info@bampanththeleft.com

Bampanth The Left

हामी अमेरिकी सर्वोच्चताको अन्त्यतर्फ लम्किदै छौँ : विजयप्रसाद

 

पुँजीवादमा परिवर्तन हुँदा मार्क्सवाद पनि अद्यावधिक हुने गर्छ अर्थात मार्क्सवादले नयाँ हुने विकासको वैज्ञानिक अवलोकन गर्छ । मार्क्सवादको प्रादुर्भाव भएयता माक्र्सवाद उपनिवेशवादी र नव–उपनिवेशवादी संरचनाको भूमिकाबारे जानकार छ । यो जानकारी स्वयम् मार्क्सकै लेखन र मार्क्सवादको राष्ट्रिय मुक्ति वा लेनिनवादी परम्पराका होसे कार्लोस मारियातेगी, माओ, हो चि मिन्ह, एमुलकार कब्रालका लेख र विचारमा पाउन सकिन्छ । माक्र्सवादमा शक्तिशाली उपनिवेशविरोधी आधार भेट्न सकिन्छ जुन लेनिनवादी वा राष्ट्रिय मुक्तिको परम्पराबाट आधारभूत रूपमा निसृत भएको हुन्छ । हामीले यो परम्परालाई सुदृढ पार्नुपर्छ र यसलाई लागु गर्नुपर्छ । क्रान्तिकारी शक्तिले आफूलाई बलियो बनाउन र आफ्नो एजेन्डालाई अगाडि बढाउन बुद्धिमानीपूर्ण रणनीति र कार्यनीतिहरू अवलम्बन गर्नु आवश्यक छ । संयुक्त मोर्चा र लोकप्रिय मोर्चा निर्माणको पहल अत्यावश्यक छ । यसबाहेक, राजनीतिक शिक्षामा जोड दिएर, बौद्धिक बहसमा संलग्न भएर, जनताको भावनालाई अपिल गर्दै र निरन्तर रूपमा सङ्गठनलाई बलियो बनाउँदै शक्ति निर्माणमा ध्यान दिनु महत्वपूर्ण छ । हाम्रो यस उद्देश्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जनपरिचालनको सहायता लिनैपर्छ ।

१. समकालीन वामपन्थी वृत्तमा उपनिवेशवाद र नवउपनिवेशवादका बारेमा प्रशस्त बहस भएको देख्न सकिन्छ । तथापि यी शब्दावलीलाई कसरी ग्रहण गर्ने भन्नेमा मतैक्यता देखिँदैन । कयौँ वामपन्थी एवं प्रगतिशील आन्दोलन अन्ततः उपनिवेशीकरणसँग कुनै पनि साइनो नभएका अभ्यासको पुनरुत्पादन गर्न पुग्छन् । हालको समकालीन वैश्विक परिस्थितिमा उपनिवेशवाद र नवउपनिवेशवादलाई कसरी बुझ्न सकिएला ? के अहिलेको उपनिवेशवाद र नवउपनिवेशवादको अभिव्यक्ति एवं विकास २० औँ शताब्दी वा त्यसअघिको पुरानो उपनिवेशवादसँग मेल खान्छ ?

विजयप्रसाद : हाम्रो समयका महान् सामाजिक प्रक्रियामध्ये विऔपनिवेशीकरणको प्रक्रिया एक हो । शताब्दियौँदेखि अफ्रिका, एसिया र ल्याटिन अमेरिकी महादेशका १०औँ लाख मानिसले औपनिवेशिक शासन लाद्ने मुलुकका विरुद्ध सार्वभौमसत्ता एवं आत्मसम्मानका निम्ति सङ्घर्ष गरेका थिए । ती सङ्घर्षको उद्भव विभिन्न राजनीतिक अवस्थितिबाट निसृत छन् । यस्तो अवस्थितिमा राजतन्त्रसमेत समाहित हुने पुरानै राजनीतिक सम्प्रभुता लागु गर्ने इच्छादेखि आधुनिक स्वरूपका राष्ट्र–राज्य बनाउने जमर्को गर्छन् । ‘मुक्तिको प्रक्रिया अभेद्य र अपरिवर्तनीय छ’ भन्दै सन् १९६० मा राष्ट्रसङ्घको महासभाले विऔपनिवेशीकरणका सन्दर्भमा सङ्कल्प पारित गरेको थियो । त्यस सङ्कल्पले त्यसबेलाको विऔपनिवेशीकरणको मर्मलाई व्यक्त गरेको थियो । तर, सोही समयमा अर्थात द्वितीय विश्वयुद्धपछि साम्राज्यवादी शक्तिले पहिले औपनिवेशीकरणमा परेका जनतालाई राष्ट्रिय सम्प्रभुता र कयौँ मानवीय मर्यादा स्थापना गर्ने प्रक्रिया लागु गर्न नदिनेमा स्पष्ट थियो ।

यी साम्राज्यवादीले नयाँ बनेका मुलुकसँग ‘छद्म युद्ध’ लडेका थिए जसले ‘कु’, हत्या, आर्थिक नाकाबन्दी एवं प्रतिबन्ध, र सूचना तथा सांस्कृतिक युद्धबाट नयाँ बनेका राज्यका जनताको मनोबल गिराउने काम गर्यो । ‘कु’बाट अपदस्थ हुनुभन्दा एक वर्षअगाडि सन् १९६५ मा घानाका राष्ट्रपति क्वामे उक्रुमाले नवउपनिवेशवादलाई लिएर ‘नियोकोलोनियलिजम’ नामक प्रभावशाली पुस्तक लेखेका थिए । उक्त पुस्तकमा उनले उत्तर–औपनिवेशिककालमा पुरानै औपनिवेशिक अर्थव्यवस्था टिकाइराख्ने नव–औपनिवेशिक संरचनाको व्याख्या गरेका थिए । यी संरचनामा नयाँ राज्यलाई दरिद्र बनाउने गरी मूलतः पश्चिमा लगानीका नाममा निम्त्याइने स्थायी ऋण सङ्कट र सङ्कटबाट पार पाउन तिनै पश्चिमा औपनिवेशिक मुलुकमाथिको निर्भरता पर्छन् । सन् १९६१ मा स्थापना भएको असंलग्न आन्दोलनले यही नव–औपनिवेशिक संरचनालाई उल्ट्याउन सङ्घर्ष गरेको थियो । सङ्घर्ष अहिले पनि जारी छ । तर, सङ्घर्ष तेस्रो विश्व निर्माणको योजनाका सुरुआती दशकको जस्तो बलियो छैन ।


निस्सन्देह सन् १९६० र ७० को दशकयता स्याटलाइट, अनलाइन डेटाबेस, कन्टेनर ढुवानीजस्ता प्रविधिगत विकासका कारण धेरै परिवर्तनहरू भएका छन् । वैश्विक वस्तु आपूर्ति शृङ्खलाले फोर्ड मोटर कम्पनीले सुरुआत गरेको पश्चिमा कारखाना उत्पादन (फोर्डिस्ट प्रडक्सन) प्रणालीलाई प्रतिस्थापन गर्यो । नतिजा नव–औपनिवेशिक संरचनालाई भत्काउन अत्यावश्यक पर्ने मजदुर आन्दोलन र राष्ट्रियकरणका लागि आवश्यक रणनीतिहरू कमजोर हुन पुगे । वैश्विक अर्थव्यवस्थामा परिवर्तन हुँदा पनि मानव जीवनका वित्त, स्रोत, विज्ञान एवं प्रविधि, हतियार प्रणाली र सूचनाका पाँच आयाममाथिको साम्राज्यवादी नियन्त्रण गर्ने नव–औपनिवेशिक संरचना बलियो नै रह्यो । पुँजीवादको नवउदारवादी चरणमा नयाँ वैश्विक वस्तु आपूर्ति शृङ्खलामा निम्तिएको अन्तर्विरोधका बाबजुद पनि यो तिनै पाँच साम्राज्यवादी मुलुककै अधीनमा रह्यो । वास्तवमा अहिले पनि नवउपनिवेशवादी संरचना कयौँ ढङ्गले जस्ताको त्यस्तै छ ।

२. मार्क्सवादी परम्परामा समकालीन विश्वको औपनिवेशिक समस्यालाई परास्त गर्ने मौजुदा उपाय कस्ता छन् ?
विजयप्रसाद : चाहे १९ औँ शताब्दीको शास्त्रीय पुँजीवादको समय होस् वा हाम्रो समयको नवउदारवादी भूमण्डलीकरणको समय, माक्र्सवाद पुँजीवादका सबै स्वरूपको सबैभन्दा उपयुक्त आलोचना हो । यसका पछाडि दुई कारण छन् । मार्क्सवादीले (मार्क्सका आफ्नै लेखाइदेखि उनको विचारमा थप व्याख्या गर्दै व्यक्त गरिएका विचार) सामाजिक उत्पादनमा व्यापक प्रगति हुँदा पनि सामाजिक असमानता किन बढ्यो भन्ने बारेमा उत्कृष्ट मूल्याङ्कन गर्छ । यसको उत्तर अधिशेष मूल्यको दोहन गर्ने संरचनादेखि सो मूल्यमा निजी कब्जा जमाउने प्रक्रियासम्मको विश्लेषण भेटिन्छ । दोस्रो, मार्क्सवाद समाजको एक विज्ञान हो, जसले आफूले प्रश्न गर्ने विषय अर्थात पुँजीवादबाट नै निरन्तर रूपमा प्रशिक्षित भैरहन्छ र यस्तो अन्य वादमा देखिँदैन ।
पुँजीवादमा परिवर्तन हुँदा मार्क्सवाद पनि अद्यावधिक हुने गर्छ अर्थात मार्क्सवादले नयाँ हुने विकासको वैज्ञानिक अवलोकन गर्छ । मार्क्सवादको प्रादुर्भाव भएयता मार्क्सवाद उपनिवेशवादी र नव–उपनिवेशवादी संरचनाको भूमिकाबारे जानकार छ । यो जानकारी स्वयम् मार्क्सकै लेखन र मार्क्सवादको राष्ट्रिय मुक्ति वा लेनिनवादी परम्पराका होसे कार्लोस मारियातेगी, माओ, हो चि मिन्ह, एमुलकार कब्रालका लेख र विचारमा पाउन सकिन्छ । मार्क्सवादमा शक्तिशाली उपनिवेशविरोधी आधार भेट्न सकिन्छ जुन लेनिनवादी वा राष्ट्रिय मुक्तिको परम्पराबाट आधारभूत रूपमा निसृत भएको हुन्छ । हामीले यो परम्परालाई सुदृढ पार्नुपर्छ र यसलाई लागु गर्नुपर्छ ।
अतीत गन्तव्य नभई स्रोत हुनुपर्ने भन्दै मारियातेगी आफ्ना लेखमा औल्याउँछन् । मेरो विचारमा यो सूत्रले उपनिवेश बेहोरेका जनताको इतिहासलाई हेर्ने मार्क्सवादी दृष्टिकोणको आधार निर्माण गर्छ । इतिहासलाई गन्तव्य मान्नु विश्लेषणको आधारभूत त्रुटि हो र मानव इतिहासको गतिशीलतालाई ग्रहण गर्न अस्वीकार गर्नु हो । पुनर्स्थापनाले प्रायशः गहिरो पुरातनपन्थी सांस्कृतिक अभ्यासतर्फ डोर्याउँछ । उदाहरणका रूपमा भारतलाई हेरौँ जहाँ हिन्दु दक्षिणपन्थी शक्तिले ‘इतिहासमा फर्किन’ लाई अत्यावश्यक ठान्छ । यो विचार हालका कयौँ ‘विऔपनिवेशिक चिन्तन’ मा देख्न सकिन्छ ।
हामी ‘इतिहासमा फर्किन’ मा रुचि राख्दैनौँ बरु हामी ‘स्रोतमा फर्किएर’ इतिहासलाई प्रगतितर्फ डोर्याउनेमा रुचि राख्छौँ । अर्थात हामी युरोपेली मजदुर वर्गका सङ्घर्ष (उदाहरणका लागि सन् १८७१ को पेरिस कम्युन) लगायतका विश्वका कयौँ मुक्तिका आन्दोलनलाई आधार बनाएर प्रगतितर्फ बढ्न उद्यत हुन्छौँ । उदाहरणका लागि युरोपेली मूलका भनिएका स्वतन्त्रताका अवधारणाहरू सधैँ ‘युरोपेली’ थिएनन् अर्थात स्वतन्त्रताको अवधारणामा एसियाली र अफ्रिकी अभ्यासको प्रेरणा देखिन्छ (हेर्नुहोस् जु चियनजीको पुस्तक द इन्फ्लुइन्स अफ चाइनिज फिलोसफी अन युरोप, हेबेई पिपुल्स पब्लिसिङ हाउस, १९९९०) ।

३. पुँजीवादका परम्परावादी कुलीन वर्गले व्यवस्थालाई असर गर्ने विभिन्न सङ्कटलाई सम्बोधन गर्न सङ्घर्ष गरिरहेको अवस्थामा हामी त्यसको साक्षी बनेका छौँ । यी सङ्कटले पुँजीवाद र यसका परिणामलाई चुनौती दिन थप उग्र दृष्टिकोण अपनाउने सामाजिक एवं राजनीतिक आन्दोलनलाई जन्म दिएका छन् । यस्ता आन्दोलन पुँजीवादी व्यवस्थालाई केन्द्रमा राखेका मुलुकमा पनि देख्न सकिन्छ । ऐतिहासिक र विश्वव्यापी दृष्टिकोणबाट हेर्दा यी प्रक्रियालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?


विजयप्रसाद : पुँजीवादका परम्परावादी कुलीन वर्गको बौद्धिक दृष्टिमा उल्लेखनीय गिरावट आएको छ । बाइडेन, म्याक्रोन र सुल्जजस्ता यो वर्गका कमजोर प्रतिनिधिले यसलाई पुष्टि गर्छन् । यी मध्ये कुनै पनि नेतासँग जलवायु प्रकोप र सामाजिक असमानतामा गहिरिँदो खाडललगायतका हाम्रा समयका गम्भीर समस्याहरूको कुनै समाधान छैन । ठिक विपरीत हामी यी नेताबाट निजीकरण र निजी पुँजीको निर्भरता नै मौजुदा विश्वव्यापी समस्याका समाधान हो भन्ने सुगारटाइ सुनिरहन्छौँ । निजीकरण र निजी पुँजीको निर्भरताको पैरवी आफैँलाई पोस्न गरिन्छ भन्ने कुरा कसैबाट छिपेको छैन । हाम्रो युगका चुनौतीलाई सम्बोधन गर्न नयाँ विचार प्रस्तुत गर्नुको सट्टा पश्चिमा जगत्का परम्परावादी कुलीन वर्गका नेता आफ्ना कमी–कमजोरीलाई ढाकछेप गर्न चीन र रुससँग द्वन्द्व भड्काउनेमा जोड दिन्छन् ।


उदाहरणका लागि यी कमजोरीमा चीनलाई आर्थिक रूपमा पछार्न नसक्नु पनि पर्छ । चीनले रोबोटिक्स, फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र हरित प्रविधिलगायतका सामाजिक उत्पादनका महत्वपूर्ण पक्षमा उल्लेखनीय प्रगति गरेको छ । चिनियाँ कम्पनीले यी क्षेत्रमा आफ्ना पश्चिमा समकक्षलाई उछिनेका छन् । चीनको सामाजिक उत्पादनबाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न पर्याप्त सार्वजनिक कोष सुरक्षित गर्न नसक्ने र निजी क्षेत्रबाट यी कोष हटाउन नसक्ने परिस्थितिको सामना गरिरहेका पश्चिमा राष्ट्रले अहिले चीन र रुसविरुद्धको द्वन्द्वको खतरनाक एजेन्डालाई पछ्याइरहेका छन् । हाम्रो समयको वर्तमान समस्या पश्चिमा नेतृत्वको बौद्धिक वृत्त सहयोग–साझेदारीलाई प्रोत्साहन गर्नुको सट्टा टकरावलाई प्रोत्साहन गर्नमा सीमित भएको छ ।


पश्चिमा युद्ध उन्मादी राज्य र तिनका परम्परागत पुँजीपति कुलीन वर्गको टकरावप्रतिको निरन्तर झुकावले दक्षिणी गोलार्धका उदीयमान पुँजीपति कुलीन वर्गलाई निकै निराश बनाएको छ । परिणामस्वरूप यी उदीयमान वर्गले आ–आफ्ना सरकारलाई विश्वव्यापी ध्रुवीकरण र टकरावबाट जोगिन आग्रह गरिरहेका छन् । नयाँ ‘असंलग्नता’ को उदय मुख्यतया २० औँ शताब्दीमा भएको जस्तो जनपरिचालन र नयाँ सामाजिक आन्दोलनले उत्प्रेरित गरेको होइन । यो असंलग्नता मूलतः आफूलाई पश्चिमा युद्ध उन्मादी राज्यको टकरावको एजेन्डामा उभ्याउन नचाहने नयाँ पुँजीपति कुलीन वर्गले सञ्चालन गरेको हो ।
यो नयाँ ‘असंलग्नता’ को उदयले दक्षिणी गोलार्धका साथै त्यहाँका वामपन्थीका लागि राजनीतिक र सामाजिक आन्दोलनका चुनौती र विरोधाभास एकैपटक उत्पन्न गरिदिन्छ । दक्षिणी गोलार्धका वामपन्थीले त्यहाँका पुँजीपति कुलीन वर्गका कदमका सन्दर्भमा कस्तो अडान लिनुपर्छ ? यस प्रश्नले हाम्रो वर्तमान समयको लागि आवश्यक रणनीतिबारे बहसको खाँचो औँल्याउँछ । अहिले संयुक्त मोर्चामा कसरी आउने भन्नेबारे नयाँ दृष्टिकोण प्रस्तुत गर्दै यस मुद्दालाई विभिन्न देशमा विभिन्न उपायबाट सम्बोधन गरिँदैछ ।


४.आफ्नो पछिल्लो पुस्तकमा तपाईँ नोम चोम्स्कीसँग अमेरिकी साम्राज्यवादले सामना गर्नुपरेको वर्चस्वको सङ्कटका विभिन्न पक्षबारेमा छलफलमा संलग्न भएको उल्लेख छ । ती छलफलमा सन् २०२१ मा अफगानिस्तानबाट ठुलो क्षति बेहोर्दै अमेरिकाले गरेको सेना फिर्तीको नतिजामा बहस केन्द्रित छ । यस सन्दर्भमा युक्रेन युद्ध र अफगानिस्तानबाट सैन्य फिर्ती जस्ता घटनाको आलोकमा रुस र चीनजस्ता राष्ट्रको बढ्दो प्रभाव र अन्तरसम्बन्धले पश्चिमा जगत् विशेषतः हामीले चिनेको वर्चस्वशाली अमेरिकालाई कसरी प्रभावित पारिरहेको छ ?


विजयप्रसाद : निस्सन्देह पश्चिमा युद्ध उन्मादी राष्ट्रहरूले साम्राज्यवादलाई लाभ हुने विश्व व्यवस्थाको नेतृत्व स्रोत र इच्छाशक्तिलाई समाप्त पारिसकेका छन् । सन् २००७–००८ को महामन्दीयता पश्चिमा पुँजीले पश्चिमा राष्ट्रका सबै किसिमका दायित्वबाट आफूलाई टाढा लग्दै गइरहेको छ । यसलाई अफगानिस्तान, इराक र लिबियामा भएका अमेरिकी युद्ध र क्युबा, इरान र भेनेजुएलामा छेडिएका हालैका छद्म युद्धका असफलताले पुष्टि गर्छन् । समाजवादी चरित्रको नभएपनि दक्षिणी गोलार्धमा ‘असंलग्नता’ को नयाँ सङ्कथनको उदय हुनु पश्चिमा शक्ति ओरालो लागिरहेको लक्षण हो । वर्तमान स्थिति अमेरिका र पश्चिमा शक्तिको पतनमात्रै नभई विश्वव्यापी रूपमा बदलिँदै गरेको शक्ति सन्तुलनसँग पनि जोडिन पुग्छ ।


पहिलो त सन् २००८ देखि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्य नियन्त्रणमा चिनियाँ अर्थतन्त्रले उल्लेखनीय आर्थिक वृद्धिको अनुभव गरेको छ । दोस्रो यो वृद्धिले चिनियाँ राज्य र आन्तरिक आर्थिक शक्ति दुवैलाई सन् २०१३ देखि ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ भनिने क्षेत्रीय र विश्वव्यापी पहलकदमीको विकास गर्न सशक्त बनाएको छ । तेस्रो प्रारम्भिक वर्षमा जब ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ एसिया र युरोपका केही भागमा विस्तार भइरहेको थियो, तब हामीले रुसी राज्य र यसको आर्थिक शक्तिमा कायाकल्प भएको देख्यौँ । यो पुनरुत्थानले युरोपमा रुसी ऊर्जा निर्यातको बढ्दो महत्वका साथसाथै ऊर्जा क्षेत्र र कुलीन वर्ग (ओलिगार्क) माथि रुसी राज्यको नियन्त्रणको सङ्केत गर्थ्याे । यी घटनाक्रमको विकास त्यतिबेला भइरहेको थियो जब इन्डोनेसियादेखि मेक्सिकोसम्म फैलिएको दक्षिणी गोलार्धका मुलुक फस्टाउँदै गइरहेका थिए । यी अर्थतन्त्र आफ्नो सार्वभौमसत्ताको प्रवर्द्धन र एक अर्कासँगको दक्षिणी गोलार्धीय सहकार्यमार्फत आर्थिक वृद्धिको खोजीमा एक ठाउँमा आइपुगेका छन् ।

परिणामस्वरूप अमेरिकी वर्चस्वलाई लत्याउँदै अहिले हामी युरेसिया एकीकरणको साक्षी बनेका छौँ । वासिङ्टनविनै युरेसिया एकीकृत भएर अघि बढ्ने अवस्थाले अमेरिका चीन र रुससँग द्वन्द्व गर्न उद्यत भएको छ, जहाँ युक्रेन र ताइवान द्वन्द्वका मुख्य केन्द्रबिन्दु बनेका छन् । युक्रेनमा भैरहेको द्वन्द्व,जुन एक दशकअघि सुरु भैसकेको थियो,पश्चिमा युद्ध उन्मादी राज्यले रुसलाई एक्ल्याउने र काबुमा राख्ने प्रयासको एक हिस्सा हो । त्यसैगरी ताइवान र चीनको आर्थिक प्रभावबाट उत्पन्न तनाव युक्रेन द्वन्द्वसँग जोडिने पश्चिमा अभिप्रायसँग मिल्दोजुल्दो छ तर चिनियाँ नेतृत्वको विवेकपूर्ण दृष्टिकोणका कारणले अहिलेसम्म तनावले सशस्त्र टकरावको अवस्था सिर्जना गरेको छैन । बहसको खाँचो औँल्याउँछ । अहिले संयुक्त मोर्चामा कसरी आउने भन्नेबारे नयाँ दृष्टिकोण प्रस्तुत गर्दै यस मुद्दालाई विभिन्न देशमा विभिन्न उपायबाट सम्बोधन गरिँदैछ ।



५.के अहिलेको बहुध्रुवीय विश्वको उदय हुँदै गर्दाको समय शताब्दीयतादेखि पुँजीवादले आकार दिएको हालको विश्वलाई मानवताको हितमा रूपान्तरण गर्ने अवसर बन्न सक्छ अथवा यो अवस्था पुँजीवादी विश्व व्यवस्थामा कुनै परिवर्तन नभई हुने एक फगत शक्ति सन्तुलनको पुनर्संरचना मात्रै हो जहाँ पुराना साम्राज्यवादी शक्ति उदीयमान शक्तिद्वारा प्रतिस्थापित हुने छन् । सरल भाषामा भन्ने हो भने रुस र चीनजस्ता उदाउँदा शक्तिले के मौजुदा विश्व व्यवस्थामा आमूल परिवर्तन ल्याउन सक्छन् ?
विजयप्रसाद : मलाई लाग्छ हामी अमेरिकी सर्वोच्च्चताको अन्त्यतर्फ लम्किदै छौँ । अमेरिकाको प्रभाव घट्ने सङ्केत देखिन थालिसकेका छन् । यद्यपि यो क्रमिक प्रक्रिया हो किनभने अमेरिकाले अझै पनि सैन्य मामिला र सूचनाको क्षेत्रमा प्रभुत्व कायमै राखेको छ । अमेरिकाको शक्तिमा उल्लेखनीय ह्रास आउन अझै धेरै समय लाग्नेछ । उदीयमान शक्ति भने बहुध्रुवीय विश्व निर्माण गर्न इच्छुक छैनन् । यसलाई बेइजिङ र दक्षिणी गोलार्धका अन्य अग्रचेतनायुक्त भूभागका राजधानीहरूले जारी गरेका सार्वजनिक वक्तव्यले स्पष्ट पार्छन् । बरु यी अर्थतन्त्रले दुई–पक्षीय रणनीतिका साथ भिन्न किसिमको विकासका दृष्टिकोणतर्फ झुकाव राखेको देखिन्छ ।
अमेरिकाले विश्वव्यापी मामिलामा आफ्नो संलग्नता कम गरिरहेको बेलामा पहिलो पक्ष भनेको बलियो क्षेत्रीय सहयोगको आवश्यकता हो । कम्युनिटी अफ ल्याटिन अमेरिका एन्ड क्यारिबियन कन्ट्रिज (सेलाक) र साङ्घाई सहयोग सङ्गठन जस्ता पहलकदमीले यसको सङ्केत गर्छन् । यी मञ्चहरूले क्षेत्रीयतामा बढ्दो रूपमा जोड दिइरहेका छन् । दोस्रो पक्ष भनेको ब्रिक्सजस्ता सङ्गठनका प्रभावशाली राष्ट्र हुन जसले बहुपक्षीय सङ्गठनलाई विश्वव्यापी बहसमा प्रमुख कर्ताको रूपमा प्राथमिकता दिने इच्छा व्यक्त गरिरहेका छन् । यसमा राष्ट्र सङ्घका एजेन्सी र अन्य गैर–राष्ट्र सङ्घीय मञ्चलाई विश्वव्यापी संवाद एवं सहयोगका लागि प्रमुखता दिनु रहेको छ । यी मुलुक विश्वव्यापी मामिलालाई आकार दिन बहुपक्षीय संस्थाको अधिकार स्थापना गर्ने लक्ष्य राख्छन् ।
दक्षिणी गोलार्धभित्रका बहसमा नयाँ वर्चस्व वा बहुध्रुवीयताका प्रचलित अवधारणाको सट्टा क्षेत्रीयता र बहुपक्षवाद समावेश छन् । विशेषतः चीन र रुसले नयाँ बेइजिङ वा मस्को कन्सेन्सस स्थापना गर्नेमा कुनै चासो देखाएका छैनन् । यी मुलुक विश्व व्यवस्थालाई एकल प्रभुत्वशाली शक्ति चाहिने ढङ्गले आकार दिने प्रयास गरिरहेका छैनन् अर्थात पुटिनले सन् २००७ को म्युनिख सुरक्षा सम्मेलनमा भने झैँ यी मुलुक विश्वलाई ‘एउटै मालिक’ चाहिन्छ भन्नेमा जोड दिँदैनन् ।

६.पश्चिमा जगत्ले वर्चस्वको सङ्कटको सामना गरिरहेका बेला तपाईँले सामान्यतया दक्षिणी गोलार्ध भन्ने गरेका क्षेत्रबाट आउने असहमतिपूर्ण मत र अडानमा बढोत्तरी भएको देखिरहेका छौँ । यी आवाजले परम्परागत शक्ति केन्द्रहरू र ठुला निगमका भाष्य र दृष्टिकोणलाई चुनौती दिने गर्छन् । यस सन्दर्भमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका पनि क्रान्तिकारी आन्दोलनहरूको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?

विजयप्रसाद : असुरक्षित मजदुर (प्रिकारियस वर्कर्स) र किसानलगायत श्रमजीवी वर्गको शक्ति भूमण्डलीकरणको प्रभावका कारण विश्वव्यापी रूपमा निकै घटेको छ । क्रान्तिकारी पार्टीले पुँजीबाट प्रभावित लोकतान्त्रिक प्रणालीमा आफ्नो प्रभाव कायम राख्न र विस्तार गर्न कठिनाइ बेहोरिरहेका छन् । वामपन्थी शक्तिले मौजुदा कमजोरीलाई स्वीकार गर्नुपर्छ । र, क्रान्तिकारी शक्तिले आफूलाई बलियो बनाउन र आफ्नो एजेन्डालाई अगाडि बढाउन बुद्धिमानीपूर्ण रणनीति र कार्यनीतिहरू अवलम्बन गर्नु आवश्यक छ । संयुक्त मोर्चा र लोकप्रिय मोर्चा निर्माणको पहल अत्यावश्यक छ । यसबाहेक, राजनीतिक शिक्षामा जोड दिएर, बौद्धिक बहसमा संलग्न भएर, जनताको भावनालाई अपिल गर्दै र निरन्तर रूपमा सङ्गठनलाई बलियो बनाउँदै शक्ति निर्माणमा ध्यान दिनु महत्वपूर्ण छ । हाम्रो यस उद्देश्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जनपरिचालनको सहायता लिनैपर्छ ।

(अमेरिकाको सिकागो विश्वविद्यालयबाट सन् १९९४ मा इतिहासमा विद्यावारिधि गरेका माक्र्सवादी इतिहासकार तथा पत्रकार विजयप्रसादको मूलथलो भारत हो । तेस्रो विश्वका मुलुकहरूमा हुने आन्दोलन र अमेरिकी हस्तक्षेपबारे गहिरो अध्ययन गरेका उनी मूलरूपमा एक जोदाहा व्यक्ति हुन् । ट्राइकन्टिनेन्टल इन्स्टिच्युट फर सोसल रिसर्चका कार्यकारी निर्देशक विजयका वासिङ्टन बुलेट्स, रेड स्टार ओभर द थर्ड वल्र्ड, द विदड्रोल : इराक, लिविया, अफ्गानिस्तान एन्ड द फ्रेजेलिटी अफ युएस पावरसहित ४० भन्दा धेरै पुस्तक प्रकाशित छन् । उनी द मन्थली रिभ्यु, द नेसन तथा सैलोनमा नियमित लेखन गर्छन् । क्युबा र कासा दि लास अमेरिकाज (क्युबामा स्थापित लेटिन अमेरिकी एवं क्यारेबियन मुलुकको सङ्गठन) सँग नजिक रहेका उनै विजयसँग हवाना फर्किने क्रममा होसे एर्नेस्तो नोभेजले लामो संवाद गरेका छन् । होसे पत्रकार तथा कवि हुनाका साथै इन डिफेन्स अफ ह्युमेनिटीका क्युवा खण्डका संयोजक हुन् ।)

 

 

 

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari