बुढीगण्डकी जलविद्युत आयोजना : समृद्धितर्फको वहुउद्देश्यीय यात्रा


– सुरेश मरहट्टा
परिचय
बुढीगण्डकी जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन समाधान मात्र नभई समग्र राष्ट्रिय विकासको मूल आधार बन्न सक्ने सम्भावना बोकेको परियोजना हो। यो आयोजना गोरखा जिल्लाको घ्यालचोक र धादिङ जिल्लाको सालाङको बीचमा, बुढीगण्डकी र त्रिशूली नदीको दोभानभन्दा करिब २ किलोमिटर माथि निर्माण गरिने गरी डिजाइन गरिएको हो।
परियोजनाको अन्तर्गत बन्ने विशाल जलाशयमा साढे चार अर्ब घनमिटर पानी सञ्चय हुने अनुमान गरिएको छ, जसका कारण करिब ६३ वर्ग किलोमिटर क्षेत्रफल डुबानमा पर्नेछ। जलाशयको सतह समुद्र सतहबाट ५४० मिटरको उचाइमा रहनेछ। यस आयोजनाको मूल बाँध २६३ मिटर अग्लो हुनेछ, जुन नेपालको सबैभन्दा अग्लो बाँध हुनेछ। बुढीगण्डकीको औसत वार्षिक बहाव २२२ घनमिटर प्रति सेकेन्ड हुने भएकाले यस्तो उच्च बाँध निर्माण सम्भव छ।
यस आयोजनाको कुल जलाधार क्षेत्र ५००० वर्ग किलोमिटर रहेको छ। त्यसमा गोरखा जिल्लामा २९००, धादिङमा ९००, नुवाकोटमा ३५ र चीनको तिब्बत स्वशासित क्षेत्रभित्र १३६५ वर्ग किलोमिटर पर्छ।
उर्जा उत्पादनका हिसाबले, आयोजनाले वर्षायाममा २०० करोड युनिट र पुषदेखि वैशाखसम्मको सुख्खायाममा १४० करोड युनिट गरी वार्षिक ३४० करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यस्तो उत्पादनले वर्तमान विद्युत अभाव र लोडसेडिङ अन्त्य गर्न मात्र नभई, नेपालका भविष्यका औद्योगिक, कृषि, तथा सेवा क्षेत्रका आवश्यकताहरू पूरा गर्न सक्नेछ।

वहुउद्देश्यीय संभावनाको आयोजना
हालसम्म नेपाल सरकारले बुढीगण्डकी आयोजना मुख्य रूपमा विद्युत उत्पादनको दृष्टिकोणबाट अघि बढाएको देखिन्छ। तर, बाँधको भौगोलिक अवस्थिति, यसको आकार, जलाशयको सम्भाव्यता, तथा समग्र पूर्वाधारको सन्दर्भलाई ध्यान दिँदा यस आयोजनालाई बहुउद्देश्यीय जलस्रोत विकासको परियोजनाका रूपमा विस्तार गर्नु राष्ट्रको दीर्घकालीन हितमा हुनेछ।
१. जलस्रोतको समग्र उपयोग
विद्युत उत्पादनका अतिरिक्त यस परियोजनाबाट खानेपानी, सिँचाइ, माछापालन, औद्योगिक उपयोग, जल यातायात तथा मनोरञ्जनका विविध पक्षहरू जोड्न सकिन्छ। जलाशय वरपर नयाँ घनाबस्तीहरू विकास हुनेछन्, जसमा खानेपानी तथा सरसफाइको आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेछ।
जलाशयमा वर्षभर सञ्चय हुने पानीको उपयोग गरी दैनिक करिब ३५० घनमिटर प्रति सेकेन्ड पानी तल्लो तटीय क्षेत्रहरूमा पुर्याउन सकिनेछ। चितवन र नवलपरासी जस्ता कृषि क्षेत्रहरूमा यो पानी सिँचाइका लागि प्रयोग गर्न सकिनेछ, जसले कृषि उत्पादनमा गुणात्मक वृद्धि ल्याउनेछ।
साथै, जलाशयभन्दा तलका भेगहरूमा ‘रन अफ रिभर’ अर्थात् गैर-जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न सकिने सम्भावना पनि छ। यस्ता आयोजना बुढीगण्डकीको जलाशयले प्रदान गर्ने नियमित बहावको कारण प्रभावकारी र भरपर्दो बन्न सक्नेछन्।
२. माछापालन र औद्योगिक विकास
यस परियोजनाले निर्माण गर्ने जलाशय नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हुनेछ। हावापानीको अवस्था अनुकूल भइ माछाका उपयुक्त प्रजातिहरूको छनोट गरी माछापालन गर्न सकिनेछ, जसले देशको माछा आपूर्ति प्रणालीलाई मजबुत बनाउनेछ।
औद्योगिक विकासका लागि जलाशय वरपरको केही क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सकिन्छ। अत्यधिक पानी र विद्युत आवश्यक पर्ने युरिया मल, एलुमिनियम प्रशोधन जस्ता उद्योगहरू स्थापना गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित उत्पादन गर्न सकिन्छ। यसले मुलुकको आर्थिक रुपान्तरणमा ठोस योगदान दिनेछ।
३. जल यातायात र मनोरञ्जन
६३ वर्ग किलोमिटर क्षेत्रफलको जलाशयमा डुङ्गा, बोटिङ, पौडी लगायतका जलक्रीडाहरू सञ्चालन गर्न सकिन्छ। जलाशयको आकार ठूलो भएकाले जल यातायात पनि सम्भव हुनेछ। बाँधस्थलबाट आरुघाटतर्फ ४० किलोमिटर र आंखुखोलातर्फ १५ किलोमिटरको दूरीमा साना जलयान सञ्चालन गर्न सकिने अनुमान गरिएको छ।
पर्यटन विकासको अपार सम्भावना
नेपालमा पोखराको फेवाताल, राराताल, बेगनास तालजस्ता जलाशयहरूले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरेका छन्। तर बुढीगण्डकीमा बन्ने जलाशय आकारमा फेवातालभन्दा करिब १५ गुणा ठूलो हुनेछ। यसले मुलुकभित्र मात्र होइन, विदेशी पर्यटकलाई पनि आकर्षण गर्ने ठूलो सम्भावना बोकेको छ।
यसका लागि निम्न प्रकारका पर्यटन विकास गर्न सकिन्छ:
क. मनोरञ्जन पर्यटन
यो आयोजनामा बन्ने २६३ मिटर अग्लो डबल कर्भेचर आर्च ड्याम आफैंमा एक भव्य संरचना हुनेछ। बाँधको माथिल्लो भागमा मुख्य जलाशय र तल्लो भागमा सानो जलाशय रहनु सौन्दर्यमा थप आकर्षण बन्नेछ। यहाँ दृश्यावलोकन टावर, रिसोर्ट, जलक्रीडा केन्द्र जस्ता पूर्वाधार विकास गर्न सकिन्छ।
ख. धार्मिक र ऐतिहासिक पर्यटन
जलाशय क्षेत्रभित्र करिब ५९ वटा मठमन्दिरहरू डुबानमा पर्न गइरहेका छन्। तीमध्ये केही मठमन्दिरहरूलाई नयाँ स्थानमा पुनःनिर्माण गरेर फेवातालस्थित तालबाराहीजस्तै जलमध्य मन्दिरको रूप दिन सकिन्छ।
भीमसेन थापाको जन्मस्थल यसै क्षेत्रमा पर्छ। त्यहाँ उनको बासस्थानको जिर्णोद्धार, प्रयोग गरेका सामग्रीहरूको संग्रहालय स्थापना, ऐतिहासिक पदमार्गको संरक्षणजस्ता काममार्फत ऐतिहासिक पर्यटन विकास गर्न सकिन्छ।
ग. स्वास्थ्य, शिक्षा तथा खेलकुद पर्यटन
यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका अस्पताल, विश्वविद्यालय तथा रंगशालाहरू निर्माण गरेर स्वास्थ्य, शिक्षा र खेलकुद पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। जलाशय वरपर बन्ने रिङरोड तथा बस्तीहरूले यो क्षेत्रलाई नयाँ सहरको रूपमा विकास गर्न सहयोग गर्नेछ।
यदि सल्यानटारमा सानो हवाई मैदान निर्माण गरियो भने यहाँ हवाईमार्गबाट आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन सहज हुनेछ, जसले पर्यटन क्षेत्रमा क्रान्तिकारी गति ल्याउनेछ।
निष्कर्ष
बुढीगण्डकी जलविद्युत आयोजना केवल एक जलविद्युत आयोजना नभई, ऊर्जा, पर्यटन, उद्योग, कृषि र सामाजिक पूर्वाधार विकासको आधार बन्न सक्ने राष्ट्रिय महत्वको परियोजना हो। यो आयोजना पूर्णरूपमा कार्यान्वयन भयो भने नेपालको समृद्धि यात्रामा ऐतिहासिक मोड ल्याउनेछ।
त्यसका लागि आयोजनालाई बहुउद्देश्यीय ढाँचामा पुनः परिभाषित गर्दै दीर्घकालीन दृष्टिकोण, पारदर्शी कार्यान्वयन, स्थानीय सहभागिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य हुनेछ।
(सुरेश मरहट्टा हाल त्रिभुवन विश्वविद्यालयको जलविज्ञान तथा मौसमविज्ञान केन्द्रीय विभागमा उप- प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ।जलस्रोतको व्यवस्थापन, नदी प्रणाली, जलविद्युत् आयोजना, दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा उहाँको गहिरो चासो तथा अनुभव छ। शिक्षण, अनुसन्धान तथा नीति निर्माणका बहुआयामिक क्षेत्रहरूमा सक्रिय रहँदै आउनुभएका मरहट्टाले नेपालका प्रमुख जलस्रोत विकास परियोजनाहरूमा प्रविधिक सल्लाह र वैज्ञानिक विश्लेषणको योगदान दिँदै आउनुभएको छ।यहाँले बुढिगण्डकी जलविद्युत आयोजना विकास समितिको सदस्यकोरुपमा समेत कार्य गरि सक्नु भएको छ ।)


जवाफ लेख्नुहोस्