नवयुवा विद्रोह र यसको सन्देश

- सङ्गीत
“विश्वव्यापी आर्थिक एवम् राजनीतिक सङ्कटको परिणामस्वरुप सबै देशहरुमा जुन असङ्ख्य आगाका झिल्काहरु उडिरहेका छन्, तीमध्ये कुनचाहिं झिल्काले डढेलो लगाउनेछ अर्थात् जनसमुदायलाई उठाउनेछ, यो हामी जान्दैनौं र जान्न पनि सक्दैनौं, तसर्थ हामीले आफ्नो नयाँ र कम्युनिस्ट सिद्धान्तको मद्दतबाट सबै क्षेत्रमा, कतिसम्म भने थोत्रोभन्दा थोत्रो र बढीभन्दा बढी खिया लागिसकेका र यसो हेर्दा बिलकुल बेकार लाग्ने क्षेत्रमा समेत ‘हलचल पैदा गर्ने’ कोसिस गर्नुपर्दछ, नत्र भने हामीले उत्तम तरिकाले आफ्नो कर्तव्य निभाउन सक्नेछैनौं, चौतर्फी हुनेछैनौं र सबै हतियारमा निपुण हुन सक्नेछैनौं, अनि हामीले न त पुँजीजीवीवर्गमाथि नै विजय प्राप्त गर्न सक्नेछौं, न त त्यस विजयपछि जीवनको प्रत्येक फाँटमा भावी कम्युनिस्ट पुनःसंगठन गर्नमा नै सफल हुनेछौं ।” –लेनिन, सङ्कलित रचना, भाग– ७, पृ. ९८–९९
०००
०८२ भदौ २३–२४ को नवयुवा–उभार दश वर्षअघि नेपालमा आएको भुइँचालोसरह थियो । अचानक आयो र अचानक धेरै खलबल पारिदियो । भुइँचालोले भौतिक संरचना र मानव जीवनमा ठूलो क्षति पुर्याएको थियो । नवयुवाहरुको विद्रोहले नेपाली राजनीति र सत्ता–संरचनामा खलबल पारिदिएको छ । तत्कालको नाराका रुपमा भ्रष्टाचारका विरुद्धमा, सुशासनका पक्षमा र सामाजिक सञ्जाल बन्द गर्ने ओली सरकारको निर्णय फिर्ता गराउन जेन–जी युवाहरुको आह्वानमा यो प्रदर्शन सुरु भएको थियो । देखिँदा यो अपर्झट र आकस्मिक विप्लवजस्तो देखिए पनि लामो समयदेखिको कुशासन, बेरोजगारी, महँगी, आर्थिक असमानता र राजनीतिक अस्थिरताको निरन्तरतामा जनआक्रोश थुप्रो लाग्दै गएको थियो । अझ शासनसत्ता सम्हालिरहेका मुख्य तीन पार्टी (काङ्ग्रेस, एमाले र माओवादी)का नेता, तिनका आसेपासे र तिनका परिवारहरुको घीनलाग्दो विलासी जीवनबाट साधारण जनता वाक्क थिए । तसर्थ, जसरी भुइँचालो भौगर्भिक र प्राकृतिक कारणहरुको उपज हो, त्यसैगरी भदौ २३–२४ को नवयुवा विद्रोह पनि सामाजिक एवम् अर्थ–राजनीतिक कारणहरुकै प्रतिफलका रुपमा विस्फोट भएको हो ।
२०७२ सालमा नयाँ संविधान निर्माण भएपछि आमजनको आशा थियो– देशमा अब राजनीतिक स्थिरता हुनेछ, भ्रष्टाचार नियन्त्रण हुनेछ, रोजगारीको सिर्जना हुनेछ, उद्यमशीलता प्रवर्द्धन हुनेछ, कर्मशीलहरुले काम पाउनेछन् र समृद्धिको बाटोमा मुलुक अघि बढ्नेछ । सरकारमा पुग्ने पार्टीहरुले यसरी नै आशा वितरण पनि गर्दै आएका थिए । तर, नेपाली राज्यको आधारभूत चरित्र त्यसअनुसार बदलिएको थिएन । आफूलाई ‘लोकतान्त्रिक’ वा ‘कम्युनिस्ट’ भन्ने पार्टीहरुले जनअपेक्षाअनुसार आफूलाई रुपान्तरित गरेका पनि थिएनन् । न त संविधान र कानुनहरु नै जनमुखी थिए । त्यसको उल्टो प्रमुख तीन पार्टी र तिनका प्रमुख तीन नेता ‘म्युजिकल चेयर’ खेलझैं शासनसत्तामा बस्ने, आफूखुशी पार्टी जुटाउने–फुटाउने, आफ्नै कुर्सीका लागि सिद्धान्तहीन गठबन्धन बनाउने–भत्काउने र आमजनको आकांक्षालाई अपमानित गर्ने काम गरिरहे । मात्रामा तलमाथि होला तर जुन सरकार आए पनि कुशासन, नातावाद, घुसखोरी, नीतिगत भ्रष्टाचारमा निर्लिप्त नै हुन्थ्यो, त्यसका दर्जनौं उदाहरणहरु दिन सकिन्छ । त्यसविरुद्धको जनआक्रोश र प्रतिरोध पटकपटक सडकमा प्रकट हुँदै आइरहेको थियो । तत्कालिन नेकपा (नेकपा)को शासनकालदेखि किसान आन्दोलन, मिटरब्याजविरुद्धको आन्दोलन, बैंक–वित्तीय संस्थाको शोषणविरुद्ध आन्दोलन, जातव्यवस्थाविरुद्ध प्रतिरोध, बृहद् नागरिक आन्दोलन, साम्राज्यवादी नीतिविरुद्ध संयुक्त आन्दोलन आदि सडकमा चलिरहेका थिए । यी सबै आन्दोलनको उत्कर्ष बनेर भदौ २३–२४ को बानेश्वर विद्रोह प्रकट भयो । डिजिटल पुस्ता भनेर चिनिने जेनजी नवयुवाको आह्वानमा सुरु भएको यो आन्दोलनलाई आफ्नो स्वार्थको अनुकूलतामा ढाल्न प्रतिगामी शक्ति, संसदमा प्रतिनिधित्व गर्ने परम्परावादी पार्टी र कतिपय बाह्य शक्तिले समेत यसभित्र पन्जा घुसाउन खोजेको तथ्य पनि विभिन्न सूचनाहरुले पुष्टि गर्दै गएका छन् । तर, जनआन्दोलन र विद्रोहहरुमा हुने घुसपैठका प्रयत्नहरु विद्रोहका मूलकारक होइनन्, परिणामहरु हुन् ।
७६ जनाको बलिदानपूर्ण विद्रोहपछि भ्रष्ट ओली सरकार विस्थापित भएको छ, संसद् विघटन भएको छ र आउँदो फागुन २१ मा नयाँ निर्वाचन गर्ने गरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । तर, तय गरिएका बाटाहरुमा मात्रै राजनीति अघि बढ्छ भन्ने ग्यारेन्टी गर्न सकिने अवस्था छैन । सङ्क्रमणकालमा अस्थिरता मच्चाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने जनविरोधी शक्ति पनि उत्तिकै सक्रिय छन् । मुलुक यतिखेर निकै तरल हालतमा छ । राजनीतिक मागदाबीमा नवयुवाहरुको आवाज सबैभन्दा चर्को भोल्युममा बजेको छ । सबै क्षेत्रमा युवा–चासोको पारो नेपाली इतिहासमै सर्वथा उच्चतम छ । स्वतःस्फूर्त रुपमै जेनजी विशेषण दिएर समूह र सङ्गठन खुलेका खुल्यै छन् । भेल छोप्ने हतारोझैं ‘नयाँ’–‘पुराना’ सबै पार्टीले जेनजीको नाम भजाउन तँछाडमछाड गरिरहेका देखिन्छन् । तर, हामी सबैलाई ज्ञातै छ– नेपालका हरेक युगान्तकारी घुम्तीमा युवा–पहल निर्णायक हुने गरेको छ । १९९७ सालको सहिद पर्व, २००७ सालको क्रान्ति, ०३६ सालको विद्यार्थी आन्दोलन, ०४६ सालको जनआन्दोलन, ०५२–६२ को जनयुद्ध, ०६३ को जनविद्रोह, मधेस विद्रोह आदिमा अघिल्लो मोर्चामा सदैव युवापंक्ति थियो । यसअघिका आन्दोलन वा विद्रोहभन्दा यसपटकको विद्रोहमा आधारभूत भिन्नता छ । यसअघि खास–खास सङ्गठन वा पार्टीहरुले योजनाबद्ध रुपमा आन्दोलनको आह्वान गर्थे, त्यसका निर्धारित र सीमित मागहरु हुन्थे, तोकिएको नेतृत्व र जिम्मेवारी हुन्थ्यो । यसपालि केही व्यक्ति र केही सामाजिक संस्थाको पहलकदमी देखिए पनि धेरै हदसम्म यसको चरित्र स्वतःस्फूर्त थियो । युवाहरुका दर्जनौं अनौपचारिक समूह र व्यक्तिले सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार र सहभागिताका लागि आन्तरिक अपिल गरेका थिए । प्रदर्शनको आह्वान स्वतःस्फूर्त हुँदा सबै पक्ष, तह, समूहका हजारौं युवाहरु सजिलै आइपुगेको देखिन्छ, जुन कुनै एकै विचारले निर्देशित र सङ्गठित पंक्ति थिएन । मूल मागका अतिरिक्त फरक समूहका फरक–फरक माग र नारा हुनु पनि स्वाभाविक थियो ।
असङ्गठित नै किन नहोस्, निम्नमध्यम र मध्यम वर्गीय नवयुवा पंक्ति ऐतिहासिक आक्रोश बोकेर सडकमा आइपुग्यो । युवाको अपिलमा सहरिया श्रमजीवी वर्गको असङ्गठित र अराजनीतिक पंक्ति पनि होमियो । त्यसरी युवा पंक्ति सडकमा आउने परिस्थिति बन्नुमा पहिल्यैदेखिका शासक वर्गको भ्रष्ट आचरणको जति ठूलो भूमिका थियो, क्रान्तिकारी बाटो हुँदै नवशासक बनेको पंक्ति पनि उत्तिकै जिम्मेवार थियो । यो पंक्ति अर्थात् माओवादी धारा दुई दशकअघि जनताद्वारा अत्यधिक आशा गरिएको र जनमतमा अत्यधिक रुचाइएको आन्दोलन थियो । त्यही माओवादी आन्दोलन क्रमशः टुटफुट–विघटन, वैचारिक पतन र भ्रष्ट आचरणमा यसरी अभ्यस्त भयो कि मूल नेतृत्वपंक्ति पूर्णतः शासकवर्ग बनेर सत्तासुखमा टाँसिन पुग्यो । क्रान्तिकारी आन्दोलनको दुःखदायी पतनको दुर्गन्ध दशकौं पछिसम्म फैलिन्छ भन्ने उदाहरण हुनपुग्यो, आजको माओवादी मूलप्रवृत्ति । पुरानो माओवादी–मूलधारबाट विच्छेद भई बनेका नयाँ–नयाँ नामका ‘माओवादी समूह’हरु अस्तित्वमा नभएका होइनन्, तिनले अवलम्बन गरेको कार्यदिशाले पनि न समाजको गति पक्रन सक्यो, न जनआक्रोशलाई सुविचारित ढङ्गले सङ्गठित गर्न सक्यो । फलतः नेपाली समाजको अन्तविरोध हतेर्न सक्ने सङ्गठन–बल कतै देखिएन, जनआक्रोशले सङ्गठन, नीति र नेतृत्व पाउन सकेन ।
नवयुवा विद्रोहको सीमा थियो– सङ्गठित पहलकदमी नहुनु, दीर्घकालिक र सुविचारित लक्ष्य नहुनु र सुदृढ नेतृत्व नहुनु । यही सीमाका कारण यसको परिणति प्रणालीगत परिवर्तनसम्म पुग्न सक्दैनथ्यो । सकेन । त्यसो त, सबै विद्रोहहरु व्यवस्थित, सुसङ्गठित, पूर्वयोजनाबद्ध, राजनीतिक कार्यक्रम र नीतिद्वारा परिचालित, नेतृत्व र कमान्डबाट सञ्चालित हुँदैनन् । यो त्यस्तै प्रकारको थियो । विरोध प्रदर्शनको आरम्भिक पहल लिने केही समूह थिए, केही अभियानी युवाहरु थिए । विद्रोहपछि यसको राजनीतिक जिम्मा लिने विभिन्न पक्ष अहिले पनि छन् । तर, सुसङ्गठित र सुविचारित नभएकै कारण यो उभारले दमनकारी सरकार बदल्यो, तर राज्य–संरचना बदल्ने बाटो भेटेन । पात्रहरु पल्ट्याइदियो, तर प्रणालीका बाधाहरु पल्टाएन । भ्रष्ट पार्टीहरुलाई छेउ लगाइदियो, तर भ्रष्टप्रवृत्ति सुधार्ने खाका दिएन । एकथरी शासकहरु लखेट्यो, तर शासन–संरचनामा नयाँपन दिन सकेन ।
यो विद्रोहपछि तीन वटा असफलता सतहमा खुलस्त उद्घाटित भएका छन्:
१. विद्यमान राजनीतिक व्यवस्था चरम सङ्कटमा छ, असफल छ, नाजुक छ
२. व्यवस्थाका पहरेदार दलहरु सङ्कट टार्न असफल छन्, विघटित हालतमा छन्, र
३. ‘वैकल्पिक’, ‘नयाँ’ र ‘क्रान्तिकारी’ भनिएका सङ्गठनहरुको भूमिका अपर्याप्त र अस्पष्ट छ ।
उपर्युल्लिखित तीन यथार्थबारे यहाँ थप व्याख्या वा चर्चा गरिंदैन, बरु यो सत्यापनले दिएको एउटै सन्देशबारे संक्षेपमा छलफल गरिन्छ । यसले एउटै र मुख्य कुरा के दर्शाउँछ भने आज हामीलाई नूतन राजनीतिक अभियान र नूतन सङ्गठन निर्माणको खाँचो छ, जसले मौजुदा शोषणकारी र भ्रष्ट व्यवस्थाको विकल्प दिन सकोस्, जसले जनताको आन्दोलनलाई सुन्दर भविष्यको दिशा दिन सकोस् ! माथि हामीले चर्चा गरिसकेका छौं, यो नवयुवा विद्रोह भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा थियो । भ्रष्टाचारलाई जरैदेखि समाप्त गर्न र सुशासनको उन्नत विधि स्थापना गर्न नयाँ राजनीतिक प्रणालीमा पुग्नुपर्छ । आजको पुँजीवादी प्रणाली अन्त्य गरेर मात्रै त्यसो हुन सम्भव छ । त्यसलाई सम्भव पार्न सोच, शैली, सपना, सङ्गठन र संस्कार–संस्कृतिका क्षेत्रमा नवीन र उन्नत ढङ्गले काम गर्ने सङ्कल्पबद्ध नवयुवाहरुसहितको पहलकदमी अहिलेको युगीन आवश्यकता हो ।
नवीन र उन्नत ढङ्गले काम गर्नु भन्नुको अर्थ के हो त ? यसको अर्थ वैज्ञानिक ढङ्गले पुष्टि भएका दर्शन, सिद्धान्त, ज्ञानविज्ञान, विश्लेषण विधि वा प्रयोग पद्धतिलाई परित्याग गर्नु भनेको होइन । त्यसको अर्थ हो– एक, यसअघिका राजनीति र आन्दोलनमा देखिएका सोच, सङ्गठन र संस्कारका कमीकमजोरी पहिल्याउनु; दुई, वैज्ञानिक ढङ्गले समाजको अद्यावधिक विश्लेषण गर्नु; तीन, सही दृष्टिकोण, कार्यदिशा र रणनीति–कार्यनीति निर्धारण गर्नु; चार, मौलिक र उन्नत तरिकाले सिद्धान्तनिष्ठ सङ्गठन निर्माण गर्नु र पाँच, निरन्तर वैचारिक सङ्घर्ष तथा सांस्कृतिक जागरण सञ्चालन गर्नु ।
नयाँ आन्दोलन र नयाँ सङ्गठन निर्माण गर्नुपर्ने समयमा हामी किन छौं भने यतिखेर आधुनिक नेपाली राजनीतिमा लोकतन्त्र (पुँजीवादी लोकतन्त्र) स्थापनाको पहिलो अध्याय सकिएको छ र हामी २०७२ सालको संविधान निर्माण सँगसँगै इतिहासको नयाँ अध्यायमा छौं । नेपाली जनताले लोकतान्त्रिक राज्य र समाजको खोजी सुरु गरेको झण्डै एक शताब्दीअघि हो । ईस्वीको बिसौं शताब्दीको चौथो दशक (सन् १९३०) आसपासमा काठमाडौं उपत्यकाभित्रको बौद्धिक नागरिक (त्यस समयका प्रजा) पंक्तिमा राजनीतिक जागरण सुरु भएको थियो । प्रचण्ड गोर्खा, प्रजा परिषद्, नागरिक अधिकार समिति लगायतका राजनीतिक प्रकृतिका सङ्गठनहरु खडा भएको पृष्ठभूमिमा १९९७ सालको सहिद पर्व भयो । त्यसपश्चात् क्रमशः नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी आदि खुले र अन्ततः २००७ सालमा राणशाहीको अन्त्य र पुँजीवादी प्रजातन्त्रको सुरुवाती स्थापना भयो । त्यसयता २०३६, २०४६, २०५२–६२, २०६२–०६३ का पटकपटकका आन्दोलन र विद्रोहहरुले पुँजीवादी लोकतन्त्रकै विस्तार गरेका हुन्, जुन २०७२ को संविधान निर्माणमा पुगेर एक हिसाबले बिट मारिएको थियो । लोकतन्त्र स्थापनाको पौने शताब्दी लामो यो पहिलो चक्रको समीक्षा गर्ने र नयाँ अध्यायको थालनी गर्ने दायित्व अग्रिम चेतनायुक्त नवयुवासहित आजका परिवर्तनकामी राजनीतिकर्मीका काँधमा छ । २३–२४ भदौको बानेश्वर विद्रोहले नेपालको समग्र लोकतान्त्रिक राजनीतिक आन्दोलनको समीक्षासहित दोस्रो अध्यायको थालनी गर्नुपर्ने आवश्यकतालाई नै पुनर्पुष्टि गरेको छ । यो विद्रोहले औपचारिक लोकतन्त्र मात्रै होइन, सुशासनको पनि प्रत्याभूति खोजेको छ ।
२०७२ सालको संविधानअनुसार नेपाली राज्य ‘समाजवादोन्मुख’ छ । यो औपचारिक रुपमा समावेशी, लोकतान्त्रिक, संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष छ । नेपाली समाजको अधिरचनामा आएको यो महत्त्वपूर्ण फेरबदल थियो । आर्थिक आधार र उत्पादन–सम्बन्ध पनि २००७ सालदेखि र त्यसयता पटकपटकका क्रान्ति एवम् क्रमिक विकासको बाटो हुँदै पुँजीवादी ढाँचामा आकार ग्रहण गर्दै गएको हो । अर्थात् नेपाली समाज पिछडिएको, परनिर्भर तर पुँजीवादी समाज हो । पुँजीवादी समाजमा आर्थिक विषमता, बेरोजगारी, महँगी, भ्रष्टाचार, कुशासन धेरै हदसम्म मूलप्रवृत्ति नै हुने गर्छ । यही व्यवस्थाभित्र पनि नेपाली राज्यले संविधानको भावनाअनुसार आर्थिक लोकतन्त्रका क्षेत्रमा न्यूनतम काम गर्न अवश्य सक्थ्यो । सरकारले उत्पादनका क्षेत्रलाई प्राथमिकता दिन सक्थ्यो, रोजगारी सिर्जनाका क्षेत्रमा क्रियाशीलता देखाउन सक्थ्यो, उद्यमशीलतालाई प्रवद्र्धन गर्न सक्थ्यो । त्यस्तो देखिएन । राज्यका निकायमा सुशासनका पहलहरु गर्न सक्नुपर्थ्यो, सार्वजनिक क्षेत्रमा सहज सेवाप्रवाहसहित भ्रष्टाचारमुक्त र जनमुखी प्रशासन चलाउनुपर्थ्यो । सरकारका कामहरु पारदर्शी र जनउत्तरदायी हुन सक्नुपर्थ्यो । तर, राज्य र राजनीतिक दलको चरित्र यी सबैको ठीक उल्टो दिशामा थियो । फलतः बेरोजगारी, महँगी, आर्थिक असमानता, भ्रष्टाचार, स्वेच्छाचारी शासनका कारण मध्यम, निम्नमध्यम र श्रमजीवी वर्गमा बढ्दै गएको जनआक्रोश नवयुवाको पहलमा उम्लियो र त्यसले बानेश्वर विद्रोहको रुप लिएको हो ।
भदौ २३–२४ को विद्रोहछि भदौ २७ मा नयाँ अन्तरिम सरकार बनेको छ । त्यसले आगामी फागुन २१ गते निर्वाचनको भाका तय गरे पनि मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा छ । यतिखेर अनिश्चय नै समाजको मूलप्रवृत्ति जस्तो देखिन्छ । अहिले नेपाली राजनीतिको अन्तर्यमा मुख्यतः पुँजीपति वर्ग र गरिखाने वर्गको टकराव छ । पुँजीपति वर्गकै बीचमा पनि र जनताका बीचमा पनि फरक–फरक अन्तरविरोधहरु मौजुद छन् तर सतहमा मुख्य तीन वटा प्रवृत्तिका राजनीतिक खेमा क्रियाशील देखिएका छन् । पहिलो प्रवृत्ति, पुरातनवादी शक्ति हो, जुन प्रवृत्तिले राजतन्त्र पुनर्स्थापना, हिन्दु राज्य स्थापना, सङ्घीयताको खारेजी जस्ता नाराहरु दिन्छ । यो मूलतः मरणशील प्रवृत्ति हो । दोस्रो प्रवृत्ति, परम्परावादी राजनीतिक पार्टीहरुले प्रतिनिधित्व गर्ने प्रवृत्ति हो । यिनीहरु भर्खरै शासनसत्ताबाट बाहिर परेका छन् । यिनीहरुको मूल नेतृत्व भ्रष्ट छ र जनताबाट तिरस्कृत छ । यिनमा एकता, पुनर्गठनका नाममा विघटन, विभाजन चल्दैछ । तर, संस्थागत सञ्जाल, राज्यका निकाय र पुँजीपति वर्गमा प्रभावका हिसाबले यो पंक्ति अझै शक्तिशाली छ । तेस्रो प्रवृत्ति, यो प्रवृत्ति नवयुवा उभारको राजनीतिक मर्मलाई आत्मसात् गर्ने पक्षमा उभिन्छ । विकल्पको बाटो नै नेपाली राजनीतिको नयाँ बाटो हो भन्छ । तर, यो बढी नै असङ्गठित छ र विचार–सिद्धान्तका हिसाबले विविध प्रकृतिको छ । यो खेमामा नवउदारवादीले पनि आफ्नो भूमि खोजिरहेका छन् । आन्दोलनकारीमध्येकै अस्पष्ट र दुविधाग्रस्त युवा पंक्ति पनि यसमा छ । त्यस्तै क्रान्तिकारी मार्क्सवादीको पंक्ति पनि कमजोर अवस्थामा यतै पर्छ ।
सतहमा देखिएको यही तेस्रो फाँटमा सापेक्ष हिसाबले अग्रगामी प्रकृतिका राजनीतिक व्यक्ति र सङ्गठन छन् । यसभित्र नवनिर्माणको परिकल्पना बोकेका आँटिला, हिम्मतिला, उन्नत र समर्पित जोधाहाहरु पनि छन् । जेनजी आन्दोलनकारी युवा पनि छन् । नेपालका गरिखाने वर्ग, कर्मशील र उद्यमशील पंक्तिलाई नयाँ सपनामा सङ्गठित गर्नका लागि यही तेस्रो पंक्तिभित्र कोसिस चलिरहेको छ । यस पंक्तिभित्रको प्रगतिशील खेमाबीच तत्कालीन मुद्दामा राजनीतिक सहकार्य र मोर्चाबन्दीको सम्भावना खोजी गर्नु आवश्यक छ । त्यसो गर्दा नवयुवा विद्रोहको म्यान्डेटअनुसार प्रमुख चारवटा मागलाई आधार बनाउनु जरुरी छः एक, भदौ २३ का दमनकारीलाई कारबाही गर, दुई, भदौ २४ को विध्वंसको छानबिन गर, तीन, सबैखाले भ्रष्टाचारको अनुसन्धान गर, र चार, संविधानको प्रगतिशील पुनर्लेखन गर !
नवयुवाको पहलमा भएको बानेश्वर विद्रोहको भावना र मागको दीर्घकालीन सम्बोधनको बाटोतिर जाने हो भने तत्कालका लागि चौथो बुँदाको कार्यान्वयनका लागि विस्तृत खाका निर्माण आवश्यक छ । भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणका लागि नीतिगत परिवर्तन पहिलो शर्त हो । तसर्थ, त्यसका लागि संविधानको पुनर्लेखनसहित प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, विज्ञहरुको मन्त्रीपरिषद्, प्रत्यक्ष तर पूर्णसमानुपातिक व्यवस्थापिका, सेवाप्रवाहको सबै जिम्मा पालिकामा हस्तान्तरण र सुरक्षा तथा प्रशासन क्षेत्रको नयाँ पुनर्संरचना गर्ने मूर्त खाकामा संवाद अघि बढाउन आवश्यक छ ।
यी राजनीतिक मुद्दालाई अगाडि बढाउन राजनीतिक सङ्गठनहरुकै नेतृत्वदायी भूमिका हुन्छ । जेनजी युवाहरुको एउटा हिस्सा विचारमा अझै पनि अस्पष्ट छ, कतिपयसँग आजको व्यवस्थाको विकल्प छैन, भविष्यको दिशा छैन । कतिपय समूह आफै निर्णय लिन सक्ने अवस्थामा देखिन्नन्, तसर्थ उनीहरु गलत राजनीतिक तत्त्वबाट प्रयोग हुन सक्ने सम्भावना पनि उत्तिकै छ । सही सोच, सही सङ्गठन, नयाँ संस्कृतिसहितको राजनीतिक पहलकदमीले मात्रै अस्पष्ट र दुविधाग्रस्त युवा पंक्तिलाई दिशानिर्देश गर्न सक्नेछ ।
अन्त्यमा, आज हामी इतिहासको अद्वितीय मोडमा छौं, जहाँ नेपाली नवयुवाले दुई आँखाले होइन, चार आँखाले चारैतिर हेरिरहेको छ । गरिखाने वर्गले दुई कानले होइन, चार कानले आकाश–पातलका आवाज सुनिरहेको छ । कसले कुन गीत गाइरहेको छ ? कसले कस्तो नृत्य नाचिरहेको छ ? कसले झेली खेल खेलिरहेको छ ? कसले इमान्दार मिहिनेत गरिरहेको छ ? नयाँ र सुन्दर जीवनको खोजीमा रहेको पंक्तिले यो सबै लेखाजोखा राखिरहेको छ । सबैभन्दा क्रान्तिकारी पंक्ति जो छ, आज उसैले सबैभन्दा सही बाटो तय गर्न आवश्यक छ । सबैभन्दा सही कार्यदिशा र कार्यक्रम हुनेहरु नै सबैभन्दा धेरै सक्रिय हुन आवश्यक छ । आज नेपाली श्रमजीवी वर्गसँग आफ्नो जुझारु सङ्गठन छैन, त्यसको निर्माणमा एकताबद्ध र संकल्पबद्ध हुनु नै परिवर्तनकामी पंक्तिको सही कदम हो । नयाँ सङ्गठन निर्माणलाई केन्द्रमा राखेर विचारधारात्मक सङ्घर्ष र सांस्कृतिक नवजागरणको यात्रामा सहकार्य गरौं ! लेनिनले भन्नुभएजस्तै विश्वव्यापी आर्थिक–राजनीतिक सङ्कटको परिणामस्वरुप असङ्ख्य आगाका लप्काहरु मानवसमाजको आकाशमा उडिरहेका छन्, तीमध्ये कुनचाहिं झिल्काले डढेलो लगाउनेछ अर्थात् जनसमुदायलाई जगाउनेछ, यो हामी जान्दैनौं र जान्न पनि सक्दैनौं, तर पुँजीजीवीवर्गमाथि विजय प्राप्त गर्ने हो भने हामीले उत्तम तरिकाले कर्तव्य निभाउन सक्ने सङ्गठन बनाउनैपर्छ । बिलकुल बेकार लाग्ने क्षेत्रमा समेत आफ्ना कोसिसहरु गर्नुपर्दछ, जीवनका प्रत्येक क्षेत्रमा सबै हतियारले निपुण हुनैपर्छ । अनि मात्रै हामी भावी कम्युनिस्ट पुनःसंगठन गर्नमा सफल हुनेछौं ।


जवाफ लेख्नुहोस्