मानव उन्नतिका बाधक तीन महासङ्कट

- उत्तमबाबु श्रेष्ठ
विषय प्रवेश
सम्पूर्ण मानवजाति यतिखेर उन्नति र अधोगतिको मध्यधारमा छ । उन्नति केलाई भन्ने ? उन्नतिको परिभाषा के हो ? त्यसैगरी अधोगति केलाई भन्ने ? अधोगतिको परिभाषा के हो ? उन्नतिप्रतिको बुझाइ र मानक फरक हुन सक्छ तर मापन गर्न सकिने किसिमले आधार तहबाट माथिल्लो स्तरमा पुग्नु वा अवस्थामा सुधार हुनुलाई उन्नति भन्न सकिन्छ । कङ्गालबाट समृद्ध बन्नु, अनिकालको अवस्थाबाट गुजारातिर लाग्नु, रोगबाट आरोग्य प्राप्त गर्न विभेद मेटाएर समता ल्याउनु आदिलाई उन्नति मान्न सकिन्छ । त्यसको विपरीत आधारभूत अवस्थाबाट अझ तल झर्नु वा खस्कनु अधोगति हो । उन्नति र अधोगतिको यस्तो सामान्य मानक र परिभाषाबाट हेर्दा मानव जातिले आफ्नो उत्पत्तिदेखि हालको अवस्थासम्म आउँदा आफ्नै सहजातीय प्राणीहरूका तुलनामा मात्रै होइन, आफ्ना पुर्खाहरूले बाँचेको जीवनको तुलनामा अकल्पनीय उन्नति हासिल गरेको छ ।
संसारभर मानिसहरूको वर्तमान जीवन विगतका पुर्खाको भन्दा व्यापक रूपमा उन्नत भएको छ । विभिन्न देशहरूबिच उन्नतिको दर र गति फरक छ तर मान्छेको सरदर आयु, खानपान र उपभोगको विविधता, गरिबी र सुखीपनका सूचकहरूमा विगत एक शताब्दी यता संसारभर भीमकाय उन्नति भएको छ (पिंकर, २०१८) । अहिले मानिस आफ्ना पुर्खाभन्दा शिक्षित र सुखी मात्रै भएको छैन, धेरै बाँच्ने, विविध र पोषणयुक्त खाना खाने, सुखसयलपूर्ण जीवन बाँच्ने र रक्तपातयुक्त लडाइँ, झैझगडामा कम समय बिताउने भएको छ । उन्नतिको यस्तो दौडमा पछि परेको नेपाल जस्तो देशमा समेत उन्नतिका कतिपय सूचकहरूमा व्यापक परिवर्तन देख्न सकिन्छ । हाम्रो तथ्याङ्क संसार (Our World in Data)का अनुसार, सन् १९५० मा नेपालीको सरदर आयु ३८ वर्ष थियो । सन् २०२१ मा पुग्दा त्यो बढेर ६८ वर्ष पुगेको छ१ । यसरी एक पुस्तामै मानव स्वास्थ्यको महत्वपूर्ण सूचक सरदर आयु लगभग दोब्बर हुनु भनेको अकल्पनीय प्रगति हो । प्राग्ऐतिहासिक समयदेखि सन् १९०० सम्मको कालखण्डमा पनि विश्वमा मानिसको सरदर आयु अन्य जनावरको जस्तै स्थिर थियो अर्थात् मान्छेको आयु प्रकृतिले दिएको जस्तो औसत ३० वर्षकै हाराहारीमा सीमित थियो । आयु बढाउन सकिन्छ भन्ने कुरा हाम्रा पुर्खाहरूको कल्पनामा समेत थिएन ।
एकातिर विश्वभर र नेपालमा पनि मानिसको सरदर आयु बढेको छ, अर्कातिर चरम गरिबीमा बाँच्ने मानिसको सङ्ख्या स्वाट्टै घटेको छ । नेपालमा सन् १९८४ मा गरिब (गरिबीको अन्तर्राष्ट्रिय मापदन्ड २.१५ डलर प्रतिदिन आम्दानी गर्ने) जनसंख्या ६८ प्रतिशत थियो भने सन् २०१० मा त्यो संख्या ८ प्रतिशतमा झरेको छ२ । विगत ५० वर्षमा साक्षरता, आधारभूत स्वास्थ्य सेवामा पहुँच, पोषणको अवस्था, बिजुली बाल्नेको सङ्ख्या (उर्जामा पहुँच) मा र सडक यातायातको विस्तारमा पनि उल्लेख्य परिवर्तन भएको छ । यी सबैको कारणले होला ग्यालुप सर्वेक्षणको नतिजामा आधारित भएर प्रकाशित गरिने विश्वखुसी प्रतिवेदनमा आफू आफ्नोे जीवनबाट प्रसन्न छु भन्ने मानिसहरूको सङ्ख्या नेपाललगायत विश्वभर बढेको छ । त्यसकारण यतिखेरको मानिस आफ्नोे पुर्खाको भन्दा बढी जीवन बाँच्ने मात्रै होइन, समृद्धशाली र सुखी पनि भएको छ । तर सिक्काको अर्को पाटो पनि छ । अहिलेको मानिसले श्वास फेर्ने हावा, विचरण गर्ने ठाउँ, पुर्खाको तुलनामा प्रदूषित र फोहोरी बनेको छ । अहिलेका मानिसले जलवायुजन्य विपद्हरू पुर्खाका तुलनामा बढी भोग्नुपरिरहेको छ र पृथ्वीमा भएका जीवनका असङ्ख्य विविधतासँग साक्षात्कार हुने अवसरबाट वञ्चित हुनुपरेको छ, अर्थात् अहिले विश्वमा प्रदूषण बढ्दो छ, पर्यावरणीय सङ्कट चुलिँदो छ र जैविक विविधताको ह्रास र विशेषगरी प्रजातिहरूको विलोपीकरण बढ्दो छ ।
मानवजीवनका लागि अपरिहार्य तत्व र विश्व अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रूपमा रहेको पर्यावरणका यस्ता अवयवहरूमा भएको अधोगति र क्षयीकरणले हाल विश्वको अर्थतन्त्र, आर्थिक सामाजिक सम्बन्ध र जनस्वास्थ्यमा एकैसाथ नकारात्मक प्रभाव पारेको छ । यसले हालसम्म मानव जातिले गरेका उन्नति खस्काउने मात्रै होइन, मानव अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेको छ । त्यसैले विश्वव्यापी यस्ता सङ्कटहरू विशेषगरी जलवायु सङ्कट, जैविक विविधतामा ह्रास र वायु एवम् प्लाष्टिक प्रदूषणलाई संयुक्त राष्ट्रसङ्घले हालसालै तीन महासङ्कट (Triple Planetary Crisis) भनेर नामाकरण गरेको छ । यस लेखमा ती महासङ्कटहरूको बारेमा चर्चा गरिएको छ ।
जलवायु सङ्कट
जुलाई २०२३ मा पृथ्वीको सरदर तापमान हालसम्म रेकर्ड गरिएको उक्त महिनाको तापमानभन्दा उच्च थियो । विश्व मौसम सङ्गठन (World Meteorological Organization) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार गत जुलाईको पृथ्वीको औसत तापमान १६.९५ डिग्री सेल्सियस थियो३ । यसअघि पृथ्वीमा जुलाई महिनाको औसत तापमान सबैभन्दा उच्च (जुलाई २०१९ मा १६.६३ डिग्री) रेकर्ड गरिएको थियो । खास महिनाको उच्च तापमान मात्रै होइन, पृथ्वीको औसत तापमान वृद्घिमा र समुद्री सतहको तापमान वृद्धिमा पनि यस वर्ष नयाँ रेकर्डहरू कायम भएका छन् ।
हाल पृथ्वीको औसत तापमान २०.९६ डिग्री पुगेको छ, जुन अहिलेसम्मकै उच्च अङ्क हो । उच्च तापमानसँगै एन्टार्टिका महादेशमा स्थायी जमेको हिउँ पग्लने क्रम पनि इतिहासकै सबैभन्दा तीव्र बनेको छ । यस्तो उच्च तापमान वृद्धिले संसारभर विभिन्न जलवायुजन्य प्रकोपहरू निम्त्याएको छ, जसमध्ये युरोप र अमेरिकामा चलेको उष्ण हावादेखि क्यानडाको जङ्गलमा लागेको भीषण डढेलो र बेइजिङमा परेको अत्यधिक बर्षासम्मले संसारको ध्यान खिचेको छ । बेइजिङमा जुलाई महिनाको अन्त्यमा परेको वर्षा विगत १४० वर्ष यताकै सबैभन्दा अत्यधिक बर्षा थियो । पूर्वी पहाडको बाढी पहिरोबाहेक हालसम्म नेपालमा त्यस्तो वितण्डा नभए तापनि देशभरका ११३ मौसम मापन केन्द्रमध्ये चार वटामा यस अघिका उच्च तापमानको रेकर्ड यसपालि तोडिएको छ ।
हुन त पृथ्वीको हावापानीमा प्राकृतिक रूपमा गर्मी, सुख्खा, अतिवृष्टि जस्ता उतारचढावका घटनाहरू घटिरहेका हुन्छन् तर आजभोलि त्यो एकाध अपवादभन्दा पनि मानिसद्वारा सिर्जित कृत्रिम कारणले हुने तापमानका कारण भएको जलवायु परिवर्तन (Climate Attribution)सँग सम्बन्धित भएको तथ्य अनुसन्धानहरूले देखाएका छन् । यदि मानवद्वारा उत्सर्जित कार्बन वृद्धिका कारण बढ्दो तापमानले जलवायु परिवर्तन नगराएका भए पृथ्वीका विभिन्न भागमा देखिएको यस वर्षको जस्तो उच्च गर्मी र लुको सम्भावना अत्यन्त न्यून हुने थियो । युरोप, अमेरिकामा त त्यो तातो हावा बहने क्रम लगभग असंभव नै हुन्थ्यो४ । सम्भवतः उच्च तापमानसँगै जलवायु सङ्कटको यही परिदृष्यलाई हेरेर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिय गुटरेसले एउटा कार्यक्रममा भनेका थिए—“अब पृथ्वी उम्लने चरणमा प्रवेश गरेको छ५ ।” मानव जातिको साझा घर पृथ्वीको तापमान बढेर ‘उम्लने चरणमा प्रवेश गर्नु’ को मुख्य कारण जैविक इन्धनमा आधारित पुँजीवादी भौतिक विकास हो । उर्जा, कलकारखाना, यातायातमा जैविक इन्धनको व्यापक प्रयोगसँगै वन फँडानी र चरम उपभोक्तावादले उत्सर्जित कार्बनडाइअक्साइड, मिथेन जस्ता हरितगृह ग्याँस वायुमण्डलमा थुप्रिएपछि त्यसले सूर्यबाट आएको तापलाई पृथ्वीको वायुमण्डलमै कैद गरिराख्दा पृथ्वी सामान्यभन्दा बढी तात्न थालेको छ ।
मानव सिर्जित यस्तो तापमान वृद्धिसँगै पृथ्वीको जैविक, वायुमण्डलीय, महासागरीय क्षेत्रहरूमा व्यापक परिवर्तन भएको छ । औद्योगिक क्रान्तिपछिको समयमा जैविक इन्धनको व्यापक प्रयोग हुन थालेपछि नै पृथ्वी तात्ने क्रमको सुरुवात भएको हो, जुन हालका वर्षहरूमा झनै उच्च गतिमा भइरहेको छ । गत मार्चमा सार्वजनिक भएको जलवायु परिवर्तन सम्बन्धी अन्तरदेशीय निकाय आइपिसीसीको छैटौं प्रतिवेदनका अनुसार पृथ्वीको सन् २०११ देखि २०२० सम्मको औसत तापक्रम सन् १८५० देखि १९०० सम्मको तुलनामा १.१ डिग्री सेल्सियसले बढेको छ, जुन विगत २००० वर्षकै इतिहासमा सबैभन्दा उच्च तापमान वृद्धि हो६ । यसरी निरन्तर तापमान वृद्धिसँगै खडेरी, अतिवृष्टि, अतिगर्मी, बाढी र डडेलोको प्रकोप पनि बढेकाले कृषि प्रणालीमा, पानीको आपूर्तिमा, रोगको फैलावटमा व्यापक प्रभाव पारेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । यदि तापमान घटाउन केही प्रयास नगर्ने हो भने अबको एक दशकभित्रै करिब ३ देखि १३ करोड मानिसहरू थप गरिबीमा धकेलिने, विश्वखाद्य सुरक्षामा नकारात्मक प्रभाव पार्ने, तापसँग सम्बन्धित मृृत्यु र मुटुरोग बढ्ने र ३५ करोड मानिसहरूले पानीको सङ्कट बेहोर्न पर्ने अनुमान उक्त प्रतिवेदनमा गरिएको छ ।
नेपालको जलवायु परिवर्तनको अवस्था पनि विश्वको सरदर अवस्थाभन्दा फरक छैन । सन् १९५० देखि सन् २०२० सम्मको सत्तरी वर्षमा नेपालमा औसत तापमान प्रतिवर्ष ०.१९ डिग्री सेल्सियसले बढेको छ७ । सन् १९५१ देखि १९८० सम्मको नेपालको औसत वार्षिक तापक्रम ११.६७ डिग्री सेल्सियस थियो भने सन् १९९१ देखि २०२० मा त्यो १२.८५ डिग्री सेल्सियस पुगेको छ । यो दुई अवधिमा नेपालमा सरदर १.१८ डिग्री सेल्सियसले औसत तापमानमा वृद्धि भएको छ ।
औसत तापमान वृद्धिसँगै नेपालमा रातिको तापक्रम बढ्ने क्रम पनि तीव्र भएको छ । वार्षिक रूपमा दैनिक ३५ डिग्री सेल्सियसभन्दा बढी गर्मी हुने दिनको सङ्ख्या पनि प्रत्येक वर्ष बढ्दो छ । औसत वर्षाको परिमाणमा पनि फेरबदल आएको देखिन्छ । विश्व बैंकको अध्ययन अनुसार८ सन् १९५१ देखि १९८० सम्ममा नेपालमा सरदर वार्षिक वर्षा २२२६ मिमी हुने अवस्था थियो भने सन् १९९१ देखि २०२० सम्ममा वार्षिक १९२५ मिमी वर्षा हुने अवस्था आएको छ । अर्थात् समग्र वार्षिक वर्षाको मात्रामा सन् १९५१—१९८० को तुलनामा १९९१—२०२० मा १३ प्रतिशतले कमी आएको छ ।
मौसमको दुई प्रमुख सूचकाङ्क तापमान र बर्षातमा आएको फेरबदलसँगै नेपालमा मौसमजन्य विपदको घटनामा पनि व्यापक वृद्घि भएको छ । हामीले गरेको अध्ययनअनुसार, सन् १९७१ देखि २०२० सम्ममा नेपालमा बाढी, पहिरो र आगलागी जस्ता जलवायुजन्य प्रकोपहरूका घटनामा उल्लेख्य वृद्घि भएको छ । उक्त समयमा नेपालमा बाढीको घटनामा प्रतिवर्ष ४ वटा, पहिरोको घटनामा ६ वटा र आगलागीका घटनामा २७ वटाको दरले वृद्घि भएको छ । सन् १९७१ देखि १९८० सम्म सरदर वर्षमा पहिरोको घटना १७ वटा, बाढीको घटना २५ वटा र आगलागीका घटना ७३ वटा हुने गर्दथ्यो भने पछिल्लो दशक अर्थात् सन् २०११ देखि २०२० सम्म सरदर वार्षिक २२३ वटा पहिरो, १५५ वटा बाढी र १३१३ वटा आगलागीका घटना घटेका रिपोर्टहरू प्राप्त भएका छन् । यसरी जलवायुजन्य घटनाको तीव्र बढोत्तरी हुने तर त्योसँग जुध्ने स्रोतसाधन र सामथ्र्यको अभाव हुने हुँदा नेपाल जलवायु परिवर्तनको खतराको हिसाबले विश्वमै उच्च खतरामा भएको मुलुकको श्रेणीमा परेको छ । जर्मन वाचकाअनुसार सन् २००० देखि २०१९ सम्ममा जलवायुजन्य घटनाको मारमा पर्ने विश्वका उच्च देशहरूमध्ये नेपाल १० औं नम्बरमा थियो९ ।
अक्सफामले गरेको अनुसन्धानअनुसार विगत २५ वर्षमा पृथ्वीको कुल हरितगृह ग्याँस उत्सर्जनको ४६ प्रतिशत उत्सर्जन विश्वका १० प्रतिशत धनी मानिसहरूले गरेका छन् । अझ कुल उत्सर्जनको ३७ प्रतिशत उत्सर्जन गर्नेमा पुँजीवादी एवं साम्राज्यवादी देशका उच्च ५ प्रतिशत धनी मानिसहरू पर्दछन् जब कि पृथ्वीको ५० प्रतिशत गरिब जनसङख्याले उक्त अवधिमा कुल हिस्साको जम्मा ६ प्रतिशत मात्रै हरितगृह ग्याँस उत्सर्जन गरेको थियो । अक्सफामकै कार्बन विलेनियर प्रतिवेदनअनुसार विश्वका १२५ जना अर्बपतिले उत्सर्जन गर्ने कार्बनको परिमाण ६ करोड ७८ लाख जनसङ्ख्या भएको फ्रान्सको भन्दा पनि बढी छ । ती १२५ जना अर्बपतिको प्रतिव्यक्ति कार्वन उत्सर्जन गरिब व्यक्तिको प्रतिव्यक्ति कार्बन उत्सर्जनभन्दा लगभग १० लाख गुणा ज्यादा भएको कुरा अक्स्फामको उक्त प्रतिवेदनमा उल्लेख छ ।
जलवायु सङ्कटको मार नेपाल जस्ता गरिब र सीमित स्रोतसाधन भएका देशलाई बढी पर्दछ । आइपिसिसीका अनुसार हाल विश्वका ३.३ देखि ३.६ अरब मानिसहरू जलवायु परिवर्तनको असरसँग सन्निकट छन्, जसमध्ये दक्षिण एसिया, अफ्रिका र साना समुद्री टापु राष्ट्रहरूका बासिन्दा अग्रपङ्क्तिमा छन् । एउटा देशभित्र पनि जलवायु परिवर्तनको असर भिन्न समुदायमा भिन्न हुन्छ । गरिब, सीमान्तकृत र महिलामा यसको प्रभाव बढी परेको देखिन्छ, तर जलवायु परिवर्तनको कारक तत्व हरितगृह ग्याँस उत्सर्जन गर्नमा भने पुँजीवादी एवं साम्राज्यवादी देशहरू अग्रपङ्क्तिमा छन् । अक्सफामले गरेको अनुसन्धानअनुसार विगत २५ वर्षमा पृथ्वीको कुल हरितगृह ग्याँस उत्सर्जनको ४६ प्रतिशत उत्सर्जन विश्वका १० प्रतिशत धनी मानिसहरूले गरेका छन्१० । अझ कुल उत्सर्जनको ३७ प्रतिशत उत्सर्जन गर्नेमा पुँजीवादी एवं साम्राज्यवादी देशका उच्च ५ प्रतिशत धनी मानिसहरू पर्दछन् जब कि पृथ्वीको ५० प्रतिशत गरिब जनसङख्याले उक्त अवधिमा कुल हिस्साको जम्मा ६ प्रतिशत मात्रै हरितगृह ग्याँस उत्सर्जन गरेको थियो । अक्सफामकै कार्बन विलेनियर प्रतिवेदनअनुसार विश्वका १२५ जना अर्बपतिले उत्सर्जन गर्ने कार्बनको परिमाण ६ करोड ७८ लाख जनसङ्ख्या भएको फ्रान्सको भन्दा पनि बढी छ११ । ती १२५ जना अर्बपतिको प्रतिव्यक्ति कार्वन उत्सर्जन गरिब व्यक्तिको प्रतिव्यक्ति कार्बन उत्सर्जनभन्दा लगभग १० लाख गुणा ज्यादा भएको कुरा अक्स्फामको उक्त प्रतिवेदनमा उल्लेख छ । त्यसकारण जलवायु परिवर्तन धनी देश र मानिसहरूले सिर्जना गरेको र गरिब देश र गरिब मानिसमाथि थुपारिएको मानवीय सङ्कट हो ।
वायु र प्लास्टिक प्रदूषण
जलवायु सङ्कटपछि मानव उन्नतिमा भाँजो हाल्ने अर्को महासङ्कट प्रदूषण मुख्यतः वायु र प्लास्टिक प्रदूषण हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, विश्वमा हाल प्रति १० जनामध्ये ९ जना व्यक्ति प्रदूषित हावामा स्वास फेर्न बाध्य छन् । हाल विश्वमा मानव मृत्युका थुप्रै कारकहरूमध्ये ११.६५ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुने गर्दछ । वायु प्रदूषणले मानिसलाई मुटुको रोग, हृदयघात, श्वासप्रश्वाससम्बन्धी समस्या, फोक्सोको क्यान्सर, डाइबिटिज जस्ता रोगहरूको खतरा बढाउने भएकाले त्यसले विश्वभर धेरै मानिसको ज्यान लिने गरेको छ ।
विश्व्यापी रोेग भार (Global Burden of Diseases) को प्रतिवेदन (२०१९) अनुसार हाल विश्वमा मानव मृत्युको प्रमुख कारक तत्वमध्ये पहिलोमा उच्च रक्तचाप, दोस्रोमा धुम्रपान र तेस्रोमा वायु प्रदूषण (घरभित्र र बाहिरको वायु प्रदूषण) पर्दछ१२ । वायु प्रदूषणको कारण विश्वमा वार्षिक ६७ लाख मानिसको ज्यान जाने कुरा उक्त प्रतिवेदनमा उल्लेख छ । भारतमा मात्रै गतवर्ष १६ लाखभन्दा बढी मानिसको मृत्युको कारण वायु प्रदूषण थियो । नेपालमा वार्षिक ४२ हजार मानिसको मृत्यको कारण वायु प्रदूषण मानिन्छ ।
भारत नेपाल जस्ता गरिब देशहरूमा वायु प्रदूषणबाट हुने मृत्युदर उच्च हुनाको कारण यहाँको प्रदूषित हावा हो । कम विकसित देशहरूमा खाना पकाउने दाउरा, गुइँठा लगायतका सामग्रीको प्रयोग उच्च हुने भएकाले घरभित्रको वायु प्रदूषण यी देशहरूमा उच्च छ । यहाँको बाह्य हावा पनि उत्तिकै प्रदूषित छ । वायु प्रदूषणका हिसाबले दक्षिण एसियालाई त विश्व प्रदूषणको राजधानी नै भन्ने गरिन्छ । आइक्यू एयरका अनुसार, वायु प्रदूषण उच्च भएका विश्वका ५० प्रदूषित सहरमध्ये दक्षिण एसियामा मात्रै ४४ वटा सहर पर्दछन्१३ । उक्त सूची विश्वका सहरहरूको सन् २०१७ देखि २०२२ सम्मको वायु गुणस्तरको अवस्था (पिएम २.५ भनिने वायूमा हुने सुक्ष्म धुलोका कण) हेरेर निकालिएको हो ।
सहर मात्रै होइन, समग्र देशको अवस्था तुलना गर्ने हो भने पनि विश्वका खराब हावा भएका देशहरूको सूचीमा दक्षिण एसियाली मुलुकहरू माथिल्लो स्थानमा पर्दछन् । अमेरिकाको बोस्टनस्थित हेल्थ इफेक्ट्स इन्स्टिच्युटले तयार पारेको भूमण्डलीय वायुको अवस्था state of Global Air) २०२० नामक प्रतिवेदनमा जनसङ्ख्याको अनुपातमा विश्वका १० प्रदूषित देशहरूमध्ये भारतलाई पहिलो नम्बरमा, नेपाललाई दोस्रो, बङ्गलादेशलाई नवाैं र पाकिस्तानलाई दशौँ नम्बरमा प्रदूषित देश भनेर चित्रित गरिएको छ१४ । त्यसैगरी अमेरिकाको येल विश्वविद्यालयले वार्षिक रूपमा प्रकाशित गर्ने वातावरणीय निष्पादन सूचकाङ्क (Environmental Performance Index), जसमा वायु प्रदूषण लगायतका ३२ वातावरणीय सूचकाङ्क समेटिएका हुन्छन्, त्यसका अनुसार, सन् २०२२ मा नेपालको वातावरणीय निष्पादनको अवस्था १८० देशमध्ये १७८ औं थियो१५ ।
नेपालभन्दा एक स्थानपछि भारत (१७९ औं) र अन्तिम स्थानमा पाकिस्तान (१८० औं) र बङ्गलादेश (१७३ औं) स्थानमा छन् । त्यसैगरी सिकागो विश्वविद्यालयले निर्माण गरेको वायु प्रदूषणको मात्राले मानिसको आयुलाई पार्ने प्रभावका आधारमा बनाइएको अर्को जीवनका लागि गुणस्तरीय वायु सूचकाङ्क (Air Quality Life Index) ले विश्वमा बङ्गलादेशलाई पहिलो, भारतलाई दोस्रो र नेपाललाई तेस्रो खराब मुलुक भनेको छ१६ ।
एक दुई स्थान तल माथि परे पनि वायुप्रदूषणसँग सम्बन्धित यस्ता तथ्यहरूले नेपालको वायु प्रदूषणको भयावह तस्वीर देखाउँछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, नेपालको वर्षभरिको हावाको सरदर गुणस्तर उक्त सङ्गठनले तोकेको ‘स्वस्थहावा’ को मापदण्डभन्दा लगभग १० गुणा र नेपालको सरकारी मापदण्डभन्दा दोब्बर हानिकारक छ । काठमाडौँको अमेरिकी दुतावासमा राखिएको वायु प्रदूषण मापन यन्त्रबाट निकालिएको तथ्याङ्कअनुसार, सन् २०२२ को ३६५ दिनमध्ये मात्र १३५ दिन काठमाडौंको हावा विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिमको स्वस्थ भनिन लायक हावा थियो१७ ।
एक दुई स्थान तल माथि परे पनि वायुप्रदूषणसँग सम्बन्धित यस्ता तथ्यहरूले नेपालको वायु प्रदूषणको भयावह तस्वीर देखाउँछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, नेपालको वर्षभरिको हावाको सरदर गुणस्तर उक्त सङ्गठनले तोकेको ‘स्वस्थहावा’ को मापदण्डभन्दा लगभग १० गुणा र नेपालको सरकारी मापदण्डभन्दा दोब्बर हानिकारक छ ।
काठमाडौँको हावा मात्रै होइन, देशभरिका हावाको गुणस्तर विशेषतः तराईका सहरहरू र समग्र जिल्लाको हावाको गुणस्तर झनै भयावह छ । नेपालको महोत्तरी जिल्लाको हावा (७६.७ माइक्रोग्राम प्रतिक्वीविक मिटरमा) देशभरकै मध्ये सबैभन्दा प्रदूषित छ । त्यसपछि रौटहट, धनुषा, पर्सा र सर्लाही सबैभन्दा प्रदूषित जिल्ला हो । माथि उल्लेख गरिए अनुसार प्रदूषणले मान्छे मार्ने त भइहाल्यो तर यसले मानिसको वास्तविक आयुलाई समेत छोट्याउँछ । शिकागो विश्वविद्यालयका अध्येताहरूले गरेको अनुसन्धानले वायु प्रदूषणले मानिसको औसत आयु घटाउने देखाएको छ । विश्वभरका ९० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी प्रदूषित वातावरणमा बस्छन् जसले विश्वका मानिसको औसत आयु लगभग दुई वर्षले छोटिएको छ अर्थात् यस पृथ्वीको वायुलाई हामीले विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिमको मापदण्डमा राख्ने हो भने सरदरमा मानव आयु थप दुई वर्षले बढ्ने थियो । वायु प्रदूषणका कारण आयु घट्ने दर नेपालमा ४.७ वर्ष, भारतमा ५.२ वर्ष, बङ्गलादेशमा ६.२ वर्ष र चीनमा २.३ वर्ष छ ।
तराईका जिल्लाहरूमध्ये महोत्तरी र रौतहटका वासिन्दामा वायु प्रदूषणको कारण सरदरमा ७ बर्ष आयु घटने र धनुषा, पर्सा र बारामा ६.९ वर्ष आयु घट्ने र काठमाडौँमा २.९ वर्ष आयु घट्ने उक्त अनुसन्धानले देखाएको छ१८ । त्यसकारण जलवायु परिवर्तन जस्तै वायु प्रदूषणबाट पनि विश्वका गरिब देश र गरिब देशको पनि आर्थिक सामाजिक हिसाबले पछि परेका मानिसहरू नै बढी पिल्सनु परेको छ ।
वायु प्रदूषणपछि अहिलेको विश्वव्यापी प्रदूषणको ठूलो समस्या हो—प्लास्टिक प्रदूषण । प्लास्टिकको आविष्कार भएपछि सन् १९५० मा संसारभर बार्षिक २.१ मिलियन टन प्लास्टिक उत्पादन हुन्थ्यो र त्यतिबेला प्लास्टिक प्रदूषणको खासै समस्या पनि थिएन । तर सन् १९७० पछि प्लास्टिकको उत्पादन यसरी बढ्न थाल्यो कि मानिसले संसारमा सबैभन्दा द्रुत गतिमा उत्पादन गरेको वस्तु नै प्लास्टिक बन्नपुग्यो ।
हाल संसारभर लगभग ४०० मिलियन टन प्लास्टिक वार्षिक रूपमा उत्पादन हुन्छ । प्लास्टिकको आविष्कार भइसकेयता हालसम्म संसारमा करिब १० बिलियन टन प्लास्टिक उत्पादन भएको अनुमान गरिन्छ । यसरी उत्पादन भएको प्लास्टिकमध्ये ६ प्रतिशत जति मात्रै पुनप्रयोग गरिएको छ र कतिपय फोहरको रूपमा व्यवस्थापन गरिन्छ । तर उत्पादित र प्रयोग गरिएको मध्ये ४३ प्रतिशत प्लास्टिक खोलानाला हुँदै समुद्रमा गएर जम्मा हुन्छ१९ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको एक प्रतिवेदनअनुसार अहिले पृथ्वीको समुद्रमा करिब ७५ देखि १९९ मिलियन टन प्लाष्टिक थुप्रिएको छ२० ।
अहिले प्लास्टिक प्रयोग नभएको वस्तु वा सामग्री भेट्न मुस्किल पर्छ । प्लास्टिकको प्रयोग प्याकेजिङका सामानदेखि प्लेनसम्म, कारदेखि कम्प्युटरसम्म, यातायातदेखि निर्माण सामग्रीसम्म, लुगाफाटादेखि स्वास्थ्य उपचारका सामानसम्ममा गरिने भएकाले यसको उत्पादन द्रुत गतिले बढ्दो छ । यतिखेर प्लास्टिक नपुगेको ठाउँ छैन्, प्लास्टिक सगरमाथाको उचाइदेखि समुद्रको गहिराइसम्म मात्रै होइन, वायुमण्डलमा समेत थुप्रिन थालेको छ । हाल मानिसले पिउने पानीमा, बियरमा, खाने नुनलगायतका उपभोग्य वस्तुमा प्लास्टिकका ५ मिमिभन्दा स–साना कणहरू (Microplastic) पाइन्छन् । हावामासमेत प्लाास्टिकका कणहरू पाइन थालेको पछिल्ला अध्ययनहरूले देखाएका छन्२१ । त्यसकारण प्लास्टिकको प्रदूषण भयावह छ ।
सर्वव्यापी भएका कारण माइक्रोप्लास्टिक मानिसले खाना खाँदा, पानी पिउँदा, श्वास फेर्दा शरीरभित्र पस्न थालेको छ । वातावरणीय विज्ञान प्रविधिसम्बन्धी पत्रिका (Journal of Environmental Science and Technology) मा प्रकाशित एक अध्ययनका अनुसार मानिसले हाल प्रतिवर्ष ३९,०००—५०,००० टुक्रा माइक्रोप्लास्टिक खानेकुरासँगै खाने गर्छ२२ । श्वास लिँदा शरीरमा पुग्ने प्लास्टिकको सूक्ष्म कण जोड्दा त्यो सङ्ख्या ७४,००० पुग्छ । प्लास्टिकका बोतलमा पानी पिउनेहरूले थप ९०,००० प्लास्टिकका सूक्ष्म कण पनि पानीसँगै खाने गर्छन् । अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका अध्येताहरूले गरेको अध्ययनमा मानिसका कलेजो, फोक्सो, मृगौलालगायतका भित्री अङ्गहरूमा प्लास्टिक पाइएको छ२३ । त्यसैले एक्काइसौं शताब्दीको मानव सानो प्लास्टिकको टुक्रा पनि हो । यद्यपि मानव शरीरभित्र पुगेको प्लास्टिकले मानिसलाई पार्ने असरको अध्ययन अझै भएको छैन । यद्यपि जनावरहरूमाथि गरिएका अध्ययनहरूले शरीरका प्लास्टिकले मानिसलाई बाँझो बनाउने र क्यान्सर लगायतका घातक रोग लाग्न सक्ने बताएका छन् ।
बढ्दो प्लास्टिक उत्पादन अब हाम्रो व्यवस्थापन क्षमताले धान्न नसक्ने अवस्थामा पुगेको छ । २८ जुलाई २०२३ मा मानिसले उत्पादन गरेको प्लास्टिक व्यवस्थापन गर्न सकिने क्षमताभन्दा बढी भएको स्वीट्जरल्यान्ड अवस्थित इन्भाइरोमेन्टल एक्सनको प्रतिवेदनमा उल्लेख गरिएको छ२४ । प्रतिव्यक्ति प्लास्टिकको प्रयोग सबैभन्दा धैरै आइसल्यान्डमा प्रतिव्यक्ति प्रतिवर्ष १२९ केजी प्लास्टिकको प्रयोग गरिन्छ भने बङ्गलादेशमा २.६ केजी प्रयोग गरिन्छ । विश्वमा प्रतिवर्ष प्रतिव्यक्ति २१ केजी प्लास्टिकको उपभोग गरिने उक्त प्रतिवेदनमा जनाइएको छ । उत्पादन र उपभोगमा जस्तै विभेद प्लास्टिक प्रदूषणको प्रभावमा पनि देख्न सकिन्छ, प्लास्टिक प्रदूषणको मारमा यतिखेर सीमान्तकृत र गरिब समुदायका मानिसहरू बढी परेका छन्२५ ।
जैविक विविधतामा ह्रास
जलवायु परिवर्तन र प्रदूषणपछि मानव जातिले भोगिरहेको तेस्रो महासङ्कट हो– जैविक विविधतामा ह्रास । यस पृथ्वीमा भएका जीवनका विभिन्न तह पर्यावरणीय प्रणालीदेखि आणुवंशिक तहसम्मका विविध छटालाई जैविक विविधता भनिन्छ । यसलाई कहिलेकाहीँ हामी प्रकृति पनि भन्दछौँ । जैविक विविधता वर्तमान अर्थतन्त्रको मेरुदण्ड मात्रै होइन, मानिसका निम्ति जिउने आधार पनि हो । प्रकृतिले मानिसलाई विभिन्न वस्तु, सेवा र सुविधा दिन्छ ।
हाम्रो खाद्यान्नदेखि हामीले पाल्ने गाईवस्तुको खानासम्म, हामीले प्रयोग गर्ने विभिन्न औषधीदेखि उपभोग गर्ने उर्जासम्मको स्रोत जैविक विविधता हो । त्यसबाहेक हामीले फेर्ने हावाको स्वच्छता कायम राख्न, पानीको शुद जोगाउन, विभिन्न रोगव्याधी र बाढीपहिरो जस्ता प्रकोपबाट मानिसलाई जोगाउन, जैविक विविधता अर्थात् प्रकृतिको अभिन्न भूमिका हुन्छ । प्रकृति मानव ज्ञानको असीमित भण्डार पनि हो । समग्रमा प्रकृतिले मानिसलाई दिने वस्तु, सेवा र सुविधालाई १८ भागमा बाँड्न सकिन्छ२६ ।
अक्सर कतिपय यस्ता सेवा र सुविधालाई हामीले सित्तैमा आएको भन्ने ठान्दछौं । साथै विद्यमान अर्थव्यवस्थामा प्रकृतिका त्यस्ता सेवाहरूको वा योगदानको कदर भएको हुँदैन । त्यसको मूल्यको हिसाबकिताब हुँदैन । उदाहरणका लागि एक ग्राम माटोमा अरबौंको सङ्ख्यामा व्याक्टेरिया हुन्छन् जसले माटोलाई उर्वर बनाउने र कार्बनलाई सोस्ने काम गरेका हुन्छन् । त्यसैगरी हाम्रा बालीनालीमा परागसेचन गराउने काम किराहरूले सित्तैमा गरिदिएका हुन्छन् । तर हाम्रो मानव केन्द्रित अर्थशास्त्रमा त्यस्ता व्याक्टेरिया वा किराका योगदानको गणना नै गरिएको हुँदैन र त्यो सेवा सित्तैमा पाएको वा पाउनुपर्ने जस्तो ठानिन्छ । तथापि त्यसलाई मानिस वा मानिस निर्मित मेसिनले गर्ने हो भने थुप्रै पैसा लाग्दछ ।
प्रकृतिबाट पाइने यस्ता सेवा सुविधा सित्तैमा पाए जस्तो गर्ने वा त्यसको कुनै मूल्य नै छैन जस्तो गर्ने हाम्रो सोचका कारण हामीले प्रकृतिबाट लिने सेवा र सुविधाको यति धेरै दोहन गर्न पुग्यौँ कि त्यसले प्रकृतिको सेवा प्रदान गर्ने क्षमतामा नै ह्रास ल्याइदियो । थप, मानिसको चरम उपभोक्तावादी प्रवृत्तिका कारण अहिले प्रकृतिले मानिसलाई प्रदान गर्ने वस्तु र सेवाहरूको माग प्रकृतिको क्षमताले धान्नेभन्दा अधिक हुनपुग्यो ।
अर्थशास्त्री पार्थदास गुप्ताले तयार पारेको एक प्रतिवेदनअनुसार मानिसको वर्तमान आवश्यकतालाई दिगो रूपमा धान्ने हो भने अहिलेको अवस्थामा १.६ गुणा पृथ्वी आवश्यक पर्दछ२७ । तर थप ०.६ पृथ्वी कहाँबाट ल्याउने ? मानिसको दोहनको कारण भएकै अहिलेको प्रकृतिको जसले मानिसलाई सित्तैमा सेवा सुविधा दिइरहेको छ, त्यसले प्रदान गर्ने वस्तु, सेवा र सुविधा घटेको छ ।
सन् २०१९ मा प्रकाशित संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको जैविक विविधता र वातावरणीय सेवासम्बन्धी अनुसन्धान गर्ने निकाय (आइपिविइएस) ले एक प्रतिवेदन प्रकाशित गरेको थियो२८ । उक्त प्रतिवेदन— जसलाई यस पङ्क्तिकारले सहलेखन गरेको थियो— का अनुसार मानवीय दोहनका कारण यतिखेर पृथ्वी ठूलो सङ्कटबाट गुज्रिरहेको छ । सन् १९५० यता यस पृथ्वीमा भएका प्रजातिका सङ्ख्या, पर्यावरणीय प्रणालीको अखण्डता (integrity) र आनुवंशिक विविधता मानिसको चरम उपभोगको कारण मासिएको छ । पृथ्वीको फोक्सो मानिने उष्ण प्रदेशीय वनको विनाश उत्कर्षमा छ । पृथ्वीको विभिन्न पर्यावरणीय प्रणालीको प्राकृतिक अवस्थामा र फैलावटमा यसको आधार तहभन्दा ४७ प्रतिशतले कमी आएको छ । पृथ्वीको मृगौला मानिने प्राकृतिक सिमसार क्षेत्रको ८५ प्रतिशत भाग सखाप पारिएको छ । सन् १५०० देखि यता ६८० वटा ढाडमा हाड हुने जीवजन्तुहरू (Vertebrate) वन फडानी, वासस्थानको विनाश, अवैध शिकार जस्ता मानवीय कृयाकलापका कारण लोप भएर गएका छन् । कतिपय वन्यजन्तु पृथ्वीबाट सदाका लागि लोप भएका छन् भने लोप नभएकाहरूको पनि सङ्ख्या उल्लेख्य रूपमा घटिरहेको छ ।
लिभिङ्ग प्लानेट इन्डेक्सले विश्वका करिब ५२०० प्रजातिका वन्यजन्तुको विभिन्न ठाउँमा भएको करिब ३८,००० जनसङ्ख्यामा भएको घटीबढीलाई मापन गर्ने गर्दछ । वार्षिक प्रकाशन गरिने यस सूचकाङ्कमा मापन गरिएका जीवजन्तुहरूमा स—साना भ्यागुतादेखि ठूला हात्ती जस्ता जनावरहरू समेटिएका हुन्छन् । सन् २०२२ को उक्त रिपोर्टका अनुसार सन् १९७० देखि विश्वका वन्यजन्तुको जनसङ्ख्यामा करिब ६९ प्रतिशतले ह्रास आएको छ२९ । अर्को अध्ययनअनुसार, यस पृथ्वीमा मानिसको दबदबा बढ्न थालेपछि यहाँका स्तनधारी जीवहरूको कुल तौल (Biomass) मा करिब ८५ प्रतिशतले गिरावट आएको छ३० । जसको कारण यो पृथ्वी अहिले मानिस र मानिसले चाहिने जीवजन्तुको मात्रै वासस्थानमा फेरिएको छ । अहिले पृथ्वीमा भएका स्तनधारी जनावरहरूको कुल तौल निकाल्ने हो भने मानिसको ३४ प्रतिशत, मानिसले पालेका गाईवस्तुको ६२ प्रतिशत हुन्छ भने बाँकी ४ प्रतिशतमात्रै जङ्गली जनावरहरूको हुन आउँछ३१ ।
यसरी क्रमशः घट्दै गएको वन्यजन्तुको संख्यामा मानिसहरूको दोहन यसरी नै बढ्दै जाने हो भने झनै् बढोत्तरी हुनेछ । आइपिविइएसको उक्त प्रतिवेदनले भन्छ कि मानवीय अतिक्रमण भइराखेमा आगामी केही दशकभित्रै यस पृथ्वीबाट करिब १० लाख प्रजाति लोप भएर जान सक्नेछ३२ । त्यसो भएमा त्यसले निम्त्याउने सङ्कट अकल्पनीय हुनेछ । जैविक विविधताको विनाशसँगै त्यसको वितरण पनि जोडिन्छ । विश्वका केही स्थानहरूमा जैविक विविधता अकल्पनीय रूपमा प्रचुर मात्रामा छ । त्यस्ता ठाउँमा जैविक विविधतामाथिको मानव चाप पनि उच्च रहेको छ । क्षेत्रफलका हिसाबले पृथ्वीको मात्र २.४ प्रतिशत जमिन ओगटेका ती स्थानहरूमा विश्वमा पाइने कुल प्रजातिमध्ये लगभग आधा वनस्पति, ४३ प्रतिशतभन्दा बढी प्रजातिका स्तनधारी जीव, चराचुरुङ्गी, सरीसृप र उभयचर वर्गका प्राणीहरू पाइन्छन् । ती क्षेत्रमा पाइने प्रजातिहरू अन्यत्र कतै नपाइने रैथाने (Endemic) हुन्छन् ।
जैविक विविधता उच्च भएका ती भूभागहरू अधिकांश गरिब देशमा पर्दछन् । साथै ती क्षेत्रमा जैविक विविधतामा ठुलो दवाव पर्नाको कारण धनी देशहरूको अत्यधिक उपभोगयुक्त जीवनशैली हो ।
हालसम्म विश्वभर हिमालय क्षेत्र लगायतका त्यस्ता ३६ स्थानको पहिचान गरिएको छ (सुरुमा त्यो सङ्ख्या २५ थियो), जसलाई जैविक विविधताको केन्द्र (Biodiversity Hotspot) भनिन्छ । नेपालको अधिकांश भूभाग पर्ने हिमाली जैविक विविधता केन्द्रमा १० हजारभन्दा बढी प्रजातिका वनस्पति, ३०० स्तनधारी जीव, ९७७ चराचुरुङ्गी, १७६ सरीसृप, २६९ माछा र १०५ उभयचर वर्गका जीवहरू पाइएका छन् । यस हिसाबबाट हेर्दा नेपाल पनि जैविक विविधताको केन्द्र हो । नेपालभन्दा ढाई गुणा ठूलो देश जर्मनीभर पाइने जति चराका प्रजाति नेपालको चितवन राष्टिय निकुञ्जको सानो क्षेत्रभित्र पाइन्छन् ।
तर जैविक विविधता उच्च भएका ती भूभागहरू अधिकांश गरिब देशमा पर्दछन् । साथै ती क्षेत्रमा जैविक विविधतामा ठुलो दवाव पर्नाको कारण धनी देशहरूको अत्यधिक उपभोगयुक्त जीवनशैली हो । त्यसैले जलवायु परिवर्तन र वायु प्रदूषण जस्तै जैविक विविधता ह्रासको सङ्कटमा पनि गरिब देशहरू नै बढी पिल्सिएका छन् । त्यसैले जलवायु परिवर्तनको विश्व राजनीतिमा जस्तै जैविक विविधता ह्रासको मुद्दामा पनि विश्वका धनी र गरिब देशहरू दुई ध्रुवमा बाँडिएका छन् । जसरी धनी र गरिब देशबिच जलवायु परिवर्तनको कारक र प्रभावको असमान वितरण छ, त्यस्तो खाडल जैविक विविधतामा पनि छ । जैविक विविधताको ह्रासलाई कम गर्न धनी देशहरूले गरिब देशहरूलाई सहयोग गर्नुपर्ने आवाज जलवायु परिवर्तनको जस्तै घनीभूत छ ।
निष्कर्ष
यतिखेर मानिसको अकल्पनीय उन्नतिसँग प्रकृतिको अधोगति भएको छ । ती अधोगति मुख्य रूपमा यहाँको हावापानीमा, मानिसले फेर्ने श्वासको गुणस्तरमा र मानिसले प्रकृतिबाट पाउने विभिन्न सेवा र सुविधामा देख्न सकिन्छ । जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधता ह्रासले विश्वका सबै देशका बासिन्दालाई धेरथोर असर पारेको छ । तर यसको असर गरिब देशका र अझै सीमान्तकृत समुदाय र पिँधका मानिसहरूलाई बढी परेको छ । धनी देशहरूको चरम उपभोक्तावादी जीवनशैली र पृथ्वीको दोहनमा अडेको पुँजीवादी अर्थतन्त्रका कारण उत्पन्न यो सङ्कट समस्याको कारक नबनीकन तिनीहरू यी सङ्कटका मुख्य पीडित बनेका छन् । त्यसकारण यी पर्यावरणीय र मानवीय सङ्कट त हुँदै हुन्, तर यिनको सामाजिक पक्ष झनै पेचिलो छ ।
सन्दर्भ सामग्री
१. 2023-made-much-more-likely-by-climate-change/
२. https://www.worldweatherattribution.org/extreme-heat-in-north-america-europe-and-china-in-july-
2023-made-much-more-likely-by-climate-change/
३. https://www.theguardian.com/science/2023/jul/27/scientists-july-world-hottest-month-record-climate-
temperatures
४. https://www.ipcc.ch/report/sixth-assessment-report-working-group-ii/
५. https://climateknowledgeportal.worldbank.org/country/nepal/trends-variability-historical#
६. https://climateknowledgeportal.worldbank.org/country/nepal/trends-variability-historical# (Eckstein, D., Künzel, V., & Schäfer, L. (2021). The global climate risk index 2021. Bonn: Germanwatch. !)https://www.sei.org/publications/the-carbon-inequality-era/ ७. https://policy-practice.oxfam.org/resources/carbon-billionaires-the-investment-emissions-of-theworlds- richest-people-621446/ ८. Murray, C. J., Aravkin, A. Y., Zheng, P., Abbafati, C., Abbas, K. M., Abbasi-Kangevari, M., … & Borzouei, S. (2020). Global burden of 87 risk factors in 204 countries and territories, 1990–2019: a systematic analysis for the Global Burden of Disease Study 2019. The Lancet, 396(10258), 1223-1249. !#https://www.iqair.com/world-most-polluted-cities ९. https://www.stateofglobalair.org/air/pm#disparities-continue !%https://epi.yale.edu/epi-results/2022/component/air
१०. https://aqli.epic.uchicago.edu/reports/ !&https://aqicn.org/city/nepal/kathmandu/phora-durbar/us-embassy
११. https://aqli.epic.uchicago.edu/the-index/
१२. Plastic Overshoot Day- Report 2023, EA-Environmental Action-2023
१३. United Nations Environment Programme (2021). From Pollution to Solution: A global assessment of
marine litter and plastic pollution. Nairobi.
१४. Gasperi, J., Wright, S.L., Dris, R., Collard, F., Mandin, C., Guerrouache, M., Langlois, V., Kelly, F.J. and
Tassin, B., 2018. Microplastics in air: are we breathing it in?. Current Opinion in Environmental Science
& Health, 1, pp.1-5.
१५. Zhang, Q., Xu, E.G., Li, J., Chen, Q., Ma, L., Zeng, E.Y. and Shi, H., 2020. A review of microplastics in table
salt, drinking water, and air: direct human exposure. Environmental Science & Technology, 54(7),
pp.3740-3751.
१६. Halden, R.U., Rolsky, C. and Khan, F.R., 2021. Time: a key driver of uncertainty when assessing the risk of
environmental plastics to human health. Environmental Science & Technology, 55(19), pp.12766-12769.
१७. Karasik R, Lauer NE, Baker A-E, Lisi NE, Somarelli JA, Eward WC, Fürst K and Dunphy-Daly MM (2023)
Inequitable distribution of plastic benefits and burdens on economies and public health. Front. Mar.
Sci. 9:1017247. doi: 10.3389/fmars.2022.1017247
१८. Karasik R, Lauer NE, Baker A-E, Lisi NE, Somarelli JA, Eward WC, Fürst K and Dunphy-Daly MM (2023)
Inequitable distribution of plastic benefits and burdens on economies and public health. Front. Mar.
Sci. 9:1017247. doi: 10.3389/fmars.2022.1017247
१९. Brauman, K.A., Garibaldi, L.A., Polasky, S., Aumeeruddy-Thomas, Y., Brancalion, P.H., DeClerck, F., Jacob,
U., Mastrangelo, M.E., Nkongolo, N.V., Palang, H. and Pérez-Méndez, N., 2020. Global trends in nature’s
contributions to people. Proceedings of the National Academy of Sciences, 117(51), pp.32799-
32805.
२०. Dasgupta, P., 2021. The economics of biodiversity: the Dasgupta review. Hm Treasury.
२१. IPBES (2019): Global assessment report on biodiversity and ecosystem services of the Intergovernmental
Science-Policy Platform on Biodiversity and Ecosystem Services. E. S. Brondizio, J. Settele, S. Díaz,
and H. T. Ngo (editors). IPBES secretariat, Bonn, Germany. 1148 pages. https://doi.org/10.5281/zenodo.
3831673
२२. https://stats.livingplanetindex.org/


जवाफ लेख्नुहोस्