पृथ्वीको रक्षा गर्नु हाम्रो पर्यावरणीय दायित्व हो : वन्दना शिवा

भारतको देहरादुनमा सन् १९५२ मा जन्मनु भएकी वन्दना शिवाका विविध परिचय छन् । उहाँलाई लेखक, दार्शनिक, पर्या–नारीवादी आदिका रूपमा चिनिन्छ । ‘भौतिकशास्त्रको दर्शन’ विषयमा केन्द्रित रही विद्यावारिधि हासिल गर्नुभएकी उहाँले पछि आफ्नो अध्ययन, अनुसन्धानलाई विज्ञान, प्रविधि र वातावरणीय नीतिमा केन्द्रित गर्नुभयो । सन् ७० को दशकमा भारतको उत्तराखण्डमा चलेको ‘चिप्को आन्दोलन’मा स्वयम्सेवीका रूपमा सहभागी भएकी उहाँ त्यसउपरान्त निरन्तर रूपमा पर्यावरणीय आन्दोलनको अग्रमोर्चामा लडिरहनु भएको छ । उहाँले सन् १९८२ मा ‘रिसर्च फाउन्डेसन फर साइन्स टेक्नोलोजी एन्ड इकोलोजी’ र सन् १९८७ मा ‘नवधान्य’ नामक संस्था स्थापना गरिन्, जसले लोपोन्मुख बालीको संरक्षणमा स्थानीय किसानहरूसँग सहकार्य गरी काम गरि रहेको छ । अनुसन्धान, लेखन र आन्दोलनलाई उनले परिपुरकका रूपमा एकसाथ अगाडि बढाइरहेकी छन्, जसको बलमा जेनेटिक इन्जिनियरिङ, जिएमओ मार्फत नाफाखोरी गरिरहेका बलशाली बहुराष्ट्रिय कम्पनीहरूसँग जुधिरहेकी छन् र स्थानीय मौलिक कृषि तथा खाद्य प्रणालीका पक्षमा वकालत गरिरहेकी छन् । उनका इकोफेमिनिज्म् , रिक्लेमिङ द कमन्स, भायलेन्स अफ ग्रिन रेभ्युलुसन, बायो पाइरेसी, अर्थ डेमोक्रेसी, वाटर वार जस्ता बिसभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । उनको समग्र योगदानलाई कदर गरेर ‘अन्नकी गान्धी’ (गान्धी अफ ग्रेन) भने र उपमा दिइएको छ । साथै उनलाई टाइम्स म्यागाजिनले पर्यावरणीय नायक र फोर्ब्सले विश्वकै प्रभावशाली महिलाका रूपमा सम्मान गरेका छन् ।
१. तपाईं भौतिक विज्ञान र दर्शनशास्त्रको पृष्ठभूमि सहित, एक वातावरणीय, पर्या–कृषि अभियानकर्ताका रूपमा वर्तमान पर्यावरणीय सङ्कट सम्बन्धमा एक अद्वितीय दृष्टिकोण राख्नुहुन्छ । के कुराले तपाईंलाई यो गन्तव्य पछ्याउनका लागि उत्प्रेरित गर्यो ?
शिवा : आइन्सटाइन१बाट प्रेरित भएर मैले बाल्यकालदेखि नै भौतिक विज्ञान पढ्ने निधो गरेकी थिएँ । यान्त्रिक विज्ञानमाथिको मेरो आलोचनाले नै मलाई क्वान्टम सिद्धान्तको आधार खोज्नमा प्रेरित गरेको थियो । क्यानडामा विद्यावारिधिका अध्ययनका लागि आवेदन दिएँ र “क्वान्टम सिद्धान्तमा लुकेको चर र गैर स्थानीयता (Hidden Variables and Non Locality in Quantum Theory) मा विद्यावारिधि गरेँ ।
म क्यानडा जानुअगाडि हिमालमा एउटा छोटो पदयात्रा गरेकी थिएँ । त्यहाँ Oak forest (फलाट) को जङ्गल हराइसकेको थियो । त्यस जङ्गलबाट निस्केको खोलाको पानी घटे र थोपामा (trickle) परिणत भएको थियो । म हुर्किएको जङ्गलको विनाशले मलाई चिन्तित बनाएको थियो । क्यानडा जाने जहाजलाई समयमै भेट्टाउन चिया पिउँदै दिल्ली जान बसेकी थिएँ । मैले त्यहाँ चिया बेच्ने मान्छेसँग भलाकुशारी गरेँ । उनले भने , “अब आशा छ । ‘चिप्को ’ छ ।” उनले जङ्गल विनाश रोक्नका लागि महिलाहरू कसरी जागरुक भइरहेका थिए भन्ने सुनाए । त्यहीँ मैले प्रत्येक विदामा फर्किने र ‘चिप्को २’ अभियानमा स्वयंसेवक बन्ने प्रतिज्ञा गरेँ । यसरी ‘चिप्को ’ अभियानमा मेरो संलग्नता सुरु भएको थियो ।
सन् १९८४ मा पञ्जाबमा भएको हिंसा र भोपालको विषादी विपत्ति३ले मलाई हरित क्रान्ति४को बर्बरतामाथि ध्यान दिन बाध्य बनायो । त्यसबेलादेखि म हामीलाई राम्रो र स्वस्थ्य खाद्य उपलब्ध गराउँदै पृथिवीलाई पुनर्जीवित गर्ने अहिंसात्मक खाद्य उत्पादनका तरिकाहरूको खोजमा छु ।
सन् १९८७ को नयाँ बायो प्रविधिहरू माथिको सम्मेलनमा मैले , रासायनिक उद्योगहरूले प्रत्येक बिउलाई आनुवांशिक रूपमा इन्जिनियरिङ गर्ने, पेटेन्ट गर्ने र ग्याट (GATT जुन WTO) बन्यो मार्फत पेटेन्ट लागु गर्ने घोषणा गरेको सुनेँ । त्यही समयदेखि मैले बिउहरू सुरक्षित गर्न थालेँ, नावधान्य (Navdanya) स्थापना गरेँ । जीवन र बिउमाथिको पेटेन्ट५, बायो पाइरेसी६, हाम्रो जैविक विविधता र परम्परागत ज्ञानको चोरीलाई चुनौती दिन सुरु गरेँ ।

तश्वीर : चिप्काे आन्दाेलनमा सहभागी महिलाहरू
२.मोनोकल्चर , रासायनिक मल, किटनाशक, जिएमओ , जीवाश्म इन्धनमाथि अधिक निर्भरता भएको प्रचलित औद्योगिक कृषि उत्पादनको तरिका पृथ्वीका लागि हानिकारक छ र दिगो छैन । तर पनि वैश्विक उत्तरका मुख्य देशहरू निरन्तर निर्विवाद यसको वकालत र लबी गरिरहेका छन् । भारत पनि यसको अपवाद होइन । दक्षिण वरपरका देशहरूका लागि पृथ्वीमैत्री साथै आर्थिक रूपमा गरिबमैत्री विकास विकल्पका सम्बन्धमा तपाईंको बुझाइ के छ ?
शिवा : मैले विगत चार दशक जीवाष्म इन्धनमुक्त, जीवाष्म रसायनमुक्त, ऋणमुक्त, जैविक विविधतापूर्ण, कम रसायन, जनता र साना फार्म केन्द्रित, ठुला मोनोकल्चरमा आधारित नरहेको पर्यावरणीय कृषिका विकल्पहरूको अनुसन्धान र अभ्यास गर्दै बिताएँ । नवधान्यले स्थानीय बिउ, पर्यावरणीय प्रक्रिया, स्थानीय बजारको निर्माण गरी जैविक विविधतामा आधारित पुनर्जीवित कृषि कार्यले जैविक विविधताको पुनरुत्थान गर्दै भारतको जनसङ्ख्याको दुई गुणा पोषणको उपलब्धता बढाउन सक्छौँ भन्ने देखाउँदछ ।
तथाकथित आधुनिक प्रजातिभन्दा स्थानीय बिउहरू पोषणले भरिपूर्ण र दुई सय गुणासम्म बढी मात्राका तत्व र म्याक्रोन्युट्रियन्ट्स७ भएका हुन्छन् । किसानहरूले घातक विषादी र अनविकरणीय व्यापारिक बिउः जिएमओ र हाइब्रिड (ठिमाहा) को अनावश्यक प्रयोग रोकेर र विश्वभरि व्यापार हुने वस्तुहरू कम मूल्यमा बिक्री गरे र दस गुणा आम्दानी बढाउन सक्दछन् ।

तश्वीर : वन्दना शिवाले स्थापना गरेकाे संस्था नवधान्य र किसानकाे सहकार्य
३. तपाईं, वातावरणको रक्षा र स्वस्थ ग्रहका लागि बहुराष्ट्रिय निगम र व्यापारिक समूहका विरुद्ध लड्नुभएको लामो इतिहास छ । नेपालको अवस्थाका लागि उपयोगी हुने केही पाठहरू बताइदिनुहोस् न ?
शिवा : मलाई एक पटक नेपालका एक बौद्ध भिक्षुले नवीकरणीय मकैको बिउ माग्ने क्रममा भेटेका थिए । ‘मोन्साटो ’ जस्ता व्यापारिक कम्पनीहरूको अनविकरणीय व्यापारिक बिउको परनिर्भरतामा नेपाली किसानहरू कसरी फसेका छन् भनी उनले बताएका थिए । प्रत्येक वर्ष बिउ किन्नु पर्थ्याे । जसका कारण उनीहरू ऋणमा डुबिरहेका थिए । छोरीलाई जागिर लगाइदिने दाबी गर्दै दलालहरू ऋणको समस्या समाधान गरिदिने भनी उनीहरू सामु आउँथे । यद्यपि व्यापारिक लोभ र व्यापारिक बिउले सिर्जना गरेको ऋणको दलदलले महिलाहरूलाई यौन व्यापारमा फसाउने गर्छ । भारतमा उस्तै अनविकरणीय व्यापारिक बिउले सिर्जना गरेको ऋणको दलदलको घटनाले चार लाख बढी किसानलाई आत्महत्यासम्म पुर्याएको छ ।
बहुराष्ट्रिय कम्पनीहरु जसले हामीलाई विषादी बेच्छन्, तिनले हामीलाई रोग दिन्छन् । औषधी उद्योगले पनि उनीहरूले निर्माण गरेको रोगको महङ्गोमा उपचार बेच्छन् । नागरिकहरूलाई रोगको दलदलमा फसाइरहँदा किसानलाई ऋणमा फसाउँछन् । र , अहिले “Farming without farmers, Food Without farms” जस्ता नारासँगै हाम्रो खाद्य र स्वास्थ्यउपर पूर्ण नियन्त्रणका कोसिस गरिरहेका छन् । धेरै सङ्ख्याका साना खेती, खाद्य विविधता, जलवायु विविधता भएका दक्षिण एशियाली राष्ट्रहरूले हाम्रो जैविक विविधता र हाम्रो खाद्य सम्प्रभुताको रक्षा गर्नु आवश्यक छ । हामीले हाम्रो खाद्य प्रणालीलाई व्यापारिक लोभ र एकाधिकारबाट छुटाएर पृथ्वी र हाम्रो जैविक विविधतासँग जोड्न आवश्यक छ ।
तथाकथित आधुनिक प्रजातिभन्दा स्थानीय बिउहरू पोषणले भरिपूर्ण र दुई सय गुणासम्म बढी मात्राका तत्व र म्याक्रोन्युट्रियन्ट्स भएका हुन्छन् । किसानहरूले घातक विषादी र अनविकरणीय व्यापारिक बिउः जिएमओ र हाइब्रिड (ठिमाहा) को अनावश्यक प्रयोग रोकेर र विश्वभरि व्यापार हुने वस्तुहरू कम मूल्यमा बिक्री गरेर दस गुणा आम्दानी बढाउन सक्दछन् ।
४. विगत दुई दशकमा नेपालको पहाडी क्षेत्रमा जनसङ्ख्या तीव्र गतिमा घटिरहेको छ । खासगरी विदेश र पूर्वी, मध्ये र पश्चिम नेपालका धरै जिल्लाका सहरी क्षेत्रमा भएको श्रमको आप्रवासनले गर्दा पहाडहरू कृषि अभावबाट गुज्रिरहेका छन्, जहाँ ४० देखि ६० प्रतिशत कृषि भूभाग बाँझो छ र खाद्यान्न आयात बढिरहेको छ । यहाँको विचारमा सङ्कट टार्न नयाँ आधारमा द्रुत कृषि उत्पादनका लागि भारतीय पहाडी क्षेत्र र अन्यत्रबाट सिक्नुपर्ने त्यस्ता के के पाठ छन् ?
शिवा : ग्रामीण क्षेत्र रित्तिने विश्वव्यापी परिघटना हो । ऋण सिर्जना गर्ने औद्योगिक विश्विकृत खाद्य प्रणालीले निर्देशित हुन्छ । जसले उत्पादन लागतमा वृद्धि, कृषि मूल्य धरासायी र उपभोग मूल्यमा वृद्धि गर्दछ । व्यापारिक अनुदान, जैविक इन्धन र जैविक र सायन अनुदानको सहुलियत औद्योगिक खेती र विश्व व्यापारलाई हुन्छ । यो अवस्थालाई चिर्न किसानलाई बेवास्ता गर्ने र उनीहरूलाई जमिनबाट बेदखल गर्ने अधिक लागत मूल्यसहितका औद्योगिक कृषिमा परिवर्तन आवश्यक छ ।
यदि हामीले धनी देशहरू जस्तै अमेरिका, क्यानडा, यु.के.मा के भइरहेछन्, त्यो जीवनयापन फेरि हासिल गर्नुपर्छ । हामीले जीवन र जीविकाको पूर्वाधार फेरि बनाउनुपर्छ । हामीले उनीहरूको शोषणकारी अर्थतन्त्रको असरको रूपमा रोग, ऋण र परनिर्भरता सिर्जना गर्ने सीमित निगम र पुँजीपतिको चरम नाफामा केन्द्रित नभई कल्याण, स्वास्थ्य र खुसीमा केन्द्रित हुनै पर्छ । त्यसै कारण हामी८ ”पृथ्वीमा फर्कौँ : जैविक विविधता, पर्यावरणीय कृषि र पुनर्जीवित जैविक कृषिको ए देखि जेडसम्म” (Return to EarthM The A–Z of Biodiversity, Agroecology, and Regenerative Organic Farming) विषयमा वार्षिक कक्षा उपलब्ध गराउँदै आएका छौँ ।
हामीले धनी देशहरू जस्तै अमेरिका, क्यानडा, यु.के.मा के भइरहेछन्, त्यो जीवनयापन फेरि हासिल गर्नुपर्छ । हामीले जीवन र जीविकाको पूर्वाधार फेरि बनाउनुपर्छ । हामीले उनीहरूको शोषणकारी अर्थतन्त्रको असरको रूपमा रो ग, ऋण र परनिर्भरता सिर्जना गर्ने सीमित निगम र पुँजीपतिको चरम नाफामा केन्द्रित नभई कल्याण, स्वास्थ्य र खुसीमा केन्द्रित हुनै पर्छ ।
५. जलवायु र पर्यावरणीय सङ्कटको मूल कारकका रूपमा नाफाको उद्देश्यका लागि निर्बाध उत्पादन गर्ने पुँजीवाद रहेको देखिन्छ । विद्वान्हरू उत्पादनको उद्देश्यमाथि प्रश्न गरिरहेका छन् र ‘डिग्रोथ’९ बारेमा विश्वव्यापी बहस सुरु भएको छ । यदि पुँजीवाद समस्या हो भने समाधान के हो ?
शिवा : जीवित अर्थतन्त्रको सिर्जना । अर्थतन्त्र ओइकोनोमिया (Oikonomia)१० हो , जीवन बाँच्ने कला हो । बाँच्नका लागि ओइको (Oikos) चाहिन्छ, हाम्रो घर , पृथ्वी । अहिले जेलाई अर्थतन्त्र भनिन्छ, त्यो “क्रिमाटिस्टक्स (chrematistics)” पैसा कमाउने कला हो । हामीले जङ्गल विनाश गर्यो भने हामीसँग नाफामा वृद्धि हुन्छ । हामीले जङ्गल रोप्यौँ भने त्यहाँ कुनै नाफा छैन । यदि हामी रोग सिर्जना गर्छौं भने अस्पताल र औषधीमा नाफा छ । स्वस्थ खाद्य सिर्जना गर्यौँ, रोग प्रतिरोधी क्षमता निर्माण गर्यो , स्वास्थ्य वृद्धि गर्यो भने त्यहाँ नाफामा वृद्धि नै हुँदैन । त्यसकारण पृथ्वी र मानिसहरूको हित रक्षाका लागि, अधिक आर्थिक सञ्चय (क्रेमाटिस्टिक्स) र नाफा माथिको जोडलाई कम गर्नु आवश्यक छ । हामीले निगम र तिनीहरूको नाफा नै अर्थतन्त्रको केन्द्र नबनाई, जसले पृथ्वी र मानिसहरूलाई केन्द्रमा राख्ने प्रवृत्तिमा फड्को मार्नु आवश्यक छ ।
मेरा लागि प्रभावकारी तीन रणनीति; पृथ्वी र प्रकृति जीवित छन्, उनीहरूको अधिकार छ र हाम्रो उत्तरदायित्व छ, पृथ्वीको आशंका रूपमा मानिसको खाना, पानी, स्वस्थ वायु, स्वास्थ्य र जीविकोपार्जनको अधिकार छ र हाम्रो स्वतन्त्रताका लागि सार्वभौमिकता र
स्वसङ्गठन केन्द्रबिन्दु हुन र यी कुरा सबै प्राणी र मानव जातिका जन्मसिद्ध अधिकार
हुन् भन्ने स्विकार्नु हो ।
६. हाम्रो समयको महत्वपूर्ण अभियानकर्ताका रूपमा तपाईं वर्तमान पर्यावरणीय अभियानहरूको प्रभावकारितालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? दिगो भविष्यतर्फ विकसित हुन तपाईंलाई महत्वपूर्ण लाग्ने रणनीतिहरूका सम्बन्धमा केही बताइदिन सक्नुहुन्छ ?
शिवा : पृथ्वीको रक्षार्थ उत्तरदायित्व लिनु र कदम चाल्नु हाम्रो पर्यावरणीय दायित्व र नैतिक अनिवार्यता हो । वर्तमान पर्यावरणीय आन्दोलनहरूको प्रभावकारिता दुई तत्वमा निर्भर गर्दछन्; समुदाय र पृथ्वीको पर्यावरणीय अन्तरसम्बद्धताको नियम र प्रकृतिको अधिकार साथै उत्पीडक व्यवस्थाको बर्वरताका सम्बन्धमा कति जोडिएका छन् । मेरा लागि प्रभावकारी तीन रणनीति; पृथ्वी र प्रकृति जीवित छन्, उनीहरूको अधिकार छ र हाम्रो उत्तरदायित्व छ, पृथ्वीको आंशका रूपमा मानिसको खाना, पानी, स्वस्थ वायु, स्वास्थ्य र जीविकोपार्जनको अधिकार छ र हाम्रो स्वतन्त्रताका लागि सार्वभौमिकता र स्वसङ्गठन केन्द्रबिन्दु हुन र यी कुरा सबै प्राणी र मानव जातिका जन्मसिद्ध अधिकार हुन् भन्ने स्विकार्नु हो ।
हामीले लड्नै पर्ने कुरा के हो भने साझा जल, जङ्गल, जैविक विविधता, बिउ, प्रकृतिको व्यापारीकरण (बैंक र रकफेलर फाउन्डेसनले यो व्यापारीकरणको नेतृत्व गरिरहेका छन्, वालस्ट्रिटमा जीवित प्रकृतिलाई व्यापारिक वस्तुमा परिणत गर्ने, जसले अर्बपतिका लागि चार हजार ट्रिलियन अमेरिकी डलर लाभ हुने छ) र प्रयोगहिनताको विचारधारा११ (९९ प्रतिशत मानिस बेकार छन्, युवल नोहा हरारी र मार्क जुकर्वर्ग । हामीले साझा, सामुदायिक, वास्तविक खाद्य र प्रकृतिको जीवनको पूर्वाधार विकास गर्नुपर्दछ ।
अनुवादकः भावना घिमिरे
पादटिप्पणी
१) यहाँ आइन्स्टाइन भनेर अल्बर्ट आइन्स्टाइन भन्न खोजिएको हो । अल्बर्ट आइन्स्टाइन एक जर्मन सैद्धान्तिक भौतिकशास्त्री थिए । उनलाई अहिलेसम्मकै सबैभन्दा ठुला र सबैभन्दा प्रभावशाली वैज्ञानिकहरू मध्ये एक मानिन्छ ।
२) “चिप्को ” जङ्गल संरक्षणसम्बन्धी, भारतमा व्यापारिक नाफाका लागि रुख कटान र वन फँडानीसम्बन्धी सरकारको नीतिको विरोध गर्दै, १९७० को दशकमा ग्रामीण महिलाहरूले रूखलाई अँगालो हालेर , रूखहरू वरिपरि आफ्नो हात बेरेर तिनीहरूलाई काट्न नदिन गरेको आन्दोलन हो । यो आन्दोलनले प्रकृतिलाई केन्द्रमा राख्नुपर्ने चेतनामा विकास गरेको मानिन्छ ।
३) पञ्जाबमा धेरै मानिस मारिने गरी भएको आन्दोलन र भोपाल विषादी फ्याक्ट्रीको विष्फोटन हरित क्रान्तिसँग जोडिन्छ । हरित क्रान्तिले स्थानीय उत्पादन र किसानलाई पारेको प्रभाव, विस्थापनका सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ ।
४) पञ्जाबमा धेरै मानिस मारिने गरी भएको आन्दोलन र भोपाल विषादी फ्याक्ट्रीको विष्फोटन हरित क्रान्तिसँग जोडिन्छ । हरित क्रान्तिले स्थानीय उत्पादन र किसानलाई पारेको प्रभाव, विस्थापनका सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ ।
५) पेटेण्ट भन्नाले कुनै पदार्थ वा पदार्थको समूहको बनावट सञ्चालन वा प्रसारणको नयाँ उपाय वा तरिका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनुपर्दछ । कानून बमोजिम कसैका नाममा दर्ता भएको पेटेण्ट अरु कसैले नक्कल गर्न वा आफ्नो नाममा नामसारी नगराई वा लिखित रूपमा अनुमति नलिई प्रयोग गर्न हुँदैन । – पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ । यसरी पेटेण्ट कसैले आफ्नो नाममा दर्ता गराइसकेपछि अन्य कसैले त्यो मेरो उत्पादन वा आविष्कार भनी दाबी गर्न पाउँदैन ।
६) बायो पाइरेसी भन्नाले कुनै भूगोल र मानिसहरूबाट उनीहरूको जैविक वस्तु उत्पादनहरू (उदाहरणका लागि औषधिजन्य विरुवा) विना कुनै क्षतिपूर्ति दिई अनैतिक, गैरका¬नूनी तरिकाले लिनु, व्यवसायिक शोषण गर्नु ।
७) पोषण तत्वको समूहलाई म्याक्रोन्युट्रियन्ट्स भनिन्छ । यसभित्र कार्बोहाइड्रेड प्रोटिन र चिल्लो पर्दछ ।
८) हामी’ भन्नाले नाभ्दान्या इन्टरनेस्नल भनिएको हो । अर्थ युनिभर्सिटी मार्फत उक्त कोर्ष सञ्चालन गरिन्छ ।
९) ‘डिग्रोथ’ एक विचार र अभियान पनि हो । यसले मानव शोषण र वातावरण विनाशको जगमा उभिएको हरहालतमा नाफा कमाउनुपर्ने विश्व पुँजीवादी व्यवस्थाको विरोध गर्दछ । यसका अभियानकर्ता र अनुसन्धानकर्ताहरूले नाफा, अधिक उत्पादन र अधिक खपतलाई केन्द्रमा नराखी समाजिक र पर्यावरणीय हितलाई केन्द्रमा राख्नुपर्ने वकालत गर्दछन् । ‘डिग्रोथ’ ले पुँजीवाद र वातावरणीय न्याय एकै पटक अस्तित्वमा हुन सक्दैनन् भन्ने कुरामा जोड दिन्छ ।
१०) ‘अर्थव्यवस्था’ शब्दलाई ग्रीक शब्द ओइकोनोमियाबाट आएको मानिन्छ, जुन दुई शब्दहरू मिलेर बनेको छः ओइकोस (Oikos), जसलाई सामान्यतया ’घरेलु’ भनिन्छ; र nemein, जसलाई ‘व्यवस्थापन र वितरण’ को रूपमा अनुवाद गरिएको छ । यसैले ओइकोनोमिया ’घरेलु व्यवस्थापन’ भन्ने बुझिन्छ ।
११) प्रयोगहिनताको विचारधारा (Ideology of disposability) वस्तु, स्रोतसाधन र मानिस समेत बेकार , अयोग्य र प्रयोगविहिन हुन्छन् भन्ने विचारधारा हो । दिगोपन, हित, कल्याण र संरक्षण भन्दा पनि तत्कालीन सहजता र नाफा महत्वपूर्ण हो भन्छ । वस्तुहरू सहजताका लागि पुन प्रयोग गर्न नपर्ने, नसकिने गरी निर्माण गर्ने, संरक्षणलाई वेवास्ता गर्दै स्रोतसाधनको शोषण गर्ने, केही व्यक्ति वा मानिसहरूको समूहलाई अब थप उपयोग हुन सक्दैनन् वा नाफा दिन सक्दैनन् जस्तो लाग्यो भने उनीहरूलाई सीमा¬न्तकृत गर्ने वा खारेज नै गर्नुपर्छ भन्ने विचार ।


जवाफ लेख्नुहोस्