बसाइँसराइको अर्थराजनीति

- मनिकर कार्की
सामान्यतया घुमफिर एवम् मनोरञ्जनका लागि बाहेक स्थायी वा अस्थायी रूपले कामधन्दा एवम् बसोबासका लागि एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुनुलाई बसाइँसराइ भनिन्छ । यस्तो बसाइँसराइ आन्तरिक एवम् बाह्य दुवै प्रकारको हुन्छ । आफ्नो देशको भौगोलिक सीमाभित्रको बसाइँसराइ आन्तरिक हो भने मुलुकको भौगोलिक सीमा पार गरी अर्को देशमा बसाइँ सर्नुलाई बाह्य वा अन्तर्राष्ट्रिय बसाइँसराइ भनिन्छ ।
बसाइँसराइका विभिन्न आर्थिक, सामाजिक–सांस्कृतिक, राजनीतिक एवम् पर्यावरणीय कारणहरू हुन्छन् । संसारको इतिहास हेर्दा युद्धले निम्त्याउने मानवीय सङ्कट नै बसाइँसराइको राजनीतिक कारक देखिन्छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्रतिवेदनअनुसार सन् २०२४ मा अन्तर्राष्ट्रिय बसाइँसराइ गर्ने मानिसहरूको सङ्ख्या २८ करोड १० लाख रहेको देखिन्छ । बाह्य बसाइँसराइमा नेपालको योगदान पनि उल्लेखनीय नै देखापर्छ किनकि यति सानो मुलुकको एक चौथाइ बढी जनसङ्ख्या देशबाहिर बसोबास गर्दछन् । यस पङ्क्तिकारको हालसालै प्रकाशित पुस्तक अर्थदृष्टि : अल्प विकासको अर्थराजनीतिमा पनि विदेशिएका नेपालीहरूको प्रकृतिबारे मिहिन विश्लेषण गरिएको छ ।
विभिन्न औपचारिक एवम् अनौपचारिक तथ्याङ्कहरूले कम्तीमा ८० देखि ८५ लाखसम्म नेपालीहरू विदेशमा रहेको देखाउँछ, जुन कूल जनसङ्ख्याको २ ९ प्रतिशत हुन आउँछ भने आर्थिक रूपले सक्षम कूल १ करोड ८० लाख जनसङ्ख्याको भने ४७ प्रतिशत हुन आउँछ । राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कअनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ५९ वर्षसम्मको कूल जनसङ्ख्या ६१.९६ प्रतिशत रहेको छ । अर्थात् आर्थिक रूपले सक्षम जनसङ्ख्याको झन्डै आधा हिस्सा भने विदेसिएको देखिन्छ ।
त्यसो त जनसङ्ख्याको बनावट हेर्दा वर्तमानमा नेपाल जनसाङ्ख्यिकीय लाभको अवस्थामा रहेको देखिन्छ । तर समाज भने क्रमशः बुढ्यौलीतर्फ अग्रसर हुँदैछ किनकि जनसङ्ख्याको बनावटमा पछिल्लो जनगणनाअनुसार १४ वर्ष मुनिका बालबालिकाको सङ्ख्या कूल जनसङ्ख्याको केवल २७.८३ प्रतिशत मात्रै रहेको छ, जब कि अहिले काम गर्नसक्ने उमेरसमूहको जनसङ्ख्या ६१ प्रतिशत बढी छ, जुन अबको दुई दशकभित्रै पूर्णतया बुढ्यौली उमेर समूहमा प्रवेश गरिसक्नेछ ।
जनसाङ्ख्यिकीय बनोटको यो वर्तमान यथार्थलाई आँकलन गर्दै हामीले श्रमशक्तिको सदुपयोग भने गर्न सकेका छैनौँ । काम गर्ने उमेर समूहको झन्डै आधा श्रमशक्ति विदेसिएको छ, भने मुलुकमा भएको श्रमशक्तिले पनि पूर्ण रोजगारी पाउन सकेको छैन । मुलुकको बेरोजगारसम्बन्धी यकिन तथ्याङ्क नभए पनि नेपाली समाजलाई अर्धबेरोजगारीले गाँजेको सहजै अनुमान गर्न सकिन्छ किनकि निर्वाहमुखी अर्थतन्त्रमा अर्ध वा छद्म बेरोजगारीको अनुपात उच्च हुन्छ ।
नेपालको पछिल्लो राजनीतिक सङ्क्रमणले पनि बसाइँसराइलाई नै बढावा दिने अवस्था सिर्जना भएको छ । यसपटकको आन्दोलन वा विद्रोह खासमा गैरराजनीतिक प्रकृतिको देखियो । आन्दोलनमा यथोचित राजनीतिक माग र परिपक्व नेतृत्व नहुँदा आन्दोलनकारीहरू नै विभिन्न
ढङ्गले विभाजित हुन पुगेका छन् भने सुरुका दिनमा गाइँगुइँसमेत नभएको संसद विघटनजस्तो मागलाई एकाएक मूल मागको रूपमा ल्याइँदा मुलुक गहिरो राजनीतिक एवम् संवैधानिक सङ्कटमा फसेको छ ।
अर्को चिन्ताको विषय यसपटक छानी छानी नेता एवम् व्यवसायीहरूको व्यक्तिगत व्यापार व्यवसाय र सम्पत्तिमा आक्रमण हुँदा यसले एकखालको त्रास र संशयको अवस्था सिर्जना गरिदिएको छ । त्यस्तै मुलुकभरको जेलमा रहेका १३ हजार कैदीबन्दीले जेलमा आगजनी गरी भाग्दा अर्को त्रास सिर्जना गरिदिएको छ ।
यो नयाँ राजनीतिक संक्रमण र आर्थिक एवम् सामाजिक सुरक्षाको संवेदनशीलताका कारण फेरि पनि विदेसिने पाइलाहरू थप चलायमान हुने अवस्था छ । त्यस्तै यसले आन्तरिक बसाइँसराइलाई पनि प्रभावित पार्ने संभावना रहन्छ ।
नेपालको बसाइँसराइको इतिहास नियाल्दा त्यो नेपाल राज्य निर्माणको कालखण्ड वरिपरिबाट सुरु भएको आँकलन गर्न सकिन्छ । खासगरी सन् १८१४–१६ को एङ्ग्लो–नेपाल युद्धमा नेपालको पराजय र सुगौली सन्धीसँगै त्यतिबेला कुमाउ–गडवालसम्म पुगेको नेपाली सेनाको फौजमध्ये धेरै भारत पसेका थिए । त्यतिबेलाका कप्तान बलभद्रकै नेतृत्वमा केही पल्टन पञ्जावतिर लागेको कुरा इतिहासकारहरूले जनाएका छन् । अर्थात् त्यो उपक्रमलाई त्यतिबेलाको सन्दर्भको बसाइँसराइ नै ठान्नुपर्दछ ।
त्यसैगरी युद्धको चेपुवामा परी गाउँघरतिरबाट तराई–मधेशतिर र पश्चिमबाट पूर्वतिर बसाइँसराइ बढ्दै गएको देखिन्छ भने खासगरी भारतीय भूमिमा देखिएको आर्थिक अवसर र शासनव्यवस्थामा देखिएको स्थिरताबाट आकर्षित भएर पनि कयौँ नेपालीले बसाइँ सर्ने गरेको इतिहासकारहरूको भनाइ छ ।
अर्थात् नेपाल निर्माण कालखण्डदेखि करिब एक सय वर्षको युद्धमय अवस्थाले बसाइँसराइका लागि ‘पुस फ्याक्टर’को रूपमा काम गरेको देखिन्छ भने भारतीय भूमिको आर्थिक अवसरले ‘पुल फ्याक्टर’को काम गरेको देखिन्छ । अतः बसाइँसराइको ऐतिहासिक कारण नै सहज जीविकोपार्जनको उद्देश्य बन्न गएको देखिन्छ ।
सन् १९६० ताका नेपाल आई नेपालको तराई–मधेसको विशद् अध्ययन गरेका अमेरिकी प्राध्यापक फेडरिक एच गेजले नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता (नेपाली अनुवाद) पुस्तकमा ऐतिहासिक रूपमै मानिसहरू आफ्नो पुर्ख्यौली थातथलो छाडी जीविकोपार्जन गर्न सकिने खालको जमिनको खोजीमा बसाइँ सर्ने गरेको तथ्यलाई पस्किएका छन् । उनले खासगरी पहाडबाट तराईतिर बसाइँसराइ गर्नुको मुख्य कारण पनि जनसाङ्ख्यिक र आर्थिक नै भएको उल्लेख गर्दै लेखेका छन्–“पहाड र गङ्गा मैदानको केही भागमा भएका आर्थिक दुरावस्थाले मानिसहरू त्यहाँबाट बसाइँ सर्न बाध्य भए भने तराईमा उपलब्ध आर्थिक अवसरहरूले उनीहरूलाई तराईतिर आकर्षित गर्यो । जमिनको खोजीमा भौंतारिएका मानिसहरूले तराईमा सित्तैमा वा थोरै पैसामा जमिन पाए । कृषिको विकास हुँदै गएकाले तराईले व्यापारीहरूलाई समेत नयाँ अवसर प्रदान गर्यो ।”
नेपाली इतिहासको आधुनिक कालखण्डलाई हेर्दा भने खासगरी दोस्रो विश्वयुद्धको समाप्तिसँगै संसारमा युद्धग्रस्त मुलुकहरूको पुनःनिर्माणमा भौतिक, आर्थिक एवम् प्राविधिक सहायता प्रदान गर्ने भन्दै ब्रिटेनउड संस्थाहरूको रूपमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना भयो । ती संस्थाहरूमार्फत संसारमा संरचनात्मक पुनःनिर्माण अभियानहरू थालिए र नेपालले पनि ती संस्थाहरूबाट आर्थिक एवम् प्राविधिक सहायता पाउन सुरु गर्यो ।
नेपाल औपचारिक रूपले ती संस्थाहरूको परामर्शसँगै विश्व पुँजीवादसँग नजिकिँदै गएको देखिन्छ । त्यसपछि इतिहासका विभिन्न कालखण्डहरूमा राज्यको सम्पर्क थलोका रूपमा परिचित प्रशासनिक केन्द्र वा उपकेन्द्रहरू क्रमशः व्यापारिक केन्द्रको रूपमा परिणत हुँदै गए । जसै केही व्यापारिक स्थानहरूको विकास हुँदै गयो, भौतिक पूर्वाधारहरूको निर्माण पनि तिनै ठाउँहरूमा बढ्दै गयो ।
राजधानी काठमाडौँ वरपरका केही बजार क्षेत्रहरूमा त्यसै अनुरूप सहरीकरण हुँदै गयो भने मुलुकका विभिन्न ठाउँहरू जस्तैः धनकुटा, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, चितवन, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी आदिमा आधुनिक विकासका संरचनाहरू निर्माण हुँदै गए । अनि हाम्रो सन्दर्भमा विकास भनेको यिनै व्यापारिक केन्द्रहरूको भौतिक विकास बन्न पुग्यो ।
यस्ता भौगोलिक रूपमा सीमित व्यापारिक केन्द्रहरूमा अवसर थुप्रिँदै गयो र राज्यकोषको उपयोग पनि तिनै सीमित क्षेत्रको भौतिक एवम् पूर्वाधारको विकासमा खर्च हुन गयो । यी केन्द्रहरू आर्थिक अवसरका नयाँ आकर्षक केन्द्रका रूपमा स्थापित हुँदै गए । गाउँबाट क्रमशः बसाइँसराइ गर्ने प्रवृत्ति पनि बढ्दै गयो र यी केन्द्रहरू क्रमशः घना सहरबजारमा परिणत भए ।
वास्तवमा यस्ता केन्द्रहरूको असमान विकासका लागि त्यही बसाइँसराइको वर्तमान प्रवृत्तिले मलजल गरेको देखिन्छ । समाजशास्त्री चैतन्य मिश्रले बदलिँदो नेपाली समाज पुस्तकमा नेपाली समाजको सीमान्त सामन्तवादी उत्पादन प्रणालीलाई स्वतन्त्र गुजारा खेतीले विस्थापन गर्न पनि खेतीयोग्य जमिनको विस्तार र देशभित्रको बसाइँसराइले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा उल्लेख गरेका छन् ।
कालान्तरमा त्यही खेतीयोग्य जमिन वरिपरि बढेका बस्तीहरू नै सहरबजारमा विस्तारित हुन पुगे । अतः भौगोलिक रूपमा गाउँघरबाट सुगम क्षेत्र, ससाना सहरबजारबाट राजधानी, दूरदराजका गाउँबाट जिल्ला सदरमुकाम वा नजिकका बजारक्षेत्र र पहाडबाट तराई–मधेसतिर बसाइँसराइको तीव्रता नेपाली समाजको विद्यमान प्रवृत्ति बन्न पुगेको छ, जसले त्यहाँको आवादीसँगै भौतिक विकासलाई समेत प्रभावित पारेको देखिन्छ । र, यस्तो बसाइँसराइसँगै नयाँ सहरहरूको निर्माणमा भने आधुनिक नेपालको शासकीय समुदायको भूमिका महत्वपूर्ण देखिन्छ किनकि मूलतः राज्यसत्ताको चरित्र सामन्ती भएका कारण मुलुकमा राजनीतिक र कानुनी मात्र होइन, सांस्कृतिक नियन्त्रण पनि शासकीय समुदायकै हातमा पुग्यो । बसाइँसराइको ऐतिहासिक प्रवृत्तिले पनि सबैभन्दा बढी यही समुदाय अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा पुगेको देखिन्छ ।
यो समुदायले तराई–मधेशको सांस्कृतिक, आर्थिक एवम् राजनीतिक स्वरूपलाई परिवर्तन गर्नमा समेत भूमिका खेलेको देखिन्छ किनकि यो समुदाय बढी चलायमान हुने, पर्याप्त पुँजीसहित परिचालित हुने र सजिलै उपलब्ध स्रोतलाई नियन्त्रण गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने हुनाले र समान सांस्कृतिक पृष्ठभूमिका कारण स्थानीय सरकारी कर्मचारीबाट सहानुभूति र सहयोग पाउनसमेत सहज हुने कुरालाई प्राध्यापक गेजले समेत उल्लेख गरेका छन् । उता यही प्रवृत्तिले भने समाजमा विभिन्न प्रकारका आर्थिक, सामाजिक एवम् सांस्कृतिक विभेदहरू संस्थागत हुँदै गए ।
तथापि वर्तमान समयमा बसाइँसराइ एक वैश्विक प्रक्रिया भएको हुनाले खासगरी आर्थिक अवसरको खोजी नै यसको मुख्य कारण हुने गरेको छ । अवसरको खोजीमा मान्छे एक ठाउँबाट अर्को ठाउँमा अस्थायी वा स्थायी रूपले बसाइँ सर्ने गर्दछन् । त्यही क्रममा सम्पन्न, धनी र विकसित सहर वा मुलुकहरूमा बसाइँसराइ गर्नु अवसरको खोजी हो । फेरि बसाइँसराइ गर्ने व्यक्तिको निजी स्वतन्त्रता पनि हो । सामान्य दैनन्दिनका आवश्यकता पूरा गर्ने बहानामा देशै छाडेर विदेसिनुपर्ने अवस्था मौलाउँदै जानु भने दुर्भाग्यपूर्ण छ । त्यसैले मानिसका गाँस, बास,
कपास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्नकै लागि बसाइँ सर्नुपर्ने बाध्यतालाई भने न्यूनीकरण गर्नु आवश्यक छ ।
आन्तरिक रोजगारी तथा अवसरहरूको सिर्जना नै यस प्रकारको बसाइँसराइको अर्थराजनीतिक ढाँचा बदल्ने उत्तम उपाय हुन सक्छ । ‘बर्मा गए कर्मसँगै’ भन्ने लोकोक्ति जस्तो जहाँ पुगे पनि आफ्नो कर्मसँगै जाने हुँदा हामीले आफ्नै थातथलो र आफ्नै मुलुकमा ज्ञान र श्रमको उपयोग गर्ने नीतिलाई भने प्राथमिकता दिनैपर्छ । यसका लागि शिक्षालयहरू सबैभन्दा उपयुक्त थलो हुन्, जहाँ विद्यार्थीलाई आफ्नो देश र समाजप्रति विश्वास तथा आस्था जगाउँदै सिर्जनशील बन्न प्रेरित गर्न सकिन्छ । ऐतिहासिक कालखण्डदेखि नै उत्पादन र इलमउद्यमको चरित्र गुमाएर बरालिएको नेपाली समाजलाई दिशाबोध गर्नका लागि पनि उत्पादनको लयमा डोहोर्याउनु जरुरी छ ।
के हामी बसाइँसराइको यो डाइनामिक्सलाई बदलेर मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि आवश्यक श्रमशक्ति जुटाउने प्रबन्ध गर्न सकौँला त ?
(समसामयिक अर्थ–राजनीतिमाथि निरन्तर कलम चलाइरहनुभएका लेखक कार्कीका वैकल्पिक अर्थतन्त्र र अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर कार्की विगत दुई दशकदेखि छापा एवम् अनलाइन मिडियाहरुमा नियमित स्तम्भ लेखिरहनुभएको छ । राजनीतिमा समेत सक्रिय कार्कीले बैङ्क तथा वित्तिाय क्षेत्र व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नु भएको छ ।)


जवाफ लेख्नुहोस्