‘साहस’ प्रतिरोधी महिलाको इतिहास

- जेबी विश्वकर्मा
नेपालमा पञ्चायतकालीन र शाही सत्ताका बेला निकै ठुलो संख्यामा मानव बेचबिखन हुन्थ्यो । विशेषगरी गरिब, श्रमिक र सीमान्तीकृत समुदायका महिलालाई सत्ता र शक्तिको वरिपरि व्यक्ति, तिनका एजेन्ट र दलालले भारतीय यौनबजारसम्म पुर्याएर बेच्थे । राज्यसत्ताकै प्रत्यक्ष वा अप्रत्यक्ष संरक्षणमा यस्ता मानव बेचबिखन हुने गरेका कारण प्रभावितले आवाज उठाउन सक्ने अवस्था थिएन । बेचिन पुगेका महिलाले त दैनिकरुपमा असीमित अत्याचार भोग्न बाध्य हुने नै भए, सत्ताका आडमा मानव बेचबिखनमा संलग्न दलाल र बिचौलियाले प्रभावित परिवारको समेत आवाज बन्द गरिदिन्थे । यतिसम्म कि मानव बेचबिखनविरुद्धको अभियानमा संलग्न व्यक्तिले समेत अनेकौँ चुनौतीको सामना गर्नुपर्ने बाध्यता थियो । यस्तो कठिन परिवेशको विश्लेषणसहित जोखिमपूर्ण अवस्था पार गर्दै लेखकले यो पुस्तक तयार पारेर सार्वजनिक गर्नु, असीमित अप्ठ्यारा र जोखिमलाई स्वीकार गरेर लेखकलाई आफ्ना जीवन भोगाइका अनुभूतिबारे जानकारी गराउनु र शक्तिशाली दलाल र मानव तस्करलाई चुनौती दिने पुस्तक तयार पार्नु आफैमा साहसिक कार्य हो ।
त्यसैले ‘साहस’ मानव बेचबिखविरुद्धको सामूहिक साहस हो, मानव बेचबिखनविरुद्धको सामूहिक र सशक्त प्रतिरोधी अभियान हो अर्थात् साहस केवल एउटा पुस्तक मात्रै होइन, यो अभियान हो । यस्तो गम्भीर विषयमा नेपाली प्राज्ञिक क्षेत्रले खासै चासो दिने गरेको छैन भने पर्याप्त मात्रामा ज्ञान उत्पादन हुन सकेको छैन । यस्तो परिवेशमा मानव बेचबिखनका बहुआयमिक पक्षलाई समेटेर प्राज्ञिक रूपमा लेखिएको बिरलै पुस्तकमध्ये डा. मीना पौडेलद्वारा लिखित ‘साहस’ एउटा उत्कृष्ट पुस्तक हो । यस पुस्तकमा विशेषगरी महिला बेचबिखनको कारण र अवस्था, सामाजिक बहिष्कार तथा त्यसको प्रतिरोधका सवालजस्ता महत्त्वपूर्ण पक्षहरू समावेश भएका छन् ।
पुस्तकमा समाविष्ट सवाल
समाजवादी महिलावादी दृष्टिकोण र विचारप्रति लेखकको विश्वास र प्रतिबद्धता पुस्तकमा प्रतिबिम्बित भएका छन् । अनुसन्धान र लेखनको विधिमा यही दृष्टिकोणलाई केन्द्रमा राखिएको देखिन्छ । पुस्तकका सबै खण्डमा सामाजिक न्याय र व्यक्तिको सार्वभौम पहिचानलाई मुख्य सरोकारको विषयका रूपमा समावेश गरिएको छ, जुन समाजवादी महिलावादी लेखनको महत्त्वपूर्ण सैद्धान्तिक पक्ष हो ।
यस पुस्तकमा मानव बेचबिखनबाट प्रभावित हुन पुगेका १८ जिल्लाका २८ युवा महिलाको भोगाइ समेटिएको छ । समेटिएका पात्रहरु हिमाली, पहाडी र तराई–मधेस गरी तीनै भौगोलिक क्षेत्रका छन् भने आदिवासी जनजाति, ब्राह्मण, क्षेत्री, दलित, मधेसीलगायतका समुदायको भोगाइलाई पनि अध्ययन र विश्लेषणमा समावेश गरिएको छ । समाजमा विभिन्न जातजाति, भाषा, धर्म र समुदायका महिलालाई मानव बेचबिखनसम्म कसरी पुर्याइन्छ र फर्केपछि समाजमा हुने दुर्व्यवहारको प्रकृति कस्ता छन् भन्ने विषयलाई बहुआयमिक कोणबाट हेरेर विश्लेषण गरिएको छ ।
अध्ययन, विश्लेषण र लेखनका क्रममा डा. मीना पौडेलले पाँचओटा सरोकारलाई केन्द्रमा राखेको देखिन्छ । एक, महिला मानव बेचबिखनमा पुग्नुका पछाडि पितृसत्ता, गरिबी, बेरोजगारी र असहज सामाजिक–आर्थिक सम्बन्धले निकै ठुलो भूमिका खेलेको विश्लेषण गरिएको छ । मानव बेचबिखनमा महिलाको सङ्ख्या धेरै हुनुका कारण महिलालाई स्वतन्त्र जीवन बाँच्न नदिने पितृसत्तावादी सामाजिक–राजनीतिक व्यवस्था मुख्य हो । विशेषगरी निम्न र निम्न मध्यम वर्गका महिलालाई शोषणमूलक श्रममा आबद्ध गराइन्छ । आर्थिक रूपमा बञ्चितीकरण भोग्न बाध्य पारिएका महिलाको श्रम, हिँडडुल, सामाजिक सम्बन्ध बिस्तारमा मात्रै होइन, शरीर, भावना र मनोविज्ञानमाथि पितृसत्ताको कब्जा छ । यस्तो आर्थिक–सामाजिक सम्बन्धका कारण कमजोर पारिएका विशेषगरी निम्न र निम्न मध्यम वर्गका महिला बेचबिखनको शिकार हुने सम्भावना बढी हुने गरेको पनि पुस्तकमा चर्चा गरिएको छ ।
दुई, मानव तस्कर र दलालले सीमान्तीकृत समुदायलाई सहजै बेखबिखनमा पार्ने गरेका छन् तथापि सबै जातजाति, समुदाय र धर्मका महिलालाई विभिन्न परिबन्धमा पारेर बेचिबिखनमा पार्ने गरेको तथ्यलाई पनि प्रस्तुत गरिएको छ । स्वाभाविक रूपमा गरिबी, अशिक्षा, अभाव, बेरोजगारी र सङ्कटपूर्ण जीवन बाँच्न विवश, राजनीतिक–प्रशासनिक पहुँचहीनता र गैरजिम्मेवार राज्यको हर्कतकै कारण महिला बेचबिखनमा पर्ने गरेका छन् । यति मात्रै होइन, पञ्चायकालमा पञ्च, टाठाबाठा, दरबारका भाइभारदार र सामन्त र ठालूले सामाजिक रूपमा उत्पीडनमा रहेका यस्ता महिलाको बेचबिन गर्दै आएको इतिहास छ । तथापि, कमजोर आर्थिक हैसियत भएका अन्य समुदायमा पनि महिलाको बेचबिखन हुने गरेको थियो । पुँजीवादी व्यवस्थामा त झन् दलाल र तस्करले सामाजिक आर्थिक सीमान्तीकरणमा पारिएका महिलालाई संसारका विभिन्न देशमा बेचबिखन गर्ने गरिरहेका छन् ।
तीन, बेचबिखनमा परेर निकै ठुलो सङ्घर्षबाट नेपाल फर्किएका महिलाले अनेकौंँ सङ्कट भोग्न बाध्य पारिन्छन् । घर परिवार र समाजबाट हुने अस्वीकार, दुर्व्यवहार र बहिष्कार निकै जटिल बन्ने गरेका छन् । यति मात्रै होइन, पुनःस्थापनाका क्षेत्रमा काम गर्ने सामाजिक सङ्घसंस्थाबाट समेत विभेद र तिरस्कार भोग्नुपर्ने बाध्यात्मक अवस्था रहेको सन्दर्भलाई पनि विशिष्ट ढङ्गले प्रस्तुत गरिएको छ ।
चार, नागरिकको जीवनको सुरक्षा, शोषण र बेचबिखनबाट जोगाउने दायित्व राज्यको हो तर, विशेषगरी महिला बेचबिखनमा राज्य आफै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छ भन्ने विषयलाई सूक्ष्म रूपमा व्याख्या गरिएको छ । विशेषगरी राज्यले दलाल र मानव तस्करलाई कारबाही गर्नुपर्ने हो । मानव बेचबिखन जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई समाजले बहिष्कार गर्नुपर्ने हो तर बिडम्बना ती दलाल र तस्करले राजनीतिक संरक्षण पाइरहेका छन् तर बेचिन बाध्य वा फर्केर आएका महिलाले अपमान, बेइज्जत र सामाजिक कठिनाइ भोग्नुपरेको छ । यति मात्रै होइन, नेपाली समाजले इज्जतको दायित्व महिलामाथि थुपारेको छ । घर, परिवार र आफन्तको इज्जत महिलाले धानिदिनुपर्ने पितृसत्तात्मक अवधारणाका कारण बेचिन बाध्य महिलाको पुनःस्थापना निकै कठिन बन्ने गरेको छ । इज्जतको सांस्कृतिक वैचारिक हतियार प्रयोग गरेर आवाजलाई खुम्च्याइने गरिएको छ । उत्पीडन, बलात्कार र बेचबिखनको अपराधबारे पितृसत्तावादी राज्य, समाज र बजार बोल्दैन, दलाल र तस्करको इज्जतको सांस्कृतिक वैचारिकीलाई यसले कुनै असर पार्दैन । बरु उल्टो बेचिने महिलालाई अपराधबोध गराइन्छ । न्याय र संरक्षण पाउनुपर्ने महिलाप्रति पितृसत्तात्मक सामाजिक सत्ता कति निर्मम हुने गरेको छ भन्ने तथ्य पनि पुस्तकमा चर्चा गरिएको छ । इज्जतमा
आधारित महिलाविरोधी सांस्कृतिक वैचारिकीमाथि पनि पुस्तकमा आलोचनात्मक विश्लेषण गरिएको छ ।
पाँच, अत्यत्नै कठिन परिस्थितिबाट गुज्रिएर फर्किएका महिला मौन छैनन् । आफूलाई सशक्तीकरण गर्दै, अनेकौँ कठिनाइलाई पार लगाउँदै दलाल र मानव तस्करलाई चुनौती दिने र राज्यलाई जवाफदेही बनाउन फर्किएका महिला सङ्घर्षरत छन् । सामाजिक मूल्य मान्यता र बहिष्कारलाई रणनीतिका रूपमा परास्त गर्दैछन् । परिवारबाटै नागरिकताका लागि असहयोग हुँदा होस् वा प्रत्येक पाइलामा अपमान र हिंसा गर्दा, मानव बेचबिखनमा परेका महिला स्वाभिमान र आत्मसम्मानको जीवन बाँच्न निरन्तर सङ्घर्ष गरिरहेका थुप्रै उदाहरण पुस्तकमा समावेश गरिएको छ । यो पुस्तक मूलतः प्रभावित व्यक्तिहरूको दृष्टिकोणबाट लेखिएको छ । प्रभावितको सम्मान र सङ्घर्षप्रति लेखकको ऐक्यबद्धता देखिन्छ । त्यसैले यस पुस्तकले प्रभावित महिलाको आवाजको मात्रै प्रतिनिधित्व गर्दैन, बरु बहिष्कार, हिंसा र अन्यायविरुद्ध सङ्घर्ष गर्न उत्प्रेरित गरेको छ । प्रभावित महिलाको भाषा वा आवाज बोल्ने यो पुस्तक मानव बेचबिखनविरोधी अभियानमा संलग्न हुने सबै सराकोरवालाका लागि महत्त्वपूर्ण ज्ञानको स्रोत पनि हो ।
आगामी विमर्श
यो पुस्तकले नेपालबाट हुने मानव बेचबिखनका बहुआयमिक पक्षलाई समेटेको छ । महिलावादी समाजशास्त्रीय अध्ययनमा आधारित पुस्तक भएका कारण समाजशास्त्र, लैङ्गिकता वा सामाजिक न्यायमा आधारित अध्ययन–अनुसन्धान गर्न चाहने व्यक्तिका लागि यो पुस्तक निकै महइभ्वपूर्ण छ । पितृसत्ताविरोधी र महिलावादी आन्दोलनमा आबद्ध अभियन्ताका लागि यो पुस्तक निकै उपयोगी छ । यति मात्रै होइन, लैङ्गिक दृष्टिकोणबाट प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तिका लागि पनि यो पुस्तक निकै उपयोगी छ । पुस्तकमा समावेश भएका विषयवस्तु मात्रै होइन, यस पुस्तकमा प्रयोग गरिएको महिलावादी अध्ययन विधि धेरैका लागि नयाँ र उपयोगी हुन सक्छ । महिलावादी अध्ययन विधिबारे थप प्राज्ञिक बहस र विमर्शका लागि पनि यो पुस्तक निकै उपयोगी छ ।
लेखकले पुस्तक लेखनको सैद्धान्तिक आधार समाजवादी महिलावादलाई मानेको कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ । तथापि समाजवादी महिलावादको सैद्धान्तिक अवधारणाबारे थप चर्चा गरेको भए यो पुस्तकले यो सैद्धान्तिक अवधारणाबारे बृहत् बहस र विमर्श गर्न सहयोग पुर्याउन सक्थ्यो । यसका साथै पुस्तकको सुरुमै लेखिएको ‘फर्केर हेर्दा’ खण्डमार्फत २०४५/४६ तिर सिन्धुपाल्चोकमा भएका मानव बेचबिखनको कहालीलाग्दो तस्वीर समावेश गरिएको छ । त्यतिबेला पञ्चायती व्यवस्थाका आडमा राजदरबार नजिकका व्यक्ति वा राजनीतिकर्मीले कसरी मानव बेचबिखन गर्थे भन्ने चर्चा छ । तथापि, यस अध्ययनका अधिकांश घटना बहुदलीय व्यवस्था आएपछिका छन् । पञ्चायतकालीन अवस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा मानव बेचबिखनमा संलग्न हुने व्यक्ति वा प्रवृत्तिमा के कस्ता फरक आए ? ती मानव तस्कर र दलाल फेरिए कि तिनै थिए भन्ने तुलनात्मक अध्ययन पनि समेटिएको भए राजनीतिक व्यवस्था परिवर्तनसँग आएका बेचबिखनको प्रवृत्ति बुझ््न अझ सहज हुन सक्थ्यो । त्यति मात्रै होइन, यो पुस्तकले मानव बेचबिखनमा संलग्न व्यक्तिको नामावलीको अभिलेखीकरणको समेत माग गर्दछ ताकि पुस्तकका पाठकले ती मानव तस्करबारे राम्ररी जानकारी पाउन सकुन् ।
यो पुस्तक लेखनका लागि अनुसन्धान भइरहेको समयमा नेपालमा तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको थियो । जनयुद्धमा महिला र सीमान्तीकृत समुदायको बाक्लो उपस्थिति थियो । अर्कोतिर, माओवादीले महिला मुक्तिको सशक्त अभियान पनि चलाइरहेको थियो । त्यतिबेला सामन्त, दलाल र बिचौलियालाई पनि माओवादीले कारबाही गर्ने गरेका थिए । त्यस्तो राजनीतिक परिवेशका समयमा मानव बेचबिखन रोक्न वा यो मुद्दाप्रति माओवादीको भूमिका कस्तो थियो भन्ने पाटो पुस्तकमा समावेश भएको छैन । ऐतिहासिक राजनीतिक आन्दोलन भएका कारण मानव बेचबिखन र माओवादीको भूमिकाका सन्दर्भबारे चर्चा भएको भए पुस्तकले त्यो समयको आवाजको पनि प्रतिनिधित्व गर्थ्यो ।
नेपाल पुँजीवादी राजनीतिक व्यवस्थामा छ । मानव जीवनमाथि पुँजी र बजारको हस्तक्षेप बढ्दो छ । अझ नवउदारवादी पुँजीवादी व्यवस्थाले मानवलाई नै खरिद बिक्रीको वस्तुमा रूपान्तरिक गरिदिएको छ । महँगी, बेरोजगारी र अभावका कारण ठुलो सङ्ख्यामा नेपालीहरू विदेशी श्रम बजारमा पुगिरहेका छन् । मानव बेचबिखन र तस्करी झन् बढ्दो अवस्थामा छ । छिमेकी देश मात्रै होइन, खाडी मुलुक, अरब, युरोप र अफ्रिकामा समेत मानव बेचबिखन तीव्ररूपमा बढिरहेको छ । यस्तो जटिल राजनीतिक व्यवस्थामा महिला बेचबिखनमा पर्ने जोखिम झनै बढेको छ । यस्तो अवस्थालाई रोक्न नेपालमा आवश्यक अर्थ–राजनीतिक व्यवस्थाबारे थप बहसको आवश्यकता छ । यो पुस्तकले त्यस दिशातिर बहस र विमर्शलाई अगाडि बढाउन पनि सहयोग गर्न सक्छ ।
(लेखक तथा अनुसन्धाता विश्वकर्मा अनुसन्धानमूलक संस्था डिग्निटी इनिसिएटिवका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँको लेखन तथा अनुसन्धानको विषय मूलतः जात व्यवस्था, समावेशीकरण, लैङ्गिक समानता, सङ्घीयता तथा सीमान्तीकृत समुदायकेन्द्रित रहने गर्दछ । कान्तिपुर राष्ट्रिय दैनिकका स्तम्भकार विश्वकर्माका दर्जनौँ प्राज्ञिक लेखहरु विभिन्न जर्नल तथा पुस्तकहरुमा प्रकाशित छन् । उहाँले विभिन्न पुस्तकहरु सम्पादन र सहसम्पादन पनि गर्नुभएको छ ।)


जवाफ लेख्नुहोस्