info@bampanththeleft.com

Bampanth The Left

#

समाजवादमैत्री रैथाने नेपाली संस्कृति

  • भाेगीराज चाम्लिङ


संविधानमा सांस्कृतिक पर्यावलोकन
नेपालको संविधान, २०७२ को प्रस्तावनामा ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध’ रहने र धारा ४ मा नेपाल राज्य ‘समाजवाद उन्मुख’ हुने निर्देश गरिएको छ । समाजवादतर्फ उन्मुख हुने यस्तो संवैधानिक प्रतिबद्धता संस्कृतिसम्बन्धी विभिन्न धाराहरूमा गरिएका व्यवस्थाहरूमा प्रतिबिम्बित भएको छ कि छैन भनेर नयाँ ढङ्गले विमर्श गर्नुपर्ने भएको छ । संविधानले संस्कृति र सांस्कृतिक मूल्यहरूका सन्दर्भहरूमा चारवटा कुरामा जोड दिएको छ— संरक्षण, संवर्द्धन , एकता र विकास । यी चार अवधारणालाई विभिन्न धारामा यसरी अभिव्यक्त गरिएको छ—

धारा ३२ (३) मा “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुनेछ” (पृ. १५) भन्ने व्यवस्था गरिएको छ । त्यस्तै धारा ५१ (ग) (६) मा “देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने” (पृ. २३) व्यवस्था गरिएको छ । धारा ५१ (ञ) (८) मा भने “आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवर्द्धन गर्र्ने” (पृ. ३०) व्यवस्था गरिएको छ । यी दुई धाराले नेपाली समाजका संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्ने सुनिश्चित गरेको छ ।


धारा ५० (२) मा “सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सदभाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने” (पृ. २१) भन्ने व्यवस्था गरिएको छ । त्यस्तै धारा ५१ (क) (२) मा “विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबिच पारस्परिक सदभाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी सङ्घीय इकाइबिच परस्परमा सहयोगात्मक राष्ट्रिय एकता प्रवर्धन गर्ने” (पृ. २२) भनिएको छ । यी दुई धारामा संस्कृतिलाई राष्ट्रिय एकता सुदृढ र प्रवर्धन गर्ने माध्यमका रूपमा लिइएको छ ।


धारा ५० (२) मा ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व’ अन्तरगत “राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने” (पृ. २१) व्यवस्था गरिएको छ । यो धाराले निश्चय नै समाजवादमैत्री सांस्कृतिक मूल्यका सारतर्फ सङ्केत गरेको छ । तर, यो संवैधानिक व्यवस्थाले नेपाली समाजमा समाजवादमैत्री संस्कृतिहरू छन् भन्ने ठान्दैन, बरु ‘अन्यत्र’ बाट सिकेर अथवा ‘अन्यत्र’ प्रचलित सामाजिक सांस्कृतिक मूल्यहरू अनुकरण गर्ने सङ्केत गर्छ । यस धारामा भनिनुपर्थ्यो— ‘नेपाली समाजमा जीवन्त अभ्यासमा रहेका समाजवादी सांस्कृतिक मूल्यहरूको थप विकास गरिने छ ।’ त्यस्तो नभनिनु यो संविधानको सांस्कृतिक मूल्यहरूका सन्दर्भमा गम्भीर अपूर्णता हो ।


नेपाली मौलिकतामा समाजवादको विकास गर्ने आधारभूत सर्त नै ती सांस्कृतिक मूल्यहरूको विकास हो, जुन नेपाली समाजमा लामो समयदेखि क्रियाशील छ । नेपालको संविधान, २०७२ ले यो गुदी यथार्थलाई आत्मसात् गर्न सकेको छैन । सायद त्यसले गर्दा पनि तीन तहकै सरकारहरू समाजवादतर्फ उन्मुख हुने सन्दर्भमा अलमलमा देखिएका छन् । उनीहरू समाजवाद कहाँबाट कसरी सुरु हुन्छ भन्ने कुरामा प्रस्ट छैनन् ।


जचौरी कुलो : सफल उदाहरण
संस्कृतिविद् सत्यमोहन जोशीको नेतृत्वमा कर्णाली लोकसंस्कृतिको अध्ययन गर्ने क्रममा मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले जुम्लाको दियार गाउँ (हाल कनकासुन्दरी गाउँपालिका) का ठकुरीहरूको जनजीवन अध्ययन गरेका थिए । त्यस गाउँका ठकुरीहरू धान खेती गर्थे तर पानीको स्रोत पर्याप्त नभएकाले जचौरी कुलोबाट ल्याइने पानीलाई व्यवस्थित रूपमा वितरण गर्न ‘कुमेटी’ गठन गरेका थिए । कुमेटीले सबैलाई पालो अनुसार जचौरी कुलोबाट ल्याएको पानी वितरण गर्थ्यो र पानी चोरी गरेर आफ्नो खेतमा लगाएमा कुमेटीले समातेर समाज समक्ष पेश गर्थ्यो र समाजले दण्डित गर्थ्यो । कुमेटीलाई एक मुरी खेत बराबर चार माना धान दिनुपर्थ्यो र त्यो धान कुमेटीका सदस्यहरूले बाँडेर लिन्थे (श्रेष्ठ, २०७८) । कुलो व्यवस्थापनलाई उनीहरूले संस्थागत स्वरूप प्रदान गरेका थिए, जसलाई कुम्ठेल र कुम्ठेलका सदस्यलाई कुम्थेल भनिन्थ्यो । कुम्थेल छनौट गर्दा तीनवटा कुरालाई आधार बनाइएको हुन्छ— कुम्ठेल गाउँलेहरूको तुलनामा आर्थिक रूपमा कमजोर हुनुपर्छ, शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्छ र निष्पक्ष हुनुपर्छ (श्रेष्ठ, २०७६) । यही कारणले कुम्ठेल सयौं वर्षदेखि दियार गाउँका ठकुरीहरूमा जीवन्त रहन सकेको छ ।


कुम्ठेलको अभ्यास नेपाली समाजका अन्य क्षेत्रहरूमा पनि प्रभावकारी हुने सम्भावना देखेर उपसचिवमा पदोन्नति भएपछि मानवशास्त्री श्रेष्ठले पहिलोपटक २०३३ सालमा नुवाकोटमा लागु गरेका थिए । उनले पञ्चायतकालमा हुने भ्रष्टाचार र ढिलासुस्ती रोक्नका लागि कुम्ठेलको अभ्यास प्रभावकारी हुनसक्छ भन्ने ठानेर स्थानीय योजनासम्बन्धी काम गर्नका लागि उपभोक्ताहरूको समिति बनाउन लगाए । यो उपाय प्रभावकारी र लोकप्रिय हुन पुगेकाले २०३९ सालमा विकेन्द्रीकरण ऐनमा उपभोक्ता समूह र उपभोक्ता समिति निर्माण गर्नुपर्ने व्यवस्था देशभरि लागु गरियो । २०४४ सालमा वन नियमावली संशोधन गरी वन उपभोक्ता समूह र वन उपभोक्ता समिति बनाउनुपर्ने व्यवस्था गरियो । यही कुरा स्वास्थ्यमा पनि लागु गर्न आमा समूह र महिला स्वास्थ्य स्वयम्‌सेविका गठन गर्ने व्यवस्था गरियो, जसले गर्दा २०१३ सालमा वनलाई राष्ट्रियकरण गरेपछि मरुभूमीकरण हुन लागेको मुलुकलाई एक दशकमै हरियालीयुक्त बनाउन सम्भव भयो । त्यस्तै बाल स्वास्थ्य र मातृ मृत्युदर घटाउने संयुक्त राष्ट्रसङ्घको सहस्राब्दी विकास लक्ष्यमा नेपालले सबै विकासोन्मुख मुलुकलाई उछिनिदियो । वन संरक्षणमा पनि नेपाल विकासोन्मुख मुलुकहरूमा सबैभन्दा अगाडि भयो (श्रेष्ठ, २०७६) ।


करिब २०० वर्षको इतिहास बोकेको (श्रेष्ठ, २०७६) जचौरी कुलो ठकुरीहरूले आवश्यकताका कारण निर्माण गरेको आर्थिक जीवन प्रणालीसँग सम्बन्धित परम्परागत संस्था हो । कुम्ठेलले ठकुरीहरूको कृषिमा आधारित आर्थिक जीवनमा मात्रै टेवा दिएको छैन, द्वन्द्वमुक्त सामाजिक सहअस्तित्वयुक्त समाज निर्माणमा पनि उत्तिकै भूमिका खेलेको छ । नेपाली मौलिकतामा विकास भएको हुनाले यसले वन र स्वास्थ्य क्षेत्रमा पनि सुखद परिणाम दिन सम्भव भयो । यस्ता अनगिन्ती अभ्यासहरू नेपाली समाजमा जीवन्त अभ्यासमा छन्, जसलाई बेवास्ता गरेर समाजवाद उन्मुख हुन सम्भव छैन र जनस्तरमा समाजवादप्रति अपनत्व र स्वामित्व हासिल गर्न पनि असम्भव हुन्छ ।


मोछामा, रुङ्रिकाम्मा र वेइटुङ : किराती सांस्कृतिक समाजवाद
आफूलाई किराँती सभ्यतासँग सम्बन्धित भनेर चिनाउनेहरूमा पहाडतर्फ राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल र हायु पर्दछन् । त्यस्तै चेपाङले पनि आफूलाई किराँत सभ्यता अन्तर्गतकै बताउने गरेको छ । मधेसतर्फका किराँतीहरू धिमाल, मेचे, कोचे, थारू हुन् भनिन्छ । राई अन्तर्गत दुई दर्जन बढी भाषाहरू बोलिन्छन्, जसमध्ये चाम्लिङभाषी समुदायमा अभ्यासरत तीन सांस्कृतिक साक्ष्यहरूलाई प्रतिनिधि रूपमा चर्चा गरिएको छ—
मोछामा अर्थात् घरमूली बजु । चाम्लिङ राईहरूमा घरलाई दुई भागमा वर्गीकरण गरिएको हुन्छ । घरको भित्रतर्फको आधा भाग महिलाको क्षेत्र र ढोकातर्फको आधा भाग चाहिँ पुरुषको क्षेत्र मानिन्छ । घरको संरचना नै आधा महिला र आधा पुरुषको भनेर बाँडिएको हुन्छ । महिलाको सांस्कृतिक स्वामित्व हुने भागलाई दिछुम भनिन्छ, जहाँ मोछामा (बजु को प्रतीकका रूपमा माटाको घैला राखिएको हुन्छ । हिउँद याम सुरु भएको र खेतीपाती लगाउने याम सुरु भएको बखत घरमूली, घरको रक्षक र घरको सुखशान्तिदाता मानेर वर्षमा दुईपटक मोछामाको पूजा गरिन्छ । सांस्कृतिक रूपमा नै सही घरमा महिलाहरूको पुरुष बराबर स्वामित्व कायम गरिएको हुन्छ र मोछामा (बजु लाई घरको मुख्य व्यक्ति मानिन्छ । महिलाहरूको सामाजिक र पारिवारिक स्थानका दृष्टिले यो सांस्कृतिक अभ्यास र मान्यता प्रगतिशील छ । महिलाहरूलाई अग्रणी भूमिकामा स्थापित गर्नका लागि चाम्लिङ राईहरू सहजै तयार हुन सक्छन् ।


रुङ्रीकाम्मा साकाकाम्मा अर्थात् विवाह संस्कृति । चाम्लिङ राईहरूमा छोरीचेली दिएर पठाउनुभन्दा अघिल्लो रात दुईतीनवटा महइभ्वपूर्ण कुरा टुङ्गो लगाउँछन् । यसका लागि बेहुली र बेहुला पक्षका संस्कृतिका विज्ञ पासुङ (पुर्खाहरू दुईतिर बसेर केही गम्भीर संवाद गर्छन् । बेहुली पक्षले तीनवटा कुराको सुनिश्चितता माग्दछ बेहुला पक्षसँग ।


बेहुली पक्षका पासुङ (पुर्खाहरूले बेहुला पक्षलाई सोध्छन्, “दिन त तपाईंहरूलाई दिऊँला तर हाम्री छोरीचेलीको हैसियत हुनेवाला ज्वाइँको घरको सदस्य सरह हुन्छ कि हुँदैन ?” बेहुला पक्षका पासुङहरूले जवाफमा भन्छन्, “तपाईंहरूकी छोरीचेलीको हैसियत परिवारका अरू सदस्यहरू सरह हुन्छ ।” त्यसपछि बेहुली पक्षका पासुङहरूले पुनः प्रश्न सोध्छन्, “उसो भए ठीक छ, हामीले हाम्री छोरीचेली ‘ एक’ दियौं । तर, खाबारुवा (चलअचल सम्पत्ति) माथिको स्वामित्वमाथि हक के हुन्छ ?” बेहुला पक्षका पासुङहरूले जवाफमा भन्छन्, “तपाईंहरूकी छोरीचेलीको खाबारुवामाथिको स्वामित्व हाम्रो छोराकै सरह हुन्छ ।” बेहुली पक्षका पासुङहरूले सहमति जनाउँदै पुनः प्रश्न सोध्छन्, “उसो भए ठीक छ, हामीले हाम्री छोरीचेली ‘दुई’ दियौं । तर, हाम्री छोरीचेलीलाई हेलाहोचो गरेर हुनेवाला ज्वाइँले बाटोमाथि बाटोमुनि गर्‍यो भने अर्थात् अर्की श्रीमती ल्याएर हेलाहोचो गर्‍यो भने के हुन्छ ?” बेहुला पक्षका पासुङहरूले जवाफमा भन्छन्, “बाबा हजुर, हाम्रो छोराले बाटोमाथि बाटोमुनि गरेर धोका दियो भने तपाईंको बारु (हँसिया) उठ्छ ।” बेहुली पक्षका पासुङहरूले अन्तिम सहमति जनाउँदै भन्छन्, “लौ त्यसो भए हाम्री छोरीचेली तपाईंहरूलाई दियौं । एक दियौं, दुई दियौं, तीन दियौं ।”


सांस्कृतिक रूपमा नै सही, ज्वाइँको घरमा परिवारका सदस्यसरहको हैसियत, सम्पत्तिमाथि स्वामित्व र सौहार्दपूर्ण वैवाहिक सम्बन्धको सुनिश्चितता गरेर मात्रै छोरीचेली अन्माएर पठाउँछन् । प्रगतिशील अन्तरवस्तु सहितको यो सांस्कृतिक अभ्यासलाई संवैधानिक भाषामा भन्नुपर्दा संरक्षण, संवद्र्धन र विकास गरेर सांस्कृतिक समाजवादको आधार तय गर्न सकिन्छ ।


वेइटुङ अर्थात् सामूहिकता । चाम्लिङ राईहरूका लागि विवाह निजी मामिलाभन्दा बढी सामूहिक उत्तरदायित्व मानिन्छ । विवाहका लागि बेहुला या बेहुलीका नजिकका दाजुभाइहरूको समूह सक्रिय हुन्छ, जसलाई वेइटुङ भनिन्छ । वेइटुङ परम्परागत सांस्कृतिक संस्था हो, जो मूलतः विवाहमा सक्रिय हुन्छ । धिवेइटुङ हुन्छ, जो बेहुला या बेहुलीको सहोदर काका–बडाहरूलाई मानिन्छ । छिवेइटुङ हुन्छ, जो बेहुला या बेहुलीको नजिकको दाजुभाइ मानिन्छ । पर्मावेइटुङ हुन्छ, जो बेहुला या बेहुलीको छिवेइटुङभित्र पर्ने दाजुभाइभन्दा थोरै टाढाको दाजुभाइ मानिन्छ । समग्र विवाह प्रक्रियामा यी तीनथरि वेइटुङहरू सक्रिय हुन्छन् र उनीहरूको निर्णय महइभ्वपूर्ण हुन्छ । उनीहरूमार्फत् दाजुभाइ तथा गाउँछिमेकीहरूले बिहेघरलाई जाँडरक्सी, अन्न, मासुमसला सहयोग गर्छन् । विवाहका लागि दाउरा काट्ने, पात गाँस्ने, निम्तो दिने, पकाएर पाहुनाहरूलाई खुवाउने लगायतका समग्र कामहरू सामूहिक रूपमा सम्पन्न गरिन्छ । त्यस्तै छोराको विवाहमा चाहिँ सोँचेप भनेर गच्छेअनुसार नगद रकम पनि सहयोग गर्ने प्रचलन छ । समग्र विवाहको प्रक्रियाभरि घरमूलीहरू केवल अवलोकनकर्ता सरह मात्र हुन्छन् र सबै निर्णय वेइटुङहरूमार्फत् हुन्छ । श्रम, वस्तु र सम्पत्ति (नगद) सहयोग गरेर विवाह सम्पन्न गरिने भएकाले चाम्लिङ राईहरूको विवाह व्यक्तिगत नभएर सामूहिक उत्तरदायित्व बन्न पुग्छ । विवाहका सन्दर्भमा ‘एकका लागि सबै’ भन्ने मान्यताले मुख्य मार्गदर्शन गरेको हुन्छ, जुन समाजवादी व्यवस्थाको सार हो ।

रोदी र हुरी : गुरुङ–मगर सांस्कृतिक समाजवाद
पश्चिम नेपालका मगर र गुरुङ समुदायमा प्रचलित रोदी (रोधी) यस्तो सांस्कृतिक संस्था हो, जहाँ महिलाहरूको भूमिका अग्रणी हुन्छ । झट्ट सुन्दा रोदीलाई गीतसङ्गीतजन्य अभ्यासका रूपमा मात्र देखिन्छ । तर, रोदीको सामाजिक– आर्थिक भूमिका यसभन्दा धेरै महइभ्वको छ ।
गुरुङ भाषामा ‘रो’ भनेको सुत्ने र ‘ दी’ भनेको घर हो अर्थात् ‘सुत्ने घर’ हो रोदी (गुरुङ, २०६७) । यद्यपि रोदी शब्दलाई खसकरण भएको तर्क पनि गर्ने गरिएको छ । गुरुङ भाषामा रोदीको मूल शब्द रोटी हो, जसमा रो भनेको सुत्ने ठाउँ र ती भनेको घर हो (Andors, 1976) भन्ने तर्क पनि छ । जेहोस्, यी दुवै अर्थ्याइमा रोदी भनेको सुत्ने घर हो । रोदी निश्चित घरमा अभ्यास गरिन्छ । रोदी बस्ने घरका बुबालाई रौस्यो प्हाउ, आमालाई रौस्यो आमा र रोदीका युवतीहरूलाई रौस्यो भनिन्छ । रोदी सञ्चालन र पुस्तान्तरणमा रौस्यो (युवती)हरूको मुख्य भूमिका हुन्छ (गुरुङ, २०६७) । स्थानअनुसार रोदीघरका आमालाई रोत्स्यो–नाम र बुबालाई रोत्स्यो–आब पनि भनिन्छ । रोदी बस्दा रोदीआमाको भूमिका महइभ्वपूर्ण भूमिका निर्वाह गर्छिन् । उनले नै रोदी बस्दा आवश्यक पर्ने वत्तीका लागि तेल, आगो बाल्न दाउरा, ओछ्याउने गुन्द्रीको प्रवन्ध गर्छिन् । त्यस्तै, गीतसंगीत सम्पन्न भएपछि रोदीघरमा सुत्नेहरूमाथि निगरानी पनि गर्छिन् (Andors, 1976) । महिलाहरूको मुख्य भूमिका हुने भएकाले रोदीलाई मातृप्रधान समाजको सांस्कृतिक अवशेष मान्न सकिन्छ । समाजमा महिलाहरूलाई अगुवाका रूपमा स्वीकार गरिने रोदी जस्ता सांस्कृतिक संस्थाहरू प्रगतिशील अभ्यास हुन् ।


रोदीको सम्बन्ध सामूहिक श्रम प्रणाली हुरीसँग पनि छ । रोदी बस्ने रौस्योहरू आफ्ना माइतीहरूसँग मिलेर हुरी गर्ने गर्दछन् (गुरुङ, २०६७) । गण्डकी प्रस्रवण क्षेत्रका गुरुङ तथा मगर समुदायमा प्रचलित सामूहिक श्रमसंस्था हो, हुरी जसलाई गुरुङ भाषामा नोँकोर भनिन्छ । खासमा समान उमेरसमूहका युवायुवतीहरूको समूहलाई हुरी भनिन्छ र हुरीमा दश–बाह्रदेखि अठार–बिसजनासम्म सदस्यहरू हुन्छन् (गुरुङ, २०६७) । यद्यपि कतिपय क्षेत्रमा चाहिँ थोरैमा सात–आठ र धेरैमा चौध–पन्ध्रजना सदस्यहरू हुने गर्छन् (Andors, 1976) । हुरीका सदस्यहरू हिउँदमा काँचो दाउरा बोक्न, अन्नबाली लगायतका कृषिजन्य श्रमहरूमा पालैपालो सामूहिक रूपमा सबैको काम सम्पन्न गर्छन्, गुरुङ (२०६७) । जगमान गुरुङ (२०६७) ले हुरीलाई यसरी व्याख्या गरेका छन्, “नेपालमा सहकारी खेती भन्नु नै गाउँले जीवनमा लोकप्रिय हुरीप्रथा हो । हुरीप्रथालाई आधुनिकीकरण गरी प्रोत्साहन दिन सकेमा यसबाट नेपालको ग्रामीण अर्थव्यवस्थाको विकासमा ठुलो टेवा मिल्न सक्नेछ” (पृ. १५०) ।


बरघर (भलमन्सा) : थारुहरूमा प्रत्यक्ष लोकतन्त्र

मेलमिलाप, सामुदायिक सद्भाव र सामूहिकता थारू परम्परागत ‘मोडल’ को गुदी हो (Khadka, 2016) । यसलाई थारूहरूले बरघर (भलमन्सा) का रूपमा पुस्तौंपुस्तादेखि प्रथाजन्य संस्थाको स्वरूप दिएर जीवन्त अभ्यास गरिरहेका छन् । नेपाली समाजका लागि थारूहरूका तर्फबाट मौलिक योगदान हो बरघर (भलमन्सा) ।


सुदूर पश्चिम प्रदेशका केही पालिकाहरूले कानुनी स्वरूप पनि प्रदान गरेका छन् । उनीहरूले बरघर (भलमन्सा) संरक्षण ऐन निर्माण गरेर लागु गरेका छन् । सुदूर पश्चिम प्रदेशका ती पालिकाहरूमा पर्छन्‌— कैलारी गाउँपालिका, शुक्लाफाँट नगरपालिका र जोशीपुर गाउँपालिका । ती गाउँपालिकाहरूले निर्माण गरेको ऐन (२०७८) मा बरघर (भलमन्सा) लाई ‘थारू समुदायले स्वायत्त र स्वशासित रूपमा आफ्नो सांस्कृतिक प्रथा र प्रथाजनित कानुनअनुसार चिरकालदेखि निरन्तर प्रचलन, अभ्यास, अवलम्वन गरिआएको मौलिक परम्परागत प्रणाली र संस्था’ का रूपमा परिभाषित गरेको छ ।


गाउँलेहरूको सामूहिक भेलाले बरघर (भलमन्सा) निर्वाचित गर्छ । यसको सङ्गठनात्मक स्वरूपमा निम्न अनुसार हुने गर्छ— १. बरघर २. सहायक बरघर ३. लिखन्दार ४. अगहुवा ५. गुरुवा ६. केसौका ७. चौकीदार र घरधुरी । थारूहरूले हरेक वर्ष बरघर (भलमन्सा) निर्वाचित गर्छन्, जसले समाजमा संरक्षकत्वको भूमिका निर्वाह गर्छ । बरघरसँग न्यायिक कार्य, विकास निर्माण सम्बन्धी कार्य, सांस्कृतिक संरक्षण र प्रबद्र्धनसम्बन्धी कार्य, सम्पर्क र समन्वयात्मक कार्य लगायत अन्य कार्यहरू गर्दछ (बरघर ऐनहरू, २०७८) । कुनै सवालमा छिनोफानो गर्नुपर्ने भएमा बरघर (भलमन्सा) ले दुवै पक्षलाई स्वीकार्य हुने गरी निर्णय गर्ने गर्छ । त्यति मात्रै होइन, निर्णयमा पुग्नका लागि समाज नै सामूहिक रूपमा अनुसन्धानमा लाग्छ र निर्णय सामूहिक रूपमा हुने गर्छ । कतिसम्म भने कसैले अपराध गरेर प्रहरीले समात्यो भने परिवारको रेखदेखको जिम्मा समुदायले लिने गर्छ (Khadka, 2016) ।


थारूहरूको बरघर (भलमन्सा) प्रत्यक्ष लोकतन्त्रको अब्बल अभ्यास हो । जनताले आफ्ना प्रतिनिधि प्रत्यक्ष छलफलद्वारा निर्वाचित गर्छन्, बरघर पनि जनताप्रति प्रत्यक्ष उत्तरदायी हुन्छ र निर्णय प्रक्रियामा जनसहभागितामा आधारित हुन्छ । नेपाली समाजलाई समाजवादतर्फ उन्मुख गराउनका लागि बरघर (भलमन्सा) आधारभूत संस्थागत अभ्यास हुन सक्छ । यो अभ्यासलाई आधार बनाउनासाथ कम्तीमा थारू समाज समाजवादतर्फ सर्वथा उन्मुख हुन पुग्छ । यसलाई अन्य समुदाय र समाजमा विस्तार गर्न सकिने सम्भावना पनि उत्तिकै छ ।


रैथाने संस्कृति र समाजवाद उन्मुखता
राजावादीबाहेक नेपालका सबै दल समाजवादी छन् । यद्यपि नेपालमा समाजवादको विकास कसरी गरिन्छ ? समाजवादको मौलिक नेपालीपन कस्तो हुन्छ ? भन्ने जस्ता आधारभूत प्रश्नहरूमा मोटो कुरा बाहेक स्पष्ट खाका प्रस्तुत भएको देखिँदैन । नेपालको संविधान, २०७२ जारी भइसकेपछि पटकपटक ‘समाजवादी’ पार्टीहरूको सहभागिता र नेतृत्वमा सरकार निर्माण भएका छन् । तर, कुनै पनि सरकारले नियमित प्रकृतिका कामहरू बाहेक समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेटको प्रारम्भिक रूपरेखा समेत प्रस्तुत गर्न सकेका छैनन् । यस्तो अवस्थामा समाजवादतर्फ उन्मुख हुनका लागि गर्न सकिने न्यूनत्तम आधारभूत कामहरूमा पर्छ, रैथाने संस्कृतिमा विद्यमान समाजवादमैत्री संस्कृतिलाई जगेर्ना र विकास गर्ने जिम्मेवारी बहन गर्नु ।


समाजवादतर्फ उन्मुख हुँदा रैथाने समाजवादमैत्री संस्कृतिप्रति मित्रभाव राख्नुले निर्णायक अर्थ राख्ने छ । विद्यमान समाजवादमैत्री संस्कृतिप्रति वैरभाव राख्ने अवस्थाले समाजवादप्रति जनतामा वितृष्णा र अविश्वास पैदा हुने स्थिति निर्माण हुन्छ । सांस्कृतिक सन्दर्भबाट समाजवाद उन्मुखता भनेको विरासतमा प्राप्त जनताका समाजवादमैत्री संस्कृतिलाई जगका रूपमा ग्रहण गर्नु हो ।


नेपाली समाजवादको मौलिकता प्रतिबिम्बित हुने एउटा आधारभूत क्षेत्र हो संस्कृति । यसै पनि सांस्कृतिक रूपान्तरण आर्थिक–राजनीतिक रूपान्तरणका तुलनामा धिमा हुन्छ भनिन्छ । त्यस्तो अवस्थामा विद्यमान समाजवादमैत्री संस्कृतिहरूबाट काम सुरु गर्ने हो भने त्यो तीव्र पनि हुन सक्छ भन्ने उदाहरण जचौरी कुलोको सफल अभ्यास हो । त्यस्तो अवस्थामा आर्थिक–राजनीतिक रूपान्तरणका तुलनामा सांस्कृतिक रूपान्तरण तीव्र पनि हुन सक्छ । समयले लामो अन्तराल लिने भनेको नयाँ संस्कृतिप्रति जनताको स्वामित्व र स्वीकार्यताका लागि हो । जनताका जीवन्त समाजवादमैत्री संस्कृतिलाई बढावा दिने हो भने अग्रिम स्वीकार्यता र स्वामित्व स्थापित भइसकेको हुनाले त्यसको विस्तार तीव्र गतिमा हुन सम्भव हुन्छ । पहिलो पाइला सांस्कृतिक समाजवादीकरणबाट थालियो भने त्यो सुल्टो र सुपाच्य पनि हुन सक्छ ।


समाजवादका पनि केही आधारभूत सांस्कृतिक मूल्यमान्यताहरू हुनेछन्, जो सम्भवतः सबैका हकमा उस्तै रूपमा लागु हुन्छन् । यद्यपि यस्ता सांस्कृतिक मूल्य र अभ्यासहरू पनि हुने छन्, जुन एकअर्का समुदायभन्दा विशिष्ट हुनेछन्, जस्तो कि प्रत्यक्ष लोकतन्त्रको अभ्यासमा अरूभन्दा थारूहरू भिन्न हुनेछन् किनभने उनीहरूले बरघर (भलमन्सा) का रूपमा अभ्यास गर्ने छन् । सामूहिक श्रमको अभ्यासमा गुरुङ र मगरहरू अरूभन्दा भिन्न हुनेछन् किनभने रोदीसँग अन्तरसम्बद्ध हुरीको अभ्यास गर्ने छन् । विवाह प्रणालीमा किराँतीहरू अरूभन्दा भिन्न हुनेछन् किनभने उनीहरूले वेइटुङमार्फत् अभ्यास गर्ने छन् । आधारभूत र विशिष्ट संस्कृतिहरूको समुच्चयबाट नेपाली मौलिकताको समाजवाद उन्मुख व्यवस्था विकास हुनेछ । कतिपय अभ्यास जचौरी कुलोझैं आम नेपाली समाजको साझा सांस्कृतिक अभ्यासका रूपमा विकास हुन पनि सक्छन् । यही नै मौलिक नेपालीपनसहितको समाजवाद हुनेछ ।

सन्दर्भसामग्री

  • कैलारी गाउँपालिकाको भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन, २०७८. कैलारी गाउँपालिका ।
  • गुरुङ, प्राज्ञ डा. जगमान क्ह्रोँगि लामा (२०६७). तमुवानको ऐतिहासिक वृत्तान्त. राजेन्द्रजङ्ग क्ह्रोँगि लामा गुरुङ र जगतजङ्ग क्ह्रोँगि लामा गुरुङ ।
  • जोशीपुर गाउँपालिकामा रहेका थारु भलमन्सा (बरघर) प्रणालीको संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको ऐन, २०७८. जोशीपुर गाउँपालिका ।
  • नेपालको संविधान, २०७२. जततउकस्ररबिधअयmmष्ककष्यल।नयख।लउरअयलतभलतरज्ञघद्धघठरलभउब(िक(अ यलकतष्तगतष्यलर
  • श्रेष्ठ, बिहारीकृष्ण (वि.सं. २०७६). कर्णाली सभ्यताको महइभ्वपूर्ण धरोहर. मान्नवी, ८(५).
  • श्रेष्ठ, बिहारीकृष्ण (वि.सं. २०७८). कर्णाली लोकसंस्कृति : जनजीवन (दियार गाउँका ठकुरीहरू). हिमाल किताब ।
  • शुक्लाफाँटा नगरपालिकामा रहेका बरघर र भलमन्सा प्रणाली संरक्षण प्रवद्र्धन र विकास गर्न बनेको ऐन, २०७८. शुक्लाफाँट नगरपालिका ।
  • Andors, E. B. (1976). The Rodi: Female Associations among the Gurung of Nepal. [Unpublished Dissertation]. Columbia University.
  • Khadka, N. B. (2016). Tharu Barghar-Mukhiya Indigenous Model: A Case Study of Tharu Community of Nepal. [Unpublished Dissertation]. Nova Southeastern University.

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari