info@bampanththeleft.com

Bampanth The Left

यो सहर कसको हो ?

-तारालाल श्रेष्ठ

विकास त्यो हुँदै होइन, जसले अथाह नागरिकलाई पीडा दिन्छ । वास्तविक जीवनकथाहरूले विकासका कारण बर्बाद बनाइएका नागरिकका पीडालाई देखाइरहेको छ । धनीहरू झनझन धनी र गरिबहरू अझ गरिब बन्दै गइरहेका छन् । यदि विकासका नाममा कसैले गुमाउनुपर्ने स्थिति आउँछ भने त्यहाँ कसैले जित्दैनन्, विकास भनेको सबैका निम्ति समान किसिमले हुनुपर्छ । यसर्थ अब काठमाडौँमा सक्रिय यात्रीका लागि विकास भनेको वायु प्रदूषणरहित पैदल, साइक्लिङ र सार्वजनिक यातायातसहितको सहर हो । वर्षको आठ महिना दिनको २० खिल्ली चुरोट खाए बराबरको धुवाँ खाँदै सक्रिय यात्री काठमाडौँमा यात्रा गर्न बाध्य नबन्ने सहर विकसित सहर हो । खुला स्थल, पार्क, कृषिभूमि, वन, वनस्पति र मानवबाहेकका जीवहरूसहित सह–अस्तित्वमा टिकेको सहर विकसित सहर हो । पर्यावरणीय न्यायमा समर्पित विचारकहरूले औँल्याएझैँ जब राज्यको स्रोतसाधन वितरण र उपभोग गर्दा न्यायोचित समता र सम्मानित सहभागिता हुन्छ, तब यो सहर सबैको सहर बन्न सक्दछ ।

 

दिगो सहरी विकास : एक सपना

विश्वभर सहरीकरण तीव्र गतिमा बढ्दै छ । विश्वको आधा जनसङ्ख्या सहरमा बस्ने गरेको तथ्याङ्क छ । नेपालमा पनि सहरीकरण निकै तीव्र रूपमा बढिरहेको छ । गाउँहरू रित्तिँदै, उजाडिँदै छन् । भलै सहरीकरण नेपालका लागि नयाँ कुरो हो । काठमाडौँ उपत्यका भने निकै प्राचीनतम सम्पदा सहरमा पर्दछ । २०७८ को जनगणनाअनुसार ६६ प्रतिशत नेपाली नागरिक सहरमा बस्छन् (एनएसओ, ई. २०२३) । यद्यपि सहर केलाई भन्ने सम्बन्धमा विवाद जारी छ । काठमाडौँ उपत्यका भने हजारौँ वर्षदेखि भव्य सम्पदाले सम्पन्न सहरको रूपमा स्थापित थियो ।

देशको राजधानी काठमाडौँमा कसरी आधुनिक विकासका कामहरू भए र यसले काठमाडौँलाई कस्तो स्वरूपमा ढाल्दैछ भन्ने विषयमा विविध कोणबाट बहस गर्न सकिन्छ । एकातिर सन् २०५० सम्ममा विश्वको ७० प्रतिशत जनसङ्ख्या सहरमा बस्ने प्रक्षेपण छ (युएन, सन् २०१८) । अर्कोतर्फ बढ्दो सहरीकरणका कारण दिगो सहरी विकासको चुनौतीबारे विश्वभर व्यापक बहस सुरु भएको छ । यसर्थ संयुक्त राष्ट्रसङ्घ समावेशी, सुरक्षित र सबैका लागि न्यायोचित दिगो सहरी विकास निर्माणलाई प्रमुख लक्ष्य लिएर अघि बढेको छ । सबैका लागि समान न्यायोचित सहरी विकासका नारा सुन्नमा जति आनन्द लाग्दो छ, त्यति नै व्यवहारमा अलग दृश्यहरू देखिएका छन् । कसले कसरी सहरी विकासलाई हेर्दैछन् ? कस्ता विकासका बिम्बहरू विश्वबजारले उत्पादन गर्दैछन् ? विकासलाई कसरी कुन आधारमा मापन गर्ने ? कसका लागि कस्तो विकासजस्ता प्रश्नहरू गर्ने हो भने विकासका नाममा जति पनि कार्यहरू भइरहेका छन्, त्यसभित्र विनाश देखापर्दछ । विकास मापन गर्ने विभिन्न आधार हुनसक्छन् । एउटा आधार तथ्याङ्क पनि हो । वि.सं.१९९८

सालमा चन्द्र शमशेर राणाले कमारा, कमारी र मालिकको गणना गर्न पहिलोपटक नेपालमा तथ्याङ्क लिएको भए तापनि २०११ सालको जनगणनादेखि अहिलेसम्म हेर्दा नेपालको विकासले कस्तो तस्बिर देखाउँछ भन्ने विषय हेरौँ । २०४८ सालसम्म नेपालमा धाराको पानी पिउने जनसङ्ख्या ३६ प्रतिशत र बिजुली उपभोग गर्ने घर ८.८ प्रतिशत तथा पक्की शौचालय हुने ६ प्रतिशत मात्र थियो । २०७८ सालसम्म आइपुग्दा धाराको पानी पिउने जनसङ्ख्या ५७ प्रतिशत, बिजुली बाल्ने ९२ प्रतिशत र शौचालय प्रयोग गर्ने ९५ प्रतिशत पुगेको देखाउँछ । पक्की घरहरूको निर्माण दु्रत गतिमा बढेका छन् ।

२०१७ सालमा देशभर लगभग १२०० किमी सडक थियो भने २०७८ सालसम्म आइपुग्दा ६५ हजार किमी सडक बनेका छन् । ४६ हजार किमीभन्दा बढी सडक कालोपत्रे बनिसकेका छन् (एनएसओ, सन् २०२३) । शिक्षा र स्वास्थ्यमा पनि विकास भएकै देखिन्छ । स्मार्ट अस्पतालहरू अस्तित्वमा आएका छन् । गाउँबाट सहर बसाइँसराइ तीव्र गतिमा बढेको छ । देशबाट युवा विदेसिने क्रम बढेर पनि १७.८ प्रतिशत पुगेको छ । यसरी विकासको तथ्य र तथ्याङ्क लामै पेस गर्न सकिएला ।

विकासको फेहरिस्त पेस गर्दैगर्दा काठमाडौँका सन्दर्भमा हामीले हाम्रो फोक्सोमा कति सफा हावा पठाइरहेछौँ भन्ने पनि हिसाबकिताब गर्नैप¥यो । आजकल साधारणतः विकास भनेको के हो भनेर कसैलाई सोध्यो भने चिल्ला सडक, चिल्ला मोटरकार, अग्ला महल, भौतिक मोजमस्तीको जीवनशैलीलाई विकास भन्ने उत्तर आइहाल्छ । विकासले आफ्नो जमिन, जङ्गल र जलबाट पर पुगेको बिम्बतिर कमै चासो हुनसक्छ । कुनै व्यक्तिले विकास ग¥यो भन्ने बित्तिकै हाम्रो मानसपटलमा घामपानीले नरुझेका, निजी कार र कङ्क्रिट घरवाला व्यक्तिवादी अर्थ–मानवको बिम्ब सलबलाउँछ । काठमाडौँलाई सन्दर्भ बनाएर हेर्दा पनि हजारौँ वर्षदेखि जारी रहेको सामूहिक संस्कारलाई अहिले विकास मानिदैन । व्यक्तिवादी वर्तमान संस्कृतिलाई विकासको बिम्बका रूपमा हेरिन्छ । काठमाडौँ उपत्यकामा भएको भौतिक विकासले कसलाई सुविधा दिइरहेको छ र कसलाई दमन गर्दैछ भनेर विचार पुर्याएका छैनौँ ।

काठमाडौँ सहरभित्र वर्गैवर्गहरू देखिन्छन् । लाखौँलाख मजदुरभित्र विविध प्रकारका मजदुरहरू छन् । सरसफाइ मजदुर मात्रै बिस हजारका हाराहारीमा होलान् (तामाङ, सन् २०२३) । कबाडी सामान बटुलिहिँड्ने एकलाख होलान् (शाह, सन् २०२३) । फलफूल, तरकारी र सामान बोक्दै हिँड्नेहरू दसौँ हजार छन् । सामान्य पेसा व्यवसाय गरी बस्ने डेरावालाहरू काठमाडौँमा लाखौँ छन् । विविध विधामा संलग्न काठमाडौँमा बसोबास गर्ने नागरिकले काठमाडौँलाई अनेकौँ अवतारमा व्याख्या गर्न सक्लान् । यद्यपि तिनीहरू सबै काठमाडौँको विकास चाहन्छन् ।

नेताहरू भाषणमा विकासकै नारा घन्काउँछन् । जनता विकासै चाहियो भन्छन् । विदेशी दातृ निकाय विकासकै लागि रातोदिन खटिइरहेको बताइन्छ । सम्पन्न राष्ट्रहरू नेपालमा शान्तिस्थापना विकासबाटै सम्भव भएको भन्दै सहयोग गरिरहेको कुरा गर्छन् । शक्तिराष्ट्रहरू नेपालमा स्थायी शान्ति अनि विकासकै कुरा गर्छन् । विकास नचाहने, विकासविरोधी कोही देखिँदैनन् । विकास पर्याप्त नभएरै विदेसिनु परेको कुरा पनि छ, प्रवासिएका नेपालीबिच । यसर्थ काठमाडौँ उपत्यकाजस्तो नेपाली मौलिक सहरमा कस्तो विकास चाहिएको हो ? विकासको नाममा जे भइरहेको छ,  के सबैले खोजेको विकास त्यही हो त ? यसबारे हामीमाझ अहिलेसम्म गम्भीर बहस भएजस्तो लाग्दैन ।

निजी सवारी केन्द्रित विकास

नेपालमा साइकल र मोटरकार एकै समयमा भित्रिएको देखिन्छ । भारतबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट भीमफेदीसम्म मोटरगाडी । भीमफेदीदेखि काठमाडौँसम्म चित्लाङ चन्द्रागिरी हुँदै मोटरकार भरियाले बोकेर काठमाडौँ ल्याएझैँ साइकल पनि भरियाले बोकेरै काठमाडौँसम्म ल्याएको इतिहास छ (मानन्धर, २०१३, सिन्धु सन् २०२३) । हेटौँडा चौकीटोलबाट रोपवे चल्न थाले पनि साइकल रोपवेबाट काठमाडौँ ल्याइयो भने मोटरकार निकै पछिसम्म भरियाले बोकेरै नै काठमाडौँ ल्याइन्थ्यो । सीमित शासकले काठमाडौँमा कार चढ्थे । साइकल पनि शासककै पहुँचमा मात्रै सीमित थियो, सन् १९४० को दशकसम्म । मोटरकार सन् १९५० सम्म सर्वसाधारणको पहुँचमा थिएन । राणाशासन ढल्यो, पञ्चायत पनि ढल्यो । प्रजातन्त्रले स्वतन्त्रताको लहर ल्यायो ।

विकास भनेको स्वतन्त्रता भन्ने भाष्य पनि स्थापित बन्यो । हेर्दाहेर्दै काठमाडौँ विकासको नाममा प्रदूषित सहर बन्यो । कृषिजन्य जमिन कङ्क्रिटले भरियो । दिगो सहरका लागि कति वन, कति जमिन र कति घर चाहिने हो, मतलब गरिएन । बाटोघाटो कति कस्तो चाहिन्छ, वास्ता गरिएन । जथाभावी सहरी विकासले विशिष्टतम् सम्पदा सहर केही दशकमै कुरूप बनाइदियो । पैदलयात्री सडकमा निस्कन नसक्ने गरी यान्त्रिक सवारीद्वारा पाखा हुत्याइए । गर्भवती महिला, केटाकेटी, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग व्यक्तिको सक्रिय गतिशीलता सङ्कटमा पर्यो । साइकल संस्कृतिसमेत छिटै छायामा पर्यो (राई, सन् २०११÷ खनाल, सन् २०२१) । सन् १९६० देखि यान्त्रिक साधन ह्वात्तै बढ्यो । अझ सन् १९८० र ९० को दशकदेखि मोटरसाइकल यति बढ्यो कि स्वर्णभूमिझैँ काठमाडौँका सडकबाट सर्वसाधारण पैदल तथा साइकल यात्रीलाई लगभग विस्थापित नै बनाइदियो । सन् १९८० को दशकदेखि संरचनात्मक समायोजन परियोजना नेपाल पसेपछि निजी कार संस्कृतिको बढवा भयो । बाटो विस्तार, अटो कर्जा, उपभोक्तावादी संस्कृति हाबी भएर काठमाडौँको मौलिक जीवनपद्धति नराम्ररी खलबल्याइदियो । उपत्यकाभित्रको जनसङ्ख्या वृद्धिदर ४.३ प्रतिशत हुँदा यान्त्रिक सवारी साधनको वृद्धिदर ३० प्रतिशतभन्दा बढी देखियो ।

साइकल यात्री ७ प्रतिशतबाट झरेर १ प्रतिशतमा आए । सडक दुर्घटना दर आकासियो । सडक सुरक्षा रणनीतिक योजना (सन् २०१३ देखि २०२०) ले आधा दुर्घटना र मृत्युदर घटाउने भन्ने लक्ष्यको ठिक विपरीत सडक दुर्घटना र मृत्यु बरु शतप्रतिशत वृद्धि भयो । हाल सडक दुर्घटनामा मृत्युहुने मध्ये ४९ प्रतिशत पैदलयात्री छन् । जसका कारण पैदलयात्रीको सङ्ख्या पनि घट्दो देखिन्छ । देशभर जति दुर्घटना हुन्छन्, तिनको आधा राजधानीमै हुने गरेका छन् (वाग्ले, सन् २०२१) । सन् २०२०–२१ को तथ्याङ्कले २ हजार ६ सय जनाले दुर्घटनामा ज्यान गुमाएको देखाउँछ । त्यसमा सक्रिय (बोनस) युवा जनशक्तिले सबैभन्दा बढी ज्यान गुमाइरहेका छन् ।

कुल जनसङ्ख्याको तीन प्रतिशत नेपाली नागरिकले मात्रै अहिले कार हाँकिरहेका छन् । यतिले नै काठमाडौँको सडक यातायात अस्तव्यस्त बनाइदिएर सक्रिय यात्री (पैदल, साइकल तथा सवारी साधन रोज्ने यात्री) सकसमा छन् । वातावरण सास फेर्न नसक्ने गरी बिग्रिएको छ । सार्वजनिक यातायातमा सरकारी चासो नहुँदा सक्रिय यात्री सडकमा निस्कन डरमर्दो देखिन्छ । विस्तारित चक्रपथमा अझ डरलाग्दो अवस्था देखिन्छ । साइकल लेन, पैदलमार्ग र सार्वजनिक यातायातका लागि डिजाइनमा भएको व्यवस्थालाई पनि नजरअन्दाज गरेर चक्रपथको सडक विस्तार भएको देखिन्छ । एडीबीको आर्थिक सहायतामा नेपालको इतिहासमा पहिलोपटक प्रयास गरिएको ‘काठमाडौँ दिगो सहरी यातायात परियोजना’ (सन् २०११–२०१८) असफल सिद्ध भयो । अनेक उल्झनमा फसेर ३०.४२ मिलियन डलरको परियोजनाले ४० प्रतिशत बजेट खर्च गर्न पनि नसकी परियोजना रोकियो । सार्वजनिक यातायात सुधार, ट्राफिक व्यवस्थापन, पैदलयात्रीमैत्री तथा प्रदूषण सुधारका लक्ष्य पूरा गर्न सक्ने नेतृत्व आजसम्म देखिएको छैन ।

पछिल्लो तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत नागरिकमा अपाङ्गता भएको देखाउँदछ । ज्येष्ठ नागरिक, बिमारी, गर्भवती महिला, बालबालिका, असहाय नागरिकका अलवा १.५ प्रतिशत अपाङ्गता भएका नागरिक काठमाडौँमा रहेको तथ्याङ्कले देखाउँछ । अझ केही न केही रूपले असहजता बोकेका नागरिक २३ प्रतिशत देखाउँछ । शत्प्रतिशत पूर्वाधार अपाङ्गतामैत्री वास्तविक मापदण्ड विपरीत निर्माण गरिएको देखिन्छ । १२ प्रतिशत पूर्वाधार मात्रै अपाङ्गता भएका नागरिकलाई पनि केही हदसम्म ध्यानमा राखेर निर्मित देखिन्छ ।

कुल ८८ प्रतिशत पूर्वाधार अपाङ्गता भएका नागरिकका लागि प्रयोग गर्नै नमिल्ने किसिमले निर्माण गरिएको देखिन्छ (एनएफडीएन, २०२३), जसका कारण अपाङ्गता भएका व्यक्तिहरू निकै कम बाहिर निस्कने गरेको पाइन्छ । त्यसैगरी आमनागरिकका लागि सार्वजनिक सवारी सेवा सञ्चालन भएको साढे ६ दशक भइसक्दा पनि व्यवस्थित विकासमा ध्यान पटक्कै दिएको देखिन्न । सन् १९६१ मा सञ्चालनमा आएको साझा यातायात सेवा बन्द भयो । सन् १९७५ मा सञ्चालनमा आएको विद्युतीय बस (ट्रली बस) सेवा पनि बन्द भयो । निजी क्षेत्रले सार्वजनिक यातायातलाई विस्थापन गरिरहेको छ । यस्तो अवस्थामा कमजोर संवेदनशील विपन्न वर्गले कस्तो विकास खोजिरहेको होला ?

पर्यावरणीय सङ्कट

पर्यावरणीय सङ्कटबारे विभिन्न कोणबाट व्याख्या भइरहेको भेटिन्छ । विश्वमा आठ अर्ब मानिस छन् । ती मानिसले ८० अर्ब जनावर मासु खानका लागि पालेको बुझिन्छ । हरेक दिन करोडौँ जनावर मासुका लागि मारिन्छन् । जङ्गली जनावर दुई प्रतिशत पनि बाँकी छैनन् भन्ने आँकडा छ । मानिस सहानुभूतिले भरिपूर्ण प्राणी त हो, तर बाल्यकालदेखि नै सहानुभूतिको खानी मानिसलाई समाज र संस्कृतिले पूर्वाग्रही बनाउँदै लगिरहेको छ । यही २०८० साल भाद्र महिनाको पहिलो साता ठमेलमा भेला भएका भेजिटरियन र भेगन समुदायको एउटा कार्यक्रममा सहभागी भई युवाहरूको विचार सुन्दा मानव समुदाय अत्याचारको शिखरमा बसेर आफूलाई सभ्य भनिरहेको बोध भयो । बोङ जोन हो निर्देशित ओक्जा (सन् २०१७) सिनेमाको स्क्रिनिङसहित तिनीहरूले मानिस आफूभन्दा भिन्न प्राणीप्रति निकै निर्मम निर्दयी बन्दै गएको चर्चा गरे । मास जनावर पालन र स्लटर घरमा मासुको लागि मास जनावर मारिरहेको दृश्यले दर्शकलाई स्तब्ध बनायो ।

केही जनावरलाई परिवारको सदस्यझैँ माया दिई अन्य जनावरप्रति अति निर्दयी मानिसको पूर्वाग्रही व्यवहार देखेर कतिपय युवा दर्शकहरू नराम्ररी रोइरहेका पनि थिए । स्नातक अध्ययनरत विद्यार्थी युवाहरू विश्वव्यापी पर्यावरणीय सङ्कट नेपालको अवस्थाबारे शाकाहारी–भेगनवादी दृष्टिबाट विश्लेषण गर्दै थिए । मांसाहारी मानिसले पर्यावरणीय सङ्कटलाई बढवा दिइरहेको तर्कहरू प्रस्तुत गर्दै थिए ।

वातावरण संरक्षणसँग सम्बन्धित सभागोष्ठीहरूमा समेत सयौँ मांसाहारी परिकार पकाएर आम प्राणीको पक्षमा वकालत गरिरहेको बौद्धिक पाखण्डपनका बारेमा पनि चर्चा चल्ने गरेको छ । दिगो विकास र वातावरण संरक्षणका लागि शाकाहारी–भेगनको गहन भूमिका रहेको तर्क सुनिन्छ (श्रेष्ठ, २०२३) । शाकाहारी–भेगनको आँखाबाट संसार हेर्दा अलग देखिँदो रहेछ । साइक्लिङ गर्दै संसार हेर्दा अर्कै यथार्थ बोध हुन्छ । हामी साइकल समुदायको जीवनशैली कतिको न्यायोचित दैनिकीबाट गुज्रिरहेको रहेछ भन्नेबारे पनि बहस आवश्यक बोध भएको छ ।

विश्वका धनी देशहरू ‘ग्लोवल नर्थ’ले मात्रै ९२ प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन गरेर विश्वका गरिब मुलुकका जनतालाई यातना दिइरहेका तथ्यहरू सार्वजनिक भएका छन् । त्यसको प्रत्यक्ष असर उत्पीडित वर्ग समुदायमा परेको तथ्य छ । शक्तिशालीहरू पर्यावरणीय अन्याय गर्नमा पनि अग्रणी स्थानमा देखापरेका छन् । अमेरिका एक्लै ४० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जनकर्ता हो । अनि युरोपीयन युनियन, रसिया, जापान र क्यानडा कार्बन अत्यधिक उत्सर्जन गर्ने मुलुक हुन् । ‘ग्लोबल साउथ’मा भने भारत र चीन चरम इन्धन दोहन गर्ने मुलुक हुन् । ‘ग्लोबल नर्थ’ मा अमेरिकाले अगुवाइ गरेझैँ ‘ग्लोबल साउथ’मा चरम प्रकृति दोहनमा चीन अघि बढिरहेको देखिन्छ ।

अमेरिका सबैभन्दा बढी कार्बन उत्सर्जन गर्दैछ (पार्दिकार, सन् २०२०) । त्यही देशमा पर्यावरणीय (अ)न्यायको विमर्श बढी उर्लिरहेको देखिन्छ । पर्यावरणीय अन्याय रङ्गभेद, जातिभेद, लिङ्ग, क्षेत्र, वर्ग विभेद आदिसँगै जोडिएर दमित वर्ग र समुदायहरू पर्यावरणीय अन्यायको हिसाबले पनि थप दमित बनेका छन् । जसरी उपनिवेश र साम्राज्यवादी शक्ति कदापि दमित देश र उत्पीडित जनतासँग समान भएनन्, त्यसैगरी पर्यावरणीय सङ्कटको प्रभाव पनि समान किसिमले सबैले खेपिरहेका छैनन् । इतिहास साक्षी छन्, दमनकारी देशहरू आज पनि सम्पन्न छन् । स्रोत–साधनको दोहन आज पनि उच्चतम रूपले तिनीहरू नै गरिरहेका छन् । स्रोत–साधनको उपभोग तिनीहरूले उच्च रूपमा गरिरहेछन् । प्रदूषण र फोहोरका पहाडहरू कमजोर देश र जनतालाई बोकाइरहेका छन् । सामन्ती विकास मोडल र पर्यावरणीय सङ्कटले धनीहरूलाई थप धनी र गरिबहरूलाई थप गरिब बनाइरहेका प्रमाणहरू प्रशस्त छन् । उपभोक्तावादी बजारवादले आत्मनिर्भरबाट उत्पीडित समुदायलाई परनिर्भर बनाइरहेको देखिन्छ । विदेशी सहायता र लगानी दुवैले विकासको नाममा पुँजीवादी दमनको अस्त्र प्रयोग गरिरहेको भान हुन्छ । नेपालको विकास न त सामाजिक आन्दोलन हो, न आर्थिक प्रगतिवादी हो । बरु जुवाजस्तो हो, जहाँ एउटाले नहारीकन अर्कोले जित्दैन; जसबाट दमितहरू बढी दमित बन्दै जान्छन् (श्रेष्ठ, २००९) ।

शक्तिशाली वर्गबाट पर्यावरणीय सङ्कटमार्फत पनि सबैभन्दा कमजोर वर्ग समुदाय (प्रकृतिलाई पनि) थप सताइरहेको देखिन्छ । अहिले आर्थिक– सामाजिक शोषण र असमानताले भन्दा प्राकृतिक विनाशको प्रभाव विश्वभर बढी असमान किसिमले उत्पीडित वर्ग समुदायलाई मार हान्दैछ । पर्यावरणीय अन्याय आर्थिक अन्यायभन्दा बढी दूरगामी अन्यायको स्रोत बनेर देखिएको छ (नेस्मित र अन्य, सन् २०२१) । अहिले आर्थिक असमानताभन्दा पर्यावरणीय सङ्कटको प्रभाव असमान किसिमले बढी कठोर यातना बनेर विश्वभर फैलिरहेको छ (फाबर, सन् २०१८) ।

आर्टिफिसियल इन्टेलिजेन्स, पोस्ट हुम्यानिजम्, उत्तरआधुनिकता अनेक विकास दर्शनको जति घमण्ड मानिसले गरुन्, आर्थिक–सामाजिक विभेदले भन्दा पर्यावरणीय सङ्कटले उत्पीडित समुदायलाई सबैभन्दा बढी मार हानिरहेको छ । पर्यावरणीय सङ्कटको बढ्दो महामारीमाझ शक्तिविहीन समुदायलाई अलपत्र छोडेर बुद्धिविलास गर्ने समय हामीसँग छैन (कोरी र रहमन, सन् २०१२) । आज कार्ल माक्र्सले पुनःजीवन प्राप्त गर्न सम्भव हुन्थ्यो भने सर्वहारालाई पर्यावरणीय सङ्कटबाट कसरी बचाउने भन्नेबारे प्राथमिकताका साथ विचार निर्माण गर्थे सायद ।

अन्तोनियो ग्राम्ची आजसम्म जेलमै फासिस्टको यातना खेपेर जीवित हुन्थे भने सबाल्टर्न वर्गप्रति समर्पित नवीन बौद्धिक वर्गले सम्भ्रान्तको पक्षपोषक परम्परावादी र जैविक बुद्धिजीवीले मलजल गरिरहेको सामन्तवादी बौद्धिक चौघेरा तोड्दै प्रकृतिमैत्री सामूहिक सार्वजनिक आन्दोलनको वैचारिक विचारले प्रिजन नोटबुक (जेल जर्नल) का पानाहरू भरिन्थे होलान् । अर्थात् विकास र वातावरण नै बौद्धिक विश्वबजारको सबैभन्दा जल्दोबल्दो बहसको विषय बनेको छ, बन्नुपर्ने अपरिहार्यता हाम्रा सामु मूल समस्याका रूपमा उभिएको छ ।

पर्यावरणीय न्याय

नेपालमा २०७८ सालको जनगणनाअनुसार लगभग ६६ प्रतिशत जनसङख्या सहरमा बस्छ (एनएसओ, सन् २०२३), भलै सहरको अवधारणामा विवाद जारी देखिन्छ । नेपाली भूगोल, सभ्यता र समाज पश्चिमा कार संस्कृतिको विपरीत छ । नेपालमा जम्मा ३.१ प्रतिशत घरपरिवारसँग कार, जिप र भ्यान छन् । तीमध्ये ४.१ प्रतिशत घरपरिवार नगरपालिकामा बस्छन् । मोटरसाइकल/स्कुटर २७.३ प्रतिशत घरपरिवारसँग छन् । तीमध्ये ३२.७ प्रतिशत नगरपालिकामा बस्छन् । साइकल भएका घरपरिवार ३५.२ प्रतिशत छन् । तीमध्ये ३८.४ प्रतिशत नगरपालिकामा बस्छन् । कार, जिप, भ्यान भएको घरपरिवार वागमती प्रदेशमा ६.४ प्रतिशत र मोटर साइकल हुने घरपरिवार ३६ प्रतिशत देखिन्छ । वागमती प्रदेशमा साइकल हुने घरपरिवार १५.५ प्रतिशत देखिन्छ, मधेश प्रदेशमा भने ६७.४ प्रतिशत घरपरिवारसँग साइकल रहेको देखिन्छ (एनएसओ, सन् २०२३) । तर जति पनि पूर्वाधार बन्छन् ती ३.१ प्रतिशत कार, जिप, भ्यानवाला केन्द्रित देखिन्छन् । सक्रिय गतिशीलता रुचाउने नागरिकलाई केन्द्रमा राखेर पूर्वाधार निर्माणमा पटक्कै ध्यान पुगेको देखिँदैन, जब कि प्राचीन सम्पदा नगरी काठमाडौँ एक कुनाबाट अर्को कुनासम्म जानका लागि यान्त्रिक सवारी साधनको खाँचो नै नपर्ने देखिन्छ । यहाँ जहाँतहीँ बहाबही, चोक, गल्ली, आराम गर्ने फल्चाहरू बनाइएका छन् ।

लिखित तथा वाचित प्रमाणहरूले नेपालको विकासका प्रयासहरूका निराश कथाहरू भनिरहेका छन् (पाण्डे, सन् १९९८) । विकासका नाममा नेपालमा भएका गतिविधि कति डरलाग्दो किसिमले अघि बढाइएको छ भन्ने कुरा नन्द आर. श्रेष्ठ (सन् २००९) को इन द नेम अफ डिभलपमेन्ट पुस्तक पढ्दा पनि प्रस्ट हुन्छ । औपनिवेशिक मानसिकताबाट बाहिर निस्किएर कसरी आमनागरिकको सोचविचार परिवर्तन गरी विकासका कार्यलाई अघि बढाउने भन्ने मार्ग भने स्पष्ट पार्न सहज देखिँदैन (स्विजे, सन् २००९) । विकासका नाममा भइरहेको व्यापक विनाश रोक्ने उपाय पनि सहज देखिन्न । अविकसित समाजमा औपनिवेशिक शक्ति सहजै पस्न सक्दछ र नवउपनिवेश खडा गरेर बस्न सक्दछ भन्ने विषय भने सहजै बुझ्न सकिन्छ । नेपाल विविधताका विशिष्टताले भरिपूर्ण सानो देश हो (विष्ट, सन् २०१५) । आजको नेपालको कुराले मात्रै नेपाली सन्दर्भमा विकासको कुरा गरेर पुग्दैन । विविधताले भरिपूर्ण राष्ट्रको प्रागऐतिहासिक तस्बिरलाई हेर्दा नेपालभित्र धेरै राष्ट्रहरू थिए (छन् ?) ।

नेपाल भन्नाले पहिले काठमाडौँ उपत्यकाभित्रका क्षेत्रलाई जनाउँथ्यो । यसभित्र भव्य सभ्यता, संस्कृतिले विश्वजगत्लाई अझै आकर्षित गरिरहेको छ । चार हजार वर्ष लामो इतिहास नेवाः भाषाले नै बोकेको देखिन्छ (श्रेष्ठ, सन् २०२३) । तीन हजार वर्ष अघिदेखि गोपाल, किरात, लिच्छवी र मल्लहरू विविधताबिच विभिन्न सभ्यतालाई हुर्काएर र बचाएर बाँचेका थिए । त्यस बेला पनि विकासका अलग पद्धति थिए । जैविक विविधताले सांस्कृतिक विविधता जन्मायो । त्यहीअनुरूप भौतिक, सामाजिक, सांस्कृतिक, कलात्मक विविध विकासका कामहरू भएका छन् । त्यही सभ्यता, संस्कृति र जीवनपद्धति विश्वलाई देखाउने नेपाली निधि बन्यो । यस्तो देशलाई अहिले अविकसित, अर्द्धविकसित, विपन्न आदि शब्दले सम्बोधन गर्ने गरिन्छ । हामीले हाम्रो समाज, सभ्यता र संस्कृतिको चरित्रअनुरूप विकासबारे बहसै गरेका छैनौँ ।

हाम्रो समाजबाटै जन्मिएर हुर्किएका सामाजिक, आर्थिक, राजनीतिक पद्धतिहरूको उपयोगिताबारे सामान्य बहससम्म गरेका छैनौँ । यसर्थ, लिखित तथा अलिखित दशी प्रमाणहरूले नेपालको विकासका प्रयासबारे प्राप्त सन्दर्भ सामग्री र यथार्थ अवस्थाले विकासको बढ्दो वियोगान्त कथानक पुष्टि गर्दछ । साम्राज्यवादी शक्तिको प्रत्यक्ष हैकम नखेपेको, प्रत्यक्ष उपनिवेशको अधीनस्थ मार खेप्नबाट बचेको राष्ट्रले नेपाली मौलिक विकासको मोडल अपनाउन सकेको छैन । प्राचीन सभ्यताबाट आधुनिकतामा प्रवेश गराउने क्रममा नेपाली मौलिक पद्धतिलाई अपनाइएको छैन । देशलाई विकास गर्ने नाममा विकास पीडितको हिसाब गरेका छैनौँ । विकासबाट पनि सबैभन्दा पीडित सबैभन्दा पिँधका नागरिक बनेका छन्, जसको नाममा विकास लक्षित भनिन्छ, त्यहाँ विदेशी सहायता आधुनिक उपनिवेशका रूपमा देखा पर्दैछन् । “यदि वैदेशिक सहायताले पिँधका जनतालाई वास्तविक विकासको बोध गराउन सक्दैन र सीमित स्थानीय सामन्त सम्भ्रान्तलाई नै पृष्ठपोषण गर्दछ भने विकासका नाममा प्राप्त त्यस्ता विदेशी सहायता सबै बन्द गरिदिए हुन्छ” भन्ने विश्लेषक देवेन्द्रराज पाण्डेको पुरानो अडान उपयोग गर्नु उचित देखिन्छ (पाण्डे, सन् १९८८) । हामीले हाम्रा शिक्षालयमा हाम्रै सभ्यताले सिकाएका महत्वपूर्ण सौन्दर्यलाई पाठ्यक्रम बनाएर पठनपाठन गरेका छैनौँ । यसर्थ अहिले थुप्रै प्रश्न थाती रहेका छन् ।

जाँदाजाँदै

विकास त्यो हुँदै होइन, जसले नागरिकलाई अथाह पीडा दिन्छ । वास्तविक जीवन कथाहरूले विकासका कारण बर्बाद बनाइएका अथाह नागरिकका पीडालाई देखाइरहेको छ । धनीहरू झनझन धनी र गरिब अझ गरिब बन्दै गइरहेका छन् । यदि विकासका नाममा कसैले गुमाउनुपर्ने स्थिति आउँछ भने त्यहाँ कसैले जित्दैन, विकास भनेको सबैका निम्ति समान किसिमले हुनुपर्छ । पश्चिमा विकास र प्रविधिको अन्धानुकरणले नेपाली समाजमा आधुनिक उपनिवेशीकरण जन्माएको देखाउँछ । विकासका नाममा एक सानो सम्भ्रान्त तप्काले लाभ लिने र आमजनले गुमाउने अवस्था सिर्जना भएको छ । परम्परागत आर्थिक–सामाजिक अन्तःसम्बन्ध विकासका नाममा भत्काइएको छ । जब विपन्न, कमजोर, उत्पीडित वर्ग विकासले विस्थापित बन्छन्, सम्पन्न शक्तिशालीहरूको पनि दुःखको दिन सुरु हुन्छ । विकास भनेको बाटो, बिजुली, टेलिफोन, अस्पताल, विशाल दरबार, मोटरकारभन्दा अन्य चिज हो । आपसी सद्भाव, भाइचारा र मानवीयता हो । अझ बढी समताको व्यावहारिक प्रयोग हो (श्रेष्ठ, सन् २००९) ।

यसर्थ अब काठमाडौँमा सक्रिय यात्रीका लागि विकास भनेको वायु प्रदूषणरहित पैदल, साइक्लिङ र सार्वजनिक यातायातसहितको सहर हो । वर्षको आठ महिना दिनको २० खिल्ली चुरोट खाए बराबरको धुवाँ खाँदै सक्रिय यात्री काठमाडौँमा यात्रा गर्न बाध्य नबन्ने सहर विकसित सहर हो । खुला स्थल, पार्क, कृषिभूमि, वन, वनस्पति र मानवबाहेकका जीवहरूसहित सहअस्तित्वमा टिकेको सहर विकसित सहर हो । पर्यावरणीय न्यायमा समर्पित विचारकहरूले औल्याएझैँ जब राज्यको स्रोतसाधन वितरण र उपभोग गर्दा न्यायोचित समता र सम्मानित सहभागिता हुन्छ, तब यो सहर सबैको सहर बन्न सक्दछ ।

सन्दर्भ–सामग्री

  • Chew, S. C. &Denemark, R A., (eds). (1996). Essays in honor of Andre Gunder Frank the underdevelopment of development. Sage Publication.
  • Cory, D.C. & Rahman, T. (2012). Environmental Justice and Federalism. Edward Elgar.
  • Faber, D. (2018). The political economy of environmental justice. In Holifield,R., Chakraborty,J.& Walker, G. (Eds.). The Routledge handbook of environmental justice (pp. 61-73), Routledge.
  • Khanal, P. (2021). The rise and fall of the Kathmandu Valley’s cycling culture. The Record. June 7. Retrieved from https://www.recordnepal.com/the-rise-and-fall-of-the-kathmandu-valleys-cycling-culture.
  • Martinez-Alier, J. (2002). The environmentalism of the poor: A study of ecological conflicts and valuation. Department of Economics and Economic History, Universitant Autonoma de Barcelona, Edward Elgar.
  • Manandhar, T.N. (2013). Kathmandu…Then and Now. TN-ND LumantiGuthi, translated from Nepalbhasha by Razen Manandhar.
  • Mishra, C. (2008). Development and underdevelopment: A preliminary sociological perspective. Occasional Papers in Sociology and Antropology, 1. 105-135 //doi.org/10.3126/opsa.v1i0.1060.
  • Nesmith, A. et al. (2021). The intersection of environmental justice, climate change, community, and cology of life. Springer Nature. Switzerland AG. https://doi.org/10.1007/978-3-030-55951-9.
  • NFDN. (2023, April 4). Disability Data from Nepal Census. Retrieved from https://nfdn.org.np/ne/news/disability-data/
  • NSO(2023). National Population and Housing Census 2021 National Report.National Statistics Office, Kathmandu.
  • Pandey, D. R. (1998). Foreword. In the name of development: A reflection on Nepal by Nanda R. Shrestha, Educational Publishing House, 2009.
  • Pardikar, R. (2020). Global North Is Responsible for 92 Percent of Excess Emissions. Retrieved from https://eos. org/articles/global-north-is-responsible-for-92-of-excess-emissions
  • Rai, B. (2011, November 18-24). Cyclists and the city. Nepali Times. Retrieved from http://archive.nepalitimes. com/news.php?id=18714#.Wu_AcO-FO70.
  • Shah, S. (2023). Personal Interview. April 23.
  • Sindhu, K.D. (2023). Roads to the Valley. Notion Press.
  • Shrestha, N. R. (2009). In the name of development: A reflection on Nepal. Educational Publishing House.
  • Shrestha, G. B. (2023July 29). Newara and nepala: An exploration into prehistory [Video].Youtube. https://www. youtube.com/watch?v=HImxT01Ee98
  • Tamang, S. (2023). Personal Interview in Teku. Agust 1.
  • UNO (2018). 68% of the world’s population projected to live in urban areas by 2050. Retrieved from https://www/un.org/development/desa/en/news/population/2018-revision-of-world-urbanization-prospects.html.
  • Wagle, A. (2021,April 26). Motorcycle city. The Kathmandu Post. Retrieved from https://kathmandupost. com/columns/2021/04/26/motorcycle-city
  • श्रेष्ठ, दीपेश (२०२३, अगस्ट २६) । भेगनिजम र वातावरण । वोक्जमुभी स्किनिब इभेन्ट, लिभिबहार्ट ठमेल ।
  • क्षेत्री, जीवन (२०२३, साउन २८) । गाउँदेखि सहरसम्म विकासको मानक नै उल्टो भयो । हिमालखबर ।https://www.himalkhabar. com/news/137482 ?

(डा. तारालाल श्रेष्ठ अङ्ग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँका चार पुस्तकहरू, शक्ति, स्रष्टा र सबाल्टर्न, सपनाको समाधि, बल्झिरहने अतीत अल्झिरहने वर्तमान र बन्दीपुरदेखि बन्दीपुरसम्म प्रकाशित छन् भने भुटानी शरणार्थीसँग सम्बन्धित आठवटा पुस्तकहरू सम्पादन गर्नुभएको छ । नेपालका प्रमुख अखबारहरूमा नियमित स्तम्भलेखन गरिरहनुभएका श्रेष्ठका राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न प्राज्ञिक जर्नलमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । सबाल्टर्न अध्ययनमा विद्यावारिधि श्रेष्ठले साइकल संस्कृति अभियानको नेतृत्व गरिरहनुभएको छ । साथै, उहाँ काठमाडौँ उपत्यकाजस्ता नेपालका सहरहरूलाई पैदल, साइकल र सार्वजनिक सवारीमैत्री बनाउने अभियानमा लागिरहनुभएको छ ।)

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari