info@bampanththeleft.com

Bampanth The Left

#

रुस–युक्रेन गतिरोधको भूराजनीतिक आयाम

-कृष्ण सुनुवार

विश्व इतिहासमा क्षेत्रीय विवाद, वैचारिक मतभेद, स्रोतको व्यवस्थापन, राजनीतिक शक्ति–सङ्घर्ष, धार्मिक द्वन्द्व र आर्थिक स्वार्थसँग युद्धको प्रत्यक्ष सम्बन्ध हुन्छ । राष्ट्रवाद, ऐतिहासिक परिस्थिति र रणनीतिक फाइदाका लागि पनि युद्ध भएका छन् । युद्ध प्रायः धेरै कारकहरू बिचको जटिल अन्तर्क्रियाका परिणाम हुन् , जसमा अप्रत्यक्ष सम्बन्ध सामाजिक, राजनीतिक, आर्थिक, र सांस्कृतिक गतिशीलताहरूसँग हुन्छ । यो देशभित्र वा दुई देशबिचमा पनि हुन सक्छ । त्यसै अनुरूप, रुस–युक्रेन युद्ध एउटा जटिल भूराजनीतिक घटना हो भन्ने पुष्टि भएको छ । यो द्वन्द्वले आकार लिनुमा धेरै कारकहरू समावेश छन्, जसमध्ये चार कारण मुख्य रूपमा लिन सक्छौ ।


रुस र युक्रेन बिचको द्वन्द्वलाई विश्लेषण विभिन्न सैद्धान्तिक दृष्टिकोणहरूबाट गर्न सकिन्छ । यथार्थवादमा आधारि त भएर विश्लेषण गर्दा यस द्वन्द्वलाई सत्ता सङ्घर्ष र भूराजनीतिक स्वार्थको परिणामका रूपमा लिन सकिन्छ । रुसले क्रिमियामाथि कब्जा गर्नु र पूर्वी युक्रेनमा पृथकतावादी आन्दो लनलाई समर्थन गर्नु यस क्षेत्रमा आफ्नो प्रभाव जमाउन र युक्रेनलाई पश्चिमसँग जोडिनबाट रोक्ने प्रयासका रूपमा लिन सकिन्छ ।


पहिचानमा आधारित सिद्धान्तहरुको दृष्टिकोणमा यस द्वन्द्वलाई विश्लेषण गर्दा द्वन्द्वलाई आकार दिन त्यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचानहरुले भूमिका खेलेका छन् । साथै , द्वन्द्वमा दुबै पक्षको राष्ट्रवादी भावनाले पनि उत्तिकै भूमिका खेलेको छ । रुसमा युक्रेनका रुसीभाषीहरुको संरक्षण गर्ने धारणा छ भने युक्रेनमा आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाको चाहना प्रबल छ । युक्रेनभित्रै पनि रुस समर्थक र युक्रेन समर्थक सूमहहरुको विभाजनले पहिचानको आकांक्षालाई प्रतिविम्बित गरिरहेको छ ।


यस्तै , शक्ति सङ्क्रमण (Power Transition) सिद्धान्तका आधारमा यस द्वन्द्वलाई विश्लेषण गरेर रुसले युक्रेनको युरोपेली संघ र नाटो (उत्तर एट्लान्टिक सन्धी संगठन) सँग घनिष्ट सम्बन्ध राख्ने चाहनालाई निस्तेज पार्न खोजेको देखिन्छ ।

Constructivism अर्थात् रचनात्मकता दृष्टिकोणबाट यो युद्ध विचारहरुको टकरावको रुपमा देखिन्छ । यस युद्धमा युक्रेनभित्रका विभिन्न समूहहरुलाई समर्थन गर्ने बाह्य शक्तिहरुको व्यवहारबाट प्रोक्सी युद्धका तत्वहरु देखिएका छन् । जोखिमलाई मध्यनजर गरी आफु प्रत्यक्ष युद्धमा संलग्न नभए पनि बाह्य शक्तिहरुले आफ्नो स्वार्थसिद्ध गर्न विभिन्न समूहहरुलाई समर्थन गरिरहे र युद्धलाई बढाइरहेका छन् ।

रुस र युक्रेनबीचको युद्धलाई विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्न सकिने भएता पनि यसको मूल जरोमा पुग्न ऐतिहासिक दृष्टिकोण अपनाउनु पर्ने हुन्छ । त्यसैले हालको युद्धलाई बुझ्न हामीले कम्तिमा पनि उन्नाइसौं शताब्दीमा पुग्नुपर्ने हुन्छ ।

ऐतिहासिक परिस्थिति
जब मिखाइल गोर्बाचेभ (१९३१–२०२२) ले वाक स्वतन्त्रतालाई खुकुलो पारेपछि सोभियत साम्यवाद विरुद्ध ठुलो आवाज सुनिन थाल्यो । त्यसपछि रुसी र युक्रेनी जनताहरूले एकजुट भएर स्वतन्त्र निर्वाचनलगायत नयाँ राजनीतिक मुद्दाहरू स्थापित गर्न आन्दोलन गरेका थिए । यसै समय रुसी राष्ट्रपति बोरिस यल्तसिनको (१९३१–२००७) प्रशासनले सोभियत सङ्घलाई जोगाउने भन्दा पनि स्वतन्त्र रुसको वकालत गर्यो । जसले गर्दा बोरिस यल्तसिन सैद्धान्तिक रुपमा युक्रेनका तत्कालिन राष्ट्रपति लियोनिद क्रभचुकको राजनीतिक सहयोगीका रूपमा देखापरे । तर यो सहकार्य सोभियत विरासतलाई अस्वीकार गर्ने बेलासम्म मात्र सीमित रह्यो । जब युक्रेनले आफ्नो स्वतन्त्रताको वकालत गर्न थाल्यो , तबदेखि रुस र युक्रेनबीचको दुश्मनी सुरु भयो । रुसले यो (युक्रेन) नयाँ राष्ट्रको उदयसँगै आफ्नो पश्चिमको भूमि अर्थात् सीमा खुम्चने सम्भावना देख्यो, जुन रुस कहिल्यै चाहँदैन ।


क्रिमिया ऐतिहासिक रूपमा सन् १९५४ सम्म रुसकै भाग थियो । त्यसपछि यो भूभागलाई युक्रेनियन सोभियत सोसियलिस्ट रिपब्लिक मातहत ल्याइयो । सोभियत सङ्घको विघटन पछि युक्रेनको केन्द्रीय सरकार र रिपब्लिक अफ क्रिमियाका बिच विवाद सुरु भयो । त्यसपछि क्रिमियालाई अझ बढी स्वायत्तता प्राप्त भयो । तर , सन् २०१४ मा रुसले क्रिमियामाथि पूर्णरूपमा कब्जा गर्यो । यही घटना नै रुस र युक्रेन बिचको युद्धको प्रमुख कारणमध्ये एक हो । यो सँगै डोनबासको युद्ध पनि अर्काे प्रमुख कारण हो । रुसका लागि डोनबास रणनीतिक, राजनीतिक र आर्थिक रूपमा अत्यन्तै महत्वपूर्ण ठाउँ हो ।


माथि उल्लिखित कारणहरू प्राविधिक भए पनि ऐतिहासिक रूपमा रुस र युक्रेन युद्धलाई अटोमन, अस्ट्रो–हंगेरियन, ब्रिटिस, फ्रान्सेली, पोर्चुगिज र यस अघिका अन्य साम्राज्यहरूको विघटन जस्तै रुसी साम्राज्यको विघटनको कथाको अंशका रूपमा हेरिनुपर्ने हुन्छ । तर रुसी राजनीतिक सम्भ्रान्त वर्ग भने यो तितो सत्यलाई स्वीकार गर्न सकिर हे को छै न । यो कुरा उत्तर –साम्राज्यवादी संसार लाई बुझ्न नसक्नु पनि हो , जहाँ राष्ट्रहरूलाई आफ्नो भविष्य आफै रोज्ने अधिकार र हन्छ । रुस जसरी विगतको खोक्रो महानतामा बाँच्न खोज्दै पुनरुत्थानवादलाई प्रेरणाको स्रोत बनाउँदै छ, त्यो आत्मघाती हुन सक्छ, त्यसले नै युक्रेनी राष्ट्रवादलाई इतिहासदेखि नै मलजल गरिरहेका छ ।

ऊर्जाको राजनीति

रुस र युक्रेनबिचको युद्धको एउटा महत्वपूर्ण कडी ऊर्जाको राजनीतिसँग जोडिएको छ । यस युद्धमा अमेरिकाको चासोलाई पनि यसै कडीसँग जोडेर हेर्नु पर्छ । सम्पूर्ण युरोपियन संघका राष्ट्रहरु ठूलो मात्रामा रुसी ऊर्जामा निर्भर थिए । रुसले युक्रेनमाथि हमला सुरु गर्यो । त्यसपछि युरोपियन संघका राष्ट्रहरुले रुस विरुद्ध नाकाबन्दी गरे । सन् २०२१ मा युरोपेली संघका राष्ट्रहरुले १५५ बिलियन क्युबिक मिटर रुसी ग्याँस आयात गरेका थिए । जुन युरोपेली संघका राष्ट्रहरुको कुल ग्याँस आयातको ४५ प्रतिशत हो । युद्ध अघि रुस युरोपेली संघका राष्ट्रहरुको (लगभग १०८.१) कच्चा तेल र पेट्रोलियम उत्पादनहरुको सबैभन्दा ठूलो आपूर्तिकर्ता थियो । यस्तै , सन् २०२१ मा युरोपेली संघका राष्ट्रहरुले ५१.४ मिलियन टन कोइला रुसबाट आयात गरेका थिए । जुन युरोपेली संघका राष्ट्रहरुको कोइला आयातको आधार हिस्सा हो । रुसी इन्धनले युरोपेली संघका राष्ट्रहरुको १८ आणविक भट्टिहरु संचालन गर्न योगदान गर्छ । चेक गणतन्त्रमा ६, हंगेरी र स्लोभाकिया ४–४, फिनल्याण्ड र बुल्गेरियामा २–२ आणविक भट्टिहरु रुसी इन्धनले चल्छन् ।


तर , युरोपेली संघका राष्ट्रहरुले रुस विरुद्ध नाकाबन्दी गरेपछि त्यहाँ अमेरिकन ऊर्जा कम्पनीहरुको बोलाबाला भएको छ । अहिले अमेरिकन कम्पनीहरुले कच्चा तेल, प्रशोधित पदार्थ र तरल प्राकृतिक ग्याँस आपूर्ति गरिरहेका छन् । अमेरिका युरोपेली संघका राष्ट्रहरुलाई रुसी ऊर्जाबाट छुटाउने प्रयासमा केही सफल भएको छ । रुस र युक्रेनको युद्धको अर्काे पाटो भनेको युक्रेनको तेल र ग्याँसहरुको स्रोतमाथि कब्जा गर्ने होड पनि हो । युक्रेनसँग युरोपेली संघका राष्ट्रहरुको ऊर्जा आवश्यकताहरू पूरा गर्नका लागि प्रचुर प्राकृतिक स्रोतहरू छन् । युक्रेनमा लगभग ९०० बिलियन घनमिटर प्राकृतिक ग्याँसको भण्डार रहेको अनुमान गरिएको छ । युक्रेन युरोपमा ग्याँस भण्डार भएको दोस्रो धनी देश हो ।

त्यसैले युरोपेली सङ्घका राष्ट्रहरुले युक्रेनलाई रुसको विकल्पको रुपमा हेरेका छन् । वास्तवमा, विगत १० वर्षमा, युरोपेली संघका राष्ट्रहरुले रुसबाट १ ट्रिलियन युरोको जीवाश्म इन्धन आयात गरेका थिए । उनीहरुलाई एउटा स्थिर र भरपर्दो साझेदार चाहिएको थियो । जुन साझेदार उनीहरुले युक्रेनलाई देखे । यसमा रुसको ठूलो समर्थन हुनुपर्ने देखिन्छ । तर अहिलेसम्म रुसको समर्थन कुनै पनि कोणबाट देखिँदैन । किनकी रुसले अहिले युद्धमा जसरी युक्रेनका पूर्वाधारमाथि आक्रमण गरिरहेको छ । त्यसलाई हेर्दा रुस युक्रेनलाई युरोपेली संघका राष्ट्रहरुको ऊर्जाको स्रोतमा विकल्प भएको देख्न चाहँदैन ।

नाटो विस्तार र रुसको सुरक्षा सरोकार
नाटो (उत्तरी एट्लान्टिक सन्धि सङ्गठन) को पूर्वतर्फ आक्रामक विस्तारले रुसलाई आफ्नो सुरक्षामाथि खतरा मडारिइरहेको भान परेको छ । रुसको यस चिन्ताको रहस्य बुझ्न सन् १९८० को दशकको अन्त्यतिर फर्किनु पर्ने हुन्छ । तत्कालीन अवस्थामा, अमेरिकी र पश्चिमी नेताहरूले सोभियत सङ्घलाई जर्मनीका एकीकरणमा बाधा अड्चन नगरेको खण्डमा नाटोको पूर्वतर्फ विस्तार नगर्ने सुनिश्चित गरेका थिए । यसको कुनै लिखित सम्झौता नभए पनि इतिहासको यस महत्वपूर्ण अवधिसँग सम्बन्धित धेरै दस्तावेज र अभिलेखहरूले यसलाई पुष्टि गरेका छन् । तर त्यो भद्र सहमति अमेरिकाले पालना गरेन । बरु पूर्वमा नाटोको सदस्यताको लागि आन्दोलनको अवस्था सिर्जना गरियो । तत्कालीन सोभियत सङ्घका लागि अमेरिकी राजदूत ज्याक एफ म्याटलकले यो महत्त्वपूर्ण अवधि सन् १९८९– ९० मा गोर्भाचेभलाई औपचारिक सन्धिमा नभए पनि एकताबद्ध हुन तयार जर्मनीलाई नाटोमा रहन सहजीकरण गरे भने नाटोको पूर्व विस्तार कुनै पनि हालतमा हुने छैन भनी आश्वस्त गरिएको थियो भनी स्मरण गरेका छन् तर पूर्वमा नाटोको सदस्यताको लागि घुमाउरो तरिकाले आन्दोलनको अवस्था सिर्जना गरियो । सन् १९९० मा जर्मनीको एकीकरणपछि चौध नयाँ सदस्यहरू थपिएका छन्, जसले नाटोलाई रुसी सीमाना नजिक पुर्यायो ।

रुस (२००५–२००८) का लागि अमेरिकी राजदूत विलियम बन्र्स (जो अहिले संयोगवश राष्ट्रपति बाइडेन प्रशासनको नेतृत्वमा सीआईए निर्देशक छन् सन् १९९७ को जुन महिनामा पूर्वतर्फ नाटो विस्तारको विषयमा चर्को बहस भइरहेका बेला उनीसहित अमेरिकाका पूर्व सिनेटरहरू, सेवानिवृत्त सैनिक अधिकारीहरू, कूटनीतिज्ञहरू र शिक्षाविद्हरू लगायतका पचासभन्दा बढी वरिष्ठ विदेश नीति विशेषज्ञहरू राष्ट्रपति क्लिन्टनलाई पूर्वतर्फको नाटो विस्तार ठुलो रणनीतिक भुल हुने भनी पत्र पठाउनका लागि भेला भएका थिए । यस चेतावनीका बावजुद अमेरिका नाटो विस्तारमा अघि बढ्यो ।


यस्तै सन् २००८ मा तत्कालीन राष्ट्रपति बुसले जर्जिया र युक्रेनलाई नाटो सदस्यताका लागि प्रस्ताव राखे र अर्काे ठुलो तनाव बढाएका थिए । यी दुई देशहरूको सदस्यताको विरोधमा रुस आक्रामक भएको थियो । यसमा पश्चिमी सहयोगी देशहरू मात्र होइन, अमेरिकी गुप्तचर एजेन्सीहरू र वरिष्ठ अधिकारीहरूले पनि आपत्ति जनाएका थिए । यती ठुलो जोखिम हुँदाहुँदै अमेरिकीहरू युक्रेनको नाटो सदस्यताका लागि अर्को आन्दोलन निर्माण गर्न भूमिका खेल्दै युक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप बढाउन थाले । अमेरिकाले युक्रेनको आन्तरिक राजनीतिमा गहिरो घुसपैठ गर्दै सन् २०१४ को युक्रेनी आन्दोलनलाई सहयोग गरी सोही वर्ष निर्वाचित युक्रेनी सरकारलाई ध्वस्त पार्यो । यस परिवर्तनको अर्थ भने नाटो सदस्यताको विरोध गर्ने सरकारको बहिर्गमन भयो र नाटो सदस्यता प्रवर्धन गर्ने सरकार बन्यो । संयुक्त राज्य अमेरिकाले पूर्वी युरोपमा लगभग २५ वर्षदेखि यस्तो जालझेल गर्दै आएको छ । अमेरिकीहरू रुसको सुरक्षा चासोलाई निर्मम रूपमा बेवास्ता गर्दै आएका छन् । यो युद्ध भ्लादिमिर पुटिनको आत्मकेन्द्रित पाइला मात्र होइन, यसले रुसको सम्पूर्ण राजनीतिक विचारलाई प्रतिनिधित्व गर्दछ । रुसको यस चिन्तालाई वर्तमान सीआईए निर्देशक विलियम बन्र्स राम्रोसँग बुझ्दछन् । त्यसैले पनि उनी यस मुद्दामा रुसी सुरक्षा संवेदनशीलताका बारेमा आफ्नो सरकारलाई चेतावनी दिँदै आएका छन् ।

युक्रेनको उपनिवेशवाद विरोधी आन्दोलन

भूराजनीतिक रूपमा युक्रेन सधैँ पश्चिम र पूर्वबिचमा रहेको छ, ग्रिक बाइजान्टिन र पश्चिमी संस्कृतिहरूको संसारलाई अलग गर्ने ऐतिहासिक सीमाको रूपमा पनि आफूलाई उभ्याएको छ, तर बिडम्वना भनौं इतिहासदेखि वर्तमानसम्म युक्रेनको क्षेत्र विदेशी शासनको अधिनमा रहँदै आएको छ । उन्नाइसौ ं शताब्दीको अन्तसम्म युक्रेनीहरूलाई उनीहरूको अहिलेको पहिचानले चिनिँदैन थियो । आधुनिक इतिहास लेखनमा युक्रेनलाई गैर –ऐतिहासिक राष्ट्रहरूको शिविरमा राखिएको छ । यसले मुख्यतया परम्परागत प्रतिनिधि वर्गको अनुपस्थितिका कारणले ऐतिहासिक वैधताको अभाव रहेको सङ्केत गर्दछ । तै पनि तेह्रौ ं र अठारौं शताब्दीको बिचमा अर्ध–स्वतन्त्रताका अवशेषहरू भने पाइन्छन्, जुन छुट्टै युक्रेनी पहिचान निर्माणका लागि महत्वपूर्ण भयो । यसको सुरुवात उन्नाइसौं शताब्दीका युक्रेनीले खकहरूमार्फत आरम्भ गरियो , जसले गर्दा अलग राष्ट्रको आकाङ्क्षा अभिव्यक्त हुन थाले । युक्रेनी राष्ट्र निर्माणको प्रक्रिया एकल जातीय–भाषिक समुदायबाट सुरु भएको थियो , जुनपछि सांस्कृतिक अभिजात वर्गका रूपमा आफूलाई विकास गर्दै राजनीतिक नेतृत्वको दाबी गर्न पुग्यो । यसै प्रक्रियामा अल्पकालीन युक्रेनी जनगणतन्त्र (१९१७–१९२०) को स्थापना हुन पुग्यो तर युक्रेनी स्वतन्त्रता पक्षधरहरूले बोल्सेभिकहरूबाट हार भोगेपछि भने सोभियत सङ्घमा गाभिएको थियो ।


तत्कालका लागि यो हारबाट युक्रेन स्थापना आन्दोलनमा रोक लागे पनि पछि यही पृष्ठभूमिको आधारमा पोलिस, रुसी, अस्ट्रो –हङ्गेरियन र यहुदी समुदायको मिश्रणले एउटा विशिष्ट युक्रेनी सांस्कृतिक पहिचानले जन्म लियो । यसबाहेक सन् १९२० को सोभियत सङ्घले लिएको नीति Korenizatsiia आदिवासीकरणको विचारले पनि ठुलो भूमिका खेल्यो । यो नीति कार्यान्वयनको प्रक्रियामा स्थानीय बुद्धिजीवीहरूलाई सोभियत र युक्रेनी मिश्रित आत्मनिर्भर संस्कृति सिर्जना गर्न अनुमति दिइयो । यो नयाँ सोभियत–युक्रेनी संस्कृति निर्माणका लागि स्थानीय बुद्धिजीवीहरू सशक्त ढङ्गले लागे । र , एउटा नयाँ संस्कृतिको निर्माण भयो ।

साम्यवादको पतनपछि भने पूर्वसोभियत सङ्घका देशहरूले उनीहरूको ऐतिहासिक विगतलाई अस्वीकार गरेको र सांस्कृतिक पहिचानलाई मेटाएको ठहर गरे । यो भनाइलाई स्पष्ट बुझ्न हामीले सोभियत सङ्घले लिएको नीतिलाई अध्ययन गर्नुपर्ने हुन्छ । सोभियत सङ्घले अपनाएको Universalist Soviet Social Experiment ले स्थानीय संस्कृतिलाई मेटाउन भूमिका खेलेको थियो । तर , सोभियत सङ्घको अवधिमा हजाराैं वर्ष पुराना स्थानीय संस्कृतिहरूलाई पूर्ण रूपमा मे टाउन भने सकेको थिएन । तथापि, अहिले पनि रुसले आफ्नो साम्राज्यवादी विगतबाट आफूलाई टाडा गर्न नसकेको भान हुन्छ । अहिलेको युद्धलाई सांस्कृतिक तबरबाट हेर्दा रुस आक्रामकताको माध्यमबाट इतिहासलाई पुनः लेख्ने प्रयासमा रहेको देखिन्छ । त्यस्तै , युक्रेनीहरू भने आफ्नो संस्कृतिको रचनात्मक पुनर्संरचनाको माध्यमबाट आफ्नो छुट्टै पहिचान स्थापना गर्न चाहन्छन् ।

आफ्नो छुट्टै पहिचान निर्माण गर्नेप्रक्रियामा विगत केही समयदेखि युक्रेनीहरू Decolonisation, De-Communisation, De-Russificationको सांस्कृतिक आन्दोलनमा छन्, जसको उद्देश्य भनेको युक्रेनमा रुसी संस्कृतिको प्रभाव मेटाउँदै युक्रेनी संस्कृति र पहिचानको जगेर्ना गर्नु हो । एकातिर युक्रेनले रुससँग लड्नु मुर्खतापूर्ण कार्य जस्तो देखिन्छ तर , एउटा युक्रेनी भएर सोच्ने हो भने युक्रेनीहरूलाई राष्ट्र बनाउन आफ्नो इतिहास र भाषाको उत्खनन् तथा आन्दोलनको जरुरी छ र यसरी हेर्दा आजको यो युद्ध सार्वभौम युक्रेन निर्माण गर्नका लागि नलडी सुखै नरहेको जस्तो पनि देखिन्छ ।

अबको बाटो : अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति

आज, मस्को र किभले युद्धको अन्तर्राष्ट्रिय भावना आफ्नो पक्षमा ल्याउन कूटनीतिक पहल गरिरहेका छन् । रुस युक्रेनले पाइरहेको बाह्य समर्थनलाई रोक्ने ध्याउन्नमा छ । रुसले यही अवधिमा सम्पूर्ण पश्चिमलाई विश्वव्यापीस्तरमा कमजोर पार्ने लक्ष्य राखेको छ । युक्रेन पनि रुसलाई अन्तर्राष्ट्रिय रुपमा एक्लो पार्न भरमग्दुर प्रयासरत छ । युक्रेन सम्पूर्ण पश्चिमको समर्थन पाइरहेको छ । तर अब विश्व शान्ति र मानवताको लागि अमेरिका, युरोपेली संघ, युक्रेन र रुसले युद्धलाई चाँडोभन्दा चाँडो रोक्नका लागि वार्ता गर्न आवश्यक छ । वार्ता अस्थायी युद्धविराम भन्दा पनि दिगो शान्तिलाई केन्द्रमा राखे र गर्नुपर्छ । तर पश्चिमा थिङ्क ट्याङ्हरु भने कुनै पनि कुटनीतिक समाधान प्रस्ताव नगरी रुस– युक्रेन युद्धकाबारेमा एकतर्फी प्रचार गरिरहेका छन् । उनीहरुको मिडिया अभियानले रुसको पराजयको वकालत गरिरहेको छ । जसले दुःख थप्नभन्दा अरु केही गर्दैन ।

इन्टरनेस्नल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीज (IISS), बेलायती अनुसन्धान संस्था तथा थिङ्क ट्याङ्कले जारी युद्ध कोरिया (१९५०–५३), बोस्निया (१९९२–९५) इरान र इराकबिचको युद्ध जस्तै लामो समयसम्म चल्ने भविष्यवाणी गरेको छ । यस्तो जटिल अवस्थामा, कुशल मध्यस्थता र शान्ति पहलको खाँचो खड्किएको छ । जसले युद्धको घानमा परेका बहुसङ्ख्यक जनताका हितमा महत्वपूर्ण निकास दिन सकोस् ।

सन्दर्भ सूची

Ahmed, R. (2023). Russia’s War on Ukraine – Diplomacy; and Ultimate Solution. SSRN
Ben, C. & Leslie, PG.(2023). The role of gas in Ukraine’s energy future. Center for Strategic and International Studies.
Dan, E. (2023). Ukraine war illustrates importance of American energy dominance. Forbes.
Dogra, B. (2022). American obsession with Nato expansion led to Ukraine war. The Statesman.
Denysova, K. (2022). Decolonisation, de-communisation and de-Russification of the Ukrainian cultural space.
The Courtauld.
Lanoszka, R. T. (2022). A new energy policy for Europe: The significance of Ukraine. Council on Geostrategy.
Szymon, K. (2023). Conscious uncoupling: Europeans’ Russian gas challenge in 2023. European Council on
Foreign Relations.
West, J. (2023). Ukraine war a historical perspective. Retrived from https:/ / unravel.ink/ ukraine-war-ahistorical-
perspective/

कृष्ण सुनुवार UMISARC, पोन्डिचेरी विश्वविद्यालय भारतबाट अन्तर्राष्ट्रिय सम्बन्धअन्तर्गत साउथ एसियन स्टडिजमा स्नातकोत्तार हुनुहुन्छ । सामाजिक, अर्थ–राजनीतिक र विशेषगरी प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान गर्नु र कलम चलाउनु उहाँको रुचि क्षेत्र रहेको छ । सुनुवारको अनुसन्धान पत्र ‘एआईको क्षेत्रमा चीनको वृद्धि : भारतलाई खतराको सङ्केत’ इन्स्टिच्युट अफ स्कॉलर्स, बेङ्गलुरु, भारतद्वारा प्रकाशित पुस्तक ‘युवा विद्वान्हरूका नजरबाट भारत र नयाँ विश्व’ मा एउटा अध्यायको रूपमा प्रकाशित छ । यसका साथै उहाँ नेपालका विभिन्न राष्ट्रिय दैनिकहरूका साथै अनलाइन पोर्टलहरूमा समसामयिक र अन्तर्राष्ट्रिय मामिलामा नियमित रूपमा लेखहरू लेखिरहनु भएको छ ।

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari