info@bampanththeleft.com

Bampanth The Left

#

मार्क्सवाद, पर्यावरण र विकास : राता चराहरूको दायित्व

 

करिब ३५ वर्षअघि इङ्गलैन्डको लिड्स विश्वविद्यालयमा एकजना प्राध्यापकले भनेका शब्दहरू सम्झिन्छु : ‘मार्क्सवादीहरू हरिया पखेटा भएका राता चराजस्ता हुनुपर्छ’ (Marxists should be like a red bird with green wings)। उनी त्यतिबेला स्वतन्त्रता, निरन्तर क्रान्ति र पर्यावरणको अविच्छिन्न एकताको रूपमा मार्क्सवादकाे व्याख्या गरिरहेका थिए । चरा, रातो र हरियो रङ त्यसका प्रतीकात्मक अभिव्यक्ति थिए । पुँजीवादले कसरी प्रकृतिलाई नष्ट गरिरहेको छ र त्यस प्रक्रियामा मानवजाति आफ्नो विनाश आफैँ गर्नसक्ने प्रजातिका रूपमा विकसित हुँदै इतिहासको चट्टाने भिरबाट खस्ने ठाउँमा कसरी पुगिरहेको छ भन्ने उनको चिन्ता विदेशी विद्यार्थीहरूलाई सुनाइरहेका थिए । विश्व जनमानसलाई सचेत गराई यस दुःखान्तलाई रोक्नसक्ने आशाको किरण मार्क्सवादमा छ भन्ने पनि ती प्राध्यापक बताइरहेका थिए ।

पैंतिस वर्ष अगाडि यी सबै घटनाहरू भइसकेका थिए । सन् १९६२ मा रेच्योल कार्सनको रासायनिक विषादीको दुष्प्रभाव बारेको युगान्तकारी पुस्तक मौन वसन्त (Silent Spring) प्रकाशित भइसकेको थियो । आर्न न्यासले सन् १९७२ मा गहन पर्यावरण (Deep Ecology) बारे बहस सुरु गरिसकेका थिए । मार्क्सवादी चिन्तकहरू पनि यस समस्याको हल मार्क्सवादभित्रै छ कि छैन भनी गहिरिन थालेका थिए । सन् १९८० को दशकमा सोभियत वैज्ञानिक र दार्शनिकहरूले ‘पर्यावरणीय सभ्यता’ बारे बहस सुरु गरे, जसले पछि चीनमा उच्च महत्व प्राप्त गर्यो । बिसौँ शताब्दीको अन्त्यमा अमेरिकामा मन्थ्ली रिभ्यु पत्रिकासँग सम्बन्धित दुई युवा प्राध्यापकहरू जोन बेलामी फोस्टर र पौल बर्केटले यसबारे मार्क्सका विचारहरूको पुनःभ्रमण गरे, प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्ध बारेको मार्क्सका विचारको खोजी गरे । पुँजीवादले प्राकृतिक प्रणाली र सामाजिक जीवनबिच पुर्नै नसकिने गरी सिर्जना गर्ने ‘मेटाबोलिक फाटो वा असन्तुलन’ (Metabolic Rift) को मार्क्सवादी अवधारणाबारे फोस्टरले विशद व्याख्या गरी समाजवादी चिन्तनलाई पर्यावरणीय चिन्तनसँग छुट्याउन नसकिने विचार स्थापित गरे । फोस्टर अहिले मन्थ्ली रिभ्यु पत्रिकाका सम्पादक छन् र उनीसँग लिएको अन्तर्वार्ता वामपन्थको यो विशेषाङ्क ‘मार्क्सवाद, पर्यावरण र विकास’को विशेष आकर्षण रहेको छ ।

प्रकृतिको निर्मम शोषण गर्ने आर्थिक विकासको विश्वव्यापी होडबाट उत्पन्न परिवेशमा जलवायु सङ्कट र एन्थ्रोपोसिन (Anthropocene) युगको चर्चा व्याप्त हुँदा आज ती शब्दहरू आफ्ना सम्पूर्ण ओजका साथ स्मृतिमा उपस्थित भएका छन् । एन्थ्रोपोसिन युग त्यस्तो एउटा मानवकेन्द्रित, मानवकै इच्छाअनुसार परिभाषित हुने भौगर्भिक युग हो, जहाँ आफ्नो विनाशको प्रमुख कारण पनि मानव आफै बन्छ (स्टिनर, सन् २०२०) । एन्थ्रोपोसिन युग कति बेलादेखि सुरु भयो भन्नेमा ववाद भए पनि आम सहमति सोह्राैं शताब्दीदेखिको औद्योगिक क्रान्तिजन्य पुँजीवादबाट सुरु भएर बिसौँ शताब्दीको मध्यदेखि तीव्र गति लिएको हो भन्ने छ । मानवसमाजले दुईवटा विश्वयुद्धको विभीषिका, आणविक नरसंहार, रासायनिक मल र विषादीको प्रयोगले पृथ्वी र प्रकृतिलाई पुर्याइरहेको क्षति हुँदै जलवायु, जैविक वातावरण, जमिनका पत्रहरू र हिमसतहको अन्तर्यमा भएको भू–रासायनिक परिवर्तनमा ती गतिविधिहरू प्रस्ट अनुभव गरेका प्रमाणहरूका आधारमा उक्त समयको किटान गरिएको हो ।

पुँजीवादले गरेको पर्यावरणको विनाशले स्वयम् मानवजातिको अस्तित्व खतरामा पुगेको कुरा यस अङ्कका सबैजसो लेखमा उल्लेख छ । पीताम्बर शर्माको अग्रलेख ‘मार्क्सवाद र पर्यावरणीय सङ्कट’ ले यो जटिल विषयलाई सारगर्भित रूपमा प्रस्तुत गरेको छ । दिनेश भुजुको ‘हिमालयलाई गलाउँदै मानवको द्रव्य–तृष्णा’, विमल रेग्मीको ‘पुँजीवाद र कार्बन व्यापारको अर्थ–राजनीति’, सुबोध ढकालको ‘चुरे : विनाश कि संरक्षण’, राजेन्द्रप्रसाद अधिकारीको ‘पर्यावरणीय प्रणालीको आर्थिक योगदान’, प्रमेश पोखरेलको ‘के हो पर्यावरणीय कृषि ?’, प्रशन्न पराजुलीेको ‘क्रान्तिकारी समाधानको खोजीमा पर्यावरण आन्दोलन’ लगायत लेखहरूका शीर्षकले यस अङ्कको मूल विषयमा केन्द्रित हुँदै प्रस्तुत गरेको विविधतापूर्ण सामग्रीको झलक दिन्छन्। रेच्योल कार्सनको पुस्तक मौन वसन्तको एउटा अंश यहाँ साभार गरिएको छ भने जापानका युवा मार्क्सवादी कोहेए साइतोको बहुचर्चित पुस्तक ‘कार्ल मार्क्स इको सोसियोलिजम’ बारेको समीक्षा गरिएको केदार सिटौलाको लेख पनि समावेश गरिएको छ । त्यसैगरी अजर्नेटिनी लेखक जोस सिओएनको जलवायु संकट र पर्या–पुँजीवादी समाधानको असफलता’ शिर्षकको लेख पनि समावेश छ ।

यस अङ्कमा मिरा लामिछानेको ‘पर्यावरण संरक्षणका लागि इपिआरको महत्व’ र तारालाल श्रेष्ठको ‘यो सहर कसको हो ?’ बाट बहस उठाइएको छ । आगामी अङ्कहरूमा त्यस सम्बन्धमा आएका प्रतिक्रिया वा लेखहरूलाई यथोचित स्थान दिइनेछ । राजवको ‘रुखहरूको बिदाइ वार्ता’ कविता महेश मास्के तथा हिमाली दीक्षितले गर्नुभएको अङ्ग्रेजी अनुवादसहित र सुमन पोखरेलको ‘कमैया बस्तीमा’ कविता अभि सुवेदीले गर्नुभएको अङ्ग्रेजी अनुवादसहित यहाँ प्रकाशित गरिएका छन् । यस अङ्कको अर्को आकर्षण एउटै कवितामाथि गरिएको गीता त्रिपाठीको परिमार्जित समीक्षा हो, जुन सुमन पोखरेलको ‘कमैया बस्तीमा’ कविताबारे छ । अहिले भ्रष्टाचारविरोधी सङ्घर्षले नेपाली जनमानस आन्दोलित भइरहेको बेला दीपेन्द्रबहादुर क्षेत्रीको समसामयिक लेखले भ्रष्टाचारका अर्थ–राजनीतिक कारणहरूबारे सचेत बनाउने छ भन्ने विश्वास लिएका छौँ । भारतीय नेपालीभाषी समुदायका समस्याहरुप्रति केन्द्रित विरभद्र कार्कीढोलीको लेखलाई पनि यहाँ समावेश गरेका छौं ।

पैंतिस वर्षअगाडि ती प्राध्यापकले मार्क्सवादप्रति आस्था व्यक्त गरिरहँदा अर्को एउटा महत्वपूर्ण घटना पनि देखिएको थियो । सन् १९४५ मा हिरोसिमा र नागासाकीमा अणुबम प्रहार भएको दुई वर्षपछि अल्बर्ट आइन्स्टाइन र लियो जिलार्डको नेतृत्वमा आणविक वैज्ञानिकहरूले ‘बुलेटिन अफ एटोमिक साइन्टिस्ट’ स्थापना गरेका थिए, जसको उद्देश्य थियो, सर्वसाधारणलाई आणविक विनाशको खतराबारे सावधान गराउनु । उनीहरूले ‘महाप्रलय घडी’ (Dooms Day Clock) स्थापना गरे र ‘मध्यरात’ अर्थात् मानवजातिको र प्रकृतिको आणविक विनाशको क्षण आइपुग्नु १७ मिनेटअघि घडीको सुईलाई राखे । जतिबेला आणविक युद्धको खतरा बढ्थ्यो, घडीको सुई मध्यरातको नजिक आउँथ्यो । जति खतरा टर्थ्याे, त्यति सुई टाढा जान्थ्यो । सन् १९५३ मा अमेरिका र रुस दुवैले हाइड्रोजन बम परीक्षण गरिसकेपछि घडीको सुई मध्यरातको सबैभन्दा नजिक (२ मिनट मात्रै टाढा) आइपुगेको अवस्था थियो ।

त्यतिबेलाका निराशाहरू र मानवजातिकै अन्त्य हुनसक्ने सम्भाव्य दुर्घटनाका परिप्रेक्ष्यमा जीवनको आशावादिता विद्यार्थीहरूमा सञ्चार गरिरहेका लिड्स विश्वविद्यालयका ती प्राध्यापकका शब्दहरू आज झन् सान्दर्भिक भएका छन् । अहिले, सन् २०२३ मा त्यस घडीको सुई नजिक सरेर मध्यरातदेखि ९० सेकेन्ड मात्रै टाढा छ । जलवायु सङ्कटप्रतिको उदासीनता, आणविक सन्धि–सम्झौताहरू भङ्ग हुनु, रुस–युक्रेन युद्घले जन्माएको आणविक युद्घको खतरा, चीन र पश्चिमेली मुलुकबिचको तनाव आदिको समग्रतामा घडीको सुई यति नजिक आएको हो । यो नयाँ परिस्थितिमा ‘हरिया पखेटा भएका रातो चरा’ जस्ता मार्क्सवादीहरूकै काँधमा उनीहरूको वैश्विक प्रयत्नबाट घडीको सुईलाई फर्काउने र जीवनको आशावादितालाई अक्षुण्ण राख्ने अभिभारा आइपुगेको छ । हरेक देशबाट त्यस प्रयत्नको थालनी हुनु आवश्यक छ किनकि पर्यावरणीय चेतनाबिना अब समाजवादी गन्तव्यतर्फको यात्रा सम्भव त छैन नै, पुँजीवादको विकल्पबिना ब्रह्माण्डमा जीवनको उत्पति र रक्षा गर्ने हाम्रो एक्लो ग्रह– पृथ्वीको अस्तित्व रक्षा पनि सम्भव छैन ।

वामपन्थ[THE LEFT] मा प्रकाशित विचारहरूका लागि लेखक स्वयम् जिम्मेवार रहने छन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीयमार्फत् सम्प्रेषण हुनेछ । पहिलो विशेषाङ्क ‘मार्क्सवाद र नेपाली कम्युनिस्ट आन्दोलन’ र दोस्रो विशेषाङ्क ‘मार्क्सवाद र संसदीय लोकतन्त्र’ र तेस्रो विशेषाङ्क ‘भूराजनीतिक प्रतिद्वन्द्विता र नेपाल’ ले पाठकहरूको न्यानो स्वागत र माया पाएझैँ, चौथो र पाचौं संयुक्त विशेषाङ्क ‘मार्क्सवाद, पर्यावरण र विकास’ लाई पनि रुचिसाथ ग्रहण गर्ने आशा राखेका छौँ । साथै, आफ्नो प्रतिक्रिया पठाएर पत्रिकालाई अझ समृद्ध र त्रुटिरहित पार्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि राखेका छौँ ।

महेश मास्के
प्रधान सम्पादक

 

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari