कमैया बस्तीमा

-सुमन पोखरेल
म छुट्याउन सकिरहेको थिइनँ,
उनीहरूका भाग्य र
उनीहरूका छाप्रा अड्याइरहेका ती झिना झिक्राहरूमध्ये
कुन बढी विश्वासयोग्य थिए ।
उनीहरूले पछारेको घिनलाग्दो इतिहास
र उनीहरूलाई जिस्क्याइरहेको निर्लज्ज वर्तमानमध्ये
कुन ज्यादा नाङ्गो थियो,
कुन अधिक वीभत्स थियो
मैले बुझ्न सकिरहेको थिइनँ ।
तिनका अनुहारमा सन्तुष्टिजस्तै हँसाइ पोती
जब गुन्जिरहेथे स्वाभिमानमा उभिएका
ती उन्मुक्त आवाजहरू हाम्रो वरिपरि,
मलाई उदेक लागिरहेथ्यो ।
“पानी पर्यो भने के गर्छौ?“, सोधिरहेथे साथीहरू
“खै के हुन्छ, भिज्छौँ होला“, हाँस्दै उत्तर दिइरहेथे उनीहरू
“भरे के खान्छौ?“, उत्तर थिएन उनीहरूसँग, हाँस्नुबाहेक अर्को ।
मलाई रिस उठ्लाझैँ भइरहेथ्यो
मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे ।
नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा
चड्याङ्चड्याङ् हिर्काउँझैँ लागिरहेथ्यो मलाई
त्यो दुःखमा किन हाँसिरहेछन् तिनीहरू भनेर ।
इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो
पानी पनि सुइरो भएर बर्सिएजस्तो
घाम उदाएर पनि बस्तीको आकाशलाई समेत नछोई उम्किभागेजस्तो
उनीहरूको सपनामाथिको ठट्टा देखेर मलाई रोऊँरोऊँ भइरहेथ्यो ।
त्यो गन्तव्यविहीनतामा रुमल्लिइरहेका यात्राहरूको बस्तीबिच
बेसुरमा गाइरहेका चराहरूको स्वर
नियतिदेखि अनभिज्ञ नाचिरहेका पुतलीका उमङ्ग
र मिठासविहीन बहिरहेको लाटो हावा देखेर
मलाई बहुलाऊँ बहुलाऊँ भइरहेथ्यो ।
त्यत्रो अपमान पराजित गरेपछि जन्मिएको
त्यो निस्सारता देखेर मलाई मरूँ मरूँ लागिरहेथ्यो ।
उनीहरू रमाइरहेथे संसार विजय गरेझैँ ।
मलाई जीवनको रहस्यले पिरोलिरह्यो,
प्रश्न आयो मनमा,
के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ ?
वा जीवन कठिन भएपछि बाँच्न सजिलो हुन्छ ?
(मुक्त भएका कमैयाहरू बसेका अस्थायी झुप्राहरूको वस्ती यो कविता जीवनको छेउमा उभिएर कविता संग्रह २०६६ बाट साभार गरिएको हो ।)
कवि सुमन पोखरेल मुख्यतः नेपाली भाषामा लेख्नुहुन्छ । साथै, अङ्ग्रेजी, हिन्दीलगायत केही अन्य दक्षिण एसियाली भाषाहरूमा पनि उहाँका रचनाहरू प्रकाशित छन् भने विभिन्न देशका धेरै भाषाहरूमा अनूदित पनि छन् । उहाँका कविता नेपालका दुई विश्वविद्यालय र भारतका तीन विश्वविद्यालयमा पाठ्यक्रमको अंशका रूपमा पढाइन्छ । उहाँ सन् २०१३ र सन् २०१५ को सार्क साहित्य पुरस्कारसहित विभिन्न उल्लेखनीय पुरस्कारहरूबाट सम्मानित हुनुहुन्छ ।
जवाफ लेख्नुहोस्