info@bampanththeleft.com

Bampanth The Left

हिमालय गलाउँदै मानवको द्रव्य–तृष्णा

– दिनेशराज भुजु

लन्डनमा बसेर डार्बिन र मार्क्सले आफ्ना पुस्तकहरू प्रकाशन गर्दैगर्दा त्यो सहर विश्वको सबभन्दा ठुलो साम्राज्यको राजधानी अनि विकासको नमुना थियो । बिग बेन घन्टाघर, वेस्टमिनिस्टर संसद भवन, बकिङ्घम शाही दरबार बनिसकेका थिए र विश्वको जमिनमुनिको पहिलो रेल प्रणाली लन्डन ट्युब सञ्चालनमा आइसकेको थियो । बिर्सन नहुने कुराचाहिँ वातावरणीय अवस्था हो । त्यो बेलाको लन्डन सहर अत्यन्त फोहोर र दुर्गन्धित थियो । थेम्स नदीमा पानी हैन पाइखानाबाट निस्केको ढल बग्थ्यो । सडकहरूमा घुँडाघुँडासम्म आउने गरी घोडाको लेदो थुप्रिएको हुन्थ्यो । कल–कारखानाहरूको धुवाँले मान्छे निसास्सिन्थे । गरिब बस्ती, भोकरोग, असुरक्षाजस्ता सामाजिक समस्या पनि चर्कै थिए । चार्ल्स डिकेन्सको प्रसिद्ध उपन्यास ओलिभर ट्विस्ट उतिबेलाको लन्डनको सामाजिक अवस्थाको गाथा हो । लन्डनको यो बिजोगलाई मार्क्सले पुँजीवादको लक्षणात्मक सङ्कट बताएका थिए । यद्यपि वातावरणलाई विकासको सूचक भने मानिएको थिएन ।

 

 

हिमालयको महिमा

सन् १९५३ मा तेञ्जिङ नोर्गे र एडमन्ड हिलारी सगरमाथाको शिखर पुगेको समाचारसँगै नेपाल र ‘नेपाल हिमालय’ले विश्वव्यापी चर्चा पाउन थाल्यो । संयोग नै भन्नुपर्छ, त्यतिबेला नेपालबाट एउटा तालिमको सिलसिलामा सत्यमोहन जोशी न्युजिल्यान्ड पुग्नुभएको थियो र त्यही समाचारका कारण उहाँले त्यहाँ विशेष आतिथ्य पाउनुभएको कुरा आफ्ना संस्मरणहरूमा लेख्नुभएको छ । हुन त त्यसभन्दा सय वर्षअघि नै हिमालयका शिखरहरूको नाप गर्ने सिलसिलामा कोलकातास्थित प्रेसिडेन्सी कलेजका होनहार गणित स्नातक राधानाथ सिक्दरले पिक–१५ को उचाइ २ ९ हजार फिट रहेको पत्ता लगाएका थिए र त्यो नै विश्वको सर्वाेच्च टाकुरा भएको निर्क्याैल गरेर ‘नेपाल हिमालय’को नाम उजागर गरिसकेका थिए । पिक–१५ लाई पछि माउन्ट एभरेस्ट नामकरण गरियो, हामीले सगरमाथा भनेर अनि चिनियाँहरूले झोमोलोंग्मा । नाम जे राखिए तापनि सगरमाथा अहिले जलवायु परिवर्तनको मारमा छ र निख्रँदै गएको हिमालय विश्वतापमान वृद्धिको विम्ब बनेको छ । 

हिमालय विश्वकै अग्ला शिखरहरू झुम्मिएको पर्वतमाला त हो नै, त्यो भन्दा बढी यो विश्व संस्कृतिको एक अध्याय अनि सभ्यता र सम्पदाको बेजोड नमुना पनि हो, जसले दक्षिण एसिया पूरै र तिब्बतसमेतलाई समेटेको छ । पृथ्वीकै जल, उर्जा र पदार्थ संवाहनमा यसको महत्वपूर्ण भूमिका रहेको हुँदा हिमालयलाई तेस्रो ध्रुव भनीकन सम्बोधन गरिन्छ (इसिमोड, २०१९)। यस्तो अनुमान गरिन्छ कि पृथ्वीको झन्डै एक चौथाइ मानिसहरूको जीविका हिमालयको पानीले धानेको छ । विषम भू–धरातल र विविध हावापानी, तीव्र गतिमा बग्ने नदीहरू, अग्ला भिराला पहाडहरू यसको प्राकृतिक चिनारी हो । आदिकालदेखि नै मानवजाति यहाँ रम्न थालेको यसकारण अनुमान लगाउन सकिन्छ कि केही दशक पहिले हाम्रा चुरे पहाड खोतल्दा रामापेथिकस भनिने आदिम मानवको अवशेष भेट्टिएको थियो (शर्मा, १९८१) ।

प्राकृतिक स्रोतबाहेक हिमालय सधैँ उर्बर र घना आवादी रहिआएको छ, खासगरी यसको दक्षिणी भेग जसलाई भारतीय उपमहाद्वीप भनिन्छ । मनसुनको बेला धेरै पानी पर्दा पहाडमा पहिरो र मैदानमा बाढी जाने र आउने गर्छ । तरुणावस्थाको गतिशील हिमालयको त्यो अन्तर्निहित गुण नै मानिन्छ । अन्यथा भने त्यो अत्यन्त उत्पादनशील क्षेत्र हो । विश्वमा उसको आर्थिक योगदान कुनै बेला कुल गार्हस्थ उत्पादनको ३५ प्रतिशत पुग्ने गरेको थियो र १८ औँ शताब्दीसम्म पनि २५ प्रतिशत थियो (कुमार र देसाइ, १९८३) ।

आर्थिक योगदानमा उसको प्रतिस्पर्धी भनेको चीन नै थियो, जसको जनसङ्ख्या अहिले पनि उस्तैउस्तै छ । यो औद्योगिक क्रान्ति (सन् १७६०–१८४०) भन्दा अघिको कुरा हो, जुन बेला उत्पादनको साधन भूमि र कृषि थिए र ती मानिसहरूका पाखुरा र पशुधनको शक्तिमा आधारित हुन्थे ।

यहाँसम्मलाई प्रकृतिसँगको मानिसहरूको अन्तरसम्बन्ध बिग्रेको थिएन, हिमालयलाई उनीहरू पूजा गर्थे । यस क्षेत्रमा हुर्केबढेको मानव सभ्यता, उसले परिष्कृत गरेका भाषा, संस्कृति र ज्ञानविज्ञान अनि प्राप्त गरेको प्राविधिक कौशल यही प्राकृतिक अवस्थासितको अनुकूलन थियो । अहिलेका धेरै मानिसले यस अनुकूलनलाई बिर्सेका छन् । जतिले यसलाई अङ्गीकार गरिरहेका छन्, तिनको बोली अल्पमतमा पर्छ । प्रकृतिसितको सम्बन्धलाई भत्काउने काम औद्योगिक क्रान्तिसँगसँगै सुरु भएको थियो, जुन बेलादेखि पुँजीवादले प्रकृतिमाथि बेपर्वाह नियन्त्रण गर्न थाल्यो । मानिस प्रकृतिको मालिक हो भन्ने भाखा उनैको हो । मुनाफा पुँजीवादको मूलमन्त्र हो । तपाईं जसरी कमाउनुहोस् यसकारण, प्रकृतिको दोहनलाई उसले अपराध मान्दैन बरु मानिसको अधिकार र पौरख ठान्दछ ।

हिमालयको महिमागान प्राचीन ग्रन्थ ऋग्वेददेखि बुद्धकालीन जातक कथाहरूमा उदात्तभावले उल्लिखित छ । कपिलवस्तुमा जन्मेहुर्केका सिद्धार्थ गौतमले त्यसलाई पक्कै नियालेको हुनुपर्छ । २५ सय वर्ष पहिले अहिलेजस्तो प्रदूषित आकाश कहाँ थियो र ? बुद्धले भन्तेहरूलाई सोध्नु पनि भएको थियो रे “के तपाइँहरू हिमालयतिर घुम्न जान चाहनु हुन्छ ?” जैन, शिख र बोन परम्पराहरूमा पनि हिमालयको प्रसङ्ग छ । यसरी हिमालयबारे मानिसले चर्चा गर्न थालेको उस्तै ३÷४ हजार वर्ष भयो होला, हिमालयको आफ्नै जन्म भने ३,४ करोड वर्ष पहिले भएको अनुमान गरिन्छ (भाल्दिया, १९८४) । त्यो भनेको डाएनासोरको साम्राज्य बखत हो, मानिस आउनुभन्दा धेरै पहिले । साइन्स एड्भान्सेसमा प्रकाशित एक अनुसन्धानात्मक लेखअनुसार तिब्बती पाखोतिर मानवनिर्मित केही सामग्रीहरू भेट्टिए, जुन ५.२ देखि ५.५ हजार वर्ष पुराना थिए (ग्लिगानिक र सहकर्मीहरू २०२१) । हिमालयको सान्निध्यमा पुगेका आधुनिक मानिस होमो सेपिन्सको पहिलो पुर्खाले त्यो बनाएको हुनुपर्दछ ।

आकाश छुने अग्ला हिमालय पर्वतमालाको अनुपम सुन्दरताबारे पुराण, काव्य, महाकाव्य र चित्रहरूमा भेट्न सकिन्छ । त्यसको उत्पत्ति, विकास र गतिशिलताबारे बुझ्न भने हामीले विज्ञान र वैज्ञानिकहरूलाई नै पर्खिनु पर्यो । झन्डै १ हजार वर्षको भोक, रोग र अन्धविश्वासले थिलथिलो बनाएको मध्ययुगीन अवस्थापछि युरोपमा पुनर्जागरण काल (इ.सं. १४०० देखि १६०० सम्म) सुरु भयो । पुनर्जागरणका दुई मुख्य विशेषता भनेका मानवतावाद र वैज्ञानिक चिन्तनपद्धति थिए ।

पुनर्जागरणले दैवीशक्ति र ईश्वरको सत्तालाई हाँक दिँदै मानिस र उसको क्षमतालाई केन्द्रमा राखिदियो । प्राकृतिक रहस्यहरूलाई प्रश्न र तर्कले खोतल्न थालियो, प्रयोग र प्रमाणहरूबाट पोषित ज्ञानले विज्ञानको जग बसाल्यो र प्राकृतिक दर्शन क्रमशः टोल, समाज र छिमेकमा छलफल हुने वैज्ञानिक विधा बन्यो । हिमालयलाई पनि यही वैज्ञानिक आलोकमा नियाल्न थालियो ।

सबैलाई थाहा भएकै कुरो हो कि सन् १९५० सम्म नेपाल विदेशीहरूका लागि बन्द मुलुक थियो । नेपाल हिमालयका टाकुराहरूको मापन पनि उतै भारतीय सिमानामा बसेर थियोडोलाइटको प्रयोग गरीकन त्रिकोणमितीय विधिबाट गरिएको थियो । सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा सन् १९७० को दशकसम्म पनि सातवटाभन्दा बढी लजहरू थिएनन् । अहिले नाम्चेबजारको भिरालो पाखामा मात्रै पनि ५५ वटा होटेल, लजहरू छन् । नाम्चेबजारलाई सगरमाथा जाने प्रवेशद्वारभन्दा हुन्छ, अक्सर पर्यटकहरू यही बाटो भएर सगरमाथातिर लाग्छन् । यही बाटो भएर फर्किन्छन् । उता चीनतर्फ तिब्बतमा झोमोलोंग्माको आधार शिविरसम्मै सवारी साधनहरू चल्दछन् र त्यहाँका सुविधासम्पन्न होटेलहरूको पर्यटक तान्ने विज्ञापन इन्टरनेटमा पाइन्छ । यी सबै हिमालयका आकर्षणमाथि पश्चिमी मोडेलमा विकास भइरहेको छ ।

विकास के हो ?

दार्शनिक भाषामा ‘विकास’ अस्तित्वबोधको पर्याय हो । ब्रह्माण्ड आफैँ विकासको सत्ता हो, यो सदैव चलायमान छ । बुद्धले यसलाई अनित्य भनेका छन् । सबै वस्तु र अनुभव परिवर्तन अर्थात् विकासका भागी हुन्छन् । विद्यालय पाठ्यक्रमअनुसार विकासबारे सिक्दा यसका छ–सातवटा, अझ बढी सङ्ख्यामा पनि विकासका सिद्धान्तहरू पढ्छौँ र पढाउँछौँ – आधुनिक सिद्धान्त, निर्भरता सिद्धान्त, नव–शास्त्रीय सिद्धान्त, विकास उत्तराद्र्ध सिद्धान्त, दिगो विकास सिद्धान्त, मानव विकास सिद्धान्त, आदि । सबै शास्त्रहरू – गणित, भौतिक, जीव, समाज, अर्थ, व्यवस्थापन, राजनीतिले यस शब्दावलीको प्रयोग र व्याख्या गरेका हुन्छन् । चाल्र्स डार्विन (१८०९–१८८२) को जीवविकासको सिद्धान्त पहिलो यस्तो सिद्धान्त भयो जसले दैवीशक्तिमा आधारित विकासको अवधारणामाथि प्रश्न मात्र हैन पूर्णविराम नै लगाइदियो । त्यसैले त होला कार्ल मार्क्स (१८१८–१८८३)ले आर्थिक विकासको सिद्धान्तमाथि लेखिएको पुँजीको एउटा संस्करण डार्बिनलाई समर्पित गर्न चाहेका थिए । लन्डनमा बसेर डार्बिन र मार्क्सले  आफ्ना पुस्तकहरू प्रकाशन गर्दैगर्दा त्यो सहर विश्वको सबभन्दा ठुलो साम्राज्यको राजधानी अनि विकासको नमुना थियो । बिग बेन घन्टाघर, वेस्टमिनिस्टर संसद भवन, बकिङ्घम शाही दरबार बनिसकेका थिए र विश्वको पहिलो जमिनमुनिको रेल प्रणाली लन्डन ट्युब सञ्चालनमा आइसकेको थियो । बिर्सन नहुने कुराचाहिँ वातावरणीय अवस्था हो । त्यो बेलाको लन्डन सहर अत्यन्त फोहोर र दुर्गन्धित थियो । थेम्स नदीमा पानी हैन, पाइखानाबाट निस्केको ढल बग्थ्यो । सडकहरूमा घुँडाघुँडासम्म आउने गरी घोडाको लेदो थुप्रिएको हुन्थ्यो । कल–कारखानाहरूको धुवाँले मान्छे निसास्सिन्थे । गरिब बस्ती, भोकरोग, असुरक्षाजस्ता सामाजिक समस्या पनि चर्कै थिए । चाल्र्स डिकेन्सको प्रसिद्ध उपन्यास ओलिभर ट्विस्ट उतिबेलाको लन्डनको सामाजिक अवस्थाको गाथा हो । लन्डनको यो बिजोगलाई मार्क्सले पुँजीवादको लक्षणात्मक सङ्कट बताएका थिए । यद्यपि वातावरणलाई विकासको सूचक मानिएको थिएन ।

लन्डन (बेलायत) को प्रसङ्ग यहाँ किन उठाइयो भने आधुनिक विकास अनि वातावरण र जलवायु परिवर्तनसित मूल साइनो जोडिएको औद्योगिक क्रान्ति त्यहीँबाट सुरु भएको थियो । त्यसो त सगरमाथामा फहराइएको पहिलो झन्डा पनि त्यही देशको थियो । ‘विश्वको सर्वोच्च शिखरमाथि मानिसको विजय’ भन्ने न्युज हेडलाइन पनि त्यहीँबाट सम्प्रेषित थियो । मान्छेलाई सर्वोपरि राख्ने यस्तो अभिमानीपूर्ण अभिव्यक्ति दिने चलन आजभोलि केही घटेको छ । तथापि, मानिसका इच्छा आकाङ्क्षा असीमित हुन्छन्, प्राकृतिक स्रोतहरू असीमित हुँदैनन् । यसकारण तिनको निर्बाध उपभोग गर्ने स्वच्छन्द क्रियाकलापमाथि विवेकको नियन्त्रण आवश्यक छ भन्ने चेतचाहिँ आएको छैन । एडम स्मिथले दि वेल्थ अफ नेसन्स (प्रकाशन वर्ष १७७६) मा त भनेकै छन् – मानिसहरू स्वार्थी र अहङ्कारी हुन्छन्, तिनमा अथाह आत्मप्रेम र भौतिक सम्पत्तिमा मोह हुन्छ । मानिसको यही प्रवृत्ति पुँजीवादको पुँजी हो, जुन आधुनिक काल आन्थ्रोपोसिनमा झनै झाँगिदै गएको छ ।

दि वेल्थ अफ नेसन्स छापिएकै वर्ष जेम्स वाटले वाष्पयन्त्र जडान गरेका थिए, दुवै स्कटल्यान्डका थिए । वाष्पयन्त्र औद्योगिक क्रान्तिको मियो बन्यो । औद्योगिक क्रान्तिले सामाजिक–आर्थिक रूपान्तरणको मार्ग प्रशस्त गर्यो । इस्वी संवत् प्रारम्भयता झन्डै १८ सय वर्ष अर्थात् औद्योगिक क्रान्तिको पूर्वसन्ध्यासम्म विश्वको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ सय डलर आसपास थियो । त्यसको २ सय ५० वर्ष (सन् २०२३) नपुग्दै २० गुनाले बढेर १३ हजार डलर पुगेको छ (हेर्नु होला एङ्गस मेडिसन ग्राफ) । हेक्का के रहोस् भने मानिसको यस आर्थिक समृद्धि सँगसँगै प्रकृतिको विनाशले विकराल रूप लिएको छ । समृद्धिको यो रङ्गीन डबलीको नेपथ्यमा वातावरणीय सङ्कटको चर्को घन्टी छ । खासगरी जलवायु परिवर्तनको जुन अवस्था छ, यस्तै हुनदिने हो भने यसले मानिसको अस्तित्व समाप्त पार्नेछ ।

स्टेफन हकिङ (१९४२–२०१८) ले त भनेरै गएका छन्, “मानव प्रजातिको बिउ जोगाउन तिनले चाँडोभन्दा चाँडो कुनै ग्रह वा उपग्रहमा नगई हुँदैन ।” विश्वका केही धनीमानीहरूले यसको अपव्याख्या गर्दै अन्तरिक्षमा व्यापार विस्तार गरिसकेका छन् ।

अन्तरिक्ष सपनाको व्यापार के अन्तरिक्षमा बस्ती बसाउनु समस्याको समाधान हो त ? सन् १९९१ सेप्टेम्बर २६ मा संयुक्त राज्य अमेरिकाको एरिजोनामा बडो तामझाम र मिडियाबाजीबिच एउटा महत्वाकाङ्क्षी परियोजनाको थालनी भयो । परियोजना थियो ‘बायोस्फेर–२’ । हाम्रो पृथ्वीको माथिल्लो तह, भन्नाले समुद्रको पिँधदेखि आकाशसम्म, जहाँ जीवहरू बाँच्न सक्दछन्, त्यो आफैँ एउटा बायोस्फेर (जीवमण्डल) हो । प्राणी धान्ने यस्तो जीवमण्डल सौर्य मण्डलमा पृथ्वी एक्लै हो । कथाहरू त अनगिन्ती बनेका छन् तर ब्रह्माण्डमा यस्तो अनुकम्पा मिलेको ग्रह अन्त कतै भेट्टिएको छैन । ‘बायोस्फेर – २’ परियोजनाले के परिकल्पना ग¥यो भने पृथ्वीको जीवमण्डल नक्कल गरेर यस्तो कृत्रिम जीवमण्डल निर्माण गर्न सकिन्छ र भविष्यमा चन्द्रमा या मङ्गल ग्रहमा तिनको निर्माण गरेर त्यहाँ मानवबस्ती बसाउन सकिन्छ । यही परिकल्पनाले हौसिएर एरिजोनामा ‘बायोस्फेर–२’ निर्माण गरिएको थियो ।

‘बायोस्फेर–२’ काँच र स्टिलले बनेको १२ हजार वर्गमिटरको एउटा गुम्बज आकारको ठुलो प्रयोगशाला हो र त्यसभित्र पृथ्वीका प्रमुख पर्यावरणीय प्रणालीहरू – समुद्र, मरुभूमि, वन, घाँसे मैदान, सिमसार, खेत र मानव आवासको व्यवस्था हुन्छ । परियोजनाको खर्च २० करोड अमेरिकी डलर थियो, जुन एडवार्ड बास नामका एक अर्बपतिले बेहोरेका थिए । यसको निर्माण सन् १९९१ मा चार वर्ष लगाएर सम्पन्न भएको थियो । योजना मुताबिक लगत्तै आठजना मानिस (बायोस्फेरियन) प्रयोगशालाभित्र प्रवेश गरे । टोलीमा वैज्ञानिक, प्राविधिक र एकजना चिकित्सक पनि थिए । उनीहरूलाई त्यहाँ दुई वर्षका लागि बाहिरको कुनै आपूर्तिविना जीवन निर्वाह गर्नुपर्ने हाँक थियो । बाँच्नका लागि चाहिने खाद्यवस्तु आफैँले उत्पादन गर्नु थियो, जसका निम्ति विभिन्न प्रकारका बिउबिजन, मेवा, केरा, कुखुरा, बाख्रा–बाख्री, पन्छी, सडाउने गलाउने किराहरू गरीकन ३ हजार ८ सय प्रजातिका जीवहरू राखिएका थिए । हावा र पानीलाई पुनर्चक्रण गरेर सङ्लो बनाउनु पर्दथ्यो, किनभने प्रयोगशालाका झ्यालढोका हावासमेत छिर्न नसक्ने गरी वायुरोधी बनाइएको थियो ।

‘बायोस्फेर–२’ पूर्णतया विज्ञानको प्रयोग थियो तर नाफा उठाउने उद्देश्यले प्रेरित (जिमर, २०१९) । त्यहाँ गरिने हरेक नयाँ प्रविधिको प्याटेन्ट दर्ता हुन्थ्यो, तिनका गतिविधि हेर्न पर्यटकहरूको लर्काे लाग्थ्यो, टेलिभिजन र सञ्चार माध्यमहरूमा ती छाइरहन्थे । केही दिन गजबले चल्यो । दुर्भाग्यवश एकजना बायोस्फेरियनको धान चुट्ने मेसिनमा औँला काटियो, बाहिर आउनै पर्ने भयो । केही महिनापछि के भएर हो अक्सिजन सोस्ने कीटाणुहरू बेपत्ता बढेछन्, अक्सिजनको मात्रा १५ प्रतिशतमा खस्कियो, थकानले गर्दा हिँडडुल गर्नसमेत गाह्रो भयो । जीवनरक्षाका लागि बाहिरबाट अक्सिजन पम्प गर्नुपर्यो । समस्याहरू एकपछि अर्को थपिँदै गए । कहिले कार्बनडाइअक्साइडको मात्रा बढेर गर्मी चर्किने, कहिले साङ्ला वाल– वाल निस्कने । खाने कुरा नपुगेर उनीहरूको तौल २० प्रतिशतसम्म घटेको थियो । समस्या थपिँंदै गएपछि बायोस्फेरियनहरूबिच मनमुटाव हुनथाल्यो । कोही डिप्रेसनमा गए । बडो मुस्किलले समयसीमा कटाए र बाहिर निस्किए ।

पहिलो दुई वर्षको अनुभव र त्यसबाट पाठ सिकेर छ महिनापछि १९९४ मार्च ६ मा बायोस्फेर–२ ले दोस्रो मिसन पठायो । यसमा सातजना बायोस्फेरियनहरू थिए, जसमध्ये एकजना नवलपरासीका नेपाली कृषि वैज्ञानिक तिलक महतो पनि समावेश थिए । मिसनको अवधि छोट्याएर १० महिना गरिएको थियो । भित्र ठिकै चलिरहेको थियो । वैज्ञानिक परीक्षणहरू यथोचित चलिरहेका थिए । बाहिर व्यवस्थापनमा गम्भीर मतभेद भयो र आरोप–प्रत्यारोपसहित त्यो फेरियो पनि । यस्तैमा एक महिना पनि नहुँदै अघिल्लो मिसनमा रहेका दुई जना बायोस्फेरियनहरूले आफ्ना मित्रहरूको ज्यान बचाउन भन्दै बाहिरबाट प्रयोगशालाका झ्यालढोकाहरू फालिदिए ।

व्यवस्थापकीय समस्या झन चर्कियो । छ महिना पुग्दानपुग्दै बायोस्फेर–२ का सबै कार्यक्रमहरू समाप्त भएको घोषणा गरियो । कृत्रिम संसार बनाउने र अन्तरिक्षमा वस्ती बसाई अर्थोपार्जन गर्ने मानव आकाङ्क्षा त्यहीँ टुङ्गियो । समस्या विज्ञानको थिएन, समस्या मानिसको मनोकाङ्क्षा थियो ।

बायोस्फेरियनहरूका कुरा सुन्दा सय वर्षअघि आन्तोन चेखबले लेखेको कथा ‘बाजी’को सम्झना दिलाउँछ, जसमा १५ वर्ष एकान्तबास बस्ने अठोट गरेका एकजना युवा अधिवक्ताले अन्तिम दिनमा आएर आफ्नो जिद्दीलाई परित्याग गर्छ र भाग्छ । विवेकसामु अहङ्कार पराजित हुन्छ नै । प्रकृतिसामु पनि त्यो लागु हुन्छ । फ्रेडरिक एङ्गेल्सले प्रकृति र मानिसबिचको सम्बन्धलाई गहन ढङ्गले उठाएका छन् । सन् १८८४ मा प्रकाशित परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिमा उनले मानिस र प्रकृतिबिच शोषणकारी, लघु सम्बन्धले कसरी अनिवार्य रूपमा दीर्घकालीन समस्या जन्माउँछ भन्ने कुरा मेसोपोटामिया र इटालीको उदाहरण दिएर ब्याख्या गरेका छन् । मेसोपोटामियाले खेतीको लागि बेपर्वाह वन फँडानी गर्यो, उसलाई क्षणिक लाभ भयो तर उसले सभ्यता नै गुमाउनु पर्यो ।

इटालीले पनि आल्पस पर्वतको पाखोबाट सल्लाका रुखहरू काटे, नतिजा के भयो त भन्दा त्यहाँ अधिकांश समय सुख्खा भयो । जब झरी भयो त्यसले तल मैदानसम्मै असर पुर्यायो । त्यसैले प्राकृतिक स्रोत प्रयोग गर्दा हामी हरेक पाइलामा सचेत हुनुपर्दछ । प्रकृतिमाथि रजाईं गर्ने उन्माद ल्याउन हुँदैन । मानव भएकाले प्राणीहरूबिच हामीमा प्रकृतिको नियम थाहा पाउने क्षमता हुन्छ, यसको सदुपयोग गर्नुपर्छ ।

प्रकृति र मानिस

माक्र्सले प्रकृति र मानवबिचको सम्बन्ध मेटाबोलिक अर्थात् पौष्टिक पदार्थ जीवतत्वमा परिणत हुने प्रक्रियाजस्तो महत्वपूर्ण हुने भन्दै प्रकृतिलाई मानिसको अजैविक शरीर भनेर सराहना गरेका थिए । धेरै कालसम्म जमिन मानिसहरूको निर्वाह साधन रहँदै आएको थियो । पछि जब कसैले त्यसलाई निजी सम्पत्तिमा रूपान्तरण गर्यो, उक्त साधनसित ती अधिकांश मानिसहरूको प्रत्यक्ष सम्बन्धविच्छेद हुन गयो । यसको नतिजा यही भयो कि मानिसको श्रमले उसको आवश्यकता पूर्ति गर्न सकेन । जसरी मानिस र उसको श्रमबिच अविभाज्य सम्बन्ध रहेको हुन्छ, उसैगरी प्रकृति र मानिसबिच पनि हुन्छ । अनि यस्तो सम्बन्धमा धाँजा फाट्नुलाई मार्क्सले मेटाबोलिक रिफ्ट भनेर शीर्षक दिएका थिए । यसमा उनको थप भनाइ थियो कि मानिस प्रकृतिको एक अङ्ग हो । यसकारण यदि उसलाई बाँच्नु छ भने प्रकृतिसित उसले निरन्तर अन्तरक्रिया गरिरहनु पर्दछ (फोस्टर, २०००) ।

अहिलेको विकराल वातावरणीय समस्या भनेको जलवायु परिवर्तन अथवा भूमण्डलीय तापमान वृद्धि हो । प्रत्यक्षतः यो आर्थिक विकास र सुविधाभोगी जीवन पद्धतिसित सम्बन्धित छ, जसको कारण हरितगृह ग्यास, मूलतया कार्बन डाइअक्साइडको उत्सर्जन हुन्छ । जब औद्योगिक क्रान्तिको थालनी भयो, कलकारखाना, मेसिन, औजारहरू चलाउन र पछि यातायातका साधनजस्तै रेलगाडी, हवाईजहाज साथै कार्यालय तातो र चिसो बनाउन र अन्य घरायसी सुविधाको लागि उर्जाको खपत बढ्यो । औद्योगिक क्रान्ति अघि हाम्रो प्रतिव्यक्ति उर्जा उपभोग १८.४ गिगा जुल थियोजुन अहिले ७५.७ गिगा जुल पुगेको छ । यस्तो उर्जाको मुख्य स्रोत जीवाशेष इन्धन फोसिल– फ्युलजस्तै कोइला, डिजेल, पेट्रोल आदि हुन् । यिनको दहनबाट हरितगृह ग्यासहरू उत्सर्जन हुन्छन् । हरितगृह ग्यासले सूर्यबाट आएको तापलाई पृथ्वीमै थुनी राख्छ । फलतः पृथ्वी गर्मिन थाल्छ । थप कुरा के पनि हो भने उर्जा उपभोगमा धनी र निर्धन देशहरूबिच ठुलो विभेद छ, जस्तै कुनै एक अमेरिकीले महिनाभरि उपभोग गर्ने उर्जा नेपालीले वर्षभरि पुर्याउँछ । तर यही कारणले पृथ्वी तात्दा दुवैले उत्तिकै सजाय बेहोर्नुपर्छ । नेपाली भनेर छुट हुँदैन । कार्बनडाइअक्साइडको हरितगृह गुणबारेको अध्ययन सन् १८५० को दशकबाटै सुरु भएको थियो । सन् १९९६ मा स्वन्ते आरेनसले कार्बनडाइअक्साइड दुगुना हुँदा पृथ्वीको औसत तापक्रम पनि ५ डिग्री सेल्सियससम्म वृद्धि हुनसक्ने हिसाब निकाले । तथापि, हरितगृह ग्यासको भूमण्डलीय असरलाई नीतिगत रूपमा स्वीकार गर्न भने सवा सय वर्षभन्दा बढी लाग्यो । विज्ञान र वैज्ञानिकप्रतिको यो अस्वीकार भाव वास्तवमा नाफा– नोक्सानीको अर्थ–राजनीति थियो । औद्योगिक क्रान्तिसँगै पुँजीवादले प्रवेश पायो र प्रविधिलाई आफू अनुकूल प्रयोग गर्ने प्रणाली बसाल्यो । आर्थिक विकासको होडबाजी र समृद्धिको सपना वितरण, स्रोतहरूमाथि कब्जा जमाउन छेडिने युद्धहरू अनि अर्थतन्त्रमा आइरहने बेलाबेलाको मन्दीले वातावरणीय समस्यालाई झनै ओझेलमा पारिदिन्छ ।

फलतः विगत डेढ दुई सय वर्षमा मानिसहरूको क्रियाकलाप यति अनियन्त्रित र अर्थमुखी भयो कि यसले प्राकृतिक प्रक्रियाको नियमित गति र दिशामै खलबल ल्याइदिएको छ, जस्तो जलवायु परिवर्तन । यसलाई अब हामीले एन्थ्रोपोसिन, आधुनिक मानव युग भन्न थालेका छौँ ।

उपसंहार

एन्थ्रोपोसिनको प्रभाव सर्वत्र समाज र पर्यावरणीय प्रणालीमा देख्न सकिन्छ– जल, जमिन, जङ्गल, अन्तरिक्ष आकाश, जनस्वास्थ्य, जैविक विविधता, जलवायु, कुनै पनि यस्तो अवयव छैन, जुन मानिसको क्रियाकलापदेखि अप्रभावित छ । हिमालय यसबाट अपवाद हुने कुरै भएन । के हिमालय बजारमा मोलमोलाइ गर्ने वस्तु हो या अमूल्य निधि ? स्वतन्त्रताको पैरवी गर्ने मानिसलाई नियमले बाँध्नुपर्छ भन्दा धेरैलाई निको लाग्दैन तर स्वतन्त्रताका हिमायती मुलुकहरूमै पनि मानिसका क्रियाकलापलाई बेलगाम छोड्नु हुन्न भन्ने आवाज उठिरहेको छ, चाहे त्यो उदार अर्थतन्त्रकै नारा

किन नहोस् । एङ्गेल्स (१९३४) के भन्छन् भने, “मानव र प्रकृतिबिचको द्वन्द समाधान सिर्फ ज्ञानबाट सम्भव छैन ।” यसका लागि अहिलेको उत्पादन प्रणालीका साथै सामाजिक व्यवस्थामा आमूल रूपान्तरण चाहिने हुन्छ । के हामी यस्तो रूपान्तरणका लागि तयार छौँ ?

सन्दर्भ–सामग्री

Dhammika, B. (n.d.).Buddhism and the Himalayas. Retrieved from http://www.buddhanet.net/himalayas.htm
Cook, E. (1971). The flow of energy in an industrial society. Scientific American,225(3), 134-147.
Engels, F. (1934). The part played by labour in the transition from ape to man. Progress Publishers.
Engels, F. (2007). The part played by labor in the transition from ape to man. In The origin of the family, privateproperty
and the state. International Publishers.
Foster, J.B. (2000).Marx’s ecology: Materialism and nature. Monthly Review Press.
ICIMOD. (2019). What is the Third Pole. International Centre for Integrated Mountain Development.
Kumar, D. & Desai, M. (eds). (1983). The Cambridge Economic History of India, 2 (c.1751-c.1970). Cambridge University
Press.
Sharma, J.L. (1981). Ancestors of man in Nepal. Ancient Nepal, 61-64, 1-121.
Valdiya, K.S. (1984). Evolution of the Himalaya. Technophysics,105 (1–4), 229-248.
Zimmer,C. (2019).The lost history of one of the world’s strangest scienceExperiments.Retrived from https://www.
nytimes.com/2019/03/29/sunday-review/biosphere-2-climate-change.html

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari