info@bampanththeleft.com

Bampanth The Left

#

नेपालको लाहुरे परम्परा : सर्वेक्षण र विश्लेषण

  • झलक सुवेदी

यो वर्ष चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङ अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका देशको यात्रा गरे । पुगेका देशका धेरै सहरमा कन्सर्ट गरिरहेका छन्, जहाँ सयौँको सङ्ख्यामा नेपाली दर्शकहरू उनको गीत सुन्न आइरहेका दृश्यहरू सञ्जालमा देखिन्छन् । सन् २०२२, ९ जुनको बिहान यो लेख लेख्न तरखर गरिरहेकै बेला उनले सिकागोको कार्यक्रमको दृश्य सेयर गर्दै अब बोस्टनतिर जान लागेको जनाउ दिएका थिए । उनी यस्ता कार्यक्रम युरोपमा पनि गर्ने गर्छन् । सबैजसो चर्चित नेपाली गायक र कलाकारको आयस्रोतको एउटा महइभ्वपूर्ण हिस्सा विदेशमा रहेका नेपालीका बिचमा गरिने लाइभ कन्सर्टहरू बन्ने गरेका छन् ।

यो आलेख तयार गरिरहेकै समयमा बाह्रखरी डटकममा सुरेन्द्र पौडेलको एउटा रिपोर्ट छापिएको छ, जसअनुसार पोर्चुगलमा वैध र अवैध गरी ७० हजार नेपालीहरू बसोबास गर्छन् । ती मध्ये ३ हजार २७९ जना नेपालीलाई हालै पोर्चुगल छाड्न आदेश दिइएको छ । उनीहरूले स्थायी बसोबासका लागि दिएको आवेदन अस्विकृत गरिएकाले यसरी डिपोर्ट गर्न लागिएको हो । आप्रवासन विरोधी राजनीतिक प्रभाव बढ्दै गएकाले यस्तो नीति भविष्यमा थप प्रभावशाली बन्ने अनुमान गर्न सकिन्छ । ८ जुन २०२५ मा अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर काठमाडौँ ल्याएर छाडिदिएको थियो । डोनाल्ड ट्रम्प सत्तामा आएपछि मात्र सयौं नेपालीलाई डिपोर्ट गरिएको जनाइन्छ । यसैगरी टिपिएस सुविधामा अमेरिका पुगेका ७ हजार र त्यहाँ बसिरहन पाउने गरी कानुनी प्रक्रिया पूरा नगरेका सयौं नेपालीहरूलाई पनि अमेरिका छाड्न सुचित गरिएको छ ।

नेपालका हरेक राजनीतिक दलका केन्द्रीय समितिमा विभिन्न देशका आप्रवासी नेपालीहरूका बिचमा पार्टीको काम हेर्ने जिम्मेवारी तोकिएका नेताहरू र विभागहरू छन् । सबैजसो दलका भातृसङ्गठनहरू विश्वभरजसो छरिएका छन् । नेपालमा सामाजिक सञ्जाल मार्फत हुने जनमत निर्माणमा डायस्पोराका नेपालीहरूको महइभ्वपूर्ण हस्तक्षेप रहने गरेको छ । निर्वाचनको जित–हारमा समेत आप्रवासी नेपालीहरूको सशक्त उपस्थिति रहन्छ । गैह्रआवासीय नेपालीहरूको संस्थामा देखिएको विवाद र यसले गर्ने अधिवेशनका चर्चा हरेक वर्षको दशैंतिर नेपाली मिडियामा छाउने गर्छ । सँगै कहिले वकिङ्गह्याम प्यालेस अगाडि या लन्डनका विभिन्न क्षेत्रमा पूर्व गोर्खाहरूका प्रदर्शनका समाचार आउँछन् अनि तल्लोबाटो अमेरिका जानेका दुःखका कथा र साउदी कतार या मलेसियामा पुगेका नेपालीका सुस्केरा । देशका साना ठुला सबैजसो सहरका होर्डिङ या साइनबोर्डमा देखिने एउटा सामान दृश्य चैं विद्यार्थीहरू र श्रमिकहरूलाई विदेश पठाउने कन्सल्ट्यान्सी र मानव संसाधान कम्पनीहरूका हुन्छन् । र, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई अँगालो हाल्दै रुँदै गरेका या माला खादा लगाइदिएर विदा दिँदै गरेका दृश्यहरू फेसबुकका धेरै देखिने दृश्यमा पर्छन् । यसको अर्थ हो नेपालीहरू विदेसिइरहेका छन् । गइरहेका छन्, आइरहेका छन् । स्थायी रूपमा विदेसिनेहरूको सङ्ख्या पनि बढ्दो छ, अनि केही वर्षे भिसा लिएर काम गर्न जाने र फर्कनेको सङ्ख्या पनि । यस आलेखमा नेपालको लाहुरे परम्परा र अहिलेको अवस्थाका केही आयाममा चर्चा गर्ने प्रयास गरिएको छ ।

इतिहास/नामकरण
नेपाली पहाडका कुनै घर परिवार हुँदैनन्, जसका कोही न कोही लाहुरे नभएको होस् । परिवारमा, छिमेकमा, आफन्तमा । लाहुरे हुनु नयाँ विषय होइन । लाहुरे आउनु चाखलाग्दो र रमाइलै कुरा हो । अहिले रातो धागोले बाँधेका चिठी कम आउँछन्, बरु प्रियजनका शव बोकेका बाकसहरू आउँछन् । बाँकी लाहुरे आउँदा केही रमाइलो, केही परदेशको बास्ना, केही गएको ठाउँ अनुसारका नयाँ पुराना अच्छा र लेकिन, केही मिठाई र कपडा पनि । माया, ममता, थकान पनि । यो नेपाली समाजको एउटा संस्कृतिका रूपमा रहेको छ । नेपाल बन्नु अगाडि के थियो ? यस विषयमा त्यस्तो अनुसन्धान भएजस्तो लाग्दैन या मेरो जानकारीमा छैन । एउटा राज्यको युवाले अर्को राज्यमा पुगेर सैन्य सेवामा लागेको चैं उतिबेला पनि थियो । मल्लहरूको राज्यमा मधेसबाट पनि आउँथे, छिमेकका पहाडबाट पनि । कोही यतै बसाइँ सर्थे, कोही कमाएर फर्कन्थे ।

साम्राज्य विस्तारका क्रममा गोर्खाली राजाको सेवा गरेका लाहुरे (लडाकु र ढाक्रे–स्टिक ओसार्ने भरिया) धेरै चैं सुगौली सन्धीपछि बेरोजगार भएका थिए । लडाकुहरूको लडाइँ सकिएपछि पजनी हुन्थ्यो र तिनले राज्यबाट पाएको खेत गुमाउनसक्थे, चाहे ती कमाण्डर तहका नै किन नहोउन् । यसै पनि गोर्खा दरबारको चालचलनले कतिपय उच्च तहका कमान्डरहरू समेत असन्तुष्ट थिए । उनीहरूबाटै केहीले सिमापार जाँदै पञ्जावका राजा रणजित सिंहको सेनामा भर्ती भएर सेवा गर्न थालेका थिए । उनीहरू लडाकु थिए । पञ्जावको तत्कालीन राजधानी लाहोर (हाल पाकिस्तान) मा पुगेर सेवा गरेर आउनेहरूलाई यता लाहुरे भन्न थालियो । लाहुरे परम्परा त यहीँबाट थालनी भएको हो । त्यही लाहोर पुगेका बलभद्र कुँवर, जो नेपालमा अत्यन्त सम्मानित कमान्डरका रूपमा सम्झिइन्छन्, रणजित सिंहको सेनामा सेवा गर्न पुगेका थिए, उतै अफगानिस्तनसँगको युद्धमा पञ्जावको तर्फबाट लडिरहँदा मारिएका थिए ।

प्रकृति वा स्वरूप : गोर्खा भर्ती

बलभद्र कुँवर र उनका मामाहरू (जनरल अमरसिंह थापाका छोराहरू) पञ्जावी राजाको सेवामा जानु अगाडि अथवा सुगौली सन्धी हुनभन्दा पहिले नै ब्रिटिस इस्ट इन्डिया कम्पनीका सैन्य जनरलहरूले गोर्खालीलाई आफ्नो सेनामा सामेल गर्न थालिसकेका थिए । कोही युद्ध बन्दीलाई, कोही महाकाली पारिका नेपाल शासित क्षेत्रका पहाडी भगौडाहरूलाई सेनामा भर्ती गरेर सिरमुर बटालियन बनाइसकेका थिए । अमरसिंह थापालाई घेरामा पारिसकेपछि उनलाई नेपालसम्म सम्मानपूर्वक जान दिन अङ्ग्रेजले राखेको एउटा सर्तमा युद्धबन्दी बनेका गोर्खाहरूलाई उनीहरूले चाहन्छन् भने ब्रिटिस इन्डिया कम्पनीको सेवामा भर्ती हुन अनुमति दिनुपर्ने कुरा पनि थियो । अमरसिंहले उक्त सर्त मानेका थिए । पछि सुगौली सन्धीमा यही सर्तलाई दुई देश बिच शान्तिका लागि एउटा सर्त बनाइयो । त्यसपछि बेलायती व्यापारिक कम्पनी (ब्रिटिस इस्ट इन्डिया कम्पनी) को सेवामा जो भारतमा आफ्नो प्रभाव विस्तार गर्दै थियो, गोर्खालीहरू भर्ती जान थाले (प्रष्टीकरण : गोर्खा साम्राज्य विस्तारका क्रममा टिष्टादेखि सतलज, काँगडासम्म पुगेर लडेका र ब्रिटिस सेनाका विरुद्ध बहादुरीसाथ युद्ध गरेका खस क्षेत्री, गुरुङ, मगर र ठकुरीहरूलाई नै गोर्खाली भनेर चिनिन्छ, चिनाइन्छ) । मराठा युद्ध, पञ्जावसँगको युद्ध र पछि सिपाही विद्रोह दमनमा पनि गोर्खाहरू खटाइए । ब्रिटिस साम्राज्यको सेवामा अफ्रिकादेखि युरोपसम्म र पश्चिम, दक्षिण र पूर्वी एसियासम्म गोर्खाहरू लडाइमा सामेल भए ।

यो परम्परा अहिले पनि जारी छ । पश्चिम पहाडमा लाहुर जाने भन्नुको मुख्य अर्थ ब्रिटिस भारतीय सेनामा जानु थियो, गोर्खा भर्ती थियो । भारत स्वतन्त्र भएपछि ब्रिटिसहरूले गोर्खाहरूको सानो सङ्ख्यालाई आफ्नो सेवामा जान राजी गराए । अहिले ब्रिटिस गोर्खा र सिंगापुर पुलिस फोर्समा नेपालीहरू लाहुर गइरहेका छन् । भारतमा पछिल्लो समय ल्याइएको ‘अग्निपथ’ नीतिका कारण हाल प्रत्यक्ष भर्ती रोकिए पनि झन्डै ४० हजारको सङ्ख्यामा नेपालीहरू भारतीय सेनामा कार्यरत छन् र उतै पुगेर भर्ती हुन रोकिएको पनि छैन ।

भारतीय सहरमा श्रम आप्रवासन

पाकिस्तानदेखि बर्मासम्म कब्जा गरेर उपनिवेश लादिरहेको ब्रिटिस इन्डियाले भारतबाट कृषि उपज र वनपैदावार तथा खनिजजस्ता कच्चापदार्थ ओसार्न र आफ्नो औद्योगिक उत्पादनका लागि बजार विस्तार गर्न रेल निर्माणको काम अगाडि बढायो । सन् १८६० वरपरबाट रेलमार्ग बन्न थालेपछि नेपालको सिमाना भएर रेल कुद्न थाले । सँगै खासगरी कलकत्ता उद्योग र व्यापारको केन्द्र बन्दै गयो । बिस्तारै नेपालीहरू रोजगारीको खोजीमा भारतीय सहरहरूतिर जान थाले । कोही कोइला काट्न आसामतिर पुगे । कोही दरवान बन्दै दिल्ली र बम्बैतिर । त्यसपछि भारतमा गैह्रसैनिक क्षेत्रमा सेवा गर्न जाने लाहुरेहरूको पनि चरण सुरु भयो । अहिले पनि यो परम्परा कायम छ । दिल्ली, हरियाणा, बम्बै, बैंगलोर जस्ता सहरमा अस्थायी या लामो समय काम गर्न जानेहरूदेखि कश्मिर र हिमाञ्चलमा मौसमी ज्यालादारी गर्न जानेसम्म तथा आसाममा कोइला काट्न जानेहरू अहिले पनि छन् । तराईतिरबाट खेती थन्क्याउने बेला पञ्जाव र हरियाणातिर जाने पनि उत्तिकै छन् ।

नवउदारवादको समयमा नवमहानगरतिरको फड्को
पछिल्लो चरणको विश्वव्यापीकरण सन् १९७५ पछि सुरु भएको मानिन्छ । पोस्ट कोलोनियल पुँजीवादको विकास अवरुद्ध भएको र तेल बिक्रीबाट आएको डलर अरेबियन सेखहरूले पश्चिमी बैंकमा थुपार्दै लगेकाले जम्मा भएको अतिरिक्त पुँजीको लगानीका लागि कम विकसित देशहरूमा बजार खुला गराउन पश्चिमाहरूले प्रयास गरेपछि यो चरणको विश्वव्यापीकरण सुरु भयो । उदारीकरण र निजीकरणका नाममा आएको यो आर्थिक नीतिको हावाले सिर्जना गरेका अवसरहरू केही महानगरमा थुप्रिदै गए । सन् १९९० सम्ममा पुग्दा यसले आर्थिक उन्नति गरेका केही नयाँ महानगरहरू निर्माण गरेको थियो । खाडी क्षेत्रका देशहरू कतार, साउदी अरब, बहराइन, कुवेत यसका उदाहरण हुन् । मलेसिया र दक्षिण कोरियाले सन् ८० को दशकबाट औद्योगीकरणमा फड्को हानिसकेका थिए । यसले खाडी क्षेत्रका देशमा निर्माण, वस्तु उत्पादन उद्योग तथा सेवा क्षेत्रमा काम गर्नेहरूको माग बढाइदियो । कोरिया र मलेसियामा उद्योगमा काम गर्नेहरूको माग भयो । स्थानीय नागरिकले गह्रौं काम गर्न छाडेपछि दक्षिण कोरियामा कृषि क्षेत्रको कडा श्रमयुक्त काममा पनि अरू देशका श्रमिकहरूको माग बढ्न थाल्यो । यहीँबाट नेपालको आप्रवासन प्रवृत्तिले नयाँ चरणमा प्रवेश गरेको मान्न सकिन्छ ।

अहिले वैदेशिक रोजगारको ठुलो हिस्सा यिनै देशहरूमा पुगेको छ । भारत जाँदासम्म स्वतन्त्र रूपमा आफैं जाने र फर्कने नेपाली लाहुरेहरू अब दलाल या म्यानपावर कम्पनीहरूमार्फत श्रम अनुमतिपत्र, पासपोर्ट र भिसाका प्रक्रिया पूरा गरेर, पैसा बुझाएर जान थाले । गएपछि अधिकांशको पासपोर्ट कम्पनीले राख्ने र निश्चित अवधिपुगेपछि मात्र घर आउन पाउने भयो । एकप्रकारका श्रमिक दासत्वको अभ्यास हुन थाल्यो । ठगीको जालोबाट फुत्कन पाउनेहरूले राम्रै कमाइ गर्न थालेपछि त्यता जाने लहर चल्यो र अझै जारी छ ।

व्यक्तिगत सम्बन्धका आधारमा या आफ्नै पहलमा मानिसहरू श्रम आप्रवासनमा जान आउन थालेपछि सरकारले सन् १९८५ मा वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने सम्बन्ध ऐन जारी गर्‍यो । बिस्तारै उल्लेखित देशबाट कामदार माग भएअनुरूप यता सङ्गठित रूपमा माग अनुसारको योग्यता भएका युवाहरूलाई सम्बन्धित कम्पनीमा पठाउन एजेन्टका रूपमा काम गर्ने संस्थाहरू खुल्न थाले । सन् २००० सम्म पुग्दा नपुग्दा यो नेपाली श्रमशक्तिको गन्तव्यको मुख्य प्रवृत्ति बन्न थाल्यो । अहिलेको नेपाली समाजको मुख्य प्रवृत्ति पनि जसरी पनि यस्तो काम गर्न पाउने ठाउँमा जाने रहेको छ । यस प्रवृत्तिप्रति दुःखी हुनु कि रुनु ? २०९ वर्ष अघि सुरु भएको यो सिलसिलामा गन्तव्य, गन्तव्यका उद्देश्य र प्राप्त हुने दुःख सुख बदलिँदै गएको भए पनि आरम्भमा मानिसहरू जाने गरेका ठाउँमा अझै पनि गइरहेकै छन् । कम्तीमा पन्ध्र पुस्तादेखि यो चलन जारी छ र सकिने सङ्केतसम्म पनि छैन ।

नेपालीको मात्र समस्या होइन
यो अन्तरराष्ट्रिय श्रम विभाजनमा आइरहेको नयाँ प्रवृत्ति हो । कम विकसित देशहरूबाट विकसित देशतिर जाने, आफ्नो जीवनस्तर सुधार्ने र बालबच्चाको भविष्य राम्रो बनाउने सपना देख्न पाउनु र त्यसका लागि प्रयत्न गर्नु मानवीय स्वभाव पनि हो र अधिकार पनि । उपनिवेशकालका प्रभावहरूबाट अझै पनि गरिव र द्वन्द्वग्रस्त देश र क्षेत्रबाट हुलका हुल मानिसहरू सके वैधानिकबाटो बाटै नसके अवैधानिक रूपमा शरणार्थी बनेर पनि विकसित महानगरहरूमा जाने क्रम जारी छ । नेपाली लाहुरे संस्कृतिमा आएको यो पछिल्लो प्रवृत्ति पनि विश्वव्यापी लहरबाटै प्रभावित छ । विश्व पुँजीवादी आर्थिक प्रणालीकै अरन खटनको परिणाम हो कि ! नेपाल गरिब छ र मानिसहरू धनी क्षेत्रतिर जान लालयित छन् ।

नेपालमा पाइने ज्यालादर, श्रम गरेर प्राप्त ज्यालाबाट गुजारा गर्न पनि नपुग्ने हुँदा भविष्यका लागि बचाउन र सञ्चय गर्न सकिने सम्भावना कम रहेको वा रहँदै नरहेको मात्र होइन, यता कामको अवसर समेत अत्यन्त कम रहेको कारण जहिले पनि नेपाल भन्दा विदेशको रोजगार प्राथमिकतामा पर्ने गरेको छ । यता आधुनिक क्षेत्रमा कामका अवसर कम हुने र परम्परागत कृषि क्षेत्रमा उत्पादकत्व र बचत दुवै न्यून रहने गरेकाले ग्रामीण क्षेत्रबाट बाहिर निस्कन चाहनेहरूको सहज गन्तव्य वैदेशिक रोजगारी बन्न पुगेको छ ।

प्राप्त गर्न सक्ने अवसर, जुटाउन सकिने खर्च जस्ता कुराले यो आप्रवासनको गन्तव्य अमेरिका या युरोपेली देशहरू अष्ट्रेलिया, क्यानडा प्राथमिकताका माथिल्लो सोपानमा छन् । दोस्रो तहमा तहमा जापान, कोरिया र इजरायल रहेका छन् तथा तेस्रो तहमा खाडीका देशहरू र मलेसिया छन् । कतै पुग्न नसक्नेहरूका लागि भारतीय सहर अहिले पनि गन्तव्यका रूपमा छन् । भारतका हकमा नेपाली आप्रवासनको लामो परम्परा रहेको, त्यहाँको मतदाता बाहेक अरू विषयमा उताका नागरिक सरह व्यापार व्यवसाय गर्न, घर खरिद गर्न, बालबालिका पढाउन पनि सहज तथा नेपाल आउजाउ गर्न पनि सजिलो भएकाले मध्यमवर्गका कतिपय परिवारहरू दिल्ली मुम्बई जस्ता सहरमा सम्मानयुक्त पेशा गरेर बसेका छन् । आइटी क्षेत्रमा उच्च शिक्षा हासिल गरेकाहरूले राम्रो आयस्ता हुने जागिर खाएर पनि बसेका छन् ।

अरेबियन देशमा पहिले कामदारका रूपमा पुगेकाहरू कतिपयले आफै व्यवसाय गरेर अरूलाई जागिर दिने गरी हैसियत बढाएका पनि छन् । यसरी लाहुरे हुने नेपाली परम्पराले एउटा बृहत्तर डायस्पोरिक नेपाली समुदायको निर्माण गरेको छ । पछिल्लो एउटा अनुमानअनुसार अहिले २५ लाख हाराहारीमा नेपालीहरू अस्थायी रूपमा विदेसिएका छन् । तर नेपालको जनगणना २०२१ (सन् का अनुसार जम्मा २१ लाख नेपालीहरू देशबाहिर थिए । यो त्यतिबेलाको कुल जनसङ्ख्याको झन्डै साढे ७ प्रतिशत हुन आउँछ । गतवर्ष (२०२४) मा मात्र ४ लाख भन्दा बढी नेपालीहरू कामका लागि बाहिरिएका थिए ।

अन्त्यमा
लाहुरे, फौज, भर्ती, अरब, कतार, साउदी, मलेसिया (मलाया), हङकङ, बेलायत, अमेरिका, क्यानडा, जापान, इन्डिया, अस्ट्रेलिया, बेल्जियम, ग्रिन कार्ड, रेमिट्यान्स, तेल भिसा, टोपी भिसा आदि शब्दहरू अहिलेको नेपाली समाजका घरघरका चर्चाका शब्दहरू हुन् । यो हाम्रोजस्तो अल्पविकसित देशको मात्र होइन, विकासोन्मुख र मध्यमस्तरका विकसित देशका सन्दर्भमा पनि धेरैहदसम्म लागु हुने श्रम आप्रवासन विश्वकरणको पछिल्लो परिणाम हो । सुविधाका खोजीमा विदेसिनु, कमाइको खोजीमा विदेसिनु, पढाइको खोजीमा विदेसिनु जस्ता कुरा मानवीय स्वाभाविक प्रवृत्ति हुन् । यसले आप्रवासीलाई स्वागत गर्ने र विदाइ गर्ने दुवै देशको समाज र अर्थतन्त्रमा अर्थपूर्ण प्रभाव पारिरहेको हुन्छ । नेपाली श्रमशक्ति र युवाशक्तिको यो सङ्ख्याको अप्रवासनले एकातिर नेपाललाई वार्षिक कुल गार्हस्थ उत्पादनको एकचौथाइभन्दा बढी प्रतिशतको योगदान दिएर धानिरहेको छ, पुँजीनिर्माण प्रक्रियामा योगदान गरिरहेको छ ।

अर्कोतिर यो श्रमशक्तिको प्रयोग गरेर देशको औद्योगिकीरण गर्ने सम्भावना न्युन हुँदै गएको छ । उनीहरूले पठाएको रेमिट्यान्सले परिवारको लालनपालन, कुपोषण घटाउने, शिक्षित नयाँ पुस्ता उत्पादन गर्ने, स्वास्थ्यमा लगानी बढाउने काम गरिरहेको छ । महिलाहरूले आर्थिक स्वतन्त्रता हासिल गरेका छन् पारिवारिक विखण्डन पनि बढिरहेको छ । अर्कोपाटो छ, बाबु आमाबाट अलगिएर हुर्केका सन्तानहरूको न्यास्रो, बृद्धबृद्धाले धानिरहेको परिवार, खाली हुँदै गएको गाउँ र बाँझो हुँदै गएका खेतबारीका लागि यो समूहको योगदान पनि महत्त्वपूर्ण छ । आप्रवासनले ल्याएका समस्या भन्दा चैं यसले समाजमा ल्याएको अर्थसामाजिक परिवर्तन धेरै बलशाली छ ।

मानव बेचबिखन गरेर खाने गिरोह, म्यानपावरको ठगी, यताका दलाल र प्रशासक तथा गन्तव्य देशका दलालहरू समेतको सिन्डिकेटका कारण धेरै आप्रवासी मजदुरको बिचल्ली भएको छ । घरेलु श्रमिकका रूपमा जाने महिलाहरूका कहालीलाग्दा समस्या छन् । यसलाई नियमन गर्न सक्दा श्रम आप्रवासनले नेपालको आर्थिक रूपान्तरणमा महइभ्वपूर्ण योगदान गर्न सक्छ ।

(सुवेदी लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहनुभयो । सक्रिय राजनीतिबाट टाढा भएपछि लेखन, अनुवाद, अनुसन्धानका साथै पत्रकारितामा निरन्तर लाग्नुभयो । अन्तरक्रियामुखी पत्रिका मूल्याङ्कन मासिकका सम्पादक रहिसक्नुभएका उहाँ केही समय नयाँ पत्रिका दैनिकसँग आबद्ध हुनुभयो । उहाँ नेपाल रिडर्स अनलाइनको सम्पादक पनि रहनुभयो । उहाँका नेपाली विद्यार्थी आन्दोलन : आधा शताब्दी (१९९१), ब्रिटिश साम्राज्यका नेपाली मोहरा (२०१२), भूमि, किसान र राज्य (२०१६) गैरआख्यान र आधा जुन (२०१३) उपन्यास प्रकाशित छन् । उहाँले केही पुस्तकहरुको सम्पादन तथा सहसम्पादन पनि गर्नुभएको छ ।)

 

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari