एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो ।
निनु चापाँगाई*
“एमसीसी ‘विकास’को अर्को परियोजना हुँदै होइन । यो विदेशी सहायताको नयाँ नमुना हो । यो नयाँ किसिमको अति खतरनाक साधन हो । यो सहायता नियोगहरूको, बहुपक्षीय एजेन्सीहरूको बढ्दो निगमीकरणको हिस्सा हो ।“
अमेरिकी राष्ट्रिय सुरक्षा दस्तावेजहरूमा उल्लेख भएअनुसार एम.सी.सी निर्विवाद रूपले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो ।
अनि यो एसिया–प्यासिफिक रणनीतिको अङ्ग हो । यो पनि विवादरहित कुरो हो । एमसीसी सम्झौतामा हस्ताक्षर गरेदेखि नै नेपाल अमेरिकाको एसिया–प्यासेफिक सुरक्षाभित्र पर्दछ । यो नीति भारतको पक्षमा र सुपष्ट रूपले चीनका विरुद्ध छ । सर्वाधिक रूपमा नेपालको हित विपरीत छ ।
एम.सी.सीले विविध किसिमले नेपालको सार्वभौमिकतालाई उल्लङ्घन गर्ने, उपेक्षा गर्ने र कमजोर बनाउने काम गर्छ ।
एमसीसी ‘विकास’को अर्को परियोजना हुँदै होइन । यो विदेशी सहायताको नयाँ नमुना हो । यो नयाँ किसिमको अति खतरनाक साधन हो । यो सहायता नियोगहरूको, बहुपक्षीय एजेन्सीहरूको बढ्दो निगमीकरणको हिस्सा हो । सम्झौतामा त्यस्ता बुँदाहरू राखिएका छन् जसले अमेरिकी आपूर्तिकर्ताहरूको हितको पक्ष लिन्छन् । सरकारले सरकारलाई दिने द्विपक्षीय सहयोगलाई निजीकरण गर्ने यो पुरै नयाँ स्तर हो । अर्को सार्वजनिक हितहरू, सरकारका आयामहरूलाई बेवास्ता गर्दै कर्पोरेटहरू वा व्यापारीहरूको हातमा शक्ति केन्द्रित गर्ने दीर्घकालीन प्रक्रियाहरूको हिस्सा हो ।
एम.सी.सीको कार्यसूची भनेकै नाफामूलक प्राकृतिक स्रोतहरू र क्षेत्रहरूमाथि र प्राकृतिक स्रोतहरूबाट अर्थ उपार्जन गर्न सकिने महत्त्वपूर्ण क्षेत्रहरूमाथि नियन्त्रण जमाउनु हो । विश्वस्तरमै एमसीसीले साना किसानहरूको जग्गा र ऊर्जा क्षेत्रमा केन्द्रित हुने र तिनलाई हडप्ने काम गरेको देखिन्छ ।
कथित संशोधन वा परिमार्जन अर्थहीन कुरा हो : एमसीसीको सर्वाधिक हानिकारक पक्षहरूमा परिवर्तन गर्ने सम्भावित कुनै संशोधन नै छैन ।
संसदबाट स्वीकृति पाएपछि संसदले आफ्नो र सरकारको एमसीसी सम्बन्धी सार्वभौम अधिकार परित्याग गर्नुपर्ने हुनाले उनीहरूले संसदको स्वीकृति चाहेका हुन् । एमसीसीलाई रोक्ने एउटै मात्र बाटो संसदबाट यसलाई स्वीकृति हुन नदिनु नै हो ।
*नेपाली वाङ्मयको क्षेत्रमा निनु चापागाईं माक्र्सवादी सौन्दर्य चिन्तक, समालोचक र संस्कृतिविद्का रूपमा सुपरिचित छन् । उनका ‘यथार्थवादी रचना दृष्टि र विवेचना’, ‘माक्र्सवादी चिन्तनमा सौन्दर्य’, ‘सन्दर्भ संस्कृति र सांस्कृतिक रूपान्तरण’, ‘उत्तरआधुनिकतावाद :भ्रम र वास्तविकता’, ‘सांस्कृतिक रूपान्तरण’, ‘दलित सौन्दर्यशास्त्र र साहित्य’, ‘पूर्ववाद र सइदेली विचार’, ‘प्रगतिशील कवि योगमाया र सर्वार्थ योगवाणी’ जस्ता कृतिहरू प्रकाशित छन् । उनले ख्यातिप्राप्त अनेकौं कृतिहरूको अनुवाद गरेका छन् भने एक दर्जनभन्दा बढी ग्रन्थहरूको सम्पादन पनि गरेका छन् । चापागाईं विगत पाँच दशकदेखि नेपालको कम्युनिस्ट राजनीति र प्रगतिवादी साहित्यको फाँटमा समानान्तर रूपमा सक्रिय छन् । उनी प्रगतिवादी शिविरका सम्मानित थुप्रै पुरस्कारबाट सम्मानित छन् । उनी नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्य छन् ।
जवाफ लेख्नुहोस्