info@bampanththeleft.com

Bampanth The Left

#

नेपालमा साझा राष्ट्रियता अझै निर्माण भइसकेको छैनः मल्ल के. सुन्दर

मल्ल के. सुन्दर आदिवासी जनजाति अभिकारकर्मी, लेखक, पत्रकार, पूर्वसांसद तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक हुनुहुन्छ । यसका अलवा उहाँ करिब २ दर्जनभन्दा बढी भाषा तथा मानव अधिकारसँग सम्बन्धित संघसंस्थाहरुको संस्थापक तथा विभिन्न आन्दोलनको मुख्य नेतृत्व सम्हाल्नुभएको छ । उहाँले तत्कालीन माओवादी र नेपाल सरकारबीच भएको वार्ता तथा अन्य विभिन्न द्धन्द्धरत पक्षबीच सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले करिब २ दर्जनभन्दा बढी पुस्तकहरु लेखन, सहलेखन तथा अनुवाद गर्नुभएको छ । नेपालको सन्दर्भमा राष्ट्रियताको मुद्दाहरुमा केन्द्रित रहेर मल्ल के. सुन्दरसँगको यस अन्तर्वार्ता २०८१ आश्विन अन्तिम साता लिइएको हो ।

१. मल्ल के सुन्दरजी तपाईं नेपाली राष्ट्रियताको सवाल, जातीय र भाषिक पहिचान, तथा वामपन्थी आन्दोलनमा आधा शताब्दी भन्दा बढी निरन्तर सक्रिय रहनुभएको व्यक्तित्व हुनुहुन्छ । यो अविरल सक्रियताको कारण के होला ?

मल्ल के. सुन्दरः आफूभित्रको जुन आस्था र राजनीतिक चेत छ, त्यसले विश्रामको अनुमति दिंदैन । यद्यपि मेरो आफ्नै बुझाइ हो— एउटा जिम्मेवार नागरिक जसरी बाँच्नु पथ्र्यो, त्यसरी नै जीवन यात्रा निर्वाह गरिहेको मात्र हो । त्यो भन्दा थप अरू केही होइन ।

सही अर्थमा नेपालमा साझा राष्ट्रियता अझै पनि निर्माण भइसकेको छैन । किनकी, सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक तथा नश्लगत विविधता र बहुलतायुक्त नेपालभित्रको सामाजिक संरचनागत यथार्थलाई बुझ्ने चेष्टा नै भएको छैन । विगत लामो समय एकात्मक र सामन्ती राज्य संरचनाको दबाव र प्रभावमा बहुलतालाई विशिष्टताका अर्थमा होइन, बोझ र बाधाका रूपमा व्याख्या गरिँदै आए । सत्ताको दबाव र प्रभावमा नेपाल देशलाई एकल जातीय, भाषिक, सांस्कृतिक र धार्मिक भूभागकै रूपमा नीति बनाइए ।

२. तपाईं दृष्टिमा नेपाली राष्ट्रियताको निर्माण कसरी भएको छ ? यसको वैशिष्ट्य के हो ?

मल्ल के. सुन्दरः सही अर्थमा नेपालमा साझा राष्ट्रियता अझै पनि निर्माण भइसकेको छैन । किनकी, सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक तथा नश्लगत विविधता र बहुलतायुक्त नेपालभित्रको सामाजिक संरचनागत यथार्थलाई बुझ्ने चेष्टा नै भएको छैन । विगत लामो समय एकात्मक र सामन्ती राज्य संरचनाको दबाव र प्रभावमा बहुलतालाई विशिष्टताका अर्थमा होइन, बोझ र बाधाका रूपमा व्याख्या गरिँदै आए । सत्ताको दबाव र प्रभावमा नेपाल देशलाई एकल जातीय, भाषिक, सांस्कृतिक र धार्मिक भूभागकै रूपमा नीति बनाइए । एक भाषा, एक भेष !  एक धर्म, एक संस्कृति ! यी नै राष्ट्रियता हुन् भन्ने गलत भाष्य निर्माण गरिए । शासन सत्ताको पहुँच रहेका समुदाय, वर्ग, क्षेत्र, भाषा–भाषी, धर्म–संस्कृति वर्जित ठानिए । अन्ततः लामो कालखण्डसम्म ती बहिष्करणमा परे । सीमान्तीकृत भए । उत्पीडनमा पारिएका समुदायले यो देश मेरो पनि हो, यहाँ मेरो पनि हैसियत छ भनेर अनुभूत नै गर्न पाएन । त्यसले गर्दा राष्ट्रप्रतिको अपनत्व स्थापित हुने वातावरण बनेन । साझा राष्ट्रियता निर्माण हुन आधार नै तयार भएन ।

३. हामीले राष्ट्रियता (Nationality) लाई र राष्ट्रवाद (Nationalism) लाई कसरी बुझ्ने होला ? नेपालको बौद्धिक र राजनीतिक समुदायमा पनि राष्ट्रियता, देशभक्ति र राष्ट्रवादलाई समान किसिमले बुझ्ने चलन देखिन्छ । यही कारणले राष्ट्रियताको सवालमा आउने विभिन्न विषयहरू गोलमटोल जस्तो हुने गरेका त छैनन् ? तपाईंलाई कस्तो लाग्छ ?

मल्ल के. सुन्दरः समाजशास्त्रले राष्ट्र भनेर मानवीय समुदायलाई बोध गराउँदछ । एउटै भाषा, संस्कार, आस्था र साझा जीवनशैलीका कुनै एक मानवीय समुदाय नै राष्ट्र हो । नेपालमा त्यस किसिमका धेरै मानवीय समुदायहरू छन्– नेपालमा बहुल राष्ट्रको अस्तित्व छन् । यसको अर्थ– नेपाल एक बहुल राष्ट्रिय राज्य हो । तर विडम्बना हाम्रा राजनीतिज्ञ अनि कतिपय समाजशास्त्री यस सामाजिक यथार्थ स्विकार्न तयार छैनन् । जबर्जस्ती एकल राष्ट्र राज्यको भाष्य तयार गर्न खोजिरहेका छन् । देशभक्ति नितान्त राजनीतिक आस्था र प्रतिबद्धताको भावना हो, कुनै खास मानवीय समुदाय परस्त भन्दा फरक । हामी कहाँ धेरैले राष्ट्रियता र देशभक्तिलाई पर्यायका रूपमा बुझ्छन्, जुन सही होइन ।

४. नेपालको इतिहासमा तत्कालीन राजा महेन्द्रले निर्माण गरेको राष्ट्रवादको अवधारणालाई परिवर्तन गर्न सबै वर्ग, लिङ्ग र समुदायको पहिचानलाई उत्तिकै महत्त्व दिनुपर्छ भनेर सङ्घर्षमा लागेकाहरूमध्ये कतिपयले अहिले आएर त्यही राष्ट्रवादलाई अङ्गिकार गरिरहेको देखिन्छ । जुन भाष्यलाई बदल्ने भनेर त्यत्रो सङ्घर्षमा सहभागी भए, उनीहरू नै फेरि त्यही भाष्यलाई अँगाल्न किन बाध्य भएका होलान् ?

मल्ल के. सुन्दरः हो, यो सत्य हो । अरूमा भन्दा पनि आफूलाई वाम राजनीतिज्ञ भन्नेहरूमा समेत यसखाले रोग छ । महेन्द्र तिनै राजा हुन्, जसले घोषित रूपमै एक भाषा नीति लादे, एकल धर्म संस्कृतिलाई मात्र राष्ट्रिय हुन् भन्ने भ्रम थोपरे । कुनै एक समुदायको पहिरन, प्रतीकलाई नै राष्ट्रियताको आधार हो कि भन्न लगाए । बहुलता र विविधतालाई निषेध गर्दै एकल जातीय प्रभुत्वलाई संरक्षण दिए, उनै शासकलाई राष्ट्रवादी हुन् भनेर स्थापित गर्न खोजे । यसमा कतिपय वाम अग्रजहरू पनि छन् । तर ती सबै गलत हुन् । बहुलता र विविधतायुक्त मुलुकको सामाजिक यथार्थको वर्खिलाफ राष्ट्रियताको आवरणमा एकल जातीय सङ्कीर्णता सिर्जना गरिएका हुन् ।

विशेषतः पहिचानको सवालमा कथित वाम राजनीतिक शक्तिले अत्यन्त गलत भाष्य तयार गरे । समाजमा ठूलो भ्रमको खेती गरे । क्षणिक रूपमा त त्यसले राजनीतिक फाइदा भए होलान, तर कालान्तरमा यसले नराम्रो परिणाम ल्याउन सक्छ । अन्यथा, विघटित संविधान सभामा नेपालका वाम राजनीतिक दलहरू समेतको उपस्थितिमा पहिचानका सम्बन्धमा साझा सहमति र परिभाषा तयार गरिसकेको थियो । तर राजनीतिक स्वार्थमा वाम दलहरूका नेतृत्वपंक्तिले पहिचानको मुद्दालाई जातीवादी कुरा हो भने र अनर्थ गरे । यो, राजनीतिक वेइमानी हो ।

५. तपाई आदिवासी नेवाः समुदायबाट आउनु भएको छ । नेवाः राष्ट्रियताको बहस लामो समयदेखि चल्दै आएको छ । नेपालमा कुनै जाति राष्ट्र (Nation) को परिभाषा भित्र अटाउन सक्छ भने त्यो नेवाः जाति हो पनि भनिन्छ । तपाईको विचारमा नेवाः जाती, हो कि, राष्ट्रियता (Nationalities) वा राष्ट्र के हो ?

मल्ल के. सुन्दरः नेवाः समग्र रूपमा बहुल मानवीय समुदायको एक साझा संज्ञा हो । पेशागत, सांस्कृतिक, धार्मिक, नश्लगत आदि पक्षबाट अत्यन्त विविधतायुक्त छन् । फेरि पनि आस्था, भावना र मूल्य मान्यताका पक्षबाट यस समुदायको एउटा साझा पहिचान बनेको छ, नेवाःको रूपमा । यो साझा पहिचान पूर्णता भएको एउटा राष्ट्र हो । अज्ञानता र कसै कसैले आग्रह स्वरूप नेवाःलाई जातको रूपमा प्रस्तुत गर्ने गरिन्छ, त्यो सही होइन ।

नेपाल जस्तो बहुलता र विविधता भएको मुलुकका लागि उपयुक्त सङ्घीयता भनेको सबैलाई समेटेर एकै ठाउँमा राख्नु हो । संविधान जारी गरिंदा यसमा पटकै ध्यान दिइएन । सङ्घीयताका नाउँमा स्वायत्तता र स्वशासन अधिकार प्रत्याभूत गर्न खोजिएको छैन, मात्र प्रशासनिक विकेन्द्रीकरणको नयाँ संरचनालाई नै सङ्घीयता भन्न खोजियो ।

६. नयाँ संविधान जारी भइसकेपछि के नेपालको राष्ट्रिय पहिचानमा सिमान्तकृत समुदाय, क्षेत्र र लिङ्गहरू अटाएका छन् त ? सामर्थ्य र पहिचानका आधारमा सङ्घीयता कार्यान्वयनमा गइसकेको भनिएको अवस्था छ, तर पहिचानसहितको सङ्घीयता स्थापित भएको हो र ?

मल्ल के. सुन्दरः होइन, त्यसो भएको छैन । वर्तमान संविधानद्वारा पहिचानको कुनै कुरालाई समेटन सकेन । विघटित संविधान सभाको राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगले पहिचानका सम्बन्धमा सुझाएका कनै पनि कुरा सम्बोधन गरिएनन् । नेपाल जस्तो बहुलता र विविधता भएको मुलुकका लागि उपयुक्त सङ्घीयता भनेको सबैलाई समेटेर एकै ठाउँमा राख्नु हो । संविधान जारी गरिंदा यसमा पटकै ध्यान दिइएन । सङ्घीयताका नाउँमा स्वायत्तता र स्वशासन अधिकार प्रत्याभूत गर्न खोजिएको छैन, मात्र प्रशासनिक विकेन्द्रीकरणको नयाँ संरचनालाई नै सङ्घीयता भन्न खोजियो । यो गलत हो, नेपालको विविधता र बहुलताको मर्म र भावनालाई यसखाले गैरपहिचानयुक्त सङ्घीयताको कुनै काम छैन । यसमा सुधार आवश्यक छ ।

७. सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गको राष्ट्रिय पहिचान बिना र शोषण, भ्रष्टाचार र अन्यायलाई संस्थागत गर्ने वर्तमान अवस्था विद्यमान रहुन्जेल राष्ट्रिय एकताको सम्भावना कति रहन्छ ?

मल्ल के. सुन्दरः राज्यको पुनःसंरचना र नयाँ संविधानको आवश्यकता नै नेपालमा लामो समयसम्म जाति, भाषा, क्षेत्रीयता, धर्म, संस्कृति, लिङ्गका आधारमा राज्य तहबाटै हुँदै आएको शोषण र विभेदको अन्त्य साथै एकात्मक राज्य व्यवस्था विस्थापित गरेर सङ्घीयताको स्थापना गरिनु हो । तर संविधान निर्माता दलहरूले यी कुरामा बेइमानी गरे । लामो समयदेखि नागरिकहरूले गर्दै आएका शान्तिपूर्ण आन्दोलन, जनविद्रोह, सशस्त्र क्रान्तिको मर्म, भावनालाई लत्याइदिए । त्यसैले चालु संविधान जारी गरिएको समयदेखि नै असहमतिका स्वर चर्किए । विरोध भए । अहिले यी कमी कमजोरीमा परिमार्जन गरिनु पर्दछ । सही रूपमा पहिचान, पहुँच र प्रतिनिधित्वको सवालमा बहुलता र विविधतालाई समेटिनु पर्दछ ।

८. तपाईं नेपालको राष्ट्रियता सधैँभरि सङ्कटमा छ भन्नुहुन्छ । यसको कारण के होला ? यदि सङ्कटमा छ भने त्यसबाट पार पाउने उपायहरू छन् कि छैनन् ?

मल्ल के. सुन्दरः राष्ट्रिय सीमाभित्रका जल, जमिन, जङ्गल वा प्राकृतिक अनि भौतिक संरचनाहरूका रक्षाले मात्र राष्ट्रियसार्वभौमिकताको रक्षा हुँदैन । राष्ट्रिय सार्वभौमिकता र एकताको प्रमुख आधार भनेको देशभित्रका नागरिकबीचको एकता हो । नागरिक नागरिकबीचको एकता सत्ताको दबाव र बल मिच्याइबाट स्थापित हुंदैन । त्यसका लागि आवश्यक आधारभूत कुरा भनेको नागरिक नागरिकबीच राज्यद्वारा गरिने समानताको व्यवहार हो । आजसम्मको राज्यको नीति, नियम र कानुनले नागरिक नागरिकबीचको एकता अभिवृद्धिका निम्ति त्यसखाले अभ्यास गरेको छैन । कतिपय नेपाली नागरिकले राज्य र सत्ता आफ्नो पनि हो भन्ने अनुभूत नै गर्न सकेका छैनन् । सबै नेपाली नेपालीमाझ आपसी एकताको वातावरण नै तयार गरिदिइएको छैन । यस्तोमा राष्ट्रियता कत्ति पनि मजबुत बन्न सक्दैन । यसकारण नेपालको राष्ट्रिय एकता अत्यन्त संवेदनशील अवस्थामा रहेको हो ।

 ९. नेपालको वामपन्थी आन्दोलनले आदीवासी, जनजाति र राष्ट्रियताका सवाल र मुद्दालाई मूलप्रवाहीकरण गर्न कस्तो भूमिका निर्वाह गर्यो ? यी सवालहरूका सन्दर्भमा खास आवश्यक ठाउँमा यो कतै चुकिरहेको पो छ कि ?

मल्ल के. सुन्दरः नेपालमा रूपान्तरण, परिवर्तन, सुधार आदिका लागि सामाजिक स्तरमा स्वतन्त्र ढङ्गबाट हुने गरेका अभियान, आन्दोलन आदिको राजनीतिकवृत्तले सही रूपमा विश्लेषण तथा मूल्याङ्कन गर्ने गरिएको छैन । केही हदसम्म साहित्यिक आयामका सन्दर्भमा यिनका चर्चा हुन्छन् तर सामाजिक सुधारका लागि भए गरेका अन्य पाटो, दलित, आदिवासी जनजाति, मधेसी आदि समुदायद्वारा समय समयमा स्वस्फूर्त उठाएका आन्दोलनहरूको राष्ट्रिय राजनीतिको समग्रतामा कस्तो स्थान छ ? त्यसले क्रान्ति र राजनीतिक रूपान्तरणका लागि के कति योगदान दिए ? सामाजिक अभियन्ता र सम्बन्धित सङ्घ संस्थाका भूमिका कस्ता थिए ? तिनको लेखाजोखा छैन । लामो समयसम्म सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक समस्या राजनीतिक दलका मुद्दा अन्तर्गत समावेश गरिँदैनथ्यो । यद्यपि अहिले त्यसमा केही सुधार भएका छन् । नेपालमा राष्ट्रियता, राष्ट्रिय एकता बलियो हुन नसक्नाका एउटा कारण यो पनि हो ।

समस्या मार्क्सवादको होइन । जातीय समस्याको वैज्ञानिक रूपमा सुझाउने अवधारणा त मार्क्सवादीले अगाडि सारेका हुन् तर सोभियत सङ्घदेखि अन्य युरोपेली मुलुक, जहाँ कम्युनिष्टहरूले शासन सत्ता समालेका थिए, त्यहाँ कतै पनि जातीय समस्या समाधानका सम्बन्धमा मार्क्सवादले प्रतिपादन गरेका कुराहरू इमान्दारी पूर्वक लागू गरिएनन् ।

१०. जातीय, राष्ट्रियता, पहिचानको सवाल मार्क्सवादले हल गर्न सक्दैन भन्ने विचार पनि पछिल्लो समय उत्तिकै मुखर भएर आएको देखिन्छ ? यस विषयमा तपाईं के भन्नु हुन्छ ?

मल्ल के. सुन्दरः समस्या मार्क्सवादको होइन । जातीय समस्याको वैज्ञानिक रूपमा सुझाउने अवधारणा त मार्क्सवादीले अगाडि सारेका हुन् तर सोभियत सङ्घदेखि अन्य युरोपेली मुलुक, जहाँ कम्युनिष्टहरूले शासन सत्ता समालेका थिए, त्यहाँ कतै पनि जातीय समस्या समाधानका सम्बन्धमा मार्क्सवादले प्रतिपादन गरेका कुराहरू इमान्दारी पूर्वक लागू गरिएनन् । कालान्तरमा त्यहाँ पनि एकल जातीय प्रभुत्व हावी हुँदै गयो । केही हदसम्म त्यसखाले व्यवहारिक कमी कमजोरी चीनमा पनि देखिन्छ ।

यता पुँजीवादी युरोपेली देशहरू विशेषतः स्कान्डिभियन क्षेत्रका सरकारहरूले अपनाएका जाति, भाषा, संस्कृतिसम्बन्धी नीति बढी अग्रगामी देखिन्छन् । क्यानाडा, न्युजिल्यान्ड, अष्ट्रेलिया अनि युरोपका वेनलक्स राष्ट्रहरूका व्यवस्था पनि तुलनात्मक रूपमा राम्रा छन् । दक्षिण अफ्रिका त्यसका लागि असल दृष्टान्त हो ।

११. नेपालमा जस्तै विश्वका अन्य देशहरूमा आदिवासी जनजाति तथा राष्ट्रियताका सवाल पेचिला बन्दै गएका देखिन्छन् । आदिवासी जनजातिको हक अधिकार र पहिचानका मुद्दामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता हुनसक्छ कि सक्दैन ?

मल्ल के. सुन्दरः अवश्य पनि, सही बुझाइको अभावमा यो सवाल जटिल बन्दै गइरहेको छ । विभेद, बहिष्करणका साथसाथै हेलचक्र्याँइ एकातिर, अर्कोतिर सम्बन्धित समुदायहरू माझ अधिकारबारेको चेतना विकसित भइसकेको छैन । साथै, अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालभित्रका यी समस्या बढी मुखरित हुँदै गइरहेका छन् । स्थिति हिजोजस्तो नेपालको आन्तरिक समस्याका रूपमा मात्रै छैन ।

१२. नेपालमा अहिले हरेक क्षेत्रमा निराशा व्याप्त देखिन्छ । तपाईं सक्रिय रहेको क्षेत्रमा आशाका किरणहरू कतिको देख्नुहुन्छ ?

मल्ल के. सुन्दरः यी त तात्कालीन वातावरणले सिर्जना गर्ने स्थिति हुन्, तर यी क्षणिक हुन् । अग्रगमनकारीहरू आशाका किरण देख्छन्, म पनि देख्छु ।

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari