तन्नेरी लोकतन्त्र

- निर्भीकजंग रायमाझी
ठीक यतिबेला
अठार वर्षको जवान भएको छ लोकतन्त्र
सबैलाई पीर परेको छ ।
आमा–बुबा मात्र होइन
छर–छिमेकीले पनि हेर्छन् उसलाई शंकाको दृष्टीले,
नजिकका उसका साथीहरू–
यो उमेर प्रेम नगरे के अर्थ भयो र भन्छन्
वरपरका आवाराहरू–
एक सर्को धुँवा नताने यो उमेर व्यर्थ हो भन्छन् ।
ऊ पनि के कम !
बब मार्लीको तस्बिर हाँसेको टिसर्ट
चे ग्वेभाराको चिन्ह भएको टोपी
दाया हातमा ‘जय श्री राम’ लेखेको ब्रासलेट
बाया हातमा एप्पलको स्मार्ट–घडी
र रेबनको चश्मा लगाएर ठाँटिएको छ ।
तर, उसलाई बेला–बेला भविश्यको चिन्ताले सताउँछ
विश्वविद्यालय गएर के पढ्ने ?
कि अब देशमा बसेर काम छैन
कतै सुदूर भुगोलम पक्का जानु छ
होइन, गाउँ फर्केर वृद्ध बाआमाको ख्याल गर्नु छ
साना भाइबहिनीको रेखदेख गर्नु छ ।
ऊ घरि विगत सम्झिन्छ–
पहाडबाट मधेश झरेका उसका पुर्खाबारे
सडकमा छर्राले लागेर अपाङ्ग भएका बाबारे
गाई बेचेर क्याम्पस पढ्न काठमाडौं पठाउने आमाबारे
ऊ आगत पनि सम्झिन्छ–
तब तत्काल अँधेरो सुरुङजस्तो आकृति
उसको आँखामा बिझाउँछ
भूगोलका एकएक रेखा किरिङमिरिङ भएर
उसलाई यो पृथ्वी नै जेलिएजस्तो लाग्छ ।
लोकतन्त्र, यतिबेला ठीक अठार वर्षको तन्नेरी भएको छ
नागरिकता लिइसक्यो
अब भोटर–कार्ड र पासपोर्ट पाएको छ
उसलाई अरूबाट होइन, आफ्नैबाट खतरा बढेको छ ।
०००


जवाफ लेख्नुहोस्