खालि अवचेतनले गरेको अनुमानभन्दा धेरै विशाल आकारको पाण्डुलिपि देख्दाको भावना व्यक्त गरेको मात्रै हो । पढ्दै गएपछि के लाग्यो भने २० मिनेट त के २ सय मिनेटले पनि नपुग्ने रहेछ ।
मैले लेखक खगेन्द्र सङ्ग्रौलाको बारेमा मात्र बोल्ने सोचेको थिएँ, लेखक उज्ज्वल प्रसाईबारे बोल्नुपर्ने दायित्व बिर्सेको रहेछु । त्यसैले अति सङ्क्षिप्तमा, तन्किने समयसीमाभित्रै आफ्ना कुराहरू राख्ने प्रयत्न गर्ने छु ।

उज्ज्वल प्रसाईले यो पुस्तकमा एकैसाथ आख्यानको स्वाद, मौखिक इतिहासको गहिराइ र शोधग्रन्थको अन्वेषण पस्केका छन् । यो पुस्तक पढिसकेपछि करिब एकलाख शब्दहरू आपसमा हातेमालो गर्दै खगेन्द्र सङ्ग्रौला र उनको समयको, त्रिआयामिक पारदर्शी रूपलाई सजीवता,
ओज र गति प्रदान गर्छन् । त्यो चलायमान शब्दचित्र श्वेत–श्यामलमात्रै छैन, इन्द्रधनुषी पनि छ । सङ्घर्षका कठोर उकाली–ओरालीमात्र होइन, प्रेम, परिवार र अभिभावकत्वका स्नेह, आर्द्र–कोमल भावनाहरूबाट आह्लादित पनि छ । जीवनयात्राका कोसेढुङ्गाहरूमात्र होइन, छेउकिनारमा ओझेलमा परेका कङ्कड–पत्थर हरूलाई पनि बडो कलात्मक ढङ्गले प्रसाईले पुस्तकका पानाहरूमा समेटेका छन्, सजाएका छन् । मैले उज्ज्वल प्रसाईका लेखहरू पढेको छु । हालसालै, मञ्जुश्री थापाको पुस्तक अनुवादको उच्च प्रशंसा पनि सुनेको छु । आफ्नो नामझैँ वर्तमान र भविष्य उज्ज्वल बनाउन लागिपरेका यी बहुप्रतिभाशाली युवाबाट हामीले धेरै आशा र अपेक्षा राख्नु अन्यथा नहोला ।

‘एक बागी’ को सिरानमै प्रसाई सङ्ग्रौलाबारे केही प्रश्नहरू तेर्स्याउँछन, आफूलाई र अरूलाई पनि अनि त्यसको उत्तर खोज्ने प्रयत्न गर्छन् । जस्तो, ‘तिसको दशकयता नेपाली समाजमा भएका सबै महत्वपूर्ण राजनीतिक र सामाजिक आन्दोलनका कहिले किनारमा र कहिले मूलधारमा आफ्नो पातलो काया लिएर एउटा लेखक किन कुदिबस्छ ? कसरी एक इमानदार साहित्यसमीक्षक अखबारमा हाकाहाकी भन्छ, राज्यको हठधर्मी बाँझो बुद्धिविरुद्ध उत्रिने जोदाहा कलमको अर्को नाम हो खगेन्द्र सङ्ग्रौला ? राष्ट्रवादको बलशाली कक्षामा हुर्केको उही लेखक करिब चालिस वर्षको आफ्नो वैचारिक धरातलबाट कसरी बिरानो विचारमा हामफाल्छ ? वामवृत्तका उनका घोर आलोचकदेखि, उनी नभए यो संसार किञ्चित बाँच्नलायक हुने थियो भनेर सोच्नेहरू पनि यहाँ छन् । यस्ता निन्दाका कारणहरू के हुन् ?’ आदि । यिनै यावत् जिज्ञासाहरूका उत्तर खोज्ने प्रयत्न गर्छन् उज्ज्वल यस पुस्तकमा र ‘सुन्ने यत्न गर्छन् नेपाली समाजले समयको खास फलक छिचोल्दा निसृत भएका ध्वनिहरू ।’ अनि पुस्तकको कुनै एक ठाउँमा यस्तो निष्कर्षमा पुग्छन्, ‘सङ्ग्रौलाका सबै लिखत एक ठाउँमा भेला पारेर हेर्दा मात्रै पनि नेपाली समाजले छिचोलेको अक्करिलो बाटोको अन्दाज पाइन्छ । समाजले हिँडेका डोबसिवाय केही होइनन् – खगेन्द्रका कथा, निबन्ध, कविता र नाटक ।’ उनको त्यो निष्कर्षमा उनले पुस्तकको सुरुमै उल्लेख गरेका प्रत्यूष वन्त र मेरी डेसेनका शब्दहरूको प्रतिध्वनि पनि सुनिन्छ । ‘जनआन्दोलनका छर्राहरू’ पढेपछि इतिहासविद् प्रत्यूषले लेखेका छन्, ‘सङ्ग्रौलाको सङ्क्षिप्त तर धारिलो अध्ययनमा उनले जे हासिल गरेका छन् त्यो आन्दोलनबारे कथिएका अचाक्लीका ठेलीहरूमा पाइँदैन ।’ मेरीले पनि मजैले भनेकी छन्, ‘विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिसेल फुकोदेखि ज्याक डेरिडासम्म धेरै प्रसिद्ध साहित्यिक र संस्कृतिक आलोचकहरूका प्रवचन सुनेकी छु । तथापि चाबहिलको पिँढीमा एउटा जीवित विद्यालयमा बसेरमात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे बुझ्न पाएकी छु ।’

समाजविज्ञानका यी गम्भीर शोधकर्ताहरूको मूल्याङ्कनलाई पनि ‘भावुकता’ भनी पन्छाइदिन सक्ने सम्भावनाबारे प्रसाईले हल्का सङ्केत गरेका छन् । विशेषतः खगेद्रको ‘ख’ पनि सुन्न नचाहने उनका घोर आलोचकहरूले त्यसो गर्नु आश्चर्यको विषय पनि भएन । तर समाजका अन्तर्द्वन्द्वलाई बुझ्ने सन्दर्भमा कुनै लेखकलाई धेरै महत्व दिनु नौलो कुरो भने होइन । कमसेकम वामपन्थीवृत्तमा सङ्ग्रौलाका प्रशंसक र निन्दक दुवै फ्रेडरिक एङ्गेल्सले सन् १८८८ मा ब्रिटिस लेखिका मार्गरेट हार्किंसलाई लेखेको पत्रमा फ्रान्सेली साहित्यकार बाल्जाकबारे गरेको प्रशंसाबारे कमोबेस परिचित नै छन् । उनले भनेका थिए, ‘मैले त्यो समयावधिका सबै पेसेवर इतिहासकार, अर्थशास्त्री र तथ्याङ्कविदहरूको सम्मिलित योगभन्दा बढी बाल्जाकबाट सिकेको छु ।’ एउटा खास समय सन्दर्भमा कुनै खास लेखकले, त्यो प्रतिभा प्रदर्शन गर्नसक्छ, त्यसैले त साहित्यको एउटा विशिष्ट र बेगल महत्व छ समाजशास्त्रीय अध्ययनमा । बाल्जाक सम्भ्रान्तहरूसँग गहिरो सहानुभूति राख्थे, राजतन्त्रवादी थिए र पनि एङ्गेल्सले उनको प्रशंसा गरे किनकि उनका रचनाहरू आफ्नै कर्मकुकर्मले नासिएर अस्तित्वविहीन हुन अभिशप्त भइरहेको सम्भ्रान्त वर्गको त्रासदयुक्त तर जीवन्त यथार्थचित्रण थिए । बाल्जाकको व्यङ्ग्य र विडम्बना त्यतिबेला सबैभन्दा सटीक र तिक्त हुन्थे जब उनी सम्भ्रान्तहरूको बिजोकलाई कागजमा उतार्थे । सङ्ग्रौलाले सम्भ्रान्त वा पुँजीपतिहरूप्रति होइन, साम्यवादीहरूप्रति गहिरो सहानुभूति राखे । सङ्ग्रौलाका व्यङ्ग्य र उनले चित्रण गरेका विडम्बनाहरूका सटीक रूप र तिक्तता त्यतिबेला प्रचण्डरूप धारण गर्दछन्, जब उनी साम्यवादी विचारका प्रतिनिधिपात्र ठानिएकाहरूको पाखण्डलाई उजागर गर्छन्, नाङ्गेझार पार्छन् । उनी त्यस्ता विकृत प्रवृत्तिहरूको अवश्यम्भावी क्षय र अवसानको गीतमात्रै गाउँदैनन्, तिनको शीघ्रातिशीघ्र क्षयीकरण गर्न कलमको शक्तिको प्रयोग पनि गर्छन् । यस्तो लाग्छ, मानौँ सङ्ग्रौला भूपी शेरचनको ‘हामी’ कवितालाई गद्यमा रूपान्तरित गरिरहेका छन् । माथि पुगेर आफ्नो धरातल बिर्सिनेहरूबारे हामी कविताको एउटा
अंश हेरौँ :
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सिन्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुरले
झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुकेझैँ
हामी भुक्दछौँ
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एकदिन बर्सेर चकनाचुर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरूमा
निर्बलिया थोपाहरूमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौँ बाँकी जीवन
टर्रटर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरू पालेर
विष नभएका साँपहरू अँगालेर ।

त्यसैले इतिहासको एउटा कालखण्डमा नेपालको श्रमिक वर्ग र उत्पीडित समुदायको काँधमा उम्रिरहेको यो निम्न पुँजीवादीदेखि नवधनाढ्य वर्गसम्मका ऐजेरूहरूलाई बुझ्न र त्यसका विरुद्ध आममानिसहरूमा सचेतनता ल्याउनका लागि एउटा लेखकले गरेको प्रयत्नको दस्तावेजको रूपमा सङ्ग्रौला युगौँसम्म पढिए भने आश्चर्यको विषय हुनेछैन । काङ्ग्रेसजनहरूको सङ्ग्रौलाप्रतिको आकर्षणको एउटा कारण यो पनि हुनसक्छ । यद्यपि, यसमा पनि कुनै सन्देह छैन कि यी दस्तावेजहरूमा तथ्य र यथार्थमा अतिरञ्जनाको लेप लगाउने शैली र करिब एक दशकसम्म उनले काँधमा बोकेको माओवादी दललाई आवश्यक खबरदारी गर्न चुकेको जस्ता विरोधाभासहरू पनि तिनमा पाइनेछन् । तर, सङ्ग्रौला त्यतिका लागि मात्रै पढिने छैनन् । उनी एक बागी नै हुन् र प्रकारान्तरले एक ‘धोकेबाज’ पनि । धोकाको सन्दर्भमा रुसका ख्रुस्चेव र चीनका चाओ एनलाइको एउटा रमाइलो किस्सा छ, जुन निकै प्रसिद्ध पनि छ । एकदिन डिनर खाँदै गर्दा ख्रुस्चेवले भनेछन्, ‘श्रीमान् चाओ, तपाईं र ममा कुनै समानता छैन । तपाईं कुलीन वर्गबाट आउनुभएको छ, म मजदुर वर्गबाट ।’ हाजिरजवाफमा चाओले उत्तर दिएछन्, ‘कुरा त ठिकै हो श्रीमान् ख्रुश्चेव, तर तपाईं र मबिच एउटा गजबको समानता पनि छ । हामी दुवैले आ–आफ्नो वर्गलाई धोखा दिएका छौँ ।’

सङ्ग्रौला चाओ एनलाई मार्काकै ‘धोकेबाज’ देखिन्छन् । सुभाङका शासक खलकका तेस्रो पुस्ताका साना मुखिया ठुलो भएपछि उनीहरूद्वारा शासितजनहरूकै प्रखर प्रवक्ता बन्दै आफ्नै वर्गविरुद्ध खनिन्छ । ब्राह्मण भएर मृत्युसंस्कारका रुढ मान्यताको उछित्तो काढ्छ, ब्राह्मण जातकै इज्जतलाई धरापमा पार्दै एउटी गुरुङ्सेनीसँग प्रेमविवाह गर्छ । बाल्यकालमा लीला सरले सिँगाने सार्की उर्फ सङ्ग्रामबहादुर सार्कीलाई उनीसँगै बेन्चमा बसाएपछि निरन्तर दलितसमुदायको पक्षमा दृढतापूर्वक उभिन्छ र उमेरको ७५ औँ वसन्तमा रुकुममा मारिएका दलितजनको स्वरलाई आवाज दिन लट्ठी टेक्दै पुग्छ ।

थोरै अतिरञ्जनासहित एउटा एन.जी.ओ.को सामाजिक उत्थानका असल प्रयत्न र माओवादी दलको कटु आलोचना गर्दा कहिले माओवादीका सर्वोच्च नेताबाट भौतिक कारबाहीको धम्की पाउँछ, कहिले उनले अनुवाद गरेका माओका ठेलीहरूबाट पाएका शिक्षाको लागि तिनै सर्वोच्च नेताबाट कृतज्ञता र आभार पाउँछ । अनि समयप्रवाहमा वर्षौँ ओढेको पहाडे राष्ट्रवादको बर्कोलाई फ्याल्दै मधेशी र थारूजनलाई अँगाल्न पुग्छ । यी र यस्तै विद्रोह र विरोधाभासहरूका कारण र एउटा साधारण मनुवामा एक असाधारण ऊर्जाशील प्रतिबद्धता र जोखिम उठाउने क्षमता कसरी आउने रहेछ भन्ने कौतूहल मेट्न पनि सङ्ग्रौला पढिने छन् ।

पाँचथरको सुभाङ गाउँबाट सुरु भएको उनको जीवनयात्रा अविरल बगिरहने ऊर्जाशील नदीजस्तै अनेक घुम्ती र पहरो छिचोल्दै, चुहानडाँडा, काठमाडौँ, खुदी, चुँदी, बन्दीपुर, चितवन हुँदै फेरि काठमाडौँ आइपुग्छ । उनका प्रमिथस लीला सिवाकोटी सरमार्फत किशोरवयमा प्रवेश गरिरहेको बालक सङ्ग्रौलामा परिवर्तनकारी शिक्षाको उज्यालो घामले स्पर्श गर्छ । ‘उच्चशिक्षाको खोजीमा उनी आठराईको चुहानडाँडा पढ्न जाँदा चन्द्रमान कन्दङ्वा, सूर्य कन्दङ्वा, भानुभक्त पोखरेलको सङ्गतबाट मार्क्सवादकाे परिचय पाउँछन् । वामदेव पहाडीले अङ्ग्रेजी भाषाको ज्ञान दिन्छन् तर त्यो भन्दा बढी आफ्नै शैलीमा शिक्षाको महत्व सम्झाउँछन्, ‘एउटा भौतिक सुर्जे आकाशमा छ, अर्को आत्मिक सुर्जे शिक्षामा छ ।’ पहाडीका शब्दहरूले किशोर खगेन्द्रको मानसमा गहिरो प्रभाव पारेको देखिन्छ । खगेन्द्रको लेखन त्यो आत्मिक सुर्जेको निरन्तर खोज पनि हो भन्दा अतिशयोक्ति होला र ?

२०२४ सालमा आई.ए. परीक्षा दिन काठमाडौँ आइपुगेर बी.ए. उत्तीर्ण गरेको अवधिसम्ममा गोविन्द भट्ट, भवानी भिक्षु र पारिजातमात्रै होइन उनका मनपरेका कवि सिद्धिचरण श्रेष्ठसँग पनि भेट्ने मौका पाउँछन् । लेखकको रूपमा आफूलाई स्थापित गर्छन् र क्रान्तिको भाषण पनि ठोक्छन् । त्यो समय नेपालमा पञ्चायतको रजगज चलेको भए पनि छरछिमेकमा र विश्वभरि नै क्रान्तिकारी चेतनाको उभार आएको बेला थियो । चीनमा सांस्कृतिक क्रान्ति र भारतमा नक्सलवादी आन्दोलन सुरु भइसकेको थियो । भियतनाम युद्ध उत्कर्षमा थियो । चे ग्वेभारा क्युबा छोडेर बोलिभियाको जङ्गलमा गइसकेका थिए र त्यहीँ मारिएका थिए । रेजिस देब्रेको ‘रेभोल्युसन इन रेभोल्युसन’ ले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा तहल्का मच्चाएको थियो र फ्रान्समा विश्वप्रसिद्ध विद्यार्थी आन्दोलन चर्किरहेको थियो, जसलाई सार्त्र र सिमोनको समर्थन थियो ।

नेपालभित्रै पनि झापाली आन्दोलन र नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय न्युक्लियस गरी दुई क्रान्तिकारी वामपन्थीधार अस्तित्वमा आइसकेका थिए । त्यसैताका भारतबाट स्वास्थ्य उपचार गर्न लन्डन पुगेका नेपाली काङ्ग्रेसका नेता बी.पी. कोइरालाले पत्रकारहरूलाई ‘नेपालको वर्तमान व्यवस्था सैनिक अधिनायकवाद हो र नेपालमा प्रजातन्त्र ल्याउन सशस्त्र सङ्घर्ष गर्नुपर्छ’ भनेपछि नेपाली काङ्ग्रेस सैन्य तयारीमा लागेको थियो, जुन पछि सोलु–ओखलढुङ्गा काण्डको दुःखान्तमा टुङ्गिएको थियो । यस समयमा साहित्यबारे आफ्नो घोषणापत्र भन्न सुहाउने धारणा खगेन्द्र सार्वजनिक गर्छन् र एम.ए.को पढाइ बिचमै छोडेर कृषिक्रान्तिको अलख जगाउन रुक्स्याकमा माओका रेड बुक बोकी लमजुङको खुदीतर्फ लाग्छन् । त्यसपछि चुँदी, बन्दीपुर हुँदै चितवनसम्म पुग्दा जालीफटाहाविरुद्धको सङ्घर्षमा अनेक हन्डर खान्छन् । त्यही क्रममा बन्दीपुरमा जमुना गुरुङ उनको जीवनसँगिनी बन्छिन्, छोरी डेजी र छोरा मित्र पनि जन्मिन्छन् । साथी स्वनामसँग मिलेर सर्वहारा कम्युनिस्ट लिगका संस्थापक सदस्यसमेत बन्छन् तर उनको जीवन अति कष्टकर र असुरक्षित भएपछि क्रान्तिकारी जागरण त्यति सजिलो कामचाहिँ होइन रहेछ भन्ने गम्दै १३ वर्षपछि काठमाडौँमै फर्किन्छन् । सङ्गठनको जिम्मेवारी सम्हालेर होइन, लेखनको स्वतन्त्रता र प्रगतिवादी साहित्यको मोर्चामार्फत छेउ किनारबाट तर वैचारिक बहसको मूलधारमै रहेर जनजीवनका सङ्घर्षलाई सघाउन थाल्छन् ।

खगेन्द्र सङ्ग्रौलासँग मेरो प्रत्यक्ष भेट उनी पछिल्लोपटक काठमाडौँ आएपछि २०४१– ४२ सालतिर भएको हो । त्यसपछिका वर्षहरूमा हामीले प्रगतिशील लेखक सङ्घ, गर्जन, मूल्याङ्कन र जनएकता पत्रिका, नागरिक आन्दोलन र जनआन्दोलनहरूमा सहकार्य गर्यौं । मलाई लाग्छ, विनोदविक्रम के.सी.को कविताले भनेझैँ खगेन्द्र सङ्ग्रौलाले ‘काँध थापेकाहरू’ मध्ये म पनि एक हुँ । तर त्यो कविताले यो पनि भन्छ कि ‘काँधमा चढ्नेहरूका खुट्टाले बनाएका कोखाका घाउहरू देखाउँदैन खगेन्द्र सङ्ग्रौला ।’

उनको कोखामा घाउ बनाउनेहरूमध्ये मचाहिँ पर्दिनँ कि भन्ने लाग्छ । तर यसै के भन्न सकिन्छ र ? मैले अङ्गीकार गरेको विचारको गोरेटोमा हिँडिरहनमा सङ्ग्रौलाका ठुलो योगदान छ, यो चाहिँ भन्नसक्छु । छलफलका क्रममा विचारहरूको प्वाँख उम्रेर खुला आकाशमा विचरण गरिरहेझैँ लाग्ने र आज भेट हुँदैछ भन्ने अनुभूतिले पनि मन आनन्दित हुने व्यक्तिहरूमा गोविन्द भट्ट, पारिजात, खगेन्द्र सङ्ग्रौला र निनु चापागाईंका नाम मैले एक संस्मरणमा उल्लेख गरेको पनि छु ।

तर सङ्ग्रौलासँग उनको कृतिमार्फत परिचय भएको भने आधा शताब्दी भएछ । भियतनाम प्रतिरोधी सङ्घर्षमा आधारित ‘द भिलेज द्याट वुड नट डाई’ लाई ‘अजम्मरी गाउँ’ नाममा सङ्ग्रौलाले अनुवाद गरेका थिए । मैले त्यो किताब २०२९–३० सालतिर पढ्न पाएको थिएँ । त्यो बेला मेरो मनमा रहेको एउटा अतिप्रिय नायकको वैचारिक अवसानले जन्मेको पीडा र खिन्नता निकै प्रबल र दुःखदायी थियो । ‘हो ची मिन्हलाई चिट्ठी’ कविता लेखेर हाम्रो मनलाई अचम्मको जोस, प्रतिरोधी सौन्दर्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको भावले ओतप्रोत गर्ने कवि भूपी शेरचन, आफू ‘कम्युनिस्ट’ र ‘कवि’ भएकोमा पश्चाताप गर्न थालिसकेका थिए । कुनैताका ‘काका हो’ लाई सम्बोधन गर्दै ‘तिम्रो हनोइमाथिको बमवर्षाका रातहरू, मैले पनि जागरणका ट्रेन्चहरूमा बिताएको छु’ र ‘बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’ लेख्ने कवि, अब यस्तो लेखेर वाहवाही पाउन थालेका थिए :

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउनु झन् गाह्राे छ
मरेर सहिद हुनेहरू
जिएर त हेर, जिउनु झन् गाह्राे छ ।

‘अजम्मरी गाउँ’ पढेपछि मैले ठुलो हौसला पाएँ । भूपीहरू जालान् तर अरू आउनेछन् जस्तो लाग्यो । त्यस उपन्यासमा एक अटल र अविचलित सङ्कल्प छ, फ्रान्सेली र अमेरिकी उपनिवेशबाट मुक्त हुने बलिदानी सङ्कल्प, मान्छे हुनुको गरिमासहित बाँच्ने सङ्कल्प । र, त्यहाँ ‘काका हो’ छन्, प्रत्यक्ष दृष्टिगोचर नहुने तर प्रतिरोधी सङ्घर्षको स्पिरिट बनेर चारतिर वायुझैँ व्याप्त हुने । त्यसपछि मैले भूपीको ‘हो ची मिन्हलाई चिठी’ कै शैलीमा ‘भूपीलाई चिट्ठी’ लेखेँ र अस्कल होस्टेलको भित्तेपत्रिकामा टाँसे । त्यो मेरो पहिलो कविता थियो । केही वर्षपछि मदनमणि दीक्षितले त्यो कविता समीक्षामा पनि छाप्नुभयो । १७ वर्षे किशोर उमेरमा भूपीले दिएको निराशालाई तह लगाउन र त्यो कविता फुर्नमा त्यतिबेलासम्म प्रत्यक्ष भेट नभएका सङ्ग्रौलाको ‘अजम्मरी गाउँ’ को योगदान म कहिल्यै बिर्सिन सक्दिनँ । यो अनूदित कृतिको नयाँ संस्करणको भूमिकामा सङ्ग्रौला आफैँले भनेका छन्, ‘भोलि दृश्यजगतमा म नहुँदा पनि लोकउपयोगिता र शिल्प सौन्दर्यको शक्तिले गर्दा मेरो अनुवाद यो ‘अजम्मरी गाउँ’ जीवित रहने छ ।’

पारिजात र खगेन्द्र सङ्ग्रौलाको वैचारिक विकासका खुड्किलाहरू पुनर्भ्रमण गर्ने प्रयत्न गर्दा भूपी गजबको ‘रेफेरेन्स’ व्यक्तित्व लाग्छन् मलाई । एक जमानाका भूपेन्द्रमान शेरचन ‘सर्वहारा’ यु–टर्न भएर राजा वीरेन्द्रको गुणगानमा कविता लेख्न थाल्दा पारिजात र खगेन्द्र मार्क्सवादकाे जोखिमयुक्त बाटोमा दृढतासाथ हिँडिरहेका थिए । पारिजात निराशा, निस्सारता र निरुद्देश्यताको अन्धकारबाट बाहिरिँदै र खगेन्द्र ब्राह्मण शासकको वर्ग र वर्णजन्य संस्कारबाट बाहिरिँदै । दुवैले जीवनको अर्थवत्ता र उन्नत समाज निर्माणको सपना बोकेका थिए । वास्तवमा पारिजातभन्दा पाँचवर्षअघि नै सङ्ग्रौला मार्क्सवादका पथिक भइसकेका थिए ।

तथापि यौवनको उत्कर्षमा मार्क्सवादको गाढा लालरङ विद्यार्थी, किसान, बुद्धिजीवी, लेखक कलाकारका मनमस्तिष्कमा भर्न उद्यत सङ्ग्रौला उमेरको सन्ध्याकालमा त्यस दायित्वबाट किञ्चित विश्राम लिन खोजेका देखिन्छन् । यदाकदा लालरङको विभ्रमबाट बाहिर निस्केको अनुभूति पनि उनलाई हुँदो हो, अर्थात् जेलाई रातो सम्झेँ, त्यो रातो नै थिएन रहेछ भन्ने पनि लाग्दो हो । अथवा अहिले उनले जुन रङ भर्न खोजिरहेका छन्,
त्यहाँ रातोले मात्रै पुग्दैन भन्ने पनि हो कि ? पोखराको एउटा साहित्यिक कार्यक्रममा नारायण वाग्ले सुरुमै एउटा ठाडो प्रश्न गर्छन्, ‘तपाईं एउटा रातोझोला भिर्ने गर्नुहुन्थ्यो आजकल धेरै भयो देखिँदैन नि, तपाईंको रातो झोला खै ?’ सङ्ग्रौला पनि सिधा उत्तर दिन्छन्, ‘त्यो झोला मजस्तै खुइलियो र त्यसलाई थन्क्याइयो ।’ सबैले सजिलै बुझ्ने बिम्बमा यो प्रश्नोउत्तर भएको छ । युट्युबबाट त्यो संवाद सुनेपछि मेरो मनमा पनि एउटा प्रश्न उठेको छ – उनको त्यो झोला खुइलिए पनि नयाँ पिँढीका युवाहरू पुनः जोसका साथ विगतका अनुभवहरूको पाठले भरिएको नयाँ गाढा रातोझोला बोकेर हिँडे भने सङ्ग्रौला दिक्दारीसाथ पन्छिने छन् कि नयाँ जोससहित तिनका पछिपछि लाग्ने छन् ? धेरैअघि मान्छेको सक्कली अनुहार चिन्न सङ्ग्रौलाले मलाई एउटा पहेलीजस्तो बुझ्न गाह्राे तर काइदाको अर्ती दिएका थिए – जेन बुद्धिस्टहरूको ‘कोआन‘ जस्तो । कुरैकुरामा एकदिन भनेका थिए, ‘बुझ्नुभयो मास्केजी, मान्छे चिन्न सँगै बसेर तीनपाथी नुन खानुपर्छ ।’ अब तीनचिम्टी नुन खान त कष्टसाध्य हुन्छ, तीनपाथी खाने कसरी ? धेरै दिन घोत्लिएपछि कुरोको चुरो फेला पर्यो । तीनपाथी नुन खानु भनेको एकैचोटि होइन रहेछ । तीनपाथी नुन सिध्याउने खानपिनसहितको लामो अवधि सङ्गत गरेपछि बल्ल मान्छे चिनिने रहेछ भन्ने त्यसको अर्थ रहेछ । मलाई लाग्छ, विगत करिब चालिस वर्षको सङ्गतमा मैले तीनपाथी नुनको ‘क्राइटेरिआ’ पूरा गरिसकेको छु । त्यसैले सङ्ग्रौलालाई अलिकति चिन्छु र उनीबारे दुईतीन वटा मेरा अनुमानयुक्त अभिमतहरू यहाँ राख्न मलाई सङ्कोच छैन ।

पहिलो, माथिको प्रश्न, अर्थात् युवाहरू जोसका साथ हिँडे भने उनी के गर्लान् ? यो प्रश्नको उत्तर सङ्ग्रौलाले दिनुपर्यो भने मलाई लाग्छ, उनले विनोदविक्रम केसीकै कविताका निम्न पङ्क्तिहरूतर्फ इसारा गर्नेछन् :

तथापि तिमीसँग एक झिल्कोमात्र भए पनि
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र सङ्ग्रौलाको एकथान काँध ।

यहाँ उल्लेख गर्नलायक कुरो के छ भने उनले नारायण वाग्लेलाई त्यो खुइलिएको झोला ‘ थन्क्याएको छु’ भनेका छन् ‘मिल्काएको छु’ भनेका छैनन् । दोस्रो, सङ्ग्रौलासँगको लामो सङ्गतमा मलाई सधैँ लागिरह्यो, उनमा मार्क्सवादसँगै अराजकतावाद पनि जब्बर रूपले अवस्थित छ । मार्क्सियन  एनार्किस्ट वा एनार्को–मार्क्सिस्ट जस्ता कुनै हाइब्रिड पदावली छ भने सङ्ग्रौलामा फिट हुने धेरै सम्भावना छ किनकि राज्यसत्ताबारे सङ्ग्रौलाको जुन बुझाइ छ, त्यो मूलरूपमा मार्क्सवादी होइन, अराजकतावादी हो भन्ने मेरो अभिमत हो ।

लेखक बागी हुन्छ र सधैँ सत्ताको प्रतिपक्षमा बस्नुपर्छ भन्ने विषयमा यस पुस्तकमा पनि ठाउँठाउँमा चर्चा गरिएको छ, तर तमसोमा ज्योतिर्गमय नामक एउटा टी.भी. कार्यक्रममा सङ्ग्रौला आफैँले ‘बागी’ शब्दको अर्थ प्रस्ट्याउने कोसिस गरेका छन् । त्यसैले म त्यो सन्दर्भलाई यहाँ जोड्छु । उनी भन्छन्, ‘म विद्यार्थीकालदेखि नै बागी चरित्रमा हुर्कें, मार्क्सवादमा हुर्केँ ।’

यसरी ठिक उठान गरेपछि उनी लगत्तै भन्छन्, ‘सत्ता सधैँ भ्रष्ट हुन्छ, चाहे त्यो सामन्तवादी होस्, पुँजीवादी होस् वा समाजवादी होस् । त्यसैले शासक भ्रष्ट हुने खतरा हुन्छ, शासक भ्रष्ट भए भने सामान्यजनले दुःख पाउँछन्, त्यसैले शासकहरूको भ्रष्टतालाई नियन्त्रणमा राख्न बौद्धिक, दार्शनिक र लेखक सधैँ सत्ताको प्रतिपक्षमा रहन्छ । लेखक भनेको आलोचक हो, विचारक हो, बागी हो ।’

सत्ताको प्रतिपक्ष बनेर आलोचकको दायित्व निर्वाह गर्नु व्यक्तिको स्वतन्त्र निर्णय र अधिकार हो । हरेक युगमा, हरेक समाजमा त्यस्ता व्यक्तिहरूको आवश्यकता रहन्छ । तर माथिको अवधारणालाई एकथान प्रतिप्रश्न गर्न सकिन्छ । सत्ता सधैँ भ्रष्ट हुने हो भने पुरानो भ्रष्ट सत्तालाई ध्वस्त गरी अर्को नयाँ भ्रष्ट सत्ता स्थापित गर्ने प्रयत्न नै किन गर्नु ? क्रान्ति र परिवर्तनको लागि यत्रो बलिदानको औचित्य के ? भ्रष्टाचारको तराजुमा शोषकहरूको सत्ता र शोषितहरूको सत्ता बराबर हुन्छ ? कुनै एक कालखण्डमा समाजले जन्माएका सबैभन्दा इमानदार, असल र क्षमतावान मानिसहरूचाहिँ सत्ताबाहिर बसेर आलोचनामात्र गरिरहने अनि सत्तामा भ्रष्ट नेता र तिनका हनुमानमात्र जाने हो भने बाहिरकाले आलोचना गर्दैमा त्यो सत्ता भ्रष्टाचारमुक्त होला ? सत्तालाई भ्रष्ट बनाउने संरचनागत प्रणाली कसले बदल्छ ? आफूलाई आलोचक र बागी भन्नेहरूले सत्तामा गए पनि भ्रष्ट हुनबाट बच्न सकिन्छ भन्ने मात्रै होइन, सत्ताको भ्रष्ट चरित्रलाई बदल्ने उद्यम गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्ने दायित्व हुन्छ कि हुँदैन ?

यस पुस्तकमा एक ठाउँमा ‘सत्ता भनेको यस्तो ह्युम पाइप हो जसको एउटा कुनाबाट खगेन्द्र सङ्ग्रौला छिरे भने अर्को तर्फबाट धनपति नेपाल भएर निस्किन्छ’ भन्ने एक जमानाको प्रचलित कटाक्षलाई प्रसाईले स्मरण गरेका छन् । अर्को कुनाबाट निस्किने ती व्यक्तिको नाम छद्म राखिएको पनि भनेका छन् ।

वास्तवमा ३० वर्षअघि नै खगेन्द्र सङ्ग्रौला त्यस्ता बिम्ब भइसकेका थिए, अब नाम किन लुकाउनु, त्यतिबेला हामीले सुनेको चाहिँ उनी सत्ताको ह्युम पाइपमा छिरे भने प्रदीप नेपाल बनेर निस्किने छन् भन्थे । त्यतिबेला हामी सत्ता भन्ने शब्दबाटै बडो आतङ्कित हुन्थ्यौँ । तर ती हिजोका दिन थिए । अबका दिनमा सत्ताको पाइपमा एक छेउबाट खगेन्द्र सङ्ग्रौलाहरू छिरे भने अर्को छेउबाट पनि खगेन्द्र सङ्ग्रौलाहरू नै निस्केर देखाउनुपर्छ । तब पो सङ्ग्रौला–बिम्बको सार्थकता ! बदलिनु पर्ने त सत्ताको ह्युम पाइप हो, सङ्ग्रौलाहरू होइनन् । तथापि सत्तामा जानै नहुने जस्तो सोचमा अलि बदलाव आएको हो कि भन्ने सङ्केत यस किताबमा छ । नागरिक आन्दोलनका दुई अभियन्ताहरू अनुभव अजित र विमल अर्याललाई सांसद बनाउन सङ्ग्रौलाले माओवादी केन्द्रलाई सिफारिस गरेको कुरा उज्ज्वल प्रसाईले यस किताबमा उल्लेख गरेका छन् ।

तेस्रो, सङ्ग्रौलाको खुइलिएको झोलाको बिम्ब कतै राष्ट्रवादको सन्दर्भमा उनको धूमिल हुँदै गइरहेको वर्गीय चेतको प्रतीक पनि पो हो कि ? पहाडे राष्ट्रवादमुनि दबिएका मधेशीजनको पीडालाई उनले आवाज दिएका छन् । मामा बसेका मधेशीहरूले नै सबैभन्दा बढी म्रो सीमाको रक्षा गरेका छन् भन्ने सत्यलाई पहाडी कानमा पुर्याउन उनको ठुलो योगदान छ । तर मधेश सोलोडोलो छैन । मधेशमा चरम वर्गीय, जातीय र लैङ्गिक उत्पीडन छ ।

मधेशी जनतालाई उत्पीडन गर्ने मधेशी वर्ग र जातबाटै कतिपय त्यस्ता नेता र दल उत्पादन भइरहेका छन्, जो बेलाबखत आफ्नो र आफ्नो दलको निहित स्वार्थको लागि पहाडे राष्ट्रवादका प्रतीक पुरुषहरूसँग अँगालो मार्ने, घुर्काउने र उनीहरूबिच पेन्डुलम झैँ हल्लिने उपक्रम पनि गर्छन् र गरिरहेका छन् । मधेशी राष्ट्रियताको मूलशक्ति र स्रोत मधेशभित्रका उत्पीडित मधेशी जनता हुन्, त्यसैले त्यसको प्रत्याभूति, वर्गीय उत्पीडनबाट मधेशी जनताको मुक्तिको ऐक्यबद्ध सङ्घर्षविना सम्भव छैन भन्ने प्रस्टताका साथ सङ्ग्रौलाका अन्तर्वार्ता, मन्तव्य र लेखहरू किन त्यति नआएका होलान् ?

तीनपाथी नुन पचाइसकेको दाबी गरे पनि र उज्ज्वल प्रसाईंले तयार गर्नु भएको यो खँदिलो पुस्तक दोहोर्याएर तेहेर्याएर पढिसके पनि खगेन्द्र सङ्ग्रौलालाई मैले राम्रोसँग चिनेको छु भन्ने दाबी म गर्न सक्दिनँ, सायद कसैले पनि सक्दैन । हाम्रो ब्रह्माण्ड ५ प्रतिशतमात्रै दृष्टिगोचर हुने र ९५ प्रतिशत नदेखिने ‘डार्क म्याटर’ र ‘डार्क इनर्जी’ ले भरिएजस्तै हाम्रा गतिविधिको ५ प्रतिशतमात्रै चेतनमनद्वारा निर्देशित छ, बाँकी ९५ प्रतिशत अवचेतनको गहिराइबाट सञ्चालित हुन्छ ।

जीवनीमा नसमेटिएका त्यस्ता धेरै ‘अव्यक्तहरू’ हुनसक्छन्, जसले त्यो व्यक्तिको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेका हुनसक्छन् तर सधैँ ओझेलमै रहन्छन् । त्यसबारे व्यक्ति स्वयम्लाई पनि थाहा नहुनसक्छ । त्यसैले मान्छेको बारे कोसिस गरे पनि सबै कुरा हामीलाई थाहा हुँदैन भनी लेखक प्रसाईले विनम्रतासाथ यो पुस्तकको निधारमै उद्धृत गरेको, विद्वान सी राइट मिल्सको भनाइसँग मेरो पूर्णसहमति जनाउँदछु र यहाँ पाठ गर्न
पनि चाहन्छु :

Surely, we ought occasionally to
remember that in truth, we do
not know much about the man,
and that all the knowledge we do
have , does not entirely remove the
element of mystery, that surrounds
his variant, as it is revealed in his
history and biography.

किताबको पुछारतिर लेखक प्रसाईले सङ्ग्रौलाको जीवनमा होस् वा लेखनमा, फुटकरहरू धेरै छन्, महाख्यान र महाकाव्य छैनन् भनेका छन् । यो निष्कर्षप्रति चाहिँ म आफ्नो पाठकीय अनुभूतिलाई साक्षी राखेर गतिलो असहमति जनाउँदछु । सङ्ग्रौलाको जीवन र कर्म आफ्नो समयको परिवर्तनसँग जोडिएको निरन्तरताको लोमहर्षक महाख्यान हो । नेपाली वाङ्मयको मूल्यवान निधि हो । त्यसको प्रस्तुतिको श्रेय उज्ज्वल प्रसाईलाई जान्छ । पाँच वर्ष लगाएर, सङ्ग्रौलाका रचनाहरू तथा उनी सम्बन्धित अन्य लेखकका रचना, मन्तव्य र अन्तर्वार्ताहरूको विशद अध्ययन गरेर सङ्ग्रौलाको जीवन र कर्मलाई एकपल्ट सुरु गरेपछि पढ्न छोड्नै मन नलाग्ने शैलीमा उनेर, एक प्रेरणादायी कृतिलाई जन्म दिएर प्रसाईले आफ्नो लेखनको बिट मार्ने बेलामा पुनः विनम्रताका साथ आफ्नो भगीरथ प्रयत्नलाई एक ‘फुटकर प्रयत्न’ भनेका छन् । त्यस भनाइप्रति अर्को असहमति जनाउँदै मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु ।

(उज्ज्वल प्रसाईलिखित खगेन्द्र सङ्ग्रौलाको जीवनी ‘एक बागी’ को २०७९ कार्तिकमा आयोजित विमोचन कार्यक्रममा वक्ताका रूपमा प्रस्तुत विचार)

लेखक परिचय: 

(पेशाले चिकित्सा र जनस्वास्थ्य अनुसन्धानकर्ता डा. महेश मास्के विद्यार्थीकालदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आउनु भएको छ । २०४६ र ०६२/०६३ सालको नागरिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नु भएको छ। वहाँले नेपाल को स्वास्थ्य नीति निर्माण र निःशुल्क स्वास्थ्य सेवा स्थापनामा महत्वपूर्ण योगदान दिनुको साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी अध्यक्ष र नेपाल जनस्वास्थ्य प्रतिष्ठानको संस्थापक कार्यकारी अध्यक्षको जिम्मेवारी वहन गर्नु भएको छ। २०१२ देखि २०१६ सम्म वहाँ चीनको लागि नेपालको राजदूत हुनुहुन्थ्यो। साहित्यमा अभिरुचि राख्ने डा. मास्के पारिजात स्मृति केन्द्रका कार्यकारी अध्यक्ष पनि रहनु भएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयबाट डाक्टर अफ साइन्स डिग्री हाँसिल गर्नु भएका मास्के सोहि विश्वविद्यालयको Distinguished Almuni Awardबाट सम्मानित पनि हुनुहुन्छ।)

Author

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari