आप्रवासन : मानिससँग रहेको सबैभन्दा चहकिलो ‘ब्लु–प्रिन्ट’

- यादव देवकाेटा
विषयप्रवेश
मानवशास्त्री, समाजशास्त्री र आनुवंशिकीहरूले मूलस्वरमा आज भनिरहेको कुरा के हो भने— अफ्रिकी भूगोलमै अडिएका आरम्भिक अफ्रिकनहरूबाहेक बाँकी विश्वको तमाम जनसङ्ख्या आप्रवासीहरूको समूह हो । आधुनिक मानव भनिने हेमो सेपियन्स लगभग सत्तरी हजार वर्षअघि अफ्रिकाबाट बाहिरियो र बाँकी विश्वमा फिँजारियो । त्यसभन्दा अघि पनि अनेकन भँगालोमा होमो सेपियन्सहरू अफ्रिकाबाट बाहिरिएका थिए तर तिनले अफ्रिकाबाहिर आफ्नो अस्तित्वको उत्तराधिकार छाड्न सकेनन् ।
सत्तरी हजार वर्ष आसपासअघि अफ्रिकामा पैदा भएको खडेरी, जलवायु परिवर्तन र खाद्य सङ्कटले पैदा गरेको प्रतिकूलताबाट बच्न सहजता र अनुकूलता खोज्दै अफ्रिकाबाट निस्किएको होमो सेपियन्सको समूह स्ट्रेव र मन्डेवको बाटो हुँदै मध्य एसिया अर्थात् आजको इरान, प्यालेस्टाइन, लेवनान, सिरियातिर आइपुग्यो । त्यसरी इरानतिर आइपुगेको आरम्भिक अफ्रिकन आप्रवासीको समूह कोही त्यतै फिँजारिए भने कोही युरोप गए । त्यसको केही समयमै कोही भारतीय उपमहाद्वीप र कोही अस्टे्रलिया पनि पुगे, लगभग एउटै समयमा । त्यसरी आरम्भमा भारतीय उपमहाद्वीपमा आइपुगेका आरम्भिक दक्षिण एसियाली जनसङ्ख्या नै आजका अन्ज, सेन्टेलिन, जोरोवा जस्ता अन्डमानियन जनसङ्ख्याको सिधा पुर्खा रहेको अध्ययनहरूको निष्कर्ष रहेको पाइन्छ । झन्डै ६८ देखि ५६ हजार वर्षअघि त्यही बिचको समयमा नै दक्षिण एसियालीहरूको आरम्भिक आगमन भइसकेको आनुवंशिक अध्ययनहरूको निष्कर्ष रहेको पाइन्छ ।
उक्त जनसङ्ख्यामा पछिबाट जाग्रोस, लेवान्ततिरबाट आएको किसानी जनसङ्ख्याको समिश्रण भएर दक्षिण भारतीय जनसङ्ख्याको पुर्ख्यौली निर्माण भयो । पाँच हजार वर्षअघि त्यसैको आसपास क्यास्पियन स्टेप्सबाट आएको जनसङ्ख्या, जसलाई भारोपेली भाषी जनसङ्ख्या भन्ने गरिन्छ, को समिश्रण भएर उत्तर भारतीय जनसङ्ख्याको पुर्ख्यौली निर्माण भयो । यो दुई जनसङ्ख्याको सांस्कृतिक समिश्रणबाट दक्षिण एसियामा एउटा नयाँ अलौकिक धाराको उदय भयो, जसलाई हिन्दू धर्मको रूपमा चिन्ने गरिन्छ । त्यही विश्वासी धाराको प्रभाव आजको भारत र नेपालको समाजमा सघन रूपमा रहेको देख्न पाइन्छ ।
सत्तरी हजार वर्षजति अघि नै मध्य एसिया आइपुगेको जनसङ्ख्याको एउटा भङ्गालो चीनतिर पनि गयो र चीनदेखि कोरियाली प्रायद्वीपसम्म बिस्तारित भयो । केही भाषाशास्त्रीहरूले दक्षिण एसियालीहरू सबैभन्दा पहिँले धौलागिरी हिमालदेखि उत्तराखण्डसम्मको भूगोलमा आएको र त्यसपछि मात्रै भारत र चीनमा बिस्तारित भएको उल्लेख गरेको पाइन्छ । नेपालबाट भारत, चीन हुँदै क्यास्पियन स्टेप्ससम्म पुगेको उनीहरूको तर्कलाई आजसम्मको आनुवंशिक अध्ययनको परिणामहरूले भने समर्थन (पुष्टि) गरेको पाइन्न ।
नेपालका बृहत्तर जनसाङ्ख्यिक समूहमा गरिएको आनुवंशिक अध्ययनहरूको मोटामोटी निष्कर्ष के हो भने— नेपालमा मूलभूतरूपमा चार स्वरूपका जनसाङ्ख्यिक एकाइहरू छन् । पहिलो दस हजार वर्षभन्दा पहिल्यैदेखि उपस्थित अस्ट्रो– एसियाटिक जनसङ्ख्या । दोस्रो, आठ हजार वर्ष आसपासदेखि यहाँ उपस्थित भोट–बर्मेलीभाषी जनसङ्ख्या । तेस्रो, छ हजार वर्ष आसपासदेख्रि उपस्थित द्रबिडियन शाखा अर्न्तगतको जनसङ्ख्या । चौंथो, चार हजार वर्ष आसपासदेखि उपस्थित भारोपेली जनसङ्ख्या । अनि तिनै शाखाका अनेकन प्रशाखाहरूको निरन्तर ओहोरदोहोर र आनुवंशिक घालमेलको परिणाममा यी यावत जनसङ्ख्यामा उपस्थित वर्णशंकर स्वरूप । यो नै आजको नेपाली भनिने जनसङ्ख्याको परिचय हो ।
यसरी आजसम्म उपलब्ध आनुवंशिक अध्ययनहरूको निष्कर्षअनुसार आजको नेपालको सबै जनसङ्ख्या आरम्भिक अफ्रिकन आप्रवासी जनसङ्ख्याको उत्तराधिकारी हो । नेपालको मात्रै होइन, अफ्रिकाबाहिरको सम्पूर्ण जनसङ्ख्या आप्रवासी जनसङ्ख्याको उत्तराधिकारी हो । यसर्थ, आप्रवासन आजका मानिसहरूको ब्लु–प्रिन्ट हो । कमसेकम सत्तरी हजार वर्षदेखि आधुनिक मानव भनिने होमो सेपियन्स निरन्तर बसाइँ हिँडिरहेको छ । त्यसयता यो प्रक्रिया कहिल्यै स्थिर छैन । मानिस कहिल्यै एक ठाउँमा अडिएको छैन । एउटा पुस्ताले टाउको लुकाउन ठड्याएको ओत छाडेर अर्को पुस्ता ओतको खोजीमा अन्तै पुगेको छ । यताको शतक र खासगरी केही दशकहरूमा यो प्रक्रिया झनै तीव्रतर भएर गएको छ ।
अनुकूलता र सहजताको खोजी गर्दै निरन्तर बसाइँ हिँड्ने मानव समाजको यही ब्लु–प्रिन्टमा हेलिएर आजको नेपाली समाज पनि बसाइँ हिँडरहेको छ । देशबाट विदेसिन लाम लागेका मानिसहरूको ताँती हेरेर कवितात्मक बिम्बमा भन्ने हो भने देशै बसाइँ जान लागिरहेको भान हुन्छ । तर, यदि हामी ‘लङ्ग–फ्रेम हिस्ट्री’ लाई क्यानभास बनाएर हेर्छौँ भने यो अन्यथा होइन । एउटा राष्ट्रको लेन्सबाट मात्रै हेर्नेका निम्ति यसमा भयानक सङ्कट देखिनु बेग्लै कुरा होला तर म मानिसलाई कुनै एउटा राष्ट्रले दिने नागरिकता या राहदानीको खोलभित्र सीमित राखेर हेर्न नरुचाउने भएकाले सहजता र अनुकूलताको खोजीमा मानिसले चलायमान बनाएको जोर पाइतालाको गतिलाई राष्ट्र, राज्यको भूगोलको सीमाभित्रबाट हेर्न रुचाउन्न ।
त्यसैले यो ऐतिहासिक ब्लु–प्रिन्टको लिगेसी प्रदर्शन स्वाभाविक छ । आवश्यकता र आकाङ्क्षालाई थाँक्रो हाल्नका खातिर सहजता र अनुकूलताको खोजी गर्दै जारी बसाइँसराइ स्वाभाविक छ । यो नियमित प्रक्रिया हो । यसमा हामी अतिरिक्त भावुक बन्न जरुरी छैन । भावुक बन्नुपर्ने चाहिँ नेपाली समाज, नेपाल राष्ट्रले आफ्ना नागरिकका आवश्यकता र आकाङ्क्षालाई थेग्ने सामर्थ्य निर्माण गर्न नसकेकामा हो । राष्ट्र, राज्यले नागरिकका आवश्यकता र आकाङ्क्षालाई थेग्ने सामर्थ्य निर्माण गरेर सहजता र अनुकूलता प्रदान गर्न नसके यो देश खाली भइजाला कि भनेर कोही यहाँ अडिएर बस्नेवाला छैन । यो यथार्थलाई पनि हामीले सहज प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्छ ।
बुझ्नुपर्छ, मानिसको पाइतालाको जुन स्वरूप बनेको छ र शरीर जसरी दुई खुट्टामा उभिएर हिँड्नसक्ने भएको छ, यो विकास मानिसको हिँड्ने यत्नको परिणाम हो । शारीरिक रूपमा मानिसको शरीर एक ठाउँमा अडिने प्रयोजनार्थ विकसित भएको होइन । मानिसका लागि जोर पाइतालाको उपयोग, यात्राको लक्ष्य हासिलको सारथी बन्न हो । उसमाथि आफैले विकास गरेको जहाज र गाडीहरूले मानिसको यो चलायमान भइरहने आफ्नो सबैभन्दा चहकिलो ब्लु– प्रिन्टलाई इन्धनको काम गरिदिएको छ ।
नियमित निरन्तरता
उसो त आन्तरिक होस् या बाह्य, आप्रवासन मानव समाजको ऐतिहासिक फुटप्रिन्ट हो । यसले मानिसलाई नयाँ स्थान, नयाँ समाजसँग हेलमेल गर्दै नयाँ चुनौती र नयाँ सम्भावनाहरूको अघिल्तिर उभ्याइदिएको हुन्छ । स्थिर भइबस्ने समाजभन्दा आप्रवासनमा हिँडेका मानिसहरूले निर्माण गरेको समाज निर्माण, आविष्कारमा अघि हुन्छ किनभने उसलाई नयाँ र अपरिचित भूगोलमा टिक्नका लागि अतिरिक्त योग्यता निर्माण गर्नुपर्ने चुनौती हुन्छ ।
यही चुनौतीको सामना गर्ने क्रममा व्यक्ति, समाजले निर्माण गरेको सामर्थ्य नै अन्ततः राष्ट्र, राज्यको सामर्थ्यका रूपमा परिणत हुन्छ । यसरी राज्यको सामर्थ्य भनौँ या राज्यको सम्पत्ति उक्त देशका नागरिकहरूको सिर्जनशीलता र उत्पादनशीलतामा निर्भर रहन्छ । तिनका उत्पादनशीलताको आपसी अन्तर्क्रियाले पनि यसमा थप भूमिका निर्वाह गरेको हुन्छ (Stiglitz, 2019) । हाम्रोमा सिर्जनात्मक/रचनात्मक उत्पादन ठप्प छ । हाम्रो आन्तरिक उत्पादनशीलता फगत सस्तो श्रेणीको श्रमशक्तिको आपुर्ति कर्तामा सीमित छ । रचनात्मकता छैन । उत्पादन छैन । उत्पादनको सामाजिक अन्तर्क्रिया छैन । फगत सस्तो र गुणस्तरहीन उपभोक्ताका रूपमा हाम्रो सामाजिक विघटन जारी छ । पूर्ण रूपेण विघटन सम्पन्न हुनुअघि नै हामीले यसको सङ्कथनमा सुधार गर्नुपर्नेछ । सङ्कथन सुधारका लागि ठाउँ नै नरहनेगरी स्थिति विघटन भइसकेको भने छैन ।
जनसाङ्ख्यिक, सांस्कृतिक, भाषिक, राजनीतिक, आर्थिक अन्तर्घुलनले समाजको चेतनालाई धारिलो बनाइदिन्छ । नयाँ विचार, नयाँ योजना, नवप्रर्वतनमा अग्रसर हुँदै समाजको समृद्धिलाई गतिवान बनाउने ऊर्जा र आधार प्रदान गर्छ । जतिसुकै कमजोरीका रूपमा, राज्यको सामर्थ्यहीनताको रूपमा व्याख्या गर्ने गरिए पनि वैदेशिक रोजगारीले भौगोलिक रूपमा ‘आइसोलेटेड’ नेपाली अशिक्षित, अर्धशिक्षित जनशक्तिलाई नयाँ ज्ञान, नयाँ चेतना, आत्मविश्वास र सिपले सुसज्जित गराइदिएको छ । बाहिरी विश्वसँगको यो स्तरको अन्तर्क्रिया, सम्बन्ध र सिकाइ नभएको भए आजको दिनमा नेपाली समाजले हाँसील गरेको शिक्षा, स्वास्थ्य, सूचना र आर्थिक हैसियत निसन्देह प्राप्त हुने थिएन ।
तिस वर्ष अघिसम्मको नेपाली समाजको तस्वीर हेरौँ । न सामान्य अस्पताल न यातायात । न पर्याप्त शिक्षालय न खानेपानीको पर्याप्त उपलब्धता । न शौचालय न आङ ढाक्ने पर्याप्त कपडा । सिङ्गो पञ्चायतकालसम्म नेपाली समाजले विकास गर्न सकेको सामर्थ्यको चित्र जम्माजम्मी यही होइन र ?
हिजोको त्यो तस्वीर आज कसरी बदलियो भनेर हेर्यो भने त्यसमा वैदेशिक रोजगारीको योगदानको हिस्सा पहिलो पङ्क्तिमा आउँछ । बाहिरी समाजसँग अन्तर्क्रिया नभएको भए आज जुन अवस्थामा आइपुगेको छ, नेपाली समाज निश्चय नै यो बिन्दुमा आइपुग्ने थिएन । आन्तरिक रूपमा नै हेरौँ । बाहिरी समाजसँग अन्तर्क्रियात्मक सम्बन्ध नभएको भए आज जुन अवस्थामा आइपुगेका छन्, कर्णाली, सुदूरपश्चिम या बिकट भेगका मानिसहरू, चेपाङहरू यत्ति पनि हुन्थे कि हुन्थेनन् होला ? अथवा राउटेहरू बाहिरी समाजको थप सम्पर्कबाट छुटेको भए आजका जत्तिको पनि हुन्थे कि हुन्थेनन् होला ? सांस्कृतिक अतिक्रमण र त्यसका विकृत बाछिटाहरूले हिलो पोतिदिएको पाटो छँदैछ । सामाजिक विकासको गतिमा अझै कति तल हुन्थ्यो होला ?
नेपाल र नेपाली समाज नै पनि इतिहास कालभरि बाहिरी संसारसँगको सम्बन्ध र सम्पर्क नभएको भए आज जत्तिको छ, यत्तिको हुन्थ्यो कि हँुदैनथ्यो होला ? अफ्रिकाबाट बाहिरिएको फिरन्ते मानव समूहले यहाँ आएर पाइतालाको डोब नलगाएको भए या यहाँको समाजमा त्यसरी आएका फिरन्ते सिकारी युगका मानिसहरू मात्रै रहिरहेको भए र पछिबाट गाईपालक या भैँसीपालक किसानहरू चरन खोज्दै नआएको भए नेपाली समाजको आजको स्वरूपको जग बस्थ्यो कि बस्दैनथ्यो होला ? फिरन्ते पशुपालकको भूमिमा धनुर्धारी सिकारी समूह, जो कालान्तरमा किराँतका रूपमा परिचित हुन गए, ती नआएका भए र ती आएर पशुपालकहरूबाट प्रभावित भएर पशुपालन र पछिबाट खेतीपातीमा अनुरक्त भएर यहाँ स्थिर बसोबासको डोब नलगाएको भए आज नेपाल र नेपाली समाज जस्तो छ, यस्तै हुन्थ्यो कि हुँदैनथ्यो होला ?
स्थविरु (थारु)हरूले अनेकन जङ्गली जनावर, मलेरिया र रोगव्याधिसँग जुध्दै मैदानी भेगमा सभ्यताको डोब नबसाएको भए ? या किराँतहरूले आवाद गुल्जार गराएको भूगोलमा अनगिन्ती पटक अनेक स्वरूप आप्रवासनको प्रवाह नचलेको भए ? त्यसरी आवातजावत भएर अनेकन पटक अनगिन्ती मानव समूहबिच घालमेल नभएको भए ? के आजको स्वरूपको नेपाली समाजको जनसाङ्ख्यिक, सांस्कृतिक, सामाजिक स्वरूप निर्माण हुन्थ्यो ? हुन्थेन । त्यसैले नयाँ मानिस, नयाँ भूगोल, नयाँ विचार, नयाँ दर्शन, नयाँ आविष्कारसँग जति धेरै समाजको अन्तर्क्रियाको गति तीव्र हुन्छ, उति धेरै समाजको सामर्थ्यमा वृद्धि हुन्छ ।
देशमा मौजुद दिमाग र तिनको समुच्च सामर्थ्यहरूले देशको दिशा र दशा निर्धारित गर्छ । हामी जति योग्य बन्छौँ, देश उति नै योग्य बन्छ किनकि देश बनाउने हामीले नै हो । अरू कोही जादुगर आएर या कुनै तिलस्मी नायक आएर यो देश बनाइदिने छैनन् । यो तितो सत्य जति छिटो बुझिन्छ, उति नै हाम्रो सामाजिक सामर्थ्य वृद्धिको यात्रा छिटो हुन्छ । जति नव आविष्कार, विचार, दर्शन, विमर्शका लागि हामी जमिन तयार गर्दै जान्छौँ, उति नै उत्कृष्ट दिमाग, सामाजिक सामर्थ्य बढ्दै जान्छ ।
सामाजिक सामर्थ्य या दिमाग भनेको सर्टिफिकेट जम्मा गरेका पढेलेखेका मानिसहरूको सन्दर्भ मात्रै होइन । हाम्रो परम्परागत ऐतिहासिक ज्ञान कौशलहरूको लागि हाम्रो सामाजिक अभ्यास, व्यवस्थाले कति प्रोत्साहन दिएको छ या दिन्छ भन्ने कुरा पनि यसमा जोडिएर आएको हुन्छ ।
हाम्रो समाजले ऐतिहासिक रूपमै विभिन्न डिजाइनका भाँडा, औजार बनाउने कामीको सिपलाई या लुगा डिजाइन गरेर सिउने दमाईंको सिपलाई या छालाको जुत्ता सिलाउने सार्कीको सिपलाई कदर गर्यो कि हियायो ? आफ्नो समयको समाजको सबैभन्दा उत्कृष्ट प्रविधिज्ञलाई समाजले कुन स्थान दियो ? समाजको सबैभन्दा उत्कृष्ट सिप भएको मानिस समाजको सबैभन्दा चर्को दलनमा पर्यो कि परेन ? समाजको सबैभन्दा उच्च आसन, प्रतिष्ठा गफ बेचेर, हैकम लादेर, शोषणको सोपान खडा गर्नेले पायो कि नवीन ज्ञान, कला, सिप, पौरख देखाएर बाँच्नेले ? ऐतिहासिक तबरले हाम्रो समाजको स्वरूप किन यस्तो छ भन्ने तय यसैले गरेको छ ।
अर्कोतिर कुनै पनि व्यक्ति या नागरिकहरू कुनै भूगोल, समाज, राष्ट्रमा अडिने कि बसाइँ हिँड्ने भन्ने छनौट समाजको उदार र सहभागितामूलक लोकतान्त्रिक अभ्यासले पनि निर्धारण गर्छ । नियन्त्रित र अलोकतान्त्रिक समाज जतिसुकै आर्थिक सम्पन्न भए पनि मानिस त्यस्तो नियन्त्रित समाजलाई आफ्नो गन्तव्य बनाउन हमेसा तयार रहँदैन ।
मानिस स्वाभाविक तबरले स्वतन्त्रताको प्यासी हुन्छ । अरूको नियमन, नियन्त्रण र शासनबाट मुक्तिको प्यासले सधैँभरि धाप्पिइरहेको हुन्छ । कतिसम्म भने फिरन्ते जङ्गली अवस्थामै रहेका समूहका सदस्यहरूसमेत अरूको नियमन, नियन्त्रण र प्राधिकारबाट मुक्त हुन चाहन्छन् (Boehm, 1999) । यसर्थ प्राग–मानव समाजमा, खासगरी होमो सेपियन्सको जङ्गली चरणमा समेत मानिसहरू अरूको प्राधिकारबाट, अधिनस्थताबाट मुक्त हुन चाहन्थे । तर पनि एक अर्कामाथि हस्तक्षेप भने चली नै रहन्थ्यो प्रागैतिहासिक कालमा पनि । राष्ट्रको आर्थिक सामर्थ्यमा वृद्धि र नागरिकको आर्थिक विकासतिरको गतिले समाजमा मध्यम वर्गको उदय तीव्र रूपमा गराउँछ । मध्यम वर्गको सङ्ख्यामा बढोत्तरीसँगै यसले सत्ता संस्थापन, राजनीतिमा कब्जा जमाएर बसेको पुरातन कुलीन वर्गमाथि चुनौती खडा गर्छ र राज्यको लोकतान्त्रिक पुर्नसंरचनाका लागि बाध्य बनाउँछ (Barro, 1996) ।
चीनलाई नै हेरौँ । जति जति सम्पन्न हुँदै गइरहेको छ, उति उति उदार हुँदै गइरहेको छ चिनियाँ समाज । त्यसैले त भन्ने गरिन्छ, सामाजिक लोकतन्त्र जति राजनीतिक तबरले समावेशी हुन्छ, आर्थिक तवरले पनि उत्तिकै समावेशी हुन्छ (Galor, 2022) । हामीलाई समाजको जुन गतिका साथ विकास गर्नुछ, त्यही गतिका साथ लोकतान्त्रीकरणको बाटो अवलम्बन गनुपर्छ ।
मानव समाजको इतिहासकालभर राजनीतिक, आर्थिक अधिकार केही मुट्ठीभर सङ्कीर्ण सम्भ्रान्तहरूको कब्जामा रह्यो, जसलाई उनीहरूले आफ्नो स्वार्थ रक्षाको लागि प्रयोग गरे । परिणाममा यसले स्वतन्त्र उद्यम, शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी, आर्थिक उन्नति र विकासमा अवरोधकको काम गर्यो । अध्येताहरूले संस्थाहरूको निर्माणले सम्भ्रान्तहरूको एकाधिकारबाट विकास र समानतालाई बृहत्तर दायरामा पुर्याउँछ भन्ने कुरामा जोड दिएका छन् । समग्रमा संस्थाहरूको निर्माणले राजनीतिक अधिकारहरूको विकेन्द्रीकरण, सामाजिक परिचालन, सम्पत्तिमाथिको अधिकार र उद्यमलाई इन्धनको रूपमा टेवा दिने भएकाले यसलाई समावेशी संस्थाको रूपमा लिने गरिन्छ (Acemoglu, 2012) ।
उदार संस्थाहरू मौजुद रहेको स्थानमा त्यसले मानव संसाधन अर्थात् मानव पुँजी सञ्चय, उद्यमशीलता र प्राविधिक उन्नतिमार्फत दीर्घकालीन आर्थिक विकासलाई गति प्रदान गर्छ । ठिक यहीँनेर अनुदारवादी र नियन्त्रित आर्थिक संस्थाहरूले यो प्रगतिमा अवरोधकको काम गर्छ (Galor, 2022) । यसले आप्रवासनमा गएका र त्यही पहिलेदेखि रहेका मानिसहरूलाई रोजेको श्रम क्षेत्रमा, श्रम केन्द्रमा रोजगारीको अवसर दिन्छ । भलै यो रोजाइको पनि सीमा छ र त्यो सीमाले व्यक्तिलाई सम्झौताका लागि बाध्य बनाउँछ । तर, कमसेकम सम्झौताको अधिकार त दिन्छ, जो बलपूर्वक बाध्यकारी रूपमा लादिँदैन ।
फ्रान्सेली क्रान्तिकाल अघिसम्म संसारभरका सबैजसो राज्यहरू बलपूर्वक लादिएका श्रमिकअर्थात् दासहरूले भरिएका थिए । सन् १८०० सम्म विश्वको तीन चौथाई जनसङ्ख्या धनी मालिकहरूको दासताको अधिनस्थ भएर बाँचिरहेका थिए (Hoschlid, 2015) । ९० प्रतिशतभन्दा बढी मानिसहरूले जमिनमा अर्थात् कृषिको काम गर्दा पनि ८० प्रतिशतभन्दा बढी मानिसहरू चरम गरिबीमा थिए ९ःबह, यगचधयचमिष्लमबतब।यचन० ।
प्रख्यात विचारक जिन ज्याक्स रुस्सोले उसबखत सामाजिक बन्धनहरूले बाँधिएको मानिसलाई सङ्केत गर्दै लेखेका थिए— मानिस जन्मदा स्वतन्त्र रूपमा जन्मिए पनि ऊ जताततै जञ्जिरहरूले बाँधिएको हुन्छ (The social Contract, 1762) । मानव समाजको सिङ्गो इतिहासभरि मानव जातिले गरेको प्रमुख काम मध्येको एउटा काम आफूलाई बाँध्ने जञ्जिर विरुद्धको सङ्घर्ष पनि हो । आप्रवासनमा गएका नेपाली नागरिकहरू आज नयाँ खालको जञ्जिरले कसिँदै लगिएका छन् ।
आज विश्वभर विस्तारित नेपाली श्रमिकहरू सङ्गठित हुने, ज्याला र अधिकारका लागि सामूहिक सौदा गर्ने र त्यसबाट अधिकार प्राप्त नभए हड्ताल गर्नेजस्ता आधारभूत मजदुर अधिकारबाट बेदखल गरिएका छन् । मालिकको शर्तमा मन लागे पनि र नलागे पनि काम गर्नुपर्ने नयाँ स्वरूपको दासता शिरोपर गर्नुपरेको छ ।
यसलाई जुक्तिपूर्वक सामना गर्ने सामर्थ्य नेपाली समाजले कसरी बढाउँदै लैजान्छ भन्ने कुराले विश्व श्रमबजारमा नेपाली श्रमिकको श्रममूल्यको भविष्य निर्धारित गर्नेछ । यसमा पनि हामीले काम गर्नुपर्नेछ किनभने आधारभूत आवश्यकतापछि मानिसले सम्मानपूर्ण र उचित ज्यालासहितको रोजगारीको स्वतन्त्रता खोज्नेछ । त्यसले श्रम गन्तव्यका देशहरूमा नेपाली श्रमिकहरूलाई द्वन्द्वमा होम्नेछ ।
किन बसाइँ हिँड्यो पहाड ?
हामी हुर्कंदै गर्दा गाउँमा बिजुली पुगेको थिएन । टुकी र सिट्टा बालेर एसएलसी सकेको हो हामीले । मैले पहिलोपटक बस देखेको आठ कक्षाको परीक्षा सकेर छ घण्टा पैदल हिँडेर सदरमुकाम आएको बखत हो । गाउँमा बाटो पुगेको थिएन । बाटो नपुगेको ठाउँमा गाडी पुग्ने कुरै भएन । एसएलसी सकिएपछि पढ्न गाउँमा कलेज थिएन । त्यसले हाम्रो पुस्तालाई गाउँ छाड्ने बनायो । हाम्रो पुस्तामा शिक्षा, रोजगारी र अवसरको खोजीमा आन्तरिक आप्रवासनको लहर चल्यो ।
गाउँ छाडेर सहर आएपछि थाहा भयो, सहरमा अवसरहरू हुने रहेछ । बाहिरी विश्वसँग सम्पर्क र सम्बन्ध बन्दै गएपछि थाहा भयो, जीवनका लागि चाहिने शिक्षा र आर्थिक अवसर देशमा भन्दा बढी विदेशमा छ । महसुस गरियो, हाम्रा गाउँहरूले सहरले जति मानिसको आवश्यकता र सहजतालाई थाँक्रो दिने सामर्थ्य निर्माण गर्न सकेको छैन । पहिलो विश्व भनिने राष्ट्रहरूले जति नेपालले नागरिकको आकाङ्क्षा सहजतालाई थाँक्रो दिने ल्याकत बनाएको छैन । त्यही आन्तरिक आप्रवासनको लहरले मानिसहरूमा गाउँ छाडेर सहरमा बस्न हुन्छ भने देश छाडेर विदेशमा बस्न पनि हुन्छ भन्ने स्तरमा सोचाइलाई गति दियो ।
पञ्चायतको तीस वर्षमा नेपालको ग्रामीण समाजमा सबैभन्दा चर्को आन्तरिक आप्रवासनको लहर चल्यो । २००७ सालपछि सुरु भएको यो आप्रवासनको आन्तरिक लहरले मैदानी भेगको खेतीयोग्य जमिन भिराखो पाखोबाट झिटीगुन्टी बोकेर आएकाहरूको ओतस्थलमा बदलियो ।
कतिपय योजनाबद्ध आप्रवासन पञ्चायती व्यवस्थाले नै गरायो भने कतिपय त्यही तरङ्गबाट प्रभावित भएर सम्भव भयो ।
जग्गा विकास कम्पनी खडा गरेर राज्यकै योजनाबद्धतामा पहाडका खासगरी अवकाश प्राप्त फौजीहरूलाई आप्रवासन गराएर चितवनदेखि पश्चिम कञ्चनपुरसम्मका सीमावर्ती गाउँहरूमा राज्यले बस्ती बसायो । गोजीमा अलिकति चुनदाम भएका लाहुरेहरू बसाइँ हिँडेपछि तिनको पाइतालाको डोब पछ्याउँदै अरू पनि बसाइँ हिँडे । मानिसले आफ्नो संस्कार, संस्कृति, रीत, भाषा मिल्ने सँधियारको समाज खोज्छ । त्यही व्यवस्था मिलाउने मेसोमा पहिले बसाइँ हिँडेकाहरूले आफ्नो थातथलोका गाउँलेलाई आफूतिर बसाइँ हिँड्न उत्प्रेरित पनि गरे । अनि यसले एउटा लहर ल्यायो, आन्तरिक आप्रवासनको ।
हाम्रा एकजना दाजु (जेठाबाका माइला छोरा) ०३९ सालमा गोरखाबाट बसाइँ झरेका थिए, चितवन । उसबखत चितवन सस्तो थियो । ‘पहाडको बापती चितवनको सभापति’ भन्ने हेयात्मक भाष्य वितरण गरिबसेका थिए । पहाडका संरचनागत लाभांश कज्याएकाहरू तर हाम्रा माइला दाजुलाई पहाडमा कुनै बापत लागेको थिएन ।
लगालग जन्मिएका चारवटी छोरी र तीनवटा छोरासहितको परिवारको खाईखर्च पहाडको भिरालो पाखाका दुई फोगटा खेत र तीस भारी मकै फल्ने खोरियाले थेग्न नसक्ने अवस्था आएपछि पहाड बेचेर अलिक सजिलो खोज्दै बसाइँ हिँड्ने नौबत आइलागेको थियो । मानिसहरूले ‘लौ गाउँको ढिँडो च्याँख्ला खानको पिरले चामलको भात खान औलोतिर हिँड्न लागे’ भनेर टिप्पणी गरे पनि नाभी गाडिएको थातथलो छाडेर बसाइँ हिँड्नेको मनमा चल्ने आँधीले मुटु फुट्लाजस्तो अत्यासको गाँठो पार्थ्यो (देवकोटा, कमलप्रसाल– २०७९, फागुनमा पङ्क्तिकारले आफ्नो शोधकार्यका लागि गरिएको कुराकानी) । एक ठाउँबाट अर्को ठाउॅमा बसाइँ हिँडेपछि मानिसले अलिक मेहनत गर्यो । मौसमी खेती गरेको किसानले अब गाई पाल्न थाल्यो । भैँसी, बाख्रा पाल्न थाल्यो । अरूको जमिन अधिया गरेर भए पनि व्यावसायिक धान खेती गर्न थाल्यो । पेट पाल्ने दुःख अलि सजिलो बनाउन थाल्यो । अनि उसलाई लाग्यो, बसाइँ सरेकैले जीवन सजिलो भयो ।
त्यसपछि उसको दिमागमा, उसलाई देख्नेको दिमागमा पर्न थाल्यो– थातथलो बदल्ने प्रक्रियाले जीवनलाई तैबिसेक सजिलो बनाउने रहेछ । त्यसपछि अदलबदलको प्रक्रियालाई जीवनको प्रेरणाको रूपमा ग्रहण गर्यो । एउटा गाउँबाट अर्को गाउँ गएको मानिस गाउँबाट सहर छिर्यो । सहरबाट विदेश हिँड्यो । पहाडबाट तराई झरेको मानिस तराईबाट झन् सजिलो खोज्न विदेश पस्यो । यो सामान्य हो ।
जसरी एउटा रुखको एउटा हाँगामा बनिरहेको गुँडबाट निस्किएर अर्को हाँगोमा गुँड बनाउन हिँड्नु सामान्य हो, उसैगरी एउटा रुख छाडेर अर्को रुखमा गुँड बनाउन हिँड्नु पनि सामान्य हो । उसै पनि सहजताको खोजी जीवहरूको ऐतिहासिक ब्लु–प्रिन्ट हो ।
कमिलाले हिँड्न पनि सहज र सुरक्षित बाटोको बन्दोबस्त गर्छ । पहिले हामी सानो छँदा आकाशभरि चिल घुम्थे । ती अचेल हराइगए किनकि तिनले सहजता प्राप्त गर्न सकेनन् । फ्याउरो र स्यालको कराइ सुन्नु नियमितता थियो । अचेल गाउँमा स्याल र फ्याउरो लोप हुँदै गएजस्तो छ । त्यो सबै सहजताको प्राप्ति भयो कि भएन भन्नेले निर्धारण गरेको हो । गाउँको सामुदायिक कुकुरसमेत जसकोमा माया पाउँछ, खान पाउँछ, त्यही घरतिरै लहसिएर बस्छ ।
अस्तित्व रक्षाको लागि सहजताको प्राप्ति हरेक प्राणीको पहिलो शर्त हो । मानिस त उसै पनि आफैले आफैलाई सबैभन्दा चेतनशील प्राणीको ताज पहिर्याएर बसेको जीव पर्यो । यस्तोमा उसले आफूलाई कहाँ बस्दा, कता सर्दा सहजता हुन्छ भन्ने हिसाब गर्ने भयो । त्यस्तोमा आफ्नै सामर्थ्यको वजन पनि तौलने नै भयो । त्यो सबैको बन्दोबस्तीले कता अडिन सजिलो पर्छ, उतै लहसिने नै भयो । सिङ्गो मानव समाजको आजसम्मको मूल प्रवृत्ति नै यही हो– सहजताको खोजीको अनवरत यात्रा ।
लोकलयमा आप्रवासन
बितेको सय वर्षयताको समयमा पूर्वी पहाडी भिराला पाखाहरूबाट साहु, चोके, ऋण र दरिद्रताको दाम्लोले गला कसिँदै गएपछि निम्छरो आर्थिक हविगतको गर्तमा डुबेका मानिसहरूको विशाल पङ्क्ति बसाइको लहरमा हेलिँदै आसाम, गुवाहाटी, सिक्किम, मेघालय, बर्मासम्म पुग्यो । बर्माको भूगोलमा पुग्नेहरूमा पश्चिम नेपालको स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङतिरका मानिसहरूको पनि उल्लेख्य सङ्ख्या रहेको पाइन्छ ।
त्यही सिलसिलामा लेखियो बसाइँजस्ता मुटु कोक्याउने आख्यानहरू । गएको सयवर्षको आख्यान र लोकभाकाहरू पढियो, सुनियो भने आप्रवासनको परिणाममा सिर्जित मानवीय संवेदनाहरूको थुङ्गाले बुनिएका मालाहरूको चाङ भेटिन्छ । चाहे त्यो ‘आमैंले सोध्लिन् नि होस्’ या फक्ल्यान्डको टापुबाट’ होस्, ‘नमुछे आमा दहीमा टीका’जस्ता मानिसको मन हुँडलेका गीतहरू त्यही आप्रवासनको लहरमा हेलिँदै श्रम बजारमा श्रम बेच्न हिँडेका मानिसका प्रियजनहरूको भाकामा गाइएका हुन् । र, यही लहरको उत्कर्षमा रचित भएको थियो, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ । नेत्र विक्रम चन्दले लेखेको ‘कसले बनायो दाजै उडिजाने बस’ त्यही आप्रवासनको तरङ्गको बाछिटाको रूपमा सिर्जित भएको देखिन्छ ।
पछिल्लो समयको नेपाली समाजको तमाम सिर्जनामा आप्रवासनको चोटपटकका निलडामहरूको सघन उपस्थिति रहेको पाइन्छ । सिनेमादेखि लोकगीतसम्म, आख्यानदेखि कवितासम्म, गैराख्यानदेखि चित्रकलासम्मका क्यानभासहरू आप्रवासनको रङले पोतिएका छन् ।
बदलिँदो भाष्य
पहिले गाउँका सम्भ्रान्तहरू सत्तासँग सम्बन्ध स्थापित गरेर पावर एलिटमा रूपान्तरित भएर गाउँ छाडेर काठमाडौँजस्ता सहरमा घरगृहस्थी जमाउन आउनु शानमानको विषय हुन्थ्यो । बडो रवाफका साथ सहरको घरको बयान चल्थ्यो । गाउँका निर्धन मानिसहरूलाई जमिनको ठेक्का लगाएर सहरमा बस्ने त्यस्ता पावर एलिटहरू गाउँ गएर हप्कीदप्की लगाउँदै सिर्तोबिर्तो उठाउन पाउन्जेल गाउँ छाड्नु गर्वकै विषयको रूपमा भाष्यकृत थियो । जब, वैदेशिक रोजगारले निर्माण गरेको आर्थिक सामर्थ्यको पैया समातेर हिजोका निर्धनहरू पनि गाउँ छाडेर सहजता खोज्दै बसाइँ हिँड्न थाले, त्यसपछि जमिनदारहरूको जमिन गाउँमा बाँझो हुन थाल्यो । सिर्ताबिर्ता प्राप्त हुन छाड्यो । त्यसपछि हिजो आफूले गाउँ छोड्दा शानको विषय भएको घटना आज विस्मयको विषय हुन गयो ।
हिजो विदेशका कलेज, विश्वविद्यालयमा पढ्नेहरू राष्ट्रिय पुँजीका रूपमा प्रचारित भए । फलानो अर्क्सफोर्ड पढेको । फलानो टोकियो विश्वविद्यालय । फलानो वर्कली पढेको, फलानो क्याम्ब्रिज । मुठीभर पावर एलिट र तिनका आसेपासेका सन्तानहरूबाहेकलाई यो सुविधा उपलब्ध हुने कुरै थिएन । बढीमा सत्ता इच्छित या प्रायोजित पात्रहरूले त्यो सुविधा प्राप्त गर्थे । तिनैले आएर योजना आयोगदेखि विश्वविद्यालय र सत्ता संरचनाहरूमा लाभको पद हासिल गर्थे । त्यो हदसम्म त्यो प्रतिष्ठाको विषय थियो । जब आज सिमान्त मानिसहरू या भनौँ झुत्रेझाम्रेका सन्तानहरू पनि लाम लागेर विदेश पढ्न जान थाले, अब यो राष्ट्रिय सङ्कटको रूपमा भाष्यकृत हुन थालेको छ ।
निश्चय नै यो राष्ट्रिय सङ्कट त हो, तर परम्परागत सत्ता सम्भ्रान्तहरूका लागि । मानिसका रूपमा यो नियमित र सामान्य विषय हो । सहजता र अनुकूलताको खोजी मानव जातिको पहिचान हो । हिजो त्यो अनुकूलताको खोजी गर्ने अवसर मुठीभर मानिसहरूको पेवा थियो । आज बिस्तारित भएर आम मानिसको छनौटमा रूपान्तरण भएको छ । गढबढ भएको यहीँनेर हो ।
पचासको दशकसम्म अरब जाने अवसर आम भुइँमानिसहरूको पहुँचमा थिएन । जाने मात्रै भनेर भयो र ? लगानी गर्ने बोट छैन । कसले ऋण पत्याउँछ र साउदी, कतार जाने भनेर भारतीय श्रम बजारतिर पाइला सोझ्याउने पददलितहरू आज कुँडुलो परेर तैबिसेक गतिलो श्रम बजारमा जानु नेपाली समाजको आर्थिक सामर्थ्यमा बढोत्तरी हुनु हो । आज पनि कर्णाली र सुदूरपश्चिमका ग्रामीणहरू भारतीय सस्तो श्रमबजारमा श्रमशक्ति बेच्न गइरहेका छन् । अझै पनि अरब जाने लहरले त्यताको भूगोललाई छोपेको छैन जस्तो छ । देशले नागरिकको आकाङ्क्षा र आवश्यकतालाई थेग्ने सामर्थ्य बनाउन नसकेपछि वैदेशिक रोजगारी त्यसको विकल्प बनेको छ । विकल्प नै रोज्न परेपछि उपलब्ध सबैभन्दा उत्कृष्ट विकल्पमा समाज लहसिनु स्वाभाविक छ । निश्चय छ, कर्णाली र सुदूरपश्चिमको समाजले पनि छिट्टै भारतीय श्रमबजारबाट आफ्नो बाटो मोडेर बाँकी विश्वमा मौजुद श्रमबजारमा आफ्नो पाइला अघि बढाउनेछ ।
महिला : आदिम आप्रवासी
विश्वभर झन्डै ३० करोडभन्दा बढी मानिस आप्रवासीको हैसियतमा छन् । महिलाहरू ऐतिहासिककालदेखि नै नियमित आप्रवासीको जीवन बाँचिरहेका छन् । ती जन्मन्छन् एकठाउँमा र विवाह संस्थाको अधिनस्थ भएर आप्रवासी बन्दै लगिइन्छन्, पठाइन्छन् अर्कै स्थानमा, घरमा । आप्रवासनको हरहिसाबमा महिलाले भोगेको यो ऐतिहासिक आन्तरिक आप्रवासनको निलडाम कहीँ पनि वासलातमा चढेको देखिँदैन । त्यही जन्मघर, परिवार, समाज, भूगोल सबै छाडेर कलिलै उमेरमा आन्तरिक आप्रवासी भएर बसाइँ हिँडाइएका महिलाहरूको आर्तनाद, पीडा, अत्यास, ऐँठन र मनोचित्कारहरू सदियौँदेखि तीज र घाँसे गीतका रूपमा रनवनमा मुटु चर्काउनेगरी गुन्जिएको, रन्किएको पाइन्छ ।
हामीकहाँ नियमित तवरले ऐतिहासिक तबरमा चलिरहेको अर्को आप्रवासनको परम्परा छ– गरिब, भूमिहीनहरूको आप्रवासन । जीवन चलाउने मेसो खोज्दै एउटा पाखोबाट अर्को पाखोमा, एउटा भूगोलबाट अर्को भूगोलमा निरन्तर–निरन्तर भूमिहीनहरू आप्रवासनमा हिँडिरहेको पाइन्छ । महिलाको आन्तरिक आप्रवासन जस्तै भूमिहीनहरूको आप्रवासनको पनि हिसाब कसैले गरेको पाइँदैन । सहरी गरिबहरूको विशाल हिस्सा त्यसरी सजिलोको खोजीमा बसाइँ हिँडेका भूमिहीनहरूले ओगटेको पाइन्छ, जसले सहरमा पनि तिरस्कार, दुर्व्यवहार र अपमानलाई व्यहोर्नु परेको छ ।
आप्रवासनः के हुनेछ दुई दशकपछि ?
कृषि क्रान्ति आरम्भ हुने सम्मुखकालमा (१२००० वर्ष जतिअघि) मानवका विश्वव्यापी जनसङ्ख्या करिब चौबिस लाख थियो । सन् १ को आरम्भकालीन दिनमा मान्छेको जनसङ्ख्या १८ करोड ८० लाख हाराहारी पुग्यो । सन् १००० मा यो सङ्ख्या बढेर २९ करोड ५० लाख हाराहारी पुग्यो । सन् १५०० मा झन्डै पचास करोड पुग्यो ।
आजको दिनमा ८ अर्ब काटिसक्यो । जनसङ्ख्या बढेको बढ्यै छ । नेपालमा पनि जनसङ्ख्याको सर्वाधिक वृद्धि गएको सात दशकमै भएको हो । त्यसमा पनि चर्को वृद्धिदर पञ्चायती समयकालमा भएको थियो । तर, केही दशक यताको समयमा शिक्षा, सानो परिवारको अवधारणा, परिवार नियोजनका सामग्री सम्बन्धी चेतना, रोजगारीका लागि प्रजनन् उमेर समूहका सदस्यहरूको विछोड आदिले जनसङ्ख्याको वृद्धिदर निरन्तर घटिरहेको छ ।
जनसङ्ख्याको घनत्व सधैँ राष्ट्रका लागि भार हुँदैन । यदि जनसङ्ख्याको पर्याप्ततालाई राष्ट्रिय सामर्थ्य निर्माणको कार्यमा जोडियो भने । जनसङ्ख्याको पर्याप्तताले चीन र भारतलाई आर्थिक विकासमा फड्को मार्न भयानक तबरले मदत गरेको छ । विशाल जनसङ्ख्या नै उनीहरूको समृद्धिको आधार बनेको छ । त्यसले उनीहरूलाई विकासको गति बढाउने लाभ प्रदान गरेको छ । उनीहरूको जनसङ्ख्या विश्व बजारमा पनि अन्य देशको तुलनामा सबैभन्दा बढी पैमानामा बिस्तारित भएका छन् । सँगसँगै आन्तरिक श्रमबजारको पनि विशाल पैमानामा बिस्तार भएको छ, यी देशहरूमा ।
यसले गर्दा चीन, भारतले उच्चतम जनसाङ्ख्यिक लाभ लिन सफल भएको छ, श्रमबजारको उत्पादक र उपभोक्ता एकसाथ बनेर । उपभोक्ताभन्दा आन्तरिक उत्पादक बढी बनेर । हामीले भने श्रमशक्ति बेच्न सक्ने जनसङ्ख्याको लाभ लिन सकिरहेका छैनौँ । यो सङ्ख्यालाई
केबल देश धान्ने रेमिट्यान्सको आधार बनाएर मखलेल भइबसेका छौँ । देशलाई अघि बढाउने आन्तरिक श्रमबजारको उत्पादक शक्तिका रूपमा क्रियाशील गराउन सकेका छैनौँ । हामी यहीँनेर चुकिरहेका छौँ । श्रम गन्तव्यको खोजी गर्दै नागरिकलाई विदेशी श्रम बजारमा श्रम बिक्रीका लागि पठाउनु नै आजको नेपाली राज्यको योग्यता भएको छ । परिणाममा यसले आन्तरिक र बाह्य बसाइँसराइलाई तीव्र बनाइदिएको छ ।
पहाडी ग्रामीण बस्ती रित्याउने तबरले आन्तरिक बसाइँसराइ मैदानी भेगमा या पहाडी भेगकै पनि सहरी या सहरोन्मुख क्षेत्रमा व्यापक भइरहेको छ । पहिले घरैपिच्छे हैसियत अनुसारको देशमा रोजगारी या शिक्षाको लागि अस्थायी तवरले बाह्य देशमा आप्रवासनमा जाने । दुखम्सुखम् अलिक रेमिट्यान्स जम्मा गरेपछि भिराला पहाडी पाखाबाट अलिक सहरोन्मुख बस्तीतिर या मैदानी भेगका भित्री पातला बस्तीतिर बसाइँ सर्ने प्रवृत्ति व्यापक भएको छ । ग्रामीण क्षेत्रमा बाध्यता र निरन्तरताको जेलाइमा परेर रोकिएको बाआमा पुस्तापछि विशालतम पहाडी बस्तीहरू मानवविहीन हुने दिशातिर अग्रसर छ ।
सहरी या ठुला सहरी क्षेत्रका र यहाँ आएर बसेका, अध्ययन गरिरहेका युवा पुस्तामा भने सम्पन्न र विकसित भनिएका देशहरूमा शैक्षिक आवरणमा आप्रवासनमा जाने प्रवृत्तिको ‘महामारी’ चलेको छ । यो महामारी फैलाउन ग्रामीण क्षेत्रले पनि सहरी प्रवृत्तिलाई आफ्नो क्षमताअनुसार पछ्याइरहेको छ । पङ्क्तिकारसमेत सामेल इन्टरनेसन रिसर्च सेन्टर, स्ट्यानफोर्ड विश्वविद्यालय र वाशिङ्टन विश्वविद्यालयको संयुक्त शोध (२०१८–२०२२) को प्रक्षेपणअनुसार पछिल्लो एक दशकमा चलेको आप्रवासनको यो दर यही गतिमा जारी रहे सन् २०५० सम्ममा नेपालका आजका ठुला सहरी भागहरूबाट बाह्य आप्रवासनका कारण आजको जनसङ्ख्या विस्थापित भइसक्ने र त्यसको स्थान आजका सहरोन्मुख स्थानमा रहेका मानिसहरू त्यहाँबाट उठेर आएर भर्ने देखिन्छ ।
समग्रमा हेर्दा ग्रामीण भेग रित्तिने । सहरी इलाका आजको गाउँ जस्तो ज्येष्ठ नागरिकको मात्रै थलो बन्ने (आज रहेको जनसङ्ख्यामा थप बाहिरी इलाकाबाट बसाइँसराइमा आउने जनसङ्ख्या नहुने हो भने देखिन्छ । गाउँ रित्तिएर सहरोन्मुख भेग ठुला सहरी क्षेत्रमा रूपान्तरण हुनेछ ।
ती इलाका पनि बिस्तारै रित्तिएर ठुला सहरी क्षेत्रमा केन्द्रित हुनेछ । कर्णाली र सुदूरपश्चिमका भूगोलको हकमा यो प्रक्रिया दुई दशक ढिलो हुनेछ । तर, ढिलो चाँडो त्यो भूगोलले पनि यही बाटो समात्नेछ ।
आजसम्म वैदेशिक रोजगारीका नाममा विशालतम सङ्ख्यामा भारत जान्छ, कर्णाली र सुदूरपश्चिमबाट । अबको एक दशकमा त्यो सङ्ख्या आज अन्य भेगबाट गएको लाम समात्दै खाडीतिर सोझिनेछ । त्यसको आधा दशकपछि यो भूगोलको जनसङ्ख्याले पनि पहिलो विश्वतिरै आफ्नो बाटो सोझ्याउनेछ । अहिले खाडीतिर लाम लागेकाहरूको सन्तानले बढीमा एक दशकभित्र अस्टे्रलिया, जापान, युरोप, अमेरिका, क्यानडा, चीन जस्ता देशहरू ताक्नेछ । आज पहिलो विश्व पुगिसकेकाहरूले बढीमा डेढ दशकभित्रै उतै स्थायी थातथलो बनाउने काम फत्ते गरिसकेका हुनेछन् । यो प्रक्रिया तीव्र हुँदै उत्कर्षमा पुग्दा कर्णाली र सुदूरपश्चिममा सन् २०५० सम्ममा अनेकन सहरी इलाकाको बिस्तार हुनेछ । अग्ला उचाइका पहाडी भेगहरू मानिसले परित्याग गरेको बस्तीमा बदलिनेछ ।
धनगढी, सुर्खेत, कोहलपुर, दाङ, बुटवल, चितवन, हेटौँडा, सिमरा, बर्दिवास, लालबन्दी, विराटनगर, इटहरी, दमक जस्ता अहिलेका सहरले बढ्दो आन्तरिक आप्रवासनको वेग थेग्न नसक्ने काठमाडौँ जस्ता सहर बन्न डेढ दशक समय पनि लाग्ने छैन । गण्डकी, वाग्मती र कोसी प्रदेशका हिमाली या उच्च पहाडी बस्तीहरूमा पर्यटनमा संलग्न बाहेकको जनसङ्ख्या अबको बढीमा दुई दशकमा त्यहाँबाट सत्तरी प्रतिशतले निख्रनेछ । त्यसको बेग पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणका समथर भेगमा अत्याधिक मात्राले पर्नेछ ।
आजसम्म उक्त मैदानी भेगमा रहेको अलिअलि भए पनि जति खेतीयोग्य जमिन छ, सन् २०४० सम्ममा उक्त खेतीयोग्य जमिनको साठी प्रतिशत जमिनमा घरहरू ठडिनेछन् । आजको तुलनामा नेपाल आजकै सरकारी नीति र आप्रवासनको प्रवृत्ति कायम रहेमा सन् २०५० सम्ममा नब्बे प्रतिशत खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुग्नेछ ।
सन् २०६० सम्ममा नेपालमै रहने जनसङ्ख्यामा युवाहरूको सङ्ख्याको तुलनामा ज्येष्ठ ागरिकको सङ्ख्या दोब्बर हुनेछ । अत्याधिक सङ्ख्याका सहरी घरहरूसमेत विदेसिएका सन्तानको बाटो हेरेर बुढ्यौलीको कहर खेपिबसेका ज्येष्ठ नागरिकले कुरिबसेका हुनेछन्, जसरी आज सहर पसेका सन्तानको बाटो हेरेर दुर्गम ग्रामीण भेगमा जीवनको कहँर खेपेर बसिरहेका छन् ग्रामीण बाआमाहरू । यसमा हामी कति संवेदनशील हुन्छौं र नयाँ योजनाकासाथ यो चुनौतीको सामना गर्न अग्रसर हुन्छौं भन्ने कुराले नेपालको भोलिको तस्वीर कस्तो बन्ने भन्ने तय हँुनेछ ।
निर्विकल्प छैन विकल्प पनि
रोजगारी र अवसरको खोजीमा जारी आप्रवासनको भविष्य चुनौतीरहित भने छैन । हिजो भारत थियो, आज गन्तव्य फेरिएको छ । वैदेशिक रोजगारीको । सुदूरपश्चिम र कर्णालीको बृहत्तर हिस्सा आज पनि भारतीय श्रमबजारमा निर्भर रहे पनि त्यसको पनि गन्तव्य बिस्तारै खाडी राष्ट्र बन्न थालेको छ ।
हिजोको वैदेशिक रोजगार चाडबाडमा जिरामसला, फरिया र मिठो मसिनोको सपनाभित्र लपेटिएको हुन्थ्यो । आज बालबच्चाको शिक्षादिक्षा र अलिक तैबिसेक सजिलो जिन्दगीको सपनाले लपेटिएको छ । समाजको योग्यता बढिरहेको छ कि छैन भन्ने हेर्न समाजको सपनाको पैमाना बदलिइरहेको छ कि छैन भनेर हेर्नुपर्छ । यसरी हेर्दा नेपाली समाजको योग्यता बढिरहेको छ भन्ने देखिन्छ । यत्ति मात्रै पनि होइन, यसले मात्रै पनि थेग्न नसकेपछि अनेकन भङ्गालोमा हेलिएर नेपाली समाजको उल्लेखनीय हिस्सा पहिलो विश्वमा राम्रो उपस्थिति जनाउने अवस्थामा पुगेको छ ।
पखेटा फिँजाएर गुँडबाट निस्किएर संसारभर फैलिएपछि त्यहाँको सामाजिक गतिसँग आफु उठिआएको समाजको गति दाँजेर हेर्दा असन्तुष्टिको छाल उमारेर बसेको छ । त्यसलाई ऐन मौकामा प्रकट गरिबसेको छ । आर्थिक सबलतातिर बढेको र नेपालमा रहेको परिवारको आर्थिक भरथेगको आधारको रूपमा क्रियाशील यो शक्ति बिस्तारै समाज सञ्चालनको निर्णायक शक्तिमा बदलिँदै गइरहेको छ ।
यसरी आइरहेको सामाजिक, आर्थिक उत्पादन प्रणालीभित्रको निर्णायक परिवर्तनलाई हामीले परम्परागत चश्माबाट हेरेर पार लाग्दैन । अबको दशकमा नेपाली सत्ता राजनीति र सामाजिक सत्ता संचालनको निर्णायकको रूपमा यो शक्ति कसैले रोक्न नसक्ने गरि अघि आउनेछ । यसैको बलमा आउने डेढ दशकभित्र नेपाली समाज उदाउँदो नयाँ चेतना प्रणालीको उत्पादनको हातमा पुग्नेछ । सके सामाजिक सत्ताको शान्तिपूर्वक नसके बलपूर्वक उदाउँदो शक्तिले पुरानो चेतना प्रणालीको उत्पादनको हातबाट सामाजिक सत्ताको शक्ति आफ्नो हातमा लिनेछ ।
अर्कातिर आज जसरी विशालतम श्रमशक्तिको देशबाट एकपछि अर्को पैमानामा पलायन भइरहेको छ, त्यो फर्किएर आएन भने र श्रम बजारमा आउने नयाँ जनशक्ति पनि यहाँ अडिन नसक्ने आजकै अवस्था कायम रह्यो भने नेपाली समाज चरम सङ्कटमा फस्नेछ । हिजो भारतमा श्रम बेच्न जाने श्रमशक्ति त्यहाँबाट फड्किएर आज जसरी अरब, कोरियातिर पुगिरहेको छ, भोलि त्यहाँबाट फड्किएर पहिलो विश्वका भनिएका देशहरूमा पुग्ने नै छ । त्यसको यात्रारम्भ भई नै सकेको छ ।
त्यसरी पहिलो विश्वमा पुगेर उतै अडिने अवस्था आयो भने उसले त्यताबाट नेपालमा रेमिट्यान्स पठाउन बन्द त गर्ने नै छ, त्योसँगै सकेको परिणाममा यता रहेको धन समेत उतै लैजानेछ । यसले एकसाथ पुँजी र श्रमको पलायन तीव्र बनाउनेछ ।
आजको विश्व उत्पादन गर्ने र त्यसको बजार निर्माण गर्ने हेडमा छ । हामी भने आफैं उत्पादन गर्ने होइन, अरूको उत्पादनशालामा श्रम बेच्ने र अरूको उत्पादन खपत गर्ने होडमा छौँ । अरू उत्पादन गरिरहेका छन् । हामी उपभोक्ता बनिरहेका छौँ । विश्व आर्थिक बजारको, सांस्कृतिक बजारको, राजनीतिक बजारको उपभोक्ताको रूपमा हामी खुम्चिँदै गइरहेका छौं ।
जोसँग आफ्नै उत्पादनको कुनै अर्न्तराष्ट्रिय ट्रेडमार्क छैन । फगत श्रम बेच्नु नै हाम्रो सामर्थ्य भएको छ । सामान केही बेच्न सकिरहेका छैनौं । न उत्पादन गरेर बेच्ने बाटामै छौं । यसले जनसङ्ख्याको तीव्रत्तर वृद्धि या युद्ध, खडेरी या प्राकृतिक प्रकोपले निम्त्याउने विनाशसँगै बढ्ने खाद्यान्न सङ्कट चुलिएको दिनमा हाम्रो हालत के हुन्छ भन्नेतिर हामीले ध्यानै दिएका छैनौँ ।
अर्कातिर कृतिम बौद्धिकतामा आधारित रोवर्टिक प्रविधिको विकासले रोजगारीको अवसर ‘म्यानुअल’बाट ‘ अटोमेसन’मा जाँदैछ । यसले वैदेशिक रोजगारीमा मुख्यत ‘म्यानुअन जब’मा जाने हाम्रो श्रमशक्ति श्रम बेच्ने अवसरबाट, रोजगारीबाट बेदखल हुने अवस्था आयो भने त्यसलाई थेग्नेगरी हाम्रो कुनै तयारी छैन । यसमा पनि हामीले गम्भीरतापूर्वक तयारी थालिहाल्नु जरुरी छ ।
ठीक यहीँनेर एउटा थप सम्भावना के छ भने– त्यसरी विश्व श्रमबजारमा शारीरिक श्रम बेच्न पुगेको हाम्रो जनसङ्ख्या विज्ञान प्रविधिको विकासले पैदा गरेको नयाँ चुनौतीको सामना गर्न नसकेर देश फर्कियो भने त्यसले परम्परागत कृषि उत्पादनको आधुनिकीकरण र ग्रामीण जीवनमा वौछार फिर्ता गराउनेछ र यो प्रक्रिया पनि सन् २०५० कै दशकभित्र उत्कर्षमा पुग्नेछ । यसरी नेपाल एकसाथ चरम सङ्कट र नयाँ बदलावको बाटोबाट गुज्रने भविष्यको दोसाँधमा फसिबसेको छ आजको दिनमा ।
सन्दर्भ सामग्री
Acemoglu, D. & James A. R. (2012). Why nations fail: The origin of power, prosperity, and poverty. Crown Currency.
Barro, R. J. (1996). Determinants of the democracy. Journal of Economic Growth, 1, 1-27
Boehm, C. (1999). Hierarchy in the forest: the evolution of egalitarian behavior. Harvard University Press.
Galor, O. (2022). The journey of humanity: The origins of wealth and inequality. Dutton.
Hoschild, A. (2015). Bury the chains: Prophets and rebels in the fight to free an empire’s slaves. Houghton Mifflin Publishers.
Rozar, M. (2023). Global extreme poverty. Retrieved from https://ourworldindata.org/extremepoverty- in-brief
Stiglitz, J. E. (2019). People, power and profits: progressive capitalism for an age of discontent. W. W. Norton & Company.
(लेखक तथा अध्येता देवकोटा अध्यापन पनि गर्नुहुन्छ । उहाँको अध्ययनको दायरा इतिहास, साहित्य, अर्थ–राजनीति, भूराजनीतिदेखि मानव आनुवांशिकीसम्म रहेको छ । उहाँका अनुसन्धानमूलक लेख एवम् राजनीतिक टिप्पणीहरु राष्ट्रिय दैनिक र अनलाइन पोर्टलहरुमा प्रकाशित छन् ।)


जवाफ लेख्नुहोस्