माटो र सत्ताको मार्क्सवाद

-कृष्णप्रसाद पौडेल
पृष्ठभूमि
हावा र पानीपछि खाना सबै प्राणीलाई नभई हुँदैन । खानाको बन्दोबस्त भने पृथ्वीको सतहको माटोमा हुन्छ । हाम्रो जीवनको एक मात्र आधार यस्तो माटो मर्ने क्रम तीव्र गतिमा भइरहेको छ । यो माटो मार्ने मुर्खता हामीले साम्राज्यवादीहरूबाटै नक्कल गरेका हौँ । आज प्रकृतिको चरम दोहनको कारक बनेको औद्योगिक क्रान्तिलाई आधुनिक मानव सभ्यताको कोशे ढुङ्गाको पछिल्लो मानक बनाएसँगै यो क्रम झनै तीव्र भएको छ । यो माटो मार्ने अरू कोही नभएर यही औद्योगिक क्रान्तिको जगमा टेकेर मुनाफाको खेती गर्ने दलाल बुर्जुवा वर्ग हुन् ।
मार्क्सवाद यही परिवेशको आधुनिक युगलाई सबैभन्दा धेरै प्रभावित तुल्याउने समाजवादी चिन्तन र राजनैतिक अभियान हो । यसले औद्योगिक समाजको विभेदको मुख्य कारक बुर्जुवा वर्गद्वारा गरिने श्रमिकको श्रम शोषण हो । यसो गर्दा सञ्चित हुने अतिरिक्त नाफा समाजको आर्थिक वर्ग विभाजनको मूल कारक हो । यस्तो विभेदको रूप सबै समुदाय र भूगोलमा एकै खालको हुँदैन । समाजको विकासक्रम, चेतना र भौतिक अवस्थाले यसको प्रकृति निर्धारण हुन्छ । तर यी विभेदको जग विश्व समाजको सत्तामा रहेको जीवन दर्शनबाट निर्देशित हुन्छ । कालान्तरमा यो सत्ताले अतिरिक्त नाफा बनाउने प्रकृयामा मानिस र प्रकृति दुबैको अति दोहन गर्छ । यसको अन्तःसम्बन्ध बुझ्न स्थानीय समाज र विश्व समाजको द्वन्द्वात्मक अन्तरद्वन्द्वको विश्लेषण गरिनुपर्छ । सँगै, यस्तो सत्ता फेर्न सबै उत्पीडित वर्ग एकजुट हुनुपर्छ ।
मार्क्स हेगेलको मनोगत द्वन्द्ववादलाई “टाउकाले टेकेको” भन्दै यसको उपयोग द्वन्द्वात्मक भौतिकवादको व्याख्यामा गर्न सकिने र यो नै द्वन्द्ववादलाई बुझ्ने सही तरिका हो भन्ने कुरा स्थापित गरे । यो कुरा गरेर उनले मानव इतिहासमै पहिलो पटक प्रकृतिको विविधता र समाजको विभेदको दार्शनिक प्रश्नको भौतिक विज्ञान सम्मत व्याख्या गरे । उनको व्याख्याले उत्पादनका स्रोत, साधन र श्रमका आधारमा हुने वर्गीय शोषणका विरुद्ध राजनैतिक आन्दोलनको जग बसाल्यो ।
मार्क्सले प्रकृति र समाजलाई उद्विकासका अन्य शोध र खोजको चस्माबाट हेर्ने र व्याख्या गर्ने कोसिस गरे । खासगरी, डार्बिनको उद्विकासको सिद्धान्तबाट उनी धेरै नै प्रभावित भएको देखिन्छ, सँगै आफ्नो जीवनकालभरि यी विचारलाई परिमार्जन गरिरहे । यस्तो विश्लेषण र व्याख्या भने उनले देखेको भोगेको युरोपको तत्कालीन समाजको प्रकृति र समाजको अन्तःसम्बन्धको आँखीझ्यालबाट चियाएर गरेका थिए । उनका यी विचारले आज पर्यन्त प्रकृति र मानव समाजको अन्तःसम्बन्धको व्याख्यामा मात्र हैन व्यवहारमै उथलपुथल ल्याएको छ ।
मार्क्सका धेरै लेखहरू समीक्षा गर्दा प्रस्ट हुन्छ कि आज कार्ल मार्क्स हुन्थे भने बढिरहेका जलवायु शरणार्थी, डुब्दै गरेको मालद्वीपजस्ता टापुहरू, खुइलिँदै गरेका हिमचुलीहरू, खरानी बन्दै गरेको अमेजनको जङ्गल, मानिसमाथि शासन गर्न तयार भएको कृत्रिम बौद्धिकता, विकासका नाममा मर्दै गरेको माटो र पैसा मात्र सबैथोक ठान्ने दलालले गरेको प्रकृति दोहनको अत्यहीन यात्राले उत्पीडनमा छट्पटिएका आम मानिसको मुक्तिका लागि आन्दोलनको अग्रपङ्तिको मोेर्चामा हुने थिए वा यी विषयमा कलम चलाइरहेका हुन्थे । उनले १८४५ मै भनेका थिए ‘दार्शनिकहरुले संसारको धेरै तरिकाले व्याख्या गरे मुल कुरा यसलाई बदल्नु हो’ । उनी जीवनकाल भरि यो बदल्न लागिरहे ।
माटो र प्रकृतिबारे मार्क्स र मार्क्सवाद
माक्र्सको कृषि, जलवायु, माटो र वातावरणका बारेमा गहिरो रुचि थियो भन्न उनका लिखित दस्तावेजमा प्रस्टसाथ उठाइएका सन्दर्भमा देख्न पाइन्छ । त्यसमध्ये फ्रेडरिक एङ्गेल्स र उनले तयार गरेको साम्यवादी घोषणापत्रमा यो कुरा सबैभन्दा प्रस्ट छ । उनीहरूले भनेका छन्— पुँजीवादले श्रमिकको मात्र शोषण गर्दैन, यी सबै खाले प्रकृतिको पनि गर्छ । यो कुरा पुँजी भाग १ मा अझ प्रस्ट छ । त्यहाँ भनिएको छ, ‘पुँजीवादी कृषिले श्रमिकहरूको मात्रै शोषण गर्दैन, त्यसले माटोको पनि शोषण गर्छ । निश्चित समयमा उत्पादकत्व बढाउने प्रक्रियाले माटोको दिगो उत्पादकत्वलाई बर्बाद पार्छ ।’
मार्क्सका सुरुवात (१८४४ तिरका)का लेखहरू विशेषतः पुँजीवादले कसरी श्रमिकहरूलाई बेदखल गर्छ भन्ने विचारमा केन्द्रित छ । यसको मुख्य जड मानिसलाई प्रकृतिबाट विमुख गराउनु नै हो भनेर उनले भनेका छन् । यससँगै उनले माटोको क्षयीकरणका विषयमा समेत लेखेका छन् । यो त्यतिबेलाको बेलायतको औद्योगिकीकरणसँगै सुरु भएको गाउँबाट सहर बसाइ सराइसँगै सुरु भएको एकदमै महत्वको विषय थियो । सहर र गाउँको विभाजनले कसरी जमिनको उर्वराशक्तिमा ह्रास आइरहेको छ, र सहरमा कसरी जनघनत्व, प्रदूषण र रोग बढ्दैछ भनेर उनले सन् १८६० तिरै लेखिसकेका थिए ।
त्यसैगरी, उनले भूमिको खण्डीकरण र बाँडफाँडले कसरी सबैको साझा प्रकृति भूमिलाई निजी सम्पति बनाउँदै गाउँले श्रमिकलाई सहर खेदियो र आम श्रमिक किसान बेदखली र बहिष्करणको अन्त्यहीन चक्रमा फस्दै गए । यस्ता श्रमिकको अभावमा कसरी अधिकांश ग्रामीण मानिसहरू आफ्नो आवश्यकता पुरा गर्नेभन्दा पनि आफ्नो श्रमशक्ति बजारलाई बेच्ने ध्याउन्नमा लाग्न बाध्य भए । उनले तत्कालीन युरोपको सन्दर्भमा आजभन्दा २०० वर्षअघि भनेका यी कुरा अहिले नेपालका किसानहरूले भोगिरहेका छन् ।
यी कुरालाई विचार गर्दा “प्रकृतिको न्यायबिना सामाजिक न्याय सम्भव हुँदैन” भन्ने कुरा मार्क्सले उतिबेलै व्याख्या गरेका थिए ।
यो कुराको मर्म आत्मसात गर्न चुकैकै कारण मार्क्सवादीहरू आलोचित भएका छन् । उनले भनेझैँ पुँजीवाद पर्यावरणीय दृष्टिकोणबाट दिगो छैन । खासगरी प्रकृति दोहन र वातावरणीय ह्रासले वर्गीय उत्पीडनको खाडल झनै फराकिलो बनाउँछ किनकि यसले पृथ्वीको उत्पादन सन्तुलन र बहन क्षमतामा ठुलो फेरबदल ल्याउँछ४ । त्यसैले प्रकृतिसँग र अन्य जीवहरूसँगको सद्भावपूर्ण सह–अस्तित्वका लागि मार्क्सवादका यी बहुआयामिक विचार महत्वपूर्ण छन् तर मार्क्सको यी धारणामा कमैले ध्यान दिएका छन् ।
त्यस्तै मार्क्सका लेखहरूले प्रकृतिप्रतिको उनको दृष्टिकोण उजागर गरेका छन् । उनले भनेका छन् कि श्रमिक सँगसँगै प्रकृतिको पनि शोषण अघि बढ्छ । भावी साम्यवादी समाजले मानिस–मानिसबिचको सँगसँगै मानिस र प्रकृतिबीचको द्वन्द्वको पनि समाधान गर्नुपर्छ । यति भएपछि मात्रै मानिसले सद्भावपूर्वक आफ्ना आवश्यकताहरू पुरा गर्न सक्छ र आफू लगायत प्रकृतिका अन्यसँग पनि समन्वयनात्मक तवरले अस्तित्व कायम राख्न सक्छ ।
प्र्रकृति–मानव अन्तरसम्बन्धको कुरा गर्दा, माक्र्सले भौतिक सुखको मात्रै कुरा गरेका छैनन्, प्रकृतिसँगको सम्बन्धबाट पाउने आनन्दबाट अलग्गिएर मानिसले जीवन बाँच्ने शैली नै फेर्न बाध्य भएको समेत व्याख्या गरेका छन् । यस्तो बाध्यताको परिणाम अहिलेको नेपाली युुवा पुस्ताले बेहोरिरहेको छ । यो कुरालाई अझै सरल भाषमा बुझ्दा, मानिस प्रकृतिमा बस्छ, यसको अर्थ प्रकृति नै उसको शरीर हो । यदि उसलाई खुसीसँग बाँच्नु छ भने प्रकृतिसँगको उसको आदान–प्रदानको निरन्तरता आवश्यता पर्छ । मानिसको भौतिक शरीर तथा चेतना प्रकृतिसँग जोडिएको हुन्छ किनकि प्रकृति आफैँ मानिससँग जोडिन्छ । मानिस प्रकृतिकै एक हिस्सा हो । यो चेतना र पदार्थबारे मार्क्सको बहसको सार हो । यसबाट समेत उनको प्रकृति–मानव सम्बन्धको सार बुझ्न सकिन्छ ।
यसरी हेर्दा माक्र्स त मानव–प्रकृतिको अन्तःसम्बन्ध महत्वपूर्ण हो भन्दै मानिसलाई प्रकृतिसँगको अन्तःसम्बन्धबाट अलग्याउने लामो दार्शनिक परम्परालाई भत्काउँदै अघि बढेका हुन् । उनले मानव तथा सम्पूर्ण जैविक अस्तित्वका लागि प्रकृतिका अन्य जैविक तथा अजैविक वस्तुसँग निर्वाद एवम् सक्रिय सम्बन्ध हुन जरुरी छ भन्ने कुरामा जोड दिएका थिए । पुँजीवादी युगमा यो प्रकृति–मानव सम्बन्ध गलत दिशातिर गइरहेको छ र यसलाई सच्याउन मार्क्सवादको मर्मको विवेकसम्मत अभ्यास चाहिन्छ ।
माक्र्सले उत्पादन प्रक्रियाको अवधारणासँगै पछिल्ला लेखनमा यस कुराको व्याख्या समेत गरेका छन् । मार्क्सका अनुसार इतिहासदेखि आजसम्म संसारका हरेक मानव समाजसँग प्रकृतिसँगको समन्वयनमा श्रम गर्न र आफ्ना आवश्यकता परिपूर्ति गर्न श्रमिक परिचालनका आ–आफ्ना खास शैली हुन्छन् र, श्रमको परिणाम बाँडफाँडका पनि आ–आफ्नै तौरतरिका छन् । उदाहरणका लागि सिकारी समाजमा समानतामूलक ढङ्गले सिकारको विभाजन गरिन्थ्यो । तर, जमिनदारी तथा दास प्रथाले असमान र शोषणमूलक सामाजिक सम्बन्धको निर्माण गर्यो । अझ औद्योगिक पुँजीवादले अझै महँगा र विध्वंशक परिणामहरू ल्याएको छ । यो ऐतिहासिक तथ्यमा ध्यान नदिई मार्क्सवादको माटो र प्रकृति हेर्ने दृष्टिकोण बुझिँदैन ।
हामीले अहिले भोगेको प्रकृतिमा आएको सङ्कटको मूल कारण मानवीय मात्र भनेर पुँजीवादीहरूको लहैलहैमा अराजनीतिकरण गरिरहेका छौँ । यो सङ्कट मानवीय कारणले हो तर सीमित पुँजीवादका दलाल मानिसको हितमा मात्र । हामी सबै मानिसले बिगारेका यस्तो सङ्कट निम्त्याएका होइनोै । यसलाई सम्बोधन गर्ने हो भने दलाल पुँजिवादले कसरी माटो र प्रकृतिमाथि हस्तक्षेप गरिरहेको छ, त्यो हामीले बुझ्नुपर्छ ।
माटो र प्रकृतिमाथि हस्तक्षेप गर्दै पर्यावरणीय विध्वंश गर्नु पुँजीवादको आधारभूत चरित्र हो, किनकि पुँजीवादले यसको उत्थान गर्न प्रकृति र पर्यावरणीय दोहनसँगै मानवशोषण गरेर मात्र सम्भव हुन्छ । मानव समाजको भविष्य सान्दर्भिक बनाउँदै विकसित गरिएको समाजवादी दृष्टिकोणले मात्र प्रकृतिसम्मत मानव समाज बनाउन सम्भव हुन्छ । समाजवादको मान्यता के छ भने प्रकृतिसँग र अन्य जीवहरूसँगको सह–अस्तित्व नै मानव सभ्यताको पहिलो शर्त हो । यी कुरालाई पछिल्ला विद्वानले मात्र हैन, मार्क्ससँगै एङ्गेल्सले समेत जोड दिएर सम्झाउने कोसिस गरेका छन् । विडम्बना, यही मार्क्सवादको जगमा टेकेर गरिएको रुस र चीनको समाजवादी क्रान्तिपछिको मार्क्सवादी सत्ताले माटो र प्रकृति बचाउनेभन्दा यसैलाई मासेर वैभव भित्र्याउने अभ्यास गरे । यिनैको सिको गरेका नेपाली सत्ताका मार्क्सवादी यी भन्दा कम कसरी हुन सकुन् ?
एक ऐतिहासिक भुल
तत्कालीन युरोपका क्रान्तिकारीहरूको प्राथमिकता औद्योगिक उत्पादन प्रणालीले गरेको श्रम शोषणले बढाएको विभेदका विरुद्ध सङ्घर्ष गर्नमै केन्द्रित थियो र यो उचित मार्ग नै थियो तर यसले मानिस र प्रकृतिको अन्तःसम्बन्ध र सहअस्तित्वको द्वन्द्वात्मक भौतिकवादी विश्लेषण तथा यसका आधारमा गरिनुपर्ने सन्तुलित विकासमा ध्यान दिएन । यस्तो हुनुमा तत्कालीन युरोपमा भइरहेको उन्मादी औद्योगिक विकासले सर्वहारा श्रमिकलाई गरेको थिचोमिचो विरुद्धको वर्ग सङ्घर्ष नै हो । यसै सन्दर्भको जगमा टेकेर माक्र्र्स र एङ्गेल्सले कम्युनिष्ट पार्टीको घोषणापत्र तयार गरे । यो तत्कालीन समयको वर्ग सङ्घर्षको मार्गचित्र थियो । यो मार्गचित्र थप परिमार्जित हँुदै समाजवादी क्रान्तिको मार्गदर्शक विश्व साम्यवादी दर्शन बन्यो । यसलाई नै माक्र्सवाद र यसका अनुयायीलाई मार्क्सवादी भनिएको हो ।
यही विश्वदर्शनमा आधारित २०अो शताव्दीको सुरु मै रुस र त्यसको केही दशकपछि चीनलगायत अन्य देशमा समाजवादी क्रान्ति भए । तत्कालीन परिस्थितिमा औद्योगिक देशमा भएको राजनीतिक आन्दोलनको नेतृत्वले उक्त समाजका अन्तरविरोध र त्यसमा लिइने वर्गीय पक्षधरतालाई मात्र प्राथमिकतामा राखेर माक्र्र्स र उनको विचारमाथि केन्द्रीकृत राज्यसत्ता नियन्त्रित समाजवादी राज्य व्यवस्था एक मात्र विकल्पका रूपमा प्रस्तुत गरेको सन्दर्भलाई त्यसपछिका पथप्रदर्शकले क्रान्तिको एक मात्र सूत्रका रूपमा व्याख्या गरिरहे । तिनीहरूले केन्द्रीयता र जनवादको सन्तुलित उपयोग गर्न सकेनन् । दोस्रो कुरा, यस्तो व्याख्याको समाजवादमा जान पुँजीको विकास हुन आवश्यक हुन्छ भन्ने विचारले घर गरेको थियो । यस्तो पुँजीको विकास गर्न क्रान्तिपछिका राज्यसत्ता नै लागे तर पुँजीलाई सामाजिकीकरण गर्नतर्फ ध्यान दिइएन । फलस्वरूप समाजवादी भनिएका सत्ता सामाजिक देशहरू साम्राज्यवादको हस्तक्षेपको सिकार भए ।
अहिलेको महत्वपूर्ण सवाल दलाल पुँजीवाद तथा उपनिवेशी साम्राज्यवादले सिर्जेको असमानता तथा शोषणको अन्त्यको बहस नै हो तर साथैमा साम्राज्यवादीहरूले गरको पर्यावरणीय दोहनलाई अन्त्य गर्नतिर पनि ध्यान जानुपर्ने थियो, जुन गएन । नेपालका सत्ताकेन्द्रित माक्र्सवादी पनि जल्दाबल्दा समस्यालाई गुन्द्रीमुनि छोपेर समाजलाई समाजवादतिर लैजाने नारा अलाप्दै यस्तै सत्ताकेन्द्रित भाष्यमै केन्द्रित छन् । यो आज पर्यन्त चलिरहेको छ र यो झनै भद्दा रूपमा प्रस्तुत भइरहेको छ । केही अपवादबाहेक २०औँ शताव्दीका सबै माक्र्सवादी लेनिनवादी समाजवादी सत्ताको पतन र तुलनात्मक रूपमा उदार लोकतन्त्रको सफलताको सार यही नै हो भन्न कुनै कठिन छैन ।
खासगरी पहिलो र दोस्रो विश्वयुद्धपछि प्रकृति र आदिवासी समुदायको दोहनका विरुद्ध जनस्तरबाट साना ठुला अधिकार र वातावरण बचाउका आन्दोलनहरू भएका छन् । सन् १९६० को दशकदेखि भएका यस्ता वातावरणीय आन्दोलनमा वामपन्थी अभियन्ताहरूको महत्वपूर्ण योगदान रह्यो । सन् १९९० को दशकको विकास र वातावरण बारेको ब्रुटल्याण्ड प्रतिवेदन र यसैमा टेकेर भएका विकासले निम्त्याएका सङ्कटको विश्वव्यापी समाधानको बहस चुलियो तर यसको कार्यान्वयन गर्न सोभियत सङ्घ, चीन जस्ता समाजवादी भनिएका देशको समेत खासै उत्साह देखिएन । यसको एउटा मुख्य कारण उनीहरू समेत प्रकृति दोहनसँग सम्बन्धित विकासमा लागेका थिए । वातावरणीय अभियन्ताहरूको दवावमा माटो र प्रकृति दोहनको यात्रामा नियन्त्रण गर्ने प्रस्ताव त राखिए तर यिनमा परिणाममुखी सम्झौता हुन सकेन । यही कुरा जलवायु परिवर्तनको मुख्य कारक हरित ग्याँस उत्सर्जन घटाउनेबारे भइरहेका शृङ्खलाबद्ध सम्मेलनहरूमा दोहोरिरहेको छ । विकसित भनिने कुनै पनि देश हरित ग्याँस उत्सर्जन घटाएर आफ्नै भौतिक सुखसयलमा सम्झौता गर्न तयार छैनन् ।
ओझेलमा प्रकृति–मानव अन्तरसम्बन्ध
यसले के देखाउँछ भने, माटो र प्रकृतिको विघटन, वातावरणीय ह्रास, जलवायु परिवर्तन, खाद्य सङ्कटजस्ता आजका जल्दाबल्दा सवाल लामो कालखण्डभरि सत्तासीन माक्र्सवादीहरूको प्राथमिकतामा परेको देखिँदैन । मानवमुक्ति र समाजवादको रटान लगाउँदै प्रकृति–मानव अन्तःसम्बन्धका मार्क्सवादले प्रस्तुत गरेका अर्थपूर्ण विचारहरू इतिहासको रछ्यानमा मिल्काएर प्रकृतिको अति दोहन गरी समृद्धि भित्र्याउने प्रतिस्पर्धा वामपन्थीहरूबाट पनि भइरहेको छ । यद्यपि सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीसँगै बढेको सङ्कटले देखाएको प्रकृति, वातावरण, जलवायु परिवर्तन र पछिल्लो पटक विश्वव्यापी कोभिड महामारीका बेला यसको सम्बोधनमा दलाल पुँजीवादी सत्ताको असफलतासँगै अहिले मार्क्सका रछ्यानमा फालेका पर्यावरणसम्बन्धी विचार खोज्ने क्रम सबैतिर बढेको छ ।
हामी सबैलाई थाहा छ, आधुनिक पुँजीवाद र यसका अन्धभक्तले गरेको सम्झौताहीन प्रकृति विनाशका कारण मानवलगायत अन्यजीवनको अस्तित्व नै खतरामा छ । यस अर्थमा पर्यावरणीय विनाश नै अहिले हामी सबैले भोगिरहेको सबैभन्दा ठुलो र साझा चुनौती हो । अहिले देखिएको जलवायु परिवर्तनका कारण उत्पन्न तापक्रम, वर्षाको फेरबदल, अनिश्चय र यसका प्रकोप त यस्ता विध्वंशात्मक परिणामका साना उदाहरण मात्र हुन् । यस्तै बढिरहेको खाद्य सङ्कट र स्वास्थ्य सङ्कटले यसलाई थप पुष्टि गर्छ । विकासका नाममा समुन्द्रमा थुप्रिएको अजैविक फोहोर, वनविनाश, भू–क्षयीकरण, र जैविक विविधता एवम् भूस्वरूपमा आएको नाटकीय परिवर्तन यस्ता केही थप उदाहरणहरू हुन् । यही अवस्था रहिरहे भविष्यमा यस्ता अरू धेरै विध्वंशहरू देख्न सकिन्छ भन्न कुनै दुविधा छैन ।
कहाँ चुक्यौ हामी ?
माथि भनेझैँ, मूलप्रवाहमा रहेको वामपन्थी प्रवृत्ति प्रकृति दोहनमा आधारित औद्योगिक क्रान्तिको जगमा विकसित हुँदै गरेको पुँजीवादी दलाल अर्थव्यवस्थासँग प्रतिस्पर्धा गर्न त्यसैको ढाँचामा विकसित हुने अपेक्षा सत्ताका माक्र्सवादीको ढोँग थियो । यो ढोँगको मूल्य विश्व कम्युनिष्ट आन्दोलनले आज पर्यन्त तिरिरहेको छ । यिनका उत्तराधिकारीले यो कुरा कहिल्यै आत्मसात गर्न सकेनन् । त्यसैले त भएका समाजवादी व्यवस्था भत्किए र नयाँ बन्न सकिरहेका छैनन् । तिनै उतराधिकारीका समेत अन्धभक्त नेपाली अनुयायीले यो कुरा आत्मसात गर्ने कुरै छैन । यस अर्थमा यी माक्र्सवादी नै होइनन्, बरु मार्क्सले भनेका बुर्जुवा वर्गका दलाल मतियार हुन् ।
नेपाली सत्ताधारी कम्युनिष्ट पार्टीहरूले विश्व समाजवादी क्रान्तिका सफलता र असफलता दुबैबाट पाठ सिक्दै आफ्नै परिवेशको समाजवादी क्रान्तिको मार्गचित्र परीक्षण र परिष्कृत गर्नुपर्ने थियो । तर विडम्बना सत्ताका माक्र्सवादीको यस्तो सोच नै पुगेको देखिन्न । यसतर्फ चिन्तन मनन र संवाद गर्नुभन्दा यसका अगुवाहरूले आजपर्यन्त एक आपसमा गद्दार र संशोधनवादी साबित गर्न गालीगलौजमै समय बिताएका छन् । यस अर्थमा नेपाली कम्युनिष्टले मार्क्स र उनले प्रतिपादन गरेका विचारका अन्धभक्त अनुयायी हुन मात्र एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालमा आफूलाई मार्क्सवादी भन्ने धेरैजसो ठुला कम्युनिष्ट पार्टी र तिनका नेता गण ३ दशकदेखि पटकपटक सत्तामा छन् । ६ जना स्वघोषित माक्र्सवादी नेता त पटकपटक प्रधानमन्त्री भए । यी कुनै पनि गैर मार्क्सवादीभन्दा कुनै अर्थमा फरक छैनन् । उल्टै समृद्धिका नाममा पँुजीवादको पक्षपोषण गरेर सत्ताको भ्रष्टीकरण गर्नमै तल्लीन छन् । हिन्दी चलचित्र ‘श्री ४२०’ को गीत ‘मेरा जुत्ता है जापानी, पतलुन इङ्लिसतानी, सरपे लाल टोपी रुसी, फिरभी दिल है हिन्दुस्तानी’ भने झैँ नेपालका अधिकांश माक्र्सवादी नेताहरू पुँजीवादी जुत्ता लगाउँदै समाजवादको टोपी ढल्काएर मानवमुक्तिको जुक्ति छाँट्ने गर्छन् । यस्तो हुनुमा सधै सत्तासिन हुन लालायित धर्मभिरु माक्र्सवादी कार्यकर्ताहरू पनि जिम्मेवार छन्, जसले माक्र्र्सलाई खोपीको देवता र माक्र्सवादलाई गीता बनाएर प्रकृति र आम मानिसको जीवनमाथि निरन्तर खेलवाड गर्नेहरूलाई थपडी बजाएर पिछा गरिरहेछन् । यिनीहरू मुखमा माक्र्सवाद, झण्डामा हँसिया हथौडा, नारामा समाजवाद र व्यवहारमा प्रकृतिको चरम दोहन गर्दै घुमीफिरी दलाल पुँजीवाद ल्याउन तल्लीन छन् । नेपालका ठुला भ्रष्टाचार, मानव तस्करी, जग्गा दलाली हुँदै सम्वृद्धि ल्याउन, वन वातावरण जोगाउन भन्दै गरिएका समुदायको विस्थापन, आतङ्क, चुरेक्षेत्रको सुकुम्बासीकरण, कृत्रिम रसायनको मल कारखानाका प्रस्ताव नेपालका सत्तासीन माक्र्सवादीहरू माटोका मलामी बनेका र बन्न खोजेका केही उदाहरण मात्र हुन् । वास्तवमा सामन्ती संस्कारमा हुर्केको, दलाल पुँजीवादले पालेपोसेको सत्ताको अन्धलिप्सामा लिप्त भएर मात्र माक्र्सवादको भजन गाउने कम्युनिष्टहरूको माक्र्सले माटो र प्रकृतिका सम्बन्धमा के भनेका छन् भन्ने विषयमा कसरी ध्यान जानु र ? यस प्रवृत्तिको अन्त्य गर्नुपर्दछ । यो नै बहसको चुरो हो ।
सन्दर्भ सामग्री
Benson, T. (Ed.). (1996). The Greening of Marxism. New York, NY: The Gilford Press.
Escude, G. J. (2021). Karl Marx;s Theory of Capitalism: Exposition, critique and appraisal. LAP LAMBERT
Academic Publishing.
Marx, K. & Engels, F. (2002). Selected works, volume one, p. 13 – 15. Marx/Engels Internet Archive (marxists.
org).
Marx, K. (1999). Capital: A critique of political economy. Retrived from https://www.marxists.org/archive/
marx/works/download/pdf/Capital-Volume-I.pdf
Marx, K. & Engels, F. (1975). Referred in Ahmed, J., Ahmed, M. & DR. Saleem M. The Idea of Environment
in Marxist Philosophy. Russian Law Journal, 11 (4).
Marx, K. (2000). Economic & Philosophic Manuscripts of 1844. Retrived from https://www.marxists.org/
archive/marx/works/download/pdf/Economic-Philosophic-Manuscripts-1844.pdfसन्दर्भ सामग्री
डा. पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुनुहुन्छ । प्राकृतिक स्रोतको समाजशास्त्रीय अध्ययन गर्न मन पराउने उहाँ विशेषगरी खाना तथा जैविक खेतिपातीबारे गहिरो रुचि राख्नुहुन्छ । बेलायतको रेडिङ विश्वविद्यालयबाट प्राकृतिक स्रोत नियन्त्रणको राजनीतिक संस्कृतिमा विद्यावारिधि गर्नुभएका उहाँ तीन दशकभन्दा बढी समयदेखि दिगो खाद्य तथा कृषि प्रणाली र यसको राजनीतिक अर्थव्यवस्था, कृषि प्रविधि, शिक्षा र पर्यावरणीय कृषि प्रवर्धनको लागि अध्ययन, अनुसन्धान र अभियानमा सक्रिय रुपमा सम्लग्न रहनुभएको छ । पौडेलका नियमित रुपमा खाना र कृषिका विभिन्न आयामहरुमा लेख तथा रचनाहरु प्रकाशित हुँदै आएका छन् ।


जवाफ लेख्नुहोस्