info@bampanththeleft.com

Bampanth The Left

#

मार्क्सवाद, पर्यावरण र विकास : समाजवादको अपरिहार्यता

वामपन्थ : द लेफ्टको यो विशेषाङ्क पनि मार्क्सवाद, पर्यावरण र विकास विषयमा केन्द्रित छ । विषयको सान्दर्भिकता र पाठकहरूको विशेष अभिरुचिका कारणले गर्दा हामीले ‘मार्क्सवाद, पर्यावरण र विकास–२’ प्रकाशित गरेका हौँ । पर्यावरणसम्बन्धी पहिलो विशेषाङ्क प्रकाशित गरिसकेपछि गत– फेब्रुअरी २४, २०२४ मा युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले विगत एक वर्षमा पृथ्वीमा १.५ डिग्री सेल्सियसभन्दा बढी तापमान बढिसकेको खबर सार्वजनिक गर्‍यो ।


स्मरणीय छ करिब २०० राष्ट्रहरूले हस्ताक्षर गरेको पेरिस जलवायु सम्झौताले सन् २०३० सम्म पृथ्वीको तापमानलाई १.५ डिग्री सेल्सियसभन्दा मुनि राख्ने भरमग्दुर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्झौताले २ डिग्री सेल्सियसको लक्ष्य राखे तापनि १.५ भन्दा मुनि राख्ने “प्रयत्न” को प्रतिबद्धताको पछाडि ससाना समुन्द्रका टापुजस्ता रहेका देशहरू र हिमाली भेग समेटेका देशहरूको दबाबको भूमिका थियो , जो हिउँ पग्लिँदा र समुन्द्रको सतह बढ्दा उत्पन्न हुने समस्याले आक्रान्त थिए । जलवायु सङ्कटलाई नियन्त्रण गर्दा गर्दै पनि यस्तो स्थितिमा पुग्नु विश्व प्रयत्नको असफलता र मानव जातिले सामना गरिरहेको गम्भीर सङ्कट ढोकामै आइपुगेको तथ्यको द्योतक हो । २०२४ मै उक्त सीमारेखा पार गरेको स्थितिले पनि हामीलाई पर्यावरण सङ्कटकै विषयमा केन्द्रित भएर यसको दोस्रो विशेषाङ्क प्रकाशित गर्न प्रेरित गरेको हो ।
नेपाल जलवायु र वातावरण सङ्कटका दृष्टिले संसारको सबैभन्दा बढी जोखिमयुक्त देशहरूमा पर्दछ., पृथ्वीको “तेस्रो ध्रुव” भने र चिनिने हिमालयले सञ्चयन गरेका स्वच्छ पानीको स्रोत रहेका हिउँ, बरफ र हिमताल पग्लिने क्रमले गर्दा उच्च र मध्य पहाडी भेगमा तापक्रम बढ्ने क्रमले तीव्रता पाएको छ ।


त्यसले एकातिर डेंगी, मलेरिया, कालाजार जस्ता रोगहरू सार्ने लामखुट्टे र अन्य किरा फट्याङ्ग्राहरू तराईबाट पहाडतर्फ सर्ने क्रम बढेको छ र तदनुरूप त्यहाँ यी रोगहरूको प्रकोप फैलन थालेको छ । कृषिमा पनि वातावरणीय परिवर्तनको प्रभावले उत्पादनमा ह्रास हुने र नयाँ किराहरूको प्रकोप बढ्न थालेको छ । अर्कोतिर बाढी र पहिरोको क्षतिमा तीव्रता आएको छ । भौगर्भिक दृष्टिले भूकम्पको अत्यन्त जोखिममा रहेको हाम्रो देशमा यी वातावरणीय परिवर्तनको प्रभावले अझ बढी समस्या बढाउन सक्ने सम्भावना नकार्न सकिँदैन । त्यसैले पनि अन्य देशहरूभन्दा हामी नेपालीहरू जलवायु सङ्कटले निम्त्याउने समस्याहरूबारे बढी सचेत हुनु आवश्यक छ ।


नेपाल सरकार र विज्ञहरू यस समस्याको हल खोज्न लगातार प्रयत्न गरिरहेको पनि देखिन्छ तर ती प्रयत्नहरू रोगको जरा कारणभन्दा लक्षणहरूकै उपचार मा सीमित रहेका छन् । नेपाली समाजको मृतप्रायः सामन्तवादी देहबाट विकसित भइरहेको पराश्रयी परिधीय पुँजीवादले मुनाफाका लागि विकासको नाममा बहुराष्ट्रिय कम्पनीहरूसँग मिलेर गरिरहेको प्रकृतिको घोर शोषण र ध्वंस नै वर्तमानमा पर्यावरणीय सङ्कटको मूल कारण हो भन्ने हाम्रो अभिमत हो । हामी स्पष्ट भन्न चाहन्छाैँ , विकासको विनाशकारी पुँजीवादी चरित्रलाई आमूल रूपान्तरण नगरी प्रकृति र पृथ्वीको रक्षा गर्न सम्भव छैन । त्यसैले पर्यावरणीय समस्याले आक्रान्त आम जनजीवनलाई जागरुक बनाउँदै पुँजीवादी प्रणालीको विकल्पमा समाजवादी प्रणालीतर्फ दृढ निश्चयी रूपले पाइला नचाली नेपालको पर्यावरणीय समस्याको हल निकाल्न सकिँदैन । नेपालको पर्यावरणको सुरक्षा गर्ने विकास प्रक्रियाका लागि समाजवाद अपरिहार्य छ ।


हामी अहिले एन्थ्रोपोसिन (मानव सङ्केन्द्रित) युगमा बाँचिरहेका छाैँ । पश्चिमा देशहरूमा पुँजीवादको अभ्युदयसँगै एन्थ्रोपोसिन युगका विशेषताहरू पनि स्पष्ट हुँदै आयो । यस अघिको पर्यावरणीय विशेषाङ्कमा चित्रण गरिएको ती विशेषताहरूलाई यहाँ दोहोर्‍याउन आवश्यक ठानेका छौं । “एन्थ्रोपोसिन युग त्यस्तो एउटा मानवकेन्द्रित, मानवकै इच्छाअनुसार परिभाषित हुने भौगर्भिक युग हो , जहाँ आफ्नो विनाशको प्रमुख कारण पनि मानव आफै बन्छ । एन्थ्रोपोसिन युग कति बेलादेखि सुरु भयो भन्नेमा विवाद भए पनि आम सहमति सोह्राैँ शताब्दीदेखिको औद्योगिक क्रान्तिजन्य पुँजीवादबाट सुरु भएर बिसौँ शताब्दीको मध्यदेखि तीव्र गति लिएको हो भन्ने छ ।


मानवसमाजले दुईवटा विश्वयुद्धको विभीषिका, आणविक नरसंहार, रासायनिक मल र विषादीको प्रयोगले पृथ्वी र प्रकृतिलाई पुर्‍याइरहेको क्षति हुँदै जलवायु, जैविक वातावरण, जमिनका पत्रहरू र हिमसतहको अन्तर्यमा भएको भू–रासायनिक परिवर्तनमा ती गतिविधिहरू प्रस्ट अनुभव गरेका प्रमाणहरूका आधारमा उक्त समयको किटान गरिएको हो”। पुँजीवादी– एन्थ्रोपोसिन युग कै विकल्पको खोजीमा ‘गहन पर्यावरण’ (Deep Ecology) र गूढ पर्यावरण (Dark Ecology) जस्ता अवधारणाहरू अस्तित्वमा पनि आएका हुन् तर पुँजीवादकै परिधिभित्र रहेर विकल्पको खोजी गरिरहेका यी चिन्तनहरूको सीमा पनि प्रस्ट हुन थालेको छ । अन्तःसङ्घर्ष मानव र प्रकृतिबिच हो इन ‘पुँजीवादी मानसिकताले ग्रस्त मानव’ र प्रकृतिको बिचमा हो । त्यसबाट मुक्ति पाए पछि मानवले आफूलाई प्रकृति कै एक अभिन्न अङ्गको रूपमा सहज रूपले अनुभूत गर्न सक्छ, र , प्रकृति र मानवबिचको वर्तमान अन्तर विरोधको पनि समाधान हुने छ । मार्क्सवादी पर्यावरण त्यस्तो परिवर्तनको परिकल्पना गर्छ, र त्यस परिकल्पनालाई मूर्त रूप दिन दृढताका साथ सततः क्रियाशील रहन्छ ।


यस अङ्कमा पनि पुँजीवादले गरेको पर्यावरणको विनाशले स्वयम् मानवजातिको अस्तित्व खतरामा पुगेको कुरा सबै जसो लेखमा उल्लेख छ । उत्तामबाबु श्रेष्ठको अग्रलेख ‘मानव उन्नतिका बाधक तीन महासङ्कट’ ले त्यसको विशद चर्चा गरेको छ । रामराज रेग्मीको ‘जलवायु परिवर्तन र वातावरण विनाश’, कृष्णप्रसाद पौडेलको ‘माटो र सत्तााको मार्क्सवाद,’ राजेन्द्र खरेलको ‘पर्यावरण, पुँजीवाद र भाइरस’, सरोज खतिवडा र शारदा थापाको ‘चुरे, विकास र पर्यावरण’, लोकबन्धु घिमिरेको ‘जलवायु सङ्कट : भूमण्डलीय अर्थप्रणालीमा रूपान्तरणको बहस आदि लेखहरूका शीर्षकले यस विशेषाङ्कको विविधतापूर्ण सामग्रीको झलक दिन्छन् ।


गीता त्रिपाठीको ‘मार्क्सवाद र गहन पर्यावरण’ ले मार्क्सवादी पर्यावरण र गहन पर्यावरणको समानता र भिन्नतामाथि विवेचना गर्दै प्रकाश पारेको छ । गत अङ्कमा प्रकाशित पिताम्बर शर्माको अग्रलेख ‘मार्क्सवाद र पर्यावरणीय सङ्कट’ माथि वामपन्थ : द लेफ्टले गरेको अन्तरक्रिया कार्यक्रमको सङ्क्षेपीकरण पनि यहाँ प्रकाशित गरिएको छ । हामीलाई आशा छ, यी पृष्ठहरूमा समेटिएका विचारहरूले पाठकहरूको पर्यावरणीय चेतनालाई महत्वपूर्ण खुराक प्रदान गर्नेछन् ।


यस अङ्कको प्रमुख आकर्षण विश्व प्रसिद्ध वातावरणविद् वन्दना शिवाको ‘पृथ्वीको सुरक्षा गर्नु हाम्रो पर्यावरणीय दायित्व हो ’ शीर्षकको अन्तर्वार्ता हो , जुन अङ्ग्रेजी र नेपाली दुबै भाषामा उपलब्ध छ । वामपन्थले अङ्ग्रेजीमा लिएको मूल अन्तर्वार्ताको नेपाली अनुवाद भने भावना घिमिरेले गर्नुभएको हो ।


क्वान्टम फिजिक्स अध्ययन गर्न अमेरिका जान लाग्दा आफ्ना गाउँका महिलाहरूले रुखहरूलाई अँगालो मारेर काट्नबाट जोगाएको ‘चिप्को’ आन्दोलनबाट प्रभावित हुँदै अन्ततः वातावरण र पृथ्वीको स्वास्थ्यका लागि एक सशक्त आवाज बन्न पुगेकी शिवा नेपाली पाठकहरूका लागि अपरिचित नाम होइन । रासायनिक मल र विषादीको प्रयोगबाट हुने खेतीभन्दा जैविक खेती किन सबै दृष्टिले उन्नत खेती प्रणाली हो भन्ने तर्क शिवाले गरेकी छिन्, जुन रासायनिक खेतीको विकल्प छैन भन्ने भाष्य स्थापित गर्न खोजिरहेको हाम्रो समय र सन्दर्भमा मननीय छ । हाम्रै छिमेकमा भारतको सिक्किम राज्य नै जैविक खेतीको सफल उदाहरण बन्नु र विश्वव्यापी सम्मान र मान्यता पाउनुले पनि सो भाष्यको आधार हिनताको पुष्टि गर्दछ ।


विश्व सन्दर्भमा रुस–युक्रेन युद्धको अन्त्य नहुँदै इजरायल–प्यालेस्टाइन युद्ध सुरु भयो र त्यसको क्रुरतम विभीषिका अहिले पनि गाजा र वेस्ट बैंकमा घटी रहेको छ । जहाँ हालसम्म छत्ताीस हजार भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ, जसमा पैंतिस हजार पाँच सयभन्दा बढी प्यालेस्टाइनीहरू छन् र बहत्तार हजार भन्दा बढी मान्छे घाइते छन् । पुलित्जर प्राइज बिजेता पत्रकार क्रिस हेजेसको हृदयविदारक प्रत्यक्षदर्शी बयान ‘गाजामा नरसंहार’को नेपाली अनुवाद यहाँ प्रकाशित गरिएको छ । हेजेसको मन्तव्यको ट्रान्स्क्रिप्सन हिमाली दीक्षितले गर्नुभएको हो र नेपाली अनुवाद नेपाल जनस्वास्थ्य प्रतिष्ठानले गरेको हो । त्यसै गरी लम्बिँदो रुस–युक्रेन युद्धको सन्दर्भमा कृष्ण सुनुवारले लेखेको ‘रुस–युक्रेन गतिरोधको भूराजनीतिक आयाम’ शीर्षकको लेख पनि समावेश गरिएको छ ।


यसका साथै यस अङ्कमा पर्यावरण बचाउन महत्तवपूर्ण भूमिका खेलेका व्यक्तित्वहरूको योगदान र सङ्घर्ष गाथाहरू : आकाङ्क्षा झाको ‘चुरे संरक्षण र पर्यावरण सहिद दिलिप महतो’ र भूमिराज शर्माको ‘कालीगण्डकी किनारका एक्ला साक्षी’ पनि समेटिएको छ । नेपालको जलविद्युत् र पानीलाई लामो समय भारतको स्वार्थमा सहयोग पुग्ने गरी गरिएको सम्झौताबारे रत्न संसार श्रेष्ठको समसामयिक विश्लेषण ‘विद्युत् व्यापार सम्झौता : नेपालको लम्पसारवादी अर्थनीति’ का साथै निभा शाहको कविता ‘मनसरा’ र सम्पदा रिजालको कविता ‘प्रतिबन्ध’ लाई महेश मास्केद्वारा अङ्ग्रेजीमा गरिएको अनुवाद तथा अमर गिरी र विजय हितानका पर्यावरणीय समालोचना पनि यहाँ प्रकाशित गरिएको छ ।
वामपन्थ : द लेफ्‌टमा प्रकाशित विचारहरूका लागि लेखक स्वयम् जिम्मेवार रहने छन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीयमार्फत सम्प्रेषण हुने छ । पहिलो विशेषाङ्क ‘मार्क्सवाद र नेपाली कम्युनिस्ट आन्दोलन’, दोस्रो विशेषाङ्क ‘मार्क्सवाद र संसदीय लोकतन्त्र’, तेस्रो विशेषाङ्क ‘भूराजनीतिक प्रतिद्वन्द्विता र नेपाल’, चौथो र पाँचौ अङ्क ‘मार्क्सवाद, पर्यावरण र विकास–१’ ले पाठकहरूको न्यानो स्वागत र माया पाएझैँ सो शृङ्खला अर्न्तगतको छैटौँ र सातौँ संयुक्ताङ्क ‘मार्क्सवाद, पर्यावरण र विकास–२’ लाई पनि रुचिसाथ ग्रहण गर्नुहुनेछ भन्ने आशा राखेका छौँ । साथै , आफ्नो प्रतिक्रिया पठाएर पत्रिकालाई अझ समृद्ध र त्रुटिरहित पार्न सहयोग गर्नुहुने छ भन्ने अपेक्षा पनि राखेका छौँ ।

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari