info@bampanththeleft.com

Bampanth The Left

नेपाली क्रान्ति हाम्रो लागि चीन जसरी नै महत्त्वपूर्ण थियो : जोन बेलामी फोस्टर

जोन बेल्लामी फोस्टर, मन्थ्ली रिभ्युका सम्पादक र ओरेगन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक, एक प्रसिद्ध पर्यावरणीय समाजशास्त्री र प्रख्यात लेखक हुनुहुन्छ । उहाँका प्रभावशाली कृतिहरूमा माक्र्सको पर्यावरणः भौतिकवाद र प्रकृति (२०००), द इकोलोजिकल रिफ्टः क्यापिटलिज्म वार अन द अर्थ (ब्रेट क्लार्क र रिचर्ड योर्कसँग, २०१०), र द थ्योरी अफ मोनोपोली क्यापिटलिज्मः एन् इलेबोरेसन अफ मार्क्सिसयन पोलिटिकल इकोनोमी (नयाँ) संस्करण, २०१४ आदि पर्दछन् । आफ्नो दशकौंको कार्य अनुभवका कारण, फोस्टर पुँजीवाद, पर्यावरण र सामाजिक न्यायको पक्षमा उठ्ने एउटा प्रमुख आवाज बन्न पुग्नुभएको छ ।

उहाँका अनुसन्धानले विश्वव्यापी अर्थतन्त्र र वातावरणीय ह्रासबिचको जटिल सम्बन्धलाई विस्तृत प्रकाश पार्ने गरेका छन् । हामी यस अन्तर्वार्तामा संलग्न हुँदा, हामी फोस्टरका गहन विचारहरू बारे गहिरिने प्रयास गरेका छौ । २१ औं शताब्दीका वातावरणीय चुनौतीहरूप्रति हाम्रो सामूहिक प्रतिक्रियालाई सुसूचित गर्न सक्ने अन्तरदृष्टिहरू प्राप्त गर्ने विश्वास र हामीलाई यी विचारहरू एसियाका व्यापक पाठकहरूमा पुग्नेछन् भन्ने आशा दुबै छ । नेपालको वाम आन्दोलनको एउटा महत्वपूर्ण अवधिमा सन् १९९० ताका मन्थ्ली रिभ्युले ह्यारी म्याग्डोफको व्यक्तिगत पुस्तकहरूको सङ्ग्रहलाई नेपाल पु¥याउन पनि निकै योगदान गरेको थियो, जुन अहिले काठमाडौमा ह्यारी म्याग्डोफको स्मृति पुस्तकालय बनेको छ । यस अन्तर्वार्ताले विश्वव्यापी वाम आन्दोलनमा ह्यारीको योगदानलाई पनि प्रकाश पार्छ ।

१. तपाईं  पर्यावरणीय मुद्दाहरूसम्बन्धी मार्क्सवादी दृष्टिकोण मौलिक रूपले प्रकाश पार्ने, त्यसलाई   विस्तारित गर्ने  तथा पुँजीवादी प्रणालीको आलोचना गर्ने एक अग्रपङ्क्तिका विद्वान् हुनुहुन्छ । वैश्विक दक्षिणमा रहेका देशहरूले विकास र वातावरणबिच अप्ठ्यारो छनौट गर्नुपरेको देखिन्छ । तपाईंको विचारमा, आर्थिक रूपले गरिब देशहरूमा किन र कसरी पर्यावरणमैत्री  विकास सम्भव छ र हासिल गर्न सकिन्छ ?

फोस्टरः आर्थिक प्रश्नसँगै पर्यावरणीय प्रश्न पनि अहिले उत्तिकै महत्वपूर्ण छ । र, यी दुबै भित्री रूपले एकअर्कासँग सम्बन्धित छन् । यस तथ्यले नै गरिब देशहरूले वर्तमानमा झेल्नुपरिरहेका अवस्थाहरू स्पष्ट पार्न मद्दत पुर्याउँछ । खास विवाद चाहिँ पर्यावरण र विकासका बिच नभएर साम्राज्यवादी प्रभुत्वका परिवेशले निर्धारण गर्ने  परिधीय पुँजीवादी ‘अल्पविकासको विकास’, वा क्रान्तिकारी क्रमभङ्गद्वारा  हासिल गरिने  दिगो मानव विकासको समाजवादी मोडेल लागु गर्ने व्यवस्थाबिच रहेको छ ।

यसर्थ पर्यावरणीय कारक (factor) थप्ना साथ हाम्रो विश्व पुँजीवादी केन्द्रमा  भएका अतिविकसित  राष्ट्रहरू र परिधिमा रहेका अल्पविकसित राष्ट्रहरूमा विभाजित छ भन्ने अझ बढी प्रस्ट हुन्छ ।  अमेरिकामा नेपालमा भन्दा प्रतिव्यक्ति उर्जा खपत ६० गुणा बढी छ र पर्यावरणीय दृष्टिबाट सम्पूर्ण विश्वका लागि आवश्यक सन्तुलनको स्तर हालको संयुक्त राज्य अमेरिकाको स्तर भन्दा  एक तिहाई कम हुन आउँछ । यसको मतलब हो, संयुक्त राज्य अमेरिका पृथ्वीले धान्न सक्ने क्षमता र विश्वको जनसङ्ख्याको सापेक्षतामा आर्थिक रूपले पनि निकै भद्दाकिसिमले अतिविकसित छ, यही व्यवस्थाका कारणले नेपाल भने घोर अल्पविकसितै रहेको देशमा दरिन्छ । यस असमान वास्तविकताका पछाडि रहेका,  र यसको  समर्थन गर्नेहरू साम्राज्यवादका  यस्ता संयन्त्रहरू हुन्, जसले विश्व पुँजीवादी व्यवस्थाभित्र राष्ट्रहरूका सापेक्ष स्थिति निर्धारण गर्दछन् ।

यसको अर्थ हो  हामीले साम्राज्यवादी विकासको परम्परागत माक्र्सवादी आलोचनालाई पर्यावरणीय आलोचनासँग गाभ्नुपर्छ । यस्तो विश्लेषणले विविध किसिमले यस्ता आलोचनालाई अझ गहिराइमा लैजान्छ र अग्रगामी वैकल्पिक मार्गचित्र प्रस्ट गर्न अझ  बढी  सहज बनाउँछ । सन्

 ९५० को दशकको अन्त्यतिर पौल  ए बरानले  वृद्धिको राजनैतिक अर्थशास्त्र (The Political Economy of Growth) मा विकासको  समस्याको सार वर्णन गरेका  थिए । त्यसमा  कुनै एक देशले आफ्नो आन्तरिक विकास विवेकपूर्ण रूपले गर्नका निम्ति वास्तविक, सम्भावित, र योजनाबद्ध आर्थिक अधिशेष (अतिरिक्त उत्पादन) माथि नियन्त्रण प्राप्त गर्न र परिचालन गर्न सक्छ कि सक्दैन भन्नेबारे चर्चा गरिएको छ । यसको अर्थ त्यसका निम्ति समाजका आन्तरिक वर्गीय आयामहरू र बाह्य साम्राज्यवादी शक्ति दुबैको सामना एकसाथ गर्नुपर्छ भन्ने हो ।

परिधीय पुँजीवादमा निश्चय पनि यी दुबै छुट्टै रूपले अस्तित्वमा हुँदैनन् किनकि देशको आन्तरिक आवश्यकताहरू भन्दा विपरीत साम्राज्यवादी विकाससँग हातेमालो गर्ने एउटा दलाल वर्ग सधैँ हुनेगर्छ । वर्ग सङ्घर्ष यसैकारणले साम्राज्यवाद विरोधी सङ्घर्षसँग गाँसिएको छ ।  क्रान्ति पश्चात्का (Post-revolutionary)  ती देशहरू, जो केही हदसम्म आफ्नै समाजका  रूढिवादी प्रभाव  (patristic)  र  दलाल तत्वहरूलाई  जित्न सफल भएका छन्,  र जो केही हदसम्म विश्व अर्थतन्त्रबाट आफूलाई असम्बद्ध (delink) राख्न सफल भएका छन्, तिनमा साम्राज्यवाद र पुँजीवादी बजार शक्तिहरूले प्रत्यक्ष रूपमा निर्धारण गर्न नसक्ने आर्थिक योजनाका माध्यमबाट आर्थिक अतिरिक्त उत्पादन र त्यसको उपयोगका नयाँ सम्भावनाहरू बढछन् । 

पुँजीवाद अन्तर्गत आर्थिक विकासलाई कुल गार्हस्थ्य उत्पादन (पुँजीको सञ्चयको वृद्धि) का रूपमा परिभाषित गरिएको छ । अर्थात् सामाजिक आवश्यकताभन्दा पृथक विनिमय मूल्यका आधारमा गरिएको छ । यद्यपि, असम्बद्धता (delinking)  (जो सधैँ सापेक्ष हुन्छ) ले विकासको यस्तो रूपको सम्भावना बढ्छ, जुन प्रयोग मूल्य (use value) का साथ सुरु हुन्छ । यसले जनसङ्ख्याको आधारभूत आवश्यकताहरूलाई प्राथमिकता दिने भएकाले वास्तविक मानव विकासका लागि आधारशीला राख्ने काम गर्छ । त्यसकारण  हामी वैश्विक दक्षिणमा समाजवादोन्मुख अर्थतन्त्रहरू (यद्यपि अझै प्रायः गरिब नै रहे पनि) दिगो खाद्य सुरक्षा र सार्वभौमिकता, स्वच्छ पानीको पहुँच, बिजुलीको उपलब्धता, शिक्षा, बाल हेरचाह, स्वास्थ्य÷स्वास्थ्य सेवा, आयु प्रप्याशा (life expectancy), आवास, गरिबी उन्मूलन आदि क्षेत्रहरूमा जनजीवनका अवस्थामा निकै सुधार गर्न सक्षम भएको पाउँछौँ ।

मानव विकासका क्षेत्रमा संयुक्त राष्टसङ्घले गणना गरेअनुसार  वैश्विक  दक्षिणका गरिब देशहरू प्रायः आश्चर्यजनक रूपमा वैश्विक उत्तरका धनी राष्ट्रहरूको नजिक वा अझ बढी समृद्ध पनि छन्, जसले  कुल गार्हस्थ्य उत्पादन (कुगाउ) केन्द्रित विकासको एक मात्र मापनलाई निरर्थक साबित गर्छ ।  दिगो मानव विकासमा केन्द्रित पर्यावरणीय दृष्टिकोण भनेको हामी बसोबास गर्ने वातावरणको आधारभूत भौतिक स्तर समावेश गर्ने समाजवादी योजनाको परम्परागत जनता–उन्मुख प्राथमिकताहरूको विस्तार  मात्र हो । यो सम्भवतः क्युवाका सम्बन्धमा सजिलैसँग देख्न सकिन्छ जहाँ विशेष गरी सन् १९९२ पछि दिगो मानव विकासमा दिइएको प्राथमिकता यसको सफलताको रहस्य बनेको छ । वास्तवमा गरिब देशहरूमा मानव आवश्यकता र वातावरणका बिचमा कसमा ध्यान केन्द्रित गर्ने भन्नेबारे  कुनै आधारभूत विरोधाभास छैन ।

२. तपाईंका विचार र तर्कहरूले  बौद्धिक बहस र भुइँ तहको अभियानमा पारेको प्रभावलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? निकट भविष्यमा प्रमुख पुँजीवादी अर्थतन्त्रहरू मार्ग परिवर्तन गर्न तथा पर्यावरणीय अस्तित्व र समानताका हिसाबले विकासलाई पुनः परिभाषित गर्न बाध्य हुनेछन् भन्ने कुरामा तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?

फोस्टर : पर्यावरणीय मार्क्सवादी परम्परामा मेरा र अन्य धेरै व्यक्तिहरूका कामहरू ऐतिहासिक–भौतिकवादी दृष्टिबाट निसृत शास्त्रीय आलोचना विकास गर्नतर्फ उन्मुख छन् । यहाँ विचार हरूलाई ती भौतिक परिस्थितिहरूका सम्बन्धमा हेरिने गरिन्छ, जसबाट ती उत्पन्न हुन्छन् र जहाँ सिद्धान्तको उद्देश्य हुन्छ,  क्रान्तिकारी अभ्यास ! शास्त्रीय माक्र्सवादबाट नै विकसित भएको यस आलोचनात्मक दृष्टिकोणको प्रणालीगत प्रकृतिको अर्थ हुन्छ, यसलाई बेवास्ता गर्न सकिँदैन, र यसले  प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण प्रवेश पाएको छ ।

तथापि  यसले  अनिवार्य रूपले  वैचारिक अवरोधहरूको सामना गर्नुपर्ने हुन्छ, जुन जर्ज लुकाचले भनेको ‘ग्राण्ड होटेल एबिस’  (Grand Hotel Abyss) जस्तो  अक्सर त्यस्ता  शैक्षिक वामपन्थीहरूको समूहबाट उत्पन्न हुने गरेको छ, जहाँ आमूल परिवर्तनकारी मुद्दाहरू प्रायः भव्य शैलीमा त उठाइन्छ तर मुक्तिकामी  परिवर्तनको प्रयत्नसँग नजोडिएको  मात्र होइन कि प्रतिकूल समेत हुने खालका तौरतरिका अपनाइन्छ । म यहाँ मुख्यतया पश्चिमी प्राज्ञिक जगत्को कुरा गर्दैछु, जससँग म बढी  परिचित छु; वैश्विक दक्षिणका केही ठाउँहरूका  प्राज्ञिक क्षेत्रको अवस्था नितान्त  फरक  छ ।  

यसैले, प्राज्ञिक जगत्मा पर्यावरणीय मार्क्सवादले प्रवेश र स्थान प्राप्त गर्ने कामले निरन्तरता पाए पनि यसप्रकारको विश्लेषण मुख्य रूपले विश्वभरिका समाजवादी र पर्यावरणीय सङ्गठन र आन्दोलनहरूमा, र त्यस्ता देशहरूमा फक्रिरहेको देख्न सकिन्छ, जहाँ सिद्धान्त र व्यवहारका सम्बन्धमा यो जीवन्त बनेको छ । उदाहरणका लागि ब्राजिलका भूमिहीन मजदूर  आन्दोलन (MST) र चीन, भेनेजुएला र क्युवा । ठुला पुँजीवादी राज्यहरू यस प्रकारको आलोचनाका आधारमा पर्यावरणीय समानता र अस्तित्वको मुद्दातर्फ अघि बढ्लान् भन्ने मैले  धेरै कम आशा गरेको छु । यो सत्य हो कि माक्र्सले भनेझैं विचारहरूले जनसमुदायको मन मस्तिष्कलाई  प्रभावित गरे  भौतिक शक्ति बन्न सक्छन् तर यो प्रभाव आफै भौतिक अवस्थाको विकासमा निर्भर गर्दछ । आज भौतिक अवस्थाहरू वातावरणीय क्षेत्रमा सब भन्दा छिटो र अपूरणीय  ढङ्गले परिवर्तित हुँदैछन् । यसले  वर्गहरूभित्र नयाँ आन्दोलन, विभाजनहरू र टुटफुटहरूको  सिर्जना गर्नेछ, जुन आर्थिक कारकहरूले  मात्र नभई   परिवर्तित भइरहेको वातावरणीय कारकहरूले पनि प्रभावित हुनेछन् । समानता र अस्तित्वका दिशामा  वास्तविक परिवर्तन समाजको पिँधबाट आउनेछ र यसको उद्भव पुँजीवादी प्रसङ्गबाट भए पनि  पुँजीवाद–विरोधी तर्कलाई आत्मसात गरेको हुन्छ । पुँजीवादी विश्व प्रणालीको केन्द्रमा क्रान्तिकारी परिवर्तन हुन जरुरी र आवश्यक छ, किनकि  त्यहीँबाट  यो  सम्पूर्ण भूमण्डलीय  सङ्कट (planetary crisis) उत्पन्न भएको हो र यसलाई सम्बोधन गर्ने माध्यमहरू पनि त्यहीँ तयारी अवस्थामा  छन् । तर विश्वलाई  पुनव्र्यवस्थित गर्ने कार्यको सुरुवात निश्चितरूपमा  वैश्विक दक्षिणमा सुरू हुनेछ, जहाँ वातावरणीय र आर्थिक जोखिम अधिकतम छ, र  विश्व व्यवस्था–विरोधी आन्दोलन पनि ।

३. मार्क्सवादी विचारकहरू समसामयिक पुँजीवादी प्रणालीलाई आलोचना गर्न त माहिर हुने गर्छन् तर विकल्पमा ठोस र कार्यान्वयन गर्न सकिने सोचबारे अस्पष्ट रहन्छन् भनी जलवायु परिवर्तन र उन्मुख पर्यावरणीय सङ्कटका सन्दर्भमा प्राय भन्ने गरिएका भनाई प्रति तपाईको भनाइ के होला ?

फोस्टर : यस्ता बहानाबाजीपूर्ण प्रहारहरू प्रायः अज्ञानता र अस्वीकृत गर्ने वा जानाजानी धोखाधडी गर्ने प्रवृत्तिमा आधारित हुने गर्छन् । खास गरेर जलवायु परिवर्तन र हाम्रो ग्रहकै पर्यावरणीय आपतकाल सम्बन्धमा । जीवाष्म इन्धनलाई जमिन मुनि नै रहन दिनेदेखि जलवायु विनाशलाई न्यून गर्न आवश्यक वैकल्पिक उत्पादन, उर्जाको खपत र प्रयोगका सम्बन्धमा ठोस र व्यावहारिक उपायहरू सबैलाई विदितै छन् । जलवायु परिवर्तनलाई न्यून गर्न र मानव समुदायको अस्तित्व र समृद्धि सुनिश्चित गर्न यस्ता सयौं र हजारौं प्रभावकारी कदमहरू छन्, जुन चाँहिदो र आवश्यक स्तरमा तुरुन्तै कार्यान्वयन गर्न सकिन्छ ।

एक दशक भन्दा अझ पहिले नै फ्रेड म्याग्डोफ र मैले त्यस्ता धेरै व्यावहारिक विकल्पहरू हाम्रो पुस्तक हरेक पर्यावरणविद्ले पुँजीवादबारे के थाहा पाउनुपर्छ (What Every Environmentalist Should Know about Capitalism) मा सूचीबद्ध गरेका थियौं । समस्या के छ भने वर्तमानको आत्मघाती दिशातर्फ जान नदिने  सबै ‘ठोस र क्रियात्मक विकल्पहरू’ पुँजीवादले प्रभावकारी रूपमा अवरुद्ध गरेको छ, ठिक तिनै  कारणहरूले गर्दा जसले प्रथमतः जलवायु परिवर्तनको समस्या उत्पन्न गर्ने काम गरेको थियोः त्यो हो, Apre moi les deluge वा “म हिँडिसकेपछि बाढी आओस्”  (After me, the deluge) को सिद्धान्त अन्तर्गत समाजको चालक शक्तिको रूपमा असीमित धन सम्पति संचयनको निरन्तर प्रवद्र्धन । परिणाम स्वरूप अब हामीलाई के गर्ने भनेर प्रस्ट थाह भए तापनि सुधार–आधारित  दृष्टिकोण अपर्याप्त छ । आम रूपमा जलवायु  परिवर्तन र भूमण्डलीय आपतकालीन अवस्थालाई सम्बोधन गर्न विद्यमान सत्ताको व्यवस्थालाई नै  धम्क्याउनसक्ने  क्रान्तिकारी स्तरको  परिवर्तन आवश्यक छ ।

विज्ञानप्रति दृष्टि पु¥याउनु यहाँ महत्वपूर्ण छ । जलवायु परिवर्तनसम्बन्धी अन्तर–सरकारी प्यानलको हालसालैको प्रतिवेदन (AR6) वैज्ञानिकहरूका  सेन्सर नगरिएका  रिपोर्ट मन्थ्ली रिभ्यु वेव पृष्ठमा फेला पार्न सकिन्छ । विशेष गरी सरकारले सेन्सर गर्नु अघिका वैज्ञानिकहरूका ती रिपोर्टहरूमा बारम्बार भनिएको छ, “अब एउटा बृहत् सामाजिक परिवर्तन चाहिएको छ, एउटा  सम्पूर्ण आर्थिक, सामाजिक, र पर्यावरणीय रूपान्तरणको आवश्यकता छ । जलवायु सङ्कट न्यूनीकरणका लागि मात्र होइन मानवताकै विशालतम संहार रोक्न पनि क्रान्तिकारी स्तरको परिवर्तनलाई सम्भव बनाउनुपर्दछ ।” यसलाई  अनगन्ती वैज्ञानिक अध्ययनहरूले समर्थन गरेका छन् ।

यदि वर्तमान वर्ग–आधारित साम्राज्यवादी पुँजी सञ्चयनले हरेक कदममा परिवर्तनलाई नरोक्ने हो भने आज प्रत्येक बाल बालिकाले जलवायु परिवर्तनको समस्या समाधानका लागि सहयोग पु¥याउन प्रभावकारी हुने “ठोस र क्रियात्मक  विकल्पहरू” दिन सक्छन्,  जुन समाजको पहुँचभित्र पनि  छन् । तथ्य के हो भने अहिले मानव अस्तित्वको प्रत्याभूति गर्नका लागि चाहिने उपायहरू, जुन स्तरमा आवश्यक छन्, ती सबै सामाजिक प्राथमिकताहरूको आमूल पुनःसंरचना गरियो भने पहुँचभित्र छन्, तर त्यसका लागि पुँजी सञ्चयको तर्कको विरूद्ध जान आवश्यक छ ।

त्यसैले (पुँजीवादी) व्यवस्थाले त्यसप्रकारका प्रयत्नहरूलाई  ‘अव्यावहारिक’ भएको  बिल्ला भिराउँछ । यसबाहेक जलवायु परिवर्तन अहिले पुँजीवादले सामना गरिरहेका भूमण्डलीय आपतकालको एउटा  हिस्सा  मात्र हो, जसमा, प्रजाति लोप, समुद्री अम्लीकरण, नाइट्रोजन र फस्फोरस चक्रमा फाटो, वन क्षेत्रको क्षयीकरण, सुक्दै गएका ताजा पानीको स्रोत, रासायनिक प्रदूषण, र यस्तै अन्य भूमण्डलीय सीमा (planetary boundries) अतिक्रमण गर्ने कारकहरू पनि समाविष्ट छन्  र ती सबै वर्तमान अर्थ–राजनैतिक  प्रभुत्वका  कारणले  भएका  हुन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।

विश्वव्यापी रूपमा मानव समुदायहरूको सुरक्षाका लागि अत्यावश्यक उपायहरू अवलम्बन गर्न अब ढिलो हुन लागिसकेको छ किनकि यो विनाशकारी जलवायु परिवर्तन समाधान गर्नै नसकिने नभए तापनि  स्थिति यति गम्भीर भइसकेको छ कि सबैतिरबाट जोखिम हामीमाथि आइपरेको छ । वर्तमान व्यवस्थाले असमानता उत्पन्न गरिरहेको छ  र मानवताको ठुलो हिस्सालाई साम्राज्यवादी विश्व अर्थतन्त्रले निर्धारण गरेअनुसारको भाग्य मै आश्रित हुन  बाध्य बनाउदै  टुप्पामा शक्ति र स्रोतहरूको केन्द्रीकरण जारी राखेको छ ।

४. नेपाल त्यस्ता हिमाली देशहरू मध्ये एक हो, जहाँ जलवायु परिवर्तनका कारण जोखिमहरू असामान्य  रूपमा उच्च छन् र सीमान्तकृत समूहहरू माथि त्यसको प्रभाव विशेष गरी निर्मम छ । नेपाल जस्ता देशहरूलाई उनीहरूको घरेलु र अन्तर्राष्ट्रिय एजेन्डाका परिप्रेक्ष्यमा  यथार्थवादी रूपमा कस्ता रणनीतिहरू अपनाउन  सिफारिस गर्नुहुन्छ ?

फोस्टर : नेपालका सन्दर्भमा म केवल अति सामान्यीकृत धारणा र  आम  सिद्धान्तहरूका आधारमा जवाफ दिन सक्छु । विश्वव्यापी प्रकोपका हिसाबले उच्च जोखिममा परेका देशहरू मध्ये एकको रूपमा नेपाललाई  सूचीबद्ध गरिएको छ । नेपालका वर्तमान वातावरणीय चुनौतीहरूमा अति उच्च तापमान, पग्लिरहेका  हिमनदीहरू (जसलाई प्रायः ‘जल टावर’ भनी सम्बोधन गरिन्छ)  मुसलधारे वर्षा र खडेरी दुबै ल्याउने अप्रत्याशित मनसुनहरू, बाढी, वन फँडानी, माटोको क्षयीकरण, ठुला–ठूला वन डढेलो, हावा र पानी प्रदूषण, जैविक विविधताको क्षय (मुख्य जैविक विविधताका हटस्पटहरू), घट्दो कृषि उत्पादकत्व,  व्यवस्थित सरसफाइ र लाखौं व्यक्तिका लागि  स्वच्छ पानीको अभाव आदि समावेश छन् । देशको ठुलो भागमा निरपेक्ष  गरिबी र जनसङ्ख्याको सीमान्तीकरणले जलवायु परिवर्तनसँग सम्बन्धित चरमअवस्थामा पुगेका मौसमका घटनाहरूलाई जटिल बनाइरहेछ ।

मुख्य कुरा, यी चुनौतीपूर्ण परिस्थितिहरूमा राज्यले आर्थिक नियन्त्रण र योजना (बजार समेत समाविष्ट) को व्यवस्था लागु गर्न सक्षम हुनुपर्छ । यसले पर्या–विकास (eco-development) का प्राथमिकताहरू स्थापित गर्न सहज बनाउँछ । यसका लागि  वित्तमाथि  राज्यको नियन्त्रण त्यतिकै  आवश्यक छ । जुन समुदायलाई सबैभन्दा बढी फाइदा पुर्याउने आधारभूत आवश्यकता र सुरक्षातर्फ परिलक्ष्यित  परियोजनाहरू, जस्तैः स्वच्छ पानी, सरसफाइ, पर्याप्त खाना, आवास, गरिबी उन्मूलन, स्वास्थ्य सेवा, वातावरणीय संरक्षण, शिक्षा र अन्य आवश्यकताहरूलाई नाफामुखी बजारमा आधारित केहीलाई  मात्रै फाइदा पु¥याउने ‘प्रतिष्ठा परियोजनाहरू’ भन्दा बढी प्राथमिकता दिनुपर्ने हुन्छ । बाह्य आर्थिक नियन्त्रणबाट मुक्त हुन ठुलो स्तरमा खाद्य सार्वभौमिकता र राष्ट्रिय आत्मनिर्भरताका लागि प्रयत्नशील हुनु आवश्यक छ ।

नेपालको प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै क्युवा (यद्यपि यो एक टापु हो) र भारतको केरलाबाट पाठ लिनुपर्छ, जसले आफ्ना जनतालाई प्राकृतिक प्रकोपबाट जोगाउन प्रभावकारी राज्य नियोजित कार्यक्रमहरू सञ्चालन  गरेका छन् । यहाँ प्रश्न कुन प्रकारको प्राकृतिक प्रकोप सामना गरिँदै छ भन्ने भन्दा पनि आपतकालमा साझा हितका निम्ति स्रोत र जनसमुदायलाई परिचालन गर्ने  सङ्गठित साधनहरूको  हो ।  सीमान्तकृत जनसमुदायका आवश्यकतालाई विशेष ध्यान दिइनुपर्दछ । वास्तवमा  समाजको भुइँतहमा, विशेष गरी ग्रामीण क्षेत्रहरूमा (तर तिनीहरूमा  मात्र सीमित  पनि हैन), राज्यको समर्थनका साथमा सामुदायिक÷सामूहिक सङ्गठनको प्रवद्र्धन र प्रयोग मूल्यहरूको सामुदायिक आदानप्रदानमा ध्यान केन्द्रित  हुनुपर्दछ, जुन   सम्पूर्ण क्रान्तिकारी परियोजनाका लागि अति महत्वपूर्ण हुने गर्छ ।

जनसमुदाय आधारभूत आवश्यकताहरू र बाँच्नका लागि चाहिने आधारहरूबाट बन्चित छन् भने जीडीपीद्वारा मापन गरिएको आर्थिक विकास आधारभूत  रूपमा अर्थहीन रहेको छ भन्ने कुरा स्मरण गर्नु आवश्यक छ ।  हुकुमी  अर्थव्यवस्थाका रूपमा होइन, जनलोकप्रिय सहभागिता, सामुदायिक  सङ्गठन र राजनीतिक कार्यकर्ताहरूको विकासको जगमा आधारित  केन्द्रीय योजनाको आवश्यकताको रूपमा राज्यको योजना महत्वपूर्ण छ । यस्तो रणनीति जनपक्षीय वर्गहरू अर्थात् मजदुर र किसानहरूमा  आधारित हुनुपर्छ ताकि वर्ग–सचेत र साम्राज्यवाद विरोधी आवाज  बुलन्द हुन सकोस् । यस्तो आवाज स्वाभाविक रूपमा समाजवादी वा कम्युनिस्ट आवाज नै हुन्छ ।

विश्वव्यापी रूपमा, भूमण्डलीय पर्यावरणीय आपतकालप्रति प्रभुत्वशाली  पुँजीवादी दृष्टिकोण भनेको प्रकृतिको वित्तीयकरण हो, अर्थात् पर्यावरणीय समस्याको जवाफ परम्परागत अर्थमा प्राकृतिक स्रोतहरूको वस्तुकरण (commodification)  मात्र होइन, बरु सबै प्राकृतिक पुँजी वा वातावरणीय सेवाहरूको वस्तुकरण पनि हो भन्ने धारणा हो । गरिबीसँग गाँसिएको जलवायु परिवर्तनको परिणाम स्वरूप बढ्दो वातावरणीय जोखिम र  नेपालले  सामना गरिरहेका चरम अवस्थाका कारणले  बाह्य वित्तीय सहयोग खोज्नु स्वाभाविक हुन्छ । तथापि आन्तरिक आर्थिक, पर्यावरणीय, सामाजिक योजनामा समग्र जनताको  आधारभूत आवश्यकताहरूको प्रवद्र्धनले प्राथमिकता पाउनुपर्छ भनिएकाले यो महत्वपूर्ण  छ ।

यो आर्थिक ‘सुधार’को मौसममा विश्व बैंकले सन् २०२२ मा  नेपालसँग गरेको १०० मिलियन डलर वित्तीय सम्झौताका सम्बन्धमा  भन्ने गरे जस्तो ‘हरित, जलवायु–अनुसन्धान,’  ‘समावेशी विकास’ र ‘प्राकृतिक पुँजीको दिगो उत्पादनशील प्रयोग’ आदिलाई प्रवद्र्धन गर्न वैश्विक वित्तलाई आफूमाथि नियन्त्रण गर्ने अनुमति दियो भने नेपालले आफ्नै विकासको बाटोप्रतिको   सार्वभौम नियन्त्रण गुमाउने खतरा  हुन्छ । सन् २०१८–२०१९ मा  मात्र नेपालको समग्र ऋण दोब्बर भयो, ७ अर्ब डलरबाट  १५ अर्ब डलरसम्म (वा लगभग २ ट्रिलियन नेपाली  रुपियाँ) । यसले  नेपाललाई धेरै छिटो ऋणको चट्टाने भिरमा पु¥याउन सक्छ  हालसालै  श्रीलङ्काको परिदृश्य जस्तो । त्यस्ता अवस्थाहरूमा नाओमी क्लाइनले भने झैँ  विदेशी स्वार्थले पूर्ण रूपमा लगाम लगाउने ‘प्रकोप पुँजीवाद’ वा ‘चरम नवउदारवाद र सक  थेरापी (shock therapy) को बोलबाला हुन सक्छ, जसमा विदेशी स्वार्थहरू पूर्ण रूपमा हावि हुन्छन् । स्पष्ट छ,  धेरै कुरा  बाह्य वित्तीय सहयोग कस्तो  प्रकृतिको हो, त्यसमा भरपर्छ  र,  यो कसरी सम्पूर्ण अर्थव्यवस्थासँग एकीकृत भएको छ, त्यसमा निर्भर गर्छ । उदाहरणकालागि, गरिब देशहरूलाई प्रस्ताव गरिएका धेरै प्रकारका बाह्य ऋणले  उनीहरू  ऋणको पासोमा पर्ने जोखिम हुन्छ । साथै त्यसले मुख्यतया  राष्ट्रिय हितको सट्टा विदेशीको हित गर्ने परियोजनाहरूको सेवा गर्छ ।

प्रमुख पुँजीवादी अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरू र धेरै कर्पोरेट समूहहरूले प्रवद्र्धन गरेको प्राकृतिक पुँजीको वित्तीयकरण महत्वपूर्ण प्राकृतिक स्रोतहरू भएको गरिब देशका निम्ति भ्रामक छ; यो ती देशको सार्वभौम नियन्त्रण हटाउने उद्देश्यले निर्देशित हुन्छ । यसैले समुत्थानशक्ति (resilience) लाई प्रवर्धन गर्ने र देशको ‘प्राकृतिक पुँजी’ को दिगो प्रयोगको कुरा गर्ने यी समूहहरूले गर्ने प्रस्ताव वास्तवमा दिगोपनाका नाममा भविष्य बेच्ने कुरा सरह हो । यसकारण सबै कुरा समग्र जनताका लागि के अत्यावश्यक छ भन्ने कुरामा केन्द्रित आन्तरिक शासन र योजनाको सामर्थ्यमा निर्भर गर्दछ । यो सामुदायिक सङ्गठन, लोकप्रिय सहभागिता, जनपरिचालन, भुइँतहबाट उठेको राजनीतिक कार्यकर्ताहरूको विकासमा आधारित हुन्छ । यसैले  विदेशी पुँजी सम्बन्धित भ्रष्टाचारबाट आफूलाई चौतर्फी रूपले  रक्षा  गर्नु आवश्यक हुन्छ । सम्भव भएसम्म नेपालले अन्य समाजवादी वा समाजवादोन्मुख राज्यहरूको आत्मनिर्भरतासम्बन्धी सकारात्मक उपलब्धि हरूबाट पाठ लिन खोज्नुपर्दछ ।

५. जापानी मार्क्सवादी कोहेए साइतो (Kohei Saito) ले हालका वर्षहरूमा ‘अवृद्धि साम्यवाद’ (degrowth communism) को विचारलाई सशक्त रूपले वकालत गरेका छन्  तर यस लक्ष्यमा पुर्याउने सम्भावित मार्गहरू भने स्पष्ट गर्दैनन् । साइतोको  प्रस्तावप्रति तपार्इंको आलोचना के हो र वैश्विक दक्षिणका देशहरूका लागि त्यसको अर्थ के हुन सक्छ?

फोस्टरः साइतो  एक अग्रणी  पर्या–समाजवादी (ecosocialist) चिन्तक हुन्, जसको ‘कार्ल मार्क्सको पर्या–समाजवाद’ (Karl Marx’s Ecosocialism, 2016) कृतिले मार्क्सको  ‘ मेटाबोलिक फाटो’(metabolic rift) को शास्त्रीय सिद्धान्तको हाम्रो बुझाइमा ठुलो योगदान पुर्यायो । त्यो पुस्तकमा उनले माक्र्सको विचार  ‘प्रमिथिअनिज्म’ वा ‘चरम उत्पादकत्व’ द्वारा प्रभावित थियो भन्ने धारणालाई कडा रूपमा अस्वीकार गरे । तीमध्ये धेरैजसो पौल बर्केटको ‘मार्क्स र प्रकृति’ (Marx and Nature, 1999), मेरो ‘मार्क्सको मेटाबोलिक रिफ्टको सिद्धान्त’ (Marx’s Theory of Metabolic Rift, 1999) र ‘मार्क्सको पर्यावरण’ (Marx’s Ecology, 2000) मा हामीले गरेको तर्कसँग मिल्दोजुल्दो थियो ।

यद्यपि, साइतोको हालसालैका पुस्तकहरू, जसमा उनका जापानमा सर्वाधिक बिक्री भएको, ‘क्यापिटल इन  एन्थ्रोपोसिन’ (Capital in Anthropocene, 2020) र ‘मार्क्स इन एन्थ्रोपोसिन’ (Marx in Anthropocene, 2022)  दुबैमा उनी  पहिलेको  कार्ल मार्क्सको पर्यासमाजवादको  व्याख्याबाट  नितान्त अलग दिशातर्फ मोडिए । यी नयाँ कृतिहरूमा साइतोले मार्क्सको ‘क्यापिटल’ भाग एक १८६७ मा  प्रकाशित भएपछिको  एक वर्षपछि  १८६८ मै  मार्क्सको विचारमा एक ज्ञानमीमांसीय मोड (epistemological break) आएको  पत्ता लगाएको दाबी गरे । माक्र्सले आफ्ना अन्तिम वर्षहरूमा  मात्रै  पहिलेको  ‘प्रमिथियिनिज्म’ लाई परित्याग गरेको दाबी गरेर साइतोले यस बारेको आफ्नै पूर्व  विश्लेषणलाई नै  उल्ट्याए । साइतोका अनुसार  त्यो परित्याग गरेको बिन्दुसम्म प्रोमिथियनिज्मले माक्र्सका विचारलाई प्रभावित गर्दै आएको थियो र त्यसै परिवर्तनको  परिणामस्वरूप माक्र्सले उत्पादक शक्तिहरूको विकासको विचारलाई धेरै हदसम्म त्यागे र त्यसको सट्टा  ‘अवृद्धि साम्यवाद (degrowth communism) को’ पक्ष लिए ।

मार्क्स आफ्नो अन्तिम दशकमा डिग्रोथ कम्युनिज्मको पक्षपाती थिए भन्ने बहसका लागि साइतोको सम्पूर्ण तर्क मुख्य रूपमा मार्क्सका दुई कृतिहरूमा अडेको  छः उनको १८७५ को गोथा कार्यक्रमको आलोचना  र १८८१ को भेरा जासुलिचलाई लेखिएको पत्र (पत्रको मस्यौदा सहित) । यी पाण्डुलिपिहरूले अझ दिगो भविष्यको सम्भावनालाई औंल्याउँछन् भन्ने विचारहरू पक्कै नयाँ हैनन् । पर्या–समाजवादीहरूले  लामो समयदेखि गोथा कार्यक्रमको आलोचना र जासुलिचलाई लेखेको पत्र र त्यसका मस्यौदाहरूमा प्रतिविम्बित विचारहरूलाई मन्थ्ली रिभ्युको अक्टोबर २००५ को लेखमा बर्केटले ‘दिगो मानव विकासबारे मार्क्सको दूरदृष्टि’–(Marx’s Vision of Sustainable Human Development) भनेर व्याख्या गरेका छन् ।

साइतोको विशिष्ट प्रस्तावना गोथा कार्यक्रमको आलोचना र जासुलिचलाई लेखेको पत्र र मस्यौदामा मार्क्सको विचारमा आइरहेको परिवर्तन उनको  दिगो मानव विकासको अवधारणा बारेको परिपक्वता  मात्र नभएर अवृद्धि साम्यवाद तिरैको मार्क्सको सङ्केत हो भन्ने  थियो तर  मार्क्सले अवृद्धि भन्न सकिने कुनै कुराबारे तर्कसम्मत रूपले वकालत गरेको ठोस प्रमाण नभेटिएकाले साइतोले मार्क्सको चिन्तनमा पहिलेको प्रमिथियनिज्म (यूरोसेन्ट्रिज्म) १८६७ को क्यापिटलको प्रकाशन सम्मका मार्क्सका सबै प्रमुख कृतिहरूमा थियो भन्ने तर्क गर्न थाले र त्यसपछि आएको परिवर्तन आफैमा एउटा नयाँ, अवृद्धि साम्यवादको अवधारणाको विकासका लागि ज्ञान मीमांसीय मोड थियो  भने । यस परिप्रेक्ष्यमा यो विडम्बना नै हो कि साइतोले  केही वर्षअघि मात्र ‘कार्ल मार्क्सको पर्या–समाजवाद’ मा आफैले निकालेको मुख्य निष्कर्षको खण्डन गर्न बाध्य हुन पुगे । त्यसमा चरम उत्पादकवादको अर्थमा दिग्भ्रमित आलोचकहरूद्वारा मार्क्सलाई  प्रमिथियन चिन्तक करार गर्दै ‘मार्क्सको विचारमाथि गरिएको’ त्यो चारित्रीकरण पूर्ण रूपमा गलत प्रक्षेपण थियो भन्ने निष्कर्ष उनले निकालेका थिए । यी सबै कमजोरीहरू बाहेक, साइतोको उन्नाइसौं शताब्दीको मार्क्स बारेको दृष्टिकोण आधारभूत रूपले अऐतिहासिक छ । मार्क्स औद्योगिक क्रान्तिको मध्यावधिमा लेखिरहेका थिए । अठारौं  शताब्दीमा औद्योगिक क्रान्ति र १९७० को पहिलो पृथ्वी दिवसको बिचमा  विश्वको औद्योगिक उत्पादन सम्भावना १,७३० गुणाले बढेको थियो ।

हामी आज त्यस्तो समयमा बाँचिरहेका छौँ,  जसलाई सही अर्थमा पूर्ण विश्व अर्थव्यवस्था  भनिएको छ । यो विश्व अर्थतन्त्रको केन्द्रमा धनी, पुँजीवादी र साम्राज्यवादी राष्ट्रहरूका  प्रतिव्यक्ति पर्यावरणीय पदचिह्नहरू छन्, जुन पृथ्वी प्रणालीले धान्नसक्ने भन्दा बढी छ । यो व्यवस्थामा  मानवताको सुरक्षित घरको रूपमा रहेको यो  सम्पूर्ण ग्रह अब खतरामा  छ । फलस्वरूप, एक्काइसौं शताब्दीमा विश्व अर्थतन्त्रका  धनी क्षेत्रहरूमा  खुद  कार्बन उत्सर्जनलाई शुन्यमा झार्न ुका  साथै मानवताको बाँच्ने आधार सुनिश्चित गर्ने  हो भने अवृद्धि एक आवश्यकता भएको छ ।  भनिरहनु नपर्ला, माक्र्सले आफ्नो समयमा सामना गरेको परिस्थितिभन्दा यो निकै फरक रहेको विषय हो  ।

मन्थ्ली रिभ्यु (२०२३  जुलाई–अगस्त) को ‘योजनाबद्ध अवृद्धि ः इकोसोसिलिज्म र दिगो मानव विकास’ शीर्षकको विशेषाङ्कमा हामीले विश्व अर्थतन्त्रको धनाढ्य केन्द्रका देशहरूका सम्बन्धमा अवृद्धिलाई समाजवादी तरिकाले  क्रियात्मक बनाउने सम्भावनाबारे विमर्श गरेका थियौँ । यसको प्रयोजन आर्थिक, पर्यावरणीय र सामाजिक योजनालाई यस्तो प्राथमिकता दिने थियो, जसले सामाजिक मेटाबोलिजम र प्रकृतिको विश्वव्यापी मेटाबोलिजम बिच हुनुपर्ने तादात्म्यतालाई वास्तविकतामा परिणत गर्न सकियोस् । यसको प्रमुख कुरा भनेको प्रगतिको मुख्य सूचकका रूपमा कूल गार्हस्थ उत्पादनको परित्याग गर्नु तथा  सारभूत  समानता र  पर्यावरणीय दिगोपनाका समाजवादी सिद्धान्तहरूमा आधारित आधारभूत आवश्यकताहरूको पूर्तिमा जोड दिनु थियो । अवृद्धि विशेषाङ्कका विभिन्न लेखकहरूले यो प्राप्त गर्न क्रान्तिकारी स्तरको रूपान्तरण र वर्तमान राजनीतिकआर्थिक प्रणालीबाट माथि उठेर  मात्र सकिने तर्क गरेका छन् ।

अवृद्धिको सिद्धान्त ऐतिहासिक हिसाबले  एक सार्वभौम विषय  होइन तर यो एक्काइसौं शताब्दीको परिप्रेक्ष्यमा  विशेषगरी विश्व व्यवस्था भित्रको अतिविकसित अर्थतन्त्रसँग सम्बन्धित छ । वर्तमान शताब्दीमा एक समग्र समाजवादी पर्यावरणीय दृष्टिकोणले साम्राज्यवादी विश्व प्रणालीको परिणामस्वरूप वैश्विक उत्तर र वैश्विक दक्षिणलाई विभाजित गर्ने विभिन्न अवस्थाहरूको लेखाजोखा गर्नुपर्छ । यस सन्दर्भमा हाम्रो समयमा विश्व अर्थतन्त्रका धनी क्षेत्रहरूमा आवश्यक योजनाबद्ध अवृद्धिलाई माक्र्सको दिगो मानव विकासको व्यापक सिद्धान्तका अधिनस्थ राखेर हेर्नुपर्छ । आज वैश्विक दक्षिणका गरिब क्षेत्रहरूमा समस्या अतिविकासको होइन, यसले पर्या–विकासको रूप लिन आवश्यक भए पनि समस्या अल्पविकासको हो । साइतोको डिग्रोथ कम्युनिज्मसम्बन्धी विश्लेषणको असल पक्ष यसले आफूले यी प्रश्नहरू हाम्रा अगाडि सोझै  राख्न सक्नु हो ।

६. चिनियाँ विकास योजनाहरूले लक्ष्य प्राप्तिका लागि आजकाल ‘पर्यावरणीय सभ्यता’ को आह्वान गर्ने गरेका छन् यद्यपि यस्तो सभ्यताका मुख्य विशेषताहरू बारे स्पष्टता निकै कम छ । पर्यावरणीय सभ्यताको बारेमा तपार्इंको बुझाइ के हो र  तपाईंका विचारमा त्यस्तो अवधारणा अन्य विकासोन्मुख देशहरूका लागि उपयोगी हुन सक्छ कि सक्दैन ?

फोस्टर : चीनमा विशेष प्रकारले विकसित भएको पर्यावरणीय सभ्यताको धारणा महत्वपूर्ण हुनाका पछाडि यसले  पुँजीवादबाट समाजवादमा सङ्क्रमणको ऐतिहासिक–भौतिकवादी अवधारणालाई समेट्नु रहेको छ । यहाँ मार्क्स र एङ्गेल्सको शास्त्रीय पर्यावरणीय विश्लेषणकै अनुरूप दिगो मानव विकास पूर्णविकसित (mature) समाजवादको प्रयोजन बन्छ । यस्तो दृष्टिकोण उत्पादनको प्रक्रियाका हिसाबले पुँजीवादको पूर्णतः  विपरीत छ ।

पर्यावरणीय सभ्यताको धारणा सोभियत सङ्घका अन्तिम दशकहरूबाट पहिल्याउन सकिन्छ,  जुनबेला  दार्शनिक र वैज्ञानिकहरूले मार्क्स शास्त्रीय पर्यावरणीय आलोचनामा आधारित अवधारणालाई अघि बढाए । यसलाई तुरुन्तै  चिनियाँ विद्वानहरूले ग्रहण गरे र यो चिनियाँ विशेषताहरू सहितको समाजवादी दृष्टिको एक  केन्द्रीय  तत्व बन्यो । यहाँ चिनियाँ सिद्धान्तकारहरूले पुरानो ग्रिक भौतिकवादमा जरा भएको माक्र्सेली पर्यावरण तथा प्राचीन ताओवाद र कन्फ्युसियसवादमा सन्निहित जैविक प्रकृतिवादको मेलबाट उत्प्रेरणा लिए । चीनमा पर्यावरणीय सभ्यताको अवधारणा सी जिन पिङ्गको विश्लेषणमा उच्चतम रूपले विकसित भएको छ, जसमा यो पूर्णविकसित समाजवादी समाजतर्फ अग्रसर विकासक्रमलाई  परिभाषित गर्ने तत्व हो भनेर किटान गरिएको छ । 

यसले दिगो समाजवादी समाजतर्फको प्राथमिकताको प्रतिनिधित्व गर्ने एउटा त्यस्तो आन्दोलनलाई पनि समावेश गर्छ, जसले सरल, मध्यम, हरित र न्यून कार्बन जीवन शैलीलाई प्रोत्साहित गर्छ र विलासी र अत्यधिक उपभोगको विरोध गर्छ । सौन्दर्य मूल्यहरू समाहित एउटा ‘सुन्दर चीनको परिकल्पना’ हो, पर्यावरणीय सभ्यता । सीले यसलाई मानवता र प्रकृतिको मेललाई प्रवद्र्धन गर्ने कुनै उपाय फेला पारिएन भने हुन सक्ने गम्भीर परिणाम बारेको एङ्गेल्सको ‘प्रकृतिको बदला’ को चेतावनीसँग पनि जोड्छन् । पर्यावरणीय सभ्यतालाई यसै अनुरूप स्थापित गर्न  चिनियाँ योजनाभित्र लगभग प्रत्येक क्षेत्रमा ठोस कदमहरू समेत समाविष्ट गरिएका छन् । हुनत यथार्थको धरातलमा धेरै अन्तरविरोधहरू छन् भन्ने प्रस्ट नै छ, र पूर्णविकसित  समाजवादको पर्यावरणी सभ्यताको लक्ष्य प्राप्त  हुनेछ वा छैन हामीलाई थाहा छैन तर यसमा कुनै शङ्का छैन कि चिनियाँ कम्युनिस्ट पार्टीले त्यो हासिल गर्न ठुलो प्रयास गरिरहेको छ । यसले  मुख्यतया कागजमा  मात्र  प्रस्तावित हुने ‘हरित नयाँ अनुबन्ध’ (Green New Deal) को पश्चिमी धारणा भन्दा धेरै माथि उठेर  पर्यावरणको क्रान्तिकारी दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । पर्यावरणीय  सभ्यता स्थापना गर्नकालागि चिनियाँ अवधारणा र प्रयत्न आज विश्वमा दिगो पर्यावरणीय विकासका लागि एउटा प्रमुख आशा लाग्दो प्रयत्न बनेको छ ।

७. पर्या–समाजवाद (Ecosocialism) शब्दावलीले आजकाल धेरैको ध्यान आकर्षित गरेको छ । तपाईंका विचारमा के विश्वव्यापी समाजवादी आन्दोलनहरू, विशेष गरी वैश्विक दक्षिणमा, यस अवधारणाको पछाडि उभिएलान् ?

फोस्टर: ‘पर्यावरणीय समाजवाद’ शब्दावली विगत केही दशकहरूमा विभिन्न प्रकारका परियोजनाहरूबाट उदय हुँदै  भिन्नभिन्न रूपमा देखापर्यो । केही चिन्तकहरूले पर्या–समाजवादलाई सोभियत मार्काको ‘वास्तविक अस्तित्वको समाजवाद’ (actually existing socialism) को अन्तर्निहित आलोचनाका रूपमा हेरे, जसलाई  प्रभुत्वशाली  सञ्चारमाध्यमले पर्यावरणीय कोणबाट ‘पुँजीवाद भन्दा धेरै विनाशकारी’ भनेर चित्रण गरेका  थिए तर त्यो  गलत थियो भनेर हामीलाई अहिले थाह छ (यसका लागि  विशेषगरी  साल्भाटोर एन्जल–डी माउरोको Socialist states and the Environment नामक उल्लेखनीय पुस्तक हेर्न अनुरोध गर्दछु) । अन्य चिन्तकहरूले पर्या–समाजवादलाई समाजवादभित्र पर्यावरणीय विषयवस्तुहरूको पुनः प्राप्ति तथा विस्तार गर्ने र आवश्यक वातावरणीय परिवर्तनलाई परम्परागत श्रमजीवी वर्गको सरोकारसँग जोड्ने आन्दोलन निर्माण गर्ने उपायका रूपमा हेरेका छन् ।

चीनमा पर्या–समाजवाद भन्दा बढी क्रान्तिकारी र स्पष्ट रूपमा मार्क्सवादी दृष्टिकोणलाई प्रतिविम्बित गर्ने पर्यावरणीय मार्क्सवादको धारणाले प्राथमिकता पाएको छ । सबै पर्यासमाजवादी विश्लेषणहरूलाई मार्क्सले प्रभावित गरेका छन्, र मार्क्सको मेटाबोलिक रिफ्टको सिद्धान्तमा सन्निहित पर्यावरणीय आलोचनाको आलोकमा विश्वव्यापी रूपमा समाजवादी र पर्यावरणीय आन्दोलनहरूमा फैलिँदै गएको यो विश्लेषण अझ बढी स्पष्ट भएको छ । मेरा दृष्टिमा, पर्या–समाजवादले  समाजवादलाई विस्थापन गर्ला भन्ने सोच गलत हुनेछ ।

बरु सरोकार, प्राथमिकता  र अनुसन्धान  मार्गका दृष्टिले  पर्यासमाजवाद, समाजवादको व्यापक  क्षेत्रभित्र  एउटा आन्दोलनका रूपमा  विकसित  हुँदै गएको  छ । यो सामाजिक पुनरुत्पादनका मुद्दाहरूसँग जोडिएको छ र नारीवादी सङ्घर्षहरूमा विशेष महत्वका साथ उठाइएको छ । त्यसैले यो मूलतः समाजवाद र मानव स्वतन्त्रताका लागि व्यापकतम सङ्घर्षको पुनःखोजका बारेमा हो ।

अन्ततोगत्वा, यस्तो सङ्घर्ष समाजवादका लागि नै हो र यो सारभूत समानता र पर्यावरणीय दिगोपना (sustainability) दुबैै समेटिएको माक्र्स एङ्गेल्सको शास्त्रीय दृष्टिकोणको  समग्र  समझदारी कै निकट रहेको छ । यदि अहिलेको मानव केन्द्रित (Anthropocene) युगमा मानवजातिले अस्तित्व रक्षा  र  समृद्धि प्राप्त गर्ने हो भने त्यो माक्र्सले भनेको जस्तो ‘मानव पुस्ताको शृङ्खला’को भविष्यका लागि साझा सरोकारबाट अनुप्राणित वातावरणीय सर्वहारा (Environment Proletariat) को  विकासको माध्यमबाट हुनेछ । यसले  श्रम÷ सामाजिक पुनरुत्पादन र वातावरणको अधिकार–क्षेत्रमा एकै साथ आबद्ध भएर काम गर्नेछ तथा हरेक क्षेत्र भित्रका  शोषित र सीमान्तकृत जनसमुदायलाई एक अर्काको नजिक ल्याउनेछ ।

८. नेपाली क्रान्तिको ज्वार उठेका बेला मन्थ्ली रिभ्युले ह्यारी म्याग्डोफका पुस्तकहरूको सम्पूर्ण सङ्ग्रह नेपालका वामपन्थीहरूलाई पठाएको थियो, जुन अहिले‘ ह्यारी म्याग्डोफ मेमोरियल लाइब्रेरी बनेको छ । नेपाली पाठकहरूका लागि उनको सम्झनामा र उनीबारे केही भन्न चाहनुहुन्छ ?

फोस्टर : ह्यारी म्याग्डोफ (१९१३–२००६) बिसौं शताब्दीका एक महान् अर्थशास्त्री, मार्क्सवादी सिद्धान्तकार, र साम्राज्यवादका आलोचकहरू मध्ये एक थिए । उनको जीवनको पूर्ण जानकारीका लागि ‘हृदयको आशावादिता’ (optimism of the heart) लेख हेर्नुहोला, जुन मैले मन्थ्ली रिभ्युको अक्टोबर २००६ को अङ्कका लागि लेखेको थिएँ । रूसी–यहुदी आप्रवासीहरूका छोरा, उनको जन्म अगस्त २१, १९१३ मा न्युयोर्कको ब्रोंक्समा भएको थियो । उनी सिटी कलेजका विद्यार्थी छँदै  निकै कम उमेरमै  मार्क्सवादी भए र १९३० को दशकको सुरुमा नेसनल स्टुडेन्ट रिभ्युका सम्पादक भए । उनले १९३६ मा न्युयोर्क विश्वविद्यालयको ‘स्कुल अफ कमर्स’मा अर्थशास्त्रमा डिग्री प्राप्त गरे र महामन्दी (great depresion) का समयमा उनलाई राष्ट्रपति फ्रेंक्लिन रुजवेल्टको ‘नयाँ अनुबन्ध’ (new deal) अन्तर्गतको कार्य  प्रगति प्रशासन (Work Progress Administration) मा नियुक्त गरिएको थियो । WPA मा हुँदा उनले उत्पादकत्व मापन गर्ने विधि विकास गरे, जुन अझै संयुक्त राज्य अमेरिकाको श्रम विभागले प्रयोग गरिरहेको  छ ।

दोस्रो विश्वयुद्धको दौरान उनले राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा काम गरे, जहाँ उनले ‘नागरिक आवश्यकता प्रभाग’को जिम्मेवारी पाएका थिए, जुन ‘सैन्य आवश्यकता प्रभाग’सँग नजिकैबाट जोडिएको थियो । लगत्तै उनी युद्धकालीन उत्पादन बोर्डमा पदासिन भए, जहाँ उनले युद्धकालको आर्थिक योजना निर्माणमा अग्रणी भूमिका खेले ।  १९४४ मा युद्ध समाप्तितिर लाग्दै गर्दा उनी संयुक्त राज्य सरकारको वाणिज्य विभागको वर्तमान व्यापार विश्लेषण प्रभागको प्रमुख अर्थशास्त्री बने,  जसको जिम्मेवारी ‘समसामयिक व्यवसाय  सर्वेक्षण’को प्रकाशन गर्नुथियो । १९४६  मा उनी संयुक्त राज्य अमेरिकाका पूर्व उपराष्ट्रपति र त्यसपछि वाणिज्य सचिव बनेका हेनरी वालेसको विशेष सहायक भए ।

शीतयुद्धको आगमनसँगै मेकार्थी कालको वामपन्थीहरूप्रति लक्ष्यित ‘संग्दिग्ध व्यक्तिहरूको तलाश’ (witch hunt) मा  म्याग्डोफलाई कालो सूचीमा राखिएको थियो । उनले एकताका वीमाका क्षेत्रमा पनि काम गरे र त्यसपछि एउटा फर्ममा रसेल  र रसेलको  सह–मालिक भए र बजारमा अनुपलब्ध विद्वत् पुस्तकहरूको पुनः प्रकाशनमा लागे, जसमध्ये डब्ल्यू. ई. दु ब्योइसको अमेरिकामा काला जातिको पुनर्निर्माण जस्ता धेरै आमूल परिवर्तनकारी किताबहरू थिए । त्यो कम्पनी अन्ततः एथेनियम बुक्सले किन्यो, जसले उनलाई केही हदसम्म  वित्तीय स्वतन्त्रता  प्रदान ग¥यो । उनले ‘न्यु स्कुल फर सोसल रिसर्च’मा केही समयका लागि प्राध्यापन गरे । उनी लामो समयदेखि ‘ मन्थ्ली रिभ्यु  सँगको सहकार्य मा थिए र १९६८ मा मार्क्सवादी अर्थशास्त्री पौल एम स्विजीसँगै पत्रिकाको स्थापना गरेका लियो ह्युबरम्यानको मृत्यु भए पछि म्याग्डोफ यस म्यागजिनको सह–सम्पादक बनेर सामेल भए, जुन पदीय जिम्मेवारी २००६ मा उनको मृत्यु नहोउन्जेलसम्म उनले निर्वाह गरी नै रहे ।

म्याग्डोफ साम्राज्यवादको आर्थिक विश्लेषणका लागि सुपरिचित छन्, जसमा उनको साम्राज्यवादको युगः साम्राज्यवादी अमेरिकाको अर्थशास्त्र (The Age of Imperialism : The Economics of US Imperialism, 1969) जस्ता कृति छन्, जुन  भियतनाम युद्धका समयमा मिथकको रूपमा रहेको अमेरिकाको ‘भद्र’ अन्तर्राष्ट्रिय आर्थिक नीतिको तेजोबध गर्ने महत्वपूर्ण कार्यहरूमध्ये एक थियो । र, अर्को हो, उनको साम्राज्यवादः औपनिवेशिक युगदेखि वर्तमान सम्म (Imperialism from the Colonial Age to the present) । ठोस, ऐतिहासिक र तथ्यगत र अनुभवजन्य विशेषताले गर्दा उनका कृतिहरूले साम्राज्यवादबारे लेखिएका साहित्यहरूमा अलग्गै पहिचान बनाए किनभने उनी प्रायः गरिने अमूर्त विश्लेषणमा भर पर्दैनथे । उनले साम्राज्यवादको इतिहास बारे ‘१७६३ देखिको युरोपियन विस्तार’ (European Expansion since 1763) शीर्षकको लेख विश्वकोश ब्रिटानिकाको पन्ध्रौं संस्करण (1974) का लागि लेखे, यद्यपि संयुक्त राज्य अमेरिकालाई सम्बोधन गरेको उनको यस लेखको पछिल्लो भाग (भियतनाम युद्ध बारेको अंश समेत) उक्त  इन्साइक्लोपीडियाको पछिल्ला संस्करणमा सेन्सरसिपका कारण  हटाइएको वा बदलिएको  थियो ।

साम्राज्यवादमाथिका आफ्ना लेखहरूका अतिरिक्त म्याग्डोफ अग्रवर्ती (advanced) एकाधिकार पुँजीवादका एक प्रमुख विश्लेषक थिए, जसले स्वीजीसँग मिलेर अमेरिकी अर्थतन्त्रको आर्थिक गतिरोध (stagnation) र वित्तीयकरणको विश्लेषण विकसित गरेका थिए, जुन अध्यावधि आधुनिक आर्थिक सङ्कटको प्रवृत्तिलाई बुझ्न निकै महत्वपूर्ण छ । अमेरिकी आर्थिक तथ्याङ्कको उनको असाधारण समझले गर्दा उनको धेरैजसो विश्लेषणले विकसित पुँजीवादी अर्थतन्त्रलाई गाँजेको गतिरोध–वित्तीयकरणको धराप (stagnation financialization trap) को गहिरो अनुभवजन्य–ऐतिहासिक सैद्धान्तिक आलोचनाको रूप लियो र बुझ्न सकिने गरी रेखाङ्कन  गर्यो । प्रायः मन्थ्ली रिभ्युमा प्रकाशित यी लेखहरू सबै म्याग्डोफ र स्वीजीद्वारा सहलिखित एउटा शृङ्खलाबद्ध पथप्रदर्शक  पुस्तकहरू बने—अमेरिकी पुँजीवादको गतिशीलता (The Dynamics of US Capitalism, 1972), समृद्धिको अन्त्य (The End of Prosperity, 1977), अमेरिकी पुँजीवादको गहिरिँदो सङ्कट (The Deepening Crisis of US Capitalism, 1981),  गतिरोध र वित्तीय सङ्कट (Stagnation and the Financial Crisis, 1987), र अपरिवर्तनीय सङ्कट (The Irreversible Crisis, 1988) । यी त्यस्ता कृतिहरू हुन्, जसले समकालीन मार्क्सवादी वित्तीय सिद्धान्तको जग स्थापित गरे । म्याग्डोफ चिनियाँ क्रान्तिका प्रबल समर्थक थिए । उनले चीनको यात्रा गरे र माओत्सेतुङ्ग कालमा आर्थिक योजना सम्बन्धमा सल्लाह दिए । मन्थ्ली रिभ्यु  प्रेसले यस समयमा विलियम हिन्टनको  फान्सेन (Fanshen) लगायत चिनियाँ क्रान्तिबारे लेखिएका धेरै महत्वपूर्ण कृतिहरू प्रकाशित गर्यो । उनले चीनमा भएका घटनाक्रमहरूलाई नजिकबाट नियाले र आफ्नो जीवनको अन्त्यसम्म यसको महत्व र सम्भावनाहरूबारे लेखिरहे । नेपाली क्रान्ति पनि ह्यारी म्याग्डोफ र मन्थ्ली रिभ्युसँग जोडिएका अन्य व्यक्तिहरूका लागि त्यसरी नै अत्यन्त महत्वपूर्ण थियो ।

सन् २००२ को शरद ऋतुमा  ह्यारी, ९० वर्षको उमेर पुग्दा उनका छोरा फ्रेड म्याग्डोफ (जो भर्मोन्टमा एमआरका  प्रमुख सहयोगी पनि थिए) सँग बस्न न्युयोर्कको आफ्नो अपार्टमेन्ट छोडेरजानुपर्ने  भयो । त्यसैले उनको व्यक्तिगत पुस्तकालयलाई के गर्ने भन्ने  प्रश्न उठ्यो । त्यस समयमा एमआरको फराकिलो परिवारका केही सदस्यहरू, जसमा मेरी डेसेन, स्टीफन माइक्सेल (लामो समयदेखि एमआरका लेखक र सहयोगी विलियम के.तब्बका नातेदार) र जोन मेजजस्ता नेपालसँग गहिरो व्यक्तिगत सम्बन्ध राखेका व्यक्तिहरूले नेपाली वामपन्थलाई सहयोग पु¥याउने हेतुले ती पुस्तकहरू नेपाल पठाउन सुझाव दिए ।

म्यागडोफले उत्साहपूर्वक उक्त सल्लाह  स्वीकार गरे । त्यसपछि एमआरमा भएकाहरूद्वारा ती पुस्तकहरूलाई प्याक गरेर  काठमाडौँ पठाइयो । मार्क्सवादी कम्युनिस्ट पुस्तकहरू माथिबाटै  देखियो  भने शाही नेपाल भन्सारले पुस्तकहरू जफत गर्नेछ भन्ने डरले, एमआरमा ती पुस्तकहरू प्याक गर्नेहरूले भन्सार अधिकृतलाई छकाउने योजनाअनुरूप पुस्तकहरूको माथिल्लो तह सबै हिब्रू र यिदिश भाषाका किताबहरूले छोपेका थिए । जे होस् ती किताबहरू आफ्नो लक्ष्यमा पुर्याइन सफल भए । त्यसको दुई दशकपछि हामी मन्थ्ली रिभ्युमा ह्यारी म्याग्डफ मेमोरियल लाइब्रेरीको वर्तमान स्थितिबारे यस्तो स्वागत योग्य समाचार पाउँदा हर्षित छौं ।

यदि वर्तमान समयमा नेपाली विद्वान्हरूले म्याग्डोफको कामको अध्ययन गर्ने विचार गरे भने, स्वीजीको साथ सह–लेखन गरिएको एमआर जनवरी १९८४ को अङ्कमा प्रकाशित उनको लेख ‘तेस्रो विश्व ऋणका दुई अनुहार’ (The two faces of third world debt) र जुलाई–अगस्त २००५ मा एमआरमा प्रकाशित फ्रेड म्याग्डोपÞmसँगको ‘एप्प्रोचिङ्ग सोसलिज्म’ (Approaching Socialism) को अध्ययनबाट सुरु गर्न म सिफारिस गर्छु ।  म्याग्डोफले  पुँजीवाद र साम्राज्यवादले थोपरेको सबैभन्दा गाह्रो अवस्थामा पनि सदैव समाजवादी समानतावादी मार्ग खोजिरहेका थिए भन्ने तपाइँहरूले  सजिलैसँग यी लेखहरू र उनका अन्य सबै कामहरूबाट देख्नुहुनेछ । मन्थ्ली रिभ्युका हामी सबै  सदैव  उनको स्मृतिबाट प्रेरणा लिइरहन्छौ ।

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari