info@bampanththeleft.com

Bampanth The Left

#

कालिगण्डकी किनारका एक्ला साक्षी

  • भूमिराज शर्मा

विदेशी भूमिलाई नै आफ्नो सपनाको संसार बनाउँदै दैनिक हजारौँ युवा हातमा पासपोर्ट बोकेर विमानस्थलमा लामवद्ध छन् । कतिपय अवैध आप्रवासी बन्नका लागि करोड खर्चेर मृत्युसँग लड्दै तल्लो बाटो अमेरिका हान्निइरहेका छन् । अधिकांश नेपाली युवाहरू विदेशमै आफ्ना सपनाहरू पछ्याइरहेका बेला एक युवा भने ठीक उल्टो बाटो हिँडिरहेका छन् । आफ्नो संस्कृति, परम्परा र पुरातन वास्तुकला मात्रै नभएर प्राकृतिक सम्पदा र पर्यावरण समेत मासिने चिन्ताले निदाउन नदिए पछि उनी तिनको संरक्षणमा एउटा बेग्लै अभियान चलाइरहेका छन् । ती युवा हुन्, चार दशकदेखि बालुवा उत्खनन र अधिक दोहनको चपेटामा परेर थिलोथिलो भएको कालीगण्डकी नदी जोगाउन अहोरात्र खटिएका आरके अदिप्त गिरी । जलस्रोतको विशाल भण्डार र हिन्दु संस्कृतिको पवित्र धमनी मानिने कालीगण्डकीमाथि भइरहेको उत्खनन, दोहन र प्रदूषणका कठोर वास्तविकताको साक्षी मात्रै नबने र यसलाई जोगाउन उनी तन–मन–बचनले लागि परेका छन् ।

आफ्नो मातृभूमिको मुटुमा बग्ने आदिम सभ्यताको पर्याय कालीगण्डकीको किनारमा घुम्दै उनले आफूलाई इतिहाससँगको चिन्तनशील सागरमा डुबाएका छन् । संरक्षणकर्मी गिरीका लागि यो नदी फगत एउटा जलमार्ग मात्र नभई विगतका पुस्ताका सम्झना र आगामी पुस्ताका आकाङ्क्षाका बिचमा रक्त सञ्चार गर्ने एउटा धमनी बनेको छ । नदीको पुरातन सभ्यता र पर्यावरणप्रतिको श्रद्धा बटुल्दै हिँडेका उनी वर्तमान दुर्दशाको अवस्थाले निकै त्रसित छन् । गण्डकी क्षेत्रका जनताको जीवनरेखा मानिएको कालीगण्डकीले हाल अधिकमात्रामा नदिजन्य पदार्थको उत्खनन र दोहनले सिर्जित घाउ बोकेको छ र सँगै मानव उदासीनता र उपेक्षाको भार खेप्न अभिसप्त छ । कालीगण्डकीका यी र यस्तै नियति नजिकबाट नियालेका गिरी निकै मर्माहत छन् र त पटक पटक विभिन्न माध्यमबाट आफ्नो आक्रोस अभिव्यक्त गर्दछन् ।


साहित्य, कला, प्रकृति यात्रा र फोटो पत्रकारिताले कोरिदिएको संरक्षण अभियानको यात्रामा उनी आफूलाई पत्रकार भने र चिनाउन चाहँदैनन् । यद्यपि उनको पत्रकारिता अध्ययन र त्यसको व्यवहारिक प्रयोग स्मरणयोग्य छ । उनी आफूलाई अभिव्यक्त गर्न विभिन्न विधाको साथ लिने गर्दछन् । देश डुल्दा, घुम्दा र बुझ्दा उनलाई छोएका– बिझेका विषयवस्तुहरूमा आधारित उनका कैयन् फोटो फिचरहरू राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित छन् । उनी आवश्यकताको बोध गरेर नै क्यामेरा बोकेर देशका कुनाकाप्चामा पुग्थे । सीमान्त नागरिकहरूका अव्यक्त कथाहरूलाई फोटो मार्फत व्यक्त गर्नु उनको दिनचर्या नै थियो । बेलाबखत उनी महिनौँ यात्राकै क्रममा गुमनाम हुन्थे । अनि आफ्नो सिर्जनासहित अखबारका पानाहरूमा देखा पर्दथे । देशका विभिन्न विकट स्थानहरूमा पुगे र कला, संस्कृति, साहित्य र प्राकृतिक सम्पदाहरूको खोज गरी स्वदेश तथा विदेशमा चिनारी गराउँदै हिँडेका गिरी कोरोना कालको लकडाउनको बिचमा काठमाडौँको लामो बसाइ छोडेर गाउँ फर्किए । जब उनी कुश्मा आए, उनको नजर कालीगण्डकीमा प¥यो । गण्डक सभ्यताको प्रतीक बनेको नदी दोहनको दुष्चक्रमा परेको देखे । अत्यधिक दोहनले नदीको स्वरूप बिग्रिएको देखेर उनको मुटु जल्यो । नदीमाथिको एकाध व्यक्तिको एकाधिकार उनलाई सह्य भएन । चुप लागे र बस्न उनको मन मानेन । अनि, जनअधिकारको एजेण्डा बोकेर उनले ‘कालीगण्डकी बचाऔँ अभियान’ सुरु गरे ।

संरक्षणकर्मी गिरी भन्छन्, “यदी प्रदुषण यसरी नै बढ्न थाल्याे भने अबकाे केही वर्षमा कालिगण्डकीकाे अस्तित्व समाप्त हुनेछ , भविष्यमा सङ्कटकाे सामना गर्ने हामी नै हाैं । नदीजन्य पदार्थकाे प्रयाेगका नाममा भइरहेकाे अतिक्रमणकाे सबै क्षेत्रबाट विराेध गराैं । कालीगण्डकी सभ्यता बचाऔं ।”

गिरीले सोही अभियानमार्फत तमाम बेथिति र विसङ्गतिविरुद्ध आवाज उठाउन थाले । सामाजिक सञ्जाल फेसबुकमा ‘नदी सप्तक’ कविता शृङ्खला सुरु भयो । ‘घर फर्कौं प्रकृतिमा फर्कौँ’ भन्ने मूलमन्त्रका साथ अघि बढेका गिरी भन्छन्, “प्राकृतिक पर्यावरण मासेर कहीँ पुग्न सकिँदैन । नदीनाला उत्खनन गर्नु, सभ्यता मास्ने महापराध हो । संसार कै जेठो नदी सभ्यता र धार्मिक हिसाबले आस्था र विश्वासको प्रतीक समेत मानिने कालीगण्डकीको दोहन जघन्य अपराध हो ।”

सन् २०१० को मुस्ताङ यात्राले दिएको प्रेरणा
सभ्यताको प्रतीक, स्वच्छता, गरिमा र पहिचानले भरिपूर्ण कालीगण्डकीसँगको गिरीको सामीप्यताको अर्को पाटो पनि छ । सन् २०१० मा उनले जलवायु परिवर्तनको अध्ययन अवलोकनका लागि विश्व बैंकद्वारा सञ्चालित जलवायु लगानी कोषको आइपिसिसी (Intergovermental Pannel on Climate Change, IPCC) कार्यक्रमअन्तर्गत स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूसँगै हिमालय क्षेत्रको भ्रमण गर्ने अवसर पाए । करिब दुई हप्ताको यात्रामा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावसम्बन्धी अध्ययनमा जुटे । उनलाई हिमनदीको अवस्था, नदीतटीय क्षेत्रको समस्या, नदीको बहाबबारे बुझ्ने मौका मिल्यो । भ्रमणकै क्रममा हिमतालहरू सुक्दै गएको , देशकै सबै भन्दा कम वर्षा हुने जिल्ला मुस्ताङमा केही वर्षयता वर्षा हुने क्रम बढ्न थालेको तथ्य भेट्टाए । प्रकृति पर्यावरणमा आएको उतार चढाबले कृषि, समाज, वनस्पति र वन्यजन्तुको दैनिकीमा आएको परिवर्तन नियाले । स्थानीयहरूसँगको अन्तरक्रियामा पानीका मुहानहरू सुक्दै जान थालेको , हिमपहिरो जाने क्रम बढेको जस्ता प्रभावहरू देखिएको जानकारी प्राप्त गरे । यी सबै परिवर्तनहरूले उनको प्रकृतिलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिए ।
विश्वविद्यालय तहमा पर्यटन र विकास, संस्कृति लगायतका विषयहरू अध्ययन गरेका गिरीका लागि यी जानकारीहरूले प्रकृति संरक्षणतर्फ लाग्न झनै प्रेरित गरे । उनले कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक महत्वको खोजी गर्न थाले । तिब्बती पठारबाट आएको पश्चिमतर्फ नुप्छु खोला र पूर्वीतर्फ सर्छु खोला मिसिएर उत्पत्ति भएको सप्तगण्डकी, कालीगण्डकी , श्रीकृष्णगण्डकीका नामले परिचित यो नदी विश्वकै नदी सभ्यतामा सर्वश्रेष्ठ हो । ८ सय १४ किलोमिटर लामो पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको कालीगण्डकी वैदिक सनातनीहरूका लागि अलौकिक धार्मिक क्षेत्र पनि हो । यही नदीको तटीय क्षेत्रमा मुक्तिनाथ, गलेश्वर , मोदीवेनी, रुरु, देवघाट, त्रिवेणीजस्ता धामहरू रहेका छन् । शालिग्राम पाइने विश्वको एक मात्र नदी भएकाले पनि यसको छुट्टै महत्त्व रहेको हो । यथार्थमा शालिग्राम जीवाश्मयुक्त पत्थर (Fossilized Rock) हो र यसको अस्तित्वले हिमालय क्षेत्र कुनै समयमा समुद्र थियो भन्ने तथ्य उजागर गर्दछ तर हिन्दु संस्कृतिमा भगवान् विष्णुलाई शालिग्रामका रूपमा लिने गरिन्छ । यसरी कालीगण्डकी गहिरो भौगोलिक, ऐतिहासिक र धार्मिक महत्व राखेको छ । प्राचीन धर्मग्रन्थहरूमा उल्लेख गरिएको र हिन्दू र बौद्ध दुवै समुदायहरूले पवित्र मान्ने यो साझा आस्थाको नदी पनि हो ।

नदी सभ्यता, कला, संस्कृति संरक्षण र सम्बर्धन आफैमा एउटा चुनाैतीपूर्ण कार्य हाे । याे एकल प्रयासले सम्भव हुने कार्य पनि हाेइन । “एक थुकी सुकी, सय थुकी नदी” भने जस्तै संरक्षण अभियानमा सचेत नागरिकहरूकाे सामूहिक प्रयत्न जरूरत पर्दछ ।

सङ्कटमा कालीगण्डकी
पर्यावरणीय एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण कालीगण्डकी जलविद्युत् उत्पादन तथा नदीजन्य पदार्थहरूको उत्खननका कारण पछिल्ला वर्षहरूमा सङ्कटमा पर्दै गएको छ । धार्मिक महत्व बोकेको शालिग्राम तस्करीको विषय बनेको छ । पवित्र नदीमा स्नान गरे पुण्य मिल्ने हिन्दू आस्था रहेको कालीगण्डकीमा फोहरको डङ्गुर मिसाउने गरिएको छ । यस्ता क्रियाकलापहरू सबैका लागि असह्य हुन थालेका छन् । संरक्षणकर्मी गिरी भन्छन्, “यदि प्रदूषण यसरी नै बढ्न थाल्यो भने अबको केही वर्षमा कालीगण्डकीको अस्तित्व समाप्त हुने छ । भविष्यमा सङ्कटको सामना गर्ने हामी नै हौँ । नदीजन्य पदार्थको प्रयोगका नाममा भइरहेको अतिक्रमणको सबै क्षेत्रबाट विरोध गरौं । कालीगण्डकी सभ्यता बचाऔं ।” गिरी अझै थप्छन्, “कालीगण्डकी हाम्रो जीवनको स्रोत हो । यसको अवैध उत्खनन हामीलाई मान्य छैन । यो कसैको निजी सम्पत्ति होइन र प्राकृतिक सम्पदा नष्ट गर्ने अधिकार कसैलाई छैन । पर्यावरणीय, पर्यटन, सांस्कृतिक र धार्मिक विशिष्टता बोकेको कालीगण्डकीलाई बचाउनु भनेको मानव सभ्यतालाई बचाउनु हो । प्रकृतिमा हस्तक्षेप बन्द गर्नु हाम्रो दायित्व हो । यसका विरुद्ध लडौं ।”

कालिगण्डकी नदीमाथि भइरहेकाे दाेहन

कालीगण्डकी क्षेत्रमा देखिएको पर्यावरणीय सङ्कटलाई कम गर्न सर्वोच्च अदालतले यस माथिका सबै दोहन र अतिक्रमणको अन्त्य गर्न २०७८ असार २२ गते आदेश दिएको थियो तर पनि यसको अवैध दोहन र अतिक्रमण अझै रोकिएको छैन । संरक्षणकर्मी गिरी भन्छन्, “जल भनेको जीवन हो । विश्वका सबै प्राणी जलविना अस्तित्वमा रहन असम्भव छ । अति संवेदनशील पर्वतीय भूभाग भएकाले यहाँको संरक्षण जरुरी छ । विकास केका लागि र कसका लागि भन्ने बुझ्न जरुरी छ । हामी विकास विरोधी होइनौँ, हामी कला, संस्कृति, सभ्यता र संरक्षणसहितको विकास चाहन्छौँ ।”

पर्यावरणीय दोहनविरुद्ध साङ्गीतिक प्रतिरोध
कालीगण्डकीमाथिको मानवको मनपरीलाई गीत सङ्गीतमार्फत प्रस्तुत गर्ने प्रयास समेत गरिएको गिरी बताउँछन् । श्रवण मुकारुङका शब्द, सङ्गीत र गायक कर्णदासको स्वरमा ‘ए कालीगण्डकी’ बोलको प्रतिरोधी गीत पनि दुई वर्ष पहिले बजारमा आइसकेको छ ।

ए ! कालीगण्डकी
ओ ! आमागण्डकी
माकुरोको माउभयो तिम्रो जिन्दगी !

श्रवण मुकारुङकाे शब्द, सङ्गीत र कर्णदासकाे आवाजमा रहेकाे गीत

“प्रस्तुत गीत प्रकृतिमाथि मानवजातिको मनपरी विरुद्धको आवाज हो । कालीगण्डकीले झेलिरहेको सन्ताप र वेदनाका कथा भन्न हामीले गीतलाई रोजेका हौँ,” अभियन्ता गिरी भन्छन् । कालीगण्डकीमाथि निर्मम दोहन गरेर लुट मच्चाउनेहरूका निम्ति यो प्रतिरोधको स्वर हो । अहिलेदेखि नै कालीको संरक्षणमा सचेत र इमान्दार पहल लिइएन भने भोलि धेरै ढिलो भइसक्ने छ ।


कालीगण्डकीमाथिको हाम्रो अधिकार भनेको जल, जमिन, जङ्गल, खानी, हावापानी मात्र नभई अरू थुप्रै दृष्टिको आधार स्तम्भ पनि हो । यस्तो विशेष महत्वको नदी संरक्षण गर्नुको सट्टा अरूको नियन्त्रणमा सुम्पिनु खेदजन्य विषय हो । पर्यावरणीय, सांस्कृतिक तथा धार्मिक विशिष्टता बोकेको नदी बचाउनु मानव सभ्यता बचाउनु पनि हो । कालीगण्डकी र सिङ्गो प्रकृतिमाथिको अहिलेको हस्तक्षेप रोक्नका लागि पनि ‘कालीगण्डकी बचाऔँ’ अभियान सुरु गरिएको गिरी बताउँछन् । यस साझा सभ्यता बचाउको लडाइँमा जोडिन उनी सबै लाइ अनुरोध र अपिल पनि गर्छ्न् । हुन पनि हामीलाई स्वरूप बिग्रेको कालीगण्डकी हेर्नु छैन । अहिले कालीगण्डकी तटीय क्षेत्रका प्रख्यात घाटहरू दोहनका कारण लोप भएका छन् । सिंचाइमा समस्या उत्पन्न हुँदा अन्न उत्पादनको समस्या देखा परेको छ । संसार कै लागि जल यात्रामा प्रसिद्धि कमाएको यस नदीबाट जलयात्रा विस्थापित छ । फोहोर मैलाले नदी प्रदूषित छ । नदी जो गिएमा नै हाम्रो संस्कृति, सामाजिक रहनसहन, प्राकृतिक सौन्दर्य सबै जोगिने हो । खै ! यो वित्यास र मान्छे भित्रको जङ्गली चेतले हामीलाई कहाँ पु¥याउला ?— गिरी चिन्ता व्यक्त गर्छन् । वातावरणीय प्रभाव मूल्याङ्कनको ख्याल नगरी प्रकृतिमाथि गरिएको ठाडो हस्तक्षेपका कारण नदीहरू सङ्कटमा पर्दै गएको गिरीको बुझाइ छ । उनी भन्छन्, “हाम्रा प्राकृतिक सम्पदाहरू राजनीतिक अतिवादी र धार्मिक अतिवादीहरूका कब्जामा छन् ।” आज आफ्नै अस्तित्वको खातिर नदी तटीय क्षेत्रका प्रभावित समुदायलाई सचेत गराउँदै माफियाको कब्जामा पुगेका नदीनालाहरूलाई पुरानै अवस्थामा फर्काउन प्रतिरोधमा उत्रिनु परेको गिरीको तर्क छ । सरकारी अभिलेख हेर्ने हो भने दर्जनौँ सङ्घसंस्थाहरू कालीगण्डकीको संरक्षणका नाममा खोलिएका छन् । तर ती केवल स्वार्थ केन्द्रित गतिविधिमा मात्रै क्रियाशील छन् । तिनीहरूले रत्तिभर प्रतिरोधी आवाजहरू उठाउन सकेका छैनन् ।

संरक्षणका चुनौती र अवसर
कालीगण्डकी दोहनविरुद्ध चलेको ‘कालीगण्डकी बचाऔँ’ अभियानले पनि निकै चुनौतीहरूको सामना गरिरहनुपरेको छ । संरक्षण अभियान सञ्चालनका क्रममा अभियन्ता आरके अदिप्त गिरीले स्थानीय केही पत्रकारहरूसँग कानुनी लडार्इं नै लड्नुप¥यो । उनले केही पत्रकार र सरकारी निकायहरूले खेलेको नकारात्मक भूमिकासहित धेरै अवरोधहरूको सामना गरे । चेतना जगाउने कार्यहरूमा प्रशासनिक निकायहरूको असहयोग, स्थानीय सरकारको उदासीनता र निहीत स्वार्थ समूहको प्रतिरोधसम्म खेप्नुपरेको तीतो अनुभव गिरीले बटुलेका छन् । उनी भन्छन्, “प्रत्येक पाइलामा अवरोधहरू सामना गरियो तर अभियानकर्ताहरूको अटल सङ्कल्पले संरक्षण अभियानको गतिलाई जीवित राख्यो ।”

कालीगण्डकीको सहायक नदी मोदीमा देखिएको जलवायु सङ्कटको अवस्था संरक्षणकर्मीहरूका लागि अर्को टाउको दुखाइको विषय बने को छ । अनियन्त्रित विकासकै कारण जलचर प्राणीहरू सङ्कटमा परेका छन् । कुनै समय मोदीको असला भनेर ख्याति कमाएका माछाहरू अहिले लोप हुने अवस्थामा पुगेका छन् । मोदी तटीय क्षेत्रमा तापमानमा वृद्धि हुँदै गएको छ । रैथाने वनस्पतिहरू मर्दै गएका छन् । कताकता सिङ्गो नदी नै हराएजस्तो छ । मोदी खोला पानीको तिर्खामा छ । हराभरा जमीन मरुस्थलमा परिणत भएको हो कि जस्तो महसुस हुन थालेको भनी स्थानीय बासिन्दाहरूले गुनासो गर्न थालेका छन् । मोदीमा सञ्चालित जलविद्युत् केन्द्रहरूले नदीलाई सुख्खा बनाइदिएका छन्, जसको कारणबाट जलचक्र नै बिथोलिएको छ । मोदी नदीले भोगेको यो दुर्दशाको अहिलेसम्म कहीँकतै बाट आवाज उठ्न सकेको छैन ।
अभियन्ता गिरीले चुनौतीहरूका बिचमा केही आशाका किरणहरू पनि देखेका छन् । उनी संरक्षण अभियानका स्मरणीय उदाहरणहरू पस्किन्छन् चाहे त्यो समुदायहरू एकजुट भएको साक्षी होस् वा पछिल्ला दिनहरूमा अभियानकर्मीको सचेत प्रयत्न होस् । उनी एक पटक प्रदूषित नदीको पुनरुत्थानको साक्षी बस्न तयार छन् । आशा र प्रेरणाका किरणको रूपमा काम गरिरहेका छन् । उनी नदी संरक्षणमा तीनै तहका सरकारको संलग्नताको महत्वमा जोड दिन्छन् । उनी नेपालको जलस्रोतको दीर्घकालीन दिगोपन सुनिश्चित गर्न स्थानीय सरकार देखि सङ्घीय निकायसम्मको समन्वयात्मक प्रयास र कठोर नीति आवश्यक ठान्छन् । यस्तो प्रयासमा नागरिक समाजको भूमिकालाई नै बलियो बनाउनुपर्ने उनको तर्क छ । नागरिकस्तरको सक्रिय सहभागिता र प्रतिरोध सङ्घर्ष नै परिवर्तनको शक्तिशाली वाहक बन्न सक्छ ।

नदी, कला र संस्कृति संरक्षणको अभियानमा सामेल हुन चाहने हरूलाई गिरीको स्पष्ट अपील छ, “जो जहाँ छा,ैँ त्यहीँबाट आवाज उठाऔँ चाहे त्यो कलाको माध्यमबाट होस् वा कानुनी तबरले नै किन नहोस् । हाम्रो साझा सङ्गठित प्रयत्नले नै चुनौतीलाई सामना गर्ने सामथ्र्य प्रदान गर्दछ । हाम्रा जीवनका स्रोत बनेका नदीहरूको संरक्षण गर्ने, कलात्मक सम्पदालाई चिनाउने र सांस्कृतिक पहिचानको संरक्षण गर्ने अवसर लाई सदुपयोग गरौं ।

माेदीमा सञ्चालित जलविद्युत केन्द्रहरूले नदीलाई सुख्खा बनाइदिएका छन्, जसकाे कारणबाट जलचक्र नै बिथाेलिएकाे छ । माेदी नदीले भाेगेकाे याे दुर्दशाकाे अहिलेसम्म कहीँकतैबाट आवाज उठ्न सकेकाे छैन ।

अबको बाटो र विकल्प
नदी सभ्यता, कला, संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा एउटा चुनौतीपूर्ण कार्य हो । यो एकल प्रयासले सम्भव हुने कार्य पनि होइन । ‘एक थुकी सुकी, सय थुकी नदी’ भने जस्तै संरक्षण अभियानमा सचेत नागरिकहरूको सामुहिक प्रयत्न जरुरत पर्दछ । संरक्षण अभियान तथा परियोजनाको भावी योजना के रहेको छ भन्ने जिज्ञासामा गिरी भन्छन्, “कालीगण्डकीसँग सम्बन्धित लुकेका तथ्यहरूलाई उजागर गर्न ‘नदी सप्तक कविता शृङ्खला’को निरन्तरता, ‘कलर्स अफ कालीगण्डकी आर्ट क्याम्पे न’, कालीगण्डकी मार्च, फोटो प्रदर्शनी, डकुमेन्ट्री निर्माणजस्ता सिर्जनात्मक कार्यक्रमहरू संचालन गर्ने सोंच रहेको र नागरिक जागरणका लागि सार्वजनिक अपिल र अनुरोध गरिएको छ । कालीका नखुलेका विविध पाटाहरू समेटेर पुस्तकहरू प्रकाशन गर्ने सोच पनि अभियानले लिएको छ । त्यस्तै शताब्दी घर लाई बहुसांस्कृतिक के न्द्रको रूपमापूर्णता दिने काम पनि सँगसँगै अघि बढिरहेको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा देखिएको प्राकृतिक दोहनको भयावह अवस्था र चुनौतीको सामना गर्न व्यापक नागरिक दबाबको सिर्जना गर्नु आवश्यक रहेको छ । दोहनकै कारण लोप हुन लागेको नौका सयर व्यवसायलाई पुनर्जीवित गर्न, नदीलाई आफ्नो पुरानै धारमा फर्काउन र शालिग्राम–शीलाको संरक्षण गर्न संरक्षण अभियानलाई जनस्तरसम्म पु¥याउने योजना रहेको छ । प्रकृतिलाई गुरु माने र अगाडि बढ्नु पर्ने बेला आइसकेको गिरीको तर्क छ । उनको तर्कमा सहमत हुँदै स्वतस्फुर्त रूपमा देश विदेशबाट संरक्षण अभियानमा सचेत नागरिकहरूको साथ सहयोग जुट्ने क्रम सुरु भइसकेको छ । अब उनी मात्र केवल प्राकृतिक दोहनविरुद्धको एक्लो साक्षीका रूपमा कालीगण्डकी किनारमा रहने छैनन् । उनका साथमा हजारौँ मुट्ठीहरू प्रतिरोधमा उत्रिन तयार बन्दै छन् ।

अन्त्यमा सम्पूर्ण संरक्षणकर्मीहरूमा गिरीको आग्रह छ, “नदी, कला र संस्कृति संरक्षणका लागि सामुदायिक संलग्नतामा वृद्धि गरौँ । नियामक उपायहरूको खोजी र दिगो विकासका अभ्यासहरूको संयोजन अपरिहार्य छ । हाम्रा बहुमूल्य सम्पदाहरूको संरक्षण र संवर्धन गर्दै आगामी पुस्ताका लागि जीवन्त भविष्यको सिर्जना गर्न जुटौँ ।”


(यस सामाग्रीमा प्रयोग भएका सबै फोटोहरु गिरीको व्यक्तिगत सङ्ग्रहबाट साभार गरिएको हो ।)

पर्वत जिल्लाका क्रियाशील लेखक तथा शिक्षाकर्मी भूमिराज शर्मा त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम तथा मूल्याङ्कन र राजनीतिशास्त्र विषयमा स्नातकोत्तार हुनुहुन्छ । नेपाल खुला विश्वविद्यालयबाट शिक्षा अध्ययन विषयमा एमफिल र मीडिया एन्ड कम्युनिकेसन स्टडिज विषयमा स्नातकोत्तार समेत अध्ययन गर्नुभएका शर्माको लेखनको रुचिक्षेत्र विशेषगरी शिक्षा र पर्यावरणका समसामयिक विषयवस्तुमा आलोचनात्मक दृष्टिकोणसहित कलम चलाउनु रहेको छ । राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा उहाँका तीन दर्जन भन्दा बढी लेखहरू प्रकाशित छन् ।

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari