info@bampanththeleft.com

Bampanth The Left

#

पर्यावरण, पुँजी र भाइरस

  • राजेन्द्र खरेल

विकासशील देशहरूमा श्रमशक्ति, जमिन र अन्य स्रोतहरू विकसित पुँजीवादी देशहरूमा भन्दा सस्तोमा पाउन सकिन्छ । यही कारण बहुराष्ट्रिय कम्पनीहरूले विकासशील देशहरूमा कृषि र पशुपालनको क्षेत्रमा ठुलो लगानी भित्र्याएका छन् । खुकुलो सरकारी नियमन, सरकारी संस्थानहरूको निजीकरण, राष्ट्रिय उद्योग र व्यवसायलार्ई दिइने अनुदानको खारेजी, निर्यात करको कटौती जस्ता सर्तहरू चढेर बहुराष्ट्रिय कम्पनीहरू विकासशील देशहरूका गाउँहरूमा भित्रिएका छन् । तिनीहरूले मासु र अण्डाको बजारको ठुलो भाग नियन्त्रणमा लिएका छन् । संसारमा खपत हुने ७४ प्रतिशत कुखुराको मासु, ६८ प्रतिशत अण्डा र ४० प्रतिशत सुँगुरको मासु बहुराष्ट्रिय कम्पनीहरूले आपूर्ति गर्छन् । (लिभेरानी र अन्य, २०१३) । यो आलेख मानव स्वास्थ्यमा भाइरसको सङ्क्रमण र प्रसार गराउनमा तिनै बहुराष्ट्रिय कृषि कम्पनीहरूको भूमिकाका बारेमा केन्द्रित हुनेछ ।

सन् १९४० देखि सन् २००४ का बिचमा मानव स्वास्थ्यलार्ई हमला गर्ने करिब तीन सय नयाँ रोगहरूको पहिचान भएको छ । तीमध्ये करिब ६० प्रतिशत रोगहरू जङ्गली जनावरहरूबाट मान्छेमा सरेका भाइरसहरूका कारणले उत्पन्न भएका हुन् (वालेस र अन्य, २०२०) । जनावरहरूबाट मान्छेमा सङ्क्रमण हुने भाइरसद्वारा उत्पन्न हुने रोगहरूलार्ई ‘जुनोटिक रोग’ भनिन्छ । भाइरसहरूलार्ई जङ्गलबाट सहरसम्म ल्याउने काम बहुराष्ट्रिय कृषि कम्पनीहरूले गरिरहेका छन् । बर्ड फ्लु, स्वाइन फ्लु, सार्स, मर्स, इबोला, निपा आदि भाइरसहरूको मानव स्वास्थ्यमा प्रसार गराउन बहुराष्ट्रिय कृषि कम्पनीहरूको भूमिका देखिएको छ ।

वन्यजन्तुहरूमा विभिन्न प्रकारका भाइरसहरू पाइन्छन् । अर्काे शब्दमा वन्यजन्तुहरू विभिन्न प्रजातिका भाइरसहरूका वासस्थल हुन्छन् । जुन प्राणीहरूमा भाइरस रहन्छन्, ती प्राणीहरूलार्ई आश्रयदाता (Hosts) भनिन्छ । सबै आश्रयदाता जन्तुहरूलार्ई भाइरसले बिरामी बनाउँछन् भन्ने हुँदैन । सामान्यतया आफ्नै शरीरमा भएका भाइरसहरूले तिनलार्ई नोक्सानी गर्दैनन्, तर वन्यजन्तुबाट ती भाइरस घरपालुवा जनावर वा मानिसमा सरे भने तिनले महामारी सिर्जना गर्दछन् ।

बहुराष्ट्रिय कम्पनीहरूले विकासशील देशहरूमा ठुला ठुला कृषि तथा पशुफार्म चलाइरहेका छन् । ती फार्महरूका लागि प्रशस्तै जमिनको आवश्यकता पर्दछ । सार्वजनिक र निजी जमिनको प्रयोगले मात्र नपुगेर कम्पनीहरूले व्यापक वन फँडानी गरेर जमिनको उपभोग गरिरहेका छन् । वन विनाशपछि वन्यजन्तुहरू मासिएका छन् । बाँचेका जन्तुहरू कृषि र पशुफार्महरूको सम्पर्कमा आउन थालेका छन् र वन्यजन्तुबाट भाइरसहरू पालिएका पशुपङ्क्षीहरूमा सरिरहेका छन् । सीमान्त भूमिबाट मासुका लागि निर्यात भएका कुखुरा, हाँस र सुँगुरजस्ता जनावरसँगै भाइरसहरू पानीजहाज चढेर केही दिनमा नै संसारका ठुला ठुला सहरमा छिर्न सक्ने भएका छन् ।
––––––––
वन्यजन्तुबाट भाइरस घरपालुवा जनावर वा मान्छेमा सर्ने प्रक्रियालार्ई स्पेसिज जम्प (Species Jump) अथवा स्पील ओभर (Spill over) भनिन्छ । फेलेसिया किसिङ र उनका सहकर्र्मीहरूले स्पिल ओभर प्रक्रियाका लागि जैविक विविधताको विनाशलार्ई प्रमुख कारण मानेका छन् (किसिङ र अन्य, २०१०) । पर्यावरणमा भाइरस र भाइरसको संभावित होस्टका बिचमा अनेक प्रजातिका भाइरस नसर्ने जीव जन्तुहरू हुन्छन् । त्यही नै जैविक विविधता हो । भाइरस नसर्ने जीव जन्तुहरूले भाइरसलार्ई तिनको होस्टसम्म पुग्नबाट रोकेर राखेका हुन्छन् । यो पर्यावरणमा रहेको सन्तुलनको अवस्था हो । जब भाइरस र सम्भावित होस्टका बिचमा ढाल बनेका जीवजन्तुहरू मासिन थाल्छन्, तब भाइरसले आफ्नो होस्ट जन्तुसम्म सजिलै पहुँच बनाउन सक्छन् । सीमान्त जमिनमा स्रोतको दोहन गरिरहेका बहुराष्ट्रिय निगमहरूले जैविक विविधतालाई ध्वस्त गरिरहेका छन् र होस्टसम्म भाइरसको पहुँचलार्ई सहज बनाइदिएका छन् ।

जैविक विविधता नष्ट हुँदा भाइरसको सम्भावित होस्टको पनि विनाश हुन सक्छ । यस्तो अवस्थामा भाइरस फैलिन सक्तैन । पछिल्लो समयमा मानव स्वास्थ्यमा आक्रमण गरेका भाइरसका होस्टहरू जैविक विविधता विनाशको दौरानमा पनि आफ्नो अस्तित्व जोगाइरहेका प्राणीहरू हुन् । पछिल्ला अध्ययनहरूले देखाएका छन् कि जैविक विविधताको ह्रास हुँदा पनि पश्चिमी नाइल इन्सेफ्लाइटिस, हान्ता भाइरस आदिका होस्टहरूको सङ्ख्या बढेको छ र सँगैसँगै भाइरसहरूको फैलावट र सङ्क्रमण पनि बढेको छ (किसिङ र अन्य, २०१०) ।

बहुराष्ट्रिय कम्पनीहरूले साँघुरो ठाउँमा एउटै प्रजातिका दसौं हजार जनावरहरू पालेका हुन्छन् । यसलार्ई एकल वस्तु उत्पादन प्रणाली (Monoculture) भनिन्छ । यस्तो प्रणालीमा फर्मको कुनै एउटा जनावरमा भाइरसको सङ्क्रमण भयो भने भाइरस तुरुन्तै दसौं हजार जनावरहरूमा सर्न सक्छ । एउटा होस्टबाट त्यहीँ प्रजातिको अर्को होस्टमा भाइरसलार्ई सर्नबाट रोक्ने वा सर्ने प्रक्रियालार्ई ढिलो बनाउने जैविक विविधता बहुराष्ट्रिय पशु फार्महरूमा हुँदैन ।

एकल वस्तु उत्पादन प्रणालीका कारणले गर्दा जनावरमा मात्र होइन, बिरुवामा पनि विभिन्न रोगहरू देखापर्दछन् । धान उत्पादनमा वृद्धि गर्नका लागि ब्रिटिस भारतमा एउटै प्रजातिको मात्र धानखेतीलार्ई प्रोत्साहन गरिएको थियो । यही कारण Cochliobolus miyabeanus नामक फङ्गसले बङ्गालको पुरै धानखेती सखाप पार्यो । सन् १९४३ को बङ्गालको भोकमरीको कारण यसैलार्ई मानिएको छ (एङगरिङ र अन्य, २०१३) ।

बाहिरबाट आयात गरिएका विकासे पशुहरूलार्ई रैथाने पशुपङ्क्षीहरूमा भन्दा छिटो भाइरस सङ्क्रमण हुने सम्भावना हुन्छ । रैथाने पशुपङ्क्षीहरू आफ्नो पर्यावरणमा रहेका भाइरसहरूसँग कैयौँ पुस्तादेखि जुध्दै आइरहेका हुन्छन् । त्यसैले रैथाने पशुपङ्क्षीमा भाइरस प्रतिरोधी जातीय प्रतिरोध क्षमता (Herd Immunity) विकास भएको हुन्छ । एउटाको डिएनए अर्कोको सेलमा प्रत्यारोपण गरी भिन्न गुण उत्पन्न गराएर पैदा गरिएका (Geneticllay Modified) आयातित पशुहरूमा जातीय प्रतिरोध क्षमता हुँदैन । बहुराष्ट्रिय कम्पनीहरूले सीमान्त जमिनहरूमा पालिरहेका यस्ता पशुपङ्क्षीहरू सजिलै भाइरसहरूबाट सङ्क्रमित हुन्छन् ।

कोषीय तहमा जैविक विविधता नष्ट हुँदा भाइरसको उद्विकास र प्रसारमा सहयोग पुग्छ । औद्योगिक पशुफार्मका पशुहरूमा जिवाणु प्रतिरोधक औषधी (Antibiotic) को अत्यधिक प्रयोग गरिन्छ । यस औषधीले पशुको शरीरमा रहेका हानिकारक भाइरसहरूसँगै उपयोगी जीवाणुहरूलाई पनि नष्ट गर्छ । जिवाणु प्रतिरोधक औषधी धेरै प्रयोग गर्दा भाइरसहरूमा औषधीप्रतिकै प्रतिरोधी क्षमता विकास हुन्छ । जियालो भएर भाइरस झन् शक्तिशाली बन्छन् । सन् १९४० देखि २००४ सम्म पहिचान भएका नयाँ रोगहरूमध्ये २० प्रतिशत रोगहरू भाइरसको औषधीप्रति प्रतिरोधात्मक क्षमताको विकासबाट उत्पन्न भएका थिए (किसिङ र अन्य, २०१०) ।

––––––––
आजको समयमा मानव स्वास्थ्यमा चुनौती बनिरहेका केही प्रमुख भाइरसहरूको सङ्क्रमण र प्रसारमा बहुराष्ट्रिय निगम र पुँजीवादी व्यवस्थाको भूमिकाको बारेमा सङ्क्षेपमा चर्चा गरौँ ।

मलेसियाको सुँगुर फार्म र निपा भाइरस
औद्योगिक पशुपालनमा सङ्क्रमण भएर मानव स्वास्थ्यसम्म पहुँच बढाउन सफल भएको भाइरस हो—निपा भाइरस । सन् १९९८ मा निपा भाइरस पहिलो पटक मानिसमा देखिएको थियो । मलेसियामा वन फँडानी गरेर औद्योगिक सुँगुर फार्महरू खोलिएका थिए । सुँगुरको दिशापिसाबलार्ई मलको रूपमा उपयोग गर्दै फार्मको वरिपरि फलफूलका बोटहरू रोपिएका थिए । जङ्गली फलफूलमा आश्रित चमेराहरू वन विनाशपछि फार्मकै फलफूल बोटहरूमा शरण लिन आइपुगे । चमेराहरू निपा भाइरसका आश्रयदाता थिए । चमेराको पिसाबमार्फत् भाइरस सुँगुरसम्म पुग्यो । फार्ममा पालिएका सुँगुरहरू आनुवांशिक रूपमा समान हुने नै भए । हजारौं सुँगुरहरूका बिचमा जैविक विविधता रहेन । भाइरसले ठुलो सङ्ख्यामा सुँगुरहरूलार्ई सहजै सङ्क्रमण गर्न सके । सुँगुरको मासुबाट निपा भाइरस मान्छेको शरीरसम्म पुग्यो र त्यसले महामारीको रूप लियो । (लिभरानी र अन्य, २०१३)

बर्डफ्लू भाइरस
संसारलार्ई बेलाबेलामा तर्साइरहने र दुःख दिइरहने भाइरस हो बर्डफ्लु भाइरस । बर्डफ्लु ग्रसित पङ्क्षीबाट यो भाइरस मानिसहरूमा सर्छ । मासु र अण्डाका लागि पालिएका पङ्क्षीहरूलार्ई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा घरेलु पालनअन्तर्गतका पङ्क्षीहरू र अर्काे औद्योगिक पालनअन्तर्गतका पङ्क्षीहरू । मानिसले हजारौं वर्षदेखि पङ्क्षीहरूको घरेलुपालन गर्दै आएको छ । घरेलु पङ्क्षी पालनबाट मानिसले कुनै ठुलो रोग सामना गर्नुपरेको इतिहास छैन । बर्डफ्लु भाइरस सङ्क्रमणमा औद्योगिक पङ्क्षी पालननै कारक तत्त्वका रूपमा रहेको छ । घरेलु पङ्क्षीहरूमा बर्डफ्लु सर्नुमा पनि औद्योगिक पङ्क्षीपालनकै प्रभाव देखिएको छ । ग्राहम लगायतका अनुसन्धानकर्ताहरूले सन् २००४ मा थाइल्यान्डमा देखिएको ज्छल्ज्ञ महामारीमा घरेलु साना उत्पादकभन्दा बहुराष्ट्रिय पोल्ट्री फार्महरूलार्ई जिम्मेवार ठहराएका छन् । सन् २००३ मा नेदरल्यान्डमा फैलिएको ज्ठल्ठ भाइरसले १७ प्रतिशत औद्योगिक फर्मका पङ्क्षीहरूलार्ई र केवल ०.१ प्रतिशत घरेलु फार्मका पङ्क्षीहरूलाई सङ्क्रमण गरेको थियो (वालेस, २०१६) ।

हामीले आलेखको सुरुको खण्डमा चर्चा गर्यौँ, बहुराष्ट्रिय पोल्ट्री फार्महरू सीमान्त भूमिमा वन विनाश गरेर स्थापना गरिएका छन् । जङ्गली चराहरू पोल्ट्री फार्मको सम्पर्कमा आइरहेका छन् र तिनले फार्ममा पालिएका कुखुरा, हाँस लगायतका पङ्क्षीहरूमा अनेक भाइरसहरू सारिरहेका छन् । साइबेरिया लगायतका उत्तर धु्रवीय ठाउँहरूबाट घुमन्ते चराहरू संसारका विभिन्न भागहरूमा विचरण गर्छन् । घुमन्ते चराहरू अनेक प्रजातिका भाइरसहरू बोकेर उड्छन् । ती घुमन्ते चराहरू औद्योगिक फार्मका पङ्क्षीहरूसँग सम्पर्कमा आइरहेका हुन्छन् । फार्ममा
पङ्क्षीहरूको एकल वस्तु उत्पादन प्रणालीले गर्दा पङ्क्षीहरूको ठुलो सङ्ख्यामा भाइरस सजिलै सङ्क्रमण हुनसक्छ ।

नाफ्टा फ्लु
उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)ले दिएको सुविधा प्रयोग गर्दै अमेरिकी कम्पनीहरूले मेक्सिकोमा ठुल्ठुला पशुफार्म खोलेका छन् । अमेरिकामा पर्यावरणसँग सम्बन्धित कडा कानुनहरू पालना गर्नुपर्छ । तर मेक्सिको लगायतका विकासशील देशहरूमा पर्यावरणसँग सम्बन्धित कानुनहरू खुकुला हुन्छन् । ती देशहरूमा कानुन छल्न पनि सहज छ । कमजोर कानुन र प्रशासनिक संयन्त्रको फाइदा उठाउँदै बहुराष्ट्रिय कम्पनीहरूले मेक्सिको र मेक्सिको जस्ता विकासशील देशहरूका पर्यावरणलार्ई अनियन्त्रित तबरमा दोहन गरिरहेका छन् ।

अमेरिकी कम्पनीहरूले सरकारबाट अनुदानप्राप्त मकै र भट्मास सस्तोमा किनेर मेक्सिकोका फार्महरूमा पालिएका पशुहरूलाई खुवाउन सक्छन् तर त्यो सुविधा मेक्सिकोका स्थानीय कृषकहरूले पाउँदैनन् । स्थानीय कृषकहरूले प्रयोग गर्ने पशुको दाना अमेरिकी कम्पनीहरूले प्रयोग गर्ने दानाभन्दा महङ्गो पर्न जान्छ, जसले गर्दा उत्पादन मूल्य बढी हुन्छ । स्थानीय किसानहरूलाई अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सम्भव हुँदैन । तिनीहरूले कि त आफ्नो फार्म अमेरिकी कम्पनीहरूलाई बेच्न बाध्य हुनुपर्छ, कि त तिनै कम्पनीका पशुहरू करारमा पाल्न विवश हुनुपर्छ । यो मेक्सिकन किसानहरूको मात्र कथा होइन, संसारभरिकै किसानहरू बहुराष्ट्रिय निगमहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा टाट पल्टिरहनुपर्ने साझा विवशता हो ।

सन् १९९४ मा नाफ्टा स्थापना भएकै वर्ष नाफ्टा सम्झैताको सुविधा उपयोग गर्दै स्मिथफिल्ड नामक अमेरिकी कम्पनी मेक्सिको प्रवेश गरेको थियो । धेरै आनुवंशिक अध्ययनले सन् २००९ मा स्वाइन फ्लु (H1N1 flu) फैलाउन स्मिथफिल्डकै भूमिकालार्ई इङ्गित गरेका छन् । जङ्गली जनावरबाट H1N1 भाइरस मेक्सिकोका फार्ममा रहेका सुँगुरहरूमा फैलियो । सुँगुरहरूमार्फत त्यो मान्छेमा सर्यो र महामारीको रूप लियो । स्वाइन फ्लु सर्नुमा नाफ्टा र उसको नीतिलार्ई जिम्मेवार मान्दै वैज्ञानिक रब वालेसले स्वाइन फ्लुलार्ई ‘नाफ्टा फ्लु’ भनेर नामकरण गरेका छन् (वालेस, २०१६) । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा स्वाइन फ्लुले गर्दा सुँगुरको मासुको खपत घटेर सुँगुर उद्योग नै धराशायी हुने कुराले चिन्तित थिए । त्यसैले उनले ‘स्वाइन फ्लु’ भन्ने शब्द प्रयोग नगरी H1N1 महामारी भन्ने शब्द प्रयोग गर्ने गरेका थिए । विश्व स्वास्थ्य सङ्गठन र मिडियाले पनि उनलार्ई साथ दिए । शासकहरू जनताको स्वास्थ्यमा भन्दा बढी बहुराष्ट्रिय निगमको नाफालार्ई लिएर चिन्तित हुन्छन् भन्ने यो एउटा उदाहरण हो (खरेल, २०७८) ।

नवउदारवादको उपहार : इबोला भाइरस
फलफूल र किराहरूमा आश्रित रहेका चमेराहरू इबोला भाइरसका आश्रयदाता हुन् । इबोला भाइरस अफ्रिकी
जङ्गलहरूमा सदियौंदेखि रहिआएको छ । इबोला भाइरस सुडान र मध्य अफ्रिकामा सन् १९७६ मा पहिलो पटक पहिचानमा आएको थियो (भिगि, २०२०) । पछिल्ला वर्षहरूमा यसले महामारीको रूप लिनुमा नवउदारवादी आर्थिक नीतिलार्ई जिम्मेवार मानिन्छ । त्यसैले कतिपय वैज्ञानिक र अर्थशास्त्रीहरूले इबोला भाइरसलार्ई ‘नवउदारवादी भाइरस’ भन्ने गरेका छन् (वालेस, २०१६) ।

अफ्रिकाका सीमान्त जमिनमा बहुराष्ट्रिय कम्पनीहरूको आगमन, आम गरिबी, गृहयुद्ध, आदि कारणले गर्दा मान्छे र इबोला भाइरसको आश्रयदाता चमेराहरूका बिचमा सामीप्य र सम्पर्क बढेको छ । वस्क र स्क्वार्चले भनेजस्तै जैविक र पर्यावरणीय तत्वहरूले जङ्गलहरूमा भाइरसको उत्पत्ति गराउँदछन् तर जङ्गलबाट भाइरसलार्ई कता लैजाने भन्ने कुराको निर्धारण सामाजिक राजनीतिक परिदृश्यले गर्दछ (वस्क र स्क्वार्च, २०१४) ।

इबोलाको केन्द्रको रूपमा रहेको गिनी सभाना क्षेत्रलार्ई विश्व बैङ्कले “संसारमा सबैभन्दा कम प्रयोग भएको कृषियोग्य जमिनको सञ्चिति” भनेको छ (वालेस, २०१६) । बहुराष्ट्रिय कृषि निगमको हातमा उक्त जमिन पुर्याउन सहजीकरण गर्ने नीति विश्व बैङ्कको रहेको छ । बहुराष्ट्रिय कम्पनीहरूले उक्त क्षेत्रमा निर्यातमुखी बालीहरू, जैविक इन्धन उत्पादन गर्नका लागि ताड (Palm tree) को खेती, खानीको उत्खनन आदि गरिरहेका छन् । तिनीहरूले आफ्नो कार्य सञ्चालन गर्न वन विनाश गरिरहेका छन् । वन विनाशसँगै इबोलाका आश्रयदाताहरूको घनत्व बढिरहेको छ । तिनको घनत्व बढ्दा इबोला सङ्क्रमण तीव्र भइरहेको छ । मानिसहरू घना वनमा प्रवेश गर्ने र इबोला भाइरस बोकेका चमेराहरू मानव बस्तीमा पस्ने दर बढेको छ । मान्छे र इबोलाका आश्रयदाताहरूका बिचमा नियमित सम्पर्क बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा भइरहेको इबोला विस्फोटमा ‘फार्म ल्यान्ड अफ गिनी लिमिटेड’ नामक बहुराष्ट्रिय कृषि कम्पनीलार्ई जिम्मेवार मानिएको छ । उक्त कम्पनीले अफ्रिकाको गिनी क्षेत्रमा वन विनाश गरेर कृषि कार्य अगाडि बढाइरहेको छ (भिगी, २०२०) । वस्क र स्क्वार्चका अनुसार नवउदारवादी आर्थिक नीतिअन्तर्गत स्वास्थ्य क्षेत्रमा सरकारी लगानी कटौती र निजीकरणले गर्दा अफ्रिकामा इबोला भाइरसलार्ई थप जटिल र सङ्क्रामक बनाइरहेको छ (वस्क र स्क्वार्च, २०१४) ।

उपनिवेशवादी भाइरस : एच.आई.भी.
यो भाइरसको विस्तारका लागि अफ्रिकामाथिकोे युरोपेली उपनिवेशीकरण जिम्मेवार भएकाले नै एच.आई.भी.–१ भाइरसलार्ई उपनिवेशवादी भाइरस भनिएको हो । अहिलेसम्म एच.आई.भी. भाइरसका कारण विश्वभर ३ करोड ५० लाख मान्छेले ज्यान गुमाएका छन् (म्याक्डो, २०१८) । सन् १९०० को आसपासमा दक्षिण पूर्वी क्यामरुनको घना जङ्गलमा यस भाइरसको उत्पत्ति भएको मानिन्छ (टिम्बर्ग र हल्पेरिन, २०१२) । उत्पत्ति भएको स्थल नजिकै सादा नदी छ, जसको जलमार्ग प्रयोग गरेर कङ्गो नदी पुग्न सकिन्छ । कङ्गो नदीको नजिकै किन्सासा सहर छ, जुन कङ्गोको राजधानी सहर हो । सन् १८८१ मा बेल्जियन उपनिवेशवादीहरूले किन्सासा सहर बनाएका थिए (टिम्बर्ग र हल्पेरिन, २०१२) । बिसौं शताब्दीमा किन्सासा मध्य अफ्रिकाको सबैभन्दा ठुलो सहर बनिसकेको थियो ।

उपनिवेशवादीहरूले हात्तीका दाँत, रबर र अन्य खनिज अफ्रिकाबाट युरोप पुर्याउँथे । ती स्रोतहरू जम्मा गरेर ढुवानी गर्दा ठुलो जनशक्तिको केन्द्रीकरण आवश्यकता पर्दथ्यो । अफ्रिकी जनतामाथि दासत्व थोपरेर उपनिवेशवादीहरूले आफ्नो आवश्यकता पूरा गरे । क्यामरुनको व्यापार रुटबाट हात्तीको दाँत, रबर र खनिजसँगसँगै रोगहरूको पनि ढुवानी हुन थाल्यो । सिफलिस रोग अफ्रिकामा युरोपेलीहरूले ल्याएका हुन् ।

एच.आई.भी. भाइरस चिम्पान्जीबाट मानिसमा सरेको अनुमान गरिन्छ । एच.आई.भी. भाइरस चिम्पान्जीबाट मान्छेमा कहिले स¥यो एकिन छैन तर के कुरा एकिन छ भने उपनिवेशपूर्वको अफ्रिकामा एच.आई.भी. भाइरसले महामारीको स्वरूप प्रदान गर्न असक्षम थियो । त्यसले महामारीको रूप ग्रहण गर्न दुईवटा पूर्वसर्त आवश्यक हुन्छ । पहिलो उच्च जनघनत्व सहितको ठुलो जनसङ्ख्या । दोस्रो, एकभन्दा बढी पार्टनर हुने यौन संस्कृति (टिम्बर्ग र हल्पेरिन, २०१२) । उपनिवेशपूर्वको अफ्रिकामा यी दुबै सर्तहरू पूरा हुन सक्दैनथे । अफ्रिकीहरू यौनको मामिलामा सङ्कीर्ण थिए । श्रीमान् श्रीमतीबाहेक अन्यत्र यौन सम्बन्ध बर्जित थियो । जनसङ्ख्या र घनत्व पनि न्यून थियो ।

उपनिवेशवादीहरूले किन्सासा जस्ता सहरहरू बनाए र आफ्नो व्यापारका लागि बन्दुकको बलमा अफ्रिकी जनताहरूलार्ई सहरहरूमा केन्द्रीकरण गरे, जसका कारण सहरहरूको जनसङ्ख्या र घनत्वमा वृद्धि भयो । तिनीहरूले अफ्रिकामा युरोपेली धर्म र संस्कृति फैलाए । पश्चिमा पुँजीवादी प्रभाव र आधुनिक जीवनशैलीले गर्दा अतिरिक्त वैवाहिक यौन सम्बन्धहरू बढ्न थाले (इगल, २०१२) । सहरीकरण सँगसँगै किन्सासामा देहव्यापार बढ्न थाल्यो । उपनिवेशवादीहरूबाट र स्वयम् स्थानीय पुरुषहरूबाट महिलाहरूमाथि हुने बलात्कारका घटनाहरू बढ्न थाले । किन्सासामा एच.आई.भी. विस्तार हुने सबै पूर्वसर्तहरू पूरा भए । किन्सासालार्ई ग्राउन्ड जिरो बनाएर एच.आई.भी. भाइरसले अफ्रिकाव्यापी रूप लियो । रोगले अफ्रिकामा महामारीको रूप लिए पनि एच.आई.भी.–१ भाइरसले पहिचान प्राप्त गर्न अमेरिका र युरोपको यात्रा गर्नुपर्यो ।

कङ्गोले बेल्जियमबाट स्वतन्त्रता प्राप्त गरेपछि गृहयुद्धको अवस्था सिर्जना भयो । संयुक्त राष्ट्रसङ्घले कङ्गोमा शान्ति स्थापना र प्रशासनिक कार्यमा सहयोग पुर्याउन फ्रेन्च बोल्न जान्ने हाइटियनहरूलार्ई कङ्गो पुर्यायो । हाइटियनहरूले एच.आई.भी. भाइरसलार्ई कङ्गोबाट हाइटीमा ल्याए । हाइटीबाट त्यो अमेरिका पस्यो । वैज्ञानिकहरूले एच.आई.भी. भाइरस सम्भवतः सन् १९६६ मा अफ्रिकाबाट हाइटी आएको अनुमान गरेका छन् (इगल, २०१२) । विश्वस्तरमा एच.आई.भी. भाइरसको विष्फोटन र पहिचान सन् १९८० को दशकमा मात्र भयो ।

––––––––
बहुराष्ट्रिय पुँजी जङ्गली जनावरको औद्योगिक पालन र बिक्रीमा पनि सक्रिय रहेको छ, जसबाट मान्छेमा भाइरस सर्ने अत्यधिक जोखिम हुन्छ । बहुराष्ट्रिय पुँजीले गरेको अर्काे प्रकृतिविरोधी काम भनेको जङ्गली जनावर र घरपालुवा जनावरको जिन मिलाएर हाइब्रिड जनावरको व्यावसायिक उत्पादन र विश्वव्यापी निर्यात हो । हाइब्रिड जनावरहरू र तिनीहरूको मासुबाट पनि भाइरस सर्ने खतरा हुन्छ । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिलार्ई चीनको वुहान सहरमा रहेको जङ्गली जनावरको मासु बेच्ने बजारसँग जोडिएको छ । उक्त बजारमा बेचिएको चमेरा वा अन्य कुनै जङ्गली जनावरको मासुबाट कोरोना भाइरस मान्छेमा सरेको अनुमान गरिएको छ । सन् २००२ देखि २००४ सम्म फैलिएको सार्स महामारीलार्ई पनि चीनको जङ्गली जनावरको मासु बेच्ने बजारसँग जोडिन्छ । सार्स र कोभिड–१९ दुबै महामारी कोरोना प्रजातिका भाइरसबाट उत्पत्ति भएका हुन् । यी भाइरसहरूको उत्पत्ति सुरुमा चमेरामा भएको र कुनै मध्यवर्ती जनावरबाट मान्छेमा सरेको अनुमान गरिएको छ । कोरोना भाइरसबारे थप अध्ययन भइरहेको हुनाले यकिनसाथ अहिले नै धेरै कुरा बताउन सकिने अवस्था छैन ।

बहुराष्ट्रिय निगमहरूले सीमान्त जमिनहरूमा गरिरहेको वन विनाशले गर्दा स्वयम् वन्यजन्तुहरूमा पनि भाइरसको प्रभाव देखिन थालेको छ । वन विनाशले गर्दा वन्यजन्तुको वासस्थान र सङ्ख्यामा गिरावट आइरहेको छ, जसका कारण वन्यजन्तुहरूको जातीय प्रतिरोध क्षमतामा पनि ह्रास आउँदै छ । उदाहरणका लागि सेन्ट्रल मेक्सिकोदेखि अर्जेन्टिनासम्म रहेका विभिन्न प्रजातिका बाँदरहरूमा देखिएको एलोफिभरको सङ्क्रमणलाई लिन सकिन्छ । एलोफिभरसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता ती बाँदरहरूमा हजारौं वर्षदेखि रहिआएको मानिन्छ । पछिल्लो समय कृषि र पशु फार्म सञ्चालनका कारणले भएको पर्यावरणीय विनाश जैविक विविधताको ह्रास, वासस्थानको विनाश, बाँदरहरूको सङ्ख्यामा आएको ह्रास, बाँदरहरूको एकलीकरण आदि कारणहरूले बाँदरहरूको रोग प्रतिरोधी क्षमता नष्ट भएको छ । अर्जेन्टिनाको एटलान्टिक वनमा हलर प्रजातिको बाँदर प्रशस्त पाइन्थ्यो । तर सन् २००८–०९ को Syluatic ylleow Fever को प्रकोपले उक्त प्रजातिको बाँदर त्यस क्षेत्रबाट लोप भयो । सन् २०१७ मा दक्षिण ब्राजिलमा फैलिएको एलो फिभरको प्रकोपबाट पनि हजारौं बाँदरहरूको मृत्यु भयो (ओकलान्डर र अन्य, २०१७) । इबोला भाइरसको कारण पश्चिमी अफ्रिकामा गुरिल्ला र चिम्पान्जीको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ (माक्रर, अन्य, २०१०) ।

प्राक्पुँजीवादी समाजमा पनि भाइरसहरूले मानिसहरूलार्ई दुःख दिन्थे । तर त्यतिबेला भाइरसको प्रकोप स्थानीय स्तरमा सीमित रहन्थ्यो । पुँजीवाद र यसको पछिल्लो स्वरूप भूमण्डलीकरणमा भाइरसहरू पुँजी र मालमै टाँसिएर विश्व स्तरमा फैलन्छन् । न्युयोर्क, पेरिस, लन्डन र हङ्कङ जस्ता सहरहरूका बासिन्दाहरूको आहाराका लागि विश्वका विभिन्न कुनाहरूमा पशुपङ्क्षीहरूको उत्पादन गरिन्छ । पशुपङ्क्षीहरू र तिनीहरूको मासुमार्फत भाइरसहरू संसारका विभिन्न महानगरहरूमा तुरुन्तै पुग्न सक्छन् । रब वालेस लेख्छन्, “भूमण्डलीय पुँजीका प्रमुख स्रोतहरू, न्युयोर्क, लन्डन र हङ्कङ (विभिन्न भाइरसहरूको) तीनवटा सबैभन्दा खराब केन्द्र हटस्पट (Hotspot) हुन्” । (वालेस र अन्य, २०२०) ।
सन् २०००–०१ मा अरेबियन पेनिन्सुलामा प्रकोपका रूपमा देखिएको Rift valley fever को भाइरस अफ्रिकाबाट ज्युँदा जनावर र लामखुट्टेसँगै पानी जहाजबाट प्रवेश गरेको थियो (एङगरिङ र अन्य, २०१३) । सन् २००७ को सुरुवाती समयमा ककस र दक्षिणी रुसमा देखा परेको स्वाइन फिभरको भाइरस दक्षिणी अफ्रिकाबाट जर्जियामा सुँगुरका लागि खुवाउने दानासँगै प्रवेश गरेको थियो (एङगरिङ र अन्य, २०१३) । माछा उत्पादन र वितरणको भूमण्डलीकरणसँगै White Spot Disease एसियाबाट पहिलोपटक मोजाम्बिक प्रवेश गरेको थियो (एङगरिङ र अन्य, २०१३) ।

––––––––
व्यापारिक वन : भेक्टर बर्न रोगको उत्पत्तिस्थल
वन विनाशले मात्र होइन, वृक्षारोपणले पनि भाइरस र रोगहरूको जोखिम बढाउँछ भन्दा अचम्म लाग्न सक्छ । सर्ज मोरन्ड र क्लेयर लजउनेले गरेको पछिल्लो अध्ययनले व्यवसायिक रूपमा भइरहेको वृक्षरोपण र वन विस्तारले भेक्टर बर्न रोगहरू बढाइरहेको तथ्य सार्वजनिक गरेको छ (मोरन्ड र लजउनेइ, २०२१) । रगत चुस्ने किराहरू जस्तै लामखुट्टे, उपियाँ, किर्ना आदिले मानिस र अन्य जनावरहरूमा सङ्क्रमण गराउने रोगहरूलाई ‘भेक्टर बर्न रोग’ भनिन्छ ।

वनजङ्गललार्ई व्यवसायिक रूपान्तरण गर्दा त्यसले पर्यावरणीय प्रणालीलार्ई असर गर्दछ । आजको समयमा वृक्षरोपण गर्दा एउटै प्रजातिको बोट लगाउने प्रचलन छ, जुन एकल बाली प्रणाली हो । यस प्रणालीले पर्यावरणलार्ई फाइदा गर्दैन । व्यावसायिक फाइदाका लागि गरिने वृक्षरोपणमा ती विरुवाहरू मात्र रोपिने गरिएको छ, जुन छिट्टै हुर्किन्छन् र छिट्टै प्रतिफल दिन थाल्छन् । व्यापारिक प्रयोजनका लागि भइरहेका वृक्षरोपण र वन विस्तार प्रकृति र मानव स्वास्थ्य दुबैका लागि प्रतिकूल छन् ।

दक्षिणपूर्वी एसियामा टिक, ताड र रबर जस्ता बोटविरुवाहरूको व्यापारिक खेती भइरहेको छ । तिनै वनहरूबाट दक्षिणपूर्वी एसियामा डेंगु, जिका, चिकनगुन्या जस्ता भेक्टर बर्न रोगहरू फैलिरहेका छन् । डेंगु सङ्क्रमण गर्ने लामखुट्टे तिनै व्यापारिक वनहरूको उत्पादन हो (मोरन्ड र लजउनेइ, २०२१) । मलेरिया रोग सार्ने Anopheles लामखुट्टे ताडको वन (Palm Forest) बाट फैलन्छ । वृक्षरोपण र वन विस्तार प्रकृति र पर्यावरणीय प्रणालीलार्ई थप बलियो बनाउनका लागि हुनुपर्छ । जैविक विविधता र भूधरातललार्ई नष्ट गर्ने तथा नाफालार्ई मात्र केन्द्रमा राखेर गरिने वन विस्तार र वृक्षरोपण अप्राकृतिक हुन्छ । त्यसले मानव स्वास्थ्यलार्ई समेत क्षति गर्दछ भन्ने कुरा पछिल्लो अध्ययनको निष्कर्ष रहेको छ ।

––––––––
भाइरसहरूको मानव स्वास्थ्यमा सङ्क्रमणका लागि आदिवासीलार्ई दोषी ठानिन्छ । आदिवासीको गलत संस्कार र खानपिन भाइरसको मानव स्वास्थ्यमा सङ्क्रमण र विस्तारका लागि जिम्मेवार छ भनेर प्रचार गरिन्छ, तर यथार्थ भने यसको विपरीत छ । पर्यावरणसँग सौहार्द सम्बन्ध बनाएर बसेका आदिवासीमा आफ्नो भूगोलवरिपरिका भाइरससँग बच्न सक्ने रोग कडा प्रतिरोधात्मक शक्ति हुन्छ । सन् १९७० पछि सुरु भएको भूमण्डलीकरणको मारमा सबैभन्दा बढी आदिवासीहरू परेका छन् । बहुराष्ट्रिय कम्पनीहरूको आँखा आदिवासीको जमिन र जमिनमा रहेको बहुमूल्य धातु, खनिज, पानी आदिमा परेको छ । कम्पनीहरूले सस्तो मूल्यमा आदिवासीहरूका घर र जमिन खरिद गरेका छन् । यदि कुनै आदिवासीले आफ्नो भूमि बेच्न मानेन भने सेना, प्रहरी र भाडाका गुन्डा लगाएर तिनीहरूलार्ई आफ्नो थातथलोबाट लखेट्ने काम भएको छ । यो प्रक्रियाबाट करोडौँ आदिवासी किसान सहर छिरेर ज्यालादारी मजदुरमा परिणत भएका छन् । आफ्नो जमिनबाट उठिवास बनाइएका आदिवासीहरू एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका ठुला सहरहरूका झुपडपट्टीहरूमा केन्द्रिकृत भइरहेका छन् । पछिल्ला दशकहरूमा गाउँहरूबाट सहरतर्फ भएको बसाइँ सराइलार्ई जोन बेलामी फोस्टर र सुवान्डी ‘इतिहासकै अभूतपूर्व’ भन्छन् (फोस्टर र सुवान्डी, २०२०) । भाइरस सङ्क्रमणका लागि ज्यादै संवेदनशील भूमिमा अहिले जातीय प्रतिरोध क्षमता भएका आदिवासी बस्दैनन् । त्यहाँ त हजारौँ ब्रोइलर कुखुरा, हाँस, सुँगुरजस्ता कमजोर प्रतिरोधात्मक शक्ति र उच्च सङ्क्रमणको जोखिम भएका जनावरहरू बस्छन् । इम्युनिटी ‘फायर वाल’ का रूपमा रहेका आदिवासीलार्ई सहर लखेटेर सहरको पुँजी गाउँमा पसेपछि हुने के रहेछ त ? एकपछि अर्काे भाइरसको उदय, एकपछि अर्काे महामारी (खरेल, २०७८) !

बहुराष्ट्रिय कम्पनीहरू पशुपङ्क्षी पालिरहेका छन् कि पुँजी पालिरहेका छन् ? अवश्य पनि तिनीहरू पुँजी पालिरहेका छन् । तिनीहरूलाई पशुपङ्क्षीको स्वास्थ्यको होइन, पुँजीको स्वास्थ्यको चिन्ता हुन्छ । तिनीहरूले पुँजीलार्ई स्वस्थ बनाउने तर पशुपङक्षीको स्वास्थ्य र अन्ततः मानव स्वास्थ्यलाई धरासायी बनाउने काम गर्छन् । पुँजीवादी व्यवस्थाले मानव शरीर, जमिन, जनावर र पर्यावरणलार्ई ‘मुफ्तको उपहार’ मान्दछ र नाफा तथा पुँजी सञ्चयका लागि सबै प्राकृतिक र सामाजिक सीमा नाघेर शोषण गर्दछ । प्रकृतिले आफूमाथिको शोषणलार्ई एउटा सीमासम्म सहन्छ, तर जब पुँजीको शोषणले त्यो सीमा पार गर्छ, प्रकृति उल्टो बाटो हिँड्छ । आवधिक रूपमा देखा परिरहेका भाइरस र महामारी यसका दृष्टान्त हुन् । पुँजीवादी आर्थिक क्रियाकलाप प्रकृतिको निर्मम दोहनमा आधारित छन् । यसकारण मार्क्सकाे भनाइअनुसार मानिस र प्रकृतिबिचको सम्बन्धमा तीव्र दरार उत्पन्न भइरहेको छ । सबैखाले प्रकृतिजन्य समस्याको समाधान हामीले आर्थिक प्रणालीमा खोज्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो अर्थतन्त्र र उत्पादन पद्धतिको संरचनागत परिवर्तन गर्नुपर्दछ । पुँजीवाद विरोधी आन्दोलनको आँधीले मात्र यो सम्भव हुनेछ । अन्यथा हामी नयाँ नयाँ भाइरसको प्रकोप झेल्न तयार भइरहनुपर्नेछ ।

सन्दर्भ सामग्री

Bausch D.G. & Schwarz, L. (2014). Outbreak of Ebola virus disease in Guinea: Where ecology meets economy.
PLoS Negl Trop Dis, 8(7).
Eagle, W. (2012). New book blames colonisation for spread of AIDS in Africa. Retived from voanews.com
Engering, A,, et al (2013). Pathogen-host-environment interplay and disease emergence. Emerging Microbes
and Infections, 2(2).
Keesing, F., et al. (2010). Impacts of biodiversity on the emergence and transmission of infectious diseases.
Nature, London.
Liverani, M., et al. (2013). Understanding and managing zoonotic risk in the new livestock industries.
Environmental Health perspectives, 121 (8)
Marques, J. C. B. & David S. D. F. (2010). The role of monkeys, mosquitoes, and humans in the occurence of a
yellow fever outbreak in a fragmented landscape in South Brazil: Protecting howler monkeys is a matter of
public health. Tropical Conservation Science, 3 (1), 78-89.
McDow, T. F. (2018). Origins, A century of HIV. Columbus
Morand, S. & Lajaunie, C. (2021). Outbreaks of vector-borne and zoonotic diseases are associated with changes
in forest cover and oil palm expansion at global scale. Front Vet Sci, 8.
Oklander, L. I. (2017). Genetic structure in the southernmost populations of black-and- gold howler monkeys
(Alouatta Caraya) and its conservation implications. PLoS ONE, 12 (10).
Olivero, J., Fa, J.E., Real, R. et al. Recent loss of closed forests is associated with Ebola virus disease outbreaks.
Sci Rep, 7.
Schneider, M. (2017). Wasting the rural: meat, manure and the politics of agro-industrialization in the
contemporary China. Geoforum, 786, 89-97.
Timberg, C. & Halperin, D. (2012). Colonialism in Africa helped launch the HIV epidemic a century jGo. The
Washington Post.
Vighi, F. (2020). Covid-19 as symptoms: notes on the production of a virus. Monthly Review Magazine, Newyork.
Wallace, R.(2016). Big farms make big flu. Monthly Review Press, Newyork.
Wallace, R., et al. (2020). Covid-19 and circuits of capital. Monthly Review Magazine, Newyork.

खरेल, राजेन्द्र (२०७८). महामारी फैलिनुमा बहुराष्ट्रिय कम्पनी जिम्मेवार . नयाँ पत्रिका, काठमाडौँ ।

(दाङ स्थायी ठेगाना भएका लेखक राजेन्द्र खरेलको कार्यस्थल काठमाडौं हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तार गर्नु भएका खरेल अध्यापन पनि गर्नुहुन्छ । आफ्नो जीवनको उर्जावान् समय विद्यार्थी राजनीति र वाम आन्दोलनमा गुजार्नु भएका उहाँको अध्ययनको रुचि दर्शन, राजनीतिक अर्थशास्त्र, पर्यावरणजस्ता विषयमा रहेको छ । मुनाफाखोर पुँजीवादको अवसादको भुङ्ग्रोमा छटपटाइरहेको प्रकृति र क्षितिजमा देखिएको सङ्कटासन्न मानव अस्तित्वलाई जोगाउने उद्देश्य राखी निरन्तर रूपमा उहाँले राष्ट्रिय दै निकहरूमा लेखहरू लेख्ने र विभिन्न मञ्चहरूमा बहस पैरवी गर्ने काम गरिरहनु भएको छ ।)

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari