लामो अन्धकारपछि

- लक्ष्मी रूम्बा
थाहै नपाइ
जसले सदियौदेखी अलापिरह्यो
आफैबिरूद्धको धुन
झुकेर हरदम तिमीसामु
रगताम्य पैतालाहरूको अविराम यात्रामा
पुस्तौ पुस्ता आँखा बर्साइरह्यो
यो त्यही आँखा हो
साँचेर सारा घायल परिदृश्यहरू
हेर यी झर्झर बलेका मेरा आँखाहरू
ताम्बाको जीवन–गीतसँगै
रापिएको भुङ्ग्रो मन ।
एक झिल्को मुस्कानका खातिर
बेतमास टुक्रा टुक्रा हुत्याएर
जब पुर्याएका थियौ तिमीले नै मलाई
मेरो माटोको जीवन–रेसाभन्दा पर….निकै पर…
सातो हराएको मान्छेजस्तै
म वर्षौंदेखि बेठेगान घुमिरहे
आफ्नै अस्तित्व पराल सल्काइएको
धुवाँभरी रूमल्लिरहे
तिमीलाइ मान्छेजस्तै नलाग्ने त्यो मान्छे
म आज
मिलाउन तिमीसँगै पुरानो हिसाब किताब
फर्किएको छु
हजारौं माइलको यात्राबाट ।
हेक्का छैन कतिचोटी चुहियो
राष्ट्रियता मेरो आदिवासी निधारबाट
र मैतिर फर्केर अट्टहास हाँस्यो
कतिचोटी झट्कारिएँ जीवनको हाँगाबाट,
रेटिएँ कतिपल्ट
तिम्रो सौन्दर्यको धारबाट
तर मै हुँ
आफ्नै देशको क्यानभासबाट
पखालिएको बेनामी रङ्ग
मेरै हुन् चिरा चिरा
बङ्ग्याइएको सृष्टिकथाको लय
तिम्रो जाली तमसुकमा निचोरिएको
एक थोपा जून हुँ
तिम्रै भकारीमा युगौं बन्धक घाम हुँ
तिम्रो सत्ताको कोर्आले
रत्तमुछेल आदिम भूमि हुँ ।
तिम्रै चारपाङ्ग्रे बोक्दा बोक्दा
उहिले मरेर मासुको संबेदना
अब दुख्न छोडेको छ यो काँध
तिम्रै पहरेदारी गर्दा गर्दा
स्तम्भ भएर गल्न छोडेका छ्न् यी खुट्टाहरू
तिम्रो दरबारका चौकुनामा
बलात्कृत मेरो शरीर चाम्रो भैसकेको छ निकै चाम्रो
अब चाहिन्न एक चिम्टि आदर्श
थाप्नुछैन तिम्रो एक अञ्जुली उज्यालो
सास्ती सास्ती अनि सास्तीमा उल्था भएर
जन्मिसकेको छ म भित्र एउटा जब्बर मान्छे ।
अब आफ्नै माटोको साक्षी उभिएर
फेर्नुछ निर्धक्क जीवनदायी श्वास
नाच्नुछ बेफिक्री समयको डम्फुसँगै ।
इतिहासको प्रत्येक अध्यायमा
सधै ममाथि आश्रित तिमीलाई
हृदयको धूनहरूबाट उखेल्छु
निर्मम खसाल्छु
आँखामा उर्लिएको समुन्द्रबाट
तुफानी वेगमाझ
मस्तिष्कभरी गढेको वर्षौदेखिको घाउ
दुखाइको चरम सीमाबाट जन्मिएको
विद्रोहको ज्वाला
अर्थात यसरी फुट्छ कि मनभित्र परमाणु बम
अब ध्वस्त हुनेछ तिम्रो अहम्को पर्खाल
ओ म बिना मान्छे हुनै नसक्ने मान्छे
समयको सुल्टो आवरणमा
मेरो दयाको गर्भभित्र
जलिरहेछ तिम्रो अपृथक् रूप
उडिरहेछ नवनिर्मित तिम्रो सिंहासनमाथि
मेरा आक्रोशका ज्वालाहरू
युगौदेखि रापिएको मन
जबसम्म धित मर्दैन
फुट्दैन म उभिएकै ठाउँ अर्को मूल
यसरी नै म आगोको लप्का फलाकिरहनेछु ।
(आफूलाई मूलतः कविको पहिचानमा स्थापति गराउनु भएको रुम्बाले महिला, जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षमा आफ्नो कलम मार्फत् निरन्तर वकालत गरिरहनु भएको छ । उहाँले साहित्यका विभिन्न विद्या कविता, कथा, निबन्ध, आत्मसंस्मरण, नाटक र केही समसामयिक फुटकर लेखहरुको माध्यमबाट नेपाली समाजमा विद्यमान विविध विसङ्गति, वर्गिय विभेद, जातीय उत्पीडन आदिविरुद्ध प्रतिरोधी आवाज ओकल्दै आउनुभएको छ । उहाँ अस्मिता हाम्रो म्यागजिनको सम्पादक पनि हुनुहुन्छ ।)


जवाफ लेख्नुहोस्