पुँजीवाद र आप्रवासनको अर्थराजनीति

- याेगेन्द्र शाही
ऐतिहासिक भौतिकवादको आँखामा आप्रवासन
मानव समाजको उद्भवसँगै मानिसको स्थान्तरण र आप्रवासन हुने क्रम चल्दै आएको छ । मानव जातिको अहिलेको पुर्खा होमो स्यापिएन्स ३ लाख वर्षअघि अफ्रिकामा उद्भव भएपछि जङ्गली युगमा पनि फलफुल, कन्दमुल र सिकारका खोजीमा प्राप्य स्थानका लागि गतिशील भइरह्यो । श्रमले एप्सबाट कसरी मानिस बन्यो भन्ने विषय एङ्गेल्सले राम्ररी व्याख्या गरेका छन् (Engels, 1876) मानिसको चेतनालाई विकास गर्दै होमो स्थापिएन्सले नै संसारलाई अर्थपूर्ण बनायो । (Harari, 2015) श्रम, जीविकाका लागि स्रोतको खोजी र चलायमान मानिस ढुङ्गे युगको विशेषता नै बन्न गएको थियो । हिमयुगसँगै मानव जातिले महाद्वीपहरू समेत पार गर्यो । सिकार, फलफुल र माछा पाइने रसिलो भरिलो जङ्गल र स्थानहरू जस्तैः बेरिङ समुद्रमा त मानवको घुमन्ते पुर्खा ५ हजार वर्षसम्म बसेर करिब १५ हजार वर्षअघि अमेरिका हुँदै दक्षिण अमेरिका पुगेको मानिन्छ (Meltzer, 2021) । प्राज्ञिक छलफलमै रहेको सोलुट्रियन हाइपोथेसिस अनुसार (Sanford 7 Bradley, 2004) युरोपीय भूभागमा रहेको मानव पुर्खाको एक शाखा हिउँ जमेको समुद्रमै सिकार गरी जीवन व्यतित गर्दै २०,००० वर्ष अघि नै अमेरिकाको पूर्वी भागमा पुगेको मान्यता अघि सारिएको छ । यो हाइपोथेसिस राजनीतिक विवाद रहित भने छैन ।
रेड इन्डिएनहरूभन्दा अघि नै युरोपियन मूलका मानिसहरू अमेरिका पुगेको तर्कले एसियाली मूलका अमेरिकी आदिवासी (रेड इन्डिएन र अन्य) लाई युरोपियन मूलका रूपमा परिभाषित गरिदिने र यसले अमेरिकाको आदिवासीमाथि सिर्जना गरिएको पछिल्लो युरोपियन औपनिवेशिक ज्यादतीलाई धुमिल बनाई सामान्यीकरण गरिदिने प्रतिवादलाई जन्म दिएको छ । (Krausev, 2018, Bamforth, 2013) उत्तर पूर्वबाटै मानव पुर्खाको एक शाखा अस्ट्रेलिया र प्यासिफिक टापुहरूमा पुगेको अर्को मान्यता पनि छ । चीनको गुफामा ४० हजार वर्षअघि भेटिएको मानव पुर्खा दक्षिण अमेरिका, अस्ट्रेलिया र प्यासिफिक टापुहरूमा भेटिएको आनुवंशिक समानताले यो अनुमानलाई आधार प्रदान गर्दछ (Raff cited in Roose, 2025) ।
घुमन्ते युगसँगै वर्तमान मानिसको पुर्खा मध्य एसिया (पामिर र अक्सस क्षेत्रमा) विकास भएको अनि पूर्व र दक्षिण पूर्वतर्फ अघि बढेको थियो । स्थायी पशुपालन र खेती गर्न आरम्भ गरिनसकेको मानिसले जङ्गल सक्दै गयो र जमिन मरुभूमीकरण हुँदै जाँदा जङ्गलयुक्त नयाँ रसिलो भरिलो जमिन पनि खोज्दै गयो । ऐतिहासिक तथ्य, विज्ञानसम्मत प्रमाणहरू, हाम्रा धर्म ग्रन्थहरू र वंशावली लगायतका सङ्कथनहरूलाई ऐतिहासिक र प्राकृतिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा मानिसहरू कसरी एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै विश्वव्यापी भए भन्ने कुरा बुझ्न सकिन्छ (उपाध्याय,२०७४) । मानवको पुर्खाले बेरिङ समुद्र काटी १४८०० वर्षअघि दक्षिण अमेरिका पुगेको अनुमान छ । खसहरू मध्य एसियाबाट पूर्व र दक्षिण पूर्वतर्फ आएको इसापूर्व १५०० देखि २००० वर्ष अगाडिदेखि नै हो । (सांकृत्यायन, १९४८) । कृषि युग सुरु हुनुभन्दा अघि नै आजभन्दा करिब ९००० देखि १०००० वर्ष अघिदेखि पश्चिम एसियाबाट मानिसहरू पूर्वतर्फ निरन्तर आप्रवास गरेको दावी रहेको छ । कृषि युगसँगै पश्चिम र मध्य एसियाबाट ४६०० देखि ३००० वर्ष अघिसम्म मानिसहरू निरन्तर ठुल्ठुला बसाइँ सरेको मानिन्छ (Moorjani, 2013) । हिमालय क्षेत्रमा खस आर्यनहरू पश्चिमबाट पूर्वतिर किराँत तथा मङ्गोल मूलका जातिहरू पूर्वबाट पश्चिमतर्फ फैलिएको ३००० वर्षदेखि यता निरन्तर हो । यसै क्रममा चारै दिशाका मानिसहरू विभिन्न समयमा आएर काठमाडौँ उपत्यका एक मेल्टिङपटका रूपमा विकास भएको हो ।
दासयुग र सामन्तवादको विकास र साम्राज्यहरूको उदयसँगै मानिसहरूको विभिन्न ठाउँमा बस्ती स्थानान्तरण र आप्रवासन हुन गएको पाइन्छ । मेसेडिएन, रोम, हान, गुप्ता, मौर्य, कुसान, प्रसिया बजेन्टाइन, मङ्गोल, अटोमन आदि प्राचीन साम्राज्य विस्तारसँगै मानव जातिका शाखाहरू एक स्थानबाट अर्को स्थानमा विस्तारित भएका छन् । रेशम मार्गको विस्तार र व्यापारको विकाससँगै विभिन्न सभ्यताका बजारहरू विकास भएका थिए । जस्तै : चीनको ग्वाङ्जाओमा पर्सियन, भारतीय, सिन्धी र अन्य विभिन्न देशका व्यापारिक कोलोनीहरू थिए । यस कालमा युरोपको उत्तरी भाग, अफ्रिका र मध्य एसिया आदि देशबाट दासका रूपमा मध्यपूर्वका बजारहरूमा धेरै मानिसहरूको बिक्री गरिन्थ्यो । दासहरू राज्यका जितेका मालिकसँगै संसारको एक कुनादेखि अर्को कुनासम्म पुगे । रोम साम्राज्यको उभारको बेला २ लाख ५० हजारदेखि ४ लाखसम्म दासहरूको आवश्यकता हुन्थ्यो । पर्सिया, बग्दाद, समरकन्द जस्ता ठाउँहरू त्यो बेला व्यापारका केन्द्र थिए । दासहरूको आकार प्रकारबारे क्याटलग नै बनाइएको हुन्थ्यो । खसी बाख्राको बेचबिखन जस्तै मोलमोलाइ गरी दासहरू किन्ने चलन थियो । इसाको आठौँदेखि दसौँ शताब्दीका बिचमा वस्तु विनिमयका साधन नै दासहरू थिए (Frangepan, 2015, pg.117-140) । दास र सामन्तवादी दुबै युगमा उत्पादनशील कृषिभूमि, चरन क्षेत्र, पानी पाइने स्थानको अनुकूलता हेरी मानिस एक स्थानबाट अर्को स्थानमा सरेको पाइन्छ । हावापानी परिवर्तन, प्राकृतिक विपद्र बाढी पहिरो आदि कारणले पनि मानव जाति निरन्तर बसाइँ सर्न बाध्य भएको थियो । शासक वर्गको चरम शोषण, जातीय र पारिवारिक द्वन्दका कारण पनि संसारमा परम्परागत धेरै बस्तीहरू स्थानान्तरण भएको पाइन्छ । ऐतिहासिक भौतिकवादको आँखाबाट हेर्दा सिङ्गो मानव जाति प्रकृतिसँगको अन्तर्क्रियामा श्रमको भूमिका सँगै ऊ विकसित हुँदै जाँदा जीविकोपार्जनका लागि निरन्तर बसाइँ सर्दै गएको हुनाले मानवजातिको सिङ्गो इतिहास आप्रवासनको पनि इतिहास हो भन्न सकिन्छ ।
जनजीविकाका लागि आन्तरिक र बाह्य मौसमी स्थानान्तरण
जनजीविकाका लागि कठोर भूगोलमा गरिने परम्परागत मौसमी प्रवासनको प्रकृति फरक खालको हुन्छ । यस्तो मौसमी आप्रवासन परम्परागत व्यापार, स्रोत सङ्कलन र कठोर वातावरणीय दुष्प्रभाव आदिमा आधारित हुन्छ ।
नेपालको दुर्गम हिमालय क्षेत्रमा कृषि, पशुपालन, कामका लागि मौसमी पलायन, जडीबुटी तथा यार्चागुम्बा सङ्कलन र परम्परागत व्यापारले स्थानीय जनजीविकाको गतिशीलता र मौसमी आप्रवासनलाई सङ्केत गर्दछ । संसारका अन्य दुर्गम स्थानहरूमा पनि यस्ता विशेषताहरू विद्यमान रहेका थिए । इसाको पहिलो शताब्दीदेखि १४औँ १५औँ शताब्दीसम्म एसियाको रेसम मार्ग (शर्मा, २०१८) मसला र सुती कपडा मार्गहरू युरोपमा छालाको भुवाको व्यापार र नुनका मार्गहरूमा मानिसको व्यवसाय र अन्तर्क्रियाका कारण यस्ता अस्थायी मौसमी मानव गतिशीलता विकास भएको पाइन्छ (Frangepan, 2015; Khanna, 2016; Harari, 2016) । नेपालको हिमालय क्षेत्रमा मानिसहरूले आफ्नो जीविकाको लागि विभिन्न रणनीति अपनाउँदै आएका छन् । खेती याममा किसान, सुक्खा याममा खच्चर व्यापारी र हिउँदमा भारतका सहरहरूमा मजदुरका रूपमा काम गर्नु, यो परम्परागत वर्गीय विश्लेषण (class analysis) भन्दा फरक छ किनभने यसमा एकै व्यक्ति विभिन्न भूमिकामा हुन्छ (जस्तै व्यापारी, सानो किसान र मजदुरपनि) । हिमालयको भौगोलिक र जलवायुगत विशेषताले जनजीविकालाई निर्धारण गरेको हुन्छ । यो एकातर्फ परम्परागत छ भने अर्कोतर्फ वैश्विक पुँजीवादी प्रभावबाट पनि अछुतो छैन ।
बिसप सी. बेर्री (१९९०) ले कर्णाली क्षेत्रको व्यापारको चरित्रका बारेमा लेखेका थिए— “आधुनिक संसारमा तमाखुको चिलिम भरेर समय नापो गर्ने यात्राहरूको लागि सायद संसारमा अरू कुनै ठाउँ छैन । … जीवन कठिन तर सहनशील थियो किनभने व्यापार र गतिशीलताको विकल्पहरूले सीमित संसाधनहरूको कमीलाई पूरा गर्थ्यो ।’’
उनको यो टिप्पणी १९७० को दशकमा आधारित थियो तर अहिले परिस्थिति परिवर्तन भएको छ । पशुपालनमा आधारित परम्परागत व्यापार ढल्न थालेपछि, कर्णालीका मानिसहरू काठमाडौँमा कार्पेट व्यापारी, हिमाली जडीबुटी सङ्कलन वा भारतमा मौसमी मजदुर बन्ने क्रम चलेको छ । अहिले यार्चागुम्बा (“हिमालयको सुन”) को खोजीमा लेक र पाटनहरूमा रोजगारीका लागि पुग्न थालेका देखिन्छन् ।
यार्चागुम्बा जस्तो व्यापार सानो– स्तरको र स्वश्रम–केन्द्रित देखिन सक्छ, तर यो नेपालको काठमाडौँ तथा चीन लगायत विश्वका अन्य देशका बजारसँग जोडिएको छ । हिमालयको सान्निध्यले यहाँका मानिसहरूलाई विश्व पुँजीवादी बजारमा एक विशेष भूमिका खेल्ने अवसर (जस्तै दुर्लभ जडीबुटी आपूर्तिकर्ता दिएको छ तर बेरोजगारी र अविकासको मूल समस्या भने हल गर्न सकेको छैन । यसले वातावरणीय दिगोपन, बालबालिकाको शिक्षा र सामाजिक परम्परामा ह्रासोन्मुख स्थिति पनि निम्त्याएको छ (Shahi,2014) ।
निष्कर्षमा भन्नुपर्दा यस्तो आन्तरिक मानव गतिशीलता अस्थायी र मौसमी खालको भए तापनि विश्व बजार र पुँजीवादी प्रभावसँग अछुतो छैन । प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन हुन नसकी यसमा आधारित उद्योग धन्दा खुल्न नसक्दा र परम्परागत व्यापार पनि धरासायी हुँदा कामका लागि विदेश जाने चलन नेपाल र नेपालजस्ता अल्पविकसित देशहरूको बाध्यता बनेको छ । वैश्वकीकरण पश्चात विकास भएका तीव्र पुँजीवादी केन्द्रहरू र परिधिमा गहिरिएको निरन्तर अविकासका कारण आप्रवासनको समस्या झन् गहिरो बन्दै गएको छ ।
पुँजीवाद र आप्रवासन
पुँजीवादको अभ्युदयसँगै आप्रवासनले गति पाएको थियो । कार्ल मार्क्सले पुँजी खण्ड १ मा (पृष्ठ ५०३ हेर्नुहोस् मा १५औँ शताब्दीको अन्तिम चौथाइका वर्षहरू र १६औँ शताब्दीको पहिलो दशकमा पुँजीवादी उत्पादन प्रणालीको आधार खडा भएको मानेका छन् । भूमिमा टाँसिएर जीविकोपार्जन गरिरहेका किसानहरू श्रमिकका रूपमा ठुलो संख्यामा यही बेला सहरी केन्द्रहरूमा भित्रिए । यो प्रक्रिया बेलायतमा सुरु भएपछि युरोपमा विस्तार भएको थियो । कार्ल मार्क्सले बेदखल गरिएका ती किसान जोताहाहरूलाई नै सर्वहारा श्रमजीवी वर्गको रूपमा चित्रण गरेका थिए । भूमिपति र पुँजीपति वर्गले ऊन उत्पादनका लागि मिलेमतो गरी किसानहरूलाई भूमिबाट बेदखल गरी सस्तो श्रमिकका रूपमा सहर पठाएको थियो । यो प्रक्रियालाई पुँजीवादी विकासको पूर्वसर्तका रूपमा कानुनतः अगाडि बढाइएको थियो । यसबाट पुँजीपतिहरूले एकातिर किसानहरूको आदिम पुँजी सञ्चय गरे भने अर्कोतिर उद्योगहरूमा किसानकै सस्तो श्रम प्रयोग गरी अतिरिक्त मूल्य या पुँजीको पनि सिर्जना गरे ।
बेलायती साम्राज्यको बढ्दो शक्ति र औद्योगिक क्रान्तिको उचाइसँगै उद्योगको विस्तार तीव्र भयो । ठुला जहाजहरू र रेलवेबाट बजार विस्तार र कच्चा पदार्थको आपुर्ति सहज हुन गयो । यसले पुँजीवाद र श्रमिक दुबैलाई स्थानान्तरण गरी वैश्वीकरण गरिदियो । सिङ्गापुर र मलेसिया रबर स्टेट र निर्माणमा काम गर्ने चिनियाँहरू, श्रीलङ्काका टि स्टेटमा काम गर्ने तमिलहरू, दार्जिलिङ टि स्टेटमा काम गर्ने नेपालीहरू, बेलायत अफ्रिकालगायत स्थानमा स्थानान्तरण भएका भारतीयहरूलगायत अन्य धेरै आप्रवासीहरू पुँजीवादी विकास (टि स्टेट, रेलवे र गार्मेन्ट आदि उद्योगहरू) सँगै कामका लागि ती देशमा गई बसोबास गर्न सुरु गरेका थिए ।
मार्क्सवादी अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा आप्रवासी श्रमिकहरू अतिरिक्त मूल्य सिर्जनाका लागि आकर्षक स्रोतहरू हुन् या उदार पुँजीवादी अर्थतन्त्रमा प्रयोग गर्ने गरिएको श्रम बजारका लागि सस्ता श्रमका स्रोतहरू हुन् । मार्क्सवादी अर्थशास्त्री डेभिड हार्बे का अनुसार पुँजीवादले जमिनको दखली, सार्वजनिक र साना पुँजीहरूको निजीकरण र कठोर सरकारी मितव्ययिताका कारण निरन्तर आप्रवासनलाई प्रश्रय गरिरहेको हुन्छ (Harvey, 2004) । राजनीति अर्थशास्त्रको दृष्टिले हेर्दा विभिन्न देश र केन्द्रमाझ रहेको आर्थिक असमानता, न्युन ज्याला र उच्च ऋणका कारण आप्रवासन बढिरहेको छ । दिनानुदिनको जीविकोपार्जन र आप्रवासनलाई प्रश्रय दिइरहेका एजेन्सीहरूका कारण यो प्रक्रियालाई तीव्रता दिएको छ (Rumsby,2024, Pg, 18) ।
सन् १९८० को दशकदेखि सुरु भएको नवउदारवादी वैश्वकीकरण र १९९० पछिको एक ध्रुवीयताले स्वतन्त्र व्यापार, वैदेशिक लगानी, निजीकरण श्रम बजार जस्ता अवधारणालाई अघि बढाई राज्यको दायित्वलाई नजरअन्दाज गर्यो । उच्च पुँजी निवेश भएका र व्यापार प्रवर्धन गर्न सकेका दक्षिण पूर्वी एसियाली देशहरू चीन र भारत आर्थिक विकासमा माथि उठे । ती देशहरू आर्थिक विकासका उपकेन्द्रका रूपमा विकास भए (मिश्र, २०१८) । मध्यपूर्वका देशहरू तेलस्रोतमा आधारित भई पुँजीवादी विकासको सिँढी चढे तर नेपाल लगायत दक्षिण एसिया र अफ्रिकाली देशहरूले वैदेशिक निवेश र व्यापार दुबैको फाइदा लिन सकेनन् । उपसहारा क्षेत्रका कतिपय देशहरू त झनै गरिबीको थप चक्रमा फस्न पुगे (Chang, 2010) । युवाको जनसाङ्खिक लाभ लिनसक्ने अवस्थामा रहेका यस्ता देशहरू अहिले युवा श्रमिक निर्यातक बन्न पुगेका छन् । समीर अमिनले उद्यम र रोजगारी सिर्जना नगर्ने परनिर्भरता कायम गर्ने अनुत्पादक पुँजीलाई नै दलाल पुँजीका रूपमा चित्रित गरेका छन् । नेपाल जस्ता देशको युवाको श्रम बिक्री गरेर आयात गरेर खाने अर्थतन्त्र एक प्रकारले परनिर्भर या दलाल हुन्छ (भुसाल, २०५९; Ghosh, 2021) ।
समीर अमिन, पाउल ए ब्रायन, पाउल स्विजी लगायतका मार्क्सवादी अर्थशास्त्रीहरू आप्रवासनले असमान श्रमको साटफेर गरी विकासोन्मुख देशहरूलाई झनै परनिर्भर र अविकासतिर धकेलेको बताउँदछन् । उनीहरू यसलाई विश्व पुँजीवाद र साम्राज्यवादको एउटा कडीका रूपमा हेर्दछन् । नेपालका सन्दर्भमा पनि नेपालको अविकासको कारण बाह्य आप्रवासन बढिरहेको र बाह्य आप्रवासनले नेपालको अविकासलाई थप मलजल गरेको निष्कर्ष निकालेका थिए (श्रेष्ठ, १९८५) ।
आप्रवासन र विप्रेषणको अर्थराजनीति
सन् २०२० सम्मको स्थिति हेर्दा अन्तराष्ट्र्रिय आप्रवासी मध्ये ८७ र ८६ मिलियन मानिसहरू युरोप र एसियाले ओगटेको देखिन्छ । यो कुल अन्तर्राष्ट्रिय आप्रवासनको ६२ प्रतिशत हो । उत्तर अमेरिकाले कुल ५९ मिलियन आप्रवासीमा २१ प्रतिशत आप्रवासीलाई समेटेको छ (आइओएम, २०२४) । आप्रवासीसँग जोडिएको विप्रेषणको अर्थतन्त्र विश्व अर्थतन्त्रको अभिन्न अङ्ग बनेको छ । सन् २००० देखि २०२२ सम्म विश्व्यापी विप्रेषण १२८ बिलियन अमेरिकी डलरदेखि ८३१ बिलियन अमेरिकी डलर पुगी ६५० गुणाले बढ्न गएको छ (आइओएम, २०२४) ।
मार्क्सवादी दृष्टिकोणबाट हेर्दा आप्रवासी कामदारहरूको ज्याला श्रम बजारले तय गर्ने भनिए पनि जाति, लिङ्ग र राष्ट्रियताका कारण पुँजीवादले उनीहरूको श्रमको अधिक शोषण गरी उच्च अतिरिक्त मूल्य सिर्जना गर्दछ । उनीहरू निकै दुःखपूर्ण अवस्था (precarious working condition) मा बस्दछन् । यसले गरिबी निवारण गर्न मद्दत गरे पनि देशमा स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माण र औद्योगिकीकरणको दिशामा अघि बढ्न परनिर्भरता सिर्जना गर्दछ । उदाहरणका लागि चीन र दक्षिण पूर्वी एसियाका देशहरू कोरिया, ताइवान, सिङ्गापुर आदिले वैदेशिक लगानीमार्फत औद्योगिकीकरण र व्यापारमा जोड दिएको हुनाले तीब्र आर्थिक विकासमार्फत छिटो विकास गरे । जापानले त दोस्रो विश्वयुद्ध लगतै ६०को दशकमै विकासमा फड्को मारिसकेको थियो भने भियतनाम, भारत, इन्डोनेसिया लगायतका देशहरू पछिल्लो अवधिको आर्थिक वृद्धिमा फड्को मारिरहेका छन् तर फिलिपिन्स सन् ७० को दशकमा नै माथि उल्लेख भएका देशहरू भन्दा निकै अघि भए तापनि विप्रेषणलाई मूलाधार बनाएको हुँदा लामो समयसम्म उल्लेख्य आर्थिक विकास गर्न नसकी मध्य आयको चक्रमा फसिराख्यो । दक्षिण कोरियाको सन् १९७५ मा प्रतिव्यक्ति आय २१७ अमेरिकी डलर थियो भने त्यही बेला फिलिपिन्सको प्रतिव्यक्ति आम्दानी ११३३ अमेरिकी डलर थियो । सन् २०२४ मा हेर्दा दक्षिण कोरियाको प्रतिव्यक्ति आम्दानी ३६,०२४ अमेरिकी डलर छ भने फिलिपिन्सको ४०२३ अमेरिकी डलर रहेको छ । यसैगरी दक्षिण कोरियाको २०२४ मा कुल विप्रेषण १.९३ बिलियन अमेरिकी डलर थियो भने फिलिपिन्सले प्राप्त गर्ने रेमिटेन्स ३८.३४ बिलियन अमेरिकी डलर थियो (विश्व बैक, २०२५; आइओएम, २०२४) । औद्योगिकीकरण र व्यापारमा आधारित दक्षिण कोरिया र विप्रेषणमा आधारित फिलिपिन्सको अर्थतन्त्रको उदाहरणलाई हेर्दा विप्रेषण गरिबी निवारणका लागि सहयोगी भए पनि देशको दिगो विकास र समृद्धिका लागि उपयुक्त हुन सक्दैन भन्ने देखाउँछ ।
आप्रवासन विप्रेषण र आयात निर्यातका तथ्याङ्कहरूः
नेपालमा दैनिक २६ सय युवा वैदेशिक रोजगारका लागि विदेश जान्छन् । गैरकानुनी रूपमा विदेश जानेको सङ्ख्या र भारत जानेको सङ्ख्यासमेत जोड्दा ५० देखि ६० लाख जनसङ्ख्या कामका लागि विदेशमा रहेको अनुमान गरिएको छ । कानुनी रूपमा कामका लागि विदेश जाने सङ्ख्या २०००/०१ मा ५५,०३० थियो यो सङ्ख्या सन् २००९/१० मा २,९४,०९० पुग्यो भने २०२४/२५ सम्म आइपुग्दा यो सङ्ख्या ७,४१,२९७ पुगेको छ । नेपालले प्राप्त गरेको विप्रेषण क्रमशः २०००/०१ मा ६३९.५ मिलियन अमेरिकी डलर, ३१०८.९ मिलियन अमेरिकी डलर र सन् २०२४/२५ मा नेपालले ३.८७ विलियन मिलियन अमेरिकी डलर रहने गरेको छ ।
विश्व बैंकको सन् २०२२ र सन् २०२३ को तथ्याङ्कलाई दृष्टिगत गर्दा कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान सबैभन्दा बढी हुने देशहरूमा टोङ्गा ४१.९ प्रतिशत (पहिलो स्थान), ताजकिस्तान ३८.४ प्रतिशत, लेवनान ३०.७ प्रतिशत, सामोआ २८.२ प्रतिशत, निकारागुआ २६.१ प्रतिशत, होन्डुरस २६ प्रतिशत र नेपाल २५.४ प्रतिशत (सातौँ स्थान) रहेको छ ।
वैदेशिक रोजगारीले कम विकसित देशमा गरिबी घटाउन मद्दत गरेको विश्व बैंक, आइएलओ, सरकारहरू र अन्य सङ्गठनहरूको तर्क आफैमा साँचो हो । नेपालका सन्दर्भमा पनि देशका सरकारहरूले अर्थतन्त्र निर्माणमा खेलेको भूमिकाका कारण गरिबी घटेको होइन, बरु विदेश गई पसिना चुहाएर नेपाली युवाले पठाएको रेमिटेन्समा देश बाँचेको र गरिबी घटेको हो । सन् २००० मा नेपालको निरपेक्ष गरिबी ४० प्रतिशत थियो र यो २०१० मा आइपुग्दा २५.१६ प्रतिशत र २०२४ सम्म आइपुग्दा निरपेक्ष गरिबी २०.२७ प्रतिशतमा झर्नुमा विप्रेषणको प्रमुख भुमिका छ ९ल्ीक्क्, २००१/ २०११/ २०२१) । औद्योगिक उत्पादन र निर्यातको कुल योगदान घटेको बेला यही विप्रेषणका कारण नै गरिबी घटेको बुझ्न गाह्रो छैन । यही अवधिमा नेपालले गरेको निर्यातको स्थिति हेर्दा २०००/२००१ मा १ खर्ब १५ अर्ब ६८ करोड रूपैँया रहेकोमा २०२०/२०२१ मा १५ खर्ब ४९ अर्ब कुल वार्षिक निर्यात भएको देखिन्छ (Gon २००१/२०२१) । नेपाल सरकारको २०२२ को तथ्याङ्कलाई हेर्दा कुल गार्हस्थ्य उत्पादनमा आयातको अंश ४४ प्रतिशत र निर्यातको अंश ५ प्रतिशत रहनुले पनि (अधिकारी, २०२३) निरन्तर वृद्धि भएको विप्रेषणबाट अर्थतन्त्र धानिएको र यसले निर्यातलाई निकै बढाएको स्पष्ट हुन जान्छ ।
वैदेशिक लगानी र उद्योग स्थापना खासै हुन नसक्दा विप्रेक्षण भने अर्कैतिर निर्यातित सामानको खर्च धान्न प्रयोग गरियो । विप्रेषणलाई उत्पादनका क्षेत्रमा लगानी हुन नसक्दा विदेशमा नेपाली युवाले श्रम गरेको पैसाले देशलाई समृद्धिको दिशातर्फ लिन मद्दत गर्न सकेको छैन । त्यसैले विप्रेषणले पुँजीवादी सङ्कटलाई युथ बल्जका लागि सेफ्टी भल्भका रूपमा काम गर्दछ (युथ भिजन, २०२५) र पुँजीवादी केन्द्रमा सस्तो श्रम उपलब्ध गराई विकासोन्मुख देशका नागरिकले श्रम गरेवापत केही सहुलियत प्राप्त गरेको अवस्था जस्तो मात्रै हो । विप्रेषणका कारण ग्रामीण अर्थतन्त्र महिलाकरण भएको छ र सामाजिक कार्यमा सशक्तीकरण भएको पनि छ । श्रम शक्तिको अभावमा धेरैजसो परम्परागत कृषिभूमि बाँझो रहने अवस्था सिर्जना भएको छ (अधिकारी, सन् २०२१; सेडोन सन् १९९८) । अझ युवा विकसित देशमै सदाका लागि बस्ने प्रवृतिले ब्रेन ड्रेन र क्यापिटल फ्लाइट समेत हुन पुग्दा ग्लोबल साउथ झन् परनिर्भर भई अविकसित हुँदै जाने र विकसित देशहरू झन् विकास हुँदै जाने स्थिति देखापर्दछ ।
विकसित देशमै पनि परिधि र पुँजीवादी केन्द्रको आप्रवासनको समस्या जिउँदो छ । दक्षिणी युरोपका देशहरूका कामदारहरू उत्तर जानु र पूर्वी युरोपीय देशका नागरिकहरू कामका लागि पश्चिम युरोप नगई जीविकोपार्जन हुन नसक्ने अवस्था छ । गाउँ र सहरको विभेद झन् चर्किएको छ ।
श्रम आप्रवासन एक आर्थिक साम्राज्यवादका रूपमा विकास भएको छ । यसले जीविकोपार्जनका लागि गरिब राष्ट्रहरूलाई केही राहत भए पनि यसले ती देशको विकासका लागि निर्णायक भूमिका खेल्न सकेको छैन । (Ness, 2023) । यो दक्षिणपन्थी लोकरञ्जनवादले रैथाने र आप्रवासी मजदुरको विभाजन सिर्जना गरी आम मजदुरका अधिकारहरूलाई कमजोर बनाउन खोजेको भए तापनि मजदुरहरू एकीकृत रूपमा अधिकारका लागि लड्नुपर्ने देखिन्छ ।
मार्क्सले “मजदुरको कुनै देश हुँदैन” भनेका थिए । आप्रवासी कामदारका लागि काम जहाँ पाइन्छ, त्यही नै उनीहरूको देश हो तर आधुनिक पुँजीवादमा जहाँ काम पाइन्छ, मजदुरहरू त्यहाँ जान स्वतन्त्र छैनन् । कामका लागि पुँजीवादका विभिन्न तहगत केन्द्रहरू बनेका छन् । कामका लागि जान पनि लगानी चाहिन्छ । लगानीअनुसार यी आप्रवासी कामदारहरूको पनि उपवर्गहरू बनेका छन् । मध्यम र धनी नेपाली अमेरिका, युरोप, अस्टे्रलिया जान प्रयासरत छ भने निम्नमध्यम मलेसिया र खाडी देशतिर सोझिरहेका छन् । सबै भन्दा कमजोर वर्ग मौसमी कामदारका रूपमा भारत जाने गर्दछन् (शाही, २०१४) । यो कुनै भाषिक संयोग होइन भने मौसमी कामका लागि जाने पश्चिम नेपालका आप्रवासीहरू भारतलाई देश जाने भन्दछन् । सायद काम पाउने ठाउँलाई उनीहरूले देश भनेका हुन् कि ? त्यसैगरी अलि हुनेखाने नेपालीले अमेरिकालाई मात्र देश भन्न थाले तर अमेरिकाले “यो तिमीहरूको देश होइन” भनिदियो ।
यहाँका धनी अमेरिकामा गएर मजदुर बने भने उसमा रहेको मध्यम वर्गीय चरित्र या सामन्तवादी चिन्तनमा केही फरकपन आउँछ । उसले श्रमको महइभ्व र श्रमबाट सृजना हुने पुँजीको महत्त्व बुझ्दछ । यदि ऊ पुँजी र सिपसहित नेपाल फर्कियो भने एउटा राम्रो उद्यमी भई राष्ट्रिय पुँजीको विकासमा मद्दत पुग्न सक्दछ । तर यदि उ नेपालको पुँजी समेत लिएर कहिल्यै नेपाल फर्किएन र उसमाथि देशले गरेको सबै लगानी उतैका लागि हुने र अरू सम्बन्धितलाई पनि उतै लैजाने भयो भने नेपालजस्ता देशलाई यो उपक्रमले परनिर्भर र गरिब बनाउन मात्र मद्दत गर्नेछ । त्यो बेला नेपालमा रहेका नातागोतालाई केही खर्च पठाउने र भविष्यमा अमेरिकामै त्यो आप्रवासी धनी बनेमा नेपालमा केही लगानी गर्ला कि भन्ने झिनो आशा गर्नेबाहेक देशसँग बाँकी धेरै केही रहँदैन ।
शिक्षा, ब्रेन ड्रेन र क्यापिटल फ्लाइट
नेपालबाट विदेशमा आफ्नै पैसा खर्चगरी शिक्षा ग्रहण गर्न एनओसी लिएको सङ्ख्या आर्थिक वर्ष वि.सं. २०८०/८१ मा कुल १ लाख ८ हजार ४ सय ७६ जना थिए । सोही वर्ष नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न औपचारिक रूपमा बाहिरिएको रकम १ खर्ब २५ अर्ब रहेको छ । विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्यामा एक दशक अघिको भन्दा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष वि.सं. २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी आवेदन दिएकोमा आर्थिक वर्ष वि.सं. २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए ।\ आर्थिक वर्ष वि.सं. २०७१/०७२ देखि २०८०/०८१ सम्ममा ६ लाख ३९ हजार १४८ विद्यार्थीले एनओसी लिएका छन् (बिबिसि नेपाली सेवा, २०८१; रातोपाटी, २०८१) । उच्च शिक्षा ग्रहण गर्न खर्च भएको रकम र बाहिरको विश्वविद्यालयलाई तिर्नुपर्ने पैसा समेत गर्दा एक विद्यार्थीका लागि नेपाल सरकार र परिवारको ठुलो घनराशी खर्च भएको हुन्छ । तथ्यहरूले के देखाउँछ भने अधिकांश विद्यार्थी पढ्ने नाममा काम गर्न विदेश जाने उद्देश्य राख्दछन् र विकसित देशमै स्थायी बसोबास गर्ने भित्री उद्देश्य रहेको हुन्छ । मध्यम र निम्न मध्यम वर्गका विद्यार्थीहरूले ऋण जोहो गरेर लिएको रकम केही वर्षमा धेरैले घर परिवारलाई फिर्ता गर्दछन् । ऋण तिर्नुपर्ने बाध्यताले धेरै घण्टा काम गर्नुपर्ने भएकाले अधिकांश विद्यार्थीले पढाइ राम्रो गर्न पाउँदैनन् । यो अध्येताले विकसित देशमा अध्ययन गर्दै गरेकी एक नजिकको विद्यार्थीलाई अध्ययन र कामको विषयमा सोध्दा दिइएको जवाफ यस्तो थियो : “हामी त मजदुर हौँ नि दाइ ! के को विद्यार्थी । कलेजको फि निकै महँगो छ । काम बेस्सरी गर्यो अनि फि उनीहरूलाई तिर्न ठिक्क हुने व्यवस्था बनाएका छन् । लखतरान थाकिएको हुन्छ के को पढ्ने ? आफूलाई बल्लतल्ल कोठा भाडा तिर्न र भात खान पुग्छ । केही बचाउन सकेमा पढ्न आउँदाको ऋण तिर्ने हो ।”
पढेर काम गर्न र स्थायी बसोबास गर्न पाएमा ८–१० वर्षपछि जीवन राम्रो बनाउने सपनाले उनीहरूलाई बचाइरहेको हुन्छ । राज्य र परिवारले लगानी गरेर पठाएको एक युवा विद्यार्थी विदेशमै स्थायी बसोबास गर्दा उसले नेपालमा भएका परिवार र सम्पत्ति पनि विदेश लैजाने र आफ्नो सिप दक्षता पनि उतै प्रयोग गर्दा नेपालजस्ता देशहरू ब्रेन ड्रेन र क्यापिटल फ्लाइटको दोहोरो मारमा पर्न जान्छन् । यसले कम विकसित देशहरूको अविकासको चक्रलाई झन् गहिरो बनाइदिन्छ । यस्तो बेला अहिलेको त्यो विद्यार्थीले कुनै बेला विदेशमा धेरै पैसा कमाएर नेपालमा केही लगानी गर्ला कि भन्ने झिनो आशामात्र बाँकी रहन्छ ।
आप्रवासनका अन्य कारणहरू
जलवायु परिवर्तन र प्राकृतिक विपद्
पुँजीवादले आर्थिक वृद्धि मोडल र उपभोक्तावादले विश्व जलवायु र वातावरणमा असन्तुलन निम्त्याएको छ । भूमि र प्राकृतिक स्रोतमाथि आश्रित तेस्रो विश्व र ग्लोबल साउथका देशमा तापमानमा वृद्धि उच्च हुने, खडेरी बाढी पहिरो डुबानजस्ता प्राकृतिक विपद्का कारण उत्पादन घट्ने र आर्थिक सङ्कटहरू बढ्दै जाने (Foster, २०१५) भएकाले वैकल्पिक रोजगारीका लागि स्थानान्तरण हुन बाध्य हुन्छन् । कार्ल मार्क्सले यसलाई मानव जाति र प्रकृति बिचको ‘मेटाबोलिक रिफ्ट’ भनेका छन् । (मार्क्सले यसलाई मानव जाति र प्रकृति बिचको मेटाबोलिक रिफ्ट भनेका छन् । यो प्रकृतिको अति दोहनका कारण सिर्जना हुने संकट हो । मान्छे सभ्यताको विकाससँगै आफ्नो पदचापमा मरुभूमीकरण छाडेको छ (स्चुम्याचर, सन् १९७३) मानव इतिहासमा पनि जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण ठुला ठुला बसाइँसराइ भएका छन् ।
द्वन्द्व र युद्ध
संसारमा हाल २८८ मिलियन आप्रवासन गर्ने मानिसहरूमध्ये ११७ मिलियन त विस्थापित हुने मानिसहरू पर्दछन् (आइओएम, २०२४) । पुँजीवादको निरन्तर नाफामुखी चरित्रका कारण यसले अन्य देशको प्राकृतिक स्रोत र साधनमाथि कब्जा जमाउन युद्धको सहायता लिन्छ । उसले देशहरू माझ द्वन्द्वहरू पनि सिर्जना गरिरहन्छ । यसैकारणले सायद अमेरिकी राष्ट्रपति आइजनआवरले हतियार उद्योग प्रजातन्त्रका लागि खतरा हुने औँल्याएका थिए । पुँजीवादको मिलिटरी कम्प्लेक्सले अतिरिक्त श्रमको मूल्यमा मात्र टिक्न सक्दैन, बरु यसले निरन्तर युद्ध खोजिरहन्छ र युद्धमा गुमेका मानव लासको मूल्यमा निरन्तर अतिरिक्त नाफा सिर्जना हुन्छ अर्थात् आधुनिक हतियारको युद्धमा निरन्तर प्रयोग र यसले देखाउने नरसंहारी शक्तिले नै यसको बजारलाई बलियो बनाउँछ । सुरक्षा र असुरक्षाको वातावरणमा शक्तिराष्ट्रहरू मात्र होइन, अधिकांश देशहरू रकारी तहबाट नै नयाँ नयाँ हतियार निर्माण गर्ने र किन्ने होडबाजीमा छन् । संसारको आर्थिक, भौतिक र मानवीय विकासका लागि अत्यावश्यक पूर्वाधार निर्माण, उद्योग स्थापना, प्रविधि विकास, शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्न पुग्ने रकम नरसंहारकारी हतियार निर्माण र बेचबिखन जस्तो अमानवीय क्षेत्रमा खर्च भइरहेको छ भने अर्कोतर्फ गरिबी र भोकमरीका कारण मानिसहरू पुँजीवादका केन्द्रतिर भाैतारिरहेका छन् ।
पुँजीवादको चरित्र कसरी साम्राज्यवादी हुन्छ भन्ने विषयमा लेनिनको विश्लेषण अहिले पनि सार्थक देखिन्छ (लेनिन, १९१६ ) । मार्क्सको उत्पादक पुँजीवादको चरित्र (मार्क्स हेरिएको भुसाल, २०१४) अनुसार यसले पुनःउत्पादन र रोजगारी सिर्जना गर्ने भएकाले आफैमा प्रगतिशील पनि हुन्छ । यसले पुँजी र उत्पादनलाई विस्तार गर्दछ तर असमानता गहिरो गरी ल्याउँछ । तर पुँजीवाद आफैमा दलाल बन्दा र साम्राज्यवादमा विकास हुँदा यसले पुँजीको बचेको मानवीय चरित्र नै गुमाउँन पुग्दछ । इराक, सिरिया, लिबिया, प्यालेस्टाइन, युक्रेन र भर्खरै चलिरहेको इजरायल इरान युद्धमा हतियारका लागि भइरहेको लगानी तथा मानवीय र भौतिक क्षति, भइरहेको/हुने मानवीय विस्थापन र आप्रवासन हेर्दा यो कुराको पुष्टि हुन जान्छ ।
विकास र सुगमता
अविकास र पछौटेपन भएका देश र क्षेत्रबाट मानिस विकास, सुगमता र सहज जीवनयापनका अवसर भएका स्थानतर्फ आकर्षित भइरहन्छ । शिक्षा स्वास्थ्य रोजगारीका अवसर र उच्व जीवनस्तर भएका देशतर्फ जान लालायित हुन्छ । परिधिमा रहेको अविकास र दुर्गमताले निरन्तर केन्द्रलाई सस्तो श्रम प्रदान गरिरहेको हुन्छ ।
रोजगारी
मानिस रोजगारीका अवसर सिर्जना भएका र हुनसक्ने ठाउँमा अस्थायी या स्थायी रूपले स्थानान्तरण हुन्छ । पुँजी, प्रविधि र बजारका रूपमा जनसङ्ख्याको केन्द्रीकरण भएका ठाउँहरूमा सस्तो श्रम आप्रवासनका रूपमा प्रवाहित भइरहन्छ ।
प्राकृतिक स्रोत उपलब्धता
मानिस जमिन, पानी, जङ्गल र अन्य प्राकृतिक स्रोत भएको स्थान सहज जनजीवन यापन गर्न बसाइँ सराइ गर्न चाहन्छ तर यो पुँजीवादी युगको मूल प्रवाह होइन । पुँजीवादमा आप्रवासनको मूल प्रवाह उत्पादन केन्द्रहरू नै हुन् । युरोपियन मजदुरहरू अमेरिकाको कृषिमा स्थानान्तरण र अन्य कृषिमा पुँजीवादले सस्ता कृषि श्रमिकहरू टि स्टेट, रबर स्टेट, कफी स्टेट, कोका स्टेटतर्फ लिएर गएको इतिहास छ ।
वैवाहिक स्थिति
वैवाहिक स्थितिका कारण विशेषतः पितृसत्तात्मक समाज व्यवस्थामा महिला, प्रायः पुरुषको वासस्थानतिर स्थानान्तरण हुने गर्दछन् ।
शान्ति र स्थिरता
मानिस शान्ति र स्थिरता भएको समाजमा बसोबास गर्न चाहन्छ ।
धार्मिक र सांस्कृतिक सम्बन्ध
मानिस आफ्नो पुर्खाको थातथलो, धार्मिक र सांस्कृतिक उद्गम थलोमा फर्किन चाहन्छ । यो आम प्रवृत्ति नभै विशिष्ट प्रवृत्ति हो । पुँजीवादी युगमा आर्थिक पक्ष नै आप्रवासनलाई सबैभन्दा धेरै प्रभाव पार्ने कारण हो, जहाँ रोजगारीका अवसर, स्रोत उपलब्धता र आर्थिक विकास भएको हुन्छ, त्यहाँ स्थानान्तरणका निम्ति ज्यादा अभिरुचि हुने गर्दछ ।
पोस्ट ट्रम्प आप्रवासनको अर्थराजनीति
नवउदारवादी नीतिअनुसार पुँजीवादको केन्द्रमा आप्रवासी सस्तो श्रम उपलब्ध हुँदा उद्योगहरूको नाफा बढ्ने र अर्कोतर्फ पुँजीवादी केन्द्रको पुँजी परिधिमा गई उद्योगहरू स्थापना हुँदा पुँजीले नाफा कमाउने र विस्तार हुने हुन्छ । त्यहाँ उत्पादन भएको सस्तो र गुणस्तरीय वस्तु विकसित देशमा पुग्दा कामदार वर्गको जीवनयापन पनि सहज हुन्छ । विकसित देशमा कमाइ भएको रकम आप्रवासी कामदारले घर पठाउँदा तेस्रो विश्वका देशमा गरिबी निवारण गर्न सघाउ हुने भएकाले दुबै पक्षको जित हुने तर्क नवउदारवादको हो । आप्रवासीबाट प्राप्त हुने आम्दानीलाई आइओएम जस्ता सङ्गठनहरूले पनि मानव विकास र समृद्धिका लागि महइभ्वपूर्ण मानेको छ (आइओएम, २०२४) ।
मार्क्सले कम्युनिस्ट घोषणापत्रमा भने झैँ पुँजीले परम्परागत उत्पादन सम्बन्धका ग्रेटवाल मात्र होइन, संस्कृति र पछौटेपनलाई पनि भत्काइदिन्छ भन्ने अनुमान योसँग सामिप्य राख्दछ । मार्क्सले कसरी एक मजदुर, जसले आफ्नो श्रम प्रयोग गरी वस्तु निर्माण गर्दछ तर पुँजीवादले त्यो वस्तुबाट मजदुरलाई अलगअलग गरिदिएको हुन्छ । यो अलगावको प्रक्रिामा उत्पादन गरेको वस्तु उसको आफ्नो हुँदैन र उसको श्रम पनि उसको आफ्नो जस्तो हुँदैन । ऊ आफू पनि आफू जस्तै हुँदैन । श्रम, मानिस र वस्तु बिचको यो अलगावको स्थितिलाई नै श्रम अलगावको सिद्धान्त भने (मार्क्स, १९७८) । यहाँ एक आप्रवासी कामदार श्रम शोषित भई वस्तुबाट मात्र अलगथलग हुँदैन, देश, समुदाय र परिवारबाट समेत अलगथलग भएको हुन्छ । ऊ दोहोरो अलगावबाट गुज्रिएको हुन्छ । पछिल्लो समय पुँजीवाद अलि उदारवादी र अलि लोककल्याणकारी बन्यो भन्ने बुझिए तापनि पछिल्ला अमेरिकी नीतिहरूले (अन्य देशहरू पनि) आप्रवासीहरूलाई अपराधीका रूपमा चित्रित गर्ने जुन प्रयास गरिएको छ, त्यो डरलाग्दो छ ।
चाहे त्यो मजदुर कानुनी रूपमा होस् या गैरकानुनी होस् (शरणार्थीका रूपमा) एक आप्रवासी आफ्नो श्रम बेच्न र यसबाट प्राप्त मूल्यले ऊ र उसको परिवारको जीवन केही सहज होस् भनी अमेरिका या विकसित देशमा गएको हो । मजदुरलाई कानुनी या गैरकानुनी रूपमा अमेरिका पुर्याउने भूमिका त त्यही दलाल पुँजीवादको एउटा पङ्क्तिले सस्तो श्रम र नाफाका लागि निरन्तर गरिरहेको छ । यदि उसले कुनै अर्को अपराध गरेको छैन भने सस्तोमा श्रम बेचेर खाने मानिसलाई पछाडि हतकडी लगाएर पठाउनु कुनै पनि हालतमा उचित मान्न सकिँदैन । “अमेरिका पहिला” भन्ने राष्ट्रपति ट्रम्पका पछिल्ला नीतिको सार भनेको अमेरिकी उद्योगहरूलाई स्वदेश ल्याउनु हो । अधिकांश अमेरिकनहरू सेवा क्षेत्रको ह्वाइट कलर रोजगारीमा रहन चाहने भएकाले ट्रम्पको आफ्नै औद्योगिक नीति सफल बनाउन पनि आप्रवासी श्रम अनिवार्य सर्त हो । गैरकानुनी आप्रवासीले पनि निर्माण गर्ने त अमेरिका नै हो तर आप्रवासीमाथि गरिएको व्यवहारले यो अर्थराजनीति भन्दा पनि अमेरिकी आन्तरिक राजनीतिमा देखा परेको ह्वाइट सुप्रिमेसीलाई टेवा दिनका लागि अघि सारिएको राजनीति जस्तो देखिन्छ । यसले अमेरिकालाई एक अनुदार र नश्लवादी पुँजीवादको बाटोमा नराम्ररी धकेलिदिने खतरा रहेको छ ।
कल्पना गरौँ त ! नेपालबाट गैरकानुनी रूपमा अमेरिका जान ५० लाखसम्म खर्च गर्ने गरिएको पाइएको छ । यति धेरै पैसा खर्च गरेरै भए पनि नेपालको हुनेखाने मानिस नै अमेरिका जान र मजदुरी गर्न तयार छ । भोक भोकै, राति राति, मूलबाटो छलेर, लुक्दै हिँडेर, नहर, सुरुङ र पर्खालहरू काटेर कसरी मानिसहरू अमेरिका पुग्दछन् भन्ने वृत्तान्त त झनै कहाली लाग्दो हुन्छ । मानिसहरू सहरको घर र व्यवसाय समेत छाडेर अमेरिका हानिन थालेका छन् । भनिन्छ कि रुकुमको एउटा गाउँ नै अमेरिका पुगिसक्यो । ट्रम्पको वर्तमान नीतिले भने नेपालजस्ता तेस्रो विश्वका देशका नागरिकलाई आफ्नै देशमा केही गर भन्ने एउटा गतिलो सन्देश चाहिँ दिएको छ ।
निष्कर्ष
श्रम, प्राकृतिक स्रोत, मानवले प्रकृतिसँग गरेको सङ्घर्ष र आपसी अन्तःसम्बन्धहरूका कारण मानव इतिहासमा स्वाभाविक रूपमा विकास हुँदै आएको प्रवृति हो, आप्रवासन । मानवजातिको इतिहासमा आप्रवासनलाई पुँजीवादले सस्तो श्रमका लागि र सहज जीविकोपार्जनका लागि गतिशील बनाएको भए तापनि पुँजीवादको केन्द्र र सिँढीअनुसार वर्ग, उपवर्ग, प्रवेश र निषेधको नयाँ पुँजीवादी ढाँचा निर्माण गरेको छ । आप्रवासी श्रमिकको अति अतिरिक्त मूल्य लिई वस्तु र श्रमबाट मात्र अलगाव होइन, बरु देश, परिवार र समुदायबाट समेत दोहोरो अलगाव कायम गरेको छ । यसले ग्लोबल साउथका देशहरूको अविकासलाई झनै गहिरो बनाउन सक्छ । यसले एकातिर निर्वाध श्रम गर्ने अधिकारलाई बन्देज र अमानवीकरण गर्दछ भने अर्कातिर विकासोन्मुख देशका जनस्रोतलाई सस्तो श्रमका रूपमा दोहन गर्दछ । तुलनात्मक रूपमा उदार उत्पादक पुँजीवादको विश्व पद्धतिमा कच्चा श्रममा आधारित विप्रेषणले देशहरूको गरिबी निवारणमा केही मद्दत गरे पनि चिरकालसम्म परनिर्भर बनाउने खतरा रहन्छ । उच्च सिप र क्षमतामा आधारित विप्रेषण र आप्रवासीहरूको सञ्चित पुँजी, प्रविधि र सिपलाई स्वदेशमा आकर्षण गर्न सकेमा भने विकासोन्मुख देशले यसबाट फाइदा लिन सक्दछन् ।
सन्दर्भ सामग्रीहरू
उपाध्याय, गोपिरमण (२०७४) । प्राकृतिक भौतिकवाद. प्रज्ञा प्रतिष्ठान ।
भुसाल, घनश्याम (२०५९) । नेपालको अर्थराजनीति : सङ्कटको पुनर्उत्पादन र रूपान्तरणको दिशा । नेपाल अध्ययन केन्द्र ।
मिश्र, चैतन्य (२०१८) । त्रिदेशीय सहकार्य र एसियाली युग । नेपाल बदलिँदो सन्दर्भमा नेपाल र छिमेकी मित्रराष्ट्रहरूमा हेरिएको (सम्पादनः योगेन्द्र
शाही कोमल भट्टराइ डा खगेन्द्र प्रसाइ र मणि दाहाल). रोजा लक्जम्बर्ग फाउन्डेसन र नेपाल अध्ययन केन्द्र ।
शर्मा, पिताम्बर (२०१८) । नेपालको सन्दर्भमा ओबिआर : वन बेल्ट वन रोड. नेपाल बदलिँदो सन्दर्भमा नेपाल र छिमेकी मित्रराष्ट्रहरूमा (सम्पादनः योगेन्द्र शाही, कोमल भट्टराई, डा खगेन्द्र प्रसाईं र मणि दाहाल). रोजा लक्जम्बर्ग फाउन्डेसन र नेपाल अध्ययन केन्द्र ।
सांकृत्यायन, राहुल (१९४८). मध्य एसियाको इतिहास .भाग १. अनन्य प्रकाशन ।
Adhikari, Jagannath and Mary Hobley (2011). Everyone is leaving – who will sow our fields? The Effects of Migration from Khotang District to the Gulf and Malaysia. Kathmandu.
Adhikari, S.P.(2024). Growth of GDP and Foreign Trade of Nepal: Trend analysis. The Harvest. Nepal Journals Online.
Bamforth, D.B. (2013). Who Got Here First? (Stanford and Bradley’s Across Atlantic Ice: The Origin of America’s Clovis Culture). Current Anthropology. 54. 105-107. 10.1086/669116.
Bradley, B & Stanford, D.J. (2004). The North Atlantic ice-edge corridor: A possible Palaeolithic route to the New World. In Peter Rowley-Conwy(Ed.), Debates in World Archaeology. World Archaeology. Routledge Tylor and Francis Group. https://www.researchgate.net/publication/263241962.
Bishop, Barry C. (1990). Karnali Under Stress: Livelihood Strategies and Seasonal Rhythms in a Changing Nepal Himalaya. Chicago: The University of Chicago Press.
Chang, Ha-joon (2010). 23 Things They Don’t Tell You About Capitalism. Penguin.
CWIN (2006). Study on the displacement of Nepali children and their involvement in child labour in New Delhi in the context of growing conflict in Nepal (unpublished).
Ghosh, Jayati(2021). Interpreting contemporary imperialism: lessons from Samir Amin. https://mronline.org/2021/03/18/interpreting-contemporary-imperialism-lessons-from-samir-amin/.
GoN /Ministry Finance (2001/2021). Economic Survey of Nepal. 2000/2001 and 2020/2021.
GoN/Youth Council. (2015). Youth Vision 2025.
Ness, I. (2023). Migration as Economic Imperialism: How International Labour Mobility Undermines Economic Development in Poor Countries. Cambridge: Polity Press.
Engels. F. (1876). The Part Played by Labour in the Transition from Ape to Man. https://www.marxists.org/archive/marx/works/1876/part-played-labour/
Foster, John Bellamy. (2015). Marxism and Ecology: Common Fonts of a Great Transition, Great Transition Initiative (October 2015), http://www.greattransition.org/publication/marxism-and-ecology.
Frangepan P. (2015). The Silk Roads: A New History of the World. Bloomsbury Publishing PLC.
Guan, Qing & Raymer, James & Pietsch, Juliet. (2022). Estimating International Migration Flows for Pacific Island Countries: A Research Brief. Population Research and Policy Review. 41. 10.1007/s11113-022-09737-z.
Khanna, Parag. (2016): Connectography: Mapping the Global Network Revolution. Penguin Random House.
Krause Stefan. (2018): The Solutrean Hypothesis. Did Ice Age Europeans Discover America?
https://www.iaa.uni-rostock.de/forschung/laufende-forschungsprojekte/american-antiquities-profmackenthun/project/stories/solutrean-hypothesis/
Lenin, V.I. (1916). Imperialism, the Highest Stage of Capitalism. https://www.marxists.org/archive/lenin/works/1916/imp-hsc/imperialism.pdf
Harvey, D. (2004). The ‘new’ imperialism: accumulation by dispossession. Socialist Register. 40: 63–87.
Harari, Y.N. (2015). Homo Deus: A Brief History of Tomorrow. Vintage.
IOM (2024). World Migration Report 2024. https://www.iom.int/news/world-migration-report-2024-reveals-latest-global-trends-and-challenges-human-mobility
Marx, Karl(1978). Theories of Surplus Value:Part 1. Progress Publication.
Meltzer, DJ. (2021). First peoples in a new world: Populating ice age America. Cambridge University Press. https://assets.cambridge.org/97811084/98227/frontmatter/9781108498227_frontmatter.pdf
https://www.researchgate.net/publication/362690678_Estimating_International_Migration_Flows_for_Pacific_Island_Countries_A_Research_Brief.
NSO (2000-2021). National Living Standard Surveys from 2000/2001, 2010/2011 and 2020/2021
Moorjani, P.; Thangaraj, K.; Patterson, N.; Lipson, M.; Loh, P. R.; Govindaraj, P.; Singh, L.
(2013), “Genetic evidence for recent population mixture in India”, The American Journal of Human Genetics, 93 (3): 422438, doi:10.1016/j.ajhg.2013.07.006, PMC 3769933, PMID 23932107
O’Brien, Michael & Boulanger, Matthew & Collard, Mark & Buchanan, Briggs & Tarle, Lia & Straus,
Lawrence & Eren, Metin. (2014). On thin ice: Problems with Stanford and Bradley’s proposed Solutrean colonisation of North America. Antiquity. 88. 606-613. 10.1017/S0003598X0010122X.
Roos D. (2025). Human Migration Americas Beringia. https://www.history.com/articles/humanmigration-americas-beringia
Rumsby, S 2024 ‘Towards an Everyday Political Economy of Labour Migration’ IRIS Working Paper Series, vol. 49. https://doi.org/10.5281/zenodo.11102809
Seddon, David; Ganesh Gurung and Jagannath Adhikari. 1998. Foreign Labor Migration and the Remittance Economy of Nepal. Himalayan Research Bulletin XVIII (2) 1998. Pp 3-10.
Shahi, Yogendra. 2012. Remittance ma bancheko desh:Nepalko sandarbhama yuropiya dayesporako artha rajaniti (in Nepali). A country serviced in remittance: the politico-economy of European Diaspora in Nepalese context. In Europe Aabaj. 2012. Kathmandu: NDF, Nepal.
Shahi Y. (2014). Depicting the dynamics and nature of labor migration in Nepal: A class analysis from Marxist perspective. Paper presented in Rosa Luxumberg Foundation Seminar, Srilanka.
Shrestha. N.R (1985). The political economy of economic underdevelopment and external migration in Nepal. Political Geography Quarterly Volume 4, Issue 4, Pages 289-306.
Schumacher, E. F.(1973). Small is Beautiful. https://archive.org/details/SmallIsBeautiful
World Bank (2024). Nepal Development Update October 2024: International Migration and Well-being in Nepal.
(शाही कर्णाली प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ । जवाहरलाल नेहरु विश्वविद्यालय, भारतबाट क्षेत्रीय विकासमा एमफिल गर्नुभएका उहाँ लामो समयदेखि वाम आन्दोलनमा सक्रिय हुनुहुन्छ । क्षेत्रीय विकास, प्राकृतिक स्रोत, युवा मामिलासम्बन्धी विषयहरुमा अध्ययन अनुसन्धानरत शाहीले वर्ल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथको उपाध्यक्ष तथा युथ भिजन २०२५ को संयोजकको भूमिकासमेत निर्वाह गर्नुभएको छ ।)


जवाफ लेख्नुहोस्