गाजाका बालबालिकाहरूलाई चिठी

- क्रिस हेजेस
प्रिय बालक ! अहिले मध्यरात बितिसकेको छ । म अँध्याराेमा प्रतिघण्टा सयौं माइलको गतिमा एटलान्टिक महासागरको हजाराैं फिटमाथि उडिरहेको छु । म इजिप्टको यात्रा गर्दै छु । म गाजाको सीमाना राफाहमा जाने छु । म तिम्रो कारणले जाँदै छु ।
तिमीले कहिल्यै हवाईजहाज चढेका छैनौ । तिमीले कहिल्यै गाजा छोडेको छैनौ । तिमीलाई घनारूपले खचाखच भरिएका सडक र गल्लीहरू मात्रै थाह छ । कङ्क्रिटका छाप्राहरू । सैनिकहरूद्वारा गाजालाई चारैतिरबाट घेरेको सुरक्षा अवराेध र गस्ती गरिएको पर्खालहरू मात्र तिमीलाई थाह छ । हवाईजहाजहरू, तिम्रा लागि डरलाग्दा छन् । लडाकु विमानहरू आक्रमण हेलिकप्टरहरू, ड्रोनहरू । यिनीहरू तिमीमाथि घुमिरहे छन् । तिनीहरूले मिसाइलहरू र बमहरू खसाल्छन् । गगनभेदी विस्फोट ! कम्पित जमिन ! भवनहरू ढल्छन् ! चिहान बनेकाहरू ! चिच्याहटहरू ! ढलानको मुनिबाट सहायताका लागि अस्पष्ट आवाज आउँछ । यो राेकिँदैन रात र दिन । भत्किएको ढलानको थुप्रोमुनि फसेका छन्, तिम्रा खेल्ने साथीहरू, तिम्रा स्कुलका साथीहरू । तिम्रा छिमेकीहरू क्षणभरमै मृत्युको मुखमा पुगे । खनेर बाहिर निकाल्दा उनीहरूका फुस्रा अनुहार र बेज्यान शरीरहरू देख्छौ । म एक पत्रकार हुँ । यो हेर्नु मेराे काम हो । तिमी त एक बालक हौ । तिमीले यस्ताे कहिल्यै देख्नु हुँदैन ।
मृत्युको दुर्गन्ध । टुटेफुटेको ढलानमुनि सडेका लासहरू । तिमी आफ्नो सास राेक्छौ । तिमीले आफ्नो मुख कपडाले छोप्छौ । तिमी फटाफट हिँड्छौ । तिम्रो टोल एक चिहान बन्छ । तिमीलाई थाहा भएका सबै कुरा हराउँछन् । तिमी छक्क परेर हेरिरहन्छौ । तिमी कहाँ छौ भनेर सोच्छौ ।
तिमी भयभित हुन्छौ । विस्फोटपछि विस्फोट । तिमी रुन्छौ । तिमी तिम्रा आमाबुवासँग लिपटिन्छौ । तिमी आफ्नो कान ढाक्छौ । तिमी मिसाइलको चम्किलाे प्रकाश देख्छौ र विस्फोटका लागि पर्खन्छौ । उनीहरूले बच्चाहरूलाई किन मार्छन् ? तिमीले के गर्यौ र ? किन कसैले तिम्रो रक्षा गर्न सक्दैनन् । के तिमीलाई चोट लाग्ने छन् ? के तिमीले एउटा खुट्टा वा एउटा हात गुमाउँने छौ ? के तिमी अन्धो हुन्छौ वा ह्वीलचेयरमा हुन्छौ ? तिमी किन जन्मिएका हौ ? के यो कुनै राम्रो कुराको लागि थियो ? वा यो यसको लागि थियो – के तिमी हुर्किन्छौ ? के तिमी खुसी हुने छौ ? तिम्रो साथीहरू नभएकोमा कस्तो हुने छ ? अब को मर्छ ? तिम्रो आमा, तिम्रो बुवा, तिम्रा भाइबहिनीहरू तिमीले चिनेको कोही घाइते हुनेछ । शायद छिटै नै । तिमीले चिनेको कोही मर्ने छ । सायद छिटै नै । “अँध्याराे रातको समयमा तिमी चिसो सिमेन्टको भुइँमा सुत्छौ । फोनहरू काटिएका छन् । इन्टरनेट बन्द छ । तिमीलाई थाहा छैन के भइरहेको छ । त्यहाँ प्रकाशको चमक छ । त्यहाँ विस्फोटका लहरहरू छन् । चिच्याहट छाएको छ । यो राेकिँदैन ।
जब तिम्रा बुवाआमा खाना वा पानीको खोजमा भौतारिनुहुन्छ, तिमी पर्खिरहन्छौ । तिम्रो पेटमा हुने त्यो भयानक अनुभूति । के उहाँहरू फर्कनु हुनेछ ? के तिमी उहाँहरूलाई फेरि भेट्ने छौ ? र , के अब तिम्रो सानो घर अर्को शिकार बन्छ ? के तिमीमाथि बम खस्नेछन् ? के पृथ्वीमा तिम्रो यो अन्तिम क्षण हो ?
तिमी नुनिलो , फोहोर पानी पिउँछौ । यसले तिमीलाई धेरै बिरामी पार्छ । तिम्रो पेट दुख्छ । तिमी भोकै छौ । बेकरीहरू नष्ट भएका छन् । त्यहाँ ब्रेडहरू छैनन् । तिमी दिनको एक छाक खान्छौ । पास्ता, एउटा काँक्रो, चाँडै यो नै भोज जस्तो लाग्ने छ ।
तिमी पुराना लुगाहरूहरूबाट बनाइएको फुटबल खेल्दैनौ । तिमी पुरानो पत्रिकाहरूबाट बनाइएको आफ्नो चङ्गा उडाउदै नौ ।
तिमीले विदेशी पत्रकारहरू देखेका छौ । हामी प्रेस शब्द लेखिएको फ्ल्याक ज्याकेट लगाउँछौँ । हामीसँग हेल्मेटहरू छन् । हामीसँग क्यामेराहरू छन् । हामी जिप चलाउँछौँ । हामी बम विस्फोट वा गोली हानाहानपछि देखापर्छौं । हामी लामो समयसम्म कफी खाँदै र वयस्कहरूसँग कुरा गर्छौं । त्यसपछि हामी गायब हुन्छौं । हामी सामान्यतया बच्चाहरूको अन्तर्वार्ता लिँदैनौँ तर तब मैले अन्तर्वार्ता लिएको छु, जब हाम्रो वरिपरि तिमीहरूको समूहको भिड जम्मा हुन्छ । हाँस्दै । इसारा गर्दै । हामीलाई तिमीहरूको तस्बिर खिच्न आग्रह गर्दै ।
मलाई गाजामा जेट विमानले बमबारी गरेको थियो । तिम्रो जन्म हुनुअघि भएका अरू युद्धहरूमा पनि ममाथि बम प्रहार भएको छ । म पनि धेरै धेरै डराएको थिएँ । म अहिले पनि त्यसका बारेमा सपनाहरू देख्छु । जब म गाजाका तस्बिरहरू देख्छु, तब यी युद्धहरू मेघ र चट्याङ गर्जेको जसरी मेराे सम्झनामा फर्कन्छन् । म तिम्रो बारेमा सोच्छु ।
हामी सबै जो युद्धमा गएका छौं, धेरै जसोले युद्धले बच्चाहरूलाई के गर्छ भन्ने कुराले गर्दा युद्धलाई घृणा गर्छन् ।
मैले तिम्रो कथा सुनाउन खोजेँ । मैले संसारलाई भन्न खोजेँ कि जब तपाईं मानिसहरूप्रति क्रूर हुनुहुन्छ, हप्तौँहप्ता, महिनौँ महिना, वर्षौवर्ष, दशकौँ दशक, जब तपाईं मानिसहरूलाई स्वतन्त्रता र गरिमाबाट वञ्चित गर्नुहुन्छ, जब तपाईं उनीहरूलाई अपमानित गर्नुहुन्छ र खुला जेलमा फसाउनुहुन्छ, जब तपाईं तिनीहरूलाई जनावर जसरी मार्नुहुन्छ, तब तिनीहरू अत्यन्त क्रोधित हुन्छन् । तिनीहरूलाई अरूले जे गरेका थिए, तिनीहरूले पनि अरूलाई त्यही गर्छन् । मैले यो पटक पटक भनेको थिएँ । मैले यो कुरा सात वर्षसम्म भनेको थिएँ । थोरैले मात्र सुने । र , अब यो …!
धेरै साहसी प्यालेस्टिनी पत्रकारहरू छन् । यो बम विष्फोट सुरु भएपछि ३९ जनाको मृत्यु भइसकेको छ । उनीहरू नायकहरू हुन् । तिम्रा अस्पतालहरूमा चिकित्सकहरू र नर्सहरू पनि हिराे हुन् । संयुक्त राष्ट्रसङ्घका कामदार हरू पनि हिराे हुन्, जसमध्ये करिब एक सय जना मारिएका छन् । एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी पनि हिराे हुन् । उद्धार पक्षहरू पनि हुन्, जसले आफ्नै हातले सिमेन्टको स्ल्याबहरू उठाउँछन् । तिमीहरूलाई बमहरूबाट बचाउने आमा बावुहरू पनि हिराे हुन् ।
तर हामी त्यहाँ छैनौं । यस पटक छैनाैं । हामीभित्र पस्न सकेनौँ । हामीलाई बाहिर राखेर ढोका थुनिएको छ ।
विश्वभरका पत्रकारहरू राफाहको सीमा नाकामा गइरहेका छन् । हामी जाँदै छौं किनभने हामी यो हत्या हेर्न सक्दैनौं र केही पनि गर्न सक्दैनौं । हामी जाँदै छौं किनभने सयौं मानिसहरू प्रतिदिन मरिरहेका छन्, जसमा १०० भन्दा बढी बच्चाहरू पनि छन् । हामी जाँदै छौं किनभने यो नरसंहार राेकिनु पर्छ । हामी जाँदै छौं किनभने हाम्रा बच्चाहरू छन्, तिमीजस्तै । बहुमूल्य । निर्दोष । माया गरिएका । हामी जाँदै छौं किनभने तिमी बाँच भन्ने हामी चाहन्छौं ।
मलाई आशा छ कि एक दिन हामी भेट्ने छौं । तिमी एक वयस्क हुने छौ । म एक बूढो मान्छे हुने छु, यद्यपि तिम्रा निम्ति म अहिले नै धेरै बुढो भइसकेको छु । मेराे सपनामा म तिमीलाई स्वतन्त्र, सुरक्षित र आनन्दित पाउने छु । कसैले पनि तिमीलाई मार्न खोज्ने छैनन् । मानिसहरूले भरिएको हवाईजहाजमा तिमी उड्ने छौ , बमले भरिएकामा होइन । तिमी एक कन्सन्ट्रेसन क्याम्पमा फस्ने छैनौ । तिमीले संसार देख्नेछौ । तिमी हुर्किनेछौ र बच्चाहरू जन्माउनेछौ । तिमी बुढो हुनेछौ । तिमीले यो पीडा सम्झिनेछौ तर तिमीले थाह पाउनेछौ कि यसको अर्थ तिमीले अरू दुःख भोगिरहेकाहरूलाई मदत गर्नुपर्छ । यो मेराे आशा हो । मेराे प्रार्थना ।
हामीले तिमीलाई निराश बनाएका छौँ । यो हामीले झेलिरहेको भयानक अपराधबोध हो । हामीले प्रयास गर्यौ तर हामीले पर्याप्त प्रयास गरेनौं । हामी राफाह जान्छौं । हामी धेरै जना । रिपोर्टरहरू । हामी गाजाको सीमाबाहिर विराेधमा उभिने छौं । हामी लेख्छौं र फिल्म बनाउनेछौँ । हामीले यही गर्ने गर्छौं । यो धेरै त होइन । तर यो केही हो । हामी तिम्रो कथा फेरि सुनाउनेछौं ।
तिमीसँग क्षमा माग्ने अधिकार आर्जन गर्न सायद यति पर्याप्त हुने छ कि !
(क्रिस हेजेस पुलित्जर पुरस्कारबाट सम्मानित पत्रकार हुनुहुन्छ । उहाँले ‘द न्युयोर्क टाइम्स’का लागि पन्ध्र वर्ष विदेश मामला संवाददाताका रूपमा काम गर्नुभएको थियो । सो अवधिमा उहाँले पत्रिकाको मध्यपूर्व ब्युरो प्रमुख र बाल्कन ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले यसअघि ‘द डलास मर्निङ न्युज’, ‘द क्रिस्चियन साइन्स मनिटर ’ र एनपीआरका लागि विदेशमा बसेर काम गर्नु भएको थियो । हाल उहाँ ‘क्रिस हेजेज रिपोर्ट शो’का प्रस्तोता हुनुहुन्छ ।
हार्वर्ड डिभिनिटी स्कुलबाट मास्टर अफ डिभिनिटी सम्पन्न गर्नुभएका हेजेस ‘अमेरिकी फासिस्टः द क्रिस्चियन राइट एन्ड द वार अन अमेरिका’, ‘एम्पायर अफ इल्युजन : द एन्ड अफ लिटरेसी एन्ड द ट्राइम्फ अफ स्पेक्टेकल’ जस्ता बेस्ट सेलर पुस्तकका लेखक हुनुहुन्छ ।)


जवाफ लेख्नुहोस्