info@bampanththeleft.com

Bampanth The Left

नव–साम्राज्यवादवारे समग्र र गहनबोध आवश्यक छ : चङ अन् फू

  • चङ अन् फू

“सन् २००८ मा पश्चिममा आएको आर्थिक सङ्कट, पछिल्लो गम्भीर महामारी र रुस–युक्रेनबिचको द्वन्द्वले विश्व आर्थिक संरचनामा ‘पूर्वको उदय र पश्चिमको पतन’लाई गति दिएको छ । यसले विश्वभरका मानिसलाई समाजवादी चीनको विकास र मानवको साझा भविष्यका लागि सहयोग र विकासको विचारलाई समर्थन गर्न प्रेरित गरेको छ । पूर्वको उदय र पश्चिमको पतनसँगै जी–७ ले प्रतिनिधित्व गर्ने अमेरिकी र पश्चिमी अर्थतन्त्रको महत्व र अनुपात घटेको छ भने चीन र ब्रिक्सले प्रतिनिधित्व गर्ने पूर्वी र दक्षिणी देशको महत्व र अनुपात बढेको छ ।”

१. प्राध्यापक चङ अन् फू, तपाईं चिनियाँ मार्क्सवादी बुद्धिजीवीवृत्तमा एक महत्वपूर्ण हस्ती मानिनुहुन्छ । तपाईंले साम्राज्यवादको समसामयिक प्रकृतिबारेमा विशद अध्ययन गर्नुभएको छ, जसलाई तपाईं नव–साम्राज्यवादको रूपमा व्याख्या गर्नुहुन्छ । यस्ता वैचारिकता ‘ग्लोबल साउथ’ (विकासोन्मुख र अल्पविकसित मुलुक) का लागि किन महत्वपूर्ण छन्, विशेषतः अहिलेको भूराजनीतिक प्रतिद्वन्द्विताको परिवर्तनशील गतिशीलतामा ?

चङ अन् फू : पश्चिमी एकाधिकार पुँजीवादले देशभित्र र बाहिर गरेका गतिविधिका आर्थिक, राजनीतिक, सांस्कृतिक र सैन्य आयामको वस्तुगत विश्लेषणका लागि र ग्लोबल साउथका देश र जनता अमेरिकी नेतृत्वको पश्चिमी देशहरूको आधिपत्यवादी र उत्पीडक अभ्यासहरू विरुद्ध एकजुट हुन, वर्तमान समय र २१ औँ शताब्दीको अवधिभरि पनि, नव– साम्राज्यवादको समग्र र गहनबोध वैश्विक प्रगतिशीलहरूको लागि एक महत्वपूर्ण मुद्दा हो । यस सिद्धान्तको आधारमा वर्तमान नयाँ अन्तर्राष्ट्रिय आर्थिक एवम् राजनीतिक स्वरूप साम्राज्यवादको विरोध र वामपन्थी गतिविधि विस्तारको लागि तथा विकासशील देशहरूमा विश्वसमाजवादको विकासका लागि अनुकूल रहेको स्विकार्नुपर्छ । यसका निम्न आधारहरू
छन् :

पहिलो, पश्चिममा कोभिड–१९ महामारीले पुर्याएको गम्भीर क्षतिले संसारभरका मानिसलाई समाजवादी व्यवस्था र यसको शासनपद्धतिका फाइदा महसुस गरायो । रुसले युक्रेनभित्र हालसम्म अमेरिकाले सञ्चालन गरिरहेका दर्जनौं जैविक प्रयोगशालाको पर्दाफास गरिसकेको छ । विभिन्न देशका वैज्ञानिकहरूले कोरोना भाइरसको उत्पत्ति अमेरिकामै भएको हुनसक्ने सम्भावना औँल्याएका छन् । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरसको उत्पत्ति अमेरिकाबाट भएको हुनसक्ने प्रश्न उठाएका छन् । अमेरिकाले भने यी प्रश्नहरूको बेवास्ता गरेको छ । अहिले महामारीको तेस्रो वर्ष चल्दैछ र यो कति लामो जान्छ भन्ने कसैले भन्नसक्ने स्थिति छैन । ‘जीर्ण पुँजीवादले महामारीविरुद्ध अवश्यम्भावी रूपमा अन्योलग्रस्त व्यवस्थापन गर्दा स्थिति भयावह बन्यो । चाहे तिनले यो यथार्थलाई अस्वीकार गरेका हुन् या जीवनलाई भन्दा जीविकोपार्जनलाई महत्व दिएका हुन्, जुन खासमा पुँजीवादीहरूको मुनाफा नगुमोस् भन्ने चाहनाबाट प्रेरित थियो । महामारीविरुद्ध तिनले उठाएको गलत कदमले लाखौँको सामाजिक हत्या र ऐतिहासिक विशालताको आर्थिक सङ्कटलाई प्रेरित गर्यो ।’

विश्वभरका धेरैभन्दा धेरै मानिसहरूले महामारी र उच्चमृत्युदरको लागि पश्चिमी विकसित पुँजीवादी देश जिम्मेवार छन् भन्ने बुझ्दै गएका छन् । आफना वर्गीय अडान र पूर्वाग्रहबाट प्रेरित भएर फ्रान्सिस फुकुयामा, जोसेफ नाई आदिहरू पश्चिमी प्रणालीको प्रतिरक्षामा उत्रिँदै अमेरिका र चीनको सरकारबिचको भिन्नता उनीहरूको शासनको क्षमतामा मात्र रहेको तर्क दिइरहेछन् । त्यस्तो प्रतिरक्षाको कुनै काम छैन । पश्चिमी मुलुकभन्दा अलग रूपमा चीन, भियतनाम, क्युवा, प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र लाओसजस्ता समाजवादी देशहरूले जनताको जीवन र स्वास्थ्यलाई प्राथमिकता दिने मानवअधिकारको सिद्धान्तलाई पछ्याउँछन् । यसैको बलमा तिनले महामारी रोकथाम तथा नियन्त्रण र आर्थिक विकासको दोहोरो लक्ष्य हासिल गर्न सकेका छन् ।

दोस्रो, पश्चिमद्धारा सिर्जित कारणले गर्दा रुसले युक्रेनमा सुरु गरेको विशेष सैन्यकारबाहीले विश्वका धेरै मानिसलाई समाजवादी व्यवस्था र नीतिको शान्तिप्रियताप्रति अवगत गराएको छ । रुस–युक्रेन युद्धको प्रकृति के हो ? मेरो विचारमा पहिलो त यसमा नेटोको पूर्व (पूर्वी युरोप) तर्फको विस्तार र युक्रेनी अर्ध– फासीवादको हात छ । यस अर्थमा रुसले अमेरिका र पश्चिमी वर्चस्वविरुद्ध न्यायको रक्षाको लागि लड्ने शक्तिको प्रतिनिधित्व गर्दछ । त्यस्तै, युक्रेनमा अमेरिका सञ्चालित दर्जनौँ जैविक प्रयोगशाला रुसले उजागर गरेको छ, र यो कारणले पनि रुस विश्वभरका नागरिकको जीवन र स्वास्थ्यलाई खतरामा पार्नसक्ने जैविक हतियार निर्माता अमेरिका र पश्चिमी शक्तिविरुद्ध लड्ने न्यायपूर्ण शक्तिको प्रतिनिधित्व गर्दछ । तेस्रो, युक्रेनभित्र रहेका रुसी (भाषीहरू) विरुद्ध युक्रेनले गरिरहेका क्रूर हिंसाको रुसले विरोध गर्दैआएको थियो । रुसी कारबाहीले रुसी भाषी जनसङ्ख्याको सघन बसोबास रहेको दोनेत्स्क र लुहान्स्कको स्वतन्त्रताको समर्थन गरेबाट यसले राष्ट्रिय मुक्तिसङ्ग्रामको प्रकृति धारण गरेको छ । अर्को, वस्तुगत अर्थमा युद्धले युक्रेनको एकाधिकार पुँजीपतिवर्गको निरङ्कुश शासनलाई धक्का दिएको छ, जसले देशभित्र मार्क्सवादी र कम्युनिस्ट विचारहरूको प्रसारलाई निषेध गर्दै आएको थियो र युक्रेनी कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको थियो । त्यसैले रुसी कम्युनिस्ट पार्टी र विश्वका अन्य प्रगतिशील शक्ति र बुद्धिजीवी जनताले अमेरिका र पश्चिमी हैकमविरुद्धको रुसी कारबाहीलाई समर्थन गरिरहेका छन् ।

यसले पनि विश्वभरका थप मानिसलाई लेनिनले भनेजस्तै ‘साम्राज्यवाद भनेको युद्ध हो’ भन्ने महसुस गराएको छ । आज युक्रेन युद्धको लागि उक्साउनेमा अमेरिका र नेटो तथा तिनका समर्थक राष्ट्रहरू हुन् (गत वर्ष जुन २७ मा सम्पन्न नेटोको शिखर सम्मेलनमा नयाँ ‘रणनीतिक अवधारणा’ प्रस्ताव गरिएको थियो जसलाई सो सङ्गठनका सबै २० मुलुकले सर्वसम्मतिले अनुमोदन गरेका थिए, अमेरिकाको चाहनाअनुरूपको नेटोको प्रतिरोधात्मक कार्यको पुनरुत्थानको जोड दिइएको त्यस रणनीतिअन्तर्गत नेटोको पूर्वीभागमा फौजको सङ्ख्या झन्डै आठगुणा वृद्धि गरिने बताइएको छ) । नेटोको यस्तो सैन्य मानसिकताविपरीत समाजवादी देशहरू भने वास्तवमै शान्तिप्रेमी देखिएका छन् । तेस्रो, अमेरिका र पश्चिमका उसका सहयोगीहरूले एकपक्षीय रूपमा ‘गरम युद्ध’ र ‘नयाँ शीतयुद्ध‘लाई बढावा दिइरहेका छन् । यसले विश्वका धेरै मानिसलाई चीन र रुसले प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिलाई समर्थन गर्न र हैकमवादी मानसिकताविरुद्ध एकताबद्ध भएर प्रतिरोध गर्न प्रेरित गरेको छ ।

आज अन्तर्राष्ट्रिय रूपमा रुस र चीनविरुद्ध साम्राज्यवादी गठबन्धन उभिएको छ । तर अर्कोतर्फ साम्राज्यवादी गठबन्धनको नाइके अमेरिकाको प्रभुत्व घट्दै गएको छ । विश्वका धेरैभन्दा धेरै राजनीतिक शक्ति र बुद्धिजीवीहरू चीन–रुस सम्बन्धलाई केन्द्रबिन्दुमा राखेर अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिले धेरै सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने विचारलाई सक्रिय रूपमा समर्थन गरिरहेका छन् । साथमा चीन–रूसबिचको खुला सहयोगात्मक सम्बन्ध वस्तुगत रूपमा वैश्विक समाजवाद विकासको अनुकूल छ भन्ने पनि यस वर्गको विचार छ । आजको सङ्घर्ष ‘एक खतरनाक मोडमा छ । लामो समयदेखि चलिरहेको सङ्कटलाई महामारीले थप सघन बनाइदिएको छ । महामारीको समयमा चीनले हासिल गरेको उलेख्य सफलताको परिप्रेक्ष्यमा अग्रणी साम्राज्यवादी राष्ट्रले अन्य साम्राज्यवादी र कमजोर देशहरूलाई चीनविरुद्ध नयाँ शीतयुद्ध सामेल गराउन खोज्दैछ ।…विश्वका बहुसङ्ख्यक जनता र समाजवादमा चाख राख्ने जनताविरुद्ध पहिले कहिल्यै पनि अहिलेजति विनाशकारी शक्ति मुट्ठीभर गैरजिम्मेवार र हताश हातमा केन्द्रित
भएको थिएन ।’

चौथो, सन् २००८ मा पश्चिममा आएको आर्थिक सङ्कट, पछिल्लो गम्भीर महामारी र रूस–युक्रेनबिचको द्वन्द्वले विश्व आर्थिक संरचनामा ‘पूर्वको उदय र पश्चिमको पतन’ लाई गति दिएको छ । यसले विश्वभरका मानिसलाई समाजवादी चीनको विकास र मानवको साझा भविष्यका लागि सहयोग र विकासको विचारलाई समर्थन गर्न प्रेरित गरेको छ । पूर्वको उदय र पश्चिमको पतनसँगै जी–७ ले प्रतिनिधित्व गर्ने अमेरिकी र पश्चिमी अर्थतन्त्रको महत्व र अनुपात घटेको छ भने चीन र ब्रिक्सले प्रतिनिधित्व गर्ने पूर्वी र दक्षिणी देशको महत्व र अनुपात बढेको छ ।

चिनियाँ मुद्राको क्रयशक्ति समताको सट्टा विनिमयदरको आधारमा सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १.८ प्रतिशत थियो र यो १९९० मा सबैभन्दा कम बिन्दु अर्थात १.७६ प्रतिशतसम्म झर्न पुग्यो । त्यसपछि विश्व अर्थतन्त्रमा चीनको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) को हिस्सा निरन्तर बढ्दै गएको छ । सन् २०२१ मा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ९४.९४ ट्रिलियन डलर हुदाँ चीनको कुल गार्हस्थ्य उत्पादन १७ ट्रिलियन डलर थियो जुन अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको ७५ प्रतिशत, एसियाको कुल गार्हस्थ्य उत्पादनको ४६ प्रतिशत र वैश्विक कुल गार्हस्थ्य उत्पादनको १८.६ प्रतिशत हो । सोही वर्ष, विश्व कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा अमेरिकाको २४.२ प्रतिशत थियो भने तेस्रो ठुलो हिस्सा जापानको ५.२ प्रतिशत थियो । चीन र अमेरिकाको कुल गार्हस्थ्य उत्पादनबिचको अन्तर द्रुतगतिमा कम हुँदै गएको छ र सन् २०३० सम्ममा चीनको कुल गार्हस्थ्य उत्पादनले अमेरिकालाई उछिन्ने प्रक्षेपण छ । उदीयमान र विकासशील देशहरूको विश्व अर्थतन्त्रमा क्रयशक्ति समताको हिस्सा बढेको छ, जुन आर्थिक सङ्कट वरपर विकसित अर्थतन्त्रको हाराहारी रहेकोमा सन् २०२० सम्ममा विश्वको ६० प्रतिशतसम्म पुगिसकेको छ र भविष्यमा यो थप तीव्र गतिमा बढ्नेछ ।

२. भनिन्छ कि, पश्चिममा अमेरिका तथा उसको नेतृत्वमा रहेको नेटो गठबन्धन र रुसबिचको प्रतिस्पर्धा र पूर्वमा सोही गठबन्धन र चीनबिचको प्रतिद्वन्द्विता यस भेगका अन्य सबै भूराजनीतिक अन्तप्रवाहहरूमाथि हावी भएर सबै देशलाई असर गर्न थालेको छ । इन्डो–प्यासिफिक (हिन्द प्रशान्तीय), क्वाड(अमेरिका, जापान, भारत र अस्ट्रेलिया) र नेटोको पूर्वतर्फको गति र ताइवानमा हालैको गतिरोध यसका केही उदाहरणहरू हुन् । यसमा चीनको सुविचारित प्रतिक्रिया के छ र के हुनुपर्छ ?

चङ अन् फू : मानव प्रगति र सभ्यताको प्रवद्र्धनको लागि मुलुकहरूबिच प्रतिस्पर्धा आवश्यक र अपरिहार्य हुन्छ, तर त्यो संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्वसमुदायले तोकेका नियमहरूको परिधिभित्र रहेर हुनुपर्छ । तसर्थ, चीनले सधैँ शान्तिपूर्ण विकास र ‘विन–विन (सबैले जित्ने’ सहकार्यको वकालत गरेको छ र नियमभित्र रहेर हुने वैधप्रतिस्पर्धालाई स्वागत पनि गर्दछ । तर विगत लामो समयदेखि अमेरिका र पश्चिमले चीन, रुस, क्युवा, उत्तर कोरिया, इरान, सिरिया र अन्य देशमाथि जे गरेको छ, त्यो विधि अनुरूपको प्रतिस्पर्धा होइन । तिनले यी मुलुकमाथि नियम विपरीत दादागिरी शैलीको आर्थिक प्रतिबन्ध, राजनीतिक दमन र सैन्य उत्तेजना थोपर्दै आएका छन् । बाइडेन सत्तामा आएपछि, अमेरिकाले सक्रिय रूपमा एकपछि अर्को सैन्य गठबन्धन निर्माण गर्यो ।

अमेरिकाले बेलायत र अस्ट्रेलियासँग त्रिपक्षीय ओकस (AUKUS) सुरक्षा साझेदारी गरेको छ । त्यस्तै जापान, भारत र अस्ट्रेलियासँग मिलेर ‘क्वाड्रीलेटरल सुरक्षा संवाद अर्थात (क्वाड)’ र बेलायत, क्यानडा, अस्ट्रेलिया अनि न्युजिल्यान्डसँग ‘फाइभ आइज गठबन्धन’ निर्माण गर्यो । त्यस्तै ‘इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क’ पनि सुदृढ बनाउँदैछ । अमेरिका र बेलायतले आणविक पनडुब्बी निर्माण गर्न अस्ट्रेलियालाई हतियारस्तरको आणविक सामग्री प्रदान गर्ने योजना बनाएका छन् । जी–७ अन्तर्गत अरू कैयौँ ससाना गठजोड बन्ने काम चलिरहेको छ । यस कुरामा बेलायतले अमेरिकालाई अनुसरण गरिरहेको छ । बेलायतको बाह्य जासुसी संयन्त्र एमआई–सिक्सका प्रमुखले चीन अब पहिलो प्राथमिकतामा भएको बताएका छन्, आतङ्कवादविरोधी गतिविधिभन्दा पनि बढी । उनले रुस र युक्रेनबिचको द्वन्द्वलाई ‘ताइवान मुद्दा’ उचाल्न प्रयोग गर्दै पश्चिमले चीनलाई ‘ ताइवान एकीकरणतर्फ कुनै सैन्य कारबाही गरे तथाकथित डरलाग्दो नतिजा निम्तिने छ’ भन्ने चेतावनी दिन सुझाएका छन् ।

बेलायती विदेशमन्त्रीले पनि यस्तै कुरा बताएका छन् । दिवङ्गत पूर्व जापानी प्रधानमन्त्री आबे सिन्जोले ‘ताइवानको समस्या’ जापानको समस्या हुने कुरामा जोड दिन्थे र जापानले हालै चीनको दाबी रहेको रुकुयु टापुहरूमा हजारौँ मिसाइल तैनाथ गर्ने योजना बनाएको छ । पश्चिमी राष्ट्रले चीनलाई घेर्न र उक्साउन ‘डप्फा बनाउने‘ र ‘गठबन्धन निर्माण’ गर्ने कामलाई तीव्रता दिका छन् । यस्तोमा भविष्यमा चीनले कस्तो प्रतिक्रिया दिने ? भन्ने चासो स्वाभाविक हो ।

यससम्बन्धमा पहिलो कुरा, चीनले वास्तविक बहुपक्षीयताको अभ्यासको आह्वान गरिरहनेछ । त्यस्तै संयुक्त राष्ट्रसङ्घ मुख्य भूमिकामा हुने गरी अन्तर्राष्ट्रिय प्रणाली, अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र संयुक्त राष्ट्रसङ्घको बडापत्र र यसको उद्देश्य तथा सिद्धान्तअनुरूपको अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताको दृढताका साथ समर्थन गर्नेछ र चीनले संयुक्त राष्ट्रसङ्घको अधिकारक्षेत्र र विश्वव्यापी सुरक्षा व्यवस्थामा यसको मुख्य हैसियतको स्थितिको प्रतिरक्षा गर्नेछ । शीतयुद्धको मानसिकता, एकपक्षीयता, गुटको टकराव र हैकमवाद संयुक्त राष्ट्र बडापत्रको मर्मविपरीत छ । त्यसैले तिनको प्रतिरोध र अस्वीकार गरिनुपर्छ ।

दोस्रो, चीनले मैत्रीपूर्ण राष्ट्रसँग मिलेर बेल्ट एन्ड रोड, एसियाली पूर्वाधार लगानी बैङ्क (ए.आई.आई.बी.), साङ्घाई सहयोग सङ्गठन (एस.सी.ओ.), ब्रिक्स, ग्रुप अफ ७७ र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ निर्माणको कामलाई निरन्तरता दिनेछ । साथमा ‘ग्लोबल डेभलपमेन्ट प्रमोसन सेन्टर अफ द चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सी.आई.डी.सी.ए.)’ को कोषलाई थप बढाउनेछ । यसले समाजवादी देशलगायत विकासोन्मुख देशका राष्ट्रिय अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनमा उलेख्य सुधार ल्याउनेछ । तेस्रो, चीनले संयुक्त राष्ट्रसङ्घका महासचिवले अघि सारेका ‘आवर कमन एजेन्डा (हाम्रो साझा एजेन्डा)’ मा प्रयुक्त ‘शान्तिका लागि नयाँ एजेन्डा’ र अन्य प्रस्तावको कार्यन्वयनमा सक्रिय सहभागिता जनाउनेछ । साथै चाइना–युएन पिस एन्ड डेभलपमेन्ट ट्रस्ट फन्ड (चीन–संयुक्त राष्ट्र शान्ति र विकास कोष) अन्तर्गतको शान्ति र सुरक्षा उपकोषको लाभलाई थप अघि बढाउनेछ र विश्वव्यापी सुरक्षा मामिलामा संयुक्त राष्ट्रसङ्घको बृहत्तर भूमिकालाई समर्थन गर्नेछ ।

चौथो, चीनले मातृभूमिको शान्तिपूर्ण पुनर्एकीकरणका लागि सबै माध्यमबाट प्रयास जारी राख्नेछ तर ताइवानसँग सशस्त्र पुनर्एकीकरणको विकल्पलाई कहिल्यै परित्याग गर्ने छैन । यस सम्बन्धमा राष्ट्रपति सी जिनपिङले भनेका छन् ,‘ चिनियाँ जनता शान्तिको कदर गर्छन् । हामी आक्रामकता वा विस्तारमा संलग्न हुने छैनौँ । तर हामीविरुद्ध आइलाग्ने कुनै पनि आक्रमणकारीलाई पराजित गरिछाड्नेछौँ भन्नेमा विश्वस्त छौँ ।

हामी कुनै पनि व्यक्ति, कुनै पनि सङ्गठन वा कुनै पनि राजनीतिक दललाई कुनै पनि समयमा, कुनै पनि रूपमा चीनको कुनै पनि भूभाग टुक्याउन अनुमति दिनेछैनौँ । चीनको सार्वभौमसत्ता, सुरक्षा वा विकासको हितमा हानि पु¥याउने कुनै पनि कुरा हामीले स्विकार्नेछौँ भन्ने अपेक्षा कसैले गर्नुहुँदैन ।’

३. ‘चिनियाँ विशेषतासहितको समाजवाद’ले चीनको राजनीतिक अर्थतन्त्रको वैचारिक आधार प्रदान गरेको छ । चीनले समाजवादको झण्डालाई अझै बोकेको देखिन्छ र ऊ समीर अमिनले भनेजस्तो ‘भूमण्डलीकरण’ बाट अलग्गिन (delink) सफल भएको छ अर्थात ‘भूमण्डलीकरण’ को सेवामा राष्ट्रिय विकास रणनीतिलाई समर्पित गर्ने आदेशात्मक प्रचलनलाई अस्वीकार गर्न सफल भएको छ । तथापि, आम जनसङ्ख्याबिच आयको विशाल खाडल र चीनमा बढ्दो अर्बपतिको ठुलो सङ्ख्यालाई ध्यानमा राख्दै, कसै–कसैले यसलाई ‘चिनियाँ विशेषतासहितको पुँजीवाद’ भनेर व्यङ्ग्य गर्ने गर्छन् । यसमा तपाईंको धारणा के छ ?

चङ अन् फू : समाजवादको विकासले तीन चरणहरू पार गर्नेछ भन्ने म विश्वास गर्छु , जसको निर्माण उत्पादक शक्तिहरूमा आउने परिवर्तनले उत्पादनसम्बन्ध वा आर्थिक प्रणालीमा ल्याउने आंशिक र गुणात्मक रूपान्तरणको परिणाम हो । विशेष गरी, प्राथमिक चरणको समाजवादी आर्थिक व्यवस्था भनेको विभिन्न स्वरूपका सार्वजनिक स्वामित्व मुख्य निकाय (परिपूरकको रूपमा निजी स्वामित्व), बजारमा आधारित वितरण जहाँ श्रम मुख्य निकाय (पुँजीमा आधारित वितरण परिपूरक) र राज्य (योजना) को प्रभुत्व रहेको बजार अर्थव्यवस्थाको योग हो ।

तै मध्यवर्ती समाजवादमा सार्वजनिक स्वामित्वका बहुरूपहरू, श्रममा आधारित विभिन्न वस्तु वा मालजन्य वितरणप्रणाली, राज्यको आधिपत्य रहेको योजनाबद्ध अर्थव्यवस्था (पूरकका रूपमा बजार समायोजन) को योग रहन्छ । त्यसपछि आउने उन्नत समाजवादमा सम्पूर्ण समाजको मातहतमा हुने एकल सार्वजनिक स्वामित्व, श्रमअनुसार उत्पादनमा आधारित वितरण र पूर्णयोजनाबद्ध अर्थव्यवस्थाको योग हुन्छ ।

साम्यवादमा चाहीं सम्पूर्ण समाजको मातहतमा एकल सार्वजनिक स्वामित्व, आवश्यकताअनुसार उत्पादनमा आधारित वितरण (न्यून आपूर्तियुक्त नयाँ उपभोग्य वस्तुहरू श्रम अनुसार वितरण) र पूर्ण योजनाबद्ध अर्थव्यवस्थाको योग हुन्छ । जबकि आधुनिक पुँजीवादी आर्थिक व्यवस्थामा निजी स्वामित्व, पुँजीअनुसार वितरण र राज्यनिर्देशित बजार अर्थव्यवस्थाको योग हुन्छ । समाजवादका तीन चरण रहने यो नयाँ सिद्धान्तले मार्क्सवादी शास्त्रीय साहित्यमा उल्लेखित विभिन्न प्रणालीगत मापदण्डलाई यथोचित रूपमा समन्वय गर्छ र चिनियाँ तथा समाजवादी अर्थतन्त्रका अन्य अभ्यासका पाठहरूका आधारमा, समाजवादको प्राथमिक चरण र साम्यवादको महान् प्रणालीगत लक्ष्यबिचको अन्तर्निहित सम्बन्धलाई प्रकट गर्न मद्दत गर्दछ । ‘चिनियाँ विशेषतासहितको समाजवाद’को वर्तमान अवस्थाको मेरो विश्लेषणले मलाई निम्न आधारभूत निष्कर्षहरूमा पुर्याएको छ :

चीनमा एकीकृत नेतृत्व र शासनसहितको नयाँ प्रकारको लोकतान्त्रिक केन्द्रीकरण भएको समाजवादी राजनीतिक प्रणाली छ; चीनमा समाजवादी विचारधारा र सांस्कृतिक प्रणाली विद्यमान छन् जुन माक्र्सवाद–लेनिनवाद र यसको चिनियाँकरणलाई पालना गर्छन् ; चीन राज्यको नियमन हाबी भएको समाजवादी बजारप्रणाली हो, तर यसमा गैरसरकारी अर्थतन्त्र समावेश भएको राज्य पुँजीवादका उलेख्य तत्वहरू पनि समावेश छन् । यसले गर्दा सम्पत्ति र आयमा व्यापक असमानताहरू निम्त्याएको छ र ‘ आश्चर्यजनक ठुलो सङ्ख्याका ‘अर्बपति’ सिर्जना गरेको छ ।

पछिल्लो समयमा चीनले ‘साझा समृद्धि’को प्रवद्र्धन गर्ने विषयमा ध्यान दिएको छ । निश्चित रूपमा, म व्यक्तिगत रूपमा के विश्वास गर्छु भने प्राथमिक समाजवादको उत्कृष्ट आर्थिक प्रणालीअन्तर्गत गैरसरकारी क्षेत्रले अर्थतन्त्रको एक तिहाइ हिस्सामात्र ओगट्नुपर्छ र मझौला तथा ठुला आकारका निजी चिनियाँ उद्यमको सङ्ख्यालाई नियन्त्रण गर्नुपर्छ । यसले चीनलाई वर्गीय स्तरीकरणको सन्दर्भमा समाजवादको प्राथमिक चरणमा साझा समृद्धि हासिल गर्न सक्षम बनाउँछ । अहिले यो जल्दोबल्दो बहसको विषय बनेको छ ।

४. तपाईं आफूलाई नवप्रवर्तनकारी (innovative) माक्र्सवादको पक्षधरको रूपमा चिनाउनुहुन्छ, जसले समाजमा प्रगतिशील परिवर्तनका लागि कम्युनिस्ट पार्टीको केन्द्रीय महत्वलाई समर्थन गर्छ । यो एकल पार्टीको शासनमाथिको ‘अत्यधिक जोड’ लाई अलोकतान्त्रिक र अधिनायकवादी भनेर आलोचना गरिएको छ । नवप्रवर्तनकारी मार्क्सवादी पनि किन एउटै पार्टीको सर्वोच्चतामा जोड दिनुपरेको हो ? त्यसबारे प्रकाश पारिदिनोस् न ।

चङ अन् फू : चीनमा मात्र होइन जापान र सिङ्गापुरमा पनि एउटै पार्टीको वर्चस्व छ । संयुक्त राज्य अमेरिकामा दुईवटा प्रमुख पार्टी छन् । रुसमा तीन पार्टी हाबी छन् । केही देशमा चार वा पाँच दलबिच शक्ति सन्तुलन छ । दलीय शासनका मोडेलका धेरै रूप छन्, जुन हरेक देशका राजनीतिक शक्तिको विकाससँगै कानुनको शासनद्वारा गठित वा रूपान्तरण हँुदै आएका छन् । त्यसैले कुनै अमुक पार्टीगत ढाँचामात्र राम्रो भन्न सकिँदैन । वास्तवमा पार्टीको सर्वोत्कृष्ट संरचनाको मापदण्ड भनेको पार्टीको वर्गीय प्रकृति र जनअभिमुखीकरण अनि त्यसको शासन गर्ने क्षमता हो । नवप्रवर्तनात्मक माक्र्सवादले चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावशाली भूमिका र दीर्घकालीन नेतृत्वलाई जोड दिन्छ, जुन श्रमजीवी जनताको अधिकार र जीविकोपार्जनलाई थप सुधार गर्न, द्रुत आर्थिक, सामाजिक र सांस्कृतिक विकास हासिल गर्न र विश्वमा शान्ति, न्याय र सभ्यता कायम राख्न उपयोगी देखिएको छ । निश्चित रूपमा, चिनियाँ कम्युनिस्ट पार्टीले पनि आफ्नो प्रगतिशीलता र शुद्धता कायम राख्नुपर्छ । उसले पार्टीभित्रको लोकतन्त्र, अन्य बृहत् जनवादी लोकतन्त्र र सामाजिक लोकतन्त्रको पूर्णविकासमार्फत यी लक्ष्यहरूको पूर्णप्राप्तिमा योगदान दिनुपर्छ । लोकतान्त्रिक राजनीतिको विकासलाई निर्देशित गर्ने केही अन्तरनिहित नियम हुन्छन् र यसको वैज्ञानिक मूल्याङ्कनका लागि वस्तुगत मापदण्डहरू
छन् । कुनै पनि देशको राजनीतिक प्रणाली लोकतान्त्रिक र प्रभावकारी छ कि छैन भनेर कसरी मूल्याङ्कन गर्ने भन्ने विषयमा, मूलधारको चिनियाँ सिद्धान्तले आठ आवश्यकता र ‘चार महत्वपूर्ण पक्ष + चार थप महत्वपूर्ण पक्ष’ कति हदसम्म पूरा भए भन्ने आधार हेर्छ । आठ आवश्यकताहरू निम्नानुसार छन् ः
राष्ट्रिय नेतृत्वको उत्तराधिकार कानुनबमोजिम सुव्यवस्थित रूपमा सञ्चालन भएको छ कि छैन; समग्रमा जनताले राष्ट्रिय, सामाजिक, आर्थिक र सांस्कृतिक मामिलाको व्यवस्थापन कानुनबमोजिम गर्न सक्छन् कि सक्दैनन् ; जनताका आफ्ना चाहना व्यक्त गर्न वा माग अघि सार्न आवाज उठाउने सहज माध्यमहरू छन् कि छैनन् ; देशको राजनीतिक जीवनमा समाजका सबै वर्ग पूर्णरूपमा सहभागी हुनसक्छन् वा सक्दैनन् ; राष्ट्रिय निर्णयहरू वैज्ञानिक र लोकतान्त्रिक तरिकाले गरिन्छन् कि गरिँदैनन्; क्षमतावान व्यक्तिहरूले निष्पक्ष प्रतिस्पर्धाको माध्यमबाट देशको अग्रणी र व्यवस्थापन प्रणालीमा प्रवेश गर्न सक्छन् कि सक्दैनन् ; सत्तारुढ दलले संविधान र सम्बन्धित कानुनबमोजिम राष्ट्रिय मुद्दामा नेतृत्व गर्न सकेको छ या छैन ; र शक्तिको प्रयोगलाई प्रभावकारी नियन्त्रण र पर्यवेक्षणमा राखिएको छ कि छैन ?

देश लोकतान्त्रिक छ कि छैन भनेर न्याय गर्ने यी सामान्य मापदण्डहरू हुन् । एककदम अगाडि बढेर हेर्दा अझ कुनै देश लोकतान्त्रिक हो वा होइन भन्ने कुरा त्यहाँका जनता साँच्चै देशका मालिक हुन् कि हैनन् भन्नेमा भरपर्छ । मतदानको अधिकार महत्वपूर्ण छ, तर त्योभन्दा पनि महत्वपूर्ण हुन्छ । जनताको व्यापक सहभागिता । दल र नेताले चुनावमा के–कस्ता वाचा गरेका छन्, त्यो हेर्नु आवश्यक छ र सबैभन्दा महत्वपूर्ण कुरा, तिनले चुनावपछि ती वाचा कति पूरा गरे भनेर पनि हेर्नुपर्छ । राजनीति प्रक्रिया र नियम कानुनले तोकेको हुन्छ, तर त्योभन्दा पनि महत्वपूर्ण कुरा यी प्रक्रिया र नियम साँच्चै पालना गरिएका छन् कि छैनन् भन्नेमा हुन्छ । शक्तिसञ्चालनका लागि प्रजातान्त्रिक नियम र कार्यविधिहरू महत्वपूर्ण हुन्छन् तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा शक्ति वास्तवमा जनताद्वारा अनुगमन र नियन्त्रण गरिएको छ कि छैन भन्ने हुन्छ । देश लोकतान्त्रिक हो कि होइन भनेर निर्णय गर्ने मुख्य मापदण्डहरू यी हुन् । माथिका आठ सामान्य मापदण्ड र चार प्रमुख मापदण्ड देश लोकतान्त्रिक छ कि छैन भनेर निर्धारण गर्ने महत्वपूर्ण आधार हुन् ।

यो नयाँ सिद्धान्तले आधुनिक समयको राजनीतिक विकासको आधारभूत नियमलाई पछ्याउँछ र यसले आधुनिक लोकतान्त्रिक राजनीतिको संस्थागत व्यवस्थाजस्ता मुद्दालाई पनि सम्बोधन गर्दछ । यसले लोकतान्त्रिक प्रणालीको मुख्य विषयवस्तुलाई पनि समेट्छ र आधुनिक राजनीतिक सभ्यताका आधारभूत आवश्यकताहरू पनि झल्काउँछ । चिनियाँ र अमेरिकी प्रजातन्त्रको तुलना गर्दा के कुरा स्पष्ट देखिन्छ भने चीनमा पूर्ण–प्रक्रियागत जनताको लोकतन्त्र छ, जुन समाजवादी लोकतन्त्रको अनिवार्य विशेषता हो । यसको विपरीत अमेरिकी लोकतन्त्रमा गम्भीर कमजोरी र गलत विशेषताहरू छन्, जुन पैसाको राजनीति, कुलीनतन्त्र, पारिवारिक राजनीति, ध्रुवीकरणको राजनीति र नयाँ प्रकारको अधिनायकवादको नमुना हो । छोटकरीमा, अमेरिकाको लोकतन्त्र वास्तविक लोकतन्त्र होइन, त्यहाँ जनता मालिक छैनन् ।

५.नेपाल पनि नेपाली विशेषतासहितको समाजवादको बाटो हिँड्न चाहन्छ । तर ऐतिहासिक अवस्थाले संसदीय निर्वाचन र गठबन्धनको बाटोमा हिँड्ने स्थिति सिर्जना गरेको छ । तथापि, नेपालको अनुभवले के देखाउँछ भने वामपन्थी राजनीतिक दलहरूले नाम वामपन्थी राखे पनि वैचारिक रूपमा वामपन्थी शक्तिबाट गरिने अपेक्षाअनुरूपको कार्यक्रम अङ्गीकार गर्न सकेका छैनन् । क. नेपालजस्तो देशका लागि वामपन्थी एजेन्डाका मुख्य सूचक कुनकुन कुरालाई मान्नुहुन्छ ?

चङ अन् फू : मैले नेपालमा समाजवादी विकासको प्रक्रियालाई निकै चासोका साथ पछ्याउँदै आएको छु र पटकपटक नेपालमा कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिको सङ्घर्षका महान् भावनाहरूको प्रशंसा गरेको छु । नेपाललगायत विभिन्न देशहरूमा विश्वसमाजवादको भविष्य धेरै हदसम्म समकालीन सर्वहारा गठबन्धनको स्तर र दक्षतामा निर्भर गर्दछ । म यहाँ केवल दुई सम्बन्धित विषयहरूमा सङ्क्षिप्त कुरा राख्नेछु । पहिलो कुरा, कम्युनिस्ट घोषणापत्रमा उल्लेखित ‘विश्वका सर्वहारावर्ग एक होऔँ’ को भावनालाई साकार पार्न आफ्नो कामलाई सबल बनाउने विशेष तौरतरिकासँग सम्बन्धित छन्, अर्थात् १. विश्वका मजदुरवर्गका वामपन्थी दलहरू एक होऔँ, २. विश्वका मजदुरवर्गका वामपन्थी युनियनहरू एक होऔँ; ३. विश्वका माक्र्सवादी र वामपन्थी प्राज्ञिक सङ्गठनहरू एक होऔँ, ४. विश्वका मार्क्सवादी र वामपन्थी मिडिया संस्थाहरू एक होऔँ, ५. विश्वका मार्क्सवादी र वामपन्थी मञ्च एक होऔँ; ६. विश्वका मजदुरवर्ग र वामपन्थी आन्दोलनहरू एक हौऔँ । दोस्रो मुद्दा, मार्क्सवादी र वामपन्थीहरूले ध्यान दिनुपर्ने खास रणनीति र कार्यनीतिहरूसँग सम्बन्धित छः

१. हामीले वामपन्थी सिद्धान्त, रणनीति र कार्यनीतिको आदानप्रदानलाई बलियो बनाउनुपर्छ, मतभेद थाँती राखेर साझा आधार खोज्नुपर्छ र अनावश्यक विवादहरू कम गर्नुपर्छ,
२. हामीले मार्क्सवादी वामपन्थीहरूलाई केन्द्रमा राखेर एकताबद्ध गर्नसक्नेजति सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्नुपर्छ । यसमार्फत बृहत् अन्तर्राष्ट्रिय समाजवादी संयुक्त मोर्चा गठन गर्नुपर्छ,
३. हामीले युनियन, विद्यालय र समाजका अन्य क्षेत्रहरूमा सक्रिय रूपमा वामपन्थी समूह निर्माण गर्न आवश्यक छ, र त्यसपछि घोषित वा सम्भावित
वामपन्थीहरूसँग सम्बन्ध स्थापित गर्नुपर्छ,
४. मानविकी र सामाजिक विज्ञानका विभिन्न विषयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मार्क्सवादी समाजको स्थापना र विकास गर्न आवश्यक छ, जोसँग पत्रिका, वेबसाइट र प्रकाशन गृह आबद्ध गर्न सकिन्छ । कलेजहरूमा मार्क्सवादी पाठ्यक्रम तयार पार्न र समाजमा खुला फोरमहरू स्थापना गर्न पनि आवश्यक छ;,
५. विभिन्न वामपन्थी आन्दोलनहरूमा दृढ र नवप्रवर्तनकारी मार्क्सवादी र वामपन्थीहरूको पहिचान र प्रवद्र्धन गर्न आवश्यक छ, ताकि ती प्रमुख नेतृत्वका लागि तयार होऊन्,
६. हामीले देशभित्र र बाहिर वामपन्थी र प्रगतिशील आन्दोलनहरूलाई खुल्लमखुल्ला वा अन्य तरिकाबाट प्रभावित गर्ने वा मार्गदर्शन दिने गर्नुपर्छ,;
७. विद्यमान कानुनहरू उल्लङ्घन नहुने हदसम्म कम्युनिस्ट पार्टीलगायत वामपन्थी सङ्गठनहरूले सक्रिय रूपमा नाफामुखी उद्यम स्थापना गर्नु र विस्तार गर्नुपर्छ, जसले तिनका गतिविधिहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक सहयोग प्रदान गर्नेछन्,;
८. हामीले विभिन्न देशका वामपन्थी आर्थिक तथा सामाजिक अभ्यासहरूको सफल उदाहरण र महत्वपूर्ण उपलब्धिहरूको प्रचारप्रसार गर्ने प्रयासलाई तीव्रता दिनुपर्छ, जुन स्थानीय वामपन्थी सिद्धान्त र नीतिनिर्माणमा प्रमाण र जनमत हासिल गर्ने माध्यम हुनेछ । साथमा यसले मानिसहरूलाई वामपन्थको मूल्य र प्रगतिशिलता बुझ्न सघाउनेछ ।

ख. नेपालको राजनीतिक संरचनालाई मध्यनजर गर्दै चीनले नेपाललाई समाजवादउन्मुख विकासको बाटोमा अघि बढ्न के पाठहरू प्रदान गर्नसक्छ होला ?

चङ अन् फू : चीनले क्रान्ति, निर्माण र सुधारमा हासिल गरेको सफलता र गल्तीबाट नेपालले सिक्न सक्ने पहिलो पाठ, यहाँका विभिन्न कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूबिच निर्वाचनदेखि शासनसम्म बलियो एकता र ऐक्यबद्धता हासिल गर्नेमा हुनेछ । यसका लागि पार्टीहरूले यथार्थबोध गर्ने, समग्रतामा ध्यान केन्द्रित गर्ने, विवाद घटाउने, पार्टीभित्र र बाहिर सहिष्णुता बढाउने र एकतामा जोड दिनेजस्ता सिद्धान्तहरूमा ध्यान दिन सकिन्छ । दोस्रो भनेको देशव्यापी रूपमा एकजुट हुनसक्ने सबै जनता र शक्तिहरूलाई एकताबद्ध गर्ने र वामविरोधी शक्तिको प्रभावलाई न्यूनीकरण गर्ने प्रयास हो । तेस्रो, सहरी र ग्रामीण क्षेत्रमा संयुक्त–स्टक सहकारी उद्यम र व्यक्तिगत अर्थतन्त्रको व्यापक रूपमा स्थापना र विकास गर्ने पाठ हुनेछ । राज्यले प्रमुख र उच्च लाभदायक क्षेत्रमा (भर्ना, मूल्याङ्कन, दण्ड– सजायसहितको कडा प्रणालीसहित) ठुला र मध्यम आकारका सरकारी स्वामित्वका उद्यमहरू स्थापना र विकास गर्नुपर्छ । तर निजी उद्यमको स्वतन्त्र विकासलाई अनुमति दिनुपर्छ । चौथो, वामपन्थी शक्ति र नीतिहरूको विरोध गर्न खोज्ने संयुक्त राज्य अमेरिका, भारत र अन्यका अवाञ्छनीय तर्क र कारबाही न्यूनीकरण गर्न अत्यन्त सतर्क, होसियार र कुशल हुनुपर्छ । सँगसँगै चीन तथा अन्य सबै मित्रवत मुलुकसँग ‘विन–विन’ सहकार्य सुदृढ गर्नुपर्छ ।

६.पुँजीवादी उत्पादन प्रणाली पर्यावरण नष्ट गर्ने विशाल औजार बनेको छ । तथाकथित समाजवादी देशहरूले पनि यसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यस सन्दर्भमा पर्यावरण–समाजवाद (इको–सोसलिजम) को अवधारणा र आन्दोलनले गति लिइरहेको छ । चीनले पनि पर्यावरणीय सभ्यताको अवधारणा लिएर आएको छ । अवधारणा आकर्षक देखिन्छ तर त्यसलाई हासिल गर्नको लागि राजनीतिक, आर्थिक र सामाजिक मार्गचित्र कस्तो हुनेछ ?

चङ अन् फू :  इको–सोसलिजम (पर्यावरण समाजवाद) र पर्यावरणीय सभ्यता वास्तवमा महत्वपूर्ण अवधारणा हुन् । चीनले पहिले नै आफ्नो पर्यावरणीय समस्याको सामना गर्न विभिन्न उपायहरू अपनाएको छ, जुन अहिलेसम्म धेरै प्रभावकारी भएको छ । अहिलेको लागि मैले यो प्रश्नमा यति नै भन्न चाहेँ ।

७. वर्गसङ्घर्षले ऊर्जाशील आन्दोलन, जसको प्रमुख चालकशक्ति मजदुर र किसान हुनेगर्छ, त्यसमा बुद्धिजीवीहरूको भूमिका के देख्नुहुन्छ ? चिनियाँ राज्यको सञ्चालनमा वर्गसङ्घर्ष कसरी प्रकट हुन्छ ?

चङ अन् फू : एङ्गेल्सले एक ठाउँमा मार्क्सवादी र वैज्ञानिक समाजवादी विचारधारा भएका बुद्धिजीवीहरूलाई ‘मानसिक श्रम गर्ने सर्वहारावर्ग’ भनेका थिए । अक्टोबर क्रान्ति, चिनियाँ क्रान्ति र नेपाली क्रान्तिको अनुभवले मार्क्सवाद, लेनिनवाद र माओवादले सुसज्जित बुद्धिजीवीहरूले सबै प्रकारका वर्गसङ्घर्ष प्रेरित सङ्घर्ष र सामाजिक आन्दोलनमा भविष्यद्रष्टा र नेतृत्वदायी भूमिका निर्वाह गरेको देखाएको छ । तिनले मजदुरवर्ग र जनताको प्रतिनिधित्व गर्दै एकसाथ इतिहास र आधुनिकीकरणको प्रगतिमा योगदान दिए । मार्क्स र लेनिनका लागि ‘सर्वहारावर्ग,’ ‘मजदुरवर्ग’ र ‘श्रमिकवर्ग’ ले पुँजीवादी उत्पादन प्रणालीमा एउटै कुरोलाई जनाउँथे, भलै मजदुरहरू फरकफरक उद्योग वा कम्पनीमा नै काम किन नगरून् ।

मार्क्सवादी–लेनिनवादी परिप्रेक्ष्यमा, कुनै एक श्रमिक पुँजीवादको सन्दर्भमा तब सर्वहारावर्ग वा मजदुरवर्ग वा श्रमिकवर्गमा पर्छ जब ऊसँग उत्पादन र निर्वाहका साधनमाथि स्वामित्व हुँदैन र ऊ कुनै पुँजीवादी उद्यम वा पुँजीवादी राज्यसंस्थामा रोजगारी गरेर आय हुने ज्यालामा मात्र जीविकोपार्जन गरेर बस्छ ।

सामाजिक–आर्थिक शक्ति संरचनाको सन्दर्भमा थप बुझ्दा भने, सर्वहारावर्ग भनेको उत्पादनका साधनमाथिको (हार्डवेयर र सफ्टवेयर दुवैमा) स्वामित्वमार्फत शक्तिशाली भएका पुँजीपतिवर्गको शक्तिद्वारा दबिएका वर्गहरूको समग्रता हो । अर्थात सर्वहारा भन्ने शब्दले यी तथ्यहरूसँग कुनै सरोकार राख्दैन कि यो वर्गका सदस्यहरूसँग घर, कार र निर्वाहका उपभोग्य वस्तु छन्, न त परिवारसमेत धान्न नपुग्ने र निरन्तर नाफा– घाटाको उतारचढावको सामना गर्ने धितोको थोरै परिणामको स्वामित्वले नै फरक पार्छ । यस शब्दको खास अर्थ हो उनीहरू पुँजीवादी ‘ज्यला श्रम’ मा संलग्न नभई स्वतन्त्र रूपले बाँच्न वा काम गर्न सक्दैनन् । हाम्रो समयका विकसित पुँजीवादी देशहरूमा तृतीयक क्षेत्र (टर्सियरी सेक्टर) को तुलनात्मक विशाल आकारको कारणले अर्थतन्त्रमा तृतीयक क्षेत्रका सर्वहारावर्ग वा श्रमिकवर्गको अंश प्राथमिक र माध्यमिक क्षेत्रहरूभन्दा बढी देखिन्छ । निश्चित रूपमा, सर्वहारावर्ग वा मजदुरवर्ग पनि तिनको पेसा, स्थिति र आम्दानीले सिर्जना गर्ने फरक जीवनस्तर र कामको प्रकृतिको आधारमा धेरै तह र समूहमा विभाजित हुन्छन् । तर यस्तो विभाजनका बाबजुद समग्रतामा वर्गको चरित्र र आम विशेषता अस्वीकार गर्न सकिँदैन । यो ध्यान दिनुपर्छ कि प्रत्येक देशका ‘आम वामपन्थ’ (pan-leftism) भित्र माक्र्सवादी–लेनिनवादी वामपन्थी समावेश हुन्छन्, जसले मजदुरवर्गको अग्रमोर्चाको प्रतिनिधित्व गर्दछ (यसमा मार्क्सवाद–लेनिनवादको मूलसिद्धान्त समर्थन गर्ने विद्वान, कम्युनिस्ट, ट्रेड युनियनवादी आदि पर्छन् ) । निम्न बुर्जुवा वा बुर्जुवा वामपन्थीले भने पुँजीवादका केही समस्या र पक्षको मात्र विरोध गर्छन् । यो सत्य हो कि समकालीन एकाधिकार पुँजीपतिवर्गले राष्ट्रिय आर्थिक जीवनधारा र शक्तिलाई मात्र नियन्त्रण नगरेर तथाकथित ‘तेस्रो शक्ति’ वा ‘नागरिक समाज’ लाई पनि नियन्त्रण गर्छ । यसअन्तर्गत पर्ने मुख्यधारको मिडिया, राष्ट्रिय शिक्षा, प्रतिष्ठान र सामाजिक संस्थाले माक्र्सवाद–लेनिनवादको वैज्ञानिक समाजवादलाई आम जनतामाझ प्रचार गर्न, चिनाउन र सर्वस्वीकार्य हुन रोक्ने गर्छ । समाजका विभिन्न तप्काले गर्ने आम विरोध वा ‘आम वामपन्थी’ आन्दोलनमा वैज्ञानिक समाजवादको जस्तो दिशा र गति हुँदैन, त्यसैले त्यो सामान्यतया बुर्जवा सुधारवादीहरूको ‘आम–वामपन्थी’ प्रगतिशील आन्दोलन बन्ने गर्छ । तथापि, यसले मजदुरवर्गको अग्रमोर्चा मानिने मार्क्सवादी वामपन्थको अस्तित्व र विकासलाई निषेध गर्दैन, जसको पहिचानको राजनीति वर्गीय हुन्छ र जसको ‘वामपन्थी’ अडान वैज्ञानिक समाजवाद अनुरूप हुन्छ ।

तिनले वास्तविक अर्थमा ‘मार्क्सवादी समाजवादी समाज’को स्थापना गर्ने व्यापक श्रमिक वर्गको सबैभन्दा आधारभूत मागको प्रतिनिधित्व गर्दछन् । तिनले अमेरिकी मोडेलको ‘तानाशाही पुँजीवाद’, ‘निरपेक्ष पुँजीवाद’, ‘अधिनायकवादी पुँजीवाद’ र नर्डिक मोडेलको ‘सुधारवादी पुँजीवाद’, ‘सामाजिक लोकतन्त्र’, र ‘लोकतान्त्रिक समाजवाद’ दुवैको विरोध गर्छन् । तथापि पछिल्लो मोडेलमा केही प्रगतिशीलता र सभ्यताको गुण हुने कुरा भने स्विकार्नुपर्छ । तैपनि यो बुझ्नुपर्छ कि कुनै पनि समाजमा क्रान्तिको चरमोत्कर्ष आउनुअघि पुँजीवादी राज्यको विचारधारा प्रायः समग्र नागरिक समाजको जस्तै हुन्छ । त्यसैले २१ औँ शताब्दीको तथाकथित नयाँ अवस्थालाई देखाएर पुँजीवादी समाजको विकल्प दिने माक्र्सवादी–लेनिनवादी–
माओवादी आधारभूत दृष्टिकोणलाई अस्वीकार गर्नु उचित हुँदैन । के आवश्यक छ भने हामीले समकालीन सर्वहारावर्ग, वैज्ञानिक समाजवाद र माक्र्सवादी–लेनिनवादी सिद्धान्त एवम् व्यवहारको एकतर्फी बुझाइलाई परिमार्जन गरौँ । त्यसको आधारमा मात्र हामीले माक्र्स, लेनिन र माओको वैज्ञानिक समाजवादको सिद्धान्त र व्यवहारमा नयाँ अन्वेषण गर्न सक्छौं ।

Author

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari