एक्काइसौँ शताब्दीलाई सुकुम्वासी भ्रूणको गाली

अब मलाई जन्मिन हतार भइसक्यो
जन्मिनासाथ सात पाइला हिँडेका थिए रे सिद्धार्थ गौतम
त्यसरी मग्नमस्त हिँड्नलाई मसँग जमिनै कहाँ छ र ?
त्यसैले,
जन्मिनेबित्तिकै
म एक्काइसौँ शताब्दीलाई सात गाली दिनेछु
र, हेर्नेछु – मेरा आदिशब्दहरूमा
कसले चलाउँदो रहेछ डोजर ?
आक्रोशको प्रस्तरकलामा सिद्धहस्त भइसकेँ
यो दुनियाँलाई ढुङ्गा हान्न लालायित छु
मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो !
बस्तीमा झिल्के चस्मा ढल्काएर प्रलय पसेको दिन
मेरी आमा
पानीको जार काटेर बनाइएका तीनटा गमलामा
फूलका बेर्ना सारिरहेकी थिइन्
मेरी आमालाई फूल असाध्यै मन पर्छ
यदाकदा उनी आफ्नै सपनाको माटोमा
फूल रोपिरहेकी हुन्छिन्
ताण्डवरत डोजर जब हाम्रो झुपडीसम्मुख पुग्यो
मेरी आमा आफ्ना फूलहरू जोगाउन प्रकट भइन् अकस्मात् खुकुरी नचाउँदै
र, सौन्दर्यको मौखिक इतिहासले
यसरी एउटी वीराङ्गना प्राप्त गर्यो
तर, पराजित त हुनु नै थियो
डोजरको दाँतीमा अल्झिएका आफ्ना फूलका बेर्ना
हेर्दै
खसालेकी थिइन् उनले तेजाबी आँसु
धिक्कार छ, एक्काइसौँ शताब्दी !
तँलाई दुःखका फूलहरू मन पर्दैनन्
सोच्छु कहिलेकाहीँ
यहीँ, आमाकै गर्भमा बिताइदिऊँ सारा जिन्दगी
यहाँ म झुपडी–बस्तीको एउटा तुच्छ प्रतीक हुँदिन
यहाँ मलाई एलिटहरूले ‘फकिङ हेडेक’ भन्दैनन्
यहाँ मलाई सहरको सुन्दरतामा धावा बोलेको आरोप
लाग्दैन
र, कुरूपताका पुजारीहरूले कठघरामा उभ्याउँदैनन्
मलाई
यहाँ म अवाञ्छित, अमान्छे, अनागरिक हुन्नँ
सोच्छु कहिलेकाहीँ
यहीँ, आमाकै गर्भमा बिताइदिऊँ सारा जिन्दगी तर, म कसरी यो निष्ठुर संसारमा
आमालाई एक्लै छोड्नसक्छु
साराका सारा गालीहरू
साराका सारा चोटहरू
एक्लै झेल्न छोडिदिएर
म आमालाई कसरी घात गर्न सक्छु ?
मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो !
हे नदी !
तिमी नै भनिदेऊ
किन मेरी आमालाई तिमी साख्खे दिदीजस्ती लाग्छ ?
वेदना पोख्न सजिलो हुन्छ भनेर
उनले तिम्रो सहारा, तिम्रै किनारा रोजेकी थिइन्
हो कि होइन ?
सत्य–सत्य बताइदेऊ !
उनका सुस्केराहरू मिसिएपछि तिम्रा सुसाइहरूले
थप गुञ्जन पाएका हुन् कि होइनन् ?
सत्य–सत्य बताइदेऊ !
के दिदीको छातीमा टाउको लुकाएर रूनुलाई
बहिनीले छाती कब्जा गरेको मानिन्छ ?
मेरी आमालाई जमिनको भोक छैन (मैले जति कसले चिनेको होला उनलाई
यो पृथ्वी अलिकति मेरो पनि हो भन्नेसिवाय
अरू केही छैन हकदाबी उनको
जिउँदाहरूको बास उखेलेर
मृतकका नाममा ताजमहल बनाउने क्रूर बेहोरा भएको
ए खुनी एक्काइसौँ शताब्दी !
यो जमिनको भोकले खानेछ एक दिन तँलाई
अझै छ महिना बाँकी छ…
(उफ् ! छ शताब्दीजस्तो यो प्रतीक्षा)
मेरी आमाको पृथ्वीमाथिको दाबीमा
अलिकति तागत थप्न
हतार भइसक्यो मलाई
एक्काइसौँ शताब्दीले
मेरो बस्तीलाई दिएका हरेक गालीको
जवाफ फर्काउन हतार भइसक्यो
मलाई आमा उभिएकै जमिनमा उभिन हतार भइसक्यो
मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो ।
(समकालीन नेपाली कविताका बलिया स्तम्भ विनोदविक्रम केसीको जन्म काठमाडौँको चाल्नाखेलमा भएको हो । कविताका साथै कथा र निबन्धमार्फत उत्पीडित वर्गको आवाजलाई मुखरित गर्ने र प्रभुत्वशाली वर्गको शिविरमा धावा बोल्ने केसी अनुवाद पनि गर्नुहुन्छ । उहाँका भोकको क्षेत्रफल (कवितासङ्ग्रह), भेन्टिलेटरमा आमा (निबन्धसङ्ग्रह) र संयुक्त रुपमा अनुवाद गरिएको कृति ती विद्रोही ती महात्मा प्रकाशित छन् । लामो समय पत्रकारिता केसी हाल बेला पब्लिकेसन्सका सम्पादक हुनुहुन्छ ।)
जवाफ लेख्नुहोस्