पर्यावरण, पर्यावरणीय दृष्टिकोण र समालोचना

- अमर गिरी
उठान
पर्यावरणीय समालोचनाको आरम्भ भएको धेरै वर्ष भएको छैन । नेपाली साहित्यमा यसको प्रवेश त अझ पछि भएको हो । यस विषयमा अझ गम्भीर विमर्श हुन र लेखिन बाँकी नै छ । प्रकृतिलाई विषय बनाएर नेपाली स्रष्टाहरूले कलम चलाउन थालेको भने आधुनिक युगको आरम्भ हुनुभन्दा पहिलेदेखि हो । प्राथमिककालीन कवि भानुभक्त आचार्यकै कवितामा प्रकृतिले प्रवेश पाएको छ । आधुनिक युगको आरम्भपछि खासगरी स्वच्छन्दतावादी स्रष्टाहरूले प्रकृतिलाई विषय बनाएर प्रशस्त रचनाहरू सिर्जिएको पाइन्छ ।
पर्यावरणीय साहित्यको मर्मअनुसार कलम चलाउन सुरु गरिएको भने धेरैपछि मात्र हो । पर्यावरणीय साहित्यचिन्तन र सिर्जनाको आरम्भ मूलतः बिसौं शताब्दीको उत्तराद्र्धतिरबाट भएकाले नेपालमा पर्यावरणीय साहित्यसम्बन्धी विमर्श र सिर्जनाको आरम्भ पनि पछि भएको हो । पर्यावरणीय साहित्यसिर्जनाका साथसाथै पर्यावरणीय समालोचना पनि नेपाली साहित्यमा समृद्ध हुन बाँकी नै छ । पर्यावरणीय साहित्यचिन्तन र सिर्जना पर्यावरणसँग जोडिएको छ । पर्यावरणीय समालोचना पर्यावरणीय साहित्यको अध्ययन, विश्लेषण र मूल्याङ्कनसँग सम्बन्धित छ ।
पर्यावरणलाई आज जुन रूपमा हेरिएको छ र परिभाषित गरिएको छ, प्राचीन समयमा यस रूपमा हेरिएको र परिभाषित गरिएको पाइन्न । पूर्व र पश्चिम दुबैतिरका समाजमा प्रकृतिप्रति प्रेम, त्यसको मानवीकरण र आफूलाई त्यसको अभिन्न अङ्ग ठान्ने दृष्टिकोण पाइन्छ तर त्यो दृष्टिकोणभन्दा पर्यावरणसम्बन्धी आजको दृष्टिकोण भिन्न रहेको छ । पर्यावरणप्रतिको आजको सचेतता, त्यससम्बन्धी दृष्टिकोण र आन्दोलन मूलतः बिसौं शताब्दीको उत्तराद्र्धको देन हो । भयावह बन्दै गरेको पर्यावरण विनाश, यसप्रतिको सचेतता, यससम्बन्धी दृष्टिकोणको निर्माण र आन्दोलनको मूल कारकका रूपमा रहेको छ ।
पुँजीवादको जन्म र विकासले प्रकृति र पर्यावरणका अगाडि गम्भीर चुनौतीहरू खडा गर्न सुरु गर्यो । मानवकेन्द्रित अवधारणा, मुनाफा र वैभवको लालसा, उपभोक्तावाद र वर्चस्वपरक दृष्टिकोण, उपनिवेशवाद, साम्राज्यवादका कारण पर्यावरण विनाशको डरलाग्दो शृङ्खलाको आरम्भ भयो । परिणामस्वरूप प्रकृति र पर्यावरणको संरक्षणका निम्ति अनेकौं आन्दोलनहरू सुरु भए । यसप्रति जागरुकता बढ्यो । पर्यावरणसम्बन्धी विमर्शहरू बाक्लिए । यससँग सम्बन्धित विभिन्न संस्थाहरू जन्मिए । साहित्य पर्यावरणीय अध्ययन र आन्दोलनको एक महत्वपूर्ण क्षेत्र बन्यो । पर्यावरणीय समालोचना, पर्यावरणीय साहित्य एवम् यससम्बन्धी अध्ययन, विश्लेषण एवम् मूल्याङ्कनका रूपमा अगाडि आयो । यसले पर्यावरणीय आन्दोलनलाई पनि सहयोग पुर्याउँदै आएको पाइन्छ ।
पर्यावरणका सम्बन्धमा विभिन्न दृष्टिकोणहरू रहेका छन् । पर्यावरणसम्बन्धी प्राज्ञिक विमर्श, पर्यावरणीय आन्दोलन, साहित्यचिन्तन र सिर्जना यसबाट प्रभावित रहेका छन् । पर्यावरणसम्बन्धी दृष्टिकोणहरूबाट पर्यावरणीय समालोचना पनि प्रभावित रहेको छ । यस आलेखमा पर्यावरण, पर्यावरणीय सङ्कट, पर्यावरणसम्बन्धी दृष्टिकोण र पर्यावरणीय साहित्यका बारेमा छोटो चर्चा गर्दै पर्यावरणीय समालोचनाका बारेमा सङ्क्षिप्तमा छलफल गरिएको छ । पर्यावरणीय समालोचनाका मुख्य बुँदाहरूलाई केलाउनु र ती बारे आफ्ना धारणाहरू प्रस्तुत गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको छ । यस आलेखमा पर्यावरण, पर्यावरणीय, पर्यावरणवाद, पारिस्थितिकी, पारिस्थितिकीवाद आदि जस्ता शब्दहरूलाई प्रयोग गरिएको छ ।
कैयौं विद्वानहरूबाट पारिस्थितिकीवाद (Ecology) र पर्यावरणवाद (Environmentalism) का बिचमा अलि गहिरा र फराकिला भिन्नताका रेखाहरू खिच्न खोजिएको पाइन्छ तर यी दुबैका बिचमा त्यति ठुलो तात्विक भिन्नता रहेको पाइन्न । पारिस्थितिकीवादका अध्ययनका सरोकारका विषयहरू पर्यावरणीय अध्ययनका सरोकारका विषयहरू पनि हुन् । पारिस्थितिकीवाद मूलतः पारिस्थितिक चक्रसँग सम्बन्धित रहेको छ । यसले प्रकृति एवम् जीवनबिचको सम्बन्ध, तिनमा आउने परिवर्तन र त्यसका असरहरूको अध्ययन गर्छ ।
पर्यावरणीय अध्ययनको क्षेत्र पनि प्रकृति, पर्यावरण र जीवन नै हो । यसभित्र यससँग सम्बन्धित सबै विषयहरू समेटिन्छन् । यो बढी पर्यावरणीय सङ्कटसँग जोडिएको छ र यसले प्रकृति र पर्यावरणीय समस्या, यसका कारण, प्रकृतिसँग मनुष्यको सम्बन्धसम्बन्धी नैतिक हेराइ र पर्यावरणीय दृष्टिले स्वस्थ समाज निर्माणको ध्येयलाई बढी महत्व प्रदान गरेको पाइन्छ । पर्यावरणवाद पर्यावरणसम्बन्धी दृष्टिकोण र आन्दोलन दुबै हो । यस अर्थमा यो अलि बढी राजनीतिक पनि छ । पारिस्थितिकीवाद र पर्यावरणवाद अन्तरसम्बन्धित छन् र दुवैको सरोकार प्रकृति, पर्यावरण, जीवन, तीमाथिको प्रहार, तिनको विनाश र संरक्षण नै हुन् । पर्यावरणीय साहित्य र समालोचनाका सरोकारका विषय पनि यिनै हुन् ।
पर्यावरण र पर्यावरणीय सङ्कट
कोशीय रूपमा पर्यावरणलाई चारैतिर फैलिएको वा रहेको वातावरणका रूपमा अथ्र्याइएको पाइन्छ । पर्यावरणका जैविक अजैविक घटकहरू रहेका छन् । यी दुवै घटकको योगबाट पर्यावरणको निर्माण भएको छ । सरल अर्थमा पृथ्वीको बाह्य परिवेश नै पर्यावरण हो । यसभित्र हावा, पानी, माटो, चट्ंटान, प्रकाश, वनस्पति, मानव, मानवतेर प्राणी एवम् मानवीय क्रियाकलाप सबै पर्दछन् । पर्यावरणलाई समस्त जीवनजगत्को आधारका रूपमा लिइन्छ । पर्यावरणको निर्माण स्थलमण्डल, वायुमण्डल, जीवमण्डल र जलमण्डलबाट भएको छ । चट्ंटान र खनिज स्थलमण्डलका मुख्य घटक हुन् ।
मानव र मानवेतर प्राणी एवम् वनस्पतिको अस्तित्व यही मण्डलमा रहेको छ । वायुमण्डल पृथ्वीको ग्याँसीय आवरण हो । वायु ग्याँसहरूको मिश्रणका रूपमा रहेको छ । यसमा अक्सिजन, नाइट्रोजन, कार्बनडाइअक्साइड, जलवाष्प, धुलोका कणहरू लगायत अन्य ग्याँसहरूको मिश्रण रहेको हुन्छ । पानी रहेको भू–भाग जलमण्डल हो । पृथ्वीको ७० प्रतिशतभन्दा बढी भू–भाग पानीले ढाकिएको छ । पानीबिना जीवनको अस्तित्व सम्भव छैन । पर्यावरणका सन्दर्भमा जलचक्रको महत्व धेरै रहेको छ । जीवमण्डलले जीवजन्तु, सूक्ष्म जीव र वनस्पतिको सामूहिक स्थितिलाई बुझाउँछ । यी सबै मण्डलहरूको पारस्परिक सम्बन्धबाटै जीवन र जगत् चलेको छ । पारिस्थितिक चक्रबाटै जीवन र जगत्को अस्तित्व सम्भव भएको हो । जैविक र अजैविक वस्तुहरू एक–अर्कासँग जोडिएका छन् । परस्परको सम्बन्धबाटै जीवनचक्र चल्दै आएको छ ।
पर्यावरण खण्डित हुनु भनेको जीवन र जगत्ंको अस्तित्व नै खण्डित हुनु हो । एकपटक पर्यावरण खण्डित भयो भने पुनः एकीकृत गर्न गाह्रो हुन्छ (सिंह, सन् २०१०, पृ. २) ।
पर्यावरणीय सङ्कट बढेको छ । वायुप्रदूषण, जलप्रदूषण, भूमिप्रदूषण, ध्वनिप्रदूषण र विकिरणीय प्रदूषणले पर्यावरणीय सङ्कटलाई बढाएका हुन् । वायुप्रदूषणका प्राकृतिकभन्दा कृत्रिम स्रोतहरू डरलाग्दा छन् । मनुष्यनिर्मित स्रोतलाई कृत्रिम स्रोतका रूपमा लिइन्छ । औद्योगिक एवम् शस्त्रअस्त्रसँग सम्बन्धित कारखानाबाट निस्कने ग्याँसहरू, पेट्रोलियम पदार्थ, कोइला एवम् दाउरा जलाउँदा निस्कने ग्याँसहरू आदि वायुप्रदूषणका मुख्य कारकका रूपमा रहेका छन् ।
कार्बडाइअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजनअक्साइड आदि जस्ता ग्याँसहरूको बढी उत्सर्जनले पर्यावरणीय सङ्कटलाई बढाएका छन् । हरितगृह ग्याँसको बढ्दो उत्सर्जनका कारण पृथ्वीको तापमान निरन्तर बढ्दैछ । यसैलाई ‘ग्लोबल वार्मिङ’ भनिन्छ । कार्बनडाइअक्साइडको मात्रा बढ्नुलाई ‘ग्लोबल वार्मिङ’मा सबैभन्दा खतरनाक मानिन्छ । औद्योगिक क्रान्ति यता १.१ डिग्री सेल्सियसले पृथ्वीको तापमानमा वृद्धि भएको छ । जुन स्तरमा अहिले कार्बन उत्सर्जन हुँदैछ, यही स्थिति विद्यमान रहे शताब्दीको अन्त्यसम्ममा २ डिग्री सेल्सियसभन्दा बढीले पृथ्वीको तापमानमा वृद्धि हुन सक्छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय अन्तरसरकारी संस्था (आइपीसीसी) ले पनि यसैगरी कार्बन उत्सर्जन भए सन् २०४० अगावै विश्वको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ । अम्लीय वर्षा बढ्दैछ, ओजन तह पातलो हुँदैछ । ओजन तह पातलिँदै गएर त्यसमा प्वाल पर्यो भने त्यो पृथ्वीका निम्ति अत्यन्तै घातक हुनेछ । जलवायु परिवर्तनले जीवनका सम्मुख गम्भीर सङ्कट खडा गरेको छ । पर्यावरण विनाशकै कारण जैविक विविधतामा ह्रास आएको छ । जैविक विविधतामा आएको ह्रासले पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको छ ।
पर्यावरण सङ्कटका महत्वपूर्ण कारणहरू रहेका छन् । प्राकृतिक कारणहरू यसका निम्ति निकै कम जिम्मेवार छन् । मनुष्यकृत कारणहरू नै यसका निम्ति मुख्य रूपमा जिम्मेवार छन् । कारणहरू आर्थिक, राजनीतिक एवम् सांस्कृतिक पक्षहरूसँग सम्बन्धित छन् । औद्योगिक क्रान्ति एवम् पुँजीवादको विकासभन्दा अघि मनुष्यका अगाडि पर्यावरण विनाशको समस्या थिएन । यसैकारण पर्यावरणसम्बन्धी विमर्श पनि चलेको पाइन्न । प्रकृति र मनुष्यका बिचमा औद्योगिक क्रान्तिपछिको जस्तो द्वन्द्व थिएन ।
पुँजीवादको विकाससँगसँगै पर्यावरणसम्बन्धी समस्याहरू बढ्दै जान थालेपछि नै पर्यावरणसम्बन्धी चासो पनि बढ्यो । बिसौं शताब्दीको आरम्भदेखि पर्यावरणलाई जीवनसँग गाँसेर गम्भीरतापूर्वक हेर्न थालियो र पर्यावरण र जीवित अस्तित्वका बिचको सम्बन्धका बारेमा छलफल चल्न सुरू गर्यो (हेउड, सन् २००७, पृ.२५५) । प्राचीन समयमा प्रकृति, मनुष्य र पर्यावरणका विषयमा चल्ने छलफल भन्दा विषयवस्तु र हेराइ दुवै दृष्टिकोणले यो भिन्न थियो । पुँजीवादले प्रकृतिमाथि आधिपत्यको अवधारणालाई मलजल गर्यो र हुर्कायो । यसको मूलमा ‘मानवकेन्द्रित’ वा ‘मानवअस्तित्व’ प्रथम भन्ने अवधारणा थियो । यसलाई ‘प्रमेथियनवादी’, ‘उत्पादकतावादी’ दृष्टिकोण भनेर पनि आलोचना गरिएको पाइन्छ ।
बढ्दो जनसङ्ख्या, उपभोक्तावादी चरित्रको विकास, नैतिक मूल्यमा ह्रास आदिलाई पनि पर्यावरणीय सङ्कटका कारक रूपमा अघि सार्ने गरिएको छ तर यी कारणहरू भन्दा सिङ्गो समाज व्यवस्था र त्यसका आधारभूत दृष्टिकोण एवम् चरित्रहरू यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण रहेका छन् । उदारवादी चिन्तकहरूबाटै मानवकेन्द्रित अवधारणालाई सूत्रबद्ध गर्ने कार्य भएको थियो । मनुष्यको आवश्यकता र सन्तुष्टिको स्रोतका रूपमा उनीहरू प्रकृतिलाई हेर्थे । उनीहरू मुस्किलैले प्रकृतिमाथि मनुष्यको आधिपत्यका बारेमा प्रश्नहरू उठाउँथे (हेउड, सन् २००७, पृ.२५९) ।
उदारवादीहरूको वर्चस्वपरक एवम् दोहनकारी अवधारणा पुँजीवादी उत्पादन पद्धतिका हितहरूसँग जोडिएको थियो । यसको मूलमा मुनाफा, वैभव, वर्चस्व र सुखवाद थिए । अपार उत्पादन, बजारको विस्तार, साम्राज्य एवम् उपनिवेश निर्माण र सैन्यवादलाई दिइएको प्राथमिकताले प्रकृतिको विनाश र पर्यावरण सङ्कटलाई बढाए । पर्यावरण विनाश र सङ्कटसम्बन्धी प्रकृतिकेन्द्री अवधारणाहरू सामान्य चर्चाको विषयभन्दा बढी बन्नै सकेनन् । प्रकृतिकेन्द्री अवधारणा कमजोर बन्यो, बनाइयो । यस अवधारणाका आफ्नै सीमा थिए र यसबाट समस्याको अपेक्षित उपचार पनि सम्भव थिएन तर यसले प्रकृतिलाई महत्व प्रदान गथ्र्यो र यसको संरक्षणमा जोड दिन्थ्यो ।
पश्चिममा पर्यावरणसम्बन्धी दृष्टिकोण निर्माणको आफ्नो पृष्ठभूमि रहेको छ । जोन लक जस्ता चिन्तकहरूका निम्ति प्राकृतिक संसारको अर्थ नरहे पनि र त्यसको प्रभाव अन्य कैयौं चिन्तकहरूमा परे पनि पुँजीवाद एवम् उद्योगधन्दाको विकासले प्रकृति, पर्यावरण र मनुष्यमा पारेको दुष्प्रभावले धेरै चिन्तक एवम् लेखकहरूलाई गम्भीर बनायो । रूसोले प्रकृतिलाई अपार महत्व दिए र ‘प्रकृतितर्फ फर्क’ भने । उनको प्रभाव साहित्यमा पनि पर्यो । साहित्यमा स्वच्छन्दतावादी धाराको जन्ममा रूसोको चिन्तनले महत्वपूर्ण भूमिका सम्पादन गर्यो । स्वच्छन्दतावादीहरूले प्रकृतिलाई आफ्ना रचनाहरूको केन्द्रीय विषयवस्तुमात्र बनाएनन् प्रकृतिप्रति अत्यन्तै आत्मीय दृष्टिकोण अपनाउन आग्रह पनि गरे । स्वच्छन्दतावाद यान्त्रिकीकरण र त्यसले निर्माण गरेको परिस्थितिप्रतिको प्रतिक्रिया पनि थियो (मिश्र, सन् २०१०, पृ. १००) ।
स्वच्छन्दतावादीहरूले आफ्ना रचनामा अत्यन्त हार्दिक ढङ्गले प्रकृतिको महिमा गाए र मनुष्य र पर्यावरणबिचको संवेदनशील सम्बन्धलाई प्रस्तुत गरे (नायर, सन् २०११, पृ. २४४) । अठारौँ र उन्नाइसौँ शताब्दीमा पुँजीवाद र उपनिवेशवादले प्रकृतिलाई मानव हितका निम्ति उपयोग गर्ने नीतिलाई अझ बलियो गरी अघि बढाए । यो ‘मानव हित’ व्यवहारतः पुँजीपतिहरूको हित थियो । सत्तातन्त्र उनीहरूसँगै जोडिएको थियो । उपनिवेशवादले औपनिवेशिक मुलुकको प्रकृति र पर्यावरणलाई आफ्ना हितहरूका निम्ति प्रयोग गर्यो ।
नायरका अनुसार यसले उपनिवेशका नागरिकलाई प्रकृतिको अङ्गका रूपमा हेर्ने र उनीहरूलाई आदिम र असभ्य ठान्ने प्रवृत्तिलाई अगाडि ल्यायो । यससँगसँगै प्रकृति र पर्यावरणमाथि भएको अतिक्रमणको प्रतिवाद पनि बढ्दै गयो । उपयोगितावादी चिन्तक जेम्स मिलले मनुष्यको गतिविधिलाई अतार्किक भन्दै प्रकृतिसम्बन्धी अतार्किक गतिविधिको आलोचना गरे । जेरमी बेन्थमले जनावरमाथिको अत्याचारको आलोचना गरे र त्यसलाई त्याज्य ठाने । मार्क्सले प्रकृतिमाथिको अतिक्रमणको आलोचना गरे । अन्य चिन्तकहरूबाट पनि आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरियो । यसले पर्यावरणसम्बन्धी विषयलाई अझ गहिराइमा हेर्न सहयोग पुर्यायो । यही पृष्ठभूमिका बिचबाट पर्यावरण विनाशको वास्तविक अवस्था, त्यसका कारण र पर्यावरण संरक्षणका उपायहरूबारे वैचारिक तथा राजनीतिक वृत्तमा विभिन्न दृष्टिकोणमा आधारित धाराहरू अस्तित्वमा आए (किरण, २०७७, पृ. २०) ।
पर्यावरणका क्षेत्रमा यी धाराहरू आ–आफ्नो ढङ्गले क्रियाशील रहँदै आएका छन् । पर्यावरणसम्बन्धी आन्दोलनमा यिनको गहिरो प्रभाव परेको छ । पर्यावरण र पर्यावरणीय सङ्कट समकालीन विश्वको एक महत्वपूर्ण चासोको विषय हो । पर्यावरणका सम्बन्धमा बढेको चासो र क्रियाशीलताले यसको महत्वलाई स्पष्ट गर्छ । पर्यावरणीय दृष्टिले विश्व कठिन अवस्थाका बिचबाट अघि बढ्दैछ र पर्यावरणीय सङ्कटलाई समुचित सम्बोधन गर्न नसके आउँँदा दिनहरू निकै कठिन हुुनेछन् ।
पर्यावरणसम्बन्धी अध्ययन र आन्दोलनका विविध धाराहरू
जर्मन जीव वैज्ञानिक अर्नेस्ट ह्याकेलले सबैभन्दा पहिले सन् १८६६ मा ‘इकोलोजी’ (Ecology) शब्दको प्रयोग गरेका थिए । यस शब्दको साइनो ग्रिक शब्द ‘ओइकस (oikos) सँग रहेको छ । यसैबाट ‘इकोलोजी’ शब्दको निर्माण भएको हो । ‘ओइकस शब्दको अर्थ ‘घर’ वा ‘निवासस्थान’ हुन्छ । ह्याकेलले यस शब्दको प्रयोग प्रकृतिलाई आवासका रूपमा ग्रहण गर्दै पर्यावरण र प्राणीबिचको सम्बन्धको अध्ययन र खोजका निम्ति गरेका थिए । उनका अगाडि प्रकृति र प्राणीबिचको अन्तःसम्बन्धलाई गहिराइमा व्याख्या गर्नुपर्ने दायित्व थियो । बिसौं शताब्दीको पूर्वार्द्ध ‘इकोलोजी’लाई ‘बायलोजी’ अन्तर्गत राखेर अध्ययन गरिन्थ्यो । यसको प्रमुख उद्देश्य पर्यावरण र जीवित अस्तित्वबिचको सम्बन्धको अध्ययन थियो । सन् १९६० पछिमात्र पर्यावरणसम्बन्धी गम्भीरता पनि बढ्यो र यो राजनीतिक अवधारणासहित हरित आन्दोलनका रूपमा अगाडि आयो (हेउड, सन् २००७, पृ.२५५) । पर्यावरण सम्बन्धमा विभिन्न दृष्टिकोणहरू देखा परे र आन्दोलनहरू त्यसै अनुरूप डोरिए ।
गहन पर्यावरण (Deep Ecology)
पर्यावरणीय अध्ययनमा यस अवधारणालाई महत्वपूर्ण मानिन्छ । यस अवधारणाबाट पर्यावरणीय आन्दोलनहरू गम्भीर रूपमा प्रभावित रहँदै आएका छन् । गहन पर्यावरणमा विश्वास गर्नेहरूका निम्ति पृथ्वी र पर्यावरण प्रथम हुन् । गहन पर्यावरणले मानवकेन्द्रित अवधारणाले मनुष्यलाई प्रकृति र पर्यावरणसँग अलग गर्छ भन्ने ठान्छ र प्रकृतिको शोषणको कारक मान्छ (नायर, सन् २०११, पृ.२४६) ।
गहन पर्यावरणको जोड पर्यावरणीय सन्तुलन निर्माणमा रहँदै आएको छ । यसका निम्ति मानिसहरूको आवश्यकताभन्दा पर्यावरणीय सन्तुलन महत्वपूर्ण रहेको छ । यस अवधारणालाई पर्यावरणकेन्द्रित अवधारणाका रूपमा अथ्र्याउने गरिन्छ । प्रकृति यस चिन्तनको केन्द्रमा रहेको छ । नर्वेली दार्शनिक अर्ने नेइसले ‘डिप इकलोजी’ र ‘सालो इकोलोजी’ (Shllaow Ecology) शब्दको प्रयोग गरेका थिए । अमेरिकी दार्शनिक एवम् प्रकृति वैज्ञानिक लियोपोल्डको पनि यस अवधारणाको विकासमा योगदान रहेको छ । नेइसले सतही पर्यावरणीय अवधारणाको आलोचनाका क्रममा गहन पर्यावरणको अवधारणा प्रस्तुत गरेका थिए । गहन पर्यावरण पर्यावरणका सम्बन्धमा थोरै पनि मानवकेन्द्रित दृष्टिकोण राख्ने पर्यावरणसम्बन्धी अवधारणाहरूको आलोचक रहँदै आएको पाइन्छ । सतही पर्यावरण प्रकृतिलाई फाइदाका आँखाले हेर्छ तर गहन पर्यावरणले फाइदाको, स्वार्थको दृष्टिले प्रकृतिलाई हेर्दैन भन्ने दृष्टिकोण गहन पर्यावरणवादीहरू राख्छन् (गौतम, २०६४, पृ. २०७) ।
गहन पर्यावरणले मनुष्यले प्रकृतिलाई त्यति नै उपयोग गर्नुपर्छ, जति उसको अस्तित्वको रक्षाका निम्ति आवश्यक छ भन्ने दृष्टिकोण प्रस्तुत गर्दै आएको छ । मनुष्य प्रकृतिको अङ्ग हो र उसको हैसियत अन्यभन्दा कुनै पनि दृष्टिले विशिष्ट छैन भन्ने धारणा गहन पर्यावरणले राख्छ । अस्तित्वको रक्षा पारस्परिक सम्बन्धमा निर्भर रहेकाले मनुष्यलाई सबैभन्दा माथि राखेर हेर्ने र विशिष्ट ठान्ने दृष्टिकोणको आलोचना गहन पर्यावरणवादीहरूले गरेको देखिन्छ ।
विज्ञानले मानवीय संवेदना, नैतिकता र पवित्रतालाई महत्व प्रदान गर्नुपर्छ भन्ने धारणा गहन पर्यावरणले राख्दै आएको छ । प्रकृतिलाई विशेष ठान्नु र केन्द्रमा राख्नु, समग्र पर्यावरणीय चक्रलाई महत्व प्रदान गर्नु, प्रकृति अनुकूल नैतिक मूल्यलाई महत्व दिनु, जैवकेन्द्रित समानतामा जोड दिनु, प्राणीहरूको अधिकारलाई महत्व दिएर उठाउनु, अधिक उत्पादन र जनसङ्ख्या वृद्धिको विपक्षमा उभिनु, पर्यावरणीय चेतनाको निर्माण र विकासमा जोड दिनु, प्रकृतिसम्बन्धी पवित्रतावादी दृष्टिकोणलाई अँगाल्नु आदि गहन पर्यावरणका विशेषता हुन् । यसले सतही पर्यावरणवादीहरूले मानवहितलाई महत्व दिँदै पर्यावरण संरक्षणका बारेमा आफ्ना धारणाहरू प्रस्तुत गर्छन् भनेर आलोचना गर्छ ।
गहन पर्यावरणले नैतिक परिष्कारलाई उच्च महत्व दिएको पाइन्छ । गहन पर्यावरणवादीहरू मनुष्यमा चेतना र विवेक भएकाले उनीहरूले यसको प्रयोग प्रकृतिसँग सँगसँगै हिँड्न, एकीकृत भएर रहन र समग्र अस्तित्वको रक्षाका निम्ति गर्न सक्नुपर्छ भन्छन् । यसको प्रकृतिकेन्द्रित पवित्रतावादी धारणालाई यसै सन्दर्भमा हेर्ने र विश्लेषण गर्ने गरिन्छ । यसले मनुष्य आफ्ना सङ्कीर्ण स्वार्थहरूबाट माथि उठ्नुपर्ने कुरालाई अत्यधिक महत्व त दिन्छ नै, त्यस अनुरूपको संस्कृतिको निर्माणमा पनि जोड दिन्छ ।
सांस्कृतिक रूपमा मनुष्यको परिष्कार चाहनु र प्रकृतिको महत्वलाई केन्द्रमा राख्ने संस्कृतिको निर्माणलाई प्राथमिकतामा राख्नुलाई गहन पर्यावरणको एक महत्वपूर्ण विशेषताका रूपमा उल्लेख गर्ने गरिन्छ । प्रकृतिलाई महत्व प्रदान गर्ने, मानव अस्तित्व प्रकृतिको अस्तित्व विना सम्भव छैन भन्ने ठान्ने, प्रकृति र समस्त प्राणीबिच सुसम्बन्धको आग्रह राख्दै पुँजीवादको आलोचना गर्ने यसको दृष्टिकोण प्रशंसनीय रहे पनि प्रकृति र पर्यावरणसम्बन्धी यसका हेराइ र बुझाइ बढी भावुक, आत्मिक, पवित्रतावादी, स्वच्छन्दतावादी, आदर्शवादी र अतार्किक रहेका छन् । यिनै आधारमा यसको तिखो आलोचना पनि हुँदै आएको छ । गहन पर्यावरणवादीहरू माथि पर्यावरण विनाशका ठोस कारणहरू पहिल्याउन नसकेको आरोप पनि लाग्दै आएको पाइन्छ । यस आरोपमा सत्यको ठुलो अंश पनि रहेको छ । यसमाथि लागेको ‘काल्पनिक’ र ‘विज्ञान विरोधी’ जस्ता आरोपहरूको यसले तार्किक खण्डन गर्न सकेको पाइन्न ।
पर्यावरणीय नारीवाद
पर्यावरणीय नारीवादी अवधारणाको विकास सन् १९७० को दशकमा भएको मानिन्छ । प्रकृतिलाई नारी समान वा नारीलाई प्रकृति समान ठान्दै यी दुवै उत्पीडित छन् भन्ने दृष्टिकोण पर्यावरणीय नारीवादले राख्छ । पर्यावरणीय नारीवादले नारीलाई पर्यावरणसँग जोड्दै यी दुवै बिचका सम्बन्धहरूलाई रेखाङ्कन मात्र गरेको छैन, पर्यावरण संरक्षणका निम्ति गरिने सङ्घर्षहरू नारीहरूका हितमा रहेको पनि उल्लेख गरेको छ । पर्यावरणीय नारीवाद खासगरी सन् १९८०को दशकदेखि अभियानका रूपमा सक्रिय हुन आरम्भ गरेको हो । नारीहरूले शस्त्रअस्त्रको आलोचना र पर्यावरण संरक्षणको आन्दोलनलाई सँगसँगै जोडेर अघि बढाएका थिए । सन् १९८०मा एमहस्र्टमा ‘महिला र पृथ्वीमा जीवन’ शीर्षकमा आयोजना गरिएको सम्मेलनमा समाजले नारी र पुरुष दुवैलाई सधैँ उपयोगका दृष्टिले हेरेकै कारणले दुवैले सङ्कट र पीडाको सामना गर्दैछन् भन्ने दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
पर्यावरणीय नारीवादलाई अगाडि सार्ने श्रेय फ्रान्सेली नारीवादी फ्रान्कोइस युबोनलाई दिइन्छ । सन् १९७४ मा प्रकाशित आफ्नो पुस्तक ‘ले फिमिनिस ओ ला मोर्ट’मा उनले यसको चर्चा गरेकी छन् । उनका विचारमा पर्यावरण सङ्कट पुरूषसँग सम्बन्धित रहेको छ । उसैका कारणले पर्यावरणीय सङ्कट निम्तिएको हो ।
पर्यावरणीय नारीवादलाई नारीवादकै एक शाखाका रूपमा हेर्ने गरिन्छ । यसभित्र समान धारणाहरू भने छैनन् । नारीवादी आन्दोलनमा पाइने विविध विचारहरूको छाप यसमा परेको छ । यसैअनुरूप पर्यावरण र नारीका सम्बन्धमा धारणाहरू प्रस्तुत गरिएका छन् । यसो भए पनि उनीहरूका बिचमा कयौं महत्वपूर्ण विषयमा समान बुझाइ र दृष्टिकोणहरू रहेका छन् ।
पर्यावरणीय नारीवादले प्रकृति र नारीलाई अन्तःसम्बन्धित गर्दै यिनका समस्याहरूलाई प्रस्तुत गर्दै आएको पाइन्छ । यसले धर्म, संस्कृति र साहित्यमा प्रकृति र नारीको सम्बन्धलाई हेर्छ र प्रकृति एवम् नारीमाथिको उत्पीडनमा पाइने समानतालाई उल्लेख गर्दै त्यसको विश्लेषण र मूल्याङ्कन गर्छ । यसले प्रकृति र नारीमाथि हुने उत्पीडनको निरन्तर प्रतिवाद गर्दै आएको छ र दुवैको सम्मानमा जोड दिएको छ । पर्यावरणीय नारीवादीहरू पितृसत्तात्मक समाजको संरचना, सत्तातन्त्र एवम् मूल्य र विश्वासहरूको परिणामकै रूपमा प्रकृति र नारीमाथिको दमनलाई लिन्छन् । यस्ता मूल्य एवम् विश्वासहरूले नारीहरूको ज्ञान र कार्यका साथसाथै प्रकृतिसँगको उनीहरूको निकट र आत्मीय सम्बन्धलाई अस्वीकार गर्छन् (नायर, सन् २०११, पृ.२४९) ।
नायर पर्यावरणीय अभियान र समालोचनामा पर्यावरणीय नारीवाद सम्भवतः सबैभन्दा महत्वपूर्ण धारणा हो भनेर पनि उल्लेख गर्छन् । पर्यावरणीय नारीवादमा संस्कृतिले नारीलाई पुरूष अधीनस्त बनाउन महत्वपूर्ण भूमिका सम्पादन गरेको छ भन्ने विषयलाई गम्भीरतापूर्वक उठाइन्छ र नारीहरू प्रकृतिसँग निकट रहेका छन् भनिन्छ । जसरी पितृसत्तात्मक विचारधाराले नारीमाथिको पितृसत्तात्मक उत्पीडनलाई बैध ठह¥याउँछ, त्यसैगरी प्रकृतिको अतिक्रमणलाई पनि बैध ठहर्याउँछ भन्ने दृष्टिकोण पर्यावरणीय नारीवादले राख्छ (केरिज, सन् २००७, पृ.५३८) ।
पर्यावरणीय नारीवादमा लिङ्ग र प्रकृतिको विषयमा गम्भीर चर्चा गरिएको पाइन्छ । नायर पश्चिमी चिन्तनमा पहिल्यैदेखि लैङ्गिक मूल्यहरू र प्रकृतिलाई एक–अर्काको विरोधमा उभ्याउने प्रवृत्ति रहेको उल्लेख गर्छन् । प्रकृति र संस्कृतिलाई एक–अर्काका विरूद्धमा उभ्याउने दृष्टिकोणका कारण प्रकृतिलाई नारीपरक र संस्कृतिलाई पुरmषपरक रूपमा हेरियो भन्ने धारणा पनि नायरको रहेको छ । यस अवधारणाले नारी र प्रकृतिलाई समान ठान्दै नारीलाई कमजोर रूपमा प्रस्तुत गर्यो र प्रकृतिलाई जस्तै उपभोग्य ठान्यो ।
नारीलाई बौद्धिक, तार्किक, वस्तुगत र सार्वजनिक व्यक्तित्वका रूपमा हेरिएन । उसको छविलाई आत्मपरकताका आधारमा गढियो र उसको शरीरलाई महत्व प्रदान गरियो । यसलाई नारीको प्रकृतीकरण र प्रकृतिको नारीकरणका रूपमा हेर्ने गरिएको छ । यस अवधारणाले नारीलाई पुनरूत्पादक (Reproductive) शक्तिका रूपमा हेर्यो र अधिकार एवम् भूमिकाबाट वञ्चित गर्यो । नारी र प्रकृति दुवै शोषणका सिकार बने । प्रकृतिको लैङ्गीकीकरणको अवधारणाका कारण प्रकृति र नारी दुवै उत्तिकै प्रहारको निसाना बनेको पाइन्छ । लिङ्गसम्बन्धी सांस्कृतिक अवधारणा नारी अस्तित्वको विरोधमा उभियो । पुरूषसत्ता निर्मित छवि उसका हितहरूको अनुकूल हुनु स्वाभाविक थियो ।
नारीवाद पुरूषपक्षीय सत्तामीमांसा र पुरुष वर्चस्ववादलाई सार्वजनिक गर्न एवम् त्यसको आलोचनात्मक पाठलाई प्रस्तुत गर्न मात्र चाहन्न, त्यसलाई समाप्त गर्न पनि चाहन्छ । नारीवाद पुरूष र नारी बिचको पुरूष निर्मित भेदलाई समाप्त पार्न चाहन्छ र समानताको सत्ता मीमांसाका पक्षमा रहँदै आएको छ ।
पर्यावरणीय नारीवादभित्रको एउटा धारा प्राणी हिंसा र सिकारको विरोधमा उभिँदै आएको छ । यसले खानामा मासुको प्रयोगको आलोचना गर्छ र आफूलाई शाकाहारीका रूपमा प्रस्तुत गर्छ । यसै आधारमा यसलाई ‘शाकाहारी नारीवाद’का रूपमा उल्लेख गर्ने गरिन्छ । यसले मूलतः पशुपन्छीहरूका निम्ति सङ्घर्ष गर्दै आएको छ । प्राणी हिंसाको प्रतिवाद र उनीहरूको संरक्षणका निम्ति आन्दोलन यसको मुख्य उद्देश्य रहेको छ । यस धाराका नारीवादीहरू मासु खानुलाई पितृसत्ताको वर्चस्वको परिणामका रूपमा लिन्छन् र पुरूषहिंसा र मासु आधारित खानाका बिचमा सम्बन्ध स्थापित गर्छन् ।
राजनीतिक र सांस्कृतिक परिष्कारमा जोड दिने यिनीहरूको विश्वास आचार र त्यस अनुरूपको कार्यमा रहेको पाइन्छ । आध्यात्मिक सांस्कृतिक नारीवादीहरूले प्रकृति आधारित आध्यात्मिकतामा जोड दिने गरेका छन् । प्रकृतिप्रति गहिरो प्रेम, अहिंसा र उदात्त मूल्यलाई यिनीहरूले जोड दिँदै आएका छन् । प्राचीन मूल्यहरूप्रति यिनीहरूमा गहिरो विश्वास पाइन्छ र प्रकृति देवीप्रति गहिरो अभिरुचि देखिन्छ । प्रकृतिलाई यिनीहरू आमाका रूपमा हेर्नुपर्छ र त्यसै अनुरूप व्यवहार गर्नुपर्छ भन्छन् । प्राचीन समयमा मनुष्यले प्रकृतिलाई प्रेम र आदर दुवै गथ्र्यो भन्ने धारणा प्रस्तुत गर्दै आज पनि त्यो अनुकरणीय छ भन्ने दृष्टिकोण यिनीहरूको रहेको छ ।
नारीहरूको ज्ञानलाई महत्व प्रदान गर्नु, नारी शक्ति, नारी शरीर र यौनिकतालाई वैधता प्रदान गर्नु, मानव र मानवेतर प्राणी सबै प्रकृतिसँग जोडिएका छन् भन्ने धारणा राख्नु यिनीहरूको विशेषता हो भन्छन् नायर । नारीवादीहरूले पर्यावरणमैत्री भाषाको प्रयोगमा निरन्तर जोड दिँदै आएको पाइन्छ । पर्यावरणीय अध्ययनमा पर्यावरणमैत्री भाषालाई उच्च महत्व दिएर हेरिन्छ । नारीवादीहरू यस विषयमा अझ गम्भीर र संवेदनशील पाइन्छन् ।
पर्यावरणीय नारीवादअन्तर्गत समाजवादी नारीवादीहरू पनि सक्रिय रहँदै आएका छन् । यिनीहरूको दृष्टिकोण अरूको भन्दा कयौं विषयमा भिन्न रहेको छ र तुलनात्मक रूपमा यिनीहरू बढी वस्तुनिष्ठ रहेका छन् । पर्यावरणीय समाजवादी नारीवादीहरूले पर्यावरणका सन्दर्भमा मूलतः श्रम र उत्पादनको विषयलाई अघि सार्ने गरेको पाइन्छ । उनीहरू श्रम र उत्पादन दुवै पुरूषपक्षीय छन् र नारी र प्रकृति यसबाट प्रताडित छन् भन्ने उल्लेख गर्छन् ।
श्रम र उत्पादनमा नारीहरूको घरेलु श्रम र उत्पादनको कुनै गणना हुँदैन भन्दै उनीहरू पुँजीवादमा प्रकृतिको उत्पादकतालाई महत्व दिइँदैन भन्छन् र सिङ्गो पुँजीवादी संरचनाकै गम्भीर आलोचना गर्छन् । पुँजीवाद, पितृसत्ता र नारी एवम् प्रकृतिमाथिको दमन र दोहनलाई अन्तःसम्बन्धित गरेर हेर्नुपर्छ भन्ने धारणा उनीहरूमा पाइन्छ । प्रकृति र नारीमाथिको वर्चस्व एवम् उनीहरूलाई अधीनस्थ तुल्याउने सामान्य कारणहरू समान छन् भन्ने एकथरी पर्यावरणीय नारीवादीहरूको धारणासँग यिनीहरूको विमति रहेको छ ।
जैविक प्रजनन्का आधारमा प्रकृति र नारीलाई समान ठान्ने र दुवैलाई एक–अर्काका पयार्यका रूपमा उल्लेख गर्ने दृष्टिकोणको पर्यावरणीय समाजवादी नारीवादीहरूले आलोचना मात्र गरेका छैनन्, यसलाई जैविक निर्धारणवादको संज्ञा समेत दिएका छन् । उनीहरूका विचारमा यो सारतत्ववादी दृष्टिकोण हो र यसले यसलाई अपरिवर्तनीय रूपमा हेर्छ । यस्तो हेराइलाई उनीहरूले भावुक, अतार्किक र अप्राज्ञिक भनेर आलोचना गरेका छन् । पर्यावरणीय समाजवादी नारीवादका पनि आफ्ना सीमाहरू छन् तर उनीहरूले पर्यावरण विनाशलाई समाजव्यवस्था, सत्तातन्त्र र विचारधाराको व्यापक परिप्रेक्ष्यसहित हेरेको पाइन्छ । पर्यावरणीय समाजवादी नारीवादीहरू पर्यावरणीय आन्दोलनलाई आमूल रूपान्तरणको मार्क्सवादी आन्दोलनसँग गाँसेर हेर्ने कुरामा भने उदासीन रहेका पाइन्छन् ।
तेस्रो विश्व पर्यावरणवाद
तेस्रो विश्व पर्यावरणवादलाई तेस्रो विश्वको आर्थिक, राजनीतिक, समाजिक–सांस्कृतिक स्थिति, इतिहास एवम् समकालीन विश्वमा समुन्नत पश्चिमी मुलुकहरूको आर्थिक, राजनीतिक, सांंस्कृतिक तथा पर्यावरणीय दृष्टिकोण र गतिविधिहरूसँगै सन्दर्भित गरेर हेर्नुपर्छ । तेस्रो विश्वको पर्यावरणीय स्थिति र समस्यालाई केन्द्रमा राखेर अस्तित्वमा आएको यस दृष्टिकोणलाई पर्यावरणीय चिन्तन र आन्दोलनका क्षेत्रमा एक नयाँ दृष्टिकोणका रूपमा उल्लेख गर्ने गरिन्छ । रामचन्द्र गुहा, जुआन मार्टिनेज–एलियर आदिले यस अवधारणालाई अघि सारेका हुन् । यो अवधारणा तेस्रो विश्वका पर्यावरणसम्बन्धी समस्याहरू भिन्न छन् र सम्पन्न मुलुकका पर्यावरणसम्बन्धी बुझाइ र गतिविधि तेस्रो विश्वका मुलुकका दृष्टिमा आलोच्य छन् भन्ने दृष्टिकोणमा अडिएको छ ।
गुहाहरू गरिबी र पर्यावरणीय क्षयीकरणका बिचमा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै एसिया र अफ्रिकाका मुलुकहरूलाई उदाहरणका निम्ति अघि सार्छन् । तेस्रो विश्वका मुलुकका समस्याहरू भिन्न रहेका छन् र तीसँग पर्यावरण गहिरो गरी जोडिएको छ ।
तेस्रो विश्वमा विद्यमान पर्यावरणीय समस्या उनीहरूको आफ्नो कारणले मात्र जटिल छैन, सम्पन्न मुलुकका वर्चस्वपरक र स्वार्थआधारित दृष्टिकोण र भूमिकाका कारण पनि जटिल बनेको छ भन्ने धारणा तेस्रो विश्व पर्यावरणवादले राख्छ । एकातिर तेस्रो विश्वका मुलुकहरू गरिबीको अन्त्य, जमिनको न्यायोचित वितरण, सामाजिक न्यायको प्राप्ति, उत्पादनको वृद्धि आदिका निम्ति सङ्घर्षरत छन् भने अर्कातिर अमेरिकाजस्ता पश्चिमी मुलुकहरूको ध्यान तेस्रो विश्वका मुलुकहरूको स्रोतसाधनको दोहनतिर गएको पाइन्छ । उनीहरूको नीतिका कारण तेस्रो विश्वको पर्यावरण गहिरो गरी प्रभावित हुने गरेको छ । पहिलो विश्वको विकाससम्बन्धी चासो र धारणा, व्यापार सम्झौता, बजार अर्थतन्त्र, अनुदान नीति र पेटेन्ट अधिकारका कारण तेस्रो विश्वको कृषि र सामाजिक न्याय प्रभावित हुँदै आएको छ (नायर, सन् २०११, पृ.२४८) ।
समकालीन भूमण्डलीकृत पुँजीवाद तेस्रो विश्वको पर्यावरण विनाशको एक महत्वपूर्ण कारण रहेको देखिन्छ । गुहाहरूले गहन पर्यावरणसम्बन्धी दृष्टिकोणको आलोचना पनि गरेका छन् । उनीहरूका विचारमा यसले अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरूका हितमा कार्य गर्छ । तेस्रो विश्व पर्यावरणवादीहरूले तेस्रो विश्वको पर्यावरण संरक्षणको आफ्नै मोडेल हुनुपर्नेमा जोड दिँदै आएको पाइन्छ । गुहाले भारत पर्यावरण संरक्षणका सन्दर्भमा पश्चिमी मोडेलमा उभिएको चर्चा गर्दै यसले पर्यावरण संरक्षणसम्बन्धी स्थानीय स्तरमा हुने प्राचीन सामाजिक एवम् सांस्कृतिक अभ्यासलाई बिर्सिएको टिप्पणी गर्छन् ।
गुहा र मार्टिनेजले सन् १९९८ मा प्रकाशित आफ्नो पुस्तक ‘भेराइटिज अफ एनभायरन्मेन्टालिज्म : एसेज नर्थ एन्ड साउथ’मा आफूद्वारा प्रस्तुत अवधारणालाई ‘गरिबहरूको पर्यावरणवाद’का रूपमा उल्लेख गरेको पाइन्छ । तेस्रो विश्व पर्यावरणवादले समुन्नत पश्चिमा मुलकहरूको पर्यावरणसम्बन्धी दृष्टिकोण एवम् उनीहरूका वैश्विक नीति तथा भूमिकाको प्रतिवाद गर्दै पर्यावरण संरक्षणका आफ्नै मोेडेलहरूको विकास गर्नुपर्नेमा जोड दिनुपर्छ भन्छ । गुहाहरू पश्चिमाहरूले देशज परम्परा र त्यसका विशेषताहरूलाई अस्वीकार गर्छन् भन्दै प्रथम विश्वको हस्तक्षेपबिनै पर्यावरणको संरक्षण एवम् प्रकृतिको उपयोग तेस्रो विश्वले गर्न पाउनुपर्छ भन्ने कुरामा जोड दिन्छन् ।
तेस्रो विश्व पर्यावरणवादका यिनै अवधारणाका आधारमा कतिले यसलाई ‘मुक्तिको पर्यावरणवाद’ पनि भनेको पाइन्छ । यस पदावलीको प्रयोग मूलतः प्रथम विश्वको वर्चस्वलाई यस अवधारणाले तोड्न खोजेको सन्दर्भमा गरिएको पाइन्छ । प्रथम विश्वको दृष्टिको आलोचना र एक भिन्न मार्गको प्रस्ताव यस अवधारणामा भए पनि पहिलो विश्व र तेस्रो विश्वसम्बन्धी यसका अवधारणा र व्याख्या पर्यावरण विनाश एवम् गरिबी, असमानता र अन्यायका वास्तविक कारणहरूलाई चिह्नित गर्न र वैकल्पिक मार्ग प्रस्तुत गर्न सफल रहेका पाइन्नन् । गुहाहरूको दृष्टिकोण उत्तरऔपनिवेशिक सिद्धान्तबाट प्रभावित देखिन्छ ।
उत्तरऔपनिवेशिक पर्यावरणीय दृष्टिकोणले पुँजीवाद, उपनिवेशवाद, अन्तर्राष्ट्रिय विकासको धारणा, केन्द्रीकरण आदिका सन्दर्भमा पर्यावरणीय समस्यालाई हेर्छ र मूलतः यो यीबाट प्रताडित तेस्रो विश्वका मुलुकहरूको समस्यामा केन्द्रित रहेको पाइन्छ । एडवर्ड सइदका मान्यताहरूले यसलाई सैद्धान्तिक आधार प्रदान गरेका छन् । यसले तेस्रो विश्वका आफ्ना समस्याहरू छन् मात्र भन्दैन, उपनिवेशवादको अन्त्यपछि पनि कसरी नव–औपनिवेशिक उत्पीडन विद्यमान छ र पश्चिम अर्थात् पहिलो विश्वले आफ्ना हितहरूका निम्ति तेस्रो विश्वको उत्पीडन कसरी गरिरहेछ भन्ने कुरालाई अघि सार्छ । उत्तरऔपनिवेशिक पर्यावरणवादले पहिलो विश्वको पर्यावरणसम्बन्धी धारणाहरू आफ्ना हितहरूबाट निर्देशित छन् र ती तेस्रो विश्वको हित विपरीत छन् भन्छ । तेस्रो विश्वको पर्यावरणसम्बन्धी उनीहरूको धारणा दोहनकारी छ भन्ने दृष्टिकोण उत्तरऔपनिवेशिक पर्यावरणवादले राख्छ । तेस्रो विश्वले पर्यावरणको संरक्षण र विकासका निम्ति आफ्नै मोडेलको विकास गर्नुपर्छ भन्ने धारणा यसको रहेको छ । ‘पोस्ट कोलोनियल इकोक्रिटिसिज्म’ का लेखक ग्राहम हगन र हेलेन टिफिनले उत्तरऔपनिवेशिक पर्यावरणीय दृष्टिकोणले पर्यावरणलाई व्यापक सन्दर्भमा हेर्छ भन्छन् । उत्तरऔपनिवेशिक पर्यावरणवादका आफ्ना सीमाहरू रहेका छन् । एकातिर यसमा उत्तरआधुनिकतावादको प्रभाव पाइन्छ, अर्कातिर यसका दृष्टिकोणहरू पर्यावरण विनाश र सङ्कटका वास्तविक कारणहरू प्रस्तुत गर्न असफल रहेका छन् ।
पर्यावरणीय मार्क्सवादी
पर्यावरणसम्बन्धी मार्क्सवादी अवधारणाका रूपमा पर्यावरणीय मार्क्सवादलाई लिइन्छ । यो विचार एवम् आन्दोलन दुवैका रूपमा रहेको छ । बेन एगरले सन् १९७९ मा प्रकाशित आफ्नो पुस्तक ‘वेस्टर्न मार्क्सिजम अयन इन्ट्रोडक्सनः क्लासिकल एन्ड कन्टेम्पोररी सोर्सेज’मा सर्वप्रथम पर्यावरणीय मार्क्सवादको चर्चा गरेका थिए । पश्चिमी मार्क्सवादको एक धारा वा शाखाका रूपमा यसको चर्चा गरिएको छ । पर्यावरणीय मार्क्सवादलाई यस रूपमा उल्लेख गर्न रूचाउने निकै मार्क्सवादीहरू रहेका छन् । यस विचार र आन्दोलनको खास आरम्भ सन् १९८० तिरबाट भएको हो ।
मार्क्सले व्यवस्थित र विस्तृत रूपमा पर्यावरण, पर्यावरणीय समस्या र सङ्कटका बारेमा चर्चा नगरे पनि यससम्बन्धमा आफ्ना विचारहरू व्यक्त नै नगरेका होइनन् । पर्यावरणसम्बन्धी चासो र आन्दोलन बढ्दै जान थालेपछि आफूलाई मार्क्सवादीका रूपमा प्रस्तुत गर्ने तर यसलाई महत्व नदिएको भनेर ‘क्लासिकल मार्क्सवादीहरू’को आलोचना गर्नेहरूले मार्क्सका पर्यावरणसम्बन्धी अवधारणाहरूको अध्ययन र त्यस आधारमा पर्यावरणसम्बन्धी आफ्ना विचारहरूलाई सूत्रबद्ध गर्न आरम्भ गरेका थिए । पर्यावरणीय समाजवादका रूपमा त्यो अगाडि आएको थियो । पर्यावरणीय समाजवादले मार्क्सवादबाट पर्याप्त अन्तर्दृष्टि प्राप्त गरेको छ तर यो मार्क्सवादबाट कयौं कुरामा भिन्न पनि रहेको छ ।
समाजवादी दृष्टिकोणका आधारमा पर्यावरणलाई हेर्ने कयौंले मार्क्सका विचारहरू बढी मानवकेन्द्रित छन् भनेर पनि आलोचना गरेका छन् । समाजवादी पर्यावरणविज्ञ टेड बेन्टनले मार्क्सको इतिहाससम्बन्धी दृष्टिकोणलाई ‘प्रमेथियन’ र ‘उत्पादकतावादी’ दृष्टिकोण भनेर आलोचना गरेका छन् । रिनग्रुन्डमेनले ‘मार्क्सिजम एन्ड इकोलोजी’ पुस्तकमा यसप्रति समर्थन जनाएका छन् (फोस्टर, २००७, पृ.१७१) । फोस्टरका शब्दमा ‘प्रमेथियन मोडेल’ उनीहरूको दृष्टिकोणका आधारमा मार्क्सकाे प्रकृतिमाथि आधिपत्यको मूल तर्क थियो तर पनि उनीहरूले मार्क्सका धेरै कुरा लिएको पाइन्छ ।
पर्यावरणीय समाजवाद हरित आन्दोलनभित्रको एक विशिष्ट प्रकारको आन्दोलन थियो । पर्यावरणीय समाजवाद विलियम मोरिस जस्ताको ग्रामीण चेतनाले पूर्ण पर्यावरणमैत्री समाजवादको चिन्तनबाट पनि प्रभावित रहेको पाइन्छ । यसमा सघन पर्यावरण र पर्यावरणसम्बन्धी स्वच्छन्दतावादी अवधारणाहरूको प्रभाव परेको पनि देखिन्छ । मोरिस ठुलो परिमाणको उत्पादनका विरोधी थिए र साना–साना सीपमा आधारित समाजको निर्माण चाहन्थे । यस्तो समाज प्रकृतिसँग निकट हुन्छ भन्ने उनको धारणा थियो (हेउड, २००७, पृ. २७४) ।
पर्यावरणीय समाजवादीहरू पर्यावरणीय सङ्कटको मुख्य कारकका रूपमा पुँजीवादलाई लिन्छन् । हेउडका अनुसार पर्यावरणीय समाजवादको मुख्य अवधारणा ‘पुँजीवाद पर्यावरणको शत्रु हो, समाजवाद पर्यावरणको मित्र हो’ भन्ने हो । पर्यावरणीय समाजवादीहरू समाजवाद प्राकृतिक रूपमै पर्यावरणमैत्री छ भन्ने कुरामा जोड दिन्छन् । सम्पत्तिमा स्वामित्वको परिवर्तनका माध्यमबाट पर्यावरणीय समस्याको समाधान गर्न सकिन्छ भन्ने धारणा यसको रहेको छ । पुँजीवादी आर्थिक प्रणाली पर्यावरणीय सङ्कट समाधान गर्न असफल रहेको छ र यसका प्राथमिकताहरू पर्यावरणको संरक्षण र स्थायित्वका विरोधी रहेका छन् भन्ने दृष्टिकोण पर्यावरणीय समाजवादले राख्छ ।
पर्यावरणीय समाजवादीहरू पुँजीवादका ठाउँमा पर्यावरणीय समाजवादको स्थापना गर्न चाहन्छन् । पर्यावरणलाई केन्द्रमा राख्दै आर्थिक, राजनीतिक, सामाजिक संरचनाको निर्माण पर्यावरणीय समाजवादको मुख्य अभीष्ट हो । पर्यावरणीय समाजवादीहरू पर्यावरणमैत्री समाजको निर्माण गर्न चाहन्छन् भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । पर्यावरणीय समाजवादीहरू हरित राजनीति र समाजवादका कयौं पक्षहरूको आलोचक पनि रहेका पाइन्छन् । उनीहरू माक्र्सवादी क्रान्तिकारी धाराको बढी आलोचक देखिन्छन् । पर्यावरणीय समाजवादलाई हरित समाजवाद पनि भन्ने गरिन्छ ।
पर्यावरणसम्बन्धी जागरुकताबाट निर्माण भएको यो विचार भूमण्डलीकरणको पनि आलोचक रहेको छ । पुँजीवादको विस्तार गरिबी, युद्ध, सामाजिक बहिष्करण, पर्यावरणको क्षयीकरणको कारकको रूपमा रहेको छ भन्ने धारणा पर्यावरणीय समाजवादीहरूमा पाइन्छ । समाजवादको कुरा गरे पनि पर्यावरणीय समाजवाद वैज्ञानिक समाजवाद भने होइन । समाजवादसम्बन्धी सुधारवादी दृष्टिकोणहरूबाट यसको निर्माण भएको छ । माक्र्सवादका कैयौं मान्यतासँग यसका विमति रहेका छन् । कतिपय चिन्तकहरू यसमा उत्तरआधुनिकतावादी चिन्तनको छाप परेको पनि उल्लेख गर्छन् । पर्यावरण उनीहरूका निम्ति सर्वाेपरि रहँदै आएको छ र समग्र होइन खण्ड, वर्ग होइन वर्गभन्दा बाहिर रहेर समस्याको समाधान खोज्ने दृष्टिकोण उनीहरूमा पाइन्छ ।
पर्यावरणीय मार्क्सवादलाई पर्यावरणीय समाजवादकै परिसरभित्रकै तुलनात्मक रूपमा पर्यावरणीय सङ्कटसम्बन्धी माक्र्सवादी अवधारणाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र अघि बढाउने दृष्टिकोणका रूपमा उल्लेख गर्ने गरिन्छ । त्यसैले कतिपय प्राज्ञिकहरू यस परिसरभित्रको ‘दृढ’ अवधारणाका रूपमा पर्यावरणीय मार्क्सवादलाई लिन्छन् र यसको अभावमा पर्यावरणीय समाजवादको कार्यान्वयनसमेत असम्भव हुने धारणा व्यक्त गर्छन् । यसको प्रमुख उद्देश्य पर्यावरणसम्बन्धी मार्क्सवादी धारणाहरूलाई अझ विस्तार गर्दै पुँजीवादका कारण निर्मित पर्यावरणीय सङ्कटलाई विश्लेषण गर्नु र सङ्कट समाधानका बाटाहरू पहिल्याउनु रहेको पाइन्छ ।
पर्यावरणीय मार्क्सवादी पर्यावरणीय विमर्शमा नयाँ सन्दर्भ मात्र प्रदान गरेन, पर्यावरण सङ्कटको सन्दर्भमा पुँजीवादलाई गम्भीरतापूर्वक लिँदै यसको समाधानका लागि समाजवादको आवश्यकता र महत्वलाई अघि सार्यो । भूमण्डीकृत पुँजीवाद पर्यावरण विनाशको कारक कसरी रहेको छ भन्ने कुराको मसिनो विश्लेषण पर्यावरणीय माक्र्सवादीहरूबाट भएको छ । पर्यावरणीय माक्र्सवादसम्बन्धी प्राज्ञिक विमर्शमा जोन बेलमी फोस्टर र पाउल बर्केटहरूको योगदान महत्वपूर्ण मानिन्छ । फोस्टरको कृति मार्क्सज इकोलोजी : मेटेरेलिज्म एन्ड नेचर र फोस्टर र बर्केटको कृति मार्क्स एण्ड द अर्थः अयन एन्टिक्रिटिक पुस्तकहरू निकै महत्वपूर्ण रहेका छन् । पर्यावरणसम्बन्धी माक्र्सवादी अवधारणाहरूको चर्चा यी पुस्तकहरूमा प्राज्ञिक गहिराइसहित गरिएको छ । अन्य पर्यावरणीय मार्क्सवादीहरूले पनि पर्यावरणसम्बन्धी मार्क्सका अवधारणाहरूको गम्भीरतापूर्वक व्याख्या गरेका छन् ।
फोस्टर प्रकृतिको समस्यालाई पुँजीको समस्याका रूपमा व्याख्या गर्छन् । फोस्टर र बर्केट (सन् २०१६, पृ.२) सन् १९६० देखि १९८० बिचको अवधिलाई पर्यावरणीय आन्दोलनको आधारको निर्माणको अवधिका रूपमा लिन्छन् र यस अवधिमै पर्यावरणसम्बन्धी माक्र्सवादी अवधारणा र आन्दोलनको विकास भएको उल्लेख गर्छन् । फोस्टर र बर्केटले माक्र्सका पर्यावरणसम्बन्धी अवधारणाको कतिपय पर्यावरणीय समाजवादीहरूले गरेको आलोचनाको प्रतिवाद गर्दै कार्ल माक्र्स स्वयम्ले पर्यावरण शब्दको प्रयोग नगरेको भए पनि उनले समाजिक मेटाबोलिज्मको अर्थात् समाज पर्यावरणीय मेटाबोलिज्मको चर्चा गरेका छन् भनेर उल्लेख गरेका छन् । उनीहरूले श्रम प्रक्रियालाई मानव र प्रकृतिबिचको मेटाबोलिक सम्बन्धका रूपमा व्याख्या गरेको पाइन्छ ।
फोस्टर (सन् २०००, पृ.VIII)ले मार्क्सकाे विश्वदृष्टिकोण गहिरो एवम् व्यवस्थित रहेको भनेका छन् । उनका विचारमा माक्र्सको भौतिकवादी चिन्तन त्यसको आधारका रूपमा रहेको छ । बुर्केटले प्रकृतिको द्वन्द्ववादसँग आफ्नो पर्यावरणीय चिन्तनलाई जोड्दै त्यससम्बन्धी धारणाहरू प्रस्तुत गरेका छन् । पर्यावरणीय माक्र्सवादीहरूले पुँजीवादसम्बन्धी मार्क्सकाे अध्ययनमा आफूलाई विशेष रूपमा केन्द्रित गरेको पाइन्छ । यसमा केन्द्रित रहँदै उनीहरू उनको पर्यावरणसम्बन्धी भौतिकवादी अवधारणालाई पछ्याउँछन् । राजनीतिक अर्थशास्त्रसम्बन्धी मार्क्सकाे दृष्टिकोणलाई उनीहरूले निकै महत्व प्रदान गरेका छन् ।
मार्क्सकाे पर्यावरणसम्बन्धी भौतिकवादी अवधारणाले उनीहरूलाई दार्शनिक एवम् आलोचनात्मक दृष्टिकोण निर्माणका निम्ति आधार प्रदान गरेको पाइन्छ । मार्क्सकाे प्रकृतिसम्बन्धी भौतिकवादी अवधारणा उनीहरूका निम्ति अत्यन्त महत्वपूर्ण रहेका छन् । पर्यावरणीय मार्क्सवादीहरूले मूलतः पुँजीवादी उत्पादनपद्धतिको गम्भीर आलोचना गर्छन् । पुँजीवादको मानवकेन्द्री अवधारणा, अत्यधिक मुनाफाको लालसा, अत्यधिक उत्पादन, वैश्विक एकाधिकार, भूमण्डीकरण, उपभोक्तवाद, नवउपनिवेशवादको गम्भीर आलोचना पर्यावरणीय मार्क्सवादी विमर्शमा पाइन्छ । जलवायु परिवर्तन, हरित ग्याँस गृह उत्सर्जन, पातलो हुँदै गरेको ओजन तह, भूक्षय, बाढी आदिलाई उनीहरू पुँजीवादको उत्पादनका रूपमा लिन्छन् । उनीहरू पुँजीवादले प्रकृतिलाई वस्तुमा रूपान्तरित गरेको छ भन्ने मान्यता राख्छन् (नायर, सन् २०१०, पृ.२४७) ।
उनीहरू प्रकृति पुँजीवादका निम्ति आम्दानीको स्रोत बनेको उल्लेख गर्छन् । पर्यावरणीय माक्र्सवादीहरूको सरोकारको अर्काे महत्वपूर्ण विषय प्रकृतिसँग सामाजिक–आर्थिक असमानताको सम्बन्ध हो । पर्यावरणीय माक्र्सवादीहरू वर्गीय असमानताले पर्यावरणसम्बन्धी अनुभवमा भिन्नता ल्याउँछ भन्छन् । उनीहरू श्रमको अलगाव (एलिअनेसन)को अन्त्य र राज्य नियन्त्रित आर्थिक मोडेलको निर्माण एवम् मानवकेन्द्रित मूल्यको विकास चाहन्छन् । ठुलो परिमाणको उत्पादन होइन, लघु उत्पादनमा उनीहरूको विश्वास देखिन्छ र उनीहरू सामाजिक विचारधारात्मक परिवर्तनका माध्यमबाट समाजिक समस्याको अन्त्य चाहन्छन् ।
फोस्टरले मेटाबोलिज्मसम्बन्धी माक्र्सको अवधारणालाई निकै महत्व दिएका छन् । मार्क्स प्रकृति र जीवनका बिचमा मेटाबोलिक अन्तरक्रियाको कुरा गर्छन् र यससँग अस्तित्वको सम्बन्ध देख्छन् । उनका निम्ति पृथ्वी सार्वभौमिक उपकरणका रूपमा रहेको छ । प्रकृति र जीवनबिचको मेटाबोलिक अन्तक्र्रियामा पुँजीवादका कारण सङ्कट उत्पन्न भएको छ । यसैलाई ‘मेटाबोलिक रिफ्ट’ अर्थात् दरारका रूपमा उल्लेख गरिन्छ । पारिस्थितिक सङ्कट यससँग जोडिएको छ । जीवनमा जीवनयापनका निम्ति हुने रासायनिक प्रक्रियालाई मेटाबोलिज्म भनिन्छ ।
मेटाबोलिज्म अर्थात् चयापचय प्रक्रियाले जीवनलाई बढ्न, प्रजनन् गर्न, आफ्नो रचनालाई सुरक्षित राख्न र पर्यावरणप्रति सजग रहन सहयोग पु¥याउँछ । चयापचयका दुई प्रकार रहेका छन् : अपचयले कार्बनिक पदार्थलाई विघटन गर्छ । उदाहरणका निम्ति कोसकीय स्वसनबाट ऊर्जा उत्पादनलाई लिन सकिन्छ । उपचयले ऊर्जाको प्रयोग गरेर प्रोटिन र नाभिकीय अम्ल जस्तो कोसिकाको निर्माण गर्छ । प्रकृति र मानिसबिचको अन्तक्रियात्मक सम्बन्धले प्रकृति र मनुष्यको जीवनलाई सुरक्षित राख्न सम्भव हुन्छ । मनुष्यको जीवनको चयापचय प्रक्रियालाई प्रकृतिसँग अलग गर्न सकिन्न । जीवनको मेटाबोलिज्मका निम्ति प्रकृतिको अस्तित्व आवश्यक रहन्छ । प्रकृति र मनुष्यका बिचमा मेटाबोलिक अन्तक्र्रियाकै कारण जीवन सम्भव भएको हो । त्यसैले फोस्टरले यस विषयलाई पर्यावरणसम्बन्धी आफ्नो मार्क्सवादी प्राज्ञिक विमर्शमा महत्व दिएर उठाएका हुन् ।
पर्यावरणीय मार्क्सवादले पर्यावरणसम्बन्धी माक्र्सको दृष्टिकोणका साथसाथै उनका इतिहास, उत्पादन, पुँजी र भौतिकवादी दृष्टिकोणहरूका आधारमा पर्यावरणीय सङ्कटलाई बुझ्ने र विचार एवम् आन्दोलनको निर्माण गर्ने प्रयत्न गर्दै आएको भए पनि यसका आफ्ना सीमाहरू पनि रहेका छन् । मार्क्स आर्थिक सिद्धान्तलाई पर्यावरणीय मार्क्सवादीहरूले पूर्ण रूपमा स्वीकार गर्न सकेको पाइन्न । यही कुरा दार्शनिक, राजनीतिक एवम् सामाजिक सिद्धान्तका सन्दर्भहरूमा पनि लागु हुन्छ । पर्यावरणीय मार्क्सवादको स्वाभाविक रूपले पर्यावरणमाथि जोड रहने नै भयो । त्यसैले यसको केन्द्रमा पर्यावरण रहेको पाइन्छ । यसैकारण यिनीहरूको जोड पर्यावरणीय आन्दोलनमा रहेको छ । वर्ग र वर्गसङ्घर्ष परिधिमा धकेलिएका छन् । यसै सन्दर्भमा यसलाई वैज्ञानिक समाजवादमा होइन सुधारवादी समाजवादमा विश्वास गर्ने दृष्टिकोणका रूपमा उल्लेख गर्ने गरिन्छ (किरण, २०७७, पृ.२७) ।
कतिपयले यसको ध्येय पर्यावरणीय समाजवाद हो भनेर उल्लेख गर्न रुचाउँछन् । यिनीहरू स्थिर राजकीय आर्थिक मोडेल ( Steady state economic model) चाहन्छन् । यसका आलोचकहरू यसलाई शून्य उत्पादनको आर्थिक मोडेलका रूपमा अर्थ्याउँछन् । यिनीहरूको जोड संज्ञानात्मक समुदायको निर्माणमा रहेको देखिन्छ । यसलाई सुधारवादी प्रक्रियाका रूपमा हेर्ने गरिन्छ । कतिले पर्यावरणीय मार्क्सवादलाई उत्तरआधुनिकतावादी दृष्टिकोणको प्रभाव ग्रहण गरेको आन्दोलनका रूपमा पनि अर्थ्याउने गरेका छन् । आफ्ना सीमाहरूका अतिरिक्त पनि पुँजीवादको व्यापक र गम्भीर आलोचना यसमा पाइन्छ र वैकल्पिक समाजव्यवस्थाको स्थापनाको चाहना देखिन्छ । पर्यावरणीय सङ्कटका निम्ति पुँजीवाद कति जिम्मेवार छ भन्ने यथार्थलाई पर्यावरणीय मार्क्सवादीहरूले गम्भीर ढङ्गले प्रस्तुत गरेका छन् ।
पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोण
पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोण पर्यावरणीय मार्क्सवादको भन्दा भिन्न रहेको छ । पर्यावरणीय मार्क्सवादलाई नै पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोणका रूपमा अथ्र्याउने कार्य पनि कतिपय प्राज्ञिक व्यक्तित्वहरूबाट भएको पाइन्छ । पर्यावरणीय मार्क्सवादीहरूले विचार निर्माण र आन्दोलनका निम्ति मार्क्सवाट धेरै कुरा लिएका छन् र कयौं ठाउँमा मार्क्समाथिको प्रहारको तिखो भाषामा प्रतिवाद पनि गरेका छन् तर उनीहरूका विमति पनि रहेका छन् । यो विमति मूलतः पर्यावरणलाई केन्द्रमा राखेर निर्माण गर्न चाहने समाजको स्वरूप र त्यसलाई प्राप्त गर्ने बाटोमा रहेको छ ।
पर्यावरणीय मार्क्सवादीहरू मार्क्सवादका कतिपय आधारभूत अवधारणालाई अस्वीकार गर्छन् । यसमा मार्क्सवादीका वर्ग, वर्गसङ्घर्ष, समाज विकासको भौतिकवादी अवधारणा र उत्पादन मोडेल पनि पर्छन् । सुधारवादी एवम् क्रमिकतावादी अवधारणाले पर्यावरणीय मार्क्सवादीहरूलाई माक्र्सवादका आधारभूत मान्यताहरूबाट उनीहरू कसरी भिन्न छन् भनेर देखाउँछन् । त्यसैले पर्यावरणीय माक्र्सवाद वा पर्यावरणीय समाजवादका विषयमा चर्चा गरिसकेपछि पनि पर्यावरणसम्बन्धी मार्क्सवादी अवधारणाका बारेमा चर्चा गर्नुपर्ने आवश्यकता रहन्छ ।
पर्यावरणका बारेमा मार्क्स–एङ्गेल्सले व्यवस्थित रूपमा चर्चा गरेको पाइन्न । व्यवस्थित रूपमा चर्चा नगरे पनि उनीहरूले पर्यावरणका विषयमा चर्चा नै नगरेको भने होइन । माक्र्सले पर्यावरणका बारेमा जेजति चर्चा गरेका छन्, तिनले पर्यावरणसम्बन्धी मार्क्सका धारणाहरू कति गम्भीर र सटिक थिए भन्ने मात्र देखाउँदैनन्, पर्यावरणसम्बन्धी मार्क्सवादी दृष्टिकोणलाई अझ गहिरो र खँदिलो बनाउन पनि आधार प्रदान गर्छन् । मार्क्स–एङ्गेल्सले आर्थिक, राजनीतिक, दार्शनिक एवम् सामाजिक विषयहरूको समग्र विवेचनाकै क्रममा पर्यावरणसम्बन्धी विषयमा आफ्ना धारणाहरू पनि प्रस्तुत गरेका छन् । मार्क्सले जति अरू कुनै ऐतिहासिक चिन्तकहरूले पर्यावरणका बारेमा चाखलाग्दो गरी बोलेका छैनन् भन्ने दृष्टिकोण जोन बोलमी फोस्टरको रहेको छ । निस्सन्देह मार्क्सले पर्यावरणका बारेमा चाखलाग्दो गरी बोलेका छन् र ती आज अझ महत्वपूर्ण बनेका छन् ।
माक्र्स मनुष्य प्रकृतिका कारण जीवित छ मात्र भन्दैनन्, प्रकृतिलाई उसको शरीरका रूपमा समेत उल्लेख गर्छन् (सन् १९७५, पृ.३२८) । उनले जीवनका निम्ति प्रकृतिसँग निरन्तर संवादको आवश्यकतालाई औंल्याएका छन् । मनुष्यको शारीरिक र मानसिक जीवन प्रकृतिसँग गहिरो गरी जोडिएको छ भन्दै उनी मनुष्यलाई प्रकृतिको एक अङ्गका रूपमा लिन्छन् । प्रकृति र मनुष्यबिचको स्वाभाविक सम्बन्धमा दरार उत्पन्न गर्ने कार्य पुँजीवादले ग¥यो भन्ने दृष्टिकोण माक्र्सको रहेको छ । औद्योगिकीकरणको बर्बरतापूर्ण सोचाइ र त्यस अनुसारको संस्कृतिको निर्माण गरेर नै प्रकृतिलाई नष्ट गरिदै छ र पर्यावरणीय सङ्कट निम्त्याइँदै छ भन्ने दृष्टिकोण माक्र्सले व्यक्त गरेको पाइन्छ (सन् १९२४, पृ.१०१–१०३) ।
पुँजीवादका कारण प्रकृतिको परकीयकरण मात्र भएको छैन, त्यसको चरम दोहन पनि भएको छ भन्ने धारणा माक्र्सको थियो । पुँजीवादले प्रकृतिलाई वस्तुमा बदल्यो, मोलतोलको विषय बनायो र यो चरम मुनाफा आर्जनको माध्यम बन्यो भनेर मार्क्सले पुँजीवादको कटु टिप्पणी गरेका छन् । माक्र्स प्रकृति हाम्रा लागि सबै थोक हो र हाम्रो अस्तित्वको पहिलो सर्त हो पनि भन्छन् । मार्क्सले पुँजीवादी उत्पादन प्रणालीका कारण प्रकृति र मनुष्यका बिचमा दरार उत्पन्न हुने र यसबाट प्रकृति र मनुष्यबिचको मेटाबोलिज्म नै खलबलिने यथार्थलाई प्रस्तुत गरेका छन् । चयापचय प्रक्रियामा उत्पन्न हुने दरारले जीवनलाई नै सङ्कटमा पुर्याउँछ । एङ्गेल्सले सहर र गाउँबिचको त्यस समयमा बढेको शत्रुताभावलाई पर्यावरण विनाशको एक महत्वपूर्ण कारणका रूपमा उल्लेख गरेका छन् (सन् १९७५, पृ. ९२) ।
गाउँ र सहरबिच बढ्दो भिन्नता र द्वन्द्वलाई उनले पुँजीपति र मजदुरबिचको भिन्नतासँग तुलना गरेका छन् । यो औद्योगिकीकरणको प्रक्रिया र पुँजीको सञ्चय एवम् मुनाफासँग जोडिएको छ (किरण २०७७, पृ. २१) । माक्र्सका पर्यावरणसम्बन्धी मान्यता मानिस र प्रकृतिबिचको एकत्व तथा परकीयकरण, पुँजीको अतिसञ्चय जस्ता अवधारणाहरूमा आधारित रहेका छन् भन्छन् । पुँजीवादी उत्पादन प्रणालीले मनुष्य र प्रकृतिबिचको एकत्वलाई भत्कायो र परकीयकरणलाई बढायो । सर्वसंहारवादी दृष्टिकोण पुँजीवादकै परिणाम थियो । माक्र्सले पर्यावरणीय सङ्कटलाई समग्र प्रणालीका सन्दर्भमा हेरेका छन् र पुँजीवादको निषेध अनिवार्य रहेको उल्लेख गरेका छन् । वर्गसङ्घर्षका माध्यमबाटै पुँजीवादलाई अन्त्य गर्न सकिन्छ भन्ने दृष्टिकोण माक्र्स–एङ्गेल्सको रहेको छ । संज्ञानात्मक समाजको निर्माण एवम् लघु उत्पादन लगायतका सुधारात्मक कार्यबाट पर्यावरणीय सङ्कटलाई समाधान गर्न सम्भव छैन भन्ने दृष्टिकोण मार्क्सवादले राख्छ । पर्यावरणलाई केन्द्रमा राखेर अन्त्यलाई परिधिमा पुर्याउने र मार्क्सवादका ठाउँमा पर्यावरणीय मार्क्सवादका आधारमा अघि बढ्ने अनुमति पनि मार्क्सवादले प्रदान गर्दैन ।
पर्यावरणीय समालोचना
पर्यावरणीय समालोचनालाई कतिले नयाँ समालोचना सिद्धान्तका रूपमा पनि उल्लेख गर्ने गर्छन् । अन्यका तुलनामा नयाँ रहेकाले यसलाई यस रूपमा उल्लेख गरिएको हो । पर्यावरणीय समालोचनलाई पर्यावरणीय साहित्य अध्ययन, हरित साहित्य अध्ययन, हरित सांस्कृतिक अध्ययन, पर्यावरणोन्मुख समालोचना आदिका रूपमा पनि चर्चा गर्ने गरिएको छ । पर्यावरणीय समालोचनाको आरम्भ सन् १९९० तिरबाट भएको मानिन्छ । यसको आरम्भ नब्बेको दशकको सुरुतिरबाट भए पनि यसको पृष्ठभूमिको निर्माण सन् १९६० को दशकतिरबाट हुन थालेको हो । पर्यावरणीय चासो, यससम्बन्धी दृष्टिकोणको निर्माण र आन्दोलनसँगसँगै पर्यावरणीय साहित्य र समालोचना पनि अगाडि आएको हो ।
सन् १९६० र ७० को दशकमा साहित्यमा पर्यावरणको प्रतिविम्बनका विषयमा छलफल गर्न आरम्भ गरिएको थियो । ‘द वेस्टर्न लिटरेचर एसोसियसन’ (WLA)मा सन् १९७० मा पर्यावरणीय समालोचनाको अवधारणाका बारेमा छलफल भएको पाइन्छ । यसै समयमा छलफललाई क्रमबद्ध रूपमा अघि बढाउने क्रममा पर्यावरणीय समालोचनासम्बन्धी आधारभूत धारणाहरूको निर्माण हुन आरम्भ गरेको थियो । सन् १९७३ मा प्रकाशित रेमन्ड विलियम्सको कृति ‘द कन्ट्री एन्ड द सिटी’ यस सन्दर्भमा उल्लेखनीय मानिन्छ । यस कृतिमा विलियम्सले सहर र गाउँमा आएको परिवर्तन र त्यसको प्रभावलाई साहित्यको अध्ययनका माध्यमबाट गहिरो गरी प्रस्तुत गरेका छन् । यस अध्ययनले गाउँ र सहरसम्बन्धी अवधारणामा कसरी परिवर्तन आउँदैछ भन्ने यथार्थ प्रस्तुत ग¥यो । विलियम्सले पुँजीवादका कारण आएको परिवर्तन र पर्यावरणीय सङ्कटलाई अगाडि सारेका थिए । उनका विचारहरूले हरित आन्दोलनलाई गहिरो गरी प्रभावित गरेका छन् ।
सन् १९७२मा जोसेफ मिकरको द कमेडी अफ सरभाइबल : स्टडिज इन लिटरेरी इकोलोजी पुस्तक प्रकाशित भयो । पर्यावरणीय समालोचनासँग सम्बन्धित यो पहिलो पुस्तक थियो । ‘पर्यावरणीय समालोचना’ शब्दको सर्वप्रथम प्रयोग भने विलियम रुकर्टले सन् १९७८ मा प्रकाशित आफ्नो निबन्ध ‘लिटरेचर एन्ड इकोलोजी : एन एक्सपेरिमेन्ट इन इकोक्रिटिसिज्म’मा गरेका थिए । यसमा उनले पर्यावरणीय समालोचनाका बारेमा चर्चा गरेका छन् । सन् १९९६ मा ग्लोटफेल्टी तथा ह्यारोल्ड फ्रोमको सम्पादनमा ‘द इकोक्रिटिसजम रिडरः द ल्याण्डमार्क इन लिटरेरी क्रिटिसिजम’ प्रकाशित भयो ।
पर्यावरणीय समालोचनाका बारेमा यस पुस्तकमा गम्भीर रूपमा चर्चा गरिएको छ । पर्यावरणीय सामलोचनाका सन्दर्भमा सन् १९९२मा गठन भएको ‘द एसोसिएसन फर द स्टडी अफ लिटरेचर एन्ड एनभायरन्मेन्ट’ (ASLE) नामक संस्थाको भूमिका महत्वपूर्ण रहेको छ । यसको गठन अमेरिकामा भएको थियो । छिटै यो अमेरिकामा पनि व्यापक बन्यो र यसको वैश्विक विस्तार पनि भयो । छोटकरीमा यस संस्थालाई ‘एज्ली’ भनिन्छ । यसले ‘इन्टरडिसिप्लिनरी स्टडिज इन लिटरेचर एन्ड एनभायरन्मेन्ट’ नामक पत्रिकाको प्रकाशन पनि सुरु गर्यो । यसले व्यवस्थित रूपमा प्राज्ञिक विमर्शलाई अघि बढायो । ‘एज्ली’को सक्रियता पर्यावरणीय सामलोचनाको विकास र विस्तारमा अत्यन्त महत्वपूर्ण रहेको छ । यसले आयोजना गर्ने यससम्बन्धी विमर्शहरूले यसमा महत्वपूर्ण भूमिका सम्पादन गरेका छन् । पत्रिकाको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेको छ ।
पर्यावरणीय समालोचना पदावलीलाई एक खास समालोचना दृष्टिका रूपमा प्रयोग गर्न सन् १९९८ देखि थालिएको हो । यसपछि नै यसले वैश्विक स्वीकृति प्राप्त गरेको हो । यसमा चेरिल ग्लोटफेल्टीको भूमिका निकै महत्वपूर्ण रहेको छ । उनले नै ‘वल्र्ड लिटरेरी एसोसियसन’को वैश्विक सम्मेलनमा प्रकृतिसम्बन्धी लेखनको अध्ययनका निम्ति ‘पर्यावरणीय समालोचना’ शब्दको प्रयोग गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् र त्यसप्रति सहमति जनाइएको थियो । यसपछि नै यसले वैश्विक रूपमै स्वीकृति प्राप्त गरेको देखिन्छ ।
पर्यावरणीय समालोचनाको जन्म र विकास एक खास पृष्ठभूमिका बिचबाट भएको थियो । अनियन्त्रित पुँजीवाद, प्रकृतिको अत्यधिक दोहन, विकासको चिन्तालाग्दो परिभाषा र यस आधारमा आकार ग्रहण गरेको विकास पर्यावरणीय समालोचनाको जन्मको कारकका रूपमा रहेका छन् (नायर, सन् २०१०, पृ. २४१) । यसलाई उनले अनियन्त्रित पुँजीवादको जैविक–सामाजिक सन्दर्भका रूपमा उल्लेख गरेको पाइन्छ । पुँजीवादको विकाससँगसँगै मुनाफाको आकाङ्क्षा र उपभोगको चाहनामा अत्यधिक वृद्धि भयो । यो पुँजीवादको स्वाभाविक परिणाम थियो । उत्पादन प्रक्रियामा मनुष्य र प्रकृति दोयम दर्जाका बनाइए । यसले प्रकृतिको दोहनलाई बढायो । यसबाट पारिस्थितिक प्रणालीमा सङ्कट देखिन सुरु ग¥यो । पर्यावरणीय सङ्कट र यसप्रति आलोचनात्मक चेतनाको निर्माण पनि सँगसँगै भयो । यही पृष्ठभूमिका बिचबाट पर्यावरणीय समालोचनाको विकास भएको थियो (रिग्बी, सन् २००७, पृ.१५१) ।
नायर र रिग्बीका भनाइ पर्यावरणीय समालोचनाको पृष्ठभूमि निर्माणका सन्दर्भमा महत्वपूर्ण रहेका छन् । साहित्यमा प्रकृतिको अभिव्यक्ति प्राचीन समयदेखि नै हुँदै आएको हो, प्रकृतिसँग मनुष्यको गहिरो र आत्मीय सम्बन्ध प्राचीन समयदेखि रहँदै आएको हो । पर्यावरणीय समस्या र सङ्कट पुँजीवादको परिणाम हो । पुँजीवादको आरम्भबाटै देखिन थालेको पर्यावरणीय समस्या पुँजीवादको विकाससँगसँगै बढ्दै गयो । प्रकृतिको दोहन, प्रदूषण, मरूभूमीकरणको प्रक्रिया तीव्र्र भयो । यसको अध्ययन, विश्लेषण र प्रतिवाद पनि बढ्दै गयो । स्रष्टाहरूले सिर्जनामा यस यथार्थलाई अभिव्यक्ति दिन सुरु गरे । साहित्य चिन्तनमा पनि यसले प्रवेश पायो ।
पर्यावरणीय समालोचनालाई सैद्धान्तिक दृष्टि प्रदान गर्ने गरी सन् १९९० को दशक र त्यसको सेरोफेरोमा केही महत्वपूर्ण कृतिहरू प्रकाशित भए । सन् १९८५ मा फ्रेडरिक ओ वागको एन्भायरन्मेन्टल लिटरेचरः मेटरियल्स मेथड्स रिसोर्सेज पुस्तक प्रकाशित भयो । पर्यावरण, पर्यावरणीय समस्या र सङ्कट, साहित्यमा त्यसको प्रतिबिम्बन, पर्यावरणसम्बन्धी आन्दोलनका बारेमा पुस्तकमा विचार व्यक्त गरिएको छ ।
बुएल लरेन्सको पुस्तक ‘द एन्भायरन्मेन्टल इम्याजिनेसन’ सन् १९९५मा प्रकाशित भयो । यस पुस्तकमा लरेन्सले पर्यावरणीय सङ्कटका बारेमा गम्भीर चर्चा गर्दै यसका कारणहरूलाई प्रस्तुत गरेका छन् । साहित्य र पर्यावरणका विषयमा पनि यसमा अध्ययन गरिएको छ । लुइस वेस्टलिङको सन् १९९६ मा प्रकाशित पुस्तक ‘द ग्रिन बेस्ट अफ द न्यू वल्र्डः ल्याण्डस्केप, जेन्डर एन्ड अमेरिकी फिक्सन’ यस सन्दर्भमा अर्काे महत्वपूर्ण पुस्तक हो । यस पुस्तकमा पर्यावरणीय सन्दर्भसहित लैङ्गिक अध्ययनलाई प्रस्तुत गरिएको छ । पर्यावरणीय नारीवादका सन्दर्भमा यस पुस्तकको महत्व धेरै रहेको छ । सन् १९९६ मा चेरिल ग्लोटफेल्टी र ह्यारोल्ड फ्रोमको सम्पादनमा द इकोक्रिटिसिजम रिडरः ल्याण्डमाक्र्स इन लिटरेरी इकोलोजी प्रकाशित भयो । यस पुस्तकमा सर्वप्रथम पर्यावरणीय समालोचनाका विषयमा व्यवस्थित रूपमा चर्चा गर्ने प्रयास गरिएको छ । यस पुस्तकको परिचय खण्ड महत्वपूर्ण रहेको छ । ग्लोटफेल्टीले व्यक्त गरेका विचारहरू पर्यावरणीय समालोचनाको आधार निर्माणका दृष्टिले महत्वपूर्ण रहेका छन् ।
साहित्य र समालोचनाको पर्यावरणीय सरोकारका दृष्टिले आज पनि यस पुस्तकलाई उत्तिकै महत्व प्रदान गरिन्छ । बेट जोनाथनको सन् २०००मा प्रकाशित पुस्तक द सङ अफ द अर्थ पर्यावरणीय समालोचनाका सन्दर्भमा अर्को महत्वपूर्ण पुस्तक मानिन्छ । पर्यावरणीय समालोचनाका सैद्धान्तिक मान्यताहरूलाई समृद्ध गर्न यस पुस्तकले महत्वपूर्ण योगदान दिएको छ । लरेन्स कुपद्वारा सम्पादित र सन् २०००मा प्रकाशित द ग्रिन स्टडिज रिडरः फ्रम रोमान्टिसिजम टु इकोक्रिटिसिजम लाई पर्यावरणीय समालोचनाका क्षेत्रमा अर्को महत्वपूर्ण पुस्तकका रूपमा लिइन्छ । यस पुस्तकमा विषयका विविध पक्षसँग सम्बन्धित विभिन्न विद्वान्हरूका आलेख रहेका छन् । पर्यावरणीय साहित्य र समालोचना एवम् हरित अध्ययनका सन्दर्भमा यस पुस्तकको महत्वपूर्ण स्थान रहेको छ ।
पर्यावरणीय समालोचनासम्बन्धी सैद्धान्तिक अवधारणा निर्माणका दृष्टिले माथि उल्लेख गरिएका सबै पुस्तकहरूको योगदान महत्वपूर्ण रहेको मानिन्छ । ग्लोटफेल्टी र ह्यारोल्ड फ्रोमले सम्पादन गरेको पुस्तक विषयवस्तुका दृष्टिले सबैभन्दा महत्वपूर्ण रहेको छ । सन् २००० पछि पनि पर्यावरणीय समालोचनासँग सम्बन्धित निकै पुस्तकहरू प्रकाशित भएका छन् । पर्यावरणीय साहित्य सिर्जना र गतिविधिको विस्तारसँगसँगै यसको अध्ययन, विश्लेषण र मूल्याङ्कनको कार्यमा पनि वृद्धि भएको छ ।
पर्यावरणीय समालोचनालाई विभिन्न विद्वानहरूले आ–आफ्नो ढङ्गले परिभाषित गरेको पाइन्छ । सबैको मुख्य सरोकार साहित्यिक सांस्कृतिक पाठहरूमा पर्यावरण रहेको छ । पर्यावरणीय समालोचना पाठहरूप्रतिको सचेत हेराइका साथसाथै पर्यावरणप्रतिको सरोकार र त्यसको संरक्षणका निम्ति सक्रियताका रूपमा पनि रहेको छ । पर्यावरण र पाठलाई राजनीतिक धारणा र सचेततासहित लिनु यसको एउटा महत्वपूर्ण पक्ष हो । पर्यावरणीय समालोचना अन्तरअनुशासनात्मक रहेको छ । यो दर्शन, समाजशास्त्र, मानवशास्त्र, पर्यावरण विज्ञान, नारीवाद, माक्र्सवाद लगायत विभिन्न ज्ञानानुशासन एवं विचारहरूबाट प्रभावित मात्र छैन, ’गरेको छ ।
पर्यावरणीय समालोचनामा विभिन्न ज्ञान अनुशासनको उपयोग गरिएकैले यसलाई अन्तरअनुशासनात्मक समालोचनाका रूपमा उल्लेख गरिएको हो । नायर पर्यावरणीय समालोचनाले विमर्श र अभ्यास गरेर दुई स्तरमा कार्य गर्छ भन्छन् । विमर्श संस्कृतिको पर्यावरणीय दृष्टिकोण र पाठहरूसँग सम्बन्धित छ, अभ्यास प्रमाणित सांस्कृतिक पाठहरूको पुनः पठन र पर्यावरणीय जागरणका निम्ति योगदानसँग सम्बन्धित छ । सन् १९६० र ७० को दशकमा पर्यावरणीय आन्दोलन प्रभावकारी रूपमा देखा पर्न सुरु गरेपछि मानविकीतर्फ पनि यसको प्रभाव पर्यो र पर्यावरणीय समालोचनासम्बन्धी दृष्टिकोणको निर्माण हुन थाल्यो । ‘पर्यावरणीय समालोचना’ शब्दको प्रयोगभन्दा पहिले पनि रेमन्ड विलियन्सको द कन्ट्री एण्ड द सिटी (१९७३) मा पर्यावरणीय समालोचनात्मक दृष्टि पाइन्छ । एनेट क्लोडनीको द ले अफ द लैन्ड (१९७५)मा पनि पर्यावरणीय समालोचनात्मक दृष्टि भेटिन्छ । यी कृतिहरूमा पर्यावरणका सम्बन्धमा व्यक्त विचार र त्यस विषयमा उठाइएका प्रश्नहरू पर्यावरणीय समालोचनाको आधार निर्माणमा महत्वपूर्ण रहेका पाइन्छन् । आन्दोलनका रूपमा पर्यावरणीय समालोचनाको आरम्भ भने सन् १९९०को दशकमा भएको हो र ९० को दशकपछि यसको प्रभावकारी रूपमा विस्तार भएको हो । पर्यावरणीय समालोचना अमेरिका र ब्रिटेन हुँदै संसारभरि फैलिएको हो ।
ग्लोटफेल्टी (सन् १९९६) ले पर्यावरणीय समालोचनालाई साहित्य र पर्यावरण बिचको सम्बन्धको अध्ययनका रूपमा परिभाषित गरेकी छन् । केरिज (सन् २००७) ले पर्यावरणीय समालोचनालाई पर्यावरणीय वा पर्यावरणवादी दृष्टिकोणका आधारमा गरिने साहित्यिक र सांस्कृतिक समालोचनाका रूपमा उल्लेख गरेका छन् । पर्यावरणीय दृष्टिले पाठ कति सहयोगी वा हानिकारक छ भनेर हेर्नु, विश्वास र विचारधारा कस्तो पर्यावरणीय निहितार्थसहित व्यक्त भएको छ भनेर नियाल्नु, पर्यावरणीय चासोसहित अवधारणाहरूको इतिहासलाई केलाउनु, पर्यावरण ध्वंसका कारकहरूलाई विश्लेषण गर्नु पर्यावरणीय समालोचनाका कार्यहरू हुन् भन्छन्, केरिज । उनी पर्यावरणीय समालोचकहरू समग्र प्रकृति र दैनिक जीवनलाई पर्यावरणीय क्षयीकरणसँग जोडेर हेर्छन् भनेर उल्लेख गर्छन् ।
अब्राह्मस् (सन् २००७, पृ.७१) ले पर्यावरणीय समालोचनालाई साहित्य र पर्यावरणबिचको सम्बन्धको आलोचनात्मक अध्ययनका रूपमा उल्लेख गर्दै यसले मानवीय क्रियाकलापका कारण सङ्कटमा परेको पर्यावरणप्रति जागरण ल्याउने उद्देश्यलाई पनि महत्व दिएर हेर्छ भनेका छन् । नेपाली समालोचकहरूबाट पनि पर्यावरणीय समालोचनालाई परिभाषित गरिएको छ । किरण (२०७८, पृ.३५) पर्यावरणीय समालोचनालाई विभिन्न प्रकारका पर्यावरणवाद, नवमाक्र्सवाद, नारीवादका साथसाथै उत्तरआधुनिकतावादबाट समेत प्रभावित रहेको उल्लेख गर्छन् । समाजकेन्द्रित र प्रकृतिकेन्द्रित धारा पर्यावरणीय समालोचनामा रहेको दृष्टिकोण किरणले प्रस्तुत गरेका छन् । प्रकृतिकेन्द्रित धारालाई उनी इकोकेन्द्रवादमा आधारित रहेको ठान्छन् र यसमा अस्तित्वको लागि सङ्घर्ष तथा योग्यतमको विजयको मान्यतामा आधारित डार्बिनवाद, जैविक विश्वदृष्टिकोण तथा जैविक नैतिकताका पक्षधर अल्डो लियोपोल्डको मान्यता र स्वःस्फुर्त अविकसित चेतनालाई मान्यता दिने तथा नाजीवादी राष्ट्रिय समाजवादको पुर्पक्ष गर्ने हाइडेगरीय चिन्तनले काम गरेको उल्लेख गर्छन् ।
भट्टराई (२०७०, पृ.८१) प्रकृति र साहित्यको सम्बन्ध तथा पर्यावरणीय अध्ययन, प्रकृतिको इतिहास, वातावरण अध्ययन तथा यसले मानवजीवन एवम् पृथ्वीमा पारेको प्रभावजस्ता अध्ययनमा आधारित समालोचना नै पर्यावरणीय समालोचना रहेको उल्लेख गर्छन् । उनी पर्यावरणीय समालोचनालाई मूलतः प्राकृतिक विश्वसँग मानवीय विश्वको सम्बन्धलाई साहित्यिक कृतिमा कसरी व्यक्त गरिएको छ भनेर अध्ययन गर्ने समालोचनाका रूपमा लिन्छन् । यसका अतिरिक्त पर्यावरणीय समालोचनाले परिवर्तित राजनीतिक, सांस्कृतिक सन्दर्भमा प्राकृतिक वातावरणको निर्मितिमा साहित्यको भूमिकाको खोजी पनि गर्छ भन्ने दृष्टिकोण भट्टराईको रहेको छ ।
एटम (२०७०, पृ.१७२,७३) पर्यावरणीय समालोचनाले धरतीलाई एउटा साहित्यिक कृतिका रूपमा लिने उल्लेख गर्दै यसले धरतीलाई सचेत भएर गहन दृष्टिले अध्ययन गर्नुपर्छ र त्यसको सुमधुर लय, आत्मा, चेतना पहिचान गरी संरचनागत जटिलतालाई आत्मसात् गर्नुपर्छ भन्ने ठान्छ भन्छन् । उनका अनुसार आफू उभिएको भौतिक र सांस्कृतिक आधारसँग साहित्यिक कृतिलाई तुलना नगरी पर्यावरणीय समालोचना हुन सक्दैन । त्रिपाठी प्रकृतिलाई नै एउटा पुस्तकका रूपमा लिई प्रकृतिमा रहेका मानव, मानवेतर प्राणी र निर्जीव पदार्थबिचको सम्बन्धको अध्ययन गर्ने समालोचनालाई पर्यावरणीय समालोचना भनिने कुरा बताउँछिन् (२०७२, पृ.१९२–१९५) । उनले पर्यावरणीय समालोचनालाई सांस्कृतिक समालोचनाको एउटा महत्वपूर्ण पक्षका रूपमा उल्लेख गर्दै मानव र प्रकृति तथा मानव र पर्यावरणको सम्बन्धको अध्ययन गरी पर्यावरणीय साहित्यिक बौद्धिक विमर्शको निर्माण गर्ने कार्यको मुख्य पक्ष रहेको धारणा प्रस्तुत गरेकी छिन् ।
पर्यावरणीय समालोचनासम्बन्धी माथि प्रस्तुत गरिएका परिभाषाहरूले यसको उद्देश्य के हो, यो के गर्न चाहन्छ भन्ने कुरालाई हाम्रा अगाडि राख्छन् । सामान्य अर्थमा पर्यावरणीय समालोचना पर्यावरणसँग सम्बन्धित साहित्यको अध्ययन हो । यसले साहित्य र प्रकृतिबिचको सम्बन्धको अध्ययन गर्छ र समग्र साहित्यिक सांस्कृतिक पाठहरूमा प्रकृतिको प्रतिनिधित्व कसरी भएको छ भनेर हेर्छ । यससँग आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक पक्षहरू जोडिएर आउँछन् । एकातिर यो पर्यावरणीय सरोकारलाई केन्द्रमा राखेर गरिएको साहित्यको अध्ययन हो, अर्कातिर पर्यावरणको संरक्षण र सम्वर्धनमा साहित्यको सरोकार र भूमिकाको खोजी पनि हो ।
प्रकृति र मनुष्यबिचको सम्बन्ध, मनुष्य र मानवेतर प्राणीबिचको सम्बन्ध, मनुष्यका क्रियाकलापले प्रकृतिमा पारेको असर, प्रकृतिसम्बन्धी मनुष्यका हेराइ र बुझाइ, समाजव्यवस्था, आधुनिकता, औद्योगिकीकरण, सहरीकरण, उपभोक्तावाद, भूमण्डलीकरण, प्रविधिको विकास आदिका कारण पर्यावरणमा परेको गम्भीर असर, पर्यावरण विरोधी चिन्तनको प्रतिवाद, प्रकृतिप्रेम, पर्यावरण संरक्षणका निम्ति चलेका आन्दोलन, पर्यावरणसम्बन्धी विविध विचार आदि सबै पर्यावरणीय समालोचनाका सरोकारका विषयहरू हुन् । यसले पर्यावरणीय अध्ययन पर्यावरणीय आन्दोलनसँग जोडिनुपर्छ भन्ने ठान्छ र यससम्बन्धी सामाजिक विमर्शहरूमा आधुनिकता, सहरीकरण, विकास, जनसाङ्ख्यिकी आदि सरोकारका विषय बन्नुपर्छ भन्छ ।
पर्यावरणीय समालोचनाले संसारलाई, प्रकृतिलाई नै एक पाठका रूपमा लिँदै त्यहाँबाट पर्यावरणीय तस्बिरलाई नियाल्ने कार्य गर्छ । प्रामाणिक पाठहरूमा पर्यावरणीय जागरण पाइनुपर्छ भन्ने दृष्टिकोण पर्यावरणीय समालोचनाले राखेको पाइन्छ । मानवकेन्द्रित, पितृसत्तात्मक र पुँजीवादी दृष्टिकोणप्रति पर्यावरणीय समालोचनाले आलोचनात्मक दृष्टि राख्छ । यसले नारी, प्रकृति, अजैव वस्तु र समग्र परिदृश्यप्रति तिनको व्यवहारलाई विशेष महत्व दिएर हेर्छ । विषयवस्तुका दृष्टिले पर्यावरणीय समालोचना फराकिलो देखिन्छ ।
पर्यावरणीय समालोचना एउटै सैद्धान्तिक आधार र पद्धतिमा उभिएको पाइन्न । साहित्य र पर्यावरणबिचको सम्बन्धको अध्ययन, विश्लेषण एवम् मूल्याङ्कनका साथसाथै यससँग सम्बन्धित अन्य महत्वपूर्ण विषयहरू पर्यावरणीय समालोचनाको केन्द्रीय सरोकारका विषयहरू भए पनि तिनलाई हेर्ने दृष्टिकोणहरू समान रहेका छैनन् । पर्यावरणीय समालोचनाले के हेर्ने र के गर्ने भन्ने विषयमा दृष्टिकोण प्रस्तुत गरिएको भए पनि एकरूपता आउन सकेको पाइन्न । विभिन्न सैद्धान्तिक दृष्टि र प्रक्रियाका माध्यमबाट तिनको अध्ययन, विश्लेषण र मूल्याङ्कन प्रस्तुत गर्ने गरिएको छ ।
ब्यारीले साहित्यिक पाठहरूको पर्यावरणीय समालोचनाका कोणबाट गरिने अध्ययनका सरोकारका विषयहरू उही रहे पनि पर्यावरणीय समालोचनाको वैश्विक रूपमा स्वीकृत मोडेल नभएका कारण पर्यावरणीय समालोचनामा एकरूपता नपाइने दृष्टिकोण प्रस्तुत गरेका छन् (सन् २०१०, पृ.२४८) । अब्राह्म्स पनि पर्यावरणीय समालोचकहरूसँग पर्यावरणीय साहित्य अध्ययनको समान सैद्धान्तिक परिप्रेक्ष्य र प्रक्रिया नरहेको उल्लेख गर्छन् (सन् २००७, पृ. ७२) । ब्यारी र अब्राह्म्सले भने जस्तै पर्यावरणीय समालोचनाका सैद्धान्तिक दृष्टि र पद्धति समान छैनन् । यसको सैद्धान्तिक र पद्धतिगत एउटै स्वरूपको निर्माण अहिलेसम्म हुन सकेको पाइन्न । यसको इतिहास पनि त्यति लामो छैन । यो विकासकै प्रक्रियामा छ र यसमा विभिन्न दृष्टिहरू क्रियाशील छन् ।
पर्यावरणीय विचार र आन्दोलनमा विद्यमान भिन्नता यसका आधारका रूपमा रहेका छन् । पर्यावरणीय समालोचना भिन्न–भिन्न सैद्धान्तिक दृष्टिहरूबाट प्रभावित रहँदै आएको छ । गहन पर्यावरण, पर्यावरणीय नारीवाद, तेस्रो विश्व पर्यावरणवाद, पर्यावरणीय माक्र्सवाद लगायतका पर्यावरणसम्बन्धी दृष्टिकोणहरूबाट समालोचकहरू मुक्त छैनन् । कुनै न कुनै सिद्धान्तको जगमा उनीहरू उभिएकै छन् । समालोचनामा त्यसको गहिरो छाप पर्ने नै भयो । यही भिन्नताका कारण पर्यावरणीय समालोचनाले एउटा सर्वस्वीकृत सैद्धान्तिक दृष्टि एवम् पद्धति निर्माण गर्न सकेको छैन ।
पर्यावरणीय समालोचनाका सन्दर्भमा ग्लोटफेल्टी (सन् १९९६, पृ.XXIV) ले प्रस्तुत गरेका विचारहरू महत्वपूर्ण रहेका छन् । उनी पर्यावरणीय समालोचनालाई प्रथमतः साहित्यमा प्रकृतिको प्रतिनिधित्वको अध्ययन हो भन्छिन्, दोस्रो, यो प्रकृतिसँग सम्बन्धित लेखनको पुनः खोज हो र तेस्रो यसले प्रजातिहरूको प्रतीकात्मक संरचना, मानव र लिङ्गसँग सम्बन्धित निर्मित विमर्शहरू र पाठको अध्ययनको सैद्धान्तिक ढाँचाहरूको विकास गर्छ भनेर उल्लेख गर्छिन् । उनको बढी ध्यान पर्यावरणीय नारीवादमा पाइने भिन्नताप्रति गएको देखिन्छ । ग्लोटफेल्टीको अवधारणाले पर्यावरणीय समालोचना के हो र यसले के गर्नुपर्छ भन्ने कुरालाई प्रस्तुत गर्छ ।
पर्यावरणीय समालोचनाका सन्दर्भमा बुएल (सन् १९९५, पृ.७–८)ले केही बुँदाहरूलाई महत्व दिएर उठाएका छन् । पाठको मूल्याङ्कनका निम्ति प्रस्तुत बुँदाहरूका अनुसार पाठमा मानवेतर आयामको उपस्थिति वास्तविक हुनुपर्छ, आवरण वा मुखौटोको रूपमा मात्र प्रस्तुत गरिएको हुनुहुन्न र मानव तथा मानवेतर संसारलाई एकीकृत रूपमा प्रस्तुत गरिएको हुनुपर्छ । मानव अभिरुचि वा चाहनालाई अरूलाई भन्दा विशेष अधिकार प्रदान गरिएको हुनुहँुदैन । पाठहरूले मनुष्यलाई पर्यावरणप्रति जवाफदेही देखाउनुपर्छ र उनीहरूबाट पर्यावरणीय विनाशलाई सहयोग पुग्ने गरी कुनै कार्य गरिएको हुनुहुँदैन । पर्यावरणलाई स्थिर अवस्थाका रूपमा होइन प्रक्रियाका रूपमा लिइएको हुनुपर्छ । बुएलका मान्यताहरूले पर्यावरणीय समालोचनाले पाठमा पर्यावरणीय सचेतना र सरोकारलाई कसरी हेरिनुपर्छ र मूल्याङ्कन गरिनुपर्छ भन्ने कुरा अघि सारेका छन् ।
रुकेर्ट (सन् १९९६, पृ.१०५–२३)ले पर्यावरणीय दृष्टिकोणबाट कविताको पठनका सन्दर्भमा प्रस्तुत गरेका विचारहरू पनि पर्यावरणीय समालोचनाका सन्दर्भमा महत्वपूर्ण रहेका छन् । उनी विशिष्ट पर्यावरणीय अवधारणाका आधारमा कविताको अध्ययन गरिनुपर्छ भन्छन् । उनी कविता शक्तिको भण्डारण हो र यसको पठन शक्तिको स्थानान्तरको प्रक्रिया हो, कक्षाकार्य कविताको शक्तिलाई सिर्जनशीलता र समुदायको विकासका निम्ति प्रयोग गर्ने गरी गरिनुपर्छ र शक्तिका स्रोतहरूसँग सबै अन्तःसम्बन्धित रहेको हुनुपर्छ भन्दै तर त्यो प्रकृतिको विपरीत हुनुहुन्न भन्छन् । पाठकले जसरी शिक्षाशास्त्र, इतिहास, सामाजिक न्यायका बारेमा चासो राख्छन्, त्यसैगरी साहित्य पढ्दा हामीले पृथ्वीप्रतिको हाम्रो जिम्मेवारी एवम् पर्यावरणीय दृष्टि गुमाउँदै त छैनौं भनेर प्रश्न गर्न सक्नुपर्छ भन्ने कुरामा उनको विशेष जोड रहेको पाइन्छ । उनी पर्यावरणीय दृष्टिसहित साहित्य रचिनुपर्छ भन्ने कुरामा जोड दिन्छन् । आफ्ना सरोकारहरूअनुसार पाठको अध्ययन, विश्लेषण र मूल्याङ्कनका निम्ति यसले विभिन्न ढाँचा, पद्धति र दृष्टिहरूको उपयोग गर्दै आएको छ । पर्यावरणीय समालोचना अन्तरअनुशासनात्मक वा अन्तर्विषयक भएकाले यसले विभिन्न क्षेत्रबाट अवधारणा र प्रक्रियाको सहयोग लिएर आफ्नो कार्यलाई अघि बढाउने कार्य गर्दै आएको हो ।
पर्यावरणीय समालोचनाले साहित्य र प्रकृतिबिचको सम्बन्धलाई केन्द्रमा राखेर अध्ययन गर्ने प्रक्रियालाई अघि बढाएर साहित्यका क्षेत्रमा एक नयाँ समालोचनादृष्टिलाई अघि सारेकै हो । साहित्यमा प्रकृतिको प्रतिनिधित्वको अध्ययनका रूपमा मात्र सीमित नरहेर पर्यावरण र साहित्यसम्बन्धी समग्र विमर्श यसको सरोकारको केन्द्रमा रहेको पाइन्छ । उत्तरआधुनिकतावादको अन्त्य होइन, यससम्बन्धी विमर्श अलि कमजोर भएको बेलामा प्रकृति, पर्यावरण र साहित्यलाई जोडेर यसको जन्म भएको थियो । पर्यावरणीय अध्ययन र आन्दोलनको आरम्भ अलि पहिलेदेखि भइसकेको थियो । पर्यावरणसम्बन्धी अध्ययन र आन्दोलनमा उत्तरआधुनिकतावादको प्रभाव नै परेको छैन भन्ने होइन । पर्यावरणीय माक्र्सवादमा समेत यसको प्रभावलाई नियाल्न सकिन्छ । खास गरी स्थापित सैद्धान्तिक मान्यताहरूको आलोचना र पर्यावरणीय अध्ययनमा सांस्कृतिक पाठ र जाति, लिङ्ग, जस्ता श्रेणीहरूको प्रतिनिधित्व र पर्यावरणलाई त्यससँग जोडेर गरिने विश्लेषणमा यसलाई हेर्न सकिन्छ ।
अब्राह्म्सले (सन् २००७, पृ. ७२) पर्यावरणीय समालोचनाले परम्परावादी दृष्टिबाट मात्र होइन, उत्तर संरचनावादी, उत्तरऔपनिवेशिक दृष्टिबाट पनि पर्यावरणीय साहित्यलाई हेर्छ भनेर उल्लेख गरेका छन् । फोस्टर (सन् २००७, पृ. १७१) ले हरित विचार आफ्नो उत्तरआधुनिक, उत्तरप्रबोधन परिप्रेक्ष्यका माध्यमबाट बुझिन्छ÷भनिन्छ भनेर यसै सन्दर्भमा उल्लेख गरेको देखिन्छ । खास गरी पर्यावरणसम्बन्धी माक्र्सको हेराइ र बुझाइको आलोचनाका सन्दर्भमा यस्तो दृष्टिकोण व्यक्त भएको पाइन्छ । उत्तरसंरचनावादी दृष्टिकोण र गहन पर्यावरणवादी दृष्टिकोणका बिचमा कैयौं पक्षमा पाइने समानतालाई यहाँनेर ध्यान दिन आवश्यक छ । प्रकृतिलाई संस्कृति र विचारधारात्मक रूपमा संरचित संरचनाका रूपमा हेर्ने यसको दृष्टिकोणमा उत्तरआधुनिकतावादको प्रभाव पाइन्छ । उत्तरआधुनिकतावादले महाख्यानलाई अस्वीकार ग¥यो र बहुलतालाई महत्व दियो । यो प्रवृत्तिबाट पर्यावरणीय समालोचना पनि प्रभावित रहेको छ । गौतम (२०६४, पृ.२०७) वाताकाव्यशास्त्र सांस्कृतिक तथा साहित्यिक एकलवादको विरोधी भएकाले अन्य अवधारणा, विचार र चिन्तनहरूबाट सहयोग लिने अन्तरअनुशासनात्मक, पारअनुशासनात्मक एवम् बहुअनुशासन प्रेरित साहित्य सिद्धान्त हो भन्दै वातावरणवादको साहचर्य उत्तरआधुनिकतावाद र उत्तरसंरचनावादसँग भएकाले अद्यतन वातावरणवाद वा उत्तरवातावरणवाद वाताकाव्यशास्त्रको आधार हो भन्छन् । भट्टराईले पर्यावरणीय समालोचनालाई उत्तरआधुनिक चेतनाले खोलेको सिर्जना र समालोचनाको नयाँ बाटोको रूपमा उल्लेख गरेका छन् (२०६४, पृ. २०२) ।
पर्यावरणीय समालोचनालाई सम्पूर्ण रूपमा उत्तरआधुनिकतावादी, उत्तरसंरचनावादी हो भनेर भन्नु उपयुक्त हुँदैन तर यसमा क्रियाशील कयौं दृष्टिहरूमा उत्तरआधुनिकतावाद र उत्तरसंरचनावादको छाप छ । यसको प्रभाव प्रक्रिया र पद्धतिमा पनि देखिन्छ । पर्यावरणीय अध्ययन र समालोचनामा पवित्रतावादी, आध्यात्मिक, रहस्यवादी, नीतिवादी धारणाहरू बलियै रूपमा उपस्थित भएका पाइन्छन् । एकातिर पर्यावरणमाथिको संरचनागत प्रहारको तिखो आलोचना पाइन्छ भने अर्कातिर पर्यावरण संरक्षणका निम्ति प्रस्तुत बाटाहरू भावुक र कल्पनाशील पाइन्छन् ।
पर्यावरणीय समालोचना स्वच्छन्दतावादबाट पनि गहिरो गरी प्रभावित रहेको छ । स्वच्छन्दतावादी मान्यताहरूलाई पर्यावरणीय समालोचकहरूले उच्च महत्व दिएका छन् । द सङ अफ द अर्थमा बेट जोनाथनले किटस, वर्डस्वर्थ, कलरिजलाई उच्च महत्व दिएर प्रस्तुत गरेका छन् । गहन पर्यावरणवादी धारणाहरूमा यसको प्रभावलाई राम्रोसँग नियाल्न सकिन्छ । ग्राम्यवादको अवधारणालाई पर्यावरणीय अध्ययनमा महत्वपूर्ण मानिन्छ । ग्राम्य जीवनको आदर्शीकरण र औद्योगिक एवम् नागर जीवनको आलोचना यसको विशेषता हो । ग्राम्यवादले प्राकृतिक जीवनलाई महत्व प्रदान गर्छ । सरल र प्राकृतिक जीवनपद्धति यसका निम्ति प्रिय रहेको पाइन्छ ।
निष्कर्ष
पर्यावरणीय समस्या र सङ्कट बढेसँगसँगै पर्यावरणीय अध्ययनतिर ध्यान आकृष्ट भयो र अध्ययन एवम् आन्दोलनलाई सँगसँगै जसो अगाडि बढाइयो । पर्यावरण अध्ययनको विषय मात्र बनेन्, सङ्घर्षको विषय पनि बन्यो । मनुष्यको प्रकृतिप्रति चासो र प्रेम प्राचीन समयदेखि पाइए पनि पर्यावरण सङ्कट, यससम्बन्धी अध्ययन र आन्दोलन पुँजीवादको विकासका परिणाम थिए । पर्यावरणीय सङ्कटको मूल कारकका रूपमा पुँजीवाद रहेको छ । पुँजीवाद आर्थिक प्रणाली मात्र होइन । यसलाई आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक प्रणालीको समष्टिका रूपमा लिइन्छ । पर्यावरण सङ्कटप्रति गम्भीर सरोकारकै क्रममा यससम्बन्धी विभिन्न दृष्टिकोणहरू देखापरेका थिए ।
पर्यावरणीय नारीवाद, पर्यावरणीय माक्र्सवाद, तेस्रो विश्व पर्यावरणवाद आदि यसका दृष्टान्त हुन् । पर्यावरणीय अध्ययनमा पर्यावरणवाद, पारिस्थितिकीवाद, गहन पर्यावरण, सतही पर्यावरण, मानवकेन्द्रित अवधारणा, प्रकृतिकेन्द्रित अवधारणा, ग्राम्यवाद, पवित्रतावाद, पर्यावरणीय नैतिकता, सर्वसंहारवाद, स्थिरता, आत्मिक रूपान्तरण, पर्यावरणीय केन्द्रवाद आदि जस्ता पदावली र धारणा महत्वपूर्ण मानिन्छन् । हेउडका शब्दमा पर्यावरणवादको मुख्य सार ‘प्रकृतितर्फ फर्क’ नै हो ।
पर्यावरणीय माक्र्सवाद र पर्यावरणीय माक्र्सवादी नारीवादीहरूमा पुँजीवादको गहिरो आलोचना र वैकल्पिक व्यवस्थाको आग्रह पाइए पनि यसले माक्र्सवादको क्रान्तिकारी सारतत्वलाई राम्रोसँग पक्रन सकेको पाइन्न । अन्य दृष्टिकोण र धारणामा पुँजीवादको आंशिक आलोचना पाइए पनि ती बढी काल्पनिक, पवित्रतावादी र भावनात्मक हेराइबाट प्रभावित छन् । पर्यावरणीय अध्ययन, दृष्टिकोण र आन्दोलनको सबैभन्दा ठुलो सीमा भनेकै यसको अवैज्ञानिक विश्वदृष्टिकोण, अदिभूतवादी चिन्तनप्रणाली, समस्याको भावनात्मक अध्ययन र समाधानको उपयुक्त मार्गको अभाव नै हो ।
साहित्यमा प्रकृतिले अभिव्यक्ति प्राचीन समयदेखि पाएको छ । पूर्व र पश्चिम दुवैतिर यसका सुन्दर दृष्टान्तहरू रहेका छन् । पुँजीवादको विकाससँगसँगै पर्यावरणीय सङ्कट बढदै जान थालेपछि साहित्यको पनि यो गम्भीर सरोकारको विषय बन्यो । साहित्यमा प्रकृतिको विनाश र पर्यावरणीय सङ्कटलाई आलोचनात्मक दृष्टिसहित प्रस्तुत गरियो र यस विरुद्ध जागरण र आन्दोलनको आवश्यकतालाई औंल्याइयो । साहित्यले सङ्घर्षचेतनाको निर्माण गर्न भूमिका सम्पादन गर्यो । पर्यावरणीय समालोचना साहित्य र पर्यावरणबिचको सम्बन्धको अध्ययनका रूपमा अगाडि आयो । यसको मुख्य अभीष्ट साहित्य र पर्यावरणबिचको सम्बन्धको अध्ययन रहे पनि यसको भूमिका पर्यावरण विनाशका कारकहरूका विरूद्ध सङ्घर्ष र पर्यावरणमैत्री समाजनिर्माणसम्म विस्तार भएको पाइन्छ । यो प्राज्ञिक अध्ययन र आलोचना मात्र नभएर एकप्रकारको आन्दोलनका रूपमा पनि रहेको छ । पर्यावरणीय समालोचनाले विभिन्न ज्ञान शाखाहरूबाट दृष्टि र उपकरणहरू ग्रहण गर्दै अध्ययन, विश्लेषण र मूल्याङ्कनको कार्यलाई अघि बढाएको छ । यसको वैश्विक रूपमा स्वीकृत एउटै पद्धति पाइन्न । उत्तरआधुनिकतावादी, उत्तरसंरचनावादी एवम् उत्तरऔपनिवेशिक दृष्टिकोणहरूको प्रभाव पनि यसमा परेको छ । यो मूलतः साहित्यिक सांस्कृतिक पाठहरूको अन्तर्वस्तुमा केन्द्रित रहेको पाइन्छ । यसको आलोचनात्मक दृष्टिमा रहेका कमजोरीहरूका कारण न यसले पाठको मूल्याङ्कन वस्तुनिष्ठ ढङ्गले गर्न सकेको देखिन्छ, न त पर्यावरण सङ्कटलाई सम्बोधन र समाधान गर्ने गरी साहित्यको भूमिकाका सन्दर्भमा समुचित वैचारिक आधार नै प्रदान गर्न सकेको देखिन्छ ।
सन्दर्भ सामग्री
एटम, नेत्र (२०७०) । अन्तर्विषयक नेपाली समालोचना । काठमाडौं : एकता बुक्स डिष्ट्रिव्युटर्स प्रा.लि. ।
‘किरण’ मोहन वैद्य (२०७७) । मार्क्सवादी समालोचना । काठमाडौं : शमी साहित्य प्रतिष्ठान ।
गौतम, कृष्ण (२०६४) । उत्तरआधुनिक जिज्ञासा । काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
त्रिपाठी, गीता (२०७२) । समकालीन नेपाली कवितामा पर्यावरण । प्रज्ञा समकालीन नेपाली कविता विमर्श (सम्पा.) काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
भट्टराई, गोविन्दराज (२०६४) । उत्तरआधुनिक विमर्श । काठमाडौं : मोडर्न बुक्स ।
भट्टराई, रमेश, (२०७०) । समय, सौन्दर्य, पर्यावरण र कविता । काठमाडौं : विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ।
फोस्टर , जोन बेलेमी (२००७) । मार्क्स और पर्यावरण । इतिहास के पक्ष मे (सम्पा.) दिल्लीः ग्रंथशिल्पी ।
मिश्र, शिव कुमार (२०१०) । मार्क्सवादी साहित्य चिन्तनः इतिहास तथा सिद्धान्त । नयीँ दिल्लीः वाणी प्रकाशन ।
सिंह, नरिंदर (२०११) । संस्कृति, शिक्षा और लोकतन्त्र । दिल्लीः ग्रन्थशिल्पी ।
Abrams, M.H. (2007) . A Glossary of literary terms. Delhi: Thomson.
Angels, F. (1975). Housing question. Masco: Progress publishers.
Barry, P. (2011). Beginning theory. New Delhi: viva Books.
Buell, L. (1995). The environmental imagination. London: Princeton University.
Foster, J. B. and Burkett, P. (2010). Marx and the earth an anti-critique. Brill: Boston.
Foster, J. B. (2000). Marx’s ecology: materialism and nature. New York: Monthly review press.
Glotflty, C. and Fromm, H. (1996). The ecocriticism reader: landmarks in literary ecology. Athens and London:
University of Georgia press.
Hey wood, A. (2011). Political ideologies. New York: Palgrave.
Kerridge, R. (2007). Environmentalism and ecocriticism. In Literary Theory and criticism (Edit.). Patricia Waugh.
New York: Oxford.
Marx, K. (1954). Capital iii. New York: International Publishers
Marx, K. (1975). Early writings. New York: Vintage.
Nayar, P. K. (2011). Contemporary literary and cultural theory. Delhi: Longman.
Rigby, K. (2007). Ecocriticism. In Introducing criticism at the 21st century (edt.) Delhi: Rawat Publications.
(त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका अमर गिरी नेपाली साहित्यको प्रगतिशील धारका सशक्त कवि र समालोचक हुनुहुन्छ । उहाँले लेखन र सम्पादन गरेका दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् । जसमा दुसाध्य समय (कवितासङ्ग्रह), शब्दहरुका बीचमा (कवितासङ्ग्रह), समय संवाद (कवितासङ्ग्रह), समय, समाज र संस्कृति (संस्कृति चिन्तन), भूमण्डलीकरण र साहित्य (समालोचना), साहित्य विमर्श (समालोचना), कवितामा वर्गद्वन्द्व (समालोचना), आदि पर्दछन् । उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ र काव्य विभाग प्रमुख, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको छ । हाल उहाँ भाषा आयोगको सदस्यको भूमिकामा हुनुहुन्छ ।)


जवाफ लेख्नुहोस्