info@bampanththeleft.com

Bampanth The Left

‘कमैया बस्तीमा’ कविताको कथ्य र शिल्प

  • गीता त्रिपाठी

‘कमैयाप्रथा’नेपाली समाजमा सामन्ती व्यवस्थाजन्य चरम शोषण र उत्पीडनको एउटा प्रतिनिधि रूप हो । यसप्रथामा बन्धित भूमिहीन वर्गलाई मुक्ति दिने सरकारी प्रयास निकै चुनौतीपूर्ण निर्णय थियो । मुक्तिको निर्णय पश्चात् बँधुवा संस्कारबाट समेत मुक्ति पाएको अनुभूतिले मुक्त कमैयाहरू रमाइरहेका थिए तर तिनको छानोविहीन जीवनयापनको मार्मिक दृश्यले कविको भावुक हृदय विचलित भएर कवितामा पोखिएको छ । हज्जारौँ वर्षको उत्पीडनबाट उन्मुक्तिको आनन्द लिइरहेका यी सरल मानवहरूले देख्न वा अनुभूत गर्न नसकेको वर्तमानको कठोर र निर्मम यथार्थलाई कवि, सुमन पोखरेलले संवेगात्मक अनुभूतिसहित यस कवितामा प्रस्तुत गरेका छन् ।

विषय परिचय

कविता कुनै खास कथ्यको केन्द्रीयतामा संरचना गरिने विशिष्ट कलात्मक सौन्दर्ययुक्त विधा हो । बाह्य कलाका संरचनात्मक तत्वहरू वर्ण, पद, पदावलीका साथै त्यसमा प्रयुक्त अनुप्रासीयताले आस्वादन गराउने माधुर्य र आन्तरिक तहमा प्रयुक्त ध्वन्यात्मकतादिले दिने अर्थगत सौन्दर्यको पूर्णता कविता विश्लेषणका निम्ति प्रयुक्त आधार हुन् । कविताले विधागत विशिष्टता ग्रहण गर्ने पक्षहरू यसको लयचेत र भावचेतबाट प्राप्त हुने कथ्यगत विशिष्टता नै हो । कविताको शिल्प यसको भाव तथा भाषिक कलाको योग्यता निरूपण गर्ने मुख्य आधार पनि हो ।

सुमन पोखरेल (२०२४) नेपाली कविताको उत्तरवर्ती चरण (२०४६) यता नेपाली कविता सिर्जना र प्रकाशनमा निरन्तर योगदान दिइरहेका कवि हुन् । उनका शून्य मुटुको धड्कन भित्र (२०५६) तथा जीवनको छेउबाट (२०६६) कविता सङ्ग्रहहरू प्रकाशित छन् । प्रस्तुत अध्ययन जीवनको छेउबाट कविता सङ्ग्रहमा सङ्कलित ‘कमैया बस्तीमा’ शीर्षकको कविताले ग्रहण गरेको कथ्यमार्फत अभिव्यञ्जित प्रकृति र मानिसको सम्बन्ध तथा कवितामा प्रयुक्त भाव र भाषिक कलाको विश्लेषणबाट शिल्पगत सौन्दर्यको मूल्याङ्कन गर्नमा केन्द्रित रही पूरा गरिएको छ ।

‘कमैया बस्तीमा’ कविताले विश्वका कतिपय विशिष्ट भूगोलमा लामो समयदेखि शक्ति, सम्पत्ति र अरू यस्तै विविध विषयका आडमा गरिँदै आएका वर्गीय विभेदयुक्त विषयलाई बीजका रूपमा ग्रहण गरेको छ । राजनीति र सत्ताको संरक्षण प्राप्त गरेका समाजका एक वर्गले वर्षौादेखि सामाजिक–सांस्कृतिक परिवेशलाई आफ्नो अधीनमा पारेर गरिब तथा निमुखाहरूको जीवनमाथि शोषणको जुन हृदयविदारक यथार्थ घटित गराइरहे, त्यहाँसम्मको इतिहासलाई पृष्ठभूमिमा राखेर, त्यस यताका अव्यवस्था र निरीहतालाई कविताले कलात्मक अभिव्यञ्जना गरेको छ । कवि सुमन पोखरेलका प्रायः कवितामा मानव इतिहासका अमानवीय परिघटनाहरूलाई वर्तमानको कुनै एउटा सन्दर्भबाट मिथकीय बिम्बमा देखाइएको हुन्छ । “मेरो कवि भन्न चाहँदैन, देखाउने प्रयत्न गर्छ…” भन्ने पोखरेलको आफ्ना कवितामा प्रस्तुत शिल्पसम्बन्धी सचेत प्रतिक्रिया उनको ‘कमैया बस्तीमा’ कविता विश्लेषणका सन्दर्भमा पनि अनुभूत हुन्छ । बन्धनयुक्त कमैया जिन्दगीबाट स्वतन्त्र भइसकेपछि समाजमा मानिसजस्तै बाँच्न पाइने विश्वास लिएर नयाँ घरको कल्पना गर्दै तर, खुला आकाशमुनि आइपुगेका भुईंमान्छेका कष्टकर दैनिकीले विदीर्ण बनेको कवि–हृदयको आवाज यस कवितामा मुखरित भएको छ । यी आवाजभित्र प्रकृति र निम्नवर्गीय जीवन बचाइबिचका अन्योन्याश्रिततालाई दृश्यमा ल्याइएको छ ।

सुमन पोखरेलका कविताका विषयमा अभि सुवेदीले ‘वैकल्पिक चिन्तन र काव्यसामथ्र्य’ (२०६६) शीर्षकको आलेखमा ‘कमैया बस्तीमा’ कविताको विषयगत महत्वका बारेमा सङ्क्षिप्त टिप्पणी गरेका छन् । यसरी नै दधिराज सुवेदीले ‘जीवनका छेउबाटमा सुमनका पराग खोज्दा’ (सन् २०१३) समालोचना लेखेका छन् । कवि पोखरेलका कवितामा प्रयुक्त कथ्य र शिल्पका विषयमा सङ्ग्रहभित्रका कविताको समष्टिगत आंशिक अध्ययन भएको पाइए पनि उनको ‘ कमैया बस्तीमा’ कविताका सम्बन्धमा पूर्ण विश्लेषणात्मक अनुसन्धानकार्य भएको पाइएको छैन । अतः प्रस्तुत समालोचना ‘कमैया बस्तीमा कविताले आत्मसात गरेका युगीन चिन्तन र त्यसमा समाहित जीवनदर्शनको समष्टिमा प्रकट भएको पाठपरक सौन्दर्यको खोजी गर्ने उद्देश्यबाट प्रेरित भएको छ । यसका निम्ति कविताको कथ्य र त्यसमा आएका शिल्पगत विशिष्टताको सन्दर्भपरक विश्लेषण गरिएको छ । यस कविताले सङ्केत गरेकोकमैयासम्बन्धी ऐतिहासिक दस्तावेजको विश्लेषण गर्न प्राथमिक र द्वितीय स्रोतका विभिन्न प्रकाशित पुस्तक, पत्रिका र लेखहरूको उपयोग गरिएको छ ।

‘कमैयाप्रथा’नेपाली समाजमा सामन्ती व्यवस्थाजन्य चरम शोषण र उत्पीडनको एउटा प्रतिनिधि रूप हो । यस प्रथामा भूमिहीन वर्गलाई मुक्ति दिने सरकारी प्रयास निकै चुनौतीपूर्ण निर्णय थियो । मुक्तिको निर्णय पश्चात् बँधुवा संस्कारबाट समेत मुक्ति पाएको अनुभूतिले मुक्त कमैया रमाइरहेका थिए तर तिनको छानोविहीन जीवनयापनको मार्मिक दृश्यले कविको भावुक हृदय विचलित भएर कवितामा पोखिएको छ । हजारौँ वर्षको उत्पीडनबाट उन्मुक्तिको आनन्द लिइरहेका यी सरल मानवहरूले देख्न वा अनुभूत गर्न नसकेका वर्तमानका कठोर र निर्मम यथार्थलाई कविले संवेगात्मक अनुभूतिसहित यस कवितामा प्रस्तुत गरेका छन् । ध्वन्यार्थप्रधान यस कवितामा चयन, विचलन, विपर्यास, समानान्तरता,मानवीकरण र अनुप्रासीयताका पक्षलाई कथ्य विश्लेषणसँग एकान्वित गरी कविताको व्यञ्जनापूर्ण कथनकारिताको मूल्याङ्कन गरिएको छ ।

‘कमैया बस्तीमा’ कविताको कथ्य र शिल्प–विमर्श

‘कमैया बस्ती’मा कविता दश वटा कवितानुच्छेदमा गरी जम्मा अठ्तिस पङ्क्तिमा संरचित कविता हो ।यस कविताका प्रत्येक अनुच्छेदमा कथ्यको स्वरूप अत्यन्त तरल संवेदनायुक्त रहेको र त्यसमा भाषिक चयन र भावगत अन्तर्मिश्रितका निम्ति प्रयुक्तप्रकृति र प्रविधि दुवै विशेष प्रकारको पाइन्छ । बाह्य र आन्तरिक सङ्गतिको संयोजन प्रत्येक अनुच्छेदमा विशिष्ट प्रकारले भएको पाइएकाले यहाँ हरेक अनुच्छेद प्रस्तुत गरी छुट्टाछुट्टै विश्लेषण गरिएको छ :म छुट्याउन सकिरहेको थिइनँ
उनीहरूका भाग्य र
उनीहरूका छाप्रा अड्याइरहेका ती
झिना–झिक्राहरूमध्ये
कुन बढी विश्वासयोग्य थिए । (पृ.२३)

‘कमैया बस्तीमा’ शीर्षकको कविताको प्रारम्भिक अंशमा निम्नवर्गीय मानिसका, अभावबाट सिर्जित अतिसय दुःख प्रकट भएको छ।एउटा सिङ्गै बस्तीलाई कमैयाको नाममा सम्बोधन गरेर रचना गरिएको कविताले समाजमा कमैया जीवन बिताउन अभिशप्त मानिसहरूको स्वतन्त्र अस्तित्व पलाउन थालेको सङ्केत मिलेको छ, यद्यपि मुक्त कमैयाको अस्तित्वको भावी सौन्दर्यभन्दा वर्तमानको अभावबाट हुने जोखिमले कविको दूर–दृष्टिलाई स्थिर बनाइरहन सकेको छैन । भय र प्राप्त्याशा यी दुई मानव जातिलाई शासन गर्ने दुई प्रमुख चित्तवृत्ति हुन्, जससँग परिवर्तनगामीहरूले विशेष सरोकार राख्नुपर्दछ (मोरिस, सन् १८८७, पृ.१७८) । यस्तामानिसका जीवनमा आपसमा विरोधाभासजस्ता लाग्ने दुई स्थितिहरू विद्यमान छन्, एउटा भोकको तृप्ति र अर्को स्वको मुक्ति । यी दुवै मानिसका नैसर्गिक)अधिकारका क्षेत्र हुन् । तर, प्रायः यी दुई चिज एकैपटक प्राप्त भइरहेका हुँदैनन् । कमैया बस्तीभित्र कविले देखेको दुई वटा कालखण्ड यही हो, जहाँ पात्र र परिवेश बिचको द्वन्द्वले मानिसका संवेदनामा अविभाज्य दुःखको अन्त्यहीन भाव सिर्जना गरिदिएको छ । मानिसले मानिसबाटै प्राप्त दासत्वबाट मुक्तिका निम्ति गरेको वा गरिआएको सङ्घर्षको इतिहास, इतिहासमै पराजित हुनु, र यस पराजयबाट सिर्जित दीनहीनताको सीमान्त अनुभूति यस कवितामा प्रतिबिम्वित भएको छ ।

कवि स्वयं कमैया बस्तीका दुःखहरूका साक्षी हुन् । उनले मुक्तिको सैद्धान्तिकतासँग अत्यन्त मोह राख्ने सत्ता–राजनीतिको अक्षमतालाई त्यस बस्तीको चारैतिरबाट सूक्ष्म निरीक्षण गरेका छन् । सिद्धान्त र व्यवहारबिचको विपर्यासमा कविको चेतनशील अनुभूति भने सदैव यी दुईबिच सामञ्जस्य नै बनाइरहन चाहन्छ । कविसँग अन्यायको प्रतिरोधका निम्ति अक्षरहरू मात्र हुन्छन् । प्रस्तुत कविताले करिब डेढ दशकअघिको कपिलवस्तु हुँदै उता बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत स्थानमा कमैया प्रथाले ल्याएका बृहत् समस्याग्रस्त महाआख्यानमा पाठकलाई लिएर जान्छ ।

एकातिर सामन्तहरूको सम्भ्रान्त जीवनशैली र अर्कोतिर तिनैका सेवासुश्रुषामा समर्पित रहेर पनि जीवनयापनका सामान्य आवश्यकताहरू समेत प्राप्त गर्न नसकेका, पराश्रयलाई नै जीवनशैली ठान्न विवश भएका श्रमिक वर्गका पीडाहरूप्रति कवि संवेदनशील छन् । अनागरिक बाँच्दै आएका नागरिकहरूका दुःखका प्रत्यक्षदर्शी कविले मुक्ति र जीवनयापनका बिच कुन ठूलो भन्ने प्रश्नले आफूलाई अनिर्णयको स्थितिमा पु¥याएको अनुभव गरिरहेका छन् । समाजमा न्याय र सहअस्तित्वका निम्ति सल्किएको विद्रोहको आगो फैलिँदै गएका बेला, त्यस विशिष्ट कालखण्डमा समाजका पत्रमा जमेर बसेका असमानताका अझै भित्री लेउ पखाल्न गाउँबस्तीका घाउहरू सुम्सुम्याउँदै कमैया बस्तीलाई चियाउन पुगेका कवि, विगत र आगतका बिचको परिदृश्यमा भोका र नाङ्गा मुक्त कमैयाका निरीह अवस्थाले त्यसरी नै विचलित बन्नपुगेका छन्, जसरी स्वतन्त्रता प्राप्तिपछिका नेपाली आम नागरिकका अवस्था यथावत् रहँदा कवि रिमाल र देवकोटाहरू विक्षिप्त बनेका थिए ।

मुक्त हुनु मानवजातिका निम्ति ठूलो उपलब्धि हो । तर कमैयाहरू मुक्त हुनुअघि उनीहरूको श्रमको लोभ र स्वार्थले पनि साहुका घरबाट अन्नका केही दाना त मिलिरहेको थियो, मुक्त भएपछि उनीहरूसँग त्यो आश्रय रहेन । सरकारका तर्फबाट व्यवस्थापनका निम्ति आवश्यक गृहकार्य नगरी कार्यान्वयन गरिएको यस कदमले कमैयाको जीवन सङ्कटमा परिरहेको थियो । कमैयाको भोकको ज्वाला बन्धित अवस्थामा भन्दा भयावह भइरहेको दृश्य कविले देखिरहेका थिए । उल्लिखित कवितांशमा प्रयुक्त ’छाप्रा’ शब्दले भर्खर मुक्त भएका कमैयाका अस्तित्वलाई प्रतीकात्मक रूपले अभिव्यञ्जित गरेको छ । जमीनदारका घरमा केही क्विन्टल धान र एकाध जोर लुगाका निम्ति वा श्रमको मूलअवस्थामै पनि आजीवन बन्धक बनेका बाबुआमा हुन् वा स्कुले उमेरका ससाना छोराछोरी, तिनका दैनिकीमा दासत्व निर्वाहको बाध्यता मात्र थियो, ती बाँचेर पनि मरिरहेका थिए । आफ्नो समुदाय हेपिएको छ भन्ने चेतना बस्तीमा प्रवेश भएपछि भने विभिन्न तरिकाले विरोधका आवाजहरू उठ्न थाले । वर्षौंदेखि शिक्षा र स्वास्थ्यका अवसरबाट बञ्चित र आर्थिक हिसाबले परतन्त्र रहिआएका कमैयाहरूको
मुक्तिको प्रयास सफल भयो । २०५७ साल साउन २ गते पहिलो पटक कमैया मुक्तिको सूचना जारी गरियो र भूमिविहीन यस समुदायलाई खाली जग्गामा लगेर राखिने काम सम्पन्न भयो तर बाँकी व्यवस्थापन निकै जटिल बन्यो । मुक्त कमैयाले न रोजगारी, न त गाँस, बास र कपास नै उचित किसिमले प्राप्त गरे । यसरी मुक्तिका नाममा कठिन जीवन बाँचिरहेका तिनका छाप्रामा खाँबो थिएन, झिक्रा थियो, झिना झिक्रा थियो । त्यसअघि जमीनदारको आदेशमा उसको घर बलियो बनाउन जङ्गल पसेर तिनले काठ काट्ने र ओसार्ने काम कति गरे होलान् ! ती घर जति नै पक्की भए पनि कमैयाको रगत–पसिना र भोकको हिसाबकिताब कहिल्यै भएन ।

यस कवितांशले मुक्त भएका कमैयाहरूको बसोबासको स्थिति अत्यन्त अस्थायी छ भन्ने सङ्केत गरेको छ । अर्कोतर्फ प्रकृति र मानिसको सम्बन्धलाई गहन पर्यावरणीय चिन्तनबाट हेर्ने हो भने मानिसले बनाएका कृत्रिम वस्तुसँगको पहुँचभन्दा पहिला मानिसलाई प्रकृतिले नै संरक्षण गर्दछ, त्यसैले आदिवासी कमैयाहरू प्रकृतिको भर लागेर मुक्तिको अनुभूतिसाथ बाहिरिएका छन् । तिनले प्रकृतिका ठूला रुख नढालेर झिना झिक्राका भरमा ओत थाम्ने प्रयत्न गरिरहेका छन् । मानिसलाई प्रकृतिबाट त्यति मात्र लिने अधिकार छ, जति बाँच्नका निम्ति चाहिन्छ, प्रकृतिले दिएका पदार्थको उपभोगमा मानिस र अन्य प्राणीको उत्तिकै अधिकार छ किनकी पृथ्वीमा सबै प्राणीको अस्तित्व समान छ भन्ने गहन पर्यावरणीय चिन्तनले भने जसरी नै यहाँ कमैयाहरूको जीवन प्रक्रिया देखिन्छ । यस कवितांशले एकातिर माक्र्सवादले भनेजस्तो साम्यवादी जीवनशैलीमा हुने समान वितरण र अवसरको मूल भाव राख्दै अर्कोतिर प्रकृतिको आश्रयलाई उपयोगितावादको नभएर आवश्यकताको नियममा प्रयोग गर्न सिकेका आदिवासी कमैयाले प्रकृतिमै आश्रित भएर पनि कसरी प्रकृतिको रक्षा गरिरहेका हुन्छन् भन्नेतर्फ समेत सोच्ने ठाउँ दिएको छ ।

शब्दनिर्मित कवितालाई सौन्दर्यको लयगत सिर्जना मानिन्छ (पो, सन् १९९६, पृ. १४३८), तर तिनै कविताभित्रका कथ्यले हृदयका घाउहरूलाई व्यवस्थापन गर्न सकिरहेको हुँदैन । तिनका वासको दृश्यमा कविले झिना झिक्राद्वारा निर्मित छाप्रो कुनै पनि बेला ढल्नसक्ने अभिधार्थ प्रस्तुत गरेका छन् भने छाप्रोजस्तै अस्तव्यस्त र कमजोर हुँदैे झिना झिक्रामा परिणत भइरहेको तिनको शरीरको अस्तित्व कतिसम्म टिक्नसक्ला भन्ने शङ्काले ध्वन्यार्थ प्रदान गरेको छ ।यहाँ कवि इतिहासतिर फर्किएर वर्तमानको समाजलाई छामिरहेका छन् :

उनीहरूले पछारेको घिनलाग्दो इतिहास
र उनीहरूलाई जिस्क्याइरहेको निर्लज्ज
वर्तमानमध्ये
कुन ज्यादा नाङ्गो थियो,
कुन अधिक वीसत्स थियो
मैले बुझ्न सकिरहेको थिइनँ । (पृ.२३)

प्रस्तुत कवितांशले आदिवासी कमैयाहरूले इतिहासको लामो यातनालाई प्रतिरोध गरेर बन्धनबाट निस्किए पनि तिनको वर्तमान परिस्थिति निरन्तर सीमान्तीकृत हुँदै गएकातिर लक्षित गरेको छ । ‘निल्र्लज्ज वर्तमान’ पदावलीले उनीहरूको दुर्दशाप्रति राज्य र समाजको असंवेदनशीलतालाई सङ्केत गर्दछ । यस कविता रचनाका सम्बन्धमा दिएको अन्तर्वार्तामा कविले २०५९ सालको अन्त्यतिर आफूले कैलालीको मुक्त कमैया बस्तीको भ्रमण गरेको र तिनका अवस्था प्रत्यक्ष देखेपछि उठेका अनेक प्रश्नले रन्थनिएर डेढ वर्षपछि मात्र यो कविता रचना गर्नसकेको उल्लेख गरेका छन् ।

कविताको यस अंशले विश्वभर विद्यमान रहेको दासप्रथा, मानवबेचविखन, कम्लरी, हरूवा, चरुवा, हलिया, बादी लगायतका शोषित पीडितहरूको इतिहासलाई सम्बोधन गरेको छ । रङ्ग, जाति र लिङ्गका आधारमा निर्धारण गरेको सामाजिक वर्गीयता र त्यसका आडमा कथित उच्च वर्गले लिइरहेको शासकत्वको अन्त्यका निम्ति अनेक द्वन्द्व र युद्धको सामना गर्नुपरेको इतिहास छ ।

कमैयाले सामाजिक स्थानान्तरणका लागि आज त आर्थिक सहभागितामा उल्लेख्य अवसर पाइरहेका छैनन् भने तत्कालीन सन्दर्भमा कविले केही बुझ्न नसक्नुभित्र यो समाजको विकास हुन नसक्नुमा सधैँ सधैँ हुँदै आएको चेतनाको पराजय प्रतिध्वनित भएको छ ।

स्वाभिमान मानिसका निम्ति अन्तिम गन्तव्य हो र यो मुक्तिको सर्वाधिक उच्च लक्ष्य पनि हो भन्ने विचार कविले अर्को कवितांशमा यसरी प्रतिविम्बित गरेका छन् :
तिनका अनुहारमा सन्तुष्टिजस्तै हँसाइ
पोती
जब गुन्जिरहेथे स्वाभिमानमा उभिएका
ती उन्मुक्त आवाजहरू हाम्रो वरिपरि,
मलाई उदेक लागिरहेथ्यो । (पृ.२३)

भर्खर प्राप्त भएको उन्मुक्ति, सरकारी पहलबाट स्थायी रूपमा समाधान हुनलागेको वर्षौंको गाँसबासकपासको त्यो समस्या र आफ्नै घरसमाज र स्वाभिमानको आत्मीय सपनाले कमैयाका आँखामा हुर्किरहेको आभा कविले पटक पटक महसुस गरेका छन् । तिनका उज्याला अनुहारमा स्वतस्फुर्त निस्किरहेको स्वाभिमान र त्यसले उज्यालिदिएको अनुहार देख्दा कवि उदेक मानेर हेरिरहेका थिए । सामान्य स्थिति हुँदो हो भने स्वाभिमानको अभिलाषामा उदेक मान्नुपर्ने कुनै कारण नहुनुपर्ने हो तर यस विताको सिर्जना नै यस्तो परिस्थितिमा भएको छ, जहाँ वर्षौंसम्म पखेटा काटिएका एकहुल निर्दोष चराहरू उड्नका निम्ति आफ्नै अनुप्रास र लय खोज्दैछन् ।

मुक्ति नै नौलो लागिरहेको उनीहरूले मुक्त परिवेशमा अनुभव गर्न पाएको प्राथमिक आफ्नोपन र त्यस वरिपरिको वातावरण कविका निम्ति पनि अनौठो घटनाजस्तो भइरहेको भाव कवितामा व्यञ्जित छ । यही कवितांशमा प्रयोग भएको उदेक शब्दभित्र कविले लुकाएर भन्न चाहेको एउटा दृश्य उपस्थित छ, त्यो हो, तिनीहरूको गरिबी र तिनीहरूको उन्मुक्ति– असन्तुलनका बिचको सन्तुष्टि र सन्तुलन । कविलाई भने तिनका अभाव र भोकले पिरोल्नु पिरोलेको छ ।

आख्यानात्मक प्रस्तुति भएको यस कवितामा कविले निश्चित परिवेश सिर्जना गरी कथयिता र विषयवस्तुका बिचको दुरी कम गरेका छन् (एटम, २०७२, पृ. ३९४) । उनी अनुहार र हृदयका भाषालाई विपर्यासमा बुझिरहेका छन् । उनको यस कविताले यस्तो असमञ्जसलाई अगाडि राखिदिएको छ :
पानी पर्याे भने के गर्छौ? सोधिरहेथे
साथीहरू
खै के हुन्छ, भिज्छौँ होला, हाँस्दै उत्तर
दिइरहेथे उनीहरू
भरे के खान्छौ? उत्तर थिएन
उनीहरूसँग, हाँस्नुबाहेक अर्को ।
(पृ.२३)

कविता संरचनाको यो उच्च कलात्मक अभिव्यञ्जनाले अर्थहरू एकबाट अनेकमा विदित गरिदिएको छ । घर भनेको घाम पानीबाट बच्ने सुरक्षित स्थान हो । कविले खुला आकाशमुनिझिक्राले ठड्याएका कमजोर संरचनालाई घर ठान्ने भ्रममा ती कमैयाहरू दिनदिनै अस्तित्वको सङ्कटमा पर्दै गएको बोध गरेका छन् । कवि द्रष्टा भएर आफूले निर्माण गरेका तृतीय पुरुष साथीहरू पात्र मार्फत कमैयाहरूतिर प्रश्न फ्याँक्न लगाउँछन् ।

पानी परे के गर्ने थाह नभएका कमैयाहरू भिज्नुको विकल्प भेट्दैनन् र उत्तर दिँदा पनि हाँस्नु नै उनीहरूको एक मात्र समाधानजस्तो अभिव्यञ्जना दिइरहेका छन् । चुल्होमा बसाउने केही नभएका ती निमुखा जस्ता मुक्त कमैयाहरू भरेको छाक टार्ने कुनै उपाय नभए पनि उत्तरमा हाँस्नुलाई पस्किरहेछन् । ती स्वतन्त्र छौँ भन्ने बोधले हाँसिरहे पनि कविलाई त्यो अमूर्त उत्तर जस्तो हाँसोमै पनि असहज महसुस भइरहेको छ । अवश्यंभावी, जुन दुःखको उत्तर पनि हाँसेर टारिदिने नीहरूको अपार संवेदना कविले गहिरोसँग अनुभूत गरेका छन् ।

कवि संवादमा सहभागी नभईकन दर्शक भएर शब्दहरू परिचालन गरिरहन्छन्, जहाँ शब्दबाट नभएर दृश्यबाट अर्थहरू प्रवेश गरिरहेका हुन्छन् । क्षमता र अधिकार हुनेहरूको अदुरदर्शिता र आफूले देखेर, बुझेर पनि केही सहयोग गर्न नसक्नुको मानसिकता कति पीडादायी हुन्छ, यो तलको कवितांशमार्फत कविले प्रकट गरेका छन् :
मलाई रिस उठ्लाझैँ भइरहेथ्यो
मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे ।
(पृ.२३)
प्रस्तुत कवितांशमा कवि र कमैया उच्च मानवीय सम्बन्धमा प्रस्तुत भएका छन् । कमैया र जमीनदारको सम्बन्धमा जुन वितराग छ, कवि र कमैया बीच कति हो कति आत्मीय अनुराग रहेको छ । कविलाईरिस उठ्लाझैँ हुनु, बोली हराएझैँ हुनुसँग कमैयाहरूको हराइरहेको सपनाको कार्यकारण सम्बन्ध जोडिएको छ । मानिसमा धैर्य सकिँदै गएपछि रिसको मात्रा बढ्न थाल्ने हो । जब अन्याय अत्याचार बढ्दै जान्छ र न्याय पाउनुपर्नेले न्यायका नाममा अझै शोषण र अन्योल मात्र पाइरहन्छ, त्यसबेला कवि त्यस वर्गको न्यायका निम्ति विद्रोही बन्छ ।

उसलाई संवादको शक्तिप्रति विश्वास हुन छोड्छ र आवाजहरूको सुनुवाइ हुन छाडेपछि थप शक्तिको माग हुनसक्छ । समाजले यस्ता कविलाई अराजक भन्ने नामकरण पनि गरिदिनसक्छ । कवि, कवि नै हो, ऊ मानिसलाई पीडाबाट मुक्ति दिनका निम्ति कहिले कलम त कहिले हतियार पनि उठाउँछ । यही प्रसङ्गमा कवि पोखरेलले कमैयाहरूको सहनशीलता र धैर्यको सीमा देखेर आफैप्रतिको अविश्वासलाई यसरी प्रहार गरेका छन् :
नभोगेको खुसीमा हाँस्दै गरेका ती
अनुहारमा
चड्याङचड्याङ हिर्काउँझैं लागिरहेथ्यो
मलाई
त्यो दुःखमा किन हाँसिरहेछन् तिनीहरू
भनेर । (पृ.२३)
उक्त कवितांशले आदिवासी नागरिकहरूको आत्मशक्ति प्रतिविम्बित गरेको छ । उनीहरू कठिनाइहरूमा पनि आफ्नो स्वाभिमानलाई कायम राख्न सक्दछन् र दुःखहरू बिच नै सुखका क्षणहरू भोग्दछन् भन्ने भाव प्रकट गरेको छ । सामन्तको महलभित्र भन्दा छानोविहीन प्रकृतिमा हुने उम्मुिक्त र खुसीको अनुभूतिले कठिन परिस्थितिमा समेत सुख बोध गर्नसक्ने उनीहरूको विशिष्ट क्षमतालाई दर्साएको छ ।

कुनै निर्दोष अनुहारमा प्रतिविम्बित हुने प्रेम अथाह हुन्छ । कमैया बस्तीमा कविले देखेका अनुहारहरू यस्तै प्रेमिल अनुहार हुन् । कविको मनमा ती अनुहारप्रतिको अतिसय प्रेम तिनका
दुःख र दयनीय अवस्थाका कारण पलाएको हो । तिनका अवस्था र तिनले देखाइरहेको प्रतिक्रियाबिच कवि कुनै तालमेल पाउँदैनन् र गम्भीर हुन पुग्छन् । कविको गम्भीरताले विरोधको स्वर खोजिरहेको छ । प्रतिकारमा उभिन नसकेका ती निमुखा हँसाइहरू एकाएक परिवर्तन भएको हेर्ने कवि चेतनाले ‘तिनका गालामा चड्याङचड्याङ हिर्काउँझैँ लागिरहेथ्यो’ भन्नुको पछाडि तिनको जमेको चेतनामा तरङ्ग ल्याइदिने अभिलाषा पनि हो । कविले प्रकृतिजस्तै सरल ती कमैयाहरूले भोग्नुपरेको बन्धन र विभेदलाई प्रकृतिकै उपमा र दृष्टान्तहरूबाट प्रस्तुत गरेका छन् ः
इन्द्रेणी पनि लत्पतिए टाँगिएजस्तो
पानी पनि सुइरो भएर बर्सिएजस्तो
घाम उदाएर पनि बस्तीको आकाशलाई
समेत नछोई उम्किभागेजस्तो
उनीहरूको सपनामाथिको ठट्टा देखेर
मलाई रोऊँरोऊँ भइरहेथ्यो । (पृ.२३)
इन्द्रेणी, घाम पानीको सुन्दर मेल हो ।‘इन्द्रेणी लत्पतिएजस्तो’ वाक्यांशको प्रयोगले मानिसका दुःखमा प्रकृतिको नियमिततामा पनि विचलन आएको संवेदनशील अनुभूति प्रकट भएको छ ।
अभावका कारण जीवनको लय बिग्रिनु कमैया बस्तीमा प्रकृतिको सुन्दरताको अर्थ समाप्त हुने सङ्केत हो ।
जीवनदायी पानी जब बर्सात भएर बस्तीका छाप्रामाथि बर्सिन्छ, भल बनेर बस्तीका खुसीमा पस्छ, त्यसबेला पानी दुःखदायी सुइरोजस्तो बनिदिन्छ । घाम आकाशदेखि धर्तीसम्म आउँदा सबैतिर समान किसिमले फैलिँदै आउँछ तर कविले कमैया बस्तीको आकाशबाट घाम पनि परपरै तर्किएर जाने मार्मिक भाव व्यञ्जित गरेका छन् । घाम यहाँ खुसी या सुखको पर्यायमा प्रयुक्त छ । घाम नउदाउनु भनेको खुसी नआउनु हो । कमैया बस्तीको कथा जबदेखि मुक्त बस्तीको व्यथामा परिणत भयो, त्यो साझा घामले पनि बाटो मोडेर जानु कमैयामाथि विभेदपूर्ण राजनीतिको नयाँ शृङ्खलाको आरम्भ हुनु हो भन्नेतिर कविताले सङ्केत गरेको छ ।

यी सारा स्थितिले कविलाई कमैयाको स्वतन्त्रतामाथि प्रकृति र सत्ता दुवैले मिलेर ठट्टा गरेको अनुभव भएको छ।यी सारा दृश्यहरूको मूक दर्शक भएर बस्नुको विकल्प नपाइरहेका कवि रोऊँ रोऊँको मनस्थितिमा पुगेका छन् ।दुःखको सौन्दर्य हृदयग्राही बन्नुमा विषय र शिल्पको अखण्डता नै हो । आत्मा र शरीरको अनुस्यूतता कविताको कथ्य र शिल्पका निम्ति उपयुक्त दर्शन मानिन्छ (पोखरेल, २०५९, पृ.५२) । प्रस्तुत कवितांशमा कवि हृदयमा कमैयाको दुःख अनेक किसिमले साधारणीकरण भएको दृश्य उपस्थित छ ।

जीवन जति गतिशील हुन्छ, त्यति नै गन्तव्य पनि नजिक हुँदै आउँछ । कमैया बस्तीमा मुक्तिको पहिलो प्रारम्भले यही गतिको आशा पलाएको थियो, तर जब निस्तब्ध अँध्यारोजस्तो अभावका पहाडहरूले जीवनको ढुकढुकी नै बन्द होला जस्तो गरी थिचिरहेको वर्तमानलाई कविले नजिकबाट छोए, त्यसपछि कमैयाको निरिह हाँसो, कविको यसअघिको रिस, आवेग, रुवाइ जस्ता सबैको एउटा चरम अनुभूति कवितामा यसरी प्रस्तुत भएको छ :
गन्तव्यविहीनतामा रुमल्लिरहेका
यात्राहरूको बस्तीबिच
बेसुरमा गाइरहेका चराहरूको स्वर
नियतिदेखि अनभिज्ञ नाचिरहेका
पुतलीका उमङ्ग
र मिठासविहीन बहिरहेको लाटो हावा
देखेर
मलाई बहुलाऊँ बहुलाऊँ भइरहेथ्यो ।
(पृ.२४)
उल्लिखित वाक्यांशले आदिवासी नागरिकहरू पृथ्वीको निश्चित बसोबास वा क्षेत्रमा सीमित रहँदै आएकातर्फ सङ्केत गरेको छ । ‘बेसुरमा गाइरहेका चराहरूको स्वर’ ले प्रकृति र मुक्त भएका कमैयाहरू बिचको सङ्गतिविहीनता देखाउनुका साथै प्रकृतिमा आवश्यक रहेको समन्वय र सन्तुलनको अनुपस्थितिलाई देखाएको छ । कवितांशमा आदिवासी पूर्वकमैयाहरू आफ्नै नियतिदेखि अनभिज्ञ रहनुको उल्लेखले आफ्नै जीवनप्रतिको अधिकार र नियन्त्रणसम्बन्धी चेतनामा कमी रहेकाले तिनले अन्यायपूर्ण अवस्थाको बचाइलाई स्विकार्नु परिरहेको भन्ने कविको प्रतिरोध अनुभूति प्रस्तुत भएको छ । समाजमा आफुले झेल्नुपरेको सीमान्तीकृत अवस्थाका कारण कमैयाका रहर र सपनाहरू कुँजिएर रहने गर्दछन् । जीवनका गीतहरू कर्ममा रूपान्तरित गर्न नसकेको बस्तीमा नयाँ बिहानी ल्याउन नसकी केवल बहनुमा सीमित रहेको समयलाई कविले लाटो हावा भनेका छन् । यो नयाँ विम्बको प्रयोगमार्फत उनले कमैया बस्तीमा अल्झिएका मान्छेको श्रम–संस्कृति र सपनाहरूको निरीहताले आफुलाई ‘बहुलाऊँ बहुलाऊँ’ लागेको बताएका छन् । मानवअधिकार, मानवीय प्रेम र विश्वासका साथै मानवसेवा कागजमा मात्र थन्किँदै गएर मानिसबिचका सद्भाव भने दुर्घटित बन्दै गएको विश्वपरिवेशप्रति कविले प्रतीकात्मक रूपमा विद्रोह गरेका हुन् । उनको विद्रोहको स्वरूप यस्तो पनि छ :
त्यत्रो अपमान पराजित गरेपछि
जन्मिएको
त्यो निस्सारता देखेर मलाई मरूँमरू
लागिरहेथ्यो ।
उनीहरू रमाइरहेथे संसार विजय
गरेझैँ ।(पृ.२४)
प्रस्तुत गरिएको विषयको आरम्भ र फैलावटसँग कविताको युगीन सम्बन्ध सन्दर्भित हुन्छ । माथिको कवितांशमा आएको ’त्यत्रो अपमान पराजित गरेपछि’ वाक्यांशले यस कविताको पृष्ठभूमिलाई विस्तृत अर्थमा प्रतिध्वनित गरिदिएको छ ।

कमैया मुक्ति अभियानको समग्रतालाई निकै ठूलो प्राप्ति मान्दामान्दै पनि त्यसको व्यवस्थापनमा देखिएको उदासीनतासँग कविले आफ्नो कोमल संवेदना जोडेका छन् । जमीनदारको खेतबारी र चुल्होचौकामा अपहेलित र शोषित भएर जिन्दगी बिताउन विवश भएका मुक्त कमैयाका निम्ति त्यहाँबाट बाहिर निस्कन पाउनु एक महोत्सव बराबर नै थियो होला, तर कविको कुरा अर्कै छ । कविलाई बाटो खनेपछि हिँडिरहनुमा अर्थ छ । कविलाई पलायनवादी सोच र योजना कार्यान्वयनमा देखिने ढिलासुस्तीले सदैव भयभित बनाएको छ । अमानवीयताको यस्तो घडीमा कविलाई बस्तीको भिडभित्र पनि मृत्युबोधको बेग्लै शून्यता महसुस भइरहन्छ ।

नित्सेले जीवनको निस्सारताको व्याख्या गर्ने क्रममा जीवनका विसङ्गति र अस्तित्वमाथि पनि चिन्तन गरेका छन् । यहीँ उनको निस्सारतासम्बन्धी दर्शनले कमैया बस्तीको एक प्रकारको शून्यतालाई अभिव्यञ्जित गरेको पनि मान्न सकिएला, तर मरूँको भावना निराशा–निस्सारताले मात्र होइन, धोका र ग्लानीको मनोविज्ञानबाट पनि पलाउँछ । कविलाई कमैया बस्तीले पाइरहेको चरम अभावको दुःख धोकाको परिणाम लागेको छ । मानिसले मानिसलाई गर्ने धोका व्यक्तिमा मात्र असहनीय हुने होइन, त्यो समूहका लागि झन् वीभत्स हुन्छ । त्यस्तो धोका राजनीतिसँग जोडिएको हुन्छ । सुमन पोखरेलको कवि सदैव व्यक्तिबाट माथि छ, विस्तृत छ । यसैले उनको कवितामा आएको मरूँमरूँको संवेदना आत्महत्याभन्दा माथिको हो । कवि र आम मानिसबिचको फरक पनि यही नै हो, जहाँ आममानिस आफूले पाइरहेको दुःखको कारण पनि थाहा पाइरहेको हुँदैन, त्यहीँ कवि अरूका दुःखको अन्तर्यमा पसेर अन्तःसङ्घर्षको दुन्दुभीमा चिच्याइरहेको हुन्छ ।

साहित्य (सन्दर्भमा कविता)ले मानिसका निम्ति समाजसँग सरोकार राखेको हुन्छ । यो सरोकारको उद्देश्य समाजशास्त्रीय हुन्छ अर्थात् परिवर्तनका निम्ति हुन्छ (स्विंगवुड, सन् १९८६,पृ.१–२) । कहिलेकाहीँ तथ्यको भ्रमबाट समेत निकाली पाठकलाई माथिल्लो चेतनामा पु¥याउने सामथ्र्य कविताले राखेको हुन्छ । कविका निम्ति प्रकृति र मानिस कविता रचनाको सर्वकालिक स्रोत हुन् । विम्ब र अलङ्कारहरू यिनै दुई पाठबाट ग्रहण गरिन्छन् । यसअर्थमा सुमन पोखरेलका कतिपय कविताहरूप्रकृतिजस्तै रहस्यमय छन् :
मलाई जीवनको रहस्यले पिरोलिरह्यो,
प्रश्न आयो मनमा,
के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ ?
वा जीवन कठिन भएपछि बाँच्न
सजिलो हुन्छ? (पृ.२४)

अज्ञानताले पिरोलिनु भनेको ज्ञानको बाटोमा पाइला राख्नु हो । यस कवितांशमा कमैया बस्तीको छेऊबाट जीवनको सत्य खोज्दै गर्दा कविलाई जीवन र स्वतन्त्रताको अन्तःसम्बन्धमाथि गहिरो जिज्ञासा उठेको छ । स्थापित वैचारिक चिन्तनप्रतिको आस्था र नवीन प्रयोगात्मक क्षेत्रको अनुसन्धानको निरन्तरताका कारण कवितामा शिल्पविधानका अपूर्व सम्भावनाहरू प्रकटित हुन्छन् (एटम, २०७२, पृ. ३६६) । मुक्त कमैयाहरूलाई विपन्नताको स्वाद यति मिठो लाग्नुको पछाडि तिनले भर्खर प्राप्त गरेको स्वतन्त्रता नै हो भन्ने स्वीकार गरिसकेका कवि यस विषयमाथि दार्शनिक चिन्तन अघि सार्छन् । स्वतन्त्रताको सम्बन्ध आत्मासँग र जीवनको सम्बन्ध देहसँग रहने विषयमा कवि प्रतिप्रश्न गरिरहेका छन् । सायद कविले स्वतन्त्रताका निम्ति बलिदान हुने सहिदहरूको परोक्ष विम्बमा दुःख र स्वतन्त्रतालाई परिपूरक मानेका छन् । स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ भने यी कमैयाहरू जीवन अर्थात् बाँच्नुलाई महत्व नदिईकन मुक्त हुनुको आनन्दमा जीवनलाई भोगिरहेका हुन् भन्ने उत्तर प्रश्नभित्रै दिएर कविले कठिनाइको नयाँ परिभाषा खोजिरहेका छन् ।

निष्कर्ष
कवि सुमन पोखरेलको ‘कमैया बस्तीमा’ नेपाली वर्गीय समाजको ज्वलन्त कथ्यमा आधारित कविता हो । यस कथ्यसँग इतिहासका सबै स्मरणीय घटना र पात्रका विषयमा अध्ययन गर्दा तिनले प्राप्त गरेको स्वतन्त्रतामा तद्क्षण अत्यन्त दुःखबाट गुज्रनुपरेको देखिन्छ । कला, धर्म, राजनीति, समाजका साथै अन्य विषयहरूमै पनि मुक्तिको निम्ति सङ्घर्ष गर्नेहरूले जीवनको कार्यव्यापारमा भने अनेक सम्झौता गरेको पाइन्छ ।

स्वतन्त्रताका निम्ति सबै किसिमका चुनौतीहरू सामना गर्न तत्पर रहने मानिसको स्वभावमाथि कविले भोकको दर्शन अघि सारेका छन् । यहाँ एउटा भोक पेटको र अर्को भोक आत्माको रहेको छ । यी दुवै भोक शक्तिशाली छन् । जीवनले स्वतन्त्रता खोजिरहन्छ । स्वतन्त्रताको बाटो कठिनाइले भरिएको हुन्छ । सुखको खोजीमा सदैव तल्लीन रहने मान्छे कठिनाइको बाटो हिँडेरै भए पनि स्वतन्त्रतामा पुग्नका निम्ति लडिरहन्छ र यही लडाईमै समाप्त हुनु परे पनि हाँसी हाँसी त्यो समाप्तिको पथलाई जीवन ठानेर ऊ अँगालिरहन्छ भन्ने भाव कविले उठाएका प्रश्नहरूभित्र अप्रस्तुत विम्बमार्फत प्रस्तुत भएका छन् । यस्तो विम्ब निर्माणका निम्ति कविले रहस्य शब्दको सार्थक प्रयोग गरेका छन् । कमैया बस्तीमा अल्झिएको मान्छेको श्रम–संस्कृति, सपनाहरूको निरीहता, मानवअधिकार, मानवीय प्रेम र विश्वास कागजमा मात्र थन्किँदै गएर मानिसबिचका सद्भाव भने दुर्घटित बन्दै गएको विश्वपरिवेशप्रति कविले प्रतीकात्मक रूपमा विद्रोह गरेका छन् ।

‘कमैया बस्तीमा’को आख्यानात्मक कविता कथ्य र शिल्प दुवैको सन्तुलित तर संवेगात्मक प्रस्तुतिका कारण उत्तम रचना बनेको छ । कवितामा चित्रित गरिबी र प्रकृति वियर्पासहरूको सामञ्जस्य बनाउन आएका विषयहरू हुन् । ‘कमैया बस्तीमा’ कविताको परिवेश प्रकृतिको सान्निध्यमा छ । तापनिकेन्द्रीय स्वर चाहिँ वर्गीयलगायत सबै किसिमका विभेदको अन्त्यका निम्ति प्रतिरोध चेतना जगाउनु नै रहेको देखिन्छ ।
(‘कमैया बस्तीमा कविताको कथ्य र शिल्प’ शीर्षकको प्रस्तुत अनुसन्धानपरक लेख लोकदर्पण (२०७९), वर्ष २ अङ्क २ (वैशाख–असोज) बाट साभार गरी केही परिमार्जनसहित यहाँ पुनःप्रकाशन गरिएको हो ।)

सन्दर्भ सामग्री
गौतम, लक्ष्मण (२०६०) । समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण । साझा प्रकाशन ।
जाफर, इम्यान अदिल (सन् २०१४) । स्टालिस्टिक अनालाइसिस अफ सेलेक्टेड पोएमस् । जर्नल फर ओमन । भोलुम २५ । युनिभर्सिटी अफ बगदाद ।
नेत्र एटम (२०७२) । समकालीन नेपाली कविताको शिल्पविधान । नेपाल प्रज्ञा प्रतिष्ठान ।
पाउल, सिम्सन (सन् २००४) । स्टालिस्टिक्स् अ रिसोर्स बुक फर स्टुडेन्ट्स (फस्ट एडिसन) । रोटलेज ।
पाण्डेय, मैनजर (सन् २००६) । साहित्य के समाजशास्त्र की भूमिका (ते.संस्क.) । हरियाणा साहित्य अकादमी ।
पो, एडगर एलेन (सन् १९९६) । पोएट्री, टेल्स् एन्ड सेलेक्टेड एस्सेज । द लाइब्रेरी अफ अमेरिका ।
पोखरेल, भानुभक्त (२०५९) । सिद्धान्त र साहित्य (दो.संस्क.) । साझा प्रकाशन ।
पोखरेल, सुमन (२०६६) । जीवनको छेउबाट । वाणी प्रकाशन ।
पोखरेल, सुमन (२०७७) । अक्षरको ज्यावल बोकेर । विराट साहित्य सङ्गम ।
मोरीस, विलियम (सन् १८८७) । हाउ वि लिभ एन्ड हाउ वि माइट लिभ । द कमनवेल्थ, द अफिसियल
जर्नल अफ द सोसियलिस्ट लिग
। भोलुम ३, नम्बर–७३, जुन ।
शर्मा, मोहनराज (२०५९) । शैलीविज्ञान (दो.संस्क.) । विद्यार्थी पृस्तक भण्डार ।
सुवेदी, अभि (२०६६) । वैकल्पिक चिन्तन र काव्य सामर्थ्य(भूमिका) । जीवनको छेउबाट । वाणी प्रकाशन ।
सुवेदी, दधिराज (सन् २०१३) । नेपाली साहित्यका मुस्कानहरू । पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
स्विंगवुड, ए्लेन (सन् १९८६) । साहित्यका समाजशास्त्रीय चिन्तन । मानव संसाधन मन्त्रालय, भारत सरकार ।

(‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’ शीर्षकमा विद्यावारिधि अनुसन्धान पूरा गर्नुभएकी गीता त्रिपाठी त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाली विषयको प्राध्यापन गर्नुहुन्छ । मूलतःकविका रूपमा परिचित त्रिपाठीका कविता, गीत, निबन्ध र समालोचनाका गरी तेह्र वटा कृतिहरू प्रकाशित छन् । उहाँका दुईवटा गीति एल्बम र करिब एक दर्जन कथाहरु फुट्कर रुपमा प्रकाशित छन् भने करिब दुई दर्जन अनुसन्धानपरक समालोचनाहरू विज्ञ समीक्षित विभिन्न जर्नलहरूमा प्रकाशित छन् ।)

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari